Tuesday, March 24, 2015

आन्दोलनभित्रका दुस्मन बढी खतरनाक


new logo cpiप्रचण्ड–बाबुरामको गद्दार गुट र विसर्जनजादी अभाकियन क्रान्तिकारी केन्द्र निर्माणका बाधक :

भारतीय कम्युनिस्ट पार्टी (माओवादी)
(भर्खरै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले दुइटा महत्वपूर्ण दस्ताबेज प्रकाशमा ल्याएको छ । एउटा दस्ताबेज भारतीय कम्युनिस्ट पार्टी (माओवादी) स्थापनाको दशौँ वर्षगाँठका सन्दर्भमा भारतीय जनतालाई सम्बोधन गरिएको दस्ताबेज हो— भारतका जनतालाई आह्वान । यसमा भारतीय कम्युनिस्ट (माओवादी) को दश वर्षको यात्रामा यसले भोगेका अप्ठ्याराहरू, प्राप्ति र उपलब्धिका साथै आफ्नो उद्देश्य प्राप्तिका लागि आगामी दिनमा यसले अवलम्बन गर्ने नीति तथा कार्यक्रमहरूको अभिरेखाङ्गन गरिएको छ भने अर्को दस्ताबेज भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गर्ने सन्दर्भमा इटालीको मिलानमा आयोजित सभासित सम्बद्ध भारतमा चलिरहेको जनयुद्धको समर्थनमा भइरहेको मिलान सभालाई सन्देश शीर्षकको दस्ताबेज हो । 
दुवै दस्ताबेज महत्वपूर्ण छन् तापनि वर्तमान विश्वकम्युनिस्ट आन्दोलन यसका वैचारिक र व्यावहारिक समस्याका साथै नयाँ ‘अन्तर्राष्ट्रिय केन्द्र’ निर्माणका सन्दर्भमा देखिएका अवरोध र उपायका बारेमा दोस्रो दस्ताबेजले विशेष प्रकाश पारेको छ । नेक्स्ट फ्रन्टले दुवै दस्ताबेज अनुवाद गरी पाठकसमक्ष पुर्याउने प्रतिबद्धता जाहेर गरेअनुसार यी दुवै रचनाहरू अनुवाद गरिएका छन् । रचनाको आकारलाई ध्यान दिँदै हामीले यिनको प्रकाशन छापा माध्यमहरूमा ग्गर्नु उचित ठानेका छौँ । हाल नेपालको माओवादी आन्दोलको सन्दर्भ जोडिएको एउटा अंशलाई मात्र हामीले यहाँ प्रस्तुत गरेका छौँ । 
यसमा विश्वका क्रान्तिकारीहरूको नयाँ केन्द्र निर्माणमा प्रचण्ड–बाबुरामको गद्दार गुट र बभ अभाकियनको विसर्जनवादी चिन्तन बाधक रहेको कुरा उल्लेख गरिएको छ र अब वैचारिक सङ्घर्ष चर्काउँदै यसलाई नयाँ किसिमले अगाडि बढाउनुपर्ने कुरा उल्लेख गरिएको छ । दस्ताबेजमा भनिएको छ : “विश्वसर्वहारा वर्गको आत्मगत शक्ति सोचनीए किसिमले पछि परेको छ—दुस्मनको कारणले नभएर आन्दोलनभित्रबाट विकसित भएका दुस्मनहरूका कारण ।”)
……………………………………………………………………………………………….
बितेको एक दशकमा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण विकासहरू भएका छन् । हामी तपाईँहरूलाई केही महत्वपूर्ण पक्षमा ध्यानाकर्षण गराउन चाहन्छौँ ।
गएको दशकका वर्षहरूमा भूमण्डलीकरणको कहरले ध्वस्त पारेको आमजनताको जीवनका कारण जनतामा यसप्रति तीव्र आक्रोस देखापर्यो , यसले जुझारु मुक्ति सङ्घर्ष र जनयुद्धलाई बलियो पार्न सहयोग पुर्यायो । मार्क्सवाद–लेनिनवाद–माओवादको स्थापनामार्फत सर्वहारा वर्गको विचारलाई तीव्रताका साथ प्रस्तुत गर्न सघाउपुग्यो । यसको व्यापक प्रयोगले अन्तर्राष्ट्रिय स्तरमा र विभिन्न मुलुकका माओवादी पार्टीहरूबीचको सम्बन्ध र एकतालाई नजिक ल्याउन आधारको काम गर्यो । प्रभावमा नयाँ क्रान्तिको तरङ्ग विश्वमा देखन सकिन्छ । यसको बढ्दो प्रभावका कारण जनताका विरुद्ध साम्राज्यवादी मुलुकहरू खासगरेर अमेरिकी साम्राज्यवादको अगुवाइमा भीषण रूपमा विश्वव्यापी आक्रमण गरिरहेका छन् । यो नै तथाकथित ‘वार अन टेरोरिज्म’ को मूल सारतत्व हो, जसमा विश्वका सबै साम्राज्यवादीहरू र प्रतिक्रियावादीहरू सामेल भए अथवा त्यसलाई समर्थन गरे । अफगानिस्तान र इराकमाथिको आक्रमण, जनअधिकारको हनन, जनताका सङ्घर्षमाथि दमन, विश्वव्यापी रूपमै फासिवादीकरण, सशस्त्र सङ्धर्ष, जनयुद्ध र माओवादी पार्टीहरूमाथि दमनअभियानको नेतृत्व र परिचालन—यसका विविध रूपहरू हुन् । तर एकल महाशक्तिका रूपमा रहेको अमेरिकी एकछत्र रजाइँलाई पनि खारेज गरियो, चुनौती दिइयो । इराकमाथिको युद्धका विरुद्ध विश्वव्यापी रूपमा सङ्घर्षको थालनी भयो र यो निरन्तर रूपमा अघि बढ्यो । इराक र अफगानिस्तानमा भएका शक्तिशाली प्रतिरोध कार्यले साम्राज्यवादका योजनाहरूलाई पछाडि धकेल्यो । विश्वका आमजनताले निभर्यका साथ भूमण्डलीकरण, उदारीकरण र निजीकरणले ल्याएको विध्वंशका विरुद्धको सङ्घर्षलाई निरन्तरता दिए । जनयुद्ध निरन्तर अघि बढ्यो । यी सबै कारणहरूले गर्दा अमेरिकी साम्राज्यवादले केही वर्षमै आफ्नो रणनीति बदल्यो । बुसलाई ओबामाद्वारा विस्थापित गरियो । ‘दशकौँको युद्ध’ को नारालाई सेना फिर्ता गर्ने र नअझिल्ने भन्ने नारामा परिणत गरियो । यो विश्वमा देखापरेको सकारात्मक स्थितिको सङ्केत हो । यो अवधिमा साम्राज्यवादी शक्तिहरू, रूसी साम्राज्यवादसित द्वन्द्वको विकास हुनुले पनि अमेरिकी साम्राज्यवादको स्थिति खस्कँदै जाने अवस्था बन्यो ।
जस्तो हामी सबैलाई थाहा छ, २००८ मा साम्राज्यवादी व्यवस्थामा देखापरेको विश्वव्यापी सङ्कटले विश्वको स्थितिलाई अझ प्रस्ट पारेको छ । साम्राज्यवादी र उत्पीडित दुवै मुलुकहरूमा लाखौँ जनता सडकमा निस्किए र प्रतिक्रियावादी राज्यशक्तिका विरुद्ध सडकयुद्ध लडे, मजदुरहरूले कारखानाहरू कब्जा गरे, जनताले सडक र चोक कब्जागरे र सरकारी कामकाज ठप्प पारे । विद्यार्थीहरू, युवाहरू महिला कामदारहरू, आप्रवासीहरू जेलमा निर्वासितहरू– सबै सङ्घर्षमा उत्रिएका छन् । अरब स्प्रिङका प्रभावशाली दिनहरूको सम्झना हाम्रो मनमस्तिष्कमा ताजै छ । जनताको जुझारु सङ्घर्षका कारण थुप्रै घृणित शासकहरूले गद्दी त्याग्नुपरेको थियो । जनताको यो जुझारुपन सही अर्थको प्रजातन्त्र र शोषण, अन्याय, अत्याचारमुक्त जनताको सत्ताको स्थितिसम्म त आइपुगेन, तर यसले ती समाजहरूको जगलाई भने तलैसम्म हल्लाइदिएको थियो । यसले विश्वका जनतामा नयाँ आशाको सञ्चार गरायो । परिणामहरू अवश्य पनि देखापर्दै जानेछन् ।
यो अहिलेको संसारको स्थिति हो । यसले क्रान्तिको नयाँ प्रवाहका लागि महान् सम्भावनाको स्थितिको द्योतन गर्दछ । तर यसको अर्को पक्ष पनि छ, तीतो पक्ष, गद्दारीको पक्ष । एकपल्ट फेरि अन्तर्राष्ट्रिय आन्दोलनमा महत्वपूर्ण अवस्था निर्माण गर्न संशोधनवादले अडचन खडा गरेको छ । नेपालको माओवादी नेतृत्व खासगरेर प्रचण्ड–बाबुराम गुटले जनयुद्धमाथि गरेको गद्दारी सबैभन्दा बढी नोक्सानदायी भयो । प्रजातन्त्रका मसिहा बनेर भ्रम दिइरहेका जनताका दुस्मनका कुकृत्यहरू र तिनीहरूको सच्चा अनुहारलाई जनतामाझ उदाङ्गो पारेर उनीहरूसित क्रान्तिकारी जनताको अन्तर्विरोध चर्काउँदै, साम्राज्यवाद र प्रतिक्रियावादविरुद्ध माओवादीहरूले नेतृत्व गरेको जनयुद्धको झन्डालाई माथि उचाल्दै साम्यवादी लक्ष प्राप्तिका लागि जनताको ठूलो हिस्सालाई साथ लिएर अघि बढ्ने उच्च सम्भावनालाई यिनीहरूले ध्वस्त पारेका छन् ।
अर्कोतिर हामी विसर्जनवादी कोणबाट क्रान्तिकारी विचारधारामाथि आक्रमण भइरहेको देख्छौँ, जसले मालेमाको झन्डालाई तल खसालेर अभाकियनवादी सतही विचारलाई स्थापित गर्नखोजेको छ । यसले पहिले नै केही माओवादी पार्टीहरूलाई ध्वस्त पारिसकेको छ, जसको एक कालखण्डमा विश्वकम्युनिस्ट आन्दोलनमा सम्मानजनक स्थिति थियो । यी दुवै विचलनलाई माओवादीहरूले दुत्कारेका छन्, यिनीहरू विरुद्धको सङ्घर्ष जारी छ । माओवादी पार्टीहरूलाई एकजुट गराएर नयाँ केन्द्र निर्माण गर्ने प्रयासहरू जारी छन् । तर नोक्सानी सबैका सामु छ । विश्वसर्वहारा वर्गको आत्मगत शक्ति मननयोग्य किसिमले पछि परेको छ—दुस्मनको कारणले नभएर आन्दोलनभित्रबाट विकसित दुस्मनहरूका कारण ।
यस अर्थमा यसमा हामी केही अन्तर्विरोध देखिरहेका छौँ । हामी सम्भावित सकारात्मक वस्तुगत स्थिति र माओवादी शक्तिहरूको आत्मगत पक्षबीच केही प्रस्ट खालिपन देखिरहेका छौँ । यसका लागि हामीले सङ्घर्ष गर्नुपरेको छ । हाम्रा सबै गतिविधिहरू तिनीहरूमाथि विजय प्राप्त गर्ने कुरामा केन्द्रित हुनुपर्छ । यो नै समयको माग हो र विश्वका उत्पीडितहरूको टड्कारो आवश्यकता हो । जस्तो माओ भन्ने गर्नुहुन्थ्यो : “हामीले पलपललाई आफ्नो हातमा लिनुपर्छ” । कम्युनिस्ट शक्तिहरूका लागि अहिलेको समयको आवश्यकता भनेको बढीभन्दा बढी साम्राज्यवादविरोधी जनवादी र क्रान्तिकारी शक्तिहरूलाई परिचालन गरेर ‘अपरेसन ग्रिन हन्ट’ को अन्त्यका लागि शक्तिशाली आन्दोलन चलाउनु र एउटा विश्वव्यापी साम्राज्यवाद विरोधी मोर्चालाई व्यावहारिक रूप दिनु हो भन्ने कुरामा हाम्रो पार्टी विश्वास गर्छ । विश्वका कम्युनिस्ट शक्तिहरूको एकतालाई थप मजबुत तुल्याएर नै हामी भारतीय क्रान्तिलाई पनि दरिलो सहयोग पुर्याउन सक्छौँ ।
वर्तमान समयमा विश्वको वस्तुगत सम्भावनाको स्थितिलाई एउटा एक्लो कम्युनिस्ट पार्टीको व्यक्तिगत प्रयासले मात्र पुग्दैन । सामूहिक प्रयासद्वारा कम्युनिस्ट लक्ष्यसित सम्बद्ध थुप्रै कामहरू गर्न सकिन्छ । यताका दिनहरूमा मे दिवस, भेला र गोष्ठीहरू लगायतका कामहरूले हाम्रो अनुभवलाई समृद्ध पारेका छन् । र यस्ता कामहरूले नवसंशोधनवाद विरुद्धको अभियान र सयुक्त मोर्चासम्बन्धी काम जस्तो ‘अन्तर्राष्ट्रिय समर्थन कमिटी’ ले गरेका ऐक्यबद्धताका कामहरू फलदायी भएका छन् । हामीले यी कामहरूको स्वागत गरेका छौँ र यसप्रति हाम्रो निरन्तर सहयोग रहिरहनेछ । हामीले यस्ता गतिविधिहरूलाई थप प्रभावकारी बनाउन नयाँ सम्बन्धको खोजी र उपाय गर्नुपर्छ र एकता प्रक्रियाको विस्तार गर्दै वैचारिक–राजनीतिक कार्यलाई अघि बढाउने आधार तयार पार्नुपर्छ ।
०००

www.thenextfront.com बाट साभार 

पम्फा भुसाल ‘माता’ को शरणमा

 पम्फा भुसाल ‘माता’ को शरणमा

प्रचण्डको भैंसी पूजा, बाबुरामको तिर्थाटन, गौरवको डोलेश्वरधाम यात्रा , नारायणकाजीको बगलामुखी पूजाअर्चना संगै पम्फा भुसाल्को ‘माता’ संगको फोटो सेसन पनि अहिले चर्चाको विषय बनेको छ । ratopati.com ले यसलाई पुस्टि गर्ने समाचार प्रकाशनमा ल्याएको छ । ‘क्रान्तिकारीहरू’ का यस्ता सन्दर्भ पाठकहरूको जानकारी र क्रान्तिको ‘हित’ का लागि उपयोगी हुने ठानी सो फोटो यहाँ प्रस्तुत गरेका छौं ।

pampha photo


















========================


पम्फाबारे रातो पाटीको थप समाचार

माताको शरणमा हिसीला पनि पुगिन्
भुषालले झुठ बोलिन् : भबिश्यबेत्ता आचार्य
नरेन्द्र बस्नेत मोरंग, असोज २० : नेकपा माओबादीकी प्रबक्ता पम्फा भुसालले आफुले ज्योतिषको बिश्वास नगर्ने र सबिता शर्मालाई भेट्न आफै खोजेर नगएको बताएपछि भबिश्यबेत्ता सबिता शर्मा आचार्यले यो सरासर झुठ भएको बताएकी छिन ।
हाल गृहजिल्ला धनकुटामा रहेकी आचार्यले भुषाललाई आफुले नबोलाएको बरु उल्टै आफुकहाँ भेटन आएको बताएकी छिन् । उनले दिउँसो भएको टेलिफोन र फेसबुक बार्तामा भुषालले आफु माताकोमा आएको कुरा कहिल्यै बाहिर नल्याउनु भनेर आफुलाई भनेको तर आफु उनलाई भेटन नगएको प्रतिक्रिया दिएकी छिन् ।
हिजो रातोपाटीले पूर्व राजादेखि माओबादी नेतासम्म माताको शरणमा भन्ने समाचार प्रकाशित गरेपछि भुषालको आज यस्तो प्रतिक्रिया आएको थियो । भुषालको यस्तो प्रतिक्रिया आईरहँदा एकीकृत माओबादीकी अर्की नेतृ हिसिला यमी समेत मातालाई भेटन गएको र उनको मातासँगको तस्बिर प्राप्त भएको छ ।

www.thenextfront.com बाट साभार 

अब कसलाई कारबाही गर्ने कमरेड ?- ऋषिराज बराल

अब कसलाई कारबाही गर्ने कमरेड ?

