Friday, April 17, 2015

सूर्यवहादुरलाई श्रद्धाञ्जली दिँदा प्रचण्ड बाबुरामलाई आपत, आफ्नै कार्यकर्ताले गाली गरे

 

अभिभावक गुमाएकै हो माओवादीले

नरेन्द्रजंग पिटर |
मृत्युमा कोही पनि भावनारहित निष्ठुर हुन सक्दैन, तर इतिहासबोध भनेको निर्मम हुने गर्छ। त्यो कुरा सूर्यबहादुर थापाको मृत्यु सन्दर्भमा पनि लागू हुन्छ। 
 
सोच्न पुग्छु- खोकु-छिन्ताङ आँखीसल्लाका १५ परिवार, मुसुरियाका आठ र दोरम्बाका २१ परिवारले कसरी सम्झिए होलान् ! त्यसैबेला डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री थापाको मृत्युलाई अभिभावक गुमाएको रूपमा लिए। 
 
अझ दिनानाथ शर्माले एक कदम अगाडि बढेर थापालाई सधैंका प्रेरणाका स्रोत भन्नसमेत लजाएनन्। त्यसमा कति कूटनीतिक भाव थियो, कति राजनीतिक र कति कम्युनिस्ट विचारकेन्द्रित रह्यो? के माओवादीले एउटा अभिभावक र सधैंको प्रेरणाको स्रोत गुमाएकै हो त !
 
माक्र्सवादी विश्व दृष्टिकोणमा वर्ग पक्षधारिता पहिलो प्रश्न हुन्छ। तर राजनीति र कूटनीति कुनै गणितीय सूत्रमा चल्दैनन्। ती समय, परिस्थिति र शक्तिसन्तुलनले तय गर्ने, त्यसैअनुसार चालिने आवश्यकताले निर्धारण गरेको कलामय भूमिका मात्र हुने गर्छ। 
 
के डा. भट्टराई र शर्माका भनाइ एउटा औपचारिक श्रद्धाञ्जली वा कूटनीतिक अभिव्यक्ति मात्र थिए त? त्यसभित्र सिद्धान्त, दर्शन, राजनीति र इतिहासको स्मरण केही थिएन र?
 
थापालाई फर्केर हेरौं
पाँचौंपटक थापा प्रधानमन्त्री भइसकेपछि दोस्रो शान्तिवार्ता जटिल बनिरहेको थियो। केही विश्वास, केही समझदारी र केही सकारात्मक पहल लिएका लोकेन्द्रबहादुर चन्दलाई विस्थापित गर्दै थापा सरकार बनेलगत्तै ०५८ असार १२ गते भोजपुर, कुलुङका अनिल गुरुङको हत्या र हापुरे वार्ताको अनौपचारिक तयारी र अभ्यास भइरहेको थलो नेपालगन्जनजिकै साउन २५ गते कैलालीको मसुरियामा आठजना माओवादीको हत्या भयो। त्यसले आशालाई निराशातर्फ र परिणामलाई आशंकामा धकेलिरहेको थियो नै।
 
०५८ भदौ १ गते वार्तास्थल दाङको हापुरेमा अघिल्लो दिनभन्दा त्यस दिन वातारवरण एकाएक फेरियो। सादा पोसाकका मान्छेका चाल, चलन र चेहराले भिन्नै जनाउ दिइरहेका थिए। हामीसँग सञ्चारसाधन थिएन। 
 
अघिल्लो दिन साँझै माओवादी वार्ताटोली प्रमुख डा. भट्टराईसँगै झन्डै तीन किलोमिटर पश्चिम गएर बाहिरी सम्पर्क जोडिएर फर्केका थियौं। त्यस दिन पनि निर्धारित समयमै नेपालगन्जबाट सरकारी वार्ताटोली र सहजकर्ता हेलिकोप्टरबाट हापुरे पुगे, तर उनीहरूको देहभाषाले भने नयाँ सन्देश दिइरहेको थियो। 
 
नियमित औपचारिकता निर्वाह गरेर खानापछि वार्ता सुरु भयो। हापुरे श्वेतभवनभित्र वार्ता चलिरहँदा एकाएक रेडियोबाट समाचार सुनियो- रामेछाप दोरम्बामा सेनाले माओवादी नेता बाबुलाल लामा, अम्बिका दाहाललगायत २१ जनाको हत्या गरेको कुरा।
 
घटनाबारे लेखेर एउटा चिट डा. भट्टराई र कृष्णबहादुर महरालाई पठाएँ। दोरम्बाका कारण दोस्रो शान्तिवार्ता टुटेको थियो। सरकारी वार्ताटोली कानुनी नेता डा. प्रकाशचन्द्र लोहनी भए पनि वास्तविक निर्णयकर्ता भने कमल थापा थिए।
 
यसै पनि कम्युनिस्ट बैरी थापाको छिन्ताङ घटनाको दाग त उनीमाथि थियो नै, पाँचपटकको उनको प्रधानमन्त्रीकालमा कानुनी र गैरकानुनी राजनीतिक हत्याको लामो शृंखला रहेको छ। 
 
