Monday, December 28, 2015

प्रचण्डलाई ‘खाओवादी’ भन्दै बाबुरामका ९ प्रश्न

केपी ओलीसँग प्रेम, मोहन बैद्यसँग विवाह ?

१४ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाओवादी अध्यक्ष प्रचण्डलाई माओवादको रामनामी जपेर ‘खाओवाद’ को अभ्यास गरेको आरोप लगाएका छन् ।
प्रचण्डले केपी ओलीसँग प्रेम गरेको र बैद्यसँग विवाह गर्न खोजेको भन्दै डा. भट्टराईले प्रचण्डकाे चाहना दूध आउन्जेलसम्म ओलीलाई दुहुने र त्यसपछि आफैं प्रधानमन्त्री बन्ने रहेको आरोप लगाएका छन् ।
माओ दिवसका दिन प्रचण्डले भट्टराईमाथि ‘लिनप्याओवादी’ भएको आरोप लगाएका थिए । त्यसको जवाफ दिने क्रममा डा. भट्टराईले कडा आरोप लगाउँदै प्रचण्डले वितगमा भारतसँग विन्तीपत्र हालेको, लडाकुको रकम अनियमितता गरेको, कम्युनिष्ट आन्दोलनलाई पतनको दिशामा पुर्‍याएको लगायतका आरोप लगाएका छन् ।

‘सुनियोजित दुष्प्रचारको प्रतिवाद’ शीर्षकमा भट्टराईले प्रचण्डलाई यसरी प्रश्न सोधेका छन्ः


Baburam Bhattarai (1)
हामीले नयाँ शक्ति निर्माण अभियानको क्रममा अरुवारे नकारात्मक टीकाटिप्पणी गरेर समय खर्चनु सट्टा आफ्ना सकारात्मक सोच, योजना र कार्यक्रम जनसमक्ष सम्प्रेषण गर्न जोड दिने संकल्प गरेकाछौं र त्यसमा हामी दृढ रहन चाहन्छौं।
तर केही मान्छेहरूले र खाशगरी हिजो संगै काम गरेका एकजना स्थापित नेताले निरन्तर रूपमा हाम्रा विरुद्ध गोप्य र खुला दुष्प्रचार र चरित्रहत्या अभियान चलाइरहेका छन्। हिट्लरको प्रचारमन्त्री ग्वेवल्सले ‘झुटो कुरा सय चोटि दोहोर्याए पछि साँचो लाग्न थाल्छ’ भने झैं र संस्कृत नीतिशास्त्रमा ‘मौनम् सम्मति लक्षणम्’ भने झैं चूप लागेर बस्दा आम जनसमुदायमा भ्रम पर्ने खतरा हुन्छ। त्यसैले कसैमाथि नाजायज आक्रमण गर्न हैन आफ्नो जायज प्रतिरक्षा गर्न हामीले अहिले केही बोल्नै पर्ने भएको छ।
बाहिर ‘माओवाद’ को नाउँ जमेर भित्र ‘खाओवाद’ को भद्दा अभ्यास गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई पतनको दिशामा डोर्याउन अग्रणी भूमिका खेल्ने ती महानुभावलाई हाम्रा केही प्रतिप्रश्न छन्:
१. २६ बर्षदेखि लगातार पार्टी प्रमुख भएर अहिले पार्टी र आन्दोलनलाई यो दुरावस्थामा पुर्याउनमा मुख्य भूमिका तपाईंको हुन्छ कि सहायक स्थानमा रहेका वैद्य र बाबुरामको हुन्छ?
२. द्वन्दात्मक भैतिकवाद अनुसार कुनै वस्तु/घटना/व्यक्तिको विकास र विनासको मुख्य कारण आन्तरिक हुन्छ, वाह्य पक्ष सहायक मात्रै हुन्छ भन्ने कुरालाई तपाईं मान्नुहुन्छ कि हुन्न? यदि मान्नुहुन्छ भने तपाईंलाई मन नपर्ने सबै कुरा ‘वाह्य शक्ति’ कै कारणले हो भन्ने दुराशयपूर्ण रटान वारम्वार किन लगाउनुहुन्छ? त्यो कुन सिद्धान्त र मान्यताभित्र पर्छ ?
३. हालैको ‘कान्तिपुर’ को अन्तर्वार्तामा ‘थिंग्स आर् नट ह्वाट दे सिम’ भन्दै नयाँ शक्ति अभियन्ताहरुलाई ‘वाह्य शक्ति’ संग जोडेर हिलो छ्याप्ने दुस्साहस गर्नु भन्दा पहिले तपाईंले आफ्ना ‘विदेशी प्रभु’ हरुसंगको सम्बन्धलाई खुला र पारदर्शी बनाउने आँट गर्नु पर्दैनथ्यो? तपाईंका पटकपटकका सिंगापुर, बैंकक, लण्डन भ्रमणहरू केकानिम्ति थिए र को कोसंग के के भएको थियो भन्ने जानकारी तपाईं जस्तो ‘देशभक्त’ले सोझा नेपाली जनतालाई गराउनु पर्दैन ?समकालीन नेपालका कुनै पनि पार्टीका शीर्ष नेताहरूमध्ये विदेशी दूत र एजेन्सीहरूसंग सबभन्दा बढी उठवस र लेनदेन गर्ने व्यक्ति तपाईं नै हो भन्ने कुरालाई अरुसंग आँखा जुधाएर खण्डन गर्न सक्नुहुन्छ ? संविधान जारी गर्ने पूर्वसन्ध्यामा आफैले विन्तिपत्र हालेर दिल्ली भ्रमण गर्नुको रहस्य के थियो र कुरो कहाँ रड्केर देश र जनताले यो कष्ट व्यहोर्नु परिरहेको हो भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ नदिई कुरो चपाएर उम्कन पाइन्छ ?
४. गत भदौमा २ दिन पर्खेर आन्दोलनकारीहरूको चित्त बुझाएर संविधान जारी गरेको भए कुन आकाश खस्थ्यो वा कुन विदेशीले के वहानामा नाकावन्दी गर्न सक्थ्यो? आफ्नो स्वार्थमा धक्का लागे विदेशीको हौवा खडा गर्ने तर आफ्नो स्वार्थ सिद्धि गर्न चाहिं विदेशी सामु लम्पसार पर्ने यो कस्तो राष्ट्रवाद हो?अहिले पनि तपाइँ पुन: प्रधानमन्त्री बन्न शक्तिकेन्द्र गुहार्दै हुनुहुन्छ र ओली सरकारबाट दूध आउन्जेल चुस्ने र आउन छोडेपछि छाड्ने दाउमा हुनुहुन्छ भन्ने कसैलाई थाहा छैन भन्ने ठान्नुहुन्छ ?
५. ‘लिनप्याओवादी’ र ‘आलोकप्रवृत्ति’ को सधैं पार्टीभित्र शिकार हुँदै आएको व्यक्तिलाई अहिले तपाईंले उल्टै ‘लिनप्याओवादी’ भन्ने धृष्ठता गर्नु ‘कागले आफ्नो नाम आफै काड्छ’ भनेजस्तो भएन र ? आखिर ‘आलोकप्रवृत्ति’को पुनरावृत्ति तपाईंकै वैठक कोठा भित्रबाट मात्रै पटक पटक भैरहनुलाई संसारले कसरी बुझ्ने होला ?
६. अहिले संविधान बनेको जश बोकेर सत्ताको भर्यांग चढ्ने दाउमा तपाईं हुनुहुन्छ भन्ने कसलाई थाहा छैन र ? तर त्यसक्रममा संविधानसभा र संविधानका वास्तविक अभियन्तालाई संविधानविरोधी भनेर मिथ्या प्रचार गर्नुभन्दा पहिले २०६७ सालको चर्चित पालुंगटार बैठकमा विद्रोहको लाइन लिने वैद्यसंग ‘एकता’ प्रधान र शान्ति तथा संविधानको लाइन लिने बाबुरामसंग ‘संघर्ष’ प्रधान भन्नु तपाईंको गल्ती रहेछ भनेर स्वीकार गर्नु पर्छ कि पर्दैन ? अन्यथा ‘जता काफल पाक्यो उतै चरी नाच्यो’ भन्ने उखान तपाईंमा किन लागू नहुने ?
७. त्यत्रो त्याग र वलिदानको जगमा निर्मित माओवादी आन्दोलन पछिल्लो चरणमा तपाईंकै नेतृत्वमा चरम सत्तालिप्सा र भ्रष्टाचारको दलदलमा निस्कनै नसक्ने गरी फसेको यथार्थ हो कि हैन ? हैन भने अझै पनि बोगटी आयोग र शेरचन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आँट छ ? तपाईं प्र म बन्नकोनिम्ति सांसद खरिद गर्न विदेशीसंग पचासौं करोड मागेको टेप सार्वजनिक भएको कुराको अहिलेसम्म किन कुनै चित्तबुझ्दो खण्डन भएको छैन ? चर्चामा आएका दूर संचार घोटाला, लडाकु शिविर घोटाला आदि कैयन् भ्रष्टाचार प्रकरणवारे आम कार्यकर्ता र जनतालाई सुसूचित हुने अधिकार छ कि छैन ? कि ‘माओवाद’ को रामनामी जपे पछि सबै खत माफ हुन्छ ?
८. विचार-प्रवृत्तिगत ‘प्रेम’ सत्ताका खेलाडी के पी ओलीसंग तर पुराना कार्यकर्ता भुलाउन ‘विवाह’ को प्रस्ताव चाहिं विचरा वैद्यसंग गर्ने प्रवृत्तिलाई के भन्ने होला ? मार्क्सवाद-लेनिनवाद-माओवादको खोल ओढेर पुरानै सत्ता, शक्ति र सम्पत्तिको घिनलाग्दो खेल खेल्ने यो प्रवृत्तिलाई ‘जडसूत्रिय-अवसरवाद’ ( dogmato-opportunism) नभने के भन्ने ? वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवृत्ति यही हो कि ?
९. त्यसैले तपाईं आफु शिशाको घरमा बसेर अरुको परालको झोपडीमा ढुंगा नहान्नु नै वेश हुन्छ कि ? ‘नयाँ शक्ति अभियान’ यो फोहरको दलदलमा फसेको समकालीन राजनीति भन्दा माथि उठेर नयाँ उन्नत सोच र जनमुखी तथा पारदर्शी आचरण सहितको वैकल्पिक राजनीतिक धार सिर्जना गर्ने सचेतन पहल हो भनेर बुझ्नुपर्ला कि ?

http://www.onlinekhabar.com बाट साभार 

Sunday, December 27, 2015

तपाईंको थर कसरी रहन गयो, थाहा छ ? छैन भने यो पढ्नुहोस्

काठमाण्डु, ८ पुस– खसजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने जिज्ञासा छ भने तलको सूची पढ्नुहोस्


सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू

अधिकारी – दराको हाकिम
कार्की – राजस्व अधिकृत
भट्ट – राज पुरोहित वा धर्मा्धिकारी
भण्डारी – राजकीय कोषको प्रमुख
लेखक – लेखक
महत – ग्राम प्रमुख
रोकाया – महतको सहयोगी
थापा – सैनिक दर्जा
खड्का – सैनिक दर्जा
राना – सैनिक दर्जा
बुढा – सैनिक दर्जा
बस्नेत – सैनिक दर्जा

कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू
जुम्ला
गाउँ– थर
धिता– धिताल
पाण्डुसेरा– पाण्डे
सिञ्जा– सिंजापति
चैडिलागाउँ –चौलागाई
प्याकुरी– प्याकुरेल
सिम्खाडा– सिम्खडा
अछाम
तिमिल्सैन– तिमिल्सिना, तिम्सिना
घमिराउँ– घिमिरे
देवकोट– देवकोटा
ढुङ्ग्रानी– ढुङ्गाना
ढाँकु– ढकाल
बजगाउँ– बजगाई
रिमा– रिमाल, रसाईली
स्वाँरा– स्वार
घोडासैन– घोडासैनी
पुरासैन– पुडासैनी
धमाली– धमला
दर्ना– दर्नाल
कुइका– कुइँकेल,
चाल्सा– चालिसे
बारला–बराल
लामिसाल– लम्साल
बझाङ
रेगम– रेग्मी
सोत– सोती
खार– खरेल, खराल
सुवाडा–सुबेडा, सुवेदी
बयाना– बनियाँ, बानियाँ
बाजुरा
जमकट्टी– जमरकट्टेल
छाती– छन्त्याल
कुँडी– कुड्याल
बेलकाटे– केलकाटिया
खातिवाडा– खाती
बैतडी
गाजरी– गजुरेल
डोटी
डोटेखेला– डोटेल
निरौली– निरौला
ओझाना– ओझा
बोगटान– बोगटी
मुडभरा–मुडभरी
मुगु
खनाया– खनाल
कालैगाउँ– कल्यान
खत्याड– खतिवडा
दैलेख
लामाछान्नी–लामिछाने
बाँस्कोट–बास्कोटा
बाँस्तोली–बास्तोला
सातला– सत्याल
लुयाटी–लुईटेल
चापागाउँ– चापागाईं
नेपा–नेपाल
रिजु्– रिजाल
पोखर– पोखरेल
लम्सु– लम्साल
लम्जी– लम्जेल
दह– दाहाल, दहाल
गैह्रा–गैह्रे, गैरे
भूर्ति– भूर्तेल
पराजुल–पराजुली
कोइराली–कोइराला
दवाडा– दवाडी
कट्टील–कट्टेल
भुषाकोट– भुषाल
सुइय–सुञेल
वड–वडाल
मोडासैन–मरासैनी,मरासिनी
गुरगाउँ– गुरागाईं

