Monday, June 15, 2015

भुइँचालो, १६ बुँदे तमसुक र प्रचण्ड - खेम थपलिया


532776_212913412157070_1906494230_n

भनिन्छ छ नि ‘जस्तो बिउ रोप्यो, उस्तै फल फल्छ ।’ गलत राजनीतिक कार्यदिशा अवलम्बन गरेकै कारण एमाओवादीे क्षतविक्षत हुने अवस्थामा पुगेको छ । पार्टीको यस्तो हालत देखेर अहिले एमाओवादीका धेरै नेता तथा कार्यकर्ता निकै हतोत्साही र निराश छन् । करिब करिब विजयको सन्निकट पुगेको नेतृत्व र पार्टीको वर्तमान अवस्थाले निराश बनाउनु अस्वाभाविक होइन । यो पार्टीले शान्ति प्रक्रियाका नाममा गम्भीर प्रकारका वैचारिक–राजनीतिक–दार्शनिक कमजारी गरेको छ । त्यसको गम्भीर समीक्षा गर्दै र त्यसलाई सच्याउँदै पार्टीको  क्रान्तिकारी कार्यदिशा बनाउने हो भने रूपान्तरण सम्भव हुन सक्तछ । हामी सबैलाई थाहै छ कि जित्नका लागि माओवादीका अगाडि सिङ्गो संसारै छ तर यो पार्टीले चार राजनीतिक दलहरूका साथ गरेको १६ बुँदे तमसुकले ऊ योजनाबद्ध रूपमा कालो सुरुङभित्रको यात्रातिर अघि बढ्दैछ कि भन्ने आशङ्कालाई बल पु¥याएकै छ । वास्तवमा प्रचण्डले पार्टीको आधिकारिक कार्यदिशालाई रछ्यानमा फालेर प्रभुको दैलोमा खुसी फुलाउनुभयो । सहिदले बगाएको रगत, बेपत्ता योद्धाहरूको असीम त्याग र घाइतेहरूको समर्पणलाई केवल सत्ताको सिँढी बनाउनुभयो । सरकारी भवनको माथिल्लो तलामा पुग्दैमा सत्ताको वर्गीय चरित्र बदलिएको मान्नुभयो । पुलिस लगाएर सुकुम्वासीको बस्तीमा डोजर पेलेर दुःखीयाहरूको मन रुवाउनुभयो । राष्ट्रप्रतिको जिम्मेवारीलाई चटक्कै बिर्सेर भारतसँग बिप्पा जस्तो असमान सन्धि गराउनुभयो । आफ्नै नेतृत्वमा बनाएको जनमुक्ति सेनाका विरुद्ध मध्यरातमा नेपाली सेनालाई आक्रमण गर्न आदेश दिनुभयो । त्यति मात्र नभई गैर–माओवादीलाई पार्टीभित्र मङ्सिरका मुसा जस्तै रजाइँ गर्न दिएर पुराना कार्यकर्ताको अवमुल्यन गर्नुभयो । वास्तवमा क्रान्तिले जन्माएको प्रचण्ड आज दक्षिणको बाटो हुदै अन्तहीन अस्ताचलमा पुग्दा दुःख लाग्छ । १६ बुँदे तमसुक त्यही अन्तहीन अस्ताचलको पछिल्लो सिमाना हो ।
हामीलाई थाहा छ– मुलुक अग्रगामी रूपान्तरणको प्रक्रियाबाट विमुख मात्र भएको छैन, दक्षिणपन्थी सुधारवादको पाइतालामुनि कुल्चिएर जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेको छ । अर्कोतिर ठूला दलको भ्रमात्मक पर्दा यसरी च्यातिएको छ कि केस्रा–केस्रामा तिनको विघटन केलाउन सरलीकृत भएको छ । किसान मजदुरको आफ्नो सेनाको मूल्य विघटनपछि कस्तो हुँदो रहेछ भन्ने कुरा प्रचण्ड–बाबुराम मण्डलीले दोस्रो संविधानसभाको निर्वाचनको परिणामले देखिसकेको छ । विपीले जनमुक्ति सेनालाई पुलिसमा रूपान्तरण गरेपछि दुई तिहाई बहुमत मेजरको एउटा पेस्तोलको सामुन्ने जसरी निरीह बनेको थियो भन्ने कुरा नेपालको राजनीतिमा विशेष मननीय रहेको छ । नेपालमा १६ बुँदे तमसुकमार्फत् प्रतिगमन संस्थागत भएको छ । यसले क्रान्ति, आदर्श र किसान मजदुरवर्गको धरातल बिर्सिएर साइँलो काङ्ग्रेस हुने प्रचण्ड–बाबुराम मण्डलीको धोको परिणामतः पूरा भएको छ । नेपालमा सैद्धान्तिक दृष्टिले सर्वहारावर्गका अधिनायकत्व, वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्षजस्ता माक्र्सवादी मान्यताबाट च्यूत कम्युनिस्टहरू अन्ततः काङ्ग्रेसको ‘प्रजातान्त्रिक समाजवाद’ वरिपरि पुगेका छन् तर पनि नेपाली जनतालाई के कुरामा ढुक्क छन् भने माओवादी आन्दोलनमा आएको भयानक विचलनले क्रान्तिको मामिलामा तात्विक असर पु¥याउनेछैन र पु¥याउनु पनि हुँदैन । पात्र, प्रवृत्ति र जीवनपद्धतिमा अक्सर दक्षिणपन्थी प्रतिनिधि छन्, तिनको गाईजात्रालाई क्रान्तिको तरिकासँग जोड्नु जरुरी छैन ।
अपितु, क्रान्तिलाई क्रान्तिकारी दस्तावेजबाट झुपडी र आम किसान–मजदुरसम्म पु¥याउन त्याग, बलिदान र सङ्घर्षको नयाँ अध्याय प्रारम्भ हुनुको विकल्प छैन । यो निर्विकल्प दायित्व नेपाल कम्युनिस्ट पार्टी माओवादीमा आएको छ । यो कुरा पनि यहाँ विशेष स्मरणीय छ कि एमाओवादी नेतृत्वले प्रतिरोधात्मक होइन, प्रतिरक्षात्मक योजना निर्माण गरेकैले दक्षिणपन्थी छनौट प्रतियोगिता शानदार सफल भएको छ । अब यो अध्याय पनि समाप्त भइसकेको छ । हामीलाई के लाग्छ भने अहिले ज्यानप्रेमी होइन, जोखिमप्रेमी नेतृत्वको आवश्यकता छ, जसले क्रान्तिको जहाजलाई हजारौँ समुद्री ज्वारभाटाहरूबाट जोगाएर विजयको शिखर चुमाउने साहस गरोस् । २०५२ मा व्यक्त गरेको प्रतिबद्धता, १० वर्र्षको जनयुद्ध, २०६२÷०६३ जनआन्दोलन, महान् सहिदहरूको सपना, घाइते र बेपत्ता योद्धाहरूको परिवारको आकाङ्क्षाको धुलीसातीकरण, अवलम्बन गरेको गलत कार्यदिशा, पार्टी विभाजनको गम्भीर असर र २०७० को कथित संविधानसभाको यो परिणामसम्मले एमाओवादीलाई गम्भीर बनाएको देखिएन । ऊ निरन्तर गलत कार्यदिशामा गएको देखियो । माओले भनेकै थिए नि ! गलत कार्यदिशा भएपछि सबै कुरा गुम्छन् । अहिले एमाओवादीको अवस्था यही हो । १६ बुँदे तमसुक त्यसैको पछिल्लो कडी हो । त्यसैले त कुनै बेला प्रचण्डलाई सबैले आशा र भरोसाको आँखाले हेर्दथे तर अब बिल्कुल त्यो अवस्था रहेन ।
क्रान्तिका लागि क्रान्तिकारी पार्टीको आवश्यकता पर्छ र यसको मूल आधार भनेको क्रान्तिकारी विचार र क्रान्तिकारी कार्यदिशा हो । पार्टीलाई विचारधारात्मक र सङ्गठनात्मक दृष्टिले एकताबद्ध र लौह अनुशासनयुक्त बनाइराख्न आवश्यक छ । मालेमावादी सिद्धान्त र व्यवहारले लैस भएका कार्यकर्ताहरूको विशाल पङ्क्तिले मात्र क्रान्तिकारी कार्यभार पूरा गर्न सक्तछ । लेनिनले भने झैँ क्रान्ति क्रान्तिकारी सिद्धान्तद्वारा मात्र क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन, क्रान्तिलाई अगाडि बढाउने माध्यमका रूपमा रहेका पार्टीका सिद्धान्तनिष्ठ कार्यकर्ताहरूको आवश्यकता हुन्छ । युगको सबैभन्दा निर्मम सत्यलाई अँगाल्नु क्रान्तिकारीहरूको दायित्व हो । विश्व सर्वहारावर्गले साम्राज्यवाद र प्रतिक्रियावादको विरुद्ध सङ्घर्षमा ठुलठुला विजय हासिल गरेका छन् । प्रतिगामी शक्तिहरूको जघन्य अपराध र पैशाचिक बर्बरताले क्रान्तिकारी वर्ग सङ्घर्षलाई कहिल्यै खत्तम पार्न सक्तैन । जहाँ थिचोमिचो हुन्छ, त्यहाँ क्रान्ति हुन्छ । नेपालमा थिचोमिचो असाध्यै बढेको छ र त यहाँ क्रान्ति पनि अनिवार्य छ । निश्चय पनि १६ बुँदे सहमतिपछि नेपाली राजनीतिले अर्को कोर्स लिएको छ र क्रान्तिकारीहरूका निम्ति चुनौतीहरू थपिएका छन् । जसले चुनौतीहरूको सामना गर्ने साहस गर्छ, उसले मात्र क्रान्तिलाई अगाडि बढाउन सक्छ । जसले मृत्युमाथि विजय पाउने साहस गर्छ, उसले मात्र संसारलाई जित्न सक्छ ।
अहिले नेपालमा दक्षिणपन्थी हावा जोडतोडले बगेको छ, अवसरवाद त्यही हिसाबले फैलिरहेको छ । महाविपत्तिहरूको सामना गर्दै अगाडि बढ्नुको विकल्प छैन । क्रान्तिकारीहरूमा अथक, अविरल र अनिश्चल यात्राको दृढ सङ्कल्प भइरहन आवश्यक छ । सङ्घर्ष, त्याग र बलिदान भन्ने कुरा क्रान्तिकारीहरूका निम्ति आधारभूत कुरा हुन् । १६ बुँदे तमसुक गरिब किसान–मजदुरहरूलाई सत्ताको मालिक बनाउन गरिएको जनयुद्ध र यसले देखेको सपनाको विभत्सीकरण हो । माओवादीको ठूलो त्याग, समर्पण र बलिदानलाई पुरानो सत्ताले वैधानिक तबरबाटै ध्वस्त बनाएको छ ।

Sunday, June 14, 2015

लिपुलेक बारे - १


के हो लिपुलेक र कालापानीको विवाद ? (ऐतिहासिक तथ्य र नक्सासहित)

कालापानीमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन न एमालेले पहल ग¥यो न माओवादीहरुले नै

Lipulek_kalapani
एकासमय इतिहासमा कालापानी विवादले नेपाली राजनीति निकै तात्यो । अहिलेका गृहमन्त्री वामदेव गौतम नेतृत्वको नेकपा मालेका लागि कालापानीको विषय सबैभन्दा मुख्य राजनीतिक ऐजण्डा बन्यो । तर इतिहासको गर्भमा कालापानी हाम्रो हो भन्ने बहस हरायो । कालापानीलाई नेपाली राष्ट्रियताका् सिम्बोलका रुपमा लिएर राजनीति गर्नेहरु सत्तामा पुगे । कालापानीमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन न एमालेले पहल ग¥यो न माओवादीहरुले नै उनीहरुका लागि कालापानी काला बादलभित्र हराएझैं भयो । तर घटनाक्रमले फेरी कालापानीलाई बहसमा ल्याएको छ । भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाकाका रुपमा विकास गर्ने सम्झौता भएपछि लिपुलेक अर्थात् कालापानी क्षेत्रका बारेमा फेरी बहस शुरु भएको छ । त्यसैले नेपालको माया हुने हरेकले कालापानी, लिम्पियुधरा र लिपुलेकसँग सम्बन्धित तथ्यहरु बुझ्नैपर्ने हुन्छ । के हो त लिपुलेक र कालापानीको विवाद ? किन हो हाम्रो क्षेत्र ? पढ्नुस् डा. सुरेन्द्र केसीको खोजमूलक लेख ।
मुलुकको चौहद्धि, सन्धि सर्पण र ऐतिहासिक घटना कहाँ कसरी घटित भएका हुन् र कुन घटना र निर्णयको कहाँ कस्तो सरोकार रहेको छ भन्ने विषयमा सही दृष्टिकोण र विश्लेषणको अभावले गर्दा कालापानी विवाद नेपाल भारत सम्बन्धमा अहम् प्रश्नको रूपमा रह्यो एवं आन्तरिक राजनीतिलाई पनि यसले अत्याधिक प्रभावित पार्यो । खासगरी कालापानी बाहेक नेपाल–भारत १७५० किलोमिटर लामो खुल्ला सीमानामा मेची नदी, रसियावाल खुर्दलोटन बाँध र लक्ष्मणपुर बाँध जस्ता एकपछि अर्को सीमा र सीमाक्षेत्रमा भारत सरकारद्वारा एकतर्फी रूपमा भए गरेका अतिक्रमण र क्रियाकलाप एवं नेपालको सार्वभौमिकता, पानी सम्बन्धी तल्लो तटिय पूर्वाधिकार प्राप्त मुलुकले गर्नुपर्ने आचरण र सीमा सम्बन्धी अन्य अन्तर्रा्ष्ट्रिय मान्यता र परम्पारको बारम्बार उपेक्षा हुने गरेको सन्दर्भमा पनि कालापानी विवादको ऐतिहासिकता र विवादका मूलभूत विषयमा चर्चा गर्नु आवश्यक छ।
यो आलेख महाकाली अञ्चलको दार्चुला जिल्ला व्यास गाउँ विकास समिति–१ मा पर्ने कालापानी जसलाई टिंकर भञ्ज्याङ पनि भनिन्छ सँग सम्बन्धित छ । यो भञ्ज्याङ उक्त गाविसको पश्चिमोत्तर क्षेत्रमा १९६ वर्ग्किलोमिटर (१६,९०० हेक्टर) भूभागमा फैलिएको छ । यसको ऐतिहासिकता सुगौली सन्धिको समयसम्म जोडिन पुग्छ ।
सन् १९६२ देखि यस क्षेत्रमा भारतले सीमा रक्षक दल राख्न शुरू गर्यो । तर यसको जानकारी १९९० मा प्रजातन्त्रको पुनर्स्थापना पश्चात् मात्र प्रकाशमा आउन थाल्यो । के हो त कालापानी र लिपुलेकको ऐतिहासिक तथ्य । यहाँ हेर्नुहोस् ।