उनको पछिल्लो कालखण्ड दुईपटकको प्रधानमन्त्रीकालमा हजारभन्दा बढी माओवादी मारिएका छन्। प्रजातन्त्रीकरण अभ्यासमा ०३६ को जनमत संग्रहमा उनको अहं भूमिका अझ नजिकबाट नियाल्ने पञ्चनेता नवराज सुवेदीलिखित पुस्तक नै काफी रहन्छ। 
 
जनमत संग्रहमा बहुदल पक्षमाथिका आक्रमण र बीपी कोइरालाको आमसभामा हस्तक्षेप त उनकै बहीखातामा जान्छ।
 
राजनीति र कूटनीति
राजनीतिमा कूटनीति र औपचारिकता हुनु सामान्य कुरा हो। राजनीति सीधा नभई बक्ररेखामा यात्रा गर्छ। सरल र शिष्ट भाषामा गम्भीर र असहमतिका कुरा पनि भन्न सकिन्छ, गरिन्छ।
 
राजनीति दर्शन, विचार र सिद्धान्तले निर्देशित गर्छ भने कूटनीति भनेको तत्कालको शक्ति सन्तुलनले दिशा-निर्देशन गर्ने दाउपेच, अभ्यासमा हुने गर्छन्। 
 
राजनीतिक वातावरण सपार्न जटिल अवस्था आयो भने त्यस्ता गम्भीर प्रकृतिका विषयमा मौन भएर वा औपचारिकतामा मात्र सीमित भएर पनि धेरै कुरा भन्न सकिन्छ, तर 'अभिभावक' र 'सधैं प्रेरणाका स्रोत' नै भन्नुपर्ने अवस्था माओवादी नेतृत्वमा अहिले कसरी जन्मियो? 
 
यो पक्ष भने वैचारिकरूपमै गम्भीर छ। हुन त सिद्धान्त, विचारको राजनीति अन्त्य भएर सुविधाको राजनीति र त्यसैअनुकूलको आचरण मौलाइरहेको बेला व्यक्त भएका यस्ता धारणा कति आपत्तिजनक छन्, संवेदनशील छन्? त्यसले समग्र संगठनको भूमिकामा पार्ने असर, वैचारिक मार्ग-निर्देशनमा पार्ने असर मूल्यांकन कसरी गर्ने भन्ने भिन्नै विषय हो।
 
दुई अति
दुवै अतिले कति खती हुन्छ भन्नेबारेमा इतिहास सम्झौं। वैचारिक शुद्धताको नाममा तत्कालीन चौथो महाधिवेशन अर्थात् अहिलेको माओवादी मूल स्कुलिङका तत्कालीन महासचिव निर्मल लामाले २०३६ मा मनमोहन अधिकारीको माक्र्सवादी, सहाना प्रधान नेतृत्वको पुष्पलाल समूहलगायत पाँच वाम पार्टीको आन्दोलनमा पञ्चायतविरुद्धको मोर्चा बनाएकोमा दक्षिणपन्थीसँग कार्यगत एकता भनेर आलोचना मात्र भएन, महासचिवबाट समेत हटाइयो पनि। 
 
लामाले एउटा अर्को प्रसंगमा नेपाली मनपर्ने नेतामा बीपी कोइराला भनेकोमा आलोचनासमेत खानुप:यो। अहिले त अर्को अति 'अभिभावक' र 'सधैं प्रेरणाका स्रोत' पो भन्न पुग्यो, महापञ्च खेलाडीलाई माओवादीले।
 
कसरी बुझ्ने थापालाई?
मृत्यु जीवन समीक्षा हो। मानिससँगसँगै रहने भनेको छाया मात्रै हैन, उसको पृष्ठभूमि नै मुख्य कुरा हो। छायालाई त प्रकाश चाहिन्छ तर पृष्ठभूमि भनेको जीवन समीक्षा बन्छ, जिउँदा पनि मर्दा पनि। 
 
जब एक मान्छे व्यक्तिमात्र नरहेर समयको संघारमा इतिहास पात्र पनि बन्छ, तब उसप्रतिका धारणा बेक्तिने पात्र र संस्थाको मूल्यांकन पनि हुने गर्छन्। 
भावनामा बगेर वा तत्कालीन राजनीतिले माग गरेको सुविधा र आवश्यकताअनुसारको धारणा बनाउन कसैलाई पनि अनुमति र छुट हुँदैन।
 
नेपाली राजनीतिमा दिवंगत थापा एउटा सामान्य पात्र मात्र नभई उनी सातदशकको सत्ता राजनीतिको प्रवृत्ति र केन्द्र पनि भएकाले उनका मृत्युमा बेक्तिने भाव पनि राजनीतिक संस्कृतिमा सामान्य अर्थ मात्रै राख्दैन।
माओवादी वा समग्र नेपाली कम्युनिस्ट आन्दोलन वा प्रजातान्त्रिक आन्दोलनलाई दिवंगत थापाले के-कस्तो अभिभावकत्व दिए ! के र कसरी प्रेरणाका स्रोत बने?
सत्ताबाहिर हुनेबित्तिकै 'विद्रोही' देखिने र सत्ता प्राप्ति हुनेबित्तिकै दमनकारी देखिने थापाको राजनीतिक संस्कति र प्रवृत्ति रह्यो। अझ नेपाली सत्ता चरित्रको आमूल परिवर्तन गर्ने संघारको यस संक्रमणकालको जटिल अवस्थामा थापाको मृत्युलाई कोकोहोलो छोड्नु भनेको कूटनीतिक कला वा औपचारिकता मात्र हुँदैन। 
 
