Wednesday, January 21, 2015

मादल बजाउँदै हिंड्ने सुमार्गी कसरी बने अर्बपति ?

मादल बजाउँदै हिंड्ने सुमार्गी कसरी बने अर्बपति ?

 
प्रकाशित मिति: 12:12:57 pm, September 19, 2013 
Sumargi-topकुनैवेला अजय सुमार्गी हेटौंडाका गल्लीहरुमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा मादल बजाउँदै हिंड्थे । आर्थिकस्तर सामान्य थियो । हेर्दा हेर्दै उनी हेटौंडा सिमेन्ट उद्योगमा केमिकल र बोरा सप्लाई गर्ने ठेकेदार बन्न पुगे । मादल बजाउँदै हिंड्ने एउटा मानिस रातारात अर्बपति भए । हेटौडावासी अचेल छक्क पर्दै भन्छन्, ‘हैन, हिजोसम्म रुपचन्द्र बिष्टको थोत्रो मोटरसाइकल पछाडि बसेर हिंड्ने एउटा झुत्रेझाम्रे मानिस अचेल कसरी ठूल–ठुला बिल्डिङ, कान्तिपुरको करोडौंको जग्गा लिनसक्ने र व्यापारिक प्रतिष्ठानको मालिक भए ? के कुनै मानिस यसरी सामान्य श्रम, मेहनत, विधिसम्मत व्यवसायकै भरमा रातारात अर्बपति हुन सक्छ ?’ जब सुमार्गीको नाम प्रचण्डसँग जोडेर प्रचार हुन थाल्यो, आम जनमानसमा जिज्ञासा उत्पन्न हुन थाल्यो, ‘लगानी कसको होला ? एउटा सामान्य मानिस कसरी यसरी धनी र पहुँचवाला हुन सक्यो ?’ रातोपाटीका लागि  पंकज चौधरी र सुजन पन्तले गरेको अपरेसन ।
मुलुकमा शान्ति प्रकृया सुरु हुनुभन्दा पहिले ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमै नयाँ बिजनेश टाइकुनका रुपमा अजय सुमार्गीको चर्चा सुरु भएको थियो । त्यसबेला राजाका ज्वाईं राजबहादुर सिंह निकट रहेर सुमार्गीले टेलिकम कम्पनी एनसेलमा ‘सित्तैंमा सेयर हत्याएको आरोप’ पनि लागेको थियो । ‘हेलो नेपाल’को संचालनदेखि काठमाडौ तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्ससँगै जोडिएको १५४ आना जग्गा ८२ करोड रुपैयाँमा किनेको घटनासम्मले सुमार्गी समाचारको शीर्षक बनिरहे । अचेल उनको नाम एमाओवादी अध्यक्ष प्रचण्डसँग समेत जोडेर मिडियामा अनेक खालका टिकाटिप्पणी हुन थालेपछि सुमार्गी चर्चा र विवादको शिखरमा पुगेका हुन् । बा ५ च ५२०१ र निलो प्लेटको ११३ एचसीसी १  नम्बरको गाडी चढेर सुमार्गी कहिले कांग्रेस नेतृ सुजता कोइरालाको मण्डिखाटार निवासमा, कहिले एमाले नेता केपी ओलीको निवास बालकोटमा, कहिले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको कोटेश्वर निवासमा, कहिले रामचन्द्र निवास बोहोराटार त कहिले नेत्रविक्रम चन्दको चाबहिलस्थित निवासमा गइरहने उनी बेलाबखत एमाओवादी अध्यक्ष प्रचण्ड निवासमा देखापर्छन् । सुमार्गीको यो पहुँच देखेर नेताका सचिवालयका कर्मचारीहरु पनि उनलाई धनुषटंकार शैलीमा नमस्कार गर्छन् ।

