मल्लकालीन कोश
दुई सय वर्षभन्दा अगाडिको नेपाल भाषा कस्तो थियो होला ? मल्लकालको अन्त्यतिर चलनचल्तीमा रहेको बोलीचालीको भाषा कस्तो हुँदो हो ? त्यति बेलाका शब्द अहिले पनि उत्तिकै प्रयोगमा छन् अथवा हराएर गए ? 'अ डिक्सनरी अफ नेवारी ल्याङग्वेज : विथ ग्लोसरी इन इटालियन १७९२' हालै सार्वजनिक भएको छ र माथिका प्रश्नको उत्तरमा यसमा हुन सक्नेछ ।
त्यसो त यो सर्वसाधारणका लागि प्रयोगमा आउने शब्दकोश होइन । वज्र बुक्सले प्रकाशन गरेको यस पुस्तकको मूल्य नै २५ हजार रुपैयाँ छ । शब्दकोशलाई लिएर भाषाविज्ञ तेजरत्न कंसाकार कति उत्साहित छन् भने उनी यसलाई लिएर लगभग भन्छन्, 'अपूर्व' । 'यो शब्दकोश बाहिर आएको छ, त्यो नै ठूलो हो । अब त्योभन्दा ठूलो हो, यसलाई लिएर बाँकी रहेको काम,' ७६ वर्षीय प्राध्यापक कंसाकार भन्छन् ।
उनका अनुसार अब यो शब्दकोशमा केन्दि्रत भएर इतिहासकार र भाषाविज्ञले मात्र नभएर ऐतिहासिक शब्दका विज्ञले काम गर्नुपर्नेछ । जुन चुनौतीपूर्ण छ । र, यसबाट निस्कनेछ, अपूर्व जानकारीहरू । खासमै 'अ डिक्सनरी अफ नेवारी ल्याङग्वेज : विथ ग्लोसरी इन इटालियन १७९२' के हो त ? जान्न हामी दुई शताब्दी पछाडि र्फकनुपर्ने हुन्छ ।
अठारौं शताब्दीको सुरुतिर हुनुपर्छ, रोमन क्याथोलिक चर्चलाई तत्कालीन नेपाल र तिब्बतलाई लिएर प्रबल कौतूहल थियो । यो हिमालय क्षेत्र कस्तो छ त ? इसाई धर्मको प्रचार यहाँ सम्भव हुन सक्छ त ? उनीहरू यस क्षेत्रमा विद्यमान हिमाली बौद्ध धर्म कस्तो छ, त्यो जान्न इच्छुक थिए । त्यसो त इसाई धर्मको प्रचारका लागि नेपालमा मिसनरीहरू निस्केको आफ्नै लामो इतिहास छ ।
सन् १६२८ तिर नै इसाई धर्म प्रचारक नेपाल आइपुगेका थिए । काठमाडौंमा जगज्योति मल्लको पालामा पोर्चुगाली जेवा ग्रेवाल नेपाल आएको मानिन्छ र उनी नै काठमाडौंमा पाइला टेक्ने पहिलो युरोपेली मानिन्छ । यो क्रम मल्लकालको अन्त्य र पृथ्वीनारायण शाहको उदयसम्म चलिरह्यो । प्रताप मल्लको पालामा आएका यस्तै धर्म प्रचारकले उनलाई दुरविन उपहार दिएर मख्ख पारेका थिए ।
केपुचिन समुदायका धर्म प्रचारकको भने नेपाली इतिहासमा विशेष स्थान छ । केपुचिन धर्म प्रचारकहरूको जन्म इटालीमा भएको थियो, तर त्यसमध्ये विरलै मात्र आफ्नो देशमा र्फके । अधिकांशको मृत्यु एसियाका दुर्गम कुनाकाप्चामा भयो । सन् १७०७ मा केपुचिन धर्म प्रचारकले पहिलोपल्ट नेपाल आइपुगेको मानिन्छ । यसपछि यो क्रम सय वर्षसम्म चलिरह्यो ।
उनीहरूलाई किन विशेष मानिएको छ भने त्यसमध्ये केही धर्मप्रचारले नेपालमा बिताएको अनुभव र यहाँको परिस्थितिलाई व्याख्या गर्दै रोममा रहेका आफ्ना ठूला धर्मगुरुलाई पत्र लेख्थे, जुन इतिहासका लागि महत्त्वपूर्ण स्रोत रहँदै आएको छ । केपुचिन धर्मप्रचारक एक अर्थमा असफल पनि रहे । किनभने, तिनीहरूले नेपालमा आफूले सोचेजस्तो धर्म प्रचार गर्न सकेनन् ।
दुई सयको हाराहारीले मात्र आफ्नो परम्परागत धर्म छाडेर इसाई धर्म अपनाए । त्यति बेला यति मजुबत थियो, धर्मलाई लिएर नेपाली समाजको सोच । तर, धर्म प्रचारका लागि यी केपुचिनहरूले अपनाएको एउटा उपाय थियो, स्थानीय भाषा सिक्ने र त्यसकै मदतले समाजसँग घुलमिल गर्ने । यसैमा अगाडि थिए, यस्तै धर्म प्रचारमध्येका एक जियान ग्वालबेर्टो डी मासा । र, यिनैले तयार पारेका हुन्, यो शब्दकोश ।
