Tuesday, December 23, 2014

दलित वा किरात सौन्दर्यशास्त्रको कुरा गर्नु विखण्डनतिरको यात्रा हो - अमर गिरी

दलित वा किरात सौन्दर्यशास्त्रको कुरा गर्नु विखण्डनतिरको यात्रा हो - अमर गिरी


दलित वा किरात सौन्दर्यशास्त्रको कुरा गर्नु विखण्डनतिरको यात्रा हो

‘प्रलेस चितवन’ नामक पत्रिकाको प्रवेशांकमा एउटा बहसयोग्य विषयमा प्रगतिशील लेखक संघका अध्यक्ष, कवि एवं समालोचक अमर गिरीसँग कवि–समालोचक संगीतश्रोताले गरेको अन्तर्वार्ता छापिएको छ । बहसका लागि भनेर त्यस अन्तर्वार्ताका दुइटा अंशमध्ये पहिलो अंश आज शनिबार साभार गरिएको छ, जुन माक्र्सवादी सौन्दर्यशास्त्र र समुदायकेन्द्री सौन्दर्यशास्त्रसँग सम्बन्धित छ । दोस्रो अंशमा गिरीले भनेका छन्, ‘पहिचानको धारा माक्र्सवादको विखण्डन हो ।’
–सम्पादक
माक्र्सवादी सौन्दर्यशास्त्रभित्रै किरात सौन्दर्यशास्त्र र दलित सौन्दर्यशास्त्रको विषय पनि उठिरहेको छ । माक्र्सवादी सौन्दर्यशास्त्र र समुदायकेन्द्री सौन्दर्यशास्त्रबीचको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?
नेपालमा दलित सौन्दर्यशास्त्र र किरात सौन्दर्यशास्त्रका कुरा उठेका छन् । यो चिन्तन मूलतः भारतमा दलित साहित्यकार, लेखक र समीक्षकहरूद्वारा अगाडि सारिएको दलित साहित्यको सौन्दर्यशास्त्र र पश्चिममा विकसित कालाहरूको सौन्दर्यशास्त्रबाट अभिप्रेरित रहेको देखिन्छ । कालाहरूको सौन्दर्यशास्त्रसम्बन्धी चिन्तनमा मूलतः उत्तरसंरचनावादी सिद्धान्तको प्रभाव रहेको छ । यससम्बन्धी चिन्तनको आरम्भ अमेरिकामा भएको थियो । अमेरिकामा अफ्रिकी अमेरिकनहरूको लामो इतिहास छ, रङ र जातिका आधारमा उनीहरूमाथि विभेद र उत्पीडन हुँदै आएको छ । भिन्नता र विशिष्टतालाई महत्व प्रदान गर्दै बीसौं शताब्दीको उत्तरार्द्धमा कालाहरूको साहित्यको सौन्दर्यशास्त्र निर्माण गर्न आरम्भ गरिएको थियो । कालाहरूको सौन्दर्यशास्त्रको आलोचना माक्र्सवादीहरूले आरम्भदेखि नै गर्दै आएका छन् ।
भारतमा दलित साहित्यका सम्बन्धमा लामो समयदेखि विचार–विमर्श हुँदै आएको छ । यही विचार–विमर्शकै क्रममा दलित सौन्दर्यशास्त्रको अवधारणा अगाडि आएको देखिन्छ । ओमप्रकाश वाल्मीकि र शरणकुमार लिंबालेले ‘दलित साहित्य का सौन्दर्यशास्त्र’ शीर्षकमा छुट्टाछुट्टै पुस्तक पनि लेखेका छन् । दलितहरूको विशिष्ट स्थिति र त्यस साहित्यको आफ्नो विशिष्टताका कारण दलित साहित्यको छुट्टै सौन्दर्यशास्त्र चाहिन्छ भन्ने दृष्टिकोण दलित साहित्यको सौन्दर्यशास्त्रको पक्षमा उभिनेहरूको रहेको पाइन्छ । उनीहरूले दलितहरूलाई हिन्दू वर्णाश्रम व्यवस्थाद्वारा उत्पीडित एक विशिष्ट जातीय समुदायका रूपमा लिँदै हिन्दू वर्णवादी चिन्तनबाट निर्मित सौन्दर्यशास्त्रद्वारा दलित साहित्य न त डोरिन सक्छ, न त त्यसको मूल्यांकनै हुनसक्छ भन्ने अवधारणा प्रस्तुत गरेका छन् । भारतीय दलित साहित्य चिन्तनमा दलित साहित्य दलितले मात्रै लेख्नसक्छ र त्यो मात्रै प्रामाणिक दलित साहित्य हुनसक्छ भन्ने दृष्टिकोण बलियो रहेको छ । दलित साहित्यको सौन्दर्यशास्त्र यस दृष्टिकोणसँग पनि जोडिएको छ । दलित साहित्यको सौन्दर्यशास्त्र किन आवश्यक छ भन्ने सन्दर्भमा ओमप्रकाश वाल्मीकिले दलितहरूको जीवन मूल्यलाई मुख्य आधार मानेका छन् । वाल्मीकि भन्छन्ः
“दलित साहित्यले आत्मानुभूतिलाई व्यक्त गर्दछ, त्यसैले शब्दजीवी हुनु यसको श्रेष्ठता होइन । यो शाब्दिक चमत्कारमा सीमित छैन । अर्थ गाम्भीर्य दलितहरूको स्वीकृत जीवन मूल्य हो, जसमाथि दलित साहित्यको सौन्दर्यशास्त्र टिकेको छ । आखिर यो जीवन मूल्य के हो ? दलित साहित्यको आन्तरिक ऊर्जा दलित चेतना हो, जो अम्बेडकरको जीवन दर्शन र बुद्धको तत्वज्ञानद्वारा सञ्चालित छ । दलित विद्वान्द्वारा यी जीवन मूल्यहरूलाई दलित साहित्यमा सूक्ष्मताका साथ प्रस्तुत गरिएको छ । यी जीवनमूल्यहरू हुन्ः
१. समता, स्वतन्त्रता, बन्धुता, न्यायको जीवन, आनुभव, अनुभवजन्य आशय तथा त्यस आशयको अर्थपूर्ण अभिव्यक्ति ।
२. संस्कृति र धर्मका क्रममा वास्तविकतालाई लुकाएर गरिएको ढोंगलाई अस्वीकार गर्नु ।
३. कल्पनाजन्य प्रतिमानलाई निषेध गर्नु, जस्तो ‘अमृत’ मधुर प्रेमको कल्पना तर यसको स्वाद कसैलाई पनि थाहा छैन ।
४. नित्य परिवर्तनीयताका आधारमा जीवन–मूल्यहरूको मूल्यांकन ।
५. बन्धनमुक्त अभिव्यक्ति, अभिव्यक्तिको सत्यता, जस्तो देखियो भोगियो त्यसको त्यस्तै चित्रण । शब्द माध्यम मात्र । शाब्दिक आडम्बरबाट मुक्त ।”
