- इतिहासकार पुरुषोत्तमशमशेर राणा गत चैत १५ गते ९० वर्षमा प्रवेश गरे । उनले राणाजीहरूमाथि नै करिब एक दर्जन किताब लेखिसकेका छन् । उनको घरमा करिब १० हजार दुर्लभ तस्बिर छन् ।
पुरुषोत्तमशमशेर राणा |
कुरा हो, २०४७ सालतिरको । इतिहासकार पुरुषोत्तमशमशेर राणा आफ्नो पहिलो किताबलाई लिएर निकै उत्साही थिए । तर, उनको त्यो उत्साह धेरै दिन टिक्न सकेन । काका माधवशमशेरको प्रेरणाले उनी श्री ३ हरूको तथ्य वृत्तान्त लेख्न हौसिएका थिए । त्यसैको केही अंश बनारसबाट छापेर शुद्धीकरणका लागि नेपाल फर्किएका मात्र के थिए, दरबारभित्र उनको पोल लगाउनेको भीड लागेछ । त्यसमा सवैभन्दा अगाडि थिए, राजा महेन्द्रकी रानी रत्नाकी बहिनी (बाबा कान्छी महारानी) का श्रीमान् शाहेबज्यू हरिविक्रम शाह । किताबको एउटा अंशमा रहेछ- श्री ३ जुद्धशमशेरकी आमा मुसलमान थिइन् ।
अब पुरुषोत्तमशमशेरलाई परेछ फसाद । बडामहारानी रत्ना जुद्धकी नातिनी, हरिशमशेरकी छोरी । फेरि हरिविक्रमले लगाएको पोलको विषयमा रत्नाकै मामा चूडाविक्रम शाहले पुरुषोत्तमका अर्का काका धैर्यशमशेर कहाँ पुगेर भनेछन्, 'लौ हजुर ! बित्यास पर्लाजस्तो छ । सजाय हुने हो कि ?'
धैर्यबाट यो कुरा पुरुषोत्तमशमशेरको कानमा पर्न खासै समय लागेन । उनलाई सुरुमा लागेछ, किताब लेखेर बित्थामा जोरी खोजियो कि क्याहो ! १-२ दिन उनी यति तनावमा थिए । राति राम्रोसँग सुत्न पनि सक्दैन्थे । केही दिनपछि उनलाई लागेछ- थुने थुन्छन् । मारी त हाल्दैनन् नि ! अझ, थुनेछन् भने किताब बढी बिक्री होला ।
नेपालीमा एउटा उखान चर्चित छ, 'दरबार र तरबार उस्तै हो' । त्यसैले उनको मनबाट डर त्यत्तिकै किन हराउँथ्यो र ! त्यसैबीच एक दिन उनलाई एउटा 'आइडिया' फुरेछ । लगत्तै उनी हान्निँदै फेरि बनारस उडे । र, विमानस्थलबाट सोझै आफ्नो किताब छाप्न 'अर्डर' गरेको श्रीशंकर मुद्राणलय पुगे । त्यही उनले फाइनल भइसकेको किताबमा फेरि केही अंश थप गर्ने निधो गरे । त्यो थियो- जुना-राजा (रेतेन्द्र शाह) को बारेमा ।
चन्द्रशमशेर श्री ३ हुँदा दरबारभित्र एउटा रमाइलो घटना भएको रहेछ । राजा पृथ्वी वीरविक्रम शाहको रानीबाट सुरुमा छोराको जन्म नभएपछि श्री ३ चन्द्रले एउटा विशेष बैठक बोलाएका रहेछन् । कारण, त्यतिबेला राजाको उत्तराधिकारी छोरा नै हुनुपर्ने कानुन थियो । त्यसैले यस्तो परिस्थितिमा राजा कसलाई तोक्ने भन्ने विषयमा ठूलै बहस भएछ । र, बहसको अन्त्य गर्दै श्री ३ चन्द्रले माहिला साहेबज्यू नरेन्द्रविक्रम (राजा त्रैलोक्यका सहोदर भाइ) का छोरा 'जुना-राजा' लाई बनाउने