new photoऋषिराज बराल
जनआस्था साप्ताहिकको फागुन ५ को अङ्कमा प्रकाशित ‘क्रान्ति, केको क्रान्ति, कस्तो क्रान्ति ?’ शीर्षकमा प्रकाशित ‘पाठकपत्र’ सित सम्बन्धित भएर उठेका टिप्पणीहरूका सन्दर्भमा मैले केही कुरा प्रस्ट पार्नु आवश्यक ठानेको छु । खासगरेर मेरो पुस्तक सत्ता र संस्कृति मा समाविष्ट ‘जनयुद्ध, सांस्कृतिक आन्दोलन र जनसांस्कृतिक सङ्घ’ तथा ‘सांस्कृतिक सेनासम्बन्धी माओवादी दृष्टिकोण’ मा यसबारे प्रस्ट पारेको हुँ तापनि अहिले आएर विषयसन्दर्भहरू नयाँ किसिमले उठेकाले यसबारे पुनः केही प्रस्ट पार्नु आवश्यक ठानेको छु ।

‘पाठकपत्र’ मा ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ को विगतको सम्मेलनदेखिका कुराहरूका साथै त्यसमा इच्छुक सांस्कृतिक प्रतिष्ठानसित सम्बद्ध मुद्दाहरू पनि उठाइएका छन् । यसो हेर्दा यी फरकफरक विषय भए पनि यी एकअर्कासित अन्तर्सम्बन्न्धित छन् । यी सबैको लामो व्याख्या यहाँ सम्भव नभए पनि यी सबै समस्याको जडचाहिँ ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलन हो भन्ने कुरा म प्रस्ट पार्न चाहन्छु । यो सबै सन्दर्भको प्रस्टताका लागि युद्धकालमा रोल्पामा पढ्न प्रतिबन्ध लगाइएको मेरो पुस्तक फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘प्रति +आगमन= प्रत्यागमन’ को सन्दर्भलाई पनि यहाँ ल्याउनुपर्ने हुन्छ ।
२०६३ असोजमा तय गरिएको ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलनमा लागि केन्द्रीय संयोजकका नाताले मैले प्रतिवेदन तयार पारेँ । यसलाई लिएर सांस्कृतिक विभाग र आयोजक समितिको दुईतीन बैठक बस्यो । त्यतिबेर प्रचण्ड–बाबुराम घुमन्तु सिविरमा हुन्थे । भक्तपुर गेस्ट हाउसमा बसेको मिटिङमा मैले त्यतिबेला चर्चामा आएका तल उल्लेखित तीनवटा मुद्दामा बहसछलफल चलाएँ ।
१. जनार्दन शर्मा ‘प्रभाकर’ को उटपट्याङ चिन्तनको पछि लागेर ईश्वरचन्द्र ज्ञवाली र खासगरेर सेमभेकका केही साथीहरू जनमुक्ति सेनाका झैँ सांस्कृतिक क्षेत्रमा पनि कम्पनी, बटालियन, ब्रिगेड र डिभिजन बनाउने हठमा थिए । सांस्कृतिक सेना भनेको विचारको सेना हो, यो क्रान्तिकारी विचारबाट सङ्गठित हुन्छ, तर ब्रिगेड आदि हुँदैन, खास अभियानमा त्यसरी लामबद्ध हुन सकिए पनि जनसेनाका झैँ सांस्कृतिक पल्टनको स्थायी बटालियन र ब्रिगेड हुँदैन भन्ने मेरो भनाइ थियो र माओले पनि सांस्कृतिक सेना र जनमुक्ति सेनाको संरचना र कार्य एउटै हँदैन भनेको सन्दर्भ हाम्रा सामु थियो । तर ब्रिगेड र डिभिजन बनाउँदा मात्र क्रान्तिकारी होइन्छ भन्ने र माओभन्दा क्रान्तिकारी देखिने चस्का लागेकाहरू यसमा सहमत भएनन् । प्रचण्डले पनि यसैमा ताली बजाए । यसबारे मैले निरन्तर बहस चलाएँ ।
२.कुनै पनि कृतिको सौन्दर्यशास्त्रीय पक्ष हुन्छ, यसलाई सङ्ख्या अथवा प्राविधिक किसिमले डण्डा लगाएर ठीकबेठीक भनेर खारेज गर्न मिल्दैन भन्ने माक्र्सवादी मान्यता हो । फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘प्रति+आगमन=प्रत्यागमन’ का सन्दर्भमा उठेका विवादलाईमैले सौन्दर्यशास्त्रीय आधारमा बहस चलाऔँ, अंश होइन समग्रमा हेरौँ, भनेर तर्क गरेँ । यसबारेमा पार्टीको सिक्लेस बैठकमा एक किसिमको “समझदारी” पनि बनाइयो र यो समझदारीलाई सांस्कृतिक विभागको बैठकमार्फत पनि व्यवस्थित गरियो । तर यो मुद्दालाई सम्मेलनको सेरोफेरोमा प्रायोजित र निर्देशित रूपमा उछाल्ने काम गरियो ।
३. केही साथीहरू जनसांस्कृतिक सङ्घलाई महासङ्घमा लैजाने हठमा लागे । मैले भखैरै ‘शान्तिप्रक्रिया’ आएको र स्थिति कसरी अगाडि बढ्छ प्रस्ट नभएकाले महासङ्घलाई अवधारणाका रूपमा स्वीकार गरौँ, आवश्यकता अनुसार सङ्घभित्र विभाग बनाऔँ, महासङ्घमा जान हतार गर्दा वैचारिक तथा साङ्गठनिक अस्तव्यस्तता आउँनसक्छ भन्ने मेरो धारणा थियो ।
फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘‘प्रति +आगमन=प्रत्यागमन’ का बारेमा सिक्लेस बैठकमा निर्णय भइसकेकाले सांस्कृतिक विभागको बैठकमा यो विषय त्यति बहसको विषय भएन । मूल बहस सांस्कृतिक क्षेत्रमा बटालियन र ब्रिगेड बनाउने कुरामै रह्यो । प्रचण्ड–बाबुरामले पनि यस विषयमा गोलमटोल कुरा मात्र गरे । माइला लामा र ज्ञवाली ब्रिगेड र डिभिजनको रमाइलोमा थिए । त्यसपछि सबै कुरा सम्मेलनमा लगेर हल गर्ने भनियो । तर सम्मेलनमा वैचारिक बहसको सट्टा होहल्ला र गुन्डागर्दीले प्रभुत्व कायम गर्यो । खासगरेर आफूलाई आधारइलाकाका भन्न रुचाउने केही हुल्लडबाजहरूले ममाथि भौतिक रूपमै आक्रमण गर्ने प्रयास गरे । केही त जथाभावी लेख्नेलाई अब सांस्कृतिक सेनाले ठोक्छ भन्दै कुर्सी भाँचेर ममाथि आक्रमण गर्नथाले । भित्री निर्देशन आधारइलाकाका बडे कमरेडहरूको थियो भन्नेमा म प्रस्ट थिएँ । प्रमुख अतिथि भएर आएका देव गुरुङ्ले पनि आगोमा घिउ थप्ने काम गरे । कस्ता मान्छेलाई सांस्कृतिक मोर्चामा ल्याएइछ भन्ने लाग्यो । यस किसिमको भद्रगोलमा सांस्कृतिक मोर्चामा रहनुको औचित्य रहेन ।
सांस्कृतिक सम्मेलनमा देखिएको गुन्डागर्दीको यो समाचारलाई अन्य पत्रिकाका साथैजनआस्थाले पनि विशेष रुचिका साथ छापेको थियो । यो ‘सम्मेलन’ पछि मैले तयार पारेको र पार्टीको सांस्कृतिक विभागले पारित गरेको प्रतिवेदनमा पूरै परिवर्तन गरेर उल्टोपाल्टो पारिएछ । सबैभन्दा आपत्तिजनक कुरा इतिहासको तोडमरोड गरेर सारै विकृत ढङ्गले प्रस्तुत गरिएछ । यो जनसांस्कृतिक सङ्घको प्रतिवेदन नभएर विकृत दस्ताबेजमा परिणत भएको थियो । २०६० सालमा सांस्कृतिक मोर्चाको केन्द्रमा ल्याइएका ईश्वरचन्द्र ज्ञवालीले नेकपा ( एकताकेन्द) बनेपछि तीनवटा सांस्कृतिक मोर्चाको एकताद्वारा बनेको संयोजन समिति २०४७ मा आफू पनि रहेको भनेर प्रतिवेदनमा लेखेछन् र त्यस समयमा रहेका अन्य साथीहरूको नाम हटाएछन् । मैले यसलाई घोर आपत्तिजनक ठानेँ । कसैको इतिहास नै गायब पार्नु र आफ्नो नाम थप्नु घोर अनैतिक काम थियो ।
यो सन्दर्भपछि सांस्कृतिक मोर्चासित मेरा ५ ओटा विषयमा मतभेद रहेको कुरा प्रकाशमा ल्याएँ । पहिलेका तीनवटामा अरू दुईवटा थपिएका थिए : १. प्रतिवेदनमा ज्ञवालीले गरेको इतिहासको विकृतीकरण सच्याउनुपर्ने र उनीमाथि कारबाही गर्नुपर्ने र २. वैचारिक बहसको सट्टा सम्मेलनमा भएको गुण्डागर्दी गैरमार्क्सवादी कार्य थियो भन्ने निर्णय गर्दै त्यसो गर्नेहरूमाथि कारबाही गर्नुपर्ने ।
समयले मैले उठाएका कुराहरू सही साबित गरेको छ । अहिले वैचारिक तथा साङ्गठनिक दुवै दृष्टिले सांस्कृतिक आन्दोलन लथालिङ्ग र भताभुङ्ग भएको छ । त्यतिबेला गुण्डागर्दी गर्नेहरू कतिपय आन्दोलनबाट पलायन भएका छन् र कतिपय सिसिएम र पिबिएम भएर विभिन्न ‘माओवादी’ मा बाँडिएका छन् ।
दस बर्स हुनलागेछ । त्यसपछि एउटै पार्टी र जनयुद्धको कालको केन्द्रीय संयोजक भएर पनि अहिलेसम्म जनसांस्कृतिक सङ्घ (हाल महासङ्घ) को कुनै पनि कार्यक्रममा म सहभागी भएको छैन र माथि मैले अगाडि सारेका मुद्दाहरू समाधान नहोउन्जेलसम्म सहभागी हुने स्थिति पनि छैन । त्यतिबेला ‘शान्तिप्रक्रिया’ को रमझममा प्रचण्ड–बाबुरामका लागि सांस्कृतिक मोर्चाका समस्या त्यति महत्वका भएनन् । तर किरण कमरेड जेलबाट छुटेर आएपछि यस सन्दर्भमा उहाँबाट जेजस्तो भूमिकाको आशा र विश्वास गरेको थिएँ, त्यो हुन सकेन । उहाँकै इन्चार्जसिपमा विकृतिलाई अनुमोदन गरियो । विकृतिमाथि विकृति थपियो । सांस्कृतिक आन्दोलनका समस्या कसरी हल गर्ने र कसरी अघि बढ्ने भन्ने कुरामा किरण कमरेडसित अलिकति पनि विचारविमर्श हुनसकेन । यसमा उहाँको रुचि नै रहेको पाइँन । बरु त्यतिबेला मैले उठाएका प्रश्नहरूमा किरणभन्दा प्रचण्ड केही सकारात्मक, सहयोगात्मक र खुलस्त देखापरेको अनुभूत मलाई भएको थियो । एउटै पार्टीमा छँदा चीन जानुभन्दा अघि सायद २०६६ असोजमा प्रचण्ड–किरणले नयाँ बजार निवासमा मलाई बोलाएर छलफल चलाएका थिए । त्यहाँ पनि मैले उठाएका मुद्दाहरूको सन्दर्भमा किरण कमरेडभन्दा प्रचण्डमै मैले बढी प्रस्टता र खुलस्तता अनुभूत गरेको थिएँ ।
अब यताको १० वर्षको लेखाजोखा गर्नु आवश्यक छ । ज्ञवाली मात्र होइन । यी १० वर्षमा सांस्कृतिक आन्दोलनका समस्या समाधान गर्न, विकृतिहरू हटाउन र एकताबद्धका साथ सांस्कृतिक आन्दोलनलाई अघि बढाउन फ्याक्सन इचार्ज बनेकाहरूको भूमिका केकस्तो रह्यो त्यसको पनि समीक्षा हुनु जरुरी छ । ज्ञवालीद्वारा इतिहासलाई विकृत पारिएको र लाल सलाम फिल्मलगायतका घटनाहरूका भएका भ्रष्टाचारहरूलाई लिएर ‘महासङ्घ’ मा प्रश्न उठेपछि छानबिन आयोग बनेको कुरा चर्चामा आए पनि आफू त्यसमा नरहेकाले यसबारे विस्तृत रूपमा केही भन्न सक्ने स्थिति छैन ।
जहाँसम्म इच्छुक प्रतिष्ठानको कुरा छ । प्रतिष्ठान बनाउने निर्णय पार्टीको फुन्टिवाङ बैठकपछि रोल्पाको इरिवाङमा बसेको सांस्कृतिक मोर्चाको बैठकले गरेको थियो । भारतीय जेलबाट छुटेर आएपछि ठमेलको होटलस्थित प्रचण्ड क्याम्पमा कमरेड किरणको संयोजकत्वमा सुरुमा म र पाख्रिनको समिति बन्यो र पछि अरू नाम थपिँदै गएका हुन् । ज्ञवाली यहाँ पनि दुई वर्षपछि जोडिएका हुन् ।
अहिले इच्छुक प्रतिष्ठानमा पनि भ्रष्टाचारका कुरा आएका छन् । मलाई थाहा छ यससित पनि थुप्रै गुप्त अगुप्त पक्ष जोडिएछन् । महँगोमा आफ्नो जग्गा प्रतिष्ठानलाई बेच्नु, भाउ बढेको बेला त्यही जग्गा फेरि आफैँले पहिलेभन्दा सस्तोमा किन्नु र त्यो पैसा पनि प्रतिष्ठानको खातामा नराखी आफ्नै खातामा राख्नु जस्ता प्रश्नहरू उठेका छन् । यसो हो भने यो महाअपराध हो । पछिल्ला दिनमा प्रतिष्ठानको भवन ठेकेदार र रेखदेख गर्ने इन्जिनियरसित रिसोर्टहरूमा ज्ञवाली लगायतको टोलीले रमाइलो गरेको समाचार पनि आएका छन् । समयसन्दर्भमा यो सबै बाहिर आउँनेछ नै ।
कृष्ण सेन इच्छुकसित जोडिएको संवेदनशील विषय भएकाले समग्र पार्टी यसमा गम्भीर हुनु आवश्यक छ । सांस्कृतिक मोर्चा र आन्दोलनका समस्या हल गर्न इच्छाशक्ति नदेखाउनु, मोर्चा र प्रतिष्ठानमा भएका अनियमितता र भ्रष्टाचारका सन्दर्भप्रति गम्भीर नहुनुले गजुरमा बसेकाहरू पनि प्रश्नभन्दा बाहिर हुनसक्तैनन् । नेताहरूका घरका तला थपिँदै जाने र तलका सांस्कृतिक कलाकर्मीहरू बेघरबार र भोकभोकै रहने स्थितिले ल्याउने परिणाम दुखद र भयावह पनि हुनसक्छ । भ्रष्टाचारका प्रमाणहरू सामुन्नेमा हुँदा पनि थाहा नपाएझैँ गर्नु भनेको सारतः त्यसको हिस्सा बन्नु हो । यस किसिमको निस्पृहताले दुर्घटना निम्त्याउँछ । यस यथार्थलाई बाल्कोनीमा बसेका सबैले बुझ्नु आवश्यक छ । विकृतिको थुप्रोमा रमाएर सुन्दरको कुरा गर्नुको अर्थ छैन । इच्छुकको सम्मान गर्दै नेपाल सरकारले दिएको पैसा कुनै व्यक्तिको घरका तला थप्न होइन । बडे कमरेडहरू ! अब कसको विरुद्ध लढ्ने हो—सरकारका विरुद्ध कि इच्छुकका नाममा घरका तला थप्नेहरू विरुद्ध ? समयले उत्तर मागेको छ । आगे ‘प्रभुको इच्छा’ ।

