Thursday, July 31, 2014

भीमसेन थापाको आत्महत्या

भीमसेन थापाको आत्महत्या

     हिमेश
                                                                                        कान्तिपुर
 
                                                                                     २०७१  श्रावण ९ -

ठीक यही समय हो । आजभन्दा १ सय ७५ वर्षअगाडि भीमसेन थापा मृत्यु आत्मसात् गर्न बिभत्स रूपले संघर्ष गर्दै थिए । सायदै कसैले सोचेको थियो, मुख्तियारका रूपमा ३१ वर्ष देश चलाएका यिनको मृत्यु यति दुःखद हुनेछ । गि्रक नाटकहरूभन्दा पनि बडो वियोगान्त बन्यो भीमसेन थापाको अन्त्य ।

महारानी साम्राज्यलक्ष्मीका नाबालक छोरा देवेन्द्रविक्रमलाई विष खुवाएर मारेको आरोपमा थापा नजरबन्दमा परेका थिए । नजरबन्दमै उनले सुनेछन्, आफ्नी कान्छी श्रीमतीको हुर्मत लिइँदै छ । इतिहासकार बाबुराम आचार्यले लेखेका छन्, 'यस्तो हल्ला त्यति बेला पूरा काठमाडौंमा फैलिएको थियो । यो हल्ला भीमसेन थापासम्म पनि पुग्यो ।' स्वाभाविक रूपमा उनी स्तब्ध भए । अर्का इतिहासकार चित्तरञ्जन नेपालीले लेखेका छन्, 'उनकी स्त्री (भक्तकुमारी) लाई वस्त्रहीन तुल्याई सहर डुलाउने भएको छ र उनले यो दृश्य गुहुमा गाडिएर हेर्नुपर्नेछ ।' थापाको घोर बदनामी हुँदै थियो, उनी त्यसलाई जिउँदै हेर्न र सुन्न चाहँदैनथे । उनलाई भीषण आघात पुगेको थियो ।

१८९६ साउन ८ को दिन थापाले आफ्नो जीवनलाई लिएर एक अप्रत्यासित निर्णय गरे, आत्महत्याको । निगरानीमै राखिएको कोठामा उनले खुकुरीद्वारा सेरिएर मृत्यु आत्मसात् गर्ने कदम चाले । निगरानीको स्थितिमा पनि त्यहाँ खुकुरी कसरी पुग्यो ? यो प्रश्नले अझै उत्तर खोजिरहेको छ । केही इतिहासकारले भीमसेन थापाले काँचले सेरिएर आत्महत्याको प्रयास गरेको पनि भनेका छन् । जस्तो चित्तरञ्जन नेपालकै अनुसार, 'उनले विह्वल भई रन्थनिएर झ्यालको ऐना फोडी त्यसैको टुक्राले आफ्नै गलामाथि प्रहार गरे ।'

जे होस्, आत्महत्या प्रयासको यो समाचार राजा राजेन्द्र र महारानी साम्राज्यलक्ष्मीसम्म पुग्नु थियो, पुग्यो । यसलाई लिएर उनीहरू अझ क्रुद्ध भए । बाबुराम आचार्यलाई मान्ने हो भने तत्काल उपचार भएको भए, उनी सजिलै बाँच्ने थिए । राजा रानीकै आदेशमा रगतले लतपतिएको उनको अर्धचेत शरीर विष्णुमती नदीको बगरमा फ्याँकियो । यही स्थितिमा उनी नौ दिनसम्म बाँचे । वषर्ादको समय थियो, त्यसै स्थितिमा प्राण त्यागका लागि छटपटाइरहे । अन्ततः साउन १६ मा मृत्युवरण गरे ।

कथा यतिकै सकिन्न । लासको सम्मानपूर्वक दाहसंस्कार गर्नसमेत दिइएन । खासमा सामान्य तरिकाले पनि जलाउन दिइएन् । बरु स्याल, कुकुर र गिद्धलाई खान दिइयो । कतिसम्म भनिन्छ भने, उनको लासलाई टुक्रा टुक्रा पारेर काठमाडौंका ठाउँ ठाउँमा फ्यालिएको थियो । 'नेपाली इतिहासमा यति ठूलो व्यक्तित्वको यस्तो बिभत्स मृत्यु कहिल्यै भएको छैन, यस्तो दर्दनाक स्थिति पनि कहिल्यै बनेन,' इतिहासका प्राध्यापक भवेश्वर पँगेनी मान्छन् ।

भीमसेन थापाले जहाँ मृत्युवरण गरे, त्यहाँ अहिले भीममुक्तेश्वर शिवालय छ । अहिलेको आधुनिक त्रिपुरेश्वरमा रहेको यो शिवालय माथवरसिंह थापाले बनाइदिएका हुन् । बाबुराम आचार्यले आफ्नो पुस्तक 'अब यस्तो कहिल्यै नहोस्' मा थप लेखेका छन्, 'यस शिवालयले त्यहाँ रहेर अझैसम्म पनि यिनको हृदयविदारक आत्मघात र अमानुषिक यातनाको सम्झना गराउँदै रहेको पाइन्छ ।' थापाको अन्त्य वास्तवमै हृदयविदारक छ, त्रिविविको इतिहास केन्द्रीय विभागका प्रमुख विजय मानन्धर यही भन्छन् ।

भीमसेन थापाप्रति पर्याप्त सहानुभूति राख्ने चित्तरञ्जन नेपालीले त्यसै घटनालाई लिएर एउटा अनौठो तथ्य खुलासा पनि गरेको पाइन्छ । उनले आफ्नो पुस्तक 'जनरल भीमसेन थापा र तात्कालीन नेपाल' मा लेखेका छन्, 'यसरी फ्याँकिएको भीमसेन थापाको लासबाट अचानक खप्पर र हातहरू गायब भएका थिए । हात अझै पनि चौतारिया फत्यजंगका सन्तानको घरमा सुरक्षित छ एवं प्रतिवर्ष एकचोटि पूजार्थ निकालिन्छ भन्ने सुनिन्छ । अनि खप्परचाहिँ लन्डनको कुनै आजयव घरमा सुरक्ष्ाित छ भन्ने सुनिएको छ ।'

राजमाता ललितत्रिपुरासुन्दरीको मृत्युपछि भीमसेन थापाको पतन सुरु भएको थियो । उनी खालि 'रबरस्टायम्प' मात्र थिइन् । थापा जे भन्थे, उनी त्यही गर्थिन् । 'भीमसेन थापाको जीवनीलाई तीन भागमा विभाजन गर्न सकिन्छ, त्यसमध्ये पहिलो भाग खालि षड्यन्त्रको मात्र कथा हो,' उनलाई लिएर लामो अध्ययन गरेका अर्का इतिहासकार त्रिरत्न मानन्धरको निचोड छ, 'भीमसेन थापाले आफू शक्तिशाली हुन् एकपछि अर्को षड्यन्त्र गरे । षड्यन्त्रकै कारण उनी माथिसम्म पुग्न सफल रहे ।'

त्यसैमा मिल्ने गरेर उहीबेला बाबुराम आचार्यले लेखेका छन्, 'यस्ता अमानवीय काम काम गरेर वास्तवमा यिनले आफ्नो पतनको निमित्त खाडल आफैले उसैबेला नै खनिसकेको देखिन्छ ।' थापाले शक्तिमा हुँदा धेरै महत्त्वपूर्ण व्यक्ति र तिनको परिवारलाई त्यस्तै निर्दयी मृत्यु दिएका थिए, जुन नियति पछि आफै भोगे । यसको मुख्य कथा भने त्यति बेला पूर्वराजा रहेका रणबहादुर शाहको हत्याको प्रकरणबाट जोडिन्छ । स्वामी महाराज बनेका रणबहादुर शाहलाई भीमसेन थापाकै सल्लाहमा मुख्तियार पद दिइएको थियो ।

त्यसको केही महिनापछि १८६३ वैशाख १६ को रात कचहरी बोलाइएको थियो, राजभवन बाहिर त्रिभुवन प्रधानको घरमा । यो अहिलको आधुनिक रणमुक्तेश्वरमा पर्छ । त्यसै कचहरीमा शेरबहादुर शाहीले रणबहादुर शाहलाई तरबार प्रहार गरे । केही बेरमै उनको निधन भयो । लगत्तै बालनरसिंहको प्रहारले शेरबहादुर शाही पनि काटिए । ठीक यही बेला भीमसेन थापा नजिकैको भान्सामा खाना खाइरहेका थिए, अविश्वसनीय रूपमा । हत्याकाण्डबारे सुनेपछि उनी दृश्यमा देखिए ।

शेरबहादुर शाहीका दुई अंगरक्षक तत्काल काटिए । र, सुरु भयो- शृङ्खलाबद्ध हत्या । काजी त्रिभुवन प्रधान र नरसिह गुरुङ थुनिए । शेरबहादुर शाहीका दाजु विदुर शाही नजरबन्दमा परे । पाल्पाली राजा पृथ्वीपाल सेन र उनका भाइ त नजरबन्दमै थिए । हेलम्बुमा रहेका महारानी राजराजेश्वरीलाई पनि बोलाइयो । यिनीहरू सबै भण्डारखालको बगैंचामा काटिए, कुनै पुर्पक्षबिना । विदुर शाहीका नाबालक छोराहरू पनि बचेनन् । त्रिभुवन प्रधानका नातिहरू पनि विष्णुमती नदीमा काटिए ।

पाल्पाली राजाका १८ अंगरक्षकले पनि ज्यान गुमाए । त्यसको अर्को दिन १३ अरू भारदार मारिए । राजराजेश्वरी १४ सुसारेहरूसँगै सति जान बाध्य पारिइन् । यसरी दुई सातासम्म लगातार हत्या शृङ्खला चलेको थियो, जसमा १६ महिला र ७७ पुरुषले ज्यान गुमाए, बाबुराम आचार्यले मृत्यु हुनेको संख्या यही टिपाएका छन् । 'यो हत्याकाण्ड कोतपर्वभन्दा पनि घटिया थियो, यसमा राति सुतिरहेका बालक र वृद्धलाई पनि छाडिएन,' इतिहासकारद्वय तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्रले लेखेका छन् । त्यसपछि भीमसेन थापा मुख्तियार बने ।

उनीहरूकै भाषामा, 'यो हत्याकाण्ड नेपालको इतिहासमा राजनीतिक परिवर्तनको घटना थियो । अब राजपरिवारबाट भारदारमा शक्ति र सत्ता हस्तान्तरण भयो । राजपरिवारको भूमिका न्यून हुँदै गयो । नरसंहार गरी सत्तामा आउने परिपाटी देखापर्‍यो । यस्ता घटनाहरू पुनरावृत्ति हुँदै गए । अन्ततोगोत्वा यस्तै हत्याकाण्डबाट जंगबहादुर सत्तामा आए । यस अर्थमा भीमसेन थापा जंगबहादुरका मार्गदर्शक देखिन्छन् ।' केही इतिहासकारले रणबहादुर शाहको हत्याको अपुष्ट आरोप भीमसेन थापातिर लगाएका छन् ।

भीमसेन थापा वास्तवमै कस्ता थिए त ? आधुनिक समयमा उनलाई हेर्ने दुई ठ्याक्कै फरक दृष्टिकोण पाइन्छ । दुई 'स्कुल अफ थट्स' । एकातर्फ त्यस्ता इतिहासकारहरू छन्, जसले भीमसेन थापाको गुनगान मात्र गाउँछन् । उनीहरू सिधै भन्छन्- हाम्रा भीमसेन थापा । उनीहरू भीमसेन थापाप्रति खुबै सहानुभूति राख्छन् र उनको आत्महत्यालाई यो भनाइसँग जोड्छन्, 'सतिले सरापेको देश ।' अर्कातिर यस्ता इतिहासकार छन्, जसले भीमसेन थापाको दुर्गुण मात्र देख्छन् । उनीहरू भन्छन्- तिम्रा भीमसेन थापा । उनीहरू मान्छन्, 'जसरी भीमसेन थापा अरूको लासमाथि टिकेर सर्वशक्तिमान बने, उनको पतन पनि त त्यस्तै रह्यो । कुन नयाँ तथ्य रह्यो र ? भीमसेन थापाले जे जस्तो गरे, त्यस्तै बेहोर ।'

अङ्ग्रेजसँग लड्नु ठीक थियो अथवा थिएन त ? भीमसेन थापा जीवित छँदै विवाद थियो, जुन अहिलेसम्म पनि छ । आखिरमा त्यही युद्धले नेपालले आफ्नो एक तिहाई भूभाग गुमाउनुपरेको थियो । त्यसको अपजस पनि उनैलाई जान्छ । तर अवस्था युद्ध रोकेर रोक्न नसकिने स्थितिमा पुगिसकेको दाबी गर्नेहरू पनि त छन् ।

'यो युद्धपछि भने भीमसेन थापा असाध्यै राष्ट्रवादी बने । देशलाई कसरी फेरि बलियो बनाउन हो, त्यसतर्फ लागे,' भीमसेन थापाको जीवनको एक भागको रूपमा रहेको त्यस स्थितिलाई त्रिरत्न मानन्धरले चित्रण गरेका छन् ।

कोतपर्व र भीमसेन थापाले मच्चाएको हत्याकाण्ड दुई फरक प्रकृतिका थिए, तिनमा समानता पनि धेरै थियो । तर कोतपर्वको जति नेपाली इतिहासमा चर्चा भएको छ, त्यसरी नै विक्रम संवत् १८६३ को घटनालाई उठाइएन ।

सायद सात सालपछि धेरै इतिहासकारले राणाशासनको आलोचना गर्नमै बढी समय खर्चे । सत्र सालपछि यो प्रवृत्ति अझ चर्कियो कि ? वास्तवमै भीमसेन थापाले मच्चाएको हत्याकाण्डबारे पछिका इतिहासकारहरूले कलम चलाउने साहस देखाएका हुन् । फेरि भीमसेन थापाले आफ्नो मुख्तियारीका बेला विकास र सुधारका लागि केही नगरेका पनि होइनन् । 'भीमसेन थापाले जुन दिन आत्महत्याको प्रयास गरे र जसरी उनको मृत्यु भयो, ती सबै नेपाली इतिहासका काला दिन हुन्,' इतिहासकार भवेश्वर पँगेनीको निचोड छ, 'उनको अवसानको १ सय ७५ वर्षपछि अब समय आएको छ, भीमसेन थापाका सानाभन्दा साना कामको मूल्यांकन गर्ने, उनले गरेका सकारात्मक र नकारात्मक कामको सूक्ष्य अध्ययन गर्ने । र, यथार्थ विवरण लेख्ने ।'

इतिहासको सिद्धान्तले पनि भन्छ, प्रत्येक पुस्ताले फेरि दोहराएर इतिहास लेख्नुपर्छ, किनभने त्यसलाई हेर्ने दृष्टिकोण समयअनुसार फेरिएको हुन्छ ।

