Tuesday, June 30, 2015

राजा महेन्द्रले तीन बाकस सुनसँग ‘लिपुलेक’ साटेको कुरा के हो ? - बुद्धिनारायण श्रेष्ठ, सीमाविद


black-coat-last-682

५३ वर्ष अघिसम्म नेपालको भञ्ज्याङ लिपुलेकमा नेपालीहरु खुलेआम तीब्बत जाने आउने गर्थे । सन् १९६२ मा भारत–चीन युद्ध हुँदा लिपुलेक भञ्ज्याङबाट चिनियाँ सेना आउँन सक्छन्, आए भने त्यहीँ गोली हान्न भारतीय सेनाले कालापानी क्षेत्रमा कब्जा गर्यो । त्यसपछि अहिले त त्यहाँ नेपालीले खुट्टा टेक्न पनि पाउँदैनन् । लिपुलेक भञ्ज्याङ सामरिक, पर्यटकीय, व्यापारिक र तीर्थाटनको दृष्टिले पनि महत्वपूर्ण छ । लिपुलेकबाट तीब्बतको ताक्लाकोट हुँदै बेइजिङसम्म पुग्न सकिन्छ । त्यहीँबाट मानसरोवर पुग्ने हो । पश्चिमा पर्यटकहरु पनि त्यहीँबाट तीब्बत तिर जान्छन् ।
अहिले लिपुलेकलाई त्रिदेशीय सीमा भनिएको छ । यो सरासर झूठ हो । यो भञ्ज्याङ नेपाल र चीनको दुई देशीय विन्दु हो । भारतको सीमाले लिपुलेकमा छुँदै छुँदैन । लिपुलेकबाट तीब्बतको ताक्लाकोट १६ किलोमिटर छ । नेपालको भूमि कालापानीमा रहेको भारतीय सैनिकको शिविर १० किलोमिटरको दूरिमा छ । लिपुलेकबाट गुञ्जी–गब्र्याङ–धार्चुला–पिथौरागढ–टनकपुर–मोरादावाद हुँदै दिल्ली पुगिन्छ । भारतले पिथौरागढबाट गुञ्जीसम्म मोटरबाटो बनाइसकेको छ । लिपुलेक भञ्ज्याङसम्म भारतले चाँडै सडक बनाउन सक्छ । किनभने हालै भारत र चीनबीच भएको व्यापार–वाणिज्य सम्झौतामा लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने भन्ने उल्लेख छ ।
नेपालको कालापानी क्षेत्रमा भारतीय सेना बसेको छ । त्यो क्षेत्र भारतले आफ्नो भन्छ । तर प्रमाणले नेपालको देखाउँछ । सुगौली सन्धीमा लिम्पियाधुराबाट निस्कको काली नदीलाई नेपालको पश्चिम सिमाना मानिएको छ । सन् १८५७ मा ब्रिटिस इन्डियाले बनाएको नक्सामा नेपालको लिम्पियाधुराबाट निस्केको काली नदीलाई सीमा मानिएको छ । त्यो नक्साले कालापानी क्षेत्र, लिपुलेक नेपालको हो भन्ने प्रष्ट देखाउँछ । भारतले नै बनाएको पुरानो नक्सामा कालापानी क्षेत्र नेपालको देखिन्छ । पछि भारतले आफूखसी अर्को नक्सा बनाएर कालापानी क्षेत्रलाई आफ्नो बनायो । कालापानी क्षेत्रमा भारतले नेपालको ३७२ वर्गकिलोमिटर क्षेत्र अतिक्रमण गरेको छ ।
नेपाली राजदूत निदाएका छन्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदा लिपुलेकलाई व्यापारको केन्द्र बनाउने सम्झौता चीनसँग गरे । तर यो कुरा मिडियामा आएपछि मात्रै नेपालले थाह पायो । भारतमा रहेका नेपाली राजदूत र चीनमा रहेका नेपाली राजदूतले यस्तो कुरा थाह पाउनु पथ्र्यो । तर उनीहरुले नेपाली भूमिबारे हुँन लागेको सम्झौताका गन्धसमेत पाएनन् । यस्तो गम्भीर कुरा पनि थाह नपाउने राजदूतहरु गर्छन् चाहिँ के ? समयमै यस्तो सम्झौता हुँदै छ भन्ने थाह भएको भए केही गर्न सकिन्थ्यो ।
चीनले बुझ पचायो
नेपालका लागि चीनका राजदुत मि योङले ५६ साल भदौमा रिपोर्टर्स क्लबमा गरेको कार्यक्रममा कालापानी क्षेत्र नेपालकै हो भनेका थिए । सन २००५ मे मा चीनका प्रधानमन्त्री भारत जाँदा कालापानी क्षेत्रलाई विवादीत भनेका थिए । आपसी सम्वादबाट सीमा विवाद टुंगियोस् भन्ने कुटनीति उनले प्रयोग गरे । कालापानी क्षेत्रमा रहेको लिपुलेक नेपालको हो भन्ने थाह पाएर पनि चीन र भारतजस्ता शक्तिशाली मुलुकले सानो नेपालको जमिनमा एकातर्फी ढंगले सम्झौता गरे ।
सरकारको नाटक
कालापानी हाम्रो हो भन्ने सबै आधार प्रमाणले बोल्छन् । तर सरकारले अख्तिायारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजकत्वमा टोली बनाएर कालापानी हाम्रो हो कि हैन भन्ने छुट्टयाउन लगाएको छ । जुन भूमि हाम्रो हो भन्ने स्पष्ट छ, त्यसमा फेरि किन अध्ययन गर्नु पर्यो ?
राजा महेन्द्रको तीन बाकस सुन भारतमा लुटिँदा कालापानी दिएर सुन लिएको चर्चा पनि छ । तर त्यो बेकारको कुरा हो । यो कुराको कहिँ कतै लिखत वा कुनै भर्वल नोट पनि भेटिँदैन । पराराष्ट्रमन्त्रीले यहि कुरा भन्नु भयो भन्ने सुनियो । तर मलाई उहाँले यसो भन्नु भयो झै लाग्दैन ।

(सीमाविद श्रेष्ठले टेलिभिजन पत्रकार नारायण पौडेलको कार्यक्रममा गर्नुभएको कुराकानीमा आधारित)

http://kathmandutoday.com बाट साभार 

Tuesday, June 23, 2015

‘जनयुद्ध’ सपनाको क्रूर खेलबाड - यादव देवकोटा


घामपानी नभनेर, भोक–तिर्खा नभनेर
पूर्व–पश्चिम बाटो बनायो…
के पायो नि कुल्ली दाइले
के खायो नि कुल्ली भाइले
ठेकेदारले पैसा कमायो
अर्कैले ट्याक्सी गुडायो

सुखद् बिहानी ल्याउने गरी देशमा परिवर्तन गर्ने उद्देश्यले तीसको दशकको मध्यतिर खुसिराम पाख्रिनले यो गीत गाएका थिए । तर, यो गीतबाट गरीब जनतालाई आन्दोलनमा लाग्न निम्तो दिंदा उनले कल्पना गरेका थिएनन्, गीतले तानिएका मानिसहरूको मृत्युको मूल्यमा नेता बन्नेहरूले नै ‘कुल्ली’ हरूको रगतले निर्मित ‘बाटो’ लाई लिलामी चढाएर निजी स्वार्थका ‘ट्याक्सी’ कुदाउने छन् । १ फागुन २०५२ देखि शुरू भएको लडाइँमा बारुदको ‘ज्याकेट’ लगाएर हिंडेका उनी जस्ता अरूको मनमा पनि थिएन, उनीहरूलाई देखाइएको सपना केही चतुरहरूका लागि ‘चेक’ मा अनुवाद हुनेछ भनेर । देश फेर्ने सपनामा बन्दूक बोकेर हिंड्नेहरुको जीवन त्यही बन्दूकले तहसनहस पारेपछि पाख्रिन जस्ता हजारौं अहिले गुनगुनाउन विवश छन्, “के पायो नि कुल्ली दाइले, के खायो नि कुल्ली भाइले… !”
नियतै खोटो
२०४८ मा सर्वहारावादी श्रमिक संगठन, नेकपा (चौम) र मशालबीच एकताका लागि भएको एउटा बैठक सकेर पुष्पकमल दाहालसँग पाटनमा केहीबेर सँगै हिंडेपछि छुट्टिएका श्रमिकका नेता रूपलाल विश्वकर्माले आफ्ना कार्यकर्ताको जमघटमा भने, “दाहालको ध्यान जनताको जीवन उठाउनेमा नभएर ठूला घर, राम्रा गाडी र फेशनहरूमा देखिएकाले एकता नगरौं ।” तर, उनका कार्यकर्ता एकता नगर्ने कुरा सुन्ने मूडमा नरहेकाले एकता भयो । दाहाल प्रवृत्तिको व्यावहारिक पटाक्षेपपछि केही अघिसम्म एमाओवादीको पोलिटब्यूरोमा रहेका रूपलालका ती सहकर्मीले त्यो प्रसङ्ग यो पंक्तिकार पनि रहेको एउटा सामूहिक भेटमा सुनाएका थिए ।
फाइल तस्वीरः सशस्त्र द्वन्द्वका वेला माओवादी नेताहरु क्रमशः बाबुराम भट्टराई, हिसिला यमी, रामबहादुर थापा र पुष्पकमल दाहाल ।
जनयुद्ध शुरू गर्ने निर्णय गरेको गोरखा बैठकमा दाहाल–बाबुराम भट्टराईले सशस्त्र संघर्षको छोटो बाटोबाट शक्ति हासिल गर्ने तथा मोहन वैद्यले दीर्घकालीन छापामार संघर्षबाट जनवादी सत्ता स्थापना गर्ने मोडल पेश गरेका थिए । बैठकअघि दाहाल–भट्टराईले आफू निकट केन्द्रीय सदस्यहरूसँग भनेका थिए, “ड्याम्म नहानी कसरी ठूलो पार्टी भइन्छ र ?” लडाईं शुरू भएपछि दाङबाट रोल्पा जाँदा कृष्णबहादुर महरा, रवीन्द्र श्रेष्ठ र आफूसँग दाहालले भनेको सम्झँदै भरत दाहालले लेखेका छन्, “धेरै वर्ष कहाँ लड्ने हो र ? रोल्पा, रुकुमका मगरहरू चाडबाडका नाममा मारामार गर्छन्, त्यसमा राजनीति मिसाइदिने हो । आठ–दश वर्षमा पार्टीले एउटा आकार लिएपछि लडाइँ टुङ्ग्याउनुपर्छ ।”
तत्कालीन एकताकेन्द्रका नेता कमल चौलागाई पनि दाहालले “झापामा चार–पाँच जनाको टाउको काटेर माले त्यत्रो पार्टी बन्यो, कांग्रेस पनि हतियार चलाएर, जहाज अपहरण गरेर स्थापित भयो । नेपालमा हिंसात्मक बल प्रयोग नगरी स्थापित भइन्न । केही वर्ष ड्यामडुम पारेर शक्ति आर्जन गरेर प्रतिस्पर्धात्मक राजनीतिमा आउने हो, जाऊँ हिंड्नोस्” भनेको अझै सम्झन्छन् ।
अप्राकृतिक गतिविधि
२०२८ को झापा आन्दोलनको जगमा नेकपा मालेले कम्युनिष्ट आन्दोलनलाई संगठित गर्न थालेपछि मोहनविक्रम सिंह नेतृत्वको चौम र मशालले त्यसलाई रोक्न सशस्त्र संघर्षको कुरा उठाउन थालेको देखिन्छ । तर, भारतमा बस्ने सिंहको कुरा अनुसार देशमा केही भएन । कुरा मात्रै गरेकाले हुन सक्छ, पञ्चायत ढाल्ने जनआन्दोलनमा चौम, मशालको भूमिका प्रभावकारी भएन । र, उनीहरू स्थापित पनि हुन सकेनन् । त्यही वेला सशस्त्र संघर्षको सपना देख्ने साना वाम पार्टी जम्मा पारेर दाहालले एकताकेन्द्र गठन गरे । त्यसपछि लडाइँको वैचारिक, राजनीतिक, सांगठनिक र फौजी (सामरिक) तयारी गरियो । तर, तत्काल हतियार उठाउने कि संसदीय बाटोलाई उपयोग गर्दै जनयुद्धको तयारी गर्ने भन्ने विवादले एकताकेन्द्र फुट्यो । जनयुद्धमा गइहाल्ने मत भएका दाहाल नेतृत्वको बहुमत पक्षले आयोजना गरेको पहिलो राष्ट्रिय सम्मेलन (जेठ, २०५१) ले एकताकेन्द्र ओजपूर्ण नाम नभएको भन्दै नयाँ नाम नेकपा (माओवादी) राख्योे र जनयुद्धको दिशामा अघि बढ्ने निर्णय गर्‍यो । जसको व्यावहारिक कार्यान्वयन १ फागुन २०५२ मा गरियो ।
इन्टरनेट तस्वीरः प्रधानमन्त्री निर्वाचित भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ।
२०५४ मा भारतको दिल्लीमा भएको विस्तारित भेलामा उपस्थित ३२ जना ब्यूरो सदस्यहरू लडाइँ तीव्र बनाउनेमा दाहाल र प्रशिक्षित गर्दै आन्दोलन अघि बढाउनेमा वैद्य पक्षको लाइनमा बाँडिए । २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनले घुमाउरो भाषामा लामो समय युद्ध गर्न नसकिने निष्कर्ष निकाल्दै गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको माग अघि सार्‍यो । त्यसपछि नै हो, सरकारमा साझेदारी गर्ने गरी माओवादी नेतृत्व अग्रसर भएको । सरकारसँग दुई चरणको खुला वार्ता, दरबारसँग गोप्य वार्ता र कार्यगत एकताको प्रस्ताव, भारतीय संस्थापनलाई विन्तीपत्र, खुफिया एजेन्सीहरूसँगको उठबस, सुरुङ्ग युद्धको धम्की, फौजी हमलाका नाममा मृत्यु संख्याको वृद्धि, सैनिक जनरल र सशस्त्र प्रमुखमाथि हमला गराउनुको उद्देश्य पनि त्योभन्दा अरू थिएन । बहुदलीय व्यवस्थामा तथा तत्काल सरकारमा हिस्सेदारी लिन माओवादी कतिसम्म आतुर बनेको थियो भने भदौ २०५८ को पहिलो वार्ता चलिरहँदा माओवादी केन्द्रीय समिति बैठकले सरकारमा कसलाई पठाउने र कुन मन्त्रालयमा को जाने समेत निर्णय गरेको सम्झन्छन् उक्त बैठकबाट संचारमन्त्रीमा प्रस्तावित तत्कालीन केन्द्रीय सदस्य मुमाराम खनाल । खनालको बुझाइमा त्यही बैठकले जनवादी क्रान्तिको कार्यदिशालाई घुमाउरो भाषामा छाडेको थियो ।
तर, माओवादी नेतृत्वले कार्यकर्तालाई जनवादी क्रान्तिको नारा रटाउन त्यसपछि पनि छाडेन । त्यही भएर बत्तीमा पुतली जसरी कार्यकर्ताहरू होमिइरहे । टाउकोको लाखौं मूल्य तोकिएका नेताले धोका दिन सक्छन् भन्ने कार्यकर्ताले सोच्न पनि सक्दैनथे ।
विघटनको बाटोमा
बहुदलीय व्यवस्था मान्ने सम्झैतापत्रमा भारतको राजधानी नयाँदिल्लीमा दस्तखत गरिसक्दा पनि माओवादी नेतृत्वले क्रान्ति, जनवाद र मुक्ति भन्न छाडेन । हेटौंडा महाधिवेशनसम्म उसको नारा त्यही नै थियो । तर, युद्धकालमा दरबार, दल र भारतलाई खेलाउन सफल माओवादी शान्तिकालमा भने दरबार र भारतको गोटी बन्न थाल्यो । यसो हुनुमा कूटनीतिक सन्तुलन कायम गर्दै आन्दोलन अघि बढाउने सोच नेतृत्वमा नहुनु कारण थियो । नयाँ सामन्तमा रूपान्तरण भएर आन्दोलनका अजेन्डा छाड्नु पनि त्यस्तो हुनुको अर्काे कारण थियो । त्यसैबीच विश्व ब्याङ्कको पैसाले शिविरमा राखिएका छापामारहरूको भरणपोषण गर्न उनीहरू तयार भए । त्यो वेला पनि दस्तावेजमा साम्राज्यवाद विरुद्धको संघर्ष लेख्न नछाडेका उनीहरू जनयुद्ध शुरू हुँदादेखि नै उदार अर्थव्यवस्थाको सहयोगी बनिसकेका थिए । किनभने, बहुराष्ट्रिय कम्पनीहरू मार्फत देशको राष्ट्रिय अर्थतन्त्र कब्जा गर्न राज्यका अवयव कमजोर पार्ने पूँजीवादी अपेक्षा माओवादी आन्दोलनको कभरमै भइरहेका थिए । फलतः राज्य र विद्रोही दुवैको उपस्थिति नभएको ग्रामीण तहसम्म बहुराष्ट्रिय कम्पनीहरूको प्रभाव विस्तार भयो ।
इन्टरनेट तस्वीरः प्रधानमन्त्रीमा निर्वाचित भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालका साथ बाबुराम भट्टराई ।
राजनीतिक र सैद्धान्तिक रूपमा नाममात्रको माओवादीलाई भारत र अन्य बाहय शक्तिले बोक्नुपर्ने जरूरी नठान्नु अस्वाभाविक रहेन । पछिल्लो समयसम्म माओवादी चरम अवसरवादी शक्तिमा परिणत भइसकेको थियो । राजनीतिक, सैद्धान्तिक र व्यावहारिक रूपले पतन भएको पार्टी चलायमान समाजमा टिक्न नसक्नु पनि अस्वाभाविक थिएन । मानिसको चेतनाले भद्दा रूपमा पतन भइसकेको पार्टीलाई काँध थाप्दैन । उसलाई बोकेर ल्याएको निम्न वर्गले काँधबाट फालेको र मध्यम वर्गले विश्वास नगरेकाले आजको एमाओवादीसँग विघटनतर्फ लाग्नुको विकल्प देखिंदैन । पछिल्लो समय उसले गरेका गतिविधिहरू विघटनतर्फ लाग्दाको छटपटी मात्र हुन् ।
मानिसको सांस्कृतिक चेतना, समाज परिवर्तन र लेखनको सांस्कृतिक चेतबारे लेखिएको पुस्तक स्टडिज इन ए डाइङ्ग कल्चर मा क्रिष्टोफर कडवेल लेख्छन्, “सामाजिक चेतनाको स्तर परिवर्तित अवस्थालाई सांस्कृतिक, भौतिक र प्राविधिक तवरले थेग्ने र अगाडि बढाउने तहसम्म विकास गर्न सकिएन भने परिवर्तनका लागि भएको आन्दोलनले विघटनको अनिवार्य बाटो समात्छ ।” कांग्रेस पञ्चायत विरुद्ध तीस वर्ष लड्ने क्रममा संगठित भयो । माले पनि दुईदशक संघर्षमा रहयो । तर, माओवादी आन्दोलन खहरे खोला झैं उर्लिएर सुक्नुमा राजनीतिक, सांस्कृतिक संस्कार र चेतनाको साटो तत्काल शक्ति हासिल गर्न जे पनि भन्ने र गर्ने नेतृत्वको अवसरवादी चिन्तन मुख्य कारण रहेको देखिन्छ । लडाइँमा मारिएका साथीका परिवारले पाउने ‘ब्लडमनी’ समेत खाइदिने निकृष्टताले पनि देखाउँछ माओवादी पंक्तिको अवसरवाद । तर, त्यसो हुनु अकारण थिएन ।
युद्धभन्दा पहिले माओवादीका जिल्ला समितिहरू शिक्षकले भरिएका थिए । लडाइँ शुरू भएपछि उनीहरूलाई राजीनामा दिएर पूर्णकालीन बन्न उर्दी जारी गरियो । सामाजिक, पारिवारिक र कर्तव्यको बन्धनका कारण सबै शिक्षकले राजीनामा दिन सम्भव थिएन । त्यसपछि पञ्चायतकालदेखि चौम, मशाल हुँदै आएका शिक्षकहरू पार्टीको पहिलो तहबाट हटाइए र लडाइँमा हिंड्न र जोखिम मोल्न तयार पेशेवर कार्यकर्ता त्यहाँ आए । ‘किलो शेरा टु’ को समयमा रोल्पा, रुकुम बाहेकका जिल्लाहरूमा उनीहरू पनि मारिएपछि मजदूर, विद्यार्थी, किसान त्यो ठाउँमा पुगे । तिनीहरू पनि संकटकालमा मारिए ।
लडाइँ तीव्र हुँदै जाँदा पार्टीका पुराना कार्यकर्ता मारिन र गिरफ्तार हुन थालेपछि जनयुद्ध सुरुआत गर्दाको मर्म, भावना र उद्देश्यप्रति समर्पित कार्यकर्ताहरूको खडेरी पर्न थाल्यो, त्यसपछि ‘नयाँ भर्ती अभियान’ चलाइयो । २०५८ को शान्ति वार्तापछि माओवादी छिरेका कार्यकर्ता ६ महीनामा जिल्ला समिति र नौ महीनामा ब्यूरो सदस्य हुन थाले । उनीहरूमध्ये कैयौं जनयुद्धलाई क्रान्तिकारी रोमान्समा मात्र बुझथे । गरीबी, अभाव, बेरोजगारी, सामाजिक अन्यायले पीडित युवाहरूको त्यो पंक्ति सशस्त्र संघर्षबाट आकर्षित भएकाले त्यसो हुनु अस्वाभाविक थिएन । कोही चाहिं जातीय राज्यको सपना देखेर आएका थिए । उनीहरूसँगै आएका ‘असामाजिक तत्व’ लाई पनि रूपान्तरण गर्न आवश्यक ठानिएन वा समयको दबाबका कारण त्यो सम्भव भएन ।
फाइल तस्वीरः द्वन्द्वकालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ।
त्यसरी आन्दोलन विस्तारै फौजी फर्मेशनको कब्जामा पुग्यो । जसले विचारको बहस हुन दिएन । त्यसपछि त ‘एक घर एक होलटाइमर’ जस्तो अतिवादी शैलीमा मानिसको चन्दा उठाउन थालियो । नेतृत्वसँग निकट सम्बन्ध रहेका केहीले युद्धलाई दुरुपयोग गर्न थाले । बाँदरमूढे, गोरखा फुजेलका कृष्ण अधिकारी हत्या जस्ता गम्भीर मानवताविरोधी हत्याकाण्डको राजनीतिक नेतृत्व गर्नेे तत्कालीन जिल्ला नेतृत्वले दाहालसँग निकट भएकै कारण संरक्षण पाए भने मनपरेकी सहयोद्धालाई प्रेमपत्र लेख्ने कैयौं कार्यकर्ताले कारबाही भोगे । एकातिर दुई–चार सयको हिसाब तलमाथि हुँदा कार्यकर्ताले कारबाही भोग्नुपर्‍यो भने नेतृत्व चाहिं भारतको सुविधाजनक सेल्टरमा बसेर भारतीय संस्थापनसँग सौदा गर्दै थियो । जीवन दाउमा राखेर छापामारहरूले ब्यारेक र ब्याङ्क कब्जा गरेको पैसाले नेतृत्व मस्ती गरिरहेको वेला छापामारहरू चाहिं नुहाउने साबुन र सुर्ती खाने पैसा नपाउने अवस्थामा थिए ।
त्यस्तो वेला सेनाको ‘तारबार’ भित्र पसेर एउटा ठूलो सैन्य अखडा ध्वस्त पार्ने र स्थायी नियन्त्रण कायम गर्ने नेतृत्वको सोच पूरा भइरहेको थिएन । दाहालले नै नेतृत्व गरेको खाराको ‘निर्णायक भिडन्त’ पीडादायी हार बेहोरेर रिट्रिट हुनुपर्‍यो । त्यही आसपास बाबुराम भट्टराई र दाहालबीच दलहरूलाई किनारामा पुर्‍याउँदै दरबारसँग मिलेर जाने र संसदीय दलहरूसँग मिलेर बुर्जुवा गणतन्त्रका लागि संघर्ष गर्नेमा विवाद उत्पन्न भयो । जसका कारण भट्टराईलाई ‘खाल्डो खनेर सफाया गर्ने’ योजना बनाउने तहसम्म नेतृत्वलाई पुर्‍यायो ।
विश्वभरि नै मुख्य नेतृत्वको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलन अघि बढाइने गरेकोमा हामीकहाँ पनि त्यसको अपवाद भएन । हतियारको बलमा संगठित पार्टी एउटा व्यक्तिको प्राधिकारमा चलाइँदा उसको नियत बिग्रनासाथ आन्दोलन सम