(यसबारे थप कुरा अब निरन्तर बाहिर ल्याउनेछु l)
०००
www.thenextfront.com बाट साभार 

माओवादी एकताबारे - ऋषिराज बराल

एकताको नारामा विसर्जनवादको अभ्यास

Baral 3







ऋषिराज बराल
यतिबेर मुलुक असाध्यै जटिल अवस्थामा छ । हिजो हामीले महान् जनयुद्धका क्रममा आर्जित गरेका समग्र सौन्दर्यमूल्यहरू ध्वस्त पारिएका छन् । देशी–विदेशी प्रतिक्रियावादी वर्ग महान् जनयुद्धको त्यो गरिमामय १० बर्से इतिहासलाई कालो इतिहासको रूपमा चित्रित गर्न उद्यत् रहेको छ र बलिदानको बाटो रोज्ने महान् योद्धाहरूलाई अपराधी प्रमाणित गर्ने तारतम्य रच्तैछ । यस्तो बेला ती प्रतिक्रियावादीहरूको पाखण्डपनको विरुद्ध सच्चा क्रान्तिकारीहरू एकताबद्ध हुनु आवश्यक छ ।
नेपाली माओवादी क्रान्ति बडो सङ्गीन अवस्थाबाट गज्रिरहेको छ र यसले एकपल्ट पुनः व्यापक एकता र बृहत् आन्दोलनको माग गर्दछ भन्ने कुरामा विवाद छैन । परन्तु एकता कोसित र केकालागि भन्ने कुरामा चाहिँ प्रस्ट हुनु आवश्यक छ र मूल कुरा पनि यसैमा निहित छ । को हुन् सच्चा माओवादी त्यसको प्रस्ट परिभाषा र पहिचानबिना एकताबद्धताको कुरा गर्नु भनेको बालुवाको घर बनाउनुजस्तै हो । होहल्ला गर्नु र सिद्धान्तनिष्ट एकता गर्नु अलग कुरा हुन् । 
विश्व माओवादी क्रान्ति यतिखेर दोहोरो मारमा परेको छ । साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूबाट प्रहार हुनु अस्वाभाविक होइन । परन्तु माओवादको आवरणमा माओवादी आन्दोलनलाई नै ध्वस्त पार्ने जुन काम भइरहेको छ, यो साँच्चिकै गम्भीर विषय छ । आज एकताबद्धताको कुरा गर्दा यो पक्षलाई पनि ध्यानमा राख्नु आवश्यक छ । यति मात्र नभएर एकताबद्धताको कुरा गर्दा नेपालको माओवादी आन्दोलनलाई यस्तो वृशृङ्खलताको स्थितिमा पुर्याउन ककसको, कहाँकहाँ केकस्तो भूमिका रह्यो, त्यसको पनि निर्मम समीक्षा गर्नु आवश्यक देखिन्छ । यो समीक्षामा नरमगरम कोही पनि अछुतो रहने स्थिति छैन ।
समयक्रममा सैद्धान्तिक तथा व्यावहारिक रूपमा सबै कुरा प्रस्ट भइसकेका छन् । नेपाली जनताले महान् जनयुद्धमार्फत आर्जन गरेका समग्र वैचारिक, राजनीतिक, फौजी र सांस्कृतिक मूल्यलाई देशीविदेशी प्रभुहरूलाई सुम्पेर आत्मसमपर्ण गर्ने प्रचण्ड–बाबुरामहरूको नेपाली क्रान्तिप्रतिको गद्दारीका कारण नेपालको माओवादी आन्दोलनले अकल्पनीय रूपमा वैचारिक विचलन र सङ्गठनात्मक विसर्जनको स्थिति भोग्नु परेको हो । तिनले नेपाली मुक्तिकामी जनतालाई मात्र धोका दिएका छैनन, भारतीय फासिवादी सत्ताका विरुद्ध जीवनमरणको निर्मम लडाइँ लडिरहेका भारतीय माओवादीहरूका विरुद्ध सोनियाँ गान्धीलाई चिठी लेखेर आफ्नो जनविरोधी र राष्ट्रघाती कुरूप अनुहार पनि प्रदर्शित गरिसकेका छन् । प्रचण्ड–बाबुराम समूहमा कतिपय इमानदार कार्यकर्ता होलान्, परन्तु, नेतृत्व तह र सङ्गठनात्मक दृष्टिले एकीकृत नेकपा (माओवादी) क्रान्तिप्रति गद्दारी गर्ने समूहको रूपमा स्थापित भएको छ र वैचारिक र राजनीतिक दृष्टिले नवप्रतिक्रियावादका पतन भइसकेको छ । नयाँ जनवादी क्रान्ति र वर्गीय प्रश्नलाई त्यागरे डलरवादी जातीयतावादीहरू र मधेसका सामन्तहरूसितको उसको बढ्दो उठबस र गठजोडले पनि यसै कुराको द्योतन गर्दछ ।
वैचारिक र राजनीतिक दृष्टिले पतन भइसकेपछि प्रचण्ड समूह अहिले आफ्नो अस्तित्व रक्षाका लागि एकताको होहल्ला गर्दैछ र हातमा सुनको सिक्री लिएर लोभी बाहुनलाई आकर्षित गर्ने बूढो बाघको कथाको पुनरावृत्ति गर्दैछ । यसप्रति हामी चनाखो हुने कुरा त छँदैछ । यसका साथै यतिखेर क्रान्तिको करा गर्ने तर व्यवहारमा कहिल्यै अघि नसर्ने सारसङ्ग्रहवादी अकर्मण्यतामा फसेकाहरू हातमा सुनको सिक्री लिएको बूढो वाघको वाक्छलप्रति लालायित भइरहेको स्थिति पनि हामी अनुभूत गरिरहेका छौँ । यसप्रति पनि त्यत्तिकै गम्भीर हुनु आवश्यक छ ।
नयाँ जनवादी क्रान्ति परित्याग गरेको र वैचारिक र राजनीतिक रूपबाट धेरै पर पुगिसकेको प्रचण्ड समूहसित एकता गर्नु भनेको वैचारिक र साङ्गठनिक दृष्टिले विसर्जनवादलाई अँगाल्नु हो र यो भनेको नेपाली क्रान्तिप्रतिको अर्को किसिमको गद्दारी हो । वर्गीय प्रश्नबाट असम्पृक्त पारेर नेपालको माओवादी आन्दोलनलाई तहसनहस पार्न थालिएको अवस्थामा एकताका नाममा हुनथालेका विचारविहीन नाना थरीका नाटक र अभ्यासप्रति पनि हामी त्यत्तिकै सजग हुनु आवश्यक छ । जात, क्षेत्र, लिङ्गको उखरमाउलो सँगै अहिले फेरि उमेरवादको उखरमाउलो आरम्भ भएको छ । यस्ता विसङ्गतिबाट माओवादी आन्दोलनलाई जोगाउने हो भने क्रान्तिकारीहरूले कतिपय साँधसिमाना र पर्खालहरू भत्काउनु आवश्यक छ र नयाँ प्रतिबद्धताका साथ मालेमाको झण्डालाई माथि उचाल्नु आवश्यक छ । यस कार्यमा बौद्धिक–सांस्कृतिक क्षेत्रको अहम् भूमिका रहने कुरा पनि प्रस्ट छ ।
आज राजनीतिक क्षेत्रले जुन किसिमको वैचारिक तथा राजनीति ऊर्जा र उत्प्रेरणा दिन सक्नुपर्दथ्यो, त्यो हुनसकेको छैन । अध्ययन–चिन्तनप्रति भन्दा भीडतन्त्रमा रमाउने प्रवृत्ति युवा पुस्तामा विकसित हुँदो छ । माओवादी आन्दोलनका लागि यो शुभसङ्केत होइन । माओवादको नाम लिएर विसर्जनवादको जसरी अभ्यास भइरहेको छ, यो निकै खतरनाक छ । ‘नवसंशोधनवाद’ सितको मेलमिलापले माओवादी आन्दोलनमा थप अन्योल र भ्रम मात्र उत्पन्न गर्ने छ । ‘पोलिटिक्स इन कमाण्ड’ मा कतै विमति छैन । तर माओले, भनेझैँ राजनीतिले गलत बाटो लिएमा अधिरचनाका अन्य अङ्गहरू अगाडि आउनैपर्ने हुन्छ र यतिबेर सांस्कृतिक–बौद्धिक क्षेत्रका सामु यो जिम्मेवारी आएको छ । मालेमाको रक्षाका लागि समयले एकपल्ट फेरि विद्रोहको झण्डा उठाउन हामीलाई आह्वान गरेको छ ।
माओवादी आन्दोलन भनौँ सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने कुरामा विमति छैन । तर यो भावना र भावुकताको रहर र लहड हुन सक्तैन । भीडतन्त्र जम्मा गर्नु र सिद्धान्तनिष्ट बोल्सेविक पार्टीको निर्माण गर्नु एउटै कुरा होइन । समयले नयाँ आधारमा नयाँ एकताको माग गरेको कुरा सही हो । एकताबद्धताको कुरा गर्दा आधारभूत रूपमा तलका बुँदामा प्रस्ट हुनु आवश्यक छ : १. मार्क्सवाद– लेनिनवाद– माओवाद नेपाली क्रान्तिको निर्देशक सिद्धान्त हो । २. नयाँ जनवादी क्रान्ति नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम हो । ३. ‘क्रान्तिका तीन जादुगरी हतियार’ नेपाली क्रान्तिका आधारभूत पक्ष हुन् र ४. नेपाली क्रान्ति वर्गसङ्घर्षको (यसलाई एकीकृत वर्गसङ्घर्ष पनि भन्न सकिन्छ) बाटो भएर अघि बढ्छ र अन्ततः यसले नेपाली विशिष्टताको जनयुद्धको चरित्र ग्रहण गर्छ । यी आधारभूत पक्षका साथै यताका दिनमा नेपाली समाजमा सहरीकरण बढ्दो रूपमा भए पनि अझै पनि नेपाली क्रान्तिमा गाउँ नै आधारभूत र प्रधान पक्ष हो र बाह्य शक्तिका दृष्टिले भारतीय विस्तारवाद नै नेपाली नयाँ जनवादी क्रान्तिको प्रमुख दुस्मन हो भन्ने कुरामा पनि हामी प्रस्ट हुनु जरुरी छ ।
यिनै आधारभूत पक्षहरूका आधारमा नै हामी एकताबद्धताका साथ जान सक्छौँ । अन्यथा यसले विसर्जनवादसिबाय केही निम्त्याउने छैन ।

चैत ३, २०७१

साभार - www.thenextfront.com
==================================================

फेरि एकताको होहल्ला

new photoऋषिराज बराल
आजभोलि नेकपा- माओवादीसित सम्बद्ध एकथरी मान्छेहरू प्रचण्ड समूहसित एकता हुँदैछ भनेर होहल्ला गर्न थालेकाछन् । ”विना सर्त एकता हुँदैछ” भनेर समेत हल्ला गरिएको कुरा मोफसलका साथीहरूले सुनाउने गरेका छन् । विप्लवजीहरू नजाउन्जेल यो होहल्ला प्रचण्डहरू गर्दथे l अहिले यसको चटारो बुद्धनगरतिर सरेको देखिन्छ । तर विगतमा पार्टी किन फुट्यो, खासगरेर विप्लवजीहरूले ”सम्बन्ध विच्छेद” गर्नुपर्ने स्थिति किन आइपर्यो भन्ने कुराको समीक्षा गर्नु चाहिं उनीहरू आवश्यक ठान्दैनन् ।