(१) ब्रिटिश रेसिडेन्ट र अन्य अधिकारीलाई दिइएको निर्देशन
(२) ऐतिहासिक एवं सरकारी कागजपत्रहरू
(३) विभिन्न नक्साको विश्लेषण, र
(४) नदीको मुहान निर्धारण सम्बन्धी जलविज्ञान सिद्धान्त
(१) ब्रिटिश रेसिडेन्ट र अन्य अधिकारीलाई दिइएको निर्देशनः

(१) ब्रिटिश रेसिडेन्ट र अन्य अधिकारीलाई दिइएको निर्देशन
सन् १८१७ फेब्रुअरी ४ मा कलकत्ताबाट सरकारका कार्यबाहक मुख्य सचिव जे. आदमद्वारा काठमाडौंमा ब्रिटिश रेसिडेन्ट एडवार्ड गार्डनरलाई लेखिएको एउटा पत्र प्रकाशित छ । उक्त पत्र आदमले नीज गार्डनरद्वारा गोग्रा नदीको पूर्वपट्टी देब्रे छेउमा अवस्थित एउटा गाउँका सम्बन्धमा उत्पन्न विवादका विषयमा लेखेका थिए । विवाद अनुसार उक्त गाउँ त्यस बखतसम्म कुमाउँ प्रान्त अन्तर्गत ब्रिटिश इण्डियाको मातहत रही आएकोमा अब आएर नेपालका चौतरिया बम शाहले आफ्नो भएको दावा प्रस्तुत गरे । पत्रमा के उल्लेख गरिएको छ भने काली नदीको पूर्वमा पर्ने व्यास प्रगन्ना अन्तर्गतको उक्त स्थान बस्तुतः ब्रिटिश इण्डियाको होइन । जे. आदमले काठमाडौंस्थित ब्रिटिश रेसिडेन्टलाई लेखेको सुगौली सन्धि अनुसार काली नदीको पूर्वमा पर्ने व्यास प्रगन्ना अन्तर्गतको त्यो ठाउँ बम शाहले दावी गरे अनुसार नेपालको ठहर्छ । उक्त पत्रमा के निर्देशन गरियो भने यस अघिसम्म विवादित क्षेत्र कुमाउँ अन्तर्गत भएपनि अब त्यसलाई नेपाल सरकारका अधिकारीहरूलाई सुपुर्द गरिदिनु । यसपत्रमा उल्लेख भए अनुसार कालीनदीको पूर्वमा पर्ने व्यास प्रगन्ना सुगौली सन्धि अनुसार नै पनि नेपालको थियो । तत्कालिन समयमा काली पूर्वको व्यास प्रगन्ना भन्नाले छाङरू, टिंकर, गुंजी, नावी, कुटी, धुलिगाढा आदि गाउँहरू सम्मिलित क्षेत्र भन्ने बुझिन्थ्यो ।

सन् १८१७ मार्च २२ मा जे. आदमले ब्रटिश भारतका गर्भनर जनरलको तर्फबाट कुमाउँका कार्यवाहक कमिश्नर जी. डब्लु. ट्रेललाई लेखेको पत्रको व्यहोराले पनि व्यास प्रगन्ना बारेमा केही स्पष्टोक्ति उल्लेख भएको पाइन्छ । पत्रमा कालीनदीको पूर्वमा अवस्थित प्रगन्ना व्यासका गाउँहरू र त्यहाँका भोटिया जमिन्दारहरूको निवेदन पत्रकाबारे उल्लेख गरिएको छ । मुख्यतः त्यसमा काली पूर्व पर्ने व्यास प्रगन्नाका सम्पूर्ण गाउँहरू पहिला कुमाउँ प्रान्त अन्तर्गत रहेका भए तापनि अब सन्धिअनुसार ती नेपालकै अभिन्न अंग भएको, कालीपूर्वको व्यास प्रगन्नाका भोटिया जमिन्दारहरूले यथावत रूपमा ब्रिटिश शासन अन्तर्गत नै रहन पाउने माग गरेको भए तापनि सुगौली सन्धि मुताविक उक्त प्रगन्ना नेपालकै पर्ने हुँदा सरकारले केही पनि गर्न नसक्ने उल्लेख हुनुका साथै गभर्नर जनरल तत्काल उक्त क्षेत्र नेपाललाई नै हस्तान्तरण गर्ने कार्यबाही चलाउन प्रतिबद्ध भएको उल्लेख छ । यसरी यी दुवै पत्रहरूका आधारमा कालीपूर्वको व्यास प्रगन्ना नेपालकै हो भन्ने ठहर्छ ।
(२) ऐतिहासिक एवं सरकारी कागजपत्रहरू्ः
कालापानी सम्बन्धी विवाद नेपाल भारत सम्बन्धको इतिहासमा धेरैपछि मात्र प्रकट भएको विषय हो । पंचायतकालमा भारतसँग “अनावश्यक” उलझनमा नफस्ने दृष्टिकोणले गर्दा यो विषयलाई त्यति महत्व दिइएन । तर २०४७ सालपछि उत्पन्न खुल्ला परिवेशको सन्दर्भमा विभिन्न तहबाट यसको वास्तविकता बाहिर ल्याउने क्रमको थालनी भयो । तापनि विस्तृत रूपमा यस सम्बन्धी विवादलाई निक्र्यौल गर्न ऐतिहासिक विश्लेषण अहिले पनि हुन सकिरहेको छैन । यद्यपि प्रमाणका आधारमा यो नेपालको हो भन्ने प्रष्ट भइसकेको छ । ब्रिटिश–भारत सरकारका आधिकारिक पत्राचार बाहेक कतिपय भारतीय र यूरोपिय लेखकहरूले पनि कालापानी क्षेत्रलाई स्पष्टतः नेपाली भूमिभित्र पर्ने उल्लेख गरेका छन् । योगी नरहरिनाथद्वारा सम्पादित “सन्धिपत्र संग्रह” मा “१२ व्यास १४ चौदाँसका तिंगर छाड्डहरू २ गाउँलाई सूचना १८७४” शीर्षकको सामग्री प्रकाशित गरेका छन् । योगीले प्रकाशित गरेको उक्त सामाग्रीले पनि विवादित क्षेत्रहरू स्पष्टतः नेपाली भूभाग रहेको जनाउँछन् । त्यसैगरी हालसालै वैतडी मालमा प्राप्त तिरो तिर्ने सम्बन्धी एउटा पत्रले वि.सं. १९९७ सालसम्म नै छाङरू, टिंकर, बुदी, गुंजी, गर्व्याङ र नख्याल गाउँको तिरो सोही मालमा बुझाइन्थ्यो भन्ने स्पष्ट पार्दछ ।

(३) विभिन्न नक्साको विश्लेषणः 
कालापानीको विवाद मूलतः कालीनदीको उद्गम स्थल र वास्तविक कालीनदीको पहिचानसँग गाँसिएको विवाद हो । त्यसो भएपपछि कालापानी क्षेत्र महाकाली पश्चिम अवस्थित रहन पुग्ने हो वा पूर्व भन्ने स्थिति स्वतः स्पष्ट हुन जान्छ । अर्थात् पश्चिमसिद्ध भए त्यो स्वतः भारताधीन हुन जाने र पूर्व ठहरे नेपाली सम्प्रभूता अन्तर्गत हुन जाने स्थिति रहेको छ । यस सन्दर्भमा प्राप्त नक्साहरूले दिने तथ्यले पनि उपर्युक्त विवाद खुट्याउन सहज हुनेछ । जहाँसम्म नक्साको प्रश्न छ– यो क्षेत्र उल्लेख भएका कम्तीमा १० पुराना नक्साहरू प्राप्त छन् । ती नक्साहरू ई. १८३०, १८३४, १८३५, १८४१ र १८४६ मा विभिन्न संस्थाहरूबाट प्रकाशित भएका हुन् । यसमध्ये १८३४ ई. को नक्सा जर्मनीबाट र अन्य नक्सा भारत र बेलायतस्थित तत्कालिन समयका प्रसिद्ध प्रकाशकहरूले प्रकाशन गरेका हुन् । यी सबै नक्साहरूले समानरूपमा लिम्पिया धुराबाट निक्लने नदीलाई नै वास्तविक कालीनदी भनि उल्लेख गरेका छन् ।

सुगौली सन्धिको ४० वर्षपछि सम्म सबै ब्रिटिश भारतीय नक्साहरूले अन्य नदीहरूलाई काली नदी भनेको पाइँदैन । तर तिनले काली (महाकाली) नदीलाई त्यो नामबाट नभई घाग्रा, गोग्रा वा सर्जुनदी आदिको नामबाट उल्लेख गरेका छन् । ती नक्साहरू ब्रिटिश भारत सरकारद्वारा निर्मित नक्साको आधारमा तयार पारिएका हुन्। ई. १८५० र १८५६ मा प्रकाशित भएका नक्साहरूमा लिम्पियाधुराको पुरानो स्वरूपमा केही परिवर्तन आउन थालेको आभाष देखा परेको छ । तथापि पूर्ववर्ती नक्साको मूल मान्यतालाई यी नक्साले परिवर्तन नै भने गरेका छैनन् । त्यसमा पनि ई. १८५६ को नक्साको महत्व र आधिकारीकता यस अर्थमा पनि छ कि यो नक्सा ब्रिटिश–भारत सरकारका तर्फबाट त्यस क्षेत्रको सीमांकनका सन्दर्भमा जारी प्रथम आधिकारीक नक्सा थियो। “Nipal an countries Adjoining with South, West an East” नाम दिइएको यस नक्सामा उल्लेख गरिएको छ कि– Jung Bahadur’s Nipal foreign department  sent to there to by Resident of Nepal. यस नक्साले नै पहिलोपल्ट आधिकारीक रूपमा लिम्पियाधुरा नजिकबाट निस्केको नदीलाई नै Kalee River  भनेर नामांकन गर्यो र यही नदीलाई नक्साको दक्षिणमा पुगेपछि Kalee, Surjoo,  Ghagra  नदी भनियो । वास्तवमा यस नदीलाई गोग्रा, घाग्रा, सर्जु वा काली जे सम्बोधन गरेपनि सुगौली सन्धि अघिसम्म लिम्पियाधुराबाट निस्कने नदीनै महाकाली नदी थियो र यस सम्बन्धमा कुनै प्रकारको दुविधा वा वादविवाद थिएन ।
ई. १८५६ को नक्सापछि प्रकाशित अन्य केही नक्साहरूमा नाम परिवर्तनको क्रम देखिएको छ । जसलाई नक्साको आधारमा मूलतः दुई चरणबाट स्पष्ट पार्न सकिन्छ । पहिलो ई. १८५०–१८८१ को चरणमा प्रकाशित नक्साहरू र अर्को त्यस पछिका सम्पूर्ण नक्साहरू । पहिलो चरणमा ४ वटा नक्सा राखिएका छन्।
१. ई. १८६५–१८६९ र १८७१–१८७७ गरी दुई चरणमा सर्भे गरी तयार पारिएको District almora  नामक नक्सा
२. ई. १८७८ मा तयार पारी प्रकाशमा ल्याइएकोSketch of Western Nepal नामक नक्सा ।
३. ई. १८७९ मा प्रकाशित Nepal almora District United Province  नामक नक्सा ।
४. ई. १८८१ मा प्रकाशितNepal–Tibet and United Province नामक नक्सा

यस अवधिमा सुगौली सन्धिले ठम्याएको कालीनदीको नाम र साविकको वास्तविक नदीको मुहान बदलियो एवं पुरानो नदीको स्थानमा अर्को नदीलाई कालीनदी नामाकरण गरियो । सुगौली सन्धि ताका र त्यसपछि पनि लामो समयसम्म वास्तविक कालीनदी र त्यसको मुहानबारे सम्पूर्ण जसो आधिकारीक भारतीय नक्साहरूले लिम्पियाधुराबाट निवृत्त नदी नै मूलतः कालीनदी मानि आएता पनि सन् १८५६ देखि सन् १८८१ सम्मका कतिपय आधिकारिक नक्साहरूमा साविकको कालीनदीको नाम परिवर्तन गरिएको छ ।
यसरी ती नक्सामा नदीको सीमालाई जमिनमा सार्ने प्रयत्न गरिएको छ । यस चरणमा प्रकाशित नक्सामा सुगौली सन्धिपछि पहिलोपटक त्यस पूर्व त्यति महत्वपूर्ण नठानिएको लिपु खोलालाई “कालीनदी” नामाकवरण गरियो । यसरी ब्रिटिश–भारत सरकारले नक्सामार्फत सीमा नदीको रूपमा रहेको साविकको काली नदीलाई नै लिपु खोलामा सार्दा बीचको नेपाली भूमि स्वतः भारतीय भूभागमा गाभिने अवस्थाको सिर्जना भयो । नक्सामा भएको परिवर्तनले नेपाली भूमि भारतमा पार्ने प्रक्रियाको शुरूआत ई. १८६५–१८६९ र १८७१ –१८७७ को सर्भेपछि तयार पारिएका नक्सा मार्फत भयो । ई. १८७९ को नक्सा त्यसैक्रमलाई अघि बढाउने क्रममा तयार पारियो भन्ने बलियो आधार रहेको अनुमान हुन्छ । यसप्रकार नाम फेर्ने कार्य सम्पूर्ण नक्सामा नभई केहीमा मात्र भएको देखिन्छ । ई. १८७८ को नक्सा त्यसको दृष्टान्त हो । तर ई. १८८१ को नक्सामा लिपुखोलालाई यस नामबाट सम्बोधन नगरिए तापनि अर्को नाम पनि दिइएको छैन । ई. १८८१ पछि तयार भै प्रकाशित नक्साहरूमा भने पश्चिमी सीमा कालीनदीको नाम बदली लिपुखोलालाई काली नदी तोकेर प्रकाशित भयो।
यसरी साविक सीमालाई फेरिबदल गर्दै तयार भएका नक्साहरूमा ई. १९३०–३१ को भारतीय नक्सा, ई. १९५४ को अमेरिकी नक्सा र १९३६ को रूसी नक्सा महत्वपूर्ण छन् । तर अर्को महत्वपूर्ण कुरा यो छ कि श्री ५ को सरकारको वि.सं. २०३२ को नक्सा र नेपाल र चीनले १९६९ मा तयार पारेको नक्सामा समेत लिपुखोलालाई नै महाकाली भनिएको छ । यी नक्साहरू नै यस्ता हुन् जसले एकपछि अर्को लिम्पियाधुराबाट निस्केको नदीलाई कुटी याङदी र लिपुलेकबाट निक्लेको नदीलाई कालीनदी नामांकृत गरे ।
(४) नदीको मुहान निर्धारण सम्बन्धी जलविज्ञान सिद्धान्त
यस सम्बन्धमा नदीको मुहान छुट्याउने वा निर्धारण गर्ने सम्बन्धी जलविज्ञान सिद्धान्तको पनि उल्लेख हुनु जरूरी छ । नदी प्रणालीमा कुन नदी मूल हो भन्ने निश्चय गर्ने मुख्य आधार जलविज्ञानको सिद्धान्त नै हो । जसले नदीको लम्बाई, जलाधार क्षेत्र, औसत पानीको बहावको मात्रा र नदी क्रमांक जस्ता जलविज्ञान सम्बन्धी मापदण्डका आधारमा मूल नदी र नदीको उद्गम स्थल किटान गर्न सकिन्छ । यस अनुसार मुख्य नदीको लम्बाई सहायक नदीको लम्बाईभन्दा बढी हुन्छ । त्यसैगरी मुख्य नदीको जलाधार क्षेत्र सहायक नदीको जलाधार क्षेत्रभन्दा विस्तृत हुन्छ ।