‘दलित साहित्य का सौन्दर्यशास्त्र’ का अर्का लेखक शरणकुमार लिंबालेको विचार पनि वाल्मीकिको जस्तै रहेको छ । दलित चेतना आनन्दमाथि निर्भर नरहेर समानता, स्वतन्त्रता, न्याय र बन्धुभावमाथि आधारित छ र यसैकारण दलित समीक्षकहरू सौन्दर्यको कल्पनालाई बदल्न आवश्यक ठान्छन् भन्ने धारणा लिंबालेले राखेको पाइन्छ । लिंबालेले पनि दलित साहित्यको सौन्दर्यशास्त्रको निर्माणमा अम्बेडकरको विचारलाई केन्द्रमा राखेका छन् । दलितहरू एक विशिष्ट सामाजिक समुदाय भएका र उनीहरूमाथिको उत्पीडन, त्यसविरुद्धको संघर्ष, उनीहरूका स्वप्न र संघर्ष तथा जीवनमूल्य पनि विशिष्ट भएका कारण साहित्यमा पनि त्यो त्यसैगरी व्यक्त हुन्छ र त्यसको मूल्यांकनका निम्ति एक पृथक् सौन्दर्यशास्त्र चाहिन्छ भन्ने दृष्टिकोण लिंबालेको रहेको छ ।
दलित साहित्यको सौन्दर्यशास्त्रको कुरा गर्नेहरूले पूर्वीय र पश्चिमी सौन्दर्यशास्त्र एवं कलाशास्त्र दलित साहित्यको मूल्यांकन गर्न अपर्याप्त रहेको उल्लेख गरेका छन् । यस्तै टिप्पणी माक्र्सवादी सौन्दर्यशास्त्र र कलाशास्त्रबारे पनि रहेको छ । यसको मुख्य कारण संस्कृत साहित्यको मूल आधार सामन्तवादी एवं ब्राह्मणवादी रहनु र पाश्चात्य साहित्यको सौन्दर्यदृष्टि पुँजीवादी एवं सामन्तवादी रहनुलाई मानिएको छ । माक्र्सवादी सौन्दर्यशास्त्रमाथि यसको टिप्पणी यसले वर्गलाई अत्यधिक महत्व दिएर वर्णलाई उपेक्षा गरेकोमा रहेको छ । भारतमा दलित साहित्यको सौन्दर्यशास्त्रका वैचारिक आधारहरू अम्बेडकरका विचारहरू रहेका छन् । यो प्रारम्भिक अवस्थामै रहेको छ । यसले एक पूर्ण सौन्दर्यशास्त्रको स्वरूप ग्रहण गर्ने सम्भावना म त्यति देख्दिनँ ।
दलित चिन्तक, साहित्यकार एवं समीक्षकहरूले अति उत्साहित भएर दलित साहित्यको एक छुट्टै सौन्दर्यशास्त्रको निर्माण गर्न खोजेको अनुभव मलाई हुन्छ । र, म यसमा जातिवादको विरोधमा अर्को जातिवादी चेतनाले काम गरेको हो कि भन्ने अनुभव गर्छु । दलित साहित्यका निम्ति एक छुट्टै सौन्दर्यशास्त्रको पुर्पक्ष म आवश्यक ठान्दिनँ । अलग सौन्दर्यशास्त्र निर्माणका ठोस र मजबुत आधारहरू नै नभएर सौन्दर्यशास्त्र निर्माण गर्न खोज्नु गलत हुन्छ । दलित साहित्य साहित्य नै हो र यसको मूल्यांकनका निम्ति समीक्षाशास्त्रका मापदण्डहरूलाई प्रयोग गर्न सकिन्छ । माक्र्सवादी कलासिद्धान्त एवं सौन्दर्यशास्त्रका मापदण्डका आधारमा दलित साहित्यको समग्र मूल्यांकन गर्न सकिन्छ ।
नेपालमा माक्र्सवादी सौन्दर्यशास्त्रभित्रै दलित सौन्दर्यशास्त्र र किरात सौन्दर्यशास्त्रका कुराहरू उठेका छन् तर यस सम्बन्धमा त्यति लेखिएको छैन । माक्र्सवादी सौन्दर्यशास्त्रभित्र विभिन्न सौन्दर्यशास्त्र खोज्ने वा गड्ने कुरासँग म सहमत छैन । यसले माक्र्सवादलाई समृद्ध होइन, विखण्डन गर्दछ भन्ने मेरो धारणा रहेको छ । स्वीकार गरे पनि नगरे पनि म यसभित्र कुनै न कुनै रूपमा उत्तरसंरचनावादी विचारहरूको प्रभाव देख्दछु । यसले हामीलाई अन्ततः विभिन्न सौन्दर्यशास्त्रको निर्माणतिर लिएर जानेछ । ब्राह्मण, खस, मगर, थारु, गुरुङ, राई गरी दर्जनौं सौन्दर्यशास्त्र अगाडि आउनेछन् । अन्ततः जातैपिच्छे सौन्दर्यशास्त्रको निर्माण आरम्भ हुनेछ ।
मेरै कुरा गरुँ, म गिरी हुँ । दशनामीभित्र पर्दछु । यसभित्र भारती, पुरी आदि पनि पर्दछन् । हामी सबै एक अर्कादेखि पृथक् पनि छौं, हाम्रा आ–आफ्ना इतिहास, परम्परा र दृष्टि पनि छन् । मैले गिरी सौन्दर्यशास्त्रको कुरा गर्न सक्नेछु वा मजस्तै अर्कोले गर्नेछ । यो विखण्डनतिरको यात्रा हुनेछ । माक्र्सवादी सौन्दर्यशास्त्रभित्रै रहेर विभिन्न सामाजिक समुदायको विशिष्टता र तिनका सौन्दर्य–दृष्टिहरूको अध्ययन गर्न सकिन्छ र त्यो गरिँदै पनि आइएको छ । कम्युनिस्ट आन्दोलनको इतिहासमा नेपालका कतिपय कम्युनिस्टले जस्तो माक्र्सवादी सौन्दर्यशास्त्रभित्र अन्य सौन्दर्यशास्त्र गड्ने प्रयत्न गरेको मैले अन्यत्र पढेको छैन ।
सौन्दर्यशास्त्रमा प्रकृति, जीवन र कलामा पाइने सौन्दर्यका सामान्य नियमहरूको अध्ययन गरिन्छ । माक्र्सवादी सौन्दर्यशास्त्रले पनि यही गर्दै आएको छ । आफ्ना सौन्दर्यशास्त्रका प्रतिमानहरूका आधारमा माक्र्सवादी सौन्दर्यशास्त्र समग्र साहित्य एवं सामाजिक समुदायका विशिष्ट सौन्दर्य–दृष्टि र चेतनाको मूल्यांकन गर्न सक्षम छ भन्ने मेरो निष्कर्ष रहेको छ । बरु यस सम्बन्धमा समस्या वा अपर्याप्तता छन् भने यसलाई हटाउनतर्फ माक्र्सवादी समीक्षकहरू गम्भीर बन्नुपर्दछ । यस सम्बन्धमा ठोस अवधारणासहित सामग्री आएपछि विस्तृत रूपमा चर्चा गरौंला । म अहिलेलाई यत्ति भन्छु, माक्र्सवादी सौन्दर्यशास्त्रभित्र छुट्टाछुट्टै सौन्दर्यशास्त्र निर्माण गर्ने कुराबाट माक्र्सवादीहरू जोगिन आवश्यक छ ।
(सौजन्यः प्रलेस चितवन) 
यो बहसयोग्य विषयमा भएकाले यसमा क्रमशः छलफल चलाइने छ । यस छलफलमा कविद्वय आहुति र भूपाल राई सहभागी हुने छन् ।

