Wednesday, November 2, 2016

प्रचण्डको आगमन देश विखण्डनको संकेत ! - कविराज खत्री


- कविराज खत्री

वर्तमान युग पूँजीवादी गणतन्त्रको युग हो । सामन्ती अवशेषहरु केही मात्रामा कायम भएका र नेपाल पूँजी र प्रविधिमा जुन योग्यता हाँसिल गर्नु पर्ने हो, त्यो योग्यता हाँसिल गरी नसकेको मूलुक हो । यसको एउटै कारण सामान्ती केन्द्रीकृत भ्रष्ट राज्य ब्यवस्थाले लामो समयसम्म देशमा सत्ता चलाउनु । तसर्थ अहिले प्रमूख आवश्यकता सामान्ती केन्द्रीकृत भ्रष्ट राज्यब्यवस्थाका अवशेषहरुलाई निमूलीकरण गर्दै प्रजातान्त्रिक वुर्जुवा गणतन्त्र स्थापना गर्नु ।


यो नेपालको आवश्यकता हो । त्यही आवश्यकतालाई चर्को नारा बनाएका तर आफु ब्यक्तिगत रुपमा केही स्वार्थ लिनका लागि देशलाई नै अभिसाप हुने गरी जंगलबाट निस्केर शान्ति प्रकृयामा आइसकेपछि एउटा नारा दिए त्यो नारा भनेको जात, क्षेत्रका आधारमा देशलाई विभक्त गर्ने । अर्थात उनले यतिसम्म भ्रम फैलाउन सफल भए कि नेपाली जनताहरु राज्य नपाएर उत्पीडनमा परेका हुन, सामान्ति भ्रष्ट केन्द्रीकृत राज्य ब्यवस्था र एकात्मक राज्य ब्यवस्था एउटै हो । एकात्मक राज्य ब्यवस्थाका कारण जनताका अधिकारहरु प्राप्त हुन नसकेका हुन । यी दुई संक्रिण नाराको उठान गर्ने माओवादी विशेष गरेर प्रचण्ड नै हुन । उनको यो देश विखण्डन गराउने प्रकारको नारालाई मधेशी सामान्त, दलाल केही नेताहरुले आफ्नो मूख्य माग बनाए । त्यसै गरी डलरको खेती गर्ने केही अतिजातीवादीहरुले पनि आफ्नो नारा बनाए र जनतलाई भ्रममा पार्दै यस प्रकारको खती एक वा अर्को प्रकारले फस्टाउने वातावरण बन्यो ।


आज सत्ता समीकरण बदलिएको छ । त्यो सत्ता समिकरण बदलिनुको मूख्य कारण नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुच्छेले भने झैं भारतले जन्माएको माओवादी पार्टी अहिले भारत कै परिवन्धमा परेको छ । प्रचण्डका साम्ने दुईवटा विकल्प पहिलो विकल्प कि भारतले भनेको मान्नु पर्ने । दोस्रो विकल्प अन्यथा जीवन गुमाउनु पर्ने । नचाहाँदा नचाहँदै पनि जीवन रक्षाका खातिर भारतीय शासकको गाटी बनेर उसको इच्छा पुरा गर्नका लागि वर्तमान सत्तालाई अल्पमतमा पार्नु पर्ने भयो र त्यसको नेतृत्व प्रचण्डले गर्नु पर्ने भयो । उदाहरण साँक्षी छ प्रचण्ड भारतको दवाव र इसारामा चलेको किनकी के.पी. ओलीको सरकार अल्पमतमा परे लगत्तै भारतमा दीपावली मनाईयो । विखण्डनकारी सामान्त तराईका केही नेताहरुको इसारामा तराईमा दीपावली मनाईयो । यी दुई उदाहरणले प्रचण्ड भारतका दलाल वा गाटी बनेर आफ्नो दासत्व सत्ता चलाउने जमर्को गर्दैछन ।


