रामकुमार एलन |
गाइँगुइँ र साउती सुनिए, ‘व्यापारीको आग्रहमा एमाले अध्यक्षले धरहरा चढेका हुन् ।’ यो साउतीको प्रतिक्रिया दिनुको अर्थ छैन । तर एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा आएको सुधारको संकेत भने पक्कै हो । ओली तंग्रिएर नेपाली राजनीतिमा सक्रिय र घनिभूत छलफलका लागि काम गर्न सक्ने हुन् भन्ने आम नेपालीको कामनामा ओलीले ३० चैतमा १५ मिनेटमा धरहरा चढेर सन्देश दिएका पनि छन् । आलोचना गर्ने, एमालेको नेताहरुको सक्रियता नै मन नपर्नेमात्र होइन, राजनीतिक र पत्रकारिताको क्यारियर नै एमालेलाई गाली गर्नु नै अन्तिम मान्ने र ठान्नेका लागि ओलीले धरहरा चढेको विषय मजाक भन्दा अरु केही नलाग्न पनि सक्छ ।
मजाकभित्र लुकेको विषय चैँ के हो भने विस्तारै मुलुकमा धर्मको अफिम मौलाउँदो छ र कम्युनिष्टहरु पनि शाही राजतन्त्रजस्तै खोपामा राख्ने अवस्थामा पुग्लान् कि भन्ने हो । किनभने कम्युनिष्टले नै ल्याएको एजेन्डामा मुलुक हिँडिरहँदा कम्युनिष्ट सिध्याउने र उनीहरुको एजेन्डा सफल हुँदा पनि कम्युनिष्ट शक्तिलाई बाहिर राख्ने र नभए विषयान्तर गराउने काम भइरहेको छ । यो काममा यतिखेर धर्मको रासायनिक मलले नागरिकको मष्तिष्कमा विद्वेषको फसल फस्टाउने काम गरिरहेको छ भने यसलाई अझ हराभरा बनाउन क्षेत्रीयताको मसालमा मट्टितेल झोसेर कम्युनिष्ट विरोधी आगोको लप्कामा फाल्ने काम भइरहेको छ । यो काममा कम्युनिष्टलाई कसरी सकाउने भन्नेमा पनि विभिन्न समूह परिचालन भइरहेका हुन्छन् । त्यस्ता समूहले यो काम राम्रो हुन्छ भनेर लोकप्रियताको धरहरा चढिरहेका नेताहरुलाई बहाना बनाएर खङार्ने काम गराइरहेका छन् ।
लोकप्रियताको भ¥याङ चढिरहेका बेला एमाओवादीका अध्यक्ष छविलाल दाहाल प्रचण्डलाई पनि यसरी नै सिध्याउने काम भएको थियो । प्रचण्डको सिंहदरबार आरोहणसँगै सुरुमै उनलाई तीनलाखको पलङमा सुकला गराउने काम भयो । त्यस्तै ९० हजारको घडी लगाउन दिने र त्यसको फोटोसुट गराउने काम भयो । यो कामसँगै साम्यवादको जामा भिरेर सिंहदरबार छिरेका नेताहरुको सामन्तवादी आवरण चम्काउने काममा अदृश्य शक्ति देखिन थाले । तर आएको उपहारलाई अतिरिक्त आम्दानीमा बाँध्दै र आलोचनालाई अनदेखा गर्दै हिँड्ने क्रममा प्रचण्डलाई लगेर सुनसरीमा भैँसीपूजासम्म गराउने काम भयो । भैँसी पूजा गराएर प्रचण्डको शान गिराउने काममा त्यतिखेर धर्मभिरुहरु लागे । किनभने, उनको सत्ताआरोहणसँगै मुलुक धर्मनिरपेक्ष भएकाले उनलाई भैँसीपूजन गराउनु धार्मिक अभियन्ताको पहिलो गृहकार्य थियो भन्ने प्रचण्डले बुझ्न सकेनन् ।