फैसला सुनाएका रहेछन् । तर, घोषणा भएको केही महिनापछि नै पृथ्वी वीरविक्रमकी रानीलाई एक्कासि बेथाले च्यापेछ । त्यसपछि दरबारमा श्री ३ चन्द्रलगायत सवै जम्मा भए । केही मिनेटपछि नै भित्रबाट खबर आयो, राजकुमार त्रिभुवनको जन्म भयो । यो खबर सुनेर खुसी भएका सबै भाइ भारदार उठेर एकै स्वरमा कराए- श्री ५ युवराजको जय होस् । तर, त्यहीँ उपस्थित जुना-राजा भने यो खबरबाट खुसी हुन सकेनन् । केही समयअघि आफूलाई राजा बनाउने निर्णय गरेका राणा महाराजहरूको अगाडि उनले आफैंले आफैंलाई लोप्पा ख्वाउँदै भने- लु खा । त्यो घटनाका प्रत्यक्षदर्शी पुरुषोत्तमशमशेरका हजुरबुवा रुद्रशमशेरले उनलाई किशोर अवस्थामा भनेका रहेछन् । दरबारमा आफ्नो पोल लगाउन जाने हरिविक्रम तिनै जुना-राजाका नाति थिए । अब पुरुषोत्तमशमशेरलाई चाहियो के ! रिसको झोंकमा उनले प्रकाशोन्मुख आफ्नो किताबमा त्यो अंश पनि घुसाइदिए ।
'अहिले पनि मलाई यो घटना सम्झँदा निकै आनन्द लाग्छ,' कुनै बेला नेपालको शक्तिशाली राणाहरूको इतिहास लेखेर चर्चामा आएका इतिहासकार पुरुषोत्तमशमशेर भन्छन् । उनी चैत १५ गते ९० वर्षमा प्रवेश गरे । पिता ईश्वरशमशेरका परिवारभित्रका सदस्यलाई मात्र बोलाएर आफ्नो जन्म दिन मनाएका उनी ठट्टा गर्दै थिए, 'मेरो जिजुबुवा रुद्रशमशेरका १७ भाइ छोराहरू । सबैलाई बोलायो भने टुँडिखेल नै भाडामा लिनुपर्छ ।'
इतिहासका यस्ता थुप्रै घटनाका जानकार पुरुषोत्तमशमशेर कुनै बेलाको प्रभावशाली परिवार -रुद्रशमशेर) को घरमा जन्मिएका थिए । तर, १९९० सालको भुइँचालोसँगै यो परिवार पनि छिन्नभिन्न भयो । त्यही साल श्री ३ जुद्धले उनका हजुरबुवा रुद्रलाई भावी प्रधानमन्त्रीको रोलबाट निकालेर पाल्पा खेदे । पुरुषोत्तमशमशेरको जन्म काठमाडौंको कान्तिपथस्थित चारबुर्जा दरबार (हालको निर्वाचन आयोग) मा भएको थियो । तर, ९ बर्षको उमेरमा उनी पनि आफ्ना हजुरबुवासँगै पाल्पा खेदिएका थिए ।
काठमाडौंमा हुँदा उनको परिवारको शान नै बेग्लै थियो । हजुरबुवा कमान्डिङ चिफ । हरेक दिन घरमा आठ पाथी चामलको भात पाक्ने । फेरि मासु नटुटाई । रुद्रशमशेर निकै पिरो खान्थे । त्यसैले खान बस्दा पुरुषोत्तमलगायत अन्य केटाकेटीले दुईवटा रुमाल अनिवार्य लिएर बस्नुपथ्र्यो । 'एउटा आँसु पुछ्न, अर्को बगेको नाक,' पुरुषोत्तम सम्झन्छन् । मिठो खान रुद्रले त्यतिबेलै बेलायतबाट कुकर झिकाएका थिए । काठमाडौंमा यिनीहरूलाई पढाउन भारतको कोलकाताबाट झिकाइएका अमरबाबु घरमै आइपुग्थे । अमरबाबु त्यतिबेला कहलिएका मास्टर । नपढ्नेलाई बेतको लठीले कुटिहाल्ने । तर, अमरबाबुलाई उनको घरमा पढाउन बोलाउँदा सुरुमै सर्त राखिएको थियो, कुट्न नपाइने । 'त्यही पनि उहाँ रिस उठ्यो भने टेबलमा हाम्रो नाक रगडाउनुहुन्थ्यो,' पुरुषोत्तम भन्छन् ।
