Sunday, March 22, 2015

प्रचण्डले गरे गौदान, साढे सातपछि अढैया सुरु

प्रचण्डले गरे गौदान, साढे सातपछि अढैया सुरु

Comrade Chabilal Dahal Prachanda Gau Dan
काठमाडौँ, ८ चैत ।
पाँचवर्षअघि भ्यालेन्टाइन डे अर्थात् १४ फ्रेबुअरीमा सुनसरीको चतरा पुगेर भैँसीपूजा गरेपछि अत्यन्त आलोचित बनेका एकीकृत नेकपा माओवादीका अध्यक्ष छविलाल दाहाल प्रचण्डले यस्तै अर्को धार्मिक अनुष्ठान गरेका छन् । अत्यन्त गोप्य ढंगसँग उनले केही समयअघि काठमाडौँमै ग्रहशान्ति गर्दै गाईदान (गौदान) गरेका हुन् ।
पार्टीमा अस्थिरता, राजनीतिक भूमिकामा उस्तै अशान्त र भाँडभैलो अनि अस्थिर मनस्थितिका कारण समस्यामा परेका प्रचण्डलाई गौदानसम्मको अनुष्ठानको कार्य गर्न लगाउने उनका व्यापारिक साझेदार अजेयराज सुमार्गी पराजुली हुन् । सुमार्गीले किनेको नयाँ घरमा करिब छ साताअघि प्रचण्डले गौदानसम्मको कार्य गरेको विषयलाई अत्यन्त गोप्य राखिएको छ ।
अस्थिर छन् प्रचण्ड
छविलाल दाहाल लामो समयदेखि अस्थिर राजनीतिक भूमरीमा फसिरहेका छन् । एकातिर पार्टीमा बाबुराम भट्टराईले नयाँ शक्ति आवश्यक भनेर लामो समयदेखि बहस चलाएपछि शीर्ष नेता बसेर वैशाखपछि बाबुरामलाई अध्यक्ष दिएर सर्वमान्य नेताका रुपमा बस्ने तयारी भएको थियो । त्यसो हुँदा पनि पार्टीमा सबै सन्तुष्ट नहुने देखिएपछि प्रचण्ड तनावमा परेका हुन् । उनी हरेक साता नयाँ विचार ल्याएर एजेन्डा बिर्सने र विषयान्तर गरिरहने पात्रका रुपमा परिचित नै छन् । यतिखेर नेकपा–माओवादीसँग सहकार्य गर्ने भनेर फेरि चर्चा चलिरहेका बेला प्रचण्ड नै अध्यक्ष रहेर एकीकरणको अभियान थालिएको छ ।
राशी नै त्यस्तो
विकिपिडियाले पनि छविलाल दाहाल प्रचण्ड भनेपछि नेपालका धेरै ज्योतिषहरु प्रचण्डको राशी मिथुन मान्छन् । कम्युनिष्ट नेताको जन्मकुण्डली गोप्य राखिएको छ । प्रचण्डको राशी भने कन्या हो । कन्या राशीकालाई मंसिरदेखि चैतसम्म साढे सातको खड्गोले सताइरहेको छ । त्यसैले कन्या राशीका धेरैले यसपटक होमहवन गरेर गौदान गरिरहेका छन् । एमाओवादीकै भ्रातृसंगठन क्रान्तिकारी पत्रकार संघका एक केन्द्रीय सदस्य पनि कन्या राशीका छन् । उनको र प्रचण्डको खड्गो उस्तैउस्तै देखिन्छ । उनी भन्छन्, ‘माघ–फागुन–चैतमा कुनै पनि कार्यमा सफलता मिल्दैन, वैशाखदेखि राम्रो हुन्छ भनेका छन् ।’ उनले पनि होमहवन गरेर गौदान गरेका छन् । ‘नाम चैँ नदिनुस्, तर प्रचण्डले गौदान नै गरे भने मैले चैँ गाईआकारको मूर्ति दान गरेँ,’ उनले भने, ‘मैले पनि त्यही गरेँ, तर अहिलेसम्म राम्रो संकेत आइरहेको छैन ।’
कन्या राशीका मानिस अरुलाई अधिक विश्वास लागे पनि मनमा जहिले शंका गर्ने स्वभावका हुन्छन् । झल्याँस्स हुने, विश्वास कुनै पनि बेला टुट्न सक्ने अवस्था देखाउने स्वभाव पनि हुन्छ । प्रचण्डमा यो शतप्रतिशत लागु भइरहेको छ ।
सुमार्गीको जोहो
प्रचण्डलाई सुनसरीको चतरा पु¥याएर भैँसीपूजा गर्न लगाउने काममा त्यतिखेरका केही हिन्दूवादी पनि लागेका थिए । ब्राम्हणलाई भनेर उनलाई भैँसीपूजा गर्न लगाइएको थियो । यतिखेर भने स्वामी कमलनयन आचार्य र अजेयराज सुमार्गीको गठजोड राम्रो छ । सुमार्गीले नै यो सबै जोहो गरेर प्रचण्डलाई गौदान गर्न लगाएका हुन् । तर, यो घटनालाई अत्यन्त गोप्य राखिएको छ ।
साढेसातले संविधानमा अन्यौल
प्रचण्डको अस्थिर राजनीतिका कारण अहिले कुनै सहमति भइरहेको छैन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अडानसँग असन्तुष्ट बन्दै बेलाबखत ‘माधवकुमार नेपाल खोइ ?’ भन्दै प्रचण्ड हिँड्ने गरेका छन् । माधवकुमार नेपालले पनि फोन गरेर सहमतिमा आउनुस् भनेर ढाडस दिने गरेका छन् । कहिले सँगै फिल्म हेर्न जान्छन् । तर कन्या राशीका मानिसलाई परेको खड्गोका कारण प्रचण्डले सोचेजस्तो हुन सकिरहेको छैन । राजनीतिक संयन्त्रमा सहमति जुटेको छैन । ३० दलीय मोर्चामा पनि अडान र स्पष्टता छैन । नेकपा–माओवादीसँग मिलन पनि सहज छैन । प्रचण्डलाई परेको खड्गोका कारण संविधानको मिति जुर्न सकेको छैन ।
के थियो प्रचण्डलाई ?
कन्याराशीका प्रचण्डलाई साढे सातको दशा थियो । त्यो बिस्तारै सकिँदैछ । पण्डितहरुले चैतसम्ममा साढेसातको दशा सकिने भन्दै गौदान गर्न लगाएका हुन् । वैशाखदेखि राम्रो हुने भनिए पनि प्रचण्डलाई अझै साढे दुई वर्ष समस्याले सताइरहने देखिएको छ ।
उनलाई अब अढैयाका दशाले छोएको छ । पण्डित देवीप्रसाद नेपालका अनुसार, अढैयाको दशा लागेका व्यक्तिलाई भनेको कुरा नपुग्ने, मन अस्थिर हुने, योजना धेरै बनाउने तर पूरा नहुने, निर्णयक्षमता कमजोर हुनेलगायतका समस्या देखा पर्छन् । प्रचण्डको राजनीतिमा यो अवस्था दैनिकी नै बनेको छ ।
अढैया दशा लागेकाले के गर्नुपर्छ ?
पण्डित देवीप्रसाद नेपाल भन्छन्, ‘त्यस्ता व्यक्तिले तिल, जौ, फलाम, कालोमास, कालो कपडा, एउटा हतियार, सखर, सानो घैँटामा पानी राखेर शनि मृतुञ्जयको पाठ गरेर जोगीलाई दान गर्नुपर्छ ।

– मोहन बास्तोला

www.nepalese.org

Wednesday, March 18, 2015

'मिस टिन'मा छोरीलाई भोट माग्ने 'क्रान्तिकारी' नेताका कुरा- विश्वभक्त दुलाल आहुती


विश्वभक्त दुलाल आहुती, पोलिटब्युरो सदस्य, एनेकपा माओवादी
नेपालमा २००६ सालदेखि चलेको कम्युनिष्ट आन्दोलनमा माओवादी आन्दोलन नेपालको सामन्तवादमाथिको सबैभन्दा ठूलो प्रहार थियो। १० वर्षे जनयुद्धले नै नेपालको सांस्कृतिक, राजनीतिक तथा सामाजिक क्षेत्रमा ठूलो परिवर्तन ल्याएको थियो। अब माओवादी आन्दोलन पुनर्गठनको प्रक्रियामा नजाने हो भने म के देख्छु भने १० वर्षको जनयुद्ध र माओवादी आन्दोलनले नेपाली समाजमा जे जति सकारात्मक परिवर्तनहरु ल्यायो, त्यसको कम्तिमा पनि सय गुणा बढी नकारात्मक कुरा स्थापित गर्ने छौँ। 
एउटा सानो उदाहरण राख्न चाहन्छु।  
यो मञ्चमा बस्ने अधिकांश पुस्ता सुन्दरी प्रतियोगिताको विरोध गरेर आयो। त्यसको विरोध हामी मध्ये धेरैको टाउको फुटेको छ। तर केही समय अगाडि कुनै माओवादीको सेन्ट्रल लिडरको छोरीले मिस टिन प्रतियोगितामा भाग लिनुभयो। उहाँले फेसबुकमा फोटो राख्नुभयो। उहाँको बुबा अर्थात माओवादीको केन्द्रीय नेताले पनि छोरीका लागि भोट माग्नुभयो। भनेपछि मलाई के लाग्दछ भने हामीले यो अभियान नथाल्ने हो भने जति उपलब्धि भएको थियो त्यो भन्दा बढि नकारात्मक चिज नेपाली समाजमा दिएर बिदा हुने छौँ। यो निकै नै डरलाग्दो कुरा लागेको छ।

सोमवार प्रज्ञा प्रतिष्ठानमा भएको माओवादी पुर्नगठन अभियानको एक झलक, नन्दकिशोर पुन बोल्दै । 

दोश्रो कुरा हामी माओवादी भनेर जति ओटा पार्टीमा जतिथरी मान्छेहरु छौँ, म माओवादीमा चारथरी मान्छे देख्छु। पहिलो, बिग्रनका निम्ति मौका नखोजिकन सद्दे बँचेकाहरु। दोश्रो, बिग्रने मौका नपाएर सद्दे बँचेकाहरु। तेश्रो, बिग्रिएर प्रदुषित भएका तर पस्चाताप गरिरहेकाहरु। र चौँथो, बिग्रिएर भित्रभित्र आनन्दित भएकाहरु। यी चारथरी मान्छेहरु सबै पार्टीमा छरिरएर बसेका छन्। कुनैमा धेरै होलान्, कुनैमा थोरै।

इसाइहरुको चर्चमा कन्फेसन बक्स भन्ने हुन्छ। त्यो भनेको पश्चाताप गर्ने बाकस वा कोठा। हत्या बलात्कार जे जे गरेर गए पनि त्यहाँ भित्र बसेर (पादरी एकापट्टी र आफू अर्को पट्टी) मैले यस्तो यस्तो अपराध गरेँ, ईश्वरलाई खबर पुर्‍याइदिनुपर्‍यो, तपाईँले भनेर माफ गराइ दिनुपर्‍यो भनेर अपराधीले पादरीलाई भन्छ। अनि पादरीले ल ईश्वरकहाँ तेरो खबर जान्छ, तँ चिन्ता नगर अब निश्चिन्त भएर जा भनेपछि ऊ आफ्ना सबै पाप त्यही बाकसभित्र पाखलेर आउँछ। हामी माओवादीहरुसँग रेड कन्फेसन बक्स छ ? यो अभियानले त्यस्तो रातो पस्चाताप बक्स सिर्जना गर्न सक्छर ? मलाई लाग्छ सक्नुपर्छ। त्यसो गर्न सकियो भने मात्र यसलाई पुनर्गठन गर्न सकिन्छ। नत्र सानो चानचुने कुराले यो पुनर्गठित हुने म देख्दिनँ। त्यसको निम्ति धेरै नै ठूलो मेहनत जरुरी छ।
हामी सबैलाई थाहा छ, माओवादीको कुनै नेता बिग्रिएको समाचार आयो भने एक घण्टामा त्यो समाचार हराइसक्ने अवस्था आयो। जमाना यस्तो पनि थियो कि माओवादीको राज्य समितिको नेताले गल्ती गर्‍यो भने त्यो राष्ट्रिय स्तरको समाचार बन्थ्यो र त्यो महिनौँ टिकिरहन्थ्यो। तर, अहिले केन्द्रीय स्तरको कुनै नेता सडेको बिग्रिएको खबर आयो भने त्यो एकघण्टा पनि समाचार नबन्ने बेला भयो। किन ? किनकि हामी समाचारमा उठाउन नालायक बन्दै गैरहेका छौँ। यो निकै नै डरलाग्दो परिस्थिति हो।