प्रकाशित मिति: २०७१ श्रावण ११ १२:२५

Monday, July 28, 2014

पुष्पलाल र नयाँ जनवाद

पुष्पलाल र नयाँ जनवाद
kapil

कपिल पोखरेल -
 
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको देहावसान भएको ३६ वर्ष बितेको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना गरी यस पार्टीलाई विचारधारात्मक दृष्टिकोण प्रदान गर्दै यस आन्दोलनलाई समृद्ध पार्ने कार्यका कारण क. पुष्पलाल कहिल्यै भुल्न नसकिने ऐतिहासिक व्यक्तित्व बन्नुभयो । उहाँको ३६औँ स्मृति दिवस भर्खरै मनाइएको सन्दर्भमा केही सवाललाई यस लेखमार्फत पाठकसामु पस्कने कोसिस गर्दै छु ।
अधिनायकत्वको सवाल
समाज शास्त्र र राजनीतिका कखरा मात्र पढेकाले पनि बुझ्नुपर्ने सवाल के हो भने कुनै पनि वर्गीय शासन अधिनायकत्वकै आधारमा चलेको हुन्छ । दास युगसँगै उदय भएको ‘राज्य’ निश्चित वर्गको शासन सञ्चालन गर्ने अस्त्र हो । यसै अस्त्रको प्रयोग गरी शासक वर्गले आफ्नो वर्गीय अधिनायकत्व सञ्चालन गर्दै आएको छ । दास युगमा मालिक वर्गले तमाम दास वा कमारामाथि अधिनायकत्व लाद्ने गथ्र्यो भने सामन्ती युगमा सामन्त वर्गद्वारा किसान वा भूदासलाई आफ्नो अधिनायकत्वमा राख्यो । पुँजीवादमा पुँजीपति वर्गले सर्वहारा वर्गमाथि त्यसै गर्दै आएको छ । तर, उसले जनतालाई झुक्याउन ‘डेमोक्रेसी’ शब्दको जालले अधिनायकत्वलाई लुकाउँछ । नयाँ जनवादमा पनि अधिनायकत्व हुन्छ तर त्यो अधिनायकत्व अघिल्लाको तुलनामा ठीक विपरीत हुन्छ । दासयुग, सामन्ती युग र पुँजीवादी युगमा ५ प्रतिशत शोषक वर्गको ९५ प्रतिशत जनतामाथि अधिनायकत्व कायम हुन्छ । तर, नयाँ जनवादमा ९५ प्रतिशत जनताको पाँच प्रतिशत शोषकमाथि अधिनायकत्व कायम हुन्छ । नेकपाको प्रथम राष्ट्रिय सम्मेलनमा कमरेड पुष्पलालद्वारा प्रस्तुत भई पारित ‘नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो’ नामक दस्ताबेजमा ‘अधिनायकत्व’ सम्बन्धमा ‘जनताका निम्ति जनवाद र साम्राज्यवाद र तिनका दलालका निम्ति अधिनायकत्व’ भनिएको छ ।
बुर्जुवाहरू आफूलाई जनविरोधी देखिनबाट बच्न मीठा–मीठा शब्दको कलात्मक प्रयोग गर्छन् । अंग्रेजी शब्द ‘डेमोक्रेसी’ लाई अब्राहम लिङ्कनले ‘जनताद्वारा चुनिएका जनताले जनताकै निम्ति गर्ने शासन’ भन्ने परिभाषा लगाएका थिए । यसलाई नेपाली अनुवाद गर्दा प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, जनवाद बनाइएको छ । प्रजातन्त्र, लोकतन्त्र वा डेमोक्रेसीजस्तो जनपक्षीय शब्दको प्रयोग गरी बुर्जुवा वर्गले अधिनायकत्व लुकाउने गरेको छ ।
अधिनायकत्व नराम्रो शब्द नभए पनि संसारभरका प्रतिक्रियावादीले यो शब्दलाई नकारात्मक शब्दको रूपमा चित्रित गरेको र जनताले साम्राज्यवादी प्रचारको भेद छुट्याउन नसकेको वर्तमान अवस्थामा हामीले पनि ‘जनताको जनवादी अधिनायकत्व’लाई ‘जनताको लोकतन्त्र’ वा ‘जनताको जनवाद’ शब्दको प्रयोग गर्न सक्छौँ ।
कम्युनिस्ट पार्टी र निर्वाचन
बुर्जुवाहरूले कम्युनिस्ट सत्ता सञ्चालन गर्न निर्वाचन गरिँदैन, कम्युनिस्ट पार्टीले नियुक्त गरेका प्रतिनिधिले शासन प्रशासन चलाउँछन् भन्ने अफवाह फैलाउँछन् । बुर्जुवा त बुर्जवा नै भए तर मदन भण्डारीले समेत जबजको कार्यक्रम तयार पार्दा नयाँ जनवादमा चुनाव नै नहुने अर्थमा जबजका थप विशेषता लेख्दै– बालिग मताधिकार, आवधिक निर्वाचनजस्ता विषयको व्याख्या गरेका छन् । यथार्थमा यी सबै भ्रम हुन् । नेकपाको प्रथम राष्ट्रिय सम्मेलनमा महासचिव क. पुष्पलालद्वारा प्रेषित भई सम्मेलनद्वारा पारित नयाँ जनवादको निम्ति नेपाली जनताको बाटो शीर्षकको दस्ताबेजमा कम्युनिस्ट ‘पार्टी र शासन व्यवस्था’ उपशीर्षकमा ‘जनताको सार्वभौमिकता अर्थात् देशको सबै शक्ति जनताको हातमा रहने राज्यको सर्वोच्च अदालत जनताले चुनेका प्रतिनिधिको हातमा राख्ने’ भनिएको छ । यति मात्र होइन, त्यहाँ, ‘यी जनप्रतिनिधिलाई निर्वाचनको बहुसंख्यकले चाहे फिर्ता बोलाउन सक्ने’ व्यवस्था गर्ने उल्लेख छ । त्यस्तै नयाँ जनवादी व्यवस्थामा ‘१६ वर्ष पुगेका सबै पुरुष र महिलालाई सार्वजनिक समानता र प्रत्यक्ष भोटको अधिकार दिने, बालिग मताधिकारको आधारमा प्रत्यक्ष चुनाव गराउने’ आदि उल्लेख छ । त्यसैले कम्युनिस्ट पार्टीको सत्ता अनिर्वाचित हुन्छ भन्ने कुरा शत–प्रतिशत झुटो हो ।
राजनीतिक पार्टीबारे
बुर्जुवा र जबजवादीहरूले समेत नयाँ जनवादलाई एकदलीय व्यवस्था भनेर झुटो प्रचार गरिरहेका छन् । यथार्थमा यसमा कत्ति पनि सत्यता छैन । क. पुष्पलालद्वारा प्रेषित उपर्युक्त दस्ताबेजमा ‘…राजनीतिक पार्टीलाई आनुपातिक प्रतिनिधित्वको अधिकार दिने’ उल्लेख गर्दै ‘गुप्त मतदान प्रणालीको चलन चलाउने’ समेत उल्लेख छ । यसबाट नयाँ जनवादी व्यवस्थामा बहुदलीय प्रणाली नै हुनेछ । तर, त्यहाँ साम्राज्यवादका दलाललाई मात्र बन्देज लगाइनेछ । यति छर्लंगसँग बहुदलीय परिपाटी रहने व्यवस्था गरिएको नयाँ जनवादलाई एकदलीय देख्नु उनीहरूको दृष्टिभ्रमबाहेक के हुन सक्ला र ?
स्थानीय स्वशासन सम्बन्धमा
अचेल स्थानीय स्वशासन नयाँ कुरो जस्तो ठानिँदै छ । दशवर्षे जनयुद्धमा एमाओवादीले स्थानीय सरकारको नारालाई निकै चर्काए र जनमत पनि बटुले । उनीहरूले पुष्पलाललाई कुनै सम्मान गरेनन् । स्थानीय स्वशासन एमाओवादीले ल्याएको नयाँ विषय थिएन, बरु यो त २००८ सालमै क. पुष्पलालले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरी पारित भएको दस्ताबेजमै उल्लेख छ । त्यहाँ, ‘स्थानीय र इलाकीय सरकारको व्यापक चलन गराउने, यी सरकारलाई बालिग जनताले चुन्ने र यिनीहरूलाई स्थानीय समस्यासम्बन्धी धेरै अधिकार दिने…’ उल्लेख छ । त्यस्तै माथिबाट नियुक्त हुने हाकिम, वडाहाकिम आदि अफिसर स्थानीय सरकारले नै नियुक्त गर्ने व्यवस्था पनि उल्लेख छ । कमरेड पुष्पलालले कम्युनिस्ट पार्टी स्थापनालगत्तै सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रेषित गरेको कार्यक्रमलाई हामीले आजसम्म लागू गर्न सकेका छैनौँ ।
नागरिक अधिकार र स्वतन्त्रताबारे
नागरिक अधिकार र स्वतन्त्रतासम्बन्धी कम्युनिस्ट पार्टीको नीति स्पष्टै छ । माथि उल्लिखित दस्ताबेजमा ‘धर्म, जात, योनी, वर्णको भेदभाव नगरी सबैलाई नागरिक अधिकार दिने’ उल्लेख छ । त्यस्तै त्यहाँ अघिल्लो बुँदामा ‘…छलफल, भाषण, प्रेस, संघ, हडताल, धर्म संघसमेत बनाउने पूर्ण अधिकार दिने’ उल्लेख छ । यतिका अधिकार नयाँ जनवादमै हुन्छ भने अर्को विकल्पका रूपमा जबज वा एक्काइसौँ शताब्दीको जनवाद आदि आवश्यक पर्छ र ? यो त पुष्पलाल र नेकपालाई ओझेल पार्ने काम भयो नि ।
न्यायालयबारे
नयाँ जनवादमा न्यायालय कसरी सञ्चालन गर्ने भन्ने पनि स्पष्ट छ । उपर्युक्त दस्ताबेजमा ‘जनताद्वारा निर्वाचित न्याय विभाग खडा गर्ने, न्यायाधीशलाई पनि जनताले चुन्ने अधिकार दिने, सरकारद्वारा नियुक्त गरिने होइन’ भन्ने उल्लेख छ । यसरी, कुनै पुँजीवादी मुलुकमा नभएको अधिकार नयाँ जनवादमा रहने व्यवस्था नेकपाको सम्मेलनमा कमरेड पुष्पलालले समावेश गरिसक्नुभएको हो ।
यसरी आजको विवाद, बहस र छलफलको विषय ६३ वर्षअघि नै कमरेड पुष्पलालको नेतृत्वमा रहेको नेकपाले निक्र्योल गरिसकेको विषय हो । नेकपा र कमरेड पुष्पलालका विचार आज पनि अत्यन्त सान्दर्भिक छन् । नयाँ जनवाद बुर्जुवाहरूले अपव्याख्या गरेझैँ नागरिक अधिकारविहीन र एकदलीय पनि होइन, जबजले भनेझैँ जडसूत्र पनि होइन । यो त मुलुकलाई समाजवादमा संक्रमित गराउने संक्रमणकालीन वैज्ञानिक कार्यक्रम हो । भर्खरै कमरेड पुष्पलालको स्मृति दिवस मनाइएको सन्दर्भमा सबै वामपन्थीको चेत फिरोस् ।

