Monday, October 19, 2015

‘पेज थ्री’ र ‘च्यारिटी समाजवाद’को मृगतृष्णामा रुमल्लिएका माओवादी - प्रशान्त आजाद

के नेपालमा वर्गसंघर्षको औचित्य समाप्त भएकै हो ?


एउटा समय थियो, गाउँका गरीबले मुक्ति र समृद्धिका कथा सुन्थे । मानिस कसरी दुखमा पर्यो र किन जो सुकै सत्तामा आएपनि उनीहरुका दुखका दिन जाँदैन् भन्ने कुरा उनीहरुले गम्थे र भन्थे, ‘ए, हो रैछ त –हामी शोषित त योजनाबद्ध किसिमले बनाइएका रहेछौं । हाम्रो मुक्तिका लागि हामी आफै जुटेर संघर्ष गर्नुपर्दो रहेछ ।’ यो एउटा यस्तो समय थियो जतिखेर ‘यो संघर्षको नेतृत्व कम्युनिष्टहरुले मात्रै गर्न सक्छन्’ भन्दै राता झण्डाको आवरणमा संघर्षलाई जनस्तरमा अगाडि बढाइन्थ्यो । अगाडि अगाडि रातो झण्डा र पछाडि शोषित पीडित मुक्तिकामी जनता । स्थानीय शोषक विरुद्धको आन्दोलन होस् या भूमिहीन किसानको आन्दोलन, महिला या दलितको अथवा अन्य शोषणका आन्दोलनहरुमा वैचारिक र संगठनात्मक हिसाबले यही कम्युनिष्ट पार्टीले त्यसको अगुवाई गथ्र्यो, गैर कम्युनिष्टहरु वर्ग दुश्मन थिए र जो कम्युनिष्टहरु थिए उनीहरु संघर्षमा थिए । जुनसुकै जात, लिंग, क्षेत्र भएपनि त्यहाँ गरिखानेहरु हुन्थे । बसिखानेहरुविरुद्ध गरिखानेहरुलाई यिनै कम्युनिष्टहरुले लामबद्ध गर्थे । यी संघर्षहरु कहिले रक्तापातपूर्ण भए, कहिले शान्तिपूर्ण । झापा आन्दोलन भनौं, या महोत्तरी, धनुषा, प्यूठान, चितवन, डडेल्धुरा, बाग्लुङ, रोल्पाका किसान आन्दोलन भनौं अथवा ‘जनयुद्ध’, स्वरुपमा जे जस्ता भएपनि यी सबै आन्दोलनको मूल स्पिरिट शोषित पीडित जनताका सपनाहरु पुरा गर्ने थियो, केही नहुने वर्गको पक्षमा एउटा हुँकार थियो ।
समय बदलियो, सुखानीदेखि जनयुद्धसम्म आइपुग्दा कैयन् नेपाली सपुतले आफूलाई यिनै रक्तमय संघर्षमा समर्पण गरे । प्रदीप नेपालले ‘मुक्त आकाशको खोजीमा’ देखि ‘देउमाइका किनारमा’ र आहुतीले ‘नयाँ घर’ यिनै संघर्षहरुको आलोकमा लेखे । यही संघर्षको गर्भमा प्रचण्ड देखिए, जीवन शर्मादेखि मणी थापा, जेबि टुहुरेदेखि खुशीरामहरुले सांस्कृतिक क्रान्तिमा अमूल्य योगदान दिए । सोनामदेखि अन्य कैयन् कमरेडहरुले सर्वाहारा सांस्कृतिक क्रान्तिको पहिलो शर्तका रुपमा आफूलाई नै सर्वाहाराकरण गर्ने अभियान चलाए । त्याग, समर्पणको यो अभियानमा थुप्रै थपिए । ‘गुमाउन केही थिएन, मात्र पाउनु थियो ।’ भन्ने कुरा चरितार्थ गर्न व्यक्तिगत इच्छा, रहर, परिवार, सम्पत्ति, नातासम्बन्ध सबै क्रान्ति या संघर्षको भट्टीमा समर्पण गरिए । मानिसहरु पावेललाई आफ्नो आदर्श मान्थे र गोर्कीका कथाहरुमा नेपाली जीवन देख्थे । इतिहासमा यी दिनहरु थिए, जतिखेर संघर्ष, संघर्ष र संघर्ष मुख्य हुन्थ्यो र शेष गौण । कम्युनिष्टहरुको आफ्नो जीवन, उनीहरुको शैली, उनीहरुको व्यवहार सबै यी संघर्षलाई समर्थन र सहयोग गर्ने किसिमको हुन्थ्यो । भनौं, यी आदर्शमय दिन थिए ।
तर इतिहास निर्मम हुँदो रहेछ । अहिले यी कुरा सम्झनामा पनि आउन नसक्ने किसिमले कम्युनिष्ट पार्टी, आन्दोलन र व्यक्तिहरुको विकास भएको छ । कतिपयले आफ्ना यी आदर्शका दिनलाई पछाडि फर्केर हेर्दा यी दिन पत्रिकाको फिलर समाचार जस्तो अनुभूति गर्न थालेका छन् । वर्ग, वर्ग संस्कृति, वर्ग सम्बन्ध अहिले कता कता हराईसके । हाम्रो आन्दोलनका सहयात्री तिनै हिजोका शोषक जमिन्दार हुन पुगे । जनताको मायाको ठाउँमा वुर्जुवा मध्यमवर्ग र दलाल पूँजिपति वर्गको आर्थिक र अन्य सहयोगले ठाउँ लिन पुग्यो । सामूहिकताको स्थान व्यक्तिले लियो । व्यक्तिगत चर्चा, व्यक्तिगत लाभ, व्यक्तिगत स्वार्थ बलियो भयो । बीसौं वर्ष वर्गको कुरा गर्नेका लागि एकाएक जाति याद आयो, भूगोल याद आयो अझ भनौं वर्ण र लिंग याद आयो । वैयक्तिक अस्तित्व प्रधान बन्यो, सामूहिक अस्तित्व इतिहास बन्न पुग्यो । यो वैयक्तिक अस्तित्वलाई पछिल्लो दिनमा तीब्रगतिमा विकास भइरहेको मिडियाको छालले झनै तीब्रता दियो ।
सांस्कृतिक मानकहरुको आधारमा हेर्दा सर्वाहारा सामूहिकताको स्थानमा व्यक्तिगत अस्तित्वका लागि पार्टी, विचार, संघर्ष र संगठनभन्दा माथि उठ्ने प्रवृत्ति पेथ थ्री प्रवृत्ति हो । पेज थ्री अर्थात् पत्रिकामा सेलिब्रेटी, मनोरञ्जन र सबैभन्दा बढी आकर्षकरुपमा पढिने समाचार प्रकाशित हुने ठाउँ । अहिले कम्युनिष्ट आन्दोलनको नेतृत्वका लागि व्यक्तिगत चर्चा ठूलो कुरा देखिन थालेको छ । पार्टी एकातिर तर आफ्ना ससाना दैनिक क्रियाकलापहरु, आफ्ना चर्चाहरु, आप्mना मान्यताहरुले स्थान पाउनुले महत्व पायो ।
कम्युनिष्टहरुले कहिल्यै पनि आफूलाई व्यक्तिगतरुपमा केन्द्रमा राखेनन्, उनीहरुका लागि हरेक कुरा सामूहिक हुन्थ्यो, परिवार, नीजि सम्बन्ध सबै पार्टी र संघर्षका मातहतमा । तर अहिले त्यसो छैन । भूमण्डलीकृत विश्वमा मिडिया र पपुलर कल्चरको गोलचक्करमा कम्युनिष्टहरुले आफूलाई पेज थ्रीको मुख्य समाचार बनाउने दौडमा सामेल गरेका छन् । पार्टी पार्टी छैन, संघर्ष संघर्ष छैन, जीवन जीवन छैन, मात्र पेज थ्री छ । चर्चा कमाउने, चर्चाको दौडमा अघि बढ्ने, जे जस्तो भएपनि जस्तो गरेपनि जुनसुकै वर्गसँगको सम्बन्ध भएपनि उनीहरुले चर्चाको केन्दमा आउनु परेको छ । जनतासँगको सम्बन्ध कताकता पेज थ्रीको चमकले निलिदिएको छ ।
