कम्युनिस्ट आन्दोलनका मुद्दा
कृष्णराज बर्मा –
मैले यसअघि एक दैनिकमा ००७ सालको पुँजीवादी जनवादी क्रान्तिको २९ वर्षपछि पनि नेकपा मालेले आफ्नो दस्ताबेजमा नेपालको सामाजिक, आर्थिक अवस्थाको विवेचना गर्दा भइरहेको पुँजीवादी विकास प्रक्रिया किन देख्न सकेन भन्ने प्रश्न उठाएको थिएँ । अर्धसामन्ती अर्धऔपनिवेशिक संक्रमणकालीन अवस्था भएका मुलुकमा पुँजीवादी जनवादी क्रान्तिका कार्यभार सामन्ती अवशेष समाप्त गर्दै भइरहेको पुँजीवादी विकासको प्रक्रियालाई तीव्र पार्नु र सोअनुरूप उपरी ढाँचाको जनवादी स्वरूप खडा गर्नु हो । यस अर्थमा यो साम्राज्यवाद सामन्तवादविरोधी प्रजातान्त्रिक संघर्ष हो । यसको यस चरित्रलाई माने पनि पुँजीवादी विकासको प्रश्नमा यिनीहरूमा अलमलै देखिन्छ । यस प्रकारको अलमल २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना कालमा पनि देखापरेको थियो भने ०२५ सालपछि स्थापित भएका माओवादी कम्युनिस्ट पार्टीहरूमा पनि देखापरेको हो । आज एमालेले नेपाली समाज पुँजीवादी भयो भन्ने प्रश्नलाई आधिकारिक नीति बनाएको र उसको अधिवेशनले यसलाई स्वीकार गर्नेबित्तिकै यो बहस टुंगियो भन्ने होइन । यो सिंगो कम्युनिस्ट आन्दोलनसँग जोडिएको प्रश्न हो । साथै, माक्र्सवाद–लेलिनवादको आधारमा हाम्रो सामाजिक विकास प्रक्रियाको अध्ययनसँग जोडिएको प्रश्न हो । त्यसकारण यसमा विशद बहस हुनु अनिवार्य छ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा ००८ सालदेखि सहभागी रहेको र ०१० देखि केन्द्रीय नेतृत्वमा रहेर काम गर्दै आएको हुनाले म बढी स्पष्टतासाथ के भन्न सक्छु भने नेपालको कम्युनिस्ट आन्दोलन आफ्नो सम्पूर्ण इतिहास कालमा सबभन्दा बढी उग्रवादी भड्काउको सिकार रहेको हो । ०१० सालदेखि पार्टीमा यसविरुद्ध संघर्ष हुँदै आएको हो । नेपालमा उग्रवादको दुइटा रूप देखापरेको हो । सुरुमा अर्थात् ००६ सालमा माक्र्सवाद–लेलिननवादको गहिरो ज्ञानको अभाव र नेपाली सामाजिक आर्थिक अवस्थाको गहन अध्ययनको अभावमा क्रान्तिकारीले दिने उग्रनाराका रूपमा यो देखापर्यो । जसलाई अधकल्चो ज्ञानबाट उत्पन्न विचलनका रूपमा लिन सकिन्थ्यो । तर, यस उग्रनारालाई १८ वर्षपछि ०२५ सालमा पुष्पलाल ‘ठोकुवा सत्य’ भन्दै ‘यी मौखिक बुँदा जनवादी क्रान्ति सम्पन्न नहुन्जेल मुख्य रूपले सही छन्’ भन्न पुग्नुभयो ।
