Wednesday, November 2, 2016

अस्थिर प्रचण्ड, अस्थिर राजनीति !


काठमाडौं । २०६२ असोजमा रोल्पाको चुनवाङमा भएको केन्द्रीय समितिको बैठकपछि युद्धरत तत्कालीन नेकपा माओवादीका प्रमुख ‘प्रचण्ड’ सेतो रुमालले आँशु पुछिरहेको एउटा तस्विर खुबै भाइरल भएको थियो । सामना सांस्कृतिक परिवारले ‘युद्धको मैदानबाट फर्किदा...’ शीर्षकमा तयार पारेको युद्ध सम्बन्धी गीति नाटक हेर्दाहेर्दै प्रचण्डसँगै लहरै बसेका माओवादी नेताहरु पनि अनुहार पुछ्दैं सुकसुकाएको भिडियोले त्यो बेला खुबै चर्चा पायो ।

यो सन्दर्भ त्यतिबेलाको थियो—जतिबेला चौतर्फी रुपमा दोहोरो युद्ध जारी थियो । मानिसहरुले दिनप्रतिदिन ज्यान गुमाउने क्रम जारी थियो । ठीक यहिबेला पार्टीभित्र चलेको अन्तरसंघर्षलाई किनारा लगाउँदैं माओवादी नेताहरु एकअर्कामा ‘विलिन’ भएको घोषणा गरेर चुनवाङको एक विद्यालयको चौरमा उक्त सांस्कृतिक कार्यक्रम हेर्न जमघट भएका थिए ।

हजारौको ज्यान लगिसकेको युद्धका कमाण्डर गीति नाटक हेरेर रुनु आफैमा अनौठो प्रसंग थियो । माओवादीभित्र प्रचण्डलाई ‘हदैसम्म लचक र हदैसम्म कठोर’ नेताका रुपमा लिने गरिन्छ । त्यो गीति नाटकले प्रचण्डको त्यही छापलाई प्रतिबिम्बित गरेको एकथरि विश्लेषण गर्छन्, भने अर्कोथरि यसले प्रचण्डको कमजोर मनोविज्ञान प्रष्ट पारेको भन्नेहरु पनि छन् । (हेर्नोस भिडियो तल) 
  
छिनछिनमा फेरिने प्रचण्डको यही शैलीलाई प्रचण्डपथको छातामुनी ‘रणनीतिक दृढता र कार्यनीतिक लचकता’का रुपमा सैद्धान्तिकरण गर्ने प्रयास पनि माओवादीले युद्धकालमा नगरेको होइन् ।

उसो त युद्धकालकै अर्को घटनामा पनि प्रचण्डमा आउने बदलावको बलियो उदाहरण हो । प्रचण्डमा पार्टी, सत्ता र सेनाको नेतृत्व केन्द्रीकरण गर्ने प्रस्तावमा विरोध जनाएपछि तत्कालीन केन्द्रीय जनपरिषद प्रमुख डा. बाबुराम भट्टराई, उनकी पत्नी हिसिला यमी र उनी समर्थित केही नेतालाई कारबाही गरिएको थियो । ४ महिना नबित्दैं प्रचण्ड आफ्नो उक्त निर्णयबाट पछि हटेनन् मात्र जनसेनाको घेराबन्दीमा राखिएका बाबुरामलाई पार्टी केन्द्रमा स्थापित गरे । भन्नेहरु त अहिले पनि भन्छन् प्रचण्डले उक्त कारबाही फिर्ता लिनुका पछाडि राष्ट्रिय÷अन्तर्राष्ट्रिय दबाब प्रमुख कारण थियो । त्यसमा पनि भारतको प्रमुख भूमिका रहेको मान्नेहरु छन् ।