कुनै खास भौगोलिक अवस्थामा बाहेक मुख्य नदीको नदी क्रमांक सहायक नदीको भन्दा बढी हुन्छ । दुई नदीमध्ये जुन नदीमा औसत पानीको बहाव बढी हुन्छ त्यसलाई नै मुख्य नदी मानिन्छ । जहाँसम्म नदी क्रमांकको कुरा छ सो गर्दा पनि जलविद्युतीय सिद्धान्त कालीनदी खुट्याउने आधार बन्न सक्छ । त्यसो गर्दा कुनै विन्दुबाट नदीको लम्बाई लिंदा उक्त विन्दुबाट नदीको बीच धाराबाट त्यसको मुहानसम्म नाप लिनु पर्छ । पानी ढलो अर्थात् जुन जुन क्षेत्रबाट पानी मिसिन जान्छ ती जमिन नदीको जलाधार क्षेत्रभित्र पर्न जान्छ । त्यसक्रममा पामनीको स्रोतले मुहानबाट निस्केपछि जब खोलाको रूप लिन्छ त्यसैबाट नदी क्रमांक शुरू हुन्छ । अन्ततः मुख्य नदीको नदीव क्रमांक सहायक नदीको भन्दा बढी हुँदै जान्छ ।
तद्नरूप यस सिद्धान्तबाट हेरिंदा एक भन्दा बढी उद्गम स्थलयुक्त काली नदीको मुहान लिम्पियाधुरा नै हो । जसको क्रमागत स्थिति लासारपांकी टिंकर भन्ज्याङ लिम्पियाधुरा कायम हुन आउँछ । महाकालीको उद्गम स्थल क्षेत्रको लासारपांकीबाट बगेर आउने खोला धौली गंगानदी र लिम्पियाधुराबाट बगेर आउने नदी काली नदी हुन । यीमध्ये ४२ प्रतिशत भूभाग लासारपांकी तर्फबाट आउने नदीले र ५८ प्रतिशत भूभाग लिम्पियाधुराबाट आउने नदीले ओगटेको जलाधार क्षेत्रको हिसाबले र औसत पानीको हिसाबले पनि लिम्पियाधुरातर्फबाट आउने नदीनै काली नदी प्रमाणित हुन जान्छ ।
यसरी नै महाकाली उद्गम क्षेत्रको उत्तरतर्फ पर्ने सम्पूर्ण जलाधार क्षेत्रको २५ प्रतिशत भूभाग लिपुखोलाको जलाधार क्षेत्रभित्र पर्दछ भने बाँकी ७५ प्रशित भूभाग लिम्पियाधुरामा पर्दछ। यी दुवै स्थितिको समग्र अध्ययनको निष्कर्ष यो हुन्छ कि लिम्पियाधुरा तर्फबाट निस्कने खोला नै काली नदी हुनुमा बलियो सम्भावना छ । कुटियाङदी खोलाको लिम्पियाधुरा मुहान नै काली नदीको उद्गम स्थल हो। यस स्थितिमा लिम्पियाधुराभन्दा ६ किलोमिटर उत्तरतिर अवस्थित लिपुलेक महाकालीको उद्गमस्थल हो भन्ने प्रश्न नै उठ्दैन ।
(कालापानी आन्दोलनका क्रममा बिभिन्न माध्यममा प्रकाशित यो लेख अहिले पनि सान्दर्भिक ठानी यहाँ पोष्ट गरिएको हो ।)
२४ जेठ २०७२ ६:१०:५४     
http://www.everestdainik.com बाट साभार 

Friday, June 12, 2015

दरबार हत्याकान्डको १४ वर्ष : अझै बिर्सन नसकिने १० तथ्य

hatya
आज जेठ १९ गते। १४ वर्षअघि आजैका दिन नारायणहिटी दरबारमा गोली चलेको थियो र तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो। यो हत्याकान्डका बिर्सनै नसकिने र हालसम्म अनुत्तरित १० विषयको संगालो पुराना ब्लगहरुबाट यहाँ राख्दैछु।

१) निरीह गिरिजा र नखुलेको ग्रायन्ड डिजाइन
शवयात्राका क्रममा जनताको ढुंगामुढा सहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि देशवासीका नाममा एउटा वक्तव्य दिएका थिए। वक्तव्य सार्‍है निरीह किसिमको थियो। घटना कसरी भएको थियो भन्ने बारेमा कुनै पनि जानकारी त्यसमा छैन।संवैधानिक राजतन्त्र भए पछि राजाले गर्ने सबै काम प्रधानमन्त्रीको सल्लाह सुझावमा गर्नुपर्ने भए पनि राजदरबारभित्र भएको त्यस्तो ठूलो घटनाको छानबिन गरिने प्रतिवद्धतासम्म त्यसमा देखाइएको छैन। बरु भनिएको छ- यथार्थ परिस्थिति र घटनाको सत्य-तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वास छ। मानौँ, सत्यतथ्य नखोजीकन आफै प्रकट हुनेछ।
पछि उनले पटक पटक ग्रान्ड डिजाइन खोल्दिन्छु भन्दै भाषण गरे। तर नखोलेरै बिते।

२) गोली चलेको सुन्दा एडिसीहरु के गरिरहेका थिए ? 
युवराज दीपेन्द्रले मात्र गोली हानी सबैको हत्या गरेका हुन् भने राजपरिवारका एडीसीहरू त्यसबखत कहाँ थिए र के गरिरहेका थिए, डा. शाहीका अनुसार उनले नै एडीसीहरूलाई एम्बुलेन्स र डाक्टर ल्याउन खबर गरेका थिए र त्यसपछि एडीसीहरू उनीहरूलाई ‘बन्द गरिएको’ कोठाको झयालको ऐना फोरेर बाहिर आउन सक्ने तालिम प्राप्त एडीसीहरू गोली चलेको सुन्नासाथ चाहिं किन बाहिर आएनन् – उनीहरू बन्द कोठामा थिए भने कोठा बन्द गर्दा नै किन प्रतिवाद गरेनन् ? हत्याकाण्ड भएको लगत्तै भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीले यो हत्याकाण्ड षड्यन्त्र होइन भनी किटानीसाथ बोले। साथै भारतीय गृहमन्त्रीले पनि जेठ २७ गते त्यही कुरा दोहोर्याए। प्रधानमन्त्री र गृहराज्यमन्त्री दुवैले यस अवस्थामा नेपालमा राजनीतिक स्थिरताको आवश्यकता छ र त्यसको लागि जुनसुकै हदको सहयोग गर्न पनि भारत तयार रहेको बताए। भारतीय शासकहरूको यो अभिव्यक्तिले के जनाउ“छ ?
(राजदरबार हत्याकाण्डको बारेमा छानविन समिति गठन भएको सर्न्दर्भमा एकता केन्द्रले एक वक्तव्य प्रकाशित गरी सार्वजनिक गर्न माग गरेका प्रश्नहरुबाट। यी प्रश्नहरु आजसम्म पनि अनुत्तरित रहेका छन्। थप प्रश्न थाहा पाउन क्लिक गर्नुस्)

३) डा. पाण्डेसित अरुण सायमिको प्रश्न 
मेरो मनमा उठिराखेको तेस्रो प्रश्न म शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेसँग राख्न चाहन्छु। शाही हृदय चिकित्सक डा. मृगेन्द्रराज पाण्डेको यस प्रसंगमा विशेष महत्त्व छ। उहाँ शाही चिकित्सक मात्र नभएर राजपरिषद्को सदस्य पनि हुनुहुन्छ। सुन्दछु, घाइतेहरूले वीरेन्द्र सैनिक अस्पतालमा ल्याउनासाथ यो हत्या कसले गरेको भनेर चिकित्सकहरूलाई बताइसकेका थिए। जुन बिरामी जीवन र मरणको दोसाँधमा हुन्छ उसले झुटो कुरा कहिल्यै बोल्दैन। एउटा चिकित्सकका अनुसार सायद डाक्टर मृगेन्द्रराज पाण्डेले पनि हत्या कसले गरेको भनेर सुरुमै थाहा पाइसक्नुभएको थियो। यदि हत्या श्री ५ दीपेन्द्रले गरेको भए राजपरिषद्ले हत्यारालाई किन राजा घोषणा गर्नुपर्यो ? चिकित्सक टोलीमा पनि सम्मिलित र राजपरिषद्का पनि सदस्य डा. पाण्डेले हत्यारालाई राजा बनाउँदा किन विरोध गर्नुभएन ? (चिकित्सक अरुण सायमिले हत्यकान्डबारे गरेको प्रश्न। विस्तृत पढ्न यहाँ क्लिक गर्नुस्)

४) प्रतिवेदनमा शंका
घटनाको छानबिन गर्न तत्कालीन प्रधान न्यायाधीश र सभामुखको दुई सदस्यीय उच्चस्तरीय समिति बनाइयो। प्रतिवेदन भन्छ, युवराज दीपेन्द्र आफैँले कन्चटमा पेस्तोल हिर्काएर पुल छेउतिर अचेतावस्थामा लडिबक्सेको थियो।

तर प्रश्न उठेको छ, आफैँले हतियार प्रयोग गरी आफैँ अचेत भएको व्यक्तिको हातबाट पेस्तोल फुत्केर कसरी पोखरीमा पुग्यो ? त्यस्तै घटनास्थलबाट जुन ढंगले सबुत प्रमाण- बन्दुक, गोली, पोशाकहरू ल्याइयो, त्यसमा पनि अपराधशास्त्रीहरूको आपत्ति छ। नेपाल ल क्याम्पसमा अपराधशास्त्रको समेत अध्यापन गर्दै आउनुभएका अधिवक्ता सुशील पन्त भन्नुहुन्छ, ‘घटनास्थलका सबुत प्रमाण नियन्त्रणमा लिँदा, अपराधीले छाडेको निशानाहरू नष्ट नहुन् भनेर हातमा पञ्जा लगाएर प्लाष्टिकले टिप्ने गरिन्छ र पारदर्शी प्लाष्टिकभित्र त्यसलाई सुरक्षित गरी राखिन्छ। तर प्रतिवेदन सार्वजनिक गर्ने दिन सभामुख तारानाथ रानाभाटले हरेक हतियार आफैँले प्रदर्शन गरेर देखाइदिनुभयो।’ यसलाई पनि शंकाले किन हेरिएको छ भने, यदि सबुत प्रमाणहरूले यसपूर्व दोषीको आरोप लाग्दै आएका दीपेन्द्रलाई नै पुष्टि गरेको भए त्यसरी प्रमाण मेटिने र नासिने गरी त्यस्तो उच्च समितिले काम कारवाही गर्नु उचित हुन्थेन। 
रानाभाटले दीपेन्द्रले चलाएको भनिएको हतियार देखाउँदै त्यसलाई आफ्नै हातमा लिएर पत्रकारहरुतर्फ सोझ्याउँदै भनेका थिए- हान्दिम् ?

माथिका अंश असार ३, २०५८ मा देशान्तरमा छापिएको समाचारबाट सारिएको हो। पूरा पढ्न यहाँ क्लिक गर्नुस्। यसमा राजदरबार हत्याकाण्डको प्रतिवेदनका सम्बन्धमा गहकिला प्रश्नहरु उठाइएका छन्।
५) चक्र बाँस्तोलाको षड्यन्त्र सिद्धान्त
बजारमा बेच्नलाई राखेको उपन्यासका पात्रले त्यस्तो भनेको भए लौ त भन्नुहुन्थ्यो। तर अहँ, यो कुरा पूर्वमन्त्रीले भनेका हुन्। चक्रप्रसाद बाँस्तोला- जो दरबार हत्याकान्ड हुँदा परराष्ट्र मन्त्री थिए। एक जमानामा उनी भारतका लागि नेपालका राजदूतसमेत थिए। बाँस्तोलाले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औँ दिनको पुण्यतिथिमा नागरिक दैनिकले निकालेको विशेषाङ्कमा भनेका छन् – राजदरबार हत्याकाण्ड भएको बेला म गिरिजाबाबुको मन्त्रिमण्डलमा परराष्ट्र मन्त्री थिएँ। त्यो राजदरबार हत्याकाण्डमा गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ भन्ने निष्कर्षमा म पुगेको छु। त्यो भोजमा गिरिजाबाबुलाई पनि बोलाउने प्रस्ताव आएको रहेछ। राजाले ‘फेमिली म्याटर’मा नबोलाऔं। पछि परे बोलाऔंला’ भनेका रहेछन्। अर्को कुरा शवयात्रामा जाँदा शोभा भगवतीमा हामीमाथि ढुंगामुढा भयो। हामी भागेर हिँड्यौं। त्यहाँ ‘फायरिङ’ पनि भएको थियो, गिरिजाबाबुको गाडीमा। यसले के प्रश्न उठाउँछ भने राजदरबार हत्याकाण्डमा ठूलै मञ्चन भएको रहेछ। शाही सदस्यको हत्या गर्नेमात्रै होइन, गिरिजाबाबुलाई समेत मार्ने षड्यन्त्र भएको रहेछ।