हामीले मूलरूपमा लड्ने भनेको प्रतिक्रियावादी सत्ताकै विरुद्ध हो । तर कहिलेकाहीँ प्रतिक्रियावादी सत्ताका लागि लड्ने भनेको पार्टी नै आफ्ना लागि प्रतिक्रियावादी सत्ताझैँ आक्रामक बन्दो रहेछ र त्यसका विरुद्ध आफुसित जेजस्ता हतियार छन्, उठाउनु पर्दोरहेछ । नेकपा–माओवादीको पोखरा बैठकपछि जेजस्तो स्थिति उत्पन्न भयो, खासखास पात्रहरूमाथि जे–जस्तो प्रवृत्तिको प्रदर्शन गरियो, त्यसले यस किसिमले सोच्न र निष्कर्ष निकाल्न बाध्य हुनुपरेको स्थिति छ ।
यो प्रवृत्ति माओवादी पार्टीको चितवन कार्यालय बिक्रीप्रकरणमा अझ खुलेर आयो । हुकुमी शैलीमा कमरेड अनिलमाथि गरिएको कारबाही यस प्रवृत्तिको उच्च रूप थियो । सत्य के हो भने यो प्रवृत्ति पनि नेकपा–माओवादी विभाजनसित सम्बद्ध एउटा प्रमुख कारकतत्व बन्यो । प्रचण्डसित सम्बन्ध विच्छेद गरेपछि क्रान्तिकारी कार्यदिशा तय गरेर अघि बढ्नुको सट्टा प्रचण्ड–बाबुरामलाई गाली गरेरै हामीले आफुलाई क्रान्तिकारी साबित गर्ने प्रयास गर्यौं । रमाइलो कुरा के छ भने आजभोलि प्रचण्डसित उठबसका नयाँनयाँ अध्यायहरू आरम्भ हुनथालेका घटनासन्दर्भहरू सतहमा आउनथालेका छन् । अमुकअमुक ठाउँका अमुकअमुको बसाइ र स्याम्पेननका बोतलहरू रित्तिएका सूचना पनि आउनथालेका छन् ।
हाल नेकपा, माओवादीका महासचिव बनेका नेत्रविक्रम चन्द ‘विप्लव’ को दस्ताबेज त्यसमा पनि कार्यदिशाप्रति मेरो पूर्ण विमति रह्यो र रहेको छ । गत माघमा भएको नेकपा–माओवादीको राष्ट्रिय भेलामा कमरेड किरणद्वारा प्रस्तुत दस्ताबेजको कतिपय पक्षप्रति मेरो सहमति भए पनि कार्यदिशाप्रति मेरो सहमति रहेन । गत महाधिवेशनदेखि नै मेरा फरक मत थिए र अहिले आएर ती झन् बढेका छन् । सातौँ महाधिवेशनको स्पिरिटबाट पार्टी पछि फर्केको भन्ने मेरो ठहर छ । मेरो भिन्न मत पार्टीमा सुरक्षित रहेको कुरा राष्ट्रिय भेलामा पनि प्रस्ट पारिएको हो । दुई लाइन सङ्घर्ष निरन्तर चल्ने प्रक्रिया भए पनि फरक मतका कमरेडहरूप्रति गरिएको व्यवहार हेर्दा पार्टीमा एकछिन पनि बस्न सक्ने अवस्था थिएन र भिन्न शैलीमा त्यो प्रवृत्ति यथावत रहेको कुरा मैले महसुस गरेको छु ।
कुरा त हामी सामूहिकताको गर्छौँ, तर हरहमेसा आफ्नो अस्तित्वका लागि चिन्तित भइरहन्छौँ । हामी एकअर्कासित तर्सिएका छौँ र आतङ्कित छौँ । हामी आफ्नो कुर्सीका लागि त अत्यन्त चिन्तित भयौँ, तर सारा जीवन क्रान्तिकारी आदर्शका लागि सुम्पेका असारे काका कमरेडको क्रान्तिकारी उत्साह र समर्पणभावको सम्मान गर्दै उचित जिम्मेवारी दिनुपर्छ भन्ने कुरा सोच्न र बुझ्न हामीले सकेनौँ, उल्टै प्रताडित गर्यौं । जुझारु युवा नेता अनिल कमरेडमाथि दुस्मनका झैँ व्यवहार गरियो, अपराधीका झैँ लखेटेको लखेटै गरियो । क्रान्तिकारी युवा पङ्क्तिलाई संरक्षित र प्रोत्साहित गर्दै कसरी नेतृत्व तहमा विकास गर्नेमा भन्दा कसरी आसेपासे, भाइभतिजा र श्रीमतीहरूलाई टुप्पीमा तानेर माथि ल्याउने भन्नेमा हाम्रो चिन्ता र चिन्तन केन्द्रित रह्यो । हरहमेसा हामी गणितीय हिसाबमा अलमलियौँ । विधानले मतदानबाहेक सबै अधिकार वैकल्पिक केन्द्रीय सदस्यलाई प्रदान गरेको अवस्थामा पनि गत असारमा भएको केन्द्रीय समतिको बैठकमा दस्ताबेजमाथि छलफलको त कुरै छाडौँ, फरक मतको दस्ताबेज पढ्नसमेत वैकल्पिक केन्द्रीय सदस्यले सानोतिनो लडाइँ नै लड्नुपर्यो । वैकल्पिक केन्द्रीय सदस्यलाई अछुतका झैँ असाध्यै अपमानपूर्ण व्यवहार गरियो । यो सबै सम्झेर ल्याउँदा एउटै घरमा एकछिन पनि बस्ने स्थिति थिएन । फलस्वरूप नेकपा–माओवादीभित्रको एउटा महत्वपूर्ण हिस्सा नयाँ पार्टी निर्माण गर्नेतिर लाग्यो ।
विडम्बनाको विषय के छ भने विप्लवजीहरू पार्टीबाट अलग हुने स्थिति किन र कसरी उत्पन्न भयो भनेर गम्भीर समीक्षा हुनसकेको छैन । हिजोका २ वर्ष प्रचण्ड–बाबुरामलाई गाली गरेर बिताएझैँ गाली पुराणको नयाँ अध्याय आरम्भ भएको छ । अन्तर्विरोधलाई सही किसिमले सञ्चालन गरेको भए, सही किसिमिले पार्टी सञ्चालन गरिएको भए, फरक मत राख्नेबित्तिकै दुस्मनका झैँ व्यवहार नगरिएको भए र भित्रैदेखि पार्टीलाई एकताबद्ध गरेर लाने इच्छाशक्ति देखाएको भए विप्लवजीहरू छुट्टिने स्थिति नै बन्ने थिएन । कमजोरीको यो पाटोबाट मूल नेतृत्वमा रहेका कमरेडहरू पन्छिन मिल्दैन । फरक मत के थियो भन्ने कुरा व्यवस्थित किसिमले तल पुग्ने र बहसछलफल हुने स्थिति नै बनेन । अहिले दुवै पक्षले प्रकाशित गरेको दस्ताबेजमा प्रचण्डसित सम्बन्ध विच्छेद गरेको लगत्तै दुई लाइन सङ्घर्ष आरम्भ भयो भनेर लेखिएको छ । केही कुरा सङ्केतात्मक रूपमा आए पनि प्रस्ट रूपमा दुवै दस्ताबेजमा दुई लाइन सङ्घर्षको मूल चुरो के थियो भन्ने कुरा उल्लेख गरिएको छैन । एकले अर्कालाई दोषी प्रमाणित गर्न मात्र खोजिएको देखिन्छ ।
आरम्भदेखि नै दुई लाइन सङ्घर्ष थियो भने नेतृत्व तहले समयमै यसलाई व्यवस्थापन गर्ने काम किन गरेन भन्ने पश्न उठ्नु स्वाभाविक छ । नेतृत्व तहमा भएका बहसछलफलहरू तलसम्म नलैजानु गम्भीर गल्ती थियो । पोलिटब्युरोभन्दा तल त पार्टी नै होइन रहेछ भनेर बुझ्नुपर्ने अवस्था रह्यो र अब यो अवस्था स्यायी समितिको नामको अकर्मण्य टोलीमा स्थानान्तरित भएको छ । वैकल्पिक सदस्यहरूको हैसियत साक्षी किनारामा सदरमा सीमित रह्यो । राष्ट्रिय भेला स्थगित गरेपछि विशेष महाधिवेशनको मिति नतोक्नु अर्को गल्ती थियो । यसले वैचारिक अन्योल, उकुसमुकुस, अराजकता र सङ्गठनात्मक भद्रगोलको स्थिति उत्पन्न भयो । यी पक्षहरू नै पार्टी फूट र विभाजनका थप कारक तत्वहरू बने ।
कमरेड किरण र कमरेड विप्लवको दस्ताबेजको तुलनात्मक अध्ययन गर्ने अवसर कार्यकर्ताले पाएनन् । विप्लवको सिङ्गो दस्ताबेज सिकारु मान्छेले लेखेको निबन्धजस्तो र कार्यदिशा अमूर्त छ । अझ सम्बन्ध विच्छेदका लागि जेजस्तो प्रक्रिया अवलम्बन गरियो, यो थप रहस्यमय छ । र पनि विभाजनको स्थिति उत्पन्न हुनुमा नेतृत्वको बागडोर समालेका कमरेडहरू नै मूलरूपमा जिम्मेवार हुनुहुन्छ भन्ने कुरामा चाहिँ प्रस्ट हुनु आवश्यक छ । स्थितिलाई गम्भीरतापूर्वक लिन सकेको भए, महाधिवेशनको मिति तोक्ने र दस्ताबेजलाई तलसम्म लैजाने अवस्था रहेको भए फूटको सम्भावना कम थियो र यत्रो शक्तिको क्षयीकरण पनि हुँदैनथ्यो । यथार्थतः दुई लाइन सङ्घर्षमा निषेधात्मक द्वन्द्ववाद प्रयोग गरियो । यसको जिम्मेवारी माथिल्ला कमरेडहरूले लिनैपर्ने हुन्छ । यस अर्थमा समस्या विचार र सङ्गठन परिचालनमै हो । जो जति ठूलो जिम्मेवारीमा छ, पार्टीलाई एकताबद्ध गरेर लैजाने दायित्व पनि उसैको हुन्छ । यताका दुई वर्षको समग्र समीक्षा नगरी अब अगाडि बढ्ने कुराले गति लिन गारो छ ।
प्रचण्डसित सम्बन्ध विच्छेदपछि यताको समयले थुप्रै कुरा देखाएको छ । विप्लवजीका कमजोरी रहेनन् भन्ने होइन, तर मूल समस्या मूल जिम्मेवारी लिएका कमरेडहरूमै रह्यो । कार्यदिशालाई थप समृद्ध नपारेसम्म, फरक मत राख्नेलाई सिध्याउनै खोज्ने प्रवृत्ति नरोकिएसम्म र कार्यकर्तालाई उसको योग्यता र क्षमता अनुसारको जिम्मेवारी दिने प्रवृत्तिभन्दा दासत्व प्रवृत्तिमा रमाउने संस्कृति नहटेसम्म पार्टीमा पहिरो जाने क्रम रोक्न गारो हुन्छ । पार्टीले ऊर्जा दिने हो पीडा होइन । नेतृत्वले उत्प्रेरणा दिने हो, प्रतिशोध लिने होइन । सत्य के हो भने हामीले नयाँ पार्टीको स्वरूप त दियौँ, तर ‘प्रचण्ड मानसिकता’ बाट चाहिँ मुक्त हुनसकेनौँ । नेताहरूमै आत्मकेन्द्रित व्यक्तिवादको विकराल स्वरूप देखापर्यो । फलस्वरूप गुटवादी प्रवृत्ति हाबी भयो । नेतृत्व तहबाट क्रान्तिकारी आशावादको निर्माण हुनसकेन । पार्टी तदर्थवादी चिन्तनबाट अघि बढ्नसकेन ।
अहिले फेरि एकताको होहल्ला हुनथालेको छ र यसमा प्रस्ट हुनु जरुरी छ । क्रान्तिप्रति गद्दारी गर्ने प्रचण्डहरूसित ६ बुँदे सर्त छ र सच्चिएर आए मात्र एकता हुनसक्छ भन्ने निर्णय छ । यो भनेको सैद्धान्तिक सहमति मात्र नभएर व्यवहारमा पनि सच्चिने भनेको हो । विप्लव समूहलाई चाहिं घरबाट रिसाएर गएको परिवारको सदस्यका झैँ “ढोका खुला छ फर्केर आऊ” भनिएको छ । त्यसैले पनि नेकपा–माओवादीको सबैभन्दा नजिकको शक्ति र पार्टी भनेको विप्लव समूह नै हो । कतिपय कुरा विरोधाभासपूर्ण भए पनि जुझारु कार्यकर्ताको एउटा उल्लेखनीय पङ्क्ति विप्लव समूहसित छ भन्ने कुरा हामीले बिर्सनु हुन्न । यस अर्थमा हाम्रो सहकार्य र एकताको प्राथमिकता विप्लव समूहसित नै हुनुपर्छ । नयाँ पार्टी गठन गरेर क्रियाशील भएको पार्टी घर फर्क भनेर लुसुक्क ढोकाभित्र छिर्दैन भन्ने कुरा बुझ्नु आवश्यक छ । यो हात मिलाउने मार्क्सवादी तरिका पनि होइन ।
प्रस्ट कुरा के हो भने मधेसका सामन्त र डरलवादी–पहिचानवादीहरूलाई वरिपरि राखेर सत्ता बार्गेनिङ गर्ने र दिल्ली पुगेर भारतीय सत्ताधारीका सामु लम्पसार पर्ने प्रचण्ड–बाबुरामहरूसित होइन, नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध समूहसित एकताको पहल हुनुपर्छ । विप्लवहरूसित अछूतका झैं व्यवहार गर्नु र प्रचण्डको नारामा समाहित भएर उसकै कार्यकर्ताझैँ बनेर जुलुसमा उफ्रिनु भनेको पुच्छरवादी हुनु हो । यो भनेको विसर्जनवाद नै हो र यस किसिमको चिन्तनलाई मुर्दाबाद भन्नैपर्छ । पुच्छरवादी प्रवृत्तिले आन्तरिक अकर्मण्यताको स्थिति र इच्छाशक्तिको अभावका साथै वैचारिक टाटपल्टाइलाई मात्र द्योतन गर्छ । यो यथार्थप्रति गम्भीर नहुने हो भने, कार्यकर्ताको मानसिकताको ठीक ढङ्गले विश्लेषण र संश्लेषण नगर्ने हो भने पहिरो जानबाट रोक्न सकिने स्थिति हुँदैन । नेपाली क्रान्तिप्रति गद्दारी गर्ने र नयाँ जनवादी क्रान्तिबाट धेरै पर पुगेका प्रचण्डहरूप्रतिको मोह माओवादी आन्दोलनका लागि निकै घातक छ र हुन्छ भन्ने यथार्थलाई गम्भीरतापूर्वक लिई अहिलेको अवस्थामा सबैभन्दा नजिकको शक्ति विप्लव समूह भएकाले लाज नमानी उसित सहकार्य र एकताको प्रयास गर्नुपर्छ । यसमा दुवै समूहका इमानदार र क्रान्तिकारी नेता तथा कार्यकर्ताले पहल गर्नु आवश्यक छ । यसैमा पार्टी र सिङ्गो माओवादी आन्दोलनको हित छ ।

