केही वर्ष अघि जनगणना भइरहेको बेला एक जना गणक मकहाँ आईपुगे । उनले तथ्याङ्क लिने क्रममा मेरो धर्म सोधे । मैले म कुनै धर्म मान्दिन, नास्तिक हुँ भनें । ती गणकले नास्तिक त भन्नै पाईंदैन भन्न थाले । कि हिन्दू, कि मुस्लिम, कि ईसाइ जे भए पनि एउटा भन्नै पर्छ भने । मैले पनि जिद्दी कसेर नास्तिक लेख्न आग्रह गरें । तर, भएन । उनले त आखिर मलाई हिन्दु बनाएर तथ्याङ्क लगेछन् ।
विगतका संविधानहरुमा राज्य नै हिन्दु भनेर लेखिएकोले विभिन्न कार्यालयको काममा कुनै धर्म मान्दिन भनेर लेख्नै नपाइने र बाध्य भएर हिन्दु लेख्नै पर्ने थियो । तर, अब परिस्थिति बदलिएको छ । अन्तरिम संविधान अनुसार देश धर्म निरपेक्ष भएको छ । तर, यतिले ढुक्क हुने अवस्था छैन । धर्म निरपेक्ष बनाउने नेताहरु नै अहिले गलत गरिएछ भन्दैछन् र त्यसका ठाउँमा धार्मिक स्वतन्त्रता भएको राज्य बनाउने कुरा गर्दैछन् । नयाँ संविधानको मस्यौदामा त धर्म निरपेक्षता पारित भयो तर धर्म निरपेक्षता विरोधीहरुले कुनै न कुनै छलछाम नगर्लान भन्न सकिन्न । धर्म निरपेक्षता भएको राज्यमा धर्म मान्न पनि पाइन्छ र नमान्न पनि पाइन्छ तर धार्मिक स्वतन्त्रता भएको राज्यमा प्रत्येक मानिस सिद्धान्ततः कुनै न कुनै धर्ममा गाँसिएकै हुनुपर्ने हुन्छ । भौतिकवादीहरु वा नास्तिकहरुका लागि धार्मिक स्वतन्त्रता भएको राज्य कुनै पनि हालतमा अनुकूल हुने छैन । तसर्थ राज्य धर्म निरपेक्ष नै हुनुपर्छ । कम्युनिस्टहरुले गरेको यो प्रयत्न सह्रानीय छ ।
नास्तिक भनेको कुनै पनि धर्म नस्वीकार्ने विचार हो । यसलाई भौतिकवादी दर्शन पनि भनिन्छ । पूर्वीय इतिहासमा सम्भवतः ऋषि चारबाक नै पहिलो भौतिकवादी अर्थात नास्तिक दर्शनका प्रदर्शक हुन् । चारबाक अलि अराजकवादी नास्तिक थिए । त्यसपछि गौतम बुद्धले धेरै हद्सम्म भौतिकवादी दर्शनलाई नैतिक धरातलमा राखेर विशिष्टता प्रदान गरे । तर, उनको विचारलाई पनि धर्मभिरुहरुले आफ्नो सम्पत्ति बनाए अनि कसैले मुर्ति पुजा गरे त कसैले बिष्णुको अवतार बनाए । यस्तो गर्नुमा पनि तत्कालीन राज्यको राजनैतिक स्वार्थ नै प्रधान थियो । ओशोले आफूलाई चारबाक र बुद्धको बीचको विचार बोकेको बताए । यी सबै दर्शन कुनै न कुनै रुपमा भौतिकवादी हो । डा. स्वामी विकासानन्दले पनि भौतिकवादी अर्थात नास्तिक विचार राखेको पाइन्छ ।
पश्चिमको दर्शन हेर्ने हो भने भौतिकवादी दर्शनको विकास राम्ररी नै भएको पाइन्छ । माक्र्सले डार्विनको विकासवादबाट भौतिकवादी प्रारम्भिक शिक्षा लिएका थिए । लुडबिग फायरबाखले भौतिकवादी दर्शनलाई प्रचारमा ल्याएका थिए । पछि कार्ल माक्र्सले तिनै फायरबाखको भौतिकवादलाई हेगेलको द्वन्दवादसँग फ्युजन गराएर द्वन्द्वात्मक भौतिकवादको विकास गराए ।
यसरी हेर्दा विश्वमा धेरै पहिलेदेखि आध्यात्मवाद र भौतिकवादका बीचमा द्वन्द्व भएको पाइन्छ । आजको विश्वमा पनि दर्शनको क्षेत्रमा विभिन्न नाम र समूहका धर्महरुले आध्यात्मवादको प्रतिनिधित्व गरेका छन् भने माक्र्सवादले अर्थात द्वन्द्वात्मक भौतिकवादले भौतिकवादी दर्शनको प्रतिनिधित्व गरेको छ । यी दुई बाहेकका कुनै नयाँ दर्शन न थियो न भविष्यमा नै हुनेछ ।