http://www.himalkhabar.com बाट साभार 

Monday, June 15, 2015

कालापानी : किन र कसरी भारतले सीमा मिचेको छ ? (हाल कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माको १७ वर्षअघिको रिपोर्ट


कालापानी : किन र कसरी भारतले सीमा मिचेको छ ? (हाल कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माको १७ वर्षअघिको रिपोर्ट)
उत्तरी भेकमा रहेका १४ वटा भारतीय सैनिक चौकीलाई २०२६ सालमै हटाउँदा पनि कालापानीस्थित क्याम्पलाई किन हटाइएन ? सम्बन्धित निकायहरु स्पष्ट र चित्तबुझ्दो जवाफ दिन सक्दैनन् ।
दार्चुला जिल्लाको ब्यास गाउँ विकास समितिका वडा नं. १ मा पर्ने कालापानी क्षेत्रमा भारतले जवर्जस्ती आफ्नो सैनिक क्याम्प राखिरहेको छ । यसप्रति जनस्तरबाट जति विरोध भएको छ, त्यसका विपरीत सरकारले चाहिँ त्यसलाई अनावश्यक भण्झट ठानेको देखिन्छ । एउटा सार्वभौमसत्तासम्पन्न स्वतन्त्र देशको भूमिमा विदेशी सेना रहँदा पनि त्यसलाई हटाउन सरकारी तवरबाट पर्याप्त प्रयास भएको पाइँदैन । यहाँसम्म कि त्यहाँ भारतीय सेना बसेको जानकारी सरकारले कहिले पायो र नेपालको उत्तरी भेकमा रहेका १४ वटा भारतीय सैनिक चौकीहरुलाई २०२६ सालमा हटाउँदा पनि कालापानीस्थित क्याम्पलाई किन हटाइएन भन्ने बारे पनि सम्बन्धित निकायहरुले स्पष्ट चित्तबुझ्दो जवाफ दिन सक्दैनन् ।
कालापानी अतिक्रमणको चुरो भनेको महाकाली (चलनचल्तीको भाषामा काली) नदीको उद्गमस्थलसम्बन्धी विवाद हो । भारतले ‘तुल्सी न्यूराङ’ अर्थात कृत्रिम कालापानीमा कालीको कृत्रिम मुहान खडा गरेर अतिक्रमणलाई ‘वैधानिकता’ दिन जाली कसरत गरिरहेको छ । त्यहाँ पहाडबाट रसाएको पानीलाई सानो तलाउमा जम्मा पारेर एउटा कुलो लिपुखोलामा जोडिएको छ र त्यही तलाउलाई कालीको स्रोत भन्ने हास्यास्पद दाबी गरिएको छ ।
नेपालको सरकारले चाहिँ तुल्सी न्यूराङभन्दा ६ कि.मि. उत्तरमा पर्ने लिपुधूरा वा लिपुलेक (सक्कली कालापानी) कालीको उद्गम हो भनेको छ । यस भनाइअनुसार लिपलेकबाट निस्कने लिपुखोला काली नदीका रुपमा सीमा नदी हुन आउँछ र यो स्थितिमा भारतले करिब ३५ कि.मि. भूभागमाथि अतिक्रमण गरेको देखिन्छ । यसबाहेक, नेपालका विपक्षी पार्टी, सम्बन्धित विशेषज्ञ र स्थानीय बासिन्दाहरुले लिम्पियाधुराबाट निस्कने कुटी नदीलाई मूल काली नदीका रुपमा सीमा नदी हो भन्ने तथ्यहरु अघि सारेका छन् । लिम्पियाधुरा कालीको उद्म सावित भएको खण्डमा भारतले करिब १९६ वर्ग कि.मि. नेपाली भूभागमाथि अतिक्रमण गरेको मानिनेछ ।
कालापानीको महत्व
हाल भारतीय सैनिक क्याम्प रहेको कारण चर्चामा आएको कालापानीको खास नाम तुल्सी न्यूराङ हो । सक्कली कालापानी त्यहाँभन्दा ६ कि.मि. माथि लिपुधुरा वा लिपुलेकमा छ, जहाँबाट काली निस्कन्छ भन्ने सरकारी मान्यता छ । सक्कली कालापानीमा काली मन्दिर छ । भारतीयहरुले तुल्सी न्यूराडमा पनि त्यस्तै मन्दिर बनाएर कालीको महान भएको कालापानी त्यही हो भनी झुठको खेती गरिरहेका छन् ।
सो विवादास्पद क्षेत्रभित्र पर्ने तुल्सी न्यूराङ नक्कली कालापानीसहित नाभीडाङ, गुन्जी र छोटा कैलाश गरी जम्मा चार ठाउँमा भारतले सैनिक क्याम्पस राखेको छ । तीमध्ये तुल्सी न्यूराङ सामरिक, व्यापारिक र धार्मिक सबै दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण स्थानमा रहेको छ । त्यसैकारण भारतले सो ठाउँको निम्ति मरिहत्ते गरिरहेको छ ।