जहाँसम्म मालीगाउँको पछिल्लो सक्रियता, जमघट व्यवस्थापन र सहमति खोज्ने भूमिका देखा पर्‍यो, त्यसैलाई आधार मानेर मात्रै उनलाई अभिभावक भन्न एउटा कम्युनिस्ट पार्टीले कसरी सक्छ? उनको सकारात्मक पक्ष भनेको पछिल्लो परिवर्तनलाई विनासर्त स्वीकार्नु हो।
 
जे, जसको मृत्युले पनि एकातर्फ मानव हृदयलाई भावनामय बनाउँछ भने अर्कोतर्फ इतिहासका नायक वा खलनायकको निर्मम समीक्षा पनि गर्छ। इतिहासले चिहान खोजेर, खनेर नायकलाई प्रेरणा स्रोत बनाउँछ भने खलनायकलाई दण्ड दिने गर्छ।
 
त्यसैले भनिने गरिन्छ- इतिहासले मान्छेलाई छोड्दैन। यो न मरेका मान्छेका कथा मात्र हुन्, न चिहानघारीको यात्रा। दिवंगत थापा एउटा व्यक्ति मात्र नभएर समकालीन नेपाली राजनीतिको सत्ता चरित्र हो, सामन्ती राजनीतिक प्रतिनिधि पनि।
 
सूर्यप्रसाद उपाध्यायपछि साउथ ब्लकले सबभन्दा भरोसा गरेको पात्र। त्यसैले इतिहासको कठघरामा उभ्याएर उनीप्रतिको धारणा बनाउनुपर्ने हुन्छ।
 
भावना र विचार
 
कम्युनिस्टहरूले धारणा बनाउँदा वर्ग पक्षधारितालाई मुख्य आधारमा बनाउँछन्। अहिलेसम्मको उन्नत राजनीतिक दर्शन भनेको माक्र्सवाद हो। त्यसका प्रयोग अभ्यासका विभिन्न चरण र रूपमा देखा परे। कतिपय सिद्धान्तको शुद्धताभन्दा कलाविहीन अभ्यास पनि बने र भावना नभएको हो कि?
 
यसले विचारलाई समाजीकरण गर्न चुकेको हो कि भन्ने पनि बहस चले। त्यसका समर्थन वा विपक्षका विर्मश नै दुई शताब्दीका क्रिया र प्रतिक्रिया हुन्।
 
विज्ञानका आँखीझ्यालबाट जीवन र जगत् नियाल्ने एउटा चस्मा मात्र हो, माक्र्सवाद। विज्ञानका अनेकौं शाखाको विकाससँगै दर्शनलाई पनि उन्नत गर्नु दर्शनशास्त्री र समाजशास्त्रीका सामुन्नेका चुनौती हुन्। 
 
सामाजिक मनोविज्ञानलाई राजनीतिको व्यावहारिक अभ्यासमा बिर्सन पुग्दा कम्युनिस्ट आन्दोलनले ठूला-ठूला धक्का पनि व्यहोनुपरेको छ। पुरानै तरिकाले विकसित सामाजिक चुनौतीको हल हुन सक्दैन।
 
विचाररहित राजनीतिक अभ्यास अन्धो बटुवाजस्तो भएर गन्तव्यहीन बन्न पुग्दा इतिहास भने सामने ठिंङ उभिएर प्रश्न गरिरहन्छ। यो जिउँदोमा मात्र नभई चिहान खनेर पनि प्रश्न तेस्र्याइरहन्छ। हिजाका भूमिकालाई वर्तमानमा सान्दर्भिक गराउँदै भविष्यलाई जवाफ दिइरहनुपर्ने हुन्छ।
 
माओवादी वा समग्र नेपाली कम्युनिस्ट आन्दोलन वा प्रजातान्त्रिक आन्दोलनलाई दिवंगत थापाले के-कस्तो अभिभावकत्व दिए ! के र कसरी प्रेरणाका स्रोत बने? 
 
कुनै पनि वैचारिक, सैद्धान्तिक, सांस्कृतिक प्रणेता मात्रै अभिभावक बन्न सक्छ र सो व्यक्तित्वको आदर्श पछ्याउने गरिन्छ भन्ने गम्भीर सैद्धान्तिक प्रश्न हो। 

सातदशकको नेपाली राजनीतिमा समेत उनले अग्रगमनलाई के योगदान दिए? समयले खोजेको यही जवाफ हो।
www.annapurnapost.com बाट साभार 

===============================

सूर्यबहादुरको सम्मानले छिन्ताङ्गको पीडा मेटिँदैन


सूर्यबहादुरको सम्मानले छिन्ताङ्गको पीडा मेटिँदैन
खोकु छिन्ताङ्ग दुख्यो कि अरुण सुसाउँदा