कम्युनिस्ट आन्दोलनका मुद्दा

कम्युनिस्ट आन्दोलनका मुद्दा
Untitled

कृष्णराज बर्मा –
 
मैले यसअघि एक दैनिकमा ००७ सालको पुँजीवादी जनवादी क्रान्तिको २९ वर्षपछि पनि नेकपा मालेले आफ्नो दस्ताबेजमा नेपालको सामाजिक, आर्थिक अवस्थाको विवेचना गर्दा भइरहेको पुँजीवादी विकास प्रक्रिया किन देख्न सकेन भन्ने प्रश्न उठाएको थिएँ । अर्धसामन्ती अर्धऔपनिवेशिक संक्रमणकालीन अवस्था भएका मुलुकमा पुँजीवादी जनवादी क्रान्तिका कार्यभार सामन्ती अवशेष समाप्त गर्दै भइरहेको पुँजीवादी विकासको प्रक्रियालाई तीव्र पार्नु र सोअनुरूप उपरी ढाँचाको जनवादी स्वरूप खडा गर्नु हो । यस अर्थमा यो साम्राज्यवाद सामन्तवादविरोधी प्रजातान्त्रिक संघर्ष हो । यसको यस चरित्रलाई माने पनि पुँजीवादी विकासको प्रश्नमा यिनीहरूमा अलमलै देखिन्छ । यस प्रकारको अलमल २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना कालमा पनि देखापरेको थियो भने ०२५ सालपछि स्थापित भएका माओवादी कम्युनिस्ट पार्टीहरूमा पनि देखापरेको हो । आज एमालेले नेपाली समाज पुँजीवादी भयो भन्ने प्रश्नलाई आधिकारिक नीति बनाएको र उसको अधिवेशनले यसलाई स्वीकार गर्नेबित्तिकै यो बहस टुंगियो भन्ने होइन । यो सिंगो कम्युनिस्ट आन्दोलनसँग जोडिएको प्रश्न हो । साथै, माक्र्सवाद–लेलिनवादको आधारमा हाम्रो सामाजिक विकास प्रक्रियाको अध्ययनसँग जोडिएको प्रश्न हो । त्यसकारण यसमा विशद बहस हुनु अनिवार्य छ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा ००८ सालदेखि सहभागी रहेको र ०१० देखि केन्द्रीय नेतृत्वमा रहेर काम गर्दै आएको हुनाले म बढी स्पष्टतासाथ के भन्न सक्छु भने नेपालको कम्युनिस्ट आन्दोलन आफ्नो सम्पूर्ण इतिहास कालमा सबभन्दा बढी उग्रवादी भड्काउको सिकार रहेको हो । ०१० सालदेखि पार्टीमा यसविरुद्ध संघर्ष हुँदै आएको हो । नेपालमा उग्रवादको दुइटा रूप देखापरेको हो । सुरुमा अर्थात् ००६ सालमा माक्र्सवाद–लेलिननवादको गहिरो ज्ञानको अभाव र नेपाली सामाजिक आर्थिक अवस्थाको गहन अध्ययनको अभावमा क्रान्तिकारीले दिने उग्रनाराका रूपमा यो देखापर्‍यो । जसलाई अधकल्चो ज्ञानबाट उत्पन्न विचलनका रूपमा लिन सकिन्थ्यो । तर, यस उग्रनारालाई १८ वर्षपछि ०२५ सालमा पुष्पलाल ‘ठोकुवा सत्य’ भन्दै ‘यी मौखिक बुँदा जनवादी क्रान्ति सम्पन्न नहुन्जेल मुख्य रूपले सही छन्’ भन्न पुग्नुभयो ।
अर्को उग्रवाद ०२५ पछि बडो स्पष्ट रूपमा आएको हो । भारतमा भएको ब्रिटिस साम्राज्यवादविरोधी मुक्ति आन्दोलनको असर जसरी नेपालका युवामा परेको थियो, त्यसरी नं चिनियाँ क्रान्तिको विजयले नेपाली युवालाई प्रभावित गर्‍यो । खासगरी माक्र्सवाद लेनिनवादप्रति रुचि राख्नेका लागि यो बढी आकर्षक थियो । तर, ०२५ सम्म यसलाई यान्त्रिक रूपमा अनुकरण गर्ने दिशातिरको प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा देखिएको थिएन । ०१७ पछि मुलुकमा निर्दलीय पञ्चायती व्यवस्थामा पार्टीहरू प्रतिबन्धित भए । पार्टीका राजनीतिक गतिविधिको प्रतिनिधित्व युवा विद्यार्थीले नै गरिरहेकाले उनीहरू निर्दलीय व्यवस्था परिवर्तनका लागि कुनै पनि बाटो अंगाल्न तयार थिए । त्यसै अवधिभित्र सोभियत संघ र चीनबीच बढ्दो अन्तरविरोध र चीनको विश्वव्यापी रूपमा भइरहेको सोभियत संघविरोधी आक्रामक कारबाहीको परिणामस्वरूप संसारभर कम्युनिस्ट आन्दोलनमा विभाजन आयो । यहाँसम्म कि विकसित पुँजीवादी देशमा पनि मोओवादी कम्युनिस्ट पार्टी खडा हुन पुगे । नेपालको सीमावर्ती क्षेत्रमा भारतीय माओवादीले नक्सलवादी हतियारबन्द आन्दोलन सुरु गर्‍यो । क्युबाको क्रान्तिबाट प्रभावित दक्षिण अमेरिकाको पेरुमा साइनिङ पाथको नाउँमा माओवादलाई विश्वमा स्थापित गर्ने प्रयास भयो । माओवादको यस लहरलाई सोभियत संघको विरोधमा उपयोग गर्न रिमले यसलाई अन्तर्राष्ट्रियकरण गर्न थाल्यो । निर्दलीय व्यवस्थाको दमनबाट विद्रोही युवा यसबाट प्रभावित हुँदै गए । सर्वप्रथम पुष्पलालले बनारस अधिवेशनबाट खडा भएको पार्टी पुनर्गठन गर्ने नाउँमा माओवादी पार्टीको स्थापना गर्नुभएको हो । तर, उहाँ सशरीर माओवादी हुनुभएन र युवा जमातलाई आफूतिर आकर्षित गर्न पनि सक्नुभएन । यसकारण माओवादी निर्माण क्रममा नेकपा माले स्थापना ०३५ सालमा गठन भयो, उसले पहिलोपल्ट नेपालमा सशस्त्र क्रान्तिको घोषणा गर्‍यो र चिनियाँ क्रान्तिको लक्ष्य, कार्यनीति सबैलाई यान्त्रिक रूपमा अँगाल्यो । पुष्पलालले विश्व कम्युनिस्ट आन्दोलनलाई हेर्ने माओवादी दृष्टिकोण अंगाले, विश्वको प्रमुख अन्तरविरोधको सम्बन्धमा माओले अंगालेका त्यस वेलाका विकृत दृष्टिकोणलाई कण्ठस्थ पारे र आफूलाई पक्का माओवादी प्रमाणित गर्न आधुनिक संशोधनवादको विरोध गर्दै ‘माक्र्सवाद–लेलिनवादको शुद्धताको निम्ति चिनियाँ कम्युनिस्ट पार्टीले पास गरेको २५ सूत्रीय कार्यक्रमलाई समर्थन गर्नेले मात्र उनको पार्टीको सदस्य हुन पाउनेछ भन्ने घोषणा गरे ।
०२५ पछि नेपालको राजनीतिलाई माओवादले एक–दुई दशकसम्म व्यापक रूपमा गाँजेको हो । चिनियाँ सांस्कृतिक क्रान्तिको सिलसिलामा स्थापित माओवादी विश्व दृष्टिकोण र चिनियाँ क्रान्तिको लक्ष्य, कार्यनीतिलाई यान्त्रिक रूपमा ग्रहण गर्ने प्रवृत्ति त्यसपछिका कम्युनिस्ट पार्टीमा देखापरेका हुन् । जसले गर्दा ०४६ मा वाममोर्चा गठन, वाममोर्चा र नेपाली कांग्रेसबीच मोर्चा स्थापना, देशमा संवैधानिक राजतन्त्रअन्तर्गत बहुदलीय प्रजातान्त्रिक संसदीय पद्धति स्थापना सम्भव भएको थियो । त्यही एमालेले आज चिनियाँ क्रान्तिका विशिष्ट अनुभवलाई यान्त्रिक रूपमा ग्रहण गर्ने प्रवृत्तिबाट कम्युनिस्ट आन्दोलनलाई मुक्त गर्ने आह्वान गर्दै छ । स्वयं ‘दशवर्षे जनयुद्ध’ को नेतृत्व गर्ने एमाओवादीको नेतृत्वबाट पनि छिटपुट यस्ता अभिव्यक्ति आउने गरेका छन् ।
००६ सालमा स्थापित कम्युनिस्ट पार्टी र त्यसको इतिहासलाई हेर्ने एउटा दृष्टिकोणको नेतृत्व पुष्पलालले गर्दै आएका हुन् र उनको निधनपछि पनि उनको नीतिको धुँवादार प्रचार–प्रसारमा लागेको एमालेको कार्यनीतिमा अतिविरोधाभास देखिन्छ । हुन त ०३५ मा पनि उनीहरूमा यो विरोधाभास नदेखिएको होइन । आफ्नो स्थापना दस्ताबेजमा ०१७ पछि नेकाको नेतृत्वमा जनता तथा राष्ट्रविरोधी षड्यन्त्र र आक्रमणको समर्थन गरेको नाउँमा पुष्पलाल तथा तुलसीलाललाई संशोधनवादी भनेका थिए भने राष्ट्रियताका प्रहरी राजाको समर्थन गर्ने भनी रायमाझी र मनमोहन अधिकारीलाई संशोधनवादी भनेका थिए । हुन त पछि मनमोहन अधिकारी उनको पार्टी अध्यक्ष भए, तुलसीलाल पोलिटब्युरो सदस्य भए र पुष्पलाल आदर्श भए । माक्र्सवाद–लेनिनवादलाई वैज्ञानिक रूपमा नेपालमा स्थापित गर्ने र उग्रवादी भड्काउबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई मुक्त गर्ने अभियानको नेतृत्व गर्न हिँडेको एमालेले ‘पुष्पलालले आफ्नो जीवनपर्यन्त बोकेको उग्रवादी भासलाई’ प्रसार गर्ने दायित्व किन बोकेको हो, बुझ्न नसकिने कुरा हो ।
एमालेले चिनियाँ क्रान्तिको यान्त्रिक अनुकरणलाई परित्याग गर्ने आधिकारिक नीतिको घोषणाले आत्मालोचना गर्ने क्रममा नेपाली इतिहासको एउटा कालखण्डमा अत्यधिक प्रभाव रहेको माओवादी रुझानप्रति गम्भीर प्रश्न उठाएको हो । तर, एमालेले २००६ सालमा पार्टी स्थापनाकालमा प्रकाशित अपिलपत्र र त्यसमा आधारित प्रथम सम्मेलनको कार्यक्रमका उग्रवादी भड्काउलाई किन देख्न सकेन ? यस अपिलपत्रमा नेपालको पुँजीवादी जनवादी क्रान्तिको कार्यभार यसरी निर्धारित गरिएको छ :
१)    पुँजीवादी प्रभुत्वलाई सम्पूर्ण रूपमा नष्ट गर्ने ।
२)    नेपालको उद्योगधन्दा, चियाबगान, यातायात आदिमा लगानी गरिएको विदेशी पुँजी जफत गर्ने ।
३)    ठूला उद्योग, बैंक, इन्सुरेन्स कम्पनीहरू सबै राष्ट्रियकरण गर्ने ।
४)    सबै जमिन राष्ट्रियकरण गरी किसानलाई वितरण गर्ने ।
५)    न्यायाधीशहरू जनताबाट निर्वाचित हुनुपर्ने ।
६)    नोकरशाही शासन व्यवस्था खतम गरी जनसमितिद्वारा रोजिएको प्रसाशकबाट प्रशासन चलाउनुपर्ने ।
७)    आमजनतालाई हतियार बन्द गरी प्रजातान्त्रिक फौज खडा गर्ने आदि ।
राजनीतिक रूपमा राजाशाहीको अन्त्यका कुरा गरे पनि पुष्पलालले सोचेको क्रान्तिको कार्य भन्नुस् या उनले सम्झेको पुँजीवादी जनवादी क्रान्तिपछि गर्ने या गरिनुपर्ने कार्य भन्नुहोस्, यही होइन र ? के एमाले यस कार्यक्रमको पूर्ण समर्थक छ ? यसै दृष्टिकोणका आधारमा केही हेरफेर भए पनि पहिलो सम्मेलनको कार्यक्रम यही हो । सम्मेलनमा उनले राजनीतिक कार्यका रूपमा ‘मजदुर वर्गको नेतृत्वमा जनताको जनवादी राज्य कायम गर्ने’ समेत थपेका थिए । के नेपाली पुँजीवादी जनवादी क्रान्तिको कार्यभारप्रति उनमा रहेको अज्ञानतामा आधारित यो उग्रवादी भड्काउ होइन ?
०४० देखि नेकपा मालेमा उग्रवादी भड्काउबाट मुक्तिका दिशामा भइरहेका प्रयासका परिणामस्वरूप ०४६ को जनआन्दोलनको विकास हुनसकेको थियो । त्यसवेलाको परिस्थितिमा संवैधानिक राजतन्त्रअन्तर्गत बहुदलीय संसदीय पद्धतिप्रति स्वीकृति र सामाजिक आर्थिक अवस्थामा गरिने समाजवादी रूपान्तरणको बाटो हतियार बन्द होइन, शान्तिपूर्ण संघर्ष हो भनी मालेले स्वीकार गरेको हो ।
पार्टी स्थापना कालमा भारतीय कम्युनिस्ट आन्दोलनमा रहेको उग्रवादी भड्काउको प्रभाव जसरी हाम्रो सोच र समझदारीमा परेको थियो, त्यसैगरी भारतीय कम्युनिस्ट आन्दोलनमा रहेको भड्काउबाट मुक्तिका प्रयासको प्रभाव पनि हामीमा परेको हो । २००९ साल पुग्दानपुग्दै जनताबीच जाने क्रममा पार्टी स्थापनाकालमा देखिएका उग्रवादी भड्काउबाट मुक्ति अपरिहार्य भयो । ०१० मा महासचिव मनमोहन अधिकारीको नेतृत्वमा पहिलो पार्टी कांग्रेसले अपिलपत्र र प्रथम सम्मेलनका कार्यक्रमलाई खारेज गर्‍यो । संक्षेपमा भन्ने हो भने अधिवेशनमा पारित कार्यक्रममा भनिएको थियो– हाम्रो पुँजीवादी जनवादी क्रान्तिको पहिलो लक्ष्य देशमा जनवादी सार्वभौमसत्ता सम्पन्न सरकार स्थापना गराउनु हुनेछ । त्यस सरकारले सबै देशसँग उनीहरूको राजनीतिक व्यवस्थाको भेदभाव नगरी व्यापारिक सम्बन्ध स्थापित गर्नेछ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा शान्तिपूर्ण नीतिसँग मेल नखाने राजनीतिक वा अन्य सर्त स्वीकार नगरी मैत्रीपूर्ण सहायता लिनेछ । यस्तो सहायता बराबरी, परस्पर लाभ तथा घरायसी मामिलामा हस्तक्षेप नगर्ने सर्तहरूमा आधारित हुनु आवश्यक छ । नेपाल कम्युनिस्ट पार्टी समाजवाद निमार्णको कुरा गर्दैन र आजको स्थितिमा धिराजको एकतन्त्रात्मक सरकारको ठाउँमा जनवादी र वैधानिक सरकार कायम होस् भन्ने चाहन्छ । आर्थिक विकासको दृष्टिले पुँजीवादको विकास गर्न चाहन्छ ।
यसले देशको आर्थिक पुनर्निर्माणका लागि कृषि क्षेत्रमा सामन्ती सम्बन्ध र तिनका शोषण अन्त्य गर्ने कार्यक्रम प्रस्तुत गर्‍यो । पुँजीवाद विकासका लागि स्वदेशी पुँजीबाहेक पनि विदेशी सहायता, ऋण र निजी विदेशी पुँजीका लागि समेत राष्ट्रिय हितलाई ध्यानमा राखी लगानी गर्ने छुट दियो । त्यस दिशामा कृिषमा पुँजीवाद विकासका लागि सामन्ती सम्बन्ध र तिनका शोषण अन्त्य गर्ने कार्यक्रम प्रस्तुत गर्‍यो । पुँजीवाद विकासका लागि स्वदेशी पुँजीबाहेक पनि विदेशी सहायता, ऋण र निजी आधारमा आउने विदेशी पुँजीका लागि राष्ट्रिय हितमा लगानी गर्ने दृष्टिले नियमनका साथै छुट दियो । स्वदेशी पुँजीको संवद्र्धन र संरक्षणका लागि नीतिहरू स्वीकार गर्‍यो । कांग्रेसपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टीभित्र रहेको हतियार संकलनको गोप्य समितिलाई सदाका लागि भंग गरेर पार्टीलाई कानुनी रूपमा लैजाने नीति लियो । ३ वैशाख ०१३ मा वक्तव्य जारी गरेर वैधानिक राजतन्त्र र आफ्नो समाजवादी लक्ष्य पूर्तिका लागि शान्तिपूर्ण तरिका अँगाल्ने घोषणा मनमोहन अधिकारीले गर्नुभयो । पहिलेको उग्रवादी रुझानबाट पूर्णरूपमा मुक्त हुन नसके पनि मनमोहन अधिकारीको नेतृत्वकालमा भएको यो घोषणाको सार संवैधानिक राजतन्त्रअन्तर्गत बहुदलीय संसदीय पद्धतिअनुसार शान्तिपूर्ण बाटोबाट आफ्नो समाजवादी लक्ष्यमा अगाडि बढ्ने र एमालेले ०४६ पछि लिएको नीतिमा के फरक छ ? के कम्युनिस्ट आन्दोलनका लागि ६० वर्षअगाडि गरेको यो घोषणा एउटा कोसेढुंगा थिएन ?
०१० मा यसलाई पुष्पलालले दक्षिणपन्थी भड्काउको संज्ञा दिनुभयो । के एमालेको पनि यही दृष्टिकोण हो ? यदि हो भने उसले कम्युनिस्ट आन्दोलनमा आफूले थपेको नयाँ आयामलाई के भन्छ ? एमाले आफ्नो पार्टीको पहिलो अधिवेशनलाई चौथो अधिवेशन घोषणा गरेर भर्खरै त्यसै क्रमअनुसार नवौँ अधिवेशन सम्पन्न गरेको छ । यस सम्बन्धमा अरू कुनै प्रश्न उठाउनुभन्दा पहिले के प्रश्न उठ्छ भने यो क्रमबद्धताको लहरो पुष्पलालको उग्रवादी धारसँग जोडिएको हो कि मनमोहनको वैज्ञानिक दृष्टिकोणसँग ? आज एमालेले यसलाई स्पष्ट पार्नु जरुरी छ । घनश्याम भुसालजीको कुनै लेखमा पुष्पलालका विवेचनालाई विवादै नगरीकन बोकेर हिँडिरहेका छौँ भन्ने अभिव्यक्तिले शुभसंकेत दिन्छ । तर, पुष्पलालका यस्ता उग्रवादी भड्काउपूर्ण विचारको प्रसारका लागि एमालेले गरिरहेको खर्चको आधारमा त्यसमाथि गम्भीर रूपमा विचार होला भन्ने विश्वास गर्ने ठाउँ पाइन्न ।
नेपालको सामाजिक आर्थिक अवस्थाको विवेचनामा एमालेले हिजो गरेको गल्तीको मूल कारण उसले अनुकरण गरेको उग्रवादी धार नै थियो । जसको स्रोत एकातिर माओवादप्रतिको उसको यान्त्रिक अनुकरण थियो भने उसको सुषुप्त मतिष्कमा रहेको पुष्पलालको उग्रवादी धार पनि थियो । जसलाई पुष्पलालले १९ वर्षपछि ०२५ सालमा पनि ठोकुवा सत्यका रूपमा स्विकारेका होइनन् कि पुँजीवादी जनवादी क्रान्ति पूरा नहुन्जेललाई सही मानेका मात्र हुन् । त्यसकारण उग्रवादी भड्काउबाट मुक्ति पाउनु भनेको माओवादको यान्त्रिक अनुकरणबाट मात्र होइन कि पुष्पलालको उग्रवादबाट पनि मुक्ति पाउनु हो ।
केही गम्भीर भएर हेर्ने कोसिस गर्नुभयो भने पुष्पलालको राजनीतिक गतिविधिको ‘मोटिभ फोर्स’ उनको क्रान्तिकारिता हो कि पदप्रतिको आसक्ति भन्नेमा डा. सुरेन्द्र केसीजस्ता इतिहासकार पनि अन्योलमै देखिन्छन् । पुष्पलाल भन्नुको अर्थ ‘कम्युनिस्ट पार्टीको स्थापना, अपिलपत्र र प्रथम सम्मेलनको कार्यक्रम’ हो । कम्युनिस्ट पार्टीको स्थापना सबैको स्थायी सरोकारको विषय हो । अपिल र कार्यक्रम अस्वीकृत हुने कुरा हुन् । तर, पुष्पलालले स्थापना, अपिल र कार्यक्रम सबैलाई आफ्नो व्यक्तित्व बनाउनुभयो । मूलत: एमालेको माओवादी दृष्टिकोण, नक्सलवादी कार्यनीति र मुलुकभित्र सामाजिक आर्थिक अवस्थामा भइरहेको परिवर्तनलाई पुष्पलालको आँखाबाट हेर्ने दृष्टिकोणले गर्दा नै एमालेले आफ्नो स्थापनाकालमा पुँजीवादी विकासको प्रक्रिया देख्न नसकेको हो ।

Monday, July 14, 2014

नेवार, किरात र गुरुङलाई अंग्रेजले किन्न खोजेका थिए

सुघौली सन्धिले जातिमा मनमुटाव ल्यायो

 
डा. इन्द्रबहादुर राई, साहित्यकार
 
भानुभक्त आजभन्दा दुईसय वर्षअघि जन्मिएका थिए । नेपाली जगतको स्थिति संकटकालीन थियो । त्यसताका मुख्य तीन ठूला शक्ति थिए । भारतमा अंग्रेज र रणजीत सिंहको शिख ठूला शक्तिका रुपमा थिए भने नेपाल खाल्डोमा पृथ्वीनारायण शाहको ठूलो शक्ति थियो । तीनमध्ये एक नेपाली शक्ति कायम रहेको थियो ।
भारतमा शिखलाई पराजित गरेपछि अझ सशक्त भएका अंग्रेजहरुले सिंगो नेपाल नै निमिट्यान्न पार्ने रणनीति तयार गरेका थिए ।indrabahadur-rai
बंगालका नवाब सिराजुदौलाका सेनापति मिरजाफरलाई रातारात किनेझैं नेपाल खाल्डो हत्याउन अंग्रेजहरुले नेवार किरात र गुरुङहरुलाई एकाएक प्रलोभन अनि निन्दा गराएर किन्ने भरमग्दुर प्रयास गरेका थिए । तर, यीमध्ये कुनै जातले पनि अंग्रेजहरुको साथ दिएनन् । त्यसपछि अंग्रेज र नेपालमाझ युद्ध भएको थियो ।
अंग्रेजहरुले नेपाललाई पराजित गरेपछि १८१६ मा सुघौली सन्धी भएको थियो । तर, ८ वर्षसम्म नेपालले सम्झौतामा हस्ताक्षर गरेन । पछि घरेलु विवादका कारणले मात्रै सहीछाप गरेको थियो । यसै सन्धिले जातिमा मनमुटाव, नैराश्यता र उदासीनता देखा पर्न थाल्यो ।
जातिको पुरानो गौरबलाई फर्काइल्याउन पुनः झक्झक्याउन आदिकवि भानुभक्त आचार्यले रामायण रचेका थिए । वास्तवमा त्यसताका रामायणबाट जनसाधारणले नैतिक, वैचारिक, सामाजिक पाठ पढेपछि आएको जनक्रान्तिले गर्दा नै जातिलाई एकसय वर्ष अगाडि पुर्‍याइदिएको थियो । भानुभक्तले रामायण नरचिदिएको भए आज पनि हाम्रो जाति एक सय वर्ष पछि हुने थियो ।
हाम्रा अभिभावक, कलाकार र राजनेताहरुकै बलबुँताले गर्दा हाम्रो जाति अघि बढिरहेको छ । भानुभक्तबाट शिक्षा लिएर हामीले समाजकै हितको निम्ति लेख्नुपर्छ । साहित्यकारहरु साहित्यदेखि अलग्गिए केही गर्न नसक्ने अवस्थामा पुग्छन् । पुराना इतिहासलाई भुल्यौं भने हाम्रो आफ्नै इतिहास भुलिपठाउने छौं । इतिहासकारहरुले सबै घटनालाई लेखिदिएका छन्, जसलाई हामीले अध्ययन गर्न जरुरी छ ।
दार्जीलिङमा हामी बिजेताका रुपमा आएका हौं
सन् १७८८ सालमा नेपाल र सिक्किममाझ युद्ध भएको थियो । नेपाल सेनाका नायक पूर्ण आले इलामबाट गोरखा सेना लिएर पशुपति, सीमाना, सुकेपोखरी, घुम हुँदै दार्जीलिङ आइपुगे । त्यसताका सिक्किमको राजधानी फालुट-सन्दकपुर नजिक राप्देन्सी थियो । सेना लिएर पूर्ण आले रेलिङ वस्ती, कर्मी र च्याखुसम्म पुगे । यसरी नै गोर्खा सेना लिएर अर्का जवाहर सिंह सिक्किमको दक्षिण भागबाट अघि बढेका थिए ।
पूर्ण आलेको नेतृत्वमा रहेको गोरखा सेनाले सिक्किमको भूभाग कब्जा गरेको ३६ वर्षसम्म दार्जीलिङ सिक्किममा थियो । हामी गोरखालीहरु बिजेताका रुपमा आएका हौं । १७८८ सालमा नै आधिपत्य जमाएर रैथाने भएका हौं । चिनारीको आधारमा नै राजनीति हुन आवश्यक छ । हामीले पहिले नै सबै बन्दोबस्त गर्न सकौं । बस्दोबस्त भएपछि सर्वभारतीय स्तरमा हामीले राजनीति गर्न सक्छौं ।
चित्राकार, कलाकार, साहित्यकारहरुले नै चिनारीको जोहो गर्छन् । चिनारीको जोहो गर्नेहरुलाई राजनीतिले पनि जोहो गर्नुपर्छ । हाम्रो वरिपरिका खोलानाला नै हाम्रो पहिचान हुन् । धमिलो खोला भए पनि त्यही खोला नै हामीलाई पि्रय लाग्छ । खुकुरी नाच हराए खुकुरीको महत्व नै हराएर जान्छ । खुकुरी नृत्य राज्य बचाउन युद्धको तयारीको निम्ति गरिएको पहल हो । यस्तो कुराहरु परोक्ष अपरोक्षरुपमा हाम्रा आफ्नै साहित्यकार कलाकारहरुले दिइरहेका हुन्छन् । सम्मानको गहिरो महत्व हुन्छ । तर, समय छँदा नै प्रतिभावानहरुलाई सम्मान दिइनुपर्छ ।
(चर्चित साहित्यकार राईले भानु जयन्तीको अवसरमा दार्जीलिङमा सम्मानित भएपछि व्यक्त गरेको मन्तव्यको संक्षेप । राईलाई दार्जीलिङमा जीवन पूर्णकालीक उपलब्धि पुरस्कारका सम्मानित गरिएको छ।  याे सामाग्री हिमालय दर्पणबाट लिइएकाे हाे -सं  )
 
