Sunday, March 16, 2014

दुई माओवादी मिल्ने कुरा - लेखनाथ न्यौपाने

दुई माओवादी मिल्ने कुरा

    दुवै माओवादीका सातौं महाधिवेशनले पारित गरेका दुवै प्रतिवेदन गहिरिएर तुलनात्मक अध्ययन गर्ने हो भने यी दुई बीचको एकता सम्भव नै छैन ।
     
     
               
    लेखनाथ न्यौपाने                             
    lekhnath
                                                                                
    फुट, क्षयीकरण र बदमासीसँगै 'एमाओवादी क्यास' र 'माओवादी ड्यास' भनेर व्यङ्ग्यका जुलुसै आए । एमाओवादीले राष्ट्रिय र वर्गीय आत्मसमर्पण गरेको भन्दै क्रान्तिको झण्डा उठाएको माओवादीले त्यसपछिका दिन निराशालाई आशामा, शङ्कालाई विश्वासमा र प्रतिकूलतालाई अनुकूलतामा बदल्न निकै उकालो महसुस गरेको बुझ्न गाह्रो छैन । 'जनाधार नभएका एकाधले पार्टी छाडेका हुन् र बहुमत ल्याइन्छ, चुनावमा जानुपर्छ' भन्ने एमाओवादी चुनावी परिणामसँगै निकै माथिबाट प्रतिकूलतामा पछारिएपछि दुई माओवादी बीचमा पुनः एकताको सन्दर्भ उठ्नु स्वाभाविक परिघटना हो । तर दुई पार्टी बीचको एकता आवेगपूर्ण, भावपरक र नेताहरू नेता बनिरहने स्वार्थलाई केन्द्रमा राखेर गर्ने वा प्रतिकूलतामा धकेलिएको माओवादी आन्दोलनलाई साँच्चै अनुकूलताका लागि माओवादी इथिक्समा टेकेर गर्ने भन्ने विषय मुख्य प्रश्न हो । यो पनि सत्य हो कि गुट, फुट र क्षयीकरण जति पीडादायी घटना हुन्, योभन्दा कैयौं गुणा सुखद एकता र सुदृढीकरण हुन्छ नै । तर फुटबाहेक अन्य समाधानले सम्बोधन गर्न नसक्ने के-के विषय विवादका कारण पार्टी फुट्छन् र कुन उत्प्रेरक रसायनको कारण जुट्न हतारिन्छन् भन्ने विषय कसरी बुझ्ने ? भित्र वा बाहिर कहाँका हातले कम्युनिस्टहरूलाई फुटाउँछन् र भोज खान्छन्, अनि सम्भावनाको मिराज कति वर्ष पछाडि धकेलिन्छ भन्ने हेक्का अब हरेक कम्युनिस्ट सदस्यले राख्न सक्नुपर्छ ।
    पार्टी भित्रको दुई लाइन संघर्षमा बहुमतवालाले अंकगणितको डन्डा चलाएर अल्पमतलाई खेदेको खेदै गर्ने र अल्पमतवाले पनि एकताभन्दा फरक धन्दामै भविष्य देख्ने रोगको कारण दुवै मतवाला एकताका लागिभन्दा फुटका लागि अग्रसर हुने र विभाजनमै रमाउने मनोदशा इतिहासमा निणर्ायक बन्दै आयो । यसकारण कम्युनिस्ट पार्टीहरूको एकता वा फुटमा आम कार्यकर्ता र समर्थक जनताको मत निणर्ायक हुने गरेको देखिँदैन । जब तल्लो तहसम्म फुट र एकताबारे तीव्र बहस र सापेक्षित एकरूपताको बुझाइ बन्दैन, तब फुट वा एकता नाटकजस्तो लाग्नु पनि स्वाभाविक हुन्छ । यस्ता खेस्रा नाटकहरूलाई नेताहरूले वस्तुवादी भन्दै पुष्टि गर्ने दुष्प्रयास गरे पनि समयक्रमसँगै परिणाम अवस्तुवादी प्रमाणित हुन्छ । जसले फुटलाई एकता र एकतालाई फुटमा फेरिदिन्छ । माओवादी बीचको फुट र दुई माओवादी बीचको एकताको प्रसङ्ग यस्तै एउटा तर पछिल्लो कडी हो भन्दा फरक नपर्ला कि ?