प्रचण्डको यो सत्ताले दुईवटा ठूला संकट निम्त्याउने प्रवल संभावना –छ । प्रथम देशलाई विखण्डन गराउनेः धेरै जसो नेपालीलाई थाहा छ, नेपाल अनेकता बीचको एकताबाट टिकेको मूलुक हो । जातिय, भाषिक, धार्मिक, क्षेत्रीय एकता र सद्भाव नै नेपालको मूल पहिचान हो । तर २०५२ सालको दस्तावेजमा पनि यो कुरा उल्लेख छैन र नेपालको अन्तरिम संविधान २०६३ को दोस्रो संसोधनसम्म पनि यो कुरा उल्लेख छैन, त्यो कुरा के हो भने नेपालमा संघीयता लागु गर्ने । नेपाली जनताले चलाएका अहिलेसम्मका कुनै पनि आन्दोलनमा संघीयता चाहियो भनि आवाज उठाएन । एक्कासी कहाँबाट आयो माओवादी मार्फत यो नारा ? तथ्य बुझन धेरै टाढा जानु पर्दैन । निश्चित उद्देश्यले माओवादी जन्माउने भारत हो, र त्यही भारतले तिनै उद्देश्य पुरा गर्न माओवादी मार्फत यी नारा अघि सारेको हो ।


देशलाई चोरबाटोबाट संघीयतामा लैजाने दुश्शाहस गर्नुको मूख्य कारण नेपालको तराईलाई एक मधेश स्वायत्त प्रदेशका नाममा पहिला टुक्राउने र पछि भारतीय महासंघमा विलय गराउने, दोस्रो नेपाल प्राकृतिक स्रोत र साधनले धनी मूलुक छ । नेपालमा अस्थिरता कायम नराख्ने हो भने, जातिय, क्षेत्रीय, धार्मिक द्वन्द्वमा नफसाउने हो भने प्राकृतिक स्रोतको दोहन गर्न पाहिदैन । तसर्थ यो अन्तिम अस्त्रका रुपमा संघीयताको विष रोप्ने काम भारतले गरेको हो भने यसको नेतृत्व माओवादी र विशेष गरेर अभियान्तको रुपमा प्रचण्डले गरेकाछन । जसरी लेण्डोप दोर्जेले सिक्कीम भारतमा विलय गराए, ठीक त्यही प्रकारले प्रचण्डले पहिला तराई र त्यस पछि नेपाललाई भारतीय महासंघमा मिलाउने योजनाको गाटी अर्थात दलालको भूमीका निर्वाह गर्दैछन । यो पहिलो खतरा हो ।


दोस्रो खतरा भनेको भारतमा अबको करिब ३० वर्ष पछि पिउने पानी र सिंचाईको ठूलो समस्या आउनेवाला छ । यसको विज्ञहरुले तथ्य सार्वजनिक गरिरहेकाछन । नेपालको जडिवुटीविना भारतका धेरै उद्योगहरु संचालन हुन सक्दैनन तसर्थ पानी र जडिबुटीमा कब्जा जमाउनका लागि नेपालमा अस्थिरता पैदा गराउनु पर्दछ । पछिल्लो समयमा भारतले उपयोग गर्न मिल्ने मानिस खोजीरहेको बेला प्रचण्डलाई फेला पारेको छ । प्रचण्डको नेतृत्वमा बन्ने सरकारबाट यो दोस्रो खतरा हो ।