corporate-watchआश्चर्यजनक कमाइ

सुमार्गीको अकुत सम्पत्ति देखेर अचेल मकवानपुरवासी निकै चकित छन् । ‘हैन उहाँले त्यत्रो सम्पत्ति कसरी जोड्नुभयो ? केही वर्षअघिसम्म यतै हेटौंडातिर सामान्य कारोबार गर्नुहुन्थ्यो’, कुनैबेलाका राजनीतिक कार्यकर्ता र अचेल हेटौंडामा एक खुद्रा पसल खोलेर बसेका झपट भुषाल भन्छन, ‘रुपचन्द्र दाइसँगै उहाँ थोत्रो मोटरसाइकलमा हिंड्नुहुन्थ्यो । हामीलाई भेट्दा लौ न हो भोक लाग्यो, मम खुवाउनुस् भन्नुहुन्थ्यो । अचेल त विनोद चौधरी जस्तै हुनुभएको छ रे भन्ने सुन्छु । कसरी कमाउनुभएछ त्यतिबिघ्न सम्पत्ति ?’
हेटौंडामा मात्र सुमार्गीले करोडौंको सम्पत्ति जोडेको स्थानीय बासिन्दा बताउँछन् । ‘खै कसरी हो, सुमार्गीजी त मालामाल हुनुभएको छ । हेटौंडा एकेडेमी उहाँकै हो । मेनरोडको सुमार्गी कम्प्लेक्सको मालिक पनि उहाँ नै हो । थाहा एफ.एम., भैरव रोडमा लाखौंको घडेरी, यति फाइनान्समा शेयर, एभरेष्ट मिनरल क्रसर पनि उहाँकै हो’, मकवानपुरका माओवादी समर्थक विद्यार्थी शंकर चौलागाईं भन्छन्, ‘कसरी कमाउनुभयो त्यो भने थाहा भएन ।’
काठमाडौ बबरमहलमा ‘सुमार्गी कम्प्लेक्स ए र बी’, नयाँबानेश्वरको मुक्ति टावर, नेपालगञ्जमा सिमेन्ट सुमार्गी एयर, हेलो मोवाइल पनि सुमार्गीकै हो । माइतीघर मन्डलामा जेनेरेटर कारोबार गर्दै आएका हरिकृष्ण कायस्थ अर्थात् ‘हरि दाइ’ पनि सुमार्गी कम्प्लेक्स खडा भएको देखेर चकित छन् । ‘मैले यहाँ इलेक्ट्रिकल पार्टपुर्जा र सानो जेनेरेटर र इन्भर्टर बेच्न थालेको वर्षौं भयो, तर खै महिनाभरि भात खान र छोराछोरीलाई पढाउन धौ धौ छ’, हरि दाइ भन्छन्, ‘यो सुमार्गी भन्ने अहिलेसम्म नामै नसुनेको मानिसले कसरी यत्रो बिल्डिङ बनायो ? गज्जब छ बा । पैसा कमाउने आइडिया के रहेछ ? नेताको चाकडी गरेर कमाएको त होला नि ।’

