Saturday, January 31, 2015

आधिकारिक पोसाक’ बारे

आधिकारिक पोसाक’ बारे
मयलपोसमाथिको समकालीन खेदो अनौठो होइन । सर्वसाधारणले आशा मारिसकेका न्यायमूर्तिहरूको पटकपटकका अन्योलपूर्ण व्याख्यानबाहेक । यहाँ त्यसको शास्त्रीय प्रारूपमाथि मात्रै गइएको छ पनि ।
खार्पा
मयलपोस र सुरुवाल दुवैमा हुन्छ खार्पा । काखीमा र जाँघमा गाँसिने तीनकुने कपडाको नाम हो खार्पा । खार्पा गाँसियो भने चौबन्दी चोलो हुन्छ । गाँसिएन भने भोटो हुन्छ । खार्पा नेपाली टोपीमै पनि हुन्छ । यद्यपि यसको प्रचलित नाम चक्की/चकिया हो, तामाङमा गुङ्ला -माझको) हो । नेपाली पहिरनको यो एक सर्वाङ्ग विशेषता नै हो ।
खार र सुरुवालको फुकाइ अर्थात् ‘राग’ दुवै नकारात्मक शब्द हुन्- जसमा पोसाकबोधक नेवारीको पा जोडिएजस्तो लाग्छ । जस्तो शिरपा । तर खोटाङछेउ बग्ने रावा खोलाको सेरोफेरो पर्छ खार्पा, जहाँ अल्लो र ऊखुको रेसा निकालेर खार्पा बनाइन्थ्यो ।
सन्जाफ
मयलपोसका सबै किनारमा सन्जाफ हुन्छ । सुरुवालको मोहोतामै हुन्छ । टोपी -भादगाउँले छोडेर) मै सन्जाफ हुन्छ । चौबन्दी चोलोको कठालोमै हुन्छ । भादगाउँले टोपीको सिल्क कपडाचाहिँ १५२६ मा बाबरले पानीपतमा तोप भित्र्याएपछि मोहोरीमा पानी नछिरोस् भनेर ढाकिने गरेको बुखाराबाट आयातीत रेशमी कपडा ठानिन्छ । यद्यपि, भाद -बोद) गाउँमा टोपीको धेरै पुरानो प्रचलन थियो किनभने कानेटोपी -तुलसीदास गोस्वामीको जस्तो टोपी) भित्रिएपछि दुई भक्तपुरे स्वदेशी उद्योग धराशयी हुने चिन्ताले धरधरी रोएको प्रसंग छ, जुन टोपी पाल्पाबाट गोरखाको बाटो हुँदै भक्तपुर पुगेको थियो ।
तुना
तन्तु -टिस्यु) बाट तान र तुना शब्द आउँछन् । तुना -लेस) को परम्परागत पश्चिमी गाँठो बटरफ्लाइ -पुतली) हो । हाम्रो ‘श्री’ हो । जो उल्टो बाँधियो भने शत्रुको आक्रमण बेहोर्नुपर्ने र सुल्टो बाँधे विजय र समृद्धि हुने मानिन्छ ।
गणेशचतुर्थीमा चन्द्रदोषबाट जोगिन हरियो सुन्तला देब्रे तुनामा बाँधेर मात्रै बाहिर निस्कने चलन काठमाडौंमा राणाकालसम्म थियो । उत्तरी खोटाङका युवाहरूले तुनामा कुलुम्छी फूल
-प्ल्युरोसपर्मम) उल्लासको प्रदर्शनका रूपमा झुन्ड्याउँछन्, जुन लिम्बु भाषामा सेम्फुङ भनिन्छ र सेच्छेने सेनेहाङ थरको प्रतीक हो । रुम्जाटारका गुरुङहरूमा लालुपाते -पन्सेटिया पल्चेरिमा), खालिङ राईहरूमा पाउडरफुल/दोङ्बाङ पुङ्मे -पि्रमला इयोनान्था) झुन्ड्याउने चलन थियो र छ । पहाडी महिलामा जटामसी/ङोरोकी झुन्ड्याउने चलन थियो र छ ।
तर, शोकको खबर सुन्दा र मलामी जाँदा यही तुना फुकाइन्छ, टोपी फुकाल्नुसँगै ।
दाहिने फेर
मयलपोसको दाहिने फेरले देब्रे फेरलाई छोप्छ । पश्चिममा चाहिँ कोट, कमिज पाइन्ट, टिसर्ट सबैमा पुरुषले दाहिने फेरलाई देब्रेले छोपेर लगाउने व्यवस्था हुन्छ । जापानी किमोनो, कोरियाली चोसुन ओत, चिनियाँ चोङसाम, तिब्बती चुवा, भुटानी घो, बर्मिज कोट, थाइ प|mारा, इन्डोनेसियन बेसकाप, फिलिपिनो बारुन तगालोग, पाकिस्तानी शेरवानी सबैका सबै देब्रे प्रधान हुन्छन् । यो पश्चिमा नवउपनिवेशवादप्रतिको त्वं शरणं गच्छामि हो । पूर्वीय परम्परामा पुरुषका निम्ति यो अशुद्ध पहिरन हो । सुरुमा नेहरुले पनि दाहिने प्रधान अचकन नै लगाएका छन्, १९औं शताब्दीका वर्तमान बंगलादेशीहरूले दाहिने प्रधान कुर्ता नै । दरबारी नेपाली अचकनमा पनि दाहिनेबाट दुई तुना देब्रेतिर जान्छन् ।