कालिकोट
खिट्किसैन– खिर्सिने
भुतौ– भुर्तेल
राँचु– रुचाल
गेला–गेलाल
वञ्जाडा–वञ्जाडे
बाँझकोट–बाझकोटा
रुकुम
सर्पुकोट–सापकोटा
दाङ
रजौरा– रजौरिया


http://kathmandutoday.com बाट साभार 

Saturday, December 19, 2015

शक्ति, खगुलाल र ओली - लेखनाथ न्यौपाने

आजभोलि प्रधानमन्त्री नाकाबन्दी र कालोबजारीपीडितका पक्षमा एक वाक्य खर्चिदैनन् 

लगभग एकै साल कम्युनिस्ट सदस्यता प्राप्त गरेका र आजीवन कम्युनिस्ट बनेका दुई भेट्रान कम्युनिस्ट नेता शक्ति लम्साल (१९९३–२०७२) र खगुलाल गुरुङ (१९७५) सँग सम्बन्धित छुट्टाछुट्टै कार्यक्रम गत साता राजधानीमा सम्पन्न भए । यस्ता कार्यक्रम आयोजना हुनु पुराना कम्युनिस्ट नेताहरूको जीवनी र योगदान नयाँ पुस्तामा सम्पे्रषण गर्ने जमर्कोको अर्थमा बुझ्न सकिन्छ ।
 
२००९ सालमा हातको बुढी औँला काटेर रगतले सहीछाप गरेर रमेश विकलसामु कम्युनिस्ट पार्टीको सदस्यताको फारम भरेका, २०१० सालमा पार्टीका तत्कालीन महासचिव पुष्पलाल श्रेष्ठबाट सदस्यता प्राप्त गरेका र परीक्षण काल भनेर दोलालघाट कोसीमा पटकपटक चोबलिएका शक्ति लम्साल । 
 
कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशन (२०१०) का प्रतिनिधि, चर्चित दरभंगा प्लेनम (२०१८) मा सहभागी, तेस्रो (२०१९) र पाँचौँ महाधिवेशन (२०४१) का प्रतिनिधि शक्ति लम्साल जीवनको अन्तिम कालसम्म माओवादीको केन्द्रीय सल्लाहकार रहे । उनको लामो कम्युनिस्ट जीवन पढेर नयाँ पुस्तामा कम्युनिस्ट आन्दोलन पुर्‍याउने ऊर्जा बन्न सक्छ कि सक्दैन होला ? शक्तिको जीवनबाट सिक्ने चुरो यही हो ।
 
निर्माण दैनिक, योजना र जनादेश साप्ताहिक पत्रिकाका सम्पादक शक्ति, प्रलेस, जनपक्षीय पत्रकार संघ, पत्रकार महासंघ र जनसाँस्कृतिक संघ जस्ता पेसागत संस्थाका गतिशील नेता । २०१८ साल (१८ महिना) मा पहिलोपटक र त्यसपछि पटकपटक मुख्यतः जनयुद्धकालमा हिरासत र जेल बसेका शक्ति लम्साल अटुट निष्ठा, निरन्तर संघर्षशील र व्यवहारमा सादगी जीवनका उत्कृष्ट उदाहरण हो, जो बाँचेका कम्युनिस्टहरूका लागि प्रेरणा हुन् तर पछिल्लो समय शारीरिक रूपमा निकै थलिए उनी । त्यतिबेला हामीमध्ये कतिले उनको स्वास्थ्य, सिर्जना र इतिहासप्रति कति चासो र खोजीको काम ग-र्यौँ ? यो विषय उनीप्रति न्याय गर्ने सन्दर्भसँग मात्र जोडिँदैन कि उनको योगदान र शिक्षा पछिल्लो पुस्तामा स्थानान्तरण गर्ने कामसँग पनि जोडिन्छ ।
 
पुराना कम्युनिस्ट नेता, चर्चित पत्रकार एवं स्थापित प्रगतिशील लेखक शक्ति लम्साल अघिल्लो महिना बिते । उनकै सम्झनामा प्रगतिशील लेखक संघ (प्रलेस) ले अघिल्लो शनिबार सार्वजनिक कार्यक्रम गरेर उनको व्यक्तित्व र कृतित्वबारे छलफल गर्‍यो तर प्रलेसजस्तो सम्पूर्ण वामपन्थीहरूको साझा संस्थाले शक्तिजस्तो बहुआयामिक व्यक्तिको सम्झनामा आयोजित कार्यक्रममा मुस्किलले तीन दर्जन मात्र सहभागी हुनु राम्रो संकेत होइन । 
 
यद्यपि सहभागी थोरै वा धेरै हुनु विषय टिप्पणी योग्य नहुन सक्छ, तर प्रलेसले आयोजना गरेको कार्यक्रम मात्रा र गुण दुवै कोणबाट अपेक्षित हुन्छ तर उपस्थिति र विषय प्रस्तुति दुवै कोणबाट कार्यक्रम त्यति फराकिलो र आकर्षक बन्न सकेन । 
 
पुराना पुस्ताका नेताहरू जो पद, पैसा र प्रतिष्ठा भन्दा मूल्य, मान्यता र नैतिकतालाई निरन्तर जीवनमा प्रयोग गरे उनीहरूबारे अर्को पुस्तालाई पढाउने र सिकाउने सन्दर्भ मुख्य पक्ष हो । यस्ता र अरू पनि कार्यक्रम व्यापकतामा लैजान र फैलिन नसक्नुका कारण अब पनि खोजी गरिएन भने बोर्ड र माइनोटमा सीमित हुने खतरा वामपन्थी लेखकहरूको अगाडि उभिएको चुनौती ठान्नुपर्छ ।
 
१९७५ सालमा प्युठानमा जन्मिएका खगुलाल गुरुङ जीवनका ९८ वसन्तमा यात्रारत छन् । यो उमेरसम्म बाँच्नु बिरलै सन्दर्भ मात्र होइन कि स्वयं व्यक्तिका लागि अनुपम अवसरसमेत हो । यस अर्थमा गुरुङ ज्येष्ठ नेपाली नागरिकका साथसाथै सबैभन्दा जेठा कम्युनिस्ट सदस्य हुन् । यो गौरवपूर्ण अवसर धेरैलाई उपलब्ध हुँदैन, जुन उनलाई भयो । 
 
तर पनि उनलाई धेरै कम्युनिस्ट पार्टी र सदस्यहरूले चिन्दैनन् । इतिहासमा खासै योगदान नगरेकाले नचिन्ने सन्दर्भ सामान्य हुन सक्थ्यो तर उनको इतिहास सामान्य खालको छैन । विडम्बना स्वयं कम्युनिस्टहरूले चिन्दैनन् किन ? धेरै मध्येको एउटा कारण कम्युनिस्ट पार्टीहरू टुक्राटुक्रामा विभाजित हुनु र एउटा समूहले अर्कोलाई स्वीकार नगर्नु वा सम्मानको नजरले नहेर्नु अथवा बुझ्ने कोसिस नगर्नु भन्न सकिन्छ ।
 
नसुन्ने र शारीरिक रूपमा हिँड्डुल गर्न नसक्ने भए पनि उनको बोली प्रस्ट मात्र छैन कि कमान्ड आज पनि उत्तिकै शक्तिशाली छ । ९८ वर्षको उमेरको बोली त पहरा धर्काउने खालको छ भने युवा अवस्थामा कस्तो थियो होला उनको कासन ?  उनको अभिनन्दन कार्यक्रममा जनसरोकार र चासोका विषयमा उनले जेजसरी बोले, त्यसबाट प्रस्ट हुन्छ कि उनी जनतासँग जोडिएका जनप्रिय नेता हुन् । 
 
सायद जनताको मायासँगै बस्ने र बाँच्ने तरिकाले होला यति लामो समयसम्म जीवन पाएको । जसलाई भावनात्मक रूपमा जनताको वरदान भन्न सकिन्छ । उनको जीवनका उकाली, ओराली र घुम्तीहरू पनि त्यतिकै लामो तर जनतासँग अभिन्न रूपले जोडिएको देख्न सकिन्छ ।
 
 
२००७ साल उनको जीवनको निकै महत्वको वर्ष थियो । राणाविरोधी कांग्रेसको नेतृत्वको सशस्त्र संघर्षमा खगुलाल मुक्ति सेनाका कमान्डर थिए । उनकै नेतृत्वमा मुक्ति सेनाले सल्यान र दैलेख कब्जा गरेको र बाँके कब्जामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । आपूmले बनाएको मुक्ति सेनाका कमान्डर खगुलाललाई कांग्रेसले कसरी सम्झन्छ कुन्नि ?  
 
इतिहासमा कतै नाम र भूमिका उल्लेख भएको पाइँदैन । ३०/३२ वर्षको लोर्के युवाले के सोचेर बन्दुकको मोहरीसँग जीवनलाई हिँडायो होला ?  राणाशासन फाल्ने, गणतन्त्र ल्याउने र देशलाई मुक्त गर्ने उदात्त सोच सामान्य होइन, तर परिणाम सामन्तवाद पुनस्र्थापित गर्ने सम्झौतामा टुंगियो र आजसम्म पनि हामी त्यही सम्झौताको वरिपरि परनिर्भर भएर फन्का मार्दै छौँ ।
 
२०१० सालमा प्युठानमा कम्युनिस्ट पार्टी स्थापना गर्दा उनी संस्थापक सदस्य, त्यसलगत्तै चलेको राजनीतिक र फौजी शिविरमा उनी फौजी तालिम दिने कमान्डर बने र आजसम्म कम्युनिस्ट पार्टीमै गौरवका साथ आफ्नो सापेक्षतामा गतिशील छन् । 
 
असली कम्युनिस्टले सशस्त्र संघर्षद्वारा पुरानो सत्ता फाल्ने र नयाँ जनवाद ल्याउने सपनका खातिर हजारौँ कम्युनिस्टहरूको सहादत र सशस्त्र संघर्षपछि पनि सपना साकार हुन सकेको छैन । तैपनि उनले संसदीय नै भए पनि गणतन्त्र देख्न पाए । गणतन्त्र देखेको सन्दर्भमा उनी आँखा रसिलो बनाउँदै गौरवको अनुभूति पोख्छन् ।
 
२०१५ सालको संसदीय निर्वाचनमा खगुलाल त्यतिबेलाको निर्वाचन क्षेत्र नं ८४ (प्युठान मध्य–पूर्व) बाट कम्युनिस्ट पार्टीको उम्मेदवार बने र १६७३ मतसहित तेस्रो स्थान हासिल गरे । संसदीय निर्वाचनमा कम्युनिस्टले बुर्जुवाहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने एउटा प्रतिकूलता भने कम्युनिस्ट पार्टीको प्रभाव जनस्तरसम्म कमजोर हुनु अर्को प्रतिकूलता । 
 
सायद यसबाट शिक्षा लिएर उनी प्युठान र रोल्पा (थवाङ) सम्म कम्युनिस्ट संगठन मुख्यतः किसानहरूलाई संगठित गर्ने अभियानमा लामो समय लागे । त्यसैको परिणाम, जनताको विश्वास र दबाब नारीकोट गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित भए तर पञ्च भएर होइन । सायद यसैको जग होला आज पनि प्युठान र रोल्पा वामपन्थीको गढ बनेर उभिएको छ । 
 
चुनावी रूप पक्षबाट मात्र हेर्दा पनि पहिलो, दोस्रो र तेस्रो स्थान वामपन्थी दलको नै देखिन्छ भने नेता–कार्यकर्ता उत्पादनको कोणबाट कारखाना नै साबित भएको छ । कम्युनिस्ट आन्दोलनका भेट्रानहरू मोहनविक्रम, मोहन वैद्य र वामदेवलगायत सयौँ नेताहरू वामपन्थी आन्दोलनले प्युठानबाट प्राप्त गरेको छ ।
 
प्रायः सबै कम्युनिस्ट समूह उपस्थित भएको खगुलालको अभिनन्दन कार्यक्रमका मुख्य मान्छे प्रधानमन्त्री केपी ओली थिए । अहिलेको संकटपूर्ण अवस्थामा देशको कार्यकारी कम्युनिस्ट प्रधानमन्त्रीले के बोल्छ होला ?  भने जिज्ञासासहित पंक्तिकार पछाडि कोचिँदै उभिएको थियो । तर आशा पूरै चिसो पानी खन्याएजस्तै निराशा भयो । उनको अभिव्यक्तिमा न कुनै गम्भीरता न कुनै सन्देश, न कुनै निर्णय न त कुनै योजना, मात्र शून्यता । उडन्ते ठट्टा र घोचपेच (गाली) मा सीमित ओलीको भाषण ठ्याक्कै टेली सिरियलको धुर्मुसको जस्तै ।
 