    कम्युनिस्ट घोषणापत्र (सन् १८४८) जारी ताकाका दुई मुख्य विभाजनका घटना सबैले सम्झन जरुरी छ । पहिलो, विश्वको पहिलो मजदुर संगठन कम्युनिस्ट लिग (१८४७) निर्माणसँगै विवाद र विभाजन भयो । युरोपमा चलेका ठूलठूला मजदुर विद्रोहहरू हारमा बदलिएपछि 'नयाँ संकटपछि मात्र नयाँ क्रान्तिको प्रादुर्भाव हुनसक्छ' भन्ने माक्र्स-एंगेल्सको विचार अस्वीकार गर्दै कम्युनिस्ट लिगकै नेताहरू मिल्लिख र सापोरको नेतृत्वले 'जर्मनीमा सशस्त्र विद्रोह सम्भव छ' भन्ने धारणा र योजना अघि सारे । यही विषय विवादको कारण गठन भएको दुई वर्ष नपुग्दै कम्युनिस्ट लिग विभाजन भयो ।
    दोस्रो, 'एकातिर गोदाम अन्नले भरिभराउ छ, अर्कोतिर हाम्रा जहान, छोराछोरीहरू भोकै मरिरहेका छन् । हामी यो हेरिरहन सक्दैनौं' भन्ने व्यानरमा विकसित भएको दोस्रो चार्टिस्ट आन्दोलन (१८४८) को पहिलो पाइलोमै फुट भयो । विलियम लोभेटको नेतृत्वमा नैतिक शक्ति (नरम दल) र र्फगस ओकोनोरको नेतृत्वमा भौतिक शक्ति (गरम दल) भनेर दुई गुटमा विभाजन बेहोरेको इतिहास छ । यसरी विश्वका विभाजन र एकताका अनगिन्ती घटना पढ्दै हुर्केका नेपाली कम्युनिस्ट नेता- कार्यकर्ता देशभित्रको विभाजनमा प्रवेश गर्छन् ।
    नेपाली कम्युनिस्ट आन्दोलनभित्र औपचारिक विभाजन दरभंगा प्लेनमको निर्णय कार्यान्वयन गर्ने कि नगर्ने भन्नेबाट सुरु भए पनि फुटको विजारोपण कम्युनिस्ट पार्टी स्थापना (२००६) सालदेखि नै भएको प्रस्टै छ । नेपाल कम्युनिस्ट पार्टीको जन्म कहिले र को-कोबाट भएको हो भन्ने त्यतिबेलाको विवाद आजसम्म टुङ्गिएको छैन । वारा, पर्सा र रौतहटमा ठूलठूला किसान विद्रोह (२००८-००९) र  भीमदत्तको नेतृत्वमा पश्चिममा सशस्त्र विद्रोह (२००९) चल्दै गर्दा कम्युनिस्ट पार्टीको महासचिवले 'समाजवाद शान्तिपूर्ण तरिकाले स्थापना गर्न सकिन्छ भन्ने कुरामा कम्युनिस्ट पार्टी विश्वास गर्छ । नेकपाले यो स्पष्ट पारेको छ कि राजाको वैधानिक नायकत्वमा प्रचलित कानुनको अधीनमा रही समाजवादी सिद्धान्तको प्रचार गर्छ' भन्ने विषयको विन्तीपत्र राजाकहाँ चढाउनु विभाजनका खास कारण थिए । त्यहाँदेखि यहाँसम्म आउँदा कम्युनिस्ट आन्दोलनभित्र साना-ठूला गरी ७६ वटा विभाजन र यसको एक तिहाइ एकताहरू देख्न सकिन्छ । दुई माओवादी बीचको एकताको प्रसङ्ग तिनै एक तिहाइ मध्येको एउटा घटनाबाहेक थप नयाँ होला कि नहोला ? पर्खेर हेर्नु नै बुद्धिमानी होला ?
    आवश्यकताको दृष्टिबाट दुई माओवादी बीचको एकता जरुरी देखिन्छ । 'एक्लै-एक्लै केही गर्न सकिँदैन, प्रतिकूलताका घेरा कसिँदा छन् र जनयुद्धको गौरवपूर्ण इतिहास (भौतिक उपलब्धि त आफैंले बुझाएर सकियो) समेत खरानी हुने भयो' भन्ने बुझाइ दुवै माओवादीभित्र विकास हुनु एउटा सकारात्मक भविष्यको रेखाङ्कन हो भने अर्को दुवै पार्टीले एकै समयमा संगठनात्मक सम्मेलनको आयोजना गर्नु, दुईअंके केन्द्रीय समिति बनाउने निर्णय गर्नु र केन्द्रपछि जिल्लालाई कार्यकारी बनाउने प्रक्रियाले एकताको छलफल र तयारी अघि बढिसकेको संकेत गर्छ । 