यो आरोप होइन उनलाई लगाएको । यर्थात र सही प्रमाणका आधारमा पुष्टि भएको कुरा हो । किनभने विश्वलाई एउटै बनाउनु पर्दछ भनेर पूँजीवादीहरु लागि परेकाछन । एक्लै टुक्रिएर, छुट्टिएर केही गर्न सकिदैन भनेर युनियनहरु बनाएकाछन । जात, धर्म, क्षेत्रका आधारमा अलग हुने, समुह युद्ध गर्ने प्रचलन मध्ययुगिन प्रचलन र सभ्यता हो । यति कुरा पनि प्रचण्डले ख्याल गर्न सकेका छैनन । अर्को कुरा कम्युनिष्टको मूख्य र अन्तिम गन्तब्य नौलो जनवादी क्रान्ति मार्फत नौलो जवादी राज्य ब्यवस्था कामय गर्दै समाजवाद र साम्यवादमा पुग्नु हो । अर्थात आदिम साम्यवाद युग पछिको समाज वर्गीय समाज हो । एउटा वर्गले अर्को वर्गमाथि शासन गर्दछ । अहिले पूँजीपती वर्गले मजदूर वर्गमाथि शासन गरिरहेकाले मजदूर, किसानहरु उत्पीडनमा परेका हुन । कम्युनिष्टले बुझने मूख्य कुरा यहि हो तर प्रचण्ड राज्य नपाएर, जातिय, क्षेत्रीय,धार्मिक अधिकार नपाएर पछि परेका हुन भन्ने जुन तर्क छ, यो तर्कले देशलाई अग्रगमनका नाममा प्रतिगमनतर्फ लैजाँदै छ ।


र संघीयता नेपालमा आवश्यक छ वा छैन ? भन्ने वहस अहिले आएर अलि बढि चल्न थालेको छ । संघीयताको सिद्धान्त के हो ?, अहिलेसम्म संघीयतामा गएका मूलुकहरु किन गएका हुन ? के सामान्ती केन्द्रीकृत शासन र एकात्मक शासन एउटै हो त ? यो पनि अलि बढि बहसको विषय बनेको छ । यसको बारे चर्चा गर्न जरुरी हुन्छ ।

‘जंगली आन्दोलन’ बाट फर्के पछि सर्वहारा वर्गका नेता हुँ भन्ने र कुनै जमानामा आफुलाई विश्व सर्वहारा वर्गको असल नेतृत्व ठान्ने प्रचण्डले आफ्ना अनुयायी मार्फत आफुलाई ‘प्रचण्ड पथ’ को उपमा समेत दिन लगाए । राष्ट्रियताको रक्षा गर्नका लागि भन्दै गाउँ, जंगलहरुमा एल आकार, गोलाकार आदि प्रकारका सुरुङ्गहरु खन्न लगाए । तर अहिले आएर आफ्नै देश नेपाललाई अग्रगमनका नाममा प्रतिगमनतिर लैजाँदैछन । के नेपालमा संघीयता आवश्यक छ त ? कदापी छैन । किनभने विश्वमा संघीयताको अभ्यास तीन कारणले गरिएको छ । पहिलो कारण, छरिएर रहेका मूलुकहरु एककृत भई विश्वमा ती मूलुकहरुले आफ्नो अस्तित्व कायम गर्न संघीयताको अभ्यास गरिरहेकाछन । जस्तै संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिका अलग– अलग अस्तित्वमा रहेका राज्यहरुछन । उनीहरुले एउटा वलियो युनियन खडा गरेर अन्य मूलुकहरुमा आफ्नो प्रभाव जमाउन चाहान्छन । त्यस कारण संघीयताको अवधारणा अनुसार संयुक्त राज्य अमेरिकी युनियन बनेको हो ।

दोस्रो कारण, देश जातिय, धार्मिक, क्षेत्रीय युद्धमा होमिएर टुक्रिनै लाग्यो भने टुक्रिनबाट बचाउन संघीयताको अभ्यास भएको हो । जसको उदाहरण नाईजेरिया, सुडान आदि देशहरुहुन । त्यहाँ जातिय विग्रह पैदा भए पछि अलग राज्य हुन थालेको थियो । देशलाई यसरी विखण्डन हुन नदिनका लागि संघीयताको अभ्यास भयो । अहिले ती देशहरु दर्जनौं संघमा रुपान्तरण हुँदा पनि त्यो विग्रह झन चर्केर गएको छ ।