kalapani-11-post
नेपाली भूभाग कालापानीमा राखिएको भारतीय सैन्य क्याम्प

नेपालको बैतडी जिल्लाको पारिपट्टि पर्ने भारतको उत्तर प्रदेश पिथौरागढ जिल्लाको जौलजिवीदेखि माथिको सम्पूर्ण क्षेत्रलाई भारत सरकारले निषेधित क्षेत्र घोषित गरेको छ । विशेष अनुमतिपत्र नलिएका भारतीयहरुले समेत जौलजिवीदेखि माथि जान पाउँदैनन् । सो क्षेत्रमा हरेक १०–१५ मिनेटमा सैनिक क्याम्पहरु भेटिन्छन् । कालापानी क्षेत्रमा चाहिँ भारतले भारत–तिब्बती सीमा प्रहरी आई.टि.बि.पि. नामको अर्धसैनिक बल तैनाथ गरेको छ । सन् १९६२ का भारत–चीन युद्धताकादेखि त्यहाँ आई.टि.बि.पि. तैनाथ गरिएको हो । त्यसअघि सन् १९५७ देखि नै त्यहाँ स्पेसल पुलिस फोर्स (एसपीएफ)को चेकपोष्ट राखिएको थियो ।
भारतले कालापानी क्षेत्रमा कब्जा जमाउनुको खास कारण त्यहाँको सामरिक महत्व नै हो । तुल्सी न्यूराङको जस्तो समतल भू–बनौट त्यस भेकमा अन्यत्र छँदै छैन । त्यहाँ एकैचोटि दुई वटा हेलिकप्टर ल्याण्ड गर्ने ठूला हेलिप्याड छन् भने १० वटा गुम्बज आकारका फलामे घरहरुसहित अन्य सिमेन्टेड घर पनि छन् । वरिपरि अग्ला पहाडहरु छन् । उत्तरको लिपुलेकमा चिनियाँ सेना आयो भने पनि त्यो हिमाली खोँचबाट सर्लक्कै देखिन्छ ।
कथंकदाचित फेरि भारत–चीन युद्ध भएमा चिनियाँ पैदल सेना अघि बढ्न सक्ने सबैभन्दा खतरनाक सामरिक नाका नै लिपुलेक–तुल्सी न्यूराङ हो । किनकि चीनबाट भारतको नयाँ दिल्लीसम्मको सबैभन्दा छोटो दूरीको बाटो लिपुलेक कालापानी भएर जान्छ । र तुलनात्मक रुपले लिपुभन्ज्याङको उचाइ ५०९८ मिटरभन्दा पनि कम छ । कालापानी नेपाललाई फिर्ता दिइएमा निरन्तर खतरा भइरहने निष्कर्ष भारतीय सैन्य रणनीतिकाहरुले निकालेको पाइन्छ । लिपुभञ्याङभन्दा केही तल चीनसँग टाँसिएर रहेको सामरिक महत्वको अर्काे नेपाली नाका टिंकर भञ्ज्याङ (उचाइ ५२५८ मि.) तर्फ पनि अब भारतको आँखा गढ्न थालेको संकेत पाइएको छ ।
एक सुरक्षा विश्लेषकका अनुसार चिनियाँ आक्रमणको खतरा बढेपछि एक समय भारतले नाथुला भन्ज्याङमा पूर्ण कब्जा जमाउन पूरै सिक्किम निलेको थियो, अहिले उसको निम्ति लिपुभञ्ज्याङ नाथुलाभन्दा कैयौं गुणा बढी महत्वपूर्ण भएको छ ।
भारतले आणविक परीक्षण गरेको लगत्तैपछि नेपालभित्र कालापानी प्रकरण चर्कनुमा चीनको हात रहेको प्रचार भारतका सरकार समर्थित सञ्चार माध्यमहरुले गरिरहेको छन् । त्यसका निम्ति चीनले नेपालका कम्युनिष्टहरुलाई उचालेको र नेपालले कालापानी फिर्ता लिएर चीनलाई बुझाउने षड्यन्त्र गरेको प्रचार पनि उनीहरुले गरेका छन् । यसबाट पनि कालापानीप्रतिका भारतीय सैन्य रुचि कति गहिरो रहेछ भन्ने बुझ्न सकिन्छ ।
सामरिक दृष्टिले मात्र हैन, धार्मिक, व्यापारिक र पर्यटकीय प्रयोजनको निम्ति पनि तुल्सी न्यूराङ–कालापानी लिपुभञ्ज्याङ बाटोको अहम् महत्व छ । तिब्बतस्थित कैलाश पर्वत र मानसरोवर जान तीर्थयात्री तथा तिब्बतको ताक्लाकोट बजारमा ब्यापार गर्न जाने व्यापारीहरुको निम्ति सबैभन्दा छोटो र सुलभ बाटो पनि त्यही हो । तर, त्यो सुविधा भारतीयहरुलाई मात्र उपलब्ध छ, नेपालीहरुलाई आफ्नै भूमिमा जान समेत वर्जित छ । हाल भारतले कालापानी क्षेत्रसम्मै मोटरबाटो जोड्ने योजना बनाएर सडक निर्माण गरिरहेको छ । र, तुल्सी न्यूराङभन्दा करिब ४० किलोमिटर दक्षिण माङ्तीसम्म मोटर पुग्न थालिसकेको छन् । सो निर्माणकार्य चाँडो सक्न उसले तीब्र गतिमा काम गराइरहेको छ ।
अर्काेतर्फ, लिपुभञ्ज्याङबाट करिब ३० कि.मि. को दूरीमा चीनको सिङक्याङ तिब्बत मार्ग (रेशम मार्ग) रहेको छ । यसै आधारमा दार्चुलालाई मोटर बाटोबाट रेशम मार्गसँग जोड्ने हो भने, भारतीय भूमि नछोइकनै पाकिस्तानको कराँची बन्दरगाह र क्यास्पियन सागरसम्म जान सकिने अति महत्वपूर्ण राजमार्गसँग नेपाल आबद्ध हुनसक्ने परिकल्पना पनि गरिएको छ । यस्तै एक अर्काे परिकल्पनाका अनुसार दार्चुला (लिपुभञ्ज्याङ)बाट काराकोरम पास ११ सय कि.मि.मै पाकिस्तानी सीमाभित्र पुग्न सकिनेछ । अर्थात दार्चुलाबाट कलकत्ता वा ढाका पुग्नुभन्दा पाकिस्तानको उत्तरी सीमा पुग्ने मोटरबाटो नजिक छ ।
यसैगरी, सोही बाटो प्रयोग गरेर अफगानिस्तानको काबुलसम्म पुग्न १६५० कि.मि. पर्दछ भने तुर्कमेनिया हुँदै क्यास्पियन सागरसम्म पुग्न लगभग ३२५० कि.मि. स्थल मार्ग प्रयोग गरेमा नेपालले युरोपसम्मको व्यापारिक नाका प्राप्त गर्न सक्ने देखिन्छ । यस तरिकाबाट दार्चुलादेखि रुसको युरोपीय भागमा पर्ने बाकु बन्दरगाहसम्म पुग्न जम्माजम्मी ३८ सय कि.मि. मोटरबाटो पार गर्नुपर्ने हुन्छ । अहिले दार्चुलाको दक्षिणी भाग काठमाडौंसँग मोरबाटोबाट जोडिइसकेको छ । त्यहाँबाट लिपुभञ्ज्याङसम्म सडक बन्ने र प्रस्तावित परिकल्पनामा चीनले सहयोग गर्ने हो भने नेपालको नयाँ व्यापारिक नाका खुल्नु असम्भवचाहिँ छैन । तर यसको निम्ति कालापानी विवाद पहिलो र प्रमुख अवरोध हो, यसलाई हल गर्न भारत चाहँदैन ।
विगतको मौनता
कालापानी अतिक्रमणबारे देशभित्र चौतर्फी चर्चा चले पनि सरकारले यसबारे आफ्नै दृष्टिकोण प्रस्तुत गर्नमा लज्जास्पद ढिलाइ गर्‍यो । भारतले अतिक्रमण गरेको वर्षाैं बितिसके पनि सरकार प्रमुखले अघिल्लो महिना मात्र आफ्नो धारणा पहिलो पटक सार्वजनिक गरेका छन् । प्रम गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय सभा, प्रत्यायोजन व्यवस्थापन सरकारी आश्वासन समितिलाई असार ४ गते लिखित विवरण पेस गर्दै कालापानी नेपाली भूभाग भएको र त्यहाँ हाल भारतको भारत–तिब्बतको सीमा प्रहरी चौकी रहेको उल्लेख गर्नुभएको छ । उहाँले लिपुलेकबाट झरेको नदीलाई महाकाली नदी मान्ने नेपालको आधिकारिक दृष्टिकोण पहिलोपल्ट प्रस्तुत गर्दै भारतले विगतमा तयार पारेको नक्साले नै लिपुभञ्ज्याङलाई नेपाल–चीन–भारत त्रि–देशीय विन्दुका रुपमा स्वीकारेको बताउनुभयो ।
नेपाल र चीनबीच सन् १९६१ अक्टोबर ५ मा भएको सीमा सन्धि र सन् १९७९ नोभेम्बर ५ मा भएका सिमाना प्रोटोकलमा लिपु भञ्ज्याङलाई नै त्रिदेशीय सीमाविन्दु मानिएको थियो । त्यसपछि नेपाल र चीनका परराष्ट्रमन्त्रीहरुले सन् १९८८ मा बेइजिङमा चिनियाँ प्रधानमन्त्रीको उपस्थितिमा गरेको सम्झौतामा पनि लिपुभञ्ज्याङलाई नै त्रिदेशीय सीमाविन्दुको रुपमा स्वीकारियो । तर भारतले चाहिँ कालापानी क्षेत्रमा कब्जा जमाएर लिपुभञ्ज्याङलाई त्यस्तो सीमाविन्दु नमान्ने व्यवहार देखाइआएको छ ।
सो क्षेत्रका नेपाल–चीन सीमामा कनै समस्या छैन, तर भारत र चीनबीच दसकौं पुरानो विवाद छ । ती राष्ट्रहरुबीच हालसम्म सीमांकन हुनसकेको छैन । भारत–चीन सीमा टोली बनेता पनि त्यसले सो क्षेत्रमा नापी कार्य थालेकै छैन । एक नापी विशेषज्ञ भन्छन्– भारत र चीनबीच सीमांकन भएको भए कालापानीबारे त्यस्तो ठूलो विवाद उठ्ने थिएन होला ।
भरतले दार्चुलामा अतिक्रमण गरेर आफ्नो सैनिक ब्यारेक राखेका बारे सार्वजनिक चर्चा चलेको चानचुन चार वर्ष भएको छ । तर सम्पूर्ण राज्यन्त्र सम्हालेर बसेको सरकारलाई त्यसबारे कहिलेदेखि अवगत थियो र उसले त्यसलाई हटाउन बेलैमा र प्रारम्भमै किन प्रयास गरेन भन्ने सवाल पनि उठेको छ । भारतले सैनिक ब्यारेक राखेको तुल्सी न्यूराङभन्दा १४ कि.मि. दक्षिणमा रहेको छारुङ गाउँमा २००८ सालदेखि नेपालको सीमा प्रहरी चौकी छ र त्यसले भारतीय सीमा अतिक्रमणबारे केन्द्रमा जानकारी पठाइरहेको छ । यसैगरी, छाङरुमै २०३४ सालमा सीमा प्रशासन कार्यालय खुलेपछि सो कार्यालयले हरेक वर्ष नेपाली भूभाग अतिक्रमण भइरहेको जानकारी गृह मन्त्रालयमा पठाइरहेको छ । तर विगत ४० वर्षदेखि नेपालले साँधेको रहस्यमय मौनता आफैमा आश्चर्यजनक छ । आखिर किन नेपाल सरकार यसरी सारा सूचनाका बाबजुद हातमा दही जमाएर बसिरहेछ ?
वास्तवमा राजा महेन्द्रले कालापानी अतिक्रमण हुनेबित्तिकै त्यसबारे जानकारी पाएका थिए भन्ने भनाइ पनि छ । २०१७ सालको “कू”पछिको सरकारमा अर्थमन्त्री रहेका ऋषिकेश शाह भन्नुहुन्छ, “कालापानीमा सेना बसेको बारे हामीले उहिल्यै थाहा पाएका थियौ । मैले मन्त्रीको हैसियतमा त्यो कुरा राजा महेन्द्रलाई जाहेर गरे । मौसूफले त इण्डिया मसँग अहिले बहुत रिसाएको छ, अब धेरै नचिढाऔं । अहिले तिनीहरु कालापानीमा बस्दै गरुन् पो भनिबक्स्यो ।”
“त्यसबेला (सन् १९६२ ताका) नेपाल–चीन सीमा सम्झौता भर्खरै भएका थियो, चीनले भारतका विरोधका बाबजुद कोदारी राजमार्ग पनि बनाइदियो । त्यसैबेला उसले भारतमाथि आक्रमण गर्‍यो । त्यस्तो अवस्थामा भारतीय सेनालाई कालापानीबाट हट् भन्दा नेपाल पूरै चीनपट्टि लागेको देखिने भएकोले हामी चुप बस्यौं ।”– ऋषिकेश शाहले बताउनुभयो ।
पञ्चायतकालका प्रधानमन्त्री कीर्तिनिधि बिष्टले २०२६ सालमा नेपालका उत्तरी भेकमा रहेका भारतीय सैनिक चेकपोष्टहरु हटाउँदा पनि कालापानी क्षेत्रमा रहेको सैनिक क्याम्पलाई चाहिँ यथावत् नै रहन दिए । त्यसप्रति गृह प्रशासन जिम्मेवार रहेको बताइन्छ । यसबारे तत्कालीन प्रम बिष्टको भनाइ छ– “मैले प्रम हुँदा उत्तरतर्फको सम्पूर्ण भारतीय चेकपोष्ट र मिल्ट्री मिसन हटाए पनि प्रशासनयन्त्रको सूचनाको अभावमा कालापानीको सेना हटाउन नसकेकोमा लज्जित छु ।”
अतिक्रमण सिलसिला
सन् १८१६ को सुगौली सन्धिले नेपालको पश्चिमी सीमा काली नदीलाई तोकेको थियो । अहिले कालीको उद्गमस्थलसम्बन्धी विवाद सिर्जना गरेर भारतले नेपाली भूमि अतिक्रमण गरिरहेको छ । तर त्यसको प्रामाणिक खण्डन भारतले बनाएका ऐतिहासिक नक्साहरुले नै गरेका छन् ।
सुगौली सन्धि भएको दुई दसकपछि सन् १८३७ मा जे.बि. टासिन नामका भारतीय नापी प्राविधिज्ञले बनाएको हातेनक्सा सबैभन्दा पुरानो दस्तावेजको रुपमा रहेको छ । त्यसमा कालीको उद्गमको रुपमा लिम्पियाधुरालाई देखाइएको छ । त्यसपछि सन् १८५५ अक्टोबरमा भारतको नापी विभागले पहिलोपल्ट बनाएको नक्सामा पनि कालीको उद्गम लिम्पियाधुरालाई नै देखाइए तापनि सीमा नदीचाहिँ लिपुलेकबाट निस्कने खोला हो भनी देखाइएको छ । तत्कालीन भारतको इष्ट इण्डिया कम्पनीका डेपुटी सर्वेयर जनरल र ब्रिटेनका सर्वेयर जनरलद्वारा हस्ताक्षरित सो नक्सा भारतको क्यू.एम. जनरल्स अफिसले सन् १८४० मा निकालेको नक्साको दोस्रो संस्करण हो । त्यसमा नेपाल अधिराज्यसहित भारतको उत्तर प्रदेश, बिहार, बंगाल र पूर्वाेत्तर क्षेत्रलाई समेटिएको छ । सम्भवतः लण्डनस्थित इण्डिया अफिस लाइब्रेरी एण्ड रेकर्डस्मा मात्र रहेको झण्डै दुई मिटर लामो सो दुर्लभ नक्सा हाल नेपालको निम्ति दरिलो प्रमाण ठहरिएको छ ।
प्राप्त जानकारीअनुसार भारतको नापी विभागले सन् १८७७ ताका दोस्रो पल्ट र सन् १९०५ मा तेस्रो पल्ट नक्सा प्रकाशित गर्‍यो, जसमा एकतर्फी रुपमा सीमा नदी संशोधन गरिएको छ । भारतले सन् १९०५ को नक्सामा लिपुलेकबाट निस्कने खोलालाई सीमा नदी (काली) तोक्यो । तर, सन् ५० को दसकमा आएर उसले आफैले तोकेको सीमा मिच्दै कालीवारि नै सैनिक कयाम्प राख्यो र तुल्सी न्यूराङ (नक्कली कालापानी) मा कालीको कृत्रिम मुहान खडा गर्‍यो । तर हालका भारतीय नक्साहरुमा समेत तुल्सी न्यूराङमा कालीको मुहान देखाउन आँट गरिएको छैन ।
सुगौली सन्धि भएको झण्डै दुई सय वर्ष बितिसक्दा पनि कञ्चनपुरको ब्रम्हदेव मण्डीदेखि माथि दार्चुलासम्म कहिल्यै सीमा स्तम्भ नगाडिएको कारण समस्या सिर्जना गर्न भारतलाई सजिलो भएको छ । सो क्षेत्रमा भारतले मनपरी ढंगबाट सीमा मिच्ने काम गरेको पाइन्छ । हालैका उदाहरणमा अनेरास्ववियुले कालापानी–मार्च गरेको बखतदेखि भारतले तुल्सी न्यूराङदेखि आधा किमि वरै कब्जा जमाएको छ ।

अन्तर्राष्ट्रियकरणको आवश्यकता
भारतका तत्कालीन प्रधानमन्त्री इन्द्रकुमार गुजराल गत साल नेपाल भ्रमणमा आउँदा कालापानी विवादबारे पहिलो पटक उच्चस्तरमा द्विपक्षीय छलफल भएको थियो । त्यसपश्चात् सोही विषयलाई लिएर नापी विभागस्तरीय नेपाल–भारत संयुक्त प्राविधिक सीमा कार्यदल गठन भयो । तर भारतीय पक्षको उदासीनताका कारण सो कार्यदलको बैठक दुई चोटिभन्दा बढी बस्न सकेको छैन । यसैबीच, भारतका राजदूत केभि राजनले भारतले आणविक परीक्षण गरेको लगत्तै कालापानी १९औं शताब्दीदेखि आफ्नो भू–भाग रहेको दाबी गरेर कूटनीतिक धम्की दिन पुगे । लगत्तैपछि राजदूत स्वयंले आफूले त्यस्तो नभनेको भनेर स्पष्टीकरण दिए । तर विवाद भने अझै पनि यथावत छ ।
नापी विभागका पूर्व महानिर्देशक पूण्यप्रसाद ओलीका भनाइअनुसार, “भारतले कालापानी र सुस्ताको सीमा समस्या सुल्झाउन एउटै कार्यदललाई जिम्मा दिने प्रस्ताव राखेको थियो । तर त्यसलाई नेपालले मानेन । त्यसो भएको भए सुस्तामा अतिक्रमण गरेका केही भू–भाग नेपाललाई फिर्ता दिने र कालापानीचाहिं आफैले लिने बार्गेनिङको परिस्थिति भारतले सिर्जना गर्ने थियो ।”

दार्चुलामा सीमा मिचिएकोमा लगभग सबै राजनीतिक दलहरु सहमत छन् । ठूला साना सबै कम्युनिष्ट पार्टीहरुले कालीको उद्गम लिम्पियाधुरा भएको र भारतले करिब १९६ वर्ग कि.मि. भूभागमाथि अतिक्रमण गरेको बताएका छन् । तर नेपाली कांग्रेसको अल्पमत सरकारले लिपुलेकलाई कालीको उद्गम जनाउँदै भारतले करिब ३५ वर्ग कि.मि. भूभाग मात्र मिचेको ठहर गरेको छ । प्रम गिरिजाप्रसाद कोइरालाले सो धारणा ल्याउनाले नेपालले गुन्जी, नावी र कुटी गरी तीनवटा गाउँहरु गुमाउनु परेको आरोप लगाइएको छ । यसबाहेक पछिल्लो अवधारणाले भारतीय अतिक्रमण पश्चिम दिशाबाट पूर्वतर्फ नभई उत्तरबाट दक्षिणतर्फ भएको मान्यता पनि स्थापित गरेको छ । किनकि, तुल्सी न्यूराङबाट बिस्तारै लिपुखोला (सरकारी भनाइमा काली) पूर्वतर्फ मोडिएको छ ।
अर्कोतर्फ, नेपालले सन् १९६१ मा चीनसँग सीमा सम्झौता गर्दा नै लिम्पयाधुरा त्रिदेशीय सीमाविन्दु हो भन्ने पूर्व अडानलाई त्यागेको जिकिर परराष्ट्र अधिकारीहरु गर्छन्् । सो सम्झौता हुँदा लिपुभञ्ज्याङलाई त्यस्तो सीमाविन्दु मानियो जसले गर्दा लिम्पियाधुरा कालीको उद्गम हो भन्ने मान्यतालई पनि नेपाल आफैले खारेज गर्‍यो । त्यसबेला त्यसो किन गरियो भन्ने कुरा हालसम्म पनि रहस्यको गर्भमा छ ।
उता भारतले चाहिँ अझै पनि लिपुभन्ज्याङलाई त्रिदेशीय सीमा विन्दुको रुपमा मान्यता दिएको पाइँदैन । त्यस्तो सीमाविन्दु निर्धारण गर्ने प्रक्रिया पुनः सुरु गर्न नेपालले आफ्नो हितअनुकूल पहल गरेमा अनुचित हुँदैन । नेपाल, भारत र चीन तीनै देशका सीमा विशेषज्ञहरु बसेर त्रिदेशीय सीमाविन्दुबारे सहमति कायम गरेमा कालापानी विवाद सुल्झाउन सजिलो हुनसक्छ । तीन देशबीच त्यसखाले सहमति हुनसकेमा कालीको उद्गम पहिचान गर्न र नेपालबाट भारतको सैनिक क्याम्प हटाउन कठिनाइ हुने छैन । यसबाहेक नेपालले भारतीय अतिक्रमका मुद्दालाई सरकारी तवरबाटै अन्तर्राष्ट्रिय मञ्चहरुमा जोडदार रुपले उठाएमा त्यो उपयुक्त र समयानुकूल कदम ठहर्नेछ ।
मूल्यांकन मासिक, पूर्णांक ५९, २०५५ साउनबाट ।
http://esamata.com बाट 