अर्को उग्रवाद ०२५ पछि बडो स्पष्ट रूपमा आएको हो । भारतमा भएको ब्रिटिस साम्राज्यवादविरोधी मुक्ति आन्दोलनको असर जसरी नेपालका युवामा परेको थियो, त्यसरी नं चिनियाँ क्रान्तिको विजयले नेपाली युवालाई प्रभावित गर्यो । खासगरी माक्र्सवाद लेनिनवादप्रति रुचि राख्नेका लागि यो बढी आकर्षक थियो । तर, ०२५ सम्म यसलाई यान्त्रिक रूपमा अनुकरण गर्ने दिशातिरको प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा देखिएको थिएन । ०१७ पछि मुलुकमा निर्दलीय पञ्चायती व्यवस्थामा पार्टीहरू प्रतिबन्धित भए । पार्टीका राजनीतिक गतिविधिको प्रतिनिधित्व युवा विद्यार्थीले नै गरिरहेकाले उनीहरू निर्दलीय व्यवस्था परिवर्तनका लागि कुनै पनि बाटो अंगाल्न तयार थिए । त्यसै अवधिभित्र सोभियत संघ र चीनबीच बढ्दो अन्तरविरोध र चीनको विश्वव्यापी रूपमा भइरहेको सोभियत संघविरोधी आक्रामक कारबाहीको परिणामस्वरूप संसारभर कम्युनिस्ट आन्दोलनमा विभाजन आयो । यहाँसम्म कि विकसित पुँजीवादी देशमा पनि मोओवादी कम्युनिस्ट पार्टी खडा हुन पुगे । नेपालको सीमावर्ती क्षेत्रमा भारतीय माओवादीले नक्सलवादी हतियारबन्द आन्दोलन सुरु गर्यो । क्युबाको क्रान्तिबाट प्रभावित दक्षिण अमेरिकाको पेरुमा साइनिङ पाथको नाउँमा माओवादलाई विश्वमा स्थापित गर्ने प्रयास भयो । माओवादको यस लहरलाई सोभियत संघको विरोधमा उपयोग गर्न रिमले यसलाई अन्तर्राष्ट्रियकरण गर्न थाल्यो । निर्दलीय व्यवस्थाको दमनबाट विद्रोही युवा यसबाट प्रभावित हुँदै गए । सर्वप्रथम पुष्पलालले बनारस अधिवेशनबाट खडा भएको पार्टी पुनर्गठन गर्ने नाउँमा माओवादी पार्टीको स्थापना गर्नुभएको हो । तर, उहाँ सशरीर माओवादी हुनुभएन र युवा जमातलाई आफूतिर आकर्षित गर्न पनि सक्नुभएन । यसकारण माओवादी निर्माण क्रममा नेकपा माले स्थापना ०३५ सालमा गठन भयो, उसले पहिलोपल्ट नेपालमा सशस्त्र क्रान्तिको घोषणा गर्यो र चिनियाँ क्रान्तिको लक्ष्य, कार्यनीति सबैलाई यान्त्रिक रूपमा अँगाल्यो । पुष्पलालले विश्व कम्युनिस्ट आन्दोलनलाई हेर्ने माओवादी दृष्टिकोण अंगाले, विश्वको प्रमुख अन्तरविरोधको सम्बन्धमा माओले अंगालेका त्यस वेलाका विकृत दृष्टिकोणलाई कण्ठस्थ पारे र आफूलाई पक्का माओवादी प्रमाणित गर्न आधुनिक संशोधनवादको विरोध गर्दै ‘माक्र्सवाद–लेलिनवादको शुद्धताको निम्ति चिनियाँ कम्युनिस्ट पार्टीले पास गरेको २५ सूत्रीय कार्यक्रमलाई समर्थन गर्नेले मात्र उनको पार्टीको सदस्य हुन पाउनेछ भन्ने घोषणा गरे ।