भैँसीपूजनसँगै एमाओवादीको ओरालो यात्रा सुरु भयो । संविधान निर्माण हुन नदिने, अखण्ड पक्षधरको आन्दोलन चर्किने र संघीयताका मामलामा सहमति हुन नदिन पश्चिमाहरु दुईथरिका लड्डु बोकेर राजनीतिक दलहरुलाई आकर्षित गरिरहे । एउटै भूगोलमा दुई शक्तिलाई उचालेर दुवैलाई सहमतिमा ल्याउने कामको ठेक्का उनै प्रचण्डलाई दिलाउन पश्चिमा र अरु छिमेकी मुलुक सफल भएको विषयमा नेताहरु घोत्लिन सकेनन् । छलफलमा जुट्न सकेनन् । त्यसैले कम्युनिष्टबीचमा फुट ल्याउन धर्मको मसाल त झोसिएकै थियो । क्षेत्रीयताको आन्दोलन पनि मुलुकमा अरु चर्कियो ।
कम्युनिष्टलाई सकाउने काममा सबैले सकेको गरे । यो अभियानको होममा घिउ थप्नेहरु कम्युनिष्ट पनि थिए । त्यसैले बाग्लुङमा संविधानसभाको दोस्रो निर्वाचनमा पहिला राष्ट्रिय जनमोर्चा नेपालका चित्रबहादुर केसी चुनाव उठेनन् । संविधानसभाको उपनिर्वाचनमा एमाओवादीका दीनानाथ शर्मा उठेनन् । र, पराजय चैँ नेकपा एमालेले नराम्ररी बेहोर्नु प¥यो । जहाँ ६ हजार मत पाएको एमाओवादी २ हजार ५ सयको हाराहारीमा झरेर धरौटी जफत हुनु प¥यो भने जनमोर्चाको पनि साथ छभनेर एमालेले जतिसुकै कराउने काम गरे पनि ३ हजार पाँचसय भन्दा बढी मत पाउन सकेन । एमाओवादीको ६ हजारबाट घटेको ३५ सय मत के एमालेमै खनियो होला त ? अथवा, जनमोर्चाको ‘पिओर’ कार्यकर्ता रहेको भनिएको क्षेत्रमा के एमालेले उसको साथ पायो होला त ? अथवा जनमोर्चा, एमाओवादी र एमालेलाई विभाजित मत दिएर पनि कम्युनिष्टहरुको बहुमतलाई अल्पमतमा पार्दै पराजयको स्वाद चखाउने काम पो भयो भन्नेबारे पनि कम्युनिष्टहरु अचेल किन छलफल गर्दैनन् । तीनलाखको पलङ, भैँसीपूजा, धरहरा आरोहणले यस्ता विषयमा छलफल गर्नु नेताहरु आवश्यक पनि ठान्दैनन् । न केपी शर्मा ओलीले चित्रबहादुर केसीको निबास मैतीदेवी छेउछाउ आउने आवश्यकता देखे, न केसीले नै एमालेलाई साथ दिन जरुरी देखे । सबैलाई आफ्नो मत सुरक्षित देखाउनु थियो ।
काठमाडौँमा एमाले प्रवेशको लहर थियो । बल्खुमा सात हजार मानिससम्म प्रवेश गरेका खबरले एमालेले निकै राम्रो शक्ति आर्जन गरेको विषयमा चर्चा भइरहेको थियो । एकातिर काठमाडौँमा कांग्रेसका नेताले बोल्नु पर्ने भाषामा एमाले प्रकट भइरहँदा एमालेमा आकर्षण बढेको उस्तै हल्ला चलाइएको थियो । राष्ट्रिय नेताका रुपमा एमाले अध्यक्षको नाम जोडेका विषयमा पनि एकातिर हिन्दू अभियानलाई गाह्रो परिरहेको थियो । उनीहरु भारतका गरम मसलामा पाकिरहेका थिए । अर्कातिर भारतीय गरम मसलादार स्वादको बलमा राजनीतिक रथ चढिरहेकालाई ‘ब्रेक अप’ दिने पात्र पनि एमाले अध्यक्ष नै बनिरहेका थिए । कसैको स्वार्थका लागि जिल्ला टुक्राउन नपाइने, जिल्ला नगए पनि जिल्लाका नाममा काठमाडौँ बसेर सत्ताको जुठो हड्डी चुसिरहने मधेसवादीलाई पनि एमाले नेताको बोलीले गानोगोला ह्वात्तै बढेकै थियो ।