पुनर्गठन अभियानमा मेरो शुभकामना छ तर विभिन्न समूहमा छरिएका माओवादीहरु एकताको अभियान पुनर्गठनको अभियान कति प्रतिशत हो भन्छ भने म ४९ प्रतिशत भन्छु र रुपान्तरको प्रतिशत कति हो भन्छ भने म ५१ प्रतिशत भन्छु।

रुपान्तरण बिनाको एकता हुनेवाला छैन। एकतामात्र भयो भने यो बुर्जुवा पार्टी भन्ने बन्ने खतरा हुन्छ। रुपान्तरणसहितको एकता भयो भने कम्युनिष्ट पार्टी बन्ने सम्भावना हुन्छ। त्यसैले रुपान्तरणसहितको एकता माओवादी आन्दोलनको अनिवार्य सर्त हो।

(काठमाडौंमा सोमबार आयोजित माओवादी आन्दोलन पुनर्गठन अभियान घोषणा कार्यक्रममा मन्तव्य राख्दै, 
आहुतीको फेसबुकवाट )
http://prakashujyalo.blogspot.in वाट 

एमाओवादी र वैद्य माओवादीबीच सुरु भयाे एकता प्रक्रिया


काठमाडौं, प्रचण्ड नेतृत्वको एकीकृत नेकपा (माओवादी) र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादीबीच पार्टी एकता हुने पक्का भएको छ ।

आइतबार प्रचण्डनिवास लाजिम्पाटमा बसेको दुई दलका शीर्ष नेताहरूको संयुक्त बैठकले वर्तमान सरकारलाई ‘प्रतिगामी’ भन्दै आन्दोलनमा जाने समेत निर्णय लिएका छन् ।
प्रचण्ड र किरणलगायतका नेताहरुले शनिबार गोप्य छलफल गरेपछि एकताका लागि आइतबारै संयुक्त अपिल जारी गर्ने सहमति भएको थियो ।

लामो समयदेखि दुबै दलका दोस्रो तहका नेताहरुले माओवादी आन्दोलन कमजोर भएको भन्दै त्यसलाई मजबुत तुल्याउनका लागि एकता गर्न पहल गर्दै आइरहेका थिए । आइतबार बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले यसलाई मूर्त रुप दिएको छ ।
यसैबीच दुई माओवादी घटकहरुले बैठकलगत्तै संयुक्त विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ–

‘आज मिति २०७१ चैत १ गते एकीकृत नेकपा (माओवादी) का क. पुष्पकमल दाहाल ‘प्रचण्ड’, क. बाबुराम भट्टराई, क. नारायणकाजी श्रेष्ठ, क. कृष्णबहादुर महरा र नेकपा–माओवादीका क. मोहन वैद्य ‘किरण’, क. रामबहादुर थापा ‘बादल’, क. देव गुरुङको उपस्थितिमा दुई पक्षबीच वार्ता गरी निम्न सहमति गरियो–

१. मुलुकको विद्यमान अवस्थालाई ध्यानमा राखी सबै माओवादी एवम् सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुका बीचमा पार्टी एकताको आवश्यकतालाई अनुभूत गरेर सिद्धान्तनिष्ठ पार्टी एकताका लागि नयाँ उचाइमा वैचारिक–राजनीतिक प्रश्नहरुमा साझा निष्कर्ष कायम गर्न दुवै पक्षबीच निम्न कमरेडहरु रहनुभएको वार्ता समिति गठन गरिएको छ ।

वार्ता समितिमा एकीकृत नेकपा (माओवादी) का तर्फबाट क. पुष्पकमल दाहाल ‘प्रचण्ड’, क. बाबुराम भट्टराई, क. नारायणकाजी श्रेष्ठ, क. कृष्णबहादुर महरा र क. टोपबहादुर रायमाझी रहनुभएको छ भने नेकपा–माओवादीका तर्फबाट क. मोहन वैद्य ‘किरण’, क. सीपी गजुरेल, क. रामबहादुर थापा ‘बादल’ र क. देव गुरुङ रहनुभएको छ ।


२. सिद्धान्तनिष्ठ पार्टी एकताका लागि गरिएको यस अभियानमा सबै माओवादी एवम् सच्चा क्रान्तिकारी कम्युनिस्टहरुलाई योगदान पु¥याउन हार्दिक अपिल गर्ने निश्चित गरिएको छ ।

३. मुलुकमा बढ्दै गइरहेको प्रतिगमन, जनघात, राष्ट्रघात र जनजीविकाका विषयहरुलाई लिएर संयुक्त आन्दोलन उठाउन जोड दिने निश्चित गरिएको छ ।

४. तत्काल सत्यनिरुपण, मेलमिलाप तथा बेपत्ता छानबिनसम्बन्धी विषयलगायत शान्ति प्रक्रियासँग जोडिएका विषयहरुमा राज्य पक्षबाट भइरहेका प्रतिगमनकारी कदमहरुका विरुद्धमा संयुक्त आन्दोलनका कार्यक्रमहरु दिने निश्चित गरिएको छ ।

मोहन वैद्य ‘किरण’                                                       पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष                                                                           अध्यक्ष
नेकपा–माओवादी                                                           एकीकृत नेकपा (माओवादी)

                                                    मिति : २०७१ चैत १’


छलफलमा एमाओवादीबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा तथा नेकपा–माओवादीका तर्फबाट अध्यक्ष किरण, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा ‘बादल’ र सचिव देव गुरुङ सहभागी थिए । बैठकपछि दुबै दलका अध्यक्षहरूको हस्ताक्षरसहित संयुक्त अपिल जारी गरिएको छ ।

त्यस्तै, पार्टी एकताको प्रक्रियामा राजनीतिक, सैद्धान्तिक, सांगठानिक र सांस्कृतिक पक्षमा बहस चलाउन दुवै माओवादी सहमत भएको जानकारी बैठकपछि एमाओवादी महासचिव महराले सञ्चारमाध्यमलाई दिए ।
img010
यसअघि शनिबार एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा–माओवादीका अध्यक्ष किरणबीच पार्टी एकताको सवालमा गम्भीर वार्ता भएको नेताहरुले बताएका छन् ।


स्रोतका अनुसार शनिबारको छलफलमा नेताहरुले लाजिम्पाटमा नै बिहानको खाना खाएका थिए । सो छलफलमा नेत्रविक्रम चन्द ‘विप्लव’ को माओवादी पार्टीसँग समेत एकीकरण गर्ने सहितका विषयमा कुराकानी भएको थियो ।

बानेश्वरस्थित एक समर्थकको घरमा भएको दुई माओवादीका अध्यक्षबीचको बैठकमा एमाओवादीका महासचिव कृष्णबहादुर महरा र नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ को समेत सहभागिता थियो ।

स्रोतका अनुसार माओवादी आन्दोलनको पुनर्गठनको अभियान थालेका एमाओवादी, किरण नेतृत्वको नेकपा–माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादीका दोस्रो पुस्ताका नेताहरुको समेत पहलमा माओवादी एकताको अभियान अगाडि बढेको हो ।

माओवादी आन्दोलनका युवानेताहरु जनार्दन शर्मा, हितमान शाक्य र धर्मेन्द्र बास्तोलाले आ–आफ्ना शीर्ष नेताहरुलाई सार्वजनिक रुपमै एकताको पहल गर्न दबाव दिँदै आइरहेका थिए ।

युवानेताहरुको संयुक्त पहलमा सोमबार राजधानीस्थित प्रज्ञा भवनमा सोमबार दिउँसो १ बजे एक बृहत् अन्तर्क्रिया कार्यक्रम समेतको आयोजना गरिएको छ ।

http://www.khabardabali.com बाट 

भाग खान आएका भनेर हाम्रो अपमान गरियो

एमालेबाट एमाओवादी प्रवेश गर्नेको गुनासो


काठमाडौं, माओवादी पार्टीबीच एकता प्रक्रिया चलिरहेका बेला एमालेबाट विभिन्न समयमा एमाओवादी पार्टी प्रवेश गरेका केही वरिष्ठ नेताहरुले पार्टी सुदृढीकरणको अभियान चलाएका छन् ।
पार्टी वैचारिक अलमलमा परेको, मालेमावादका कुरा उठाउने तर सांगठनिक व्यवस्थापन नभएको र पार्टीमा दुई नेता बसेर निर्णय गर्नेगरेको भन्दै असन्तुष्ट भई उनीहरुले भेला गरेका छन् । पार्टीको क्रान्तिकारी धार कमजोर हुँदै गएको भन्दै उनीहरुको भेलाले पार्टीसँग व्यापक छलफल गर्ने निर्णय गरेको छ ।
एमाओवादीसँग असन्तुष्ट भई एमालेमै फर्किने कुरा सत्य नभएको प्रस्ट्याउँदै उनीहरुको भेलाले आफ्ना असन्तुष्टीलाई प्रष्ट ढंगले नेतृत्वसमक्ष उठाउने निर्णय गरेको छ ।
‘पार्टीको क्रान्तिकारी धार कमजोर हुँदै गएकाले व्यापक छलफल गर्ने निर्णय भएको छ’, एक नेताले भने– ‘एमालेमै फर्किने होइन । तर, पार्टीमा पेलान भइरह्यो भने के गर्ने, यसबारे चाहिँ सोच्नुपर्छ  ।’
भेलामा एमालेबाट एमाओवादी प्रवेश गरेका उर्मिला अर्याल, धर्मदत्त देवकोटा, निर्मल भट्टराई भीमबहादुर कडायत, दिनेश पन्थी, ओम वाग्ले, राजन तिमल्सिना, अरेन्द्र यादव, नहेन्द्र खड्का, मोहन बम, के.के. राई, हरि दाहालसहितका नेता सहभागी थिए । एमालेबाटै एमाओवादी प्रवेश गरेका रामचन्द्र झा भने भेलामा सहभागी भएनन् ।
भेलामा सहभागी नेताहरुबीच एकमत भने थिएन । भेलामै सहभागी नहेन्द्र खड्काले आफ्नो फेसबुक पेजमा लेखेका छन्– ‘माले–एमालेबाट एमाओवादीमा आएकाहरुको भेला डाक्ने र त्यसमा मलाई बोलाउने कि नबोलाउने भन्ने सन्दर्भमा एक जना एमाओवादीका केन्द्रीय सदस्यले अर्का आयोजकलाई भनेछन्– ‘नहेन्द्र खड्कालाई नबोलाउनू, ऊ प्रचण्डको मान्छे हो ।’
खड्काले अगाडि लेखेका छन्– ‘ठीक भन्यौ । म प्रचण्डकै मान्छे हुँ किनकि कमरेड प्रचण्ड मेरो पार्टीका अध्यक्ष हुन् । तिमीले लगाएको ‘लान्छना’ मलाई स्वीकार्य मात्रै छैन, त्यसबाट म गौरवान्वित समेत छु ।’
भेलामा निर्मल भट्टराईले श्रमजीवी वर्गको सच्चा क्रान्तिकारी पार्टी निर्माण गरौं र समाजवाद निर्माणको दिशामा एकताबद्ध भएर अगाडि बढौं’ भन्ने ‘डकुमेन्ट’ प्रस्तुत गरेका थिए ।
‘उद्देश्य पूरा नहुँदै जनयुद्ध सम्झौतामा टुंगियो । हजारौं गरिबका छोराछोरीले रगत बगाएर निर्माण गरेको जनसेना क्षणिक सत्तासँग सौदाबाजी गर्नुपर्ने परिस्थिति सिर्जना भयो ।  माओवादी जनयुद्धले सत्ताबाट धेरै टाढा रहेका जनतालाई गगनचुम्बी सपना त बाँड्यो तर एमाओवादी सत्तामा पुगेपछि ती सपना मूर्तीकृत हुन सकेनन्’, उनले डकुमेन्टमा लेखेका छन्– ‘सपनाहरु एकैपटक छताछुल्ल हुँदा पार्टीमा देखापरेको अराजकताले पार्टीलाई विभाजन, विखण्डन र हाल विघटनको संघारमा पुर्याइदिएको छ ।’
शान्ति प्रक्रियामा आई दुई–दुई पटक संविधानसभाको चुनावमा भाग लिइसक्दा पनि पार्टी विगत जनयुद्धताकाको ‘कमान्डरसिप’ बाट ‘लिडरसिप’ मा परिणत हुन नसकेको उल्लेख गर्दै उनको डकुमेन्टमा लेखिएको छ– ‘विगतको जस्तै पार्टीभित्र कमान्डरसिप कायम रहँदा कार्यकर्तामा लोकप्रियता र वैचारिक उचाईका लागि हुने प्रतिस्पर्धा कुन्ठित भएको छ ।’
एकता प्रक्रियामा आएका नेतालाई उचित जिम्मेवारी नदिइएको र ‘जनयुद्ध नलडी खान आएको’ भन्दै अपमानित गर्नेगरेको आरोप समेत लगाउँदै उनले लेखेका छन्– ‘एकता प्रक्रियामा आएका हजारौं नेता–कार्यकर्ता उचित जिम्मेवारीबाट वञ्चित मात्र छैनन्, उनीहरुलाई जनयुद्धका कमान्डरहरुबाट निरन्तर युद्ध नलडेको मान्छे, भाग खान आएको भनेर अपमान गरिँदैछ ।’
एमाओवादीभित्र पद्धति र पार्टी निर्णयले निर्देशित गर्दैन, पद्दति वा पार्टी निर्णयभन्दा नेताको आदेश बलशाली हुन्छ भन्दै उनले भनेका छन्, ‘केन्द्रीय समितिले प्रायः निर्णय नै गर्न सक्दैन, गरिहाल्यो भने पनि त्यो निर्णय आधारभूत तहमा नपुगी हराउँछ । त्यही कारण   एमाओवादी (अरु माओवादीमा पनि) मा नेता छन्, कार्यकर्ता छन्, समर्थक र मतदाता पनि छन् तर पार्टी हराउँदै गएको छ ।’
उनले मार्गदर्शक सिद्धान्त, नौलो जनवादभित्र कब्जा, सम्झौता, आत्मसमर्पण, माओवादी घटकका दलका उतारचढाव र समाजवादबारे डकुमेन्टमा उल्लेख गर्दै पार्टीलाई खबरदारी गरेका छन् ।
वैदेशिक लगानीलाई राष्ट्रहितअनुकूल हुनेगरी मात्र स्वीकार गर्नुपर्ने, राष्टिय पुँजी प्रबर्द्धन गर्न विशेष कार्यक्रम घोषणा  गरी स्वाधीन राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्ने सहितका १२ वटा नारा पनि अघि सारेका छन्  ।