भारतीय लेखक ओमप्रकाश कश्यप भन्छन ‘धर्म न त सामाजिकरणको अनिवार्यता हो न उसको पर्याय ।’ लोकतान्त्रिक राज्य कुनै धर्म बिशेषको हुन सक्तैन र धर्म सामाजिकीकरणको अनिवार्य नियम पनि हैन । कुनै निश्चित धर्मको राज्य भन्नुले धर्म स्वयं राजनीतिको प्रमुख अङ्ग हो भन्ने स्पष्ट हुन्छ । कसैले माने पनि नमाने पनि हालसम्मका राज्यहरुले धर्मलाई राजनीतिको मियो बनाएका छन् । मुस्लिम देशहरुमा त धर्मभन्दा अलग कोही रहनै नपाउने र जो अलग रहन खोज्छ उसलाई मृत्युदण्ड समेत दिइने गरिएको छ । यो भन्दा तानाशाही राजनीति अरु केही हुन्न । कतिपय पश्चिमा कथित लोकतान्त्रिक देशहरुमा पनि महत्वपूर्ण पदमा आसिन हुनेहरुले बाइबलको कसम खानु पर्ने हुन्छ । यो मानिसहरुलाई वैज्ञानिक चेतनामा जानबाट रोक्ने प्रतिगामी राजनैतिक अभ्यास नै हो ।
सामान्यतः पुँजीवादी क्रान्तिसँगै ईश्वर र धर्मका धरातलहरु ध्वस्त भई वैज्ञानिक सोंचको बिकास हुनु पर्ने हो तर पुँजीवाद आफैंमा नाफामा चल्ने प्रणाली भएकाले मानिसको चेतनामा रहेको ईश्वर र धर्मका कुराहरुलाई नाफा र व्यापारसंग तुलना गरेर बुझ्यो । फलतः ईश्वर र धर्मका नाममा करोडौंको व्यापार र नाफा हुने भएकाले पुँजीवादले धर्मको अन्त्य भन्दा संरक्षण गर्नुमा आफ्नो राज्यसत्ताको हित देख्यो । त्यही कारण हो कि अमेरिका, बेलायत, लगायतका शक्तिशाली पुँजीवादी देशहरु इसाइ धर्मलाई रक्षा गर्ने मात्र हैन यसको प्रचारप्रसार विश्वव्यापी गराएर धार्मिक ढङ्गले साम्राज्यवादको विकास गर्न खोज्छन् । ईसाई धर्मको आडमा मानिसको मगज खरिद गरी सांस्कृतिक साम्राज्यवाद लाद्ने पश्चिमा साम्राज्यवादीहरुको योजना छ भन्ने भुल्न हुन्न । हुन त हिन्दू धर्मका नाममा भारतीय विस्तारवादी हस्तक्षेप भएकै छन् । भारतीय पण्डाहरुलाई गुरु मानेर सर्वस्व उही हो भन्ने मानसिकता बनाइएकै छ । नेपाललाई हिन्दू धर्म बनाई राख्न भारतीय बाबाहरु, धार्मिक कम्पनीहरु लागेका छन् र नेपाली धार्मिक मानसिकताका मानिसहरुको दिमाग खरिद गर्दैछन् ।
नेपालको संविधान सभामा माक्र्सवादीहरुको बाहुल्यता छ । यस्तो अवस्थामा धर्म निरपेक्षताका साथै भौतिकवादीहरुको विचारको पहिचान स्थापित गराउन सक्नु पर्ने हो । अबको संविधानपछि राज्यका हरेक ठाउँमा मानिसको धर्म के हो भन्ने हैन आस्था के हो भनेर सोधिनुपर्छ । कार्यालयका फारमहरुमा धर्म भन्ने शब्दका ठाउँमा आस्था वा दर्शन भन्ने शब्द राख्नुपर्छ । त्यसमा कसैले हिन्दु धर्म राख्ला, कसैले ईसाई राख्ला वा कसैले नास्तिक वा भौतिकवादी भनेर राख्ला । नेपालमा जन्मिने हरेक नागरिकहरु कुनै न कुनै धर्म मानेकै हुनुपर्छ भन्ने मान्यतालाई खण्डित गर्दै नास्तिकता वा भौतिकवादलाई पनि मान्ने स्वतन्त्रता दिइनुपर्छ । खै त सांस्कृतिक रुपान्तरण चाहने माक्र्सवादीहरुले यसबारेमा बहस चलाएका ?
