Wednesday, October 28, 2015

गल्ती-कमजोरी सच्याउन तयार छु - डा. बाबुराम भट्टराई


आज म आफ्नो ६२ वर्षको जीवनयात्राका सहयात्रीहरूसँग अन्तर्मनदेखि यो सार्वजनिक संवाद गर्दैछु। भनिन्छ, प्रत्येक मान्छेको जन्म, कर्म र मरण ऐतिहासिक आवश्यकता र आकस्मिकताको योगफल अनुरूप हुने गर्छ। म पनि त्यही ऐतिहासिक आवश्यकता र आकस्मिकताको परिणामस्वरूप गोरखाको एउटा मध्ययुगीन गाउँमा जन्मेर जीवनका विभिन्न मोडहरू हुँदै नेपालको कार्यकारी प्रमुखसम्म बन्नपुगेको सामान्य मान्छे हुँ। मैले हालसालै जीवनको गाडीलाई फेरि अर्को एउटा नयाँ यात्रातर्फ मोडेको छु। त्यो यात्रामा हिँड्नु अघि मैले मेरा पुराना र भावी सहयात्रीहरू समक्ष इतिहासको कठघरामा उभिएर सार्वजनिक वकपत्र प्रस्तुत गर्नु आवश्यक ठानेको छु। किनभने अमेरिकी राजनेता थोमस जेफर्सनले भनेझैं ‘जब कुनै मान्छेले सार्वजनिक जिम्मेवारी बहन गर्छ, तब उसले आफूलाई सार्वजनिक सम्पत्ति ठान्नुपर्छ।’ 

मेरो जीवनको सपना 

२०२६ सालमा एसएलसी परीक्षा दिने बेलासम्म गाई/भैंसी/बाख्रा गोठालो बनेर सामान्य किसान परिवारमा हुर्केको मेरो जीवनको कुनै ठूलो सपना थिएन। संयोगले सरकारी छात्रवृत्तिमा विदेश (भारत) मा गएर उच्च अध्ययन गर्ने सिलसिलामै आफ्नो देशको अत्यन्त पिछडिएको अल्पविकसित अवस्था र रोजगारीको खोजीमा विदेशिन बाध्य नेपालीहरूको दीनहीन र अपमानपूर्ण स्थिति देखेर देशको निम्ति ‘केही गर्ने’ हुटहुटी जागेको थियो। आफ्नो जीवनकालमा देशलाई विकसित र समृद्ध बनाउने र नेपाली युवाहरूलाई रोजगारीको खोजीमा विदेशिन बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्ने सपनाको विजारोपण त्यो २३/२४ वर्षे युवा मस्तिष्कमा भएको थियो। ‘सपना त्यो होइन, जुन निद्रामा देखिन्छ; सपना त्यो हो, जसले निदाउन दिँदैन’ भन्ने प्रसिद्ध वैज्ञानिक अब्दुल कलामको भनाइझैं त्यो सपनाले कैयौं रात मलाई जागराम बसाएको थियो। तर देशको विकास कसरी हुन्छ त? तत्कालीन निरंकुश राजतन्त्रात्मक पञ्चायती व्यवस्थाले नेपाललाई ‘एसियाली मापदण्डमा पुर्‍याउने’ चर्को नारा लगाइरहेकै थियो। तर देश भने झन्—झन् तल भासिँदै थियो। त्यसैको जवाफ खोज्ने क्रममा नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा मैले गरेको विद्यावारिधि शोधकार्यले यी दुई निष्कर्ष निकालेको थियो। पहिलो, आन्तरिक रूपमा सामन्ती, केन्द्रीकृत र एकात्मक राज्य–व्यवस्था नेपालको समग्र अल्पविकास र क्षेत्रीय असमान/असन्तुलित विकासको कारक तत्त्व हो। दोस्रो, बाह्य रूपमा सुगौली–सन्धिदेखि भारत र नेपालबीच कायम रहँदै आएको प्रभुत्व–पराश्रय (डोमिनेन्सउ (डिपेनडेन्स) सम्बन्ध नेपालको अल्पविकासको अर्को मुख्य कारण हो। यसरी देशको आर्थिक विकास र समृद्धिको निम्ति पहिले राजनीतिक उपरी—संरचनामा क्रान्ति वा परिवर्तन अपरिहार्य छ भन्ने स्पष्टबोधका साथ म क्रान्तिकारी आन्दोलनमा होमिएको थिएँ। मेरा निम्ति आर्थिक विकास र समृद्धि साध्य वा अन्तिम लक्ष्य थियो भने राजनीतिक क्रान्ति आवश्यक साधन वा बाटो थियो। परिणामस्वरूप गत ४० वर्ष र मुख्यत: ऐतिहासिक जनयुद्धकालदेखिका पछिल्लो २० वर्षमा थुप्रै सुयोग्य कमरेड र साथीहरूको सहकार्य र हजारौं वीर–वीरांगनाहरूको बलिदानको बलमा देशमा युगान्तकारी राजनीतिक परिवर्तन हासिल भयो। पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते गणतन्त्रको घोषणा हुनु र दोस्रो संविधानसभाबाट २०६२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुनु त्यही युगान्तकारी परिवर्तनका ठोस अभिव्यक्ति हुन्। मेरा निम्ति ती दिन र घटना जीवनको एउटा सपना मूल रूपमा पुरा भएका अविष्मरणीय क्षण हुन्। संयोगले पार्टीभित्र र बाहिर संविधानसभा र गणतन्त्रको एक प्रमुख अभियन्ताको भूमिका र दोस्रो संविधानसभाको सबभन्दा महत्त्वपूर्ण समिति ‘संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति’को सभापतिको रूपमा संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पाउनु मेरानिम्ति अत्यन्त खुसी र गर्वको विषय हो। त्यसका निम्ति म सम्बन्धित सबैप्रति आजीवन आभारी रहनेछु। तर संविधानमा रहन गएका कतिपय अपूर्णतालाई पुरा गर्दै र मधेस/थारुवान लगायतका क्षेत्रहरूमा देखिएका असन्तुष्टिहरूलाई सम्बोधन गर्दै देशलाई छिटोभन्दा छिटो आर्थिक विकास र समृद्धिको चुचुरोमा पुर्‍याउने अर्को सपना भने अझै अधुरै छ। 

नयाँ युगका नयाँ चुनौती 

संविधानसभाबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी/समानुपातिक लोकतन्त्र लगायतका महत्त्वपूर्ण अन्तरवस्तु सहितको संविधान जारी भएसँगै देशमा पुँजीवादी लोकतान्त्रिक क्रान्ति औपचारिक रूपमा मूलत: सम्पन्न र संस्थागत भएको मान्न सकिन्छ। परन्तु नेपालजस्तो विश्व पुँजीवादको काँठमा रहेको र जातीय, क्षेत्रीय विविधताले युक्त तथा आर्थिक–सामाजिक–सांस्कृतिक विकासको अत्यन्त न्युन अवस्थामा रहेको देशमा औपचारिक राजनीतिक परिवर्तनले मात्र समाजका जटिल समस्या र अन्तरविरोध सहजै हल हुने परिकल्पना गर्न सकिन्न। सर्वप्रथम, नयाँ संविधानले औपचारिक रूपमा प्रत्याभूत गरेको विकसित/अग्रगामी राजनीतिक संरचना/सम्बन्ध र ऐतिहासिक रूपले पिछडिएको आर्थिक–सामाजिक–सांस्कृतिक आधारबीच गम्भीर अन्तरविरोध पैदा हुनेछ। उदाहरणको निम्ति संविधानमा उल्लेखित शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता, आवास आदिलाई मौलिक अधिकारको रूपमा प्रचलनमा ल्याउन तीव्र आर्थिक विकास र समृद्धिबिना सम्भवै हुने छैन। अर्कोतिर संविधानमा व्यवस्था गरिएको ‘सुधारिएको’ संसदीय शासन प्रणालीले देशमा राजनीतिक अस्थिरता र विगतदेखिका विकृति–विसंगतिलाई अरू पेचिलो बनाउनेछ र आर्थिक विकासको गतिलाई झन् मन्द बनाउनेछ। दोस्रो कुरा, नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त देशमा विभिन्न जातीय/भाषिक/क्षेत्रीय समुदाय वा राष्ट्रियताहरूलाई पहिचान र अधिकारसहितको संघीय प्रदेश वा संरचनाको व्यवस्था नगरी आन्तरिक राष्ट्रिय एकता र दीर्घकालीन शान्ति तथा स्थायित्व कायम गर्न निकै कठिन हुनेछ। संविधान जारी गर्ने क्रमदेखि नै तराई–मधेस, थारुवान/थरुहट, मगरात लगायतका क्षेत्रहरूमा भइरहेका विरोध र संघर्षहरूले त्यो संकटको गम्भीर संकेत गर्छन्। बेलैमा वैज्ञानिक र वस्तुसंगत ढंगले हल नगरिएमा ती समस्या अरू फैलिने र गम्भीर बन्ने निश्चित छ। खासगरी कुल जनसंख्याको करिब एक तिहाइको अनुपातमा रहेका खस–आर्य, आदिवासी–जनजाति र मधेसी–थारु समुदायलाई राज्यका सबै अंग र संरचनामा समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगरिएसम्म आगामी दिनमा संकटको बादल झन् नराम्ररी मडारिनेछ। तेस्रो कुरा, भारत र चीनजस्ता उदीयमान र प्रतिस्पर्धी शक्तिराष्ट्रहरूको बीचमा रहेको विशिष्ट भू–राजनीतिक परिवेश र भारतसँगको दुई सय वर्षदेखिको पराश्रित सम्बन्धको व्यवस्थापन कुशलतापूर्वक गरी राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा र प्रबद्र्धन गर्ने प्रश्न आगामी दिनमा अरू महत्त्वपूर्ण र जटिल हुनेछ। हाल तराई–मधेसमा भइरहेको आन्दोलनको आडमा भारतीय पक्षले गरेको अघोषित नाकाबन्दीले त्यसको पर्याप्त झल्को दिइरहेको छ। यी प्रमुख अन्तरविरोधहरू हल गर्दै देशलाई दिगो शान्ति र समृद्धिको दिशामा नेतृत्व गर्नु राजनीतिक शक्तिहरूको मुख्य दायित्व हुनेछ। 

पुराना शक्ति पुरानै चरित्र

 परन्तु, भनिन्छ– इतिहास दोहोरिन्छ, किनभने मानिसहरूले आफ्ना गल्ती दोहोर्‍याउँछन्। नेपालको गत सात दशकदेखिको क्रान्तिकारी लोकतान्त्रिक आन्दोलन र पार्टीहरूको दु:खद् इतिहासले यसको पुष्टि गरिरहेछ। प्रत्येकचोटी आन्दोलन/क्रान्तिको ऐतिहासिक आवश्यकताले नयाँ राजनीतिक शक्तिलाई रंगमञ्चमा ल्याउँछ, तर कालान्तरमा ती शक्ति पुरानै सत्तामा सहवरण हुन्छन् र पुरानै शक्तिमा रूपान्तरण हुन्छन्। २००७ सालपछिको नेपाली कांग्रेस, २०४६/०४७ पछिको माले/एमाले र २०६२/०६३ पछिको माओवादी/एमाओवादी यसका ज्वलन्त उदाहरण हुन्। समय, परिवेश, प्रक्रिया केही फरक हुनसक्छन्, तर परिणाम/नियति उस्तै छ। यसको प्रमुख वस्तुगत कारण, ती सबै आन्दोलन/क्रान्ति अधुरो रहेको र सम्झौतामा टुंगिएको हुनाले रापताप सेलाउँदै गएपछि यथास्थितिवादको गुरुत्वाकर्षण बढी हावी भएर ती नयाँ शक्ति पुरानै शक्तिमा रूपान्तरण भएका हुनसक्छन्। त्यसभन्दा बढी महत्त्वपूर्ण आत्मगत कारण, ती क्रान्ति/आन्दोलनका मुख्य नेतृत्वमा न्युन पुँजीवादी, महत्त्वाकांक्षी, अवसरवादी व्यक्तिहरू हावी हुनु र उनीहरूले सहजै वर्ग–उत्थानीकरण गरेर रंग बदल्नु हो। पछिल्लोचोटी विकसित भएको माओवादी आन्दोलनको कुरा गर्दा यो वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र अन्य सबै हिसाबले सबभन्दा बढी व्यापकता र त्याग–बलिदान भएको र नयाँ क्रान्तिकारी शक्तिको रूपमा निरन्तरता लिनसक्ने सम्भावना भएको आन्दोलन हो। तर केही गम्भीर कमजोरी र त्रुटिका कारणले यो सोचेभन्दा छिटो विचलन, विघटन र विसर्जन हुनपुग्यो। पहिलो कुरा, यो ‘आन्दोलन’को रूपमा त प्रभावकारी र सशक्त रह्यो, तर मुख्यत: शान्ति प्रक्रियामा आइसकेपछि यसले संगठित रूप लिनसकेन र संगठनविना उत्पीडित वर्ग/समुदायमा आधारित यो शक्ति लामो समय नटिक्नु स्वाभाविकै हुन्थ्यो। दोस्रो कुरा, युद्धको कमाण्ड/कन्ट्रोलको ढाँचामा निर्मित र ‘क्रान्तिकारी प्राधिकार’को नाममा अति–केन्द्रित नेतृत्व प्रणाली भएको माओवादी (मुख्यत: एमाओवादी) भित्र सत्ता, शक्ति र सम्पत्तिको यति धेरै केन्द्रीकरण भयो कि त्यहाँ कुनै प्रणाली र संस्थाको विकासै हुनसकेन। बरु उल्टै मुख्य नेतृत्व वरिपरि वर्ग–उत्थानीकरण, भ्रष्टीकरण र ‘क्रोनी–क्यापिटालिजम’को अनियन्त्रित विकास भयो र त्यसले सम्पूर्ण आन्दोलनलाई नै प्रदूषित र विकृत गर्‍यो। माओवादी आन्दोलनको अभिन्न अंग हुनुको नाताले मैले पनि यस्तो दुष्परिणामको आफ्नो हिस्साको नैतिक जिम्मेवारी लिनैपर्छ र लिन्छु पनि। मैले पार्टीभित्रको अति–केन्द्रीकृत ढाँचा, नेतृत्व प्रणाली, वर्ग–उत्थानीकरण र सम्भावित दुस्परिणामबारे निरन्तर वैचारिक–राजनीतिक संघर्ष त चलाएँ, तर संगठनमा प्रभावकारी हस्तक्षेप गरेर रोक्न असफल भएँ। म आफ्नो कमजोरीप्रति सार्वजनिक आत्मालोचना गर्छु। फेरि पनि विचलन, टुटफुट, विघटन र विसर्जनको अवस्थामा रहेको माओवादी/एमाओवादीभित्र नेता, कार्यकर्ता र समर्थक जनताको ठूलो पंक्ति बाँकी छ। त्यसलाई नयाँ आधारमा नयाँ ढंगले संगठित गर्ने सम्भावना अझै छ। संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै एमाले, एमाओवादी, राप्रपा–नेपाल, फोरम (गच्छदार) लगायतको जुन अत्यन्त सिद्धान्तहीन, अवसरवादी गठबन्धन सरकार बन्यो, त्यसले नेपालका पुराना राजनीतिक शक्तिहरूको पुरानै चरित्र फेरि एकचोटी जनसमक्ष उदांगो पारेको छ। खासगरी गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता नयाँ संविधानका आधारभूत सिद्धान्त र मूल्य—मान्यता विरोधी शक्तिहरूको ‘भिटो’ रहनेगरी जुन गठबन्धन सरकार बनेको छ, त्यसले आगामी दिनका निम्ति गम्भीर अनिष्टको संकेतमात्र गरेको छ। मुख्यत: गत २० वर्षमा देशमा पन्ध्रौं हजारको बलिदानसहितको त्यति ठूलो क्रान्तिकारी उथलपुथल र संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान प्राप्तिपछि उही पुरानै शक्ति, प्रवृत्ति, हावी हुनुले देश केही समय फेरि उही संसदीय सरकार बनाउने र गिराउने खेल, सांसद किनबेच, भ्रष्टाचार, कमिसनखोरी, विदेशी ‘माइक्रो म्यानेजमेन्ट’, अराजकता र अल्पविकासको दलदलमा फँसिरहने प्राय: निश्चित छ। दिनहुँ हजारौं युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहने क्रम जारी रहनेछ। देश र जनताप्रति योभन्दा ठूलो धोका र ऐतिहासिक मजाक अरू के हुनसक्छ? के नेपाल र नेपाली जनताको नियति नै यही हो? हामीजस्तै सबभन्दा पिछडिएका र अल्पविकसित एसिया र अफ्रिकाका अन्य मुलुकहरू समेत केही दशक यता हामीलाई पछाडि पारेर विकास र समृद्धिको उकालो चढिसक्दा हामी टुलुटुलु हेरेर बस्न अभिशप्त छौं त? अवश्य छैनौं।

