यादव देवकोटा |
जम्माजम्मी दस वर्ष पनि भएको छैन, माओवादी भीमकाय गर्जनसहित शान्ति प्रक्रियामा आएको । ऊ एउटा सनातन राजनीतिको सुतीखेतीलाई बढाउँदै राजनीतिमा स्थापित भएको पनि थिएन । परम्परागत राजनीतिको पुख्र्यौली विरासतलाई धान्दै यसका नेताहरु राजनीतिमा स्थापित भएका पनि थिएनन् । भुइँका मानिसहरुले मुक्ति र परिवर्तनको एउटा अजम्बरी सपना पालेका थिए मनभरि । र, त्यही प्राप्त गर्न फाल हानेका थिए– मुक्ति या मृत्युको सपथ खाएर समरमा । परिवर्तनको अजम्बरी बाटो खन्दाखन्दा बगाएका थिए– हजारौं मानिसहरुले शरीरको तातो रगत । र, दसवर्षे बलिदान–यात्राका क्रममा निर्माण भएको थियो, बलिदानहरुको योगमा एउटा अत्यासलाग्दो रक्त–तलाउ । त्यही रातो रगतको खोलो तरेर आएको थियो माओवादी आन्दोलन शान्ति प्रक्रियामा ।
माओवादीका नेताहरु उसैगरी स्थापित भएका थिए राजनीतिमा, जसरी स्थापित भएका थिए बीपी कोइरालाहरु । कष्टसाध्य, वलिदानी संघर्ष गरेर स्थापित भएका थिए उनीहरु नेपाली राजनीतिमा । मदन भण्डारीहरुले जसरी नापेका थिए कठिन राजनीतिक लम्बाई ।
दस वर्षै त भयो, कांग्रेस–एमालेका नेताहरु जनताले नपत्याएपछि काठमाडौंका सडकहरुमा केही सय मानिसहरुको जुलुस लिएर वर्षैभरि राजाविरुद्ध आन्दोलनको औपचारिकता निभाइरहेका थिए । जब माओवादीले अरु छ दलसँग राजाविरुद्धको संघर्षमा साथ दिने घोषणा गर्यो, माओवादीको त्यही घोषणा राजा बढार्नेगरी आन्दोलन उठाउन जनतालाई उत्साहित बनाउने कोषेढुंगा बन्न सफल भयो ।
यताका दस वर्षमा बाग्मतीले जति बगायो– सकीनसकी यो देशको राजधानीको कुहिगन्धे फोहोर । शायद त्योभन्दा धेरै फोहोर माओवादी आन्दोलनमा भित्रियो, यसका नेताहरू त्योभन्दा ज्यादा फोहोरी भए । आज त कस्तो स्थिति देखियो भने हिजो कांग्रेस–एमाले केही सय मानिस लिएर सडकमा लुखुरलुखुर हिँडिरहे झैं आज माओवादी नेताहरु उस्तै रुन्चे लय र हुलियामा सहरका सडकहरुमा भौंतारिइरहेका देखिन्छन्– विभिन्न उपसर्ग र हलन्त लागेका ‘माओवादी ब्यानर’ बोकेर । शान्ति प्रक्रियामा आउँदा माओवादी आन्दोलनको एउटा निश्चित उद्देश्य, सपना तथा यसका नेता–कार्यकर्ताहरुमा निश्चित प्रतिबद्धता र आदर्श थियो ।
कांग्रेस–एमाले ०४६ को आन्दोलनपछि सत्ता, पद, पैसाको मोहनीमा लागेर जनताबाट कट्न जति वर्ष लागेको थियो, कठै ! माओवादी नेताहरु त त्योभन्दा पनि तीब्र गतिमा रसातलको यात्रामा हाम्फाले । देशमा जनता चुसेर अघाएका कांग्रेस–एमालेरुपी जुकाहरु छँदै थिए, तिनै जुकाहरुविरुद्ध संघर्ष गरेर स्थापित भएको माओवादी पुराना जुकाभन्दा पनि ढाडे जुका बनेर जनता चुस्न जाइलाग्यो । कत्रो दुःखले पहाड चढेको आन्दोलन कति तीब्र गतिमा पतन र स्खलनको रछ्यान–यात्रामा ओरालो लाग्यो !
