प्रचण्डका दुई कमजोरी- अमरेश र अजय सुमार्गी ?
बैठकमा गल्ती कोट्याउँदै प्रचण्ड, बाबुराम र नारायणकाजी !
१३ पुस, काठमाडौं । पेरिसडाडाँमा शुक्रबार आयोजित एकीकृत नेकपा माओवादीको पूर्वपोलिटब्यूरो बैठकमा शुक्रबार तीन शीर्षनेताहरुले आ-आफ्ना गल्ती के-के हुन् भन्ने सबैलाई सुनाउनुभयो । सबैभन्दा धेरै गल्ती नारायणकाजी श्रेष्ठले महसुस गर्नुभयो भने डा. बाबुराम भट्टराईले व्यक्तिगत भन्दा पनि राजनीतिक कमजोरीबारे टिप्पणी गर्नुभयो । नेताहरुले आफ्नोमात्रै होइन, सहपाठी नेताको पनि गल्ती औंल्याउन भ्याउनुभयो ।
पूर्व पोलिटब्यूरो बैठकको अन्तिम दिन शुक्रबार शीर्ष नेताहरुले बोल्ने कार्यक्रम थियो । शुरुमा नारयणकाजी श्रेष्ठ, त्यसपछि डा. बाबुराम भट्टराई र अन्तिममा प्रचण्डले बोल्नुभएको थियो । स्रोतबाट प्राप्त जानकारी अनुसार शुरुमा बोल्दै नेता नारायणकाजी श्रेष्ठले विचार संघर्ष, विचार समूह र गुटमा भिन्नता रहेको भन्दै पार्टी गुटबन्दीमा फसेको बताउनुभयो । पार्टीभित्र गुटहरुको अन्त्य गर्न आफूबाट पनि कमजोरी भएको हुन सक्ने भन्दै श्रेष्ठले बैठकमा आत्मालोचना गर्नुभयो । तर, दशकौंदेखि एउटै व्यक्तिहरु किन प्रचण्ड, बाबुराम र आफ्नो पछि लाग्छन्, विषयका आधारमा किन समर्थन या विरोध हुँदैन भन्दै श्रेष्ठले स्थायी प्रकारका गुटहरु अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
साथै पार्टी एकताका क्रममा ठूला कमिटीहरु बनेका र त्यसमा आफू पनि जिम्मेवार भएको भन्दै श्रेष्ठले बैठकमा आत्मालोचना गर्नुभएको एमाओवादी स्रोतले बतायो । पार्टीको तर्फबाट भएका कमजोरी उल्लेख गर्दै नेता श्रेष्ठले बैठकमा राष्ट्रियताको मामिलामा कमजोरी भएको, वर्गीय पक्षधरता स्पष्ट नभएको, रेग्मीको नेतृत्वमा सरकार बनाउनु गल्ती भएको, वैद्यसँग एकता नगरी चुनावमा जानु, नीलकण्ठ उप्रेतीलाई प्रमुख निर्वाचन आयुक्त बनाउनु, सेना परिचालन गर्नु लगायतका कमजोरी भएको विश्लेषण बैठकमा गर्नुभएको स्रोतले अनलाइनखबरलाई बतायो ।
बाबुरामले औंल्याएका गल्ती
प्रचण्डभन्दा अगाडि मन्तव्य दिनुहुँदै अर्का बरिष्ठ नेता डा. बाबुराम भट्टराईले अन्तरिम सरकार र संविधानसभाको चुनाव अभिन्न अंग हुनुपर्नेमा राजनीतिक नेतृत्वमा अन्तरिम सरकार नबनाई चुनावमा जानु गल्ती भएको बैठकमा बताउनुभयो । ‘राजनीतिक दलकै नेतृत्वमा सरकार बनाएर चुनावमा जानुपथ्र्यो, हामीले यहाँ गल्ती गरेकै हौं,’ डा. भट्टराईको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।
नेता भट्टराईले पार्टी शुद्धीकरण गरिनुपर्ने र यसका लागि राष्ट्रिय सम्मेलनको बाटोबाट अघि बड्न उचित हुने बताउनुभयो । राष्ट्रियताको सन्दर्भमा नियत राम्रो भए पनि केही कमजोरी भएको र पहिचानसहितको संघीयताका विषयमा पनि जनतालाई स्पष्ट पार्न नसकेको भट्टराईको समीक्षा थियो ।