०२५ पछि नेपालको राजनीतिलाई माओवादले एक–दुई दशकसम्म व्यापक रूपमा गाँजेको हो । चिनियाँ सांस्कृतिक क्रान्तिको सिलसिलामा स्थापित माओवादी विश्व दृष्टिकोण र चिनियाँ क्रान्तिको लक्ष्य, कार्यनीतिलाई यान्त्रिक रूपमा ग्रहण गर्ने प्रवृत्ति त्यसपछिका कम्युनिस्ट पार्टीमा देखापरेका हुन् । जसले गर्दा ०४६ मा वाममोर्चा गठन, वाममोर्चा र नेपाली कांग्रेसबीच मोर्चा स्थापना, देशमा संवैधानिक राजतन्त्रअन्तर्गत बहुदलीय प्रजातान्त्रिक संसदीय पद्धति स्थापना सम्भव भएको थियो । त्यही एमालेले आज चिनियाँ क्रान्तिका विशिष्ट अनुभवलाई यान्त्रिक रूपमा ग्रहण गर्ने प्रवृत्तिबाट कम्युनिस्ट आन्दोलनलाई मुक्त गर्ने आह्वान गर्दै छ । स्वयं ‘दशवर्षे जनयुद्ध’ को नेतृत्व गर्ने एमाओवादीको नेतृत्वबाट पनि छिटपुट यस्ता अभिव्यक्ति आउने गरेका छन् ।
००६ सालमा स्थापित कम्युनिस्ट पार्टी र त्यसको इतिहासलाई हेर्ने एउटा दृष्टिकोणको नेतृत्व पुष्पलालले गर्दै आएका हुन् र उनको निधनपछि पनि उनको नीतिको धुँवादार प्रचार–प्रसारमा लागेको एमालेको कार्यनीतिमा अतिविरोधाभास देखिन्छ । हुन त ०३५ मा पनि उनीहरूमा यो विरोधाभास नदेखिएको होइन । आफ्नो स्थापना दस्ताबेजमा ०१७ पछि नेकाको नेतृत्वमा जनता तथा राष्ट्रविरोधी षड्यन्त्र र आक्रमणको समर्थन गरेको नाउँमा पुष्पलाल तथा तुलसीलाललाई संशोधनवादी भनेका थिए भने राष्ट्रियताका प्रहरी राजाको समर्थन गर्ने भनी रायमाझी र मनमोहन अधिकारीलाई संशोधनवादी भनेका थिए । हुन त पछि मनमोहन अधिकारी उनको पार्टी अध्यक्ष भए, तुलसीलाल पोलिटब्युरो सदस्य भए र पुष्पलाल आदर्श भए । माक्र्सवाद–लेनिनवादलाई वैज्ञानिक रूपमा नेपालमा स्थापित गर्ने र उग्रवादी भड्काउबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई मुक्त गर्ने अभियानको नेतृत्व गर्न हिँडेको एमालेले ‘पुष्पलालले आफ्नो जीवनपर्यन्त बोकेको उग्रवादी भासलाई’ प्रसार गर्ने दायित्व किन बोकेको हो, बुझ्न नसकिने कुरा हो ।
एमालेले चिनियाँ क्रान्तिको यान्त्रिक अनुकरणलाई परित्याग गर्ने आधिकारिक नीतिको घोषणाले आत्मालोचना गर्ने क्रममा नेपाली इतिहासको एउटा कालखण्डमा अत्यधिक प्रभाव रहेको माओवादी रुझानप्रति गम्भीर प्रश्न उठाएको हो । तर, एमालेले २००६ सालमा पार्टी स्थापनाकालमा प्रकाशित अपिलपत्र र त्यसमा आधारित प्रथम सम्मेलनको कार्यक्रमका उग्रवादी भड्काउलाई किन देख्न सकेन ? यस अपिलपत्रमा नेपालको पुँजीवादी जनवादी क्रान्तिको कार्यभार यसरी निर्धारित गरिएको छ :
१) पुँजीवादी प्रभुत्वलाई सम्पूर्ण रूपमा नष्ट गर्ने ।
२) नेपालको उद्योगधन्दा, चियाबगान, यातायात आदिमा लगानी गरिएको विदेशी पुँजी जफत गर्ने ।
