Saturday, April 4, 2015

प्राचीन नेपालका शासकको रुपमा कहलाइएका महिषपाल, गोपाल, किराँत, लिच्छवि र मल्ल समुदायका अवशेषहरु के नेवार समुदायमा यत्रतत्र छरिएर रहेकै हुन् त ?

प्राचीन नेपालका शासकको रुपमा कहलाइएका महिषपाल,

गोपाल, किराँत, लिच्छवि र मल्ल समुदायका अवशेषहरु

के नेवार समुदायमा यत्रतत्र छरिएर रहेकै हुन् त ?

–ज्वज्वलपा सकसित–को कलमबाट
मैले केही वर्षअगाडि छोटो टिप्पणी लेखेको थिएँ-
‘प्राचीन र मध्यकालीन नेपालको इतिहासमा उल्लेखित महिषपाल, गोपाल, किराँत, लिच्छवि र मल्लकाल सबै नेवार-समुदायको अस्तित्व रहेको इलाका र सामाजिक जीवनवरिपरि सीमित इतिहास मात्रै हुन् । यो इतिहास अपूरो छ । यो इतिहासमा पश्चिमी वा पूर्वी इलाकामा अस्तित्व रहेका खस, राई, लिम्बू आदिको भूमिका खासै स्पष्ट छैन । नेवारको इतिहास पनि खुलेको छैन । त्यहाँ उल्लेख भएका छोटोमोटो लडाइँका कुरा छाडौं, युगान्तकारी परिवर्तनहरुमा समेत नेवार समाजको संलग्नता के कस्तो थियो‚ केही पनि खुलेको छैन । त्यो इतिहास हेर्दा क्षत्रिय दाबी गर्ने (हालका ठकुरी क्षत्रीका पूर्वजहरु वा त्यस्तै समूहका सन्काहा रजौटाहरु)को बहादुरी गाथा र सत्ता छिनाझप्टीको आलेखजस्तो मात्रै देखिन्छ । जबकि इतिहासको कुनै पनि संगीन घटनाक्रममा त्यहाँ अस्तित्वमा रहेको समाज, याने कि नेवार समाजको भूमिका जबर्दस्त हुनैपर्दछ । तर खोई त त्यो भूमिका दस्तावेजीकरण भएको ?’
माथिको यो टिप्पणीलाई केही स्वनामधन्य नेवार उपबुज्रुकहरुले समेत हाँसोमा उडाए । केही खस-बाहुन चाटुकारहरुले दस्तावेजीकरण गरेको तथाकथित इतिहासमा प्राचीन गोपाल शासकलाई विस्थापन गर्न किराँत आए, किराँतलाई विस्थापन गर्न लिच्छवि आए, लिच्छविलाई विस्थापन गर्न मल्ल आए भन्ने सन्देश छ । त्यो जानकारी त्यसरी प्रस्तुत गरिनुको उद्देश्य के हो भने शासकहरुको विस्थापनक्रमकै निरन्तरताको रुपमा मल्ल विस्थापन गर्न शाह शासकहरु आएका हुन् भन्ने हो । तर मल्ललाई विस्थापन गर्ने शाह शासकहरु नेवार शासक नभई खस-शासक हुन् भन्ने फरक जानकारी कहीँ कतै पनि दिइएको छैन । बरु सकेसम्म लुकाउन खोजिएको छ ।
नेपालको पुरानो इतिहासमा रुचि राख्ने खोजकर्ताहरु खालि आर्कियोलोजिकल अन्वेषण, पुराण, कहावतजस्ता बनिबनाउ कुराको मात्रै आधार लिन्छन् र मनोगत विश्लेषण तेर्स्याउँछन् । शिलालेख, ताम्रपत्र, वंशावली, ताडपत्रहरु खोतल्नु र तिनको आधारमा राजामहाराजाहरुको जीवनकाल वर्णन गर्नुमै नेपालको इतिहास अध्ययन सीमित रहेको छ । संस्कृति, संस्कार, भाषा, सामाजिक मान्यता, रहनसहन आदिको अध्ययन गरिएकै हुँदैन । पछिल्लो समयमा सहरी विकास तथा वास्तुकलाबारे केही सार्थक अन्वेषण हुन थालेको देखिन्छ ।
