काँकरभिट्टामा सीमान्त सौन्दर्यबारे बोलेर फर्केको एक साता नबित्दै कवि/उपन्यासकार राजन मुकारुङ ‘राष्ट्रवादी’ सौन्दर्यप्रेमीहरूको आक्रमणमा परे । मुकारुङले फेसबुकमा कालीप्रसाद रिजालको ‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्’ गीत पहाडे मानसिकताको उपज हो लेखेका कारण सामाजिक सञ्जालहरूमा आलोचना खप्नुपरेको हो ।
अर्का कवि/उपन्यासकार आहुतिले विभिन्न कार्यक्रममा बोल्दै आएको नेपाली सत्ताले निर्माण गरेको राष्ट्रवाद मधेसविरोधी छ भन्ने विचारमा उनले समर्थन गरेका थिए । त्यसपछि मुकारुङलाई जातिवादी, विखण्डनवादी, साम्प्रदायिक, राष्ट्रियताविरोधी, संकीर्णजस्ता अनेका आरोप लगाउँदै ‘दमिनी भीर’ उपन्यासका लागि उनले पाएको मदन पुरस्कार फिर्ता गर्नुपर्नेसम्मका अभिव्यक्तिहरू आए । फेसबुकमा अशिष्ट ढंगले गालीगलौज आउन नरोकिएपछि उनी आफ्नो ‘स्टाटस’ हटाउन बाध्य भए र एक अनलाइनमा उनको स्पष्टिकरणसहितको अन्तर्वार्ता पनि प्रकाशित भयो ।
यो कुनै आकस्मिक घटना थिएन । राजन मुकारुङ झण्डै डेढ दशकदेखि मूलधारको ‘नेपाली’ साहित्य चिन्तनसँग प्रतिवाद गर्दै हिँडिरहेका लेखक हुन् । उत्पीडित समुदायबाट निस्केर सत्तापक्षीय परिवेशमा प्रवेश गर्नु, त्यसमा हस्तक्षेप पुर्याउनु र व्यक्तिगत भूमिका प्रभावकारी बनाउनु कम चुनौतीपूर्ण काम थिएन । नेपाली शासकदृष्टिको प्रतिकूल हुनेगरी लेख्दै/बोल्दै हिँडेका मुकारुङलाई अहिले पनि नेपाली समाजको ‘मूलधार’ले आफ्नो ‘नेपालीपन’को रक्षा गरिदिने साहित्यकारका रूपमा विश्वास गर्दैन । त्यही अविश्वास र शंका यसपटक फेसबुकमा पोखिएको हो । र, त्यस्तो शंका गर्नेहरू हुन् पञ्चायतकालीन ‘राष्ट्रिय भावना’ले ओतप्रोत नवपञ्चहरू ।
पञ्चायतकालमा विभिन्न नियम–कानुन, संस्थागत संरचना, शिक्षा पद्धति र सांस्कृतिक अभियानहरू संचालन गरेर निर्माण गरिएको ‘राष्ट्रिय भावना’ गणतन्त्रमा पनि समाजको निर्णायक र शक्तिशाली मनोविज्ञान हो । राजनीतिक व्यवस्थाका रूपमा पञ्चायत ढलेपछि जन्मेको युवापुस्तालाई पनि समाजले कुनै न कुनै रूपमा पञ्चायती–संस्कृतिबाटै प्रशिक्षित गरेको छ, जसले गर्दा गणतान्त्रिक युगका कतिपय युवाहरू पनि पञ्च–मनोरोगबाट ग्रस्त छन् ।
हिजो पञ्चायतले आफ्नो सत्तालाई बलियो बनाउन निर्माण गरेको सौन्दर्य मूल्यले एक भाषा, एक संस्कृति, एक समुदाय र एक क्षेत्रको परिचयलाई ‘राष्ट्रिय’ भन्दै त्यसैको गौरवगाथा गाउन सिकाएको थियो । मानव निर्मित भौतिक संस्कृति वा आविष्कारलाई भन्दा प्राकृतिक भूगोल वा प्राचीन कथाहरूमा गर्व गर्न लगाएको थियो । पञ्चायतकालको एक मात्र विद्युतीय माध्यम रेडियो नेपालबाट सबैभन्दा चर्चित र महत्वपूर्ण भनेर प्रचार गरिएका ‘राष्ट्रिय’ गीतहरूले यस्तै मूल्यको प्रवर्धन गरे ।
लेखक आहुतिले कालीप्रसाद रिजालको गीतमाथि प्रश्न गर्दैमा वा राजन मुकारुङले त्यसै प्रश्नको समर्थनमा फेसबुक स्टाटस लेख्दैमा देशको राष्ट्रियता टुक्रिन्छ भने त्यति कमजोर राष्ट्रियताको जग के रहेछ भनेर सोच्नुपर्ने बेला आएको छ ।
पञ्चायत रहुन्जेल माधव घिमिरेदेखि भूपी शेरचनसम्मले शब्दमै ‘पञ्चायत’ उल्लेख गरेर वा राजाको बखान गरेर गीत लेखेका थिए । तर, पञ्चायतको अवसानपछि गीतकारहरूले राजा वा पञ्चायतको जयगान गाउन त छाडे, तर पञ्चायतले स्थापित गरेका सांस्कृतिक विम्बहरू नयाँनयाँ तरिकाले स्थापित गरिरहे । बहुदलकालमा खुब प्रचार गरिएका गोपाल योन्जनका गीत, माधव घिमिरेका पुरानै गीत, क्षेत्रप्रताप अधिकारी र कालीप्रसाद रिजालका गीतहरूले कुनै न कुनै रूपमा पञ्चायतकै विरासत धान्छन् ।