आशा थियो, ओलीले कम्युनिस्ट विचार, कार्यक्रम र कार्यान्वयन, सिद्धान्त, विकास र प्रयोग एवं कम्युनिस्ट नैतिकता, आचरण र दैनिकीबारे गम्भीर ढंगले विषय राख्नेछन् तर उनी त्यतातिर प्रवेशै गरेनन् । विश्वास थियो, देश परनिर्भरताको संकटमा फसेको सन्दर्भमा ओलीले नाकाबन्दी, कालाबजारी, निकै कष्टकर बनेको जनजीवन र तराई आन्दोलनबारे दीर्घकालीन र तत्कालीन योजना र प्रक्रिया बोल्नेछन् तर उनले त्यतातिर एक वाक्य पनि खर्चेनन् ।
 
भ्रष्टाचारमा डुबेको हाम्रो राज्य र अख्तियारको पत्र, भेडीगोठजस्तै उपप्रधान र मन्त्रीको संख्या र सरकारको कामको गतिशून्यताबारे केही समीक्षा र केही आत्मालोचनाको सन्देश बोल्लान् भन्ने थियो, तर उनले यसबारे एक वाक्यसमेत उच्चारण गर्न सकेनन् । ओलीको तरिका र बोली विचित्रको ।
 
ओली बोल्दै थिए– झापाको उग्रता गल्ती थियो । सीपी, मोदनाथ र विष्णु पौडेलहरूले उग्रपन्थी गल्ती गरेर जेलबाट भागे र थप गल्ती गरे भन्दै इतिहास र सहयोद्धाप्रति पटाक्ष मात्र गरेनन् कि आफूले उग्रपन्थी गल्ती नगरेकाले जेलबाट नभागेको दलिलसमेत पेस गरे । उग्रताबाट बच्नुपर्छ भन्दै गर्दा अर्काथरी साथीहरूले उग्रता ग्वाम्मै चाख्न खोजेर अर्को गल्ती गरेको भन्दै माओवादी मुख्यतः आडैमा बसेका प्रचण्डलाई घोचे । कम्युनिस्टहरू जसरी पनि सरकारमा जाने हो तर अर्काथरी कम्युनिस्ट साथीहरू सरकारमा जानु हुन्न भनेर अलगै बसेका छन् भन्दै मोहन वैद्यलाई चिमोटे । हामी कस्ता कम्युनिस्ट भने यत्रो कार्यक्रमको अध्यक्षता गर्ने मान्छे नै बेला न कुबेला पछाडि लुक्नुपर्ने ।
 
 आपूmले ऊ त्यो कुनामा छ भनेर देखाउन नमिल्ने भन्दै मोहन विक्रमलाई खुइल्याएर भाषण सके र हिँडे । ओली एमालेको अध्यक्षका रूपमा मात्र बोलेको भए ओलीको बेहोरा भनेर चित्त बुझाउने स्थिति बन्थ्यो तर उनी त कम्युनिस्ट प्रधानमन्त्रीको रूपमा बोल्दै थिए । कम्युनिस्टहरूको ताल ओलीको जस्तै हुने हो भने भविष्य के होला ?  एकाध चुनाव त जितिएला वा अर्को कम्युनिस्ट नेता प्रधानमन्त्री र कयौँ मन्त्री पनि भइएला, तर मुलुक स्वाधीन र समृद्ध बन्ने एवं जनतासुखी हुने सम्भावना कति रहला ?  मुलुकको यो गौरव हाम्रो पुस्ताले देख्न पाउने सम्भावना हाम्रै कारणले निकै कम छ ।
 
लोभ, सुख र व्यक्तिगत सम्मानलाई त्यागेर निरन्तर जनपक्षीय विचार, संगठन र संघर्षमा समर्पित शक्ति र खगुलाल । एकातिर मूल्यको इतिहास र नैतिकवान् त्यो पुस्ताका यी पात्र अर्कोतिर गतिहीन वर्तमान र उपभोक्तावादी आजको पुस्ता निकै बेमेल देखिन्छ । आशंका बाक्लिएको छ, हाम्रा छोरा पुस्ता कम्युनिस्ट आन्दोलनमा लाग्छन् कि लाग्दैनन् होला ? लाग्दा किन लाग्ने ? भविष्यको प्रश्न गम्भीर छ । 
 
 
कम्युनिस्टहरूको जीवन, व्यवहार र परिणाम हेरेर वा सामाजिक रूपमा कम्युनिस्ट आदर्श, नैतिकता र मूल्य देखेर वा आफ्ना कम्युनिस्ट आमाबुबाले छोराछोरीका लागि गर्न नसकेको योगदान बेहोरेर हाम्रा छोरा पुस्ता कम्युनिस्ट आन्दोलनमा कति आकर्षित होलान् ?  हाम्रो जीवन, अभिव्यक्ति र कार्य वर्तमान एवं भावी पुस्ताका कम्युनिस्टहरूका लागि ज्ञान, प्रेरणा र हौसला मात्र होइन, अनुशरणयोग्यसमेत बनाउन सक्ने कि नसक्ने ?  यो नै सबै वामपन्थी शक्तिहरूको आजको खास चुनौती हो कि ? 

http://www.annapurnapost.com बाट साभार 

Thursday, December 17, 2015

गृहमन्त्रीको अतिआलोचनाबाट लाजिम्पाट रुष्ट, किराँतीलाई ‘घाटा’ हुने प्रकाशको चेतावनी

काठमाडौं, २ पुस । एमाओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालले पार्टीका नेता गोपाल किराँतीलाई गृहमन्त्रीको अनावश्यक आलोचना नगर्न चेतावनी दिएका छन् ।
‘ए महाशय ! तपाई मन्त्री हुँदा के लछारपाटो लगाउनुभयाे र ?’ सामाजिक सञ्जाल फेसबुकमा प्रकाशले प्रश्न गरेका छन्, ‘मन्त्रीले गल्ती स्वीकारेर गइसकेपछि तपाईको व्यक्तिगत मनमुटावले सिंगो पार्टीलाई घाटा हुन्छ भन्ने नबुझेर मिडियाबाजी गर्दै हिड्नु कति जायज हो ?’
नेता किराँतीले पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भूकम्पपीडितको नाममा गृहमन्त्री शक्ति बस्नेतले आफ्ना छोरीहरु र प्रचण्डका नातिनीहरु चीन भ्रमणमा पठाएकोबारे तिव्र आलोचना गरेका थिए । केन्द्रीय सदस्यहरुको आलोचना गरेपछि मन्त्री बस्नेतले आत्मालोचना गर्दै जनतासँग मागी मागेका थिए ।
यसपछि पनि गोपाल किराँतीले उक्त प्रकरणको विरोध गर्दै हिँडेपछि प्रचण्डपुत्र प्रकाशले यस्तो आक्रोश पोखेका हुन् । चीन भ्रमणमा प्रकाशकै तीन भाञ्जीहरु समेत गएका छन् । गृहमन्त्रालयमा स्रोतका अनुसार प्रचण्डको परिवारका सदस्यहरुले उनीहरुलाई चीन भ्रमणमा पठाउन अनुरोध गरेका थिए ।
प्रकाश दाहालले अगाडि लेखेका छन्, ‘एउटा कुरा के भने अर्कोलाई ठोकेर म चोखो बन्छु भन्ने सोचले अन्तिममा उसैलाई घाटा हुन्छ । यो मिडियामा छाउने काम बन्द गर्नुस् ।’ चेतावनीपूर्ण यो स्टाटसबाट किराँतीको आलोचनाले लाजिम्पाट रुष्ट भएको अनुमान गर्न सकिन्छ ।
चीन भ्रमण प्रकरणले एमाओवादी, अध्यक्ष प्रचण्ड र गृहमन्त्री बस्नेतलाई त घाटा लागेकै छ, यसको विरोध गरेवापत लाजिम्पाटबाट गोपाल किराँतीले कस्तो ‘घाटा’ बेहोर्नुपर्ने हो, त्यसको लागि भने प्रतिक्षा नै गर्नुपर्नेछ ।

एउटा कुरा के भने अर्कोलाई ठोकेर म चोखो बन्छु भन्ने सोचले अन्तिममा उसैलाई घाटा हुन्छ । ‪#‎प्रसंग‬ गोपाल किरांतीले गृहमन्त्रीलाई ठोकेको । ए महाशय तपाई मन्त्री हूंदा के लछारपाटो लगाउनु भयो र ? मन्त्रीले गल्ति स्विकारेर गईसके पछि तपाईको व्यक्तिगत मनमूटावले सिंगो पार्टीलाई घाटा हून्छ भन्ने नबुझेर मिडियाबाजी गर्दै हिड्नु कति जायज हो ?? यो मिडियामा छाउने काम बन्द गर्नुस् ।।

http://www.sajhapost.com बाट साभार 

Wednesday, December 16, 2015

प्रचण्डले लाजिम्पाट छाडेर टहरामा बस्नुपर्छ : हेमराज भण्डारी

बाबुरामका हलि–गोठाला त हैनौं नि ?


एमाओवादी अध्यक्ष प्रचण्डको दस्तावेजमाथि भिन्न मत जाहेर गर्ने हेमराज भण्डारी एमाओवादीका जल्दाबल्दा युवा नेता हुन् । यसअघि बाबुराम प्यानलमा रहेका उनी बाबुरामले पार्टी परित्याग गरेपछि एमाओवादीमै रहे । उनै भण्डारीसँग साझापोस्टका लागि सुदीप विश्वकर्माले कुराकानीको सम्पादित अंश :
पार्टी अध्यक्षले प्रस्तुत गर्नुभएको दस्तावेजमाथि फरकमत राख्नुपर्ने अवस्था कसरी आयो ?

अहिलेको असाध्यै संकटपूर्ण अवस्थामा रहेको माओवादी आन्दोलनलाई पुनर्गठन गर्ने वा रुपान्तरण गर्ने कुरा सामान्य विषय होइन । जुन गम्भीर अवस्थाबाट माओवादी आन्दोलन गुज्रिरहेको छ, यो अवस्थामा अध्यक्ष प्रचण्डको दस्तावेजले मात्र त्यो विघटनको क्रमलाई रोक्न सक्दैन । वैचारिक राजनीतिकरुपमा माओवादी आन्दोलनभित्र र अझ कम्युनिष्ट आन्दोलनभित्रै जुन संकट देखा परेको छ, ती समस्याहरुको जवाफ अध्यक्षको दस्तावेजले मात्रै दिएको छैन । त्यसैले मैले त्यहाँ केही विषयहरुसहित बहसको उठान गरेको हुँ । खास गरेर प्रधानअन्तरविरोधको कुरा पहिलो विषय हो । दोस्रो विषय हेटौंडा महाधिवेशनले भनेको समाजवादको मोडलको बारेमा कुरा उठाएको छु । कस्तो समाजवाद हो हामीले भनेको ? रुसको जस्तो कि, भियतनामको जस्तो, चीनको जस्तो कि, भेनेजुयलाको जस्तो कि कोरियाको जस्तो ? वा नेपालको समाजवादको अलग्गै मोडेल के हुन्छ ? भन्ने विषयमा स्पष्टता आवश्यक छ । समाजवादको कोरा नाराले मात्र समाजवादमा पुग्न सकिँदैन । त्यसैले नेपाली समाजवादको मोडेल र चरित्र कस्तो हुन्छ ? स्पष्ट गर्नुपर्छ र देखिनेगरी समाजवादमा पुग्ने हाम्रा स्टेपहरुको श्रृंखलावद्ध कार्यनीतिको पनि विकास गरेर जानुपर्दछ ।
तेस्रो विषय नेपाली समाजको स्पष्ट वर्ग विश्लेषण गर्नुपर्दछ । ००६ सालमा नेपाल कम्युनिष्ट पार्टीले गरेको विश्लेषण वा ०४८ सालमा हामीले गरेको वर्ग विश्लेषणले मात्रै पुग्ने ठाउँमा छैन नेपाली समाज । यो गणतन्त्रको स्थापना पछि र विज्ञान प्रविधिको अभूतपूर्व विकास भइरहेको अहिलेको अवस्थामा नेपाली समाजको वर्ग अन्तरविरोधमा के परिवर्तन आयो ? यसले पुरानो वर्ग सम्बन्ध र अन्तरविरोधहरुमा के परिवर्तन ल्यायो ? यसलाई ठीक ढंगले बहस गर्दै पार्टीहरुको चरित्र विश्लेषण गर्नुपर्दछ । यसमा अध्यक्षको दस्तावेज स्पष्ट हुन सकेको छैन ।
चौथो कुरा, पार्टी रुपान्तरण । दस्तावेजमा प्रचण्डले माओवादीलाई क्यान्सर लागेको छ भन्नुभयो तर क्यान्सरको औषधी सिटामोल ल्याएर दिनुभयो । मेरो विचार के हो भने क्यान्सरको औषधी सिटामोल होइन । मलाई लाग्छ पहिला क्यान्सरको विरामीलाई किमो हान्नुपर्यो । किमो हानेपछि क्यान्सर फैलिँदैन । रोकिन्छ । त्यो भनेको हिजो क्यान्टोनमेन्टमा भएको अनियमिततामाथि पोष्टबहादुर बोगटी आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्नुपर्यो । अमिक शेरचनको नेतृत्वमा बनेको सम्पत्ति छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने हिम्मत गर्नुपर्यो । र साँच्चै पार्टी रुपान्तरण हुन्छ भन्ने विश्वासको सम्प्रेषण गर्न सुरु गर्नुपर्यो ।