प्राचीन नेपालका शासकको रुपमा कहलाइएका महिषपाल, गोपाल, किराँत, लिच्छवि र मल्ल समुदायका अवशेषहरु हालसम्म पनि नेवार समुदायमा यत्रतत्र छरिएर रहेका छन् । गोपालवंशी शासकहरुको विस्तृत विवरण नभेटिए तापनि तिनीहरु नेवार समाजकै एक अभिन्न अंग हुन् भन्ने कुरा निर्विवाद छ । हाल आफूलाई गोपालीको रुपमा परिचित गराउने उक्त समूहका भाषा, परम्परा, सामाजिक मान्यता, रहनसहन आदि सबै नेवार समुदायसितै एकाकार भएर रहेका छन् । आधुनिक विकासबाट प्रदूषित नभइसकेको गोपाली वस्तीहरु घुमेर हेर्ने हो भने तिनीहरु कति हदसम्म नेवार सभ्यताकै अंग रहे भन्ने स्पष्ट छ । तिनको इतिहास नलेखिए पनि मेटिइसकेको अवस्था भने होइन ।
महिषपाल समुदाय लगभग नष्ट भइसकेको शंका लागेता पनि पूर्वी चितवनमा रहेको महिष (राँगा भैंसी) पालन गर्ने एक खास चेपाङ प्रजातिका समूहका पूर्वज महिषपाल वंशकै हुनुपर्ने मेरो दह्रो विश्वास छ । तिनको सामाजिक मान्यता नेवारसित निकै मिल्दाजुल्दा छन् भने नेवारले मात्रै अँगाल्ने केही विशिष्ट परम्परागत मान्यताहरु तिनीहरुसित पनि हुनुजस्ता कुरा अचम्मको संयोग मात्रै होइन । गोपाल शासकभन्दा अगाडि उपत्यकाको मानववस्ती के कस्तो संरचनामा रहेको थियो होला भन्ने विवेचना र विश्लेषण भएको उदाहरण छैन । तर उपत्यकाका नजिक रहेका चेपाङ, थारुलगायतका थुप्रै समुदाय उपत्यकाकै नेवारका हाँगाबिँगा रहेको र कुनै खास कालखण्डमा बाहिर निकालिएका समूहहरु हुन् भन्ने मान्यता राखेर केही अध्ययन तथा विमर्शहरु भएका छन् ।
महिषपालको अस्तित्व राम्ररी नदेखिएको हुँदा तिनमाथि चर्को दमन भएको अड्कल काट्न सकिन्छ । सायद महिषपाल र गोपालको शक्ति संघर्षमा नराम्ररी पराजित भएर ती नेपालमण्डल छेउछाउको जंगलको शरणमा जाँदा त्यतै रहन पुगी कालान्तरमा चेपाङ प्रजाति बन्न पुगेको हुनुपर्छ । अथवा तीव्र कृषिक्रान्ति जारी रहँदा बदलिँदो परिस्थितिमा महिषपालहरु टिक्न नसकी गोपालमै परिवर्तन भएको वा महिषपालकहरु लोप भएको हुन सक्ने सम्भावना पनि छ । नेवार समुदायभित्र थरीथरीका पेसागत समूहहरु विभिन्न समयक्रममा विभिन्न कारणवश लोप भएका छन् । उदाहरणका लागि‚ मेरो जानकारीमा रहेको नेवार समुदायभित्रका ‘सबा’ समूहको अन्तिम व्यक्ति ने.सं. १११४ तिर मृत्यु भएपश्चात उक्त समूहको अस्तित्व नै लोप भएको हो ।