एमालेको हकमा मदन भण्डारीको अवसानसँगै उनीहरुको जनतासँगको सम्बन्ध बिस्तारै अन्तय हुँदै गयो । यसको साटो उनीहरुका लागि मध्यमवर्ग, दलाल पूंजिपति वर्गको सम्बन्ध र पार्टीमा पूंजिपति वर्गको नियन्त्रण घनिभूत हुँदै गयो । बिस्तारै बिस्तारै एमाले नेताहरुले कम्युनिष्ट या वर्गका कुरा गर्दा पनि कम्युनिष्ट संघर्षमा होमिएकाहरुलाई प्रहसन जस्तै लाग्ने अवस्था सिर्जना भयो । ‘कम्युनिष्ट पार्टी आम जनताको पार्टी हो, सर्वहारा, मजदूर किसानको पार्टी हो’ भनिएपनि एमालेको सिंगो संगठन नेपाली समाजको वर्गआधारमा यो आधारभूत धरातलभन्दा निकै माथि बुर्जुवाहरुको सम्पत्ति बन्न पुग्यो । नेपाली जनताले कम्युनिष्टहरुलाई मन नपराउँदा हुन त यो पछाडि झुण्डिएको माक्र्सवाद र लेनिनवाद पनि उहिल्यै लुप्त भइसक्थ्यो होला ।
माओवादीले यो स्पेशको उपयोग गर्यो । नेपाली समाजमा वर्गसंघर्षलाई अगाडि बढाउने उर्वर भूमिलाई जनयुद्धको नाममा उपयोग ग¥यो । नेपाली समाजमा सामन्तवाद या वर्ग विभाजनको जातीय, क्षेत्रीय स्वरुप र जातीय क्षेत्री उत्पीडनको अवस्था उनीहरुका लागि संघर्षका लागि मुख्य आधार थियो । जाति, वर्ण, लिंग क्षेत्र,स्रोतका आधारमा युगौंदेखि पीडित नेपाली आम जनताका लागि माओवादीका नारा मुक्तिको जिजिविषा बन्यो मुक्तिको सपना बन्यो । यिनै उत्पीडितहरुले माओवादीको नारालाई साँच्चिकै मुक्ति ठानेर आफूलाई बलिबेदीमा चढाए, यो चानचुने कुरा थिएन् । हजारौं महिलाले भर्खरै जन्मेको शिशुलाई युद्धभूमिमै लगेर बन्दुक बोकी सामन्त र सामन्ती शासन विरुद्ध लड्नु सामान्य कुरा थिएन । युगौंदेखि जाति, लिंग र वर्णका आधारमा पिल्सिएका जनताका लागि आफ्नै पालामा यो शोषणको अन्त्य हुन सक्छ भन्ने सपना देखाइनु र उनीहरुलाई विश्वासमा ल्याइनु ठूलै कुरा थियो । त्यसैले छोटो समयमा नै माओवादी आन्दोलनले नेपाली समाजका तह तहमा एउटा उथल पुथल ल्याउन सफल भयो । यसको तरिका बेठीक थियो या ठीक थियो त्यो बेग्लै बहसको विषय हो । तर इतिहासमा यो एउटा उथलपुथलकारी घटना थियो ।
