Monday, July 28, 2014

पुष्पलाल र नयाँ जनवाद

पुष्पलाल र नयाँ जनवाद
kapil

कपिल पोखरेल -
 
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको देहावसान भएको ३६ वर्ष बितेको छ । नेपाल कम्युनिस्ट पार्टी स्थापना गरी यस पार्टीलाई विचारधारात्मक दृष्टिकोण प्रदान गर्दै यस आन्दोलनलाई समृद्ध पार्ने कार्यका कारण क. पुष्पलाल कहिल्यै भुल्न नसकिने ऐतिहासिक व्यक्तित्व बन्नुभयो । उहाँको ३६औँ स्मृति दिवस भर्खरै मनाइएको सन्दर्भमा केही सवाललाई यस लेखमार्फत पाठकसामु पस्कने कोसिस गर्दै छु ।
अधिनायकत्वको सवाल
समाज शास्त्र र राजनीतिका कखरा मात्र पढेकाले पनि बुझ्नुपर्ने सवाल के हो भने कुनै पनि वर्गीय शासन अधिनायकत्वकै आधारमा चलेको हुन्छ । दास युगसँगै उदय भएको ‘राज्य’ निश्चित वर्गको शासन सञ्चालन गर्ने अस्त्र हो । यसै अस्त्रको प्रयोग गरी शासक वर्गले आफ्नो वर्गीय अधिनायकत्व सञ्चालन गर्दै आएको छ । दास युगमा मालिक वर्गले तमाम दास वा कमारामाथि अधिनायकत्व लाद्ने गथ्र्यो भने सामन्ती युगमा सामन्त वर्गद्वारा किसान वा भूदासलाई आफ्नो अधिनायकत्वमा राख्यो । पुँजीवादमा पुँजीपति वर्गले सर्वहारा वर्गमाथि त्यसै गर्दै आएको छ । तर, उसले जनतालाई झुक्याउन ‘डेमोक्रेसी’ शब्दको जालले अधिनायकत्वलाई लुकाउँछ । नयाँ जनवादमा पनि अधिनायकत्व हुन्छ तर त्यो अधिनायकत्व अघिल्लाको तुलनामा ठीक विपरीत हुन्छ । दासयुग, सामन्ती युग र पुँजीवादी युगमा ५ प्रतिशत शोषक वर्गको ९५ प्रतिशत जनतामाथि अधिनायकत्व कायम हुन्छ । तर, नयाँ जनवादमा ९५ प्रतिशत जनताको पाँच प्रतिशत शोषकमाथि अधिनायकत्व कायम हुन्छ । नेकपाको प्रथम राष्ट्रिय सम्मेलनमा कमरेड पुष्पलालद्वारा प्रस्तुत भई पारित ‘नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो’ नामक दस्ताबेजमा ‘अधिनायकत्व’ सम्बन्धमा ‘जनताका निम्ति जनवाद र साम्राज्यवाद र तिनका दलालका निम्ति अधिनायकत्व’ भनिएको छ ।
बुर्जुवाहरू आफूलाई जनविरोधी देखिनबाट बच्न मीठा–मीठा शब्दको कलात्मक प्रयोग गर्छन् । अंग्रेजी शब्द ‘डेमोक्रेसी’ लाई अब्राहम लिङ्कनले ‘जनताद्वारा चुनिएका जनताले जनताकै निम्ति गर्ने शासन’ भन्ने परिभाषा लगाएका थिए । यसलाई नेपाली अनुवाद गर्दा प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, जनवाद बनाइएको छ । प्रजातन्त्र, लोकतन्त्र वा डेमोक्रेसीजस्तो जनपक्षीय शब्दको प्रयोग गरी बुर्जुवा वर्गले अधिनायकत्व लुकाउने गरेको छ ।