किराँत र लिच्छवि समुदायमाथि दाबी गर्ने समूहहरु नेपालमा थरीथरीका छन् । विशेषत: भोट बर्मेली तथा मंगोलियन वर्णका मानिने तामाङ, राई र लिम्बू सम्प्रदायले किराँतलाई आफ्नो पुर्खा दाबी गर्दछन् भने आर्य वर्णका मैथिल, अवधी तथा खस सम्प्रदाय लिच्छविलाई आफ्नो पुर्खा दाबी गर्न हिच्किचाउँदैनन् । तर नेवारले भने किराँत वा लिच्छविलाई आफ्नो दाबी गरेको मैले सुनेको छैन । नेवार समुदाय मल्ललाई मात्रै आफ्नो ठानेर बसेका छन् । यद्यपि मल्लको इतिहासमा मधेशतिरबाट छिरेका ठकुरीहरुको उपस्थिति मनग्य छ । यो सबै भ्रम हो । वास्तवमा किराँत, लिच्छवि र मल्लहरु सबै नेवार नै हुन्, नेवारभित्रकै समूह–उपसमूहहरु हुन् ।
bauddh
हामीलाई पाठ्यक्रममा पढाइएको विषयवस्तु सरसर्ती हेर्दा तत्कालीन नेपालमा शासन गरिरहेका गोपाल शासकलाई बाहिरबाट आएका किराँतहरुले हमला गरेर पराजित गरेर शासन हत्याएकोजस्तो बुझिन्छ । यी कहानीहरु मिथ्या हुन्, सही इतिहास हैन । यदि किराँतहरु नेपाल खाल्डोकै आदिम बासिन्दा हुन् भने गोपालहरुले कसरी तिनमाथि शासन गरे ? यदि नेपालखाल्डोबाहिर रहेका राई, लिम्बू वा तामाङजस्ता आफूलाई किराँत दाबी गर्ने समुदायका शासक हुँदो हो त तिनका उद्गम थलोहरुमा गोपाललाई पराजित गर्न सक्ने सैन्य शक्ति जम्मा भएको तथा गोपालहरुसित लडाइँ भएको प्रमाण फेला पर्नुपर्ने हो । त्यसैगरी हमलाकारी शक्तिबाट शासित भएर बसेका नेपालवासी नेवारले राई, लिम्बू वा तामाङसित मिल्दोजुल्दो हुने भाषा, संस्कार, लवाइखवाइ र संस्कृतिहरु अँगालेका प्रमाण यथेष्ट अस्तित्वमा हुनुपर्ने हो । जस्तोकि नेवारहरु खस-गोरखाली शासकको हमलामा परेपछि खस-शासकको प्रभावमा परेका नेवारहरु थुप्रै देखिएका छन् । तर नेपालको गोपाल-शासकलाई विस्थापित गर्न आइपुगेको भनिएको किराँत शासकहरुको कुनै खालको प्रभाव नेवार संस्कृतिमा देखिएको छैन । यसको मतलब किराँत भनिएकाहरु पनि बाहिरिया होइनन्, तिनीहरु नेवार-समाजभित्रकै नेवारहरु नै हुन् ।
नेवार समाजको विकासको इभोलुशन हेर्दाखेरी के स्पष्ट देखिन्छ भने यस समुदायको प्राचीन निर्भरता पशुपालनमा थियो । पशुपालन समाजको प्रमुख आर्थिक गतिविधि हुँदाताका महिषपाल र गोपालहरु समाजमा प्रभावी भए र तिनले राज्य संचालन गरे । तत्पश्चात विस्तारै बालीनाली रोप्ने तथा व्यवस्थित कृषि उत्पादन गर्ने प्रविधि विकास गर्दै गएपछि कृषि उत्पादन नै प्रमुख आर्थिक गतिविधि भए । यो समय किराँतकाल रह्यो । पशुपालनमा निर्भर समुदायहरु आर्थिक रुपमा कमजोर तथा अनिश्चित भविष्य हुने हुँदा समाजमा प्रभावहीन हुँदै गए, कृषि उत्पादन गर्नेहरुको निश्चित आम्दानी र उच्च