०००
साभार - www.thenextfront.com

===========================


ड्रपबक्समा राखेको एउटा चिठी

Baral NPऋषिराज बराल
मित्रहरू !
प्रचण्डले क्रान्तिप्रति गद्दारी गरे भन्ने निष्कर्षका साथ मोहन बैद्य ‘किरण’ को नेतृत्त्वमा हामीले २०६९ सालमा प्रचण्ड समूहका विरुद्ध विद्रोह गरेर नयाँ पार्टी बनायौं l केही दिन चहलपहल गरे पनि फेरि भित्रभित्रै सरकारमा जाने रकमी खेलभित्र कार्यकर्ता अल्मल्याउन थालेपछि बिस्तारै दुई लाइन सङ्घर्ष सुरु भयो l २०७० सालमा पोखराको केन्द्रीय समितिको विस्तारित बैठकसम्म पुग्दा आन्तरिक अन्तर्विरोध खुलेरै देखापर्यो l त्यस बैठकमा कडाइका साथ प्रस्तुत हुने अनिल शर्मा, ऋषिराज बरालहरू पार्टी कारबाहीको पहिलो निसाना बने l अनिल कमरेडलाई जिम्मवारीविहीन बनाएर कार्यालयमा राखियो र बराललाई The Next Front मा पार्टी नीतिविरूद्ध लेखेको भनी एक शब्द पनि नसोधी सार्वजनिक रूपमै चरित्र हत्या गरियो l मैले लेखेको टिप्पणी यस्तो थियो :

Before the CC meeting some of the senior members, who used to project themselves close to General Secretary were pleading for the participation in the CA election. Those who were pleading for the participation in the CA election, have come out from the dark cavern. This meeting has brought them in the daylight. This decision has done a great damage also for them, who were in the position to register the party in the Election Commission. Not only this, the dirty game of party re-unification, played in the closed room, also has ended. The revolutionaries have got victory over such bad tendencies.

सरल र सहज किसिमले मिलाउन सकिमे कुरालाई योजनाबद्ध किसिमले जटिल बनाइयो l पोखरा बैठकको निर्णयबाट आत्तिएकाहरूले ममाथि बन्चरो प्रहार गरे l कारबाही गर्ने यस्तो हुकुमी शैलीप्रति सहमत नभएकाले म कुनै पनि उत्तर दिने पक्षमा थिइन l दिनैपरे यस किसिमको दिन्छु भनेर लेखेको, तर त्यतिबेर सुरक्षित राखेको यो प्रतिक्रियालाई अब बाहिर ल्याउने समय भएको छ भन्ने मलाई लागेको छ l यो आलेख आफैंमा एउटा ऐतिहासिक साक्ष्य हो भन्ने पनि मेरो ठहर छ । यसलाई मैले ”ड्रपबक्समा राखेको एउटा चिठी” को संज्ञा दिएको छु l
=================================================================================================================================================================================
श्रद्धेय अध्यक्ष तथा पिबिएम कमरेडहरू !
हृदयदेखिकै अभिवादन
युद्धका भीषण मोर्चाहरू लडेर पनि ”अयोग्य लडाकु” को ट्याग भिर्न बाध्य जनयुद्धको एउटा वीर योद्धाका झैँ पार्टी जीवनको करिब २५ बर्से इतिहासमा वैकल्पिक केन्द्रीय सदस्यको ट्याग भिर्न ”योग्य” मैले अहिले तपाईंहरूबाट एउटा गजबको पुरस्कार पाएको छु, यसका लागि सर्वप्रथम म तपाईं कमरेडहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । सानातिना पुरस्कार त युद्धकालमा पनि पाएको थिएँ, तर यो पुरस्कार ऐतिहासिक नै छ । देशी-विदेशी प्रतिक्रियावादीहरू र सबैखाले अवसरवादका विरुद्ध हिजोका दिनदेखि लडेको लडाइं, अझ यताका दिनमा The Next Front मार्फत नेपाली जनताको मुक्तिका लागि क्रान्तिकारीहरूले गरेको सङ्घर्षलाई विश्वव्यापी गरेवापत, मेरो योगदानको उचित मूल्यांकन गर्दै श्रद्धेय पिबिएम कमरेडहरूले मलाई जुन सुन्दर पुरस्कार दिनु भएको छ, यसको जति बखान गरे पनि कम हुन्छ । यसका लागि म तपाईंहरूप्रति हृदयदेखि नै नतमस्तक छु । यस ‘पावन’ घडीमा म तपाईंहरूको उत्तरोत्तर प्रगति तथा समृद्धिको कामना पनि गर्दछु ।

अहिले भित्र, बाहिर चर्चा छ The Next Front को . र, चर्चा छ लेख्दै गरेको यो पात्रको पनि । असहिष्णुताको पोतो बोकेर अहिले उज्यालोमाथि कालो पोत्न खोजिएको छ । खुलेर भन्नुपर्दा केही व्यक्तिहरूले मेरा/हाम्रा विरुद्ध मोर्चा खोलेका छन्, तिनले मेराविरुद्ध अहिले बन्चरो नै उझ्याएका छन्। गजबको फैसला सुनाइएको छ ममाथि : ”दि नेक्स्ट फ्रन्टमा पार्टीको नीति र नेतृत्वमाथि अनर्गल प्रचार गरेको हुनाले ऋषिराज बराललाई दण्डको कसुरदार ठहर्याइएको छ ।”

दुख लाग्ने तर, एउटा रमाइलो कुरा । यस्तो निर्णयमा हस्ताक्षर गर्ने एकजना कमरेडलाई कसरी यस्तो निर्णय गर्नुभयो भनेर सोधेँ । मैले यस्तो जवाफ पाएँ : ”आफूले त्यो रचनाको त के कुरा वेबसाइट पनि आजसम्म हेरेको छैन, के लेखिएको छ, त्यो पनि थाहा छैन, यस्तो छ रे भन्ने मात्र सुनेको हुँ।” गजब अनुभूति हुन्छ : कसले गर्छ, यस्तो निर्णय, कसरी हुन्छ पिबिका नाममा यस्ता निर्णयहरू ! यही नै हो त हामीले भन्ने गरेको लेनिनवादी संगठनात्मक पद्धति ? l पटक्कै होइन । यहाँ मार्क्सवादलाई टाउको तल र खुट्टा माथि पारेर झुन्ड्याइएको छ ।
निकै उत्साहित थिएँ म पोखरा बैठकपछि । बैठकको स्पिरिटलाई जस्ताको तस्तै लेखें-त्यतिसम्म लेख्नु उचित हुन्छ भनेर, सबै कुरा रहस्यमय किसिमले पत्रिकामा आइसकेकै थिए । अलिअलि अंग्रेजीमा ज्ञान भएकाले त्यसलाई अंग्रेजीमा लेखेर अन्तराष्ट्रियकरण गरेँ The Next Front मार्फत । पार्टीकै माध्यमहरू पार्टीकै विरुद्ध लागेको देखिएकाले त्यसको पनि ‘चौतारी’ स्तम्भमार्फत एकाध टिप्पणी गरेको थिएँ । वास्तवमा यो निहुँ मात्र थियो । भयग्रस्त मानसिकताको द्योतक हो ममाथिको प्रहार, यो पोखरा बैठकको प्रतिशोध थियो । यो पराजित र कुण्ठाग्रस्त मानसिकताको परिचायक थियो । पार्टीभित्र कसरी सुदृढ एकता कायम गर्ने भन्दा पनि कसरी प्रतिशोध लिने भन्ने भावना प्रबल बनेपछि चौतर्फी भद्रगोल उत्पन्न हुनु स्वाभाविक हुन्छ ।

वैचारिक सङ्घर्ष, बहस र छलफलका ढोका बन्द गरेर र यसप्रति डण्डा बर्साएर धेरै दिनसम्म सत्यबाट मान्छेलाई विमुख गराउन सकिदैन । हुकुमी शासन र सामन्तवादका विरुद्ध हामी हिजोदेखि नै लड्दै आएका हौँ । कम्युनिस्ट आन्दोलन नयाँ सामन्तहरू जन्माउने कारखाना होइन र हुन सक्तैन । ऋषिराज बराल सङ्घर्षको आफ्नै इतिहास निर्माण गरेर यहाँसम्म आइपुगेको हो । ऊ आफ्नै क्षमता र आत्मसङ्घर्षले उभिएको मान्छे हो, कसैले टीका लगाएर र टुप्पी समातेर भर्याङ चढाएको मान्छे होइन । क्रान्तिका लागि लड्ने/मर्ने हो, कसैको दयाको पात्र बन्ने अथवा गुलामी गर्ने संस्कृति बरालसित कहिल्यै रहेन र हुने पनि छैन । दासत्व संस्कृतिमा रमाउनेहरू आफू पनि त्यही गर्छन् र अरूबाट पनि त्यसैको आशा गर्छन् । गलत कुरालाई सही भनेर, आत्मस्वाभिमानलाई बन्धक राखेर शीर निहुराएर हिंड्नु भनेको एकहिसाबले मर्नु हो । मरेको छाती लिएर हिंड्नुको के अर्थ ! अनुशासनको डन्डा लगाएर कसैमाथि धावा बोल्न सकिएला, तर उसको विचारलाई धस्त पार्न सकिने छैन । मान्छेलाई बोल्न पनि नदिई गरिएका हुकुमी फैसला मान्य हुनसक्तैन र छैन पनि । प्रोत्साहनका दुई शब्द व्यक्त गर्न नसक्नेहरूलाई प्रताडित गर्ने अधिकार पनि छैन । पार्टीले ऊर्जा दिने हो, पीडा होइन । नेतृत्त्वले उत्प्रेरणा दिने हो, प्रतिशोध लिने होइन ।

पोखरा बैठकको निर्णयले थुप्रैलाई आतंकित तुल्याएको छ । कायरहरूको मुटुले ढ्यांग्रो ठोकेको छ । तिनीहरू जनयुद्ध पदावलीदेखि पनि आतंकित हुनथालेका छन् । अहिलेको लडाइँ यही पोखरा बैठकको सेरोफेरोमा केन्द्रित छ । पोखरा बैठकको स्पिरिटभन्दा बाहिर गएर आफूले कतै लेखेको र बोलेको छैन र त्यो प्रतिबद्धताबाट आफू विचलित हुनेवाला पनि छैन । वास्तवमा ती कार्यकर्ता र नेताहरू जो पोखरा बैठकको निर्णयमा दृढताका साथ उभिएका छन्, तिनलाई तर्साउनु र आतंकित पार्नु अहिले एक थरीको धन्धा नै भएको छ । पोखरा बैठकपछि कतिपयहरू अमुकअमुक ”उग्रपन्थीहरू” लाई ठीक पार्नुपर्छ भनेर नामसूची नै लिएर हिंडेका छन् भन्ने कुरा पनि चर्चाको विषय बनेको छ । हामी सबैलाई थाहा भएको कुरा हो–क्रान्ति र मुक्तिको कुरा गर्नेहरू संसोधनवादीहरूका दृष्टिमा सदैव उग्रपन्थी ठहरिन्छन् ।

जनयुद्ध पदावलीको उच्चारण गर्नु पनि अपराध हुन थालेको छ आजभोलि । कसैलाई चाँहि छाडा साँढे जसरी छोड्ने र कसैलाई चाहिं छिसिक्क पनि बोल्न नदिने तानासाही प्रवृत्ति यतिबेर हामीकहाँ हाबी हुनथालेको छ । पार्टिका माध्यमहरू एकपछि अर्को बन्द गरेर र भएकाहरू पनि लथालिङ्ग पारेर हाइसन्चोमा सुतेकाहरू क्रान्तिकारी कार्यदिशाको पक्षमा उभिएका माध्यमहरूलाई एकएक बहाना बनाएर बन्द गर्न चाहन्छन् भन्ने कुरा प्रस्ट छ । अहिले ‘दि नेक्स्ट फ्रन्ट’ र बराल(हरू) माथिको प्रहार यसैको परिणाम हो भन्ने कुरामा कुनै शंका छैन । ‘दि नेक्स्ट फ्रन्ट’ माथि मात्र होइन, अरू माध्यमहरूलाई पनि आतंकित पार्ने दुष्प्रयास आरम्भ भइसकेको कुरा यताका घटना-सन्दर्भहरूले देखाएका छन् । हामीसित भएका माध्यमहरूलाई व्यवस्थित गरेर योजनाबद्धताका साथ कसरी विरोधीहरूविरुद्ध जुध्ने र पार्टीको नीति, योजना र कार्यक्रमहरूलाई सहयोग पुर्याउनेमा भन्दा कोटरीवादमा खेल्ने र रमाउने आदत बसिसकेपछि असहिष्णुता र निषेधात्मकताबाहेक दिलदिमागमा अरू केही आउँदैन । अहिले भएको यही हो ।

केही व्यक्तिहरू हीनत्वभाव र कुण्ठाले आक्रान्त हुन्छन्, ती बुद्धिजीवी-फोबियाग्रस्त हुन्छन् । ती बौद्धिक बहस-छलफल र अध्यन-चिन्तनबाट संत्रस्त्र हुन्छन् र आफ्ना कमजोरी र सीमाहरू-अनुभववाद, व्यवहारवाद र अकर्मण्यतालाई ढाकछोप गर्न हैसियतको डण्डा प्रयोग गरेर थर्काउने र तर्साउने गर्छन् । नेता हुनुको अहम् त हुन्छ उनीहरूमा, विगतको एउटा बिम्ब पनि हुन्छ, तर भित्र खोक्रो भइसकेको हुन्छ र ती हरहमेसा आतंकित मानसिकतामा हुन्छन् । यो एउटा सार्वभौम वैचारिक प्रश्न हो र यसबाट हाम्रो आन्दोलन असंपृक्त छैन ।