मन सबको रुन्छ कि दु:ख बिसाउँदा । 
–गणेश इजम सुब्बा ।

कुकृत्यलाई जनताले यत्तिसम्म सम्झँदा रहेछन् । मलाई त्यत्ति हेक्का नै भएन र सूर्यबहादुर थापाको देहावसान हुनासाथ मैले उनले भर्खरै संविधानसभामा सहमतिका लागि खेलेको सकारात्मक भूमिकालाई सराहना गर्दै उनको मृत्युमा हतारोमा समवेदना प्रकट गरिहालें । अहिले कुरीकुरी लागिरहेको छ ।
सूर्यबहादुर थापाले आफ्नै गृहजिल्ला धनकुटाको खोकु-छिन्ताङ्गमा २०३६ कार्तिक २६ देखि २९ गतेसम्म १५ जना मालेका समर्थक कार्यकर्ताहरूलाई अराष्ट्रिय तत्वको करार दिँदै मारेका थिए । तत्कालीन प्रधानमन्त्री थापाको ठाडो निर्देशनमा कोशी अञ्चलाधीश शत्रुघनप्रसाद सिन्हा, पूर्वाञ्चलका डिआइजी डीबी लामा, ब्रिग्रेडियर जनरल कुवेर शमशेर राणा, कोशी अञ्चलका एस.पी. रामबहादुर श्रेष्ठ र कोशी अञ्चलका केही प्रमुख जिल्ला अधिकारीहरुसहितको बैठकपछि धरानको फुस्रेस्थित सैनिक ब्यारेकमा योजना बनाएर १५ जना छिन्ताङ्गे जनताको हत्या गरिएको थियो ।
छिन्ताङ्गका गोपाल आनन्द राई, बलबहादुर खत्री, धनवीर खत्री, गम्भीरमान दर्जी, टंकबहादुर विश्वकर्मा, लाखमान साधु राई, केशरमान राई, हाखिमा राई, पुत्रमान राई, चन्द्रबहादुर दमाई र गंगाबहादुर र्राईले सहादत प्राप्त गरेका थिए । त्यसैगरी आखीसल्ला गाउँ विकास समितिका गणेशबहादुर विश्वकर्मा र झगेन्द्र राईले पनि सहादत प्राप्त गरेका थिए । अधिकांशलाई प्रहरीले चरम शारीरिक यातना दिएपछि गोली हानी हत्या गरेका थिए ।
हरेक वर्ष खोकु-छिन्ताङ्ग-आँखिसल्लामा सहिद दिवस मनाइन्छ र ठूलाठूला नेताहरू सहभागिताका लागि जान्छन् पनि । तर त्यही पार्टी धेरैपल्ट सरकारमा बस्दा पनि ती १५ जना सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गराउन सकेको छैन, बरू जनताको नजरका ती आततायी सूर्यबहादुको शवमा राष्ट्रिय सम्मान दिन पुगेको छ । अहिलेको जनआक्रोश त्यही हो ।
तर मानव सभ्यता र हाम्रै संस्कृतिको अर्को उदार बडप्पनको पाटो पनि छ । कुकृत्य जेजस्तो भएपछि त्यसलाई यथा छोडेर हामी मृत शत्रुलाई सम्मान दिन्छौं । एमाले पार्टी र त्यसको सरकारले त्यही गर्यो । म पनि त्यही संस्कृतिको निर्माण न हुँ । मबाट पनि त्यस्तै हुन गयो ।
तर कुरा त के हो भने हामीले सूर्यबहादुरले दिएको पीडा बिर्सेका छैनौं । इतिहास निभ्दैन, हिसाब त जनाताले जहिले पनि खोज्छन् नै । त्यो पीडा के थियो बुझ्न चाहनुहुन्छ भने राजेश राईले २००८ नोभेम्बर १७ मा छपाउनुभएको यो लेख “दुख्न छोडेको छैन खोकु छिन्ताङ्ग” अध्ययन गर्न अनुरोध गर्न चाहन्छु । http://limbu-wan.blogspot.co.uk/2008/11/blog-post_17.html
त्यस्तै, छिन्ताङ हत्याकाण्डको इतिहासबारे पत्रकार जसकुमार रार्इले बनाएको “छिन्ताङ आँसुमा विश्वास गर्दैन” डकुमेन्ट्री हङकङमा प्रदर्शन भएको थियो । त्यसको रेपोर्टिंङ पनि यहाँ उल्लेखनीय छ ।
खोकु छिन्ताङ काण्डबारे लेखिएको गणेश इजमको गीतले सम्झाउँछ :
धनकुटाले आफ्नो घाउ सम्झिराख्नुपर्छ
नसाभित्र तातो रगत बहाइराख्नुपर्छ ।
000 
यो लेख www.esamata.com बाट साभार गरिएको हो।  