अधिनायकत्व नराम्रो शब्द नभए पनि संसारभरका प्रतिक्रियावादीले यो शब्दलाई नकारात्मक शब्दको रूपमा चित्रित गरेको र जनताले साम्राज्यवादी प्रचारको भेद छुट्याउन नसकेको वर्तमान अवस्थामा हामीले पनि ‘जनताको जनवादी अधिनायकत्व’लाई ‘जनताको लोकतन्त्र’ वा ‘जनताको जनवाद’ शब्दको प्रयोग गर्न सक्छौँ ।
कम्युनिस्ट पार्टी र निर्वाचन
बुर्जुवाहरूले कम्युनिस्ट सत्ता सञ्चालन गर्न निर्वाचन गरिँदैन, कम्युनिस्ट पार्टीले नियुक्त गरेका प्रतिनिधिले शासन प्रशासन चलाउँछन् भन्ने अफवाह फैलाउँछन् । बुर्जुवा त बुर्जवा नै भए तर मदन भण्डारीले समेत जबजको कार्यक्रम तयार पार्दा नयाँ जनवादमा चुनाव नै नहुने अर्थमा जबजका थप विशेषता लेख्दै– बालिग मताधिकार, आवधिक निर्वाचनजस्ता विषयको व्याख्या गरेका छन् । यथार्थमा यी सबै भ्रम हुन् । नेकपाको प्रथम राष्ट्रिय सम्मेलनमा महासचिव क. पुष्पलालद्वारा प्रेषित भई सम्मेलनद्वारा पारित नयाँ जनवादको निम्ति नेपाली जनताको बाटो शीर्षकको दस्ताबेजमा कम्युनिस्ट ‘पार्टी र शासन व्यवस्था’ उपशीर्षकमा ‘जनताको सार्वभौमिकता अर्थात् देशको सबै शक्ति जनताको हातमा रहने राज्यको सर्वोच्च अदालत जनताले चुनेका प्रतिनिधिको हातमा राख्ने’ भनिएको छ । यति मात्र होइन, त्यहाँ, ‘यी जनप्रतिनिधिलाई निर्वाचनको बहुसंख्यकले चाहे फिर्ता बोलाउन सक्ने’ व्यवस्था गर्ने उल्लेख छ । त्यस्तै नयाँ जनवादी व्यवस्थामा ‘१६ वर्ष पुगेका सबै पुरुष र महिलालाई सार्वजनिक समानता र प्रत्यक्ष भोटको अधिकार दिने, बालिग मताधिकारको आधारमा प्रत्यक्ष चुनाव गराउने’ आदि उल्लेख छ । त्यसैले कम्युनिस्ट पार्टीको सत्ता अनिर्वाचित हुन्छ भन्ने कुरा शत–प्रतिशत झुटो हो ।
राजनीतिक पार्टीबारे
बुर्जुवा र जबजवादीहरूले समेत नयाँ जनवादलाई एकदलीय व्यवस्था भनेर झुटो प्रचार गरिरहेका छन् । यथार्थमा यसमा कत्ति पनि सत्यता छैन । क. पुष्पलालद्वारा प्रेषित उपर्युक्त दस्ताबेजमा ‘…राजनीतिक पार्टीलाई आनुपातिक प्रतिनिधित्वको अधिकार दिने’ उल्लेख गर्दै ‘गुप्त मतदान प्रणालीको चलन चलाउने’ समेत उल्लेख छ । यसबाट नयाँ जनवादी व्यवस्थामा बहुदलीय प्रणाली नै हुनेछ । तर, त्यहाँ साम्राज्यवादका दलाललाई मात्र बन्देज लगाइनेछ । यति छर्लंगसँग बहुदलीय परिपाटी रहने व्यवस्था गरिएको नयाँ जनवादलाई एकदलीय देख्नु उनीहरूको दृष्टिभ्रमबाहेक के हुन सक्ला र ?
स्थानीय स्वशासन सम्बन्धमा