पाल्पामा बडाहाकिम भएर धपाउँदा रुद्रशमशेरको शानशौकत काठमाडौंजस्तो थिएन । त्यसैले पुरुषोत्तमको परिवारले निकै दु:ख पायो । अध्ययन पनि बीचैमा छुट्यो । तर, लामो समय पाल्पामा बस्ने क्रममा डाक्टर रोबर्ट फ्लेमिङ भन्ने एकजना गोरा मार्फत रुद्रशमशेरलाई अफर आयो- नातिहरूलाई देहरादुनको उडस्टोकमा अध्ययन गराउने । यसका लागि रुद्रले श्री ३ जुद्धसँग स्वीकृति पनि मागे । तर, काठमाडौंबाट जुद्धको पत्र गयो- त्यत्रो पैसा खर्च गरेर किन पठाउनुपर्यो । बरु त्यहीं शिक्षक बोलाएर पढाए भइहाल्यो नि ।' यसपछि रुद्रले आफ्ना नातिहरूलाई नेपालगन्ज पठाए ।
'राज र मेघराज (ठूलो) बुवा त्यही हुनुहुन्थ्यो । त्यसैले ३ देखि ७ सम्मको अध्ययन बहराइच हाइस्कुलमा गर्यौं,' उनी भन्छन् । उनी यही अध्ययनरत रहँदा दोस्रो विश्वयुद्ध सुरु भयो । फेरि मेघराजशमशेरका छोरा विभुको लखनउमा एकजना मुसलमानले चक्कु हानेर हत्या गर्यो । त्यसपछि पुरुषोत्तमशमशेरको अध्ययनमा फेरि विराम लाग्यो । 'हामी फेरि पाल्पा फर्कियौं,' उनी सम्झन्छन् । मंसिर, पुस, माघ र फागुनमा तराईमा औलो नलाग्ने हुनाले त्यतिबेला एउटा चलन थियो, ४ महिना अड्डा बुटवल सार्ने । त्यति नै बेला सिकार पनि खेल्ने । फेरि रुद्रलाई सिकारको निकै सोख थियो । हजुरबुवाको पछि लाग्दालाग्दै पुरुषोत्तम कति बेला सिकारी बने उनलाई नै थाहा भएन ।
'मलाई लाग्छ, हाम्रो परिवार त्यहाँ बस्दा ३ सय बाघ मारियो होला । त्यसमा त्रिवेणीको किनारमा मैले मारेको १० फिट ११ इन्चको बाघ सबैभन्दा ठूलो थियो,' उनी भन्छन् । पाल्पामै बस्दा उनले धेरैपछि डाक्टर मजुमदारको भाइसँग घरमै अध्ययन गर्ने मौका पाए । यसैको आधारमा उनी ०७ सालअगाडि बनारसमा अध्ययनका लागि पुगेका थिए । तर, सिकारको लतमा चुर्लुम्म डुबेका उनी चाँडै पाल्पा फर्किए । कारण, उनले बनारसमा अध्ययन गर्ने आफ्नो कलेजमा एउटा 'फिक्सिङ' गरेछन् । उनको हाजिर हुने तर, घरमै बसेर पढ्न पाउने । परीक्षा दिन भने बनारस नै पुग्नुपर्ने । 'यो मिलाउन मलाई ५ हजार रुपैयाँ खर्चिनुपरेको थियो,' उनी सम्झन्छन् ।
आईएस्सी अध्ययन पूरा गरेर बनारस विश्वविद्यालयमा बीकममा भर्ना भएकै साल नेपालमा आन्दोलन सुरु भयो । त्यसपछि उनी अध्ययन छोेडेर आन्दोलनमा होमिए । 'मैले नेपाली कांग्रेसले क्रान्तिको लाइन पास गरेको बैरगनिया सम्मेलनमा भाग लिँदै भाषण पनि गरेको छु,' उनी भन्छन् ।