ती प्रतिवेदनहरु त सबै लुकाइयो होइन ?
हो, ती प्रतिवेदनहरु सार्वजनिक गरिएको छैन । त्यसलाई सार्वजनिक गर्नुपर्दछ भन्ने माग पनि हो । त्यसपछि पार्टी पुनर्गठन र रुपान्तरको सवालसँग जोडिँदा माओवादीका सबै धाराहरुलाई एकताबद्ध गर्ने वैचारिक आधार तयार पार्नुपर्यो । त्यसमा पनि अध्यक्षको दस्तावेज क्लियर हुन सकेको छैन । यसैगरी अध्यक्षले अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण पनि गर्नुभएको छैन । नेपालको राष्ट्रिय परिस्थितिको पनि विश्लेषण गर्नुभएको छैन ।
प्रचण्डले त्यतिठूलो जनयुद्धको नेतृत्व गर्नुभयो, प्रधानमन्त्रीसमेत बन्नुभयो । तैपनि यस्तो कमजोर दस्तावेज ल्याउनुको पछाडि के कारण रहेछ ?
एउटा कुरा अध्यक्ष प्रचण्ड व्यस्त पनि हुनुहुन्छ । तर व्यस्त भनेर यति ठूलो पार्टीलाई यत्तिकै विघटन हुने गरी यस्तो दर्दनाक अवस्थामा छाड्नुहुँदैन । नेताहरुले त राजनीतिक संश्लेषण गर्नुपर्दछ । जस्तो कि अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दा अहिले विश्व साम्राज्यवाद अत्यन्तै धराप अवस्थामा छ । यति धेरै चुनौतीको सामना गरिरहेको छ कि साम्राज्यवाद आफैं छिया छिया भइरहेको छ । विश्वव्यापीरुपमा कम्युनिष्टहरु, क्रान्तिकारीहरु, वामपन्थीहरुले यसको लागि एकताबद्ध भएर पहल गर्ने हो भने विश्वमा समाजवादको लहर आउन सक्छ । तर कम्युनिष्टहरुले लड्नुपर्ने साम्राज्यवादसँग अहिले आइएसले लडिरहनुपरेको छ । विश्वलाई विकल्प दिनुपर्ने कम्युनिष्टहरु चाहिँ आफैंमा रुमल्लिने, फुट्ने, विघटित हुने, वैचारिक संकटमा फस्ने ! अनि संकटग्रस्त साम्राज्यवादको दबदवा चलिरहने अवस्था कसरी सिर्जना भयो ? यसको गम्भीर विश्लेषण गर्नुपर्छ । हामीले युद्धको बेला साम्राज्यवाद विरोधी विश्वव्यापी मोर्चा बनाउने कुरा गरेका थियौं । समाजवादीहरु, कम्युनिष्टहरु र राष्ट्रिय मुक्ति आन्दोलन चलाउने विविध शक्तिहरुसहित साम्राज्यवाद विरोधीको मोर्चा गरौं भन्ने थियो । तर त्यो कुरा अहिले हरायो । हामीले त्यतिबेलै दक्षिण एसियामा कम्पोसा बनाउने कुरा गर्यौं । त्यो पनि हरायो । हिजो क्रान्तिकारी आन्दोलनमा हुँदा रिम थियो, रिमसँगको सम्बन्ध आज कहाँ गयो ? त्यसो भए अब अन्तर्राष्ट्रिय राजनीतिमा हाम्रो ठाउँ सकिएकै हो त ? किन यो विषय विश्लेषण नगरी आयो दस्तावेज ? यसको विश्लेषण गर्नुपर्छ र यसको गम्भीररुपमा समिक्षा गर्नुपर्छ । यो वैचारिक समिक्षासँग जोडिन्छ ।
अनियमितता भएको भनेर आएको प्रतिवेदन छ । अहिले पोष्टबहादुर हुनुहुन्न । पोस्टबहादुरले ल्याएको निष्कर्ष र क्यान्टोनमेन्टको निष्कर्ष कार्यान्वयन गर्नुमात्रै पोस्टबहादुरप्रतिको सच्चा सम्मान हो । अमिक शेरचनले ल्याएको सम्पत्ति छानबीन आयोगले ल्याएको प्रतिवेनलाई कार्यन्वयन गर्नु पार्टी रुपान्तरणको सुरुवात हो ।
त्यसो त मार्क्सवादमा विकास पनि जरुरी छ । हामी रक्षा, प्रयोग र विकासको कुरा गर्दछौं । खासगरी मार्क्सवादमा विकासको कुरा गर्दा प्रकृति, जैविक र भौतिक विज्ञानमा न्यूटनदेखि आइन्स्टाइन र स्टेफन हकिंग्स्सम्म आइपुग्दा के भइसक्यो ? हामीले मार्क्सवादलाई र मालेमावादलाई समाज विज्ञान भन्यौं । तर माओको निधनभन्दा यता विगत ४० वर्षमा जुनजुन प्रयोग भए किन असफल भए ? चिली, टर्की, पेरु, फिलिपिन्स, बर्मा, मलाया इत्यादि देशमा किन असफल भए त? हामी पनि त्यही असफलतामा फर्किएजस्तो । त्यसको समीक्षा गर्दा कि त विज्ञानमा खोट छ र त्यसलाई हटाउने हिम्मत हामीले गर्नुपर्छ । या त त्यो विज्ञानलाई लागू गर्ने वैज्ञानिकहरु इमान्दार छैनन् । कहीँ न कहीँ त समस्या छ ।
भनेपछि वैचारिकरुपमा पनि मार्क्सवादको विकास गर्ने कुरालाई हामीले नजरअन्दाज गर्नु हुँदैन । यसले हामीलाई महाधिवेशनको माग गर्दछ । एकवर्ष अघि यही बैठकमै पेश गरिएको २५ बुँदे प्रस्तावमा महाधिवेशनतिर जान्छौं, महान बहस चलाउँछौं र त्यहाँबाट विचारको संश्लेषण गर्दछौं भन्ने थियो । तर अहिले अध्यक्ष प्रचण्डको दस्तावेजमा यो पक्ष छैन, भएपनि असाध्यै गौण बनेको छ । यसरी मैले प्राविधिक रुपमा भन्दा पनि वैचारिक रुपमै केही फरक कुरा उठाउने प्रयत्न गरेको हुँ ।
हामी नयाँ पुस्ताले पनि त्यतातिर नसोच्ने र विघटनकै शिकार भइराख्ने । नेताहरुले जे ल्याउनुहुन्छ, होमा हो मात्रै मिलाइरहने हो भने हाम्रो पनि उपस्थितिको औचित्य छैन । हामी भन्दा पछिल्लो पुस्ताको त धेरै ठूलो ग्याप भइसक्यो कम्युनिष्ट आन्दोलनमा । मेरो भाइ छोराहरु त कम्युनिष्ट आन्दोलनमा नआउनेजस्तो स्थिति भइसक्यो । किन आउँछ त उ ? हामीले केही नयाँपन दिनैपर्छ । पहिलो कुरा वैचारिक राजनीतिक समस्या हल गर्नुपर्यो । दोस्रो कुरा तत्कालीन राजनीतिसँग जनतालाई जोड्नुपर्यो । लोकतन्त्र गणतन्त्र आयो भनिएको छ तर जनताले महसुस गर्न सक्ने गरी के नतिजा निस्कियो त ?

यसरी हेर्दा अहिले नेपाली जनताले रिजल्ट खोजेको छ, उसको जीवनमा परिवर्तनको अनुभूति चाहेको छ । त्यो दिनसक्ने कार्यक्रम पनि हामीले दिनुपर्छ । किनकी हामी अहिले सरकारमा पनि छौं । सरकारमा केही नेताहरुलाई झण्डा हल्लाउन, मन्त्री बनाउन मात्रै पठाउने हो कि मिसनमा पठाउने हो ? मिसनमा पठाउने हो भने उसले यति महिना बस्यो भने यति काम गर्ने भन्ने हुनुपर्यो नि !
महत्वपूर्ण मन्त्रालय छन्, गृह, उर्जा, कृषिलगायतका । भनेपछि तत्कालीन राहतका विषयहरुमा हामी प्रभावकारी ढंगबाट जान सक्नुपर्दछ । यिनै विषयहरुको सेरोफेरोमा रहेर मैले विषय उठान गर्ने प्रयत्न गरेको छु ।

मूल राजनीतिक समस्या चाहिँ के हो त माओवादी आन्दोलनभित्रको ? तपाईसँग के छ विकल्प ?
पहिलो समस्या त वैचारिक समस्या हो । यो भनेको हामी कुन मोडेलबाट अगाडि जान्छौं ? जस्तो वैद्यदेखि विप्लव हुँदै अहिले बाबुरामजीसम्म आउँदा समाजवाद कस्तो हुन्छ ? हामी समाजवाद भनिरहेका छौं तर विप्लव र वैद्यजी समाजवाद भनिरहनुभएको छैन । यद्यपि नेपालमा परिवर्तनको आन्दोलनलाई कसरी संस्थागत गर्ने भन्ने सन्दर्भमा बुझाईमा विविधता छ । हामी लामो समयदेखि सामन्तवादी उत्पादन सम्बन्ध, संस्कार संस्कृतिबाट दिक्षित हुँदै आयौं । हामी कम्युनिष्ट भन्नेहरुको पनि रगतमा, जिनमा सामन्तवाद छ । तर टाउकोमा जबरजस्ती समाजवाद र साम्यवाद हालेका छौं । सिद्धान्तको कुरा गर्दासम्म त हाम्रोमा समाजवाद र साम्यवाद आउँछ । जब व्यवहारमा जान्छ सामन्तवादले खाइहाल्छ । हाम्रो आजको खास समस्या रुपान्तरणको हो । त्यो रुपान्तरणको समस्या भनेको जीवनव्यवहारमा आउँदा सामन्तवाद हावी हुनु हो । कम्युनिष्ट आन्दोलन नयाँ कम्युनिष्ट सामन्तहरु जन्माउने ठाउँ त होइन । यसरी कम्युनिष्ट परिवर्तनको आन्दोलनको अगुवा हो भने एउटा ठूलो सांस्कृतिक रुपान्तरणको खाँचो यहाँ छ ।
यहाँले रुपान्तरणको कुरा गर्नुभयो, कम्युनिष्टहरु आन्दोलनको बेला ठूला ठूला रुपान्तरणको कुरा गर्छन् तर काम गर्नेबेला जस्तो गृहमन्त्री प्रकरण देख्नुभयो, यसरी छिन्नभिन्न हुन्छन् । जसले बढी त्याग गर्यो त्यही बढी स्खलित हुने, यो प्रवृत्तिगत समस्या नै होइन र ?
होइन, दुई तीनवटा कुराले घर गर्यो । एउटा त हामी युद्धबाट आयौं । यसबाट आउँदाखेरी हामीसँग फौजी संरचना, केन्द्रीकृत मनोविज्ञान थियो । हामीले शान्तिकालमा आउँदा पनि युद्धकालीन मानसिकतालाई कायम राख्यौं पार्टी । त्यही कमाण्ड, त्यही चेनअफ कमाण्ड र पद्धतिलाई कायम राख्यौं । यसरी नेतृत्व गर्नेहरुमा कस्तो मानसिकता विकास भयो भने हामी नै शासक हौं, हामीले जे गर्दिए पनि हुने हो कि ? हामी नै निर्धारणकर्ता हौं कि भन्ने जस्तो मनोविज्ञानले काम गर्यो । त्यसले माथितिर नोकरशाही र तलतिर अराजकता, माथितिर व्यक्तिवाद र तलतिर अराजकता । यी दुईटा कुराले गम्भीर रुपले घर गर्यो । अराजकता माथि र तल दुवैतिर देखा पर्यो । अहिले पनि समस्या त्यही हामीले जिनमा बोकेर आएको सामन्तवाद, सामन्तवादी संरचना, सोच, संस्कार पद्धतिको उपज हो । यसको विरुद्ध हामी गम्भीर ढंगले लड्नुपर्छ । समाजवादमा जाने भनेका छौं, समाजवाद आफैंमा एउटा सामूहिक व्यवस्था हो । सामूहिकतामा आधारित व्यवस्था हो । त्यसो हो भने हामीले सामूहिक नेतृत्व प्रणाली कसरी स्थापित गर्न सक्छौं ? यो व्यक्तिवादी सम्बन्धलाई सामूहिक सम्बन्धमा कसरी फेर्न सक्छौं ? व्यक्तिगत प्रणालीबाट सामूहिक प्रणालीमा कसरी लैजान सक्छौं । तल पनि कार्यकर्ता र जनतामा आधारित जनता कसरी सुनिश्चित गर्न सक्छौं ? खासगरी समाजवादी लोकतन्त्र वा जनवादको अभ्यास हामीले कसरी गर्न सक्छौं ? यो विषयमा बहस गरौं ।
दोस्रो कुरा, एंगेल्सले भन्नुभाछ, एक टन सिद्धान्त भन्दा एक अंश व्यवहार धेरै महत्वपूर्ण हुन्छ । जनताले त पाइला पाइला हाम्रो व्यवहार हेरिरहेका छन् । हाम्रो उठबस, लवाईखवाई, संस्कार, संस्कृति हेरिराछ । यसकारण माओवादी आन्दोलनप्रति ठूलो वितृष्णा पैदा भइरहेको छ ।
खासमा माओवादी नेताहरुलाई कस्तो स्वार्थ, कस्तो मोहले यस्तो बनाइरहेको छ ?