राजा ज्ञानेन्द्रले सत्ता हत्याउने बेलामा विश्वनाथ प्रेमीले लेखेको ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’, दरबार हत्याकाण्डपछि क्षेत्रप्रताप अधिकारीले लेखेको ‘चौतारीको वरै ढलेछ’ वा संघीयताको बहस चलिरहेका बेला कालीप्रसाद रिजालले लेखेको ‘तिमीचाहिँ जातै मेरो नेपाली हो भन्देऊ’ बोलका गीतहरूको अन्तर्वस्तु कुनै न कुनै रूपमा हिजो पञ्चायतले स्थापित गरेका सांस्कृतिक मूल्यहरूलाई निरन्तरता दिने औजारहरू हुन् ।
पछिल्ला दिनमा केही व्यक्तिहरू सचेततापूर्वक पञ्चायतले निर्माण गरेका राष्ट्रवादी धारामा आधारित भएर लेखिएकार/गाइएका गीतहरूलाई भिडियो बनाउने अभियानमा लागिरहेका छन् । पछिल्ला दिनमा चर्चित पत्रकार, बैंकर, अभिनेता आदिलाई ‘रोल मोडल’ बनाउँदै दौरासुरुवाल लगाइदिएर ‘राष्ट्रवादी’ गीतिभिडियो बनाउने प्रचलन बढेको छ । जीवन व्यवहारमा दौरा सुरुवाल कहिल्यै नलगाउने ‘सेलिब्रिटी’हरू यस्ता गीतमा त्यही पोसाक र चन्द्रसूर्य झण्डा बोकेर उभिन्छन् । देशमा पञ्चायत कायमै हुँदो हो त उनीहरू श्रीपेच र राजमुकुटलाई ‘राष्ट्रिय एकता’को प्रतीकका रूपमा उचालेर गीत बनाउने थिए । ठूल्ठूला शक्ति केन्द्रले नचाहँदा–नचाहँदै पनि देश गणतन्त्र भइसक्यो, तसर्थ उनीहरू राजतन्त्र र पञ्चायतले स्थापित गरेका सांस्कृतिक विम्ब : टोपी, दौरासुरुवाल, चौबन्दी, हिमाल, बलभद्र, पृथ्वीनारायण, गौतम बुद्धलाई अघि सारिरहेका छन् ।
पञ्चायत नै नरहेपछि पक्का पञ्च हुन अब सम्भव छैन । तैपनि पञ्चायतका सांस्कृतिक विम्बहरूको साथ लिएर परिवर्तित चेतनामाथि आक्रमण किन भइरहेछ ? किनभने पञ्चायती शैलीको केन्द्रीकृत राजनीतिलाई निरन्तरता दिन चाहनेहरूका लागि जी. शाहको ‘नेपाली भई बाँच’, लक्ष्मण लोहनीको ‘पञ्चै हो देश बनाइदेऊ’ वा माधव घिमिरेको ‘श्री पाँच पञ्चैको सरकार’जस्ता गीत अब काम लाग्दैनन् । तसर्थ उनीहरू गोपाल योन्जनको ‘मेरो टोपी’, विश्वनाथको ‘एउटा मानिस खोजिरहेछु’, कालीप्रसाद रिजालको ‘जातै नेपाली भन्देऊ’ जस्ता गीत गाइरहेका छन् । लेखक राजन मुकारुङमाथिको आलोचना पनि कुनै न कुनै रूपमा पञ्चायती सौन्दर्यदृष्टि राख्नेहरूबाट भएको हो ।
‘राष्ट्रिय भाव’लाई जति नै चर्को स्पिकरमा घन्काए पनि पञ्चायती सौन्दर्य मूल्य मरणशील छ । अबको बजारमा दौरासुरुवाल वा चौबन्दी चोली सिलाएर व्यापार चल्दैन । टेलिभिजन, रेडियो वा सामाजिक सञ्जालहरूमा केही मान्छेले ‘देशको चिन्ता’ गरिरहे पनि मान्छेलाई आफ्नो लाउनखानको दैनिक चिन्ताले बढी लखेट्छ, लखेटिरहेको छ । त्यसैको प्रमाण हो दौरासुरुवाल लगाएर भीमार्जुन आचार्यले गाएका ‘राष्ट्रवादी’ गीतभन्दा ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा’ बोलको आस्था राउतले गाएको गीत अहिलेका युवाहरूलाई प्रिय छ । चौबन्दी चोली नलगाउँदैमा, हिमालको गाथा नगाउँदैमा, ‘बुद्ध नेपालमा जन्मे’ लेखिएको टिसर्ट नलगाउँदैमा वा मेरो ‘जातै नेपाली हो’ भन्ने अभियानमा सामेल नहुँदैमा ‘मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ ?’
लेखक आहुतिले कालीप्रसाद रिजालको गीतमाथि प्रश्न गर्दैमा वा राजन मुकारुङले त्यसै प्रश्नको समर्थनमा फेसबुक स्टाटस लेख्दैमा देशको राष्ट्रियता टुक्रिन्छ भने त्यति कमजोर राष्ट्रियताको जग के रहेछ भनेर सोच्नुपर्ने बेला आएको छ । एक दुईजना लेखकले लेख्दै–बोल्दैमा देश विखण्डन भइहाल्ने ‘एकताको आधार’माथि अब भने गम्भीरतापूर्वक पुनर्विचार गर्नैपर्छ । खासगरी अहिलेका सचेत युवाहरूले यस्ता प्रश्नमा घोत्लिनुपर्छ । अन्यथा नवपञ्चहरूको पुरातन बाटोमा गणतान्त्रिक पुस्ता पनि भ्रमवश अलमलिइरहने खतरा हुन्छ ।
http://esamata.com
No comments:
Post a Comment