भुइँचालो, १६ बुँदे तमसुक र प्रचण्ड - खेम थपलिया


532776_212913412157070_1906494230_n

भनिन्छ छ नि ‘जस्तो बिउ रोप्यो, उस्तै फल फल्छ ।’ गलत राजनीतिक कार्यदिशा अवलम्बन गरेकै कारण एमाओवादीे क्षतविक्षत हुने अवस्थामा पुगेको छ । पार्टीको यस्तो हालत देखेर अहिले एमाओवादीका धेरै नेता तथा कार्यकर्ता निकै हतोत्साही र निराश छन् । करिब करिब विजयको सन्निकट पुगेको नेतृत्व र पार्टीको वर्तमान अवस्थाले निराश बनाउनु अस्वाभाविक होइन । यो पार्टीले शान्ति प्रक्रियाका नाममा गम्भीर प्रकारका वैचारिक–राजनीतिक–दार्शनिक कमजारी गरेको छ । त्यसको गम्भीर समीक्षा गर्दै र त्यसलाई सच्याउँदै पार्टीको  क्रान्तिकारी कार्यदिशा बनाउने हो भने रूपान्तरण सम्भव हुन सक्तछ । हामी सबैलाई थाहै छ कि जित्नका लागि माओवादीका अगाडि सिङ्गो संसारै छ तर यो पार्टीले चार राजनीतिक दलहरूका साथ गरेको १६ बुँदे तमसुकले ऊ योजनाबद्ध रूपमा कालो सुरुङभित्रको यात्रातिर अघि बढ्दैछ कि भन्ने आशङ्कालाई बल पु¥याएकै छ । वास्तवमा प्रचण्डले पार्टीको आधिकारिक कार्यदिशालाई रछ्यानमा फालेर प्रभुको दैलोमा खुसी फुलाउनुभयो । सहिदले बगाएको रगत, बेपत्ता योद्धाहरूको असीम त्याग र घाइतेहरूको समर्पणलाई केवल सत्ताको सिँढी बनाउनुभयो । सरकारी भवनको माथिल्लो तलामा पुग्दैमा सत्ताको वर्गीय चरित्र बदलिएको मान्नुभयो । पुलिस लगाएर सुकुम्वासीको बस्तीमा डोजर पेलेर दुःखीयाहरूको मन रुवाउनुभयो । राष्ट्रप्रतिको जिम्मेवारीलाई चटक्कै बिर्सेर भारतसँग बिप्पा जस्तो असमान सन्धि गराउनुभयो । आफ्नै नेतृत्वमा बनाएको जनमुक्ति सेनाका विरुद्ध मध्यरातमा नेपाली सेनालाई आक्रमण गर्न आदेश दिनुभयो । त्यति मात्र नभई गैर–माओवादीलाई पार्टीभित्र मङ्सिरका मुसा जस्तै रजाइँ गर्न दिएर पुराना कार्यकर्ताको अवमुल्यन गर्नुभयो । वास्तवमा क्रान्तिले जन्माएको प्रचण्ड आज दक्षिणको बाटो हुदै अन्तहीन अस्ताचलमा पुग्दा दुःख लाग्छ । १६ बुँदे तमसुक त्यही अन्तहीन अस्ताचलको पछिल्लो सिमाना हो ।
हामीलाई थाहा छ– मुलुक अग्रगामी रूपान्तरणको प्रक्रियाबाट विमुख मात्र भएको छैन, दक्षिणपन्थी सुधारवादको पाइतालामुनि कुल्चिएर जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेको छ । अर्कोतिर ठूला दलको भ्रमात्मक पर्दा यसरी च्यातिएको छ कि केस्रा–केस्रामा तिनको विघटन केलाउन सरलीकृत भएको छ । किसान मजदुरको आफ्नो सेनाको मूल्य विघटनपछि कस्तो हुँदो रहेछ भन्ने कुरा प्रचण्ड–बाबुराम मण्डलीले दोस्रो संविधानसभाको निर्वाचनको परिणामले देखिसकेको छ । विपीले जनमुक्ति सेनालाई पुलिसमा रूपान्तरण गरेपछि दुई तिहाई बहुमत मेजरको एउटा पेस्तोलको सामुन्ने जसरी निरीह बनेको थियो भन्ने कुरा नेपालको राजनीतिमा विशेष मननीय रहेको छ । नेपालमा १६ बुँदे तमसुकमार्फत् प्रतिगमन संस्थागत भएको छ । यसले क्रान्ति, आदर्श र किसान मजदुरवर्गको धरातल बिर्सिएर साइँलो काङ्ग्रेस हुने प्रचण्ड–बाबुराम मण्डलीको धोको परिणामतः पूरा भएको छ । नेपालमा सैद्धान्तिक दृष्टिले सर्वहारावर्गका अधिनायकत्व, वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्षजस्ता माक्र्सवादी मान्यताबाट च्यूत कम्युनिस्टहरू अन्ततः काङ्ग्रेसको ‘प्रजातान्त्रिक समाजवाद’ वरिपरि पुगेका छन् तर पनि नेपाली जनतालाई के कुरामा ढुक्क छन् भने माओवादी आन्दोलनमा आएको भयानक विचलनले क्रान्तिको मामिलामा तात्विक असर पु¥याउनेछैन र पु¥याउनु पनि हुँदैन । पात्र, प्रवृत्ति र जीवनपद्धतिमा अक्सर दक्षिणपन्थी प्रतिनिधि छन्, तिनको गाईजात्रालाई क्रान्तिको तरिकासँग जोड्नु जरुरी छैन ।
अपितु, क्रान्तिलाई क्रान्तिकारी दस्तावेजबाट झुपडी र आम किसान–मजदुरसम्म पु¥याउन त्याग, बलिदान र सङ्घर्षको नयाँ अध्याय प्रारम्भ हुनुको विकल्प छैन । यो निर्विकल्प दायित्व नेपाल कम्युनिस्ट पार्टी माओवादीमा आएको छ । यो कुरा पनि यहाँ विशेष स्मरणीय छ कि एमाओवादी नेतृत्वले प्रतिरोधात्मक होइन, प्रतिरक्षात्मक योजना निर्माण गरेकैले दक्षिणपन्थी छनौट प्रतियोगिता शानदार सफल भएको छ । अब यो अध्याय पनि समाप्त भइसकेको छ । हामीलाई के लाग्छ भने अहिले ज्यानप्रेमी होइन, जोखिमप्रेमी नेतृत्वको आवश्यकता छ, जसले क्रान्तिको जहाजलाई हजारौँ समुद्री ज्वारभाटाहरूबाट जोगाएर विजयको शिखर चुमाउने साहस गरोस् । २०५२ मा व्यक्त गरेको प्रतिबद्धता, १० वर्र्षको जनयुद्ध, २०६२÷०६३ जनआन्दोलन, महान् सहिदहरूको सपना, घाइते र बेपत्ता योद्धाहरूको परिवारको आकाङ्क्षाको धुलीसातीकरण, अवलम्बन गरेको गलत कार्यदिशा, पार्टी विभाजनको गम्भीर असर र २०७० को कथित संविधानसभाको यो परिणामसम्मले एमाओवादीलाई गम्भीर बनाएको देखिएन । ऊ निरन्तर गलत कार्यदिशामा गएको देखियो । माओले भनेकै थिए नि ! गलत कार्यदिशा भएपछि सबै कुरा गुम्छन् । अहिले एमाओवादीको अवस्था यही हो । १६ बुँदे तमसुक त्यसैको पछिल्लो कडी हो । त्यसैले त कुनै बेला प्रचण्डलाई सबैले आशा र भरोसाको आँखाले हेर्दथे तर अब बिल्कुल त्यो अवस्था रहेन ।
क्रान्तिका लागि क्रान्तिकारी पार्टीको आवश्यकता पर्छ र यसको मूल आधार भनेको क्रान्तिकारी विचार र क्रान्तिकारी कार्यदिशा हो । पार्टीलाई विचारधारात्मक र सङ्गठनात्मक दृष्टिले एकताबद्ध र लौह अनुशासनयुक्त बनाइराख्न आवश्यक छ । मालेमावादी सिद्धान्त र व्यवहारले लैस भएका कार्यकर्ताहरूको विशाल पङ्क्तिले मात्र क्रान्तिकारी कार्यभार पूरा गर्न सक्तछ । लेनिनले भने झैँ क्रान्ति क्रान्तिकारी सिद्धान्तद्वारा मात्र क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन, क्रान्तिलाई अगाडि बढाउने माध्यमका रूपमा रहेका पार्टीका सिद्धान्तनिष्ठ कार्यकर्ताहरूको आवश्यकता हुन्छ । युगको सबैभन्दा निर्मम सत्यलाई अँगाल्नु क्रान्तिकारीहरूको दायित्व हो । विश्व सर्वहारावर्गले साम्राज्यवाद र प्रतिक्रियावादको विरुद्ध सङ्घर्षमा ठुलठुला विजय हासिल गरेका छन् । प्रतिगामी शक्तिहरूको जघन्य अपराध र पैशाचिक बर्बरताले क्रान्तिकारी वर्ग सङ्घर्षलाई कहिल्यै खत्तम पार्न सक्तैन । जहाँ थिचोमिचो हुन्छ, त्यहाँ क्रान्ति हुन्छ । नेपालमा थिचोमिचो असाध्यै बढेको छ र त यहाँ क्रान्ति पनि अनिवार्य छ । निश्चय पनि १६ बुँदे सहमतिपछि नेपाली राजनीतिले अर्को कोर्स लिएको छ र क्रान्तिकारीहरूका निम्ति चुनौतीहरू थपिएका छन् । जसले चुनौतीहरूको सामना गर्ने साहस गर्छ, उसले मात्र क्रान्तिलाई अगाडि बढाउन सक्छ । जसले मृत्युमाथि विजय पाउने साहस गर्छ, उसले मात्र संसारलाई जित्न सक्छ ।
अहिले नेपालमा दक्षिणपन्थी हावा जोडतोडले बगेको छ, अवसरवाद त्यही हिसाबले फैलिरहेको छ । महाविपत्तिहरूको सामना गर्दै अगाडि बढ्नुको विकल्प छैन । क्रान्तिकारीहरूमा अथक, अविरल र अनिश्चल यात्राको दृढ सङ्कल्प भइरहन आवश्यक छ । सङ्घर्ष, त्याग र बलिदान भन्ने कुरा क्रान्तिकारीहरूका निम्ति आधारभूत कुरा हुन् । १६ बुँदे तमसुक गरिब किसान–मजदुरहरूलाई सत्ताको मालिक बनाउन गरिएको जनयुद्ध र यसले देखेको सपनाको विभत्सीकरण हो । माओवादीको ठूलो त्याग, समर्पण र बलिदानलाई पुरानो सत्ताले वैधानिक तबरबाटै ध्वस्त बनाएको छ ।

Sunday, June 14, 2015

लिपुलेक बारे - १


के हो लिपुलेक र कालापानीको विवाद ? (ऐतिहासिक तथ्य र नक्सासहित)

कालापानीमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन न एमालेले पहल ग¥यो न माओवादीहरुले नै

Lipulek_kalapani
एकासमय इतिहासमा कालापानी विवादले नेपाली राजनीति निकै तात्यो । अहिलेका गृहमन्त्री वामदेव गौतम नेतृत्वको नेकपा मालेका लागि कालापानीको विषय सबैभन्दा मुख्य राजनीतिक ऐजण्डा बन्यो । तर इतिहासको गर्भमा कालापानी हाम्रो हो भन्ने बहस हरायो । कालापानीलाई नेपाली राष्ट्रियताका् सिम्बोलका रुपमा लिएर राजनीति गर्नेहरु सत्तामा पुगे । कालापानीमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन न एमालेले पहल ग¥यो न माओवादीहरुले नै उनीहरुका लागि कालापानी काला बादलभित्र हराएझैं भयो । तर घटनाक्रमले फेरी कालापानीलाई बहसमा ल्याएको छ । भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाका रुपमा विकास गर्ने सम्झौता भएपछि लिपुलेक अर्थात् कालापानी क्षेत्रका बारेमा फेरी बहस शुरु भएको छ । त्यसैले नेपालको माया हुने हरेकले कालापानी, लिम्पियुधरा र लिपुलेकसँग सम्बन्धित तथ्यहरु बुझ्नैपर्ने हुन्छ । के हो त लिपुलेक र कालापानीको विवाद ? किन हो हाम्रो क्षेत्र ? पढ्नुस् डा. सुरेन्द्र केसीको खोजमूलक लेख ।
मुलुकको चौहद्धि, सन्धि सर्पण र ऐतिहासिक घटना कहाँ कसरी घटित भएका हुन् र कुन घटना र निर्णयको कहाँ कस्तो सरोकार रहेको छ भन्ने विषयमा सही दृष्टिकोण र विश्लेषणको अभावले गर्दा कालापानी विवाद नेपाल भारत सम्बन्धमा अहम् प्रश्नको रूपमा रह्यो एवं आन्तरिक राजनीतिलाई पनि यसले अत्याधिक प्रभावित पार्यो । खासगरी कालापानी बाहेक नेपाल–भारत १७५० किलोमिटर लामो खुल्ला सीमानामा मेची नदी, रसियावाल खुर्दलोटन बाँध र लक्ष्मणपुर बाँध जस्ता एकपछि अर्को सीमा र सीमाक्षेत्रमा भारत सरकारद्वारा एकतर्फी रूपमा भए गरेका अतिक्रमण र क्रियाकलाप एवं नेपालको सार्वभौमिकता, पानी सम्बन्धी तल्लो तटिय पूर्वाधिकार प्राप्त मुलुकले गर्नुपर्ने आचरण र सीमा सम्बन्धी अन्य अन्तर्रा्ष्ट्रिय मान्यता र परम्पारको बारम्बार उपेक्षा हुने गरेको सन्दर्भमा पनि कालापानी विवादको ऐतिहासिकता र विवादका मूलभूत विषयमा चर्चा गर्नु आवश्यक छ।
यो आलेख महाकाली अञ्चलको दार्चुला जिल्ला व्यास गाउँ विकास समिति–१ मा पर्ने कालापानी जसलाई टिंकर भञ्ज्याङ पनि भनिन्छ सँग सम्बन्धित छ । यो भञ्ज्याङ उक्त गाविसको पश्चिमोत्तर क्षेत्रमा १९६ वर्ग्किलोमिटर (१६,९०० हेक्टर) भूभागमा फैलिएको छ । यसको ऐतिहासिकता सुगौली सन्धिको समयसम्म जोडिन पुग्छ ।
सन् १९६२ देखि यस क्षेत्रमा भारतले सीमा रक्षक दल राख्न शुरू गर्यो । तर यसको जानकारी १९९० मा प्रजातन्त्रको पुनर्स्थापना पश्चात् मात्र प्रकाशमा आउन थाल्यो । के हो त कालापानी र लिपुलेकको ऐतिहासिक तथ्य । यहाँ हेर्नुहोस् ।

(१) ब्रिटिश रेसिडेन्ट र अन्य अधिकारीलाई दिइएको निर्देशन
(२) ऐतिहासिक एवं सरकारी कागजपत्रहरू
(३) विभिन्न नक्साको विश्लेषण, र
(४) नदीको मुहान निर्धारण सम्बन्धी जलविज्ञान सिद्धान्त
(१) ब्रिटिश रेसिडेन्ट र अन्य अधिकारीलाई दिइएको निर्देशनः

(१) ब्रिटिश रेसिडेन्ट र अन्य अधिकारीलाई दिइएको निर्देशन
सन् १८१७ फेब्रुअरी ४ मा कलकत्ताबाट सरकारका कार्यबाहक मुख्य सचिव जे. आदमद्वारा काठमाडौंमा ब्रिटिश रेसिडेन्ट एडवार्ड गार्डनरलाई लेखिएको एउटा पत्र प्रकाशित छ । उक्त पत्र आदमले नीज गार्डनरद्वारा गोग्रा नदीको पूर्वपट्टी देब्रे छेउमा अवस्थित एउटा गाउँका सम्बन्धमा उत्पन्न विवादका विषयमा लेखेका थिए । विवाद अनुसार उक्त गाउँ त्यस बखतसम्म कुमाउँ प्रान्त अन्तर्गत ब्रिटिश इण्डियाको मातहत रही आएकोमा अब आएर नेपालका चौतरिया बम शाहले आफ्नो भएको दावा प्रस्तुत गरे । पत्रमा के उल्लेख गरिएको छ भने काली नदीको पूर्वमा पर्ने व्यास प्रगन्ना अन्तर्गतको उक्त स्थान बस्तुतः ब्रिटिश इण्डियाको होइन । जे. आदमले काठमाडौंस्थित ब्रिटिश रेसिडेन्टलाई लेखेको सुगौली सन्धि अनुसार काली नदीको पूर्वमा पर्ने व्यास प्रगन्ना अन्तर्गतको त्यो ठाउँ बम शाहले दावी गरे अनुसार नेपालको ठहर्छ । उक्त पत्रमा के निर्देशन गरियो भने यस अघिसम्म विवादित क्षेत्र कुमाउँ अन्तर्गत भएपनि अब त्यसलाई नेपाल सरकारका अधिकारीहरूलाई सुपुर्द गरिदिनु । यसपत्रमा उल्लेख भए अनुसार कालीनदीको पूर्वमा पर्ने व्यास प्रगन्ना सुगौली सन्धि अनुसार नै पनि नेपालको थियो । तत्कालिन समयमा काली पूर्वको व्यास प्रगन्ना भन्नाले छाङरू, टिंकर, गुंजी, नावी, कुटी, धुलिगाढा आदि गाउँहरू सम्मिलित क्षेत्र भन्ने बुझिन्थ्यो ।

