दीपकचन्द्र अमात्यभन्दा अघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भीमप्रसाद आचार्य नवौं महाधिवेशनद्वारा प्रतिनिधिहरूको मतदानका आधारमा निर्वाचित पार्टी सचिव थिए । तर, उनी बडो बेइज्जतीपूर्ण राणाकालीन पजनीलाई पनि माथ गर्नेगरी खोसुवा गरिए । उनीसंँग राजीनामा माग्नेसम्मको न्यूनतम शिष्टाचार प्रदर्शन गर्न एमाले नेतृत्वले आवश्यक ठानेन । उनलाई थाहै समेत नदिई खोसुवा गरियो ।
क्याबिनेट सिस्टम भएको देशहरूको शासन शिष्टाचार बमोजिम प्रधानमन्त्रीले मन्त्रीसँग राजीनामा माग्दछन् र नदिए मात्र हटाउँछन् । तर, नेपालमा न त आज प्रजातन्त्र छ, न त संसदीय पद्धति छ, न त क्याबिनेट सिस्टम नै छ । अहिलेका छोटे राजा–रजौटा नेताहरूमा प्रजातान्त्रिक संस्कार र संस्कृतिको न्यूनतम मानसिकता पनि देखिंदैन । प्रधानमन्त्री सुशील कोइरालाले पनि एमालेका नेताझैं प्रजातान्त्रिक संस्कारविहीनताको प्रदर्शन गरे । एमालेका नेताले आफू सरहका नेतृत्वदायी निकायका ठूला नेताहरूलाई स्थायी कमिटी सदस्यहरूलाई र अस्थायी कमिटीका सदस्यहरूलाई समेत सुइँको नदिई मध्ययुगीन राणाकालीन पजनी झैं उछिन्दै निर्वाचित पार्टी सचिवलाई खोसुवा गर्दै आफ्ना निजी सचिवलाई मन्त्री बनाइदिए । सर्वाेच्च स्थायी कमिटीका नेताहरूले पनि शक्तिहीन निरीह झैं यो सबै हेरेर, सहेर केही नबोली मौन रहे ।
तर, दीपकचन्द्र अमात्य पार्टी सचिव नभएर कुनै बखतका व्यक्तिगत बफादार निजी सचिव भएकाले होला नेताले राजीनामा गर्नेसम्मको इज्जत उनका ‘प्रभु’बाट बकस भएछ । राणाकालमा खोसुवा हुनेलाई बकाइदा पूर्जी पठाएर श्री ३ महाराजपछिका दोस्रो नम्बरवालाले सही गरेर पूर्वसूचना दिँदै लेखेर पठाउँदथे कि ‘फलानो बर्षको पजनीमा तिमी नआउनु ।’ तर, वर्तमान नेपालका राजा–रजौटाहरूले राणाकालीन हुकुमी शासनको जतिपनि सामन्ती शिष्टता प्रदर्शन गर्न छाडिसकेको उदाहरण नेपालका जनताले सभ्य संसारको एक्काइसौं शताब्दीको १५ औं बर्षमा पनि टुलुटुलु हेर्नु परिराखेको छ । बौद्धिकता पनि ठूलो अंशमा दलगत र गुटगत नेताहरूको घुमाइफिराई पक्षधरता प्रदर्शन गर्दै बसेको छ । सीमित मात्रामा केही पत्रकारहरू मात्र स्वतन्त्रताका साथ कलम चलाइरहेका पाइन्छन् । कुनै बखत जनवाद नामक कुनै चरा थियो कम्युनिष्ट पार्टीमा । केन्द्रीय कमिटी पूर्ण तथा निर्वाचित हुन्थ्यो तथा दुई महाधिवेशन माझ सर्वाेच्च निकाय मानिन्थ्यो । यसले मन्त्रीहरू र प्रधानमन्त्री चुन्दथ्यो र कुनै अभियोग भए कुनै पनि पार्टी नेतामाथि कारबाही राख्ने अधिकार राख्दथ्यो । तर, आज जनवाद विसर्जन गरी नेताको राजा–रजौटे व्यक्तिवाद कायम गरिएको छ । केन्द्रीय कमिटी श्री ३ महाराज मोहन शमशेरको भारदारीभन्दा पनि तल्लो स्तरमा पुर्याइएको छ । महाराजा त्रिभुवनलाई हटाउँदा र ज्ञानेन्द्रलाई श्री ५ बनाउँदा सबै भारदारहरूको पूर्वस्वीकृतिको सही गराइएको थियो । तर, अब पजनी खोसुवा र व्यक्तिगत तजबिजी नियुक्तिको सुँइको समेत केन्द्रीय कमिटी त के स्थायी समितिलाई समेत दिइन छाडिएको छ ।
दीपकचन्द्र अमात्यको राजीनामा पत्रको बारेमा मैले अखबारहरूमा पढें, पार्टी सचिव र प्रचार विभाग प्रमुख स्थायी समिति सदस्य योगेश भट्टराई भन्दछन्–‘किन हटाउनु परेको हो । कसरी हटाउनुपर्ने परिस्थिति आयो, के कारणले हटाइयो, पार्टीमा सल्लाह भएको पनि छैन र मलाई कारण थाहा पनि छैन ।’ २०७२ जेठ ९ गते शनिबारको नयाँ पत्रिका भन्दछ–‘भूकम्पका बेला अन्तर्राष्ट्रिय विमानस्थल र अन्य विमानस्थल भारतीय सेनाले कब्जा जमाएर परिचालनको विषयमा सरकारको आलोचना भएको थियो ।’ मैले दीपकचन्द्र अमात्यको राजीनामा पत्रका अंशहरू अरु दैनिकमा पनि पढें । अर्को एक दैनिकमा पत्रकार दुर्गा खनाल र सुरज कुँवरको संवाद भन्छ–‘कार्यक्षमता नेता र शक्तिकेन्द्रका स्वार्थअनुसार नचलेको लगायत कारण उनको राजीनामासँग जोडिएका छन् । उनले विषम स्थितिमा नेपालको संविधान, कानून तथा देशको स्वाधीनता र स्वाभिमानमा समेत कतै आँच नपुगोस् भन्ने निस्वार्थ इमान्दार प्रयास गर्दागर्दै त्यस अनुसार काम गर्ने अवस्था नरहेकोले राजीनामा दिएको उल्लेख गरेका छन् ।’
अमात्यले राजीनामा पत्रमा लेखेका शब्दहरू ‘तर जनता देश र लोकतान्त्रिक मान्यताको उक्त उद्देश्य तथा आदर्श अनुरुप अघि बढ्न सकिने परिस्थिति नदेखिदा मन्त्रिपरिषद्मा रहिरहन उचित नलागेकाले आजैका मितिदेखि लागु हुनेगरी राजीनामा दिएको छु’ । मलाई लाग्दछ दीपकचन्द्र अमात्यले सही लेखेर राजीनामा दिए र राम्रो गरे । नेपालका जनताले भूकम्पको दिनदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत निरीह पार्दै अरुहरूकै हालीमुहाली चलेको तथ्य विभिन्न संचार माध्यमहरूबाटै प्रकट भएकै छ ।
No comments:
Post a Comment