Saturday, April 4, 2015

थारू जातिको मूलघर कहाँ ? - बाबुराम आचार्य

भारतवर्षमा अंग्रेजी राज्य स्थापना भएपछि संस्कृत भाषा युरोपमा पुगेर उन्नाइसौं शताब्दीका आरम्भमा भाषाविज्ञानको आविष्कार भयो । यसै शताब्दीमा नृशास्त्र (Ethnology) को पनि आविष्कार भयो । यी दुई विज्ञानका आधार लिएर युरोपका विद्वानहरूले युरोप, इरान र भारतका अनेक सभ्य जातिलाई उटै नस्ल वा जातिका सन्तान ठहराएर त्यस मूलजातिको नाम वैदिक वाङ्मयका आधारमा ‘आर्य’ राखेका थिए । अब युरोपीय विद्वान्हरूलाई यो भारतीय नाम व्यवहार गर्न गाह्रो लागेर यसका बदलामा विरोज शब्द व्यवहार गर्न लागेका छन् । यस जातिको मूलघरका विषयमा अन्वेषणको परम्परा निरन्तर चलिरहेको छ । तर ठेगान केही लागेको छैन । यो अन्वेषणको सिलसिला प्रत्येक सभ्य जातिमा फैलिएको छ । असभ्य अवस्थामा रहेका छोटामोटा जातिहरूले आफ्ना परिवारको र आफ्ना मूलघरको पत्ता लगाउन नसकेता पनि सभ्य जातिका विद्वान्हरूले पत्ता लगाइदिने कृपा गरेका छन् । यस नियमअनुसार उत्तर प्रदेश र विहारका उत्तरपट्टि हिमालयका तराईमा रहेका थारूहरूको मूलघर र जातिका विषयमा पनि खोज आरम्भ भएको छ । यस विषयमा केही युरोपीय र भारतीय सज्जनहरूले कलम चलाएका छन् । यसै पत्रिकाका पहिला अंकमा सम्पादकज्यू ईश्वर बरालको एक लेख प्रकाशित भएको छ । यसै सिलसिलामा आफ्नो विचार पनि प्रकाशित गर्न अनुचित होइन ।

हिमालयका सबभन्दा होचा र तेस्रा सिलसिलामा चुर्या र सिवालक नामक दुई पहाड नेपालमा रहेका छन् । पहिलो पहाड नेपालभित्रै खतम हुन्छ । दोस्रो पहाड नेपालको पश्चिम सिमानाको महाकाली नदी नाघेर पनि पश्चिमतिर लागेको छ । यिनै दुई पहाडका आसपासमा मंगोलक रंगरूप र आर्य भाषा लिएर थारूहरू रहेका छन् । यिनको जनगणना राम्ररी नभएको हुनाले तथ्यांक दिन सकिँदैन, तापनि नेपालका सिमानाभित्र यिनको संख्या दश लाख जति र सिमानाबाहिरका वस्तीहरूमा अढाइ लाख जति भएको अनुमान गरिन्छ । यिनीहरूलाई मंगोलक भन्नको मतलब मंगोल देशबाट आएका हुन् भन्ने होइन, मंगोलको जस्तो रंगरूप र चेहरा देखिएको हुनाले मंगोलक कहिएको हो । हिमालयका अरु भागमा पनि यस्ता मंगोलक रंगरूप भएका सयौं जात छन् । तर तिनको बोली आर्य भाषाका छैनन् । किरात भाषा वर्गका छन् । यस हिसाबले थारूहरूको पनि इतिहासकालका आरम्भमा किरात भाषाका बोलीहरूमा रहेको र आर्य जातिका मानिसहरू आएर सहवास गरेपछि किरात बोलीलाई छोडी आर्य भाषाका बोलीहरू ग्रहण गरेको अनुमान हुन्छ । यस्ता घटना इतिहासका पृष्ठहरूमा बराबर देखिन्छन् । एक