 वैकल्पिक राजनीतिक शक्तिको खाँचो 

अन्तत: देशलाई सही दिशाबोध गर्ने र नेतृत्व गर्ने राजनीतिले नै हो। लोकतन्त्रमा राजनीतिको नेतृत्व गर्ने राजनीतिक दलहरूले नै हो। आजको वैज्ञानिक र लोकतान्त्रिक युगमा हामी कुनै पनि प्रकारको निरंकुश र अलोकतान्त्रिक राजनीतिक विकल्पको कल्पनासमेत गर्न सक्दैनौं र गर्न पनि हुँदैन। तर राजनीति र राजनीतिक दल ऐतिहासिक आवश्यकता र देश–कालको ठोस परिस्थिति अनुरूप विकसित र रूपान्तरित हुनैपर्छ। एउटा ऐतिहासिक कालखण्डमा सही नेतृत्व गरेको राजनीति र राजनीतिक शक्तिले अर्को कालखण्डमा पनि गर्न सक्छ र गर्नैपर्छ भन्ने कुनै फलामे नियम हुँदैन। नेपालकै कुरा गर्दा प्रजापरिषददेखि कांग्रेस र एमाले हुँदै माओवादी/ एमाओवादीसम्मले एउटा ऐतिहासिक कालखण्डमा आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेकै हुन्। परन्तु बदलिएको परिस्थिति र बदलिएको ऐतिहासिक आवश्यकता पुरा गर्न तिनीहरू नै सक्षम भइरहनुपर्छ भन्ने कसैले अपेक्षा गर्नु हुँदैन। निश्चित रूपमा एउटा ऐतिहासिक कालखण्डमा स्थापित भएका र लोकप्रिय रहेका राजनीतिक दल/शक्तिको ‘ब्रान्ड’ नाम लोकप्रिय हुन्छन्। दोस्रो विश्वयुद्धपछिको विश्वव्यापी राष्ट्रिय मुक्ति आन्दोलनको लहरको बेला जन्मेका पार्टीहरूको नाम ‘कांग्रेस’ राख्ने प्रचलनजस्तै बनेको थियो। जस्तै– नेपाली कांग्रेस, भारतीय राष्ट्रिय कांग्रेस, अफ्रिकन नेसनल कांग्रेस/कंग्रेस आदि। त्यस्तै माओको नेतृत्वमा चीनमा चलेको ‘सांस्कृतिक क्रान्ति’को बेला बनेका कम्युनिष्ट पार्टीहरूको नाम पछाडि ‘मा–ले’ (वा माक्र्सवादी–लेनिनवादी) जोड्ने संसारभर फेसनजस्तै बनेको थियो। त्यसरी नै माओको देहान्तपछि अर्थात सन् १९८० को दशकपछि कम्युनिष्ट पार्टीहरूको नाम पछाडि ‘माओवादी’ जोड्ने लहर नै चलेको हो। ती खास–खास ऐतिहासिक कालखण्डमा स्थापित पार्टी र तिनका ब्रान्ड नाम जनस्तरमा लोकप्रिय बनेका हुन्छन् र तीप्रति धेरैको भावनात्मक लगाव हुनसक्छ। खासगरी अहिलेको ब्राड– सचेत पुँजीवादी बजारबाट दीक्षितहरूमा ब्रान्ड नामको प्रभाव र महत्त्व रहन सक्छ। तर राजनीतिक दल/शक्ति भनेको बाहिरी रूपपक्ष वा ब्रान्डमात्र नभएर मुख्य रूपमा त्यसको विचार, नीति, कार्यक्रम, संगठनात्मक ढाँचा, नेतृत्व प्रणाली, कार्यशैली, आचरण सहितको समुच्चता हो, जसले देश/कालको आवश्यकता पूर्ति गर्न सक्नुपर्छ। सबभन्दा महत्त्वपूर्ण कुरा, एउटा ऐतिहासिक कालखण्ड वा युगका कार्यभार सफलतापूर्वक सम्पन्न गरेका राजनीतिक दल/शक्तिहरूले अर्को कालखण्ड/युगका नयाँ कार्यभार पुरा गर्न सक्दैनन् र नयाँ युगका नयाँ कार्यभार निम्ति नयाँ शक्तिको जन्म अपरिहार्य हुन्छ। नेपालमा वि.सं. १९९७ सालदेखिको राजनीतिक आन्दोलन मूलत: पहिले राणा र पछि शाहवंशको सामन्ती निरंकुशता विरोधी पुँजीवादी लोकतान्त्रिक/गणतान्त्रिक आन्दोलन र पछिल्लो चरणमा एकात्मक राज्यको सट्टा संघात्मक राज्यको निम्ति आन्दोलनसमेत हो। ती आन्दोलनहरू प्राय: विद्रोहात्मक प्रकृतिका रहे र तिनलाई सञ्चालन गर्ने पार्टीको ढाँचा लोकतान्त्रिक वा वामपन्थी भनिए पनि ती आन्दोलनमुखी र स्वभावैले अति–केन्द्रीयतामुखी रहे। मूलत: पुरानो सत्ता/संरचना ‘ध्वंस’ गर्ने क्रान्ति/आन्दोलनमुखी राजनीतिको चरणमा पार्टीको नेता/कार्यकर्ताहरूको क्षमता/रुची/प्रवृत्ति पनि लड्न—भिड्न सक्ने, जेलनेल खप्न सक्ने खालको हुन्छ र हुनुपर्छ भने संगठनको ढाँचा युद्धमुखी कमान/कन्ट्रोलमा आधारित हुनुपर्ने हुन्छ। तर अब नयाँ ऐतिहासिक चरण/युगमा प्रवेशसँगै नेपाली राजनीतिका एजेन्डा बदलिएका छन्। अबको मुख्य एजेन्डा भनेको प्राप्त लोकतान्त्रिक उपलब्धिहरूलाई संस्थागत र रक्षा गर्दै प्रधान रूपमा तीव्र आर्थिक विकास र समृद्धिको कार्ययोजना निर्माण र कार्यान्वयन गर्ने र समुन्नत समाजवादको आधार तयार गर्ने नै हुन्छ। त्यसका लागि नयाँ सोच, नयाँ नीति, नयाँ कार्यक्रम, नयाँ संगठन र नयाँ शैली/संस्कार सहितको नयाँ वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता हुन्छ। त्यही ऐतिहासिक कार्यभार पुरा गर्ने अभियानमा योगदान गर्नकै निम्ति मैले असोज ३ गते नयाँ संविधान जारी भएपछि असोज ९ गते आफूसम्बद्ध रहँदै आएको पार्टी परित्याग गर्ने घोषणा गरेको हुँ। त्यो कुनै क्षणिक आवेग, कसैप्रतिको असन्तुष्टि, कसैको उक्साहट वा अन्य कुनै दृश्य–अदृश्य कुराको परिणाम नभई ऐतिहासिक दायित्वबोधका साथ गरिएको सुविचारित निर्णय र सकारात्मक सोचको अभिव्यक्ति थियो। हो, त्यस क्रममा महात्मा गान्धीले भारत स्वतन्त्र भइसकेपछि ‘भारतीय राष्ट्रिय कांग्रेसलाई विघटन गरिदिए हुन्छ’ भनेको, माओले चिनियाँ क्रान्तिको १५ वर्षपछि आफ्नै ‘मुख्यालयमा बम वर्षाऊ’ भनेको, चे ग्वेभाराले क्युवाको क्रान्तिको ६ वर्षपछि क्युवा छोडेर अफ्रिका र बोलिभियामा क्रान्ति गर्न हिँडेको घटनाले केही उत्प्रेरणा दिएकै हो। असोज ८ गते कमरेड प्रचण्डसमक्ष त्यही ‘स्पिरिट’मा ‘सबै माओवादी समूहलाई विघटन गरेर नयाँ शक्ति निर्माण गरौं’ भन्ने प्रस्ताव राख्दा उहाँले त्यसलाई अस्वीकार गरेपछि आफू एक्लै भए पनि अघि बढ्ने सोच बनेको हो। तर ती कुरा प्रमुख होइनन्। प्रमुख कुरा नेपाली इतिहासको आगामी कार्यभार पुरा गर्न युग सुहाउँदो नयाँ वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा आफ्नो सक्दो योगदान गर्ने अठोट नै हो। 

मुख्य वैकल्पिक एजेन्डा 

प्रस्तावित नयाँ राजनीतिक शक्तिका एजेन्डाहरूबारे पर्याप्त सामूहिक र सार्वजनिक छलफलपछि व्यापक सहभागितामूलक तरिकाले निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ। त्यही छलफलका निम्ति सहयोग पुर्‍याउन ५ ‘स’को रूपमा मुख्य–मुख्य बुँदा यहाँ प्रस्तुत गर्न चाहन्छु : 

पहिलो ‘स’– स्वाधीनता/सार्वभौमिकता :

 दुई भीमकाय छिमेकी भारत र चीनसँग सुमधुर सम्बन्ध राख्दै नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने युगसापेक्ष राष्ट्रिय सुरक्षा र विदेश नीतिको निर्माण विज्ञहरू सहितको व्यापक सहभागितामा गरिनुपर्छ। त्यस निम्ति पुरानो ‘दुई ढुंगा बीचको तरुल’को विम्बको सट्टा ‘दुई विकसित छिमेकी बीचको गतिशील पुल’को नयाँ विम्ब निर्माण गर्दै दुबैको तीव्र आर्थिक विकासबाट फाइदा लिने र छिटो समृद्ध र अन्तरनिर्भर बन्ने नीति अनुशरण गर्नुपर्छ। भारतसँगको केही जटिल सम्बन्धको हकमा उससँग तत्काल द्विपक्षीय पारस्परिक हितको व्यावहारिक सम्बन्ध राख्ने र दीर्घकालीन रूपमा आन्तरिक राष्ट्रिय एकता र आर्थिक समृद्धिसहितको ‘प्रगतिशील राष्ट्रवाद’को नीतिमार्फत उससँगको परम्परागत परनिर्भर सम्बन्धलाई अन्तरनिर्भर सम्बन्धमा बदल्ने रणनीति अवलम्बन गर्नुपर्छ। परराष्ट्र सम्बन्धको क्षेत्रमा रहेको वर्तमान अराजकता र अपारदर्शितालाई अन्त्य गर्दै सबै देशसँगको सम्बन्धलाई संस्थागत, पारदर्शी र मर्यादित बनाइनुपर्छ।

 दोस्रो ‘स’– समावेशी/समानुपातिक/सहभागितामूलक लोकतन्त्र : 

नयाँ वैकल्पिक शक्तिको मुख्य भेद र पहिचान आन्तरिक पार्टी लोकतन्त्र र राज्य क्षेत्रको लोकतन्त्रमा गुणात्मक रूपले भिन्न प्रयोग र व्यवहार हुनेछ। त्यो भनेको पार्टी र राज्यका सबै अंग र क्षेत्रमा विनासर्त र बहाना समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रको व्यावहारिक अभ्यास नै हो। अर्थात पार्टी र राज्यका सबै निकायमा विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको समावेशी र समानुपातिक प्रतिनिधित्व अनिवार्य रूपमा हुनैपर्छ। अझै सबभन्दा महत्त्वपूर्ण कुरा विद्यमान पार्टी र राज्यका अति–केन्द्रीकृत नोकरशाही ढाँचाको अन्त्य गरी पार्टीका अंगहरूमा कार्यकर्ताहरूको र राज्यका अंगहरूमा आम जनसमुदायको निरन्तर निगरानी, अनुगमन र हस्तक्षेप सुनिश्चित गर्ने सहभागितामूलक लोकतन्त्रको विधि विकास गरी लागू गरिनुपर्छ। 

तेस्रो ‘स’– समतामूलक समृद्धि : 

देशमा नयाँ शक्तिको मुख्य आवश्यकता र औचित्य भनेको सात दशकदेखिको राजनीतिक लोकतन्त्रको लडाइँबाट थिलथिलो भएका नेपाली जनतालाई छिटोभन्दा छिटो त्यसको आर्थिक प्रतिफल र समृद्धि दिलाउनु नै हो। त्यसको निम्ति केही दशकसम्म निरन्तर उत्पादनशील रोजगारी सहितको दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्दै १० वर्षभित्र गरिबी र बेरोजगारीको अन्त्य गर्ने, २० वर्षमा मध्यमस्तरको विकसित अवस्थामा पुग्ने र ४० वर्षमा विकसित देशको कोटीमा पुग्ने आर्थिक विकास र समृद्धिको योजना विज्ञहरू र निजी क्षेत्र सहितको सहभागितामा निर्माण गरी कार्यान्वयन गरिनुपर्छ। साथै विकासको प्रतिफल सबै वर्ग, क्षेत्र र समुदायमा समन्यायिक ढंगले पुर्‍याउने, निजी र राज्य क्षेत्रको सहकार्य हुने, कृषि, उद्योग र सेवा क्षेत्रको सन्तुलित योगदान हुने, स्वदेशी र विदेशी लगानी तथा श्रम र प्रविधिको उचित संयोजन हुने, विकास र वातावरणको सन्तुलन कायम हुने मौलिक विकास नीतिको अनुशरण गरिनुपर्छ। 

चौथो ‘स’– समुन्नत समाजवाद : 

नयाँ शक्ति निर्माणको विमर्शमा सम्भवत: सबभन्दा ठूलो जिज्ञासा त्यसको वैचारिक आधारका बारेमा नै छ। यस सम्बन्धमा हिजोका शीतयुद्धकालीन आग्रह र पूर्वाग्रहबाट प्रभावित भएरभन्दा पनि ज्ञान र विज्ञानका पछिल्ला अनुसन्धान र आविष्कार, विश्व इतिहासका अनुभवहरू र नेपाली समाजको ठोस वर्ग–विश्लेषणका आधारमा उचित निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ। प्रारम्भमा यतिचाहिँ भन्न सकिन्छ र भन्नैपर्छ कि माक्र्सद्वारा प्रतिपादित र अन्य चिन्तकहरूद्वारा समृद्ध द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तन प्रणाली भौतिक र सामाजिक जगतलाई बुझ्ने र बदल्ने सबभन्दा वैज्ञानिक र सुसंगत प्रणाली हो। मूलत: त्यसैमा आधारित भएर र अन्य चिन्तनधाराका सकारात्मक पक्षहरूलाई समेत ग्रहण गरेर नयाँ वैकल्पिक राजनीतिक शक्तिले आफ्नो नीति, कार्यदिशा र कार्यक्रम तय गर्नेछ। त्यही अनुरूप तत्काल राष्ट्रिय औद्योगिक पुँजीवादको जग निर्माण गर्दै त्यसमा टेकेर समुन्नत समाजवादमा पुग्ने रणनीतिक लक्ष्य हुनेछ। त्यो कुनै माथिबाट लादिएको, गरिबी बाँड्ने, व्यक्तिको निजत्व कुण्ठित गर्ने नोकरशाही समाजवाद होइन, परन्तु तलैबाट उठेको, समृद्धि बाँड्ने, व्यक्तिको निजत्व प्रष्फुटित गर्ने सहभागितामूलक समाजवाद हुनेछ। 