=======================================================

किताबी मार्क्सवादीहरुका कुतर्क - आहुति


किताबी मार्क्सवादीहरुका कुतर्क
केही समयअघि इसमता डटकम (www.esamata.com) ले अमर गिरीकाे विचार बहसका लागि प्रकाशन गरेको थियाे । त्यसमाथि म पनि सहभागी हुन चाहन्छु ।
नेपालमा दलित सौन्दर्यशास्त्र र किरात सौन्दर्यशास्त्रलगायतका विषय छलफलमा आएका छन् । यसलाई एकथरीले मार्क्सवादको विखण्डन पनि भनेर तर्क गरिरहेका छन् । मेरो विचारमा यसलाई सोझै नकार गर्नुभन्दा पनि ठीक ढंगले बुझ्नु जरुरी छ ।
भारत र नेपालको भिन्नता
दलित सौन्दर्यशास्त्रको कुरा भारतमा उठेको हो । भारतमा अम्बेडकरको विचारलाई अगाडि सारेर दलित सौन्दर्यशास्त्रको कुरा गरिएको छ । तर, नेपालमा त्यस्तो होइन । नेपालमा दलित सौन्दर्यशास्त्रलाई मार्क्सवादी सौन्दर्यशास्त्रकै एउटा प्रवर्गको रुपमा स्वीकार गरे चर्चा सुरु भएको छ । त्यसैगरी किरात सौन्दर्यशास्त्रबारे पनि थोरै बहस सुरु भएको छ, त्यसलाई पनि मैले मार्क्सवादी सौन्दर्यशास्त्रको प्रतिपक्षमा वा माक्र्सवादी सौन्दर्यशास्त्रको विपक्षमा वा मार्क्सवादी सौन्दर्यशास्त्रलाई विखण्डन गर्नका लागि अगाडि सारिएको भनेर बुझेको छैनँ । मैले बुझेको कुरा चाहिँ किरात सभ्यता र उसका सौन्दर्यमूल्य तथा सौन्दर्यदृष्टि जो उत्पीडनमा पर्न गयो, त्यसविरुद्ध आफ्नो आधिकारिकताको खोजी हो । त्यसमा आफ्नो सौन्दर्यमूल्यप्रति न्यायको खोजी छ । यो भनेको नेपालमा चलिरहेको वर्गसंघर्ष र उत्पीडित समुदायहरुको संघर्षसँग अभिन्न रुपमा गाँसिएको सौन्दर्यमूल्यको खोजी हो । त्यसकारण यो मार्क्सवादी सौन्दर्यशास्त्रबाट पृथक् चिज होइन । मार्क्सवादी सौन्दर्यशास्त्रको विकास अथवा त्यसको प्रयोगको सन्दर्भमा नेपाली समाजका उत्पीडित सौन्दर्यमूल्यहरुलाई मार्क्सवादभित्र समायोजन गर्ने कुरा हो । यसले मार्क्सवादी सौन्दर्यशास्त्रलाई कमजोर बनाउने होइन नेपालको सन्दर्भमा मार्क्सवादलाई अझ समृद्ध बनाउने हो । 
या त नेपालका उत्तरआधुनिकतावादीहरु उत्तरआधुनिकतावादी होइनन्, या त आफूलाई मार्क्सवादी भन्नेहरु मार्क्सवादी होइनन् । बरु योचाहिँ बहसको विषय हो ।
मौलिक रुपमा सोच्न सिक
तर नेपालमा एउटा समस्या के छ भने किताब पढ्ने बेलासम्म चाहिँ मार्क्सवादी बन्छन् तर जब आफ्नो समाजमा लागु गर्ने बेला आउँछ, विशिष्ट नयाँ सन्दर्भमा लागु पर्ने भएकोले त्यतिबेला चाहिँ उनीहरु स्वयम् मार्क्सवादविरोधी बन्न पुग्छन् । किताब पढ्दा मार्क्सवादी हुनु र खास सन्दर्भमा मार्क्सवाद लागु गर्नु एउटै कुरा होइनन् । उदाहरणका लागि, युरोपमा मार्क्सवाद जुन बेला जन्मियो, लेनिनवाद जुन बेला जन्मियो त्यसबेलासम्म नयाँ जनवाद भन्ने कुरै त थिएन । तर, माओ त्सेतुङले समाजवादभित्रकै एउटा अल्पकालीन चरणको रुपमा परिभाषित गरेर चीनमा लागु गरेपछि नयाँ जनवाद पनि हुँदो रहेछ मानियो । मार्क्स र लेनिनले भनेको कुरा मात्र गरेको भए नयाँ जनवाद भन्ने कुरा त हुने थिएन । तर चीनको मौलिकतामा मार्क्स र लेनिनले भनेको भन्दा मौलिक रुपमा सोच्नु आवश्यक भयो ।
तपाईं जब अमेरिका जानुहुन्छ अनि वर्गको मात्र कुरा गर्नुहुन्छ, रंगभेदको कुरा गर्नुहुन्न भने तपाईं कसरी मार्क्सवादी हुनुभयो ? दक्षिण एसियामा आएपछि जातव्यवस्थालाई देख्नुहुन्न भने तपाईं कसरी मार्क्सवादी हुनुभयो ? जर्मनीमा जेजे कुरा विकसित भएको थियो, रुसमा जेजे कुरा विकसित भएको थियो, ती कुरामात्र हुनुपर्छ भन्ने सोचाइ मार्क्सवादै होइन । नेपालमा जस्तोखालको जनजातीय समस्या छ, लेनिनको समयमा त रुसमा त्यस्तो थिएन । अनि लेनिनले खोइ कहाँ बोलेका छन् भन्नेजस्तो तर्क गरेर मार्क्सवादी हुन सकिँदैन । नेपालको विशिष्ट समस्याबारे त हामी आफैले बोल्ने हो ।
सौन्दर्यशास्त्रको कुरा गर्ने हो भने नेपालमा किरातहरुका दार्शनिक र सांस्कृतिक मूल्यहरु मौलिक रुपमा विकास भएको छ । उनीहरुका आफ्नै सौन्दर्यमूल्यहरुको विकास भएको छ । त्यसलाई मार्क्सवादभित्र कसरी ल्याउने ? किरात सभ्यता र सौन्दर्यमूल्यभित्रका गलत कुरा के हुन् जसले उनीहरुलाई घाटा गर्छ, ती कुरा कसरी झिक्ने ? उत्पीडित जाति, वर्गको मुक्तिका लागि काम लाग्ने कुरा केके छन् ? त्यो चिनेर मार्क्सवादीकरण गर्ने हो । हामीले सोच्ने त यसरी हो । यसो गर्नु भनेको मार्क्सवाद लागु गर्नु हो, विखण्डन गर्नु होइन ।
त्यसैगरी दक्षिण एसियामा वर्णव्यवस्थामा आधारित विशिष्ट सामाजिक संरचना निर्माण भएको छ जसले युरोपमा देखापरेको सर्वहारा अथवा भूदास किसानभन्दा पनि धेरै तल्लो दर्जाको समुदाय अर्थात् दलित समुदाय निर्माण गरेको छ । सर्वहारा वर्गको भन्दा पनि निकै गएगुज्रेको अवस्थामा छ दलित समुदाय । त्यो समुदायका सौन्दर्यमूल्य, सांस्कृतिक विरासत र विद्रोही चेतनालाई अभिव्यक्त गर्न दलित सौन्दर्यशास्त्रको कुरा उठेको हो । त्यो भनेको मार्क्सवादी सौन्दर्यशास्त्रलाई दक्षिण एसियाको सन्दर्भमा अझ समृद्ध बनाउने कुरा हो, मार्क्सवादलाई कमजोर बनाउने र विखण्डन गर्ने कुरा होइन ।
म एउटा उदाहरण अघि सार्छु । भारतका तत्कालिन कम्युनिस्टहरुले जातव्यवस्थालाई वर्गसंघर्षसँग गाँस्न नचाहँदाखेरि भारतमा अम्बेडकरपन्थ जन्मियो । अहिले भारतीय कम्युनिस्टहरु बल्ल आत्मालोचित भएर जातव्यवस्थालाई कम्युनिस्ट आन्दोलनले सम्बोधन गर्नुपर्ने रहेछ भनेर भर्खर लेखरचना लेख्दैछन्, बहस गर्दैछन् । निश्चय नै वर्ग भएको समाजमा वर्गीय हिसाबले नै समस्या समाधान गर्ने हो, तर वर्गहरु विविध रुपमा प्रकट भइरहेका हुन्छन्, वर्गीय उत्पीडनहरु विविध ढंगले भइरहेका हुन्छन् भन्ने कुरा समात्न सक्नुपर्छ ।
कस्तो हुन्छ दलित साहित्य ?
भारतमा जस्तो दलितले लेखेको साहित्यमात्र दलित साहित्य हुन्छ भन्ने अथवा अम्बेडकरको विचार दलित साहित्यको बुनियाद हो भन्ने कुरा नेपालमा गरिएको छैन । दलितले लेखोस् अथवा गैरदलितले लेखोस्, दलितमाथि लेखिएको साहित्य दलित साहित्य हुन्छ ।
दलितहरु लगातार तीनचार हजार वर्षदेखि श्रमिक भएका छन्, लगातार तीनचार हजार वर्षदेखि धार्मिक कट्टरताको शिकार भएका छन्, लगातार तीनचार हजार वर्षदेखि शासनमा गएका छैनन् र आम मानवीय सम्मानबाट धेरै टाढा छन् । यस्तो अवस्थामा उनीहरुको पहिलो यात्रा सम्मानपूर्ण मान्छे बन्नेतिर हो । दलितहरुको सरोकार सबैभन्दा पहिला अरु मान्छेसरह मान्छे बन्ने हो, त्यसपछि मात्र उसका लागि समृद्धिको कुरा आउँछ । दक्षिण एसियाको यो विशेषता युरोप, अमेरिकाको भन्दा बिल्कुल फरक छ । भनेपछि यो फरकपनलाई, दलितभित्र रहेको विद्रोही चेतलाई, उसको समताको कामनालाई, उसको श्रमिकपनाको भव्यतालाई अभिव्यक्त गर्ने साहित्य दलितबाट लेखिनसक्छ, गैरदलितबाट लेखिनसक्छ । त्यो साहित्य दलित साहित्य हो । यो कुरा मार्क्सवादी सौन्दर्यशास्त्रभित्र विकसित दक्षिण एसियाको मौलिक विशेषता हो । यसले दक्षिण एसियाको सन्दर्भमा मार्क्सवादलाई समृद्ध बनाउन योगदान गर्छ ।
जातव्यवस्था नभएको युरोपको साहित्य र जातव्यवस्था भएको दक्षिण एसियाको साहित्य एउटै हुनसक्छ ? हुँदैन । जातव्यवस्थाले समाजको सबैभन्दा पिँधमा पारेको समुदायको सौन्दर्यमूल्य हुन्छ कि हुँदैन ? हुन्छ । जबसम्म दलित र गैरदलितबीचको भेदभाव कायम रहन्छ तबसम्म दलित साहित्य भन्ने कुरा पनि हुन्छ, दलित सौन्दर्यशास्त्र पनि हुन्छ । जबसम्म दलित र गैरदलितबीचको उत्पीडन बाँकी रहन्छ, जबसम्म राज्यबाट दलितहरुलाई पिँधमा पार्ने सामाजिक, राजनीतिक र आर्थिक प्रणाली रहिरहन्छ त्यो बेलासम्म दलित एउटा प्रतिरोधको रुपमा रहिरहन्छ, दलित एउटा प्रवर्ग रहिरहन्छ र मार्क्सवादी सौन्दर्यशास्त्रभित्र दलित सौन्दर्यशास्त्र एउटा प्रवर्गको रुपमा रहिरहन्छ । दलित समस्या जब अन्त्य हुन्छ दलित सौन्दर्यशास्त्र पनि स्वतः माक्र्सवादी सौन्दर्यशास्त्रभित्र अटाउँछ । समाहित हुन पुग्छ ।
साँचाे हो कि, दलित अथवा किरात सौन्दर्यशास्त्रबारे बहस पुगेको छैन, अझ गहिरो बहस आवश्यक छ । यसरी बहस सुरु हुँदा समुदाय—समुदायलाई टुक्र्याएर आन्दोलनलाई नै सिध्याउने तर्कहरु पनि अघि आउलान् । तर नेपालको सन्दर्भमा त्यो कोणबाट बहस उठेको छैन । बरु नेपालमा त उत्तरआधुनिकतावादीहरुलाई दलित साहित्यबारे छेउटुप्पा पनि थाहा छैन । उनीहरुलाई किरात सौन्दर्यशास्त्रबारे केही पनि थाहा छैन । अचम्मको कुरा त के छ भने उत्तरआधुनिकतावादीहरु पनि दलित सौन्दर्यशास्त्र अथवा किरात सौन्दर्यशास्त्रजस्ता कुरा चाहिँदैन भनिरहेका छन्, आफूलाई मार्क्सवादी बताउनेहरु पनि मार्क्सवादलाई विखण्डन गर्नु हो भनिरहेका छन् । उनीहरुको कुरा कसरी ठ्याक्कै मिलेको ? यो पो विचित्रको कुरा छ । उनीहरुबीच ठ्याक्कै कुरा मिल्छ भनेपछि या त नेपालका उत्तरआधुनिकतावादीहरु उत्तरआधुनिकतावादी होइनन्, या त आफूलाई मार्क्सवादी भन्नेहरु मार्क्सवादी होइनन् । बरु योचाहिँ बहसको विषय हो ।

===========================================================

के मार्क्सवाद गीता हो ?