यस्तो छ भेलामा (निर्मल भट्टराईद्वारा) प्रस्तुत डकुमेन्ट
श्रमजीवी वर्गको सच्चा क्रान्तिकारी पार्टी निर्माण गरौं !
समाजवाद निर्माणको दिशामा एकताबद्ध भएर अगाडि बढौं !


विषय प्रवेश
नेपालको कम्युनिष्ट आन्दोलन आज जटिल मोडबाट अगाडि बढिरहेको छ । कैयौ चिरामा विभक्त भएर एकले अर्कोलाई  निषेध गर्ने चिन्तनबाट माथि उठ्न नसकेका विभिन्न साना ठूला बामपन्थी पार्टीहरु खासगरी कार्यनीतिक र सांगठानिक हिसाबले रणभुल्लमा परेको अबस्था छ । “जनताको बहुदलीय जनबाद” देखि “एकीकृत क्रान्ति”सम्म सैद्धान्तिक अबधारणा बोक्ने बाम पार्टीहरु छन् तर तिनीहरु कहीं न कहीं असंयोजित विचार र भद्रगोल पार्टी संरचनाको वीचबाट अगाडि बढिरहेका छन् ।


क) मार्गदर्शक सिद्धान्तको सम्बन्धमा
उन्नाइसौं शताब्दीमा कार्ल माक्र्सले प्रतिपादन गरेको सिद्धान्तलाई सिर्जनात्मक प्रयोग गरेर लेनीनले रुसमा १९१७ मा समाजवादी क्रान्ति सम्पन्न गरेका थिए । माक्र्सले प्रतिपादन गरेका पुँजीको सिद्धान्त, द्वन्दात्मक भौतिकवाद र ऐतिहासिक भौतिकबाद सम्बन्धी ब्याख्या सार्वभौमिक सच्चाइ भएकाले त्यसले निःसन्देह वादको रुप लियो । माक्र्सबादले जीवन र जगतलाई हेर्ने वैज्ञानिक दृष्टिकोण मात्र दिएन, श्रमजीवी बर्गको राज्यसत्ता प्राप्त गर्ने मार्ग समेत प्रसस्त गरिदियोे ।  पुजीबादी राज्यसत्तालाई सत्ताच्यूत गरी सर्बहारा अधिनायकत्व स्थापनामार्फत् समाजबाद हुदै साम्यबादसम्म पुग्ने माक्र्सबादी अवधारणाको सार थियो । त्यो वादले रुसमा आइपुग्दा मुर्त रुप लियो । सांगठानिक क्षेत्रमा लेनीनले प्रतिपादन गरेको सिद्धान्त जनवादी केन्द्रीयता अद्यापि संसारमा चर्चामा छ तर त्यसको प्रयोग रुसमा नै सही  रुपमा प्रयोग भएन । नेताहरुले त्यसलाई गाँजरको बाँसुरी जस्तो बनाई दिए–मन परेको बेला बजाउने मन नपरेको बेला चपाउने । माक्र्सको विचार भन्दा भिन्न रुपले उनले संसार पूजीबादबाट साम्राज्यबादमा रुपान्तरण भईसकेकोले कुनै एक देशमा पनि समाजबाद स्थापना हुन सक्छ भन्ने विचार निर्माण र रुसी विद्रोहको नेतृत्व लेनीनका प्रमुख देन हुन् तर ती सार्वभौमिक सच्चाइ अर्थात् वादको उचाइ  प्राप्त गर्ने  खालका थिएनन् । लेनीनको समकालीन अन्तराष्टिय राजनीतिक प्रभाव अत्यधिक भएर मात्र  उनको नाम पछाडि बाद झुण्ड्याउन थालिएको हो । स्तालिनलाई पनि लेनीनको मृत्यु पछि बोल्सेविक पार्टीको राजनीति सञ्चालन र दोश्रो विश्व युद्धमा उनको नेतृत्वमा रुसले गरेको सफलताका लागि  स्मरण गर्न सकिन्छ , तर कम्युनिष्ट आन्दोलनका महान गुरुको रुपमा होइन । निःसन्देह, माक्र्सबाद दार्शनिक–राजनीतिक सत्यको एक प्रतिभाशाली बीज थियो,तर त्यो नै सम्पूर्ण र अन्तिम सत्य थिएन र हुन पनि सक्दैन । माक्र्सबादी सत्यबीजबाट रुस,चीन वा अन्य देशमा हुर्केका कोपिला त्यही बादका उपज हुन् छुट्टै बाद हुन सक्दैनन् । एउटा रुखका हाँगालाई छुट्टा छुट्टै रुख देख्नु केवल दृष्टिभ्रम मात्र हो । बरु विश्व  कम्युनिष्ट आन्दोलनका नेताहरुले उनीहरुको समयमा संश्लेषण गरेका विचार बर्तमान विश्व परिस्थिति र नेपालको धरातलीय यथार्थसग कति मेल खान्छन् भन्ने बारेमा बस्तुनिष्ट निष्कर्षमा पुग्नु आवश्यक छ । “हरेक कुरामा सन्देह गर ” भन्ने माक्र्सका अनुयायी नै अन्धानुकरणको शिकार हुनु दुःखद् विषय हो । त्यसकारण विश्वका कुनै पनि कम्युनिष्ट पार्टीहरुको साझा मार्गदर्शक सिद्धान्त  माक्र्सबाद मात्र हुन सक्छ । आफूलाई अरुभन्दा फरक देखाउन वा क्रान्तिकारी देखाउन त्यसमा पुच्छर जोड्नुको कुनै तुक देखिदैन ।


ख) नौलो जनबादबारे
चीनमा माओले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने क्रममा कुनै देश अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा रहेको बेला कस्तो राज्य सत्ता कायम गरिएमा देश पुजीबाद वा पूजीबादबाट साम्राज्यबाद तर्फ जानुको सट्टा समाजबाद तर्फ डोहोर्याउन सकिन्छ भन्ने विचार अघि सारे । त्यो बिचार चीनमा त सफलतापूर्वक लागू भयो तर त्यही रुपमा अन्यत्र कहीं लागू भएन । चीनमा नौलो जनवादी क्रान्ति सम्पन्न भए लगत्तै कमरेड पुष्पलालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले नेपाल पनि चीन जस्तै अर्ध औपनिवेशिक र अर्ध सामन्ती अवस्थामा रहेको र यहाँ नौलो जनबादी क्रान्ति आवश्यक भएको निष्कर्ष निकालेको थियो । र, सोही बमोजिमको कार्यनीति  तय गरेको थियो । झापा विद्रोह हुदै पार्टी बनेको तत्कालीन नेकपा(माले)ले झण्डै एक दशक नौलो जनबाद प्राप्तिका लागि सशस्त्र संघर्ष बाटो तय गरेको थियो । तत्कालीन नेकपा(मशाल)का महामन्त्री प्रचण्डले २०४५सालमा “नेपाली क्रान्तिका समस्या र दृष्टिकोणको प्रश्न”भन्ने दश्तावेजमा “नेपाली क्रान्तिको चरित्र सामन्तबाद–साम्राज्यबाद विरोधी अर्थात् नयाँ जनबादी हुन्छ” भनेका थिए । २००७ सालदेखि ०६३ सालसम्मका जनआन्दोलन,जनयुद्ध र मधेश आन्दोलनले नेपालमा थुप्रै परिवर्तन ल्यायो, सामन्तवादी सत्तालाई समूल नष्ट गर्यो तर चीनमा भएको जस्तो नयाँ जनवादी क्रान्ति  नेपालमा सम्पन्न हुन सकेन । माओबादी १० बर्षे जनयुद्धको उदेश्य त्यही भएपनि त्यो पूरा हुन सकेन । मुख्य उदेश्यमा  माओबादी जनयुद्ध असफल रह्यो । यो ६० बर्षको अवधिमा नेपाल अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थाबाट  पूजीबादी चरणमा रुपान्तरित भएको छ । कुल ग्राहस्थ उत्पादनको दृष्टिले र विद्यमान ब्यापार घाटाको दृष्टिले देश गरीब देशहरुकै कोटीमा छ, तर सामाजिक विषेशताको दृष्टिले देशमा आमूल परिवर्तन आएको छ ।

आज सम्म एनेकपा (माओबादी) लगायतका बिभिन्न माओबादी घटकले १० बर्षे जनयुद्धको समीक्षा गरेको कुनै दस्तावेज बाहिर आएको छैन । तर एकदिन तिनीहरुले जनयुद्धको निर्मम समीक्षा गर्नै पर्छ । केवल “महान जनयुद्ध”भन्ने शब्दावली प्रयोग गरेरमात्र पुग्दैन ।  जनयुद्धले जनजागरण ल्यायो, शहरीकरणलाई तीव्रता दियो, तत्कालीन संसदबादी दलहरुलाई राजतन्त्र अन्त्य गर्ने आन्दोलनमा उतार्यो । तर सबैलाई थाहा छ , हरेक युद्धले तलका तीन मध्ये एक परिणाम ल्याउछ ।
१) कब्जा
२) सम्झौता
३) आत्मसमर्पण
नेपाली माओबादी जनयुद्धले उल्लिखित कुनचाहिं परिणाम प्राप्त गर्यो त ? यसको गम्भीर समीक्षा नेपालको कम्युनिष्ट आन्दोलनले गर्ने नै छ । किनभने ईतिहासको तथ्यपरक समीक्षा र बर्तमानको यथार्थ विश्लेषण गरेरमात्र सही गन्तव्य तय गर्न सकिन्छ ।
नेपाली सामाजको चरित्रमा आएको फेरबदलको कारण अबको नेपालमा नौलो जनवादी क्रान्तिको न आवश्यकता छ न सान्दर्भिकता नै ।  नेपालको धरातलीय यथार्थ नौलो जनबादी क्रान्तिको लागि अब उपयुक्त छैन । यसो भन्न सकिन्छ, जतिसुकै मजबुत डोरीले नौलो जनवादलाई चीनबाट नेपालमा तान्न प्रयत्न गरिए पनि सगरमाथाबाट त्यो यता ओर्लन सकेन । र, भविष्यमा ओर्लने संभावना पनि छैन  । तर माओबादीका केही घटकले अझै नौलो जनवादी कार्यक्रम नछोड्नु र एक शताब्दी अगाडिको माओको आँखाले बर्तमान  नेपाली समाजलाई हेर्नु उनीहरुको बैचारिक दिवालीयपन सिवाय केही होइन । चीनको सन्दर्भमा माओले डिजाइन गरेको नौलो जनबादी कार्यक्रम नेपालमा लागू हुन नसक्ने पक्का भएपछि माओबादी आन्दोलन अब नेपालमा कसरी अगाडि बढ्ला ? चीनीयाँ कम्युनिष्ट पार्टीले माओ विचार मात्र भन्नुले पनि माओको बैचारिक योगदानले बादको उचाई प्राप्त गर्न सक्दैन भन्ने स्वतः सिद्ध छ । विश्व कम्युनिष्ट आन्दोलनका नेताको रुपमा श्रद्धेय माओको विचार नेपालमा अब लागू हुन सक्दैनन् भन्ने तथ्य अझै किन लुकाउने ? कहिल्यै पानी नपार्ने सुन्दर बादलको कतिन्जेल स्तुति गरिरहने ? के  कम्युनिष्टहरुले जनताको सामु साँचो बोलेर  राजनीति गर्न सक्दैनन्  ? जनता सामु साँचो बोलेर गरिएको राजनीति मात्र टिकाउ हुन्छ । त्यसो गरेरमात्र श्रमजीवीहरुको सच्चा प्रतिनिधि बन्न सकिन्छ ।