पाँचौं ‘स’– सदाचार/सुशासन/सुसंस्कृति : 

व्यावहारिक रूपमा नयाँ शक्तिलाई पुरानो शक्तिबाट छुट्याउने मुख्य कसी सदाचार, सुशासन र सुसंस्कृति हुनेछ। पुरातन राजनीतिक शक्तिहरूले राजनीतिलाई देश र समाजको निम्ति स्वेच्छिक सेवाको सट्टा निजी स्वार्थ पूर्ति गर्ने व्यवसाय र फोहोरी खेल बनाएकाले भ्रष्टाचार, कुशासन र कुसंस्कार नेपाली राजनीतिको पर्याय बनेको छ। त्यसैले सदाचारयुक्त स्वाभिमानी नागरिकहरू र आदर्शवान युवा पुस्ता राजनीतिबाट वितृष्ण र विमुख हुँदै गइरहेछन्। यसलाई उल्ट्याएर नयाँ शक्तिले राजनीतिलाई स्वच्छ, पारदर्शी स्वयंसेवाको रूपमा स्थापित गर्नेछ र दसौं लाख आदर्शवान युवाहरू र चरित्रवान नागरिकहरूलाई देशसेवामा परिचालन गर्नेछ। सार्वजनिक जीवन र राज्यका अंगहरूबाट भ्रष्टाचार उन्मूलन, सुशासनको प्रत्याभूति र समाजमा उन्नत संस्कृति र संस्कारको विकासलाई नयाँ शक्तिले आफ्नो प्रमुख कार्यभार बनाउनेछ। 

नयाँ शक्ति निर्माण अभियान 

नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रक्रिया पनि ‘नयाँ’ हुनु नितान्त जरुरी छ। केही स्वार्थ मिल्ने व्यक्तिहरू मात्र बसेर एउटा छुट्टै राजनीतिक समूह वा दल घोषणा गरियो भने त्यो ‘नयाँ बोतलमा पुरानो रक्सी’मात्रै हुनेछ। त्यसको थप भार बोक्न नेपाली जनता अब अभिशप्त छैनन्। त्यसैले नयाँ सोच, नयाँ एजेन्डा र नयाँ आचरण सहितको नयाँ शक्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग र समुदायबीच व्यापक छलफल, अन्तरक्रिया चलाएर सबैको स्वामित्व र अपनत्व कायम हुनेगरी निर्माण गरिनुपर्छ। त्यसका निम्ति विभिन्न पार्टीहरूभित्र रहेका, कुनै पनि पार्टी वा संगठनमा नरहेका व्यक्तिहरू, पेसाकर्मीहरू र मुख्यत: नयाँ सोचले ओतप्रोत युवाहरूबीच व्यापक अभियान सञ्चालन गरिनुपर्छ। माथिबाट निर्देशितभन्दा पनि तलैबाट सहभागितामूलक ढंगले बन्ने शक्ति नै वास्तवमा नयाँ र दिगो शक्ति बन्नेछ। क्याम्पसमा, फ्याक्ट्रीमा, चौतारीमा, कार्यालयमा र घर—घरमा नयाँ शक्तिबारे बहस चलाएर र विभिन्न मुद्दाकेन्द्रित अभियान/आन्दोलनको बीचबाट नयाँ शक्ति बनेमा नै त्यो सार्थक हुनेछ। 

केही अनुभूतिहरू 

मैले आफैंले बनाएको पुरानो राजनीतिक डुंगा परित्याग गरेर जीवनको उत्तरार्धमा एक्लै सांसारिक समुद्रमा हाम्फाल्दा धेरैले आश्चर्य व्यक्त गरेका छन्। कतिपयले अपुष्ट आशंका र मनगढन्त दुस्प्रचार पनि गरेका छन्। तर म विचलित छैन। किनभने म सिक्न तयार छु। म गल्ती—कमजोरी सच्याउन तयार छु। म सकारात्मक सोच राख्छु र अरूलाई सकारात्मक सोच बाँड्न चाहन्छु। मैले जीवनमा आफ्नोनिम्ति सबै थोक प्राप्त गरिसकेको छु। मैले त अब बाँकी जीवनमा समाज, देश र मानव जातिलाई आफूले सकेजति दिने काममात्र गर्नुछ। लक्ष्मी र सरस्वती सँगै नबसेझैं सत्य र सत्ता अक्सर सँगै बस्दैनन् भन्ने मलाई थाहा छ। म तिनीहरूलाई सँगै राख्ने नयाँ घरको खोजीमा छु। अहिले म त्यही यात्रामा निस्केको छु। त्यस निम्ति म सहयात्रीहरूको खोजीमा छु। विशेषगरी युवाहरूको खोजीमा छु, जसले समृद्ध नयाँ नेपालको नेतृत्व गर्नेछन्। आइन्सटाइनले भनेझैं, ‘मसँग कुनै विशेष गुण छैन। म उत्कण्ठापूर्ण जिज्ञासुमात्र हुँ।’ 