पार्टीभित्र कारबाही फिर्ता लिन नहुने तीब्र दबाबकाबीच पनि प्रचण्डले बाबुरामाथिको कारवाही फिर्ता लिएका थिए । अपेरामा आँशु झार्ने, शक्तिका लागि जस्तोसुकै निर्णय लिन तयार हुने र दबाबका अगाडि टिक्न नसक्ने प्रचण्डको छविका प्रमाणका रुपमा यी घटनाक्रमलाई लिने गरिन्छ । युद्धकालमा पनि उनका यस्तै अनगिन्ती निर्णयहरु छिटो बदलिने खालका थिए । भलैं, भूमिगत राजनीतिमा भएकाले तिनको चर्चा सार्वजनिक रुपमा भएन् ।

२०६२ सालपछि सुरु भएको खुल्ला राजनीतिक जीवनमा पनि प्रचण्डको फेरिने शैलीका अनगिन्ती उदाहरण छन् । केहीले त प्रचण्डमा रहेको अस्थिरताकै कारण मुलुकको राजनीतिमा पनि त्यसले अस्थिरता सिर्जना गरेको बताइरहेका छन् । तत्कालीन कांग्रेस सभापति स्व. गिरिजाप्रसादलाई राष्ट्रपति दिने आश्वासन र त्यसपछिको कोल्टेफेराइले तत्काली दलीय सहमतिको यात्रा कोपभाजनमा परेको मानिन्छ । त्यहीबाट सुरु भएको असहमतिमै रुमल्लिएर २०६४ निर्वाचनपछि बनेको पहिलो संविधानसभामा विघटन भएको मानिन्छ ।

संविधानसमा निर्वाचनमा माओवादी पहिलो पार्टी बनेपछि प्रचण्डले गिरिजाप्रसादलाई राष्ट्रपति बनाउन इन्कार गरेर दलीय ध्रुवीकरण बढाएको आरोप त्यतिबेला उनीमाथि लागेको थियो । गिरिजाप्रसाद कोइरालाको देहवसान पछि प्रचण्डले गिरिजालाई राष्ट्रपति नबनाएर ठूलो भूल गरेको सार्वजनिक रुपमा स्वीकार गरेका थिए ।

यतिमात्र होइन्, कटवालकाण्डमा सत्ता गुमेपछि नयाँ बानेश्वर चोकमा ‘मालिकसँग मात्र वार्ता गर्ने’ उनको घोषणा १२ घण्टा पनि टिकेन । सार्वजनिक कार्यक्रममा दिइएको उक्त भाषणलाई प्रचण्डले बीबीसी नेपाली सेवामा दिएको अन्र्तवार्ता मार्फत आफूले बोल्दैं नबोलेको भनेर ढाटेनन् मात्रै, पित पत्रकारिता गरेको आरोप पत्रकारहरुलाई लगाए ।

गत २२ बैशाखमा उनले चालेको प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पलटको कदमलाई यसको पछिल्लो उदाहरणका रुपमा हेर्न सकिन्छ । तर, त्यसमा पनि प्रचण्ड २४ घण्टा टिक्न सकेनन् । अघिल्लो दिन आफ्नै नेतृत्वमा सहमतिको सरकार गठन गर्ने निर्णय गराएर हिडेका उनी भोलिपल्ट विहानै कोल्टे फेर्दै ओली नेतृत्वका सरकारलाई निरन्तरता दिने गरी सहमति गर्न तयार भए । भलै, कारणका रुपमा एमालेसँग भएको ९ बुँदे सहमति र बाहिर नआएको भनिएको ३ बुँदे ‘जेन्टलमेण्ट एग्रिमेण्ट’लाई माओवादीले यसको कारणका रुपमा मान्दैं आएको छ ।

९ बुँदे र ३ बुँदेसँगै प्रचण्डपछि सत्ता पलटमा हतारिनु र लगतै पछि हट्नुलाई दक्षिण र उत्तरी छिमेकीसँग जोडेर हेर्ने गरिएको छ । अर्कोतिर बजेटपछि आफूलाई प्रधानमन्त्री बनाउने शर्तमा प्रचण्डले ओली नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने गरी सत्ता पलटबाट पछि हटेको विश्लेषण हुने गरेको छ ।