सानो घटना नेपालमै घटिरहेको छ । नेपालका पहाडखण्डभित्र लमजुंग दुराडाँडा किरातवर्गको एक बोली बोल्ने दुरा जातको सानो तर बहुतै पुरानो आवादी छ । अचेल त्यहाँका दुराहरूमा चालीस वर्षको उमेर नाघेका प्रौढ र वृद्धहरूमात्र आफ्नो पुरानो बोली जान्दछन् । नवयुवक नवयुवतीहरूले पुरानो बोली भुलेर नेपालीमात्र बोल्न लागेका हुनाले अब पच्चीस वर्षभित्रमा साहित्य नभएको यो बोली निर्मूल हुने निश्चय छ ।
थारूका प्रसंगमा रौतहटदेखि पश्चिमका तराईमा र मकवानपुर र चितौनका भाँवरमा रहेका दनुवार जातिको पनि चर्चा यहाँ गर्नु परेको छ । यिनको जनसंख्या आधा लाखभित्रै होला । रंगरूप र भाषामा थारूसँग अन्तर छैन । पेसामा अलिकति अन्तर छ । थारूहरू केवल खेती गर्दछन् । दनुवारहरूको खेती कम र माछा मार्ने काम ज्यादा हुन्छ । नाउ खियाउने काम पनि गर्दछन् । वागमतीका तीरैतीर माछाका खोजमा उत्तरपट्टि बसाइँ सर्दै आएका दनुवारहरूद्वारा नै नेपार जातमा आर्य–सभ्यताको प्रकाश फैलंदा नेपाल राष्ट्रको जग बसेको होला भन्ने मेरो अनुमान छ । अब उपत्यकाभित्र ता यिनीहरूका बस्ती रहन पाएका छैनन् । तर उपत्यकावरिपरि यिनका क्षुद्र गाउँहरू बसेका छन् । अझसम्म तराईको विकृत भाषा बोल्दैछन् जसमा भोजपुरी बोलीका साथ मगहीको पनि तरंग देखिन्छ ।
मोरङमा थारूजस्तै धिमाल नामक एक मंगोलक जात रहेको छ । तर यो जात किरात वर्गको सार्वनामिक बोल्दैछ । थारूसँग सामाजिक व्यवहार केही पनि मिल्दैन । यी धिमालहरूले पौराणिक वा बौद्धधर्म नलिएका हुनाले अलग रहेका देखिन्छन् । थारूहरूले प्राचीन युगमा बौद्ध धर्म लिई आर्यसभ्यतामा रंगिदा आर्य–भाषा लिएका र तेह्रौं शताब्दीदेखि उत्तर भारतवर्षका मैदानबाट बौद्धधर्म उठेर गएको हुनाले यिनीहरूले पौराणिक धर्म ग्रहण गरेको अनुमान हुन्छ । यिनमा शिक्षाको प्रचार अत्यन्त कम हुँदा धार्मिक भावना कम रहेको छ । तर सामाजिक भावना प्रबल रहेको हुनाले आपसको सानोतिनो कलह पञ्चायतबाटै फछ्र्याउँछन् । मोरङदेखि लिएर बारासम्म कुचिला थर भएका थारूको संख्या ज्यादा छ । कुचिला शब्दको कोच शब्दसँग सम्बन्ध देखिनाले यिनीहरू एउटै जातका हुन् कि भन्ने तर्कना उठ्न सक्तछ । तर यस विषयमा विशेष अन्वेषणको आवश्यकता छ । पर्सामा लमपुछवा थर भएका थारू रहेका छन् । लमपुछवाको अर्थ ‘लामो पुच्छर भएको’ हुन सक्तछ तर यो अर्थ मनुष्यजातिका निमित्त लाग्न सक्तैन । सायद यसको मूल नामपुछवा (नामप्रच्छक) होला । चितौनमा चिनवनियां थर भएका थारू रहेका छन् । यिनीहरू रामनगर र बेतियाका आसपासमा रहेका