http://kantipur.ekantipur.com बाट साभार 

Monday, October 26, 2015

सरकारमा सहभागिता : के क्रान्तिकारी नीतिको परित्याग हो ? - मोहनविक्रम सिंह

Mohan-Bikram-Singh



एउटा गति वा वेगमा गइरहेको साइकल, मोटरसाइकल, कार वा रेललाई दिशा परिवर्तन गर्दा धेरै नै अप्ठ्यारो हुन्छ । त्यो बेला दुर्घटना हुने सम्भावना पनि हुन्छ । त्यही कुरा एक प्रकारले गइरहेको पार्टीको लाइनमा परिवर्तन गर्दा पनि असहज स्थितिको सिर्जना हुन्छ । पार्टीको इतिहासमा गत कालमा कैयौँपल्ट त्यस्तो भएको छ र अहिले सरकारमा जाने निर्णयको सन्दर्भमा पनि एक प्रकारले असहज स्थितिको सृजना भएको छ । हाम्रो पार्टीका कतिपय शुभेच्छुकहरूको मनमा यो आशङ्का उत्पन्न भएको छ ः त्यस प्रकारको निर्णयको परिणामस्वरूप पार्टीका अहिलेसम्मको राजनैतिक प्रतिष्ठा नै समाप्त हुने ता होइन ? सरकारमा जाने निर्णयको परिणामस्वरूप पार्टीको क्रान्तिकारी नीतिको नै परित्याग हुने ता होइन ?
पार्टी सरकारमा जाने नीतिका सन्दर्भमा सुरुमा नै दुई वटा कुरा स्पष्ट हुनु पर्ने आवश्यकता छ ः प्रथम, पार्टीले सरकारमा जाने निर्णय गर्नुको अर्थ स्वयं पार्टी सरकारमा जाने होइन । त्यसको अर्थ खालि वैधानिक मोर्चा नै सरकारमा जाने हो । त्यसैले यो लेखमा जहाँ पार्टी सरकारमा जाने कुराको चर्चा गरिएको छ, त्यहाँ वैधानिक मोर्चा सरकारमा जाने कुरालाई नै बुझ्नु पर्ने छ । द्वितीय, हाम्रो पार्टीले सरकारमा जाने नीति निश्चित गरेको छ । तर त्यो नीति अझै व्यवहारमा गैसकेको छैन । सरकारमा जाने निर्णय तथा त्यसलाई व्यवहारमा लैजाने कार्य–त्यसका बीचमा केही अन्तर छ र हुन्छ पनि । त्यसका लागि केही औपचारिकता पूरा हुनु आवश्यक हुन्छ । त्यो औपचारिकता पूरा भएर व्यवहारमा पार्टी कसरी सरकारमा जाने छ ? त्यो अझै जान्न र स्पष्ट हुन बाँकी छ ।
२०३७ सालमा जनमत सङ्ग्रहको घोषणापछि पार्टीले त्यसको वहिष्कार गर्ने र आन्दोलन अगाडि बढाउने निर्णय गर्‍यो ।पछि पुनः वहिष्कारको नीतिलाई बदलेर बहुदलीय व्यवस्थालाई जिताउन जनमत सङ्ग्रहलाई उपयोग गर्ने निर्णय गर्‍यो । त्यो निर्णयलाई केन्द्रीय समितिमा पारित गराउन धेरै कठिन भएको थियो । त्यो निर्णयको पार्टीभित्र वा बाहिर पनि धेरै नै विरोध भएको थियो । प्रथमता पहिले वहिष्कार गरेको जनमत सङ्ग्रहलाई उपयोग गर्ने नीतिलाई पचाउन कैयौँ साथीहरूलाई गाह्रो भएको थियो । त्यो वाहेक एउटा क्रान्तिकारी पार्टीले बहुदलीय जस्तो पूँजीवादी प्रणालीलाई जिताउने नीतिलाई पार्टीका कतिपय साथीहरूद्वारा गैर–क्रान्तिकारी नीति लिइएको भनेर आलोचना गरिएको थियो । तत्कालीन मालेले ‘निर्दलीय र बहुदलीय व्यवस्था एउटै ड्याङका मूला हुन्’ भनेर त्यसको वहिष्कार गरेकाले पनि हाम्रा साथीहरूमा जनमत सङ्ग्रहको उपयोगबारे तीव्र विरोधको भावना उत्पन्न भएको थियो । तरपछि इतिहासले प्रमाणित गर्‍यो– हाम्रो त्यो जनमत सङ्ग्रहको उपयोगको नीति सही थियो । तर त्यसको अर्को महत्वपूर्ण पक्ष यो थियो कि जनमत सङ्ग्रहको उपयोगको नीतिप्रतिको विरोधका वावजुद बहुदलीय व्यवस्थालाई जिताउन हाम्रा साथीहरू पुरै लागे । तर तत्कालीन मालेले त्यसलाई वहिष्कार गरेकाले बहुदलीय व्यवस्थालाई झन् क्षति पुग्यो र निर्दलीय व्यवस्था विजयी भयो । त्यसपछि पञ्चायती व्यवस्थालाई समाप्त गर्न अरू १० वर्ष सङ्घर्ष गर्नु परेको थियो ।
हाम्रो पार्टीले २०४६ को संसदको चुनावको वहिष्कार गर्‍यो । हाम्रो पार्टीले स्थानीय चुनाव र संसदीय चुनावलाई पनि उपयोग गर्ने निर्णय गरेको थियो । हाम्रो त्यो नीति पहिलेको वहिष्कारको नीतिभन्दा बेग्लै थियो । त्यसैले त्यसरी नीति परिवर्तन गर्दा त्यो नीतिको पार्टीभित्र वा बाहिर पनि धेरै आलोचना भएको थियो । धेरै साथीहरूले यो विचार प्रकट गरेका थिए कि संसदीय दलदलमा पसेपछि हाम्रो पार्टी पनि अन्य वुर्जुवा वा दक्षिणपन्थी संशोधनवादी पार्टी सरह हुने छ । अन्य पार्टीहरू र हाम्रा बीचमा के फरक भयो ? त्यो बेला संसदमा गएर बिग्रेका संसारभरिका कैयौँ पार्टीहरूको उदाहरणहरू उद्धृत गरिएको थियो । तर संसदीय चुनावमा भाग लिएर पनि हाम्रो पार्टी दक्षिणपन्थी संसदीय दलदलमा फसेन र सैद्धान्तिक तथा राजनैतिक रूपले त्यसले आफ्नो क्रान्तिकारी चरित्रलाई बचाइराख्यो ।
२०४६ सालमा ने.का. ले निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्ने निर्णय गर्‍यो । हाम्रो पार्टीले त्यसलाई समर्थन गर्‍यो । त्यो बेला अहिलेका माओवादी वा तत्कालीन ‘मोटो मशाल’ ले प्रतिक्रियावादी शक्तिले आह्वान गरेको त्यो आन्दोलनलाई प्रतिक्रियावादी बताउँदै त्यसको विरोध गरेको थियो । त्यसको असर हाम्रो पार्टीमाथि पनि प्रशस्त पर्‍यो । ने.का. सित हाम्रो शत्रुतापूर्ण सम्बन्ध थियो । का. मित्रमणिको हत्या र त्यसको भारतपरस्त नीति समेतका कारणले त्यसले आह्वान गरेको आन्दोलनलाई समर्थन गर्ने कार्यलाई हाम्रा साथीहरूले स्वाभाविक रूपमा स्वीकारेका थिएनन् । उनीहरूले सोचेका थिए, हाम्रो पार्टी ने.का. को पिछलग्गु भएको थियो र ने.का. सत्तामा गएपछि लाभ पाउन नै हाम्रो पार्टीले त्यो आन्दोलनलाई समर्थन गरेको थियो । त्यो बेला आयोजित पार्टी प्लेनममा डा. बाबुराम भट्टराई समेतको एउटा पक्षले त्यो आन्दोलनलाई समर्थन गर्ने हाम्रो प्रस्तावको कडा विरोध गरेको थियो । तरपछि प्लेनमको वहुमतले त्यो आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको थियो । हामीले ने.का. ले आह्वान गरेकाले २०४६ सालको आन्दोलनलाई विरोध गरेको भए के इतिहासले त्यसलाई सही ठहर्‍याउने थियो ? त्यो अवस्थामा के हाम्रो नीतिलाई इतिहासले भारतको सन् १९४२ का कम्युनिस्टको नीति जस्तै गलत ठहर्‍याउने थिएन ? सन् १९४२ मा अङ्ग्रेजको पनि फासिवादका विरुद्ध युद्ध गरिरहेकाले र त्यो प्रश्नमा त्यसको सोभियत सङ्घसित एकता कायम भएकाले सन् १९४२ मा भारतीय काङ्ग्रेसले अङ्ग्रेजका विरुद्ध आन्दोलन गर्ने नीति अपनाउँदा भारतीय कम्युनिस्टहरूले अङ्ग्रेजको पक्ष लिएका थिए । हामीले २०४६ सालको ने.का. को आन्दोलनको विरोध गरेको भए इतिहासले हामीलाई १९४२ सालका भारतीय कम्युनिस्टहरूको श्रेणीमा राख्दथ्यो ।पछि ‘मोटो मशाल’ ले पनि त्यो आन्दोलनको विरोध गर्ने नीतिलाई बदल्यो र आन्दोलनमा सामेल भयो । त्यही क्रममा हाम्रो पार्टी सहित संयुक्त राष्ट्रिय जनआन्दोलनको गठन भएको थियो ।
तत्कालीन मालेले सबै प्रकारका शान्तिपूर्ण वर्गसङ्घर्ष, आन्दोलन वा किसान आन्दोलन, जनवर्गीय सङ्गठनहरूको गठन समेतलाई गैर–क्रान्तिकारी बताउँदै त्यसको विरोध गरेको थियो । त्यो बेला भारतमा नक्सलवाडी आन्दोलन चलेको थियो र उनीहरूले सशस्त्र सङ्घर्ष र सशस्त्र लडाकु दस्ता बनाएर अन्य सबै प्रकारको आन्दोलन वा सङ्गठनहरूको विरोध गरेका थिए । त्यो नीतिको तत्कालीन मालेले पनि अनुसरण गरेको थियो । त्यो नीतिको हाम्रो पार्टीमा पनि धेरै नै असर परेको थियो । मालेले सशस्त्र सङ््घर्ष सुरु गरेपछि हाम्रो पार्टीले त्यो नीतिलाई उग्र‘वामपन्थी’ बताउँदै त्यसको विरोध गर्‍यो । हाम्रा कैयौँ साथीहरू मालेको सशस्त्र सङ्घर्षको नीतिद्वारा प्रभावित भए र उनीहरूको पक्षमा लागे ।पछि स्वयं मालेले त्यो नीतिलाई उग्र“वामपन्थी” गल्ती भएको भन्दै आत्मालोचना गर्‍यो ।पछि माओवादीले सशस्त्र सङ्घर्ष सुरु गरेपछि पनि त्यसको असर हाम्रो पार्टीमा निकै पर्‍यो र हाम्रा कैयौँ साथीहरू हाम्रो पार्टीबाट अलग भएर माओवादीमा सामेल भए । उनीहरूले एमालेले झैँ आफ्नो सशस्त्र सङ्घर्षको नीति उग्र“वामपन्थी” गल्ती भएको भनेर आत्मआलोचना त गरेका छैनन् । तर व्यवहारमापछि उनीहरू स्वयं सशस्त्र सङ्घर्षको लाइन छाडेर शान्तिपूर्ण आन्दोलनका पक्षमा उभिए । माले र माओवादी दुवैका उदाहरणहरूबाट हाम्रो पार्टीले लिएको नीति सही भएको प्रमाणित भयो, यद्यपि त्यो बेला हाम्रो पार्टीभित्र पनि त्यो नीतिको धेरै नै विरोध भएको थियो ।
केन्द्रीय न्यूक्लसको कालमा शम्भुरामले राजनीतिक स्वतन्त्रता, मौलिक अधिकार, राजबन्दीको रिहाइ, पार्टीहरूमाथिको प्रतिवन्ध हटाउने माग आदिलाई पूँजीवादी प्रकारका नीतिहरू बताउँदै तिनीहरूको विरोध गरेका थिए । उनको जोड यो कुरामा थियो कि एउटा क्रान्तिकारी पार्टीले त्यस प्रकारका वुर्जुवा मागहरू गर्नु वा तिनीहरूका लागि सङ्घर्ष गर्नु सही हुँदैन । उनको जोड यो कुरामा पनि थियो, पार्टीले आफ्नो कार्यप्रणाली पुरै भूमिगत राख्नु पर्दछ र सार्वजनिक रूपमा पार्टीका नीतिहरू बाहिर लैजाने, प्रचार गर्ने वा कुनै प्रकारको आन्दोलन सङ्गठित गर्ने काम गर्नु हुँदैन । त्यस प्रकारका विचारहरूको पनि पार्टीभित्र केही न केही असर परेको थियो । तर हामीले त्यस प्रकारका विचारहरूका विरुद्ध पनि सङ्घर्ष गर्दै राजनीतिक आन्दोलनलाई अगाडि बढाउने नीति अपनाएका थियौँ ।
पार्टीले पहिलेदेखि नेपाली काङ्ग्रेसलाई राष्ट्रिय पूँजीपति वर्गको पार्टी, जनतान्त्रिक शक्ति तथा नयाँ जनवादी क्रान्तिको मित्रशक्तिको रूपमा व्याख्या गर्दैै आएको थियो । केन्द्रीय न्यूक्लसको कालमा हामीले त्यो नीतिको विरोध गर्दै ने.का.लाई सामन्त र दलाल पूँजीपति वर्गको पार्टी, प्रतिक्रियावादी शक्ति र दुश्मन शक्तिको रूपमा व्याख्या गर्‍यौँ । त्यो नीतिबारे मनमोहन अधिकारीसित तीव्र मतभेद भयो भने त्यो नीतिका कारणले पुष्पलालसितको पार्टी एकतामा पनि बाधा पुग्यो । त्यो बेला नेपाली काङ्ग्रेसलाई राष्ट्रिय पूँजीपति वर्गको पार्टी मान्ने सोचाइको पक्षमा व्यापक जनमत थियो । त्यो सोचाइका विरुद्ध पनि हामीले कडा वैचारिक सङ्घर्ष गर्नु परेको थियो ।पछि ने.का.सम्बन्धी हाम्रो त्यो अवधारणालाई धेरैजसो वामपन्थी शक्तिहरूले अपनाए ।
माथिका केही उदाहरणले बताउँछन्, गत कालमा कैयौँपल्ट हाम्रो पार्टीले बाहिरको हावाका विरुद्ध वा स्वयं पार्टीले अपनाउँदै आएका कैयौँ नीतिहरूका विरुद्ध साहसपूर्ण निर्णयहरू गर्दै आएको छ । अहिले सरकारमा जाने निर्णय पनि त्यही प्रकारको निर्णय हो । अहिलेको हाम्रो त्यो निर्णय पार्टीले लामो समयदेखि अपनाउँदै आएको नीति वा हाम्रा साथीहरूको चिन्तनभन्दा बेग्लै कुरा हो । तर कतिपय अवस्थामा हामीले गत कालमा अपनाएका नीति वा चिन्तनसित मेल नखाने विषयमा पनि निर्णय गर्नु पर्ने वा परिवर्तन गर्नु पर्ने आवश्यकता हुन्छ । सरकारमा जाने निर्णय पनि त्यही प्रकारको निर्णय नै हो । त्यो निर्णयबाट पार्टीमा केही हदसम्म असहज स्थितिको सृजना भएको छ । तर हामीले कुनै बेला कुनै राजनैतिक निर्णय गर्दा उपरी रूपमा साथीहरूको कुन प्रकारको प्रतिक्रिया छ भन्ने आधारमा होइन, कुनै खास वेलाको स्थितिमा कुन प्रकारको निर्णय सही हुन्छ ? त्यसका आधारमा नै कुनै निर्णय गर्नु पर्दछ । अहिले सरकारमा जाने निर्णय पनि त्यही प्रकारले गरिएको छ ।
संसारको इतिहासमा पनि त्यसरी कैयौँ निर्णयहरू गरेको र स्वयं पार्टीभित्र त्यस प्रकारका निर्णयहरूको विरोध हुने गरेको पाइन्छ । रूसको पार्टीले १९०५ मा सशस्त्र सङ्घर्षको नीति अपनायो । तरपछि जारशाहीको दुमालाई उपयोग गर्ने नीति अपनायो । अक्टोबर क्रान्तिपछिको कठिन स्थितिमा लेनिनले रूसमा ‘नयाँ आर्थिक नीति’ को कार्यक्रम अपनाएका थिए । त्यो नीति अनुसार पूँजीपतिहरूलाई व्यक्तिगत स्वामित्वका उद्योगहरू स्थापना गर्ने र नाफा लिने समेत छुट दिइएको थियो । त्यो नीतिले समाजवादी कार्यक्रमसित मेल खाँदैनथ्यो । त्यसैले त्यो नीतिको पार्टीभित्रबाट पनि कडा विरोध गरिएको थियो । त्यो वेलाको वस्तुस्थितिमा त्यस प्रकारको नीति आवश्यक थियो । तरपछि समाजवादी व्यवस्थाका लागि अनुकुल परिस्थिति तयार भएपछि त्यो नीतिलाई बदलिएको थियो ।
अक्टोबर क्रान्तिपछि रूसमा एकैसाथ कैयौँ साम्राज्यवादी देशहरूले हमला गरेपछि लेनिनले जर्मनीसित शान्ति सम्झौता गर्ने प्रस्ताव राखेका थिए । रूसको कमजोर स्थितिमाथि ध्यान दिँदै जर्मनीले रूसका कतिपय भागहरूमा जर्मनीको स्वामित्व स्वीकार गरेपछि नै त्यस प्रकारको शान्ति सम्झौता गर्न तयार हुने कुरा बताएको थियो । लेनिनले त्यो बेलाको युद्धको कठिन स्थितिमाथि ध्यान दिँदै जर्मनीको त्यो सर्तमा पनि शान्ति सम्झौता गर्ने कुरामा जोड दिएका थिए । तर पार्टीको केन्द्रीय समितिको वहुमतले उनको त्यो प्रस्तावको विरोध गर्‍यो ।पछि केन्द्रीय समिति त्यसका लागि तयार भयो । तर शान्ति सम्झौताको वार्ताका लागि गएका ट्राटस्कीले त्यो सम्झौता गर्न अस्वीकार गरे । त्यसपछि जर्मनीले रूसका थप भागहरूमा आक्रमण गरेर कब्जा जमायो । त्यसपछि रूसका पहिलेकाभन्दा थप क्षेत्रहरूलाई छोडेर जर्मनीसित शान्ति सम्झौता गर्नु परेको थियो ।पछि आफ्नो स्थिति बलियो भएपछि रूसले जर्मनीले कब्जा गरेका ती सबै क्षेत्रहरू मुक्त गराएको थियो ।
