Wednesday, November 2, 2016

विप्लव भन्छन् : प्रचण्ड–बाबुराम मदन भण्डारी र मोहनविक्रमभन्दा पनि पतन हुन पुगे


           Biplab-22-358x300काठमाडौं, । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका प्रचण्ड र नयाँ शक्तिका नेता बाबुराम भट्टराई एमालेका तत्कालीन महासचिव मदन भण्डारी र मसालका महामन्त्री मोहनविक्रम सिंहभन्दा पनि घोर दक्षिणपन्थी संशोधनवादमा पतन भएको बताएका छन् ।
कुनै बेला मदन भण्डारीलाई प्रतिक्रियावादीउन्मुख पतन भनेर घोषणा गर्ने प्रचण्ड र बाबुरामहरु अहिले उनीहरुभन्दा निकै पर पुगेर पतन भएको महासचिव विप्लवको आरोप छ । महासचिव विप्लवले नेकपा माओवादी नारायणी व्युरोको मुखपत्र हस्तक्षेपलाई अन्तर्वार्ता दिदै यस्तो कुरा बताएका हुन् ।
अन्तर्वातामा महासचिव विप्लवले हिजो संसदीय व्यवस्थामा भाग लिएका भण्डारी र मोहनविक्रमलाई संशोधनवादी र प्रतिक्रियावादउन्मुख भन्ने प्रचण्ड र बाबुराम आज उनीहरुभन्दा पनि घोर प्रतिक्रियावादमा पतन हुन पुगेको बताएका छन् ।
‘यो वडो वियोगान्त पक्ष हो माओवादी आन्दोलनको । तपाईलाई पनि थाहा छ प्रचण्ड र बाबुरामले आफूलाई एक नम्वरको माक्र्सवादी, लेनिनवादी, माओवादी र अरु सवैलाई गद्धार, अवसरवादी, संशोधनवादी, प्रतिक्रियावादी मान्दथे । यो कुरा धेरै पुरानो पनि होइन ।
नेपालमा पञ्चायती व्यवस्था ढलेर संसदीय व्यवस्था (आजकै जस्तो) आएपछि अर्थात् २०४७ पछिको कुरा हो । मदन भण्डारीले कम्युनिस्ट विचार अन्तरगतनै बहुदलीय जनवादको विचार ल्याउदै गर्दा यिनै मनुवाहरूले उनलाई प्रतिक्रियावादी विचारको वाहक भनेका थिए । एमालेलाई प्रतिक्रियावादी घोषणा गरेका थिए ।’
महासचिव विप्लवले प्रचण्ड र बाबुरामको वैचारिक पतनबारे यस्तो बताउछन् –
‘जनयुद्धमा त यिनैको पहलमा एमालेलाई सफाया गर्ने फैसला भएका थिए । मोहन विक्रमलाईसमेत प्रतिक्रियावादी उन्मुख भनेका थिए । इतिहासको विडंवना आज तिनै मनुवाको अनुहार र विचार हेर्नुस त के भन्दैछन् ।
यी त मदन भण्डारी, मोहन विक्रमलाई हजारौं माइल पर छोड्दै संसदीय व्यवस्थालाई जनताको व्यवस्था, संसदीय संविधानलाई जनताको संविधान, भारतीय विस्तारवादलाई मित्र, कमल थापालाई लोकतन्त्रवादी भन्दै हिडेकाछन् ।’ एक फरक प्रसंगमा महासचिव विप्लवले प्रचण्ड चाउचेस्कु र बाबुराम यल्तसिन बन्न पुगेको बताएका छन् ।
प्रचण्ड बाबुरामबारे विप्लव भन्छन् –baburam-prachanda1
‘बाबुरामले कम्युनिस्ट विचार र पार्टीनै छोडिसकेपछि उनको यो कदम कम्युनिस्टहरूको लागि निकै पेचिलो वन्न पुगेकोछ, रुसमा बोरिस यलत्सिन जो कम्युनिस्ट पार्टीको पिविएम हँुदाहुँदै समाजवादलाई विघटन गरेर पुँजिवाद स्थापना गरेका थिए ।