स्खलित हुनुको पनि एउटा गति हुनुपर्ने । तर, यहाँ त कार्यकर्ताले आफ्नो ढाड र छातीमा गोलीले दाबेको घाउ सुम्सुम्याउन नपाउँदै विघटनको गोली लागेर उनीहरु आफैंले लडी उभ्याएको आन्दोलन विघटन भैदियो । र, सबैभन्दा दुःखको कुरा, हिजो हजारौं–लाखौं मानिसहरुले लडी उभ्याएको आन्दोलनको अवशान गर्न सबैभन्दा अघिल्लो पंक्तिमा तिनै मानिसहरु उभिएका थिए– जसलाई निर्धा मानिसहरुले गर्धन, ढाड र छाती थापेर लडी उभ्याएका थिए, नेताका रुपमा ।
बितेका यिनै दस वर्षमा कस्ता दृश्यहरु देखिए भने माओवादी आन्दोलनको ब्यानर टाँगेर थापिएका सटरहरुभित्र– भुइँका झुत्रेझाम्रे मानिसहरुको मत लिएर, रगत, आँशु र सपनाको आजादी तागत बोकेर सत्तामा गएका मानिसहरुले सुकुम्बासीहरुका वस्तीमा बर्खे झरीमा निर्दयतापूर्वक डोजर दौडाए; रत्नपार्कको भित्तोमा मामुली केटाहरुको खुकुरी खाएर निधारमा खत बोकेकाहरुले हिजो अपराजेय संघर्षमा खरो उत्रिएका लालसिपाहीहरुलाई श्वेत–फित्तामा नापिएर पुरानो ‘शाही फौज’मा भर्ती हुन जाने उर्दी जारी गरे । त्यो अपमानविरुद्ध मुख खोलेका मानिसहरुलाई दमन गर्न मध्यरातमै सैन्य घेराबन्दी गराइयो । लालफित्ताशाही प्रवृत्ति प्रकट गर्दै आफ्ना वफादारहरुमार्फत् इमान र आस्थाको कुरा गर्नेहरुमाथि जनसेनाको क्यान्टोनमेन्टभित्रै अपमान, दमन र बर्बरता प्रकट गरियो । राज्यले दिएको चेक खोसियो, सहिदका परिवारजनको सपना भत्काइयो ।
र, भत्काइयो– लाखौं मानिसहरुको भरोसा अनि ती सबको लिलामीमा जोडिए– थुप्रै लाल–दरबारहरु । समाजका तमाम विकृतिहरु संस्कृतिका रुपमा भित्रिए माओवादी पार्टीहरुभित्र । र, ती सबै जायज हुन थाले, अनेकन गुटहरुको गन्धे खेलोमा । र, ती तमाम जे–जति हुनुनहुने फोहोरी खेलहरु भए, तीे सबैको योगमा यो हालतमा आजको माओवादी हाम्रा सामु खडा छ । ऊ एउटा मामुली उपचुनावमा जमानत जखम हुने हरिबिजोग हालतमा छ ।
आज माओवादी विघटनको रातो घेराभित्र पसिसकेको छ । यसका बाबजुद थुप्रै समूहमा विभाजित माओवादी पार्टीका नेताहरुलाई यी सबले छोएको देखिन्न । माओवादी आन्दोलनमा केही भएकै छैन भन्ने शैलीमा उनीहरु रत्यौली भट्याएर बसेजस्ता देखिन्छन् । हिजो फिल्डमा जमेर लडेका कार्यकर्ताहरु भने दिनरात हैरान छन् र दुःखी छन्– अस्थिपन्जर समेत बाँकी नरहनेगरी माओवादी आन्दोलनको घाम डुब्न लागेको देखेर ।
के हुन्छ अब ?
धेरै मानिसहरु सोध्छन्– अब के गर्छन् माओवादीहरु ? एमाओवादी के गर्छ ? वैद्य माओवादी के गर्छ ? विप्लव माओवादीले कसो गर्ला ?
पेरिसडाँडा फर्कन सबैभन्दा हतारो त तिनलाई छ, जसले हिजो पार्टी फुटका बेला एमाओवादीलाई सबैभन्दा बढ्ता गाली गरे र गएको चुनावमा एमाओवादीलाई हराउन र खासगरी कीर्तिपुरबाट प्रचण्डलाई हराउन मरिमेटेर लागिपरे ।
एमाओवादी त चलेकै संसदीय खेलोमा रोइकराई बरालिने देखिन्छ । कस्तो टिठलाग्दो नियति देखिन्छ भने साराका सारा उपलब्धिलाई निखारेर संसदीय यात्रामा पलायन हुँदा पनि एमाओवादीले बुर्जुवा संसदीय बेन्चमा समेत सजिलोगरी बस्ने ठाउँ पाउन सकेको छैन । त्यसको तोडमा मधेशका जमिनदार, सामन्त र हिजोका संसदीय खेलाडीहरुले मधेशमा थापेको धरापको भरोसा गरेर आन्दोलनमा निस्किए पनि सडकमा निख्लो यात्रा गरिरहेका छ । मानिसहरुले ऊप्रति भरोसा देखाउन सकेका छैनन् । अब एमाओवादीले केही समय संसदमा होहल्ला गर्ने र हुर्मत जोगाउन केही बुँदे अमूर्त सम्झौता गरेर सनातन संसदीय खेलोमा फर्कने अनि कांग्रेस–एमालेकै योजनामा तयार संविधानमा ल्याप्चे ठोकेर बस्ने ठोकुवा गर्नु हतारो हुने छैन ।
वैद्य माओवादीले विभिन्न सर्त र बौद्धिक विलासका तर्कहरु गरेर एमाओवादीसँग एकताको दही मथेर केही समय गुजार्ने छ । त्यसबाट नौनी ननिस्केपछि बितुरिएको मोही पिउन ऊ पेरिसडाँडा फर्कन्छ । पेरिसडाँडा फर्कन सबैभन्दा हतारो त तिनलाई छ, जसले हिजो पार्टी फुटका बेला एमाओवादीलाई सबैभन्दा बढ्ता गाली गरे र गएको चुनावमा एमाओवादीलाई हराउन र खासगरी कीर्तिपुरबाट प्रचण्डलाई हराउन मरिमेटेर लागिपरे । रामबहादुर थापा ‘बादल’, हितमान शाक्य, पम्फा भुसालहरु अहिले यो पंक्तिमा उभिएका छन् ।
विप्लवहरु जुनखाले सारसंग्रहवादी दस्तावेज बोकेर आन्दोलनको सम्मुखमा उभिएका छन्, त्यसले सुरुआतमै प्रश्न उब्जाएको छ– के विप्लव पनि आतुर छन् ‘नयाँ प्रचण्ड’ बन्न ?