द्वितीय विश्वयुद्धको कालमा हिटलर वा फासिष्ट आक्रमणका विरुद्ध स्तालिनले अमेरिका, फ्रान्स, इङ्ग्ल्याण्डसित एकता गरेर युद्ध लडेका थिए । त्यसो गर्ने बेलामा स्तालिनलाई ती साम्राज्यवादी देशहरूको साम्राज्यवादी चरित्र वा उनीहरूसँगपछि पुनः सङ्घर्ष हुने सम्भावनाबारे कुनै शङ्का थिएन । तर स्तालिनको त्यो नीतिको कतिपय वामपन्थी शक्तिहरूद्वारा नै विरोध गरिएको थियो । ट्राटस्कीले ता स्तालिनले क्रान्तिसित गद्दारी गरेको समेत आरोप लगाएका थिए । चिनको पार्टीले पहिले मजदुर किसानको सोभियत सरकारको नारा दिएको थियो ।पछि त्यो नीतिको सट्टा राष्ट्रिय पूँजीपति वर्ग, धनि किसानहरू सहितको नयाँ जनवादी सरकारको नारा दियो । त्यो निर्णयलाई वाङ मिङले माओ समाजवादबाट विचलन भएको आरोप लगाउँदै उनी ‘गद्दार’ भएको घोषणासम्म गरे । संसारभरिका ट्राटस्कीवादीहरूले त्यही प्रकारले माओको भत्र्सना गरे ।
माथिका देशभित्रका र कतिपय अन्तर्राष्ट्रिय उदाहरणहरूबाट के प्रष्ट हुन्छ भने कम्युनिस्टहरूले कैयौँपल्ट आफ्ना क्रान्तिकारी वा रणनैतिक उद्देश्यलाई कायम राख्दै कार्यनैतिक रूपमा तात्कालिक स्थिति वा राजनैतिक आवश्यकता अनुसार आफ्ना नीतिमा विभिन्न प्रकारले परिवर्तन गर्नु पर्ने आवश्यकता हुन्छ । हाम्रा त्यस प्रकारका कैयौँ परिवर्तनहरू हाम्रा रणनैतिक उद्देश्यहरूभन्दा बेग्लै पनि हुन्छन् । उदाहरणका लागि तात्कालिक रूपमा हामीले संसदीय प्रणाली वा वुर्जुवा गणतन्त्रलाई समर्थन गर्दछौँ । तर त्यो नीतिले हाम्रो रणनैतिक उद्देश्यसित मेल खान्न । रणनैतिक रूपमा हामीले नयाँ जनवादी व्यवस्था वा जनगणतन्त्रमा जोड दिन्छौँ । तैपनि तात्कालिक ऐतिहासिक अवस्थामा कार्यनैतिक रूपमा पूँजीवादी संसदीय व्यवस्था, संविधान वा गणतन्त्रलाई प्रगतिशील रूपमा लिन्छौँ र तिनीहरूलाई संस्थागत गर्ने आवश्यकतामा जोड दिन्छौँ ।
अहिले बनेको संविधान हामीले चाहे जस्तो संविधान होइन । हामीले चाहे जस्तो संविधान क्रान्तिकारी आन्दोलनको सफलता, क्रान्तिकारी सत्ता कायम भएपछि र जनसंविधान निर्माण भएपछि मात्र सम्भव छ । तात्कालिक रूपमा अहिले बनेको संविधानसित हाम्रा कैयौँ मतभेदहरू छन्, जसमा सङ्घीयताको प्रश्न मुख्य छ । त्यो वाहेक नागरिकता सहित अन्य कतिपय प्रश्नमा हाम्रो मतभेद छ । तैपनि अहिलेको जुन संविधान बनेको छ, त्यो ऐतिहासिक उपलब्धि हो । त्यसले देशमा लोकतन्त्रलाई संस्थागत गर्नका लागि आधार तयार पारेको छ । त्यसमा गणतन्त्र र धर्म निरपेक्षता समेत सामेल गरिएका छन् । जातीय आधारमा प्रदेशहरूको निर्माणको अवधारणालाई अस्वीकार गरिएको छ । २ नं. प्रदेशमा वाहेक अन्य सबैतिर पहाड र तराईका भूभागहरूलाई मिलाएर प्रदेशको निर्माण गरिएको छ । वंशजका नागरिकहरूलाई मात्र देशका प्रमुख राजनैतिक पदहरूमा निर्वाचित वा मनोनित हुने व्यवस्था गरिएको छ । अरू पनि कतिपय सकारात्मक पक्षहरू छन् । त्यसैले संविधानसित भएका हाम्रा मतभेदहरूलाई कायम राख्दै तथा आवश्यकता अनुसार सङ्घर्ष गर्ने नीतिलाई सुरक्षित राख्दै हाम्रो पार्टीले त्यसलाई समर्थन र स्वागत गर्ने निर्णय गरेको छ ।
संविधानसित जोडिएको एउटा अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । अहिले संविधानमा भएका कैयौँ सकारात्मक पक्षहरूलाई उल्टाउन प्रयत्न भैरहेको छ । गणतन्त्रलाई उल्टाएर राजतन्त्रको पुनस्र्थापना गर्न राजावादीहरूले जोड दिइरहेका छन् भने भारतीय शासकहरू पनि त्यसको पक्षमा छन् । धर्म निरपेक्षतालाई खारेज गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउन र राजावादी र कट्टर हिन्दूवादीहरूले आवाज उठाइरहेका छन् । भारत स्वयं धर्मनिरपेक्ष देश भएकाले भारतीय शासकहरूले घोषित रूपले नेपाललाई हिन्दू राष्ट्र बनाउने कुरामा जोड दिन सक्दैनन् । तर छद्म रूपले उनीहरू त्यसका लागि प्रयत्नशील छन् । भारतीय शासक वर्गले तराई वा मधेशको प्रश्नलाई विशेष रूपले उठाइरहेका छन् । उनीहरूले संविधानमा कतिपय संशोधनहरू गर्न जोड लगाइरहेका छन् । ती संशोधनहरू उनीहरूले तराई÷मधेशका नाममा वा त्यहाँ चलिरहेको आन्दोलनका नाममा उठाइरहेका छन् । तर उनीहरूले संविधानमा जुन संशोधनमा जोड दिइरहेका छन्, ती मुख्य रूपले स्वयं भारतीय विस्तारवादी नीति पूरा गर्ने उद्देश्यद्वारा निर्देशित छन् । आफ्नो विस्तारवादी उद्देश्य पूरा गर्ने उद्देश्यले अगाडि सारिएका संशोधनहरूमा जोड दिनका लागि उनीहरूले एकातिर, नेपालमा अघोषित नाकाबन्दी लगाइरहेका छन् भने अर्कातिर, तराईमा आन्दोलनलाई उक्साउने काम गरिरहेका छन् । मधेशवादीहरू मुख्य रूपले भारतीय शासकद्वारा नै निर्देशित छन् भन्ने कुरा यो एउटा उदाहरणद्वारा मात्र पनि प्रमाणित हुन्छ ः संविधान सभालाई परित्याग गरेका मधेशवादी सांसदहरू भारतले निर्देशन दिने वित्तिकै सुशील कोइरालालाई जिताउन मत दिन आएका थिए । त्यो एउटा मात्रै उदाहरणबाट पनि मधेशवादीहरू वास्तवमा कोद्वारा निर्देशित छन् ? त्यो कुरा बुझ्न गाह«ो पर्दैन ।
उपर्युक्त प्रकारको अवस्थामा एकातिर, संविधानका सकारात्मक पक्षहरूलाई उल्टाउन नदिन र, अर्कातिर, गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको रक्षा अहिलेका राष्ट्रिय महत्वका विषयहरू भएका छन् । यो कुरालाई हामीले सकारात्मक रूपमा लिनु पर्दछ कि देशका प्रमुख राजनैतिक दलहरूका नेता वा सरकारले भारतीय दवावमा आएर संविधानको निर्माण गर्न सहमत भएनन् । त्यसको परिणामस्वरूप नै अहिलेको संविधानको निर्माण हुन सक्यो । त्यसपछि भारतीय शासकहरूले संविधानको निर्माणका बेलामा ऐक्यवद्धताको प्रदर्शन गरेका राजनैतिक शक्तिहरूलाई फुटाउने नीति अपनाए । त्यसको सङ्केत ने.का. मा देखा पर्‍यो । त्यही नीति अनुसार पहिले संविधानको निर्माणपछि तुरुन्तै प्रधानमन्त्रीबाट हट्ने प्रतिबद्धता प्रकट गर्दै आएका सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा खडा गरे । वास्तवमा उनी नेपाली काङ्ग्रेसको उम्मेदवार नभएर भारतका उम्मेदवार थिए ।
सुशील कोइरालालाई आफ्नो पक्षमा मिलाउन सफल भएपछि भारतको मुख्य जोड संविधानको निर्माणको क्रममा भारतीय दवावका विरुद्ध उभिएका पक्षहरूमाथि आक्रमण केन्द्रित गर्ने नै भयो । त्यही सिलसिलामा प्रधानमन्त्रीका उम्मेदवार के.पी. शर्मा ओलीलाई हराउन पूरा शक्ति लगाए । तर भारतले पूरा शक्ति लगाउनुको वावजुद के.पी. शर्मा ओली भारी वहुमतद्वारा प्रधानमन्त्रीमा निर्वाचित भए । संविधानको निर्माणको सन्दर्भमा भारतीय पक्षको हारपछि प्रधानमन्त्रीको चुनावमा भएको हार उनीहरूको दोस्रो ठूलो र लज्जास्पद पराजय थियो । सुशील कोइरालाको हार ने.का. वा व्यक्तिगत रूपमा सुशील कोइरालाको हार नभएर भारतको हार थियो । त्यसले अन्तर्राष्ट्रिय जगतमा र भारतमा पनि मोदीको परराष्ट्र नीति असफल भएको कुरा मात्र होइन, नेपालप्रतिको मित्रताका पछाडि लुकेको भारतीय विस्तारवादको रूप पनि नाङ्गो रूपमा बाहिर आयो । संविधानको निर्माण र प्रधानमन्त्रीको चुनावमा भारतीय शासक वर्गको पराजयका वावजुद संविधानका सकारात्मक पक्ष वा राष्ट्रियताका अगाडि अहिले पनि गम्भीर खतरा विद्यमान छ । त्यो अवस्थामा देशका सबै देशभक्त जनता, राजनैतिक शक्तिको पहिलेभन्दा बढी र बलियो एकता आवश्यक छ ।
उपर्युक्त अवस्थामा एकातिर, संविधानका सकारात्मक पक्षहरू उल्टिने, देशको राष्ट्रियतामा आँच पुग्ने खतरामाथि ध्यान दिएर र, अर्कातिर, देशका प्रमुख राजनैतिक शक्तिहरू तथा सरकारको अडानलाई अझ दृढ र ठोस रूपमा अगाडि बढाउन बल पुर्‍याउन नै हाम्रो पार्टीले सरकारमा जाने निर्णय गरेको छ । जुन उद्देश्य पूरा गर्न हामी सरकारमा जाने निर्णय गरेका छौँ, त्यो कति पूरा हुने छ ? त्यो परिस्थिति, अन्य पक्षहरूको भूमिका र हामीले पनि कति प्रभावशाली तथा कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गर्न सक्ने छौँ ? त्यसमाथि निर्भर गर्ने छ ।
हाम्रो पार्टीले पहिलोपल्ट सरकारमा जाने निर्णय गरेको छ । हाम्रो पार्टीले आफ्नो सम्पूर्ण इतिहासमा यसभन्दा पहिले यस प्रकारको कुनै निर्णय गरेको थिएन । त्यसैले स्वयं हाम्रा साथीहरूका लागि पनि त्यो निर्णय अस्वाभाविक जस्तो हुन गएको छ । तर विश्व कम्युनिस्ट आन्दोलनमा यो नौलो प्रयोग अवश्य होइन । क्रान्ति सफल भएपछि पार्टी सत्तामा जानु स्वाभाविक नै हो । तर कतिपय अवस्थामा क्रान्ति पूर्व प्रतिक्रियावादी राजनीतिक व्यवस्था भएको बेलामा वा अझ विरोधी वा कतिपय अवस्थामा प्रतिक्रियावादी शक्तिहरूसित मिलेर पनि कम्युनिस्टहरू सरकारमा जाने गरेका कैयौँ उदाहरणहरू अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पाइन्छ । माओको नेतृत्वमा चीनको कम्युनिस्ट पार्टी च्याङ काई सेकको नेतृत्वमा सरकारमा सामेल भएको उदाहरण हाम्रा अगाडि छ । त्यो बेला जापानी आक्रमणका कारणले चीनको राष्ट्रियता खतरामा परेकाले नै चीनको पार्टीले त्यस प्रकारको नीति अपनाएको थियो । त्यो बेला चीनको पार्टीमा च्याङ काई सेकको प्रतिक्रियावादी राजनैतिक चरित्र वा भविष्यमा त्यससित सम्भावित विरोध वा सङ्घर्षको स्थितिबारे कुनै द्विविधा थिएन । चीनको पार्टीले त्यस प्रकारको निर्णय त्यो बेला गरेको थियो, जुन बेला च्याङ काई सेकको सरकारले हजारौँ कम्युनिस्टहरूको हत्या गरेको रगत आलै थियो । तर उक्त घटनाले पैदा भएको रोषभन्दा जापानी आक्रमणका कारणले चीनको सम्पूर्ण राष्ट्रियता समाप्त हुने जुन खतरा उत्पन्न भएको थियो, त्यो बढी गम्भीर थियो । त्यसैले चीनको पार्टीले च्याङ काई सेकसित एकता गरेको थियो र त्यससित मिलेर सरकार बनाएको थियो । स्पेन र पूर्वी युरोपमा पनि क्रान्ति पूर्व कार्यनैतिक प्रकारले सरकारमा सामेल भएका कैयौँ उदाहरणहरू छन् ।
क्रान्तिपछि बन्ने सरकारको चरित्र क्रान्तिकारी प्रकारको हुन्छ । तर त्यही कुरा कुनै प्रतिक्रियावादी व्यवस्था अन्तर्गत कार्यनैतिक रूपमा बन्ने सरकारहरूबारे लागु हुन्न । क्रान्ति पूर्व बन्ने सरकारमा त्यो बेलाको राजनीतिक चरित्र अनुसार कैयौँ गैर–क्रान्तिकारी शक्तिहरू पनि सामेल हुन्छन् । त्यो अर्थमा सरकारले हाम्रा नीति र कार्यक्रम अनुसार काम नगर्ने कुरा स्पष्ट छ । तर कुनै खास बेलाको खास आवश्यकता अनुसार नै कम्युनिस्टहरू त्यस प्रकारको सरकारमा सामेल भएका हुन्छन् । त्यसकारण त्यस प्रकारका सरकारमा सामेल भएका राजनैतिक शक्तिहरूसितका मतभेदहरूका वावजुद कुनै खास बेलाको राजनैतिक आवश्यकतामा जोड दिन नै पार्टी त्यस प्रकारको सरकारमा सामेल भएको हुन्छ । त्यही कुरा अहिले सरकारमा सामेल हुने हाम्रो निर्णयका सन्दर्भमा पनि सत्य हो । अहिलेको मुख्य राजनैतिक आवश्यकता के हो ? अहिलेको मुख्य समस्या यो हो : भारतीय विस्तारवादले अपनाएको नीति वा संविधानमा संशोधनका पछाडिको त्यसको मुख्य उद्देश्य पहिलो चरणमा तराईलाई स्वतन्त्र बनाउने र भारतीय सङ्घमा सामेल गर्ने, दोस्रो चरणमा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रहरू बनाएर तथा ठूलो सङ्ख्यामा भारतीयहरूलाई नेपालको नागरिक बनाएर संसदमा वहुमत गराएर पुरै नेपाललाई फिजी वा सिक्किम बनाउनु । त्यसरी देशको राष्ट्रियताका अगाडि गम्भीर खतरा उपस्थित भएको छ र त्यसलाई हल्का रूपमा लिनु गम्भीर प्रकारको राजनीतिक अदूरदर्शिता हुने छ ।
यहाँ हामीले यो स्पष्ट गर्न चाहन्छौँ कि सरकारमा जाने त्यो निर्णयका वावजुद हाम्रो राजनैतिक छवि र क्रान्तिकारी चरित्रमा कुनै आँच नपुग्ने कुरामा हामी स्पष्ट र दृढ छौँ । पहिले बहुदलीय व्यवस्थाका पक्षमा आन्दोलन गर्दा, स्थानीय चुनावमा भाग लिँदा वा संसदीय चुनावमा भाग लिँदा समेत हाम्रा शुभेच्छुकहरूले पार्टी बिग्रने ता होइन ? त्यो आशङ्का प्रकट गरेका थिए । २०४६ सालमा ने.का. को आन्दोलनलाई समर्थन गर्दा, राजा महेन्द्रको कोदारी राजमार्ग तथा पूर्व–पश्चिम राजमार्गको निर्माणको कार्यहरूलाई समर्थन गर्दा समेत हाम्रा विरुद्ध कैयौँ आक्षेपहरू लागेका थिए । तर वेग्ला बेग्लै समयमा अपनाएका ती नीतिहरूका कारणले आफ्ना क्रान्तिकारी राजनैतिक उद्देश्यबाट हाम्रो पार्टी कहिल्यै विचलित भएन । त्यसको कारण यो थियो कि हामीले कुनै बेला कुनै व्यक्तिगत लाभ प्राप्त गर्न होइन, देश, जनता वा पार्टी र क्रान्तिको उद्देश्यलाई पूरा गर्ने उद्देश्यहरूलाई अगाडि राखेर नै विभिन्न प्रकारको तात्कालिक नीति अपनाउने गरेका थियौँ । अहिले पनि त्यही गरेका छौँ । त्यसका साथै आफ्ना क्रान्तिकारी उद्देश्य वा नीतिहरूलाई दृढतापूर्वक अगाडि बढाउनेबारे हामी सधै स्पष्ट रहने गरेका छौँ । हाम्रो त्यही प्रकारको दृढता र स्पष्ट दृष्टिकोणका कारणले अहिले हामीले सरकारमा जाने निर्णय गरेका भए पनि त्यसबाट हाम्रो पार्टीको क्रान्तिकारी चरित्रमा कुनै आँच पुग्ने छैन भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।