यसलाई हामीले विसर्जनवाद भनेकाछौं । प्रचण्डको मार्ग पनि अन्ततः यतै जाँदैछ तर अहिले उनले कम्युनिस्ट भन्दैछन् तर माओवादीका सवै मुल्य मान्यता परित्याग गरेर संसदीय व्यवस्थामा घुसेकाछन् । यसलाई हामीले आत्मसमर्पणवाद भनेकाछौं ।’
अर्को फरक प्रसँगमा महासचिव विप्लवले वैद्य माओवादीबाट बादल र देव गुरुङ प्रचण्डसँग एकतामा गएको कुरालाई एकता नभई आत्मसपर्मण भएको बताएका छन् ।
‘प्रचण्ड र बादलहरूबीचको जमघट एकता होइन माओवादी आन्दोलनको विध्वंस हो । विकास होइन पतन हो । सबैलाई राम्रो जानकारी छ कि एमाओवादीले जनताको राज्य सत्ता स्थापना नभएसम्म या नयाँ जनवादी राज्य सत्ता स्थापना नभएसम्म लड्ने अन्यथा गद्दारी हुने भनेर गरेको आफ्नै प्रतिवद्धता लत्याएर प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थामा आत्मसमर्पण गरिसकेको छ ।’
बादल र देव गुरुङ त प्रचण्डसँग आत्मसमर्पणमा पनि आत्मसमर्पण गर्न पुगेको महासचिव विप्लवको भनाई रहेको छ ।
महासचिव विप्लव भन्छन् –
‘किसान, मजदुर, जनजाति, मधेसी, दलित, महिलाका प्रस्तावहरूलाई त्यागी सकेको छ । संसदीय व्यवस्थाको संविधान बनाएर त्यसलाई लागु गर्ने भन्दै कुदेको छ ।
त्यसलाई माओवादी कसैले मान्दैन अनि त्यो पार्टीसंग विद्रोह गरेर आउँदा प्रचण्ड र बाबुरामलाई गद्दार भन्नु पर्छ भनेर कुर्लिने बादल र गुरुङहरू अर्थनबर्थ १८० डिग्री फन्को मार्दै एकता भन्दै आत्मसमर्पण माथि पनि आत्मसमर्पण गर्ने अनि त्यसलाई माआवादीहरूको एकता भनेर हल्ला गर्ने के त्यो विध्वंस होइन रु’
महासचिव विप्लवले बादल र गुरुङहरु अनैकि तबरले प्रचण्डसँग मिल्न पुगेको बताएका छन् । त्यो एकता नभई केही मिडियाहरुले चियाँको कपमाथि तुफान सिर्जना गरेको बताए ।
महासचिव विप्लव भन्छन्–
‘यो एकता हो भनेर वढि जसो घरानाका संचार माध्यमले हल्ला गरेर चियाको कपमाथिको तुफान बनाएका मात्र हुन् । जव कि तपाइहरूलाई राम्र्रै थाहा छ प्रचण्ड, वादलहरूमा अलिकति पनि माओवादीको रङ हुँदासम्म भए नभएका आरोप थोपरेर वदनाम गर्ने र ध्वस्त पार्ने तत्व पनि यिनै थिए ।
जव उनीहरू माओवादीबाट पुरै अलग हुन पुगे अनि माओवादी भनेकानै प्रचण्डहरू हुन भनेर कर्कस हल्ला मच्चाउने खच्चडहरू पनि तिनैछन् । यसमा कुनै तुक छैन । माओवादी भनेको के हो र उनीहरू बीचको एकता कस्तो हुन्छ भन्ने उनीहरूले केही बुझेकाछन् केही बुझ्दै जानेछन् ।’

 http://suchanakendra.com बाट साभार 

No comments:

Post a Comment