भनिन्छ छ नि ‘जस्तो बिउ रोप्यो, उस्तै फल फल्छ ।’ गलत राजनीतिक कार्यदिशा अवलम्बन गरेकै कारण एमाओवादीे क्षतविक्षत हुने अवस्थामा पुगेको छ । पार्टीको यस्तो हालत देखेर अहिले एमाओवादीका धेरै नेता तथा कार्यकर्ता निकै हतोत्साही र निराश छन् । करिब करिब विजयको सन्निकट पुगेको नेतृत्व र पार्टीको वर्तमान अवस्थाले निराश बनाउनु अस्वाभाविक होइन । यो पार्टीले शान्ति प्रक्रियाका नाममा गम्भीर प्रकारका वैचारिक–राजनीतिक–दार्शनिक कमजारी गरेको छ । त्यसको गम्भीर समीक्षा गर्दै र त्यसलाई सच्याउँदै पार्टीको क्रान्तिकारी कार्यदिशा बनाउने हो भने रूपान्तरण सम्भव हुन सक्तछ । हामी सबैलाई थाहै छ कि जित्नका लागि माओवादीका अगाडि सिङ्गो संसारै छ तर यो पार्टीले चार राजनीतिक दलहरूका साथ गरेको १६ बुँदे तमसुकले ऊ योजनाबद्ध रूपमा कालो सुरुङभित्रको यात्रातिर अघि बढ्दैछ कि भन्ने आशङ्कालाई बल पु¥याएकै छ । वास्तवमा प्रचण्डले पार्टीको आधिकारिक कार्यदिशालाई रछ्यानमा फालेर प्रभुको दैलोमा खुसी फुलाउनुभयो । सहिदले बगाएको रगत, बेपत्ता योद्धाहरूको असीम त्याग र घाइतेहरूको समर्पणलाई केवल सत्ताको सिँढी बनाउनुभयो । सरकारी भवनको माथिल्लो तलामा पुग्दैमा सत्ताको वर्गीय चरित्र बदलिएको मान्नुभयो । पुलिस लगाएर सुकुम्वासीको बस्तीमा डोजर पेलेर दुःखीयाहरूको मन रुवाउनुभयो । राष्ट्रप्रतिको जिम्मेवारीलाई चटक्कै बिर्सेर भारतसँग बिप्पा जस्तो असमान सन्धि गराउनुभयो । आफ्नै नेतृत्वमा बनाएको जनमुक्ति सेनाका विरुद्ध मध्यरातमा नेपाली सेनालाई आक्रमण गर्न आदेश दिनुभयो । त्यति मात्र नभई गैर–माओवादीलाई पार्टीभित्र मङ्सिरका मुसा जस्तै रजाइँ गर्न दिएर पुराना कार्यकर्ताको अवमुल्यन गर्नुभयो । वास्तवमा क्रान्तिले जन्माएको प्रचण्ड आज दक्षिणको बाटो हुदै अन्तहीन अस्ताचलमा पुग्दा दुःख लाग्छ । १६ बुँदे तमसुक त्यही अन्तहीन अस्ताचलको पछिल्लो सिमाना हो ।
हामीलाई थाहा छ– मुलुक अग्रगामी रूपान्तरणको प्रक्रियाबाट विमुख मात्र भएको छैन, दक्षिणपन्थी सुधारवादको पाइतालामुनि कुल्चिएर जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेको छ । अर्कोतिर ठूला दलको भ्रमात्मक पर्दा यसरी च्यातिएको छ कि केस्रा–केस्रामा तिनको विघटन केलाउन सरलीकृत भएको छ । किसान मजदुरको आफ्नो सेनाको मूल्य विघटनपछि कस्तो हुँदो रहेछ भन्ने कुरा प्रचण्ड–बाबुराम मण्डलीले दोस्रो संविधानसभाको निर्वाचनको परिणामले देखिसकेको छ । विपीले जनमुक्ति सेनालाई पुलिसमा रूपान्तरण गरेपछि दुई तिहाई बहुमत मेजरको एउटा पेस्तोलको सामुन्ने जसरी निरीह बनेको थियो भन्ने कुरा नेपालको राजनीतिमा विशेष मननीय रहेको छ । नेपालमा १६ बुँदे तमसुकमार्फत् प्रतिगमन संस्थागत भएको छ । यसले क्रान्ति, आदर्श र किसान मजदुरवर्गको धरातल बिर्सिएर साइँलो काङ्ग्रेस हुने प्रचण्ड–बाबुराम मण्डलीको धोको परिणामतः पूरा भएको छ । नेपालमा सैद्धान्तिक दृष्टिले सर्वहारावर्गका अधिनायकत्व, वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्षजस्ता माक्र्सवादी मान्यताबाट च्यूत कम्युनिस्टहरू अन्ततः काङ्ग्रेसको ‘प्रजातान्त्रिक समाजवाद’ वरिपरि पुगेका छन् तर पनि नेपाली जनतालाई के कुरामा ढुक्क छन् भने माओवादी आन्दोलनमा आएको भयानक विचलनले क्रान्तिको मामिलामा तात्विक असर पु¥याउनेछैन र पु¥याउनु पनि हुँदैन । पात्र, प्रवृत्ति र जीवनपद्धतिमा अक्सर दक्षिणपन्थी प्रतिनिधि छन्, तिनको गाईजात्रालाई क्रान्तिको तरिकासँग जोड्नु जरुरी छैन ।