३) ठूला उद्योग, बैंक, इन्सुरेन्स कम्पनीहरू सबै राष्ट्रियकरण गर्ने ।
४) सबै जमिन राष्ट्रियकरण गरी किसानलाई वितरण गर्ने ।
५) न्यायाधीशहरू जनताबाट निर्वाचित हुनुपर्ने ।
६) नोकरशाही शासन व्यवस्था खतम गरी जनसमितिद्वारा रोजिएको प्रसाशकबाट प्रशासन चलाउनुपर्ने ।
७) आमजनतालाई हतियार बन्द गरी प्रजातान्त्रिक फौज खडा गर्ने आदि ।
१) पुँजीवादी प्रभुत्वलाई सम्पूर्ण रूपमा नष्ट गर्ने ।
२) नेपालको उद्योगधन्दा, चियाबगान, यातायात आदिमा लगानी गरिएको विदेशी पुँजी जफत गर्ने ।
३) ठूला उद्योग, बैंक, इन्सुरेन्स कम्पनीहरू सबै राष्ट्रियकरण गर्ने ।
४) सबै जमिन राष्ट्रियकरण गरी किसानलाई वितरण गर्ने ।
५) न्यायाधीशहरू जनताबाट निर्वाचित हुनुपर्ने ।
६) नोकरशाही शासन व्यवस्था खतम गरी जनसमितिद्वारा रोजिएको प्रसाशकबाट प्रशासन चलाउनुपर्ने ।
७) आमजनतालाई हतियार बन्द गरी प्रजातान्त्रिक फौज खडा गर्ने आदि ।
राजनीतिक रूपमा राजाशाहीको अन्त्यका कुरा गरे पनि पुष्पलालले सोचेको क्रान्तिको कार्य भन्नुस् या उनले सम्झेको पुँजीवादी जनवादी क्रान्तिपछि गर्ने या गरिनुपर्ने कार्य भन्नुहोस्, यही होइन र ? के एमाले यस कार्यक्रमको पूर्ण समर्थक छ ? यसै दृष्टिकोणका आधारमा केही हेरफेर भए पनि पहिलो सम्मेलनको कार्यक्रम यही हो । सम्मेलनमा उनले राजनीतिक कार्यका रूपमा ‘मजदुर वर्गको नेतृत्वमा जनताको जनवादी राज्य कायम गर्ने’ समेत थपेका थिए । के नेपाली पुँजीवादी जनवादी क्रान्तिको कार्यभारप्रति उनमा रहेको अज्ञानतामा आधारित यो उग्रवादी भड्काउ होइन ?
०४० देखि नेकपा मालेमा उग्रवादी भड्काउबाट मुक्तिका दिशामा भइरहेका प्रयासका परिणामस्वरूप ०४६ को जनआन्दोलनको विकास हुनसकेको थियो । त्यसवेलाको परिस्थितिमा संवैधानिक राजतन्त्रअन्तर्गत बहुदलीय संसदीय पद्धतिप्रति स्वीकृति र सामाजिक आर्थिक अवस्थामा गरिने समाजवादी रूपान्तरणको बाटो हतियार बन्द होइन, शान्तिपूर्ण संघर्ष हो भनी मालेले स्वीकार गरेको हो ।
पार्टी स्थापना कालमा भारतीय कम्युनिस्ट आन्दोलनमा रहेको उग्रवादी भड्काउको प्रभाव जसरी हाम्रो सोच र समझदारीमा परेको थियो, त्यसैगरी भारतीय कम्युनिस्ट आन्दोलनमा रहेको भड्काउबाट मुक्तिका प्रयासको प्रभाव पनि हामीमा परेको हो । २००९ साल पुग्दानपुग्दै जनताबीच जाने क्रममा पार्टी स्थापनाकालमा देखिएका उग्रवादी भड्काउबाट मुक्ति अपरिहार्य भयो । ०१० मा महासचिव मनमोहन अधिकारीको नेतृत्वमा पहिलो पार्टी कांग्रेसले अपिलपत्र