प्रतिफलले गर्दा तिनीहरु सशक्त बन्दै राज्यसत्ता हातमा लिन सफल भए । ती किराँतहरु कृषिमा निर्भर नेवारहरु नै हुन् । त्यो समयका किराँत शासकहरु नेवार नै हुन् । हालको नेवार समाजमा अस्तित्वमा रहेको समुदायसित तुलना गर्दा ‘ज्यापु’ समुदाय नै किराँत शासकहरु हुन् । हुनसक्छ किराँत शासकले शासन सत्ता टिकाउँदा हुने आन्तरिक तनाव वा चलखेलमा तामाङ, राई, लिम्बू, गुरुङ आदि समुदायसित सहयोग लिएका थिए वा सहकार्य गरेका थिए । शारीरिक बनौटको आधारमा हेर्दा नेवार किराँत भन्न मिल्ने ‘ज्यापु’ समुदायको बनौट गुरुङ र थारुसित धेरै मिल्दोजुल्दो छ ।
तत्पश्चात कृषि तथा जीविकामा व्यवस्थित प्रविधिको विकास भयो । थरीथरीका कृषि औजारहरु, काठे मेसिनहरु, सिँचाइ, ढल तथा व्यवस्थित कृषि कारोबारको विकास भए। यस्तो विकासले गर्दा आर्थिक गतिविधिमा तीव्रता आउन थाल्यो । जुन जुन समूह परम्परागत कृषिकार्य मात्रै गर्थे तिनीहरु कमजोर हुँदै गए भने प्रविधिमा दख्खल भएकाहरु शक्तिशाली हुन थाले । यो समय लिच्छविकाल रहयो । सायमिहरु सुरुवाती लिच्छविकालमा प्रभावशाली रहे । तत्पश्चात बरे तथा तम्व:हरु प्रभावशाली रहे । परम्परागत कृषिलाई प्राथमिकता दिनेहरु राज्यसत्तामा कमजोर भए भने उद्यम र कृषिको मिश्रण गर्नेहरु प्रभावशाली बने । यो समय लिच्छविकाल रह्यो । यसबेला बौद्ध धर्मको प्रचार बलियो रहेको हुँदा लिच्छविकालमा प्रभावशाली रहेका समुदायले बौद्ध दर्शन बलियोसित अँगालेको देखिन्छ, जुन यद्यपि बरे, तम्व:, कसा:लगायतका ‘उराय्’ समाजमा देखिन्छ । ‘ज्यापु’ समुदायमा पनि बौद्ध दर्शन निकै प्रभावी देखिन्छ यद्यपि तिनको पेसागत विविधतामा उद्यमको अस्तित्व निकै थोरै छ ।
इतिहासमा पढाइएको जस्तो वैशालीबाट आएका लिच्छविहरुले किराँत शासकलाई खेदेर नेपालमा शासन गरेको भन्ने दाबी झूठ हो । वैशालीबाट भागेर आएका शरणार्थीहरु नेपालमा शरण लिएका हुन्, बसेका हुन् । तिनका चतुर दिमागले राजनीतिक दाउपेचमा नेपाल खाल्डोमा उद्यमशील कृषि गर्ने जमातको स्वार्थलाई बढावा दिँदै किराँत शासकलाई विस्थापित गरेका हुन् । त्यो विस्थापन प्रक्रिया छोटो तथा शान्तिपूर्ण थिएन । सानाठूला केही उथलपुथल मच्चिएको थियो नै, तर लिच्छवि राजाहरुले राज्यसत्ता हत्याउन तिनले संगठित सैन्य हमला गरेर किराँत सेनालाई नेपालबाट लखेटेर शासन सत्ता लुटेको जस्तो अर्थ लाग्ने कहानी मनगढन्त हो ।