त्यसको पछाडि को होला?
राजनीतिले गडफिलिङ भन्छ, सामाजिक अनुसन्धानमा ‘र्‍यासनल’ चाहिन्छ। मलाई चाहिँ के लाग्छ भने यो भारतीय र अमेरिकीहरूको संयुक्त योजना हो। किनभने, नेपालमा भारतीय संलग्न नभई केही गर्नै सकिँदैन। र, अमेरिका यति ठूलो विश्वशक्ति छ, उसको जानकारीविना केही हुँदैन। त्यसकारण दुवै संलग्न छन्। थप पढ्नुस्
६) त्यो घटनामा कुनै षड्यन्त्र थिएनः डा. उपेन्द्र देवकोटा
१९ जेठ शुक्रबारको राति १० बजेतिर रातो बत्ती पिलिक पिलिक बाल्दै सनसनाएर आएको सेनाको एउटा जीप थापाथलीमा बागमतीको पुलनेर पुगेर नर्भिक (नर्सिङ होम) तिर मोडिन लाग्दा झण्डै दुईवटा मोटरकारसँग ठोक्किएको थियो। सैनिक पोशाकमा आएका एक शाही अङ्गरक्षक जीपबाट हुत्तिँदै निस्केर अस्पतालभित्र पसे र न्यूरोर्सजन डा. उपेन्द्र देवकोटालाई क्लिनिकबाट तानेर बाहिर निकाले। “युवराजलाई गोलीको चोट लागेको छ, हामी छाउनी जाँदैछौँ,” त्यत्तिकै अलमल्ल परेका डाक्टरलाई उनले भने। प्रतिघण्टा असी किलोमिटरसम्मको बेगमा हुइँकिएर थापाथलीबाट छाउनीसम्मको दूरी चार मिनेट पनि नलगाई तय गरेको त्यो जीपलाई बाटो खाली गरिदिन सडकमा हिँडिरहेका कार, मोटरसाईकल र बटुवाहरूलाई हम्मे-हम्मे परेको थियो। प्रस्तुत छ, वीर अस्पताल, न्यूरोर्सजरी विभागका प्रमुख डा. उपेन्द्र देवकोटाले त्यो रात सैनिक अस्पतालको ‘ट्रमा हल’ (गम्भीर चोटपटक लागेका बिरामीहरूलाई उपचार गर्ने कक्ष) मा देखेको अकल्पनीय दृश्य र त्यसपछिका तीन दिनमा गरेको मार्मिक अनुभवको विवरण, उनकै मुखबाटः उपेन्द्र पछि ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा मन्त्री बन्नुभएको थियो। पढ्न क्लिक गर्नुस्

७) दीपेन्द्रलाई राजा बनाउन खोज्दा राजपरिषद्‍मा विवाद
राजपरिषद् बैठकमा श्री ५ युवराजाधिराजलाई श्री ५ महाराजाधिराज घोषणा गर्नुअघि केही विवाद उत्पन्न भएको थियो। श्री ५ युवराजाधिराज दीपेन्द्रले नै गोली चलाएको भन्ने आधार के हो र यदि गोली चलाएकै हो भने मौसुफलाई कसरी श्री ५ महाराजाधिराज मान्ने भन्ने प्रश्न राजपरिषद्का सदस्यहरूले उठाएका थिए। त्यो दिन गोरखापत्रले छापेको समाचार यस्तो थियो। पढ्न क्लिक गर्नुस्।

८) स्वचालित हतियार आकस्मिक रुपमा पडकेर मरेका रे
अन्ततः शुक्रबार हत्याकाण्ड भए पनि आइतबार रातितिर बल्ल राज्य सहायक ज्ञानेन्द्रले देशवासीका नाममा सन्देश दिए। यो सन्देश सँधै विवादास्पद सन्देशका रुपमा नेपालको इतिहासमा दर्ता हुनेछ। किनभने त्यसमा दरबारमा भएको घटनाका बारेमा ज्यादै हलका रुपमा स्पष्टिकरण दिइएको छ। नागरिकको सूचना पाउने अधिकारलाई खिल्ली उडाउँदै त्यसमा भनिएको छ- आकस्मिक रुपमा स्वचालित हतियार पड्कन गई त्यसो भएको हो। दोष जति त हतियारलाई पो ! हतियार पडकिएर पो भएको रे। अर्थात् हतियारै दोषी। ज्ञानेन्द्रले २०५८ को जेठ २१ गते दिएको सन्देशको पूर्ण विवरण यस्तो छ।

९) राज्यारोहणबाटै विरोध सुरु, चारको मृत्यु, दर्जनौँ घाइते
जेठ २२ गतेका दिन तत्कालीन राजा दीपेन्द्रको निधनपछि ज्ञानेन्द्रको राज्यारोहण भएको थियो। तर त्यति सहज भने भएको थिएन राज्यारोहण। ठाउँठाउँमा उत्तेजक प्रदर्शन, चर्का नाराबाजीका कारण सेनाले बाटो खुलाउँदै राज्यारोहण स्थल हनुमान ढोकाको नासलचोकमा पुर्‍याएको थियो। अनि त्यहाँबाट पनि त्यसरी नै फर्काइएको थियो। सवारी अगाडि बढ्नासाथ राजधानीका आक्रोशित युवाहरूले हनुमान ढोका परिसरमै नारा लगाएका थिए। हनुमान ढोका क्षेत्रमा चौतर्फी सैनिक सतर्कताअघि बढाइएको र प्रहरीले जनतालाई त्यहाँ प्रवेश गर्न रोक लगाएको थियो। त्यति हुँदाहुँदै पनि सवारी अगाडि बढ्ने बित्तिकै नारा लागेको थियो। सवारीको पछिपछि नारा लगाउँदै युवाहरूको जमातअघि बढेको थियो। उनीहरूले खासगरी ज्ञानेन्द्र र उनका छोरा पारस विरोधी नारा लगाएका थिए। त्यसको लगत्तै नयाँ सडक गेट, वीर अस्पताल, रत्नपार्क, बागजार, दरबारमार्ग, पुतलीसडक, नयाँ बानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, चाबहिललगायतका स्थानमा आक्रोशित युवाहरूले विरोध प्रदर्शन गरेका थिए। त्यसैको फलस्वरूप अपरान्ह ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएर स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो। त्यति हुँदाहुँदै पनि नागरिकहरूले कर्फ्र्यूको अवज्ञा गरेका थिए। विभिन्न स्थानमा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिएको थियो। उक्त घटना क्रममा केही व्यक्तिहरूको ज्यानसमेत गएको थियो।त्यतिबेलाका पत्रिकामा चार जनाको मृत्षु भएको र दर्जनौँ घाइते भएको बताइएको छ। बिचराहरुको ज्यान यत्तिकै खेर गएको छ। त्यतिबेलाकान्तिपुरमा छापिएको समाचार पढ्नुस्

१०) मास्क लगाएकोले हत्या गर्न सक्दैन : विवेक शाह
घटना हुनुको पछाडि के के कारण हुनसक्छन् भन्ने विषयमा विस्तृत छानबिन हुनुपर्ने पूर्व सैनिक सचिव विवेक शाह बताउँछन् आफ्नो पुस्तकमा। यस्तै माग जनताले पनि अनि नेताहरुले पनि वर्षौँदेखि गर्दै आएका हुन्। देशीविदेशी शक्ति केन्द्रको, दीपेन्द्रलाई उकास्ने व्यक्ति, उनलाई लागू पदार्थको कुलतमा फँसाउने गिरोह आदिको अनुत्तरित प्रश्न खोज्नु पर्ने माग उनको पुस्तकमा छ। जनताको भने एउटा अर्को प्रश्न पनि छ- ज्ञानेन्द्रले आफ्नो शासनकालमा गोली चलेको त्रिभुवन सदन किन भत्काउन आदेश दिए ? किन घटनास्थल अहिले भग्नावशेषमा परिणत गराइयो ? पुस्तकमा यसको उत्तर छैन। बरु केही हल्लाको खण्डन गरिएका छन्। मास्क लगाएर अरु कसैले हत्या गरेको होला भन्ने आशंकालाई उनले खण्डन गर्दै दरबारमा कडा सुरक्षा हुने भएकोले (सैनिक सचिव भएकोले उनी सुरक्षाको जिम्मेवारी लिनुपर्ने मानिस हुन्) कोही बाहिरिया मानिस त्यहाँ त्यसरी मास्क लगाएर हतियार ल्याउनै नसक्ने तर्क गर्छन्। तर उनले दरबारभित्र युवराज र अरु राजपरिवारका सदस्यलाई लागू पदार्थ कसरी सप्लाइ हुँदो रहेछ भन्ने बारे केही बताउन सकेका छैनन्। लागू पदार्थ जस्तै हतियार आयो कि ? लागू पदार्थ भित्री मानिसले ल्याए सरह मास्क पनि दरबार भित्रैकाले लगाएर प्रयोग गर्न सक्छन् कि सक्दैनन्- यस्ता प्रश्नको जवाफ पुस्तकमा पाइँदैन।

http://www.mysansar.com बाट साभार 

===================================



शाहको पुस्तक ‘मैले देखेको दरबार’ र ‘भटट प्रतिवेदन’ उस्तै

दरबारमा दुई जना राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग निकट भई काम गरेका पूर्व सैनिक सचिव विवेक शाहको पुस्तक “मैले देखेको दरबार” अहिले चर्चामा छ। आम मानिसको चासो यसले हत्याकान्डका विषयमा केही नयाँ खुलासा गर्छ कि भन्ने हो। यदि त्यस्तै सोचेर किताब किन्नुभएको भए तपाईँलाई यो किन्न खर्चेको आफ्नो नौ सय रुप‍ैयाँको माया लाग्न सक्छ। किनभने हत्याकान्डका विषयमा यो पुस्तकको सार ‘भटट प्रतिवेदन’ अर्थात् ज्ञानेन्द्रले तत्कालीन प्रधानन्यायाधीश र सभामुखको सदस्यतामा बनाएको उच्चस्तरीय छानबिन प्रतिवेदनलाई सही प्रमाणित गर्नु मात्रै हो।

जेठ १९ को जुन रात दरबारमा गोली चल्दै थियो, त्यतिबेला लेखक शाह दरबारबाट निकै टाढा नयाँ बजारमा आफ्ना साथीहरुसँग रक्सी खाँदै थिए। पुस्तकको पेज १९ मा लेखिएको छ- ‘…हामी ड्रिङ्कस गरिरहेका थियौँ।’ रक्सी खाइरहेकै बेला दरबारबाट खोजी भयो भनी घरमा फोन आएपछि दरबारमा फोन गर्दा बल्ल उनले दरबारभित्र फायरिङ भयो रे भन्ने थाहा पाएका थिए। मृत्यु भएको कुरा त सैनिक अस्पताल, छाउनीमा शव देखेपछि मात्रै थाहा भएको रहेछ उनलाई। गोली चल्दा घटनास्थलबाट निकै टाढा ड्रिङ्कसमा मस्त व्यक्तिले हत्याकान्डका विषयमा कसरी नयाँ कुरा दिनसक्ने आशा गर्नुभएको तपाईँले ? 


यो आशा गर्नु नै बेकार छ। उनले हत्याकान्डका विषयमा जति कुरा थाहा पाए, ती सबै अरुका मुखबाट सुनेका हुन्। जुन कुरा तपाईँले पनि अहिलेसम्म सुन्दै आउनु भएको छ। भटट प्रतिवेदन (प्रतिवेदन सार्वजनिक गर्ने क्रममा आयोग सदस्य तारानाथ रानाभाटले भटट शब्द उच्चारण गर्दै हान्दिम भनी दीपेन्द्रले चलाएको भनिएको बन्दूक पत्रकारतिर तेर्स्याएको कारण यो कान्डलाई भटट कान्ड पनि भनिन्छ। रानाभाटको चर्तिकला हेर्ने भए यहाँ क्लिक गर्नुस्) मा प्रत्यक्षदर्शीहरुको बयानमा पनि त्यही कुरा छ।

शाहले पेज ५४ मा लेखेका छन्- घटनास्थलको वास्तविकता त्यही हो। अर्थात् भटट प्रतिवेदनले जस्तो देखाएको छ, त्यही हो। घटनाका बेला उनी प्रत्यक्षदर्शी नभएकोले घटना हुनुको कारण बारे उनले अनेक थरि अनुमान लगाएका छन्, जस्तो कि तपाईँले पनि लगाउनु हुन्छ। फरक यति हो, उनले दरबारलाई नजिकबाट देखेका कारण उनको अनुमान हाम्रो अनुमानभन्दा फरक हुनसक्छ।
घटना हुनुको पछाडि के के कारण हुनसक्छन् भन्ने विषयमा विस्तृत छानबिन हुनुपर्ने उनी बताउँछन् पुस्तकमा। यस्तै माग जनताले पनि अनि नेताहरुले पनि वर्षौँदेखि गर्दै आएका हुन्। देशीविदेशी शक्ति केन्द्रको, दीपेन्द्रलाई उकास्ने व्यक्ति, उनलाई लागू पदार्थको कुलतमा फँसाउने गिरोह आदिको अनुत्तरित प्रश्न खोज्नु पर्ने माग उनको पुस्तकमा छ। जनताको भने एउटा अर्को प्रश्न पनि छ- ज्ञानेन्द्रले आफ्नो शासनकालमा गोली चलेको त्रिभुवन सदन किन भत्काउन आदेश दिए ? किन घटनास्थल अहिले भग्नावशेषमा परिणत गराइयो ?
पुस्तकमा यसको उत्तर छैन। बरु केही हल्लाको खण्डन गरिएका छन्। मास्क लगाएर अरु कसैले हत्या गरेको होला भन्ने आशंकालाई उनले खण्डन गर्दै दरबारमा कडा सुरक्षा हुने भएकोले (सैनिक सचिव भएकोले उनी सुरक्षाको जिम्मेवारी लिनुपर्ने मानिस हुन्) कोही बाहिरिया मानिस त्यहाँ त्यसरी मास्क लगाएर हतियार ल्याउनै नसक्ने तर्क गर्छन्। तर उनले दरबारभित्र युवराज र अरु राजपरिवारका सदस्यलाई लागू पदार्थ कसरी सप्लाइ हुँदो रहेछ भन्ने बारे केही बताउन सकेका छैनन्। लागू पदार्थ जस्तै हतियार आयो कि ? लागू पदार्थ भित्री मानिसले ल्याए सरह मास्क पनि दरबार भित्रैकाले लगाएर प्रयोग गर्न सक्छन् कि सक्दैनन्- यस्ता प्रश्नको जवाफ पुस्तकमा पाइँदैन।
उनले ठहर गरे सरह पुस्तकमा भनेका छन् कि दायाँ हातले स्वचालित मेसिनगनले फायर गरेर अन्त्यमा देब्रे हातले देब्रे कञ्चटमा गोली हानी दीपेन्द्रले आत्महत्या नै गरेका हुन्। ‘उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रकै प्रत्यक्ष र प्रमुख हात देखिन्छ’ (पेज ३८)
दीपेन्द्रको रामकहानी
दीपेन्द्रलाई दोषी ठहर गर्न सहायक हुने गरी उनले पुस्तकमा तत्कालीन युवराजका विभिन्न प्रसंग लेखेका छन्। आमाबाबु भएर पनि माया नपाएर टुहुरो जस्तो भएको दीपेन्द्र, सानैदेखि जिद्दी स्वभावका मात्र प्रसंग यसमा छैनन्, झण्डै झण्डै युधीर थापाको उपन्यासको प्लट जस्तो लाग्ने गरी दीपेन्द्रको यौनलोलुप प्रवृत्तिको पनि बयान गरिएको छ।