अपितु, क्रान्तिलाई क्रान्तिकारी दस्तावेजबाट झुपडी र आम किसान–मजदुरसम्म पु¥याउन त्याग, बलिदान र सङ्घर्षको नयाँ अध्याय प्रारम्भ हुनुको विकल्प छैन । यो निर्विकल्प दायित्व नेपाल कम्युनिस्ट पार्टी माओवादीमा आएको छ । यो कुरा पनि यहाँ विशेष स्मरणीय छ कि एमाओवादी नेतृत्वले प्रतिरोधात्मक होइन, प्रतिरक्षात्मक योजना निर्माण गरेकैले दक्षिणपन्थी छनौट प्रतियोगिता शानदार सफल भएको छ । अब यो अध्याय पनि समाप्त भइसकेको छ । हामीलाई के लाग्छ भने अहिले ज्यानप्रेमी होइन, जोखिमप्रेमी नेतृत्वको आवश्यकता छ, जसले क्रान्तिको जहाजलाई हजारौँ समुद्री ज्वारभाटाहरूबाट जोगाएर विजयको शिखर चुमाउने साहस गरोस् । २०५२ मा व्यक्त गरेको प्रतिबद्धता, १० वर्र्षको जनयुद्ध, २०६२÷०६३ जनआन्दोलन, महान् सहिदहरूको सपना, घाइते र बेपत्ता योद्धाहरूको परिवारको आकाङ्क्षाको धुलीसातीकरण, अवलम्बन गरेको गलत कार्यदिशा, पार्टी विभाजनको गम्भीर असर र २०७० को कथित संविधानसभाको यो परिणामसम्मले एमाओवादीलाई गम्भीर बनाएको देखिएन । ऊ निरन्तर गलत कार्यदिशामा गएको देखियो । माओले भनेकै थिए नि ! गलत कार्यदिशा भएपछि सबै कुरा गुम्छन् । अहिले एमाओवादीको अवस्था यही हो । १६ बुँदे तमसुक त्यसैको पछिल्लो कडी हो । त्यसैले त कुनै बेला प्रचण्डलाई सबैले आशा र भरोसाको आँखाले हेर्दथे तर अब बिल्कुल त्यो अवस्था रहेन ।
क्रान्तिका लागि क्रान्तिकारी पार्टीको आवश्यकता पर्छ र यसको मूल आधार भनेको क्रान्तिकारी विचार र क्रान्तिकारी कार्यदिशा हो । पार्टीलाई विचारधारात्मक र सङ्गठनात्मक दृष्टिले एकताबद्ध र लौह अनुशासनयुक्त बनाइराख्न आवश्यक छ । मालेमावादी सिद्धान्त र व्यवहारले लैस भएका कार्यकर्ताहरूको विशाल पङ्क्तिले मात्र क्रान्तिकारी कार्यभार पूरा गर्न सक्तछ । लेनिनले भने झैँ क्रान्ति क्रान्तिकारी सिद्धान्तद्वारा मात्र क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन, क्रान्तिलाई अगाडि बढाउने माध्यमका रूपमा रहेका पार्टीका सिद्धान्तनिष्ठ कार्यकर्ताहरूको आवश्यकता हुन्छ । युगको सबैभन्दा निर्मम सत्यलाई अँगाल्नु क्रान्तिकारीहरूको दायित्व हो । विश्व सर्वहारावर्गले साम्राज्यवाद र प्रतिक्रियावादको विरुद्ध सङ्घर्षमा ठुलठुला विजय हासिल गरेका छन् । प्रतिगामी शक्तिहरूको जघन्य अपराध र पैशाचिक बर्बरताले क्रान्तिकारी वर्ग सङ्घर्षलाई कहिल्यै खत्तम पार्न सक्तैन । जहाँ थिचोमिचो हुन्छ, त्यहाँ क्रान्ति हुन्छ । नेपालमा थिचोमिचो असाध्यै बढेको छ र त यहाँ क्रान्ति पनि अनिवार्य छ । निश्चय पनि १६ बुँदे सहमतिपछि नेपाली राजनीतिले अर्को कोर्स लिएको छ र क्रान्तिकारीहरूका निम्ति चुनौतीहरू थपिएका छन् । जसले चुनौतीहरूको सामना गर्ने साहस गर्छ, उसले मात्र क्रान्तिलाई अगाडि बढाउन सक्छ । जसले मृत्युमाथि विजय पाउने साहस गर्छ, उसले मात्र संसारलाई जित्न सक्छ ।
अहिले नेपालमा दक्षिणपन्थी हावा जोडतोडले बगेको छ, अवसरवाद त्यही हिसाबले फैलिरहेको छ । महाविपत्तिहरूको सामना गर्दै अगाडि बढ्नुको विकल्प छैन । क्रान्तिकारीहरूमा अथक, अविरल र अनिश्चल यात्राको दृढ सङ्कल्प भइरहन आवश्यक छ । सङ्घर्ष, त्याग र बलिदान भन्ने कुरा क्रान्तिकारीहरूका निम्ति आधारभूत कुरा हुन् । १६ बुँदे तमसुक गरिब किसान–मजदुरहरूलाई सत्ताको मालिक बनाउन गरिएको जनयुद्ध र यसले देखेको सपनाको विभत्सीकरण हो । माओवादीको ठूलो त्याग, समर्पण र बलिदानलाई पुरानो सत्ताले वैधानिक तबरबाटै ध्वस्त बनाएको छ ।
No comments:
Post a Comment