जंगबहादुर राणाले श्रेय पाए पनि दाहिने प्रधान मयलपोसमाथि देब्रे प्रधान कोटको पहिरन नै हास्यास्पद र अशुद्ध हो । कोटलाई बख्खुले विस्थापित गर्ने हो भने त्यो सही ठहरिनेछ । पुरुषको देब्रेपट्ट िसिउँदो निकालिन्छ परम्पराले र टोपीको सिउनी पनि देब्रे पारेर नै लगाइन्छ ।
खल्ती न प्वाल
मयलपोसमा प्वाल हुँदैन पश्चिमा लुगाहरूमा जस्तो । छेद -प्वाल) राम्रो मान्दैन परम्पराले । त्रिभुवनकालीन चार पैसाबाहेक चीन, तिब्बत, भारत र अन्यत्र जस्तो प्वाल भएको मुद्रासमेत निकालेन नेपालले । र, खल्ती -खाल्टो) पनि हुँदैन । यसैले, खोकिला तल खल्ती पनि हुँदैन कुर्तामा जस्तो यसको । कुनै बुट्टा -दाग) पनि हुँदैन र स्कटिस ‘टार्टान’ मा जस्तो धर्साहरू पनि हुँदैनन् ।
मयलपोससँग लगाइने पलाञ्चोके जुत्तामा समेत फित्ता हाल्ने प्वालहरू हुँदैनन् । फलामका होइन, बाँसका काँटी हुन्छन् । साबर -रसा युनिकलर) हिमालयको दक्षिण ढालमा पाइने मृग हो । दैलेखी जुत्ता पनि यसैबाट बन्छ । ‘पवित्र’ मृगको र मयलपोससँग रङ मिल्ने भएर पनि यसले मान्यता प्राप्त गर्‍यो । सार्की शब्द तिब्बतको साँह्राकबाट आएको भन्ने भनाइलाई मान्ने हो भने तिब्बती प्रभाव मान्नुपर्ने हुन्छ ।
भिन्नता एक
मयलपोस, लबेदा र दौरा समानार्थी लाग्छन् । तर, पूर्ण समानार्थी होइनन् । मयलपोस दरबारी, लबेदा काँठप्रचलित र दौरा पहाडी सम्बोधन हो भनेर पुग्दैन । सही लबेदा मुकुन्दसेनका खजान्ची चिन्तामणि भट्टराईको अद्यापि पाल्पामा सुरक्षित पोसाक हो, जुन घुँडाभन्दा तलसम्म आउँछ, धेरै फुकेको पनि हुन्छ । लिबासको रूपान्तरण र बलुचिस्तानमा लोकपि्रय लबेदासँग यो मिल्दैन, जस्तो कि ठानिन्छ ।
मयलपोसका सम्भवतः अन्तिम ‘आदर्श प्रयोक्ता’ त्रिभुवन हुन् । कस्सिएको, मिहिन वस्त्रयुक्त, शंख घोटेको भनेर मात्रै पुग्दैन । मोटो अर्थमा विशिष्ट निर्मित -कस्टम मेड) पनि हो, जसको गाह्रो भाग खोकिला मिलाउनु हो र जो सहज नाप -पि|m साइज) को दौराभन्दा भिन्न देखिन्छ । मयलपोस ‘सेभिल रो सुट’ भनेजस्तै हो ।
व्युत्पत्ति
वजनदार सुनिए पनि सुकलाको अर्थ सुकुलमै सुत्नु हो । रणोद्दीप सिंहको बेलासम्म सतरञ्जा, दरी उति प्रचलित थिएन । सुकुल नै ओछ्याइन्थ्यो दरबारी बैठकमा । तर, मयलपोसको मयल शारीरिक होइन, यो पोसाक रङ्ग्याउने मेहेल -पाइरस पासिया) हो, बियाँले बदामी रङ दिन्छ । नेवारीको छुस्यापासीबाटै प्रजातिबोधक वैज्ञानिक नाम पासी बनेको छ पनि । पासी र पोसमा सम्बन्ध होला ।
भक्तपुरको इथुली फूलबारीमा नवदुर्गा मानेर मयललाई पुजिन्छ । डोटीको मेलौली भगवती वा बैतडीको तल्लो स्वराडस्थित मेहेलसैनी भगवती मयलबाटै स्थापित हुन् । पर्वतराज्यले फागुमा चीरको रूपमा मयलकै हाँगा गाडेर छाता बनाउँथ्यो र अरूले गाडे हमला गरी
तोडिदिन्थ्यो । पृथ्वीनारायण शाहले बीचमा लमजुङ परेकाले तीनछाते चीर मयलकै गाडे । हिजोसम्म दरबारको दक्षिण ढोकाभित्र गाडिने चीर पनि तीनछाते नै हो- मयलको । दसैंको मौलोलाई मूल खम्बाको रूपान्तरण ठानिन्छ अहिले । तर, मौलो मयलकै रूपान्तरण बुझिन्छ ।
त्यसैले, सम्भवतः फागुमा भारदारले पहिरिने पोसाक शोकबोधक पूर्ण सेतोभन्दा हल्का बदामी हुन्थ्यो कुनैबेला । यही कारण जब कमला नदीपारि, महोत्तरीबाट पर, भारतको मधुवनी प्रगन्नामा पनि कोगिटा -गस्सिपियम अबट्युसिफोलियम) को खेती हुन थाल्यो, नखुइलिने बदामी रङ नेपालीहरूमा लोकपि्रय बन्यो । डिल्लीबजारका अम्बरबहादुर केसी सन् १९४४ तिर पाल्पामा कोगिटा -कोम्पटीको रूपान्तरण) खेती भइरहेको सुनेर बोट ल्याउन दौडिए । चक्रपाणि चालिसेले सन् १९२० तिर हनुमाननगर र मोरङमा खेती भइरहेको पाए । सन् १८०३ मा प|mान्सिस हेमिल्टनले नेपालमा ‘रेड्डिस कटन उल’ देखे । जसलाई आजका घर रङ्ग्याउने कामदारको भाषामा ‘नेपाल रेड’ भने हुन्छ । पवित्र गेरु रङजस्तो भएकाले सयपत्रीले देवपूजामा प्रश्रय पाएजस्तै हो यो, जब कि सयपत्री पुष्पविधानमै पर्दैन ।