विचार र विवेकको तहबाट भन्दा आक्रोश, कुण्ठा र बदलाभावको तहबाट आएका एकलौटी फरमानहरूप्रति प्रश्न उठ्नु स्वाभाविक छ । कम्युनिस्ट आन्दोलन कसैको मौजा होइन र नेतृत्त्व पनि कसैको बपौती होइन । समयले सबैको सफलता र असफलताको हिसाबकिताब राख्दैआएको छ र भोलि पनि राख्नेछ । कोटरीको घेराबन्दीमा रमाउन थालेपछि इतिहास मात्र बाँकी रहन्छ भन्ने कुराको हेक्का राख्नु आवश्यक छ । इतिहासले मात्र पुग्दो रहेनछ । चुनौती त वर्तमानसित छ । प्राविधिक निर्णय स्वीकार्नु एउटा कुरा हो र श्रद्धा र आदरभाव अर्को कुरा हो । पार्टीमा रहेका सबै किसिमका क्षमताहरूलाई वैज्ञानिक किसिमले व्यवस्थित गरी क्रान्तिमा लगाउने भन्ने चिन्ता र चिन्तनले भन्दा आफ्नो स्थान गुम्ने हो कि भन्ने भयले आक्रान्त भएपछि मान्छेलाई आफ्नै छायाँले पनि आतंकित तुल्याउदो रहेछ । कुण्ठा, हीनत्वभाव र प्रतिशोधी मानसिकता र हुकुमी चिन्तनले ग्रस्त मान्छेहरूले कसरी क्रान्तिको नेतृत्त्व गर्न सक्छन् ! मनोविज्ञान खल्बलिएपछि र विश्वासका आधारहरू भत्किएपछि गाह्रो हुने रहेछ श्रद्धाको आयाम विस्तार हुन ।

पार्टीको सातौँ महाधिवेशपछि मैले एउटा लेख लेखेको थिएँ: ”महाधिवेशन : उत्साहहीन निष्कर्ष” । यो पनि त्यतिबेर निकै चर्चाको विषय बनेको थियो । यसलाई लिएर पार्टीभित्र केहीले प्रश्न उठाएका थिए भन्ने पनि सुनेको थिएँ । मैले प्रस्टताका साथ भनेको थिएँ :
”दीर्घकालीन जनयुद्ध र युवाहरूको सन्दर्भ आउने बित्तिकै आतङ्कित हुने प्रवृत्तिले आगामी दिनमा कसरी आन्दोलनको अगुवाइ गर्न सक्छ भनेर प्रश्न उठ्नु/उठाउनु स्वाभाविक छ ।…’प्रस्टताका साथ भन्नुपर्दा महाधिवेशन एउटा औपचारिकता पूरा गरेर समाप्त भएको छ । यस महाधिवेशनले कार्यकर्तामा जुन किसिमको ऊर्जा र उत्साह प्रदान गर्नुपर्थ्यो, त्यो हुनसकेन l क्रान्तिकारी आशावादको जुन किसिमको निर्माण गर्न सक्नुपर्दथ्यो, त्यो हुनसकेन । जनवादी केन्द्रीयताको अर्थ अलिअलि त हामीलाई पनि थाहा छ । यसैका नाममा धैरैपल्ट हामी प्रचण्डसित लडेका हौँ । पार्टीलाई क्रान्तिकारी निरन्तरता दिने हो भन्ने थुप्रै कुरामा शुद्धीकरण र सुदृढीकरण अभियान चलाउनु आवश्यक छ । अण्डाको ठाउँमा माटाका डल्ला राखेर जति ओथारो बसे पनि चल्ला निस्कने स्थिति हुँदैन ।”

मैले प्रस्टताका साथ के पनि भनेको थिएँ भनें :
”नयाँ पार्टी अब ”‘दीर्घकालीन जनयुद्ध’ र ‘जनयुद्धको जगमा जनविद्रोह” मा विभाजित भएको छ र यसलाई उमेरगत राजनीतिको परिणाम मात्र ठान्नु वा न्यूनीकरण गर्नु भूल मात्र हुनजान्छ । अहिलेको अवस्थामा नेतृत्वको उपल्लो पङ्क्तिको विकल्प छैन । तर सम्मान र विश्वास फरकफरक कुरा हुन् । विश्वासको अर्थ शङ्का पनि हो । नयाँ ढङ्गको पार्टी पुरानै ढङ्गले चल्न गारो छ भन्ने कुरालाई हाम्रा श्रद्धेय कमरेडहरूले गम्भीरतापूर्वक लिनु चाहिँ आवश्यक छ ।”

यहाँसम्म आइपुग्दा मैले उठाएका प्रश्नहरू सही थिए भन्ने कुरा समयले पुष्टि गरिसकेको छ । पोखरा बैठकपछि उपल्लो तहका नेताहरूले आफैंले आफ्नो सम्मानका आधारहरू घटाउंदैगएका छन् l हामी अलग हुनुको सार्थकतालाई पुष्टि गर्ने हो भने अब नयाँ किसिमले सोच्नु जरूरी छ । हामीले नयाँ पार्टीको स्वरूप त दियौँ, तर ‘प्रचण्ड मनासिकता’ बाट भने मुक्त हुनसकेनौं । कार्यकर्ताको योग्यता, क्षमता र क्रियाशीलताका आधारमा जिम्मेवारी दिनेभन्दा गुटवाद हाबी भयो l क्रान्तिकारी आशावादको जुन किसिमको निर्माण गर्न सक्नुपर्दथ्यो, त्यो हुनसकेन, तदर्थवादी चिन्तनबाट पार्टी अघि बढ्न सकेन । नेताहरू हरहमेसा आफ्नो कुर्सी गुम्ने हो कि भन्ने भयले आतंकित भएको स्थिति छ ।

जुन किसिमको परिदृश्य बैठकमा देखियो, त्यसबाट तपाईं बडे कमरेडहरू बैठकका निर्णयहरू लागु गर्न इमान्दार हुनुहोला भन्ने कुरामा मलाई त्यतिसारो विश्वास छैन । तर म दृढ छु । अहिले आफूलाई प्रदान गरिएको ”नयाँ” र ”ऐतिहासिक पुरस्कार” लाई शिक्षा, अनुभव र चुनौतीका रूपमा लिएर पोखरा बैठकका निर्णयको कार्यान्वयनको पक्षमा दृढताका साथ अघि बढ्ने प्रण गर्दछु । साथै पार्टीलाई क्रान्तिकारी दिशामा एकताबद्धताका साथ अघि बढाउन बाधक तत्त्व कोटरीवाद र अकर्मण्यतावाद भएकाले यसका विरुद्ध अलिकति पनि विचलित नभई निरन्तर वैचारिक सङ्घर्ष चलाइरहने दृढता पनि व्यक्त गर्दछु ।
साउन १०, २०७०
ऋषिराज बराल
वैकल्पिक केन्द्रीय सदस्य
नेकपा-माओवादी
साभार - www.thenextfront.com

Monday, March 23, 2015

मातृका यादवले भने, प्रचण्डले जनमुक्ति सेना विक्रि गरे




जनकपुर - २०७१  चैत ९ गते । नेकपा माओवादीका संयोजक मातृका यादवले मुलुकमा गणतन्त्र यस्थापित गराउने जनमुक्ति सेनालाई प्रचण्डले शान्ति प्रक्रियाको नाममा विक्रि गरिनु माओवादीको लागि दुर्भाग्य रहेको बताए । एमाओवादी मिथिला मधेश राज्य समितिद्वारा जनकपुरधाममा आयोजना गरिएको शहिद अजवलाल यादवको १३औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शान्ति प्रकृयाको नाममा जनमुक्ति सेना राज्यलाई बुझाएर क्रान्तकारीहरुलाई अध्यक्ष प्रचण्डले धोका दिएको बताए ।
अब त्यही सरकारबाट धोका पाएपछि क्रान्तकारीहरुलाई खोज्दै हिडेका छन् र भन्दैछन् कि जनमुक्ति सेना बुझाएर धेरै ठूलो धोका भयो, नेता यादवले भने, शुरुमा गल्ति गर्ने र अहिले आएर पश्चाताप गर्नुको कुनै तुक छैन ।’
एमाओवादीका नेता डा.बाबुराम भट्राई प्रमुख अतिथि रहेको सो कार्यक्रममा उनले शहिदको सपना पुरा गर्न माओवादीहरुबीच एकता हुन लागेको हो तर खाओवादी, बइमान र भ्रष्टहरुसित एकता कदापि नहुने बताए । एकताको नाममा कतिपय माओवादीलहरु फाइदा लिन खोजिरहेको बताउँदै त्यसबाट सजग रहेर एकताको प्रकृया अगाडि बढाउने बताए ।
एमाओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराइले सहमतिबाट संविधान नबनाई बलजफ्ती प्रकृयाबाट सविधान बनाए मुलुक मुठभेडमा जाने बताएका छन् ।
डा. भट्टराईले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरुको मर्म र मुद्दाको सम्वोधन नहुनु र संविधान न बन्नु नै राष्ट्रका लागि दुर्भाग्यपूर्ण र लाजमर्दो कुरो रहेको बताए ।
एक तिहाई मधेशी, हिमाली पहाडी क्षेत्रका जनजाती, उत्पीडित, शोषित, उपेक्षित, पिछडावर्ग, महिला, दलित, जनजातीलगायतको हक अधिकार नयाँ बन्ने संविधानमा सुनिश्चित नभएसम्म संघर्ष जारी रहने बताउँदै उनले दुई सय वर्ष पुरानो नेपालको भगौलिक र राजनैतिक पुरातनवादी समरचनाले यी समुदायहरुको समानुपातिक प्रतिनिधित्व हुन नसकेको बताए । सबै समुदायको समानुपातिक प्रतिनिधित्वका लागि पुरानो संरचना भत्काउनु पर्ने कुरामा जोड दिए ।
मिथिला राज्य समितिका अध्यक्ष ,केन्द्रिय सदस्य विश्वनाथ साहको सभापतित्वमा भएको सो कार्यक्रममा मधेश व्यूरो इन्चार्ज रामचन्द्र झा, शहिद अजवलाल यादवकी पत्नी पूर्व सांसद शिला यादव, केन्द्रिय सदस्यहरु रामरिझण यादव, रामकुमार शर्मा, अरविन्द कुमार साह, केशव ढुंगेल, रामचन्द्र मण्डल, कालमुद्धिन राइन, अब्दुल हलिम राइन र सभासद् रामसिंह यादव लगायतका नेताहरुले धारणा राखेका थिए ।

www.esaharatimes.com बाट  साभार 

Sunday, March 22, 2015

दुई माओवादीका सात बुँदे निर्णयहरु


today

दुई माओवादीको वार्ता कमिटिको वैठकले लिएका सात बुँदे निर्णयहरु

काठमाडौँ । एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीबीच आज आइतवार विहान भएको वार्ता कमिटीको पहिलो र्बैठकले सात बुँदामा छलफल चलाउने निर्णय गरेको छ । नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा बसेको वैठकले सो निर्णय गरेको हो ।
१. मालेमावादको रक्षा, प्रयोग र विकाससम्बन्धी बुझाई र तिनको कार्यान्वयन गर्ने ।
२. नेपाली क्रान्तिको स्वरुप, रणनीति , कार्यनीति र विकाससम्बन्धी बुझाइ र त्यसको ठोस रुपमा प्रयोग गर्ने सन्दर्भमा
३. संसदवाद र संसदको उपयोगबारे बुझाइ र प्रयोगको सम्बन्धमा
४. सामाजिक क्रान्ति र रुपान्तरणको लागि बल प्रयोगको सिद्धान्तको स्वरुप र प्रयोगको बुझाइ र कार्यान्वयन सम्बन्धमा
५. पार्टी इतिहासका सन्दर्भमा विगतमा भएका गल्ती, कमी, कमजोरीको ठोस मूल्याकंन गरी सच्याउने विषयमा ।
६. पार्टी सञ्चालनका सन्दर्भमा र निर्णय प्रक्रिया र कार्यान्वयनका सन्दर्भमा जनवादी केन्द्रीयताको बुझाइका विषयमा
७. तात्कालिक कार्यनीतबारे अझ मूर्त बनाइ कार्यान्वयन गर्ने सन्दर्भमा छलफल चलाउने ।
आगामी बैठकको मिति दुवै पार्टीका अध्यक्षहरुको सहमतिबाट तय गरिने बताइएको छ । वैठकमा दुवै पार्टीका अध्यक्ष सहित वार्ता कमिटीमा रहेका पदाधिकारी सहभागी थिए ।
फोटो: पम्फा भुसालको फेसबुकबाट
 http://www.jhilko.com बाट 

===================================================



एक पूर्वजनसेनाको बकपत्र : हिजो लडेर के गुमाएँ ? आज नलडेर के पाएँ ?- विष्णु परियार



X_pla
विष्णु परियार

नाम विष्णु परियार । पार्टीमा शक्ति भन्छन् । पछि आमाले नि विष्णु भनिनन् । शक्ति भन्छिन् । आमालाई विष्णुप्रति लगाव छैन । बाले न विष्णु भन्छन्, न शक्ति !  माइलो भन्छन् ।  घर कालिकोट पर्छ । ५ जना दाजुभाइ छन् । म माइलो । दिदीबहिनी तीन’टी ।
२०५६ सालमा स्कुल पढ्दापढ्दै नेकपा (माओवादी) मा लागें । सुरुमा गाउँस्तरमा सामान्य कार्यकर्ता भएर काम गरें । पछि सांस्कृतिक टिममा कलाकार भएर काम गर्दै जनमिलिसिया भएँ । भूमिगतकालको करिव २ वर्ष यसरी नै जनतासँगै बिताएँ ।
पार्टीले जनमुक्ति सेनामा पठायो । त्यतिबेला लड्नु र मर्नुको खास अर्थ थियो । ठ्याक्कै ख्याल छैन, मलाई लाग्छ–३० भन्दा बढी मोर्चाहरुमा लडाइँ लडें हुँला । तीनवटा मोर्चामा घाइते भएँ । पार्टीले नै उपचार गर्यो ।
उतिबेलाका केही गोली र बमका छर्राहरु अहिले पनी बाँकी छन् । टाउकोमा छर्रा छ । उतिबेला निकाल्न मिलेन, अहिले–कसले निकालिदिने ? हातमा चोट छ । पेटको अप्रेसन गरिएको छ । शरीर धुजाधुजाजस्तो भा’को छ ।
पार्टीले शान्ति प्रक्रियामा भाग लियो । पार्टीका उच्च तहका सबै नेताहरु काठमाडौं आए । म पनि जनमुक्ति सेनाको हेडक्वार्टरमा उदयबहादुर चलाउने ‘दिपक’ को स्टाफका रुपमा काम गर्दागर्दै एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डको अंगरक्षकका रुपमा काठमाडौं आइपुगें ।
लाग्छ– लड्नेहरु र मोर्चामा सहिद भएका सहयोद्धाहरुका आफन्तहरुले के भन्लान् ?
त्यतिबेला प्रचण्डको वरिपरी सारा दुनियाँ थियो झैं लाग्थ्यो । करिब अढाई वर्ष उनको अंगरक्षकका रुपमा काम गरिसकेपछि राज्यतर्फको सुरक्षामा मात्रै उनलाई राखिने भयो । हाम्रो सुरक्षाटोली फिर्ता भयो । चितवनको शक्तिखोरस्थित तीन नम्बर डिभिजनमा स्थानान्तरण भएर गएँ । म कम्पनी सहायककमान्डर थिएँ ।
एक मन भन्छ– लाऊँलाऊँ–खाऊँखाऊँ भन्ने बेलाको त्यो समय अनि भीषण लडाइँबाट फर्किएको नाफाको यो जिन्दगी । यो त नाफाको जीवन हो– जसरी बिताए पनि हुन्छ । तर, यो मन मान्दैन ।

