Wednesday, November 2, 2016

प्रचण्डको राजनीतिक अवसान भएकै हो त ?


प्रचण्डको राजनीतिक अवसान भएकै हो त ?
माघ १८, २०७१-शुक्रबार प्रकाशित श्रीकृष्ण अनिरुद्ध गौतमको प्रचण्डका दुर्दशाको शृङ्खलाले प्रचण्डको राजनीतिक पनतसँगै क्रमश: नेपालको अस्तित्व पतन हुँदै गएको कुरालाई निकै गम्भीरतापूर्वक उठान गरेको पाइयो । हिजोका प्रचण्डलाई सबैले निकै सम्मान गर्थे, नेपालको एउटा कुशल राजनीतिक व्यक्तित्वका रूपमा उनीबाट नेपालीले निकै ठूलो आशा गरेका थिए, उनकै नेतृत्वमा भएको जनविद्रोहकै कारण गणतन्त्र आएको हो । परन्तु जब पहिलो संविधानसभामा आफूले सोच्तै नसोचेको बहुमतका आधारमा आफ्नो दल निर्वाचित भएको उनले देखे, तब उनमा राष्ट्रपति हुने महत्त्वाकाङाा उत्कट रूपमा पलायो । आफ्नो महत्त्वाकाङा पुरा हुने नदेखेपछि तत्कालीन नेपालका राजनीतिक कमाण्डर गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति हुनबाट उनैले बञ्चित गराए । त्यसै बेलादेखि उनको राजनीतिक अवसानको बिजारोपण भयो ।
आफ्नो प्रधानमन्त्रीत्व काललाई प्रतिष्ठित बनाउन नसक्नुमा त्यही बिजारोपण मूल कारण बन्यो । सुख र सुविधाको मोहले उनी सर्वहारा वर्गको नेतृत्व गर्ने व्यक्तित्व हुन् भन्ने कुरामा सर्वसाधारणलाई शङ्का गर्ने ठाउँ उनैले दिए । पार्टीको नेतृत्व गरिरहे पनि समयको सन्देशलाई बुझ्न नसक्ता आफ्नै पार्टी चिराचिरामा विभाजन गर्ने काम उनैले गरे । दोस्रो संविधानसभाबाट गम्भीर पराजय भोग्नुमा पनि उनकै नेतृत्वको असक्षमता मूल कारण थियो । आफैले एक वर्षभित्र संविधान जारी गर्ने भनी घोषणापत्रमा उल्लेख गरे पनि त्यसतर्फ उनको चिन्तन अग्रसर हुनसकेन र भूमिकाविहीन भएको ठानेर आफू नरहे डुमै राजा भनेझै संविधान जारी नगर्ने खेलमा उनी लागे र संविधान जारी गर्ने भनेर प्रतिबद्धता गरिएको अन्तिम सीमामा सर्वोच्च संविधानसभामा अकल्पनीय ताण्डव मच्चिनुमा उनकै नेतृत्व जिम्मेवार रह्यो । अझै पनि उनलाई नायक होइन, खलनायक बनिरहन र हुनै नसक्ने सहमतिको शब्द रटेर संविधान जारी नगर्ने दिशातर्फ उनका पाइला अग्रसर भइरहनु उनको मात्र होइन, नेपालकै भविष्य क्रमश: पतन हुँदै गएको सङ्केत हो ।
नेपाल बिग्रनु र भत्किनुमा विदेशीकै मात्र दोष छैन, त्यसमा हाम्रो पनि दोष छ । हाम्रा राजनीतिक नेताहरूमा नैतिकता र राष्ट्रियताको खडेरी परेको छ । विदशीले लोभ्याएका हरिया चकलेटले हामीलाई आफ्नै जातजाति र धार्मिक सहिष्णुता असह्य हुनथालेको छ । जोडिएको देशलाई टुक्रयाएर राज गर्न उक्साउनेहरूकै बहकाउमा हामी बढिरहेका छौं । आफ्नै पहिचानको झण्डा र आफैलाई जन्माउने देशको न्वारन अब अर्कैले गरिदिने हो कि भन्ने चिन्ता हामीमा अझसम्म पनि पलाउनै सकेको छैन । विदेशी दलाल भनेर आफ्नै दाजुभाइलाई गाली गरिरहँदा हामीले राष्ट्रियताको श्वास फेरिरहेका छौं कि छैनौं भन्ने कुरामा हाम्रो ध्यान जानसकेको छैन । सहमति र अग्रगमन रट्तारट्तै असहमति र पश्चगमनको हाम्रो यात्रा आरम्भ भएको हामीले थाहै पाएका छैनौं । हाम्रो देशका प्रचण्डहरूले आफ्नै देशको सास फेरुन्, तितै भए पनि आफ्नै देशको भाषा बोलुन्, लड्नैपरे बाह्य शक्तिसँग लड्न प्रोत्साहन गरुन्, तर आफैले टेकेको धर्ती बिर्सिएर आफ्नै दाजुभाइलाई पराई ठानेर देश र जनताको अस्तित्व र अस्मितामाथि कहिल्यै खेलवाड नगरुन् । त्यतिमात्रै हुनसके पनि नेपाली जनतामा आशाको किरण छाउनेछ, वर्षौंदेखि थाती राख्तै आएको संविधान पनि बेलैमा जारी हुन सक्नेछ ।
- डा. मतिप्रसाद ढकाल
गैंडाकोट नगरपालिका १, विकासचोक, नवलपरासी
http://kantipur.ekantipur.com बाट साभार 

No comments:

Post a Comment