खासमा सामन्तवाद भनेकै व्यक्तिवाद हो । मेरो घर, मेरो छोराछोरी, मेरो श्रीमती, मेरो गोठ, मेरो गाई, मेरो एकआना जग्गा, मेरो कोठेबारी । एउटा बोट मकैमा झगडा छिमेकीबीच झगडा पर्ने हाम्रो अभ्यास छ । यो संस्कारबाट हामी हुर्किएर आएका हौं । त्यसकारण कम्युनिष्टहरुमा पनि सबभन्दा पहिला ‘म’ आउने भयो । यसरी मेरो र म भन्नेले यति नराम्रोसँग घर गर्यो । ठूला भन्ने नेताहरुलाई पनि यसले छाडेन । जस्तो कि पारिवारिक स्वार्थ, लोभ, मोह आदि ।
सामन्तवादको यस्तो सिमेन्टेड प्रभावलाई भत्काउन कति सजिलो छ ?

भत्काउन सकिन्छ । वहाँहरुलाई हामीले के बोध गराउनुपर्छ भने कि समाप्त हुनुपर्यो कि यात रुपान्तरण हुनुपर्यो । मृत्यू या समाप्ति त कसैले पनि रोज्दैन ।
भत्काउने चरणको सुरुवात कसरी गर्नुपर्छ ? यो त अध्यक्षबाटै सुरु गर्नुपर्ला ?
हो, मैले अहिले त्यही भनिरहेको छु । यो माथिबाटै सुरुवात गर्नुपर्दछ । अहिलेको यो बहस हाम्रो पार्टीको अध्यक्ष, यति ठूलो युगान्तकारी जनयुद्धको नेतृत्व गरेका नेता, हाम्रो कमाण्डर, वहाँ र वहाँको वरिपरि देखिएको समस्याबाट वहाँ मुक्त हुनु सक्नुहुन्छ कि हुँदैन ?
अध्यक्षले के गर्नुपर्छ रुपान्तरण गर्न ? केही बोल्ड पोइन्ट भनिदिनुस् न ?
पहिलो कुरा अध्यक्ष प्रचण्डमा म रुपान्तरण हुन तयार छु, शान्ति प्रक्रियामा आएपछि जेजस्ता कमजोरी भएका छन्, यसलाई म गम्भीर ढंगले आत्मसमिक्षा गर्दछु र मेरो जीवन म आम जनताको अगाडि पारदर्शीरुपले बिताउँछु ।

मैले फिडेल क्यास्ट्रोको जीवनी हेरेँ । उनी ३० वर्षसम्म राष्ट्रपति भए तर अहिलेसम्म पनि उनी लोकप्रिय भए । यो किनभने उनको जीवन असाध्यै पारदर्शी छ । उनले बिहानदेखि बेलुकासम्म के गर्दछन् ? कोसँग भेट्छन् ? उनको उठबस सम्बन्ध के हुन्छ ? भन्ने कुरा आम जनतालाई थाहा हुन्छ । हाम्रो अध्यक्ष प्रचण्डले यस्तो जीवन बिताउन सक्नुहुन्छ कि हुँदैन ? मैले बैठकमा पनि भनेको छु, अध्यक्ष कमरेड, तपाईंको जीवनबारे हुम्लामा बस्ने एउटा किसानले पनि थाहा पाओस् । यसपछि उसले प्रचण्ड मेरो नेता बन्नलायक छन् कि छैन, उनले महसुस गर्न पाउनुपर्यो । उहाँसँग ठूलो सामाजिक प्राधिकार छ । जनयुद्धले पैदा गरेको ठूलो नैतिक बल छ । यसकारण यति ठूलो प्राधिकारप्राप्त नेतृत्वले आफूलाई बदल्न सके भने आन्दोलनको लागि त्यो ठूलो उपलब्धि हुनसक्छ । अर्को यस्तै नेताहरुको समूह जन्माउन समय लाग्छ । नेता कसैको आकांक्षाले जन्मिने कुरा पनि होइन । नेता जन्मिने भनेको संघर्षले हो, इतिहासको आवश्यकताले हो । लामो संघर्षको प्रक्रियाबाट मात्र नेता जन्मन्छ । २५ वर्षभन्दा लामो संघर्ष र कम्युनिष्ट आन्दोलने जन्माएको नेता त प्रचण्ड नै हुन् । सहायक नेताहरु पनि छरपस्ट हुँदै जाने र मुख्य नेतामा पनि रुपान्तरण नहुने हो भने त केही हुन्न । सानो घेराबन्दीमै हराउने अवस्था दुःखद छ । यसरी त नेतृत्वको पनि अवसान हुन्छ पार्टीको पनि । यसलाई बचाउन धेरै मेहनत गर्नुपर्छ भनेर हामीले बहस सुरु गरेका हौं ।
यति ठूलो जनयुद्धको नेताको यति सजिलै दुःखद रुपमा अवसान हुनु हुँदैन । हाम्रो प्रयत्न उहाँले बचाउने प्रयत्न हो । उहाँलाई बचाउने र रुपान्तरण गर्ने प्रयत्नस्वरुप हाम्रो संघर्ष हो ।
तपाईंले भनेजस्तै अध्यक्ष प्रचण्डले त्यस्तो सामान्य जीवन जिउने हिम्मत गर्न सक्लान् अब ?
पछिल्लो समय म आशावादी पनि छु । किनभने बाबुरामजीसम्मको बहिर्गमनसम्मको अवस्था हेर्दा पछिल्लो समय प्रचण्ड अलि धेरै संवेदनशील बन्नुभएको छ । उहाँमा चिन्ता पनि मैले देखेको छु । किनभने ०४८ सालमा उहाँहरु ३०/३५ वर्षको युवा हुनुहुन्थ्यो, त्यतिबेला उहाँहरुले आँट गर्नुभयो, नेपालमा जनवादी क्रान्ति सम्पन्न गरौं भन्ने पहल लिनुभयो । सशस्त्र संघर्ष गरेर राजतन्त्रको अन्त्य गरौं भनेर हिम्मत त गर्नुभएको हो नि ? त्यतिबेलाको मुख्य पात्रहरु आज वहाँसँग हुनुहुन्न । बादलदेखि बाबुराम हुँदै वैद्यदेखि बोगटीसम्म हुनुहुन्न । झण्डै झण्डै त्यतिबेलाको टिममा एक्लोजस्तो हुनुहुन्छ । अब फेरि पनि उहाँको काँधमा जिम्मा छ । यति ठूलो जनयुद्धको नेताको यति सजिलै दुःखद रुपमा अवसान हुनु हुँदैन । हाम्रो प्रयत्न उहाँले बचाउने प्रयत्न हो । उहाँलाई बचाउने र रुपान्तरण गर्ने प्रयत्नस्वरुप हाम्रो संघर्ष हो ।

तपाईहरुको यो इमान्दारितपूर्ण प्रयत्नलाई प्रचण्डले कसरी लिनुभएको होला ?
Prachandaयो त संश्लेषणसम्म आइपुग्दा थाहा हुन्छ । तर वहाँ सकरात्मक ढंगले नै जानुहुनेछ भन्नेमा म किन आशावादी छु भने अहिले पछिल्लो समय केन्द्रीय समितिमा यो भिन्न मतलाई बाँडिदिनुस् भन्नुभयो । मैले त अध्यक्षलाई मात्रै दिएको छु । भिन्न मत त मैले मात्रै दिएको हो केन्द्रीय समितिमा । अन्य साथीहरुको सुझाव पनि तलसम्मै बाँडिदिनुहोस् भन्नुभएको छ । एउटा महान बहसबाटै जाउँ । माओवादी आन्दोलन सामान्य अवस्थामा छैन । यात पुनर्गठन वा रुपान्तरण या विघटनभन्दा अर्को विकल्प छैन । विघटन रोज्ने सुविधा हामीलाई छैन, बरु बैठक लम्बियोस्, महान बहसबाटै जाउँ भन्ने कुरा उहाँले राख्नुभयो । यसबाट म आशावादी नै छु । किनभने प्रचण्डको चरित्र डाइनामिक नै हो । उहाँको गतिशीलतालाई म मान्छु । हिजोको अध्यक्षकै रुपमा हेर्दा उहाँको गतिशील चरित्रले उहाँलाई यथास्थितिमै बस्न नदेला भन्ने नै हो ।
तपाईंले गतिशील नेता भन्नुभयो, यस्तो संकटपूर्ण अवस्था छ भन्नुभयो, तर दस्तावेज ल्याउनेक्रममा त उहाँको समस्या देखियो नि ?
अध्यक्षको नजिक भनिनेहरुबाट पनि उहाँलाई पर्याप्त सहयोग भएन भन्ने मलाई लाग्छ यही दस्तावेज निर्माण गर्ने क्रममा पनि । स्थायी समितिको तहसम्मका नेताहरुले प्रचण्डलाई सुझाव दिनुभएको छ दस्तावेजन लेख्ने बेला ।

अहिले तुरुन्तका लाभहरु के के छन् त्यो वहाँहरुले लिनुहोस् । तर हामीलाई भविष्य चाहियो । जनतालाई भविष्य चाहियो । जनतालाई हिजो गरेको प्रतिबद्धताहरु पुरा गर्दै कमजोरीहरु भए सच्याउँछ भन्ने चाहिएको छ । फेरि पनि जनताको पक्षमा लड्छ भन्ने विश्वास दिलाउन सक्यो भने माओवादी आन्दालन पुनर्गठन र पुनर्निजिवित हुनेछ ।



प्रचण्डको दस्तावेज, क्यान्सरको बिरामीलाई 

सिटामोल- युवा नेता भण्डारी


भनेपछि एक तहको नेतामै समस्या रहेछ नि ?
उहाँहरु शक्तिकेन्द्रित, सत्ता केन्द्रित हुनुभयो बढी । मन्त्रीमण्डल बन्ने कुरामा तीन जनाबाहेक अरु पाँच जना त स्थायी समितिकै सदस्य हुनुहुन्छ । आफैं स्थायी समितिले निर्णय गर्नुभयो, आफैं मन्त्री हुनुभयो । एकजना मधेसी, एकजना जनजाति, एकजना महिलाबाहेक सबै आफैंले भाग मिलाएको जस्तो भयो । भनेपछि यो आलोचनाको पात्र हुनुभयो । अहिले त पार्टी बनाउने हो, रुपान्तरण गर्ने हो, जनताका सपना छन् । दसौं वर्ष बलिदान गरेका जनता, घाइते, सहिद र बेपत्ता परिवारको सपना र हामीसँग जोडिएको आकांक्षा छ । यसलाई पूरा गर्नुपर्छ भन्दा पनि आफ्नो स्वार्थतिर जानुभयो । अहिले तुरुन्तका लाभहरु के के छन् त्यो वहाँहरुले लिनुहोस् । तर हामीलाई भविष्य चाहियो । जनतालाई भविष्य चाहियो । जनतालाई हिजो गरेको प्रतिबद्धताहरु पुरा गर्दै कमजोरीहरु भए सच्याउँछ भन्ने चाहिएको छ ।
फेरि पनि जनताको पक्षमा लड्छ भन्ने विश्वास दिलाउन सक्यो भने माओवादी आन्दालन पुनर्गठन र पुनर्निजिवित हुनेछ । यो बहस पनि यही आशावादीता सहित चलाइएको हो । युवा हुनुको नाताले सत्यलाई ठीक तरिकाले राख्नुपर्छ । हामीलाई समस्याको केही डर छैन । कोहीसँग केही लेनादेना छैन । उहाँहरुसँगको सबै समस्या हाम्रो बैचारिक हो । वैचारिक समस्या नै पर्यो भने यो आन्दोलन अर्को ठाउँमा जान्छ । यो हामी आफैले ठूलो लगानी गरेर बनाएको पार्टी हो । यसलाई रुपान्तरण गर्नको लागि हामीले भित्रैबाट संघर्ष गर्नु पर्छ । यो नै अहिले सबैभन्दा वस्तुवादी हुन्छ भन्ने निष्कर्श हो ।
तपाईंको एउटा निष्कर्श रह्यो । तर लामो समयसम्म माओवादी आन्दोलनको नेतृत्व तहमा रहनुभएको उपाध्यक्ष तथा वरिष्ठ नेताको समेत जिम्मेवारी सम्हाल्नुभएका डा. बाबुराम भट्टराईले पार्टीलाई रातो स्टिकर लागेको आरोप लगाउँदै पार्टी परित्याग गर्नुभयो नी ?
बाबुरामजीले जसरी निस्कनुभयो, त्यो तरिका बेठिक भयो । उहाँले कोहीसँग पनि सल्लाह नगरीकन जो निर्णय गर्नुभयो त्यो बेठीक हो । उहाँ व्यक्ति होइन, संस्था हुनुहुन्थ्यो । माओवादीको नेता हुनुहुन्थ्यो । उहाँले संस्थागत निर्णय गर्नुभएन । कसैसँग छलफल गर्नुभएन र निर्णय मात्रै सुनाउनुभयो ।