यसैगरी लिच्छविकालका शासकहरु वर्मा, गुप्त तथा ‘देव’हरु ठकुरी हुन् भन्ने दाबी पनि झूठ हो । मनोगत चिन्तन बोकेका खस-ठकुरीहरु संसारभरिका ठकुरी जति जम्मै एकै प्रजाति वा नश्लका मानिस हुन् भन्ने मिथ्या विश्वासमा रहेको पाइन्छ । लिच्छवि राजाहरुले प्रयोग गरेका ‘देव’ कुनै थर होइन, पदवी हो । त्यो बेलाको नेवार समाजमा कसैलाई ठूलो बनाउन परे ‘देव’ भन्ने गरिन्थ्यो । जस्तो कि राजपुरोहित देव-भाजु अचेल पनि द्यवभाजु (अपभ्रंश रुप) भनिन्छ । ती राजपुरोहितहरु नेवार नै हुन् । त्यसैगरी ‘देव’ जोडिएका अन्य समूह पनि नेवार समाजमा अस्तित्वमा छन् । जस्तो कि देव-बञ्जा: (अचेल द्य:बञ्जा:), देव-नाङ (अचेल द्य:नां), देव-क:मि (अचेल द्यांक:मि), देव-मयजु (अचेल द्य:मयजु), देव-सुलिं (अचेल द्यसलिं) देव-उलामि (अचेल देउला, द्य:ला) आदि । लिच्छविकालीन वर्मा वा गुप्त शासकहरु प्राय: पारिवारिक नाताको सिँढी चढेर शासक बनेका वा मुख्तियारी हासिल गरेका शासकहरु देखिन्छन् ।
अर्को महत्त्वपूर्ण कुरा के हो भने किराँतकाल पतन भएर लिच्छविकाल आउने समयसम्ममा वैशालीबाट आएका राजनेताहरु नेवार समाजको अंग भइसकेका थिए । यहाँको नेवार जनजीवनको दर्शनमा समाहित भइवरी यहाँ समृद्धिको चुचुरोमा रहेका उद्यमी वर्गको स्वार्थ रक्षकको रुपमा प्रस्तुत भई राजनीतिमा र शासन सत्तामा स्थापित भएका हुन् । केन्याबाट गएका ओबामाको सन्तान अमेरिकाको राष्ट्रपति हुँदा त्यस घटनालाई केन्यालीले अमेरिकाको शासनसत्ता कब्जा गरेको भन्न मिल्छ ? मिल्दैन । केन्याली मूल नै भएता पनि अमेरिकीकरण भइसकेका हुनाले ओबामा-शासन अमेरिकी-शासन नै ठहरिन्छ । जसरी ओबामा अमेरिकी समाजका राष्ट्रपति भए त्यसरी नै लिच्छवि देवहरु नेवार समाजकै शासक थिए भनेर मान्नुपर्ने हुन्छ । त्यसैले लिच्छविकाल पनि नेवार शासकहरुकै काल हो । कुनै खस, आर्य, तिरहुते, ठकुरीहरु आएर राज्य गरेका होइनन् ।
जसरी लिच्छवि शासकले किराँत शासकलाई विस्थापन गरेको इतिहासप्रति हामीलाई पढाइएको इतिहास मिथ्या छ, त्यसरी नै लिच्छविलाई विस्थापित गरेका मल्ल शासकको उदयको इतिहास पनि मिथ्या छ । तिरहुतिया मल्ल, खस मल्ल, मगर मल्ल र नेवार मल्लहरुको छुट्टाछुट्टै अस्तित्व रहेको हुँदा ‘मल्ल’ पनि नश्लको आधारमा स्थापित पहिचान नभई ‘देव’जस्तै एक किसिमको पदवी हो भन्ने बुझिन्छ । किनकि यी फरक फरक सम्प्रदायमा रहेका मल्लहरुबीच कुनै समानता छैन । न भाषा मिल्छ, न संस्कार मिल्छ, न पारिवारिक मान्यता मिल्छ । नेवार मल्लहरुका केही पारिवारिक मान्यताहरु तिरुहुतिया मल्लहरुसित मिल्ने हुँदा नेवार मल्ल र तिरहुतिया मल्लका विच सम्बन्च रहेको बुझिन्छ, तर खस र मगर मल्ल सित मिलेको देखिन्न । नेपाल खाल्डोमा शासन गरेका मल्लहरु पनि बाहिरबाट विस्थापित भएर नेपाल छिरेका भन्ने आम बुझाइ असत्य हो । कुनै मल्ल राजा वा रजौटाले नेपालखाल्डो बाहिरबाटै सैन्ययोजनासहित हमला गरी लिच्छवि शासकलाई लखेटेर तिनको हातबाट शासनसत्ता खोसेको इतिहास होइन ।