दीपेन्द्र सार्वजनिक रुपमा जस्तो देखिन्छन्, भित्र त्यस्तो नभएको उनको कथन छ। दीपेन्द्रको परपीडक प्रवृत्तिको बयानका लागि एक शीर्षक नै छुट्याएका छन् उनले। ठूलो मान्छेलाई मुक्का हानेर लडाएर छटपट गर्दा हाँस्ने, गुलेली हानेर परेवा झार्ने, नमरे तडपाउने, जिउँदो मुसा समातेर पुच्छरमा आगो लगाउने घटनाको बयान पुस्तकमा छ।
त्यसैगरी केटीका मामिलामा साह्रै कमजोर प्रमाणित गर्न पुस्तकमा दीपेन्द्रले सुरुमा सुप्रिया शाहसँग अफेयर चलाएको, ७ क्लासदेखि नै उनलाई लभलेटर लेख्‍ने गरेको, बेलायतमा पढ्न गएदेखि देव्यानीसँग पनि अफेयर चलेको, त्यसपछि दुवै जनासँग एकै पटक अफेयर चलाएको, बेलायत मै हुँदा एक जापानी केटीसँग पनि अफेयर चलेको, ती जापानीसँग पनि विवाह गर्छु भने फकाउने गरेको प्रसंगसहित पेज ४७ मा उनले लेखेका छन्- बेलग्रेडमा मैले के देखेँ भने युवराजधिराज सरकार केटीहरुका मामिलामा ज्यादै कमजोरी देखाइबक्सन्थ्यो। यसो गरेँ, उसो गरेँ भनेर विभिन्न प्रसंग सुनाइबक्सन्थ्यो। बेलग्रेड कै होटलमा एक स्थानीय केटीसँग लिफ्टभित्र साढे दुई घण्टा बसेर एकै पटक बिहान ‘हाँस्दै सवारी भएको’ कुरा लेख्‍न पनि उनले भ्याएका छन्।
भारतको हात ?
उनले हत्याकान्डका पछाडि भारतको हात हुनसक्ने भनी लगाएको अनुमान सर्वसाधारणले ज्ञानेन्द्र पारसको हात हुनसक्ने भनी लगाएको अनुमान जस्तो मात्रै हो। पुस्तक पढ्दा त्यस्तै देखिन्छ। बरु केही नयाँ रहस्य यस क्रममा खोलिएका छन् जस्तो कि हतियार कारखाना नेपाल मै खोलेर एसेम्बल हतियार दक्षिण एसियामा बेच्ने वीरेन्द्रको योजना, माओवादी समस्या समाधानका लागि वीरेन्द्रले बनाएको विशेष योजना। भारतको हात हुनसक्ने अनुमान जस्तै अर्को एउटा अनुमान पनि उनले गरेका छन्। वीरेन्द्र र ऐश्वर्य तन्त्रमन्त्रमा धेरै विश्वास गर्थे रे। तान्त्रिक प्रयोगको उल्टो परिणामस्वरुप हत्याकान्ड भएको त हैन ? उनले यस्तो अनुमान पनि गरेका छन्।

हत्याकान्डको विषयमा मूलतः यिनै कुरा पुस्तकमा छन्। त्यसबाहेक उनको पुस्तकको अधिकांश भाग उनको डायरीले ओगटेको छ, जुन इतिहासप्रति रुचि राख्‍नेहरुका लागि राम्रो छ। रुचि नराख्‍नेलाई यो वाक्कलाग्दो हुन्छ। किनभने प्रसंग र सन्दर्भ बिना के भनेको हो बुझ्न पनि गाह्रो हुन्छ केहीलाई। केही प्रसंगहरु ‘नेपाली विकिलिक्स’ जस्ता छन्। आगामी दिनमा म त्यस्ता केही विषय लेख्‍नेछु।

========================================

दरबार हत्याकान्डबारे पारस र हिमानीको बयान

paras-himani
१४ वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्‍यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। उनीहरुले घटनाबारे छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित सभामुख तारानाथ रानाभाट सदस्य भएको उच्चस्तरीय आयोगलाई के बयान दिएका थिए? धेरैले बिर्सिसके होलान्। पढ्नुस् पारस र हिमानीको बयान।

Nepal-prince-Paras-Shah
श्री ५ शाहज्यादा पारस वीर विक्रम शाह
समितिः सरकार, राजदरवारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो । त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो, त्यो सबै जानकारी भएको सुनेको कुराहरु चाहीँ हामीलाई प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो ?

जवाफः अब, हामी पुग्यौं त्यहाँ त्यस्तै अन्दाजी साढे ७ भन्दा अलि ढिलो पुग्यौं । हामी त्यही …. ७ ।४० तिर पुग्यौं, सबै जना आइसकेको थियो । मुमा, म, बहिनी, हिमानी र हामी अलि ढिलो पुग्यौं । ७ ।४० तिर पुग्यौं, पुग्दाखेरी अ… युवराजाधिराज अलिकति ककटेल ज्यूनार भैसक्या जस्तो थियो । अनि के खाने–मैले कोक मात्र खाने विचार गरेँ ।
ए कोकमात्र खाने ! म त ह्विस्की खाएर बसेको छु हुकुम भयो । त्यो बेलासम्म ठिक्कै होइबक्सन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सी राखेकोथ्यो । अ ….. कुरा गर्दाखेरी के भो भन्दाखेरी हैन यहि विवाहको कुरा भइ राखेको छ। मेरो, मुमासँग पनि कुरा गरें । आफूमुमासँग पनि कुरा गरें अनि, दुवै जनाले हुन्न भन्नु भयो । अब आइतवार बुबासँग कुरा गर्छु हुकुम भयो । त्यति कुरा भइ राखेको थियो, त्यत्ति हुँदा हुँदै आठ बज्यो । सबै जनालाई ड्रिंक्स सिंक्स टक्राइबक्स्यो ।
आठ बज्यो आफूमुमा, मुमा बडामहारानी सवारी होइबक्स्यो, फेरी सरकारबाटै सवारी चलाइबक्सेका, फेरी …… ड्रिंक्स दिइबक्स्यो, अनि यस्तै साढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सक्याएर सवारी होइबक्स्यो, त्यो बेलामा दाइ हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो त्यही कोठामा होइबक्सन्थ्यो । एकदमै लागेको जस्तो ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो, त्यही भुइमा नै सुकला भयो, म, गोरख, निराजन र राजिव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलो बुबा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ …… छ माथि सवारी चलाउँछौं भनेर हामी चार जना भएर माथि खोपीमा सवारी चलायौं, त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइन । गद्दीको मुन्तिर सानो ओछ्यान छ नि त्यहीं नै सुताएर गयौं हामीले ।
करीब साढे आठ, जस्तो भाथ्यो, साढे आठ त्यस्तै ३१।३२, आठ ३१ ।३२ होला। हामी तल आयौं। वत्तिसत्ति निभाएर तल आयौं । तल आएपछि अब महाराजाधिराजको भित्रै, मुमा बडामहारानी सरकार जहाँ राज होइबक्सेकोथ्यो त्यहीं नै हेलेन शाहसँग मिटिङ्ग भइ राखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन, वाहिर कुरेर बसिराखेको थिएँ, त्यहाँ भित्रको मिटिङ्ग आधा घण्टा जति चल्यो होला, मेक्सीमम आधा घण्टाजति चल्यो होला । त्यसपछि हामी दर्शन गरेर यता आयौं । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो, त्यही कोठामा सवारी भयो । भर्खर ड्रिंक्स लिई बक्सेको थियो, महाराजाधिराज सरकारले ।
हामीले चियर्स पनि गरेको छैनौं, भर्खर ड्रिक्स लिई बक्सेको थियो, यसै बीचमा अब हामीचाँही एतापट्टी कुनामा थियौं हजुर, देखिएन युवराजधिराज सवारी भएको । अ….. हामीले युवराजधिराज सवारी भएको देखेनौं, हामी कुनामा थियौं । मैले त यो ….. …….. ……………….
समितिः कुना भनेको त्यो बडामहारानी सरकार राज भएको कुर्सितिर कि?
जवाफः होइन क्यारेमवोर्ड छ नि ।
समितिः क्यारेमवोर्ड यो?
जवाफः क्यारमबोर्ड, क्यारमबोर्ड छ नि ।
समितिः त्यो वारको पछाडि ?
जवाफः हो, बारको पछाडि त्यो …… कुनामा हामी बस्ने कुना त्यही हो । हामी Youngs हरुको, अब त्याहाँ उताबाट चुरोट सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरै जस्तो बस्ने त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइन, मैले सवारी भएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग ग¥यो, त्यत्ति ३ राउण्ड जति फायर भएको छ । पहिले सवारी हुने वित्तिकै ३ फाएर भएको छ । एउटा माथि छ, एउटा सिधा छ । त्यसरी दागि बक्सदाखेरी एउटा सिधै गएको छ, एउटा माथि गएको छ । ३ राउण्ड जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरी ३ राउण्ड जस्तो लाग्छ फर्स्ट मैं त्यो पनि आवाज ।
महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो ड्याङ्ग ड्याङ्ग एउटा यस्तोमा एउटा यस्तोमा । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँगसँगै । दुइजना कुदेर गयौं । डा. राजीव चाही महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर, मलाई चाहीं अधिराजकुमारी शोभाले जानै दिन बक्सेन, तिमी त्यहीं बस हिड्ने होइन, हुकुम भयो। त्यही नै मैले पछाडी फर्केर बहिनीहरु सबै जनालाई ढल्नलाई सुत तिमिहरु यहाँ भने । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबैजनालाई राखें । उता दुई जना सिनियर मेम्वरहरु पनि महेशकुमार र रवी शम्शेर दुवै जना पनि मेरै छेउमा थियो । दुवै जनालाई पनि मैले लाइन क्रोसियरमा राखें ।
यत्तिमै यत्ति हुँदा हुँदै युवराजधिराज सरकार, फेरि फर्केर सवारी भयो । मैले देखेको चाहीं हजुर, महाराजाधिराजलाई हानिबक्सेको देखें । धिरेन्द्र सरकारलाई हानी बक्सेको देखें, बाबा enough, you done enough damage भनेर second time फर्केर जाँदाखेरी, धीरेन्द्र सरकारले के हुकुम भयो भने you done damage हुकुम भयो । त्यति हुकुम हुँदाखेरी ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा होकी दुइटा त्यो पनि धीरेन्द्र सरकारलाई, राम्रो सँग सम्झन सकेको छैन । ढलिबक्स्यो । धीरेन्द्र सरकार ढलिबक्स्यो, ढलिबक्से वित्तिकै त त्यसपछि त अरुहरु मान्छेहरु त one after another को ढल्यो को ढल्यो त्यसपछि राम्रोसँग भन्न सक्दिन । म पछाडि फर्केर बहिनीहरु सुताउन थाली सकेको थिए, अं…… मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखें यता, कुमार खड्ग ढलिबक्सेको थियो, उता कुमार गोरख ढलेको देखें।
त्यो चाही फर्स्ट मै ठूलो बुबा सँगसँगै ३ जना ढलेको छ। त्यो First Automatic weapon MP-5 को फाएरले ३ जना ढलेको छ । वाहिर सवारी भयो, फेरी फर्केर सवारी भयो, त्यसपछि त्यो सानो weaponMP-5 automatic त्यो फालिबक्स्यो, त्यो weapon महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो weapon टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारी भएर त्यो weapon लिई बक्स्यो, म्यागजिन पनि झिकिबक्स्यो । त्यही भइमा राख्दीबक्स्यो त्यो । अब के भन्ठानी बक्स्यो भने त्यही एउटा मात्र होला भन्दठानी बक्सेछ । दाइले चाही अरु पनि बोकिबस्केको मैले पनि देखेको हो । अरु तीनवटा बोकिबस्केको थियो, चारवटा थियो weapon । एउटा चाहीने बन्दुक लेफ्ट साइडमा थियो ह्यान्ड गन। ह्यान्ड गन चाहीँ लेफ्ट साइडमा थियो । दाहिने वगलिमाः MP5 थियो । भिरिबक्सेको Shot Gun र एम १६, त्यो Automatic हो । भ्यार्रर गरेर ठूलो बुबालाई हानीबक्स्यो, कान्छो बुबालाई पनि हानी बक्स्यो, यता खड्ग विक्रम ढलिबक्स्यो उता गोरख ढल्यो । त्यो first attack मै कता कता दागेर वाहिर सवारी भयो । त्यसछि हामी त कुनैमा थियौं । वाहिरपट्टी के भयो मैले त देखिन फेरी भित्र सवारी भयो । सवारी भएर ठूलो बुबालाई ………………

समितिः समयको त्यस्तो कुनै ग्याप लामो ग्याप त हैन ?
जवाफः छैन, एक मिनेट पनि छैन, ३० सेकेण्ड होला म्याक्सिमम्, म्याक्सिमम् भए ३० सेकेण्ड, भित्र बाहिर भित्र वाहिर गरिबक्स्यो । सवारी भयो ठूलो चाही बन्दुक एम १६ एम १६ ले पहिले नै ठूलो बुबाको माथमा हानिबक्स्यो, सट त्यस पछि यता सवारी भयो, खड्ग फुपाजु ढलिबक्स्यो, कुमार खड्ग त्यो वारको ठ्याक्कै तल ढलिबक्स्यो ।

…………. हजुर, उतापट्टी गोरख, ठूलो बुबा बीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो, …… श्रुति, त्यसपछि श्रुति मैले आएको देखिन, गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखें । त्यो गएको बेलामा उताबाट फर्कि बस्क्यो, युवराजाधिराज सवारी भयो, यतापट्टी ढली राखेको थियो हजुर, पहिला कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमिलाई के भयो तिमीलाई के भयो भनेर सवारी भई माथि पट्टी सुतिबक्स्यो, खड्ग फुपाज्यूको माथि ढलेर कवर गरिबक्स्यो । युवराजधिराज सवारी भयो ड्याङ्ग ड्याङ्ग point blank ड्याङ्ग ड्याङ्ग ड्याङ्ग यस्तो घारीबाट देखेको त्यही देखेको । त्यो भएको म यताको कुनाको मेचमा त्यो वारको मूनिबाट त्यो चाही राम्रो सँग देखेको हो मैले । ड्याङ्ग हानी बक्स्यो । त्यो गोली आएर यतापट्टी कार्पेटमा लागेछ ।
भएर आएर मेचको यतापट्टी काठमा लागेर मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले, त्यो गोली उछिट्टिएर गएर उसको यस्तोमा लागेको हो । त्यो चाही लागेको उसलाई । अब त्यस पछि फेरी वाहिर सवारी भएको हो कि म राम्रो सँग सम्झन सकिन, वाहिर सवारी भएको जस्तो लाग्दछ, दुईतिन चोटी गरिबक्स्यो भित्र, वाहिर, Third time सवारी हुँदा चाही यता … अ… शाहज्यादी जयन्ती दिदी, केतकी अ… श्रुति ३ जनालाई हानी बक्स्यो । श्रुती Third time ‘। अनि बाहिर सवारी भयो युवराज सरकार चाही मैले त्यसपछि, यता कुनामा सवारी भयो, त्यो अग्लो मेच जस्तो छ नि हजुर, त्यो, कुनामा सवारी भयो, त्यसपछि डाइरेक्ट नजरमा हामी प¥यौ ……. के गरिबक्स्या हजुर ….. हामी ….. के गरिबक्स्या please …… गई बक्स्योस भनेर त्यो विन्ति जाहेर गरें मैले । नत्र भए सवै जनालाई हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवी उतापट्टी ठ्याक्कै वारको मुनि रवि थियो । अ…… महेशको पछाडि मेरो वहिनी छ । पछाडी मेरो वाइफ थियो, मेरो वाइफ पछाडि मेरो ३ जना वहिनीहरु मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा वहिनी चाँही त्यो सोफा जस्तो छ त्यसको पछाडि राखेको थिएँ ।