===================================================

सूर्यबहादुरको वैकुण्ठ यात्रा र किपटीया लिम्बूहरुको वृतान्त

छविसुब्बा साङबाङ्फे लिम्बू 

सूर्यबहादुरको वैकुण्ठ यात्रा र किपटीया लिम्बूहरुको वृतान्तसूर्यबहादुर थापासँग जोडिएका काण्डहरुमा धेरैले खुकुछिन्ताङमा २०३६ सालको नरसंहारको नाम लिने गर्दछन् । तर यो उनको शक्ति अभ्यासको पछिल्लो हर्कत हो । त्योभन्दा अगाडि उनले आफू शक्तिमा आउन गरेका अभ्यासबारे धेरै कम मानिसमात्र जानकार छन् । किनभने तत्काल उनीसँग राजनीतिक प्रतिस्पर्धा गर्ने पूर्वका किपटीया सुब्बाहरुले धेरै वर्षअगाडि नै वैकुण्ठ यात्रा गरिसके । जीवित साक्षीका रुपमा रहेकामध्ये सुब्बा शेरबहादुर लावती (डिट्ठा)का नाति पद्मसुन्दर लावतीमात्र मेरो नजिकका चिनजान हुन् ।
थापासँग लावतीको कहिल्यै पनि राजनीतिक सहयात्रा भएन, चाहे पञ्चायती व्यवस्थामा होस् या त्यसपछि पनि । उनीहरु पञ्चायती व्यवस्थादेखि त्यसपश्चात कायम भएका बहुदलीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्दा समेत उनीहरुको बीचमा राजनीतिक तालमेल मिल्न सकेन । पछिल्लो समयमा थापा संघीय गणतन्त्रको पक्षधर भए भने लावती हिन्दूधर्म सापेक्षित राज्यसहितको संवैधानिक राजतन्त्रको पक्षमा अद्यापि आवाज मुखरित गरिरहेका छन् ।
धनकुटा जिल्लामा थापासँग कठोर राजनीतिक प्रतिद्वन्द्विता गर्ने व्यक्ति पनि लिम्बू नै थिए । उनको नाम विष्णुकुमार लिम्बू थियो । थापासँग कडा प्रतिद्वन्द्विता गरेरै भए पनि एकपटक लिम्बू धनकुटा जिल्लाका सभापति भएका थिए । त्यसपछि पञ्चायतकालभर कुनै पनि लिम्बूहरु जिल्ला सभापति बन्न सकेनन् । बहुदलीय व्यवस्था आएपछि भने थापाको राजनीति क्रमशः ओरालो लाग्दै गरेको अवस्था थियो ।
२०४८ सालको चुनावमा एमालेका नपत्याउँदो उम्मेदवार गोपाल गुरागाईंले समेत थापालाई हराइदिए । यसैगरी २०६४ सालको संविधानसभाको चुनावमा त झन् एमाओवादीका ठेट्ना उम्मेदवार हरि खेवाले पनि थापालाई नराम्ररी हारको स्वाद चखाइदिए । उनको जीवनका ती हारहरु उनको व्यक्तित्व र लोकप्रियतामा आएको ह्रासभन्दा पनि राजनीतिक परिवर्तनहरुले ल्याएको धमिलो बाढी होलान् सायद । पछिल्लो समयमा उनले धनकुटा जिल्ला नै बिर्सिसकेका आफ्ना छोरालाई चुनाव लडाएर जिताउनुले उनको व्यक्तित्वप्रतिको लोकप्रियता कायमै रहेको झल्काउँदछ ।
थापासँग लिम्बूहरुको अन्तर्द्वन्द्व खासगरी २०२१ सालदेखि हो, जुन सालमा राजा महेन्द्रले भूमिसम्बन्धी ऐन जारी गरेर जिमिदारी प्रथाका साथै किपट प्रथा पनि उन्मूलन गरे । थापा भूमिसम्बन्धी ऐन जारी गर्ने निर्णायक व्यक्ति नभएता पनि उनी एक सूत्रधार थिए । त्यसको योजनाकार तत्कालीन वामपन्थी नेता डिपी अधिकारी थिए । यो ऐन लागू गर्न २०२२ सालमा थापाको प्रधानमन्त्रीत्वमा मन्त्रिमण्डल बन्यो र त्यो मन्त्रिमण्डलमा भूमिसुधारका योजनाकार डिपी अधिकारी भूमिसुधार मन्त्री बने ।
लिम्बूवानका किपटीया लिम्बूहरुले भूमिसुधारका कार्यक्रमहरु अवरोध गरे । त्यसपछि नाम चलेका हर्ताकर्ता लिम्बूहरुलाई नै भूमिसुधार अधिकारी बनाइयो । त्यस बेला भूमिसुधार अधिकारी बनाइएका बिबी सुब्बा लावती, तिलबहादुर लक्सम र मानबहादुर जवेगुमध्ये दुई जनाले पहिल्यै वैकुण्ठ यात्रा गरिसकेका छन् भने जवेगु हालसम्म जीवितै छन् ।