ग) एमाले धार
नब्बेको दशकमा विश्व कम्युनिष्ट आन्दोलनले खाएको धक्का पश्चात् नेकपा(एमाले) ले नौलो जनवादबाट आफ्नो कार्यक्रमलाई बहुदलीय जनबाद त बनायो, तर त्यसले  पूजीबादी संसदीय ब्यबस्थाको भद्दानुकरण मात्र गर्न पुग्यो ।   त्यस पस्चात् एमालेजनहरुले मदन भण्डारीलाई अन्तिम सत्यको रुपमा बुझ्न थाले । मदन भण्डारीेले जनताको बहुदलीय जनबादको ब्याख्या गर्ने क्रममा भनेका थिए–“जनताको बहुदलीय जनबाद भनेको सामन्तबाद–साम्राज्यबाद बिरोधी जनबादी ब्यवस्था हो ।” उनले यसो पनि भनेका थिए जबज भनेको नयाँ विशेषता सहितको नयाँ जनबाद नै हो । तर त्यस्तो ब्यवस्था कस्तो अवस्थामा आउँछ भनेर एमालेलाई सोध्यो भने उनीहरुकसँग त्यसको जवाफ छैन ।

बस्तुतः ०६२।६३ सालको परिवर्तनले जनताको बहुदलीय जनबादका प्रमुख विषेशताहरुलाई असान्दर्भिक र अपूर्ण बनाइदियो ।  किनभने गणतन्त्र, समावेशीकरण र संघीयता जनताको बहुदलीय जनवादी शब्दकोषमा थिएनन् । २०६२।६३ को जनआन्दोलने बोकेका प्रमुख एजेन्डा नबोकेको जबजको निरन्तर जप कति जायज छ ? सिद्धान्त भनेको भजन गर्नका लागि होइन,व्यवहारमा उतार्नका लागि हो । मदन भण्डारीको वैचारिक क्षमता, भाषण कला र सादा जीवन सबै कम्युनिष्टहरुका लागि प्रेरक भए पनि उनले अघि सारेको विचार देशको यथार्थ वस्तुस्थितिको कसीमा निर्ममतापूर्वक घोट्नुको कुनै विकल्प छैन । त्यसो गरेर मात्र सच्चाइमा पुग्न सकिन्छ ।
जनताको बहुदलीय जनबादले  सो पार्टीलाई तुरुन्त संसदीय पार्टीमा रुपान्तरण गरिदियो । विचारमा देखिएको दक्षिणपन्थता तुरुन्त सो पार्टीको संगठनमा सर्यो र संगठनमा बचे खुचेको श्रमजीवी बर्गीय चिन्तन र क्रान्तिकारी स्पिरिटलाई समाप्त पारिदियो । परिणामस्वरुप पूजी हुनेले पार्टीभित्र चाँडै पाउने पूजी तथा अन्य स्रोत र  साधन नहुनेले लो प्रोफाइलमै रहनु पर्ने परिपाटीको सिर्जना गरिदियो । श्रमजीवी वर्गबाट त्यो अलग थलग भएर गयो । त्यसकारण विचार, सिद्धान्त र चरित्रले एमाले नेपाली काग्रेस जस्तै सुधारबादी–लोकतन्त्रबादी पार्टीको रुपमा मात्र रहेको छ । नेकपा (एमाले) हालसम्म भन्ने गरिएको लेनिनवादी संगठनात्मक सिद्धान्तबाट चलेको पार्टी होइन । त्यसो हो भने त नेपाली कांग्रेसको पार्टी संगठनलाई पनि लेनिनवादी संगठन वा सिद्धान्त अनुसार चलेको पार्टी हो भन्ने निष्कर्ष निकाल्नु पर्ने हुन्छ । पार्टीभित्र कुनै व्यक्तिको छनोट गर्दा व्यक्तिमा निहित वैचारिक उचाइ, त्याग र समर्पणलाई मापदण्ड बनाउनुको सट्टा उसले प्रयोग गर्न सक्ने स्रोत र साधनको हेक्का राखिनु वा गाई कि त्रिशुल सम्भावनाको सहारा लिनु लेनिनको संगठनात्मक सिद्धान्त भित्र किमार्थ पर्दैन ।

घ) माओबादी घटकहरु
चीनीया नौलो जनबादी क्रान्तिका नायक माओलाई अधिमूल्यांकन गर्दै माआबादीहरुले सञ्चालन गरेको जनयुद्धले  माथि भनिएझैं ग्रामीण ईलाकामा रहेको सामन्ती अवशेषलाई  अन्त्य गर्यो, पिछाडि पारिएका जनतालाई  आफ्नो अधिकार प्रति सचेत पार्यो तर चीनीया जनयुद्धृले जस्तो सत्ता कब्जा गर्न सकेन । उदेश्य पूरा नहुदै जनयुद्ध सम्झौतामा टुगिंयो । हजारौ गरीबका छोराछोरीले रगत बगाएर निर्माण गरेको जन सेना क्षणिक सत्तासंग सौदाबाजी गर्नुपर्ने परिस्थिति सिर्जना भयो ।  माओबादी जनयुद्धले सत्ताबाट धेरै टाढा रहेका जनतालाई गगनचुम्बी सपना त बाँड्यो तर एमाओबादी सत्तामा पुगेपछि ती सपना मुर्तीकृत हुन सकेनन् । सपनाहरु एकैपटक छताछुल्ल हुँदा  पार्टीमा देखा परेको अराजकताले पार्टीलाई विभाजन,विखण्डन र  हाल विघटनको संघारमा पुर्याइदिएको छ । न लेनीनले भनेजस्तो जनबादी केन्द्रीयताको अभ्यास पार्टी संगठनभित्र गरिन्छ न एमालेले अपनाएको जस्ता पूजीबादी शैलीको चुनाव । शान्ति प्रक्रियामा आइ दुई दुई पटक संविधान सभाको चुनावमा भाग लिइसक्दा पनि पार्टी विगत जनयुद्धताकाको कमाण्डरसीपबाट लिडरसीपमा परिणत हुन सकेन । बिगतको जस्तै पार्टीभित्र  कमाण्डरसीप कायम रहदाँ कार्यकर्तामा लोकप्रियता र बैचारिक उचाईका लागि हुने प्रतिस्पर्धा कुण्ठित भएको छ । एकता प्रक्रियामा आएका हजारौ नेता कार्यकर्ता उचित जिम्मेवारीबाट बञ्चितमात्र छैनन्, उनीहरुलाई जनयुद्धका कमाण्डरहरुबाट निरन्तर “युद्ध नलडेको मान्छे भाग खान आएको” भनेर अपमान गरिदैंछ । एमाओबादीभित्र पद्दति र पार्टी निर्णयले निर्देशित गर्दैन, पद्दति वा पार्टी निर्णयभन्दा नेताको आदेश बलशाली हुन्छ । केन्द्रीय समितिले प्रायः निर्णय नै गर्न सक्दैन,गरिहाल्यो भने पनि त्यो निर्णय आधारभूत तहमा नपुगी हराउछ । त्यही कारण   एमाओबादी ( अरु माओबादीमा पनि) मा नेता छन् कार्यकर्ता छन् समर्थक र मतदाता पनि छन् तर पार्टी हराउदै गएको छ । जनयुद्ध लडेका योद्धाहरु या त विचल्लीमा छन् या त विदेशमा छन् । शहीद र बेपत्ता परिवार दर्दनाक जीवन बिताइ रहेका छन् । जनयुद्धको उत्कर्षमा पार्टीका लागि संकलित स्रोत र साधन आफ्नोलागि जोहो गर्नेहरुको जीवनमा अप्रत्यासित परिवर्तन देखिनु र सबै कुरा पार्टी हो भन्ने सोच्नेहरुको हात मुख जोड्न नसक्ने अवस्था बन्नु माओवादी पार्टी संगठनको प्रमुख विशेषता बनेको छ । पार्टी भित्रका हुने खाने हरु र हुँदा खानेहरुबीचको अन्तर विरोध व्यवस्थापन नभएमा त्यस भित्र थप अराजकता बढ्ने निश्चित प्रायः छ । त्यसै गरी नव सामन्ती चिन्तन र ठेकेदारी प्रथा पार्टीका बिभिन्न नेतृत्व तहमा देखिदैछ । त्यति मात्र होइन, कार्यकर्ता र जनतासंग नजोडिने नेतृत्वको गैरजिम्बेबार कार्य शैली कायम रहेमा र यसका नेता, कार्यकर्ता अहिले जस्तै निवृत्त सिपाहीले गर्ने जस्तो विगतमा लडेको युद्धको दिनभरि बखान गरेर बस्ने तर भविश्यप्रति केवल निराशामात्र ब्यक्त गर्ने हो भने ती पार्टीहरुको विघटन हुन कति बेर लाग्दैन । गणेशमान सिह देहान्त हुनु केही दिन पूर्वमात्र दिइएको एक अन्तर्बार्तामा उनले अब देशमा हरित क्रान्ति गर्नु पर्छ भन्दै थिए । म प्रधानमन्त्री भएर देशको आमूल परिवर्तन गर्छु भन्दा भन्दै मनमोहन अधिकारीले गोठाटारको आमसभामै ज्यान गुमाए । यहाँ यो सन्दर्भ उल्लेख गर्नुको तात्पर्य के हो भने राजनीतिले इतिहासलाई सन्दर्भ सामग्रीको रुपमा लिएर भविष्यको योजना बनाइ रहेको हुन्छ । इतिहासप्रति अवस्तुवादी दृष्टिकोण राखेर भविष्यप्रति अन्योल ग्रस्त जीवन बिताउनु द्वन्द्ववादी भनिनेहरुको लागि दुःखदायी छ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा आफ्नो बर्गको आन्दोलन र पार्टी भनेर हजारौ गरीब सर्वहाराले रगत पसिना बगाएका छन् । समय दिएका छन्,मतदान गरेका छन् । तर अहिलेसम्म गरीब–सर्वहारा वर्गका पार्टी सत्ता स्थापना हुन सकेन । यसको प्रमुख कारण गरिबलाई राजनीतिको केन्द्रमा आउन सक्ने अवस्थाको सिर्जना हुन नसक्नु नै हो  ।
गरीब–सर्बहाराको नाममा अरुले नै रजाइँ गर्ने परिपाटीको अन्त्य नभएसम्म यसमा सुधार आउने संभावना पनि छैन । विडम्वना नै भन्नु पर्छ,बर्गीय मुक्ति आन्दोलनमा नेपालका कम्युनिष्ट पार्टीहरु ईमानदार देखिएनन् । जातीय मुद्धाले बर्गीय मुद्धालाई ओझेलमा पार्नु अर्को दुःखद् विषय बनेको छ ।

