काठमाडौँ / २०७३ १२ कात्तिक, प्रचण्डको नेतृत्वमा रहेको नेपाल सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेपछि यसको चौतर्फी निन्दा तथा भर्त्सना भएको छ । समाचार माध्यमहरू तथा सामाजिक सञ्जालमा यसलाई लिएर थरीथरीका टिप्पणी र आक्रोस व्यक्त गरिएको पाइन्छ । त्यसमा प्रयोग गरिएका पदावलीहरू दोहोर्याएर उच्चारण गर्न नसकिने खालका छन् र प्रचण्डविरुद्ध आक्रोस पोख्ने नाममा सिङ्गो माओवादी आन्दोलनमाथि नै प्रहार गरिएको छ । राजनीतिक विश्लेषकहरूले प्रचण्लाई इतिहासकै नालायक र राष्ट्रिय आत्मसमर्पणवादी पात्रका रूपमा टिप्पणी गरेका छन् । एक समय बागझैँ गर्जिलो देखिने प्रचण्ड यतिबेर रुजेको बिरालोझैँ भएका छन् । मोदी सरकारसित गरिएको २५ बुँदे सहमतिलाई लिएरु आन्दोलन भइरहेको अवस्थामा आएको यस किसिमको निर्णयले प्रचण्डले नेपाललाई कतै भारतकै प्रान्त बनाउने निर्णय गरेर त आएका छैनन् भनेर प्रश्न उठ्नु स्वाभाविक भएको छ ।
प्रचण्डले चिनियाँ राष्ट्रिपतिका सम्बन्धमा पनि निर्णय गरे पनि वास्तवमा यो भारतीय विस्तारवादलाई खुसी तुल्याउन गरिएको निर्णय हो र थप बदनाम हुने भयले चिनियाँ राष्ट्रपतिको नाम जोडिएको मात्र हो । प्रणव मुखर्जी राष्ट्रपति नहुँदै नेपाल भ्रमणमा आएका बेला द्वारिका होटलमा नेपालका नेताहरू र पूर्व मन्त्रीहरू र पूर्वप्रधानमन्त्री रहेका प्रचण्ड दहर्शनभेट गर्न लाम लागेको कुरा त्यतिबेर पनि टिप्पणीको विषय बनेको थियो र अहिले त प्रचण्ड ‘बादशाहको नयाँ लुगा’ का पात्र भएका छन् । हाम्रा लागि सबै छिमेकी बराबर हुन्, तर यस निर्णयले अन्य छिमेकी द्वय पाकिस्तान र बङ्गलादेशप्रति प्रचण्ड सरकारले गरेको व्यवहार पछिका दिनमा टिप्पणीको विषय बन्नेछ । यस निर्णयपछि यसअधि राजनीतिक विश्लेषकहरूले गरेको ‘प्रचण्डपतनको अन्तिम अध्याय’ तथा ‘प्रचण्डको लम्पसारवाद’ लाई यसले थप पुष्टि गरेको छ ।
आफ्नो निहित स्वार्थ पूरा गर्न ६ महिनासम्म नेपालमाथि नाकाबन्दी लगाएर नेपाली जनतालाई भोकभोकै मार्न खोज्ने भारतीय विस्तारवादी शासक वर्गप्रति नेपाली जनता अलिकति पनि सकारात्मक छैनन् र तिनका सामु लम्पसार पर्नेहरू सदैव घृणाको पात्र बन्नु स्वाभाविक छ । । मुलुक एउटा ट्रयाकमा जान लागेको बेला भारतीय प्रभुको इसारामा सरकार गिराएर मुलुकलाई अराजकतातर्फ प्रवृत्त गराउने काममा अगुवा बनेका प्रचण्ड नेपाली जनताका सामु घृणा र राष्ट्रिय आत्ममर्पणवादी पात्रका रूपमा कुख्यात बन्नु स्वाभाविक छ । मालिक भक्तिको यो भन्दा अर्को उदाहरण पाउन सकिँदैन । वास्तवमा प्रचण्डले माओवादी पदावलीलाई नै वदनाम गरेका छन् र सिङ्गो माओवादी आन्दोलनलाई नै कलङ्कित पारेका छन् । यसले जनतन्त्र र राष्ट्रिय स्वाधीनताका लागि लडिरहेका अन्य माओवादी घटकहरूका सामु थप चुनौती थपिदिएको छ । माओवादी भनेका राष्ट्रिय स्वाभिमान विरोधी हुँदा रहेछन् भनेर जनतन्त्र र राष्ट्रिय स्वाधीनताका लागि लडिरहेका अन्य माओवादी नेता–कार्यकर्तालाई समेत जनताका नजरमा गिराउने कामले आगामी दिनमा आन्दोलन अघि बढाउन जटिल हुने कुरा स्वाभाविक छ ।
http://janamel.com बाट साभार
No comments:
Post a Comment