सन् १८१७ मार्च २२ मा जे. आदमले ब्रटिश भारतका गर्भनर जनरलको तर्फबाट कुमाउँका कार्यवाहक कमिश्नर जी. डब्लु. ट्रेललाई लेखेको पत्रको व्यहोराले पनि व्यास प्रगन्ना बारेमा केही स्पष्टोक्ति उल्लेख भएको पाइन्छ । पत्रमा कालीनदीको पूर्वमा अवस्थित प्रगन्ना व्यासका गाउँहरू र त्यहाँका भोटिया जमिन्दारहरूको निवेदन पत्रकाबारे उल्लेख गरिएको छ । मुख्यतः त्यसमा काली पूर्व पर्ने व्यास प्रगन्नाका सम्पूर्ण गाउँहरू पहिला कुमाउँ प्रान्त अन्तर्गत रहेका भए तापनि अब सन्धिअनुसार ती नेपालकै अभिन्न अंग भएको, कालीपूर्वको व्यास प्रगन्नाका भोटिया जमिन्दारहरूले यथावत रूपमा ब्रिटिश शासन अन्तर्गत नै रहन पाउने माग गरेको भए तापनि सुगौली सन्धि मुताविक उक्त प्रगन्ना नेपालकै पर्ने हुँदा सरकारले केही पनि गर्न नसक्ने उल्लेख हुनुका साथै गभर्नर जनरल तत्काल उक्त क्षेत्र नेपाललाई नै हस्तान्तरण गर्ने कार्यबाही चलाउन प्रतिबद्ध भएको उल्लेख छ । यसरी यी दुवै पत्रहरूका आधारमा कालीपूर्वको व्यास प्रगन्ना नेपालकै हो भन्ने ठहर्छ ।
(२) ऐतिहासिक एवं सरकारी कागजपत्रहरू्ः
कालापानी सम्बन्धी विवाद नेपाल भारत सम्बन्धको इतिहासमा धेरैपछि मात्र प्रकट भएको विषय हो । पंचायतकालमा भारतसँग “अनावश्यक” उलझनमा नफस्ने दृष्टिकोणले गर्दा यो विषयलाई त्यति महत्व दिइएन । तर २०४७ सालपछि उत्पन्न खुल्ला परिवेशको सन्दर्भमा विभिन्न तहबाट यसको वास्तविकता बाहिर ल्याउने क्रमको थालनी भयो । तापनि विस्तृत रूपमा यस सम्बन्धी विवादलाई निक्र्यौल गर्न ऐतिहासिक विश्लेषण अहिले पनि हुन सकिरहेको छैन । यद्यपि प्रमाणका आधारमा यो नेपालको हो भन्ने प्रष्ट भइसकेको छ । ब्रिटिश–भारत सरकारका आधिकारिक पत्राचार बाहेक कतिपय भारतीय र यूरोपिय लेखकहरूले पनि कालापानी क्षेत्रलाई स्पष्टतः नेपाली भूमिभित्र पर्ने उल्लेख गरेका छन् । योगी नरहरिनाथद्वारा सम्पादित “सन्धिपत्र संग्रह” मा “१२ व्यास १४ चौदाँसका तिंगर छाड्डहरू २ गाउँलाई सूचना १८७४” शीर्षकको सामग्री प्रकाशित गरेका छन् । योगीले प्रकाशित गरेको उक्त सामाग्रीले पनि विवादित क्षेत्रहरू स्पष्टतः नेपाली भूभाग रहेको जनाउँछन् । त्यसैगरी हालसालै वैतडी मालमा प्राप्त तिरो तिर्ने सम्बन्धी एउटा पत्रले वि.सं. १९९७ सालसम्म नै छाङरू, टिंकर, बुदी, गुंजी, गर्व्याङ र नख्याल गाउँको तिरो सोही मालमा बुझाइन्थ्यो भन्ने स्पष्ट पार्दछ ।

(३) विभिन्न नक्साको विश्लेषणः 
कालापानीको विवाद मूलतः कालीनदीको उद्गम स्थल र वास्तविक कालीनदीको पहिचानसँग गाँसिएको विवाद हो । त्यसो भएपपछि कालापानी क्षेत्र महाकाली पश्चिम अवस्थित रहन पुग्ने हो वा पूर्व भन्ने स्थिति स्वतः स्पष्ट हुन जान्छ । अर्थात् पश्चिमसिद्ध भए त्यो स्वतः भारताधीन हुन जाने र पूर्व ठहरे नेपाली सम्प्रभूता अन्तर्गत हुन जाने स्थिति रहेको छ । यस सन्दर्भमा प्राप्त नक्साहरूले दिने तथ्यले पनि उपर्युक्त विवाद खुट्याउन सहज हुनेछ । जहाँसम्म नक्साको प्रश्न छ– यो क्षेत्र उल्लेख भएका कम्तीमा १० पुराना नक्साहरू प्राप्त छन् । ती नक्साहरू ई. १८३०, १८३४, १८३५, १८४१ र १८४६ मा विभिन्न संस्थाहरूबाट प्रकाशित भएका हुन् । यसमध्ये १८३४ ई. को नक्सा जर्मनीबाट र अन्य नक्सा भारत र बेलायतस्थित तत्कालिन समयका प्रसिद्ध प्रकाशकहरूले प्रकाशन गरेका हुन् । यी सबै नक्साहरूले समानरूपमा लिम्पिया धुराबाट निक्लने नदीलाई नै वास्तविक कालीनदी भनि उल्लेख गरेका छन् ।

सुगौली सन्धिको ४० वर्षपछि सम्म सबै ब्रिटिश भारतीय नक्साहरूले अन्य नदीहरूलाई काली नदी भनेको पाइँदैन । तर तिनले काली (महाकाली) नदीलाई त्यो नामबाट नभई घाग्रा, गोग्रा वा सर्जुनदी आदिको नामबाट उल्लेख गरेका छन् । ती नक्साहरू ब्रिटिश भारत सरकारद्वारा निर्मित नक्साको आधारमा तयार पारिएका हुन्। ई. १८५० र १८५६ मा प्रकाशित भएका नक्साहरूमा लिम्पियाधुराको पुरानो स्वरूपमा केही परिवर्तन आउन थालेको आभाष देखा परेको छ । तथापि पूर्ववर्ती नक्साको मूल मान्यतालाई यी नक्साले परिवर्तन नै भने गरेका छैनन् । त्यसमा पनि ई. १८५६ को नक्साको महत्व र आधिकारीकता यस अर्थमा पनि छ कि यो नक्सा ब्रिटिश–भारत सरकारका तर्फबाट त्यस क्षेत्रको सीमांकनका सन्दर्भमा जारी प्रथम आधिकारीक नक्सा थियो। “Nipal an countries Adjoining with South, West an East” नाम दिइएको यस नक्सामा उल्लेख गरिएको छ कि– Jung Bahadur’s Nipal foreign department  sent to there to by Resident of Nepal. यस नक्साले नै पहिलोपल्ट आधिकारीक रूपमा लिम्पियाधुरा नजिकबाट निस्केको नदीलाई नै Kalee River  भनेर नामांकन गर्यो र यही नदीलाई नक्साको दक्षिणमा पुगेपछि Kalee, Surjoo,  Ghagra  नदी भनियो । वास्तवमा यस नदीलाई गोग्रा, घाग्रा, सर्जु वा काली जे सम्बोधन गरेपनि सुगौली सन्धि अघिसम्म लिम्पियाधुराबाट निस्कने नदीनै महाकाली नदी थियो र यस सम्बन्धमा कुनै प्रकारको दुविधा वा वादविवाद थिएन ।
ई. १८५६ को नक्सापछि प्रकाशित अन्य केही नक्साहरूमा नाम परिवर्तनको क्रम देखिएको छ । जसलाई नक्साको आधारमा मूलतः दुई चरणबाट स्पष्ट पार्न सकिन्छ । पहिलो ई. १८५०–१८८१ को चरणमा प्रकाशित नक्साहरू र अर्को त्यस पछिका सम्पूर्ण नक्साहरू । पहिलो चरणमा ४ वटा नक्सा राखिएका छन्।
१. ई. १८६५–१८६९ र १८७१–१८७७ गरी दुई चरणमा सर्भे गरी तयार पारिएको District almora  नामक नक्सा
२. ई. १८७८ मा तयार पारी प्रकाशमा ल्याइएकोSketch of Western Nepal नामक नक्सा ।
३. ई. १८७९ मा प्रकाशित Nepal almora District United Province  नामक नक्सा ।
४. ई. १८८१ मा प्रकाशितNepal–Tibet and United Province नामक नक्सा

यस अवधिमा सुगौली सन्धिले ठम्याएको कालीनदीको नाम र साविकको वास्तविक नदीको मुहान बदलियो एवं पुरानो नदीको स्थानमा अर्को नदीलाई कालीनदी नामाकरण गरियो । सुगौली सन्धि ताका र त्यसपछि पनि लामो समयसम्म वास्तविक कालीनदी र त्यसको मुहानबारे सम्पूर्ण जसो आधिकारीक भारतीय नक्साहरूले लिम्पियाधुराबाट निवृत्त नदी नै मूलतः कालीनदी मानि आएता पनि सन् १८५६ देखि सन् १८८१ सम्मका कतिपय आधिकारिक नक्साहरूमा साविकको कालीनदीको नाम परिवर्तन गरिएको छ ।
यसरी ती नक्सामा नदीको सीमालाई जमिनमा सार्ने प्रयत्न गरिएको छ । यस चरणमा प्रकाशित नक्सामा सुगौली सन्धिपछि पहिलोपटक त्यस पूर्व त्यति महत्वपूर्ण नठानिएको लिपु खोलालाई “कालीनदी” नामाकवरण गरियो । यसरी ब्रिटिश–भारत सरकारले नक्सामार्फत सीमा नदीको रूपमा रहेको साविकको काली नदीलाई नै लिपु खोलामा सार्दा बीचको नेपाली भूमि स्वतः भारतीय भूभागमा गाभिने अवस्थाको सिर्जना भयो । नक्सामा भएको परिवर्तनले नेपाली भूमि भारतमा पार्ने प्रक्रियाको शुरूआत ई. १८६५–१८६९ र १८७१ –१८७७ को सर्भेपछि तयार पारिएका नक्सा मार्फत भयो । ई. १८७९ को नक्सा त्यसैक्रमलाई अघि बढाउने क्रममा तयार पारियो भन्ने बलियो आधार रहेको अनुमान हुन्छ । यसप्रकार नाम फेर्ने कार्य सम्पूर्ण नक्सामा नभई केहीमा मात्र भएको देखिन्छ । ई. १८७८ को नक्सा त्यसको दृष्टान्त हो । तर ई. १८८१ को नक्सामा लिपुखोलालाई यस नामबाट सम्बोधन नगरिए तापनि अर्को नाम पनि दिइएको छैन । ई. १८८१ पछि तयार भै प्रकाशित नक्साहरूमा भने पश्चिमी सीमा कालीनदीको नाम बदली लिपुखोलालाई काली नदी तोकेर प्रकाशित भयो।
यसरी साविक सीमालाई फेरिबदल गर्दै तयार भएका नक्साहरूमा ई. १९३०–३१ को भारतीय नक्सा, ई. १९५४ को अमेरिकी नक्सा र १९३६ को रूसी नक्सा महत्वपूर्ण छन् । तर अर्को महत्वपूर्ण कुरा यो छ कि श्री ५ को सरकारको वि.सं. २०३२ को नक्सा र नेपाल र चीनले १९६९ मा तयार पारेको नक्सामा समेत लिपुखोलालाई नै महाकाली भनिएको छ । यी नक्साहरू नै यस्ता हुन् जसले एकपछि अर्को लिम्पियाधुराबाट निस्केको नदीलाई कुटी याङदी र लिपुलेकबाट निक्लेको नदीलाई कालीनदी नामांकृत गरे ।
(४) नदीको मुहान निर्धारण सम्बन्धी जलविज्ञान सिद्धान्त
यस सम्बन्धमा नदीको मुहान छुट्याउने वा निर्धारण गर्ने सम्बन्धी जलविज्ञान सिद्धान्तको पनि उल्लेख हुनु जरूरी छ । नदी प्रणालीमा कुन नदी मूल हो भन्ने निश्चय गर्ने मुख्य आधार जलविज्ञानको सिद्धान्त नै हो । जसले नदीको लम्बाई, जलाधार क्षेत्र, औसत पानीको बहावको मात्रा र नदी क्रमांक जस्ता जलविज्ञान सम्बन्धी मापदण्डका आधारमा मूल नदी र नदीको उद्गम स्थल किटान गर्न सकिन्छ । यस अनुसार मुख्य नदीको लम्बाई सहायक नदीको लम्बाईभन्दा बढी हुन्छ । त्यसैगरी मुख्य नदीको जलाधार क्षेत्र सहायक नदीको जलाधार क्षेत्रभन्दा विस्तृत हुन्छ ।

कुनै खास भौगोलिक अवस्थामा बाहेक मुख्य नदीको नदी क्रमांक सहायक नदीको भन्दा बढी हुन्छ । दुई नदीमध्ये जुन नदीमा औसत पानीको बहाव बढी हुन्छ त्यसलाई नै मुख्य नदी मानिन्छ । जहाँसम्म नदी क्रमांकको कुरा छ सो गर्दा पनि जलविद्युतीय सिद्धान्त कालीनदी खुट्याउने आधार बन्न सक्छ । त्यसो गर्दा कुनै विन्दुबाट नदीको लम्बाई लिंदा उक्त विन्दुबाट नदीको बीच धाराबाट त्यसको मुहानसम्म नाप लिनु पर्छ । पानी ढलो अर्थात् जुन जुन क्षेत्रबाट पानी मिसिन जान्छ ती जमिन नदीको जलाधार क्षेत्रभित्र पर्न जान्छ । त्यसक्रममा पामनीको स्रोतले मुहानबाट निस्केपछि जब खोलाको रूप लिन्छ त्यसैबाट नदी क्रमांक शुरू हुन्छ । अन्ततः मुख्य नदीको नदीव क्रमांक सहायक नदीको भन्दा बढी हुँदै जान्छ ।
तद्नरूप यस सिद्धान्तबाट हेरिंदा एक भन्दा बढी उद्गम स्थलयुक्त काली नदीको मुहान लिम्पियाधुरा नै हो । जसको क्रमागत स्थिति लासारपांकी टिंकर भन्ज्याङ लिम्पियाधुरा कायम हुन आउँछ । महाकालीको उद्गम स्थल क्षेत्रको लासारपांकीबाट बगेर आउने खोला धौली गंगानदी र लिम्पियाधुराबाट बगेर आउने नदी काली नदी हुन । यीमध्ये ४२ प्रतिशत भूभाग लासारपांकी तर्फबाट आउने नदीले र ५८ प्रतिशत भूभाग लिम्पियाधुराबाट आउने नदीले ओगटेको जलाधार क्षेत्रको हिसाबले र औसत पानीको हिसाबले पनि लिम्पियाधुरातर्फबाट आउने नदीनै काली नदी प्रमाणित हुन जान्छ ।
यसरी नै महाकाली उद्गम क्षेत्रको उत्तरतर्फ पर्ने सम्पूर्ण जलाधार क्षेत्रको २५ प्रतिशत भूभाग लिपुखोलाको जलाधार क्षेत्रभित्र पर्दछ भने बाँकी ७५ प्रशित भूभाग लिम्पियाधुरामा पर्दछ। यी दुवै स्थितिको समग्र अध्ययनको निष्कर्ष यो हुन्छ कि लिम्पियाधुरा तर्फबाट निस्कने खोला नै काली नदी हुनुमा बलियो सम्भावना छ । कुटियाङदी खोलाको लिम्पियाधुरा मुहान नै काली नदीको उद्गम स्थल हो। यस स्थितिमा लिम्पियाधुराभन्दा ६ किलोमिटर उत्तरतिर अवस्थित लिपुलेक महाकालीको उद्गमस्थल हो भन्ने प्रश्न नै उठ्दैन ।
(कालापानी आन्दोलनका क्रममा बिभिन्न माध्यममा प्रकाशित यो लेख अहिले पनि सान्दर्भिक ठानी यहाँ पोष्ट गरिएको हो ।)
२४ जेठ २०७२ ६:१०:५४     
http://www.everestdainik.com बाट साभार 

Friday, June 12, 2015

दरबार हत्याकान्डको १४ वर्ष : अझै बिर्सन नसकिने १० तथ्य

hatya
आज जेठ १९ गते। १४ वर्षअघि आजैका दिन नारायणहिटी दरबारमा गोली चलेको थियो र तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो। यो हत्याकान्डका बिर्सनै नसकिने र हालसम्म अनुत्तरित १० विषयको संगालो पुराना ब्लगहरुबाट यहाँ राख्दैछु।

१) निरीह गिरिजा र नखुलेको ग्रायन्ड डिजाइन
शवयात्राका क्रममा जनताको ढुंगामुढा सहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि देशवासीका नाममा एउटा वक्तव्य दिएका थिए। वक्तव्य सार्‍है निरीह किसिमको थियो। घटना कसरी भएको थियो भन्ने बारेमा कुनै पनि जानकारी त्यसमा छैन।संवैधानिक राजतन्त्र भए पछि राजाले गर्ने सबै काम प्रधानमन्त्रीको सल्लाह सुझावमा गर्नुपर्ने भए पनि राजदरबारभित्र भएको त्यस्तो ठूलो घटनाको छानबिन गरिने प्रतिवद्धतासम्म त्यसमा देखाइएको छैन। बरु भनिएको छ- यथार्थ परिस्थिति र घटनाको सत्य-तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वास छ। मानौँ, सत्यतथ्य नखोजीकन आफै प्रकट हुनेछ।
पछि उनले पटक पटक ग्रान्ड डिजाइन खोल्दिन्छु भन्दै भाषण गरे। तर नखोलेरै बिते।