ङ) समाजबादबारे
जसरी नेपालमा नौलो जनबादबारे कम्युनिष्ट पार्टी गठन भए यता हालसम्म नेताहरुमा भ्रम बाँकी छ, त्यसरी नै बैज्ञानिक समाजबादबारे पनि काफी भ्रम छ । करिब एक शताब्दी अघि वैज्ञानिक समाजवादका व्याख्याताहरुले वैज्ञानिक समाजवाद भनेको योग्यता अनुसारको काम, काम अनुसारको दाम भन्ने परिभाषा गरेका थिए । योग्यता अनुसारको काम दिलाउन र काम अनुसारको दाम दिलाउन समाजवादी राज्यले देशको स्रोत साधनलाई आफ्नो जबरजस्ती नियन्त्रणमा लिई  वितरणको नीति अवलम्बन गरेको थियो । त्यसो गर्दा जनताको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास मात्र आएन, व्यक्तिको नैसर्गिक स्वतन्त्रतामाथि समेत प्रहार गर्यो । समाजवादका व्याख्याताहरुले समाजवाद प्राप्तिका लागि पूर्ण स्वतन्त्रता आवश्यक हुन्छ भन्ने साझा निष्कर्ष निकाले पनि व्यवहारमा राज्य नियन्त्रित समाजवादको अभ्यास हुन पुग्यो । एक शताब्दि अगाडिको विश्व र वर्तमान विश्व परिस्थितिमा आमूल भिन्नता आइसकेको कारण त्यो बेलाको समाजमा उपयुक्त मानिएको समाजवाद वर्तमान विश्वको कुनै कुनामा पनि लागू हुन सक्दैन । त्यति बेला, व्यक्तिको भूमिमाथिको अधिकार र उद्योग कलकारखाना माथिको स्वामित्वलाई प्रमुख रुपमा हेरिन्थ्यो भने अहिले व्यक्तिको प्रविधि र सीपको पहुँच, जग्गा जमिन र उद्योग धन्दा माथिको उसको स्वामित्व भन्दा प्रभावशाली र मूल्यवान हुँदै आएको छ । गुगल, फेसबुक, ट्वीटर आदिका संचालकहरुले संसारमा पार्ने प्रभाव र कमाउन सक्ने आर्थिक लाभ हजारौं एकड जमिन वा विश्वका ठूल्ठूला उद्योग धन्दाले प्राप्त गर्ने मुनाफा भन्दा कम छैन । उत्पादनका साधन माथिको स्वामित्व नभएको व्यक्तिलाई कार्ल माक्र्सले सर्वहारा भनेर परिभाषा गरे तर अहिले  उल्लेखित सीप र सूचना भएमा त्यो “सर्वहारा” छोटो अवधिमै विश्वको सबभन्दा धनी मानिस हुन बेर लाग्दैन । विडम्बना हाम्रो देशमा हाल सम्म पनि क्रान्तिकारी भूमिसुधारको नाममा जग्गा बाँड्ने र खोस्ने लुकामारी चलिरहेको छ । आज कुनै व्यक्तिलाई बासको लागि एक टुक्रा जमिन दिनु भन्दा उसलाई बाँच्नका लागि सीप,योग्यता र सूचनाबाट समृद्ध पार्नु बढि आवश्यक छ । “माछा दिनु भन्दा माछा मार्न सिकाउनु बेस हुन्छ” भन्ने चिनिया उखान यहाँ स्मरणीय छ । समुचित भूउपयोग नीति निर्माण गर्नु आवश्यक छ । न कि दशकौं अगाडि व्यवहारमा रहेको भूमि वितरण ।

नेपालको कम्युनिष्ट आन्दोलन म्याद सकिएको औषधि जस्तो विचार मात्र बोकेर  अब अगाडि बढ्न सक्दैन ।देशको बस्तुगत अवस्थासंग असान्र्दिभिक विचारहरुको भजन गर्न छोडेर विश्व कम्युनिष्ट आन्दोलनले अनुभव गरेर आएका विभिन्न विचार र घटनालाई सन्दर्भ सामग्रीको रुपमा लिएर नेपालको वर्तमान वस्तुगत परिस्थितिको ठोस विश्लेषणको आधारमा नया कार्यनीति रणनीतिको निर्माण गर्नु आवश्यक छ । अन्यथा,नेपालको कम्युनिष्ट आन्दोलन रथ अघि अघि र घोडा पछि पछि हुने परिस्थितिको सिकार हुन बेर लाग्दैन । समग्र कम्युनिष्ट आन्दोलनका लागि जसरी नयाँ विचारको आवश्यकता छ, त्यसरी नै त्यो विचार बोक्ने क्रान्तिकारी पार्टीको आवश्यकता रहन्छ । तर, रुसी क्रान्ति वा चिनिया क्रान्तिको अमिट छाप परेका नेपाली कम्युनिष्ट नेताहरुले नेपालको परिवर्तन, अग्रगमन र भावी कार्यनीतिक कार्यदिशालाई त्यही पुरानो आँखाले हेर्ने परिपाटी कायम रहे सम्म वर्तमान अवस्थामा तात्विक परिवर्तनको अपेक्षा गर्न सकिंदैन । यो त केवल साथी डुब्न लाग्दा त्यसलाई कसरी बचाउने भन्ने उपाय किताबमा खोज्ने बनारसी पण्डितको तरिका जस्तो मात्र भइरहेको छ ।
अबको वैज्ञानिक समाजवाद विगतमा अभ्यास गरिएको जस्तो निषेधकारी तरिकाले निर्माण गर्न सम्भव छैन । अब निर्माण गर्ने वैज्ञानिक समाजवाद  ज्ञान, सीप, दक्षता र सूचनाले संमृद्ध मानिसहरुको स्वस्थ एवं इमान्दार प्रतिस्पर्धाबाट निर्माण गरिनु पर्दछ । व्यक्तिको सांस्कृतिक एवं चारित्रिक रुपान्तरण, प्रत्येक नागरिकलाई राज्यको समान सेवा, शिक्षा स्वास्थ्य जस्ता नैसर्गिक अधिकारमा समान पहुँच र उपलब्धता प्रतिस्पर्धात्मक समाजवाद निर्माणका प्रस्थान विन्दु हुन सक्दछन् । वैज्ञानिक विश्व दृष्टिकोण,सहकारी एबम् सामूहिक प्रयासद्वारा निजी आवश्यकताको परिपूर्ति, प्रगतिशील आरक्षण, समावेशीमरण,सकारात्मक बिभेद र लोक कल्याणकारी राजकीय कदमहरुको माध्यमबाट समाजवादतर्फ देशलाई उन्मुख गराउन सकिन्छ ।
संसारको कुनै शासन व्यवस्थाले  प्रतिस्पर्धालाई निषेध गर्न सक्दैन । प्रतिस्पर्धा मानव स्वभाव हो । समाजबादमा मात्र होइन साम्यबादमा पनि मानव मानव वीच स्वस्थ्य प्रतिस्पर्धा रहिरहन्छ । यो जन्मजात गुण भएकाले त्यसलाई नियन्त्रण गर्न खोज्नु कसैकालागि सुहाउने कुरो होइन । तर हज्जारौं बर्षदेखिको शोषणबाट बर्ग,जाति र समुदायलाई आधुनिक विश्वको प्रविधि, सीप , शिक्षा र आवश्यक स्रोत साधन उपलब्ध गराउनुका साथै अकूत सम्पतिवालालाई राजकीय पहलबाट नियन्त्रण गर्ने परिपाटी अवलम्बन गर्नु जरुरी छ । पूजीबादी घाँटी कटुवा प्रतिस्पर्धाको अन्त्य गर्न श्रमजीवी सत्ता आवश्यक हुन्छ । श्रमजीवी सत्ता निर्माण गर्न सोही बर्गको सच्चा क्रान्तिकारी पार्टी नभई हुदैन । बर्गीय मुक्तिले नै सबै उत्पीडनको समाप्ति गर्ने भएकोले  नेपाली समाजको सही बर्ग विश्लेषण गरेर बास्तविक श्रमजीवी बर्गको नेतृत्व स्थापित गर्न मजवुत पार्टी निर्माण आजको युगीन आबश्यकता हो ।

च) हाम्रा नाराहरु
१) वैदेशिक लगानीलाई राष्ट हीत अनुकुल हुनेगरी मात्र स्वीकार गर।
२) राष्टिय पूँजी प्रबर्धन गर्न विशेष कार्यक्रम घोषणा गर । स्वाधीन राष्टिय अर्थतन्त्रको विकास गर ।
३) गरीबीको रेखामुनि रहेका जनतालाई  तत्काल विशेष भत्ताको ब्यवस्था गर । राज्यका हरेक निकायमा उनीहरुलाई  विशेष आरक्षण गर ।
४) बार्षिक ५० लाख आन्दानी भएका ब्यक्तिको सम्पतिमाथि ६० प्रतिशत कर लगाउ र सो करको ५० प्रतिशत सोझै विपन्न बर्गको हितमा प्रयोग गर ।
५) एक गाउँ एक प्राविधिक केन्द्रको नीति लागू गर ।
६) मजदुर बर्गको हितको लागि मजदुर राष्टिय निवृतिभरण कोषको स्थापना गर ।
७) २० बर्ष भन्दा बढी कृषि ब्यवशायमा जीवन विताएका कृषकहरुलाई अधिकृत सरह निवृतिभरणको ब्यवस्था गर ।
८)भारत र चीनसँग समदुरीको भाइचारा सम्बन्ध कायम गर ।
९) जातीय समावेशीकरण सगैं उत्पीडित बर्गको समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टी गर । राज्यका हरेक तहमा गरीबीको रेखामुनी रहेका जनताको समानुपातिक प्रतिनिधित्व सुनिस्चित गर ।
१०) वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका परिवारको जीवन गुजाराको ब्यवस्था गर ।
११) जनतालाई शिक्षा र स्वास्थ्यको पूर्ण  ग्यारेण्टी गर ।
१२) लोपोन्मुख भाषाहरुको छुट्टा छुट्टै अध्ययन प्रतिष्ठान निर्माण गर ।


http://www.khabardabali.com बाट 

Tuesday, March 10, 2015

संघीयताले शासन/प्रशासनको कौसीमा भएकालाई छिँडीमा झार्ने होइन, छिँडीमा भएकालाई कौसीमा पुर्‍याउने हो- श्याम श्रेष्ठ

संघीयताले शासन/प्रशासनको कौसीमा भएकालाई छिँडीमा झार्ने होइन, छिँडीमा भएकालाई कौसीमा पुर्‍याउने हो