तर दुर्भाग्य नेपालका आम शोषित जनताको उत्पीडनको चक्र, उनीहरुको सपना एउटा बिन्दूमा आएर निमोठियो । एमालेझैं माओवादी पार्टीको पनि बुर्जुवाकरण भयो । व्यवहार हेर्ने हो भने एमालेको भन्दा पनि भद्दा ढंगले माओवादीको बुर्जुवाकरण भएको छ । सही कार्यनीति र रणनीतिको विकास गर्न नसक्दा, जनयुद्धको असफलतामा विगतका उपलब्धि र जनताका सपनाहरुलाई संग्रहित गरेर अगाडि बढन नसक्दा बिस्तारै जनतासँग दुरी बढ्यो, र अब जनतासँगको उसको सम्बन्ध जोडिन्छ कि जोडिन्न भन्न सकिन्न । नेपाली समाजको वर्ग चरित्रको सबैभन्दा सही विश्लेषण आफूहरुको रहेको दाबी गर्दै वर्गको लडाईंको एकमात्र विकल्प जनयुद्ध भन्ने माओवादीहरु जमिन्दार र बुर्जुवाहरुको नेतृत्वका दलहरुका एजेण्डाको गोलचक्करमा फस्न पुगेका छन् । शहरीया मध्यम वर्ग र जमिन्दारहरुसँग उनीहरुको ‘जनतान्त्रिक मोर्चाबन्दी’ छ । सयौं विगाहा जमिन हुनेहरुले तत्कालिन लाभका लागि उठाइरहेका मुद्धामा माओवादीले आफ्नो मूल सांस्कृतिक चरित्र स्खलन भइरहेको थाहा पाएर पनि सच्चिन सकेको छैन । जनता एकातिर छन्, गरीब मजदूर किसानको अवस्था उस्तै छ, तर पार्टी र नेतृत्व अर्कोतर्फ छ । त्यहाँ बीचमा सम्बन्धको त्यान्द्राहरु पनि बिस्तारै चुँडिदै गइरहेका छन् । शायद जनतासँगको दुरी बढेरै होला, सम्बन्ध गाँस्न गाह्रो भएरै होला हिजो जनताका बीच स्पेस खोज्ने माओवादीहरु अहिले आएर पेजथ्रीमा आफ्नो स्थान खोजिरहेका छन र त्यस्ता काम गरिरहेका छन् । बिडम्बनाको कुरा, वर्गको उन्मुक्तिको थेसिस लेख्ने बाबुराम भट्टराईजस्ता माक्र्सवादीहरु ‘च्यारिटी समाजवाद’ को विकल्प आत्मसात गर्न पुगेका छन् । सुधारवादको चर्का विरोधी उनीहरु राशनभत्ता र विकासका कुरामा आफ्नो इतिहासलाई निमर्म तरिकाले कुल्चिँदैछन् ।
यो अवस्थाले गर्दा माओवादीहरुका लागि संगठन भन्दा व्यक्ति, संघर्ष भन्दा सुख, पार्टी भन्दा नातागोता प्रधान हुन पुगे । शब्दमा माओ उच्चारण गरेपनि व्यवहारमा माओ चे ग्वेभाराजस्तै लाभका लागि प्रयोग गरिने विज्ञापन बन्न पुगे । अवस्था के सम्म भयो भने जनसंघर्ष र उत्पीडित जनताको मुक्ति सामूहिक भीषण वर्गसंघर्षबाट अहिलेको उत्पादन सम्बन्धलाई पूर्णरुपमा भत्काउनै पर्छ भन्ने नारा दिँदै आएका माओवादी नेताहरुले आफ्नो व्यक्तिगत चर्चा र प्रचारका लागि सोसल मिडियालाई व्यक्तिगत चर्चा बटुल्ने साधनका रुपमा उपयोग गरे । लेनिन दिवसका दिनमा लेनिनवादी संगठनात्मक सिद्धान्तको ओज र सान्दर्भिकता आजका दिनमा पनि उस्तै रहेको भनेपनि माओवादीको संगठनात्मक संरचना र अनुशासन सामान्य बुर्जवाहरुको