लाग्छ– लड्नेहरु र मोर्चामा सहिद भएका सहयोद्धाहरुका आफन्तहरुले के भन्लान् ?
१८–२० वर्षको त्यो समयमा समाज रुपान्तरणका लागि भनेर खर्चिएँ । जीवनको एउटा महत्वपूर्ण समय युद्ध र आन्दोलनमा बिताएँ । तर मैले के पाएँ ? प्रश्नको उत्तर त्यति सजिलै छजस्तो लाग्दैन ।
सँगैका साथीभाइहरु कति रोजीरोटीका लागि विदेशिए । कति युद्धमै लागे । युद्धमा लागेकामध्ये कतिले शहादत प्राप्त गरे । रहेका कति साथीहरु पनि विदेशिएका छन् । सोच्छु– यी चित्रहरु झैं आँखामा घुमिरहन्छन्, म बाँचुन्जेल ।
युद्धकालमा शाही नेपाली सेनाले घरमा गएर आमा र बहिनीलाई चरम यातना दियो । घरपरिवार, आफन्त, नातागोता– सबैलाई म माओवादी भएकै कारण बसिखान दिइएन । तर, पनि अधिकार प्राप्तिका लागि भनेर लागिसकेपछि यस्तो पीडाले झनै त्यो बाटोबाट अगाडि बढ्ने आक्रोश सिर्जना गर्यो ।

लाग्छ–
त्यत्रो युद्ध लडियो । घरपरिवार र आम मानिसहरुको जीवन अझै पनि फेरिएको छैन । रोजीरोटीको आधार पनि गुमाइयो । जीवन पूरै आधि भएको छ । पढाइ पनि बिगारियो । टोलछिमेकका दाजुभाइ परदेश गए, घरजम गरे । तर, म ती सबै चिजहरुबाट पनि टाढिएँ ।
फेरि लाग्छ–
आखिर के गुम्यो त मेरो ? के गुमाएँ ? पढ्थें कि पढ्दैनथें ? विदेशिन्थें कि यतै हल्लिन्थेंहुँला म ! भीरबाट चिप्लिएर यही आधा जीवन पनि बच्थ्यो कि बच्दैनथ्यो ? सोच्छु– केही गुमेको  छैन ।

मनमा कुरा खेल्छन् । विदेश हानियौं नलागेको पनि होइन । त्यो युद्धबाट शान्ति प्रक्रियामा आइयो । के प्राप्त गरें मैले त्यत्रो योगदान गरेवापत ? र, के प्राप्त गर्यो यो राज्यले मेरो त्यो योगदानबाट ? गम्भीर हुन्छु । बरु जति पाइयो, तिनै उपलब्धिहरु पनि संस्थागत हुन सकेनन् ।
वास्तवमा कसको ‘इन्टेन्सन’ के थियो, त्यो के थाहा ? के नेताले हामीलाई झुक्याएका थिए ? होइन लाग्छ । उनीहरु पनि झुक्किएजस्तो लाग्छ ।
जे आशा देखाएर त्यत्रो रक्तपातपूर्ण युद्धको बाटोमा होमिइयो, सबै झुटजस्ता भएका छन् । वास्तवमा कसको ‘इन्टेन्सन’ के थियो, त्यो के थाहा ? के नेताले हामीलाई झुक्याएका थिए ? होइन लाग्छ । उनीहरु पनि झुक्किएजस्तो लाग्छ ।
हामीलाई थाहा थियो त केवल जनताको अधिकार जनतालाई नै दिलाउने । गरिबको चुलोमा आगो बाल्ने । नाङ्गाहरुको शरीरमा लुगाको व्यवस्था गर्ने ।
हिजो लडेर मेरो के गयो ? आज नलडेर मेरो के आयो ? आखिर मैले जीवन लडेरै बिताउनु रै’छ ।
अहिले न ती कुनै मागहरु पूरा भएका छन्, न हामी ती माग पूरा गराउन लागेका जनमुक्ति सेनाहरु सम्मानजनक अवस्थामा बाँच्न सक्ने स्थितिमा छौं ।
नमिठो लाग्छ–
अधिकारका लागि जसको नेतृत्वमा लडियो, त्यो नै संसदीय व्यवस्था र यथास्थितिमा फसेपछि त्यत्रो मेहनत र पसिनालाई त्यत्तिकै छाड्ने कुरा कसरी हुन सक्दछ ?

लाग्दैछ–
हिजो लडेर मेरो के गयो ? आज नलडेर मेरो के आयो ? आखिर मैले जीवन लडेरै बिताउनु रै’छ । बाँच्नकै लागि पनि लड्नैपर्ने । हिजो लडेवापत फेरि मुद्धा खेपेर मुद्धा लड्नुपर्ने । न उनै हिजोका गरिब–पीडकहरुसँग फेरि लडेर समाजमा बाँच्नुपर्ने । एक मनले लाग्छ– हामीलाई लडाउनेहरु त्यस्ता हुन् । अर्को मनले सोच्छु– उनले पनि लडेकै हुन्, अब सकेनन् होला ।

गणतन्त्र हामीले लडेरै आएको हो । परिवर्तन हाम्रो रगत खर्चेर प्राप्त भएको हो । एकाएक उनै परिवर्तनविरोधीहरु आज फेरि परिवर्तनका नायक झैं भए । हामी नायकहरु खलनायक झैं हुनुपर्ने ! यो दिन किन आयो ? उनी को हुन्, हामी परिवर्तनकामीमाथि हैकम जमाउने ? जो हिजो हाम्रा टाउकाका मोल तोक्थे, उनै आज हामीले लडेर ल्याएको गणतन्त्रमा राज गरिरहेका छन् । यो सहने कसरी ? मजस्तै लड्नेहरु उनै शासकहरुका अघि झुक्नुपर्ने !
झुकिन्न । किन झुक्ने ? बरु फेरि लडिन्छ । बाँच्नै लड्नुको ममाथिको परिभाषा हो भने म फेरि किन नलड्ने ? मैले फेरि किन बन्दुक नबोक्ने ? मैले फेरि अर्को युद्धको घोषणा किन नगर्ने ?

र,
यतै बसेको छु– विदेशिन राहदानी बनाएको, म एउटा पूर्वजनसेना !

http://www.khabardabali.com बाट साभार 

जातीय राज्यका लागि प्रचण्डले बिदेशीसँग पैसा लिएका छन् - शौरभ

जातीय राज्यका लागि प्रचण्डले बिदेशीसँग पैसा लिएका छन् -  शौरभ

- दृष्टि संवाददाता

sauravv
राजनीतिक बिश्लेषक शौरभ

कुनै समय  पत्रकार रहेका सौरभ अहिले चर्चित बिश्लेषक र लेखकका रुपमा चिनिन्छिन् । देशको इतिहासको बारेमा धेरै ज्ञान भएका उनी राष्ट्रवादी कुराका कारण बढि लोकप्रिय छन् । उनै बिश्लेषक सौरभसग हालै टेलिभिजन पत्रकार प्रेम बानियाले कुराकानी गरेका थिए । उक्त अन्र्तवार्ता यस्तो छ