नेपालको सामाजिक बनोट

क) नेपाल बसाइँसराइबाट बनेको देश
एकथरी समुदाय पश्चिम र दक्षिण नेपाल हुँदै यहाँ बसोबास गर्न आइपुग्यो । त्यो ककेसियाली समूह हो जसमा खस–आर्य समुदाय पर्छ । यो समुदायले नेपालको निकै ठूलो भूभाग ओगटेर बसेको छ । अर्को समूह हो मंगोल जसमा राई, लिम्बु, नेवार, तामाङ, मगर, गुरुङ, थारु, शेर्पा, थकालीलगायत पर्छन् । यो पूर्वी र उत्तरी नेपालबाट यहाँ बसोबास गर्न आइपुग्यो उनीहरुको पनि आफ्नै विशाल भूभाग र जनसंख्या छ । मूलतः यी दुई समूह मिलेर नेपाली समाज बनेको छ ।
ख) अल्पसंख्यकहरुको देश
नेपाल बहुसंख्यकको देश होइन । नेपालका कुनै पनि समुदाय बहुसंख्यामा छैन । हालका जिल्लाहरुमा बाहेक कुनै पनि समूह प्रदेश बनाउँदा बहुमतमा हुनेछैन । क्षेत्रीको सुदूर पश्चिमका ९ वटा जिल्लामा बहुमत छ, त्यसबाहेक अरु केही जातिको एकएक जिल्लामा मात्र बहुमत छ ।
२०५८ मा भक्तपुर जिल्लामा नेवारहरुको बहुमत थियो, २०६८ को जनगणनामा त त्यो स्थिति पनि रहेन । तामाङको बहुमत रसुवामा मात्रै छ । मगरको बहुमत पाल्पामा मात्रै छ । थारुको बहुमत बर्दियामा मात्रै छ । गुरुङको बहुमत मनाङमा मात्रै छ ।
नेपालमा जसरी प्रदेश बनाए पनि त्यो प्रदेश एकल जातीय हुन सम्भव छैन । यो कुरा बुझ्न हाम्रा दलहरुलाई हम्मेहम्मे भएको छ । नबुझेर पनि संघीयताबारे काफी भ्रम पैदा भएको छ ।
नेपालको सबैभन्दा ठूलो समुदाय नै क्षेत्री हो जसको जनसंख्या १७ प्रतिशत मात्र छ । त्यसपछि ठूलो समुदाय दलित हो जसको जनसंख्या १३ प्रतिशत छ । तर यो समुदाय पूरै छरिएको छ । बाहुनको १२ प्रतिशत छ । मगरको ७ प्रतिशत, थारुको ६.५ प्रतिशत, तामाङको लगभग ६ प्रतिशत, नेवारको लगभग ५ प्रतिशत रहेको छ ।
जनसंख्याको अनुपात हेर्दा मुसलमानको जनसंख्या ४.७ प्रतिशत छ । यादवहरुको ३.९८ प्रतिशत, राईहरुको २.२ प्रतिशत र गुरुङको १.९७ प्रतिशत जनसंख्या रहेको छ ।
जनसंख्याको हिसाबले यी समूहहरु ‘क्लस्टर’ (सघन बसोबास) भएको क्षेत्र छ, उनीहरुको बाहुल्यता छ । माहुरीको चाकाजस्तो बसोबास प्रायः जातिको छ तर ५० प्रतिशतभन्दा बढी जनसंख्या कुनै एक जातिको मात्र छैन । यसबाट निस्कने तीतो सत्य के हो भने एकल जातीय प्रदेश अथवा एकल जातीय पहिचान बन्न सम्भव छैन । यो कुरा बुझ्न जति ढिलो हुन्छ, निष्कर्षमा पुग्न त्यति नै ढिलो हुनेछ ।
ग) जातजातिको बाहुल्यता क्षेत्र
पूर्वी नेपालको पहाडी क्षेत्रमा लिम्बु र राईको बाहुल्य क्षेत्र छ । मध्यपहाडमा तामाङ र नेवारको बाहुल्य क्षेत्र छ । पश्चिम नेपालमा मगर र गुरुङको बाहुल्य क्षेत्र छ । सुदूर पश्चिममा क्षेत्रहरुको बाहुल्य क्षेत्र छ । पूर्वी तराईमा यादव र थारुहरुको बाहुल्य क्षेत्र भेटिन्छ । पश्चिम तराईमा थारुको बाहुल्य क्षेत्र छ । यी तिनै समुदाय हुन् जो माहुरीको चाकाझैं बसोबास गर्छन् ।
यी जातिहरुको जनसंख्याको जो घना बस्ती छ, उनीहरुको जो बाहुल्य क्षेत्र छ पञ्चायती व्यवस्थाले टुक्र्याइदिएको थियो । यी जातजातिहरुलाई यो जिल्ला, त्यो जिल्ला गरेर छताछुल्ल बनाइदिएको थियो । अहिलेको संघीयताले यी जाततजातिहरुको घना बस्ती (क्लस्टर) लाई एकठाउँ बनाउनुपर्छ ।
अहिले नमिलेको कुरा यसैमा छ । एकथरीलाई घना बस्ती भन्ने कुरा सुन्नै मन छैन । उनीहरु बाहुल्यता भएको प्रदेश बनाउने पक्षमा छँदैछैनन् । अर्कोथरी चाहिँ बाहुल्यता भएको प्रदेश बनाउनुपर्छ । कुनै जातिको घना बस्ती छ भने त्यसलाई जोगाएर प्रदेश बनाउनुपर्छ भनिरहेको छ । विवाद यहाँनिर छ ।
बाहुल्यता हुन दिने हो भने संघीयताको एउटा स्वरुप हुन्छ, बाहुल्यता हुन नदिने हो भने संघीयताको अर्को स्वरुप हुन्छ । जातजातिको क्लस्टर छताछुल्ल बनाउने हो भने संघीयताको एउटा स्वरुप हुन्छ, छताछुल्ल नबनाउने हो भने संघीयताको अर्को स्वरुप हुन्छ । दलहरुबीच झगडा यो कुरामा भइरहेको छ ।
बहस संघीयता कस्तो बनाउने भन्नेमा हुनुपर्ने तर झगडा प्रदेशको नाम राख्नेमा भइरहेको छ । नामका लागि झगडा गर्ने, कस्तो संघीयता बनाउने भन्नेबारे बहस नगर्नु भनेको बोक्राको झगडा हो, गुदीको झगडा होइन ।

नेपाल संघीयतामा जानुपर्ने तीन कारण

पहिलो कारण । नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो । यो देश एकल जाति, एकल भाषा भएको देश होइन । तर नेपालमा एकल जातीय राज्य चल्दै आएको छ । यस्तो एकल जातीय राज्यलाई बहुजातीय बनाउन संघीयतामा जानुपरेको हो । एकल भाषिक राज्यलाई बहुभाषिक बनाउन, एकल सांस्कृतिक मुलुकलाई बहुसांस्कृतिक राज्य बनाउन संघीयतामा जानुपरेको हो । समानुपातिक समावेशी व्यवस्था गरेर राज्यलाई बहुभाषिक, बहुसांस्कृतिक बनाउने हो ।
तर नेपालमा संघीयताले एकल जातीय राज्य बनाउँछ भनेर ज्यादै उल्टो प्रचार भइरहेको छ । संघीयताले त अहिलेको एकल जातीय राज्यलाई बहुजातीय बनाउने हो । जसको जनसंख्या जति छ, देशको शासन–प्रशासनमा उनीहरुको प्रतिनिधित्व पनि त्यति नै गराउने समानुपातिक समावेशी व्यवस्था गरेर यसो गर्ने हो । संघीयताको पहिलो काम यो हो ।
दोस्रो कारण । अधिकार र स्रोतसाधन जति केन्द्रमा थुप्रियो । सिंहदरबारमा थुप्रियो । तल जनतालाई अधिकार पनि भएन, स्रोतसाधन पनि भएन । केन्द्रमा थुप्रिएका अधिकार र स्रोतसाधनलाई तल जनताको हातमा पुर्याउन संघीयतामा जानुपरेको हो ।
सानो कामका लागि पनि केन्द्रमै आउनुपर्ने त्यसलाई अन्त गरेर सेवासुविधा लिनेदेखि लिएर शासन–प्रशासन गर्ने अधिकार तल जनतासम्म पुर्याउने काम संघीयताले गर्ने दोस्रो काम हो ।
तेस्रो कारण । कतै विकासै विकास, कतै अविकासै अविकास छ । असमानतामूलक, असमावेशी, असन्तुलित विकास नेपालको अहिलेसम्मको ढाँचा हो । यसलाई समतामूलक, समावेशी र सन्तुलित विकास गर्नका लागि संघीयता चाहिएको हो । कर्णाली हेर्यो अविकासै अविकास, काठमाडौं हेर्यो विकासै विकास ! एउटा काठमाडौं जिल्लाको बजेट सिंगो कर्णालीको भन्दा ज्यादा ! यो स्थिति उल्ट्याउने काम संघीयताले गर्ने तेस्रो काम हो ।
यो तीनवटा कारणलाई सम्बोधन गर्ने गरी संघीयताको ढाँचा कोरियो भने मात्र त्यो कामलाग्दो हुन्छ । तर, यो दलहरुबीच यो कारणबारे नै एकरुप बुझाइ छैन ।

नेपालमा जातीयता र वर्ग

जातीयता कुरा धेरै उठिसकेको छ । जातीय समावेशिता हुनैपर्छ । ब्राह्मण, क्षेत्री, ठकुरी, सन्यासी गरेर ३१ प्रतिशत हुन जान्छ तर शासन–प्रशासनको ८१ प्रतिशत भाग आफ्नो हातमा लिएको छ । यो अन्यायपूर्ण छ भन्ने कुरा सही छ ।
संघीयताले गर्ने कुरा के हो भने जो शासन–प्रशासनको कौसीमा छ, उसलाई छिँडीमा झार्ने होइन, छिँडीमा भएकाहरुलाई कौसीमा पुर्‍याउने हो । तर भ्रम के फैलाइयो भने संघीयता भयो भने कौसीमा बस्ने सबै छिँडीमा आउनुपर्छ । यो डर पैदा भएका कारण संघीयताबारे नानाथरी भ्रम फैलाइएको छ ।
दलित छिँडीमा छन्, जनजाति छिँडीमा छन्, मधेसी छिँडीमा छन् । अल्पसंख्यकहरु छिँडीमा छन् । संघीयताले उनीहरुलाई पनि कौसीमा पुर्‍याउने हो । खालि कुरा के हो भने जजसले अरुको भाग पनि खाइरहेका छन्, उनीहरुको भागचाहिँ फिर्ता गर्नैपर्ने हुन्छ । संघीयता यतिचाहिँ गर्नेछ, गर्नैपर्छ । यो कुरा प्रस्ट नपार्दा संघीयताबारे धेरै भ्रम फैलिएको छ ।
तर नेपालमा पाखा परेका जाति मात्र छैन, वर्ग पनि छ । पाखा परेको वर्गलाई कसरी संघीयतामा न्याय दिने ? यसबारे बहसै भएको छैन । यो कुरा छुटिरहेको छ । नेपालमा ४७ प्रतिशत मानिस गरिब किसानका रुपमा छन् जससँग आधा हेक्टरभन्दा कम जमिन छ । लगभग आधा जनसंख्या शासन–प्रशासनमा कहिले पनि पुगेको छैन । १ हेक्टरसम्म जमिन हुनेहरु जोड्ने हो भने यो जनसंख्या ६८ प्रतिशत पुग्छ ।
संघीयता आइसकेपछि यो वर्गलाई शासन–प्रशासनमा पुर्याउने कसरी ? जातीय समावेशिताको कुरा भयो, वर्गीय समावेशिताको कुरा छुट्यो । यो पनि नेपालको संघीयताको बहसका कमजोरी हो ।
नेपालभरि नै छरिएर रहेका बाहुनभन्दा पनि १ प्रतिशत बढी जनसंख्या भएका दलित शासन–प्रशासनमा कसरी पुग्छ ? यो कुरा पनि बहसको विषय बनेको छैन ।
हामी किन संघीयतामा जानु परेको हो ? त्यो कारणलाई एकातिर फालेर संघीयताको बहस हुनुले जटिलता पैदा भएको छ । एकथरीका लागि कारण ज्यूँकात्यूँ राखेर नाम मात्रको संघीयता जान सकिन्छ भन्ने भ्रम छ । अर्कोथरीको जातीय संघीयता नै बनाउन सकिन्छ भन्ने भ्रम छ । यो दुईथरी भ्रमको सिकार हुन पुगेको छ नेपालको संघीयता । यो भ्रमबाट मुक्ति दिएर मात्र नेपालमा सार्थक संघीयता सम्भव छ ।