http://halkaranepal.com बाट साभार 

Monday, October 19, 2015

‘पेज थ्री’ र ‘च्यारिटी समाजवाद’को मृगतृष्णामा रुमल्लिएका माओवादी - प्रशान्त आजाद

के नेपालमा वर्गसंघर्षको औचित्य समाप्त भएकै हो ?


एउटा समय थियो, गाउँका गरीबले मुक्ति र समृद्धिका कथा सुन्थे । मानिस कसरी दुखमा पर्यो र किन जो सुकै सत्तामा आएपनि उनीहरुका दुखका दिन जाँदैन् भन्ने कुरा उनीहरुले गम्थे र भन्थे, ‘ए, हो रैछ त –हामी शोषित त योजनाबद्ध किसिमले बनाइएका रहेछौं । हाम्रो मुक्तिका लागि हामी आफै जुटेर संघर्ष गर्नुपर्दो रहेछ ।’ यो एउटा यस्तो समय थियो जतिखेर ‘यो संघर्षको नेतृत्व कम्युनिष्टहरुले मात्रै गर्न सक्छन्’ भन्दै राता झण्डाको आवरणमा संघर्षलाई जनस्तरमा अगाडि बढाइन्थ्यो । अगाडि अगाडि रातो झण्डा र पछाडि शोषित पीडित मुक्तिकामी जनता । स्थानीय शोषक विरुद्धको आन्दोलन होस् या भूमिहीन किसानको आन्दोलन, महिला या दलितको अथवा अन्य शोषणका आन्दोलनहरुमा वैचारिक र संगठनात्मक हिसाबले यही कम्युनिष्ट पार्टीले त्यसको अगुवाई गथ्र्यो, गैर कम्युनिष्टहरु वर्ग दुश्मन थिए र जो कम्युनिष्टहरु थिए उनीहरु संघर्षमा थिए । जुनसुकै जात, लिंग, क्षेत्र भएपनि त्यहाँ गरिखानेहरु हुन्थे । बसिखानेहरुविरुद्ध गरिखानेहरुलाई यिनै कम्युनिष्टहरुले लामबद्ध गर्थे । यी संघर्षहरु कहिले रक्तापातपूर्ण भए, कहिले शान्तिपूर्ण । झापा आन्दोलन भनौं, या महोत्तरी, धनुषा, प्यूठान, चितवन, डडेल्धुरा, बाग्लुङ, रोल्पाका किसान आन्दोलन भनौं अथवा ‘जनयुद्ध’, स्वरुपमा जे जस्ता भएपनि यी सबै आन्दोलनको मूल स्पिरिट शोषित पीडित जनताका सपनाहरु पुरा गर्ने थियो, केही नहुने वर्गको पक्षमा एउटा हुँकार थियो ।
समय बदलियो, सुखानीदेखि जनयुद्धसम्म आइपुग्दा कैयन् नेपाली सपुतले आफूलाई यिनै रक्तमय संघर्षमा समर्पण गरे । प्रदीप नेपालले ‘मुक्त आकाशको खोजीमा’ देखि ‘देउमाइका किनारमा’ र आहुतीले ‘नयाँ घर’ यिनै संघर्षहरुको आलोकमा लेखे । यही संघर्षको गर्भमा प्रचण्ड देखिए, जीवन शर्मादेखि मणी थापा, जेबि टुहुरेदेखि खुशीरामहरुले सांस्कृतिक क्रान्तिमा अमूल्य योगदान दिए । सोनामदेखि अन्य कैयन् कमरेडहरुले सर्वाहारा सांस्कृतिक क्रान्तिको पहिलो शर्तका रुपमा आफूलाई नै सर्वाहाराकरण गर्ने अभियान चलाए । त्याग, समर्पणको यो अभियानमा थुप्रै थपिए । ‘गुमाउन केही थिएन, मात्र पाउनु थियो ।’ भन्ने कुरा चरितार्थ गर्न व्यक्तिगत इच्छा, रहर, परिवार, सम्पत्ति, नातासम्बन्ध सबै क्रान्ति या संघर्षको भट्टीमा समर्पण गरिए । मानिसहरु पावेललाई आफ्नो आदर्श मान्थे र गोर्कीका कथाहरुमा नेपाली जीवन देख्थे । इतिहासमा यी दिनहरु थिए, जतिखेर संघर्ष, संघर्ष र संघर्ष मुख्य हुन्थ्यो र शेष गौण । कम्युनिष्टहरुको आफ्नो जीवन, उनीहरुको शैली, उनीहरुको व्यवहार सबै यी संघर्षलाई समर्थन र सहयोग गर्ने किसिमको हुन्थ्यो । भनौं, यी आदर्शमय दिन थिए ।
तर इतिहास निर्मम हुँदो रहेछ । अहिले यी कुरा सम्झनामा पनि आउन नसक्ने किसिमले कम्युनिष्ट पार्टी, आन्दोलन र व्यक्तिहरुको विकास भएको छ । कतिपयले आफ्ना यी आदर्शका दिनलाई पछाडि फर्केर हेर्दा यी दिन पत्रिकाको फिलर समाचार जस्तो अनुभूति गर्न थालेका छन् । वर्ग, वर्ग संस्कृति, वर्ग सम्बन्ध अहिले कता कता हराईसके । हाम्रो आन्दोलनका सहयात्री तिनै हिजोका शोषक जमिन्दार हुन पुगे । जनताको मायाको ठाउँमा वुर्जुवा मध्यमवर्ग र दलाल पूँजिपति वर्गको आर्थिक र अन्य सहयोगले ठाउँ लिन पुग्यो । सामूहिकताको स्थान व्यक्तिले लियो । व्यक्तिगत चर्चा, व्यक्तिगत लाभ, व्यक्तिगत स्वार्थ बलियो भयो । बीसौं वर्ष वर्गको कुरा गर्नेका लागि एकाएक जाति याद आयो, भूगोल याद आयो अझ भनौं वर्ण र लिंग याद आयो । वैयक्तिक अस्तित्व प्रधान बन्यो, सामूहिक अस्तित्व इतिहास बन्न पुग्यो । यो वैयक्तिक अस्तित्वलाई पछिल्लो दिनमा तीब्रगतिमा विकास भइरहेको मिडियाको छालले झनै तीब्रता दियो ।
सांस्कृतिक मानकहरुको आधारमा हेर्दा सर्वाहारा सामूहिकताको स्थानमा व्यक्तिगत अस्तित्वका लागि पार्टी, विचार, संघर्ष र संगठनभन्दा माथि उठ्ने प्रवृत्ति पेथ थ्री प्रवृत्ति हो । पेज थ्री अर्थात् पत्रिकामा सेलिब्रेटी, मनोरञ्जन र सबैभन्दा बढी आकर्षकरुपमा पढिने समाचार प्रकाशित हुने ठाउँ । अहिले कम्युनिष्ट आन्दोलनको नेतृत्वका लागि व्यक्तिगत चर्चा ठूलो कुरा देखिन थालेको छ । पार्टी एकातिर तर आफ्ना ससाना दैनिक क्रियाकलापहरु, आफ्ना चर्चाहरु, आप्mना मान्यताहरुले स्थान पाउनुले महत्व पायो ।
कम्युनिष्टहरुले कहिल्यै पनि आफूलाई व्यक्तिगतरुपमा केन्द्रमा राखेनन्, उनीहरुका लागि हरेक कुरा सामूहिक हुन्थ्यो, परिवार, नीजि सम्बन्ध सबै पार्टी र संघर्षका मातहतमा । तर अहिले त्यसो छैन । भूमण्डलीकृत विश्वमा मिडिया र पपुलर कल्चरको गोलचक्करमा कम्युनिष्टहरुले आफूलाई पेज थ्रीको मुख्य समाचार बनाउने दौडमा सामेल गरेका छन् । पार्टी पार्टी छैन, संघर्ष संघर्ष छैन, जीवन जीवन छैन, मात्र पेज थ्री छ । चर्चा कमाउने, चर्चाको दौडमा अघि बढ्ने, जे जस्तो भएपनि जस्तो गरेपनि जुनसुकै वर्गसँगको सम्बन्ध भएपनि उनीहरुले चर्चाको केन्दमा आउनु परेको छ । जनतासँगको सम्बन्ध कताकता पेज थ्रीको चमकले निलिदिएको छ ।
एमालेको हकमा मदन भण्डारीको अवसानसँगै उनीहरुको जनतासँगको सम्बन्ध बिस्तारै अन्तय हुँदै गयो । यसको साटो उनीहरुका लागि मध्यमवर्ग, दलाल पूंजिपति वर्गको सम्बन्ध र पार्टीमा पूंजिपति वर्गको नियन्त्रण घनिभूत हुँदै गयो । बिस्तारै बिस्तारै एमाले नेताहरुले कम्युनिष्ट या वर्गका कुरा गर्दा पनि कम्युनिष्ट संघर्षमा होमिएकाहरुलाई प्रहसन जस्तै लाग्ने अवस्था सिर्जना भयो । ‘कम्युनिष्ट पार्टी आम जनताको पार्टी हो, सर्वहारा, मजदूर किसानको पार्टी हो’ भनिएपनि एमालेको सिंगो संगठन नेपाली समाजको वर्गआधारमा यो आधारभूत धरातलभन्दा निकै माथि बुर्जुवाहरुको सम्पत्ति बन्न पुग्यो । नेपाली जनताले कम्युनिष्टहरुलाई मन नपराउँदा हुन त यो पछाडि झुण्डिएको माक्र्सवाद र लेनिनवाद पनि उहिल्यै लुप्त भइसक्थ्यो होला ।
माओवादीले यो स्पेशको उपयोग गर्यो । नेपाली समाजमा वर्गसंघर्षलाई अगाडि बढाउने उर्वर भूमिलाई जनयुद्धको नाममा उपयोग ग¥यो । नेपाली समाजमा सामन्तवाद या वर्ग विभाजनको जातीय, क्षेत्रीय स्वरुप र जातीय क्षेत्री उत्पीडनको अवस्था उनीहरुका लागि संघर्षका लागि मुख्य आधार थियो । जाति, वर्ण, लिंग क्षेत्र,स्रोतका आधारमा युगौंदेखि पीडित नेपाली आम जनताका लागि माओवादीका नारा मुक्तिको जिजिविषा बन्यो मुक्तिको सपना बन्यो । यिनै उत्पीडितहरुले माओवादीको नारालाई साँच्चिकै मुक्ति ठानेर आफूलाई बलिबेदीमा चढाए, यो चानचुने कुरा थिएन् । हजारौं महिलाले भर्खरै जन्मेको शिशुलाई युद्धभूमिमै लगेर बन्दुक बोकी सामन्त र सामन्ती शासन विरुद्ध लड्नु सामान्य कुरा थिएन । युगौंदेखि जाति, लिंग र वर्णका आधारमा पिल्सिएका जनताका लागि आफ्नै पालामा यो शोषणको अन्त्य हुन सक्छ भन्ने सपना देखाइनु र उनीहरुलाई विश्वासमा ल्याइनु ठूलै कुरा थियो । त्यसैले छोटो समयमा नै माओवादी आन्दोलनले नेपाली समाजका तह तहमा एउटा उथल पुथल ल्याउन सफल भयो । यसको तरिका बेठीक थियो या ठीक थियो त्यो बेग्लै बहसको विषय हो । तर इतिहासमा यो एउटा उथलपुथलकारी घटना थियो ।
तर दुर्भाग्य नेपालका आम शोषित जनताको उत्पीडनको चक्र, उनीहरुको सपना एउटा बिन्दूमा आएर निमोठियो । एमालेझैं माओवादी पार्टीको पनि बुर्जुवाकरण भयो । व्यवहार हेर्ने हो भने एमालेको भन्दा पनि भद्दा ढंगले माओवादीको बुर्जुवाकरण भएको छ । सही कार्यनीति र रणनीतिको विकास गर्न नसक्दा, जनयुद्धको असफलतामा विगतका उपलब्धि र जनताका सपनाहरुलाई संग्रहित गरेर अगाडि बढन नसक्दा बिस्तारै जनतासँग दुरी बढ्यो, र अब जनतासँगको उसको सम्बन्ध जोडिन्छ कि जोडिन्न भन्न सकिन्न । नेपाली समाजको वर्ग चरित्रको सबैभन्दा सही विश्लेषण आफूहरुको रहेको दाबी गर्दै वर्गको लडाईंको एकमात्र विकल्प जनयुद्ध भन्ने माओवादीहरु जमिन्दार र बुर्जुवाहरुको नेतृत्वका दलहरुका एजेण्डाको गोलचक्करमा फस्न पुगेका छन् । शहरीया मध्यम वर्ग र जमिन्दारहरुसँग उनीहरुको ‘जनतान्त्रिक मोर्चाबन्दी’ छ । सयौं विगाहा जमिन हुनेहरुले तत्कालिन लाभका लागि उठाइरहेका मुद्धामा माओवादीले आफ्नो मूल सांस्कृतिक चरित्र स्खलन भइरहेको थाहा पाएर पनि सच्चिन सकेको छैन । जनता एकातिर छन्, गरीब मजदूर किसानको अवस्था उस्तै छ, तर पार्टी र नेतृत्व अर्कोतर्फ छ । त्यहाँ बीचमा सम्बन्धको त्यान्द्राहरु पनि बिस्तारै चुँडिदै गइरहेका छन् । शायद जनतासँगको दुरी बढेरै होला, सम्बन्ध गाँस्न गाह्रो भएरै होला हिजो जनताका बीच स्पेस खोज्ने माओवादीहरु अहिले आएर पेजथ्रीमा आफ्नो स्थान खोजिरहेका छन र त्यस्ता काम गरिरहेका छन् । बिडम्बनाको कुरा, वर्गको उन्मुक्तिको थेसिस लेख्ने बाबुराम भट्टराईजस्ता माक्र्सवादीहरु ‘च्यारिटी समाजवाद’ को विकल्प आत्मसात गर्न पुगेका छन् । सुधारवादको चर्का विरोधी उनीहरु राशनभत्ता र विकासका कुरामा आफ्नो इतिहासलाई निमर्म तरिकाले कुल्चिँदैछन् ।
यो अवस्थाले गर्दा माओवादीहरुका लागि संगठन भन्दा व्यक्ति, संघर्ष भन्दा सुख, पार्टी भन्दा नातागोता प्रधान हुन पुगे । शब्दमा माओ उच्चारण गरेपनि व्यवहारमा माओ चे ग्वेभाराजस्तै लाभका लागि प्रयोग गरिने विज्ञापन बन्न पुगे । अवस्था के सम्म भयो भने जनसंघर्ष र उत्पीडित जनताको मुक्ति सामूहिक भीषण वर्गसंघर्षबाट अहिलेको उत्पादन सम्बन्धलाई पूर्णरुपमा भत्काउनै पर्छ भन्ने नारा दिँदै आएका माओवादी नेताहरुले आफ्नो व्यक्तिगत चर्चा र प्रचारका लागि सोसल मिडियालाई व्यक्तिगत चर्चा बटुल्ने साधनका रुपमा उपयोग गरे । लेनिन दिवसका दिनमा लेनिनवादी संगठनात्मक सिद्धान्तको ओज र सान्दर्भिकता आजका दिनमा पनि उस्तै रहेको भनेपनि माओवादीको संगठनात्मक संरचना र अनुशासन सामान्य बुर्जवाहरुको जस्तो पनि देखिन छोड्यो । कम्युनिष्ट पार्टीमा जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्तलाई निरंकुशता भएको भन्ने नाममा आफ्नो वैयक्तिक इच्छा र चर्चा पुरा गर्नेतर्फ माओवादी नेतृत्व नै अघि सर्यो । विचारमा सामूहिकता र काममा एकरुपता कतै देखिएन । व्यक्तिपिच्छै माओवादको परिभाषा फेरियो । पार्टी संस्कृति लोप भयो । शीर्ष नेतृत्वका आ आफ्ना नाममा पेज खुले । व्यक्तिवाद कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो सांस्कृतिक शत्रु मानिने अवस्थामा व्यक्ति प्रमुख भयो, पार्टी आवरणमा मात्रै देखियो ।
यो पेज थ्री कल्चरको पपुलर बुर्जवा कल्चर यति हावी भएको छ कि माओवादीभित्रको एउटा पंक्ति अचम्मलाग्दो तरिकाले व्यक्तिवादी, आत्मसंग्रहवादी बन्न पुगेको छ । पार्टीभन्दा व्यक्तिको महानता प्रदर्शन गर्न कतिपयले वेभसाइट खोलेका छन्, कतिपयले फेसबुक अकाउन्ट मार्फत आफ्ना गतिविधिमार्फत चर्चा बटुल्न खोजेका छन् । लाग्छ, उनीहरुका लागि बुर्जवा मिडिया र सोसल साइटमा पाइने चर्चाले नै क्रान्तिकारीताको निर्धारण गरिरहेछ ।
माओवादी या अन्य कम्युनिष्टहरु सबै यस्तै भए भन्न कदापी खोजिएको होइन । यहाँ माओवादी आन्दोलनको मूल प्रवृत्तिको कुरा गरिएको हो । मूल प्रवृत्तिको कार्यशैली यतिविधि बुर्जवाकरण हुँदै गएको अवस्थामा, सर्वहारा सांस्कृतिक चेत यसरी स्खलित हुँदै उपभोक्तवादी भइरहेपछि यसको असर सिंगो आन्दोलनमा पर्ने भएकोले प्रवृत्तिको आलोचना गर्न खोजिएको हो । माओवादी एकता हुने सन्दर्भममा संगठनात्मक, सांस्कृतिक कार्यशैली र विचारमा यी पक्षहरुलाई निमर्म समीक्षा नगरी भूमण्डलिकृत बुर्जवा शोषणका रुपहरुलाई कसरी चिर्न सम्भव छ ? हाम्रा कार्यनीतिक नाराहरु तत्कालको लाभका लागि निर्धारण हुने र त्यसका लागि हामीले आफ्ना क्रान्तिकारी लक्षणहरु एकपछि अर्को तिलाञ्जली दिँदै जाने अवस्थामा त्यसको नियती के होला ? भन्नेबारेमा हामीले सोच्ने कि नसोच्ने ?
निराशाको यो समयमा प्रश्न गर्न मन लाग्छ– के माक्र्सवाद सांच्चिकै यति कमजोर छ र हामीलाई आफ्नो व्यक्तिगत इच्छा र रहर पुरा गर्न यति लामो संघर्ष र शहादत कुल्चेर व्यक्तिगत घटनाहरुलाई प्रचार गर्न यतिविधि रहर लाग्छ ? के सुधारवादको गोलचक्करको लेनिनवादी परिभाषा आर्यघाट पुगिसकेको हो ? के नेपालमा वर्गसंघषर््ाको औचित्य समाप्त भएकै हो ?

http://www.everestdainik.com बाट साभार 

Wednesday, October 14, 2015

एमाओवादी र एमालेबीच एकता हुन्छः प्रचण्ड 'एउटै कम्युनिष्ट केन्द्र बनाउन कार्यकर्ता तयार हुनुपर्छ'

prachanda-oli


काठमाडौँ, २७ असोज । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तल्लो तहका कार्यकर्ताले चाहेमा नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउन सकिने बताउनुभएको छ ।