- See more at: http://www.onlinekhabar.com/2014/07/169439/#sthash.nGCbyyhj.dpuf

Sunday, March 16, 2014

दुई माओवादी मिल्ने कुरा - लेखनाथ न्यौपाने

दुई माओवादी मिल्ने कुरा

    दुवै माओवादीका सातौं महाधिवेशनले पारित गरेका दुवै प्रतिवेदन गहिरिएर तुलनात्मक अध्ययन गर्ने हो भने यी दुई बीचको एकता सम्भव नै छैन ।
     
     
               
    लेखनाथ न्यौपाने                             
    lekhnath
                                                                                
    फुट, क्षयीकरण र बदमासीसँगै 'एमाओवादी क्यास' र 'माओवादी ड्यास' भनेर व्यङ्ग्यका जुलुसै आए । एमाओवादीले राष्ट्रिय र वर्गीय आत्मसमर्पण गरेको भन्दै क्रान्तिको झण्डा उठाएको माओवादीले त्यसपछिका दिन निराशालाई आशामा, शङ्कालाई विश्वासमा र प्रतिकूलतालाई अनुकूलतामा बदल्न निकै उकालो महसुस गरेको बुझ्न गाह्रो छैन । 'जनाधार नभएका एकाधले पार्टी छाडेका हुन् र बहुमत ल्याइन्छ, चुनावमा जानुपर्छ' भन्ने एमाओवादी चुनावी परिणामसँगै निकै माथिबाट प्रतिकूलतामा पछारिएपछि दुई माओवादी बीचमा पुनः एकताको सन्दर्भ उठ्नु स्वाभाविक परिघटना हो । तर दुई पार्टी बीचको एकता आवेगपूर्ण, भावपरक र नेताहरू नेता बनिरहने स्वार्थलाई केन्द्रमा राखेर गर्ने वा प्रतिकूलतामा धकेलिएको माओवादी आन्दोलनलाई साँच्चै अनुकूलताका लागि माओवादी इथिक्समा टेकेर गर्ने भन्ने विषय मुख्य प्रश्न हो । यो पनि सत्य हो कि गुट, फुट र क्षयीकरण जति पीडादायी घटना हुन्, योभन्दा कैयौं गुणा सुखद एकता र सुदृढीकरण हुन्छ नै । तर फुटबाहेक अन्य समाधानले सम्बोधन गर्न नसक्ने के-के विषय विवादका कारण पार्टी फुट्छन् र कुन उत्प्रेरक रसायनको कारण जुट्न हतारिन्छन् भन्ने विषय कसरी बुझ्ने ? भित्र वा बाहिर कहाँका हातले कम्युनिस्टहरूलाई फुटाउँछन् र भोज खान्छन्, अनि सम्भावनाको मिराज कति वर्ष पछाडि धकेलिन्छ भन्ने हेक्का अब हरेक कम्युनिस्ट सदस्यले राख्न सक्नुपर्छ ।
    पार्टी भित्रको दुई लाइन संघर्षमा बहुमतवालाले अंकगणितको डन्डा चलाएर अल्पमतलाई खेदेको खेदै गर्ने र अल्पमतवाले पनि एकताभन्दा फरक धन्दामै भविष्य देख्ने रोगको कारण दुवै मतवाला एकताका लागिभन्दा फुटका लागि अग्रसर हुने र विभाजनमै रमाउने मनोदशा इतिहासमा निणर्ायक बन्दै आयो । यसकारण कम्युनिस्ट पार्टीहरूको एकता वा फुटमा आम कार्यकर्ता र समर्थक जनताको मत निणर्ायक हुने गरेको देखिँदैन । जब तल्लो तहसम्म फुट र एकताबारे तीव्र बहस र सापेक्षित एकरूपताको बुझाइ बन्दैन, तब फुट वा एकता नाटकजस्तो लाग्नु पनि स्वाभाविक हुन्छ । यस्ता खेस्रा नाटकहरूलाई नेताहरूले वस्तुवादी भन्दै पुष्टि गर्ने दुष्प्रयास गरे पनि समयक्रमसँगै परिणाम अवस्तुवादी प्रमाणित हुन्छ । जसले फुटलाई एकता र एकतालाई फुटमा फेरिदिन्छ । माओवादी बीचको फुट र दुई माओवादी बीचको एकताको प्रसङ्ग यस्तै एउटा तर पछिल्लो कडी हो भन्दा फरक नपर्ला कि ?
    कम्युनिस्ट घोषणापत्र (सन् १८४८) जारी ताकाका दुई मुख्य विभाजनका घटना सबैले सम्झन जरुरी छ । पहिलो, विश्वको पहिलो मजदुर संगठन कम्युनिस्ट लिग (१८४७) निर्माणसँगै विवाद र विभाजन भयो । युरोपमा चलेका ठूलठूला मजदुर विद्रोहहरू हारमा बदलिएपछि 'नयाँ संकटपछि मात्र नयाँ क्रान्तिको प्रादुर्भाव हुनसक्छ' भन्ने माक्र्स-एंगेल्सको विचार अस्वीकार गर्दै कम्युनिस्ट लिगकै नेताहरू मिल्लिख र सापोरको नेतृत्वले 'जर्मनीमा सशस्त्र विद्रोह सम्भव छ' भन्ने धारणा र योजना अघि सारे । यही विषय विवादको कारण गठन भएको दुई वर्ष नपुग्दै कम्युनिस्ट लिग विभाजन भयो ।
    दोस्रो, 'एकातिर गोदाम अन्नले भरिभराउ छ, अर्कोतिर हाम्रा जहान, छोराछोरीहरू भोकै मरिरहेका छन् । हामी यो हेरिरहन सक्दैनौं' भन्ने व्यानरमा विकसित भएको दोस्रो चार्टिस्ट आन्दोलन (१८४८) को पहिलो पाइलोमै फुट भयो । विलियम लोभेटको नेतृत्वमा नैतिक शक्ति (नरम दल) र र्फगस ओकोनोरको नेतृत्वमा भौतिक शक्ति (गरम दल) भनेर दुई गुटमा विभाजन बेहोरेको इतिहास छ । यसरी विश्वका विभाजन र एकताका अनगिन्ती घटना पढ्दै हुर्केका नेपाली कम्युनिस्ट नेता- कार्यकर्ता देशभित्रको विभाजनमा प्रवेश गर्छन् ।
    नेपाली कम्युनिस्ट आन्दोलनभित्र औपचारिक विभाजन दरभंगा प्लेनमको निर्णय कार्यान्वयन गर्ने कि नगर्ने भन्नेबाट सुरु भए पनि फुटको विजारोपण कम्युनिस्ट पार्टी स्थापना (२००६) सालदेखि नै भएको प्रस्टै छ । नेपाल कम्युनिस्ट पार्टीको जन्म कहिले र को-कोबाट भएको हो भन्ने त्यतिबेलाको विवाद आजसम्म टुङ्गिएको छैन । वारा, पर्सा र रौतहटमा ठूलठूला किसान विद्रोह (२००८-००९) र  भीमदत्तको नेतृत्वमा पश्चिममा सशस्त्र विद्रोह (२००९) चल्दै गर्दा कम्युनिस्ट पार्टीको महासचिवले 'समाजवाद शान्तिपूर्ण तरिकाले स्थापना गर्न सकिन्छ भन्ने कुरामा कम्युनिस्ट पार्टी विश्वास गर्छ । नेकपाले यो स्पष्ट पारेको छ कि राजाको वैधानिक नायकत्वमा प्रचलित कानुनको अधीनमा रही समाजवादी सिद्धान्तको प्रचार गर्छ' भन्ने विषयको विन्तीपत्र राजाकहाँ चढाउनु विभाजनका खास कारण थिए । त्यहाँदेखि यहाँसम्म आउँदा कम्युनिस्ट आन्दोलनभित्र साना-ठूला गरी ७६ वटा विभाजन र यसको एक तिहाइ एकताहरू देख्न सकिन्छ । दुई माओवादी बीचको एकताको प्रसङ्ग तिनै एक तिहाइ मध्येको एउटा घटनाबाहेक थप नयाँ होला कि नहोला ? पर्खेर हेर्नु नै बुद्धिमानी होला ?
    आवश्यकताको दृष्टिबाट दुई माओवादी बीचको एकता जरुरी देखिन्छ । 'एक्लै-एक्लै केही गर्न सकिँदैन, प्रतिकूलताका घेरा कसिँदा छन् र जनयुद्धको गौरवपूर्ण इतिहास (भौतिक उपलब्धि त आफैंले बुझाएर सकियो) समेत खरानी हुने भयो' भन्ने बुझाइ दुवै माओवादीभित्र विकास हुनु एउटा सकारात्मक भविष्यको रेखाङ्कन हो भने अर्को दुवै पार्टीले एकै समयमा संगठनात्मक सम्मेलनको आयोजना गर्नु, दुईअंके केन्द्रीय समिति बनाउने निर्णय गर्नु र केन्द्रपछि जिल्लालाई कार्यकारी बनाउने प्रक्रियाले एकताको छलफल र तयारी अघि बढिसकेको संकेत गर्छ । 'हारको मुख्य कारण पार्टी फुट र वर्गीय धरातल छोड्नु हो, एक्लैले सामान्य सुधारको संघर्ष पनि अब संगठित गर्न सकिँदैन र पालुङटार फर्किएर एकीकृत शक्तिका साथ नयाँ ढंगबाट अघि बढ्न जरुरी छ' भन्ने एमाओवादीको प्रारम्भिक धारणा र 'सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध गरी नयाँ कम्युनिस्ट क्रान्तिकारी आन्दोलनको सुदृढीकरण गर्ने कामलाई व्यवस्थित तुल्याउँदै क्रान्तिलाई नयाँ ढंगले संगठित गर्न अनिवार्य बन्न गएको छ' भन्ने नेकपा-माओवादीको निर्णयले एकता नजिकिएको प्रतित हुन्छ । यद्यपि एकताको आवश्यकतालाई सम्भावनामा उठाउन धेरै विषय र सन्दर्भ गजबार बन्ने खतरा पनि उत्तिकै छ ।
    नेकपा-माओवादीको सातौं महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदन र एमाओवादीको सातौं महाधिवेशनले पारित गरेकोे प्रतिवेदन गहिरिएर तुलनात्मक अध्ययन गर्ने हो भने दुई माओवादी बीचको एकता सम्भव नै छैन भन्ने निष्कर्ष निस्कन्छ । उदाहरणका लागि नेकपा-माओवादीले एमाओवादी र यसका नेताहरूबारे धारणा, 'प्रचण्ड-बाबुराम भारतीय विस्तारवादी शासक वर्ग तथा त्यसको खुफिया एजेन्सीसित सम्बन्ध कायम गरेको, उसको हितमाथि कुनै हानि नपुर्‍याउने भनेर प्रतिबद्धतापत्र लेखेको, 'रअ'सँग नियमित सम्पर्कमा रहेर भारतको पक्षमा काम गर्दै आएको, दाहालले पार्टीभित्रको दुई लाइन संघर्षमा भारत विरोधी पक्षको विरोधमा र बाबुरामको पक्षमा दृढतापूर्वक उभिने काम गरेर पार्टी फुटाउनसम्म तयार भएको भन्ने रअका पूर्वप्रमुख पिके हर्मिसको लेखमा उल्लेख गरेको' लगायत कैयौं प्रसङ्ग र विषय समावेश छन् ।
    उता एमाओवादीले नेकपा-माओवादीबारे आफ्नो बुझाइ, 'किरण पक्ष नेपालमा जडसूत्रीय संशोधवाद र वाम विसर्जनवादको नयाँ संस्करणबाहेक अरु नभएको तथ्य नै पुष्टि भइरहेको छ । अवसरवादको प्रतिक्रियावादसँग अनगिन्ती सम्बन्ध हुने साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विशेषताअनुसार नै किरण पक्षको प्रतिक्रियावादी तत्त्वहरूसँग बढ्दो साँठगाँठ स्पष्ट देख्न सकिन्छ ।' 'किरण पक्षले माथिदेखि प्रचण्ड र बाबुरामलाई सत्तोसराप गरिसकेपछि अन्तिममा के गर्ने भन्नेमा जाँदा सरकारका लागि गोलमेच गर्ने, नेपाली कांग्रेस र एमालेमा अति एकात्मक सामन्ती राज्यका चरम पक्षपाती नेताहरूसँग साँठगाँठ गर्ने र राष्ट्रपतिसँग याचना गर्ने' आदि... ।
    यद्यपि नेपालका अरु कम्युनिस्टजस्तै माओवादीहरू पनि प्रतिवेदनमा लेखिएका विषय आफ्नानिम्ति होइन भन्ने ठान्छन्, जे लेख्छन्, त्यो नगर्नेगरी लेख्छन् र जे गर्छन्, त्यो प्रतिवेदनमा लेख्नै नमिल्ने खालको काम गर्छन् । यस अर्थमा ती प्रतिवेदनले एकतालाई नछेक्ला, तर इतिहास साक्षी छ । २०५४ सालमा एमाले फुटेपछि खुल्लामञ्चबाट मालेका नेता वामदेव गौतमलाई एमालेले 'एक नम्बरको भ्रष्टाचारी' घोषणा गरेको र मालेले एमालेलाई 'घोर राष्ट्रघाती' भन्दै पानी बाराबार गरेको दुई वर्षपछि नै पुनः एकता सम्भव भएको इतिहास जस्तै-जस्तै ।
    एकता सैद्धान्तिक र उद्देश्यमा आधारित हुनुपर्छ । असैद्धान्तिक र उद्देश्य किटानी नभएको एकताको न अर्थ हुन्छ, नत टिकाउ नै । दुई माओवादीको एकताको सैद्धान्तिक आधार माओवाद मान्ने, पुँजीवादी जनवादी क्रान्ति पूरा नभएको स्वीकार्दै यसलाई विद्रोहमार्फत पुरा गर्ने बनाइनुपर्छ । यो सैद्धान्तिक आधारमा फेरि एकपटक दुवै पार्टी पालुङटार र्फकनुपर्छ, जहाँ 'एकता, रूपान्तरण र विद्रोहको विकल्प छैन' भन्ने संश्लेषण भएको थियो । एकताको अर्को सैद्धान्तिक आधार लाइन र नेतृत्वलाई बनाउनुपर्छ । खरिपाटी र पालुङटारपछि पार्टी लाइन विद्रोहको बनेकोे तर नेतृत्व विद्रोह नचाहने वा विरोधी हुने अन्तरविरोधी विषय थियो । एमाओवादीले बनाएको माथिबाट तल क्रान्ति असफल भएको र शान्ति र संविधानको बाटो पनि टुङ्गिएको सन्दर्भमा विद्रोहमार्फत पुँजीवादी जनवादी क्रान्ति पुरा गर्ने लाइनसँगै यसैको नेतृत्वमा पार्टी एकता हुने हो । एउटा उत्कर्षमा पुगेर झरेको नेताकै नेतृत्वमा अब न पार्टी एकता सम्भव हुन्छ, नत क्रान्ति नै ।
    तेस्रो प्रश्न रणनीति र कार्यदिशाको स्पष्टता हो । नेकपा-माओवादीको रणनीति जनवाद एवं एमाओवादीको समाजवाद रहँदासम्म एकता सम्भव नै हुँदैन । एकता सम्भव बनाउनका निम्ति अंशगत रूपमा पुँजीवादी क्रान्ति सम्पन्न भए पनि मूलरूपमा बाँकी रहेको बुझाइमा दुबै पार्टी आउनुपर्छ । पुँजीवादी क्रान्ति मूलरूपमा पुरा भएको भन्नुको अर्थ राज्यको नेतृत्व राष्ट्रिय पुँजीपतिसहितको सर्वहारा वर्गको हातमा आएको हुनुपर्छ, कित पुँजीपति वर्गको नेतृत्वमा हुनुपर्छ । आजको हाम्रो राज्यको नेतृत्व सामन्तवादी तथा दलाल पुँजीपति वर्गको हातमा गएको छ भने कसरी राजनीतिक हिसाबले पुँजीवादी क्रान्ति सम्पन्न भएको मान्न सकिन्छ र ? पुँजीवादी क्रान्ति पुरा भयो भन्ने निष्कर्षले त एकता बन्दै बन्दैन, तर बहसका निम्ति भने खुला हुन सक्नुपर्छ ।
    एकताको मुख्य पक्ष फेरि पनि नियतकै हो । नियत सफा हुने हो भने एकता निकट देखिन्छ । कम्युनिस्ट मूल्य र आदर्शका पर्याय बनेका किरणले कम्युनिस्ट आदर्शलाई एकतामार्फत नयाँ उचाइ प्रदान गर्ने आँट गर्नैपर्छ । जनयुद्ध कालमा माओवादी विरुद्ध पुरानो राज्यले गरेका सबै कारबाही कानुनी तर नयाँ सत्ताले गरेका काम सबै गैरकानुनी भन्ने विषयको निणर्ायक प्रतिरोधका निम्ति पनि जनयुद्धको मुख्य नेतृत्व प्रचण्डले विगतको कमजोरीको समीक्षासहित एकतामा भविष्य देख्न सक्नुपर्छ । यस अर्थमा दुई माओवादी बीचको एकता आवश्यकता र सम्भावनाको हिसाबले मूर्त हुनसक्छ ।
      
     http://www.ekantipur.com/np/2070/12/3

    Thursday, March 13, 2014

    खाँचो नयाँ शक्तिको - बाबुराम भट्टराई



    खाँचो नयाँ शक्तिको


    पहिलो संविधानसभा राजनीतिक शक्तिहरूबीचको वैचारकि द्वन्द्वका कारण विफल भयो। जनतासामु गएर प्रतिस्पर्धा गर्नु र जनादेश लिएर संविधान बनाउनु संविधानसभाको मूल ध्येय हो। संविधान बनाउने भनेको मूल कानुन वा राज्यको चरत्रि निर्माण गर्ने पनि हो। समाजमा विद्यमान विभिन्न शक्ति र वर्गको अधिकार बाँडफाँट गर्ने पनि हो। तर, यस महत्त्वपूर्ण कार्यमा ती शक्तिबीच समन्वय हुनै सकेन। किन त ? यो प्रश्नमा घोत्लिनु अहिले सान्दर्भिक नै हुन्छ।