२) गोली चलेको सुन्दा एडिसीहरु के गरिरहेका थिए ? 
युवराज दीपेन्द्रले मात्र गोली हानी सबैको हत्या गरेका हुन् भने राजपरिवारका एडीसीहरू त्यसबखत कहाँ थिए र के गरिरहेका थिए, डा. शाहीका अनुसार उनले नै एडीसीहरूलाई एम्बुलेन्स र डाक्टर ल्याउन खबर गरेका थिए र त्यसपछि एडीसीहरू उनीहरूलाई ‘बन्द गरिएको’ कोठाको झयालको ऐना फोरेर बाहिर आउन सक्ने तालिम प्राप्त एडीसीहरू गोली चलेको सुन्नासाथ चाहिं किन बाहिर आएनन् – उनीहरू बन्द कोठामा थिए भने कोठा बन्द गर्दा नै किन प्रतिवाद गरेनन् ? हत्याकाण्ड भएको लगत्तै भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीले यो हत्याकाण्ड षड्यन्त्र होइन भनी किटानीसाथ बोले। साथै भारतीय गृहमन्त्रीले पनि जेठ २७ गते त्यही कुरा दोहोर्याए। प्रधानमन्त्री र गृहराज्यमन्त्री दुवैले यस अवस्थामा नेपालमा राजनीतिक स्थिरताको आवश्यकता छ र त्यसको लागि जुनसुकै हदको सहयोग गर्न पनि भारत तयार रहेको बताए। भारतीय शासकहरूको यो अभिव्यक्तिले के जनाउ“छ ?
(राजदरबार हत्याकाण्डको बारेमा छानविन समिति गठन भएको सर्न्दर्भमा एकता केन्द्रले एक वक्तव्य प्रकाशित गरी सार्वजनिक गर्न माग गरेका प्रश्नहरुबाट। यी प्रश्नहरु आजसम्म पनि अनुत्तरित रहेका छन्। थप प्रश्न थाहा पाउन क्लिक गर्नुस्)

३) डा. पाण्डेसित अरुण सायमिको प्रश्न 
मेरो मनमा उठिराखेको तेस्रो प्रश्न म शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेसँग राख्न चाहन्छु। शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेको यस प्रसंगमा विशेष महत्त्व छ। उहाँ शाही चिकित्सक मात्र नभएर राजपरिषद्को सदस्य पनि हुनुहुन्छ। सुन्दछु, घाइतेहरूले वीरेन्द्र सैनिक अस्पतालमा ल्याउनासाथ यो हत्या कसले गरेको भनेर चिकित्सकहरूलाई बताइसकेका थिए। जुन बिरामी जीवन र मरणको दोसाँधमा हुन्छ उसले झुटो कुरा कहिल्यै बोल्दैन। एउटा चिकित्सकका अनुसार सायद डाक्टर मृगेन्द्रराज पाण्डेले पनि हत्या कसले गरेको भनेर सुरुमै थाहा पाइसक्नुभएको थियो। यदि हत्या श्री ५ दीपेन्द्रले गरेको भए राजपरिषद्ले हत्यारालाई किन राजा घोषणा गर्नुपर्यो ? चिकित्सक टोलीमा पनि सम्मिलित र राजपरिषद्का पनि सदस्य डा. पाण्डेले हत्यारालाई राजा बनाउँदा किन विरोध गर्नुभएन ? (चिकित्सक अरुण सायमिले हत्यकान्डबारे गरेको प्रश्न। विस्तृत पढ्न यहाँ क्लिक गर्नुस्)

४) प्रतिवेदनमा शंका
घटनाको छानबिन गर्न तत्कालीन प्रधान न्यायाधीश र सभामुखको दुई सदस्यीय उच्चस्तरीय समिति बनाइयो। प्रतिवेदन भन्छ, युवराज दीपेन्द्र आफैँले कन्चटमा पेस्तोल हिर्काएर पुल छेउतिर अचेतावस्थामा लडिबक्सेको थियो।

तर प्रश्न उठेको छ, आफैँले हतियार प्रयोग गरी आफैँ अचेत भएको व्यक्तिको हातबाट पेस्तोल फुत्केर कसरी पोखरीमा पुग्यो ? त्यस्तै घटनास्थलबाट जुन ढंगले सबुत प्रमाण- बन्दुक, गोली, पोशाकहरू ल्याइयो, त्यसमा पनि अपराधशास्त्रीहरूको आपत्ति छ। नेपाल ल क्याम्पसमा अपराधशास्त्रको समेत अध्यापन गर्दै आउनुभएका अधिवक्ता सुशील पन्त भन्नुहुन्छ, ‘घटनास्थलका सबुत प्रमाण नियन्त्रणमा लिँदा, अपराधीले छाडेको निशानाहरू नष्ट नहुन् भनेर हातमा पञ्जा लगाएर प्लाष्टिकले टिप्ने गरिन्छ र पारदर्शी प्लाष्टिकभित्र त्यसलाई सुरक्षित गरी राखिन्छ। तर प्रतिवेदन सार्वजनिक गर्ने दिन सभामुख तारानाथ रानाभाटले हरेक हतियार आफैँले प्रदर्शन गरेर देखाइदिनुभयो।’ यसलाई पनि शंकाले किन हेरिएको छ भने, यदि सबुत प्रमाणहरूले यसपूर्व दोषीको आरोप लाग्दै आएका दीपेन्द्रलाई नै पुष्टि गरेको भए त्यसरी प्रमाण मेटिने र नासिने गरी त्यस्तो उच्च समितिले काम कारवाही गर्नु उचित हुन्थेन। 
रानाभाटले दीपेन्द्रले चलाएको भनिएको हतियार देखाउँदै त्यसलाई आफ्नै हातमा लिएर पत्रकारहरुतर्फ सोझ्याउँदै भनेका थिए- हान्दिम् ?

माथिका अंश असार ३, २०५८ मा देशान्तरमा छापिएको समाचारबाट सारिएको हो। पूरा पढ्न यहाँ क्लिक गर्नुस्। यसमा राजदरबार हत्याकाण्डको प्रतिवेदनका सम्बन्धमा गहकिला प्रश्नहरु उठाइएका छन्।
५) चक्र बाँस्तोलाको षड्यन्त्र सिद्धान्त
बजारमा बेच्नलाई राखेको उपन्यासका पात्रले त्यस्तो भनेको भए लौ त भन्नुहुन्थ्यो। तर अहँ, यो कुरा पूर्वमन्त्रीले भनेका हुन्। चक्रप्रसाद बाँस्तोला- जो दरबार हत्याकान्ड हुँदा परराष्ट्र मन्त्री थिए। एक जमानामा उनी भारतका लागि नेपालका राजदूतसमेत थिए। बाँस्तोलाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औँ दिनको पुण्यतिथिमा नागरिक दैनिकले निकालेको विशेषाङ्कमा भनेका छन् – राजदरबार हत्याकाण्ड भएको बेला म गिरिजाबाबुको मन्त्रिमण्डलमा परराष्ट्र मन्त्री थिएँ। त्यो राजदरबार हत्याकाण्डमा गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ भन्ने निष्कर्षमा म पुगेको छु। त्यो भोजमा गिरिजाबाबुलाई पनि बोलाउने प्रस्ताव आएको रहेछ। राजाले ‘फेमिली म्याटर’मा नबोलाऔं। पछि परे बोलाऔंला’ भनेका रहेछन्। अर्को कुरा शवयात्रामा जाँदा शोभा भगवतीमा हामीमाथि ढुंगामुढा भयो। हामी भागेर हिँड्यौं। त्यहाँ ‘फायरिङ’ पनि भएको थियो, गिरिजाबाबुको गाडीमा। यसले के प्रश्न उठाउँछ भने राजदरबार हत्याकाण्डमा ठूलै मञ्चन भएको रहेछ। शाही सदस्यको हत्या गर्नेमात्रै होइन, गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ।

त्यसको पछाडि को होला?
राजनीतिले गडफिलिङ भन्छ, सामाजिक अनुसन्धानमा ‘र्‍यासनल’ चाहिन्छ। मलाई चाहिँ के लाग्छ भने यो भारतीय र अमेरिकीहरूको संयुक्त योजना हो। किनभने, नेपालमा भारतीय संलग्न नभई केही गर्नै सकिँदैन। र, अमेरिका यति ठूलो विश्वशक्ति छ, उसको जानकारीविना केही हुँदैन। त्यसकारण दुवै संलग्न छन्। थप पढ्नुस्
६) त्यो घटनामा कुनै षड्यन्त्र थिएनः डा. उपेन्द्र देवकोटा
१९ जेठ शुक्रबारको राति १० बजेतिर रातो बत्ती पिलिक पिलिक बाल्दै सनसनाएर आएको सेनाको एउटा जीप थापाथलीमा बागमतीको पुलनेर पुगेर नर्भिक (नर्सिङ होम) तिर मोडिन लाग्दा झण्डै दुईवटा मोटरकारसँग ठोक्किएको थियो। सैनिक पोशाकमा आएका एक शाही अङ्गरक्षक जीपबाट हुत्तिँदै निस्केर अस्पतालभित्र पसे र न्यूरोर्सजन डा. उपेन्द्र देवकोटालाई क्लिनिकबाट तानेर बाहिर निकाले। “युवराजलाई गोलीको चोट लागेको छ, हामी छाउनी जाँदैछौँ,” त्यत्तिकै अलमल्ल परेका डाक्टरलाई उनले भने। प्रतिघण्टा असी किलोमिटरसम्मको बेगमा हुइँकिएर थापाथलीबाट छाउनीसम्मको दूरी चार मिनेट पनि नलगाई तय गरेको त्यो जीपलाई बाटो खाली गरिदिन सडकमा हिँडिरहेका कार, मोटरसाईकल र बटुवाहरूलाई हम्मे-हम्मे परेको थियो। प्रस्तुत छ, वीर अस्पताल, न्यूरोर्सजरी विभागका प्रमुख डा. उपेन्द्र देवकोटाले त्यो रात सैनिक अस्पतालको ‘ट्रमा हल’ (गम्भीर चोटपटक लागेका बिरामीहरूलाई उपचार गर्ने कक्ष) मा देखेको अकल्पनीय दृश्य र त्यसपछिका तीन दिनमा गरेको मार्मिक अनुभवको विवरण, उनकै मुखबाटः उपेन्द्र पछि ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्री बन्नुभएको थियो। पढ्न क्लिक गर्नुस्

७) दीपेन्द्रलाई राजा बनाउन खोज्दा राजपरिषद्‍मा विवाद
राजपरिषद् बैठकमा श्री ५ युवराजाधिराजलाई श्री ५ महाराजाधिराज घोषणा गर्नुअघि केही विवाद उत्पन्न भएको थियो। श्री ५ युवराजाधिराज दीपेन्द्रले नै गोली चलाएको भन्ने आधार के हो र यदि गोली चलाएकै हो भने मौसुफलाई कसरी श्री ५ महाराजाधिराज मान्ने भन्ने प्रश्न राजपरिषद्का सदस्यहरूले उठाएका थिए। त्यो दिन गोरखापत्रले छापेको समाचार यस्तो थियो। पढ्न क्लिक गर्नुस्।

८) स्वचालित हतियार आकस्मिक रुपमा पडकेर मरेका रे
अन्ततः शुक्रबार हत्याकाण्ड भए पनि आइतबार रातितिर बल्ल राज्य सहायक ज्ञानेन्द्रले देशवासीका नाममा सन्देश दिए। यो सन्देश सँधै विवादास्पद सन्देशका रुपमा नेपालको इतिहासमा दर्ता हुनेछ। किनभने त्यसमा दरबारमा भएको घटनाका बारेमा ज्यादै हलका रुपमा स्पष्टिकरण दिइएको छ। नागरिकको सूचना पाउने अधिकारलाई खिल्ली उडाउँदै त्यसमा भनिएको छ- आकस्मिक रुपमा स्वचालित हतियार पड्कन गई त्यसो भएको हो। दोष जति त हतियारलाई पो ! हतियार पडकिएर पो भएको रे। अर्थात् हतियारै दोषी। ज्ञानेन्द्रले २०५८ को जेठ २१ गते दिएको सन्देशको पूर्ण विवरण यस्तो छ।

९) राज्यारोहणबाटै विरोध सुरु, चारको मृत्यु, दर्जनौँ घाइते
जेठ २२ गतेका दिन तत्कालीन राजा दीपेन्द्रको निधनपछि ज्ञानेन्द्रको राज्यारोहण भएको थियो। तर त्यति सहज भने भएको थिएन राज्यारोहण। ठाउँठाउँमा उत्तेजक प्रदर्शन, चर्का नाराबाजीका कारण सेनाले बाटो खुलाउँदै राज्यारोहण स्थल हनुमान ढोकाको नासलचोकमा पुर्‍याएको थियो। अनि त्यहाँबाट पनि त्यसरी नै फर्काइएको थियो। सवारी अगाडि बढ्नासाथ राजधानीका आक्रोशित युवाहरूले हनुमान ढोका परिसरमै नारा लगाएका थिए। हनुमान ढोका क्षेत्रमा चौतर्फी सैनिक सतर्कताअघि बढाइएको र प्रहरीले जनतालाई त्यहाँ प्रवेश गर्न रोक लगाएको थियो। त्यति हुँदाहुँदै पनि सवारी अगाडि बढ्ने बित्तिकै नारा लागेको थियो। सवारीको पछिपछि नारा लगाउँदै युवाहरूको जमातअघि बढेको थियो। उनीहरूले खासगरी ज्ञानेन्द्र र उनका छोरा पारस विरोधी नारा लगाएका थिए। त्यसको लगत्तै नयाँ सडक गेट, वीर अस्पताल, रत्नपार्क, बागजार, दरबारमार्ग, पुतलीसडक, नयाँ बानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, चाबहिललगायतका स्थानमा आक्रोशित युवाहरूले विरोध प्रदर्शन गरेका थिए। त्यसैको फलस्वरूप अपरान्ह ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएर स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो। त्यति हुँदाहुँदै पनि नागरिकहरूले कर्फ्र्यूको अवज्ञा गरेका थिए। विभिन्न स्थानमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिएको थियो। उक्त घटना क्रममा केही व्यक्तिहरूको ज्यानसमेत गएको थियो।त्यतिबेलाका पत्रिकामा चार जनाको मृत्षु भएको र दर्जनौँ घाइते भएको बताइएको छ। बिचराहरुको ज्यान यत्तिकै खेर गएको छ। त्यतिबेलाकान्तिपुरमा छापिएको समाचार पढ्नुस्

१०) मास्क लगाएकोले हत्या गर्न सक्दैन : विवेक शाह
घटना हुनुको पछाडि के के कारण हुनसक्छन् भन्ने विषयमा विस्तृत छानबिन हुनुपर्ने पूर्व सैनिक सचिव विवेक शाह बताउँछन् आफ्नो पुस्तकमा। यस्तै माग जनताले पनि अनि नेताहरुले पनि वर्षौँदेखि गर्दै आएका हुन्। देशीविदेशी शक्ति केन्द्रको, दीपेन्द्रलाई उकास्ने व्यक्ति, उनलाई लागू पदार्थको कुलतमा फँसाउने गिरोह आदिको अनुत्तरित प्रश्न खोज्नु पर्ने माग उनको पुस्तकमा छ। जनताको भने एउटा अर्को प्रश्न पनि छ- ज्ञानेन्द्रले आफ्नो शासनकालमा गोली चलेको त्रिभुवन सदन किन भत्काउन आदेश दिए ? किन घटनास्थल अहिले भग्नावशेषमा परिणत गराइयो ? पुस्तकमा यसको उत्तर छैन। बरु केही हल्लाको खण्डन गरिएका छन्। मास्क लगाएर अरु कसैले हत्या गरेको होला भन्ने आशंकालाई उनले खण्डन गर्दै दरबारमा कडा सुरक्षा हुने भएकोले (सैनिक सचिव भएकोले उनी सुरक्षाको जिम्मेवारी लिनुपर्ने मानिस हुन्) कोही बाहिरिया मानिस त्यहाँ त्यसरी मास्क लगाएर हतियार ल्याउनै नसक्ने तर्क गर्छन्। तर उनले दरबारभित्र युवराज र अरु राजपरिवारका सदस्यलाई लागू पदार्थ कसरी सप्लाइ हुँदो रहेछ भन्ने बारे केही बताउन सकेका छैनन्। लागू पदार्थ जस्तै हतियार आयो कि ? लागू पदार्थ भित्री मानिसले ल्याए सरह मास्क पनि दरबार भित्रैकाले लगाएर प्रयोग गर्न सक्छन् कि सक्दैनन्- यस्ता प्रश्नको जवाफ पुस्तकमा पाइँदैन।

http://www.mysansar.com बाट साभार 

===================================



शाहको पुस्तक ‘मैले देखेको दरबार’ र ‘भटट प्रतिवेदन’ उस्तै

दरबारमा दुई जना राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग निकट भई काम गरेका पूर्व सैनिक सचिव विवेक शाहको पुस्तक “मैले देखेको दरबार” अहिले चर्चामा छ। आम मानिसको चासो यसले हत्याकान्डका विषयमा केही नयाँ खुलासा गर्छ कि भन्ने हो। यदि त्यस्तै सोचेर किताब किन्नुभएको भए तपाईँलाई यो किन्न खर्चेको आफ्नो नौ सय रुप‍ैयाँको माया लाग्न सक्छ। किनभने हत्याकान्डका विषयमा यो पुस्तकको सार ‘भटट प्रतिवेदन’ अर्थात् ज्ञानेन्द्रले तत्कालीन प्रधानन्यायाधीश र सभामुखको सदस्यतामा बनाएको उच्चस्तरीय छानबिन प्रतिवेदनलाई सही प्रमाणित गर्नु मात्रै हो।

जेठ १९ को जुन रात दरबारमा गोली चल्दै थियो, त्यतिबेला लेखक शाह दरबारबाट निकै टाढा नयाँ बजारमा आफ्ना साथीहरुसँग रक्सी खाँदै थिए। पुस्तकको पेज १९ मा लेखिएको छ- ‘…हामी ड्रिङ्कस गरिरहेका थियौँ।’ रक्सी खाइरहेकै बेला दरबारबाट खोजी भयो भनी घरमा फोन आएपछि दरबारमा फोन गर्दा बल्ल उनले दरबारभित्र फायरिङ भयो रे भन्ने थाहा पाएका थिए। मृत्यु भएको कुरा त सैनिक अस्पताल, छाउनीमा शव देखेपछि मात्रै थाहा भएको रहेछ उनलाई। गोली चल्दा घटनास्थलबाट निकै टाढा ड्रिङ्कसमा मस्त व्यक्तिले हत्याकान्डका विषयमा कसरी नयाँ कुरा दिनसक्ने आशा गर्नुभएको तपाईँले ? 