कैलाशलाई कल्याण

कान्तिपुर पव्लिकेशन्सको भव्य बिल्डिङ छेउमा कुनैबेला नुवाकोटका पाण्डे थरका एक व्यवसायी फलफूलको कारोबार गरेर बस्थे । पाण्डेको फलफूल पसलमा कहिलेकाहीं कान्तिपुर दैनिकका पत्रकारहरु जुस खान आउँथे । एक दिन एक पत्रकारले भनेछन्, ‘अब हाम्रो तलब बढ्ला जस्तो छ, कैलाश दाइले जग्गा सुमार्गीलाई भिडाउनुभयो ।’ अर्को पत्रकारले सोधे, ‘कति नाफा गरेछन् त ?’ थापा थर भएका पत्रकारले भने, ‘हैन, पहिलेकै परल मूल्यमा बेचेछन् ।’
पाण्डेका अनुसार कान्तिपुर प्रमुख कैलाश सिरोहियाले आफ्नै कार्यालय सामुन्ने रहेको झण्डै १० रोपनी प्लट जग्गा सुरुमा ब्यापारी सुहृद घिमिरेसँग किनेका थिए । कैलाशले त्यो जमीनमा ‘काठमाडौं मार्ट’ नामक सपिङ कम्प्लेक्स बनाउने योजना बनाए । त्यही योजनाअनुसार उनले इन्भेष्टमेन्ट बैंकबाट ४६ करोड रुपैयाँ ऋण पनि लिएका थिए । ‘तर कैलाशले सोचे अनुसार करीब चार वर्षसम्म परियोजना अघि बढ्न सकेन । बैंकको ताकेता बढ्न थाल्यो । अन्ततः उनले ८२ करोड रुपैयाँमा त्यो जग्गा बेच्ने निर्णय गरे’, आफैं पनि जग्गाको दलाली गर्दै आएका पाण्डे भन्छन्, ‘डुृब्न लागेका कैलाशलाई ८२ करोडमा जग्गा किनिदिएर उद्धार गर्ने मानिस अजय सुमार्गी नै थिए ।’
त्यसरी सुमार्गीले कैलाशको जग्गा किनेपछिका दिनहरुमा कान्तिपुर दैनिक एमाओवादी अध्यक्ष प्रचण्डको पक्षमा र अर्का नेता डा. बाबुराम भट्टराईको विपक्षमा खुलेर लागेको घटना संयोग मात्र होला त ? भन्ने प्रश्न पनि कसै कसैले उठाउने गरेका छन् । तर, प्रचण्ड निकट सूत्र भन्छ, ‘त्यो संयोग मात्र हो, सुमार्गी एन्ड कम्पनीसँग हाम्रो कुनै साइनो छैन ।’

प्रचण्डसँगको कनेक्सन

एमाओवादी विरोधी मिडियामा अध्यक्ष प्रचण्ड र अजय सुमार्गीको सम्बन्धलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गर्छन् । सुमार्गीलाई ‘प्रचण्डकै आर्थिक साझेदार’ भएको आरोप पनि लाग्दै आएको छ । हुन त सुमार्गीको कनेक्सन हरेक दलका नेतासँग नभएको हैन । ‘कुनैबेला सुमार्गी सुजाता दिदीको मन्डिखाटारस्थित निवासमा पनि आउँथे’, सुजातासँग निकट सम्बन्ध रहेका र टीभीहरुमा अनुहार देखाइरहने एक नाम चलेकै पत्रकार भन्छन्, ‘सुजाता दिदीदेखि कृष्ण सिटौला र कमल थापासम्मको निवासमा मैले उनलाई देखेको छु । उनी कुन कला प्रयोग गरेर अहिले प्रचण्डको पनि निकट भए, म आफै आश्चर्यचकित छु ।’
सुमार्गीको नाम प्रचण्डसँग जोडिए पनि त्यसको कुनै ठोस प्रमाण र आधार भने कतै भेटिंदैन । प्रचण्ड प्रधानमन्त्री भएका बेला उनका प्रेस सल्लाहकार एवं नेपाल पत्रकार महासचिव ओम शर्मा भन्छन्, ‘सुमार्गीलाई टुप्पी हल्लाउँदै दुई पटक बालुवाटार आएको त मैले पनि देखेको हुँ । तर, प्रधानमन्त्रीलाई भेट्न हरेक क्षेत्रका मानिस आउने भएकाले उनको भेटलाई अस्वाभाविक रुपमा लिन मिल्दैन ।’ विरोधीहरुले अरु कुनै बहाना नपाएर सुमार्गीसँग आफ्नो नाम मुछेर गलत प्रचार गर्दै आएको प्रचण्डले बताउने गरेका छन् । दुई दिन अघि एक दैनिक पत्रिकामा अन्तर्वार्ता दिंदै प्रचण्डले भनेका थिए, सुमार्गी र मेरो व्यावसायिक सम्बन्ध छ भन्ने हावादारी कुरा हो ।
एमाले निकट साँघु साप्ताहिकले ‘लाजिम्पाटस्थित निवास पनि सुमार्गीले नै १० करोड २० लाख रुपैयाँमा प्रचण्डका लागि खरिद गरिदिएको’ समाचार छापेको थियो । तर, त्यो दावीलाई स्वयं प्रचण्ड पुत्र प्रकाश दाहालले खण्डन गरेका थिए । प्रकाशले फेसबुक स्टाटसमा सो घर मासिक ६० हजार रुपैयाँमा भाडामा लिएको खुलस्त पारेका थिए । ‘सुमार्गी र प्रचण्ड कमरेडबीच आर्थिक सम्बन्धको खबर भ्रामक, कपोलकल्पित र हावादारी हो । नेपाली जनताका महान नेतालाई बदनाम गराउन प्रतिकृयावादीहरुले यस्ता अफवाह फैलाउँदै आएका छन्, प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले भने, ‘प्रचण्डका पिता मुक्तिनाथ दाहालको नाममा मुक्ति टावर बनेको भनेर समेत हल्ला चलाइयो । मुक्तिको अर्थ कसैको नाम मात्र हुदैन, स्वतन्त्रता, उन्मुक्ति या अन्य अर्थमा पनि टावरको नाम मुक्ति राखिएको हुन सक्छ । तर गोयबल्स शैलीमा प्रचार गर्नेहरुले मुक्ति नामकै आधारमा प्रचण्ड कमरेडलाई मुछे, जुन सरासर गलत हो ।’