    यस्ता विषयमा घोत्लिँदा मुख्य रूपमा विश्व दृष्टिकोणका कुरा आउँछन्। कुन दृष्टिकोणबाट हामीले संसारलाई हेर्छौं भन्ने। यसका फरक-फरक निष्कर्ष वा व्याख्या हुन सक्छन्। तर, मोटामोटी रूपमा दुइटा व्याख्या र बहस हुनेछन्। एउटा नवउदारवादी चिन्तन, जसले व्यक्ति र निजत्वलाई प्रधान मान्छ। अर्को माक्र्सवादी वा समाजवादी दृष्टिकोण, जसले सामूहिकता वा समाजलाई प्रधान मान्छ र व्यक्तिलाई सहायक। यी दुई दृष्टिकोणबीच राजनीति, समाजशास्त्र, अर्थशास्त्र, संस्कृति, सौन्दर्यशास्त्र सबै क्षेत्रमा बहस र प्रतिस्पर्धा पनि छ। पहिलो संविधानसभा विफलतामा टुंगिनुको मूल कारण यिनै दुई दृष्टिकोणको द्वन्द्व थियो। दुइटैले दुईतिर तान्न खोज्दा संविधान बनेन।

    अहिले पनि राष्ट्रिय हित र ऐतिहासिक आवश्यकतालाई पहिचान गर्न नसकेर पार्टी-पार्टीका आ-आफ्ना संकीर्ण सोच, व्यक्ति-व्यक्तिका महत्त्वाकांक्षा र अहम्हरू टकराएर मुलुक नै दिशाहीन अवस्थामा पुग्न लागेको छ। त्यसैले पहिले हामीले राजनीतिक विचारलाई नै नयाँ ढंगले विकास गर्नु आवश्यक छ। त्यसका निम्ति वैचारकि र दार्शनिक ढंगले नवउदारवादी र समाजवादी दुइटै विचारको बीचबाट अहिलेको आवश्यकता सुहाउँदो विचारको निर्माण गरेर अगाडि बढ्नुपर्छ।

    अपूर्ण विचारहरू

    नवउदारवादी दृष्टिकोणले समग्र विश्व र हाम्रो समाजलाई पूर्ण रूपमा बुझ्न सक्दैन। त्यसले समस्या हल गर्न पनि सक्दैन। त्यसका आफ्नै सीमा छन् र सकारात्मक पक्ष पनि। दुई-तीन सय वर्षदेखि यो विचारले विश्वमा जबरजस्त प्रभाव पार्दै आएको छ। यसले व्यक्तिको निजत्वको महत्त्व र प्रभावलाई स्थापित गरेको छ।

    निजत्वलाई भन्दा सामाजिकतालाई प्रधानता दिने अर्को माक्र्सवादी दृष्टिकोण छ, जसले २०औँ शताब्दीमा ठूलो उथलपुथल ल्यायो। कतिपय समाजवादी व्यवस्थाको प्रयोग गर्न पनि खोज्यो। तर, त्यसले व्यक्तिको निजत्वलाई समेट्न सकेन। मान्छेका कतिपय सार्वभौम, प्राकृतिक, स्वभावजन्य गुण हुन्छन्। चरत्रि र विविधता हुन्छन्। तिनलाई समेट्न सकेन। अमूर्त सामाजिकताको कुरा मात्रै गर्‍यो। अमूर्त ढंगले सबैलाई सोलोडोलो एउटै बनाउन खोज्यो। त्यसैले २०औँ शताब्दीको समाजवादी प्रयोग सफलतामा पुग्न सकेन।

    अर्कोपट्टि, निजत्वलाई नै सबथोक भन्ने, समग्र समाजको हितलाई भन्दा व्यक्तिको स्वार्थ/लोभजन्य प्रवृत्तिलाई मात्रै प्रधानता दिने कुराले समाजमा भयंकर द्वन्द्व पैदा गर्‍यो। असमानता र विभेदले पैदा हुने द्वन्द्वहरूको व्यवस्थापन पनि गर्न सकेन। ठूला विश्वयुद्ध भए।

    अब नयाँ राजनीतिक विमर्श गर्दा यी दुईथरी दृष्टिकोणभित्र रहेका कमीकमजोरीलाई बुझ्नु र तिनका सकारात्मक पक्षहरूलाई समेट्नु आवश्यक छ। खासमा यी दुई विपरीत विचार होइनन्, जसरी रूख र जंगल अलग होइनन्। कसैले रूख मात्रै देख्ने, जंगल नदेख्ने, कसैले जंगल मात्रै देख्ने, रूख नदेख्ने। यो प्रवृत्ति नवउदारवादी र समाजवादी दृष्टिकोण राख्नेहरूका बीचमा रह्यो। त्यसैले बिलकुल विपरीत विचारहरूको समन्वय नभएर यी दुवैको अपूर्णतालाई अन्त्य गरी नयाँ विचारको विकास गर्नुपर्छ।

    यसलाई ऐतिहासिक विकासको सन्दर्भसँग जोडेर पनि हेर्नुपर्छ। किनभने, समाज विकासको चरण अनुसार विचारको पनि विकास हुन्छ। जस्तो, युरोप र अमेरिका पुँजीवादी युग वा आधुनिक औद्योगिकीकरणको युगको उच्च तहमा पुगिसके। उनीहरू निजत्वमा बढी जोड दिएर अगाडि बढिरहेका छन्। तर, त्यहाँ पनि उत्पादनको प्रकृति र आधुनिक प्रविधिको प्रयोगले सामूहिकता जन्माइरहेछ। उत्पादन ठूलो परिमाणमा हुँदै जाँदा व्यक्तिले मात्रै त्यसलाई सम्हाल्न सक्दैन। त्यसमा सामूहिकता जरुरी हुन्छ। यसलाई अनुभूत गरेर नवउदारवादी वा उदारवादी अर्थतन्त्रात्मक राज्यव्यवस्थामा समाजवादी व्यवस्थाका कतिपय अवयवलाई समावेश गर्न थालिएको छ। खास गरी स्क्यान्डेभियन मुलुकहरू समाजवादतिर उन्मुख भएका छन्।

    अर्कोतिर, पुँजीवादको माथिल्लो चरणमा नपुगेका र निकै पिछडिएका चीन, कोरयिा, भियतनामलगायत एसिया र ल्याटिन अमेरिकाका देशहरूमा समाजवादको प्रयोग गर्न खोजियो। पुँजीवादकै आधार नभएको, विज्ञान प्रविधिको विकास नभएको अवस्थामा एकैचोटि उन्नत समाजवाद स्थापना गर्न खोज्दा त्यो असाध्यै यान्त्रिक र भद्दा खालको भयो। त्यसले विकृत, असाध्यै केन्द्रीकृत, नोकरशाही, निरंकुश र ढोका बन्दवादी प्रकारको समाज सिर्जना गर्न खोज्यो। यो प्रयोग सफल भएन।

    पुँजीवादी युगमा प्रवेश

    ००७ सालदेखि ०७० सालसम्म हामीले सामन्ती राज्यव्यवस्था, निरंकुश राजतन्त्रात्मक व्यवस्था र एकात्मक राज्यव्यवस्थाका विरुद्धमा संघर्ष गर्दै आयौँ। चाहे ००७ सालदेखि नेपाली कांग्रेसले सुरु गरेको संघर्ष होस् वा ०५० को दशकसम्म वामपन्थी शक्ति बढेर उनीहरूले प्रभाव जमाएका बेला। चाहे ०५२ सालपछि माओवादीको नेतृत्वमा चलेको सशस्त्र जनयुद्ध होस् वा मधेसी र जनजातिका क्षेत्रीय र जातीय संघर्ष। यी सबैको योगफलस्वरूप सामन्तवादको अन्त्य गरेर पुँजीवादी क्रान्ति मूलतः सम्पन्न गर्‍यौँ। पुरानो सामन्ती युगको अन्त्य गरेर अब औद्योगिक पुँजीवादी युगमा प्रवेश गरेका छौँ।

    हुन त हामी माओवादीकै नेतृत्वमा यो ऐतिहासिक परविर्तन सम्भव भयो। तर, संविधानसभाको दोस्रो निर्वाचनमा निकै खस्किन पुग्यौँ। त्यसैले यो कस्तो खालको क्रान्ति हो भन्ने पनि पर्न सक्छ। तर, रुसको फेब्रुअरी पुँजीवादी क्रान्ति पनि लेनिन वा बोल्सेभिकहरूको नेतृत्वमा भएको थिएन। इतिहासमा देखिन्छ, कसैले चाहेर मात्रै सबै कुरा हुँदैन। ऐतिहासिक वस्तुगत प्रक्रिया र हामी सबैको आत्मगत प्रयत्नको योगफलस्वरूप नेपालमा पुँजीवादी क्रान्ति मूलतः सम्पन्न भइसकेको छ। केही काम मात्र बाँकी छन्। जस्तो ः राज्यको माथिल्लो संरचनामा पुँजीवादी रूपान्तरण भए पनि आर्थिक आधारहरूको जगमा अहिले पनि पुँजीवादपूर्वका सामन्तवादी अवशेष छन्। कतिपय भूमि सम्बन्ध, आर्थिक विकासको मन्द अवस्था, सांस्कृतिक रूपमा लैंगिक र जातिगत विभेद आदि सामन्तवादी अवशेष हुन्।

    राज्यको माथिल्लो संरचना पुँजीवादीकरण भइसकेपछि पुँजीवादको आधारलाई विस्तारति गरेर आर्थिक र सामाजिक रूपमा यसलाई फराकिलो बनाउनुपर्छ। यसरी तत्काल राष्ट्रिय औद्योगिक पुँजीवादको विकासलाई जोड दिनुपर्छ। अन्ततः परिमार्जित समाजवादतिर जाने रणनीति अपनाउनुपर्छ। यही कुरामा प्रस्ट नहुँदा धेरै नीतिगत विचलन आउन सक्छन्। हामी माओवादीले पछिल्लो चरणमा पुरानो सामन्तवादी राज्यसत्तालाई धक्का दियौँ। त्यसले पुँजीवादी क्रान्तिलाई सापेक्ष पूर्णतामा पुर्‍याउन मद्दत गर्‍यो। विडम्बना, हाम्रै नेतृत्वमा क्रान्ति पूरा भएर पनि नयाँ संविधान निर्माण गरी अगाडि बढ्ने जुन अवसर थियो, त्यो हामीले गुमायौँ।

    अनुभवको कमी र विभिन्न प्रतिगामी शक्तिहरूको चलखेलका कारण हामीले पहिलो संविधानसभाबाट आफ्नै नेतृत्वमा संविधान निर्माण गर्न सकेनौँ। तर, पुँजीवादी क्रान्तिका मूलभूत मुद्दाहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र आदि मुलुकमा यसरी स्थापित भए, त्यसबाट त कोही पनि पछाडि हट्न सक्दैन। कोइलीले कागको गुँडमा फुल पार्छ। कागले कोरल्छ। बचेरा हुर्काउँछ। बचेरा ठूला भएपछि कोइली भएर भुर्र उड्छन्। हामीले पनि पुँजीवादी क्रान्तिका भु्रणका रूपमा यी उपलब्धि निर्माण गर्‍यौँ। तर, यसलाई संस्थागत गर्ने जिम्मा पुराना संसदीय दललाई दिएका छौँ। उनीहरूको गुँडमा गणतन्त्र र संघीयताको फुल पारेर छोडिदिएका छौँ। र, उनीहरूले नचाहेर पनि कोइलीरूपी त्यो संघीय लोकतान्त्रिक गणतन्त्रको बच्चा हुर्कन्छ। त्यस अर्थमा पुँजीवादी क्रान्ति सम्पन्न भयो भनेर हामीले बुझ्नुपर्छ।

    अब हामीले केमा ध्यान दिने त ? यो पुँजीवाद पुरानो ढर्राको शास्त्रीय पुँजीवाद होइन। शास्त्रीय पुँजीवाद युरोप, अमेरिकामा थियो, जतिखेर उनीहरूको विदेशमा ठूलो उपनिवेश थियो। त्यहाँबाट उनीहरूले धेरै प्राकृतिक साधन, स्रोत र श्रम भित्र्याउँथे। आफ्नो उपनिवेशमै लगेर उत्पादन बेच्थे। त्यसबाट प्राप्त मुनाफाबाट एक ढंगको पुँजीवादको विकास गरेका थिए। तर, त्यस ढाँचाको पुँजीवादको विकास गर्ने सुविधा हामीलाई छैन। हामी आफैँ कमजोर छौँ, अर्काको दबाबमा छौँ। त्यसैले हाम्रै विशेषतासहितको पुँजीवादलाई कसरी समृद्ध पार्ने, राष्ट्रिय औद्योगिक पुँजीवादको विकास कसरी गर्ने भन्नेतिर ध्यान दिनुपर्छ। यहीँनेर एउटा मौलिक बाटो खोज्नु आवश्यक छ।

    निर्माणको आन्दोलन

    दोस्रो संविधानसभाबाट संविधान निर्माण गर्ने क्रममा नेपालको इतिहासको यो विकासक्रमलाई बुझ्न जरुरी छ। ००७ सालयताको संघर्ष पुरानो सामन्ती संरचना भत्काउने आन्दोलन थियो। त्यसैले त्यो विद्रोहात्मक र हिंसात्मक पनि थियो। अब पुरानो भत्काउने चरण करबि करबि पूरा भयो र नयाँ निर्माण गर्ने चरणमा हामी प्रवेश गरेका छौँ। अब नयाँ विचारलाई एउटा नयाँ उचाइबाट प्रस्तुत गर्नुपर्छ। राजनीतिक नेतृत्व भनेको समाजलाई विचार दिने र डोर्‍याउने पनि हो। समाजले नयाँ विचारको माग गर्छ र त्यो विचार अनुसारको संगठित शक्ति पनि। संगठित शक्तिबिना राजनीतिक प्रक्रियालाई अगाडि बढाउन सकिँदैन। पार्टीहरूको भूमिका त्यहाँनेर रहन्छ। त्यस कारण अब नयाँ ढंगको पार्टी निर्माणको प्रसंग पनि आउँछ।

    नयाँ शक्ति निर्माण गर्दा नयाँ ढंगको नेतृत्व पनि चाहिन्छ। गतिशील समाजको आवश्यकतालाई पूर्ति गर्ने गतिशील नेतृत्व। त्यस हिसाबले के देखिँदै छ भने नेपालमा नयाँ ढंगको विचारको प्रवाह सँगसँगै नयाँ नेतृत्व र नयाँ खालको आन्दोलनको चरणमा हामी प्रवेश गर्दै छौँ। र, त्यसले समग्र नयाँ धु्रवीकरणको माग गरेको छ। यसैलाई केन्द्रमा राखेर अबको एउटा राष्ट्रिय बहस अगाडि बढ्नुपर्छ। त्यसका निम्ति संविधानसभा बहसको थलो हुन सक्छ। सडकबाट गर्ने काम त हिजो पनि गरिएको छ र भोलि पनि गर्नुपर्छ। संविधानसभालाई बल पुग्ने गरी विभिन्न वर्ग, समूह, क्षेत्रका आन्दोलन र आवाजहरू अहिले पनि मुखरति हुन्छन्, चाहे पनि नचाहे पनि। जनप्रतिनिधिमूलक थलो हामीलाई प्राप्त छ भने त्यहीँबाट बहस अगाडि बढाउन सक्नुपर्छ।

    नयाँ शक्ति : कस्तो ?

    नयाँ शक्ति निर्माणपहिले विचारमा एकरूपता आवश्यक छ। एकपटक हामीकहाँ विद्यमान राजनीतिक शक्तिलाई हेरौँ। पुरानो संसद्वादी पार्टी नेपाली कांग्रेसले ००७ सालेदेखि नै पुँजीवादी नीतिको अगुवाइ गर्दै आयो, नवउदारवादी विचारको पक्षपोषण गर्दै। उसले प्रजातान्त्रिक समाजवादका कुरा पनि नगर्ने होइन। तर, बीपी कोइरालाले जुन ढंगले प्रारम्भिक अवस्थामा '५० र '६० को दशकमा वैचारकि राजनीतिक आधार कांग्रेसलाई दिए, त्यसपछिका नेताहरूले त्यसलाई गति दिन सकेनन्। समाजको गति अनुसार विचार पनि परविर्तनशील र गतिशील हुनुपथ्र्यो, भएन।

    यता वामपन्थी कित्तामा वैचारकि रूपमा ठूलो बहस छ। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, रुस र चीनको बाटोको विषयमा पनि बहस भए। ००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी यस्तै बहसले टुटफुट भयो। ०४६ सालको आन्दोलनपछि एउटा एमालेको धार र अर्को माओवादी धारमा पुग्यो, कम्युनिस्ट आन्दोलन। अरू सानातिना शक्ति पनि छन्। तर, यहाँनिर वैचारकि संकट छ। एउटा धारले पुरानो माक्र्सवादी-लेनिनवादी विश्व दृष्टिकोणलाई नै परित्याग गरेर विचारविहीन हुन खोजेको छ। अर्कोचाहिँ एकदमै यान्त्रिक रूपमा त्यसलाई पक्रन खोजेको तर समयानुकूल विकास र परिमार्जन गरेर अघि बढ्न नसकेको वैचारकि अस्पष्टताको विन्दुमा छ।

    यी दुइटै विचारका सकारात्मक पक्षहरूलाई ग्रहण गर्दै नयाँ समुन्नत विचार र त्यसका आधारमा नयाँ शक्तिको निर्माण आजको ऐतिहासिक आवश्यकता हो। पुँजीवादी क्रान्तिका प्राप्त उपलब्धिलाई संस्थागत गरेर आर्थिक र सामाजिक क्रान्ति गर्दै विकसित समाजवादतिर अगाडि बढ्न नयाँ शक्तिको निर्माण र त्यसको जन्म यतिखेरको आवश्यकता हो। तर, त्यो पनि सधैँ स्थिर त हुँदैन। समय-समयमा परिमार्जन र विकास गर्नैपर्छ। केही दशकपछि अर्को विचार र शक्ति निर्माण गरेर जानुपर्ने हुन सक्छ।

    कसको नेतृत्व ?