के मार्क्सवाद गीता हो ?
अमर गिरीको किरात र दलित सौन्दर्यशास्त्रमाथिको विचार प्रक्षेपण पढ्न पाइयो । खरो मार्क्सवादी र सौन्दर्यचिन्तक रुपमा प्रस्तुत उनको विचारले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा मलाई पनि संलग्न गरायो । यद्यपि जुनसुकै कोणबाट होस्, विषयलाई बहसको रुपमा उतार्ने संयोग जो मिलेको छ त्यसबाट फाइदै पुगेको छ ।
के मार्क्सवाद गीता हो ?
गिरीजीको विचारअनुसार मार्क्सवाद भनेको हिन्दू मतावलम्बीहरुको त्यो गीताजस्तो हो जो अकाट्य छ, अपरिवर्तनीय छ र अपरिवर्तनीय रुपमा पूजा गरिरहनुपर्छ । तर १९औं शताब्दीतिर प्रतिपादित मार्क्सवाद निरन्तर प्रयोग र विकासको वैज्ञानिक शास्त्र हो भन्ने कुरा उनलाई किन हेक्का रहेन ? मार्क्सकालीन मार्क्सवादलाई लेनिनकालमा आएर छुट्टै ढंगले प्रयोग गरियो । माओकालमा आएर अझ अर्कै ढंगले प्रयोग गरियो । त्यही रचनात्मक प्रयोगले नै मार्क्सवादको निरन्तर विकास भइरह्यो ।
नेपाली विशिष्टता र नेपाली सामाजिक संरचनाअनुसार मार्क्सवादको प्रयोग भएन भने त्यो स्वयंमा मार्क्सवाद रहँदैन । सही मार्क्सवादीले समय, सन्दर्भ र समाज बनोटको आधारमा भएको मार्क्सवादको प्रयोगलाई स्वीकार गर्ने मात्र होइन त्यसलाई जोड दिनुपर्छ । जर्मन समाज र नेपाली सामाजिक संरचनालाई एउटै दृष्टिले हेर्नु भनेको मार्क्सवादको नाममा गीताको अकाट्य सूत्र र संहिता घोक्नु हो । यो मार्क्सवादी चिन्तन होइन, भएमा गीतावादी मार्क्सवादी मनोरोग हो ।
अमर गिरी पनि मान्छन्, मार्क्सवाद परिवर्तनको दर्शन हो । त्यसो हो भने एउटा समुदाय जो सदीयौंदेखि उत्पीडित छ, दण्डित छ, उसको उन्मुक्तिको स्वाभाविक प्रयासलाई कसरी मार्क्सवादविरोधी ठान्ने ?
नेपालको सामाजिक संरचना यति पेचिलो छ जहाँ वर्गले वर्गीय तह निर्माण गरेको छैन, वर्णले समेत वर्ग निर्माण गरेको छ । जातीय व्यवस्थाले वर्ग निर्धारण गर्ने अर्थात् शासक वर्ग र शासित वर्ग छुट्याउने हाम्रोजस्तो मुलुकमा वर्गीय अस्त्रले सबै कुराको निदान गर्छ भन्ने मार्क्सवादको युरोपेली प्रयोग त्यसै कारण असफल भइरहेको छ । किनभने, नेपालमा वर्गीय समस्यामात्र होइन, त्योभन्दा चर्को समस्या जातीय विभेदीकरणको छ । यसर्थ यी दुवै मुद्दालाई समानान्तर ढंगले सम्बोधन गर्ने मार्क्सवाद नै नेपाली विशिष्टताअनुसारको मार्क्सवादी प्रयोग ठहरिनेछ । यतिखेर नेपालमा सञ्चालित विभिन्न जातीय मुक्ति आन्दोलनलाई अलगथलग गरेर हेर्नुभन्दा तिनका चरित्रलाई मार्क्सवादीकरण गर्दै लानु वैज्ञानिक ठहर्छ ।
किराती सौन्दर्यशास्त्र र दलित सौन्दर्यशास्त्र जो यतिखेर बहसमा छन्, तिनले उठाएका मुद्दालाई यसै सेरोफेरोमा हेर्नुपर्छ । मार्क्सवाद यदि सर्वहारा वर्ग र सबैखाले उत्पीडित वर्गको वैज्ञानिक दर्शन हो भने यिनीहरुले उठाएको वैज्ञानिक बहसलाई त्यो कित्ताबाट बुझ्न जरुरी छ । भलै यिनीहरुले कुनै कम्युनिस्ट पार्टीको झन्डा उठाएका नहोलान् तर यिनीहरुका बहसले मुक्ति खोजिरहेका छन् । समानताको मूल्य मागिरहेका छन् । यति हुँदाहुँदै पनि केही नेपाली मार्क्सवादी पण्डितहरुले यिनलाई विच्छेद (विखण्डन) को दृष्टि राख्छन् भनेर आरोपित गर्छन् भने तिनीहरुले फेरि त्यही गल्ती दोहोर्याइरहेका छन् जसले मार्क्सवादलाई अकाट्य गीता ठहर्याइरहेका छन् । र, बिहान–बेलुका धुपवत्तीले पूजा गरिरहेका छन् ।
के सौन्दर्य निरपेक्ष हुन्छ ?
काला जातिको सौन्दर्यशास्त्रको सवाललाई अमर गिरीले भनेझैं भलै जुनसुकै कोणबाट परिभाषित गरियोस् तर यस बहसले गोरा जातिको उत्पीडनलाई अवश्य उजागर गरेको छ । कुनै पनि प्रकारको उत्पीडनबाट छोपिएको सौन्दर्यमूल्यले आफ्नो निकासको बाटो आफै खोज्छ । कालाहरुको ब्लुज र ज्याज पद्धतिको संगीत रचनाले आज उनीहरुको समुदायलाई मात्र होइन, पूरै विश्वलाई धनी बनाएको छ । भलै यस कार्यमा उनीहरुले विशुद्ध मार्क्सवादी औजार प्रयोग गरेका छैनन् होला । तथापि तिनले हिजोसम्म एक मात्र सत्य मानिने गोराहरुले लादेको एकपक्षीय सौन्दर्यमूल्यको पनि विकल्प रहेछ भन्ने कुरा त गज्जबले पुष्टि गरेका छन् । यसबाट प्रस्ट हुन्छ, शक्ति र सत्ताले निर्माण गरिएको सौन्दर्यमात्र एक्लो सौन्दर्य होइन, सौन्दर्य निरपेक्ष छैन । यो सापेक्षिक छ ।
टाढाबाट हेरेर ग्रहण गरिएको हिमालको सौन्दर्य नजिकबाट कुरुप र विकट लाग्नसक्छ । एकै किसिमको आगोको राग हिउँदको जाडो र बर्खाको गर्मीमा फरक लाग्नसक्छ । भनाइको अर्थ एक खास सामाजिक, सांस्कृतिक कारखानामा ढालिएको व्यक्तिले अनुभूत गरेको सौन्दर्यबोध नै अन्तिम सौन्दर्यको मानक नहुनसक्छ । अर्को फरक सौन्दर्यमूल्यको अस्तित्वलाई पनि हामीले सहज ढंगले स्वीकार गर्नुपर्छ । महिलाहरुले अनुभूत गर्ने सौन्दर्य पुरुषहरुको सापेक्षमा फरक छ । यही कुरा किरात र दलित सौन्दर्यशास्त्रले उठाइरहेका छन् ।
अमर गिरीले स्वीकार नगरेको र थाहा नपाएको अर्को सौन्दर्यमूल्य पनि यही समाजमा विद्यमान छ भन्दा त्यो कसरी गैरमार्क्सवाद हुनसक्छ ?
प्रकृति स्वयं एक्लो सौन्दर्य होइन । हजारौं सौन्दर्यको एकमुष्ठ पुञ्ज हो प्रकृति । मुक्ति र समानताको एजेन्डा लिएर उठेका सौन्दर्यपरक बहसलाई मार्क्सवादले स्वामित्व ग्रहण गर्दा सायद राम्रै हुन्छ ।
के हो किराती सौन्दर्यशास्त्र ?
दलित सौन्दर्यशास्त्रको मूल स्वर उत्पीडनमाथिको विद्रोह हो । यसको मूल एजेन्डा मुक्ति हो र हो समानताको माग । किराती सौन्दर्यशास्त्रको एजेन्डा पनि क्रमशः यिनै हुन् । तर फरक के छ भने यी मात्रै किराती सौन्दर्यशास्त्रका एजेन्डा होइनन् । दलित सौन्दर्यशास्त्रको बहसभन्दा यो कुन मानेमा फरक छ भने यसले नेपालमा स्थापित (सत्तासीन) हिन्दू सौन्दर्यशास्त्रभन्दा आफ्नो फरक मूल्य, फरक अस्तित्वको जिकिर गरेको छ । किराती सौन्दर्यशास्त्र यसकारण प्रचलित मूल्य र मान्यताभन्दा आफ्नो पृथक् अस्तित्व र पहिचानको लडाइँमा छ ।
नेपालका अधिकांश भूभागमा हिन्दू सौन्दर्य र मूल्य स्थापित हुनुभन्दा अगाडि यहाँ एउटा प्राचीन सभ्यता स्थापित थियो, त्यो किराती सभ्यता थियो । यसकारण किराती सौन्दर्यशास्त्रको बहस आफ्नो प्राचीन सभ्यता र मूल्यको खोज पनि हो । यो सभ्यता र भूभागबाट उठान भएको सौन्दर्यबोध आधारभूत रुपले नै हिन्दू सौन्दर्यशास्त्रभन्दा पृथक् छ । सौन्दर्यशास्त्रको सामान्य अर्थ प्रकृतिसँगको सम्बन्ध र जीवनजगत्लाई परख गर्ने अनुभूतिबाट निर्माण भएको दृष्टिकोण हो । अन्य धेरै कुराका अलावा यी आधारभूत कुरामै हिन्दू सौन्दर्यशास्त्र र किराती सौन्दर्यशास्त्रमा भेद छ ।
प्रकृतिसँग हिन्दूहरुको सम्बन्ध उपभोक्तावादी सम्बन्ध हो । उनीहरु दोहन गर्छन् प्रकृतिलाई र पुज्छन् काल्पनिक ईश्वरको मूर्तिलाई । तर प्रकृतिसँग किरातीहरुको सम्बन्ध तादात्म्यताको सम्बन्ध हो । यो सम्बन्ध एक आमा र बच्चाबीचको सम्बन्धजस्तो हो । किरातीहरु आमाको दूध दोहन गरेर आमाकै छातीमा टाँसिएझैं प्रकृतिसँग तादात्म्यताको सम्बन्ध राख्छन् । हिन्दूहरु जीवनलाई काल्पनिक ईश्वरको हातमा छाड्छन् तर किरातीहरु प्रकृतिको हातमा जीवन सुम्पिन्छन् । यस अर्थमा किरातीहरु भौतिकवादी छन् ।
किरातीहरु प्रकृतिपूजक हुन् । हिन्दूहरु मुत्युपूृर्वको मूल्यलाई कल्पनातीत स्वर्गमा खोज्छन् तर किरातीहरु आफ्ना पितृहरुलाई आफ्नै चुलाचौकामा भेट्छन् । यसर्थ पनि किरातीहरु भौतिकवादी छन् । यसर्थ पनि यी दुई आधारभूत रुपमै फरक छन् । त्यस्ता थुप्रै आधार छन्, जसले किराती मूल्य र सौन्दर्यलाई प्रचलित मूल्य र मान्यताबाट छुट्याउँछन् ।
माथिका केही सामान्य कुरामात्र हुन् जसलाई उदाहरणको रुपमा पेस गरियो । र यतिखेर किराती सौन्दर्यशास्त्र आफै निर्माणको क्रममा हुनाले यस्ता बहस र अरु विशिष्टताको खोज फलदायी नै हुन्छ भन्ने पनि सोचियो ।
अन्त्यमा, अमर गिरीजस्ता मार्क्सवादी व्याख्याताहरुलाई आफूले स्वीकार नगरेका र मन नपरेका सौन्दर्यमूल्यप्रति वक्रदृष्टि लगाउनुभन्दा तिनलाई कसरी मार्क्सवादीकरण गर्न सकिन्छ भन्नेतिर चिन्तन गर्दा सही मार्क्सवादी हुन सकिएला भन्ने सानो सझाव दिन्छु ।