अब बाँकी सवाल छ, विप्लवले के गर्लान् ? अलिकति आशा त उनीप्रति अझै बाँकी राखेकै छन्, हिजो लडेखटेका कार्यकर्ताहरुले; चाहे ती ‘ए’ माओवादीमा होऊन् या ‘बी’ माओवादीमा । तर, विप्लवहरु जुनखाले सारसंग्रहवादी दस्तावेज बोकेर आन्दोलनको सम्मुखमा उभिएका छन्, त्यसले सुरुआतमै प्रश्न उब्जाएको छ– के विप्लव पनि आतुर छन् ‘नयाँ प्रचण्ड’ बन्न ? होइन भने उनको क्रान्ति सम्पन्न हुँदा बन्ने समाजवादी समाजको सपना के हो ? हिजोको जनयुद्धको उठान र बैठानप्रतिको समीक्षा के हो ? हिजो किन जितिएन र अब कसरी जितिन्छ ? विप्लव र उनको पार्टीले यी र यस्ता गम्भीर प्रश्नको मूर्त जवाफ दिन सकेको देखिँदैन ।
माओवादी नेताहरुले आजको दिनमा निकै गम्भीर भएर, आफैंलाई निखारेर पुनर्नवीकरण गर्ने फिनिक्सको उतारयात्राको अनुकरण गर्नु जरुरी छ नकि एउटा चतुर वैद्यको । नक्कली व्यापारको समय निख्रिएपछि ऊभन्दा थप चतुर उत्तराधिकारी नयाँ साइनबोर्ड थापेर पुरानै नक्कली व्यापारमा लागेको शैलीमा बोर्ड मात्रै फेरेर नयाँ ‘माओवादी पसल’ खोल्दैमा माओवादी आन्दोलनको रक्षा अब सम्भव छैन ।
प्रज्ञा भवनमा माओवादी आन्दोलन पुनर्गठनको गीत गाउन गएका हिजो ‘जीवन सुधारेका’ मानिसहरु हुन् । तिनका हिजोका कर्मप्रति बोध नगर्ने र खाली पुनर्गठनको कुरा मात्रै गर्ने तरिकाको निष्कर्ष निकाल्न सकिन्छ– उनीहरु मानिसहरुलाई फेरि पनि भ्रममा राख्न चाहन्छन् या त उनीहरु आ–आफ्नो पार्टीमा रहेका कार्यकर्तालाई विप्लवहरुले समात्न सक्ने बाटोतर्फ जान नदिई भुलभुलैयामा राख्न चाहन्छन् । प्रज्ञा भनवको प्रहसनमा देखिएको धमेन्द्र बास्तोलाहरुको ल्याङल्याङ चाहिँ फिटिक्कै बुझ्न सकिएको छैन ।
यतिबेर विप्लवले पाएको पनि ‘दुविधाको सुविधा’ मात्रै हो । उनी आफैं फिनिक्स बनेर माओवादी आन्दोलन बचाउँछन् कि पुरानै वैद्यको चतुर नयाँ चेला मात्रै बनेर नयाँ साइनबोर्डमुनि पूर्वजकै ‘पुरानो पेशा’ चलाउँछन् ?
यति लेखिसकेपछि एक लाइन थपिहालुँ– यतिबेर विप्लवले पाएको पनि ‘दुविधाको सुविधा’ मात्रै हो । उनी आफैं फिनिक्स बनेर माओवादी आन्दोलन बचाउँछन् कि पुरानै वैद्यको चतुर नयाँ चेला मात्रै बनेर नयाँ साइनबोर्डमुनि पूर्वजकै ‘पुरानो पेशा’ चलाउँछन् ? त्यो भने समयकै गर्भमा छ ।
www.khabardabali.com बाट साभार
No comments:
Post a Comment