यो आशा गर्नु नै बेकार छ। उनले हत्याकान्डका विषयमा जति कुरा थाहा पाए, ती सबै अरुका मुखबाट सुनेका हुन्। जुन कुरा तपाईँले पनि अहिलेसम्म सुन्दै आउनु भएको छ। भटट प्रतिवेदन (प्रतिवेदन सार्वजनिक गर्ने क्रममा आयोग सदस्य तारानाथ रानाभाटले भटट शब्द उच्चारण गर्दै हान्दिम भनी दीपेन्द्रले चलाएको भनिएको बन्दूक पत्रकारतिर तेर्स्याएको कारण यो कान्डलाई भटट कान्ड पनि भनिन्छ। रानाभाटको चर्तिकला हेर्ने भए यहाँ क्लिक गर्नुस्) मा प्रत्यक्षदर्शीहरुको बयानमा पनि त्यही कुरा छ।

शाहले पेज ५४ मा लेखेका छन्- घटनास्थलको वास्तविकता त्यही हो। अर्थात् भटट प्रतिवेदनले जस्तो देखाएको छ, त्यही हो। घटनाका बेला उनी प्रत्यक्षदर्शी नभएकोले घटना हुनुको कारण बारे उनले अनेक थरि अनुमान लगाएका छन्, जस्तो कि तपाईँले पनि लगाउनु हुन्छ। फरक यति हो, उनले दरबारलाई नजिकबाट देखेका कारण उनको अनुमान हाम्रो अनुमानभन्दा फरक हुनसक्छ।
घटना हुनुको पछाडि के के कारण हुनसक्छन् भन्ने विषयमा विस्तृत छानबिन हुनुपर्ने उनी बताउँछन् पुस्तकमा। यस्तै माग जनताले पनि अनि नेताहरुले पनि वर्षौँदेखि गर्दै आएका हुन्। देशीविदेशी शक्ति केन्द्रको, दीपेन्द्रलाई उकास्ने व्यक्ति, उनलाई लागू पदार्थको कुलतमा फँसाउने गिरोह आदिको अनुत्तरित प्रश्न खोज्नु पर्ने माग उनको पुस्तकमा छ। जनताको भने एउटा अर्को प्रश्न पनि छ- ज्ञानेन्द्रले आफ्नो शासनकालमा गोली चलेको त्रिभुवन सदन किन भत्काउन आदेश दिए ? किन घटनास्थल अहिले भग्नावशेषमा परिणत गराइयो ?
पुस्तकमा यसको उत्तर छैन। बरु केही हल्लाको खण्डन गरिएका छन्। मास्क लगाएर अरु कसैले हत्या गरेको होला भन्ने आशंकालाई उनले खण्डन गर्दै दरबारमा कडा सुरक्षा हुने भएकोले (सैनिक सचिव भएकोले उनी सुरक्षाको जिम्मेवारी लिनुपर्ने मानिस हुन्) कोही बाहिरिया मानिस त्यहाँ त्यसरी मास्क लगाएर हतियार ल्याउनै नसक्ने तर्क गर्छन्। तर उनले दरबारभित्र युवराज र अरु राजपरिवारका सदस्यलाई लागू पदार्थ कसरी सप्लाइ हुँदो रहेछ भन्ने बारे केही बताउन सकेका छैनन्। लागू पदार्थ जस्तै हतियार आयो कि ? लागू पदार्थ भित्री मानिसले ल्याए सरह मास्क पनि दरबार भित्रैकाले लगाएर प्रयोग गर्न सक्छन् कि सक्दैनन्- यस्ता प्रश्नको जवाफ पुस्तकमा पाइँदैन।
उनले ठहर गरे सरह पुस्तकमा भनेका छन् कि दायाँ हातले स्वचालित मेसिनगनले फायर गरेर अन्त्यमा देब्रे हातले देब्रे कञ्चटमा गोली हानी दीपेन्द्रले आत्महत्या नै गरेका हुन्। ‘उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रकै प्रत्यक्ष र प्रमुख हात देखिन्छ’ (पेज ३८)
दीपेन्द्रको रामकहानी
दीपेन्द्रलाई दोषी ठहर गर्न सहायक हुने गरी उनले पुस्तकमा तत्कालीन युवराजका विभिन्न प्रसंग लेखेका छन्। आमाबाबु भएर पनि माया नपाएर टुहुरो जस्तो भएको दीपेन्द्र, सानैदेखि जिद्दी स्वभावका मात्र प्रसंग यसमा छैनन्, झण्डै झण्डै युधीर थापाको उपन्यासको प्लट जस्तो लाग्ने गरी दीपेन्द्रको यौनलोलुप प्रवृत्तिको पनि बयान गरिएको छ।

दीपेन्द्र सार्वजनिक रुपमा जस्तो देखिन्छन्, भित्र त्यस्तो नभएको उनको कथन छ। दीपेन्द्रको परपीडक प्रवृत्तिको बयानका लागि एक शीर्षक नै छुट्याएका छन् उनले। ठूलो मान्छेलाई मुक्का हानेर लडाएर छटपट गर्दा हाँस्ने, गुलेली हानेर परेवा झार्ने, नमरे तडपाउने, जिउँदो मुसा समातेर पुच्छरमा आगो लगाउने घटनाको बयान पुस्तकमा छ।
त्यसैगरी केटीका मामिलामा साह्रै कमजोर प्रमाणित गर्न पुस्तकमा दीपेन्द्रले सुरुमा सुप्रिया शाहसँग अफेयर चलाएको, ७ क्लासदेखि नै उनलाई लभलेटर लेख्‍ने गरेको, बेलायतमा पढ्न गएदेखि देव्यानीसँग पनि अफेयर चलेको, त्यसपछि दुवै जनासँग एकै पटक अफेयर चलाएको, बेलायत मै हुँदा एक जापानी केटीसँग पनि अफेयर चलेको, ती जापानीसँग पनि विवाह गर्छु भने फकाउने गरेको प्रसंगसहित पेज ४७ मा उनले लेखेका छन्- बेलग्रेडमा मैले के देखेँ भने युवराजधिराज सरकार केटीहरुका मामिलामा ज्यादै कमजोरी देखाइबक्सन्थ्यो। यसो गरेँ, उसो गरेँ भनेर विभिन्न प्रसंग सुनाइबक्सन्थ्यो। बेलग्रेड कै होटलमा एक स्थानीय केटीसँग लिफ्टभित्र साढे दुई घण्टा बसेर एकै पटक बिहान ‘हाँस्दै सवारी भएको’ कुरा लेख्‍न पनि उनले भ्याएका छन्।
भारतको हात ?
उनले हत्याकान्डका पछाडि भारतको हात हुनसक्ने भनी लगाएको अनुमान सर्वसाधारणले ज्ञानेन्द्र पारसको हात हुनसक्ने भनी लगाएको अनुमान जस्तो मात्रै हो। पुस्तक पढ्दा त्यस्तै देखिन्छ। बरु केही नयाँ रहस्य यस क्रममा खोलिएका छन् जस्तो कि हतियार कारखाना नेपाल मै खोलेर एसेम्बल हतियार दक्षिण एसियामा बेच्ने वीरेन्द्रको योजना, माओवादी समस्या समाधानका लागि वीरेन्द्रले बनाएको विशेष योजना। भारतको हात हुनसक्ने अनुमान जस्तै अर्को एउटा अनुमान पनि उनले गरेका छन्। वीरेन्द्र र ऐश्वर्य तन्त्रमन्त्रमा धेरै विश्वास गर्थे रे। तान्त्रिक प्रयोगको उल्टो परिणामस्वरुप हत्याकान्ड भएको त हैन ? उनले यस्तो अनुमान पनि गरेका छन्।

हत्याकान्डको विषयमा मूलतः यिनै कुरा पुस्तकमा छन्। त्यसबाहेक उनको पुस्तकको अधिकांश भाग उनको डायरीले ओगटेको छ, जुन इतिहासप्रति रुचि राख्‍नेहरुका लागि राम्रो छ। रुचि नराख्‍नेलाई यो वाक्कलाग्दो हुन्छ। किनभने प्रसंग र सन्दर्भ बिना के भनेको हो बुझ्न पनि गाह्रो हुन्छ केहीलाई। केही प्रसंगहरु ‘नेपाली विकिलिक्स’ जस्ता छन्। आगामी दिनमा म त्यस्ता केही विषय लेख्‍नेछु।

========================================

दरबार हत्याकान्डबारे पारस र हिमानीको बयान

paras-himani
१४ वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्‍यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। उनीहरुले घटनाबारे छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित सभामुख तारानाथ रानाभाट सदस्य भएको उच्चस्तरीय आयोगलाई के बयान दिएका थिए? धेरैले बिर्सिसके होलान्। पढ्नुस् पारस र हिमानीको बयान।

Nepal-prince-Paras-Shah
श्री ५ शाहज्यादा पारस वीर विक्रम शाह
समितिः सरकार, राजदरवारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो । त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो, त्यो सबै जानकारी भएको सुनेको कुराहरु चाहीँ हामीलाई प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो ?

जवाफः अब, हामी पुग्यौं त्यहाँ त्यस्तै अन्दाजी साढे ७ भन्दा अलि ढिलो पुग्यौं । हामी त्यही …. ७ ।४० तिर पुग्यौं, सबै जना आइसकेको थियो । मुमा, म, बहिनी, हिमानी र हामी अलि ढिलो पुग्यौं । ७ ।४० तिर पुग्यौं, पुग्दाखेरी अ… युवराजाधिराज अलिकति ककटेल ज्यूनार भैसक्या जस्तो थियो । अनि के खाने–मैले कोक मात्र खाने विचार गरेँ ।
ए कोकमात्र खाने ! म त ह्विस्की खाएर बसेको छु हुकुम भयो । त्यो बेलासम्म ठिक्कै होइबक्सन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सी राखेकोथ्यो । अ ….. कुरा गर्दाखेरी के भो भन्दाखेरी हैन यहि विवाहको कुरा भइ राखेको छ। मेरो, मुमासँग पनि कुरा गरें । आफूमुमासँग पनि कुरा गरें अनि, दुवै जनाले हुन्न भन्नु भयो । अब आइतवार बुबासँग कुरा गर्छु हुकुम भयो । त्यति कुरा भइ राखेको थियो, त्यत्ति हुँदा हुँदै आठ बज्यो । सबै जनालाई ड्रिंक्स सिंक्स टक्राइबक्स्यो ।
आठ बज्यो आफूमुमा, मुमा बडामहारानी सवारी होइबक्स्यो, फेरी सरकारबाटै सवारी चलाइबक्सेका, फेरी …… ड्रिंक्स दिइबक्स्यो, अनि यस्तै साढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सक्याएर सवारी होइबक्स्यो, त्यो बेलामा दाइ हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो त्यही कोठामा होइबक्सन्थ्यो । एकदमै लागेको जस्तो ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो, त्यही भुइमा नै सुकला भयो, म, गोरख, निराजन र राजिव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलो बुबा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ …… छ माथि सवारी चलाउँछौं भनेर हामी चार जना भएर माथि खोपीमा सवारी चलायौं, त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइन । गद्दीको मुन्तिर सानो ओछ्यान छ नि त्यहीं नै सुताएर गयौं हामीले ।
करीब साढे आठ, जस्तो भाथ्यो, साढे आठ त्यस्तै ३१।३२, आठ ३१ ।३२ होला। हामी तल आयौं। वत्तिसत्ति निभाएर तल आयौं । तल आएपछि अब महाराजाधिराजको भित्रै, मुमा बडामहारानी सरकार जहाँ राज होइबक्सेकोथ्यो त्यहीं नै हेलेन शाहसँग मिटिङ्ग भइ राखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन, वाहिर कुरेर बसिराखेको थिएँ, त्यहाँ भित्रको मिटिङ्ग आधा घण्टा जति चल्यो होला, मेक्सीमम आधा घण्टाजति चल्यो होला । त्यसपछि हामी दर्शन गरेर यता आयौं । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो, त्यही कोठामा सवारी भयो । भर्खर ड्रिंक्स लिई बक्सेको थियो, महाराजाधिराज सरकारले ।
हामीले चियर्स पनि गरेको छैनौं, भर्खर ड्रिक्स लिई बक्सेको थियो, यसै बीचमा अब हामीचाँही एतापट्टी कुनामा थियौं हजुर, देखिएन युवराजधिराज सवारी भएको । अ….. हामीले युवराजधिराज सवारी भएको देखेनौं, हामी कुनामा थियौं । मैले त यो ….. …….. ……………….
समितिः कुना भनेको त्यो बडामहारानी सरकार राज भएको कुर्सितिर कि?
जवाफः होइन क्यारेमवोर्ड छ नि ।
समितिः क्यारेमवोर्ड यो?
जवाफः क्यारमबोर्ड, क्यारमबोर्ड छ नि ।
समितिः त्यो वारको पछाडि ?
जवाफः हो, बारको पछाडि त्यो …… कुनामा हामी बस्ने कुना त्यही हो । हामी Youngs हरुको, अब त्याहाँ उताबाट चुरोट सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरै जस्तो बस्ने त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइन, मैले सवारी भएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग ग¥यो, त्यत्ति ३ राउण्ड जति फायर भएको छ । पहिले सवारी हुने वित्तिकै ३ फाएर भएको छ । एउटा माथि छ, एउटा सिधा छ । त्यसरी दागि बक्सदाखेरी एउटा सिधै गएको छ, एउटा माथि गएको छ । ३ राउण्ड जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरी ३ राउण्ड जस्तो लाग्छ फर्स्ट मैं त्यो पनि आवाज ।
महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो ड्याङ्ग ड्याङ्ग एउटा यस्तोमा एउटा यस्तोमा । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँगसँगै । दुइजना कुदेर गयौं । डा. राजीव चाही महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर, मलाई चाहीं अधिराजकुमारी शोभाले जानै दिन बक्सेन, तिमी त्यहीं बस हिड्ने होइन, हुकुम भयो। त्यही नै मैले पछाडी फर्केर बहिनीहरु सबै जनालाई ढल्नलाई सुत तिमिहरु यहाँ भने । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबैजनालाई राखें । उता दुई जना सिनियर मेम्वरहरु पनि महेशकुमार र रवी शम्शेर दुवै जना पनि मेरै छेउमा थियो । दुवै जनालाई पनि मैले लाइन क्रोसियरमा राखें ।
यत्तिमै यत्ति हुँदा हुँदै युवराजधिराज सरकार, फेरि फर्केर सवारी भयो । मैले देखेको चाहीं हजुर, महाराजाधिराजलाई हानिबक्सेको देखें । धिरेन्द्र सरकारलाई हानी बक्सेको देखें, बाबा enough, you done enough damage भनेर second time फर्केर जाँदाखेरी, धीरेन्द्र सरकारले के हुकुम भयो भने you done damage हुकुम भयो । त्यति हुकुम हुँदाखेरी ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा होकी दुइटा त्यो पनि धीरेन्द्र सरकारलाई, राम्रो सँग सम्झन सकेको छैन । ढलिबक्स्यो । धीरेन्द्र सरकार ढलिबक्स्यो, ढलिबक्से वित्तिकै त त्यसपछि त अरुहरु मान्छेहरु त one after another को ढल्यो को ढल्यो त्यसपछि राम्रोसँग भन्न सक्दिन । म पछाडि फर्केर बहिनीहरु सुताउन थाली सकेको थिए, अं…… मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखें यता, कुमार खड्ग ढलिबक्सेको थियो, उता कुमार गोरख ढलेको देखें।
त्यो चाही फर्स्ट मै ठूलो बुबा सँगसँगै ३ जना ढलेको छ। त्यो First Automatic weapon MP-5 को फाएरले ३ जना ढलेको छ । वाहिर सवारी भयो, फेरी फर्केर सवारी भयो, त्यसपछि त्यो सानो weaponMP-5 automatic त्यो फालिबक्स्यो, त्यो weapon महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो weapon टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारी भएर त्यो weapon लिई बक्स्यो, म्यागजिन पनि झिकिबक्स्यो । त्यही भइमा राख्दीबक्स्यो त्यो । अब के भन्ठानी बक्स्यो भने त्यही एउटा मात्र होला भन्दठानी बक्सेछ । दाइले चाही अरु पनि बोकिबस्केको मैले पनि देखेको हो । अरु तीनवटा बोकिबस्केको थियो, चारवटा थियो weapon । एउटा चाहीने बन्दुक लेफ्ट साइडमा थियो ह्यान्ड गन। ह्यान्ड गन चाहीँ लेफ्ट साइडमा थियो । दाहिने वगलिमाः MP5 थियो । भिरिबक्सेको Shot Gun र एम १६, त्यो Automatic हो । भ्यार्रर गरेर ठूलो बुबालाई हानीबक्स्यो, कान्छो बुबालाई पनि हानी बक्स्यो, यता खड्ग विक्रम ढलिबक्स्यो उता गोरख ढल्यो । त्यो first attack मै कता कता दागेर वाहिर सवारी भयो । त्यसछि हामी त कुनैमा थियौं । वाहिरपट्टी के भयो मैले त देखिन फेरी भित्र सवारी भयो । सवारी भएर ठूलो बुबालाई ………………