०७ सालको आन्दोलन सफल भएपछि आफ्ना पिता ईश्वरशमशेरसँगै पुरुषोत्तम पनि काठमाडौं प्रवेश गरेका थिए । 'त्यतिबेला हाम्रो हालत सुकुम्बासीजस्तै थियो । काठमाडौंमा बस्ने ठाउँ पनि थिएन,' उनी सम्झन्छन् । २००८ सालमा राजा त्रिभुवनले आफ्नै पिता वीरशमशेरले बनाउन लगाएको सेतो दरबार बस्नका लागि रुद्रशमशेरलाई नदिँदासम्म पुरुषोत्तमशमशेर कहिले जुद्धशमशेरकी छोरी मिश्री फुपू त कहिले प्रचण्डशमशेर कहाँ बस्थे । भीष्मशमशेरको थापाथली दरबारमा त भाडा तिरेरै बस्नुपर्यो ।
'०७ सालको क्रान्तिपछि सूवर्णशमशेर र महावीरशमशेरले आफ्नो दरबारको मुआब्जा पाए । तर, हामी (रुद्र) ले २ पल्ट सर्वस्वहरण हुँदा पनि गुमेको जग्गा-जमिनको कुनै मुआब्जा पाएनौं,' उनी दु:खेसो पोख्छन् ।
उनले जीविकोपार्जनकै लागि २०१६ सालमा सेतो दरबारमा इप्पेरियल होटल र टुरिस्ट कर्नर खोले । त्यतिबेला राणाजीको सन्तान भएर होटल खोल्ने भनेर उनलाई होच्याउनेको पनि कमी थिएन । 'तर, मैले भारतीय र नेपालीलाई कोठा दिइनँ । भारतीयहरू धोती सुकाएर हैरान पार्थे । नेपालीहरू केटी ल्याएर,' उनी भन्छन् । त्यतिबेला उनको होटलमा विदेशी मात्र आउँथे । त्यसमध्ये पनि धेरैजसो हिप्पीहरू । 'गाडीमै चरेस बोकेर जान्थे ।' १२ वर्ष होटल चलाउने क्रममा उनी यति दिक्क भएछन्, पछि होटल नै बेचिदिए ।
त्यसपछि उनी लेखनतर्फ आकषिर्त भए । 'मेरो सानैदेखिको बानी थियो । कुरा ज्यादा गिजल्नुपर्ने । जिजुबुवा (रुद्र) ०१९ सालमा मर्नुअघिसम्म परिवारको कुरा सोधिरहेको हुन्थे,' उनी भन्छन्- फेरि श्री ३ चन्द्रका छोरा सिंहशमशेर बुवालाई भेट्न आइरहनुहुन्थ्यो । प्रचण्डशमशेर बिस्तारै बोल्ने तर सविस्तार बताउने । नरराज बुवा पनि इतिहासका विषयमा चाख राख्नुहुन्थ्यो । अझ, माधव बुवा मलाई लेख्न उकास्नुहुन्थ्यो ।
अहिले पुरुषोत्तमशमशेरले राणाजीहरू माथि नै करिब एक दर्जन किताब लेखिसकेका छन् । अझ उनको घरमा करिब १० हजार दुर्लभ तस्बिर छन् । उनलाई २ वर्षअघि चिकित्सकहरूले आँखामा ज्यादा दबाब नदिन र पुस्तकको काम नगर्न सुझाव दिएका थिए । कारण, उनको बायाँ आँखामा 'हेमरेज' भइसकेको छ । तर, उनी आफ्नो जीवनप्रति सन्तुष्ट छन् । भन्छन्, 'म साहित्यकार होइन । इतिहासकार हुँ । एउटा इतिहासकारले अनुसन्धान गरेर लेख्ने सबै कुरा मैले लेखिसकेको छु ।' उनलाई दु:खेसो एउटै छ, आफूलाई होटल व्यवसायीबाट इतिहासकार बनाउने काका माधवशमशेरलाई आफ्नो कृति देखाउन पाएनन् ।
www.ekantipur.com बाट साभार प्रकाशित मिति: २०७१ चैत्र २१
No comments:
Post a Comment