दौराको कालक्रम
विसं १६८० तिर सिद्धिनरसिंह मल्लले एउटा रेखाचित्रमा तुना बाँधेको पोसाक पहिरेका छन् । अरू अनगिन्ती मल्लकालीन मूर्ति र प्रसंग छोडौं ।
सन् १८०८ तिरको चिन्तामणि भट्टराईको लबेदाको प्रसङ्ग माथि परिसकेको छ । यद्यपि, उनलाई १५७५ तिरको अर्थात् मुकुन्दसेन प्रथमको समकालीन मान्नेहरू पनि छन् ।
इस्वीको छैटौं शताब्दीमा चीनबाट किमोनो जापान पुग्यो । महिलाले पहिरिने किमोनोको बाहुलाको तल्लो पाटोलाई फुरी भनिन्छ । हामी खोकिलाको तल्लो भागलाई फेर भन्छौं । सुनाखरीको रेसालाई भनिने फेरोबाट नेपालीका फरे, फरिया, फर्दा हुन्छन् । यसैबाट आउँछ प|mक । किमोनोको भित्री कठालोको माथिल्लो भागलाई उरारी भनिन्छ । हाम्रा निम्ति यहीँबाट उर -छाती) सुरु हुन्छ । नभन्दै किमोनोको अगाडिको भागको धारलाई दौरा भनिन्छ । र, एउटा नेपाली व्युत्पत्तिले भन्छ द्वि -दुइटा) उरा -छाती) छोप्ने पोसाक । बुझिन्छ, दौरा छैटौं शताब्दीअघि नै नेपालमा रहेछ । त्योभन्दा धेरैअघि नै नेपालबाट कैयन सांस्कृतिक कुरा जापान पुगेको पुष्टि भई नै सकेको छ ।
१५ देखि २० हजार वर्षअघि लेखिएको मानिएको ऋग्वेद र त्यसपछिको अथर्ववेदमा पोसाकबोधक द्रापी शब्द परेको छ जसलाई भाष्यकारहरूले क्लोक -लबेदासरहको) हुन्थ्यो भनेका छन् । द्रापीबाट दौरा भएको तर पी लोप भएको बुझिन्छ । यजुर्वेदमा नेपालसँग मात्रै सम्बन्धित केही तथ्य परेका छन् भन्ने कुरा ‘अमान्य संज्ञा आदिबासी’ शीर्षकको लेखमा परिसकेको छ ।
दर्जी शब्दलाई बृहत् नेपाली शब्दकोषले फारसी मानेको छ । तर, फारसी मानिएका शमशिर -तरबार), समा -बत्ती), मस्कारा -महिलाहरूले परेलामाथि लाउने रङ) सबै संस्कृत मूलका हुन् । त्यसैले, जसले द्रापी सिउँछ, त्यो दर्जी हो । जसरी आवाज दिने -बाजा बजाउने) आउजी, ओदान बनाउने ओड, नाहुरको आन्द्रा प्रशोधन गरेर तारबाजाको तार बनाउने नहर्की, तालबाजाको पाड्को विशेष कुनै बेला बनाउने पार्की, गहत उमालेर ढुंगामाथि खन्याउँदै फोर्ने गहतराज हुन्छ । नभन्दै नेपालमा ‘दौरा सिउन जाने दर्जी, नजाने दमाहा बजाउने दमाइ’ भन्ने उखानै छ ।
भिन्नता दुई
सुरुवाल पनि सलवारको अनुवाद वा रूपान्तरण होइन । सलवार बन्दछ कपडाबोधक सल जसबाट दोसल्ला चौसल्ला पनि बन्छ । सलवार एक्लै आउँदैन, कमिज सलवार बनेर आउँछ र रेशममा धागोले बुट्टा भरेपछि पर्सियन मूलको ‘किमखाब’ बन्छ, प्राचीन युगको किमोनो रेशमकै हो, हाम्रानिम्ति रेशम किरालाई मन पर्ने किम्बु हो । यसैले, कमिज रेशमकै हुन्थ्यो भन्ने जसरी स्पष्ट छ, सलबाटै अंग्रेजीको सिल्क बन्छ ।
सुरुवाल भने आकारबोधक हो, सुराही र सुरुङ भनेजस्तै । यसैले सुरुवाल विदेशी हो भन्ने केही प्रमाण छैन र सलवार कमिज आयो नै भारतमा इरानबाट इस्वीको बाह्रौं शताब्दीमा मात्र । जब कि दौराको छैटां शताब्दीकै प्रसंग माथि परिसकेको छ ।
‘एनाटमी’
कुहिना र नाइटोलाई समानान्तर मानिन्छ । काखीदेखि कुहिनासम्म खोकिला हुन्छ, कुहिना तलबाट कम्मर सुरु हुन्छ । नाइटोमाथि पेट हुन्छ, तल तल्लो पेट हुन्छ । यही कारण भित्री पेटेभोटो छोटो हुन्छ, बाहिरी भोटो केही लामो हुन्छ । खुकुन्डी र खोकिला तल राखिने भएकाले खुकुरी भएको बुझिन्छ किनभने यसको पुरानो नाम फाल्कट देखा पर्छ । यद्यपि, लिम्बु र लेप्चामा दाबे हो ।