जीसीएम लाइसेन्स प्रकरण

हुन त केही वर्षअघि सुमार्गी अख्तियारको आँखामा नपरेका पनि हैनन्, तर उनलाई अख्तियारले सफाइ दिइसकेको छ । प्रचण्ड प्रधानमन्त्री हुँदा कौडीको मोलमा जीसीएम मोबाइल सञ्चालन गर्ने लाइसेन्स पाएको आरोप लागेका सुमार्गीमाथि कारवाहीको तयारी गरेको सार्वजनिक लेखा समिति संविधानसभा विघटनपछि निष्क्रिय भयो । त्यही मौका छोपी सुमार्गीको नेपाल स्याटलाइट टेलिकमलाई अख्तियारले सफाइ दिएको हो ।
सुमार्गीले फ्रिक्वेन्सी लिलाम बढाबढ समेत नगरी २५ लाखमा जीसीएम मोबाइल लाइसेन्स पाएको आरोप थियो । मध्यपश्चिममा पिछाडिएका २७५ गाविसलाई मोबाइल सेवा उपलब्ल गराएपछि बल्ल सुदूर, मध्य र पूर्वमा समेत सेवा विस्तार गर्न पाउने शर्त राखिएको थियो, तर ती कुनै पनि पूर्वशर्त पूरा नगरी उनले करोडौं नाफा खाएर अहिले आफ्नो मोबाइल सेवाप्रदायक कम्पनी एनसेललाई वेचिसकेका छन् ।

सम्पत्ति पारदर्शी होला ?

कुनै पनि नेपालीलाई व्यवसाय गरेर आयआर्जन गर्ने छुट रहेकाले विनोद चौधरीले जस्तै सुमार्गीले सम्पत्ति जोडेकोमा आपत्ति नै जनाइहाल्नुपर्छ भन्ने छैन । तर उनले कसरी त्यतिका सम्पत्ति जोडे ? कर तिरेका छन् कि छैनन् ? भन्ने तथ्य भने पारदर्शी हुनुपर्ने धेरैको मत छ । ‘सुमार्गी धनी हुन पाउँछन्, तर उनले कसरी त्यत्रो सम्पत्ति जोडे, त्यसको श्रोत के हो ? त्यो स्पष्ट हुनुपर्छ’, एक अर्थ विश्लेषक भन्छन् । ती विश्लेषको भनाइ छ, सम्पत्तिको स्रोत खुलाउँदैन् भने अहिले शम्भु थापा जस्तै विनोद चौधरी र अजय सुमार्गी पनि कानूनको कठघरामा भने उभिनैपर्छ ।
http://www.ratopati.com/2013/09/19/85781.html

No comments:

Post a Comment