लिम्बूहरुलाई नै भूमिसुधार अधिकारी बनाइएपछि किपटीया लिम्बू र सरकारी लिम्बू हाकिमहरुबीच घनघोर द्वन्द्व उत्पन्न गराइयो । सरकारी हाकिमहरुसँग पुलिस र सेनाजस्ता सरकारी संयन्त्रको साथ सहयोग थियो भने किपटीयाहरुसँग ऐतिहासिक कागजी दस्तावेजबाहेक केही थिएन । लिम्बूहरुले लिम्बूहरुसँगै लडाइँ गर्नुपर्ने अवस्था आयो । त्यस बेला लिम्बूहरु कमजोर हुँदै गएपछि सूर्यबहादुर थापाले बोलेको हुनुपर्छ, “लिम्बूहरुको छाला काडेर जुत्ता लगाउने छु ।”
वास्तवमा छाला भनेको भूमि हो । किपट प्रथाअन्तर्गत किपटीया लिम्बूहरुको एकलौटी वंशजको आधारमा सामुदायिक स्वामित्वमा रहेको भूमिलाई कानुन बनाई अरु जातिलाई सजिलै हस्तान्तरण हुनसक्ने बनाइएपछि लिम्बूहरुको छाला काडिएकै हो । सूर्यबहादुर थापाले आफ्नो वादा पूरा गरेर किपटीया लिम्बूहरुको रैतीबाट मुक्त भएर शासक बन्न सफल भए । उनको त्यो जित भनेको लाखौं मानिसको नरसंहार गरेर जितेको लडाइँभन्दा कम छैन । हो, मलाई लाग्छ, एउटा नामुद किपटीया सुब्बाका सन्तान भएका हुनाले पद्मसुन्दर लावतीले थापासँग पुरानो तुष बोकेको पनि हुनसक्छ । थापा जतिसुकै शक्तिमा भएको बखत पनि उनले थापासँग सम्झौता गरेनन् । बरु समयअनुसारको प्रतिद्वन्द्विता नै जारी राखे ।
खुकुछिन्ताङ काण्ड भनेको वामपन्थी विरुद्धको दमन हो । एक समय त्यो काण्डको विषयमा घण्टौं भाषण गरेर मानव संवेदना जित्न अभ्यास गर्ने कमरेडहरु अहिले नेपाल कम्युनिस्ट पार्टीका विभिन्न नामबाट सत्ता र शक्तिमा विराजमान छन् । आज त्यो काण्डका नाइकेले वैकुण्ठ यात्रा गरिरहँदा उनीहरु आफ्नो अभिभावक गुमाएकोमा शोकमग्न छन् । अब छिन्ताङ काण्ड राजनीतिक रोगन पखालेर त्यो जातीय संहारमा रुपान्तरण भइसकेको छ । त्यो काण्डमा सहादत प्राप्त गर्ने कोही पनि सरकारी खातामा सहिद दर्ज भएका छैनन् । छिन्ताङ काण्डलाई राजनीतिको भरेङ बनाएर सत्तारोहण गर्ने कमरेडहरु अहिले त्यस बेला सहादत प्राप्त गर्ने सहिदहरु भन्दा आजबाट वैकुण्ठ यात्रामा पदार्पण भएका सूर्यबहादुर थापालाई कसरी कालजयी बनाउन सकिन्छ, त्यता लाग्नेछन् ।
त्यसकारण आफ्नो जातीय, ऐतिहासिक, भाषिक तथा सांस्कृतिक उत्पीडनको मुक्तिबाहेक अन्य भावनात्मक कुरामा दौडधुप गरेर गैरसमुदायको भजनण्डलीमा समावेश भएर आत्मोत्सर्ग गर्नु फोगटीया लगानी र बलिदान मात्र हुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण खुकुछिन्ताङले देखाएको छ । त्यसबेला सहिद भएकाहरुको सन्तानहरु आज जतिसुकै प्रताडित भए पनि सहिद बनाउन उक्साहट गर्ने कामरेडहरु अब आएर सहिद बनाउने थापाकै भजन गाउने छन् र उनलाई सहज वैकुण्ठ यात्राको मार्गप्रशस्त गराउन दिल र दिमागले लागिपर्ने छन् । पानीभन्दा रगत बाक्लो हुन्छ भनेको यही हो । मानसिक दासताबाट मुक्त भएर आत्मसम्मान, स्वाभिमान र स्वतन्त्रताका लागि अब लड्ने प्रण गरौं । त्यसपछि मात्र छिन्ताङका सहिदहरुको आत्माले शान्ति पाउने छन् । अहिलेलाई वैकुण्ठमै थापासँग छिन्ताङका सहिदहरुले हिसाबकिताब मिलाउन सकून् भनी प्रार्थना गरौं ।
जय लिम्बूवान !!!
फेसबुकबाट ।
यो लेख www.esamata.com बाट साभार गरिएको हो।  