मयलपोसमा कठालो, बाहुला -दुई), भित्री फेर, बाहिरी फेर, खोकिला, सन्जाफ, आङ, तुना -आठओटा), कल्ली -पाँचओटा), खार्पा गरी दस अंग हुन्छन् । यद्यपि, हिन्दी शब्द कल्लीको ठेट अंग्रेजी अनुवाद प्लिट हो र नेपाली मुजा हो । यसैले कल्ली भन्नुभन्दा अहिलेलाई त्रिभुज भन्नु ठीक पर्नेछ ।
जुम्लामा दौराको नाम कोच्छ्या पनि हो, सुरुवालको नाम जाङ्लो हो, ठूलो राग भए खोलुवा जाङ्लो हो, पाउलो भनिन्छ जुत्तालाई । नेवारीमा ‘भोट लँ’ ले भोटो लुगा बुझाउँछ । ठूलाकोमा खार्पा हुने र सानाकोमा नहुने मान्यता छ । मगर र गुरुङमा दौरा भनेको भोटोकै पर्यायवाची हो, बरु पेटेभोटोलाई गुरुङमा फत्तु भनिन्छ । थकालीमा दौरा आङीले चिनिन्छ । साम्पाङको दौराबोधक लछुम र याक्खाको लोकी लाङ्सुप्मा केही मिल्न खोज्छन् ।
गादो र कछाड
मयलपोस सुरुवाल सिएर -खुटेर) मात्रै बन्छ । तर, धोतीगम्छालाई सिउनु पर्दैन । पहाडी पहिरन मानिएको गादो र कछाडलाई पनि सिउनु पर्दैन । नसिएका कपडालाई परम्पराले ‘दुःखका बेलामा’ लगाइने ‘एकसरो’ कपडा मान्छ ।
गादो भनेको भाङ्ग्राको रेसाबाट बनेको टुक्रा हो । गदबाट बनेकाले राजाको आसन होस् वा मारवाडीको व्यापारिक आसन गद्दी भनिन्छन् । यसैको कपडा लाउनेलाई हिन्दीमा गोठालोलाई गदरिया -गडरिया) भनिन्छ । जसको लाक्षणिक अर्थ मूर्ख हो नेवारीको गद्दुजस्तै । यसैको भारी बोक्ने गदहा हुन्छ । यसैलाई धुँदा निस्कने मैलो गद्दर र परिस्थिति फोहोर पार्ने गद्दार हुन्छ ।
कछाड भनेको एक किसिमको लंगौटी नै हो । यसैले भारतमा कच्छा भनिएको हो । लामो फेर कहिलेकाहीँ कुमसम्म बेर्न पुग्ने भएकाले जुम्लामा कोच्छ्या भएको हो । यसैले शरीरका अन्य ठाउँमा छाला दर्फरिनुलाई पाछ्नु भनिन्छ, तर तिघ्राको छाला दर्फरिनुलाई काछ लाग्नु भनिन्छ । यही कछाडबाट भुटानको राष्ट्रिय पोसाक घो बन्न पुगेको छ र नै मेचमा बस्दा भित्रका कुरा सबै देखिन्छ । हामीले यही खोजेको हो ? कछाडभित्रको पनि सानो टुक्रा लिङ्गबोधक लंगौटी हुन्छ, यसैबाट हिन्दीको लेहेङ्गा, मुसलमानको लुङ्गी र पश्चिमको पेन्टीबोधक लिङ्गरी आउँछ । लिङ्गरी पश्चिमको पनि राष्ट्रिय पोसाकमा पक्कै पर्दैन ।
राजनीतिक पाटो
२०६३ को परिवर्तनको पूर्वसन्ध्यामा कान्तिपुर दैनिकमा एक लेखोट छापियो- मयलपोस सुरुवाललाई हुनसम्म होच्याएर सुटको वकालत गर्दै । लेखकको पहिचान थियो, दार्जिलिङबाट नेपाल छिरेको, तर सनातन धर्म त्यागिसकेको, गीतकार र सङ्गीतकार पनि । यसबाट के बुझिन्छ भने मयलपोसका ठाउँमा सुट-टाइलाई नेपालको राष्ट्रिय पोसाक बनाउनमा कुनै एउटा धर्म र उसका अनुयायीहरू लागिपरेका छन् किनभने सुटसँगै अनिवार्य रूपमा जस्तो आउने टाइ लगाइन्छ नै क्राइस्टलाई शूलीमा टाँगेको सम्झनामा । भलै तराईकेन्दि्रत पार्टीका नेतृत्ववर्गले धोतीकुर्ताको पनि पहिचान हुनुपर्छ भनेर वा राई लिम्बु मगर आदिले गादो र कछाडको वकालत गर्नुमा एउटा मौलिक निर्दाेषपना अवश्य छ ।
अहिले एसियामा दक्षिण कोरिया, ताइवान, हङकङ, फिलिपिन्स र पूर्वी टिमोरसम्मले पनि आफ्नो सांस्कृतिक पहिचान करिबकरिब गुमाइसकेका छन् । एक दक्षिण कोरियालीको कार्यकालमै संयुक्त राष्ट्रसंघ नेटोको मुख्यालय हुन पुगेको छ । यसले सुडानको विखण्डनमा सबैभन्दा पहिलो खुसी जनाएको छ, उसैले बाबुराम भट्टराईलाई पहिलो सुखद बधाई दिएको छ । हजारौं वर्ष लगाएर एउटा पूर्ण शास्त्रीय विधान प्राप्त गरिसकेको पोसाकको, अज्ञानीहरूलाई अघि लगाई विरोध गराउनु सुनियोजित र दूरगामी षड्यन्त्रको भाग मात्र हो । जसले आफ्नो व्यक्तिगत शालीनता, गौरवशाली पारिवारिक परम्परा र सुसंस्कृत सामाजिक स्थानमा विश्वास गर्छ, उसले मयलपोस लगाउँछ नै । कसैलाई जंगल फर्किन मन लाग्छ भने उसलाई पनि उत्तिकै छुट छ ।