http://esamata.com

Saturday, December 20, 2014

शक्तिको मुहान तल, माओवादीका आँखा माथि- खगेन्द्र संग्रौला

शक्तिको मुहान तल, माओवादीका आँखा माथि

खगेन्द्र संग्रौला 


khagendra
संविधानसभा परिवर्तनका एजेन्डाहरूको वधस्थल हो ? यो प्रश्न ज्यादै क्रूर र अतिरञ्जित ध्वनित हुनसक्छ । तर लक्षणहरू देख्दा सूचना फिँजाउने कटवालको जस्तो ठूलो स्वरमा यो प्रश्न नगरी नहुने भएको छ । कांग्रेसी प्रधानमन्त्री सुशील कोइराला लोकलाजको पर्वाहै नगरी कमल थापाको मुख सापटी लिएर भन्न थालिसके- धर्मनिरपेक्षता कहाँबाट आयो, मलाई पत्तै भएन । त्यो सुनेर सकल कांग्रेसीजनहरू म्ाौन छन् । मानौँ ती मखलेल छन् । र उता एमाले प्रमुख केपी शर्मा ओलीको जनद्वेषी कथन छ- संघीयता हाम्रो एजेन्डा थिएन । त्यो सुनेर सारा एमालेहरू चुपचाप छन् । मानौँ केपीको कथन नै तिनको पि्रय सूत्रवचन हो । यसको अर्थ हो- कांग्रेस धर्मसापेक्षताको प्रेतलाई काखी च्यापेर र मौका ढुकेर बसेको छ र एमाले शैशवकालमै संघीयतालाई वध गर्न तम्सिएको छ । परिवर्तनको यत्रो ठूलो आँधीबेहरीपछि दिक् र कालको लेसमात्र पनि बोध नभएका कांग्रेसी सुशील कोइरला प्रधानमन्त्री र एमालेका टुक्काबाज केपी शर्मा ओली रोलवाला प्रधानमन्त्री हुनु इतिहासको कठोर ठट्टा हो । यो ठट्टालाई झेल्न हामी अभिशप्त छौँ ।
कांग्रेस र एमाले संविधानसभामा कल, छल र बलबाट प्राप्त संख्याको अहंकारबाट मैमत्त छन् । र ती संख्याको तुजुक देखाउँदै नाममात्रको संघीयता थोपर्न उद्यत छन् । महेन्द्रीय प्रेतले बास गरेको तिनको सात प्रदेशको श्रेस्ता यस तथ्यको ज्वलन्त प्रमाण हो । संविधानसभाको यो विद्रूप प्रहसनमा एमाओवादी कहाँ छ ? ऊ जीवित र क्रियाशील छ कि जीवित र क्रियाशील भएको मिथ्या अभिनयमात्र गरिरहेको छ ?
जब क्रान्तिकारी प्रतिक्रियावादी सत्तामा आसिन हुन्छ, त्यसपछि नभइनछाड्ने कुरा दुईमध्ये एक हुन्छ । कित क्रान्तिकारीले सत्ताको प्रतिक्रियावादी चरित्रलाई आपmनो आदर्शमा ढाल्छ, कित क्रान्तिकारी स्वयं प्रतिक्रियावादी सत्ताको चरित्रअनुरुप अङ्गभिूत हुन्छ । माओवादी सिङ्गो सत्ता जितेर सरकारमा उक्लिएको थिएन । ऊ त इतिहासको बाध्यात्मक क्षणमा परम्परागत सत्ताधिकारीहरूसँग सम्झौता गरेर सरकारको बागडोर सम्हाल्न पुगेको थियो । माओवादी सरकार वास्तवमा भीमकाय एवं असहिष्णु सत्ता संरचनामा फुट्ट एउटा टापुजस्तो थियो । सरकार माओवादीको थियो, तर सत्ता उसको अधीनमा थिएन । सरकारधारी माओवादीले सत्ताको चरित्र फेर्न एकाध झिनामसिना प्रयास गर्न नखोजेको होइन । तर सामथ्र्य र ढङ्ग तथा सुझबुझ र चातुर्य नपुगेर ती प्रयास हास्यास्पद रूपले विफल भए । र माओवादी आक्रामक र धूर्त सत्ताको घेराउ, आखेट, पेलान र प्रलोभनसामु निरीह भएर लत्रिँदै सत्ताको चरित्रअनुरुप अङ्गभिूत हुँदैगयो ।
अहिले छनलाई चिरा परेर खुम्चिएको एमाओवादी दृश्यपटलमा छँदैछ । तर यो मुलुकमा जनयुद्ध भएको थियो भन्ने कुराको जीवन्त झल्को दिने कुनै पनि लक्षण दृश्यपटलमा छैन । जनयुद्ध त दूर इतिहासको स्वप्निल स्मृतिजस्तो पो भइसक्यो । एमाओवादी विचार, आदर्श, अग्रसरता, संगठन, जनसम्पर्क, जीवनशैली र आकर्षणका दृष्टिले माओवादीत्वरहित प्रतीत हुन्छ । मानौँ ऊ आपmनो अतीतको छायाको निस्तेज स्वरूपमा मात्र अस्तित्वमा छ । संविधानसभाबाट संख्याको बलमा दलित र उत्पीडित जनगणमाथि यथास्थितिवादी संविधान थोपरिन लाग्दा यो छायातुल्य एमाओवादी कहाँ छ ?
संविधान निर्माणको रकमी प्रक्रियामा एमाओवादीको अवस्थिति, उपस्थिति र प्रभाव दयनीय छ । एमाओवादी न ओल्लो घाटमा छ, न पल्लो तीरमा । न माथि छ, न तल । माथि संविधानसभामा एमाओवादीको संख्याबल निम्छरो छ । तल सर्वसाधारण जनमाझ यो निम्छरो संख्याबललाई आड दिने जनबलको आधार निम्छरो छ । वास्तवमा एमाओवादीको शक्तिको स्रोत सत्ता होइन, जनता हो । कठोर र कष्टकर संग्रामी अभियानमा जनता बीचबाट उसको उदय भएको हो । विडम्बनावश, सत्ताप्रति एमाओवादीको चर्को लिप्सा छ, र जनताप्रति घोर उपेक्षाभाव छ ।
अध्यक्ष प्रचण्डलाई दुई-तीन वर्षमा एकचोटी रोल्पाली जनताको याद आउँछ । र उनी रोल्पा जान्छन् । उनी सादा नागरिकको भेष, मुद्रा र शैलीमा रोल्पा जाँदैनन् । उनको त ठाँटबाँटका साथ रोल्पा सवारी पो हुन्छ । उनका नजिकका कमरेडहरू तडकभडक र तामझामका साथ सवारी हुने पात्रको स्वागतको तयारी गर्छन् । तुल-तोरण र स्वागत द्वार, अबिर र फूलमाला, बाजागाजा र नाचगान, सवारीको स्वागत भड्किलो र विलासी दृश्य देख्दा यस्तो लाग्छ, मानौँ रोल्पामा छापामारहरूको पूर्व 'कमाण्डर-इन-चिफ' को होइन, कुनै बडेकाजीको सवारी भएको हो । कथित सुरक्षा र औपचारिकताले सवारी हुने पात्र र रैथाने जनसाधारणबीच दूरीको निर्माण गर्छ । त्यस्तोमा नेता र कार्यकर्ता तथा नेता र जनसाधारणबीच अनौपचारिक र अन्तरङ्ग वार्ता हुँदैन । त्यहाँ त केवल दर्शन दिने र दर्शन पाउने काम हुन्छ । त्यसैले प्रचण्ड दैहिक दृष्टिले रोल्पामा हुन्छन्, भावनात्मक दृष्टिले हुँदैनन् । यस्तोमा रोल्पाली जनहरूलाई लाग्दो हो- यो प्रचण्ड हाम्रा छाप्रा-टहरामा सेल्टर लिई बस्ने, हामीले दिएको खाने, हाम्रो सुख-दुःखमा साथ दिने, हाम्रा सपना र आकांक्षाका जरामा मलजल हाल्ने हाम्रो प्रचण्ड होइन । यो अरुकै प्रचण्ड हो । अरुको भएको र हामीदेखि टाढा हुँदै गएको प्रचण्ड ।
भूगोलमा बाबुरामको जीवनवृत्त झनै साँगुरो छ । बाबुरामको नेपाल भनेको काठमाडौँ-गोरखा र गोरखा-काठमाडौँको संकुचित सेरोफेरो हो । उनका दृष्टि यो वृत्तभन्दा पर जाँदैनन् । उनी त यो वृत्तभन्दा पर पाउकष्ट गर्ने लेठो नै गर्दैनन् । प्रचण्ड र बाबुरामको दिनचर्या प्रतिक्रियावादी सत्ताको परिक्रमा गर्दैमा बितिरहेछ । सायद सत्ताको गद्दामा मद हुन्छ, नशा हुन्छ । एकचोटी त्यो गद्दामा बसेपछि मानौँ त्यसको मुहुनी लाग्छ । र सायद गद्दा नहुँदा केके छुटेको, आफूसँग केही नभएको, जीवन त्यसै-त्यसै खल्लो-खल्लो अनुभूत हुन्छ । र नै प्रचण्ड र बाबुराम सत्ताका अर्थ न बर्थका गद्दा प्राप्त गर्न हर्दम आतुर हुन्छन् । बाबुरामको संवाद सहमतिको गद्दा र प्रचण्डको उच्चस्तरीय राजनीतिक समितिको गद्दा यही आतुरताका दसी हुन् । यी दुबै ताल न तुकका, सार न सुरका गद्दा हुन् । संवाद समितिमा संवाद हुँदैन, विवादमात्र हुन्छ । त्यहाँ दाउपेच चल्छ, जालझेल हुन्छ । त्यो कथित संवादमा विवेक, युक्ति र औचित्यको कुनै भूमिका हुँदैन । भूमिका केवल संख्याको
हुन्छ, संख्याको दम्भको हुन्छ । प्रचण्डको
उच्चस्तरीय राजनीतिक समितिको गद्दा झनै प्रयोजनहीन र निस्सार छ । त्यो गद्दामा न अधिकार छ, न प्रतिष्ठा । कांग्रेस र एमालेका उपरवालेहरूले कृपापूर्वक उस्थिति दिए प्रचण्डको बैठक चल्छ, नदिए चल्दैन ।
आपmनो राजनीतिक धरातल र दायित्वको थोरैमात्र चेत हुँदो हो त प्रचण्ड र बाबुराम यी अर्थहीन समितिमा बसेर आपmनो अमूल्य समयको अपव्यय नगर्दा हुन् । यी समितिमा दोस्रो तहका नेतालाई विराजमान गराएर आफू गाउँ-देहात जाँदा हुन् । नेतृत्वको उपेक्षा र विलासिताका कारण हताश र निराश तथा कुण्ठित र मोहभङ्गको मनोदशामा रहेका कार्यकर्ता र जनतामा उत्साह र उमङ्ग एवं आशा र क्रियाशीलता जगाउँदा हुन् । र पार्टीको दशा यतिसाह्रो जडवत् र कारुणिक निश्चय नै नहुँदो हो । तर प्रचण्ड र बाबुरामका कर्मको प्रकृति कामकुरा एकातिर कुम्लो बोकेर ठम्ठम् अन्तरे ठिमीतिर भनेजस्तो छ ।
दुई समितिका पद ओगटेर प्रचण्ड र बाबुराम जस होइन, अपजस आर्जन गरिरहेका छन् । संवादवाले कमरेड विवादित मुद्दामा सहमति जुटाउन असमर्थ छन् । उच्चस्तरीयवाले कमरेडको आपmनो समितिमा नत कुनै भूमिका छ, न प्रभावकारिता । तैपनि बाबुराम किमार्थ सहमति नहुने संवादहीन संवादका नाउँमा संविधानसभालाई बित्थामा अडाइरहेका छन् । र प्रचण्ड राजनीतिक समितिको गद्दीमा व्यर्थै टाँसिइरहेका छन् । समितिमा बसेर बाबुराम बालुवा पेलेर तेल निकाल्ने र प्रचण्ड गोरु दुहेर ढुङ्ग्रो भर्ने सपना देखिरहेझैँ लाग्छ । यथार्थ कठोर छ । राजनीति हाकाहाकी प्रतिक्रान्तिको बाटोमा छ । र प्रतिक्रान्ति तीव्र गतिमा सङ्गठित भइरहेछ । प्रतिक्रान्तिको चक्र पुरा नभई यसको रथलाई अब लौकिक वा अलौकिक कुनै पनि शक्तिले रोक्न सक्दैन । संख्याका स्वामीहरूबाट बन्ने संविधान निःसन्देह प्रतिक्रान्तिको संविधान हुनेछ । त्यस्तो संविधानमा ल्याप्चे ठोकेर त्यसलाई काँध थाप्न प्रचण्ड र बाबुरामहरू किन लागिपरेका हुन्, अचम्म लाग्छ ।
एमाओवादीको शक्तिको मुहान तल जनतामा छ, प्रचण्ड र बाबुरामका आँखा माथि सत्तामा एकाग्र भएका छन् । इतिहासको यो कत्रो विडम्बना !
http://www.ekantipur.com/np/2071/9/4/full-story/400547.html