====================

सूर्यबहादुर कसरी भए बाबुरामका अभिभावक ?!


कुमार अमरेन्द्र




सूर्यबहादुर कसरी भए बाबुरामका अभिभावक ?!‘नेपाली राजनीतिका एक शीर्ष व्यक्तित्व पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आकस्मिक निधनसँगै नेपाली राजनीतिको एक युगको अन्त्य भएको छ । उहाँको निधनले देशले एक कुशल नेता गुमाएको छ भने मैले असल मित्र र भरपर्दो अभिभावक गुमाएको छु ।’
उक्त भनाइ हो, पूर्वप्रधानमन्त्री तथा एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईको । उनले आफ्नो फेसबुक पेजमा यस्तो स्टाट्स लेखेपछि त्यसको तीव्र आलोचना भयो । खासगरी वामपन्थी सोच भएका सचेत नागरिकदेखि एकीकृत माओवादीकै नेता तथा कार्यकर्ताले भट्टराईको शब्द श्रद्धाञ्जलीप्रति अत्यन्तै रोष तथा असहमति प्रकट गरे ।
एमाओवादीसम्बद्ध वाइसीएलका उपत्यका इन्चार्ज रामप्रसाद सापकोटा उर्फ दीपशिखाले डा. भट्टराईको स्टाट्सविरुद्ध फेसबुकमै तीव्र प्रतिक्रिया जनाए । उनले एउटा अनलाइन पत्रिकामा ‘दिवगंत थापा र स्खलित माओवादी नेता दुवैमा समवेदना’ शीर्षकमा लेखै लेखेर उनीमाथि घोर दक्षिणपन्थ तथा विसर्जनवादको आरोप लगाए ।
यस्तै, एमाओवादीनिकट विद्यार्थी संगठनका निवर्तमान उपाध्यक्ष जागृत रायमाझीले सूर्यबहादुर थापामाथि गरेको ‘कमेन्ट’ पनि खुब चर्चित रहयो । ‘मृत्युको सत्य सम्झेर अरु कोही पञ्चायत, पिस्कर वा छिन्ताङको नेता नबनोस्’ भन्ने भावसहितको टिप्पणी उनले फेसबुकमा लेखेका थिए ।
थापाको निधन हुँदा नेपाली राजनीतिको एक युगको अन्त्य भएको, देशले कुशल नेता गुमाएको तथा आफूले एक असल मित्र र भरपर्दो अभिभावक गुमाएको भन्ने भट्टराईको धारणाप्रति लगभग सबै माओवादी पार्टीका युवा तथा विद्यार्थी नेताको तीव्र असहमति थियो । कम्युनिस्ट आन्दोलनविरुद्ध जसले पटक पटक गरी छिन्ताङ, पिस्कर र दोरम्बा काण्डजस्ता नरसंहार मच्चाए, त्यही नेतालाई कुनै अमुक कम्युनिस्ट वा वामपन्थी नेताले अभिभावक, कुशल नेता र असल मित्र देख्नु गम्भीर दृष्टिदोष भएको उनीहरुको प्रतिक्रिया थियो ।
सबभन्दा ठूलो दुर्भाग्य के हो भने सूर्यबहादुर थापा लगभग ६० वर्ष नेपाली राजनीतिमा सक्रिय रहे पनि नेपाली जनताको पक्षमा भएको कुनै पनि राजनीतिक परिवर्तनमा उनको साथ रहेन । उनको राजनीतिक योगदानको मूल्यांकनै नगरी सार्वजनिक जीवनमा पाएको फगत सफलताको आधारमा सरकारले गिरिजाप्रसाद कोइराला र रामराजाप्रसाद सिंहकै कोटिको राखेर राजकीय सम्मानका साथ अन्त्येष्टि गर्नु अर्को विडम्बना हो ।
राजनीतिक सफलताकै आधारमा मृत्युउप्रान्त सरकारले राजकीय सम्मान दिने हो मरिचमान सिंह पनि त्यो सम्मानको कम हकदार थिएनन् । सूर्यबहादुर थापा त व्यवस्था परिवर्तनसँगै राजनीतिक चोला बदलिरहने कुख्यात अवसरवादी भएको सर्वविदितै छ । तर राजतन्त्र र पञ्चायती व्यवस्थाप्रति आफ्नो आजीवन निष्ठालाई मरिचमान सिंहले कहिल्यै डगमगाउन दिएनन् । त्यस हिसाबले पनि सूर्यबहादुरको व्यक्तित्वभन्दा मरिचमानको चरित्र अवश्य नै उच्च थियो भन्ने विचारलाई पनि बेवास्ता गर्न सकिँदैन ।
सार्वजनिक जीवन र त्यसमा पनि राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तित्वको निधनका बेला जनता र समाजलाई केन्द्रमा राखेर उसका गुण दोषको समीक्षा हुने परम्पराको सुरुवात भएको छ । गणतन्त्र स्थापना भएपछि त्यो समीक्षाको सुरुवात गिरिजाप्रसाद कोइरालाको निधनको बेला भएको थियो । सूर्यबहादुर थापाको निधनको बेलासम्म आउँदा त्यो परम्पराले स्पष्ट परिपक्वता प्राप्त गरेको छ ।
त्यही परिपक्वताले नै होला, राज्य, सरकार र केही केन्द्रीय राजनीतिक नेतृत्वले थापाको जति नै जयजयकार गरे पनि बहुसंख्यक नेपाली जनतादेखि नेता, कार्यकर्ता, पत्रकार, बुद्धिजीवी तथा सचेत नागरिकसम्मले थापालाई इतिहासको कठघरामा उभ्याए । त्यसको नमुना व्यावसायिक सञ्चारमाध्यममा मात्र होइन, आमसञ्चारको हस्तक्षेपकारी माध्यम बन्दै गएको सामाजिक सञ्जालमा समेत देख्न पाइयो । फेसबुक र ट्युटरजस्ता सामाजिक सञ्जालमा समेत उनको राजनीतिक व्यक्तित्व, चरित्र र योगदानबारे खुलेरै छलफल र बहस जारी छ ।
त्यस बहस र छलफलमा राजनीतिक परिवर्तनको सन्दर्भमा २०४७ सालभन्दा अगाडि बढ्न नचाहने केही पत्रकार, बुद्धिजीवी, लेखक, समाजसेवी र नेताबाहेक अधिकांशले थापाको राजनीतिक चरित्र र योगदानमाथि प्रश्न उठाए । यसरी प्रश्न उठाउनेमा औपचारिक राजनीतिमा नलागेका सबै वर्ग र समुदायका सचेत युवाको संख्या उल्लेखनीय र आश्चर्यजनक थियो ।
दैनिक पत्रिका र अनलाइन मिडियामा छापिएका प्रगतिशील साहित्यकार संगीतश्रोतादेखि वरिष्ठ पत्रकार किशोर नेपालसम्म, वामपन्थी लेखक झलक सुवेदीदेखि कान्तिपुर दैनिकका पत्रकार हरिबहादुर थापाको समीक्षात्मक लेखले समेत फगत व्यक्तिगत सफलताको आधारमा मात्र अब कुनै सार्वजनिक व्यक्तित्वको महानताको मापन नहुने स्पष्ट संकेत दिएको छ ।
एउटा अनलाइन डा. उत्तमबाबु श्रेष्ठले लेखै लेखेर विकसित देशको उदाहरण पेस गर्दै नेपालमा पनि अब कुनै राजनीतिक व्यक्तिको समग्र जीवनको मूल्यांकन व्यक्तिगत सफलताको आधारमा नभई सार्वजनिक योगदानको आधारमा हुनुपर्ने जबर्जस्त तर्क प्रस्तुत गरेका थिए ।
यसरी, राज्यसत्ता, सरकारी निकाय र केही वरिष्ठ नेताले बक्से पनि सचेत वर्ग र शिक्षित समाजले ‘उच्च निकाय वा ठूला नेताले’ भनेकै भरमा अन्धभक्त भएर जनताले कसैलाई महान् भनेर पुज्ने छैन भन्ने परम्पराको सुरुवात समेत भएको छ ।
www.esamata.com बाट साभार 
======================================================
======================================================
=======================================================