प्रचण्ड तह लगाउने विकल्पहरु- रवीन्द्र श्रेष्ठ

प्रचण्ड तह लगाउने विकल्पहरु



PRACHANDA_NEPAL_268477e
रवीन्द्र श्रेष्ठ
प्रचण्डले एक पटक यस पंक्तिकार संग भनेका थिए —‘मोहन विक्रमलाइ ०४१ सालमा ढुंगामुढाले हानेर तह लगाइएको हो , त्यो मान्छेले क्रान्तिको नेतृत्वगर्न सक्दैन भन्ने लाग्दथ्यो तर वैकल्पीक राजनीतिक लाइन पनि थाहा थिएन , त्यसैले जे जे पाइयो त्यसैले हानेर ठिक पारियो र त्यस पछि मात्र वैकल्पीक राजनैतिक लाइनको वारेमा खोजी गर्न थालियो ।’ यथार्थ पनि यस्तै थियो, किनभने ०४१ सालको महाधिवेशनमा राजनैतिक दस्तावेजहरु सबै मोहनविक्रमको नै पारित भयो तर मोहन विक्रम भने कारवाहीमा परे । ०४२ सालको फुट पछि पनि मोहन विक्रम समुहको पातलो मसालको दस्तावेज र मोहन बैद्य नेतृत्वको तात्कालिन मोटो मशालको दस्तावेज एउटै थियो , मोहन विक्रमले नै लेखेको । तर समय क्रममा मोटो मशाल भित्रका क्रान्तिकारीहरुको संयुक्त प्रयास स्वरुप नया कार्यदिशा बन्यो र ०५२ सालमा पुग्दा जनयुद्धको शुरुवात भयो । प्रचण्डले जनयुद्धको कार्यदिशा परित्याग गरेपछि प्रचण्ड त्यहि पुरानो ०४१ सालको जस्तै ढुगामुढा गरेर आफ्ना विपक्षी लाइ तह लगाउने तरिका अपनाउन थालेका छन् । तर अहिले परिस्थिति फरक छ र विपक्षी पनि मोहन व्रिक्रम जस्ता सोझा गौ प्राणी होइनन् ।
उपरोक्त प्रसंग उल्लेख गर्नुको उद्देश्य प्रचण्डको क्रुर र जे पनि गर्न तयार हुने प्रवृति लाइ थप प्रष्ट पार्नु मात्र हो । प्रचण्डले जनयुद्ध परित्याग गरे पछि वारम्वार ठुल्ठुला निहु खोज्ने र धम्की दिने गरेका छन् । तर पानी तताइ दे नत्र भन्दै थर्काउने जंड्याहा को जस्तै नत्र के भन्ने वित्तिकै चिसै पानीले नुहाउछु भन्दै पुच्छर लुकाएर पछि हट्ने प्रवृत्तिको विकास प्रचण्डमा भएको छ । प्रचण्डले आफु प्रधानमन्त्री भएपछि कटुवाललाइ यस्तै ढुंगामुढा गरेर हटाउन खोजे तर कटुवालले वहालवाला प्रधानमन्त्री लाइ नै तह लगाउने धम्की दिए पछि भने प्रचण्डले चिसै पानीले नुहाउछु भन्दै लुरुक्क राजीनामा दिएर ज्यान जोगाउन तिर लागे । त्यो बेला प्रचण्डले आफुलाइ नेपाली सेनाले कब्जामा लिन खोज्ने हल्ला सुनेर आफ्ना जनसेनाका लडाकुहरुको एक टुकडि वालुवाटार मै राखेर बरु लडेरै मर्ने तर सेनाको गिरफ्तारीमा नपर्ने भनेर आफ्ना लडाकु गार्डहरुलाइ भनेको कुरा त्यहा बसेका लडाकुहरुले पछि सार्वजनिक गरिसकेकाछन् । तर प्रचण्डले चिलिका वामपन्थी राष्ट्रपति एलेण्डेले जस्तै लडेर शहिद हुने वाटो लिने हिम्मत गरेनन् । प्रचण्डले राजीनामा दिएर चिसो पानीले नुहाए ।
यो काण्ड भन्दा अगाडि पनि पहिलो संविधानसभाको चुनावमा ठुलो दलको रुपमा एमाओवादीले विजय पाए पछि गिरिजालाइ राष्ट्रपति वनाउन त प्रचण्डले रोक्न सके तर ठुला धम्कीका वावजुद पनि सरकार वन्ने र हटाउने कुरा सहमतिमा नभएर वहुमतीय संसदिय प्रणालीमा जाने गरि संविधान संशोधन गर्ने गिरिजाको प्रस्तावमा घुंडा टेकेर सहमती जनाउन प्रचण्ड वाध्य भए । अर्थात त्यो वेला पनि अन्तमा चिसै पानीले नुहाए उनले । विचरा प्रचण्डले राष्ट्रपतिको कटुवाललाइ सेनापति मै कायम राख्ने निर्णयका विरुद्ध ठुलो आन्दोलनको घोषणा गरे तर अन्तमा चिसै पानीले नुहाए