र प्रथम सम्मेलनका कार्यक्रमलाई खारेज गर्यो । संक्षेपमा भन्ने हो भने अधिवेशनमा पारित कार्यक्रममा भनिएको थियो– हाम्रो पुँजीवादी जनवादी क्रान्तिको पहिलो लक्ष्य देशमा जनवादी सार्वभौमसत्ता सम्पन्न सरकार स्थापना गराउनु हुनेछ । त्यस सरकारले सबै देशसँग उनीहरूको राजनीतिक व्यवस्थाको भेदभाव नगरी व्यापारिक सम्बन्ध स्थापित गर्नेछ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता तथा शान्तिपूर्ण नीतिसँग मेल नखाने राजनीतिक वा अन्य सर्त स्वीकार नगरी मैत्रीपूर्ण सहायता लिनेछ । यस्तो सहायता बराबरी, परस्पर लाभ तथा घरायसी मामिलामा हस्तक्षेप नगर्ने सर्तहरूमा आधारित हुनु आवश्यक छ । नेपाल कम्युनिस्ट पार्टी समाजवाद निमार्णको कुरा गर्दैन र आजको स्थितिमा धिराजको एकतन्त्रात्मक सरकारको ठाउँमा जनवादी र वैधानिक सरकार कायम होस् भन्ने चाहन्छ । आर्थिक विकासको दृष्टिले पुँजीवादको विकास गर्न चाहन्छ ।
यसले देशको आर्थिक पुनर्निर्माणका लागि कृषि क्षेत्रमा सामन्ती सम्बन्ध र तिनका शोषण अन्त्य गर्ने कार्यक्रम प्रस्तुत गर्यो । पुँजीवाद विकासका लागि स्वदेशी पुँजीबाहेक पनि विदेशी सहायता, ऋण र निजी विदेशी पुँजीका लागि समेत राष्ट्रिय हितलाई ध्यानमा राखी लगानी गर्ने छुट दियो । त्यस दिशामा कृिषमा पुँजीवाद विकासका लागि सामन्ती सम्बन्ध र तिनका शोषण अन्त्य गर्ने कार्यक्रम प्रस्तुत गर्यो । पुँजीवाद विकासका लागि स्वदेशी पुँजीबाहेक पनि विदेशी सहायता, ऋण र निजी आधारमा आउने विदेशी पुँजीका लागि राष्ट्रिय हितमा लगानी गर्ने दृष्टिले नियमनका साथै छुट दियो । स्वदेशी पुँजीको संवद्र्धन र संरक्षणका लागि नीतिहरू स्वीकार गर्यो । कांग्रेसपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले पार्टीभित्र रहेको हतियार संकलनको गोप्य समितिलाई सदाका लागि भंग गरेर पार्टीलाई कानुनी रूपमा लैजाने नीति लियो । ३ वैशाख ०१३ मा वक्तव्य जारी गरेर वैधानिक राजतन्त्र र आफ्नो समाजवादी लक्ष्य पूर्तिका लागि शान्तिपूर्ण तरिका अँगाल्ने घोषणा मनमोहन अधिकारीले गर्नुभयो । पहिलेको उग्रवादी रुझानबाट पूर्णरूपमा मुक्त हुन नसके पनि मनमोहन अधिकारीको नेतृत्वकालमा भएको यो घोषणाको सार संवैधानिक राजतन्त्रअन्तर्गत बहुदलीय संसदीय पद्धतिअनुसार शान्तिपूर्ण बाटोबाट आफ्नो समाजवादी लक्ष्यमा अगाडि बढ्ने र एमालेले ०४६ पछि लिएको नीतिमा के फरक छ ? के कम्युनिस्ट आन्दोलनका लागि ६० वर्षअगाडि गरेको यो घोषणा एउटा कोसेढुंगा थिएन ?