तेस्रो कारण राष्ट्रलाई उपनिवेशबाट मुक्त गराउनका लागि संघीयता लागु भएको हो । जस्तैः भारत । भारतमा व्रिटिस सामाज्यले उपनिवेश कामय गर्दा भारत २२ वटा अलग– अलग राज्य थिए । यी सबै राज्यहरु नमिलीकन उपनिवेशबाट मुक्त हुने संभावना नदेखिए पछि सबै एक भएर उनीहरुलाई हटाएर संघीयता लागु गरि अनेकता बीचको एकता कामय गरे ।


सिद्धान्ततः संघीयता एउटा शासन प्रणाली हो । जुन मूलुक एकल जातिय हुन्छ, जुन मूलुक पूँजी र प्रविधिले सम्पन्न हुन्छ, त्यो मूलुकले संघीयता धान्न सक्दछ । तर नेपालमा पूँजी र प्रविधिको अभाव छ । अनेक जातहरु मिलेर सिंगो नेपाल बनेको छ । यस्तो मिलेमतो भएको देशलाई विखण्डन गर्नु पर्ने कुनै कारण नै छैन । अखण्ड देश विखण्डन गर्नका लागि मात्र संघीयताको अवधारणा आएको हो । अर्को कुरा संघीयतालाई समावेशिताको प्रायबाची भनिएको छ । संघीयताभित्र समावेशी कुनै पनि हालतमा हुनै सक्दैन । यी दुई तत्व एक आपसका विपरित सिद्धान्त भएका तत्वहरु हुन ।


विशेष गरेर प्रचण्ड र प्रचण्डका अनुयायीहरु मार्फत जनतामा अर्को गम्भीर भ्रम फैलाउने काम भएको छ । त्यो भनेको एकात्मक राज्य प्रणाली र सामान्ती केन्द्रीकृत भ्रष्ट शासन प्रणाली एउटै हो । वास्तमा यो भनाई पूर्ण तः असत्य हो । विश्वमा दुई सयभन्दा मूलुकहरु अस्तित्वमा रहेकाछन । ती मूलुकहरुमध्ये जम्मा दुई दर्जन जति मूलुकहरुले मात्र संघीयताको शासन प्रणाली अवलम्बन गरेकाछन । जुन मूलुकहरु संघीयतामा गएकाछन, ती मूलुकहरुको वर्तमान निकै चुनौतीपूर्ण छ भने एकात्मक राज्य प्रणाली अवलम्वन गरेका मूलुकहरुको विकास निकै माथि पुगेको छ । तसर्थ सामान्ती केन्द्रीकृत भ्रष्ट शासन प्रणाली र एकात्मक शासन प्रणाली एउटै कुरा होइन । प्रचण्ड मार्फत फैलाईएको यो एउटा कपोकल्पित, भ्रमपूर्ण जालझेल हो र देशलाई एक वा अर्को प्रकारले नाईजेरिया, सुडान वा फिजीकरण वा सिक्कीमिकरण बनाउने योजना हो ।


नेपाली जनता राज्य नपाएर उत्पीडनमा परेका होइनन, हामी सबै आम नेपालीहरुले बुझ्नै पर्ने मूख्य चुरो कुरा यहि हो । आजसम्मको इतिहास हेर्दा नेपालमा वहुदलिय ब्यवस्था आउनुभन्दा अघि यो मूलुकमा भाईभारदारहरुले शासन गरे । उनीहरुले अधिकारलाई केन्द्रीकृत गरे । सामान्ती ब्यवस्था कामय गरे । त्यो भ्रष्ट सामान्ती केन्द्रीकृत राज्य ब्यवस्थाले जनतालाई उत्पीडनमा पार्ने काम ग¥यो । यसैको परिणाम स्वरुप जनता अधिकारबाट बन्चित भए । धर्मका आधारमा, जात र क्षेत्रका आधारमा त्यो सामान्ती भ्रष्ट केन्द्रीकृत शासनले आफ्नो वंशिय शासन टिकाउन ब्यापक दमन मात्र गरेर अधिकार नै दरबारमा खुम्चाएर राख्यो । फलतः देशको विकास हुन पाएन, जनता उत्पीडनमा परे ।