मलेसियामा सेक्युरिटी गार्ड रहेका बाबुरामका सल्लाहकारका बाबु भन्छन्– सम्झिँदा पनि भक्कानो छुट्छ कमरेड !


मलेसियामा सेक्युरिटी गार्ड रहेका बाबुरामका सल्लाहकारका बाबु भन्छन्– सम्झिँदा पनि भक्कानो छुट्छ कमरेड !




मेरो नाम सप्तनाथ न्यौपाने । घर नुवाकोटको फिकुरी गाविस ४ सल्ले । बिहान बेलुकाको छाक टार्न संघर्ष गर्नुपर्ने गाउँको सामान्य किसान हुँ । २००६ सालमा जन्मिएको हुँ । १२ वर्षको उमेरदेखि थालेको शारीरिक श्रम अझै पनि मेरो पेशा हो । मेरो कुरा सुन्ने फुर्सद तपाइँहरुलाई छैन होला । सुने पनि हामी दुःखी किसानलाई पत्याउनुहोला भन्ने विश्वास लागेको छैन । तै पनि आज म आफूले जीवनमा भोगेका केही दुःखका र अनुभवका कुरा गर्दैछु ।कमरेड प्रचण्ड र कमरेड बाबुरामजी !
मेरा पाँच भाई छोरा छन् । जेठो अर्जुनले डिग्री पास गरेको थियो । त्रिशूलीबाट हिंडेर मेरो घर नुवाकोटको फिकुरी आउन रित्तो मानिसलाई ४ घण्टा लाग्छ । तर मैले कयौं वर्ष त्रिशूलीबाट पसलको भारी बोकें, छोरा पढाउन ।
sapta nath
त्रिशुलीबाट ५० किलाको भारी बोकेर सातदोबाटो ल्याउँदा दिनमा तीस रुपैयाँ पाउँथें । चामल, बिस्कुट, चाउचाउ, चिनी, चुरोटको भारी बोक्थें । यताबाट दाउराको भारी बोकेर जान्थें । खानका लागी जेनतेन पुग्ने जग्गा थियो । अर्जुनलाई क्याम्पस पढाउन भारी बोकेको हुँ । बाबुले आफ्ना छोराछोरीको कर्तव्य पूरा गरेको कुरालाई धेरै ठूलो घमण्डको विषय बनाउनुपर्ने थिएन । तर मेरो र मजस्ता बाबुहरुका हकमा कुरा अलि फरक छ । मैले पाएको दुःखको त कुरै नगरौं । सबै कुरा भन्न तीन दिन लाग्छ । सम्झँदा पनि मुटु फुट्ला जसरी भक्कानिएर आउँछ ।
०३२ सालमा जन्मिएको हो । गाउँकै स्कुलबाट ८ कक्षा पास गर्यो । त्यतिबेला गाउँमा मावि थिएन । चण्डेश्वरी मावि तुप्चेबाट एसएलसी पास गरेपछि सरस्वती क्याम्पस पढाएँ । अर्जुनले काठमाण्डुमा क्याम्पस पढ्दा राम्रो अंक ल्यायो । सानैदेखि पढ्न राम्रो थियो । क्याम्पसमा राम्रो विद्यार्थीको रुपमा छुट पनि पाएको थियो । तुप्चेमा उत्तरगया भन्ने स्कुल छ । साथीभाइहरुसँग रोइकराई गरेर जागिर लगाएँ । गाउँको स्कुलमा दरबन्दी आयो । कम्ति गाह्रो भएन जागिर खुवाउन । राम्रो मान्छेमा सानैदेखि राम्रो गुण आउँदो रहेछ । उ सानैदेखि असल थियो । कसैको दुःख देख्न सक्दनथ्यो । कोही उसलाई कुट्नै आए पनि जाइलाग्ने बानी छैन । बरु उससँग आँखा जुधाएपछि आक्रोशित भएर कुट्न आएको मान्छे नतमस्तक भएर फर्कन्छ ।
स्कुलमा जागिर खाँदै गर्दा २०५८ मंसिरमा देशमा संकटकाल लाग्यो । उ एक्कासि जागिर राजीनामा गरेर भूमिगत भयो । जनमोर्चाको बेलादेखि माओवादी विद्यार्थी संगठनमा काम गरेको रहेछ । यो कुरा मलाई पछि मात्र थाहा भयो । उसको लुटेर र ठगेर खाने विचार कहिल्यै आएन । कहिल्यै कोहीसँग एक रुपैयाँ चन्दा लिएर खाएको रेकर्ड छैन । बरु तपाईंको क्रान्तिमा लागेबापत अहिले बेहाल भएर हिंड्नुपरेको छ ।
काइँलो छोरा जयराम एसएलसी पास गरेर पार्टीमा लागेको हो । माओवादी सेनाको कमाण्डर थियो । अरु सबैले राहत पाए । उसले अनमिनमा तीनपटक नाम लेखाएर पनि एक रुपैयाँ पाएन ।
बाबुरामजी तपाइँकी छोरी पीएचडी गर्न विदेश गएकी छन् भन्ने सुनेको छु । मेरो त्यसमा कुनै गुनासो छैन । तपाईंसँग पैसा र पहुँच थियो, पढाउनुभयो । मसँग थिएन, उसले पढ्न पाएन । मेरो छोराले अवसर पाएको भए र मेरो क्षमता भएको भए उसको पनि पीएचडी गर्ने हैसियत थियो ।
मैले समाचारमा सुनेको तपाइँले बुबालाई मानसरोबर तीर्थ लैजानुभएछ । भर्खरै बुबाको ८४ पूजा गराउनुभयो रे । राम्रो गर्नुभयो । एउटा छोराले बाबुआमाका लागि गर्नुपर्ने काम नै त्यही हो । तर, के मैले पनि मेरो छोरासँग तीर्थ घुम्न पाउनुपर्ने होइन र ? खै त मलाई त्यो अधिकार ? नेपालमा माओवादी नामको आन्दोलन नभएको भए मेरो छोरा अहिले घरमै हुन्थ्यो, उसँग केही पैसा हुन्थो र मलाई पनि तीर्थ घुमाउँथ्यो होला । प्रचण्डजी, तपाईं जसरी सपरिवार लाजिम्पाट बस्नुभएको छ, त्यसैगरी म पनि आज आफ्ना छोराहरुका साथ बस्न पाउनुपर्ने थियो कि थिएन ?
म ०५४ सालकोे स्थानीय निर्वाचनमा एमालेको तर्फबाट फिकुरी ४ को वडा सदस्य निर्वाचित भएको व्यक्ति हुँ । छोरा माओवादी भएको आरोपमा संकटकालको समयमा राज्यले दिएको दुःख बयान गरिसाध्य छैन ।
sapta 2.
राति घरमा सुतेको बेला बन्दुकधारीहरु आउँथे । पुसको ठण्डीमा कपडा लगाउने मौका समेत नदिएर मध्यरातमा घिसार्दै कतिपटक ब्यारेकमा लगेका छन् । ०६१ सालमा १९ दिनसम्म मैथली ब्यारेकमा पाएको सास्ती सम्झँदा अहिले पनि शरीरमा काँडा उम्रन्छ । म माओवादी थिइनँ । तर माओवादीका नाममा धेरै दुःख पाएँ । तारेख कति धाइयो । बिहान १० बजे तारेख धाउन पुग्नुपथ्र्यो । हामी किसानले १० नँग्रा नखियाई खान पाइँदैन । हातमा ठेला देखेर भन्थे यी रातभरि बन्दुक खेलाउँदा उठेका ठेला हुन् । कुनै दिन आँखा अलिकति राता भए भने रातभरि लुट्न गएको रहेछ, निन्द्रा मारेकाले आँखा राता भएको रहेछ भन्ने । बोल्यो किन बोलिनस् भन्छ, चुप लागेर बस्यो । किन चुप लागिस् भन्छ । तारेकमा गयो । ढोका थुनेर हिंड्छ । जा नभनी बाहिर आउन मिल्दैन । गाडी चल्दैन । सदरमुकामबाट हिंडेर घर पुग्न ५ ७ घण्टा लाग्छ । तीन तारेखमा खेपेपछि फेरि तारेखमै गएका बेला समातेर राख्यो । २९ दिनसम्म घरका जहानलाई पत्तो दिएन । खबर पठाउन पाइएन । तेश्रोपटक १३ दिन थुनिएँ । तीन महिनाजति मैथली ब्यारेकमा तारेख धाएपछि ६ महिना अक्करेको ब्यारेक तारेख धाएँ । ब्यारेकमा लगेर थुन्छ । भात खाएको पैसा आफैंले तिर्नुपर्ने । छुट्ने बेलामा भात खाएको पैसा नतिरे बाहिर आउन नपाउँने । पैसा कति खर्च भयो । ज्यानले त्यस्तै दुःख पायो । अहिलेसम्म सीधा उभिन मिल्दैन । औषधि त कति खाइयो खाइयो ।