अचेल स्थानीय स्वशासन नयाँ कुरो जस्तो ठानिँदै छ । दशवर्षे जनयुद्धमा एमाओवादीले स्थानीय सरकारको नारालाई निकै चर्काए र जनमत पनि बटुले । उनीहरूले पुष्पलाललाई कुनै सम्मान गरेनन् । स्थानीय स्वशासन एमाओवादीले ल्याएको नयाँ विषय थिएन, बरु यो त २००८ सालमै क. पुष्पलालले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरी पारित भएको दस्ताबेजमै उल्लेख छ । त्यहाँ, ‘स्थानीय र इलाकीय सरकारको व्यापक चलन गराउने, यी सरकारलाई बालिग जनताले चुन्ने र यिनीहरूलाई स्थानीय समस्यासम्बन्धी धेरै अधिकार दिने…’ उल्लेख छ । त्यस्तै माथिबाट नियुक्त हुने हाकिम, वडाहाकिम आदि अफिसर स्थानीय सरकारले नै नियुक्त गर्ने व्यवस्था पनि उल्लेख छ । कमरेड पुष्पलालले कम्युनिस्ट पार्टी स्थापनालगत्तै सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रेषित गरेको कार्यक्रमलाई हामीले आजसम्म लागू गर्न सकेका छैनौँ ।
नागरिक अधिकार र स्वतन्त्रताबारे
नागरिक अधिकार र स्वतन्त्रतासम्बन्धी कम्युनिस्ट पार्टीको नीति स्पष्टै छ । माथि उल्लिखित दस्ताबेजमा ‘धर्म, जात, योनी, वर्णको भेदभाव नगरी सबैलाई नागरिक अधिकार दिने’ उल्लेख छ । त्यस्तै त्यहाँ अघिल्लो बुँदामा ‘…छलफल, भाषण, प्रेस, संघ, हडताल, धर्म संघसमेत बनाउने पूर्ण अधिकार दिने’ उल्लेख छ । यतिका अधिकार नयाँ जनवादमै हुन्छ भने अर्को विकल्पका रूपमा जबज वा एक्काइसौँ शताब्दीको जनवाद आदि आवश्यक पर्छ र ? यो त पुष्पलाल र नेकपालाई ओझेल पार्ने काम भयो नि ।
न्यायालयबारे
नयाँ जनवादमा न्यायालय कसरी सञ्चालन गर्ने भन्ने पनि स्पष्ट छ । उपर्युक्त दस्ताबेजमा ‘जनताद्वारा निर्वाचित न्याय विभाग खडा गर्ने, न्यायाधीशलाई पनि जनताले चुन्ने अधिकार दिने, सरकारद्वारा नियुक्त गरिने होइन’ भन्ने उल्लेख छ । यसरी, कुनै पुँजीवादी मुलुकमा नभएको अधिकार नयाँ जनवादमा रहने व्यवस्था नेकपाको सम्मेलनमा कमरेड पुष्पलालले समावेश गरिसक्नुभएको हो ।
यसरी आजको विवाद, बहस र छलफलको विषय ६३ वर्षअघि नै कमरेड पुष्पलालको नेतृत्वमा रहेको नेकपाले निक्र्योल गरिसकेको विषय हो । नेकपा र कमरेड पुष्पलालका विचार आज पनि अत्यन्त सान्दर्भिक छन् । नयाँ जनवाद बुर्जुवाहरूले अपव्याख्या गरेझैँ नागरिक अधिकारविहीन र एकदलीय पनि होइन, जबजले भनेझैँ जडसूत्र पनि होइन । यो त मुलुकलाई समाजवादमा संक्रमित गराउने संक्रमणकालीन वैज्ञानिक कार्यक्रम हो । भर्खरै कमरेड पुष्पलालको स्मृति दिवस मनाइएको सन्दर्भमा सबै वामपन्थीको चेत फिरोस् ।

No comments:

Post a Comment