अहिले नेपालमा पूँजीवादी गणतन्त्रात्मक ब्यवस्था आईसकेको छ । जनताका केही हक अधिकारहरु वर्तमान संविधानले शुनिश्चित पनि गरिसकेको छ । अबको आवश्यकता राज्य विभाजन होइन, अधिकार विभाजन हो । अधिकार प्रत्यायोजन हो । अर्थात त्यो मध्ययुगिन सामान्ती केन्द्रीकृत भ्रष्ट शासन प्रणालीका सम्पूर्ण अवशेषहरु हटाउँदै विकेन्द्रीकरणको सिद्धान्तमा आधारित स्थानीय स्वायत्तता सहित प्रजातान्त्रिक एकात्मक राज्य ब्यवस्था कायम गर्नु पर्दछ । यो नै अखण्ड नेपाललाई अखण्ड नेपालकै रुपमा कायम राख्ने र जनताको हित हुने कार्य हो । यो विधिले मात्र सम्वृद्ध, समुन्नत, आत्मनिर्भर र विकाशशील नेपाल बन्न सक्दछ । तर नेपाललाई सम्वृद्ध, समुन्नत, आत्मनिर्भर र विकाशशील नेपाल बन्न नदिनका लागि भारतले संघीयताको विष वृक्ष प्रचण्ड मार्फत रोपेको छ । यो विष वृक्ष मधेशवादी सामान्त, दलाल केही नेताहरुले झन फलाउने, फुलाउने काम गरिरहेकाछन भने युरोपियन युनियनले नेपालमा जातिय विग्रह कायम गरि नेपालको प्राकृतिक स्रोत र साधान दोहन गर्न खोजी रहेकोछ । प्रचण्ड मार्फत केही अतिजातीवादीहरुले यसको अगुवाई गरिरहेकाछन ।


तसर्थ वर्तमान अवस्थामा प्रचण्ड अतिजातीवादी तत्वहरु, सामान्ती दलाल मेधशवादी केही तत्वहरुसित मिलेर संघीयताको नाममा देशलाई विखण्डन गर्ने खलनायकका रुपमा उदाउँदैछन । देशलाई पूर्ण रुपमा बचाउनका लागि प्रचण्डलाई पछाडि धकेल्न सकिएन भने संघीयताले देश टुक्राउने पक्का पक्कि छ । संघीयताको विष वृक्ष रोपेर नेपाललाई नाइजेरिया, इथोपिया, सुडान बनाउने काम सबैभन्दा बढि प्रचण्डबाट भएकाले प्रचण्डको पतन यो मूलुकको पहिलो र अनिवार्य आवश्यकता हो । हुन त कुनै पनि विषयको अन्त्य र उदय ब्यक्ति विशेषमा जोडिएको हुँदैन तर नेपालको सन्दर्भमा देश विखण्डन हुन सक्ने र गराउन सक्ने मूख्य पात्रका रुपमा प्रचण्ड उदाएकाले यो आलेख ब्यक्ति विषेशमा केन्द्रीत भएको आभाष हुन सक्दछ । यथार्तमा त्यसो होइन । यी सबै दृष्टान्तलाई आधारमान्दा प्रचण्डको सत्तामा आगमन देश विखण्डन हुने पूर्व पूर्ण सकेत हो ।


(साझा प्रतिविम्व” राष्ट्रिय साप्ताहिकका प्रकाशक रहेका लेखकको यो रचना सम्पादनसहित प्रकाशन गरिएको हो)


http://www.nepaljapan.com बाट साभार 

No comments:

Post a Comment