बुहारीले एक वर्षजति तारेख धाइन् । काठमाण्डुमा भाँडा माझेर बसेको अर्को छोरो समातेर बेपत्ता पारियो । माया मारिसकेका थियौं । तर बाँचेर आयो । के के भयो के के सबै कुरा भनेर सक्न तीन महिना लाग्छ ।
मेरो छोराजस्तो इमान्दार र क्षमता भएको मान्छे पार्टीले भेट्न गाह्रै पर्ला । हामीजस्ता जनताका छोराछोरीलाई लडाएर सत्तामा पुगेपछि आफ्नै मस्ती । जब तपाइँहरुका लागि ज्यान दिन तयार भएकै मान्छे आज तपाइँसँग छैन भने के राजनीति गर्नुुहुन्छ ? तपाइँका पार्टीका जिल्ला नेताहरु चुनावमा र अघिपछि जहिले पनि खर्च गर हामी छौं भन्दारहेछन् । खर्च गर्यो, तर नदिने । यस्तो भएपछि उसले ऋण तिर्ने अरु उपाय देखेन र विदेशको बाटो लियो ।
बाबुरामजी तपाइंकी छोरीले पिएचडी गर्न पाएजस्तै मेरी नातिले पनि पढ्न पाउनुपर्ने हो । तर आज मेरो नातिलाई कापी किनिदिने हैसियत छैन । नाति पढाउन नसकेर पीडा भएको छ । जेठो नातिलाई जागिर खुवाउन कोसिस गरियो । होटलमा जागिर लगाइदेउ शालीकराम जमकट्टेललाई भेट्न तीनपटक पेरिसडाँडा पुग्यो । तर बोलाएर फोन अफ गरेर हिंडेछन् ।
छोराले पारिवारिक अवस्थाका बारेमा पटकपटक जिल्लाका नेताहरु हितबहादुर तामाङ, हिरानाथ खतिवडा लगायतलाई धेरैपटक अवगत गराएको थियो । तर समस्या समाधान गरेर उसलाई राजनीतिमा लागिरहने वातावरण उनीहरुले बनाइदिएनन् ।
परिवारै युद्धका कारण पीडित भएका कार्यकर्ताको घरमा एकजनालाई सामान्य जागिर वा पढाइदिने व्यवस्था गर्न नसक्ने तपाईंको पार्टीले के क्रान्तिको कुरा गर्ने ? आफ्नै कार्यकर्ताको जिम्मा लिने क्षमता नभएकाले के देशकै जिम्मा लिने कुरा गर्नुहुन्छ ? मेरा नातिलाई कुनै क्याम्पसमा भनेर पढाइदिन तपाईंको पार्टीले किन सकेन ? तँ त हाम्रो युद्दका कारणले बिग्रिइस् तर बच्चा नबिगार भन्न सक्नुभयो ? तपाईंहरुलाई जंगलबाट उद्दार गरेर सत्तामा पुर्याउन हाम्रा छोराहरुजस्ता युवा चाहियो । तर सत्तामा पुगेपछि तपाईंहरुलाई उनीहरु चाहिएनन् । जनताका छोराछोरीलाई सत्ताका लागि उपयोग गरेर घर न घाटको बनाइदिनुभयो ।
संसार भन्छ अर्जुन सरजस्तो मान्छे किन मलेसिया गएको ? काठमाण्डु गयो त्यही भन्छन् । मसँग जवाफ छैन । मानिसहरुलाई सपना देखाउनुभयो । तर अहिले आएर बालुवामा पानी खन्याएजस्तो भयो उनीहरुको सपना । महिनाको उतिबेलै ७ हजार ५ सय तलब थियो । भएको जागिर तपाइँहरुकै कारणले छाड्नुपर्यो । हरेक बाबुआमालाई छोराछोरी हुर्काएर पढाएपछि बुढेसकालमा नातिनातिना खेलाएर छोराको कमाई खाएर आराम गर्न मन हुँदैन ? तर आज रोएर बस्नुपरेको छ । मजस्ता कतिका परिवारविहीन भए । घरको दैलो लागेका ठाउँठाउँमा कति छन् । के तपाईंहरुलाई त्यसको हेक्का छ । बरु पद र सत्ताका लागि झगडा गरेर बस्नुभएको छ । आज न सम्पत्ति छ । न घरमा छोरा छन् । न घरमा भएकाले सुख पाएका छन् ।
म पहिला माओवादी विरोधी थिएँ । एमाले पतन भएपछि माओवादीले केही गर्छ कि भनेर सहयोग गरेको हुँ । तर चार वर्षदेखि तपाइँको पार्टीमा छैन । अब हुनुपरेको पनि छैन ।
माओवादीहरु कतिले घर बनाएका छन् । गाडी र जग्गा जोडेका छन् । कतिले पेट्रोल पम्प र डोजर किनेका छन् । तर मेरो छोराले कसैसँग एक रुपैयाँ लिएर खाएको पुष्टि कसैले गरिदियो भने म सेरिन तयार छु । एकजनालाई माओवादीका नाममा थप्पड हानेको रहेछ भने एक थप्पड बराबर सय थप्पड खान सक्छु ।
बरु उसले राजनीतिमा सक्रिय रहेको बेलामा आफ्नो समाजका लागि सक्दो योगदान गरेको छ । फिकुरीको आफू पढेको र पढाएको स्कुलका लागि जग्गा किनेको छ । नयाँ भवन बनाएको छ । कम्प्युटर शिक्षाको व्यवस्था गरेको छ । यो उ विद्यालय व्यवस्थापन समितिमा भएको बेलामा गरेको काम हो ।
मेरो छोरा क्रान्तिका नाममा तपाईंहरुका पछाडि नलागेको भए अहिले अवश्य गाउँको स्कुलमा हेडमास्टर हुन्थ्यो । समाजमा दुई चार रुपैयाँ अरुलाई दिने हैसियत हुन्थ्यो । गाउँमा एउटा घर बनाइसक्थ्यो । छोराहरु काठमाण्डुमा राम्रा क्याम्पसमा पढाउन सक्थ्यो । उजस्तो मान्छेले नेपालमा भविष्य नदेखेर विदेश जानु के राम्रो हो तपाईंहरुका लागि ? के मलेसियामा गार्डको काम गर्न डिग्री पढ्नुपर्छ ? के त्यहाँ पुग्न तपाईंको क्रान्तिमा लागेकै हुुनुपथ्र्यो र ?
केही गर्छु देशको लागि भनेर लागको मान्छे आज आफैं खत्तम । कुरा गर्दा मुटु फुटेर आउँछ । सधैं रोयो देख्नेले के भयो तलाई भनेर सोध्लान् । मनमा दुःख लुकाएर बाहिर हाँसेर हिंड्नुपरेको छ । मलाई थाहा छ, पार्टीलाई खाँचो परेका दिन फेरि उसलाई तपाइँहरुले बोलाउनु हुन्छ होला ।
जिल्ला अध्यक्ष हिरानथ खतिवडा लगायतका पार्टीका मानिसहरु गाउँ कमिटी बनाउन भनेर आएछन् । उजस्तो मान्छेलाई आज यो अवस्थामा पुर्याउने पार्टीमा हामी किन लाग्ने भन्ने जवाफ दिइरहेका छन् । उ गएपछि एकपटक गाउँ कमिटीको बैठक बस्न सकेको छैन
तपाइँहरुको पार्टीबाट मेरो र मजस्ता धेरैको मन भाँडिएको छ । बसेर खाने बेलामा पिरैपिर र दुःखले छोप्यो । मलाई थाहा छ, मेरोजस्तो दुःख धेरैलाई छ । तर मानिसले आफूलाई परेको मात्र देख्छ । अरुको ठाउँबाट सोच्दा उनीहरु मभन्दा बढी पीडित होलान् । तपाईंको आन्दोलनबाट प्रभावित नभएको देशको कुनै गाउँ, टोल र घर छैन । अनुमान गर्नुस् तपाईंहरुलाई सत्तामा पुर्याउन हामीजस्ता पीडा खेपिरहेका परिवार र मानि कति होलान ? मलाई पार्टीबाट घाउ लाग्यो । त्यो घाउ निको भएन । अब पनि निको हुने छाँटकाँट छैन । बरु अर्कै पार्टीमा लागेको भए यस्तो हुने थिएन कि । मेरो परिवार भाँडिने थिइन कि । मेरा नातिहरुले जगिर पाउँथे कि भन्ने लाग्न थालेको छ । पार्टी राज्यमा गएर जनताले के पाए ? सीमित नेताहरुले सत्ता र भत्ताको स्वाद लिनुभयो । गाउँमा जनतालाई आपसमा भिडाउनुभयो । बदलामा फेरि उही असमानता । सक्नेले खाइरहने र नसक्ने निर्धा निमुखा हेरिरहने । यसैका लागि गर्नुभएको थियो क्रान्ति ? यसैका लागि मारिएका थिए १५ हजार मान्छे ?
- See more at: http://kathmandutoday.com/2014/12/66228.html#sthash.c2AH7q3l.dpuf