एकदमै कभर गरेर राखेको थिए मैले । मैले चाही दाइसँग के गरिबक्स्या हामी यस्तो यहाँ त हामी मात्र छौं please …. one by one सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो, त्यसपछि थाहा भयो हामीलाई हानी बक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिराखेको थियो । के के भाछ भनेर मैले कान्छो बुवाका गएँ । पारस मेरो खुट्टा चलाउन मैले खुट्टै चलेन अं. …… मेरा खुट्टा खुम्च्याउन सक्दिन खुट्टा चलाई देउ । अलिकति चलाएँ, फिल गर्न सकिबक्सेन ।
त्यसपछि यता केटाकेटीलाई हेर भन्नु भयो, मैले त मेरो मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन, यता अधिराजकुमारी शान्ति पनि देखेको छैन, उता उता …… वडामहारानी सरकार निराजनको त वाहिरै कुरा भयो मैले त्यति देखेकै छैन । अनि त्यो बेलामा हेर्दा खेरी मुमा भर्खर उठि बक्सिराथ्यो, ढली बक्सेको । मूमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्ति माथि होइसिन्थ्यो । मुमाले चाही घचडेर उठिबक्सेको देखें । म जभउि गरेर उठाएँ मुमालाई । …… मठिक छैन, म ठिक छैन भन्नु भयो, माथबाटपनि रगत आइराखेको यस्तो समातेर बसिबक्स्याथ्यो । माथको रगत चाहिने अधिराजकुमारी शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिए पहिला ।
अधिराजकुमारीको रगत रहेछ । त्यतिगरे पछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो, माथ पनि चेक गरें मैले, केही पनि छैन । त्यसपछि म दौडेर गएर यता मुमा वडामहारानी सरकारकाँ गएँ । वाहिर पनि मैले त फायरिङ्ग सुनेको थिएँ । मैले त उता भन्ठाने, मूमा वडामहारानी सरकरको खोपिमा भन्ठानें । दौडेर त्यहाँ गए त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरें, त्यो बेलासम्म फायरिङ्ग सकिसकेको थियो, म जाँदा मुमा वडामहारानी सरकार ……
समितिः मुमा वडामहारानी सरकार भनेको उता सानो बैठकमा …
जवाफः उता सानो बैठक, वाहिर पट्टीको । त्यहाँ होइबक्सन्थ्यो । त्याहाँ जाँदासम्म firing बन्द भएको थियो । जब म मान्छेहरुलाई हेर्न गएको थिए त्यो वेलासम्म कोही फायरिङ्ग भइ राखेको थियो । वाहिर ….. त्यो चौरमा फायरिङ्ग भइ राखको थियो । लास्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो म केही भन्न सक्दिन । मैले देखेको होइन । कसलाई हानिबक्स्यो, त्यहाँ कसरी घटना भयो, त्यो पहिला कसलाई हानिबक्स्यो, पछि कसलाई हानीबक्स्यो मलाई थाहा छैन । मैले त मुमालाई लागेको देखेको होइन, अहिले कुरा सुन्दाखेरी वाहिरबाट हानीबक्सेको मुमालाई पछाडी दुइटा वाहिरबाट हानीबक्सेको मात्र सुनें । त्यो मलाई थाहा छैन मैले नदेखेको कुरा म भन्न सक्दिन । मैले देखेको कुराचाही यति हो । म पनि त्यसपछि मान्छेहरुलाई हेरें, सवैजना ढली राखेको छन् । खुट्टा चलाई देउ भन्नु भयो । पाउ चलाएँ, सिधै हेर्न सकिदैन यता केतकी फुपुलाई हेर भन्नु भयो, कान्छो बुबाुले । म खुट्टा पनि चलाउन सक्दिन म हेल्प भन्दा धेरै त्यो जाहेर गरें । दौडेर आपूmमुमा कहाँ गएँ मुमावडामहारानी सरकारकाँ ३ जना होइबक्सन्थ्यो, त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर ए.डि.सी.हरुलाई भित्र ल्याएँ । त्यो ए.डि.सी.हरु वाहिर गयो, वाहिर जाँदाखेरी ….. हरु ठ्याक्क आइराखेको थियो ।

म वाहिर पुग्नु र ADC हरु आइपुग्न almost सेम टाइम थियो । अनि त्याहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ घाइते मान्छेहरु पनि छ । मरेको मान्छेहरुलाई छाडदेउ । घाइते मान्छेहरुलाई दौडाइहाल पहिला, भित्र लगें घाइते मान्छेहरु सबै जना पहिला उठाएर यलभ दथ यलभ सबै जनालाई जो जो पहिला गए जो जो हाल्न सकें पठाएथें, ५—६ मर्डरहरु थिए । जो जो आए हाल्दै पठाउँदै थिएँ । अब दाइ, बडामहारानी सरकार र भाइलाई भेटाउन, गएको तिमीहरु खोज भनेर ३ जना । दाइको एडिसी दौडेर आयो he shot himself, he shot himself भन्दै आयो।
त्यसपछि भाइ कहाँ भन्दा भाइलाई पनि हानिबक्स्यो । ठूलोमुमा खोइ, ठूलो मुमालाई पनि डाउन, सबै जना डाउन ठुलोमुमाको chance नै छैन भनेर उनीहरुले मलाई भन्यो । मैले देखेको होइन, ठुलोमुमाको चान्स छैन, दाइचाही ऐया ऐया गरेर लडीबक्स्याथ्यो, माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाई चाही मैले सँगै हालेर दाइको एडिसीले हाल्यो, म अगाडी बसे, पछाडि एकजना ड्राइभरले दाइलाई समाइराथ्यो र भाइलाई समोतेको थियो पछाडी अर्को एक जना थियो । दुइजना चाही म र दुईजना एडिसी अर्को एक जना ड्राइभर भएर अस्पताल पु¥याको । त्यतिवेला महाराजाधिराज सरकारको सवारी चलाइसकेको थियो । ………. सबैभन्दा पहिला त सुन्दर भन्ने एडिसी छ, त्यो गर्दा उ आयो, उता उताबाट घुमेर आयो त्यहाँ त फायरिङ्ग भइ राखेको थियो । उसले अरु मान्छे ल्याउन सकेन, उताबाट वाहिर घुमेर फायरिङ्ग भइ राखेको थियो, उता ढोकाको शिशा फुटाएर मैले आउ भन्दिए । यो फुटाएर भित्र आएर ठूलो बुबा महाराजाधिराज सरकारलाई लग्यो, महाराजाधिराज सरकारलाई पहिला लगेको हो ।
यो राजीव कहाँ थ्यो के थ्यो, राजीव गएको पनि देखेको छैन, हजुर, म पछाडि गर्दै थिए यता मान्छेहरु हेर्दै थिएँ, राजीव गएको मैले देखेको होइन, सबभन्दा पहलिा चाही महाराजाधिराज सरकारलाई लिएर गएको । त्यसपछि चाहीं म गएर मान्छेहरुलाई हेर्न गएको । ए.डि.सी. हरुलाई मैले नै बोलाएर त्यो शिशा ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ । मैले देखेको त यत्ति नै हो ।
समितिः सरकारले कति weapon use भएको देखिबक्स्यो ?
जवाफः मलाई जहाँसम्म लाग्दछ एउटा एम १६ यूज भएको छ । Glock यूज भएको छ । चारवटा यूज भएको छ । मैले त्यो 12 bore फायर गरेको देखेको छैन । त्यसको फाएर देखेको होइन मैले । अरुचाहीं फायर भएको देखेको छु मैले । यो एम १६ फायर भएको देखेको हुँ ।

समितिः युवराजधिराजको कसरी ? ।
जवाफः मैले सुने अनुसार दाइले आफूलाई हानिवक्स्यो, ब्रिजमा हानिवक्सेको ।

समितिः– यसको पछाडि के यस्तो कारण ?
जवाफः– यो विवाहकै हो हजूर । मलाई जहाँसम्म लाग्छ, विवाहकै हो । यो शुरु भएको पोहोर गएको जन्मोत्सवमा शुरु भएको कुरा हो । पार्टी भएपछि पार्टी भएको त्यही ठाउँमै त्यही ठाउँमा भएको कुरा हो । त्यहीं नै हामी आएर कुरा गर्दाखेरी जो जो against अघि जो जो ] with अब भाई र म ] with जहिले पनि वीथ । दाइको त हामी जे जे हुकुम हुन्छ त्यही गर्ने मान्छे । भाई र म ] with थियौं । अब राजिव त डा. ] with भयो, श्रुती, गोरखहरु र अरु बहिनीहरु against थियो विवाहकोमा । मेन कुरा यही नै जस्तो लाग्दछ । मेन कुरा यही हो जस्तो लाग्दछ ।

समितिः– तर त्यो दिन त्यहाँ त्यो कुरा चल्यो कि चलेन ?
जवाफः– म संग कुरा गरिवक्स्या छैन । मैले अघि तपाईलाई भनेको जस्तो म जाने बित्तिकै के मर्जीभयो भने मलाई मूमासंग पनि कुरा गरें, आफु मुमासंग पनि कुरा गरें, नहुने भयो । अब म बुबासंग आइतबार दर्शन पाउँछु, त्यो बेला कुरा गर्छु, त्यत्ति मात्र हुकुम भाथ्यो मलाई ।

समितिः– राम्रो मुड थियो ?
जवाफः– लागेको जस्तो भएको थियो । एकदमै राम्रो थियो मूढ । त्यस्तो होला भन्ने केही सोचेकै थिएनौं हामीले । एकदमै जोक गरी बक्सेको जस्तो सबैलाई हँसाइवक्सेको थियो, त्यहाँ तल होइवक्सँदासम्म त ।

समितिः– सरकार माथि कसले पु¥याएको ?
जवाफः– हजूर । हामी चारजनाले पु¥याएको । हामी चारजना, एकजनाले कहाँ सक्नु !

समितिः– बोकेरै लगिवक्स्यो ?
जवाफः– दुईजना साइडमा म पछाडि यसरी उचालेर गोरख र भाइले, अं…. राजीव र भाइले दुईजना साइडमा मैले पछाडी समाएर माथि लग्यौं । गोरख होइन, गोरख पछि पछि आउँदै थियो । माथि ……

समितिः– तल सुताइवक्स्यो ?
जवाफः– तल, मेन गद्दीमा त सुताएनौं । तल सुतायौं । मैले भाईलाई भनेको वेपनहरु झिक लैजाऊ, अप्ठ्यारो हुन्छ झिक । ….. पर्दैन होला …..

समितिः– त्यो कोठाबाट ?
जवाफः– कोठाबाट । माथिको कोठाबाट । जुन मेन गद्दी थियो, त्यो गद्दी भन्दा तल अर्को एउटा बेड … ऊ ….. ग्राउण्ड बेड जस्तो त्यहाँ सुताएर हामी तल आएको ।

जवाफः– वेपन्सहरु ?
जवाफः– वेपन्स अब त्यो, त्यस्तो त बोकिवक्सेको छैन । एमपी ५ र मैले देखेको छैन कहाँ थियो । अँ, …… अनि एम १६ चाहिनी त्यो तखताहरु छ नि, जाने बित्तिकै तखताहरु जस्तो छ ।

समितिः– त्यसमा कार्टिजहरु पनि निस्किराखेको थियो ?
जवाफः– हो, त्यो तखतामा छ । त्यो होला … अँ…. बटृाभित्रै बक्स भित्र नै थियो । त्यो तखतामा नै देखेको थिएँ मैले । त्यो चाहीं एम १६ चाहिनी । …… पनि म चिन्छु हजूर जहिले पनि चलाईवक्सिराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र ?

समितिः– अरु सरकारलाई सम्झिनुपर्ने त्यस्तो केही बाँकी ?
जवाफः– म अब सम्झें भनेदेखि, म त्यही सम्झन खोजिरहेको छु । त्यो यस्तो छिटो भैद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । अब सक्नेजति गरेको हो । बचाउन खोजेको हो मान्छेलाई । त्यही पनि अरु पनि बचाउन सक्थें कि जस्तो लाग्छ । आफूलाई अहिले, सोंच्दाखेरी । जे जति गरें त्यो कम भयो जस्तो लाग्छ आफूलाई।

समितिः हस् त ।
himani
श्री ५ शाहज्यादी हिमानी राज्यलक्ष्मी देवी शाह

समितिः– त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारी भएको भन्ने कुरा आइराखेको छ । लिष्ट प्राप्त ग¥यौं । अब सरकारलाई के कति सम्झना छ ? डिटेलमा पाउन पाएदेखि हामीलाई रिपोर्टको लागि सजिलो पर्छ ।
जवाफः– डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन । तर सुरुदेखिन् पहिला हामी गएको आफुमुमा सवारी भयो ८ बजे । त्यसपछि ठूलो बुबा सवारी हुँदाखेरी अलि अगाडि समय त मलाई थाहा छैन ठूलो बुबा सवारी हुनु भन्दा पहिले crown prince लाई निराजन सरकार, पारश, राजीव ज्वाई, गोरख बोकेर खोपीमा सवारी चलाको । पछि महाराजाधिराज सवारी भएको एकै ड्याङ्ग आवाज आयो । अनि ……… अनि त्यसपछि ……. कान्छो बुबा अगाडि सर्नुभयो……..
कान्छा वुवा लाई हानी बक्स्यो अनि ….. कुनातिर यसो सायड परेर लुकेर वसिराखेका थियौं अनि त्यसपछि चुप लागेर बस्यौं …… त्यसपछि फेरी आएर परर पर्र बन्दुक पड्केको सुनेको …………… त्यत्ति नै
समितिः यसमा, अतिरिक्त जानकारी सरकारलाई छ, छैन ? अनि आफ्नो चाही ?
जवाफः हामीतिर पनि बन्दुक तेस्र्याइ रहनु भएको थियो ।

समितिः सरकारहरु चाही उतापट्टी राज होइबक्सेको होला, वारको उतापट्टी?
जवाफः डाइनिङ्ग रुम जाने डोर छ नि त्यसैको एतापट्टी एउटा कर्नर छ, त्यसमा हामी ।