समितिः समयको त्यस्तो कुनै ग्याप लामो ग्याप त हैन ?
जवाफः छैन, एक मिनेट पनि छैन, ३० सेकेण्ड होला म्याक्सिमम्, म्याक्सिमम् भए ३० सेकेण्ड, भित्र बाहिर भित्र वाहिर गरिबक्स्यो । सवारी भयो ठूलो चाही बन्दुक एम १६ एम १६ ले पहिले नै ठूलो बुबाको माथमा हानिबक्स्यो, सट त्यस पछि यता सवारी भयो, खड्ग फुपाजु ढलिबक्स्यो, कुमार खड्ग त्यो वारको ठ्याक्कै तल ढलिबक्स्यो ।

…………. हजुर, उतापट्टी गोरख, ठूलो बुबा बीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो, …… श्रुति, त्यसपछि श्रुति मैले आएको देखिन, गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखें । त्यो गएको बेलामा उताबाट फर्कि बस्क्यो, युवराजाधिराज सवारी भयो, यतापट्टी ढली राखेको थियो हजुर, पहिला कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमिलाई के भयो तिमीलाई के भयो भनेर सवारी भई माथि पट्टी सुतिबक्स्यो, खड्ग फुपाज्यूको माथि ढलेर कवर गरिबक्स्यो । युवराजधिराज सवारी भयो ड्याङ्ग ड्याङ्ग point blank ड्याङ्ग ड्याङ्ग ड्याङ्ग यस्तो घारीबाट देखेको त्यही देखेको । त्यो भएको म यताको कुनाको मेचमा त्यो वारको मूनिबाट त्यो चाही राम्रो सँग देखेको हो मैले । ड्याङ्ग हानी बक्स्यो । त्यो गोली आएर यतापट्टी कार्पेटमा लागेछ ।
भएर आएर मेचको यतापट्टी काठमा लागेर मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले, त्यो गोली उछिट्टिएर गएर उसको यस्तोमा लागेको हो । त्यो चाही लागेको उसलाई । अब त्यस पछि फेरी वाहिर सवारी भएको हो कि म राम्रो सँग सम्झन सकिन, वाहिर सवारी भएको जस्तो लाग्दछ, दुईतिन चोटी गरिबक्स्यो भित्र, वाहिर, Third time सवारी हुँदा चाही यता … अ… शाहज्यादी जयन्ती दिदी, केतकी अ… श्रुति ३ जनालाई हानी बक्स्यो । श्रुती Third time ‘। अनि बाहिर सवारी भयो युवराज सरकार चाही मैले त्यसपछि, यता कुनामा सवारी भयो, त्यो अग्लो मेच जस्तो छ नि हजुर, त्यो, कुनामा सवारी भयो, त्यसपछि डाइरेक्ट नजरमा हामी प¥यौ ……. के गरिबक्स्या हजुर ….. हामी ….. के गरिबक्स्या please …… गई बक्स्योस भनेर त्यो विन्ति जाहेर गरें मैले । नत्र भए सवै जनालाई हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवी उतापट्टी ठ्याक्कै वारको मुनि रवि थियो । अ…… महेशको पछाडि मेरो वहिनी छ । पछाडी मेरो वाइफ थियो, मेरो वाइफ पछाडि मेरो ३ जना वहिनीहरु मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा वहिनी चाँही त्यो सोफा जस्तो छ त्यसको पछाडि राखेको थिएँ ।

एकदमै कभर गरेर राखेको थिए मैले । मैले चाही दाइसँग के गरिबक्स्या हामी यस्तो यहाँ त हामी मात्र छौं please …. one by one सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो, त्यसपछि थाहा भयो हामीलाई हानी बक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिराखेको थियो । के के भाछ भनेर मैले कान्छो बुवाका गएँ । पारस मेरो खुट्टा चलाउन मैले खुट्टै चलेन अं. …… मेरा खुट्टा खुम्च्याउन सक्दिन खुट्टा चलाई देउ । अलिकति चलाएँ, फिल गर्न सकिबक्सेन ।
त्यसपछि यता केटाकेटीलाई हेर भन्नु भयो, मैले त मेरो मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन, यता अधिराजकुमारी शान्ति पनि देखेको छैन, उता उता …… वडामहारानी सरकार निराजनको त वाहिरै कुरा भयो मैले त्यति देखेकै छैन । अनि त्यो बेलामा हेर्दा खेरी मुमा भर्खर उठि बक्सिराथ्यो, ढली बक्सेको । मूमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्ति माथि होइसिन्थ्यो । मुमाले चाही घचडेर उठिबक्सेको देखें । म जभउि गरेर उठाएँ मुमालाई । …… मठिक छैन, म ठिक छैन भन्नु भयो, माथबाटपनि रगत आइराखेको यस्तो समातेर बसिबक्स्याथ्यो । माथको रगत चाहिने अधिराजकुमारी शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिए पहिला ।
अधिराजकुमारीको रगत रहेछ । त्यतिगरे पछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो, माथ पनि चेक गरें मैले, केही पनि छैन । त्यसपछि म दौडेर गएर यता मुमा वडामहारानी सरकारकाँ गएँ । वाहिर पनि मैले त फायरिङ्ग सुनेको थिएँ । मैले त उता भन्ठाने, मूमा वडामहारानी सरकरको खोपिमा भन्ठानें । दौडेर त्यहाँ गए त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरें, त्यो बेलासम्म फायरिङ्ग सकिसकेको थियो, म जाँदा मुमा वडामहारानी सरकार ……
समितिः मुमा वडामहारानी सरकार भनेको उता सानो बैठकमा …
जवाफः उता सानो बैठक, वाहिर पट्टीको । त्यहाँ होइबक्सन्थ्यो । त्याहाँ जाँदासम्म firing बन्द भएको थियो । जब म मान्छेहरुलाई हेर्न गएको थिए त्यो वेलासम्म कोही फायरिङ्ग भइ राखेको थियो । वाहिर ….. त्यो चौरमा फायरिङ्ग भइ राखको थियो । लास्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो म केही भन्न सक्दिन । मैले देखेको होइन । कसलाई हानिबक्स्यो, त्यहाँ कसरी घटना भयो, त्यो पहिला कसलाई हानिबक्स्यो, पछि कसलाई हानीबक्स्यो मलाई थाहा छैन । मैले त मुमालाई लागेको देखेको होइन, अहिले कुरा सुन्दाखेरी वाहिरबाट हानीबक्सेको मुमालाई पछाडी दुइटा वाहिरबाट हानीबक्सेको मात्र सुनें । त्यो मलाई थाहा छैन मैले नदेखेको कुरा म भन्न सक्दिन । मैले देखेको कुराचाही यति हो । म पनि त्यसपछि मान्छेहरुलाई हेरें, सवैजना ढली राखेको छन् । खुट्टा चलाई देउ भन्नु भयो । पाउ चलाएँ, सिधै हेर्न सकिदैन यता केतकी फुपुलाई हेर भन्नु भयो, कान्छो बुबाुले । म खुट्टा पनि चलाउन सक्दिन म हेल्प भन्दा धेरै त्यो जाहेर गरें । दौडेर आपूmमुमा कहाँ गएँ मुमावडामहारानी सरकारकाँ ३ जना होइबक्सन्थ्यो, त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर ए.डि.सी.हरुलाई भित्र ल्याएँ । त्यो ए.डि.सी.हरु वाहिर गयो, वाहिर जाँदाखेरी ….. हरु ठ्याक्क आइराखेको थियो ।

म वाहिर पुग्नु र ADC हरु आइपुग्न almost सेम टाइम थियो । अनि त्याहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ घाइते मान्छेहरु पनि छ । मरेको मान्छेहरुलाई छाडदेउ । घाइते मान्छेहरुलाई दौडाइहाल पहिला, भित्र लगें घाइते मान्छेहरु सबै जना पहिला उठाएर यलभ दथ यलभ सबै जनालाई जो जो पहिला गए जो जो हाल्न सकें पठाएथें, ५—६ मर्डरहरु थिए । जो जो आए हाल्दै पठाउँदै थिएँ । अब दाइ, बडामहारानी सरकार र भाइलाई भेटाउन, गएको तिमीहरु खोज भनेर ३ जना । दाइको एडिसी दौडेर आयो he shot himself, he shot himself भन्दै आयो।
त्यसपछि भाइ कहाँ भन्दा भाइलाई पनि हानिबक्स्यो । ठूलोमुमा खोइ, ठूलो मुमालाई पनि डाउन, सबै जना डाउन ठुलोमुमाको chance नै छैन भनेर उनीहरुले मलाई भन्यो । मैले देखेको होइन, ठुलोमुमाको चान्स छैन, दाइचाही ऐया ऐया गरेर लडीबक्स्याथ्यो, माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाई चाही मैले सँगै हालेर दाइको एडिसीले हाल्यो, म अगाडी बसे, पछाडि एकजना ड्राइभरले दाइलाई समाइराथ्यो र भाइलाई समोतेको थियो पछाडी अर्को एक जना थियो । दुइजना चाही म र दुईजना एडिसी अर्को एक जना ड्राइभर भएर अस्पताल पु¥याको । त्यतिवेला महाराजाधिराज सरकारको सवारी चलाइसकेको थियो । ………. सबैभन्दा पहिला त सुन्दर भन्ने एडिसी छ, त्यो गर्दा उ आयो, उता उताबाट घुमेर आयो त्यहाँ त फायरिङ्ग भइ राखेको थियो । उसले अरु मान्छे ल्याउन सकेन, उताबाट वाहिर घुमेर फायरिङ्ग भइ राखेको थियो, उता ढोकाको शिशा फुटाएर मैले आउ भन्दिए । यो फुटाएर भित्र आएर ठूलो बुबा महाराजाधिराज सरकारलाई लग्यो, महाराजाधिराज सरकारलाई पहिला लगेको हो ।
यो राजीव कहाँ थ्यो के थ्यो, राजीव गएको पनि देखेको छैन, हजुर, म पछाडि गर्दै थिए यता मान्छेहरु हेर्दै थिएँ, राजीव गएको मैले देखेको होइन, सबभन्दा पहलिा चाही महाराजाधिराज सरकारलाई लिएर गएको । त्यसपछि चाहीं म गएर मान्छेहरुलाई हेर्न गएको । ए.डि.सी. हरुलाई मैले नै बोलाएर त्यो शिशा ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ । मैले देखेको त यत्ति नै हो ।
समितिः सरकारले कति weapon use भएको देखिबक्स्यो ?
जवाफः मलाई जहाँसम्म लाग्दछ एउटा एम १६ यूज भएको छ । Glock यूज भएको छ । चारवटा यूज भएको छ । मैले त्यो 12 bore फायर गरेको देखेको छैन । त्यसको फाएर देखेको होइन मैले । अरुचाहीं फायर भएको देखेको छु मैले । यो एम १६ फायर भएको देखेको हुँ ।

समितिः युवराजधिराजको कसरी ? ।
जवाफः मैले सुने अनुसार दाइले आफूलाई हानिवक्स्यो, ब्रिजमा हानिवक्सेको ।

समितिः– यसको पछाडि के यस्तो कारण ?
जवाफः– यो विवाहकै हो हजूर । मलाई जहाँसम्म लाग्छ, विवाहकै हो । यो शुरु भएको पोहोर गएको जन्मोत्सवमा शुरु भएको कुरा हो । पार्टी भएपछि पार्टी भएको त्यही ठाउँमै त्यही ठाउँमा भएको कुरा हो । त्यहीं नै हामी आएर कुरा गर्दाखेरी जो जो against अघि जो जो ] with अब भाई र म ] with जहिले पनि वीथ । दाइको त हामी जे जे हुकुम हुन्छ त्यही गर्ने मान्छे । भाई र म ] with थियौं । अब राजिव त डा. ] with भयो, श्रुती, गोरखहरु र अरु बहिनीहरु against थियो विवाहकोमा । मेन कुरा यही नै जस्तो लाग्दछ । मेन कुरा यही हो जस्तो लाग्दछ ।

समितिः– तर त्यो दिन त्यहाँ त्यो कुरा चल्यो कि चलेन ?
जवाफः– म संग कुरा गरिवक्स्या छैन । मैले अघि तपाईलाई भनेको जस्तो म जाने बित्तिकै के मर्जीभयो भने मलाई मूमासंग पनि कुरा गरें, आफु मुमासंग पनि कुरा गरें, नहुने भयो । अब म बुबासंग आइतबार दर्शन पाउँछु, त्यो बेला कुरा गर्छु, त्यत्ति मात्र हुकुम भाथ्यो मलाई ।

समितिः– राम्रो मुड थियो ?
जवाफः– लागेको जस्तो भएको थियो । एकदमै राम्रो थियो मूढ । त्यस्तो होला भन्ने केही सोचेकै थिएनौं हामीले । एकदमै जोक गरी बक्सेको जस्तो सबैलाई हँसाइवक्सेको थियो, त्यहाँ तल होइवक्सँदासम्म त ।

समितिः– सरकार माथि कसले पु¥याएको ?
जवाफः– हजूर । हामी चारजनाले पु¥याएको । हामी चारजना, एकजनाले कहाँ सक्नु !

समितिः– बोकेरै लगिवक्स्यो ?
जवाफः– दुईजना साइडमा म पछाडि यसरी उचालेर गोरख र भाइले, अं…. राजीव र भाइले दुईजना साइडमा मैले पछाडी समाएर माथि लग्यौं । गोरख होइन, गोरख पछि पछि आउँदै थियो । माथि ……

समितिः– तल सुताइवक्स्यो ?
जवाफः– तल, मेन गद्दीमा त सुताएनौं । तल सुतायौं । मैले भाईलाई भनेको वेपनहरु झिक लैजाऊ, अप्ठ्यारो हुन्छ झिक । ….. पर्दैन होला …..

समितिः– त्यो कोठाबाट ?
जवाफः– कोठाबाट । माथिको कोठाबाट । जुन मेन गद्दी थियो, त्यो गद्दी भन्दा तल अर्को एउटा बेड … ऊ ….. ग्राउण्ड बेड जस्तो त्यहाँ सुताएर हामी तल आएको ।

जवाफः– वेपन्सहरु ?
जवाफः– वेपन्स अब त्यो, त्यस्तो त बोकिवक्सेको छैन । एमपी ५ र मैले देखेको छैन कहाँ थियो । अँ, …… अनि एम १६ चाहिनी त्यो तखताहरु छ नि, जाने बित्तिकै तखताहरु जस्तो छ ।

समितिः– त्यसमा कार्टिजहरु पनि निस्किराखेको थियो ?
जवाफः– हो, त्यो तखतामा छ । त्यो होला … अँ…. बटृाभित्रै बक्स भित्र नै थियो । त्यो तखतामा नै देखेको थिएँ मैले । त्यो चाहीं एम १६ चाहिनी । …… पनि म चिन्छु हजूर जहिले पनि चलाईवक्सिराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र ?

समितिः– अरु सरकारलाई सम्झिनुपर्ने त्यस्तो केही बाँकी ?
जवाफः– म अब सम्झें भनेदेखि, म त्यही सम्झन खोजिरहेको छु । त्यो यस्तो छिटो भैद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । अब सक्नेजति गरेको हो । बचाउन खोजेको हो मान्छेलाई । त्यही पनि अरु पनि बचाउन सक्थें कि जस्तो लाग्छ । आफूलाई अहिले, सोंच्दाखेरी । जे जति गरें त्यो कम भयो जस्तो लाग्छ आफूलाई।

समितिः हस् त ।
himani
श्री ५ शाहज्यादी हिमानी राज्यलक्ष्मी देवी शाह

समितिः– त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारी भएको भन्ने कुरा आइराखेको छ । लिष्ट प्राप्त ग¥यौं । अब सरकारलाई के कति सम्झना छ ? डिटेलमा पाउन पाएदेखि हामीलाई रिपोर्टको लागि सजिलो पर्छ ।
जवाफः– डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन । तर सुरुदेखिन् पहिला हामी गएको आफुमुमा सवारी भयो ८ बजे । त्यसपछि ठूलो बुबा सवारी हुँदाखेरी अलि अगाडि समय त मलाई थाहा छैन ठूलो बुबा सवारी हुनु भन्दा पहिले crown prince लाई निराजन सरकार, पारश, राजीव ज्वाई, गोरख बोकेर खोपीमा सवारी चलाको । पछि महाराजाधिराज सवारी भएको एकै ड्याङ्ग आवाज आयो । अनि ……… अनि त्यसपछि ……. कान्छो बुबा अगाडि सर्नुभयो……..
कान्छा वुवा लाई हानी बक्स्यो अनि ….. कुनातिर यसो सायड परेर लुकेर वसिराखेका थियौं अनि त्यसपछि चुप लागेर बस्यौं …… त्यसपछि फेरी आएर परर पर्र बन्दुक पड्केको सुनेको …………… त्यत्ति नै
समितिः यसमा, अतिरिक्त जानकारी सरकारलाई छ, छैन ? अनि आफ्नो चाही ?
जवाफः हामीतिर पनि बन्दुक तेस्र्याइ रहनु भएको थियो ।

समितिः सरकारहरु चाही उतापट्टी राज होइबक्सेको होला, वारको उतापट्टी?
जवाफः डाइनिङ्ग रुम जाने डोर छ नि त्यसैको एतापट्टी एउटा कर्नर छ, त्यसमा हामी ।

समितिः कहाँनेर ?
जवाफः यतापट्टी चाहिने यतापट्टी साइडमा म थिए ……….. ।

समितिः अनि त्यो बगैचाका कुरा ?
जवाफः बन्दुकहरु पड्केको मात्र सुनें ……….. ।

समितिः धन्यवाद ।

http://www.mysansar.com बाट साभार