राष्ट्रियता र संविधान निर्माण प्रक्रियामा एमाओवादी अध्यक्ष प्रचण्डले खेलेको भूमिकाप्रति बधाई दिन गएको युवा सङ्घ नेपालको टोलीसँग उहाँले नेपालमा धेरै कम्युनिष्ट पार्टी भएकाले त्यसलाई मिलाएर एउटै कम्युनिष्ट केन्द्र बनाउने सकिने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, “एउटै कम्युनिष्ट केन्द्र बनाउन कम्युनिष्ट पार्टीका प्रमुख नेताको मात्र मन मिलेर हुँदैन, त्यसका लागि तल्लो तहका कार्यकर्तासमेत तयार हुनुपर्छ ।” सम्पूर्ण कम्युनिष्ट पार्टीका युवाहरु एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा लागेमा विस्तारै यो सम्भव हुने उहाँको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले नयाँ संविधान जारी र वर्तमान प्रधानमन्त्रीको निर्वाचन राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतापूर्वक निर्णय गर्ने पक्षको जित भएको धारणा राख्नुभयो । उहाँले छिमेकी राष्ट्र भारतले नचाहँदा नचाहँदै पनि संविधान जारी हुनु राष्ट्रिय स्वाभिमान र स्वतन्त्र निर्णयको जित भएको समेत बताउनुभयो ।
सङ्घको नवौँ महाधिवेशन आयोजक कमिटीका अध्यक्ष राजीव पहाडीले नेपालको राष्ट्रियता र संविधान जारी गर्न उल्लेखनीय योगदान पु¥याउन सफल भएको भन्दै आगामी दिनमा सम्पूर्ण कम्युनिष्ट एक भएर एउटै कम्युनिष्ट केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । रासस

http://dainiknepal.com बाट साभार  

Friday, October 9, 2015

६३ वर्षदेखि भारतकाे नागरीकता प्रयास सम्बधि षड्यन्त्रको इतिहास - भरत दाहाल

राजनैतिक विश्लेषक -भरत दाहाल

राजनैतिक विश्लेषक -भरत दाहाल


निर्वाचनका लागि प्रधानमन्त्री चयन गर्ने बहानालाई लिएर सहमतिका नाममा फेरि पनि नागरिकताको मुद्दा सर्तका रुपमा उठेको छ । ०६३ सालपछि ०४७ साल चैत्र मसान्तसम्मको जन्मलाई आधार बनाएर ‘एक पटकका लागि’ भनि नागरीकता दिईएकाहरुबाट पहिल्यै भारतमा जन्मेका निजका सन्तानहरुलाई वंशजका आधारमा र संविधानसभाको निर्वाचनमा मतदाता नामावलीमा सामेल गरिएका सबै व्यक्तिहरुलाई नेपाली नागरिकता दिनुपर्ने मधेशवादी गुटहरुको मागले नेपालको अस्तित्वलाई थप चुनौतिको दिशातिर धकेलेकोे छ । फेरिपनि यो मुद्दा ४ दलिय छलफलको एजेण्डा बन्नुले यस्ता दलहरुको औचित्यका बारेमा प्रश्न उठाउनु पर्ने बेला पनि आएको छ ।
नागरीकताको कृत्रिम समस्याभित्रको गंभीरतालाई बुझ्नका लागि यससंग जोडिएका दुईवटा पक्षहरुमाथि ध्यान केन्द्रीत गर्न आवश्यक छ । पहिलो पक्ष के हो भने माओवादी विद्रोह र जनआन्दोलको समयमा कसैद्वारा कहिल्यै पनि नउठाईएको यो मुद्दा ०६३ सालमा संसदको पुनस्र्थापना भएपछि सरकार र ८ दलका नामबाट पहिलो प्राथमिकताका साथ गरिएको राजनितिक निर्णय हो । यसैबाट थाहा हुन्छ कि यो १२ बुँदे समझदारीमा नलेखिएको दिल्लीको एउटा मूख्य सर्त हो । दोश्रो पक्ष यो हो कि ०६३ सालपछि यो नै एकमात्र यस्तो मुद्दा हो, जसले दलीय सहमतिका नाममा निरन्तरता पाउन सफल भएको छ । देशका सबै मुद्दाहरुमा असहमति र नागरिकता वितरणमा सहमति नै १२ बुँदे पछिको दलीय सहमतिको विषेशता रहेको छ ।
आफुभन्दा साना र कमजोर छिमेकी देशहरुमा जनसंख्या अतिक्रमण गरेर यस्ता देशहरुलाई विलय, नियन्त्रण वा विभाजन गर्ने भारतीय नीति नयाँ होइन । फिजी, श्रीलंका, तात्कालिन पूर्वी पाकिस्तान (हालको बंगलादेशं), भुटान, मालदिभ्स लगायतका देशहरु धेरै पहिलेदेखि भारतको यो नीतिको शिकार हुँदै आएका छन् । नेपालमा राजाहरुको शासनकालमा असफल भएको यो मुद्दा भारतले विसं २०१० सालदेखि नै उठाउन लगाएको छ । १२ बुँदेपछि मात्र त्यसले जनसंख्या अतिक्रमणलाई संवैधानिक आधार दिलाउन सफल भएको हो ।
शासकवर्गको निम्नस्तरको सत्ता र पैसा लिप्साका कारणले नागरीकताको नक्कलि मुद्दा देशका लागि कति भयावह बनिसकेको छ भन्ने कुरा ०४९ जेठ ३० गते कपिलवस्तुबाट बंशजको आधारमा नेपाली नागरीकता लिने कुख्यात भारतीय अपराधि बब्लु श्रीवास्तवको यो भनाइले काफि हदसम्म स्पष्ट पार्दछ । उनले भनेका छन् ‘जुन मुलुकमा ५० लाख , १ करोड खर्च गरेकै भरमा सिधै प्रधानमंत्रीसंग बस्न सकिन्छ, त्यस्तो देशमा के गर्न सकिन्न र ? नागरीकता त मिनेटमैं पाउन सकिन्छ ।’ (चक्रब्युहमा चन्द्र सूर्य, सरोजराज अधिकारी) जमीम साह, फैजान अहमद लगायत नेपालका जानेमानेका व्यक्तिहरुको हत्या गर्ने अपराधिहरु नक्कली नागरीकता लिएका भारतीयहरु थिए भन्ने तथ्यले यहाँको नागरीकताको मामिला देशका लागि कति खतरनाक भैसकेको छ भन्ने विषयको गंभीरतामाथि प्रकाश पार्दछ ।

नेपालमा प्रयास

नेपालको नागरिकता नीति आफ्ना नागरिकहरुको सुलभ पहुँचभित्रको विषय बन्नुपर्छ भन्ने भारतीय चिन्तन नेपाललाई भारतको अंग ठान्ने विस्तारवादी सोंचबाट उत्पन्न भएको छ । “नेपालीहरुले कदापी विर्सनु हुन्नकि उनीहरुको देश सदासर्वदा भारतकै अभिच्छेद्य अंग रहेको छ” भन्ने आचार्य कृपलानी होउन वा “नेपालमा पनि हैदरावाद जस्तै भारतीयहरु माथि अमानुषीत अत्याचार भैरहेको छ” भनेर नेपाललाई “भारतीय संघको स्वतन्त्र सदस्य बनाउनु पर्छ” (२००७ कार्तिक) भन्ने सरदार बल्लभ भाइ पटेल होउन, सबै भारतीय शासकहरुले आफ्नो अंगका रुपमा नेपालभित्रका यावत् नीतिहरु बन्नु पर्दछ भन्ने सोंचाइ राख्दछन् । नागरीकताबारे पनि उनीहरुको दृष्टिकोण प्रारंम्भदेखि नै यहि रहेको छ ।
२००८ साल माघमा तात्कालिन मन्त्री भद्रकाली मिश्रले नेपाली सेनामा विश्वास गर्न नसकिने भन्दै सेनामा भारतीय नागरीकहरुलाई भर्ति गर्नुपर्ने र काठमाडौं लगायतका नेपालका विभिन्न स्थानहरुमा १० हजार भारतीय सेना राख्नुपर्ने प्रस्ताव मंन्त्री परिषदको वैठकमा राखेका थिए । मातृका सरकारले २००९ सालमा नागरीकता कानुन जारी गरेर २ वर्षदेखि नेपालमा बसोबास गर्दै आएका सबै भारतीयहरुलाई आदिवासीका नाताले नेपाली नागरिकता दिन सुरु गर्यो । यो कानुन २०१९ पौष १ गते महेन्द्रले नयाँ संविधान जारी गरेपछि खारेज भयो । ६ जुन १९८० (वि.सं. २०३७) को त्जभ क्तबतभकmबल नामक भारतीय पत्रिकाले नेपालमा बसेका कुल ३८ लाख भारतीयहरु मध्ये २३, ८७, ९७३ ले नेपाली नागरिकता पाईसकेको तथ्यांक सार्वजनिक गरेको थियो ।
२०५१ सालमा मनमोहन सरकारको पालामा बनेको धनपति आयोगले जनसंख्या अतिक्रमण भएको निष्कर्ष निकाल्दै सिमा बन्द गर्नुपर्ने सिफारिस ग¥यो, जसलाई उक्त आयोगका सदस्य राजेन्द्र महतोले विरोध गरेका थिए । २०५२ सालमा महन्थ ठाकुरको कार्यदलले ०४७ साल कार्तिक महिनालाई आधारबर्ष मानेर नेपालमा बसेका जम्मै विदेशीहरुलाई नागरिकता दिनुपर्ने कुरा सुझाव दियो । तर लागु भएन । २०५४ सालमा जीतेन्द्रदेवको अध्यक्षतामा गठित नागरिकता वितरण आयोगले ६ दिनभित्र ३४,००० भन्दा बढी गैर नेपालीहरुलाई नागरिकता वितरण गर्यो । यो कदमलाई २०५८ साउन ९ को सर्वोच्च अदालतको फैसलाले खारेज गरिदिएको थियो । यसैगरि २०५४ सालमा बामदेव गौतमको गृहमन्त्रालयले स्थानिय निर्वाचन निर्देशिका जारी गरेर स्थानिय चुनावमा उठ्न र भोट हाल्न नागरिकता नचाहिने ब्यवस्था गरेको थियो । यसलाई पनि अदालतको निर्णयले खारेज गरेको थियो । २०५७ जेठमा राज्य ब्यवस्था समितिले पारित गरेको नागरीकता संबन्धि निर्णयलाई प्रतिनिधिसभाले पारित गरेर अर्थ विधेयकभित्र घुसाई अनुमोदनका लागि राष्ट्रियसभामा पठाएको थियो तर राष्ट्रिय सभाले फिर्ता पठायो । प्रतिनिधिसभाले पुनः साउन ११ गते त्यसलाई पारित ग¥यो । यो निर्णय स्वीकृतीका लागि राजाकहाँ पठाए पछि उनले सर्वोच्चमा राय मागे । सर्वोच्चले २०५८ बैशाख १२ मा त्यसलाई गैरसंवैधानिक घोषित गर्यो ।
विभिन्न रुपमा प्रयोग गरिएका यी सबै हतकण्डाहरु पूर्ण रुपमा सफल हुन नसकेपछि दिल्लीले माओवादी युद्धको संवेदलशिल अवस्थालाई चयन गरेको देखिन्छ । बाह्रबुँदे समझदारीपछि २०६३ साल भदौ २१ गते सरकारबाट ०४७ साल चैत्रभित्रको जन्मका आधारमा नेपालमा बसोबास गर्ने सबै ‘ब्यक्ति’हरु लाई नागरीकता दिने भनि विधेयक पारित गरी ८ दलका बीचमा सहमति गरियो र त्यसलाई अन्तरिम संविधानमा सामेल गरियो । बाबुराम सरकारको गठनका लागि मधेशी मोर्चा र एमाओवादीका बीचमा २०६८ भदौ १० गते भएको ४ बुँदे सम्झौतामा नागरिकतालाई सहज र सरल रुपमा वितरण गर्ने सहमति भयो । एमाओवादी र मधेशी मोर्चाका बीचमा भएको यहि सहमतिलाई आधार बनाएर ०६८ माघ २० गते मन्त्रीपरिषदले गरेको निर्णयानुसार २४ गते गृहमन्त्री विजय गच्छेदारले ०६३ सालपछि जन्मका आधारमा नागरिकता लिएका विदेशीहरुका सन्तानहरु, जो नागरिकता लिनु पूर्व नै जन्मेका थिए, लाई वंशजको आधारमा नागरीकता दिनु भनि जिल्ला प्रशासन कार्यालयहरुलाई आदेश दियो । झापाका तात्कालिन प्र.जि.अ.ले यस्तो गैर संवैधानिक आदेश कार्यान्वयन गर्न इन्कार गरेपछि उनललाई कार्वाहि स्वरुप त्यहाबाँट सरुवा गरियो । यो आदेशलाई सर्वोच्च अदालतले खारेज गर्यो ।