http://www.esamata.com

“राष्ट्रिय” गीत गाइरहेका नवपञ्चहरू- संगीत श्रोता

“राष्ट्रिय” गीत गाइरहेका नवपञ्चहरू

काँकरभिट्टामा सीमान्त सौन्दर्यबारे बोलेर फर्केको एक साता नबित्दै कवि/उपन्यासकार राजन मुकारुङ ‘राष्ट्रवादी’ सौन्दर्यप्रेमीहरूको आक्रमणमा परे । मुकारुङले फेसबुकमा कालीप्रसाद रिजालको ‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्’ गीत पहाडे मानसिकताको उपज हो लेखेका कारण सामाजिक सञ्जालहरूमा आलोचना खप्नुपरेको हो ।
अर्का कवि/उपन्यासकार आहुतिले विभिन्न कार्यक्रममा बोल्दै आएको नेपाली सत्ताले निर्माण गरेको राष्ट्रवाद मधेसविरोधी छ भन्ने विचारमा उनले समर्थन गरेका थिए । त्यसपछि मुकारुङलाई जातिवादी, विखण्डनवादी, साम्प्रदायिक, राष्ट्रियताविरोधी, संकीर्णजस्ता अनेका आरोप लगाउँदै ‘दमिनी भीर’ उपन्यासका लागि उनले पाएको मदन पुरस्कार फिर्ता गर्नुपर्नेसम्मका अभिव्यक्तिहरू आए । फेसबुकमा अशिष्ट ढंगले गालीगलौज आउन नरोकिएपछि उनी आफ्नो ‘स्टाटस’ हटाउन बाध्य भए र एक अनलाइनमा उनको स्पष्टिकरणसहितको अन्तर्वार्ता पनि प्रकाशित भयो ।
यो कुनै आकस्मिक घटना थिएन । राजन मुकारुङ झण्डै डेढ दशकदेखि मूलधारको ‘नेपाली’ साहित्य चिन्तनसँग प्रतिवाद गर्दै हिँडिरहेका लेखक हुन् । उत्पीडित समुदायबाट निस्केर सत्तापक्षीय परिवेशमा प्रवेश गर्नु, त्यसमा हस्तक्षेप पुर्‍‍‍‍‍‍याउनु र व्यक्तिगत भूमिका प्रभावकारी बनाउनु कम चुनौतीपूर्ण काम थिएन । नेपाली शासकदृष्टिको प्रतिकूल हुनेगरी लेख्दै/बोल्दै हिँडेका मुकारुङलाई अहिले पनि नेपाली समाजको ‘मूलधार’ले आफ्नो ‘नेपालीपन’को रक्षा गरिदिने साहित्यकारका रूपमा विश्वास गर्दैन । त्यही अविश्वास र शंका यसपटक फेसबुकमा पोखिएको हो । र, त्यस्तो शंका गर्नेहरू हुन् पञ्चायतकालीन ‘राष्ट्रिय भावना’ले ओतप्रोत नवपञ्चहरू ।
पञ्चायतकालमा विभिन्न नियम–कानुन, संस्थागत संरचना, शिक्षा पद्धति र सांस्कृतिक अभियानहरू संचालन गरेर निर्माण गरिएको ‘राष्ट्रिय भावना’ गणतन्त्रमा पनि समाजको निर्णायक र शक्तिशाली मनोविज्ञान हो । राजनीतिक व्यवस्थाका रूपमा पञ्चायत ढलेपछि जन्मेको युवापुस्तालाई पनि समाजले कुनै न कुनै रूपमा पञ्चायती–संस्कृतिबाटै प्रशिक्षित गरेको छ, जसले गर्दा गणतान्त्रिक युगका कतिपय युवाहरू पनि पञ्च–मनोरोगबाट ग्रस्त छन् । 
rajan-mukarung-post
हिजो पञ्चायतले आफ्नो सत्तालाई बलियो बनाउन निर्माण गरेको सौन्दर्य मूल्यले एक भाषा, एक संस्कृति, एक समुदाय र एक क्षेत्रको परिचयलाई ‘राष्ट्रिय’ भन्दै त्यसैको गौरवगाथा गाउन सिकाएको थियो । मानव निर्मित भौतिक संस्कृति वा आविष्कारलाई भन्दा प्राकृतिक भूगोल वा प्राचीन कथाहरूमा गर्व गर्न लगाएको थियो । पञ्चायतकालको एक मात्र विद्युतीय माध्यम रेडियो नेपालबाट सबैभन्दा चर्चित र महत्वपूर्ण भनेर प्रचार गरिएका ‘राष्ट्रिय’ गीतहरूले यस्तै मूल्यको प्रवर्धन गरे । 
लेखक आहुतिले कालीप्रसाद रिजालको गीतमाथि प्रश्न गर्दैमा वा राजन मुकारुङले त्यसै प्रश्नको समर्थनमा फेसबुक स्टाटस लेख्दैमा देशको राष्ट्रियता टुक्रिन्छ भने त्यति कमजोर राष्ट्रियताको जग के रहेछ भनेर सोच्नुपर्ने बेला आएको छ ।
पञ्चायत रहुन्जेल माधव घिमिरेदेखि भूपी शेरचनसम्मले शब्दमै ‘पञ्चायत’ उल्लेख गरेर वा राजाको बखान गरेर गीत लेखेका थिए । तर, पञ्चायतको अवसानपछि गीतकारहरूले राजा वा पञ्चायतको जयगान गाउन त छाडे, तर पञ्चायतले स्थापित गरेका सांस्कृतिक विम्बहरू नयाँनयाँ तरिकाले स्थापित गरिरहे । बहुदलकालमा खुब प्रचार गरिएका गोपाल योन्जनका गीत, माधव घिमिरेका पुरानै गीत, क्षेत्रप्रताप अधिकारी र कालीप्रसाद रिजालका गीतहरूले कुनै न कुनै रूपमा पञ्चायतकै विरासत धान्छन् ।
राजा ज्ञानेन्द्रले सत्ता हत्याउने बेलामा विश्वनाथ प्रेमीले लेखेको ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’, दरबार हत्याकाण्डपछि क्षेत्रप्रताप अधिकारीले लेखेको ‘चौतारीको वरै ढलेछ’ वा संघीयताको बहस चलिरहेका बेला कालीप्रसाद रिजालले लेखेको ‘तिमीचाहिँ जातै मेरो नेपाली हो भन्देऊ’ बोलका गीतहरूको अन्तर्वस्तु कुनै न कुनै रूपमा हिजो पञ्चायतले स्थापित गरेका सांस्कृतिक मूल्यहरूलाई निरन्तरता दिने औजारहरू हुन् ।
पछिल्ला दिनमा केही व्यक्तिहरू सचेततापूर्वक पञ्चायतले निर्माण गरेका राष्ट्रवादी धारामा आधारित भएर लेखिएकार/गाइएका गीतहरूलाई भिडियो बनाउने अभियानमा लागिरहेका छन् । पछिल्ला दिनमा चर्चित पत्रकार, बैंकर, अभिनेता आदिलाई ‘रोल मोडल’ बनाउँदै दौरासुरुवाल लगाइदिएर ‘राष्ट्रवादी’ गीतिभिडियो बनाउने प्रचलन बढेको छ । जीवन व्यवहारमा दौरा सुरुवाल कहिल्यै नलगाउने ‘सेलिब्रिटी’हरू यस्ता गीतमा त्यही पोसाक र चन्द्रसूर्य झण्डा बोकेर उभिन्छन् । देशमा पञ्चायत कायमै हुँदो हो त उनीहरू श्रीपेच र राजमुकुटलाई ‘राष्ट्रिय एकता’को प्रतीकका रूपमा उचालेर गीत बनाउने थिए । ठूल्ठूला शक्ति केन्द्रले नचाहँदा–नचाहँदै पनि देश गणतन्त्र भइसक्यो, तसर्थ उनीहरू राजतन्त्र र पञ्चायतले स्थापित गरेका सांस्कृतिक विम्ब : टोपी, दौरासुरुवाल, चौबन्दी, हिमाल, बलभद्र, पृथ्वीनारायण, गौतम बुद्धलाई अघि सारिरहेका छन् ।
पञ्चायत नै नरहेपछि पक्का पञ्च हुन अब सम्भव छैन । तैपनि पञ्चायतका सांस्कृतिक विम्बहरूको साथ लिएर परिवर्तित चेतनामाथि आक्रमण किन भइरहेछ ? किनभने पञ्चायती शैलीको केन्द्रीकृत राजनीतिलाई निरन्तरता दिन चाहनेहरूका लागि जी. शाहको ‘नेपाली भई बाँच’, लक्ष्मण लोहनीको ‘पञ्चै हो देश बनाइदेऊ’ वा माधव घिमिरेको ‘श्री पाँच पञ्चैको सरकार’जस्ता गीत अब काम लाग्दैनन् । तसर्थ उनीहरू गोपाल योन्जनको ‘मेरो टोपी’, विश्वनाथको ‘एउटा मानिस खोजिरहेछु’, कालीप्रसाद रिजालको ‘जातै नेपाली भन्देऊ’ जस्ता गीत गाइरहेका छन् । लेखक राजन मुकारुङमाथिको आलोचना पनि कुनै न कुनै रूपमा पञ्चायती सौन्दर्यदृष्टि राख्नेहरूबाट भएको हो ।
‘राष्ट्रिय भाव’लाई जति नै चर्को स्पिकरमा घन्काए पनि पञ्चायती सौन्दर्य मूल्य मरणशील छ । अबको बजारमा दौरासुरुवाल वा चौबन्दी चोली सिलाएर व्यापार चल्दैन । टेलिभिजन, रेडियो वा सामाजिक सञ्जालहरूमा केही मान्छेले ‘देशको चिन्ता’ गरिरहे पनि मान्छेलाई आफ्नो लाउनखानको दैनिक चिन्ताले बढी लखेट्छ, लखेटिरहेको छ । त्यसैको प्रमाण हो दौरासुरुवाल लगाएर भीमार्जुन आचार्यले गाएका ‘राष्ट्रवादी’ गीतभन्दा ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा’ बोलको आस्था राउतले गाएको गीत अहिलेका युवाहरूलाई प्रिय छ । चौबन्दी चोली नलगाउँदैमा, हिमालको गाथा नगाउँदैमा, ‘बुद्ध नेपालमा जन्मे’ लेखिएको टिसर्ट नलगाउँदैमा वा मेरो ‘जातै नेपाली हो’ भन्ने अभियानमा सामेल नहुँदैमा ‘मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ ?’
लेखक आहुतिले कालीप्रसाद रिजालको गीतमाथि प्रश्न गर्दैमा वा राजन मुकारुङले त्यसै प्रश्नको समर्थनमा फेसबुक स्टाटस लेख्दैमा देशको राष्ट्रियता टुक्रिन्छ भने त्यति कमजोर राष्ट्रियताको जग के रहेछ भनेर सोच्नुपर्ने बेला आएको छ । एक दुईजना लेखकले लेख्दै–बोल्दैमा देश विखण्डन भइहाल्ने ‘एकताको आधार’माथि अब भने गम्भीरतापूर्वक पुनर्विचार गर्नैपर्छ । खासगरी अहिलेका सचेत युवाहरूले यस्ता प्रश्नमा घोत्लिनुपर्छ । अन्यथा नवपञ्चहरूको पुरातन बाटोमा गणतान्त्रिक पुस्ता पनि भ्रमवश अलमलिइरहने खतरा हुन्छ ।