    मान्छेहरू व्यक्ति हेर्छन्। नयाँ शक्तिको निर्माण कसले गर्छ, कसको वरपिरि त्यो बन्छ भन्न थाल्छन्। तर, यो मुख्य कुरा होइन। इतिहासको आवश्यकता के हो भन्ने कुरा प्रमुख हो। समाज र इतिहासको विकासले के आवश्यकता महसुस गर्छ र कसलाई उपयुक्त ठहर्‍याउँछ भन्ने हो। इतिहासको माग र आवश्यकता पूरा गर्ने क्षमता कससँग छ भन्ने आधारले व्यक्ति अगाडि आउने हो। युरोपमा भन्ने गरिन्छ, जतिबेला सामन्तवादको पूरै अन्त्य र पुँजीवादको विकास गरेर औद्योगिक क्रान्ति आवश्यक भएको थियो, त्यसका निम्ति पूरै राजतन्त्रात्मक सामन्तवादलाई नष्ट गर्नुपर्ने थियो। त्यतिबेला नेपोलियनजस्ता बलिया शासकको माग भएको थियो, पुँजीवादी क्रान्ति नै गर्नका निम्ति। जसरी नेपोलियनको युद्धले युरोपको पूरै राजतन्त्रलाई बढारिदियो र औद्योगिक क्रान्तिको आधार तयार पारिदियो, त्यो ऐतिहासिक आवश्यकता थियो। त्यतिबेला ती नेपोलियन नजन्मिएका भए अर्को कुनै नाममा नेपोलियन जन्मिन्थे।

    नेपालमा पनि १८औँ शताब्दीमा बाइसे-चौबीसे भुरे-टाकुरे राज्यहरू थिए। त्यसले भौगोलिक एकीकरणको माग गरेको थियो। त्यो नगरेको भए यो हिमाली भूखण्ड पूरै अंग्रेज उपनिवेशमा मिसिने खतरा थियो। यसलाई एकीकृत गरेर स्वतन्त्र कायम राख्न ऐतिहासिक पात्र चाहिएको थियो, ती पृथ्वीनारायण शाहको रूपमा पैदा भइदिए। इतिहासको आवश्यकताले जुन गुण माग गरेको थियो, त्यो गुण पृथ्वीनारायण भन्ने व्यक्तिमा देखा पर्‍यो र उनले त्यो

    पूरा गरे।

    अहिले पनि ६० वर्षभन्दा अघिदेखिका आन्दोलनहरूलाई नयाँ उचाइमा पुर्‍याएर पुँजीवादी क्रान्तिलाई पूर्णता दिँदै पुँजीवादको विकास र समाजवादतिर जाने नयाँ युगमा हामी प्रवेश गरसिकेका छौँ। अब मुख्य रूपमा आर्थिक विकास र समृद्धिका एजेन्डालाई केन्द्रमा राखेर तीव्र उत्पादन र उत्पादकत्व वृद्धिका साथ नेपाली समाजलाई आधुनिक युगमा लिएर जाने आवश्यकता छ। त्यसलाई पूर्ति गर्ने पात्र को हुन सक्छ ? यो त आमजनताले नै सामूहिक रूपमा फैसला गर्ने हो। तर, त्यसको नेतृत्व सामूहिक रूपमा कसले गर्छ भन्ने कुराको खोजी भइरहेको छ। हामीमध्येका पात्रहरूबाट पनि हुन सक्छ। नयाँ आउन पनि सक्छन्। इतिहासले त्यसको खोजी गर्छ। अब आवश्यकता र आकस्मिकताको योगफलस्वरूप नेतृत्व जन्मिन्छ।

    नयाँ शक्तिको उदय दुई वा तीन प्रक्रियाबाट हुन सक्छ। पहिलो, यिनै पार्टीहरूले आवश्यकताबोध गरेर आफूलाई रूपान्तरण गर्ने। नयाँ परििस्थति सिर्जना भइरहेको छ भने पुरानो विचार, पुरानै पार्टी र पुरानै नेतृत्वबाट यो सम्भव हुँदैन। अर्को बाटो, सबै पार्टीभित्रबाट यो विचारलाई आत्मसात् गर्नेहरू मिलेर नयाँ ध्रुवीकरण हुन पनि सक्छ। अथवा, यो सबै प्रक्रियाभन्दा फरक ढंगले नयाँ नेतृत्व जन्मिन पनि सक्छ।

    नेतृत्व भनेको पाको वा कपाल फुलेकै हुनुपर्छ भन्ने पनि होइन। परविर्तन गर्ने विश्वका नेताहरू प्नि ४० वर्ष आसपासका नै छन्। त्यसरी नै हामीकहाँ पनि त्यही उमेर आसपासका नेताहरू नै आउन सक्छन्। अथवा, पुरानै मध्येबाट कसैले युगको आवाज सुनेर आफूलाई रूपान्तरण गर्न पनि सक्छन्।

    राष्ट्रियता र भूराजनीति

    हामी संविधान बनाउने चरणमा छौँ। संविधान मात्रै पनि नभनौँ, नयाँ राज्य व्यवस्था निर्माण गर्दै छौँ। यस सन्दर्भमा के के कुरामा ध्यान दिने भन्ने पनि सोच्नुपर्छ। त्यसमध्ये प्रमुख कुरा नेपाली राष्ट्रियता हो। यो असाध्यै महत्त्वपूर्ण विषय हो। जबसम्म राष्ट्रिय राज्यहरू रहन्छन्, त्यतिबेलासम्म प्रत्येक राष्ट्रिय राज्यले आफ्नो परचिय स्थापित गर्न सक्नुपर्छ। एउटा व्यक्तिले म को हुँ, किन हुँ भनेजस्तै एउटा राज्यले ऊ के हो, किन हो र कसरी हो भन्ने कुराको स्पष्ट पहिचान कायम गर्न सकेन भने त्यो राष्ट्रिय राज्यको अस्तित्व रहँदैन।

    नेपालको सन्दर्भमा हेर्दा कहिलेकाहीँ आत्मग्लानि पनि हुन्छ। गौरवशाली इतिहास बोकेको भूखण्डमा जन्मेर पनि यसको गौरवलाई यदाकदा नबुझेजस्तो अनुभूति हुन्छ (हेर्नूस्, गर्विलो इतिहास)। हामीले हाम्रो इतिहासलाई यदाकदा बिर्सेजस्तो, कायम राख्न नसकेजस्तो लाग्छ। त्यसका पछाडि मुख्य कुरा सुगौली सन्धिमा हामीले अंग्रेजसँग हारेपछिका घटनाक्रमहरू जिम्मेवार छन् (हेर्नूस्, सुगौली सन्धिले झुकाएको शिर)।

    करबि दुई सय वर्षदेखिको असमान भारत-नेपाल सम्बन्धले बलियो झन् बलियो बन्दै गयो र हामी झनै कमजोर। दुर्भाग्य के भयो भने नेपालमा १ सय ४ वर्षको राणा शासन र ००७ सालपछि पनि पञ्चायती शासनका नाममा पुरानै राजतन्त्र आदिका कारण हामी आर्थिक रूपमा सामन्तवादको युगलाई परित्याग गरेर औद्योगिक युगमा जान सकेनौँ। यसरी नेपालको राष्ट्रियता झन् कमजोर, कुण्ठित र संकुचित हुँदै गयो।

    अब नेपालको राष्ट्रियता र पहिचानलाई स्थापित गर्न इतिहासलाई स्मरण गर्दै मुलुकलाई अहिलेको युगमा साँच्चिकै स्वाधीन, समृद्ध र सबल बनाएर मात्र सार्वभौमसत्ताको रक्षा गर्न सकिन्छ। आन्तरकि रूपमा बलियो र आर्थिक रूपमा सम्पन्न नबनाएसम्म राष्ट्रियता बलियो बन्न सक्दैन। त्यसैले सबभन्दा पहिले हामीले नेपाल भन्ने परचिय स्थापित गर्नुपर्ने भएको छ (हेर्नूस्, प्रमुख पहिचान नेपाल)।

    यही क्रममा हामीले आफ्नो भू-राजनीतिक अवस्थालाई पनि ख्याल राख्न जरुरी छ। हामीकहाँ एउटा सुखद सौभाग्य कस्तो थियो भने उत्तर र दक्षिण दुवैतिर बृहत् सभ्यता थिए। उत्तरमा चिनियाँ सभ्यताको रूपमा एउटा महादेशीय आकारको देश छ र दक्षिणतिर पनि त्यही हैसियतको सभ्यता बोकेको देश। यी दुवैभन्दा हाम्रो इतिहास कुनै पनि अर्थमा सानो थिएन। यिनीहरूकै हाराहारीमा थियौँ र कतिपय अर्थमा बलियो पनि। यी दुवैको लाभ लिएर अगाडि जाने अवसरको सम्भावना हामीलाई थियो तर राजनीतिक कारणले असमान सम्बन्धमा बाधियौँ। र, उत्तरबाट अलिक बढी कट्यौँ। हाम्रो शासन व्यवस्था बढी अन्तरमुखी किसिमको रह्यो। त्यसले गर्दा विश्वमा आएका ठूला परविर्तनहरू र विज्ञान प्रविधिको विकासको फाइदाबाट पनि हामी विमुख हुन पुग्यौँ।

    अब हामी केही हदसम्म खुला परिवेशमा आयौँ। नयाँ परिवेशमा कतिपयले हाम्रो भू-राजनीतिलाई अभिशापका रूपमा हेर्छन्। पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने क्रममा अंग्रेज र चिनियाँ राज्यको शक्ति देखेपछि नेपालका लागि दुई ढुंगाको तरुलको विम्ब प्रयोग गरे। दुवैसँग निहुँ नखोजी सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने भाव दिए। यसले बढी अन्तरमुखी भएर बस्नुपर्छ भन्ने सोचको विकास गर्‍यो। अब २१औँ शताब्दीमा आइपुग्दा भारत पुँजीवादको विकासतिर गयो र चीन समाजवादी र पुँजीवादी आर्थिक विकासको सम्मिश्रणमा अगाडि बढ्यो। चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसक्यो भने भारत दसौँ ठूलो। केही समयपछि भारत पाचौँसम्म पुग्ने अनुमान छ।

    नेपालको राष्ट्रियताको परभिाषा पनि ढुंगाबीचको तरुल होइन, दुई ठूला देशबीचको गतिशील पुलको रूपमा विकास गर्न जरुरी छ। दुई ठूला देश र अर्थतन्त्रबीचको गतिशील सेतुका रूपमा विकास गर्न जरुरी छ। यसरी मात्रै नेपालको स्वाधीनता र सार्वभौमसत्ताको रक्षा हुन्छ। र, युग सुहाउँदो समुन्नत ठाउँमा पनि पुगिन्छ। त्यसैले यस पक्षमा ठूलो राष्ट्रिय विमर्श जरुरी छ। पृथ्वीनारायण शाहयता हाम्रो राष्ट्रियतासम्बन्धी जुन 'न्यारेटिभ' हो, त्यसलाई पनि युग अनुकूल बदल्नुपर्छ।

    संघीयतामा दुई अतिवाद

    नेपाल धेरै जातीय, भाषिक र क्षेत्रीय विविधतायुक्त एउटा इन्द्रधनुषी राष्ट्रिय राज्य हो। त्यस अर्थमा नेपाल स्वयं एउटा समग्र राष्ट्रिय एकाइ हो भने त्यसभित्र पनि अन्य राष्ट्रियता (नेसनालिटी)हरू छन्। एउटा 'कम्पोजिट नेसन स्टेट'का रूपमा समग्र नेपाल एउटा विविध जाति, भाषा, भूगोल, अर्थतन्त्र र मनोविज्ञानले बनेको छ र त्यसभित्र थुप्रै राष्ट्रियताहरू छन्। ती राष्ट्रियताहरूलाई पनि उनीहरूको पहिचान र स्वायत्तताको अधिकारसहित संयोजन गरेर एकीकृत नेपालको 'नेसन स्टेट' निर्माण गर्नुपर्छ। यस सन्दर्भमा 'नेपाल'को आफ्नै मौलिक परभिाषाको आवश्यकता भने छ। यो नहुँदा यसलाई स्वतन्त्र मुलुकका रूपमा लिन त खोज्ने तर जातीय, भाषिक र क्षेत्रीय विविधतालाई स्वीकार्न नखोज्ने एउटा पुरानो प्रवृत्तिको भ्रम कायमै रहन सक्छ। भन्न त पृथ्वीनारायण शाहले 'चार वर्ण छत्तीस जातको फूलबारी' भने तर व्यावहारकि रूपमा नेपालको खस आर्य राष्ट्रको रूपमा मात्रै पहिचान कायम भयो र अरू राष्ट्रियताहरूको अस्तित्व स्वीकार नगर्ने खालको एकात्मक राष्ट्रियता निर्माण भयो।

    अर्को अतिवादी सोच पनि छ। लामो समयदेखि दमन र भेदभावको सिकार खेप्दै आएका विभिन्न भाषा, जाति, क्षेत्रका 'नेसनालिटी'हरूले आफूलाई स्वतन्त्र एकाइको रूपमा बुझ्ने र त्यसलाई स्वतन्त्र अलग-अलग राज्य पनि बन्न सक्छ भन्ने। त्यसले देशलाई फेरि विखण्डनतिर लैजाने खतरा रहन्छ।

    नेपाललाई स्वतन्त्र मुलुकका रूपमा लिन त खोज्ने तर जातीय, भाषिक र क्षेत्रीय विविधतालाई स्वीकार्न नखोज्ने पुरानो प्रवृत्ति एकातिर भयो। अर्कोतिर इन्द्रधनुषी नेपाली राष्ट्रिय राज्य र समग्र नेपालीत्वलाई नै बिर्सेर अलग अस्तित्व बनाउन खोजियो। त्यसले आशंका बढायो। जोगीदेखि भैँसी डराउने, भैँसीदेखि जोगी डराउनेजस्तो भयो। यस्तो सोचले देशलाई फेर िविखण्डनतिर लैजाने खतरा रहन्छ। यी दुवै प्रवृत्ति न वस्तुवादी छन्, न त मुलुकका निम्ति हितकर।

    संघीयतामा पहिचान र सामथ्र्य दुइटा पक्षलाई समावेश गर्ने भन्नेमा पहिल्यै सहमति भइसकेको छ। बुझाइमा मात्र भिन्नता छ। त्यसलाई पनि धेरै तन्काइराख्नु जरुरी छैन। उत्पीडित जाति/जनजातिहरूको ऐतिहासिक, भाषिक, सांस्कृतिक पहिचान र अधिकार खोसिएको भएरै संघीयतामा जाने भनिएको हो। अलग-अलग भाषा, जाति र क्षेत्र हुँदैनथ्यो भने त त्यहाँ संघीयता भन्नै पर्दैनथ्यो। संघीयता भनेको खोसिएको पहिचान र अधिकार दिने हो। विशुद्ध सांस्कृतिक पहिचानका आधारमा मात्रै राज्य बनाइयो भने व्यावहारकि बन्दैन। प्रशासनिक, आर्थिक पूर्वाधारका सम्भावनाका कुरा भएनन् भने त्यसले काम गर्दैन। सोभियत संघजस्तो अलगअलग स्वतन्त्र राज्यका रूपमा रहने अवस्थामा पनि हामी छैनौँ। त्यसरी नै नेपाल चीन वा अरू देशजस्तो एउटै भाषा, जातिको अत्यधिक बाहुल्य भएको ठाउँ पनि होइन र यहाँ एकात्मक राज्य रहनै सक्दैन। त्यस कारण नेपालको राष्ट्रियता र संघीय ढाँचा ऐतिहासिक, जातीय र क्षेत्रीय विशेषतालाई ध्यानमा राखेर परिभाषित गर्नुपर्छ।

    अर्कोतर्फ, हामी दुई ठूला सभ्यतायुक्त भीमकाय मुलुकको बीचमा छौँ। त्यसको ख्याल नगरी संघीय राज्य निर्माणमा गयौँ भने हाम्रो स्वाधीनता र राष्ट्रिय अखण्डतामा पनि असर पर्न सक्छ। संघीयता भन्नेबित्तिकै केन्द्रीय अधिकार संघीय राज्यहरूलाई दिने हो। भूराजनीतिक सन्तुलन मिलाउन सकिएन भने सिमानामा जोडिएका प्रदेशमा बाह्य शक्तिले चलखेल गर्न सक्छन्। त्यसले मुलुकलाई कमजोर र विखण्डनमा पारिदिने खतरा रहन्छ। त्यसैले राष्ट्रिय एकता र सार्वभौमसत्तालाई कायम राख्ने गरी अधिकारको विनियोजन गरिनुपर्छ।

    नेपालीत्वको पहिचान विश्वमा कुनै राष्ट्रको भन्दा कम ओजपूर्ण छैन। इतिहास अरू कसैको भन्दा कम समृद्ध छैन। संस्कृति, सभ्यता, विचार र सम्पदामा हामी कसैभन्दा कम छैनौँ। कमी भनेको खालि उचित राज्यप्रणाली, नीति र नेतृत्वको हो। त्यसैले नयाँ राजनीतिक शक्ति राष्ट्रियताको मजबुत जगमा उभिनुपर्छ। नेपाली राष्ट्रिय हितमा उभिएको, राष्ट्रियता र इतिहासको आवश्यकताको पूर्ति गर्न सक्ने शक्तिका रूपमा त्यसको उदय हुनुपर्छ।

    राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र

    राष्ट्रियता र जनतन्त्रका दुइटा अभिन्न पाटाको सन्तुलन मिलाउन नसक्नु नेपाली राजनीतिक शक्तिहरूको ठूलो कमजोरी हो। हिजोका राजतन्त्रवादीले राष्ट्रियताको कुरा गर्दा लोकतन्त्रको कुरा बिर्सने र लोकतन्त्रको कुरा गर्नेले राष्ट्रियताको कुरा बिर्सेजस्तो हुने गरेको छ। लोकतन्त्र र राष्ट्रियता फरक कुरा होइनन् र हुनै सक्दैनन्। राष्ट्रियताभित्रै लोकतन्त्र र लोकतन्त्रको जगमा राष्ट्रियता हुन्छ। तर, यसमा गम्भीर बहस र विमर्श पुगेको छैन। यसैमा बाह्य शक्तिले चलखेल गरिदिने र हाम्रा पार्टीहरूको बुझाइमा एकरूपता नआउने कारणले पनि हामी रक्षात्मक हुने गरेका छौँ। आफ्नै अनुभवका आधारमा पनि भन्नैपर्छ, नेपाली राष्ट्रियता नेपाली इतिहासमा सुगौली सन्धियताकै निरन्तरतामा छ तर पनि यो बलियो भएर आउन सक्नुपथ्र्यो, सकिरहेको छैन। अब हामीले राष्ट्रियताको जगमा टेकेर नै नेपाललाई समृद्ध बनाएर लैजानुपर्छ। त्यसरी नै गणतन्त्र सबै जाति, भाषा र क्षेत्रको समान अधिकार भएको प्रणाली हो। अतः गणतन्त्र र राष्ट्रियतालाई एउटै सिक्काका दुई पाटाको रूपमा ग्रहण गर्नुपर्छ।

    लोकतन्त्र सबैभन्दा उन्नत र उपयुक्त अवधारणा हो भन्ने आमधारणा छ। तर, अमूर्त 'लोकतन्त्र' भनेर मात्र पुग्दैन। त्यसको ठोस र विशिष्ट रूप पनि हुन्छ, जसलाई आफ्नो विशिष्ट प्रकृति र ऐतिहासिक विकासको चरण अनुसार ठम्याउन सक्नुपर्छ। नेपालको सन्दर्भमा नवउदारवादी लोकतन्त्रका कतिपय पक्षलाई हामीले अँगाल्नैपर्छ। जस्तो कि, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, प्रेस स्वतन्त्रता, मानवअधिकार, आवधिक निर्वाचन, विधिको शासनलगायत लोकतन्त्रका सार्वभौम पक्ष। त्यसभित्रको विशिष्ट पक्षलाई पनि हामीले हेर्नुपर्छ, जहाँ वर्गीय, जातीय, क्षेत्रीय, लंैगिक विविधता समेट्ने गरी समावेशी-समानुपातिक प्रकारको लोकतन्त्रको ढाँचा विकास गर्न सक्नुपर्छ। अमूर्त राजनीतिक प्रतिस्पर्धा मात्रै भयो भने हिजो विभेदमा परेका विपन्न समूहको राज्यसत्तामा सहभागिता हुनै सक्दैन। उनीहरूको स्वामित्व र अपनत्व रहँदैन।

    युरोप र अमेरिकामा पुँजीवादी लोकतन्त्रको अभ्यास गरियो। खास गरी यो प्रतिनिधिमूलक लोकतन्त्र हो, त्यसमा जनताका प्रतिनिधि पार्टीहरू र पार्टीको प्रतिनिधि नेताहरू हुन पुगे। व्यवहारमा जनताको अधिकार पार्टीले लिने र पार्टीको अख्तियारी केही नेताहरूले लिने भए। जनताको वास्तविक सहभागिता राज्य सञ्चालनमा हुन सकेन। लोकतन्त्र भनेको त लोकको शासन हो। जनताले आफ्नो शासन आफँै चलाउने प्रणाली हो। तर, प्रतिनिधिमूलक लोकतन्त्रको अभ्यासमा जनताको प्रत्यक्ष सहभागिताको कडी टुट्यो। त्यस कारण जनताको प्रत्यक्ष सहभागिता हुने विधि पनि सुरक्षित गर्नुपर्छ। र, त्यसका उपाय निर्वाचन प्रणालीमा सुधार, समानुपातिक प्रतिनिधित्व, छिटोछिटो निर्वाचन, पार्टीभित्रै पदाधिकारीहरूको निर्वाचन, प्रत्याह्वानको व्यवस्था, जनलोकपालको व्यवस्थालगायत हुन सक्छन्।

    हाम्रा अधिकांश पार्टीहरू लोकतान्त्रिक छैनन्। नाम मात्रका लोकतान्त्रिक छन्। पार्टीमा सीमित नेताको एकाधिकार छ। उनीहरू लामो कालसम्म नेतृत्वमा रहन्छन्। उनीहरू त्यो अख्तियारी जनताबाट लिएको हो भन्ने बिर्सेर जन्मजात दैवी शक्तिबाट प्राप्त गरेजस्तो ठान्छन्। पुरानै राजतन्त्रात्मक शैलीले व्यवहार गर्छन्। त्यसले सहभागितामूलक लोकतन्त्रको पक्ष कमजोर बनाउँछ। त्यसैले यसलाई सुधार गर्न र पार्टीको लोकतन्त्रीकरणलाई पनि संविधान निर्माण गर्ने बेलादेखि नै ध्यान दिएर जानुपर्छ। निश्चित व्यक्तिहरूले मात्रै पार्टीमा हालीमुहाली गर्ने र पार्टीहरूले जनताको नाउँमा जनताको हितविपरीत काम गर्ने परिपाटीलाई बदल्नुपर्छ।

    नयाँ शक्ति, नयाँ कार्यभार

    राजनीतिक रूपमा पुँजीवादी क्रान्ति सम्पन्न गरे पनि आर्थिक रूपमा पुँजीवादका आधारहरू निकै कमजोर छन्। समाजलाई अझै समतामूलक र समृद्ध बनाउन तीव्र आर्थिक वृद्धि र न्यायपूर्ण वितरण प्रणालीसहितको विकास नीति अपनाउनुपर्छ। त्यसैले अब आर्थिक विकास नै मुख्य राजनीतिक एजेन्डा हुन्छ। अबको राजनीतिक एजेन्डा विकासमुखी र अर्थमुखी नबनाई सुखै छैन। त्यसो गर्न सकिएन भने लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन। त्यसैले नयाँ शक्तिको मुख्य कार्यभार आर्थिक समृद्धि नै हुनुपर्छ, हुन्छ।

    अब पराश्रयीपनको अन्त्य गरेर मुलुकलाई बढी आत्मनिर्भर बनाउने, उत्पादन तथा उत्पादकत्वको वृद्धि गर्ने र राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्ने नै हाम्रो मूल आर्थिक विकास नीति हुनुपर्छ। साथै, बेरोजगारीको अन्त्य गर्ने र शिक्षा, स्वास्थ्य, आवास तथा सामाजिक सुरक्षाको पर्याप्त प्रत्याभूति गर्ने नीति लिनुपर्छ। तीव्र औद्योगिक विकासका लागि ठूलो लगानी चाहिन्छ। एकैचोटि आन्तरकि लगानीले पुग्दैन। तत्काल विदेशबाट लिने लगानीलाई ठीक ढंगबाट परचिालन गर्ने नीतिमा विशेष ध्यान दिन जरुरी छ। ठूला पूर्वाधार, ऊर्जा परियोजना, ठूला उद्योगधन्दा नभई देश बन्दैन। परम्परागत कृषि, पर्यटनजस्ता कुराहरूलाई रूपान्तरण गर्नुपर्छ। तर, त्यसमा विदेशी लगानीकर्ता तुरुन्तै आउँदैनन्। सुरुमा हामीले आफूसँग भएको लगानी परचिालन गरी बाह्य लगानी आकषिर्त गर्न सक्नुपर्छ। अन्यथा, फेरि पनि कुरामै सीमित हुनेछौँ। त्यसैले प्रारम्भिक चरणमा देशलाई आत्मनिर्भर र स्वतन्त्र राख्ने लक्ष्यका साथ बाह्य पुँजीलाई आकषिर्त गर्ने नीति ल्याउनैपर्छ।

    हामी जुन चरण र युगमा प्रवेश गरेका छौँ, त्यो आर्थिक विकास र समृद्धिको युग हो। अबको राष्ट्रिय राजनीतिको केन्द्रविन्दु आर्थिक समृद्धिलाई नै बनाउनुपर्छ। १०-२० वर्षको हाम्रो एजेन्डा भनेको आर्थिक विकास नै हुनुपर्छ। त्यसमा पनि राष्ट्रिय सहमति निर्माण गर्ने ढंगले अगाडि जानुपर्छ।

    ठूला जलविद्युत् आयोजना र ठूला पूर्वाधार निर्माणजस्ता काममा बाह्य पुँजी नल्याई सुखै छैन। त्यसमा पनि जलविद्युत्को निर्यात छरछिमेकमा बाहेक अन्यत्र गर्नै सकिन्न। त्यसैले छरछिमेककै पुँजीलाई आकषिर्त गर्ने नीति हामीले लिनुपर्छ। बलियो छिमेकीले त कमजोर हामीलाई हेपिराख्छ। उसले हेप्यो भनेर गनगन गरेर बस्नुभन्दा नहेप्ने अवस्थामा कसरी पुग्ने, त्यो दिशामा जानुपर्छ। त्यो नै सच्चा राष्ट्रिय हित हुन्छ।

    निर्विकल्प बाटो

    माओवादी एउटा पार्टी मात्रै होइन, यो त एउटा विचार हो। आन्दोलन हो। वैकल्पिक राजनीतिक शक्ति हो। संविधानसभामा आकार सानो-ठूलो भए पनि मुख्य कुरा उसको विचार हो, आन्दोलन हो, एजेन्डा हो। नयाँ वैकल्पिक राजनीतिक एजेन्डा हो। त्यसलाई ठीक ढंगले स्थापित गर्न सक्नुपर्छ। अहिले सबैभन्दा ठूलो संकट एमाओवादीलाई के भएको छ भने आफूले उठाएको एजेन्डा अघि बढाउन सक्ने कि नसक्ने ? नयाँ परिस्थितिमा त्यसलाई परिमार्जित गरेर लैजान सक्ने कि नसक्ने ?

    हिजो त हामीले आन्दोलनमुखी राजनीति गरेका थियौँ। त्यसबाट केही महत्त्वपूर्ण सफलता हासिल गरेका थियौँ। तर, अब पुरानो प्रकारको आन्दोलन गरेर हुँदैन। पुँजीवादी राजनीतिक क्रान्तिका कार्यभारहरू मोटामोटी पूरा गरेका छौँ। अब आर्थिक क्रान्तिबाट समाजवादी क्रान्तिमा जाने बाटोमा प्रवेश गरेका छौँ। एमाओवादी पार्टीले त्यो भूमिका पूरा गर्न सक्छ कि सक्दैन ? त्यसका निम्ति आफूलाई पुनःनिर्माण गर्न सक्छ कि सक्दैन, त्यसमा भर गर्छ। यो नयाँ युग र नयाँ चरणको कार्यभार पूरा गर्न कि त पुरानै राजनीतिक शक्तिले सक्नुपर्‍यो, आफूलाई समयानुकूल परविर्तन र परिमार्जन गरेर। उसले सकेन भने नयाँ शक्तिको उदय अनिवार्य छ। नेपाली समाज नयाँ चरणमा प्रवेश गरसिकेको छ। अब त्यसलाई नेतृत्व गरेर जानका निम्ति आफ्नो संगठन, नेतृत्व र कार्यशैलीलाई नै परविर्तन गरेर लैजान सक्नुपर्छ। त्यसो गर्न सकिएन भने नयाँ शक्तिको उदय हुन्छ। त्यसलाई कसैले रोक्न सक्ने छैन।

    (भट्टराई पूर्वप्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता हुन्।)

    हामी जहाँ चुक्यौँ

    हामी माओवादीहरू सबैभन्दा अग्रगामी सोच राख्थ्यौँ र जनताको ठूलो विद्रोहले हामीलाई समर्थन पनि गर्‍यो। नेपाली राज्यलाई रूपान्तरण गर्ने ठाउँसम्म पुर्‍यायौँ पनि। तर, पछिल्लो चरणमा राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्ति र सन्तुलनलाई ख्याल राखेर अगाडि बढ्ने कुरामा केही कमजोरी रह्यो। हाम्रो नीति र नेतृत्वमा सन्तुलन रहेन। कहिले असाध्यै झुक्ने, कहिले जड भएर बस्ने र यथार्थ धरातलमा सीधै टेक्न पनि नसक्ने। माओवादी आन्दोलनभित्र एउटा असाध्यै यान्त्रिक र जड प्रवृत्ति रह्यो, परविर्तन भएर अगाडि जानै नसक्ने। अर्कोतिर खुला परिवेशमा आइसकेपछि क्रान्ति र परविर्तनका एजेन्डालाई बिर्सेर पूरै लम्पसार पर्ने प्रवृत्ति। कहिले एउटा 'एक्स्ट्रिम'मा त कहिले अर्को 'एक्स्ट्रिम'मा जाने कारणले पनि हामीले प्राप्त अवसरको सदुपयोग गर्न सकेनौँ। हामीले एउटा अवसर गुमाए पनि समाजमा ठूलो परविर्तन आइसकेको छ, क्रान्ति भइसकेको छ। अरू नै कोही नेतृत्वमा आएछ भने पनि यो परविर्तन त भयो भयो। यसलाई पछाडि फर्काउन कसैले सक्दैन। ढिलो र चाँडोको कुरा मात्रै हो। नेपाली जनता कुनै पनि प्रकारको प्रतिगमन सहने पक्षमा कहिल्यै रहेनन् र छैनन्।

    नेता, नैतिकता र राजनीति

    राजनीति व्यवसाय होइन। निजी स्वार्थ पूरा गर्ने माध्यम पनि होइन। समाज बदल्न स्वेच्छाले गर्ने कर्म हो। विसं ००७, ०४६ देखि ०६३ सम्मका क्रान्तिका वाहक शक्तिको नेतृत्वमा बिस्तारै आफ्नो स्वयंसेवी चरत्रिलाई बिर्सेर राजनीति निजी स्वार्थ र पारिवारकि स्वार्थ पूरा गर्ने साधन हो भन्ने बुझाइ हावी हुँदै गयो। नेताहरू पारिवारकि स्वार्थमा बढी जकडिने, निजी सम्पत्ति जोड्न र अपारदर्शी भ्रष्टाचारजन्य गतिविधिमा जोडिने पक्ष देखा पर्‍यो, जुन बडो दुःखद छ। यो विकृत परम्परालाई बदल्न सक्नुपर्छ। यदि नयाँ चरणको राजनीति सुरु गर्ने हो भने राजनीति देश र जनताको निम्ति गरिने स्वयंसेवा हो भन्ने तथ्य स्थापित गर्नुपर्छ। जनताप्रति समर्पित दूरदृष्टिसहितको नीतिमा आधारति पार्टी बनाउनुपर्छ। निजी स्वार्थ परित्याग गरेको नैतिकवान् चरत्रिसहितको नयाँ राजनीतिक संस्कार विकास गर्नुपर्छ। त्यसले मात्रै नयाँ चरणको राजनीति विकास गर्न सक्छ। हाम्रो अहिलेको पार्टीको नेतृत्व यसमा कत्तिको खरो उत्रिन्छ, त्यो हेर्नुपर्छ। अहिलेसम्मको अवस्था हेर्ने हो भने त्यति सकारात्मक र सन्तोषजनकचाहिँ छैन।

    गर्विलो इतिहास

    दक्षिण एसियाको सबैभन्दा पुरानो राष्ट्रिय राज्य हो यो। त्यसभन्दा पहिले जाँदा मानव जातिको उत्पत्ति र विकास यस क्षेत्रमै सबैभन्दा पहिला यही हिमाली भूखण्डमा भएको देखिन्छ। विगतमा यस पहाडी भूखण्डलाई दक्षिण र उत्तरबाट आएका आप्रवासीको थलोका रूपमा मात्रै व्याख्या गरन्िथ्यो। तर, इतिहासका पछिल्ला ज्ञान र अनुसन्धानले त्यसलाई खण्डन गररिहेका छन्। यसको मूल प्रवृत्ति भनेको यहाँ मानव जातिको सुरुदेखि नै बसोवास भएको भन्ने हो। अफ्रिका र मध्य एसियादेखि सुरु मानव जाति चलायमान हुने बेलादेखि नै यहाँ मानव बसोवास रहेको पुष्टि हुन्छ। नेपालको सभ्यता, इतिहास र संस्कृति नै त्यही बेलादेखि बन्दै आएको देखिन्छ।

    यो आदि प्रागैतिहासिक कुरा हो भने पनि ऐतिहासिक कालखण्डमै यहाँ बुद्धको समयदेखिका सभ्यताका प्रमाण छन्। सबै धार्मिक र अलौकिक कुराहरू विश्वसनीय नहोलान् तर दक्षिण एसियामा भएका धार्मिक परम्परा र कल्पनाहरू पनि त्यत्तिकै हावामा आएका होइनन्। त्यसका पछाडि केही घटना छन्, जसले कालान्तरमा कथा र उपकथाको स्वरूप पाएको हुन सक्छ। हिमाली भेगका शिव-महादेवका चर्चा, साधुसन्तको तपोभूमिका कुरा, पशुपतिनाथ, मुक्तिनाथलगायतका साधुसन्तहरू र महात्माहरूको चर्चाले तिनको उत्पत्ति प्रागैतिहासिक कालमा भएको देखिन्छ। पछिल्लो चरणका प्रमाण बुद्ध, याज्ञवल्क्य र मिथिला सभ्यता हुन्।

    यी तथ्यहरूका आधारमा भन्न सकिन्छ, प्रागैतिहासिक कालदेखि नै अत्यन्तै सम्पन्न र समृद्ध क्षेत्र हो नेपाल। पछि अंग्रेजसँग लड्ने क्रममा पूरै दक्षिण एसिया अंग्रेजहरूको कब्जामा पर्दा पनि यो भूखण्डलाई जोगाएर राख्ने काम लडाकू नेपालीले गरे। त्यस अर्थमा नेपालको राष्ट्रिय परम्परा अत्यन्तै गौरवशाली छ।

    सुगौली सन्धिले झुकाएको शिर

    पुँजीवादको युग आर्थिक श्रेष्ठतामा मापन हुने युग हो। त्यसअघि त भावनात्मक, सांस्कृतिक आदि सम्बन्धले पनि हुन सक्थ्यो। जमिनमा आधारति उत्पादनको सम्बन्धले त्यत्रो ठूलो अन्तर हुँदैनथ्यो। पुँजीवादको नियमै हो, जससँग धन छ, ऊ झन् धेरै धनी बन्दै जान्छ र गरबि झन् गरबि।