'हारको मुख्य कारण पार्टी फुट र वर्गीय धरातल छोड्नु हो, एक्लैले सामान्य सुधारको संघर्ष पनि अब संगठित गर्न सकिँदैन र पालुङटार फर्किएर एकीकृत शक्तिका साथ नयाँ ढंगबाट अघि बढ्न जरुरी छ' भन्ने एमाओवादीको प्रारम्भिक धारणा र 'सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध गरी नयाँ कम्युनिस्ट क्रान्तिकारी आन्दोलनको सुदृढीकरण गर्ने कामलाई व्यवस्थित तुल्याउँदै क्रान्तिलाई नयाँ ढंगले संगठित गर्न अनिवार्य बन्न गएको छ' भन्ने नेकपा-माओवादीको निर्णयले एकता नजिकिएको प्रतित हुन्छ । यद्यपि एकताको आवश्यकतालाई सम्भावनामा उठाउन धेरै विषय र सन्दर्भ गजबार बन्ने खतरा पनि उत्तिकै छ ।
    नेकपा-माओवादीको सातौं महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदन र एमाओवादीको सातौं महाधिवेशनले पारित गरेकोे प्रतिवेदन गहिरिएर तुलनात्मक अध्ययन गर्ने हो भने दुई माओवादी बीचको एकता सम्भव नै छैन भन्ने निष्कर्ष निस्कन्छ । उदाहरणका लागि नेकपा-माओवादीले एमाओवादी र यसका नेताहरूबारे धारणा, 'प्रचण्ड-बाबुराम भारतीय विस्तारवादी शासक वर्ग तथा त्यसको खुफिया एजेन्सीसित सम्बन्ध कायम गरेको, उसको हितमाथि कुनै हानि नपुर्‍याउने भनेर प्रतिबद्धतापत्र लेखेको, 'रअ'सँग नियमित सम्पर्कमा रहेर भारतको पक्षमा काम गर्दै आएको, दाहालले पार्टीभित्रको दुई लाइन संघर्षमा भारत विरोधी पक्षको विरोधमा र बाबुरामको पक्षमा दृढतापूर्वक उभिने काम गरेर पार्टी फुटाउनसम्म तयार भएको भन्ने रअका पूर्वप्रमुख पिके हर्मिसको लेखमा उल्लेख गरेको' लगायत कैयौं प्रसङ्ग र विषय समावेश छन् ।
    उता एमाओवादीले नेकपा-माओवादीबारे आफ्नो बुझाइ, 'किरण पक्ष नेपालमा जडसूत्रीय संशोधवाद र वाम विसर्जनवादको नयाँ संस्करणबाहेक अरु नभएको तथ्य नै पुष्टि भइरहेको छ । अवसरवादको प्रतिक्रियावादसँग अनगिन्ती सम्बन्ध हुने साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विशेषताअनुसार नै किरण पक्षको प्रतिक्रियावादी तत्त्वहरूसँग बढ्दो साँठगाँठ स्पष्ट देख्न सकिन्छ ।' 'किरण पक्षले माथिदेखि प्रचण्ड र बाबुरामलाई सत्तोसराप गरिसकेपछि अन्तिममा के गर्ने भन्नेमा जाँदा सरकारका लागि गोलमेच गर्ने, नेपाली कांग्रेस र एमालेमा अति एकात्मक सामन्ती राज्यका चरम पक्षपाती नेताहरूसँग साँठगाँठ गर्ने र राष्ट्रपतिसँग याचना गर्ने' आदि... ।
    यद्यपि नेपालका अरु कम्युनिस्टजस्तै माओवादीहरू पनि प्रतिवेदनमा लेखिएका विषय आफ्नानिम्ति होइन भन्ने ठान्छन्, जे लेख्छन्, त्यो नगर्नेगरी लेख्छन् र जे गर्छन्, त्यो प्रतिवेदनमा लेख्नै नमिल्ने खालको काम गर्छन् । यस अर्थमा ती प्रतिवेदनले एकतालाई नछेक्ला, तर इतिहास साक्षी छ । २०५४ सालमा एमाले फुटेपछि खुल्लामञ्चबाट मालेका नेता वामदेव गौतमलाई एमालेले 'एक नम्बरको भ्रष्टाचारी' घोषणा गरेको र मालेले एमालेलाई 'घोर राष्ट्रघाती' भन्दै पानी बाराबार गरेको दुई वर्षपछि नै पुनः एकता सम्भव भएको इतिहास जस्तै-जस्तै ।