प्रचण्डको छोटो विश्लेषण
पार्टी अध्यक्ष प्रचण्डले नारायणकाजी र बाबुारम भट्टराईको विश्लेषण सुनिसकेपछि ठोस गल्तीमा जान चाहन्न भन्दै समग्रमा गल्ती भएकैले पार्टीले चुनावमा पराजय भोेको बताउनुभयो । प्रचण्डले पनि राजनीतिक सरकार बनाएर निर्वाचनमा जान नसक्नु, दुश्मनको तयारीलाई बेलैमा बुझ्न नसक्नुलगायतका विषयलाई कमजोरीका रुपमा स्वीकार गर्नुभयो । तर, पार्टीले चुनावमा व्यहोरेको यो पराजयलाई एउटा अवसरका रुपमा लिन सकिने र यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने भन्दै प्रचण्डले आशावादी विश्लेषण गर्नुभएको स्रोतले बतायो ।
नारायणकाजीले भने- प्रचण्डसँग जुध्न नसक्नु मेरो कमजोरी
बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै एक पूर्वपोलिटब्यूरो सदस्यले दिएको जानकारी अनुसार बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रचण्डविरुद्ध संघर्ष गर्न नसक्नु आफ्नो कमजोरी भएको बताउनुभएको थियो । आफूले भएन मात्रै भन्ने गरेको तर कडा संघर्ष नगरेका कारण पार्टीले एकपछि अर्को गल्ती गर्दै भएको उहाँको भनाइ थियो । पार्टीलाई संस्थागत गराउन नसकेकोदेखि छोरो प्रकाश दाहाललाई हेडक्वार्टरमै राखेकोसम्म श्रेष्ठले बैठकमा कुरा उठाउनभएको पूर्वपोलिटब्यूरो सदस्यले अनलाइनखबरलाई बताए ।
उनका अनुसार श्रेष्ठले प्रचण्डलाई अमरेशकुमार सिंह र अजय सुमार्गीसँगको उठबस तत्काल छाड्न सुझाव दिनुभएको थियो । अमरेशसँगको सम्बन्धले राष्ट्रियता र सुमार्गीसँगको सम्बन्धले वर्गीय पक्षधरतामाथि प्रश्न उठेको श्रेष्ठको आरोप थियो ।
साथै श्रेष्ठले डा. बाबुराम भट्टराईले पार्टी शुद्धीकरणका लागि फेसबुकमार्फत् सार्वजनिक गरेको ६ बुँदे प्रस्तावको पनि बैठकमा समर्थन गर्नुभएको स्रोतले बतायो । बाबुरामले पार्टीको हितका लागि केही कुरा बोल्दा ‘हेडक्वार्टरको रक्षा गरौं’ भन्दै प्रचण्डको पक्षमा उफि्रनेहरुको श्रेष्ठले कडा आलोचना गर्नुभएको जानकारी स्रोतले दिएको छ ।
तीनै नेता सहमत भएका विषय
स्रोतका अनुसार पूर्व पोलिटब्यूरो बैठकपछि तीन शीर्ष नेताहरु निम्न विषयमा आपसमा सहमत देखिएका छन्
-केही कमी कमजोरी देखिए पनि प्रचण्डकै नेतृत्वमा अघि बढ्ने र पार्टीलाई शुद्धीकरण गर्ने ।
- चाँडै राष्ट्रिय सम्मेलन गरेर नयाँ योजना र स्पिरिटका साथ अघि बढ्ने ।
-तत्काल संविधानसभा र सडकबाटै संघर्ष गर्ने तर सरकारमा नजाने ।
- संगठनहरु साना र चुस्त बनाउने ।
http://www.onlinekhabar.com/2013/12/149335/
No comments:
Post a Comment