मानिस जन्मदा कुनै धर्म र जात बोकेर आएको हुँदैन तर हामी त्यो जन्मेको बच्चालाई हिन्दू, मुस्लिम, शिख, ईसाई बनाइरहेका हुन्छौं । उसमाथि आफ्नो धार्मिक स्वार्थ लदाउँछौं र उसलाई स्वतन्त्र रहन दिंदैनौं । उसलाई नास्तिक वा भौतिकवादी बन्ला कि भनेर हामी चिन्तित हुन्छौं । यहीनेर धर्मले मानिसको स्वतन्त्रतामाथि अपराधिक हस्तक्षेप गरेको छ । ओशोले पनि यस्तो कार्यको विरोध गरेका छन् । मानिसलाई नास्तिक बन्ने अधिकार हुने कि नहुने ? कार्यालयको काम र अरु कामहरुमा खुलेर नास्तिक हुँ भन्ने वातावरण बन्नुपर्छ । माक्र्सवादीहरु आफैंमा नास्तिक हुनुपर्नेमा यहाँ हिन्दु माक्र्सवादी, मुस्लिम माक्र्सवादी, क्रिश्चियन माक्र्सवादी बन्ने अवस्था पैदा भएको छ र यसमा कम्युनिष्ट पार्टी र नेताहरुको नै ठूलो दोष छ । साँस्कृतिक क्रान्ति तर्फ वास्तवमै नेपालका कम्युनिष्टहरु लागेका छैनन् । त्यही भएर नयाँ संविधानमा नास्तिकहरुको पहिचान स्थापित गर्ने बहस चलाएका छैनन् ।
२०४७ सालको हिन्दु राज्य भनिएको संविधान आएपछि कमरेड मदन भण्डारीले सदनमा सपथ खानु पर्दा ईश्वरको नाममा भन्ने शब्द बोल्न संविधानले नै बाध्य पारेको थियो तर उनले संविधान विपरित जनताको नाममा भनी सपथ लिए । पछिल्लो समय साँस्कृतिक क्रान्तिलाई आदर्श मान्ने माओवादी र स्वयं कमरेड प्रचण्डलाई पनि तत्कालिन संविधानले ईश्वरको नाममा सपथ खुवाएको थियो तर उनले पनि अलि अफ्ठयारो महशुस गर्दै जनताको नाममा सपथ लिए । अबको संविधानमा सपथ खाने कुरामा ईश्वरको नाम पर्छ कि जनताको ? साँस्कृतिक क्रान्तिका बाहकहरुले यसबारेमा सोच्ने कि नसोच्ने ?
पहिचानको आन्दोलन तीब्र भइरहेको यसबेलामा कम्युनिष्टहरु अर्थात भौतिकवादीहरुको जोडदार उपस्थिति रहेको संविधानसभाले भौतिकवादीहरुको अर्थात नास्तिकहरुको पहिचानको कुरा स्थापित गर्न सकेनन् भने वा यो बिषयमा बहस चलाएनन् भने यी कम्युनिष्टहरुले माक्र्सवादको साँस्कृतिक र दार्शनिक पक्षलाई तिलान्जली दिएको घोषणा गरे हुन्छ । संघीयताका मामलामा झण्डै झण्डै जातिवादी बन्नै लागेका कम्युनिष्टहरुले भौतिकवादी दर्शनको पहिचानका कुरा कतै उल्लेख गरेको पाइएन । भौतिकवादी दर्शनको पक्षपोषण गर्न नचाहने हो भने अबका नयाँ दिनमा पनि कम्युनिष्ट नेताहरुले पदभार ग्रहण गर्दा कालो बोको बलि दिने वा घर शिलन्यास गर्दा मन्त्र पढ्दै आतेपाते गर्ने प्रचलनलाई निरन्तरता दिनु पर्ने हुन्छ र लाज मानी मानी आध्यात्मिक कर्म गर्नु पर्ने हुन्छ । कम्युनिष्ट पार्टीले अब नास्तिकहरुले राज्यका हरेक काममा आफू नास्तिक हुँ भन्ने अधिकार स्थापित गर्नैपर्छ ।
आर्थर सी. क्लार्क भन्छन ‘धर्मद्वारा नैतिकतालाई कब्जामा लिनु नै आधुनिक दुनियाँको सबभन्दा ठूलो त्रासदी हो ।’ संविधान सभा भित्र र बाहिरका माक्र्सवादीहरुले यसलाई कतिको मनन गरेका होलान् ?
dahalrohit111@gmail.com
http://www.nonstopkhabar.com बाट साभार
No comments:
Post a Comment