    एकता सैद्धान्तिक र उद्देश्यमा आधारित हुनुपर्छ । असैद्धान्तिक र उद्देश्य किटानी नभएको एकताको न अर्थ हुन्छ, नत टिकाउ नै । दुई माओवादीको एकताको सैद्धान्तिक आधार माओवाद मान्ने, पुँजीवादी जनवादी क्रान्ति पूरा नभएको स्वीकार्दै यसलाई विद्रोहमार्फत पुरा गर्ने बनाइनुपर्छ । यो सैद्धान्तिक आधारमा फेरि एकपटक दुवै पार्टी पालुङटार र्फकनुपर्छ, जहाँ 'एकता, रूपान्तरण र विद्रोहको विकल्प छैन' भन्ने संश्लेषण भएको थियो । एकताको अर्को सैद्धान्तिक आधार लाइन र नेतृत्वलाई बनाउनुपर्छ । खरिपाटी र पालुङटारपछि पार्टी लाइन विद्रोहको बनेकोे तर नेतृत्व विद्रोह नचाहने वा विरोधी हुने अन्तरविरोधी विषय थियो । एमाओवादीले बनाएको माथिबाट तल क्रान्ति असफल भएको र शान्ति र संविधानको बाटो पनि टुङ्गिएको सन्दर्भमा विद्रोहमार्फत पुँजीवादी जनवादी क्रान्ति पुरा गर्ने लाइनसँगै यसैको नेतृत्वमा पार्टी एकता हुने हो । एउटा उत्कर्षमा पुगेर झरेको नेताकै नेतृत्वमा अब न पार्टी एकता सम्भव हुन्छ, नत क्रान्ति नै ।
    तेस्रो प्रश्न रणनीति र कार्यदिशाको स्पष्टता हो । नेकपा-माओवादीको रणनीति जनवाद एवं एमाओवादीको समाजवाद रहँदासम्म एकता सम्भव नै हुँदैन । एकता सम्भव बनाउनका निम्ति अंशगत रूपमा पुँजीवादी क्रान्ति सम्पन्न भए पनि मूलरूपमा बाँकी रहेको बुझाइमा दुबै पार्टी आउनुपर्छ । पुँजीवादी क्रान्ति मूलरूपमा पुरा भएको भन्नुको अर्थ राज्यको नेतृत्व राष्ट्रिय पुँजीपतिसहितको सर्वहारा वर्गको हातमा आएको हुनुपर्छ, कित पुँजीपति वर्गको नेतृत्वमा हुनुपर्छ । आजको हाम्रो राज्यको नेतृत्व सामन्तवादी तथा दलाल पुँजीपति वर्गको हातमा गएको छ भने कसरी राजनीतिक हिसाबले पुँजीवादी क्रान्ति सम्पन्न भएको मान्न सकिन्छ र ? पुँजीवादी क्रान्ति पुरा भयो भन्ने निष्कर्षले त एकता बन्दै बन्दैन, तर बहसका निम्ति भने खुला हुन सक्नुपर्छ ।
    एकताको मुख्य पक्ष फेरि पनि नियतकै हो । नियत सफा हुने हो भने एकता निकट देखिन्छ । कम्युनिस्ट मूल्य र आदर्शका पर्याय बनेका किरणले कम्युनिस्ट आदर्शलाई एकतामार्फत नयाँ उचाइ प्रदान गर्ने आँट गर्नैपर्छ । जनयुद्ध कालमा माओवादी विरुद्ध पुरानो राज्यले गरेका सबै कारबाही कानुनी तर नयाँ सत्ताले गरेका काम सबै गैरकानुनी भन्ने विषयको निणर्ायक प्रतिरोधका निम्ति पनि जनयुद्धको मुख्य नेतृत्व प्रचण्डले विगतको कमजोरीको समीक्षासहित एकतामा भविष्य देख्न सक्नुपर्छ । यस अर्थमा दुई माओवादी बीचको एकता आवश्यकता र सम्भावनाको हिसाबले मूर्त हुनसक्छ ।
      
     http://www.ekantipur.com/np/2070/12/3

    No comments:

    Post a Comment