देशको अहिलेको राजनीतिक अवस्थालाई कसरी बिश्लेषण गरिरहनुभएको छ ?
देश अहिले झडपको अवस्थामा पुगेको छ । रक्तपात नै हुने हिंसा त ल्याइहाल्ला भन्ने ठान्दिन । किन ठान्दिन भने १७ हजार मान्छे मरेको अवस्थाबाट हामी गुज्रिएका छौं । नेपालीहरु फेरी त्यस्तै द्धन्द्धमा लाग्लान् भन्ने ठान्दिन । तर यो झडपको स्थितीले हामीलाई अस्तव्यस्त चाही पार्छ । त्यो चाही पक्कै कुरा हो ।
यो अस्तव्यस्त संलिदै जाला कि कसरी अघि बढ्ला ?
तुरुन्तै संलिएर जान्छ जस्तो त लाग्दैन । यो द्धन्द्धले लामै पिरियड लिएला । तर एक दिन न एकदिन त संग्लिनुपर्ने अवस्था आउछ र संग्लिन्छ ।
अहिले एक थरीले अग्रगमनको नाममा आन्दोलन गरिरहेका छन् नि कसरी लिनुभएको छ ?
माओवादी र उनीहरुका पक्षहरुले अग्रगमना जून बुदाहरु राखेका छन्, संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको कुरा । गणतन्त्रको कुरालाई भनिहाल्दिन, बाकी दुई कुरामा म सहमत छैन । ती कुरा उसले अग्रगमन भन्दैमा हुने कुरा होइन ।
अग्रगमनको नाममा देशै बिखण्डन गर्ने तत्वहरुकोहरुको विरुद्धमा अर्काे पक्ष आउछ भने त्यसलाई पश्चगमन भन्न मिल्छ जस्तो मलाई लाग्दैन । २०६३ सालको आन्दोलन केका लागि थियो भन्दाखेरी ज्ञानेन्द्र शाहले जसरी सत्ता कब्जा गरे, भइरहेको संसद नै हिड्यो, प्रधानमन्त्रीको पदका लागि दरखास्त मागियो त्यसको विरुद्ध थियो । २०३६ र ४६ सालको आन्दोलनमा म लागेको मान्छे, निर्वाचित प्रतिनिधि हुनुपर्छ भनेर लागेको मान्छेले हेर्दाखेरी त टिका लगाएर प्रधानमन्त्री दिने होइन नि, त्यसकै विरुद्धमा आन्दोलन भयो । जब पुर्नस्थापित संसदले कुराहरु राख्दै गयो, ती कुराहरु पटक्कै आन्दोलनमा नउठेका कुराहरु थिए । धर्मनिरपेक्षताको जून कुरा आयो, जून मस्यौदामा नै थिएन । जसले संसदमा पढ्यो, उसले आफैंले हातले लेखेर पढिदियो ।
आन्दोलनका एजेण्डाहरु अहिले धरमराउन थालेका हुन् ?
धरमराउन थालेका हुन् । किनभने एकपटक हत्या, हिंसाको त्रास देखाएर त्यो कुरा गरे पनि त्यो देश र जनताको पक्षमा थिएन । पहिला अ भनेर मानिहाले, पछि मान्न चाहेनन् । पहिला एकथरी मान्छेहरुले जातीय राज्यले हाम्रो कल्याण गर्छ,चाहिन्छ भने । पछि बुझ्दा त्यो गलत रहेछ भन्ने भयो । त्यतीबेलाका एजेण्डाहरु जर्बजस्ती लादिए, यहा ती भन्ने शब्द प्रयोग गर्छु, ती अहिले कमजोर भएको अवस्था छ ।
तिनीहरु कमजोर भए, त्यसविरुद्धको आवाज चाही बलियो हुन लागेको हो ?
बलियो हुन लागेको मात्र होइन, बलियो भइसकेको तर बलियो नहोस् भनेर बिदेशी हस्तक्षेप आएको अवस्थामा हामी छौं ।
पश्चिमा देशहरुले नेपालमा जर्बजस्ती धर्म परिवर्तन गराउन जोड दिइरहेका छन् भन्ने छ, यसमा तपाईको अध्ययन के छ ?
यसमा बिशाल तथ्यहरु बाहिर आइसकेको छ । हालै बेलायती राजदुतको जून वक्तव्य आयो, त्यसमा घुमाएर एउटा कस्तो कुरा भनिएको छ भने हामीले नेपाललाई लामो समयदेखि सहयोग गरिरहेका छौं, त्यो त्यसै गरिएको होइन भनिएको छ अर्थात् पैसा हालेर धर्म किन्ने काम भइरहेको छ । हामीले पैसा दिएकाले हामीले जे जे एजेण्डा ल्याउछौं तिमीहरुले मान्नु पर्छ भनेर भनिएको स्पष्टै छ ।
अमेरिकाको सिनेटमा पनि पहिला नेपालमा धर्म परिवर्तनको बारेमा कुरा उठेको थियो । धर्म परिवर्तन गराउनेलाई जेल हाल्नु हुदैन, उनीरुलाई छाडिदिनुपर्छ सिनेटबाट त्यो प्रस्ताव पास नै भएको थियो । यस्ता कुराहरु पटक पटक भएका छन् ।
तपाईको मतलब धर्मनिरपेक्षता र संघीयता आन्दोलनको एजेण्डा होइन ?
डेफिनेट्ल्ली होइन । पुथ्वीनारायण शाहले तिब्बतलाई के भनेको रहेछ भने तिमीहरुलाई के के सामान चाहिन्छ, हामी सीमानामै पसल खोलिदिन्छौं, तिमी त्यहीबाट किन, त्यसबापत तिमीहरुले आफ्नो परम्परा, संस्कृती जोगाउनु अर्काको लिनु हुदैन, हामी काच बेच्दैनौं, किनकी त्यो फिरंगी हो भनेको रहेछ त्यसबेला । पुथ्वीनारायण शाहले त्यसबेला नेपालको मात्र होइन तिब्बतको समेत संस्कृतीको जगेर्ना होस् भनेर कोसिस गरे एकपटक ।
अहिले उनीहरुले तिब्बतलाई चीनबाट छुटाएर चीनलाई कमजोर बनाउने नेपालमा पनि खेल खेलिरहेका छन् ।
तिब्बतमा पनि लामावाद सिध्याएर आफ्नो धर्म स्थापित गर्न उनीहरु चाहन्छन् । तिब्बत बिश्वकै पानीको स्रोतमा तेस्रो प्रमुख स्थान मानिन्छ । सुनको २७ वटा खानी छ । त्यसकारण उनीहरुले त्यहाको खनीजमा पनि आँखा लगाएका छन् । त्यसकै लागि नेपाललाई पनि उनीहरुले दु:ख दिइरहेका छन् ।
यसमा धर्मको मात्र स्वार्थ छैन । यसमा अरु धेरै रणनीतिहरु पनि छन् । धर्मपरिवर्तन रणनीतिक रुपमा हामीलाई सिध्याउने खेलको एउटा भाग हो ।
संघीयता पनि कस्तो हुदैछ भने आज सबैले पहिचानको कुरा राम्रै हुन्छ भनेर ठानिदैछ । तर कुनै एउटा संघले आफ्नो बारेमा निर्णय गरेर स्वतन्त्र हुने वातावरण बनाउने काम हुन सक्छ । त्यसो हुदा बिदेशी सैनिक अखडा बनाउन सजिलो हुन्छ । त्यसरी तिब्बतलाई नै लक्षित गरी बिदेशी सैनिक यहाँ आउन सक्छन् । संघीयता धेरै हिसाबले गलत कुरा हो र यो कुरा नेपालले मान्नुुुहुन्न भन्ने कुरा म ठान्छु ।
तपाईका अुनसार जो अहिले जातीय राज्यका लागि आन्दोलन गरिरहेका छन्, उनीहरु बिदेशीबाट परिचालित छन् भन्ने अर्थ लाग्छ होइन ?
जून जातीय उत्पीडनको कुरा गरिएको छ, त्यो कुरा म मान्न तयार छैन । किन मान्न तयार छैन भने म चाही बिजनेश कम्यूनिटीको मान्छे होइन, तर नेपालमा नेवारहरुले हजारौं वर्षदेखि व्यापार गरे । जुनसुकै थरको नेवारलाई पनि व्यापारको स्किल थाहा छ । मानव विकास सूचकांकमा नेवारहरु पहिलो स्थानमा पर्दछन् । अनि नेवारहरु कसरी उत्पीडनमा परे त ? म कसरी उत्पिडनमा परे ?
गुरुङहरुमा लड्न सक्ने स्किल छ । उनीहरु लाउरे भएर गएका छन्, गुरुङ, राई, लिम्बुहरुले टन्न डलर कमाएर ल्याएका छन्, बाहुनलाइ त बिदेशी सेनामा भर्ती लिइन्न । अनि उनीरुले यहा बाहुनलाई उत्ीपडन गरे भन्न मिल्छ ? कसैले कुन कुरामा स्किल हुन्छ, त्यसलाई उत्पीडनसग जोड्न मिल्दैन ।
सबै जात वर्गको देशमा समान भूमिका स्थापित छ त ?
जिरेलले के गयो भनेर सोध्दाखेरी म अलमलमा पर्छु । सानो समुदाय त्यसको बारेमा अध्ययन भएको छैन । तर थारुले यो देशमा योगदान दिएको छैन र ? यत्रो वर्षदेखि तराईमा धान फलाइरहेको छ । नेवारले देशको बिजनेश गरिरहेको छ । गुरुङ मगरहरु लडिरेका छन् । क्षेत्रीहरुले देशको सुरक्षा सम्हालेका छन् । बाहुनहरुले प्रशासन सम्हालेका छन् । सबैले आ आफ्नो तरिकाबाट राज्यलाई योगदान पुयाइरहेका छन् । यहा कसले कसलाई उत्पीडन गर्‍यो ? उत्पिडनको परिभाषा पश्चिमाहरुले जे जे बनाइदियो त्यो बोकेर हिडेर ठिक हुदैन यहा । उत्पीडन भयो भन्ने कुरा पश्चिमाहरुले थोपरेको हो । पश्चिमाहरुले त जात बाहेक केही पनि सोच्नै सक्दैनन् ।
हिजो तिनै पश्चिमाहरुले आफुहरु गोरो भएको कारण शासन गर्नु पाउनुपर्छ भनेर नामिबिया र दक्षिण अफ्रिकामा शासन गरेका होइनन् ? नेपालका समाजशास्त्री, मानवशास्त्री र कथित नागरिक समाजका अगुवा र मानवअधिकारवादी भनिने आफैंले बनाइदिएका मान्छेहरुलाई डलर र पाउण्ड खुवाएर पहिला नेपाली समाजलाई भाड्ने कुरा लेखाउने त्यसलाई रिसाइकल गरेर नेपालमा यस्तो भइरहेको छ भनेर त्यसलाई उठायने प्रवृत्ति उनीहरुमा छ । यस्तो कुटनीति खेलेर नेपाली समाजलाई सिध्याउने खेलमा उनीहरु लागेका छन् ।
नेपाल सबैभन्दा पुरानो देश हो । यो पुरानोको गरिमालाई नै सिध्याइदिएपछि त सुप्रित त उनीहरु नै हुने भए । पृथ्वीनारायण शाहले पहिला उनीहरुलाई जासुस भनेर जसरी नेपालबाट निकालिदिए, त्यो कुरा पनि उनीहरुलाई एकदमै बिझेको छ । पुथ्वीनारायण शाहको बारेमा एउटा कुरा थपिहाल्छु, उनले क्रिश्चियनहरुलाई जासुस हुन् भनेर मात्र हटाएको होइन । गुराई भन्नेहरुलाई नेपाल छिर्न नै दिएका थिएनन् । गुसाई भनेको बिशुद्ध हिन्दु हुन् । हिन्दु धर्मको प्रचार गर्ने एउटा वर्ग हो । तिनीहरुलाई पनि बेलायतीहरुको जासुस हो भनेर छिर्न नदिएको डकुमेन्टेसन छ । यो कुरा कहिले पनि बाहिर ल्याइदैन । धर्मकै कुरा गर्ने हो भने मुसलमानलाई उनले हटाएनन् । गोरखामा जून तोप बनाइदिए, त्यसको जिम्मेवारी मुलसमानलाई दिएका थिए ।
पृथ्वीनारायण शाहले मुस्लिमलाई माया गरे तर क्रिश्चियनलाई छिर्न निकालिदिए । २ सय ५० वर्षअघिको उक्त कुराको बदला लिनका लागि अहिले उनीहरु विभिन्न माध्यमबाट लागिरहेका छन् ।
यसमा दोष क कसको छ ?
यसमा बिदेशीको मात्र दोष छैन । हामी आफ्नै पनि कमि कमजोरी छन् । हामीलाई माक्र्सवाद किन बोक्नुपरेको हो ? लेनिनवाद किन बोक्नुपरेको हो । पुथ्वीमै नभएको समाजवादको सिद्धान्त कांग्रेसले किन बोक्नुपर्‍यो ? बिश्वमा कि कम्यूनिष्टहरु छन् कि गैरकम्यूनिष्ट भनिने पूँजीवादीहरु छन् । समाजवादको लासलाई कांग्रेसले बोकेर हिडेको छ । राजनीतिमा पनि अर्काको कुरा आयात गरिरहेका छौं । अर्काको पैसा खाइरहेका छौं ।
धर्मनिरपेक्षता र जातीयताको विषय कहा गएर टुंगिएला त ? 
म स्पष्ट रुपमा असहमतिको बाटोको मान्छे हु । अहिले एकथरी नेताहरुले संघीयता हुदैन , धर्मनिरपेक्षता हुदैन भनेर केहीले जसरी अडान लिनुभएको छ, त्यो ठिक छ । किनकी एक दिन न एक दिन झडपमा जानै पर्छ, झडपमा जाऔं । नेताहरु पनि जाऔं, जनता पनि आऔं । यो झडप पहिला बिदेशीसग गर्ने हो । त्यसपछि नेपाली नागरिकहरुसँग कुरा आउछ ।
अहिलेसम्म ओलीजीले जून अडान राख्नुभएको छ, त्यो ठिक छ । माधव नेपाल र वामदेव ओलीलाई खुइल्याउन भनेर लागेका छन् । भित्र भित्र त्यो षड्यन्त्र चलिरहेको छ । माधव नेपाललाई त मैले सधैं माधव भारत भन्दै आएको छु । उनीहरुले एमालेमा भोली के गरिदिन्छन् थाहा छैन, तर आजसम्म एमालेको अडान ठिक छ । यो देशमा कुनै हालतमा संघीयता मान्ने कुरा पनि आउदैन, धर्मनिरपेक्षता पनि मान्ने कुरा आउदैन,त्यसले हामीमा बिखण्डन ल्याउछ र हाम्रो पहिचान सिध्याउछ ।

धर्मनिरपेक्षताको कुरा गर्दा म यहा एउटा कुृरा थपीहाल्छु, राई, गुरुङ , मगर,लिम्बु, तामा, थारु, जिरेल, थारु जति जातजातिहरु छन्, यी सबै भोर्न धर्मको कहिले पनि कुरा उठ्दैन । यो एकदमै पुरानो धर्म हो । १८ हजार वर्ष पुरानो धर्म र संस्कृती हो । उनीहरुको पहिचान मेट्न खोजिदैछ । उनीहरुलाई पहिचानका नाममा उचालेर धर्म परिवर्तन गरी पहिचान नै मेटाउने खेल भइरहेको छ । पश्चिमाहरु यहा माया हो कि कुटिलता बुझ्न जरुरी छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक दायरा साघुँरिदै गएको छ, उहाको राजनीतिले देशलाई कुनै सबल परिवर्तन दिने देख्नुहुन्छ ?
देख्दिन । किनभने उहा जंगलबाट आएर प्रधानमन्त्री र राष्ट्रपति पद नखोजेर जंगलमा बसिरहेको भए, यती पावरफुल मान्छे हुनुहुन्थ्यो कि नेपालको राजनीतिमा धेरै पछि आएको देशको कल्याण गर्ने एउटा बलियो नेता भन्ने कुरा उहाँले साबित गर्न सक्नुुुहुन्थ्यो ।
तर उहा डेढ लाखको पलङ र कति लाखको घडीमा आइपुग्नुभयो । सायद उहालाई मानवताविरुद्धको अपराधमा हेगमा लगिदेलान् भन्ने डर पनि होला । अहिले त हेगबाट पनि बच्नुपरेको छ, सम्पतीको पनि रक्षा गर्नुपरेको छ । हिन्दी सिनेमाका कथामा आउछ नि सम्पतीमाथि बसेको सेतो नाग । अहिले प्रचण्ड ठुलो सम्पतीमाथि बसेको सेता नाग जस्तै हुनुभएको छ । उहाको लागि सेतो नाग भनेको सर्वशक्तिमान राष्ट्रपति हुने हो ।
तर पुष्पकमलको देशमा कुनै रोल म देख्दिन । उहा ओरालो लाग्दै जानुभएको छ । आफु कसरी जोगिने भन्नेमा उहा लाग्नुभएको छ । संघीयता र धर्मनिरपेक्षताको कुरा छाडिदियो भने पनि जसले त्यसका लागि पहिले पैसा दिएको थियो, त्यसले च्याप्छ । त्यसले के तलाई भनेर सजाय गरिहाल्छ ।
प्रचण्डलाई त तपाईले धेरै तल पुयाइदिनुभएको नि ?
भएको कुरा हो । मान्छेसग होराइजन नभएपछि यही गति हुन्छ । सधैं कुम हल्लाएर , मुख हल्लाएर, टाउको हल्लाएर उनी जोगिदैनन् । उहाको अनुहारमै भिषण तनाव पढ्नसक्नुहुन्छ ।
एमालेका अध्यक्ष केपी ओलीको भूमिकालाई कसरी लिनुभएको छ ?
उहाको भूमिकालाई सकारात्मक रुपमा नै हेर्छु । भोलीका दिनमा एमालेले षड्यन्त्र गर्‍यो गयो भने पनि ओलीलाई दोष जाने देख्दिन । किनभने आजसम्म ओलीको जे अडान छ, त्यो एकदम ठिक कुरा हो । किनभने देश भनेको बजारमा गएर सुन्तला किन्ने जस्तो विन विनको कुरा होइन भनेर उहाले भन्नुभयो नि त्यो सही कुरा हो, यो मोलतोलको कुरा होइन । देशको टुक्रा पसलमा बिक्रि गर्न राखेको रोटीको टुक्रा जस्तो त होइन नि ।
यसो भन्दा त तपाईलाई पनि केहीले पश्चगमनकारी रहेछ भन्लान् नि ?
देशको मामिलामा अग्रगमन र पश्चगमनको कुरा छैन । जे कुरामा देशको अडान हुनुपर्छ, त्यो कुरा केपी ओलीमा अहिले छ, त्यो कुराको समर्थन गर्दा कसैले जसले जे भन्छ भन्छ, म मतलब राख्दिन ।
प्रधानमन्त्री तथा कांग्रेसका सभापति सुशील कोइरालाको भूमिकालाई कसरी हेर्नुभएको छ ?

उहाँलाई असाध्यै निरिह, दयनिय, बेकामको, बेकारको, कुनै दृष्टिकोण नभएको व्यक्तिका रुपमा हेर्छु । मन्त्रीपरिषद्मा आफुले लगेको प्रस्तावमा कुनै मन्त्रीले अस्वीकार गर्छ भने पास गराउन सक्नुभएको छैन । प्रधानमन्त्रीय प्रणाालीमा त्यस्ता मन्त्रीलाई फायर गराएर निर्णय गराउन सक्नुपर्छ । त्यस्तो पनि कतै प्रधानमन्त्री हुन्छ ? बरु आफैंले राजिनामा दिए हुन्छ नि । कोही अर्काे मान्छे प्रधानमन्त्री हुन आउछ । एउटै कुरा के राम्रो देख्छु भने ओलीले लिएको अडानमा समर्थन जस्तो गरिरहनुभएको छ, त्यो राम्रै छ ।
देशलाई सही बाटोमा लैजान नेताहरु कसरी अघि बढ्नुपर्छ भन्ने सुझाव दिनुहुन्छ ?
मलाई कस्तो लाग्छ भने धेरै नेपालीहरु जून हिसाबले बिदेशमा काम गर्न गएका छन्, त्यसरी बिदेशमा गएर हण्डर खाएर महिनामा १०।१५ हजार कमाउने अवस्थामा देशमा हुनुहुदैन ।
काठमाडौंका बिदेशी दुतावासमा बसेर गरिएका निर्णय लागू हुनु हुदैन । बिदेशीले पैसा बाड्ने अवस्था आउनु हुदैन । यस्ता सयौं कुरा छन् । नेपाललाई बलियो बाटोमा लैजानुपर्छ । २०४७ सालको संविधानजस्तो बिश्वको उत्कृष्ट संविधान भन्ने अनि त्यसको आफैंले जिम्मेवारी नलिने अवस्था हुनुहुदैन । सबैले जिम्मेवारी लिने संविधान बनाउनुपर्छ । जनतापनि निराश हुनुपर्ने अवस्था छैन, किनभने नराम्रोपछि राम्रो पनि हुन्छ ।


 http://www.drishtinews.com  बाट साभार