यहाँहरुसँग छलफल भएको भए सामूहिक निर्णय हुन्थ्यो ? या तपाईं पनि जानुहुन्थ्यो ?
उहाँसँगै जाने नजाने कुरा अर्कै हो । तर छलफल हुन्थ्यो, उहाँलाई रोकिन्थ्यो । यही पार्टी भित्र लडौं भनेर उहाँलाई जान दिने थिएनौं । एउटा विधि हुन्थ्यो ।
‘म गएपछि यिनीहरु आइहाल्छन् नि पछिपछि लागेर’ भन्ने उहाँमा जुन भ्रम रहयो त्यो गलत कुरा हो । हिजो हामीले उहाँलाई विचारको आधारमा सहयोग गरेको हो । पालुङ्टारमा जुन विचार ल्याउनुभयो त्यो विचारको हामीले समर्थन गरेका हौं । बाबुरामको पछि लाग्ने हलि–गोठाला, खेताला त हैनौ नि हामी । अहिले पछिल्लो समय पनि विचार ल्याउनु पर्थ्यो, छोड्नेबेलामा विचार र प्रतिवेदनसहित माओवादी भित्रको समस्या उठान गरेर गएको भए कस्तो राम्रो हुन्थ्यो ।
स्टिकर नै टाँसिएको भएपनि पार्टीमा बहस चलेको भए उहाँको पक्षमा ठूलो जनमत बन्थ्यो । त्यो प्रक्रिया मिलाउने कुरामा बाबुरामजीले गल्ती गर्नुभयो । देवेन्द्रजीहरुले छोड्ने बेलामा पनि मेरो छलफल भयो । मैले उहाँहरुलाई यो पार्टीलाई रुपान्तरण गर्न प्रयत्न गरौं भनेको थिएँ । यो हामीले बनाएको पार्टी हो नि । हामी पनि यो पार्टी बिग्रेकोमा दोषी छौं । यो पार्टी बिग्रेर यस्तो लथालिङ्ग हुँदासम्म हामीले के हेरेर बस्यौं ? की हामीले हेरेर मात्रै बस्यौं सचेत मान्छे होइनौं भन्नुपर्यो । किन हामीले बेलैमा लडेनौं । जनताको ठूलो बलिदान छ, धेरै साथीहरु मारिएका छन्, यसलाई बदल्नु पर्छ ।
जनताले अहिले पनि माओवादीबाट धेरै आशा गरेका छन् । जनताको आकांक्षालाई त्यत्तिकै धमिलो पारेर जानु हुन्न भन्ने मेरो तर्क हो । त्यसैले म यो पार्टीमा रुपान्तरणको लागि लड्छु भनेर उहाँहरुलाई भनेका थिएँ । चाहे म एक्लै हुँ । लड्छु, पार्टी बनाउँछु र परिवर्तन गर्छु संभव छ । हिजो बाबुरामजीलाई समर्थन गर्ने मान्छे मात्रै राम्रा, अर्को पक्षलाई समर्थन गर्ने मान्छे सबै नराम्रा भन्ने बुझाइ गलत हो । बाबुरामजीलाई समर्थन गर्नेमा पनि नराम्रा मान्छे छन्, अध्यक्षलाई समर्थन गर्नेमा पनि नराम्रा मान्छे छन् । तर त्यहाँ दुवैमा राम्रा मान्छे पछि छन् । यो आन्दोलनलाई इमान्दारसँग हेरिरहेका साथीहरुले पक्कै पनि घोत्लिएर सोच्न बाध्य हुन्छन् । यो केन्द्रीय समितिमा मैले सुरुवात मात्रै गरेको हुँ । जे विषय उठाएको छु त्यो पनि पूर्ण छैन । अध्यक्षको दस्तावेज पढेको दुई दिनमा बनाएको हो । मैले केहि डाटाहरु राखेर, नेपाली समाजको वर्ग विश्लेषण राखेर ल्याउन खोजेको थिएँ । समय भएन ।
तपाईंले ल्याउनुभएको फरक मतलाई समेटिने संभावना कत्तिको छ ?
अध्यक्षले बसेर छलफल गरौं भन्नुभएको छ । ५ दिनको लागि केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यो बीचमा आएका सुझावलाई मर्ज गर्छु । सुझावका आधारमा दस्तावेजलाई परिमार्जन गर्छु । भिन्न मत र महत्वपूर्ण विषय उहाँले उठाउनुभएको छ, त्यसको विषयमा पनि छलफल गर्छु भनेर प्रचण्डले भन्नुभएको छ । अध्यक्षले कसरी छलफल गर्नुहुन्छ त्यो मलाई थाहा छैन । भिन्न मतलाई पनि समेटेर जान सक्ने स्थिति भयो भने राम्रो हुन्छ । त्यो भएन भने, ठूला नेताले यसरी फरक मत राख्दा समानान्तर गुट बन्छ, हामीले राख्दा गुट बन्दैन । त्यसकारण अध्यक्ष डराउन पर्दैन । बहस मात्रै हुने हो । मेरो उद्देश्य गुट बनाउने होइन । गुट मलाई चाहिँदैन । किन भने कुनै पावर अभ्यासमा लाग्नु छैन । कुनै पदको महत्वकांक्षा पनि छैन ।

रुपान्तरणको सन्दर्भमा अध्यक्षले पहिलो लाजिम्पाट छाड्नुपर्छ । केन्द्रीय समितिले पास गरेको निर्णय हो । त्यो ठाउँ धेरै आलोचनाको केन्द्र पनि भयो । जब प्रचण्डले लाजिम्पाट जानुभयो, अधोगतिको दिन सुरु भयो । लाजिम्पाटको मोह किन चाहियो ? छाडिदिए हुन्छ । सार्वजनिक स्थानमा टहरा बनाएर बस्दा हुन्छ ।

प्रचण्ड या माओवादीले अब कस्तो निर्णय गर्नुपर्छ ?
गडबढी गर्नेलाई छाड्दैन र न्यायसहित आशा दिन्छ भन्ने हुनुपर्छ । व्यक्ति बचाउने नाममा संस्थालाई सिध्याउन हुन्न भन्ने मेरो तर्क हो । माथिबाट सुरुवात भयो भने तलतिर पनि ठूलो तरंग ल्याउँछ । तत्कालीन जनजीविकाको मुद्दाहरु हल गर्नुपर्यो । काम गर्न सक्दैन भने फिर्ता गर्नुपर्यो ।
अध्यक्षले तत्कालको लागि ६ महिनाको योजना ल्याउनु भएको छ । त्यसपछिको स्टेप भनेको महाधिबेशन नै हो । सामान्य आचार संहिताले माओवादीको समस्या हल हुँदैन । यो वैचारिक समस्या हो ।
तपाईंले त भन्नुभयो, तर भूकम्प पीडितको नाममा अध्यक्षका नातिनिहरु नै विदेश भ्रमणमा गए, प्रचण्डले चाहेको भए समयमै रोक्न पनि सक्थे तर त्यस्तो देखिएन । माथिदेखि नै एउटा खालको समस्या छ नी माओवादी भित्र ?
यो विषयमा केन्द्रीय समितिमा छलफल पनि भइसकेको छ । गृहमन्त्रीले आत्मआलोचना पनि गर्नुभयो । तर रुपान्तरण सजिलो छैन भन्ने यसले देखाउँछ । तर उहाँहरुलाई गडबढी गर्न पनि सजिलो छैन भन्ने पनि केन्द्रिय समितिले सचेत गरायो । अध्यक्षले आफैले भन्नुभएको थयो , ‘गृहमन्त्रीको तीनवटा विकल्प छन्, फिर्ता बोलाउने, राजीनामा दिने या एक चोटी हो गम्भीर चेतावनी दिएर आत्माआलोचना गर्ने र जनतासँग क्षमा माग्ने, अर्को पटकबाट यस्तो कुनै पनि मन्त्रीले यस्तो गल्ती गर्यो भने तुरुन्तै फिर्ता बोलाउने ।’
यो हामीले सुरुवात गरेका छौं । एउटै गल्तीमा ल्याएर मान्छेलाई सिद्याउनु पर्छ भन्ने होइन । तर गल्तीबोध गराउन जरुरी छ । रुपान्तरण दुई किसिमका हुन्छन्, स्वएेच्छिक र बाध्यात्मक । स्वएेच्छिक पनि ठूलै पंक्ति छन्, कतिपयलाई बाध्यात्मक तरिकाले रुपान्तरण गराउनुपर्ने जरुरी छ ।
माओवादीसँग सत्ता नहुँदा ठूलो क्रान्तिकारी कुरा गर्ने तर सत्ता हुँदा केही माखो नमार्ने यो किन ? अहिले कालोबजारी पनि बढेको छ । कतै माओवादी मन्त्रीहरुको नियतमै समस्या त छैन ?
नियतमाथि त शंका नगरौं । हाम्रो अर्थतन्त्र क्रोनिक पुँजीवादमा पुग्यो । अर्थतन्त्र तस्कर, ब्रोकरहरुको नियन्त्रणमा जाँदैछ । यो सरकारले तत्कालै नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । डरलाग्दो ठाउँमा हाम्रो अर्थतन्त्र पुगिसकेको छ । यसलाई रोक्नुपर्छ । मसँग विस्तृत डाटा पनि छ । यदि महाधिबेशनसम्म जाने अवस्था आयो र मेरो दस्तावेज लागियो भने म त्यो पेस गर्नेछु ।

महाधिवेशन हुने संभावना छ र ?
गाउँ र जिल्ला हुँदै सबै स्थानमा बहस गर्नको लागि संस्थागत पार्टी त चाहिन्छ । बहस हावामा गरेर भएन । मिडियामा मात्रै बहस गरेर पनि भएन । बहस छलफल गर्नको लागि पनि हामीसँग पार्टी चाहिएको हो । अध्यक्षले तत्कालको लागि ६ महिनाको योजना ल्याउनु भएको छ । त्यसपछिको स्टेप भनेको महाधिबेशन नै हो । सामान्य आचार संहिताले माओवादीको समस्या हल हुँदैन । यो वैचारिक समस्या हो । वैचारिक रुपमा समाधान भएन भने आन्दोलन धेरै अगाडी जाँदैन । अहिले हामीले भएको संगठनलाई व्यवस्थित गर्ने मात्रै हो । नयाँ उभार ल्याउने अवस्था छैन । त्यो संगठनलाई वैचारिक र राजनीतिक रुपमा प्रशिक्षित गर्नुपर्छ । हामी बिग्रेको किन हो हामीले समीक्षा गर्नुपर्छ । विशेषगरी नयाँ पुस्ताका साथीहरुले गर्नुपर्छ । यो व्यवस्था ल्याउन हामीले लडेका हौं त ? जरुर होइन । हामीले त सुन्दर नेपालको परिकल्पना गरेका हौं । तर हामी परिणाममुखी राजनीतिमा छौं ।

मैले अर्को विषय पनि उठाएको छु । अध्यक्षले कार्यकर्ताको विषयमा पूर्णकालीन भन्नु भएको छ । त्यो होलटाइमर भन्नु नै गलत छ । होलटाइमर कति चाहिन्छ केन्द्रले किटान गर्नुपर्छ । जस्तै केन्द्रीय सदस्य पूर्णकालीन र जिल्ला अध्यक्षहरु पूर्णकालीन बनाउने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा केन्द्रले तय गर्नुपर्यो । त्यो भन्दा बाँकी सबै साथीहरुलाई उत्पादन सहित पार्टटाइमर कार्यकर्ता बनाउने । पारदर्शी उत्पादन सम्बन्धबाट आत्म निरभर बन्नुपर्छ भनेर भन्नुपर्छ । हिजो शान्ति प्रक्रियामा आएर धेरै साथीहरुलाई आत्मनिर्भर हुन नभनेका कारण धेरै साथीहरु अहिले खाडीमा छन् । हजारौं मान्छेलाई होलटाइमर बनाउने, तिनको व्यवस्थापन पनि नगर्ने काम पनि नदिने ? त्यो त निराश भएर जान्छ नी ?
एउटा पंक्ति ठेकेदार र दलालको पछि लागेर कमाउने तर त्यो पनि नसक्ने इमान्दारहरु निराश हुँदै नेताहरुलाई धारे हात लगाउँदै, आन्दोलनलाई सराप्दै बाहिर जानुको विकल्प छैन । तर पनि माओवादीको राम्रो पक्ष भनेको माओवादी नै छोडेर अभियानात्मक रुपमा अन्त गएको छैन । यहीँ सरापेका छन्, धारेहात लगाएका छन् तर अझैपनि माओवादीप्रति अन्तिम आशाको नजरले हेरिरहेका छन् । त्यो अन्तिम आशालाई बचाउनुपर्छ भन्ने हाम्रो जोड हो ।


http://www.sajhapost.com बाट साभार 

Friday, December 11, 2015

एमाओवादीको जारी बैठक र अपेक्षित निकास - धुर्व पराजुलि

जव हामी ठुलो पार्टी भयौं, सरकारको नेतृत्व गर्ने भयौं, जनताको काख पोल्टो हामीलाई बसाउन छाड्यो तब हामी कमजोर भयौं