१२ बुँदे र नागरीकता रणनीति

नेपालभित्र रहेका वा नरहेका भारतीयहरुलाई विभिन्न बहानामा नागरीकता दिने हालको संवैधानिक ब्यवस्था माओवादी युद्धको नियतीसंग जोडिएर आएको विषय हो । संसदको पुनसर्थापनापछि आठ दलीय कार्यभारको पहिलो नम्बरमा परेपछि श्रृंखलाबद्धरुपमा घटेका घटनाहरुको समग्र सन्दर्भभित्र मात्र नागरीकता रणनीतिको अर्थलाई ठम्याउन सकिन्छ । अन्तरिम संविधानमा ‘एक पटकका लागि’ भनेर जन्मका आधारमा नागरिकता वितरण गर्ने ब्यवस्था गरिएको थियो । भारतीय नागरीकहरुलाई लक्षित गरी बनाईएको यो ऐन कार्यान्वयन हुनसाथ ०६४ साल असोज महिनाको तेश्रो हप्तामा भारतको पटनामा तात्कालिन भारतीय विदेश मन्त्रालयकी सहसचिव प्रितिशरण कौरको उपस्थितिमा राजेन्द्र महतो, महन्थ ठाकुर, ज्वाला सिं, जयकृष्ण गोइत लगायतका ब्यक्तिहरुको बैठक बसेर तराइ रणनीतिमा छलफल गरेको थियो । बैठकमा भएको सहमति अनुसार मंसीर महिनामा तात्कालिन कृषिमन्त्री महन्थ ठाकुर र सांसदहरु जेपी गुप्ता, हृदयेश त्रिपाठी, राजेन्द्र महतो लगायतका ८ जना ‘मधेशी’ नेताहरुले आ–आफ्नो पदबाट राजीनामा गरे र एमाओवादी, कांग्रेस तथा एमालेमा रहेका भारतीय मुलका द्वेध नागरीकहरुलाई अलग्याएर मधेशवादी गुटहरुको गठन गर्ने प्रकृया सुरु भयो । यसै दौरानमा महन्थ ठाकुरलाई अघि सारेर तमलोपा बनाईयो भने विजय गच्छेदार लगायतका केहि ब्यक्तिहरुलाई उपेन्द्र यादवको फोरममा पठाईयो ।
०६३ माघ २ गते देखि फोरमले आन्दोलनको घोषणा गरेको थियो । आन्दोलनमाथि भएको दमनका विरुद्ध फोरमले गृहमन्त्रीको राजीनामा, दमनको छानविनका लागि आयोगको गठन र समावेशी समानुपातिक प्रणालीको माग राखेको थियो । तर ध्यान दिन लायक रहस्यमय कुरा के छ भने सरकारले आन्दोलनका आव्हानकर्ता, समर्थक दुबै नभएका राजेन्द्र महतो र ऋदयेश त्रिपाठीलाई १५ गते मधेशी प्रतिनीधिका नाममा वार्तामा बोलायो । पुनः २४ गते महतो र त्रिपाठीसंग भएको वार्तामा सरकारले संपूर्ण तराईलाई ‘मधेश’को नामले संवोधन गर्ने, संघियतालाई अन्तरीम संविधानमा सामेल गर्ने र समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण गर्ने सहमति गर्यो ।
मधेशी गुटहरुको गठनपछि ०६४ फागुन १ गते देखि ‘समग्र मधेश, एक प्रदेश’ मा केन्द्रीत आन्दोलन सुरु भयो । सोहि महिनाको फागुन ७ र ८ गते भारतीय दुतावासभित्र राजदुतको उपस्थितिमा कांग्रेसका प्रतिनिधिहरु र मधेशी प्रतिनिधिका रुपमा अनिल कुमार झाँ, राजेन्द्र महतो, महन्थ ठाकुर, उपन्द्र यादव बसेर स्वायत्त मधेश प्रदेशको स्थापना र मधेशीको छुटै सैन्य संरचना बनाउने विषयमा सहमति गरे । त्यसलाई सरकारले अनुमोदन ग¥यो । सो सहमतिलाई पुष्पकमल दाहाल र माधव नेपालले बाहिरबाट समर्थन जनाएका थिए ।
नागरीकता ऐनबाट वितरण गरिने नक्कली नागरीकताहरुको निर्णायक भूमिका स्थापित गर्नका लागि तराईमा बसोबास गरेका पहाडी मुलका नेपालीहरुमाथि त्यसबेला भएको बर्वर ध्यान दिन लायक छ । भारतीय सत्ताले दिएको पैसा, हतियार र गुण्डाहरु प्रयोग गरी गरिएको सो आक्रमणको निशाना पहाडी मूलका नेपालीहरु मात्र देखिएको भएतापनि त्यो घटना सर्वप्रथम तराईका मधेशी मूलका नेपालीहरुको सहानुभूति लिएर पहाडी मूलका नेपालीहरुलाई लखेट्ने र त्यसपछि मधेशी मूलका नेपालीहरुलाई पनि विस्थापित गरी संपूर्ण क्षेत्रलाई नक्कलि नागरीकहरुको अखाडा बनाउने भारतीय षडयन्त्रबाट घटेको थियो भन्ने कुरा कथित मधेशवादी गुटहरुले मैथिली, भोजपुरी, अवधि, थारु, कोच भाषा सस्कृतिहरुलाई निषेध गरी हिन्दी भाषालाई स्थापित गर्न गरेको प्रयत्न र पछिल्ला समयमा सशस्त्र गुटहरुबाट स्थानिय मधेशीहरुमाथि बढ्दै गएको आक्रमणबाट प्रष्ट हुन्छ ।
०६३ सालपछि कथित मधेशवादको नाममा जति पनि मुद्दाहरु उठाईएका छन् ती सबैको श्रोत र आधार नक्कली नागरीकता हो भन्ने कुरा पछाडिका सबै घटनाहरुले प्रमाणीत गर्दछन् । यद्यपी समग्र मधेश प्रदेशको मुद्दालाई दिल्लीले बेदानन्द झाँ मार्फत् २०१० सालमैं उठाउन लगाएको थियो तर यो मुद्दाले ०६३ सालको नागरीकता ऐन बनेपछि मात्र आन्दोलनको रुप प्राप्त गर्ने आधार बन्यो । समग्र मधेश प्रदेशमा यहाँका केही दलालहरुबाट सहमति गरिएपछि समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको माग सार्वजनिक भयो, जो तराईमा बढ्ने भारतीय जनसंख्याका आधारमा निर्वाचन क्षेत्रहरु बढाएर नेपालको ब्यवस्थापिका र कार्यपालिका कब्जा गर्ने भारतीय षडयन्त्रसंग जोडिएको विषय हो ।
नक्कली नागरिकहरुलाई केन्द्रबिन्दुमा राखेर १० हजार मधेशीहरुको अलग सैन्य संरचना बनाउने भनि उठाईएको माग नेपालमा समानान्तर सैन्य संरचना खडा गर्ने र फिजीमा त्यहाँको सेनाले महेन्द्र चौधरीको सत्ता बर्खास्त गरेको घटनालाई दोहरिन नदिने योजनासंग संबन्धित छ । श्रीलंकामा भारतीय तामिलहरुलाई नागरीकता दिन लगाएर दिल्लीले उत्तरपूर्वी श्रीलंकालाई टुक्राउन जसरी तामिल विद्रोहलाई संगठित गरेको थियो, त्यसैको नेपाल संस्करण तराईको अपराधिक हिंसा हो भन्ने कुरामा कुनै शंका छैन ।
नक्कली नागरीकताले खेल्ने निर्णायक भूमिकालाई मध्यनजर राखेर नै दिल्लीले सुरुमा माओवादीलाई र पछाडी मधेशी गुटहरुलाई संघियता सहितको आत्मनिर्णयको अधिकारको मुद्दा उठाउन लगाएको र यसैसंग जोडिएको षडयन्त्र एमाओवादी महाधिवेशनमा उठाईएको अतिक्रमित सिमानाबारे जनमतसंग्रहको विषय रहेको तथ्यप्रति नेपालीहरुको ध्यान पुग्न आवश्यक छ । मधेशीको नामबाट जतिपनि मुद्दाहरु उठेका छन्, त्यसको नेतृत्वकर्ता तराईको सामन्त तथा दलालपूँजीपति वर्ग र नक्कलि नागरीकताधारीहरु रहेका छन् । यीनीहरुका मागमा तराईका आदिवासी, तल्लोवर्ग, तल्लो जाति, उत्पीडित भाषा, संस्कृति कसैका सरोकारहरु सामेल गरिएका छैनन् ।
दिल्लीको नागरीकता रणनीति यतिमा मात्र सिमित छैन । नागरीकता ऐनको कार्यान्वयन पछि तराईका निजी अस्पताल र प्रसुति गृहहरुमा भारतीय लगानी ठूलो मात्रामा बढेर गएको छ । जन्मको आधारमा नेपाली नागरिकताको दाबी गर्ने उद्देश्यले त्यसले प्रतिमहिना सयौं गर्भवती भारतीय महिलाहरुलाई बच्चा जन्माउन तराइका अस्पताल र प्रसुतिगृहहरुमा पठाउने र त्यहिं जन्मदर्ता गराउन लगाउने गरेको छ । चितवनको आरक्षलाई काटेर मेची–महाकाली हुलाकी मार्ग बनाउने भारतीय प्रयास पनि समग्र मधेश प्रदेशका नाममा मेचीदेखि महाकालीसम्मको भूभागलाई एउटै लाइनमा जोड्नेषडयन्त्रको अभिन्न पाटो हो । भारतका पूर्व प्रधानमन्त्री इन्द्रकुमार गुजरालले कृत्रिम नागरीकतालाई नै लक्षित गरी नेपाललाई मधेश र पहाड गरी दुई देशको एकिकृत रुप बताएका थिए । जुन भनाई २०१० सालमा बेदानन्द झाँ मार्फत् भारतले उठाउन लगाएको ‘नेपाल यूनियन’ (मधेश र पहाडको यूनियन) को निरन्तरता हो । ‘एकपटकका लागि’ भनि ०६३ सालमा जन्मका आधारमा नागरीकता दिइएको व्यवस्थालाई संशोधन गरी त्यसरी नागरीकता लिने व्यक्तिहरुका नागरिकता लिनुभन्दा पहिलेका सन्तानहरुलाई समेत वंशजका आधारमा नागरीकता दिनुपर्ने भनि मधेशवादी गुटहरुले अहिले उठाएको माग कहिल्यै नरोकिने दिल्ली रणनीति हो ।
छिमेकिहरु संग तुलना
श्रीलंका
–बेलायती उपनिवेश रहेको सिलोन (श्रीलंका)मा अंग्रेजहरुले उन्नाइसौ तथा बीशौँ शताब्दीतिरै ठूलो संख्यामा दक्षिण भारतीय कामदारहरुलाई, मूख्यतः तमिलहरुलाई, चिया, कफी, रबर तथा नरिवल खेतीका लागि कामदारका रुपमा भित्र्याए । सन् १९४६ सम्म आइपुग्दा यसरी श्रीलंका पुग्ने दक्षिण भारतीय आप्रवासी कामदार संख्या ७ लाख ८० हजार पुग्यो । जुन श्रीलंकाको तत्कालीन जनसंख्याको ११.७ प्रतिशत थियो ।
–फेब्रुअरी ४, १९४८मा श्रीलंका ब्रिटीश उपनिवेशबाट स्वतन्त्र भएपछि सरकारले नागरिकता सम्बन्धी अध्यादेश (बील) अनुमोदनका लागि संसदमा पठायो । जुन अध्यादेशकोे मुख्य उद्देश्य वास्तविक नागरिकलाई नागरिकता दिने थियो । उक्त अध्यादेशले श्रीलंकन नागरिकता प्राप्तिका लागि निवेदकले आफ्नो बुवाको जन्म श्रीलंकामा भएको प्रमाणित गर्नुपर्ने थियो । उक्त अध्यादेशको भारतीय तमीलहरुका राजनीतिक दलहरु सिलोन इण्डियन काँग्रेस, अल सिलोन तमील काँग्रेस र सिंहाली बामपन्थी दलहरुलेसमेत चर्को विरोध गरेपनि उक्त अध्यादेश २० अगष्ट १९४८ का दिन संसदबाट पारित भइ १५ नोभेम्वर १९४८ का दिनदेखि कानूनको रुप लियो । उक्त कानून अनुसार केवल ५ हजार भारतीय तमीलहरु श्रीलंकन नागरिकताका लागि योग्य ठहरिएका थिए भने बाँकी अयोग्य साबित भएका थिए ।
–त्यसपछि भारत सरकारको दबाबामा सन् १९४९ मा श्रीलंका सरकारले श्रीलंकामा बसोबास गर्ने भारतीय तमीलहरुलाई नागरिकता दिने उद्देश्यले इण्डियन एण्ड पाकिस्तानी रेसिडेन्टस (सिटिजिनसिप) पारित गर्यो । जस अनुसार १० वर्षदेखि श्रीलंकामा निरन्तर बस्दै आएका १ लाख भारतीय तमीलहरुले श्रीलंकन नागरिकता पाउन सफल भए ।
–सन् १९६४ अक्टोवर ३० मा भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्री र श्रीलंकन प्रधानमन्त्री श्रीमाओ बन्दरनायकेका बीचमा इण्डो–सिलोन सम्झौता भयो, जसअनुसार अरु ३ लाख भारतीय तमीललाई श्रीलंकन नागरिकता दिने सहमति भयो । बाँकी १ लाख ५० हजार भारतीय तमीलको नागरिकता सम्बन्धमा पछि निर्णय गर्ने सहमति भयो ।
–जुन २८, १९७४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र श्रीलंकन प्रधानमन्त्री श्रीमाओ बन्दरानाइके बीच श्रीमाओ–गान्धी प्याक्ट मा हस्ताक्षर भयो जसअनुसार भारत र श्रीलंका दुवै देशले पहिलेका बाँकी १ लाख ५० हजार भारतीय तमीललाई नागरिकता दिन सहमति भयो ।
–सन् १९८७ जुन २९ मा राजीव गान्धि र जे. आर. जयबर्धनेका बीचमा भएको एक संझौता अनुसार तमिल भाषालाई सरकारी भाषा बनाउने र उत्तर तथा पूर्वी श्रीलंकालाई एउटै प्रान्तका रुपमा मर्ज (विलय) गर्ने कुरा उल्लेख गरियो । यसका लागि जनमत संग्रह गर्ने व्यवस्था पनि सामेल गरिएको थियो ।
–सन् १९८८ मा भारतीय प्रधानमन्त्री राजीव गान्धीको दबाबमा श्रीलंकाको संसदले नागरिकता विहीनहरुका लागि नागरिकता दिने नयाँ ऐन पारित गर्यो, जसअनुसार श्रीलंकामा रहेका बाँकी सबै भारतीय तमीलहरुलाई पूर्व सहमतिका नाममा श्रीलंकन नागरिकता दिने प्रावधान राखियो ।
–अक्टोबर ७, २००३ मा श्रीलंकन संसदले ग्रान्ट अफ सिटिजनसीप टु पर्सन अफ इण्डियन वरिजन एक्ट २००३ पारित गर्यो जसअनुसार श्रीलंकामा सन् १९६४ पछि बसोवास गर्दैआएका सबै तमीलहरुलाई नागरिकता दिने प्रावधान राखियो । यसरी अन्ततः श्रीलंका स्वतन्त्रतापछिका ५५ बर्षमा सबै भारतीय तमिलहरुले श्रीलंकाको नागरीकता पाउन सफल भए ।
फिजी
–फिजीमा सन् १९७७ मा भारतको दबाबमा भारतीय मूलका नागरीकहरुलाई नागरीकता दिने निर्णय गरियो ।
–सेप्टेम्बर २८, १९८७ देखि २४ जुलाई १९९० सम्म फिजी संविधान विहिनताको अवस्थामा थियो । यो संवैधानिक सून्यताको फाइदा उठाएर भारतले उक्त अवधिसम्म फिजीमा रहेका सबै भारतीयहरुलाई नागरीकता दिनुपर्ने भनि दिएको दबाब अनुसार नयाँ संविधानको धारा २० मा फिजीमा जन्मेका जुनसुकै व्यक्ति नागरिक हुने प्रावधान राख्न लगायो । साथै सोहि ऐनमा कुनै बालक निजको बाबुले फिजीको नागरीकता लिनुभन्दा पहिले विदेशमा जन्मेको भएपनि नागरीकता पाउने प्रावधान समेत् राखियो ।
–सन् १८८१ मा ५८८ को संख्यामा रहेका भारतीयहरुको जनसंख्या सने १९९६ सम्म आइपुग्दा ३ लाख ३९ हजार पुग्यो र यहि नक्कलि नागरीकताको आडमा भारतीय नागरीक महेन्द्र चौधरीले प्रधानमन्त्रीमा विजय हासिल गर्न सफल भए भने संसदमा ७१ सिट मध्ये ३७ सिट भारतीय नागरीकहरुको हातमा गयो ।
संकटको मौका खोजी
भारतले छिमेकी देशहरुमा राननीतिक वा संवैधानिक संकट उत्पन्न भएको बेला आफ्ना नागरिकहरुलाई नागरीकता दिलाउन दबाब दिदैं आएको छ । श्रीलंका र फिजीमा जस्तै यहाँ पनि समान प्रकारको अस्थिर परिस्थितिलाई चयन गरिएको छ । २०३६ सालको आन्दोलनदेखि जनमत संग्रहसम्मको अस्थिरताको समयमा नेपालमा रहेका ३८ लाख भारतीयहरु मध्ये २३,८७,९७३ ले नेपाली नागरीकता प्राप्त गरीसकेको तथ्याँक भारतको पत्रिका त्जभ क्तबतभकmबल ले सन् १९८०, जुन ६ को अंकमा प्रकाशित गरेको थियो । २०६३ सालमा संसदको पुनस्र्थापना भएपछि २०४७ सालको संविधानलाई निष्कृय बनाईएको र अन्तरिम संविधान पनि नबनेको परिस्थितिमा मन्त्रीपरिषदले ०४६ साल चैत्र मसान्तलाई जन्मको आधार बनाएर नागरीकता दिने निर्णय गरी विधेयक बनाएको थियो । अहिले ०६३ सालपछि नेपाली नागरीकता लिएका तीनै भारतीयहरुबाट पहिल्यै जन्मेका सन्तानहरुलाई वंशजका आधारमा नेपाली नागरीकता दिने माग पनि संविधानसभाको विघटन भएको र दलीय राजनीति असफ भएको अवस्थामा उठाईएको छ ।
देशको अस्तित्वप्रति बिल्कूलै संवेदना नभएका दलहरुको यस्तो स्वेच्छाचारी कदमको जनस्तरबाटै प्रतिरोध नहुने हो भने आगामि १० बर्षसम्म नेपालमा भारतीयहरुको जनसंख्या बहुमतमा पुग्ने कुरामा कुनै संका छैन । भारतको छिमेकिहरुका विरुद्धको यस्तो षडयन्त्रको परिणाम श्रीलंकाले ३० बर्षसम्म गृहयुद्धको सामना गर्नु परेको र फिजीमा भारतीय नागरीकहरुले प्रधानमंत्री र संसदको बहुमत सिट जितेको इतिहासलाई नेपालीहरुले शिक्षाका रुपमा समयमैं ग्रहण गर्न जरुरी देखिन्छ । बर्षैपिच्छे नेपालमा किन लाखौं नागरीकताको समस्या देखाईन्छ र कहिल्यै नघट्ने यी कथित नागरीकहरु कसका हुन् भन्ने विषयलाई स्पष्ट गर्न प्रतिरोध अघि बढेन भने एकाध बर्षभित्रै पुनः लाखौं भारतीयहरुले नागरीकता लिन सफल हुने कुरामा संदेह छैन ।
असोज १२ ,२०७२  श्रोत भरतदाहालडटकम
http://ekoshi.com बाट साभार