छन् । बुटवलमा कठेरिया थारू रहेका छन् । सायद काठको नाम गर्ने हुनाले ‘कठेरिया’ कहिएका हुन् । त्यहाँ दंगोरिया थर भएका थारूहरू पनि छन् जो आफ्नो मूलघर दाङ बताउँछन् । कठेरियाभन्दा दंगोरियाहरू कृषिकर्ममा सिपालु हुन्छन् । यिनीहरू बर्दिया, बाँके, कर्णालीका जिल्लाहरूमा पनि आवाद छन् । कैलालीभन्दा पश्चिमपट्टि कन्चनपुर नामक सीमान्तको जिल्ला छ । त्यहाँ राना थर भएका थारू छन् । सप्तरी, महोत्तरीमा र अन्यत्र तराईमा पनि अरु अनेकथरी थारूका साना साना बस्ती छन् ती सबैको चर्चा यहाँ गरेर साध्य छैन । तैपनि कुमाउका तराईमा रहने बोक्सा थारूलाई भुल्न सकिएन किनभने यसै जातका जनानाका नामबाट बोक्सी शब्द आएर हामीलाई तर्साइराखेको छ ।
थारूहरू आफ्ना बस्तीमा रहेका ब्राहण, रजपूत, कुर्मी आदि आर्य–नस्लका जनलाई बाजी भन्छन् । प्राकृत भाषाको बज्जि शब्द विकास भएर बाजी शब्द बनेको स्पष्ट छ । ईस्वी सम्वत्भन्दा पहिलेका छैठौं शताब्दीमा उत्तर बिहारमा बज्जि र मल्ल दुई गणराज्य उन्नत अवस्थामा रहेको प्रमाण बौद्ध साहित्यमा पाइन्छ । मगधका राजाहरूको आक्रमणबाट बच्नालाई यी दुई गणराज्य मिलेर अन्तिम समयमा एउटै बनेको देखिन्छ । गण्डकीदेखि पूर्वपट्टि बज्जि र पश्चिमपट्टि मल्ल रहेको निश्चय छ । यी दुई गणराज्यका क्षेत्रमा अचेल मैथिली र भोजपुरी भाषाका अनेक बोली बोलिन्छन् । थारू र बाजीमा बोलीको भेद छैन तापनि अलग अलग रहनाको कारण जातिको भेद देखिन्छ । बजिहरू नवागत आर्य हुनाले गोरा र जग्ला हुन्थे, किरातहरू जुगानजुगदेखि गर्र्मीमा रहेका हुनाले सांवला र होचा थिए । यसै वर्णभेदले रक्तमिश्रण रोकिँदा बज्जिहरूले थाहरूहरूलाई अलग्गै राखेको देखिन्छ । वज्जिहरूको गणराज्य टुटेको चौबीस शताब्दी बितिसक्यो तापनि थारूहरूको व्यवहार गर्न नछोडेका बाजी शब्दले यस जातिको महत्व बुझाउँछ । बाजीहरू नवागत हुनाले उनीहरूले प्राचीन बासिन्दालाई स्थलीय अर्थात् ‘रैथाने’ देखेर थारू नाम दिएको अनुमान हुन्छ । रैथानेको अर्थमा ‘ठालू’ र ‘थरी’ शब्द नेपाली भाषामा अलिकति अर्थ फरक भएर व्यवहार हुन्छन् । थर शब्दको मतलब पनि ‘स्थल’सँग देखिन्छ । तर केवल थारू शब्दमात्र जातिका अर्थमा व्यवहार भएको छ ।