मल्ल शासनको उदयताका सैन्यबल राज्यशासनमा प्रभावी हुने काल रह्यो । यस्तो परिस्थितिमा नेवार समाजमा ‘मल्ल’ पहलवानहरुको स्थान विशेष प्रभावशाली हुँदै आयो । साथसाथै लिच्छविकालको अन्त्यताका नेपाल खाल्डोले लगातार भनेझैं प्राकृतिक प्रकोपहरु झेल्न परेको थियो । प्राकृतिक प्रकोपहरुले दु:ख दिएको बेला कृषिआधारित उद्यम व्यवसायभन्दा पनि सैन्यबल आधारित प्रकोप व्यवस्थापन बढी प्रभावशाली र जनप्रिय रहन गयो । यस्तो अवस्थामा हुने राजनीतिक उतारचढावको भर्यासङ टेक्दै ‘मल्ल’ शासक सत्तासीन भए । त्यसैताका नेवार समाजले खस राज्य तथा मुसलमान विस्तारवादीहरुका अनपेक्षित आक्रमणहरु पनि झेल्नुपर्योक । नेवार समाजले अस्तित्व र आत्मसुरक्षाको निमित्त बलिया युद्दकौशली ‘मल्ल’को नेतृत्त्व अँगाले ।
नेवार मल्लहरु सैन्य प्रविधिमा मात्रै केन्द्रित नरही समाज विकासक्रममा हुँदै आएको प्राविधिक विकास र विविधतालाई अँगाल्न र प्रोत्साहन दिन सक्षम देखिए । तिनको शासनकालमा ढुंगा, माटो, काठ, फलाम, पित्तल, सुन, ढलौट, कपडा, निर्माण प्रविधि, संगीत, धर्म, नाचगानजस्ता विविध क्षेत्रमा प्रविधिको विकास गर्दै गए । साथै सैन्य तथा अन्य प्रविधिमा निपुणता र निखार ल्याउन वरिपरिका तिरहुत, सेन, वैशाली मात्रै नभएर गुजरात र कन्नडजस्ता परपरका क्षेत्रसम्म पनि राजकीय र धार्मिक सेतुहरु कायम गरी मल्लहरुले त्यो बेलाका विविध आर्थिक-सामाजिक गतिविधि व्यवस्थापन गरेको देखिन्छ, जसको अवशेष हालको नेवार सभ्यता तथा धरोहरहरुमा समेत पाइन्छ ।
यसरी मल्लकाल पूर्णतया नेवारकाल हो भन्ने निर्विवाद भएझैं लिच्छविकाल, किराँतकाल वा त्योभन्दा अगाडिको गोपाल वा महिषपालकालहरु पनि नेवार सभ्यताकै अंग हुन् । नेवार समाजले राजकाजबाट हात धुनुपरेको समय भनेको नै पृथ्वीनायण शाहको सत्ता कब्जापश्चात मल्लकाल अन्त्य भएपछि हो । तत्पश्चात नेवार समाज निरन्तर ओरालो लागेको छ, यदि अवनतिको क्रम यस्तै रहने हो भने अब केही समयपश्चात प्यालेस्टाइनको गाजापट्टिबाट प्यालेस्टिनीहरु विस्थापित भएझैं नेवारहरु नेवार आदिभूमिबाट विस्थापित हुने खतरा छ ।