http://esamata.com

Wednesday, March 4, 2015

किसुनजी र कपालीको सेक्सुअल रिलेशन थिएन, भए पनि अरुलाई के मतलब ?- किशोर नेपाल


किसुनजी दृढताका धनी
कृष्णप्रसाद भट्टराई आदर्शवादी समाजमा जन्मिए, हुर्किए र पढे । त्यसैको जगमा उनको आदर्शवादी व्यक्तित्व निर्माण भयो । किसुनजीको जीवन, व्यवहार र राजनीतिक आदर्शवादी थियो । उनी आफ्नो मुल सिद्धान्तबाट कहिल्यै दायाँबायाँ नगर्ने मानिस हुन् । आफूले अंगालेको मूल्य मान्यताप्रति उनी सधैं दृढ थिए । २०२७ सालमा बीपी, गणेशमान र सुवर्णसमशेर राजासँग सम्झौता गरेर जेलबाट छुटे । तर किसुनजी निरंकुश राजतन्त्रका अगाडि घुँडा टेक्न तयार भएनन् । एकपटक ‘म निरंकुश राजतन्त्र स्वीकार गर्छु’ भनेर बिन्तीपत्र हालेको भए जेलबाट बाहिर आउन सक्थे । तर त्यसो नगरेबापत उनी थप डेढ वर्ष जेल बसेका थिए । किसुनजी निरंकुशता स्वीकार गर्छु भनेर एक शब्द लेख्न तयार भएनन् ।
सदाचारी व्यक्तित्व
किसुनजीमा सदाचार थियो । सदाचारी मान्छे जहिले पनि आफ्नो कुरामा अडिग रहन सक्छ । नेपाली काँग्रेसका धेरै नेता दिल्लीमा बसेर राजनीतिक गर्थे । तर किसुनजीलाई मुलुकबाहिरबाट गर्ने राजनीतिमा विश्वास थिएन । उनी बाहिरी बलमा गरिने क्रान्तिले मुलुकको समस्या समाधान गर्दैन भन्नेमा प्रष्ट थिए । उनी अहिंसात्मक आन्दोलनको पक्षमा थिए । हिंसा र हतियारको राजनीति रुचाउँदैनथे । शान्तिपूर्ण राजनीतिमा दृढ हुनाले कहिले काहीं किसुनजीमा कठोरता पनि प्रदर्शित भएको हुन्थ्यो । उनी स्वतन्त्रता र स्वच्छन्दताको हदसम्म जान चाहन्थे । उनको प्रष्ट मान्यता थियो, ‘मानिस बन्धनमुक्त भएर जन्मन्छ र बन्धनमुक्त भएरै मर्नुपर्छ ।’ त्यसै कारण उनले विवाह गरेनन् ।
प्रष्ट वक्ता
उनी प्रष्ट बोल्थे । झुट र छलछाममा विश्वास थिएन । प्रधानमन्त्री भएलगत्तै मानव अधिकारवादीहरुको एउटा टोली भेट्न गएको थियो । बेपत्ता मानिसहरुका बारेमा सोधे । उनले भनिदिए ‘दे आर अलरेडी किल्ड ।’ किसुनजी रक्सी खाने गर्थे । तर रक्सीले मातेर हिंडेको कहिल्यै देखिएन । दुई पेगभन्दा बढी कहिल्यै नखाने मानिसलाई बोत्तलका बोत्तल रित्याउँछ भनेर बदनाम गर्न खोजियो । किसुनजी रमाइलो स्वभावको मान्छे । जस्तोसुकै दुःखका बेला पनि रमाइलो गर्ने बानी थियो । नेपालका मानिसहरु रमाइलो गर्न जान्दैनन् । उनीहरु रमाइलो के हो बुझ्दैनन् । सेक्स अपिलका बारेमा जानकार थिए । सेक्स अपिल सुन्तलाको दानोमा पनि हुन सक्छ । तर यहाँ त्यसको अर्थ नबुझेर हावामा दौडने काम हुन्छ । किसुनजीमा ‘सेन्स अफ ह्युमर’ अत्याधिक थियो । ‘सेन्स अफ ह्युमर’ भएको मानिसले घटनालाई आफ्नै तरिकाले व्याख्या गर्छ । एकपटक पत्रकारले किन सांसद् हुनुभएको किसुनजी ? भन्ने प्रश्न सोध्दा उनले भनेका थिए, ‘रक्सी खान ।’ उनको कुरालाई अपव्याख्या गरियो । खासमा उनले तत्कालिन सांसदहरुको बदनामीपूर्ण हर्कतलाई संकेत गर्न खोजेका थिए । सांसद डान्सबारमा युवतीसँग लठ्ठिएको भेटिन्थ्यो । यही कुरालाई उनले ब्यंग्य गरेका थिए । यदि उनी त्यस्ता थिए भने छाला काढिन्थ्यो ।
किसुनजी एक राष्ट्रवादी नेता
बाह्य मुलुकमा बसेर नेपालमा क्रान्ति र परिवर्तन हुन्छ भन्ने भ्रममा किसुनजी कहिल्यै परेनन् । बीपी निर्वासित भएर भारतमा थिए । बीपीले पटकपटक भारत आउन भनेका थिए । तर किसुनजीले मानेनन् ।
वीरेन्द्र  र गिरिजाले गरेको अपमान
किसुनजी २०४६ सालको आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री भए । प्रधानमन्त्रीका रुपमा उनले कुशलतापूर्वक मुलुकलाई संविधान दिए । दोश्रोपटकको प्रधानमन्त्रीत्व उनका लागि सुखद् हुन सकेन । तनावमै उनको प्रधानमन्त्रीत्वको झण्डै आठ÷नौ महिना बित्यो । काँग्रेसभित्रको समूहगत राजनीतिले उनलाई राम्रोसँग कामै गर्न दिएन । किसुनजीलाई मुलुकका बारेमा राम्रो जानकारी थियो । कसैले पत्याउनै नसक्ने मानिसहरु उनका सूचनाका श्रोत थिए । नेपालको सत्तामा हाबी हुँदै आएको कमिशनतन्त्रका बारेमा उनी जानकारी थिए । उनको पालामा कुनै मन्त्रीले कमिसनका लागि एउटै फाइल पास गराउन सकेन ।
काँग्रेसले कहिल्यै चिनेन
किसुनजी ‘सोसलिष्ट इन्टरनेशनल’ को कार्यकारी समितिमा थिए । त्यसैमार्फत युद्धरत माओवादीसँग वार्ताको वातावरण बनाउँदै थिए । उनले राष्ट्रिय÷अन्तर्राष्ट्रिय सम्पर्कको माध्यमबाट माओवादीलाई वार्तामा ल्याउन प्रयत्न गरेका थिए । त्यसैका लागि फ्रान्स जाने तयार थियो । त्यो थाहा पाएर राजा वीरेन्द्र र गिरिजाप्रसाद कोइरालाले उनीमाथि षड्यन्त्र गरे । ‘१० दिनको समय दिनुस्, म फ्रान्सबाट फर्केर आएपछि राजीनामा दिन्छु’ भन्दा पनि मानेन् र पद छाड्नुप¥यो । सायद किसुनजीले माओवादीलाई वार्तामा ल्याएको भए उनको राजनीतिक हाइट बढ्छ भन्ने डर अरुमा थियो होला । अर्को कुरा हतियारको कमिसन बन्द हुन्थ्यो । युद्ध रोकिएपछि हतियार खरिदका नाममा कमिसन खाने धन्दा धरापमा पथ्र्यो ।
यसरी गरियो किसुजनीलाई उपयोग
२०५६ को आमनिर्वाचनताका काँग्रेसप्रति आममानिसको विश्वास गुमेको अवस्था थियो । काँग्रेसमा जनताले पत्याउन सक्ने र राष्ट्रिय इमेज भएका नेता किसुनजीबाहेक अरु थिएनन् । किसुनजीलाई जनताले पत्याउनुका केही कारणहरु थिए । उनी अविवाहित भएकाले छोराछोरी हुने कुरै भएन । पारिवारिक र नाता कुटुम्बको स्वार्थी घेराबन्दीबाट मुक्त थिए । सरल जीवनशैली मनपराउने, कुनै लोभलालच नभएका मानिस थिए । कुशासनले वाक्क भएका जनता किसुनजी प्रधानमन्त्री भए मुलुकले केही पाउँथ्यो कि भन्ने विश्वासमा थिए । यो कुरा गिरिजाप्रसादलाई राम्ररी थाहा थियो । जिरिजाप्रसादले आफ्नो र काँग्रेसको सकिनै लागेको राजनीति धान्न किसुनजीलाई अघि सारे । जनताको त्यही सेन्टिमेन्टका कारण काँग्रेसले चुनावमा बहुमत ल्यायो । तर प्रधानमन्त्री भएको तीन महिना नबित्दै विज्ञप्ति निकालेर गिरिजाप्रसादले सरकारको भत्र्सना गरे । उनले ‘सिंहदरबारमा मुर्दा शान्ति छाएको’ भन्दै किसुनजीको तेजोबध गरेका थिए । यसको कारण किसुनजी प्रधानमन्त्री भएपछि मुलुकमा कमिसनतन्त्र र ठेकेदारी चलेन । त्यसैको बदलामा उनको सरकार ढल्यो । किसुनजीले त्यसअघि पनि काँग्रेसबाट अपमान खेपेका थिए ।
माओवादी समस्याबारे किसुनजीको धारणा
किसुनजी हत्या हिंसा र बन्दुकको राजनीतिमा विश्वास गर्दैनथे । माओवादी राजनीतिक समस्या भएकाले समाधान पनि राजनीतिक रुपमै गर्नुपर्छ भन्ने उनको अडान थियो । व्यवहारमा पनि त्यही देखिन्थ्यो । माओवादीहरुलाई मारेर समस्या समाधान हुन्छ भन्ने भ्रममा उनी कहिल्यै थिएनन् । अघिल्ला सरकारहरुले माओवादी दबाउन अख्तियार गरेको दमनको रणनीतिको खिलाफमा किसुनजी थिए । उनले सेना र प्रहरीको बलमा होइन, वार्ता र संवादको माध्यमबाट मात्र माओवादीलाई मुलधारको राजनीतिमा ल्याउन सकिन्छ भनेका थिए । ‘माओवादी पनि नेपाली हुन्, मार्नु हुँदैन’ नेपाली नेपाली आपसमा जुधेर कसैलाई फाइदा हुँदैन’ भन्ने उनको मन्त्र थियो । माओवादीबारेको किसुनजीको दृष्टिकोणमा खोट देख्नेहरु पछि उनकै लाइनमा आउन बाध्य भए । सायद किसुनजीको सरकारलाई कम्तिमा डेढ वर्ष टिक्न दिएको भए माओवादी समस्याको उतिखेरै समाधान हुनसक्थ्यो ।
किसुनजीमाथि अन्याय गरियो
किसुनजी काँग्रेसमा आएको विभाजनबाट दुःखी थिए । फुटेको काँग्रेसमा कतै पनि लाग्दिन नलागी तटस्थ बसे । पार्टी विभाजनसँगै गम्भीर बिरामी परे । विस्तारै राजनीतिबाट टाढिए । गिरिजाप्रसाद, शेरबहादुर, सुशील र रामचन्द्रले उनलाई राजनीतिमा तानेर फेरि प्रयोग गर्न कोसिस गरेका थिए । किसुनजीले ठाडै अस्वीकार गरिदिए । राजतन्त्रको पक्षमा र आन्दोलनको विपक्षमा किसुनजीका नाममा जुन वक्तव्य आयो, त्यो फर्जी थियो । उनी अलजाइमरको बिरामी थिए । होस गुमाएका थिए । त्यस्तो अवस्थामा कसैले झुक्याएर कागजको खोस्टोमा सही गराउन लगायो । यो कुरा उपचारमा संलग्न भरत रावतलाई राम्ररी थाहा छ । मेरो विचारमा यो किसुनजीको व्यक्तित्वको शोषण हो । राजतन्त्रका नाममा चलखेल गर्ने स्वार्थी मानिसहरुले अहिले पनि यदाकदा किसुनजीको नाम भजाएको सुनिन्छ । सुद्धि हराइसकेको मानिसलाई गलत मनसायबाट प्रेरित भएर दुरुपयोग गरियो । यो किसुनजीमाथि भएको ठूलो अन्याय हो ।
ज्ञानेन्द्रलाई ठट्टामा उडाए
ज्ञानेन्द्रले दलहरुलाई पाखा लगाए । सानै रुपमा भए पनि प्रतिगमनविरुद्धको आन्दोलन सुरु भएको थियो । ज्ञानेन्द्रले प्रधामन्त्रीको टेण्डर आह्वान गरे । त्यसबेला दुईपटकजति किसुनजीले ज्ञानेन्द्रलाई भेटे । यद्यपि ज्ञानेन्द्रले निरंकुशता लाद्ने बेलासम्ममा किसुनजीले होस गुमाइसकेका थिए । किसुनजी प्रधानमन्त्रीका लागि लालायित थिए भन्ने हल्ला चलाइयो । अहिले पनि चलेको सुन्छु । तर ती सबै फाल्तु गफ हुन् । किसुनजीले चाहेको भए उनलाई प्रधानमन्त्री खान कसैले रोक्न सक्ने थिएन ।
किनकी किसुनजी जे सोच्यो, त्यही गर्ने मानिस हो । मलाई सम्झना भएसम्म राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीको प्रस्ताव राख्दा उनले हाँसोमा उडाइदिएका थिए । जनताको अधिकार जनतामा फिर्ता नगरेसम्म प्रधानमन्त्री हुन्न भन्ने उनको स्पष्ट अडान थियो । राजाका अगाडि त्यसरी कुरा गर्न सक्ने नेता नेपालमा कोही थिएनन् । तर उनैमाथि मर्नेबेलामा राजावादीको आरोप लगाइयो । यो सरासर मित्या आरोप हो । नेपालमा यदि सबैभन्दा बढी निरंकुश राजतन्त्रविरोधी कोही थियो भने त्यो किसुनजी हो ।
कपालीसँग ‘सेक्सुअल रिलेशन’ थिएन
अमिता कपाली काँग्रेसको राजनीतिमा थिइन् । किसुनजीको कोही साहरा थिएनन् । परिवार थिएन । यो कुरा बुझेर कपालीले किसुनजीको सेवा गरेकी हुन् । किसुनजीको हातखुट्टा राम्ररी चल्थेन । कपालीले नर्सिङ गरेकी थिइन् । उनको त्यो विशिष्ट प्रकारको त्याग थियो । मानिसहरुले बाहिर हल्ला गरेजस्तो गलत सम्बन्ध थिएन । सँगै बस्दैमा ‘सेक्सुअल रिलेशन’ हुन्छ भन्ने केही छैन । भएन भन्न पनि सकिँदैन । भएछ भने पनि त्यो ठूलो कुरा भएन । कपालीमाथि आरोप लगाउनेहरुले अन्याय गरेका छन् । विचराले किसुनजीको सेवा गर्दागर्दै विवाहसमेत गर्न पाइनन् ।
किसुनजीबाट के सिक्ने ?
राजनीतिमा लागेको मानिस सदाचारी हुनुपर्छ । राजनीतिज्ञ जनताका सेवक हुन् । सस्तो लोकप्रियताका लागि फटाहा कुरा बोल्नु हुँदैन । लोकतन्त्र संवादबाट चल्ने व्यवस्था हो । अनावश्यक झगडा गर्नु हुँदैन । झगडालाई तानेर रगडा बनाउनु हुँदैन । यी किसुनजीबाट सिक्न लायक गुणहरु हुन् । प्रतिबन्धित भएकाले पार्टीका नाममा बैंक खाता खोल्ने कुरै आएन । किसुनजी स्टकोटका दुई बगलीमध्ये एउटामा आफ्नो र अर्कोमा पार्टीको पैसा राख्थे । भान्जाको घरमा बस्थे । जीवनभर भान्जाले भात खुवाए । किसुनजीजस्तो व्यक्ति अब नेपाली राजनीतिमा कहिल्यै पनि आउँदैन । सायद कतै पनि त्यस्तो राजनीतिज्ञको जन्म हुँदैन । किसुनजीको पुस्ताले गरेको त्यागको कुरा गर्ने हो भने अहिलेका मानिसहरु पत्याउँदैनन् । त्यस्तो पनि हुन सक्छ र भन्नेहरु धेरै हुन्छन् ।
- See more at: http://kathmandutoday.com/2015/03/82995.html#sthash.BX4Z4bMG.dpuf