सप्तरीदेखि बुटवलका आधासम्मको भूभाग बज्जि र मल्ल–गणराज्यको क्षेत्र छ । त्यहाँका थारूहरूले आफूबाहेकका ब्राह्मण आदिलाई बाजी भन्नु स्वाभाविक छ । तर बुटवलका आधादेखि पश्चिमपट्टि बज्जि–मल्लका जमानामा कोलशराज्य थियो । तर आजकाल त्यहाँ पनि थारूहरू छिमेकका ब्राह्मण आदिलाई बाजी भन्दछन् । के थारूहरू पूर्वपट्टिबाट हट्दै पश्चिमतिर गएर बाजी शब्द लगेका हुन् ? होइन । बज्जिका जमानामा पनि सप्तरी–महोत्तरी मिथिलाभित्र पर्दथ्यो । यो पनि बज्जि–गणराज्यभित्रै थियो । अचेल त्यहाँका थारू, बाजी दुवैथरी मैथिलीबोली व्यवहार गर्दछन् । यो चाल रौतहटको आधासम्म आइपुग्दछ । त्यहाँदेखि पश्चिमपट्टि चितवनियाँ थारूका बस्तीका नगीच बाजीहरूको बोली भोजपुरी नै छ । तर थारूहरूका बोलीमा मगही बोलीको लक्षण ज्यादा पाइन्छ । गंगापारका पटनाको बोलीले यहाँका थारूहरूका बोलीमा असर पर्नु आश्चर्यजनक कुरो छ । बुटवलका थारू–बाजी दुवैथरीमा भोजपुरी र अवधी बोलीहरू छ्यासमिस भएर रहेका छन् । त्यहाँदेखि पश्चिमपट्टि कोशलका क्षेत्रमा अवधी बोली चलिरहेको छ । यदि पूर्वपट्टिका थारूहरू पश्चिमतिर बसाइँ सर्दै गएका भए आफ्नो बोली साथै लिएर जान्थे । यसकारणले बज्जि, मल्ल र कोशलराज्यका जमानामा जो–जो थारू जहाँ–जहाँ रहेका थिए आजसम्म प्रायः उहीँ–उहीँ छन् । दक्षिणपट्टिबाट बाजीहरूले ठेल्दा चुरे वा सिवालकका डाँडालाई पनि नाघेर भाँवरमा पनि बस्ती गरेका छन् । बज्जि–मल्लका थाहरूहरूले ब्राह्मण आदिलाई बाजी भनेकोले यो नाम योगरुढी भएर अवधपट्टिका थारूहरूमा पुगेको देखिन्छ । प्रायः सबै थारूहरू आफूलाई राजपुतानाबाट आएका हुँ भन्ने तर्कना गर्दछन् । राजपुतानामा भील भन्ने एक जाति रहेको छ जो आर्य–भाषा राजस्थानीको भिली बोली व्यवहार गर्दछ । रंगरूपमा आर्यलक्षणदेखि बिलकुल अलग छ । यिनै भीलका बस्तीमा अधिकार जमाएर राजपुतानाका राजाहरूले राज्य स्थापना गरेका थिए । जयपुरका राजाका राज्याभिषेकमा एक वंशका एक जना भीलका गोडाको रगत झिकेर तिलक लगाउने चलन छ । यस रक्तदानका बदलामा एक रुपियाँ नगद र एक बोतल मदिरा मिल्दछ । सायद यो चलन राजपुतानाका अरु राज्यमा पनि छ । यस कारणले राजपुतानाका पुराना राजी हामी नै हुँ भन्ने भीलहरूलाई अभिमान भइरहेका छ । वर्तमाग युगका आरम्भमा नेपालका थरवट र मगरातमा राज्य स्थापना गर्ने राजाहरूले पनि राजपुतानाकै नकल गरी थारू र मगरलाई भीलमा गनेका थिए । यसै कारणले थारूहरूले आफूलाई पनि भीलमा गनेर राजपुतानाबाट आएका हौं भन्ने तर्कना गर्न लागेको देखिन्छ ।