र अहिले राष्ट्रपतिले वोलाए पछि दगुर्दै पुच्छर हल्लाउदै प्रचण्ड जाने गरेका छन् । माधव नेपालको प्रधानमन्त्रीत्व कालमा कठपुतलि सरकार भन्दै सात दिने नेपाल बन्द सहित विद्रोहको घोषणा गरे , प्रधानमन्त्रीलाइ सिंहदरवारवाट कठालो समातेर निकाल्ने भन्दै एमाओवादीका केही नेताहरुले भाषण पनि गरे । तर अन्तमा प्रचण्डले आफ्नो कथित विद्रोह सडकमा फिल्मी नायिका संग आफै नाचेर टुंग्याए । जबकी प्रचण्डले त्यो वेला सबै हतियार बुझाइ सकेका थिएनन् , लडाकु समायोजन पनि भएको थिएन , संविधानसभामा एमाओवादी ठुलो दल नै थियो ।
पार्टी वाहिर मात्र होइन कि पार्टी भित्र पनि प्रचण्डले चिसै पानीले नुहाउन वाध्य बन्न थालेकाछन् । बैद्य , वावुराम , वादल र नारायणकाजीलाइ आपसमा लडाउदै र खेलाउदै नेतृत्व कब्जा गरेर वसेका प्रचण्ड धोवीधाट गठबन्धन पछि पार्टी भित्री संघर्षमा पनि नराम्रो संग पछारिए । फलस्वरुप प्रचण्डको दोश्रो पल्ट प्रधानमन्त्री हुने सपना तुहियो र वावुराम प्रधानमन्त्री बने । अहिले आएर वावुरामलाइ नेतृत्व हस्तान्तरण गर्छु भनेर चिसो पानीले नुहाउन वाध्य भए । जबकी कुनैबेला प्रचण्डले वावुरामलाइ गिरफ्तार गरेर राखेका थिए र झण्डै मारेका थिए ।
संविधानसभाको दोश्रो चुनाव पछि जब एमाओवादीको लज्जास्पद पराजय भयो ,त्यो बेला पनि प्रचण्डले चुनावमा धांधली भएको भन्दै ठुलो कोलाहल मच्चाएका थिए । संविधानसभाको वहिष्कार गर्ने धम्की पनि दिएकै थिए । तर प्रचण्ड अन्तमा घुंडा टेकेर चिसो पानीले नुहाएर पजेरो चढेर संविधानसभामा गए ।
अहिले प्रचण्डले ठुला धम्की दिएकाछन् । यो उनको यस चरणको अन्तिम धम्की हो , अन्तिम उपाय पनि हो । एमाले कांग्रेशले दुई उपाय वाट प्रचण्डलाइ तह लगाउन सक्छन् — फकाएर वा थकाएर । फकाएर भन्नुको अर्थ प्रचण्डलाइ एमालेमा विलिन गराएर पार्टी एकता गर्ने र उनलाइ राष्ट्रपति बनाइदिने , किनभने जातीवाद भन्दा वाहेक नमिलेको कुरा कमै छ अब , यसका लागी प्रचण्डले जातीवाद छोड्नु पर्नेछ । अर्को तरिका भनेको प्रचण्डलाइ आन्दोलन गर्न दिने र आन्दोलनमा सरकारले दमन पटक्कै नगरि थकाउन दिने । तर प्रचण्डकै बुद्धि लिएर ढुंगामुढा गरेर प्रचण्डलाइ ठिक गरिन्छ भन्ने उपाय अपनाउन थाल्यो भने एमाले कांग्रेशले पनि ठुलो मुल्य चुक्ता गर्नु पर्ने हुनसक्छ । अर्को उपाय भनेको जसको नीति अन्तरगत आन्दोलन र असन्तोष चलिरहेको छ उसै संग वार्ता गरेर लेनादेना गर्ने अर्थात मधेशको समस्या वारे प्रचण्ड संग होइन कि मधेशवादी दलहरु संगै वार्ता गर्ने र जनजाती समस्या वारे जनजाती नेताहरु संगै वार्ता गर्ने र लेनादेना गरेर संविधान वनाउने । किनभने ती दुबै मागहरु प्रचण्डका होइनन् , प्रचण्ड त उनीहरुको शरणमा परेका मात्र हुन् अथवा उनीहरुलाइ उपयोग गर्न खोजेका मात्र हुन् आफु सत्तामा जानका लागी ।

Tuesday, January 27, 2015

आदिवासी जनजातिहरू सुँगुरजस्तो अघाएको बेला ठसठस सुत्ने, भोक लागेको बेला भित्ता उधिन्ने हुनु हुँदैन- प्रा. डा. नोवलकिशोर राई

आदिवासी जनजातिहरू सुँगुरजस्तो अघाएको बेला ठसठस सुत्ने, भोक लागेको बेला भित्ता उधिन्ने हुनु हुँदैन

आदिवासी जनजातिहरू सुँगुरजस्तो अघाएको बेला ठसठस सुत्ने, भोक लागेको बेला भित्ता उधिन्ने हुनु हुँदैनप्रा. डा. नोवलकिशोर राई

प्रा. डा. नोवलकिशोर राई

पूर्वराजदूत तथा भाषाशास्त्री

माघ ८ मा संविधान नआउनुका थुप्रै कारण देखिएका छन्; तपाईं एकजना अवकाशप्राप्त प्राध्यापक हुनुहुन्छ, अहिले के सोच्दै हुनुहुन्छ ?