जे भएपनि प्रचण्डले सत्ता पलटबाट खुट्टा पछि सारेको २ महिना नबित्दैं पुनः सत्ता पलटको नेतृत्व गरेका छन् । सहमतीय सरकारको मात्र प्रधानमन्त्री बन्ने बताएका प्रचण्ड २७ असारमा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिदैं पुनः मुलुकलाई बहुमतीय सरकारको अर्को गठजोडमा पु¥याउने यात्रामा फाइला अघि सारेका छन् ।

कतिपयले प्रचण्डको निर्णयलाई नयाँदिल्लीको ओली सरकार ढाल्ने पछिल्लो मिसनको सफलताको रुपमा हेरेका छन् । यसअघि उनले सुरु गरेको सत्ता पलटको योजना असफल भएपछि नयाँदिल्लीको अर्को असफलताका रुपमा त्यसलाई हेरिएको थियो ।

दाहालको पछिल्लो निर्णयले मुलुकमा बलियो बन्दैं गएको भनिएको ‘राष्ट्रिय मुद्धा’ कमजोर हुने अनुमान गर्न थालिएको छ । किनभने, ओली सरकार गठनदेखि नै नेपालको आन्तरिक राजनीतिमा नयाँदिल्लीको स्वार्थहरु कमजोर भएको ठानिएको थियो ।

कतिसम्म भने नयाँ संविधान निर्माणपछि ओली विरुद्धको सत्ता गठबन्धनका लागि गरिएका कसरतहरु यसैतिर लक्षित थिए । ओलीलाई संसदमा प्रधानमन्त्री निर्वाचित गर्दा दाहाल स्वयंमले पनि यस्तै भाषण दिएका थिए ।

माओवादी केन्द्रभित्रका भारत निकट मानिने नेताहरुको सत्ता परिवर्तनका लागि खेलेको भूमिकाले पनि भारतको भूमिकातर्फ संकेत गरेका छन् । खासगरी, माओवादी केन्द्रभित्र वर्तमान सत्ता गठबन्धनलाई कायम राख्ने वा परिवर्तन गर्ने भन्ने विषयमा दुई थरी मत थियो । एकथरि अहिलेको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा थिए, जसमा नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझीलगायतका नेताहरु रहेको थिए भने सत्ता परिवर्तनको पक्षमा कृष्णबहादुर महरा, वर्षमान पुनलगायतका नेताहरु थिए ।

खासगरी नेपालको संसदीय ब्यवस्थाको इतिहासमा अस्थिर खालका सत्ताहरुको अभ्यास हुँदैं आएको छ । जसले नेपालको आर्थिक विकासमा सबैभन्दा ठूलो असर सिर्जना गर्दै आएको छ । प्रजातन्त्रको स्थापनापछि नेपाली कांग्रेसको पालामा होस् वा एमाले वा राप्रपाको पालामा नै किन नहोस सरकारहरु निरन्तर परिवर्तन हुने क्रम चल्यो । एकीकृत माओवादी आइसकेपछि उसको भूमिका पनि सत्ता परिवर्तनका लागि कारकका रुपमा देखियो । २०६२/६३ को आन्दोलन अघि तत्कालिन राजाहरुले राजनीतिक दलका नेताहरुलाई आफ्ना स्वार्थ अनुकुल प्रयोग गर्थे र त्यही अनुसारको सरकार बन्थ्यो । पछिल्ला सरकार परिवर्तनको खेलमा पनि प्रचण्डले आफ्ना स्र्वाथ अनुकुल राजनीतिक दलहरुलाई प्रयोग गरिरहेका छन् । नेकपा (माओवादी केन्द्र)का प्राधिकारी प्रचण्डको बदलिने छविले २०६२/६३ यता राजनीतिक अस्थिरता सिर्जना गर्न सघाउ पुर्याइरहेको छ ।

http://www.nepalipatra.com बाट साभार  

No comments:

Post a Comment