समितिः कहाँनेर ?
जवाफः यतापट्टी चाहिने यतापट्टी साइडमा म थिए ……….. ।

समितिः अनि त्यो बगैचाका कुरा ?
जवाफः बन्दुकहरु पड्केको मात्र सुनें ……….. ।

समितिः धन्यवाद ।

http://www.mysansar.com बाट साभार 

Wednesday, June 10, 2015

विद्रोहका लागि आव्हान- ऋषिराज बराल


Baral 3 - Copy‘मे दिवश’ का सन्दर्भमा ‘विसर्जनवादीहरूसित सम्बन्ध विच्छेदको घोषणा’ शीर्षकको वक्तव्यसहित मैले बैद्य समूहसित सम्बन्ध विच्छेद गरेको थिएँ । यसका सन्दर्भमा बैद्य समूहसित गाँसिएका झारपात पतिंगरहरूले भ्रम सिर्जना गर्न थालेका हुनाले थप प्रस्ट पार्नु आवश्यक ठानेको छु ।
मोहन बैद्य ‘किरण’ को नेतृत्वमा रहेको नेकपा- माओवादीको गत सातौं महाधिवेशेनदेखि नै खास गरेर कार्यदिशाका सम्बन्धमा मेरो फरक मत रहेको कुरा पार्टीमै दर्ज भएको कुरा थियो र विप्लवजीहरूले नयाँ पार्टी गठन गरेपछि भएको बानेश्वर भेलामा पनि यसलाई प्रस्ट पारिएको थियो । एकपछि अर्को गरेर पार्टी अकर्मण्यता फसेको र गद्दार घोषणा गरेको प्रचण्डहरूसित अनेक परिपंच मिलाएर एकता गर्ने करिवकरिब अन्तिम तयारी भएपछि आफूले असहमति जनाएको थिएँ । खासगरेर कार्यदिशा तथा ”पार्टी एकता” का सम्बन्धमा बहसछलफल गर्ने भन्दा हुकुमी डण्डा चलाउने प्रवृत्ति देखिएपछि केही साथीहरुसितको छलफलपछि मैले बैद्य समूह परित्याग गर्ने निर्णय गरेको थिएँ l गत बैशाख १४ गते पत्रकार सम्मेलन गरेर यसलाई सार्वजनिक गर्ने निर्णय गरी सबै तयारी गरेको भए पनि १२ गतेको महाविनाशकारी भूकम्पका कारण यस कार्यक्रमलाई स्थगित गर्नु आवश्यक ठानी मे दिवश पारेर वक्तव्य मात्र सार्वजनिक गरिएको थियो । 
सत्य के हो भने नेकपा-माओवादीको नेतृत्वपंक्ति कुण्ठा र हीनत्वभावले ग्रस्त छ र क्रान्तिकारी हुनुको देखावटी आडम्बरमा बाँचेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा यसको भूमिका विवादास्पद भैरहेको अवस्थामा, भारतीय माओवादीलाई आतंककारी भनेर सोनिया गान्धीलाई चिठी लेख्ने प्रचण्डलाई क्रान्तिकारी भन्दै पार्टी एकताका लागि संयुक्त हस्ताक्षर गरेपछि र यसका केही सदस्यको मोदी सरकारप्रतिको बढ्दो मोह प्रदर्शित भएपछि भारतीय माओवादी मात्र नभएर रिम निर्माणमा लागेका अन्य माओवादीहरू पनि बैद्य समूहप्रति आशंकित भएका छन् l क्रान्तिका कुरा त पुस्तकमा पनि छन्, मूल कुरा व्यबहारमा जानेकी नजाने भन्ने हो l वास्तवमा हिजो प्रचण्ड समूह छोड्दा उठाएका १८ बुँदामद्ध्ये सबैजसो बुँदा बैद्य समूहमा लागु हुन्छ l राहतका नाममा विदेशीहरूबाट दादागिरी प्रकट भैरहेको र सरकारले सबै ठीक छ भनेजसरी केही नबोलिरहेको तथा सरकारका तर्फबाट राहतमा व्यापक अनियमितता भएको भनेर चारैतिरबाट आवाज उठिरहेको समयमा ”राहतमा सरकारलाई सघाउने” भनेर जसरी बैद्य समूहबाट धारणा बाहिर आयो, यसबाट पनि बैद्य समूहको वैचारिक टाटपल्टाइ प्रस्ट हुन्छ l त्यसैले म के कुरामा दृढ छु भने वैद्य समूह वैचारिक तथा सांगठनिक दृष्टिले विसर्जनको स्थितिमा पुगेको छ र केही लोभी-पापीहरू, केही भ्रष्टाचारीहरू र बुढ्यौली लागेर समय काट्ने चौतारी बनाउनेहरूबाहेक माओवादी आन्दोलनको झण्डाको रक्षाका लागि केही गर्नुपर्छ भन्नेहरूले ढिलो-चाँडो बैद्य समूह परित्याग गर्नेछन् । कतिपय जिल्लाका जिम्मेवार कमरेडहरू सम्पर्कमा आउनुभएको र विद्रोही समूह बनाएर जाने कुरामा छलफल चलिरहेको यथार्थ प्रस्ट पार्दै, भूकम्प पीडाको कारण यसले हाल ठोस रुप लिन नसके पनि हाम्रो प्रयास त्यसतर्फ जारिरहेको कुरा पनि म यहाँ प्रस्ट पर्न चाहन्छु l
क्रान्तिको कुरा गर्ने, तर यसका लागि व्यवहारमा जान अलिकति पनि तत्परता नदेखाउने किरण समूहका सामु वैचारिक तथा साङ्गठनिक विसर्जन अथवा प्रचण्डसामु आत्मसमर्पणबाहेक अर्को विकल्प छैन । यस्तो सङ्गठनसित टाँसिइरहनु भनेको सारतः आफूले आफैँलाई ध्वस्त पार्नु मात्र हो । आफू मार्क्सवाद–लेनिनवाद–माओवाद र नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध भएर बौद्धिक–सांस्कृतिक क्षेत्रमा सक्रिय रहने र राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी क्रान्तिका लागि वर्गसङ्घर्षको बाटोमा दृढताका साथ अघि बढेका शक्तिहरूप्रति कलम र विचारको माध्यमबाट सहयोग र समर्थन निरन्तर रहने कुरा पनि म यहाँ प्रस्ट पार्न चाहन्छु ।
विप्लव समूह नेपाली क्रान्तिप्रति गम्भीर छ भने यसले पनि कार्यदिशामा रहेको अमूर्तता तथा कतिपय सन्दर्भमा व्यवहारमा देखिएको अन्योलतालाई सच्याउँदै क्रान्तिकारीहरूलाई व्यापक रूपमा गोलबन्द गर्ने नीति, योजना र कार्यक्रम अघि सार्नुपर्छ l राष्ट्रिय स्वाधीनता तथा जातीय पहिचानका सन्दर्भमा विप्लव समूहको बुझाइ तथा अडान सही छ l यसका साथै बैद्य समूहभित्र तल्लो तहमा थुप्रै इमान्दार र क्रान्तिकारी कार्यकर्ताहरू छन् भन्ने कुरालाई गम्भीरतापूर्वक लिनु आवश्यक छ र सही अर्थका क्रान्तिकारीहरू, सबै थरी योग्यता र क्षमताहरू एउतै झण्डामुनि कसरी गोलबद्ध हुने भन्ने कुरामा हामी सबैको चिता र चिन्तन केन्द्रित हुनु पनि आवश्यक छ l क्रान्तिकारीहरूको नयाँ किसिमको गोलबद्धता आजको आवश्यकता हो l
मार्क्सवाद-लेनिनवाद- माओवाद नेपाली क्रान्तिका मार्गनिर्देश सिद्धान्त हुन्, नयाँ जनवादी क्रान्ति हाम्रो न्यूंनतम कार्यक्रम हो र क्रान्तिका तीन जादुगरी हतियारको कुशलतापूर्वक प्रयोगबाट नै यो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने कुरामा हामी सबै दृढ र विस्वस्त हुनैपर्छ l यही नै माओवादी झण्डाको रक्षाको बाटो हो l त्यसैले ‘विद्रोह गर्नु न्यायोचित छ’ भन्ने मार्क्सवादी मूल्यलाई आत्मसात गर्दै बैद्य समूहमा रहेका क्रान्तिकारी साथीहरूलाई अब त्यहाँ बसेर केही हुन्छ भन्ने भ्रमबाट मुक्त हुन र नयाँ किसिमले गोलबद्ध हुने अभियानमा सामेल पनि म हार्दिक आह्वान गर्दछु l
http://thenextfront.com बाट साभार 

Thursday, June 4, 2015

प्राणन्तअघि छोरीहरुलाई डा. वाग्लेको चिठी

संसार छाड्नु अघि छोरीहरुलाई डा.वाग्लेको लेखेको चिठी यस्तो रहेछ

३ साउन, काठमाडौं । दुर्गम क्षेत्रका जनताको सेवा गर्ने डा. चित्रप्रसाद वाग्ले शर्माले यो संसार छाडेको एक वर्ष हुन लाग्यो । क्यान्सर रोग लागेपछि समयमै उपचार नपाएका उनको गत कात्तिक ७ गते निधन भएको थियो ।