४ बैसाख २०७२ , काठमाडौं ।


पूर्व प्रधानमन्त्री सूर्यवहादुर थापाको निधनमा देशका सबै बिशिष्ठ ब्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गरे । अधिकाँशले उनलाई एक साहसिक, दृढ निश्चयी, समयसँग चल्न सक्ने नेता भनेर चर्चा गरे । यस्तो प्रसंसा गर्ने लाइनमा एमाओवादीका नेताहरु पनि उँभिए ।
एमाओवादीका नेता डा बाबुराम भट्टराईले सूर्यवहादुरलाई एक मित्र र प्रभावशाली नेताकोरुपमा सम्झिए । फेसबुकमा उनको स्ट्याटसमा भने निक्कै धेरै आलोचना देखिए । सूर्यवहादुरको निधनलाई उनले एउटा युगको समाप्ति समेत भने ।
baburam on subatha death

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सूर्यवहादुरलाई प्रसंसा गर्दै सहमतिवाटै संविधान जारी गर्न थापाले पछिल्लो समय खेलेको भूमिकाको खुलेर प्रशंसा गरे । संक्रमणकालिन अवस्थामा थापाको निधनले नेपाली राजनीतिमा उनको अभाव खड्किने उनकोको भनाई थियो ।

Surya Bdr Shraddanjali  (11)




एमाओवादीका नेताहरुले सूर्यवहादुर थापालाई दिएको श्रद्धाञ्जलीले पार्टी भित्र भने चर्को बहस भएको छ । सूर्यवहादुर नायक नभएर खलनायक भएको भन्दै अधिकाँश माओवादी कार्यकर्ताले नेताहरुको आलोचना गरेका छन् । सूर्यवहादुरकै पालमा छिन्ताङ हत्याकाण्ड भएको भन्दै सूर्यवहादुरलाई कतिपयले हत्यारा समेत भनेका छन् ।
Surya bdr and Maobadi 2
२ हजार ३६ सालको कात्तिक २७ गते धनकुटाको खोकु छिन्ताङ गाउँमा १६ जनाको हत्या भएको थियो । सोही हत्याकाण्डका कारण धेरैले सूर्यवहादुरलाई खलनायककोरुपमा चित्रित गर्छन् ।
Surya bdr and Maobadi 3
एमाओवादी पार्टीले सूर्यवहादुरलाई अभिभावककोरुपमा सम्झिएपछि कतिपय कार्यकर्ताले त आफ्ना नेताहरुले सूर्यवहादुरलाई ‘हिरो’ बनाएको भन्दै फेसबुक लगायतका सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
Surya bdr and Maobadi
हुनत निधनपछि सबैको गुण मात्र सम्झिने नेपाली समाजको विशेषता नै हो । तर एमाओवादीमा भने सूर्यवहादुरको निधनले विवाद जन्माइदिएको छ । कार्यकर्ताले सूर्यवहादुरलाई गाली गरेका छन् भने नेताले प्रसंसा ।
Surya bdr and Maobadi 1
Surya bdr and Maobadi 4

यो दोहोरीको प्रभाव सञ्चारकर्मीमाझ समेत देखिएको छ । सञ्चारकर्मीले समेत यो विषयमा बहस गरेको देखिन्छ ।
Surya bdr and Maobadi 5
Surya bdr and Maobadi 7
www.nepaliheadlines.com बाट साभार 

No comments:

Post a Comment