कम्युनिष्टलाई सबैभन्दा बढी सिध्याउने काम सुरुमा व्यापारीले गर्दारहेछन् । व्यापारीले आफ्नो स्वार्थका लागि कसरी प्रयोग गरे भन्ने उदाहरण एमाओवादीमा परिसकेको छ । एमाओवादी अध्यक्ष प्रचण्डको संगत कहिले भाटभटेनीका मीनबहादुर गुरुङसँग त कहिले अजेयराज सुमार्गीसँग छ भन्ने विषयमा नेपाली मिडिया पोतिएकै छन् । त्यसको आधिकारिता बाहिर ल्याउन उनीहरु दुवै पक्ष तयार छैनन् तर यसले हानिकारक अवस्थामा उनीहरुलाई नै पु¥याएको छ । नागरिकले केही हानी बेहोरेका छैनन् । सुरुमा व्यापारीले प्रयोग गरेपछि कम्युनिष्टलाई त्यसपछि धर्मभिरुहरु प्रयोग गर्दारहेछन् । त्यसपछि जातीय ओदानमा दन्केको आगोको घाउलाई उनीहरु अखण्डको मल्हम लगाउन पनि कम्युनिष्टलाई प्रयोग गर्छन् । त्यसपछि धर्मको तातो तेलमा फेरि पनि क्षेत्रीयताको भोजनमा आकर्षण गराएर कम्युनिष्टलाई क्षति पु¥याउने उनीहरुको पूर्वनिर्धारित र प्रायोजित योजना बनिबनाउ भएको कम्युनिष्टहरुले थाहा नपाउँदा धरौटी जफतसम्मको दिन हेर्न कुनै दशक नै कुर्न नपर्ने भएको छ ।
यी सबैको प्रयोग अहिले एमालेमा सुरु भएको छ । एमाओवादी प्रवेशको ज्वरो एमालेमा सरेको छ । स्वार्थको धुनष बोकेर वाण एमालेलाई बनाउने काममा सबभन्दा बढी भारत र त्यसपछि सत्तासाझेदार नेपाली कांग्रेस नै देखियो । भारत संघीयता र एमालेको सत्ताआरोहणमा बेखुश देखिन्छ भने कांग्रेसले डा. गोविन्द केसीको अनशनमा मधेसवादी मन भएका नागरिकसमाजको समेत इशारामा एमालेविरुद्ध खनिने काम भयो । कहिले एमालेलाई त कहिले एमाओवादीलाई ललिपप देखाएर ऊ सत्ताको चटनीमा कम्युनिष्टलाई भुलाइरहन चाहन्छ भने एक एक निर्वाचन क्षेत्रमा एमाले र एमाओवादीलाई कमजोर बनाइरहन पनि चाहन्छ । काठमाडौं–२ र बाग्लुङ–१ का उपनिर्वाचनले गरेको त्यही संकेत हो कि, कम्युनिष्टको सिट कब्जा गर्ने, कम्युनिष्टलाई मिल्न नदिने बरु फुटाएर धरौटी जफतसम्म पु¥याइदिने उनीहरुको नियत प्रष्ट छ ।
अहिले पनि संविधानका विषयमा दलहरु मसिनोसँग छलफलमा जुटेका छैनन् । एमाओवादीको बाटो गलत छ, एमालेको बाटो सही छ भनेर एमालेलाई फुक्र्याउने र एमालेलाई तह लगाउन साथ चाहियो भनेर एमाओवादीलाई पनि सु¥याउने काममा जसरी मुलुकमा अहिले पश्चिमा, भारत, कांग्रेस, मधेसवादीमात्र होइन, धर्म, क्षेत्रीयता र जातीय पहिचानका मसाल झोस्नेहरु एकीकृत भइरहेका छन् । यस्तो बेला कम्युनिष्ट शक्ति भैँसीपूजन, धरहरा आरोहण र अरु घटनागत परिघटनामा आनन्दित भइरहँदा कम्युनिष्ट आफैँ सिद्धिन्छन् भन्ने उदाहरण सावित पार्ने काम भइरहँदा कम्युनिष्टहरु कहिले चेत्लान् ?
No comments:
Post a Comment