सरकारले देश चलाउनुपर्नेमा पार्टीहरूले देश चलाइरहेका छन् । संविधान बनाउने भन्दा पनि अहिले आगामी सरकारमा को जाने र कसले कुन मन्त्रालय पाउने भन्ने कुरा गहु्रँगो भएको छ देशमा । देश र सरकारभन्दा पार्टी र पार्टीभित्रका व्यक्तिहरू लोभमा अल्झिएका छन् । देशको होइन, दलको कुरा बढी छ । नेताहरू चाह्यौं भने दुई दिनमा संविधान बन्छ भन्दै हिँडेका छन् । उनीहरूको स्वार्थ नफुकेको कारण संविधान नबन्ने स्थिति आएको हो । आफ्नो दल र व्यक्तिगत लोभमा फसेका लोभीपापीहरूले देशलाई ओरालो ठेलिरहेको देख्दा मनमा चिन्ता छाएको छ ।
नेताहरू किन देशको हितभन्दा आफ्नो स्वार्थ हेर्छन् ?
बाघले मान्छेबाहेकको अन्य जन्तुको सिकार गर्छ । मान्छे खान पल्क्यो भने आहारामा मान्छे नै खोज्छ । त्यस्तै, ब्यापारी वा शासक नेता कालो धन्दामा लागेपछि त्यो धन्दाको रसले छाड्दैन । तीन दलका दश नेता र त्यसमध्ये पाँच नेताले जे भन्यो त्यही हुने सिन्डिकेट छ देशमा । देशलाई बन्धक बनाएर चुस्ने चुसाहा नेताहरू भएको कारण त्यसको प्रभाव तिनका पार्टीमा लछप्पै छिरेको छ ।
तपाईं अहिले पहिचानको आन्दोलनमा हुनुहुन्छ, होइन ?
आन्दोलनमा होइन, म सत्य कुरामा लागेको छु । हामी जनजाति किन पछाडि पर्‍यौंं ? निश्चय पनि हाम्रा कमजोरी छन् । त्यही कमजोरीलाई टेकेर आफै मात्र गरिखाऊँ भन्ने अभिजात वर्गकाहरूले हामीलाई प्रहार गरी क्षतविक्षत बनाइरहेका छन् । त्यसमा हामी जनजाति, मधेसी, महिला र कर्णालीबासी उत्पीडित छौं । म सडकमा मुठी उठ्याएर आन्दोलन गरिहिँडेको छैन, त्यो मेरो उमेर पनि होइन, तर म देशमा पछाडि परेका, पारिएकाहरूको सम्मानजनक सहभागिता र पहिचान होस् भन्नेमा दृढ छु । यसका लागि म बोल्छु, म लेख्छु ।
जनजातिका कमजोरी के–के हुन् ?
संस्कृतको एक सुक्तिले उठ, जाग, ज्ञान प्राप्ति गर र सक्रिय होऊ भन्छ । जनजातिहरूमा यी कुराको कमी छ । हामी एक हौं, सक्रिय होऊँ भन्छन् कोही अगाडि बढ्दैनन् । जनजाति भनेको एकजत्था नहुने जाति बनेको छ । जंगलमा भैँसीहरू एक हुल हुन्छन्, सिंहले जो कमजोर छ, उसलाई आक्रमण गर्छ । हुलबाट छुट्टिने र आफूलाई कमजोर पार्ने काम नेपालका जनजाति नेताहरू स्वयम्ले गरिरहेका छन् । कहिले पनि एउटा नेतृत्वमा अगाडि नबढ्ने, सक्रिय नहुने, समुदायका लागि नबढ्ने महारोग छ उनीहरूमा । यही कारणले जनजातिहरू युगौंयुग पछाडि परेका छन् । अझै युगौंयुग पछाडि पर्छन् ।
के मनोदशाले जनजातिमा यस्तो भएको ?
पछौटे मनोदशा । जो कमजोरी र पछौटे मनोदशाबाट ग्रसित हुन्छ, ऊ मानसिक रूपले हतास हुन्छ । व्यक्ति शारीरिकमात्र होइन मानसिक रूपले झन् बढी सक्रिय हुनुपर्दछ । जनजातिहरूमा यही कुराको अभाव छ, नेतृत्व छैन । म नेता वा राजनीतिशास्त्र पढेको व्यक्ति होइन, तर म के भन्छु भने जब मान्छे मानसिक रूपले हरेस खान्छ, त्यसपछि शारीरिक रूपले थकित हुन्छ । पार्टीमा लागेका जनजातिहरू नेताले के पद देला र खाउँला वा मलाई कहाँ पुर्‍याउला भनेर पिछलग्गु र आदेशपालकमात्र छन् । जब आफ्नो नेताले कुरा सुन्दैन, अनि जनजातिको नारा लाउन थाल्छन् । हामी मानसिक रूपमा दरिद्र छौं । यो त सुरुमा हेक्का हुनुपर्छ । सुरुमा उठ्ने, जागो हुने र सक्रिय हुने हो, त्यसपछि एकजुट हुने हो । हामी जनजातिले यसमा आफूलाई पुर्‍याउन सकेका छैनौं ।
जनजातिहरूले त पहिचानसहितको संघीयता खोजिरहेछन्, अरु हुँदैन भनिरहेछन् !