डोटीका तराईमा रहेका थारूहरूको थर राना भएको र मेवाडका राजाहरू राण कहिने हुनाले राना थारूहरूले र साथसाथै अरु थारूहरूले पनि आफूलाई उदयपुरका राजवंशसँग सम्बन्ध देखाउन लागेका छन् । राना र राणा एउटै राजन् शब्द विकास भएर बनेका हुन् । राणा शब्द आफ्नो मूल अर्थमा व्यवहार भएको छ । जस्तै मौरीको रानु । लगभग यस्तो अर्थमा ती थारू र एकथरी मगरको पदवी ‘रानो’ भएको देखिन्छ । तर मगर रानाहरूले भने उदयपुरका राजवंशसँग सम्बन्ध जोड्ने मिथ्या प्रयत्न गरेका छैनन् । राजपुतानामा मेवाडका केवल एक जना महाराज ‘राणा’ कहिन्छन् । उनका भाइ–भैयाद राणा कहिन सक्तैनन् । यस अवस्थामा राना थारूहरूले राजपुतानाका राजवंशसँग सम्बन्ध जोड्ने चेष्ठा गर्नु व्यर्थ छ ।
राजपुताना र सिन्धका बीचमा बडो मरुस्थाल रहेको छ । भारतवर्षका मानचित्रमा यस मरुभूमिको नाम Thar लेखिन्छ र थार पढिन्छ । परन्तु त्यस मरुभूमिलाई राजपुतानामा ढाट भन्ने चलन छ । यो नबुझेर थारबाट बसाइँ आएका रजपूत हुनाले थारू कहिएका हुन् भन्ने तर्कना पनि हुने लागेको छ । त्यो मैदान हजारौं वर्षदेखि मरुभूमि भइरहेको हुनाले त्यहाँ आवादी रहनु नै असम्भव छ । यदि सम्भव नै मानेता पनि राजपुतानापट्टिबाट आएका भए थारू नकहिएर ढाट कहिन्थे ।
वास्तवमा यी थारू जाति पहाडभित्र रहेका किरात–बोली बोल्ने मंगोलकहरूबाट आर्य–भाषा ग्रहण गरी अलग जाति बनेको देखिन्छ । मंगोलक भएता पनि मंगोलियाबाट सरासर हिमालयका भन्ज्याङहरू काटेर आउनु एकदम असम्भव छ । किनभने छैठौं शताब्दीका अन्त्यमा मात्र हिमालयका घाँटी खुलेका थिए । हिमालयका पूर्वछेउको ब्रह्मपुत्रका किनाराको घाँटी अति प्राचीन युगदेखि खुलिरहेको र त्यहाँबाट आएका मंगोलक जातिका शाखाहरू केही आसाममा र केही पूर्व बंगालमा पुगी त्यहाँका बासिन्दासँग मिसिएको लक्षण मनुषमिति (Anthropometry) का कसौटीबाट स्पष्ट देखिन्छ । ब्रम्हपुत्रका घाँटीबाट आखेटक अवस्थामा निस्केका केही मंगोलकहरू हिमालयका दक्षिणपट्टि काखैकाख पल्ला छेउसम्म पुगेर पुराना बासिन्दामा मिसिनु सम्भव छ । तर हिमालयदेखि उत्तरपट्टिका सबै भाषा असार्वनामिक भएका र केही किरात–बोली आजसम्म सार्वनामिक रहेका हुनाले ब्रम्हपुत्रपट्टिबाट आएका मंगोलकहरूको हिमालयका किरातउपर विशेष असर परेको देखिँदैन । यिनीहरूका रंगरूपमा जो मंगोलक लक्षण पान्छ त्यो पहाडी जमिनका प्रभावले बनेको अनुमान गर्न सकिन्छ । यस कारणले यिनीहरूको मूलघरको खोजी गर्दा हिमालभन्दा बाहिर जान सकिँदैन । हो, विज्ञानको विशेष उन्नति भई वा यिनका रंग–रूप आदिको विशेष तवरले जाँच भएमा हिमालयदेखि बाहिरपट्टि पनि यिनको मूलचर देखा पर्न असम्भव छैन ।
‘नेपाल सांस्कृतिक परिषद् पत्रिका’, २०१० साल, वर्ष २ अंक २ मा छापिएको यो लेख ‘प्राचीन नेपाल’मा पुनः प्रकाशित भएको थियो ।
तर यो लेख हामीले www.esamata.com बाट साभार गरेका छौं। 

No comments:

Post a Comment