नेवारहरुको विस्थापनमा प्यालेस्टिनीले झैं विश्व जनमतको सहानुभूति समेत पाइने छैन र नेवार समाज तहसनहस भएर इतिहासको पन्नामा सीमित हुनेवाला छ । किनकि आजको नेवारहरुमा दुईटा गम्भीर खराबी रहेका छन् : १) नेवार समाज च्य:बुद्धि भएका स्वार्थलम्पट अवसरवादीहरुद्वारा नराम्ररी प्रदूषित छ । २) नेवार समाजलाई नेवार समाजको इतिहासबारे सही जानकारी नै छैन । इतिहासको सही जानकारी नराख्ने कुनै पनि समुदायको वर्तमान वा भविष्यले सही दिशा पकडेको उदाहरण यो दुनियाँमा कतै छैन । त्यसमाथि स्वार्थलम्पट अवसरवादीहरु अहिले बाहुनबाद हावी रहेको नेपालमा ‘बर्मू च्य:’ बन्न तँछाडमछाड गरिहिँडेका छन् । यो अवस्था सच्याउन सानातिनो मिहेनत अपर्याप्त हुँदैछ ।
नेवार मात्रै हैन‚ नेपाली समाजमा अस्तित्वमा रहेको तर नेपाली प्राचीन इतिहासमा खास उल्लेख नभएका समुदायहरु (जस्तै खस, तामाङ, राई, गुरुङ, मगर, लिम्बू, थारु, शेर्पा आदि) पनि तीव्र गतिमा ओरालो लागेको लाग्यै छन् । कारण उही हो, आ-आफ्ना इतिहासबारे सही जानकारीको अभाव । यी समुदायहरुको प्राथमिक वस्ती नेपालखाल्डो होइन तर यी समुदाय आफ्नो इतिहासलाई नेपालखाल्डोको इतिहाससित समानान्तर गरेर बुझ्ने प्रयासको ह्यांगओभरबाट मुक्त हुन सकेका छैनन् । परपर रहेका अन्य समुदायको त के कुरा‚ नेपालखाल्डोको नजिकमा रहेको तामाङ समुदायले समेत आफ्नो इतिहासबारे नेवार समाजको इतिहासक्रमबाट प्रदूषित नभई अलग्ग विकास भएको राजनीतिक-आर्थिक इतिहास खोतल्न सकेको छैन । यो ठूलो कमजोरी हो । जबकि तामाङ र घले राजाहरुको वर्णन र श्रुतिहरु अझै मेटिइसकेका छैनन् । तिनले गरेका वीरतापूर्ण लडाइँका कहानीहरु बिर्सिइएको छैन । लिम्बू राजाहरुले पृथ्वीनायण शाहसित गरेका सम्झौताका केही दस्तावेज प्राप्त हुँदा लिम्बू समाजको स्व-जागरण अभियान कति तेजिलो भएर निस्कन सक्यो ? त्यही उदाहरण नै काफी छ कि सही इतिहासले कति ऊर्जा दिँदोरहेछ भन्ने बुझ्नलाई ।
त्यो कुरा बुझ्नुभन्दा पनि खस, तामाङ, राई, गुरुङ, मगर, थारु, शेर्पा आदिले किराँत, लिच्छवि वा मल्लहरुमा इतिहासमै आफूलाई खोज्ने गम्भीर गल्ती गरिरहेका छन् । त्यसो गर्नुभन्दा आ-आफ्ना छुट्टाछुट्टै इतिहास अभिलेखीकरण गर्नुपर्छ । आ-आफ्ना समुदायमा नेतृत्त्व प्रदान गरेका विशिष्ट व्यक्तिहरु पहिचान गर्दै आ-आफ्ना पहिचान र अस्तित्व बचाउन तिनले दिएका योगदानहरु सार्वजनिक गर्नुपर्दछ । अनि बल्ल इतिहासको जगमा सही तरिकाले उभिन सकिन्छ । नत्र त उही हो जति मच्चिए पनि जहाँको तहीँ !
बसन्तपुर दरबार मार्गको दृश्य । तस्बिर सौजन्य: एचए ऒल्डफिल्ड । 
Jwajalapa Sakasita  ब्लगबाट ।
www.esamata.com/np बाट साभार 

No comments:

Post a Comment