०१० मा यसलाई पुष्पलालले दक्षिणपन्थी भड्काउको संज्ञा दिनुभयो । के एमालेको पनि यही दृष्टिकोण हो ? यदि हो भने उसले कम्युनिस्ट आन्दोलनमा आफूले थपेको नयाँ आयामलाई के भन्छ ? एमाले आफ्नो पार्टीको पहिलो अधिवेशनलाई चौथो अधिवेशन घोषणा गरेर भर्खरै त्यसै क्रमअनुसार नवौँ अधिवेशन सम्पन्न गरेको छ । यस सम्बन्धमा अरू कुनै प्रश्न उठाउनुभन्दा पहिले के प्रश्न उठ्छ भने यो क्रमबद्धताको लहरो पुष्पलालको उग्रवादी धारसँग जोडिएको हो कि मनमोहनको वैज्ञानिक दृष्टिकोणसँग ? आज एमालेले यसलाई स्पष्ट पार्नु जरुरी छ । घनश्याम भुसालजीको कुनै लेखमा पुष्पलालका विवेचनालाई विवादै नगरीकन बोकेर हिँडिरहेका छौँ भन्ने अभिव्यक्तिले शुभसंकेत दिन्छ । तर, पुष्पलालका यस्ता उग्रवादी भड्काउपूर्ण विचारको प्रसारका लागि एमालेले गरिरहेको खर्चको आधारमा त्यसमाथि गम्भीर रूपमा विचार होला भन्ने विश्वास गर्ने ठाउँ पाइन्न ।
नेपालको सामाजिक आर्थिक अवस्थाको विवेचनामा एमालेले हिजो गरेको गल्तीको मूल कारण उसले अनुकरण गरेको उग्रवादी धार नै थियो । जसको स्रोत एकातिर माओवादप्रतिको उसको यान्त्रिक अनुकरण थियो भने उसको सुषुप्त मतिष्कमा रहेको पुष्पलालको उग्रवादी धार पनि थियो । जसलाई पुष्पलालले १९ वर्षपछि ०२५ सालमा पनि ठोकुवा सत्यका रूपमा स्विकारेका होइनन् कि पुँजीवादी जनवादी क्रान्ति पूरा नहुन्जेललाई सही मानेका मात्र हुन् । त्यसकारण उग्रवादी भड्काउबाट मुक्ति पाउनु भनेको माओवादको यान्त्रिक अनुकरणबाट मात्र होइन कि पुष्पलालको उग्रवादबाट पनि मुक्ति पाउनु हो ।
केही गम्भीर भएर हेर्ने कोसिस गर्नुभयो भने पुष्पलालको राजनीतिक गतिविधिको ‘मोटिभ फोर्स’ उनको क्रान्तिकारिता हो कि पदप्रतिको आसक्ति भन्नेमा डा. सुरेन्द्र केसीजस्ता इतिहासकार पनि अन्योलमै देखिन्छन् । पुष्पलाल भन्नुको अर्थ ‘कम्युनिस्ट पार्टीको स्थापना, अपिलपत्र र प्रथम सम्मेलनको कार्यक्रम’ हो । कम्युनिस्ट पार्टीको स्थापना सबैको स्थायी सरोकारको विषय हो । अपिल र कार्यक्रम अस्वीकृत हुने कुरा हुन् । तर, पुष्पलालले स्थापना, अपिल र कार्यक्रम सबैलाई आफ्नो व्यक्तित्व बनाउनुभयो । मूलत: एमालेको माओवादी दृष्टिकोण, नक्सलवादी कार्यनीति र मुलुकभित्र सामाजिक आर्थिक अवस्थामा भइरहेको परिवर्तनलाई पुष्पलालको आँखाबाट हेर्ने दृष्टिकोणले गर्दा नै एमालेले आफ्नो स्थापनाकालमा पुँजीवादी विकासको प्रक्रिया देख्न नसकेको हो ।
No comments:
Post a Comment