Wednesday, December 10, 2014

कमरेडहरूका अनुहारका कुरुप दाग- खगेन्द्र संग्रौला

कमरेडहरूका अनुहारका कुरुप दाग


-–खगेन्द्र संग्रौला





आम्मामामा, सर्वहारा पार्टीका नेताहरुका यत्रायत्रा घर । त्यो पनि सुनसरी महँगो राजधानी काठमाण्डुको नाभिस्थलमै । गाँठ्ठे, यिनले यत्रोविध पैसा कताबाट हात पारे ? पक्का पनि यिनले कतै लामा हात गरेर लुँड्याए । हिजो साथीका लुगा सापट मागेर चप्पल पड्काउँदै सिंहदारबार पसेका थिए, सिंहदरबाट निस्कँदा यी फेरिएको औतारमा देखापरे ।  क्रान्तिकारी कमरेडहरुमा देखापरेको यो विपरित, यो विचलन, यो पतन, यो सब के हो ? अखबारहरूमा सर्वहाराका नेताहरुका नवनिर्मित महलका विस्मयकारी तस्बिरहरु छापिए । चमकदार महलको भित्तोमा प्रदीप नेपाल झुल्किए, मैनाली बन्धु सीपी–आरके प्रकट भए, मोदनाथ प्रश्रित गोचर भए ।KHAGENDRA-SANGRAULA


बीस वर्षअघिको एमालेको नौ महिने शासनको नतिजाबाट कुरा थाल्छु । एमाले नेताहरु सत्ताशीन भए र भ्रष्ट सत्ताको चरित्रमा अंगीकृत हुँदै वा पच्दै गए । र, तिनको आदर्श, चरित्र र नैतिकतामा हठात भयानक स्खलन देखा पर्यो । मन्त्री भइखाएका नेताहरु काठमाण्डुमा एकाएक घर ठड्याउन थाले । नचिताएको त्यो दृश्य देखेर आफ्ना लागि एमालेले केही गर्ला कि भनी आशा गर्ने जनसाधारण झस्किए ।
‘ओहो, कम्युनिस्ट नेताहरूका महल’ भन्दै धेरै मानिसले जिब्रो टोके । मिडियामा कटाक्षयुक्त टीकाटिप्पणी भए । पुरेतले तोत्र जपेझैं ‘सादा जीवन उच्च विचार’को रटना गर्ने नेताहरुलाई लोकले कुरिकुरी ग¥यो । एमाले नेताहरु भर्खरै भ्रष्टाचारपथमा लागेका थिए । त्यसबखत थोरै भए पनि तिनमा लाजको भावना थियो । त्यसैले तिनले आप्mनो कमाइका नक्कली श्रोतहरु हावादारी कथा कथे । एउटा कल्पनाशील अन्तरेले मेरो घर पुस्तक विक्रीबाट आएको पैसाको परिणाम हो भन्यो ।  अर्को धूर्तमति प्यारेलालले मेरो घर मेरी लच्छिनकी गृहलक्ष्मीको बोर्डिङको आयस्ताको फल हो भन्यो । झन् अर्को कपटकामी चतुरेले यो मेरी जीवन सङ्गिनीको दाइजोको कमाल हो भन्यो । सरासर ढाँटेकै भए पनि एमालेका उपरवाले अन्तरेहरुले अलिकता लज्जाबोध त गरे नै ।
थेत्तरो हुँदै समय फेरिएको छ । र, आफूलाई कम्निस्ट नेता भन्नेहरुमा लज्जाको भावना झनै निख्रिँदै गएको छ । यो माओवादी महलको कथा हो । उही माओवादी जसले दश वर्ष अकल्पनीय जनयुद्ध चलायो । उही माओवादी जसले बन्दुकमाथि एकाधिकार गरिबसेको शोषक सत्तालाई बन्दुकैले हाँक दियो ।  उही माओवादी जसले बलिदानी संग्रामको विस्फोटक आवाजद्वारा निमुखाहरुका मुख खोल्यो, उत्पीडितहरुका आँखा खोल्यो, दमितहरुका कान खोल्यो । उही माओवादी जसले थरिथरिका दलितहरुका जड मस्तिष्कमा विद्रोहका जीवन्त तरङ्ग जगायो । उही माओवादी जसले खूनी राजतन्त्रलाई सिंहासनबाट मिल्कायो । उही माओवादी जसले प्रगतिशील परिवर्नतका रहरलाग्दा मुद्दाहरु उठायो ।
हो, माओवादीले त्यत्रो पराक्रम गरेर त्यत्रो गौरव प्राप्त गरेको थियो । तर जब सत्ताशीन भयो, भ्रष्ट सत्ताले माओवादीलाई अङ्गीभूत गर्दै लग्यो अर्थात् आफ्ना फोहोरी पेटमा हुलेर पचाउन थाल्यो । पहिले भ्रष्ट पथमा उन्मुख एमालेका नेताहरु कमसेकम लाजगाल मुख छोप्थे । आपूm निष्कलङ्क छु भन्ने देखाउन केही न केही ढोँग गरिटोपल्थे । तर अहिले माओवादी त्यति पनि गर्दैनन् । यसो अखबार पढ्यो, कुरो एकपछि अर्को भ्रष्ट माओवादीकै आउँछ । फलानो माओवादी नेताले छोराको बिहामा बुहारीलाई भारु पाँच सयको अजङ्गको माला टर्क्यायो । सुनै नाथेका गहना त कति कति । चिया पसलमा गयो, चर्चा भ्रष्ट माओवादीकै हुन्छ ।
फलाना माओवादीले आफ्नाे बिहामा लाखै नाथे त कति कति उडायो । आम्मामामा, यिनको तामस कस्तो ? यिनको रोवरबाफ कस्तो ? मानौँ यी माओवादी होइनन्, सनातनी खाओवादी हुन् । कुरा सुन्दा मलाई अचम्म लाग्छ । कसोकसो घीन पनि लाग्छ । हिजोको आजै कता कसको के लुटेर बटुले यिनले रैरकमको यत्रो थैलो ?
भनिसकेँ, एमाले जनवाद छाडेर धनवादतिर लहसियो र गरिखाने जनताबाट अलग्गियो । एमालेका नेताहरु नवधनाढ्य भए । ती भोगी भए । ती विलासी भए । ती ठालु भए । र, हुँदाहुँदा ती माक्र्सवाद–लेनिनवाद बेचीखाने भए । एमालेको शिरमा इतिहासको उत्रो ऋणभार थिएन । केटौले विद्रोहको मेसोमा झापामा केही मान्छे काटिएका थिए । बस् । माओवादीका शिरमा क्रान्तिकालमा उता र यताबाट मारिएका १५/१६ हजार मानिसका जीवनको ऋणभार छ ।  सयौं बेपत्ताको दारुण कथाको ऋणभार छ । सयौं विकलांग, कथित ‘अयोग्य’ र विघटित परिवारका अपार आँसुको ऋणभार छ । गरिएका सहस्र वाचाहरुको ऋणभार छ । बाँडिएका रङ्गीन सपनाहरुको ऋणभार छ । विडम्बनावश, यत्रोबिधि ऋण चुक्ता गर्नुुपर्ने माओवादीको वैचारिक स्खलन, नैतिक क्षयीकरण र लज्जाहीनताको हेरिनसक्नु छ ।
व्यक्तिको निष्ठा र चरित्र कदापि स्थिर हुँदैन । त्यो नित्य गतिमा हुन्छ । हर्दम् बन्ने वा बिग्रने प्रक्रियामा हुन्छ त्यो । एक विशाल पार्टीमा केही व्यक्तिको आदर्श, नैतिकता र लज्जाशीलतामा ह्रास देखिनु अचम्मको कुरा होइन । त्यो त भइनै रहन्छ । तर अचम्मको कुरा अर्कै छ । म सुन्छु, बाबुरामका अन्तरङ्ग सहयोगी विश्वदीप पाण्डेले आफ्ना बिहामा पैसाको खोलो बगाएर लोकलाई सामन्ती तडकभडकको निर्लज्ज तमासा देखाए । बाबुराम पथकै टोपबहादुर काजीले आफ्ना छोराको बिहामा जगत् जिल् पर्ने गरी महासामन्तको जस्तो ठाँटबाँट प्रदर्शन गरे । अलि अघि प्रचण्ड महलका प्रकाश काजीको बिहाको उत्पात तामझामबारे कताकता सुनेझैं लाग्छ ।
तहतहका र तालतालका माओवादी कमरेडीहरु मानौँ लूटको धनले अभिजातीय ठाँटबाँट प्रदर्शन गर्नमा तल्लीन छन् । तर तिनलाई केही हुँदैन । तिनलाई फाँटवाला निकायबाट न कुनै सोधनी हुन्छ, न कुनै नसिहत हुन्छ, न कुनै कुरिकुरी हुन्छ । मानौँ ती जे गर्दैछन्, पार्टीको गौरव त्यसैमा छ । माओवादीभित्र आदर्शको स्खलन र नैतिकताको क्षयीकरणको यो कुरुप रुप देख्दा अचेल मलाई त्यसैत्यसै दिगमागि लागेर आउँछ । अहो, लोकले यसरी गतिछाडा हुँदै गएको पार्टीलाई लोकले माओवादी पार्टी मानिदिइरहनु पर्ने ? माओ कतै शून्यबाट प्रकट भए गोर्खे माओवादी पार्टीका यस्ता कमरेडीहरुलाई के भन्दा हुन् ? कुन्नि, बूढाले ‘झ्याङझुङ, पतीत अन्तरे झ्यामझ्याम चुनवाङ’ पो भन्दा हुन् कि ?
- See more at: http://kathmandutoday.com/2014/12/64399.html#sthash.z1E3hfQf.ZlDMPKtm.dpuf