एमाओवादीको १ वर्षदेखि जारी बैठक समापनको नजिक पुगेको छ । यसबिचमा खण्डखण्ड र पूर्ण गरी धेरैपटक बैठक भए । समसामयिक राष्ट्रिय राजनीतिक मुद्धाहरुको सम्बोधनमै अल्झिएको यो १ वर्ष लामो कालखण्ड अब भने उसले निधो गरेको विगत कार्यनीति (संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान) जो मुलभुतरुपमा हासिल भएको छ । त्यसको समिक्षा सहित अब अगाढीको कार्यनीतिको मोटो निरुपणसहित समापन हुँदैछ ।

गत वर्ष मंसिर २८ मा प्रस्तुत राजनीतिक प्रतिवेदनकै पुरकका रुपमा यसपटक पनि २७ पृष्ठ लामो प्रतिवेदन अध्यक्षले प्रस्तुत गर्नुभएको छ । कैंयन आरोह अवरोह बि चगत प्रतिवेदनले ठोस गरेको मुख्य राजनीतिक कार्यभार ‘संविधानसभाबाटै संविधान जारी गरेर’ पुरा भएपछि प्रस्तुत यो प्रतिवेदनले अघि सारेको ‘बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने’ दिशावोध उपर केन्द्रिय सदस्यहरुले धारण व्याक्त गरिरहेका छन् ।

१५१ सदस्य केन्द्रिय समितिबाट नयाँ शक्तिको बहाकावमा भड्किएका ढेड दर्जनको संख्या बाहेक प्राय सबैले बोल्न नाम टिपाएका कमरेडहरुमध्य आजसम्म ८० जनाले एकसरो धारणा राखिसकेका छन् ।  आवश्यक परे अर्को चरण पनि चल्ने/चलाउने मनसाय अध्यक्षले व्याक्त गर्नुभएको छ । बैठकमा बोल्ने अधिकांशले ‘हाम्रो पार्टीले मालेमाको विकासमा गरेको योगदानका बारे जिज्ञासा राखेका छन्’ । अविकास वा अल्पविकास, न्यून चेतना वा असिक्षा र पराधिन एवं औपनिवेशिक सामाजिक वस्तुस्थितिको चंगुलमा रहेको समाजको परिवर्तन गर्न केन्द्रिकरण कि जनवाद प्रधान भन्ने विषय जवर्जस्त ढंगले बहसमा आएको छ ।

समाजवादी क्रन्तिको विचार, नीति र विधि विकास निम्ती थप विहंगम छलफल र बहस गर्दै अघि बढ्नुपर्ने त छदैंछ त्यसका निम्ती खस्किएको वर्तमान जग अपर्याप्त मात्रै होइन वाधक छ ।  नयाँ र मजवुत जग खडा गर्नका खातिर देखिएको कलिलो सम्भावनामा उभिएर नयाँ जग निर्माण गर्ने दिशामा ठडिएका मुख्यत दूईवटा भयंकर चूनौतिहरुको सामना गर्न साहस गर्ने कि नगर्ने ? भनेर प्रतिवेदनले उठाएको प्रश्न निकै पेचिलो महसुस भईरहेको छ । पहिलो चूनौति कि ‘कमलको फुल टिप्न हिलोमा पस्नै पर्छ’ भने झै पूजिवादी कार्यभार कम्युनिष्टहरुले पुरा गर्नु पर्दाको विगत १० वर्षे कालखण्डमा माओवादी कम्युनिष्टहरुमा माओवादी कम्युनिष्टहरुमा सल्किएको गुटवादीता, अराजकता र व्याक्तिवादीता जस्ता पूँजिपन्थी रोगहरु जो क्यान्सरकै रुपमा फैलिईरहेका छन् । यिनको कठोर शल्यक्रिया गर्न गराउन सकिन्छ कि सकिदैंन भन्ने र बाबुराम जस्ता विद्धवानका मुखबाट ‘नेपालमा माक्र्सवादको औचित्य छैन’ भनेर भनाउन सफल साम्राज्यवादको प्रचारवाजीलाई  मिथ्या सावित गर्ने हिम्मत गर्ने कि नगर्ने भन्ने प्रश्न मुख्य हुन् ।

यस्ता चूनौति पर्गेल्नेक्रममा धेरै कमरेडहरुले विगत जनयुद्धकालका सुरुवाती दिनहरुमा कस्ताकस्ता चूनौति आए र कसरी सामना गरियो भनेर स्मरण गरे गराएका छन्  । हामी महान राजनीतिक लक्ष्य उदेश्य हासिल गर्ने मालेमावादी अभियानमा अघि बढ्दा वर्ग बैरीहरुले हामीलाई चोर डाँका र ज्यानमारा जस्ता भयानक पहिचान र पगरी दिएकै थिए । हामीले तीनलाई जनताको मनोभावना जितेर लल्कारेका हौं । कसैले सम्मान नगरेका, हेपिएका, र थिचोमिचोमा पारिएका दमित उत्पिडित नेपाली जनताका काख पोल्टामा रमे/रमाएर तीनको सामना गरेका हौं । जनतालाई आफ्नो  हक अधिकार सम्झाएर जनताकै पक्षमा वलिदान गरेर पार्टी र परिवर्तनको आन्दोलनलाई हालका लागी प्रगतिशिल र परिवर्तनशिल मात्रै सहि गणतान्त्रीक नेपालको संघिय संविधान जारी गर्ने हद सम्म ल्याउन सफल भएका हौं । जव हामी ठुलो पार्टी भयौं, सरकारको नेतृत्व गर्ने भयौं, जनताको काख पोल्टो हामीलाई बसाउन छाड्यो तब हामी कमजोर भयौं । यो तथ्यगत गल्ती स्विकार्दै जनतासँग माफी माग्ने र गल्ती नदोहोर्याउने हो भने हामीले चूनौतिहरुको फेरीपनि सामना गर्न सक्छौ ।

त्यस्तै बाली लगाउँदा झार पनि सँगसँगै उम्रन्छ, घोडा चढ्दा लडिन्छ र जिवनको गोरेटोमा अघि बढ्दा दूर्घटना घट्छन् भने झै काम र समयसँगै थूप्रिने फोहोर सफा गरिरहनु अनिवार्य हुन्छ । विगतमा पनि पार्टीमा थुप्रिएका थूप्रै फोहोर मैला सफा गरिएकै हो । अहिले पनि रोग पन्पिएकाहरुको शल्यक्रिया, सल्किएकाहरुको सघन उपचार र सल्किने सम्भावनावारे चनाखो हुन हामी आफैं बाहेक कसले रोक्छ ?

सर्वहारावादी जिवन मुल्य हासिल गर्ने दिशामा हाम्रा अध्ययनहरु कमजोर परेका छन् माक्र्सवादी स्कुल चलाऔं, विचारको हतियारमा खिया लागेको छ भने धार लगाऔं, नीतिगत पक्ष कमजोर भएको छ भने पूर्ण जनवादी भट्टी चलाएर दह्रो तुल्याऔं र पार्टीको विधान सूस्पस्ट बनाई विधिमा चल्ने आदत बसाऔं ।


यसप्रकार प्रतिवेदनलाई समृद्ध तुल्याउन विचारधारात्मक, राजनीतिक, संगठनात्मक, साँस्कृतिक, नेतृत्वप्रणली लगायत समसामयिक मुद्धाहरुमा यथेष्ट टिप्पणी, आलोचना, सुझाव र समर्थन एवं विरोधका बिचारउत्तेजक खुराकहरु प्रस्तुत भईरहेका छन् । नेतृत्वको उपल्लो भन्दा तल्लो अर्थात केन्द्रिय सदस्यहरुको पक्तिबाट ठोसठोस समस्या र तीनको समाधान उपर तिता तर रोगीको उपचारका निम्ती रामबाण सावित हुनसक्ने तिखा भनाईहरु व्यक्त भईरहेका छन् । माथिल्लो पक्तिं अझै टालटुले अर्थात सतही र ढाकछोप गरे झै देखापरिरहेको छ ।   यस्तै परिदृश्यलाई मध्यनजर गरेर होला अर्को राउण्ड बहस चल्न सक्छ भन्नुभएको होस् । त्यसो भयो भने छलफल अझै घनिभूत, निदानकारी अर्थात फलदायी हुनेछ । लाखौं जनता र हजारौं कार्यकर्ताले पर्खे, खोजे र रोजेजस्तो जनआधारित क्रान्तिकारी पार्टी बन्ने÷बनाउने अभिष्ट पूरा हुनेछ । नेपाली जनताले खोजेका मूक्ति, स्वतन्त्रता र स्वधिनता सहितको समृद्ध नेपाल निर्माणको ढोका खुल्नेछ ।

http://www.khabardabali.com बाट साभार 

Thursday, December 10, 2015

प्रचण्ड प्रस्तावमा माओवादी एकता ?- लेखनाथ न्यौपाने

एमाओवादीबाट बाबुराम भट्टराईको बाहिर्गमनपछि नेकपा (क्रान्तिकारी माओवादी) सँगको एकताको बाटो खुला भयो भन्ने हल्ला छ । ठीक यही समयमा प्रचण्डले आफ्नो केन्द्रीय समितिको बैठकमा २७ पृष्ठ लामो राजनीतिक एवं संगठनात्मक प्रस्ताव पेस गर्दै भनेका छन्, ‘क्यान्सर झैँ पैmलिएको गुटबन्दी, अराजकता, व्यक्तिवाद जस्ता गैरसर्वहारा आचरण र कार्यशैली हटाउन आज पार्टीमा ठूलो शल्यक्रियाको खाँचो छ (पृष्ठ– १, प्यारा– ३) ।’ 
 
एमाओवादीमा क्यान्सर लागेको उद्घाटनसँगै नेकपा (क्रान्तिकारी माओवादी) मा क्यान्सर छ कि छैन भन्ने जिज्ञासा मात्र जन्मिएको छैन, आकाशबेली झैँ क्यान्सर फैलिएको एमाओवादीसँग एकता गरेर एकीकृत क्यान्सरविरुद्ध लड्ने वा एक्लै किमो लगाएर स्वस्थ बन्ने भन्ने चुनौती उपस्थित भएको छ । यद्यपि २७ पृष्ठ लामो प्रचण्ड प्रस्तावमा पार्टी एकताको मूर्त प्रस्ताव समावेश नहुनुको अर्थ माओवादीहरूसँगको एकतालाई खास महत्व दिन जरुरी छैन भन्ने संकेत र सन्देश दिन खोजेको बुझ्न सकिन्छ । 
 
यता नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष किरणले सिद्धान्तको बलि चढाएर एकता हुन सक्दैन भन्दै एकताको सर्त वा आधार वैचारिक, राजनीतिक एकरूपतामा खोज्ने धारणा सार्वजनिक गर्दै गर्दा तत्काल एकता प्रचारमा मात्र सीमित हुने सम्भावना पनि उत्तिकै देखिन्छ । यसको निष्कर्ष के हुन्छ भने माओवादीहरू थप कमजोर हुन बाँकी छ । अन्तिम ढंगले कमजोर अवस्थामा नपुगुन्जेल नवसंशोधनवादी र जड्सूत्रवादीको दोहोरी चलिरहनेछ ।
 
देश थप पराधीन भयो, स्वाधीनताको लागि एकता । जनताको दैनिकी अरू कष्टकर बन्यो, जनजीविका हल गर्नका लागि पार्टी एकता । हाम्रो वर्ग दलाल नोकरशाही सत्तामाथि विजयी बन्न सकेन, वर्गीय हितलाई केन्द्रमा राखेर एकता जस्ता विषय गौण बनेकै छन् । दुःख पाइयो, हैरान भइयो, कसैले टेर्दैनन्, अख्तियार र हेगले तर्साउँछ जस्ता आधारमा गर्न खोजिएको पार्टी एकताको प्रचार दाउपेचमा मात्र सीमित हुन्छ नै । देश, जनता र कार्यकर्ताका लागि माओवादी आन्दोलनको एकता र सुदृढीकरण जरुरीको विषय हो, तर यी पक्ष निर्णायक बनाएर केन्द्र भागमा राखिँदैन । 
 
जब पार्टी एकता वा विभाजन सीमित नेताहरूको केन्द्रीय स्वार्थको विषय बनाइन्छ तब एकताको वैचारिक, राजनीतिक आधार कमजोर हुँदै जान्छ । त्यसो त भित्र र बाहिरको लाभको पदलाई केन्द्रमा राखेर एकताको नाममा लम्पसार पर्ने एउटा पंक्ति वैद्य माओवादीभित्र छट्पटाइरहेको देखिन्छ भने प्रचण्ड माओवादीभित्र लाभको पद र गुटमा चुर्लुम्म डुबेकाहरूको एउटा तप्का एकता हुन नदिन हात धोएर लागेको पनि सतहमै देखिन्छ । दुवै समूहको यो तप्का अपारदर्शी र पदको लोभीको रूपमा बद्‍नाम छ । कम्युनिस्ट पार्टीको एकता वा फुटमा तलबाट उठ्ने विषय वा दबाब निर्णायक नबन्ने विगतको कटु अनुभवलाई बीचमा टुसाएका यस्ता विषय र प्रसंगले कस्तो प्रभाव पर्ने हो ? हेर्न बाँकी छ ।
 