जस्तो पनि देखिन छोड्यो । कम्युनिष्ट पार्टीमा जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्तलाई निरंकुशता भएको भन्ने नाममा आफ्नो वैयक्तिक इच्छा र चर्चा पुरा गर्नेतर्फ माओवादी नेतृत्व नै अघि सर्यो । विचारमा सामूहिकता र काममा एकरुपता कतै देखिएन । व्यक्तिपिच्छै माओवादको परिभाषा फेरियो । पार्टी संस्कृति लोप भयो । शीर्ष नेतृत्वका आ आफ्ना नाममा पेज खुले । व्यक्तिवाद कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो सांस्कृतिक शत्रु मानिने अवस्थामा व्यक्ति प्रमुख भयो, पार्टी आवरणमा मात्रै देखियो ।
यो पेज थ्री कल्चरको पपुलर बुर्जवा कल्चर यति हावी भएको छ कि माओवादीभित्रको एउटा पंक्ति अचम्मलाग्दो तरिकाले व्यक्तिवादी, आत्मसंग्रहवादी बन्न पुगेको छ । पार्टीभन्दा व्यक्तिको महानता प्रदर्शन गर्न कतिपयले वेभसाइट खोलेका छन्, कतिपयले फेसबुक अकाउन्ट मार्फत आफ्ना गतिविधिमार्फत चर्चा बटुल्न खोजेका छन् । लाग्छ, उनीहरुका लागि बुर्जवा मिडिया र सोसल साइटमा पाइने चर्चाले नै क्रान्तिकारीताको निर्धारण गरिरहेछ ।
माओवादी या अन्य कम्युनिष्टहरु सबै यस्तै भए भन्न कदापी खोजिएको होइन । यहाँ माओवादी आन्दोलनको मूल प्रवृत्तिको कुरा गरिएको हो । मूल प्रवृत्तिको कार्यशैली यतिविधि बुर्जवाकरण हुँदै गएको अवस्थामा, सर्वहारा सांस्कृतिक चेत यसरी स्खलित हुँदै उपभोक्तवादी भइरहेपछि यसको असर सिंगो आन्दोलनमा पर्ने भएकोले प्रवृत्तिको आलोचना गर्न खोजिएको हो । माओवादी एकता हुने सन्दर्भममा संगठनात्मक, सांस्कृतिक कार्यशैली र विचारमा यी पक्षहरुलाई निमर्म समीक्षा नगरी भूमण्डलिकृत बुर्जवा शोषणका रुपहरुलाई कसरी चिर्न सम्भव छ ? हाम्रा कार्यनीतिक नाराहरु तत्कालको लाभका लागि निर्धारण हुने र त्यसका लागि हामीले आफ्ना क्रान्तिकारी लक्षणहरु एकपछि अर्को तिलाञ्जली दिँदै जाने अवस्थामा त्यसको नियती के होला ? भन्नेबारेमा हामीले सोच्ने कि नसोच्ने ?
निराशाको यो समयमा प्रश्न गर्न मन लाग्छ– के माक्र्सवाद सांच्चिकै यति कमजोर छ र हामीलाई आफ्नो व्यक्तिगत इच्छा र रहर पुरा गर्न यति लामो संघर्ष र शहादत कुल्चेर व्यक्तिगत घटनाहरुलाई प्रचार गर्न यतिविधि रहर लाग्छ ? के सुधारवादको गोलचक्करको लेनिनवादी परिभाषा आर्यघाट पुगिसकेको हो ? के नेपालमा वर्गसंघषर््ाको औचित्य समाप्त भएकै हो ?

http://www.everestdainik.com बाट साभार 

No comments:

Post a Comment