    सन् १८१५/१६ मा सुगौली सन्धि हुँदा युरोपमा पुँजीवादको विकास हुँदै गरेको थियो। अंग्रेजहरूले दक्षिण एसियामा उपनिवेश मात्र विस्तार गरेनन्, पुँजीवादको विस्तार पनि गरे। कलकत्ता, मद्रास, बम्बईजस्ता औद्योगिक सहरहरू बन्दै गए। तर, नेपाल बि्रटिस-भारतसँग असमान सम्बन्धमा बाँधिन पुग्यो, जसले गर्दा छिमेकमा झैँ उद्योग र पुँजीवादको विस्तार एवं विकास यहाँ हुन सकेन। आधुनिकीकरण र यान्त्रिकीकरण भएको अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्न सकेन। क्रमशः हामी आर्थिक रूपमा कमजोर बन्दै गयौँ। अंग्रेजहरूको नेतृत्वमा भारतमा जसरी पुँजीवादको विकास र विस्तार भयो, तीसँग हाम्रो विनिमय पनि असमान बन्न पुग्यो। र, भारतसँग हाम्रो सम्बन्ध 'डोमिनेन्स डिपेन्डेन्स' अर्थात् प्रभुत्व र पराश्रयको जस्तो बन्न पुग्यो।

    जबकि, सुगौली सन्धिभन्दा अघि हाम्रो अवस्था र भारतको अवस्था करबि उस्तै थियो। कतिपय अंग्रेज विद्वान्ले त्यतिबेला नेपाल आएर लेखेका छन् कि कागज, कपडा, चिनी, फलामलगायत धातुका भाँडा आदि उत्पादन अन्यत्रभन्दा हाम्रो बढी परिष्कृत र परिमार्जित थियो। सुगौली सन्धिअघि हामीले भारतसँग निर्यात गर्ने र आयात गर्ने अनुपात ५ः१ थियो। तर, अहिले त्यो अनुपात १ः८ भएको छ। हामी कसरी असमान सम्बन्धमा बाधियौँ र उल्टो दिशातिर गयौँ भन्ने यसले पुष्टि गर्छ। यसको सोझो असर नेपाली राष्ट्रियतामा पर्न गयो।

    प्रमुख पहिचान ः नेपाल

    यतिबेला समग्र नेपाली नै पहिचानविहीन भएजस्तो, आफैँ कताकता हराएजस्तो भएको छ। मनोवैज्ञानिक रूपमा हामी नेपाली हीनताबोधबाट ग्रस्तजस्ता छौँ। सबै नेपाली विदेश पलायन हुन खोजेजस्तो, सबै पढेलेखेकाहरू अमेरिका, बेलायत, क्यानडा र अस्टे्रलिया गएर बस्न पाए खुसी हुनेजस्तो। यहाँ मान्छे सचिव छन्, ठूला ओहोदामा छन् तर उनीहरूका छोराछोरी विदेशको नागरकिता लिएर गर्व गर्ने भइरहेका छन्। किनभने, कसैको पहिचान उसको अस्तित्व र त्यसबाट उत्पन्न आत्मविश्वास हो।

    त्यसपछि मात्र अरू आर्थिक, सामाजिक र राजनीतिक कुरा आउँछन्। अहिलेसम्म राजतन्त्रले स्थापित गरेको नेपाल आर्य खस जातिको मात्रै परचिय रहेको नेपाल भयो। उनीहरूको मात्रै भाषा, संस्कृति रहेको देश भन्ने भयो। हिजोको नेपाली राष्ट्रियता राजतन्त्रसँग जोडिन पुग्यो। त्यो राजतन्त्र नरहनेबित्तिकै नेपालको राष्ट्रियता पनि रहेन भनेजसरी प्रचार गरिदिँदा कतिपय नेपालीले आफूलाई पहिचानविहीन पनि ठाने। त्यसको लाभचाहिँ नेपाली राष्ट्रियता कमजोर भएर विदेशीहरूले लिन सक्छन्।

    भन्न त पृथ्वीनारायण शाहले पनि चार जात छत्तीस वर्णको फूलबारी भने तर व्यावहारकि रूपमा खस आर्य राष्ट्रको रूपमा मात्रै पहिचान कायम भयो। अरू राष्ट्रियताहरूको अस्तित्व स्वीकार नगर्ने खालको एकात्मक राष्ट्रियता निर्माण भयो। विभिन्न भाषा, जाति र क्षेत्र आफैँमा अलगअलग 'नेसनालिटी'हरू हुन्, इन्द्रधनुषी र 'कम्पोजिट' नेपाली राष्ट्रिय राज्यका अभिन्न 'बिल्डिङ् ब्लक' हुन्। अब यी सबै नेसनलिटिजसहितको 'कम्पोजिट नेसन स्टेट'का रूपमा नेपाललाई परिभाषित गर्नुपर्छ। त्यसो भए मात्र नेपाल आन्तरकि रूपमा बलियो हुन्छ। आन्तरकि रूपमा बलियो भइसकेपछि मात्रै बाह्य रूपमा बलियो हुन्छ। राज्यको पुनःसंरचना गर्दा नेपाली विशिष्टतासहितको संघीयता भन्नुको तात्पर्य त्यही हो।

    Wednesday, February 5, 2014

    साहित्यको उन्नयन कि व्यापारीकरण - अमर गिरी

    साहित्यको उन्नयन कि व्यापारीकरण
    अमर गिरी
    'एनसेल नेपाल लिटरेचर फेस्टिभल– २०१३' सुरु भएको छ। सन् २०११ देखि यो कार्यक्रम आयोजना गर्न थालिएको हो। बहुराष्ट्रिय कम्पनी एनसेलको आर्थिक लगानी र सहयोगमा गर्दै आइएको यस कार्यक्रममा एनसेल, यसको लगानी र सहभागिता, कार्यक्रमको प्रकृति, यसका उद्देश्य र पारदर्शिताका बारेमा छलफल भएको पाइँदैन। आलोचनात्मक विवेकमा आएको यो ह्रास नेपाली साहित्यको एक दुःखद तस्बिर हो। आलोचनात्मक विवेकमा आएको यही ह्रासमाथि टेकेर नेपाली साहित्यमा नवउदारवादी सोचाइ आरुढ हुँदै छन्।

    साहित्यमा नवउदारवादी अवधारणाको सबैभन्दा महŒवपूर्ण पक्ष लोकप्रिय कला (पपुलर आर्ट) का तहमा साहित्यको 'लोकप्रियकरण' र बजारीकरण हो। साहित्यको 'लोकप्रियकरण' र बजारीकरण साहित्यलाई उसको विशिष्ट चरित्र, भूमिका र सरोकारहरूबाट च्यूत गरेर बजार अनुकूल बनाउने अवधारणा हो। यस अवधारणाको चरमोत्कर्ष बजारवाद हो। बजारवाद वित्तीय पुँजीवादको विचारधारा हो। बजारवाद साहित्य, कला, संस्कृति, संगीत, दर्शन, विज्ञान सबैलाई बिकाउ मान्छ र तदनुरूपको व्यवहार गर्छ। साहित्यको विशिष्ट मूल्य परिधिमा जान्छ, उपभोक्तावादी मूल्य केन्द्रमा आउँछ। साहित्यको बजारीकरणको प्रक्रियामा साहित्य कर्पोरेट हाउसहरूसँग जोडिन्छ। कर्पोरेट हाउससँग जोडिनुको तात्पर्य साहित्य वित्तीय पुँजीको लीलामा प्रवेश गर्नु र त्यसबाट डोरिनु हो। कर्पोरेट जगत् आफ्ना उद्देश्यको पूर्तिका निम्ति पनि साहित्य र साहित्यकारलाई उपकरणका रूपमा प्रयोग गर्न चाहन्छ।
    साहित्यमा बहुराष्ट्रिय कम्पनीहरूको प्रवेशलाई सामान्य रूपमा लिइँदैन। विचारधारासँग जोडिएको विषयका रूपमा यसको व्याख्या–विश्लेषण गरिन्छ। यस्ता कम्पनी निश्चित विचारधारामा अडिएका हुन्छन् र तिनका अर्थबाहेक अन्य रुचि र उद्देश्य पनि हुन्छन्। अर्थको विशाल साम्राज्य अर्थको बलले मात्र चल्दैन र टिक्दैन। यसका निम्ति विचारधाराका अन्य उपकरण पनि चाहिन्छन्। बहुराष्ट्रिय कम्पनीहरू आफूलाई चाहिने सबै किसिमका उपकरण बोकेर यात्रारत छन् र तिनको कुशलतापूर्वक प्रयोग गरेका छन्। बहुराष्ट्रिय कम्पनी वित्तीय पुँजीवादका सबैभन्दा ठूला र बलिया खम्बा हुन्। नवउदारवादलाई बलियो बनाउनु, उपभोक्तावादलाई फुलाउनु फलाउनु, तेस्रो विश्वका मुलुकका प्राकृतिक स्रोत साधनमाथि अधिकार जमाउनु, आफ्ना निम्ति अनुकूल राजनीतिक र सांस्कृतिक आधार निर्माण गर्नु, आफूप्रति सम्मानको स्थिति पैदा गर्नु र आफूविरुद्धको प्रतिरोधलाई कमजोर बनाउनु, भावी पिँढीमा आफूप्रति बौद्धिक र संवेदनात्मक रूपमा दासत्वभावको निर्माण गर्नु, नवऔपनिवेशीकरणको प्रक्रियालाई अघि बढाउनु र वैधता प्रदान गर्नु आदि बहुराष्ट्रिय कम्पनीका उद्देश्य रहँदै आएका छन्। बहुराष्ट्रिय कम्पनीले साहित्य, कला, संगीत, खेलकुद आदि अन्तर्गत गर्ने लगानी आफ्ना निम्ति अनुकूल राजनीतिक र सांस्कृतिक आधार निर्माण गर्ने कुरासँग सम्बन्धित हुन्छन्। यसो गरेर उनीहरूले तात्कालीन र दीर्घकालीन रूपमा आफ्ना आर्थिक, राजनीतिक, सांस्कृतिक हितका निम्ति आधार निर्माण गर्छन्। साहित्यको बजारीकरण बहुराष्ट्रिय कम्पनीहरूको बजार र उपभोक्तावादलाई समृद्ध गर्ने रणनीतिसँग जोडिन्छ।
    'जयपुर लिटरेचर फेस्टिभल'को आलोचना यिनै कुरासँग जोडिएको थियो। भारतका आदिवासी जनतालाई आफ्ना ठाउँहरूबाट विस्थापित गर्ने, उनीहरूको जमिन र जंगलमाथि कब्जा गर्ने, भारतीय स्व र संस्कृतिको पश्चिमीकरण गर्न महŒवपूर्ण भूमिका खेल्ने बहुराष्ट्रिय कम्पनीको आर्थिक सहयोगमा जयपुर फेस्टिभल गरिँदै थियो। भारतीय स्व र संस्कृतिका साथै भारतीय आदिवासी जनताविरुद्ध रहेका बहुराष्ट्रिय कम्पनीका पैसामा आयोजित कार्यक्रममा भारत र भारतीय साहित्यबारेका बहस अर्थहीन अनुभव हुन्थे र बहुराष्ट्रिय कम्पनीका अनुचित क्रियाकलापलाई उचित ठहर्यााउने प्रयत्न लाग्थे। जयपुर फेस्टिभलको समग्र कार्यक्रमको प्रकृति साहित्यको 'लोकप्रियकरण' र बजारीकरणको अवधारणा अनुकूल थियो। एनसेल नेपाल लिटरेचर फेस्टिभलको मूल्यांकन गर्दा माथिको सन्दर्भलाई ध्यान दिन आवश्यक छ।
    एनसेलको लगानी र सहयोग नेपाली साहित्यमा कर्पोरेट जगत्को बलियो प्रवेशको दृष्टान्त हो। मुनाफाकेन्द्रित बहुराष्ट्रिय कम्पनीको साहित्यमा लगानीको उद्देश्य नेपाली साहित्यको उन्नयन होइन आफ्नो व्यापारको बजार प्रवर्द्धन हो। एनसेलले यस्तो सहयोग साहित्यका क्षेत्रमा मात्र गरेको छैन, संगीत, खेलकुद लगायतका क्षेत्रमा पनि गरेको छ। एनसेल कुनै पुनीत उद्देश्य बोकेर खडा भएको सामाजिक–सांस्कृतिक संस्था होइन। साहित्यलगायत विभिन्न क्षेत्रमा यसले गरेको लगानी पनि कुनै पुनीत उद्देश्यबाट निर्देशित छैन। ऊ यी सबैलाई आफ्नो व्यापारको बजार विस्तार र मुनाफा आर्जनको उपकरणका रूपमा प्रयोग गर्न चाहन्छ। ऊ यसका माध्यमबाट नवउदारवादी परियोजना अनुरूप साहित्यको बजारीकरणमा योगदान दिन चाहन्छ। व्यापारिक सफलता र विस्तारका निम्ति एक अनुकूल वातावरणको निर्माण गर्न चाहन्छ। आफ्नाविरुद्ध हुने आलोचनालाई कम गर्न र आफूप्रति सद्भावपूर्ण परिस्थिति बनाउन चाहन्छ। आफ्ना कैयौं आलोचना र सन्देहको घेरामा आउने व्यापारिक गतिविधिको वैधानिकीकरण र तिर्नुपर्ने राजस्व कम गर्न चाहन्छ। समग्रमा भन्दा आफ्ना आर्थिक स्वार्थ र समकालीन पुँजीवादका नवउदारवादी रणनीतिलाई आफ्ना तर्फबाट कार्यान्वयन गर्न चाहन्छ। मार्क्सका भाषामा भन्ने हो भने धातु व्यापारीले अरू होइन धातुको मूल्यमात्र हेर्छ।
    साहित्यिक कार्यक्रमका निम्ति बहुराष्ट्रिय कम्पनीहरुले सहयोग दिन्छन् भने किन नलिने? लिएर साहित्यको उन्नयनमा किन खर्च नगर्ने? भन्ने जस्तो सरल विषय यो होइन। यसले हाम्रो समग्र वैचारिकता, हामी के गर्न चाहन्छौं र कतातिर जाँदै छौं भन्ने कुरासँग सरोकार राख्छ। कुरा एनसेलको होइन बहुराष्ट्रिय कम्पनी र नवऔपनिवेशीकरणका नवउदारवादी परियोजनाहरूलाई कसरी हेछर्ौं भन्ने हो। बहुराष्ट्रिय कम्पनीको यशोगान गाएर साहित्य जात्रा गर्नु भनेको जात्रा देखाउनु मात्र होइन, नेपालको नवउपनिवेशीकरणको प्रक्रियालाई सहयोग पुर्यााउनु पनि हो। साहित्य र साहित्यकारलाई एनसेलका उद्देश्य पूर्तिका साधनमा बदल्नु पनि हो। उनीहरूको आलोचनात्मक विवेकमाथि अंकुश लगाउनु पनि हो। ब्रेख्तका भाषामा भन्दा अझ ठूलो अन्यायका निम्ति आधार प्रदान गर्नु हो। रोमी क्लार्क र रास इभानिचको भाषामा यो 'पोलिटिक्स अफ राइटिङ' हो। यो नवउदारवादी विचारधारालाई 'कमनसेन्स'मा बदल्ने तरिका हो।
    लिटरेचर फेस्टिभल साहित्यको गम्भीर र सार्थक बहस गर्ने थलो बन्न सकेको देखिन्न। अत्यन्त ठूलो प्रचारका साथ सुरु गरिने फेस्टिभलले लेखक–प्रकाशक र मिडियाको एक व्यावसायिक त्रिकोण बनाउन चाहेको पाइन्छ। यो व्यावसायिक त्रिकोण साहित्यको 'लोकप्रियकरण' र बजारीकरणसँग सम्बन्धित छ। साहित्यकारलाई सेलिब्रिटी बनाउने कुरा पनि यसैसँग सम्बन्धित रहेको छ। फेस्टिभलमा 'पपुलिस्टिक' योजना बनाइन्छ। ग्ल्यामरमा साहित्यको बजार प्रवर्द्धनको आकांक्षा राखिन्छ। त्यहाँ साहित्यको समाजपरक एवं सौन्दर्यपरक भूमिका भञ्जनका रणनीतिहरू सक्रिय देखिन्छन्। एनसेल लिटरेचर फेस्टिभल साहित्यको शिखरतिरको होइन ओरालोतिरको यात्रा लाग्छ। यो साहित्यको क्षयीकरण, साहित्यमाथि पुँजीको वर्चस्व र लीलानाच अनुभव हुन्छ। अर्को भाषामा भन्दा यो उत्तरआधुनिकतावादी उत्सव लाग्छ। 'जहाँ अक्षरहरू जीवन्त हुन्छन'् भन्ने नाराले अक्षरहरूको हुर्मत लिइरहेजस्तो देखिन्छ। झन्डैझन्डै सिंगो साहित्य जगत् यसप्रति निरपेक्ष र अनालोचनात्मक बनेको देख्दा अझ बढी दुःखको अनुभव हुन्छ। आफ्नै बलबुतामा सार्थक साहित्यिक कार्यक्रमको आयोजना गर्ने थुप्रै साहित्यिक संस्था छन्। के आयोजकहरूले यसप्रति ध्यान देलान् र आत्मआलोचक बन्दै आउँदा दिनमा फरक ढंगले कार्यक्रमको आयोजना गर्लान्? के कार्यक्रमका सहभागीहरू यसप्रति गम्भीर बन्दै आलोचनात्मक विवेकको प्रयोग गर्लान्? अहिले हेर्दा त लाग्छ हामी सबै एनसेलमय छौं र हाम्रो साहित्यको भविष्य पनि अब एनसेलकै काँधमाथि छ!

    गिरी प्रगतिशील लेखक संघका अध्यक्ष हुन्।