जति बेला डी मासा नेपालमा थिए, त्यस बेला मल्ल राजाहरू एकआपसमा कलहमा अल्झेका थिए र यसैले पृथ्वीनारायण शाहलाई काठमाडौं उपत्यका जित्न सजिलो बनाएको थियो । मल्ल राजाहरू धेरै हदसम्म यी इसाई धर्म प्रचारकहरूप्रति उदार थिए । मल्ल राजाले इसाई धर्म प्रचारकलाई खुला रूपमा काम गर्न छुट दिएका थिए । यसबीच डी मासाले लामै समय काठमाडौंमा बिताए ।
उनले यहाँको भाषा र समाजको गहन अध्ययन गरेको हुनुपर्छ । त्यसैले त शब्दकोश तयार पार्न सफल रहे । उनी वास्तवमै को हुन त ? यसबारे पनि इतिहासमा धेरै तथ्य पाइन्न । उनको वास्तविक नाम भने एन्जेलो निकोला मिटी थियो । सन् १७२९ मा उनको जन्म भएको थियो र उनी किशोर अवस्थामै केपुचिन परम्परासँग जोडिए । उनको खास बसाइ भने पाटनमा भएको अनुमान गरिन्छ ।
पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका जितेपछि यी धर्मपचारक र इसाई धर्म अपनाएका सबैलाई देश निकाला गरे । डी मासा र उनका अनुयायी भारतको बेतियातर्फ लागे । बेतियामै केही समय बिताएपछि उनी इटाली फर्के, सन् १७८० तिर । त्यसपछि के भयो, त्यो अज्ञात छ । डा. कंसाकार के मान्छन् भने सम्भवत: डी मासाले नेपाल भाषाको व्याकरण पनि लेखेका थिए । त्यो पछि नष्ट भएको हुन सक्छ ।
सायद उनले नेपाल छाड्दा त्यसलाई आफूसँग लग्न सकेनन् । उनले शब्दकोश भने रोमसम्म भने पुर्याए । 'त्यो समय आफू स्वयं र यो शब्दकोश कसरी नेपालबाट रोमसम्म पुग्यो होला, त्यो अनुमान मात्र गर्न सकिन्छ,' कंसाकार मान्छन् । लामो समय यो शब्दकोश रोममै अज्ञात स्थितिमा रह्यो । रोमकै धर्मप्रचारकबीच कतिसम्म जानकारी थियो भने यस्तो शब्दकोश तयार भएको छ, जुन नेपालबाट रोम आएको छ ।
भाग्यले यो रोमको केपुचिन संग्रहालयमा थियो र सन् १९२५ तिर सार्वजनिक रूपमा प्रदर्शनमा पनि राखिएको थियो । यो शब्दकोशको आकार लगभग ठूलो आकारको सन्दुक बराबर छ । नेपाली कागजमा कालो मसीले लेखिएको छ र यसमा स्पष्ट रूपमा यसका लेखक डी मासा हुन भनिएको छ । संयोग कस्तो भने त्यही केपुचिन संग्रहालयमा यसलाई कुनै दिन अमेरिकी विद्वान् थियोडर रिकार्डीले भेट्टाए ।
यी भारतीय उपमहाद्वीपका विशेषज्ञ तथा कोलम्बिया विश्वविद्यालयका प्रोफेसरलाई त्यसको महत्त्व बुझ्न गाह्रो भएन । उनले लामै समयको मिहिनेतपछि यसलाई पुस्तकको आकार दिएका छन्, आवश्यक सम्पादनपछि । रिकार्डी त्यस्ता विद्वान् हुन, जसलाई नेपालबारे पनि राम्रो ज्ञान छ, यहाँको भाषा र लिपिबारे पनि उनी राम्रो जानकार राख्छन् । नेपाली विद्वान्वृत्तमा उनी लोकपि्रय पनि छन् ।
यस शब्दकोश, केपुचिन धर्मप्रचारक र डी मासाबारे पुस्तकमा लामै भूमिका उल्लेख छ । शब्दकोश पाँच सय पृष्ठभन्दा केही बढी छ र सम्भवत: तीन हजारभन्दा बढी शब्द । डी मासाले जसरी शब्दकोश तयार पारेका थिए, त्यसैलाई लगभग उही स्थितिमा पुस्तकको आकार दिइएको छ । एकातर्फ नेपाल प्रचलित लिपिमा नेपाल भाषाका शब्द छन् भने त्यसको व्याख्या गरिएको छ, इटालीको भाषामा ।
धेरैको के दाबी छ भने नेपालकै यो पहिलो बृहत् शब्दकोश हुनुपर्छ, कुनै पनि भाषाको । अबको चुनौती हो, प्रचलित लिपिमा लेखिएको ती शब्द बुझ्ने र त्यसलाई व्याख्या गरिएको इटाली भाषाको अर्थ खोज्ने । शब्दकोश सावर्जनिक भएको दिन रिकार्डीकी पत्नी इलेन कुनले भनेकी थिइन्- पुस्तक त छापियो, अब यसलाई लिएर गर्नुपर्ने धेरै काम थपिएको छ । यो नै शब्दकोश छापिएपछिको चुनौती हो ।
www.ekantipur.com बाट साभार प्रकाशित मिति: २०७१ चैत्र २१
No comments:
Post a Comment