क्यान्सरले च्याप्दै लगेपछि परिवारका सदस्यहरु भरभरको सबै सम्पत्ति बेचेर अमेरिका जान पत्नी र शुभचिन्तकले सल्लाह दिँदा उनले मानेनन् । वाग्लेले भोलि आफू पनि नरहने अवस्थामा बालबच्चा एवं पत्नीलाई सडकमा ल्याउन चाहन्न, बरु यत्तिकै मर्छु भन्ने अडान लिए ।
छोरीहरु मान्छे जन्मन्छ, अवश्य मर्नुपर्छ । कोही अगाडि, कोही पछाडि । यस्तै तिमीहरुलाई मेरो अभिभावकत्वको कमी रहनेछ ।
आफू मर्दैछु भन्ने थाहा पाएपछि आफ्नो शेखपछि छोराछोरीको भविश्य के होला भन्ने चिन्ता उनमा थियो । उनै डाक्टर वाग्लेले दिल्लीमा अस्पतालको बेडमा रहँदा कलिला दुई छोरीलाई सम्बोधन गर्दै चिठी लेखेका थिए । छोरीहरुका हातमै पुग्न नपाई डायरीमा सीमित रहेको उनको चिठी पुस्तकाका रुपमा हामीमाझ आउन लागेको छ ।
स्व. डाक्टर वाग्लेले आफ्ना छोरीहरुलाई पनि डाक्टर नै बनेर गरीब जनताको सेवा गर्ने पिताको अधुरो सपना पूरा गर्न एवं स्वाथ्य क्षेत्रमा बढ्दै गएको धनी र गरीबको खाडल पुर्न सल्लाह दिएका छन् ।
प्रिय छोरी आशिका तथा आरुषि
धेरै धेरै माया र प्रेम अनि सम्झना ।
विषेश छोरीहरु अस्पतालको बेडबाट तिमीहरुको सम्झनाले सताएर यो पत्र लेख्दैछु । मैले गर्ने माया र ममता यो चिठीका पानामा कोरेर व्यक्त गर्ने त्यति शब्दहरु पनि छैनन् । लेख्न पनि सक्दिँन । यो मायालाई नाप्ने यत्रो यन्त्र बनेका छैनन् । नभए यति केजी छ भनेर पठाउँथे । जे होस् तिमीहरुप्रति मेरो माया छ, प्रेम छ र शुभकामना छ ।
तिमीहरुलाई राम्रो गार्जियनशीप दिएर राम्रो समाजको राम्रा सहयोगी, सुशील तथा देश र जनताप्रति बफादार नागरिक बनाउने तथा नारी सशक्तीकरणमा अग्रणी भूमिका निभाउने छोरी बनाउने इच्छा थियो । चाहे त्यो डाक्टर भएर होस्, चाहे त्यो इन्जिनियर भएर वा हाउस वाइफ नै भएर किन नहोस् । तर, दैवको लीला छोरीहरु, तिमीहरुलाई मेरो रोेगबारे त्यति थाहा छैन । जे थाहा छ, आशिकालाई क्यान्सर भएको भन्ने थाहा छ तर, यसको अन्तबारेमा तिमीहरुलाई थाहा छैन । सायद थाहा पाउनु अगाडि नै मैले यो संसार छाडिसकेको हुनेछु ।
छोरीहरु मान्छे जन्मन्छ, अवश्य मर्नुपर्छ । कोही अगाडि, कोही पछाडि । यस्तै तिमीहरुलाई मेरो अभिभावकत्वको कमी रहनेछ । तिमीहरुलाई सधैं सहायता गर्ने तिम्री आमा रहने छिन् । अनि तिम्रा हजुरबाबा र हजुरआमाले साथ दिनेछन् । उहाँहरुको सुझाव र सल्लाह सधैं मान्नू ।
जीवनमा आफ्नो लक्ष्य प्राप्तिमा लागि परेर उद्देश्य पूरा गर्नू । बाबुको अभाव महसुस कहिल्यै नगर्नू । तिमीलाई सहयोग र साथ दिने बोल्ड हृदय भएकी आमा छिन् । उनको कुरा सधैं शिरोधार्य पालना गर्नू । उहाँले दिएका वचन तिम्रा मार्गदर्शन हुनेछन् नानीहरु ….।
नानीहरु, तिमीहरुले एउटा अपाङ्ग बच्चा (भाइ) को पनि रेखदेख गर्नू, जसलाई सहयोगको आवश्यकता छ ।
प्रिय छोरीहरु, तिमीहरु आमाको गर्वमा हुँदा मैले पहिले नै तिमीहरु छोरीहरु हौं भन्ने थाहा थियो । यो पुरुष प्रधान देशमा छोराहरु चाहिन्छ, यसलाई गर्भपतन गरा भन्ने मान्छे तथा इष्टमित्रहरु धेरै थिए । तर, म र तिम्री आमालाई छोरा र छोरीमा कुनै भदभावको अनुभूति नगरी तिमीहरुलाई जन्मायौं, हुर्कायौं । तिमीहरु हाम्रा लागि छोरासरह छौं । छोरा र छोरीप्रति मेरो र तिम्रो आमाको कुनै भेदभाव छैन । एउटा चिन्ता छ कि तिमीहरु यो समाजको उदाहरण कसरी बनाउने बारे, बन्ने बारे ।
अब २–४ वर्ष आमाले पढ्न भनेको पनि गाली गरेको झै लाग्नेछ, किनकि पढाइको महत्व तिमीहरुलाई थाहा छैन । तर, उमेर बढ्नेछ, तिमीहरु ठूली हुनेछौ । ८–१० क्लासमा जाँदा तिम्रो पढाइसँगै अन्य कुराहरुमा तिमीहरुको ध्यान जानसक्छ, त्यसैले त्यस समयमा तिमीप्रतिको भावना र सुझाव यस्तो रहनेछः
तिम्रो किशोर अवस्था र वरपरको वातावरण :
प्रिय छोरीहरु, समयले तिमीहरुलाई किशोरी अवस्थामा लैजानेछ, जहाँ तिमीहरुको आवाजदेखि शारीरिक परिर्वतन आउनेछ । तिमीहरुलाई लाजशरम लाग्ने पनि छ । यो परिवर्तनलाई लुकाउन सक्ने छैनौं । यो सँगसँगै तिम्रा भित्रका स्वभावमा परिवर्तन आउनेछन् । केटा केटीप्रति, केटी केटाप्रति आकर्षण बढ्ने समय हो । यो स्वभाविक पनि हो तर, यस उमेरमा बिग्रिएर आफ्नो भविश्य बिगारेका कयौं उदाहरणहरु छन् मसँग । त्यसैले यसबाट सतर्क रहनू ।
यस परिर्वतनमा तिमीहरु बिग्रने छैन । आफ्नो पढाइका साथै चरित्रलाई ख्याल गर्नेछौ । बाबाको इज्जत राख्ने छौं । यही स्कुल अवधिभरिमा पढाइका साथै एक्ट्रा एक्टिभिटिजमा भाग लिनेछौ । राम्रा नृत्य सिक्ने छौं, जो मेरी छोरीहरु नाचेको हेर्न चाहन्छु र चाहन्थें पनि । स्कुलबाट मेरा छोरीहरु साह्रै राम्रा, परिश्रमी, मेहनती छन् भन्ने देख्न चाहन्थें । सायद यो इच्छा पूरा गराउने छौ ।
तिम्रा भविश्यबारे (मेरा मनका कुरा)
एसएलसी तिमीहरुको आइरन गेट भन्ने गर्छन् । मेरा छोरीहरु यो गेट इजिली पास गर्नेछौ । मेरो चाहना तिमीहरु राम्रो अंकका साथमा यो गेटबाट निस्कने छौ ।
तिमीहरुको आफ्नो इच्छा होला, के बन्ने ? जे बन, त्यसमा मेरो केही गुनासो रहने छैन । तर, तिमीहरु समाजको असल मान्छे बन । समाजले तिमीहरुको उदाहरण दिउन् । डाक्टर, इन्जिनियर, पत्रकार वा हाउसवाइफ बन तर, राम्रो बन । तिमी आफ्नो पेशामा राम्रो मान्छे भएनौ भने डाक्टर, इन्जिनियर वा राजनीतिज्ञ बने पनि त्यो समाजबाट केही पाउने छैन । त्यसैले असल मान्छे बन्नु ।
एउटा नारी भएकाले नारी सशक्तीकरणमा तिमीहरुको ठूलो हात रहोस् । किन, नेपालमा नारी झै पुरुषको दाँजोमा कम नै छ । तर, नानीहरु, म डाक्टर भएकाले त्यो क्षेत्रमा धेरै कठिनाइ भएता पनि इमान्दार भएर काम गर्ने हो भने, जनताको सेवा पनि हुने, इज्जत सम्मान पनि पाइने ।
शहरमा त जो कोही बसेर सेवा दिइरहेको हुन्छ तर, दुर्गम र विकटमा कोही जान चाहँदैन । मेरा छोरीहरु । स्वास्थ्य सेवामा अहिले नै व्यापारीकरण भइसक्न थालेको छ । तिमीहरुको पालामा यसले ठूलो विकृति दिने र ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा । त्यो खाडल पुर्नमा तिमीहरुको ठूलो देन हुनेछ ।
डाक्टर भएर तिम्रो बाबाका समाज सेवामा अधुरा सपना साकार पार्नेछौ । तिमीहरु दीनदुःखीको सेवामा सँधै जीवन समर्पित गर्नेछौ । ता कि तिमीहरुको उपस्थितिमा ती असहायः गरीब तथा सबैथरिका मान्छे खुसी हुनेछन् ।
सबैभन्दा ठूलो कमाइ भनेको त्यही हो नानी । यो सम्मान र माया किनेर पाइँदैन । सोर्स लगाएर पाइँदैन । त्यो त मन जितेर लिने कुरा हो । चिकित्सकको सेवाबाट बच्चित रहेको समाजमा गएर सेवा गर्नु ।
शहरमा त जो कोही बसेर सेवा दिइरहेको हुन्छ तर, दुर्गम र विकटमा कोही जान चाहँदैन । मेरा छोरीहरु । स्वास्थ्य सेवामा अहिले नै व्यापारीकरण भइसक्न थालेको छ । तिमीहरुको पालामा यसले ठूलो विकृति दिने र ठूलो खाडल रहनेछ गरीब र धनीको बीचमा । गरीब अझ गरीब हुनेछन् । त्यो खाडल पुर्नमा तिमीहरुको ठूलो देन हुनेछ ।
तिम्रो यौवन, विवाह र दाम्पत्य जीवन :
प्रिय छोरी, समयले कसैलाई पर्खेर बस्दैन । समयको दौरान तिमी किशोरी अवस्था पार गरेर युवा अवस्थामा जानेछौ । यो परिर्वतन तिमी, हामीले रोकेर रोकिने छैन । पढाइ सकिएर वा उच्च शिक्षा लिइरहेका बेलामा तिमीहरुको कुनै साथी मन पर्ला, जससँग जीन्दगी राम्रो हुनेछ भन्ने सोच्नेछौ । त्यो नराम्रो कुरा पनि होइन । म जीवीत भएको भए पनि स्वीकार गर्ने थिएँ । त्यसलाई अन्यथा तिम्रो बाबाले कहिल्यै पनि लिने थिएन । तर, समय खराब छ, तिम्रो जीवनसाथी त्यस्तो हुनुपर्छ, जसले तिमीलाई बुझ्न सकोस् । तिमीले उसलाई बुझ्न सक । फ्युचर प्लान मिलेको होस्, जहाँ जीवनभरि एकले अर्कालाई दुःख र सुखमा साथ दिन सक ।
तिम्रो विवाहको चयन गर्ने अधिकार तिमीहरुको हुनेछ । निर्णय धेरै सोचविचारबाट गर्नू । प्यार गर्नु नराम्रो कुरा होइन । त्यसलाई माया गर्नु, जसबाट बाँकी जीवन सुखमय होस् ।
हेर न, तिम्रो मम्मी र मैले लभ म्यारिज सीडीओ कार्यालयमा गरेको हो । हामीले एकले अर्कालाई खोजेका हौं । दुर्भाग्य, मैले उनलाई लामो समय साथ दिन सकिँन । जे होस्, तिमीहरु पनि हाम्रो च्वाइसमा लिन थोरै ध्यान दिने छौ । साथै परिवारको सल्लाहलाई पनि नजरअन्दाज गर्ने छैनौ ।
मेरो मतलव, यो होइन कि तिमीहरु आफ्नो मायालाई कुर्वानी दिनू भनेर । इच्छा, चाहना, आकांक्षा अनुसार चल्नू । तिम्रा मनले जे राम्रो मान्छ, त्यसलाई मान्नू । तर, तिम्रो मनले गर्दा समाजलाई अपच हुने कुरा नगर्नू किनकि यो समाजमा बस्नु छ ।
तिमीहरु ठूलो हुने बेलासम्म यो समाज धेरै परिर्वतन भइसक्ने छ । मेरा छोरीहरु, यो समाजको रुढीवादीलाई पछि पार्दै आधुनिक समाजका उदाहरण बन्ने छौ । जसरी हामीले पनि आफ्नो पालामा सीडीओको आफिसमा गएर विवाह गरेका थियौं । दाइजो र जन्ती लगेर ठूलो भतेर गरेका थिएनौं । हाम्रो विवाहमा पार्टी भएको थिएन । तर, त्यो समयको दौरानमा सबै ठीक भएर गयो । हामीले छोरा र छोरीमा भेद गरेनौं, जो तिमीहरुलाई थाहा छ ।
छोरीहरु, यो कुरा मैले किन लेखेको भने यी उमेरसम्म यस धर्तीलाई धेरै अघि छोडिसकेको हुनेछु ।

ल नानीहरु, चिठी यहीँ बन्द गर्न चाहन्छु ।
तिमीहरु मया गर्ने बा(बाबा)
दिल्ली, राजीव गान्धी बेडबाट

http://toptenkhabar.blogspot.co.il बाट साभार 

Tuesday, May 26, 2015

एमालेका रजौटाहरू श्री ३ भन्दा क्रुर – कमल कोइराला



दीपकचन्द्र अमात्यभन्दा अघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भीमप्रसाद आचार्य नवौं महाधिवेशनद्वारा प्रतिनिधिहरूको मतदानका आधारमा निर्वाचित पार्टी सचिव थिए । तर, उनी बडो बेइज्जतीपूर्ण राणाकालीन पजनीलाई पनि माथ गर्नेगरी खोसुवा गरिए । उनीसंँग राजीनामा माग्नेसम्मको न्यूनतम शिष्टाचार प्रदर्शन गर्न एमाले नेतृत्वले आवश्यक ठानेन । उनलाई थाहै समेत नदिई खोसुवा गरियो ।
क्याबिनेट सिस्टम भएको देशहरूको शासन शिष्टाचार बमोजिम प्रधानमन्त्रीले मन्त्रीसँग राजीनामा माग्दछन् र नदिए मात्र हटाउँछन् । तर, नेपालमा न त आज प्रजातन्त्र छ, न त संसदीय पद्धति छ, न त क्याबिनेट सिस्टम नै छ । अहिलेका छोटे राजा–रजौटा नेताहरूमा प्रजातान्त्रिक संस्कार र संस्कृतिको न्यूनतम मानसिकता पनि देखिंदैन । प्रधानमन्त्री सुशील कोइरालाले पनि एमालेका नेताझैं प्रजातान्त्रिक संस्कारविहीनताको प्रदर्शन गरे । एमालेका नेताले आफू सरहका नेतृत्वदायी निकायका ठूला नेताहरूलाई स्थायी कमिटी सदस्यहरूलाई र अस्थायी कमिटीका सदस्यहरूलाई समेत सुइँको नदिई मध्ययुगीन राणाकालीन पजनी झैं उछिन्दै निर्वाचित पार्टी सचिवलाई खोसुवा गर्दै आफ्ना निजी सचिवलाई मन्त्री बनाइदिए । सर्वाेच्च स्थायी कमिटीका नेताहरूले पनि शक्तिहीन निरीह झैं यो सबै हेरेर, सहेर केही नबोली मौन रहे ।


तर, दीपकचन्द्र अमात्य पार्टी सचिव नभएर कुनै बखतका व्यक्तिगत बफादार निजी सचिव भएकाले होला नेताले राजीनामा गर्नेसम्मको इज्जत उनका ‘प्रभु’बाट बकस भएछ । राणाकालमा खोसुवा हुनेलाई बकाइदा पूर्जी पठाएर श्री ३ महाराजपछिका दोस्रो नम्बरवालाले सही गरेर पूर्वसूचना दिँदै लेखेर पठाउँदथे कि ‘फलानो बर्षको पजनीमा तिमी नआउनु ।’ तर, वर्तमान नेपालका राजा–रजौटाहरूले राणाकालीन हुकुमी शासनको जतिपनि सामन्ती शिष्टता प्रदर्शन गर्न छाडिसकेको उदाहरण नेपालका जनताले सभ्य संसारको एक्काइसौं शताब्दीको १५ औं बर्षमा पनि टुलुटुलु हेर्नु परिराखेको छ । बौद्धिकता पनि ठूलो अंशमा दलगत र गुटगत नेताहरूको घुमाइफिराई पक्षधरता प्रदर्शन गर्दै बसेको छ । सीमित मात्रामा केही पत्रकारहरू मात्र स्वतन्त्रताका साथ कलम चलाइरहेका पाइन्छन् । कुनै बखत जनवाद नामक कुनै चरा थियो कम्युनिष्ट पार्टीमा । केन्द्रीय कमिटी पूर्ण तथा निर्वाचित हुन्थ्यो तथा दुई महाधिवेशन माझ सर्वाेच्च निकाय मानिन्थ्यो । यसले मन्त्रीहरू र प्रधानमन्त्री चुन्दथ्यो र कुनै अभियोग भए कुनै पनि पार्टी नेतामाथि कारबाही राख्ने अधिकार राख्दथ्यो । तर, आज जनवाद विसर्जन गरी नेताको राजा–रजौटे व्यक्तिवाद कायम गरिएको छ । केन्द्रीय कमिटी श्री ३ महाराज मोहन शमशेरको भारदारीभन्दा पनि तल्लो स्तरमा पुर्‍याइएको छ । महाराजा त्रिभुवनलाई हटाउँदा र ज्ञानेन्द्रलाई श्री ५ बनाउँदा सबै भारदारहरूको पूर्वस्वीकृतिको सही गराइएको थियो । तर, अब पजनी खोसुवा र व्यक्तिगत तजबिजी नियुक्तिको सुँइको समेत केन्द्रीय कमिटी त के स्थायी समितिलाई समेत दिइन छाडिएको छ ।


दीपकचन्द्र अमात्यको राजीनामा पत्रको बारेमा मैले अखबारहरूमा पढें, पार्टी सचिव र प्रचार विभाग प्रमुख स्थायी समिति सदस्य योगेश भट्टराई भन्दछन्–‘किन हटाउनु परेको हो । कसरी हटाउनुपर्ने परिस्थिति आयो, के कारणले हटाइयो, पार्टीमा सल्लाह भएको पनि छैन र मलाई कारण थाहा पनि छैन ।’ २०७२ जेठ ९ गते शनिबारको नयाँ पत्रिका भन्दछ–‘भूकम्पका बेला अन्तर्राष्ट्रिय विमानस्थल र अन्य विमानस्थल भारतीय सेनाले कब्जा जमाएर परिचालनको विषयमा सरकारको आलोचना भएको थियो ।’ मैले दीपकचन्द्र अमात्यको राजीनामा पत्रका अंशहरू अरु दैनिकमा पनि पढें । अर्को एक दैनिकमा पत्रकार दुर्गा खनाल र सुरज कुँवरको संवाद भन्छ–‘कार्यक्षमता नेता र शक्तिकेन्द्रका स्वार्थअनुसार नचलेको लगायत कारण उनको राजीनामासँग जोडिएका छन् । उनले विषम स्थितिमा नेपालको संविधान, कानून तथा देशको स्वाधीनता र स्वाभिमानमा समेत कतै आँच नपुगोस् भन्ने निस्वार्थ इमान्दार प्रयास गर्दागर्दै त्यस अनुसार काम गर्ने अवस्था नरहेकोले राजीनामा दिएको उल्लेख गरेका छन् ।’

अमात्यले राजीनामा पत्रमा लेखेका शब्दहरू ‘तर जनता देश र लोकतान्त्रिक मान्यताको उक्त उद्देश्य तथा आदर्श अनुरुप अघि बढ्न सकिने परिस्थिति नदेखिदा मन्त्रिपरिषद्मा रहिरहन उचित नलागेकाले आजैका मितिदेखि लागु हुनेगरी राजीनामा दिएको छु’ । मलाई लाग्दछ दीपकचन्द्र अमात्यले सही लेखेर राजीनामा दिए र राम्रो गरे । नेपालका जनताले भूकम्पको दिनदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत निरीह पार्दै अरुहरूकै हालीमुहाली चलेको तथ्य विभिन्न संचार माध्यमहरूबाटै प्रकट भएकै छ ।


साँघु साप्ताहिक, ११ जेष्ठ २०७२