जेठ २५ को सोह्रबुँदेअघि दुई माओवादीबीचको एकता निश्चित भनेर ढोल पिटिएको थियो तर प्रचण्डको दोहोरो चरित्र (एकता र सोह्रबुँदेविपरीत विषय एकै समयमा अघि बढाएर पार्टी एकताभन्दा सोह्रबुँदेलाई प्राथमिकतामा राखेका थिए) र किरणहरूले सोह्रबँुदेको सुइँकोसम्म नपाउने भोलापनकै कारण एकता भाँडिएको थियो । आज एमाओवादीबाट बाबुराम बाहिरिनेबित्तिकै एकताको हल्ला बढ्नुमा कुन ग्रन्थि र रसायनले काम गरेको छ ? सबै माओवादीले खोज्नुपर्ने चुरो विषय यही हो ।
 
जे–जे कारणले भए पनि माओवादी आन्दोलन दिशाविहीन बनेको र दिनानुदिन प्रतिकूलतातिर धकेलिएको यथार्थ सबै माओवादी समूह मुख्यतः एमाओवादी र क्रान्तिकारी माओवादीले भित्रैदेखि महसुस गर्ने हो भने दुई पार्टीबीच एकताको आधार बन्न सक्ने देखिन्छ । सिद्धान्तमा मालेमावाद र बल प्रयोग स्विकार्नु, संगठनात्मक विधिमा अभिव्यक्तिमा स्वतन्त्रता र कामकारबाहीमा एकरूपतासहितको जनवादी केन्द्रीयता एकताका समान आधार हुन् । 
 
प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा क्रान्तिकारी शक्ति भनेर आपूmसहित सबै माओवादी समूहलाई सम्बोधन गर्नु (पृष्ठ– १७) र प्रधान अन्तरविरोध ‘भारतीय एकाधिकार पुँजीवादद्वारा पालित, पोषित र संरक्षित दलाल, नोकरशाही पुँजीपति र सामन्त वर्गविरुद्ध आम नेपाली जनताको अन्तरविरोध नै प्रमुख अन्तरविरोध (उही)’ का रूपमा उल्लेख गर्नु एकताका थप समान आधार मान्न सकिन्छ । तर प्रचण्डले प्रस्तावमा एकता र सहकार्य भावी विभिन्न तहका निर्वाचन (पेज– १८) लाई केन्द्रमा राखेको संकेत गरेका छन् । यो संकेतले पार्टी एकताका दुइटा प्रतिकूलतालाई एकैपटक सतहमा उतारिदिएको छ । 
 
राज्यसत्ताको चरित्र अलिकति पनि नफेरिएको एवं सुधारिएको संसदीय गणतन्त्रात्मक व्यवस्था (सन् १९११ को चीनको जस्तै मात्र) अन्तर्गत हुने निर्वाचनलाई कार्यनीतिक अर्थमा उपयोग गर्ने वा रणनीतिक रूपमा अँगाल्ने भन्ने पहिलो र दोस्रो, एउटाले प्रतिगामी संविधान भनेर च्यात्दै हिँड्ने र अर्कोले संविधानलाई युगान्तकारी परिवर्तन भनेर महिमा गीत गाउनेबीचको एकताको आधार कसरी बन्न सक्छ ? प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको आधा हिस्सा (औपचारिक रूपमा पृष्ठ ५ देखि १४ सम्म र अन्यत्र पनि कैयौँ प्रसंगमा) संविधानको महिमामा खर्चिएको सन्दर्भले एकता यता होइन अन्यत्रै भन्ने संकेत गरेको पनि बुझ्न सकिन्छ । 
 
यो बुझाइ र प्रस्तुतिले एमाओवादीलाई ४७ सालको कांग्रेस र एमालेको ठाउँमा पुर्‍याउने खतरा बढेको छ । ४७ सालको संविधान संसारकै उत्कृट भनियो, तर त्यो संविधानले हाम्रो देशको समस्या हल गरेन । आज ७२ सालको संविधानलाई एमाओवादीले दक्षिण एसियाकै र कतिपय सन्दर्भमा विश्वकै अग्रगामी (पृष्ठ ६ को बुँदा ४ र ५) भनेको छ, तर बिडम्बना संविधान घोषणासँगै देश भयंकर द्वन्द्वतिर धकेलिएको छ ।
 
नेपाली समाजको वर्ग–विश्लेषण र कार्यदिशाको बहस पनि विशेष महत्वको छ । प्रतिगामी, प्रतिक्रियावादी र घोर सुधारवादीहरूको स्वार्थ र संख्यामा ल्याइएको संविधान र यसले बोकेको संसदीय गणतन्त्रलाई नै पुँजीवादी क्रान्ति ठान्ने र अबको दिशा समाजवाद भन्ने एउटाको विश्लेषण छ भने अर्कोको साम्राज्यवाद/विस्तारवाद अरू शक्तिका साथ आएको र सामन्तवादको उपरी संरचना बदलिए पनि आधार उस्तै रहेको अवस्थामा पुँजीवादी क्रान्तिको कार्यदिशा पूरा नभएको विश्लेषण एकतासँग बाँझिने देखिन्छ । 
 
यद्यपि राज्य र समाजमा राजनीतिक हिसाबले केही न केही परिवर्तन आएको स्विकार्ने किरण र जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादतिर जाने प्रचण्ड बीचमा इमानदार एकताको प्रयत्न भएमा अध्ययन, बहस र निष्कर्ष एकता अनुकूल निकाल्न सकिने आधार बन्न सक्छ ।
 
‘सामान्य अवस्थामा नवसंशोधनवादसँग एकता हुँदैन तर आजको अवस्था विशिष्ट हो । आधारभूत विषय मिल्दा अरू विषयमा बहससहित एकता विशिष्ट अवस्थाको बाध्यता बन्न सक्छ’ भन्ने नेकपा (क्रान्तिकारी माओवादी) को विश्लेषण माओवादी आन्दोलनको पुनर्गठनको जिम्मेवारी बोधको रूपमा बुझ्नुपर्दछ न कि हतारोको रूपमा । 
 
यसको मर्म भनेको पार्टी एकता आगामी दिशा र कार्यक्रमलाई प्रमुख एवं विगतका कमीकमजोरीको समीक्षालाई सहायक बनाएर जाने विश्लेषण नै एकताको पहिलो र बलियो आधार हो । तर एमाओवादीको जारी केन्द्रीय समितिको बैठकमा प्रस्तुत प्रचण्डको प्रस्तावले पार्टी एकतालगायत अन्य विषयमा आवश्यकतालाई सम्बोधन गर्ने ढंगले आएको देखिँदैन ।
 
अनगिन्ती उकुसमुकुस, अस्तव्यस्तता र विशृंखलता (लय नभएको) पार्टी र स्वयं प्रचण्ड देखिन्छन्, जुन प्रस्तावको संरचना, विषय र प्रस्तुतिले पुष्टि गर्दछ । गन्ती गर्नै कठिन शीर्षक र उपशीर्षक एवं बुँदा र उपबुँदामा प्रस्तुत गरिएको प्रस्तावमा सबै जबसहरूले आफ्नो फेसबुक पेजमार्पmत अपलोड गराउने (पृष्ठ– २६, बुँदा– ९) भन्ने विषयबाहेक खास नयाँ विषय केही छैन । 
 
भिन्न सन्दर्भ र शीर्षकमा विगत एकदसकदेखि स्वयं प्रचण्डले यिनै विषय लिखित वा मौखिक प्रस्तुतिको रूपमा राख्दै आएका हुन् तर आजसम्म पनि पार्टी माओवादी पार्टीजस्तो भएन ? किन गुटैगुट र सर्वहारा अन्तर्वस्तुबाट पार्टी, नेता र कार्यकर्ता च्युत भए ? सायद यसैलाई क्यान्सर भनिएको होला, जुन एकदसक लामो भइसक्यो । यसलाई किमोले पनि मार्न सक्दैन । निष्कर्ष के निस्कन्छ भने एमाओवादीभित्रको क्यान्सर अन्तिम चरणको हो । यसको विकल्प मृत्युबाहेक अर्को हुँदैन । आखिर अवस्था यस्तै हो त ?
 
अलिकति स्विकारेको तर आपूm चोखैजस्तो, पार्टी यो हालतमा पुग्नुमा बाबुराम र अन्य गुट दोषी तर आपूm बचाउने प्रयत्नमा निरन्तर लागेजस्तो भावको प्रस्तावले फेरि पनि पन्ध्रबुँदे आचारसंहिता (पृष्ठ– २०), बाईसबुँदे शुद्धीकरण (पृष्ठ– २१) र अनगिन्ती बुँदाको प्राविधिक पक्ष र आगामी योजना विगतजस्तै कागतमा सीमित हुने पक्का छ । यसको अर्थ एमाओवादी (अरू समूहमा पनि) कथनी र करणी, सिद्धान्त र व्यवहार एवं लिखित प्रस्ताव र दैनिकीका बीचको बेमेल नै समस्याको चुरो हो भन्ने स्वीकार्य प्रचण्ड र उनले प्रस्तुत गरेको प्रस्तावमा किन भेटिँदैन ?
प्रस्तावको धेरै ठाउँमा प्रत्यक्ष वा परोक्ष प्रचण्डले आपूmलाई हिरोको रूपमा प्रस्तुत गरेका छन् । ‘संविधानसभाबाट संविधान घोषणा गरियो । यस सन्दर्भमा पार्टी नेतृत्वदेखि सिंगो पंक्तिले गम्भीर मेहनतका साथ खेलेको नेतृत्वदायी भूमिकाका कारण जनतामा राजनीतिक रूपले पार्टीप्रतिको आकर्षण र विश्वास बढाएको छ (पृष्ठ– ५)’ र ‘भूकम्पले निम्त्याएको संकटको घडीमा जनतासँग एकाकार हुने, उद्धार र राहत कार्यमा सक्रिय सहभागी बन्ने तथा मुख्यतः राष्ट्रिय एकता र संकल्पका साथ अगाडि बढ्न संसद्भित्र र बाहिर पार्टी नेतृत्वका तर्फबाट खेलिएको भूमिकाले पार्टीप्रति जनतामा अत्यन्तै सकारात्मक सन्देश प्रवाहित गर्‍यो (पृष्ठ– १५)’ जस्ता आत्मप्रशंसा धेरै ठाउँमा उल्लेख छ । 
 
प्रचण्डभित्रको यो प्रवृत्ति नयाँ होइन, जुन प्रस्तावको शीर्षक ‘माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका चुनौतीहरूको सामना गर्न एकजुट होऔँ ! रूपान्तरणसहित पार्टी पुनर्निर्माणको अभियानमा दृढतापूर्वक अगाडि बढौँ’ भन्ने शीर्षकसँग बाँझिएको त छँदै छ, सँगै बाबुरामसँग जोडेर गरिएको ‘इतिहासको निर्माता र प्रेरक शक्ति जनता र सामूहिकतालाई होइन, व्यक्ति वा कुनै महापुरुषलाई ठान्नु पुँजीवादको चरित्र हो (पृष्ठ– ४) ।’ विश्लेषणसँग मेलसमेत खाएको देखिन्छ । यो पार्टी बनाउने तरिका हुँदै होइन ।
 
प्रस्तावमा उल्लिखित वर्ग विश्लेषण त यति लहडी र सतही छ कि ‘सहरमा घरघडेरीको व्यवसाय गर्ने तथा दुई वा सोभन्दा बढी घर बनाई बहालमा दिनेहरू राष्ट्रिय पुँजीपति वर्ग (पृष्ठ– १६), वैदेशिक रोजगारवाला महत्वपूर्ण मित्रशक्ति (उही)’ भन्ने विश्लेषणका आधारमा वर्ग दृष्टिकोण, कार्यदिशा र कार्यक्रम जस्ता पक्षलाई भौतिक शक्तिको रूपमा बदल्ने पार्टी संगठन क्यान्सरसँग लड्ने गरी नयाँ बन्ने सम्भावना कति होला ? यद्यपि आचारसहिंता र शुद्धीकरण शीर्षकमा उल्लेख गरिएका विषय कार्यान्वयनको सुरुआत स्वयं प्रचण्डले गर्ने हो भने माओवादी खासमा सर्वहारा चरित्रको पार्टी बन्ने निश्चित छ । 
 
जसले अन्य माओवादी समूहलाई स्वतः एकतामा आउन बाध्य पार्नेछ । तर उत्पादन ब्रिगेडको पोखरा घोषणा, घरलगायत सुविधा त्याग्ने पटकपटकको उद्घोष र कार्यकर्ताको मूल्यांकन एवं चरम पीडा, अभाव र कष्ट हल गर्ने प्रतिबद्धता कहिल्यै कार्यान्वयन भएनन् ।
एमाओवादीको चालू केन्द्रीय समितिको बैठकले प्रचण्ड महान्, उहाँको टाउकोमा नयाँ चीज आइसक्यो, हामीले केही गर्नै पर्दैन भन्ने पुरानै विष ओकल्छ वा आलोचनात्मक र सिर्जनात्मक भएर साँच्चै माओवादीलाई देश र जनतातिर फर्केको आन्दोलन बनाउने पहल लिन्छ ? २७ पृष्ठ लामो प्रस्तावलाई लाज ढाक्ने टालो नबनाउन एवं दोस्रो विकल्पमा जाने आशासहित शुभकामना ! 

http://annapurnapost.com बाट साभार