दुई वर्षअघिसम्म सबै पार्टी र नेताले सामथ्र्य र पहिचानका आधारमा संघीयता हुन्छ भनेकै हुन्, अहिले पहिचानलाई शून्य बनाएर सामथ्र्यको मात्र कुरा गर्ने ? यस्तो एकलकाँटे कुराले हुन्छ ? पहिचान र सामथ्र्यका कुरा लिनुपर्छ, तर कुन–कुन कुरा लिने भनेर एकठाउँ भएर निष्कर्ष निकाल्नुपर्छ । संविधानसभामा लाने कुरा रिसोर्टमा लैजाने अनि त्यसको ऋण हाम्रो टाउकोमा थोपर्ने नेताहरूले ? संविधानसभामा गर्नुपर्ने छलफल नेताको घरमा गर्ने ? हरेक बहानामा यहाँका अभिजात वर्गका शासकहरूले उत्पीडित जातिहरूको चेतनालाई पेलेर आफ्नो एकल प्रभुत्व लाद्न खोजिरहेका छन् । पहिचान भनेको यहाँका उत्पीडित जाति र वर्गलाई चाहिएको हो । शासन र रासनमा एकाधिकार जमाइरहने दुर्नियतले श्रीपेच नलाएका नवसामन्ती ‘राजा’हरूले पहिचानलाई निषेध गर्न खोजिरहेका छन् ।
पहिचान त जातिवाद हो रे नि त ?
पहिचान जातीयता पनि हो, तर पूर्ण जातीयता होइन, अंशमात्रै हो । जुन भेगमा जातीयताको हिसाबले दलित छ या शोषण छ, त्यहाँ जातिको कुरै गर्न नहुने कारण के छ ?सदीयौंदेखि एउटै जातिले देशको साधनस्रोत भजाएर खान मिल्ने ! आफ्नो जातको नाममा हसुर्ने अनि अर्कोले चाहिँ आफ्नो जातिको पहिचानको कुरै गर्न नमिल्ने ?
जातिवादी आरोप लगाउनेहरूलाई म भन्छु– कमसेकम आफ्नो जातिको पहिचानको कुरा गर्न दिनुस्, सुन्ने धैर्य राख्नुस् । जातिको नाममा सबै गर्नुपर्छ भनेको होइन मैले । म आफै पनि मेरो जातका कारण धेरै ठाउँ विभेदमा पारिएको छु । दक्षिण एसिया जातीयताकै कारण पछि परेको हो; एउटै जातिले मात्र शासन गर्ने र सुखसुविधा पाउने अन्यायपूर्ण नीतिले पछि परेको हो । तपाईंहरूले आफ्नो जातिको नाममा घिऊ खाँदै व्यक्तिगत लिप्सामा देश नडुबाउनुहोस् । अरुलाई पनि सम्मानित परिचय दिएर देशलाई अगाडि लैजानुहोस् ।
पहिचानसहितको संघीयता भयो भने साँच्चै देश उँभो लाग्छ त ?
सिक्किमलाई हेरौं । पवन चाम्लिङले एकजना कामी, दुईजना भोटे, एकजना बाहुन, एकजना राईलाई मन्त्री बनाएका छन् । दश पन्ध्र जना मन्त्रीमा त्यहाँका सबै जातिलाई समेटेका छन् । के सिक्किम डुबेको छ ? दिल्लीले पैसा थुपारेर सिक्किम बनेको होइन । पैसाले मात्र देश बन्ने पनि होइन । जबसम्म राज्य समावेशी हुँदैन, सबै जातजातिलाई देशमा अपनत्व महसुस हुँदैन, तबसम्म देश बन्दैन, त्यसैले देशमा पहिचानविहीन बनाइएकाहरूलाई चाहिएको हो पहिचान ।
धेरै देश घुम्नुभयो, देश वा समुदाय उँभो लाग्न के चाहिँदो रहेछ ?
पहिलो, इमानदारिता । जबसम्म कुनै नेता, बाबु, आमा छोराछोरी इमानदार हुँदैनन्, न त्यो परिवार, न त देशै अगाडि जान्छ । दोस्रो, श्रम । नेपालमा जागीर खानेले आठ घण्टामा इमान्दारले दुई घण्टा काम गर्छ, बेइमानले गर्दै गर्दैन । इमानदार किसानले दिनभरमा ८ घण्टा काम गर्छ, बेइमानले अरुलाई जोताएर खान्छ । नेपालीको प्रतिव्यक्ति आय ७ सय डलर छ । मैले सबैभन्दा पछिल्लो भ्रमण गरेको देश माल्दिभ्सको प्रतिव्यक्ति आय ६ हजार डलर छ । एउटा रुख नभएको देश यति समृद्ध छ । जुन देशमा कुनै जाति वा समुदायले आफू दमित भएको महसुस गर्नुपरेको हुँदैन, त्यो देश समुन्नतितिर जान्छ । नेपालको उन्नतिका लागि पनि पहिचानसहितको संघीयता आवश्यक छ ।
देशलाई एउटै धर्मको बनाउने आन्दोलन पनि चल्दैछ त देशमा !
धर्म, खाना, वस्त्र र राजनीतिक आस्था नितान्त व्यक्तिगत हुन् । म कुनै राजनीतिक पार्टीमा छैन, तर मेरो राजनीतिक आस्था छ । राज्यले यो धर्म हुनुपर्छ, यो खाना खानुपर्छ, यो लुगा लगाउनुपर्छ र यही आस्था मान्नुपर्छ भनेर जबर्जस्ती गर्न मिल्दैन । नेपाल धर्मनिरपेक्षताबाट पछाडि फर्कन सक्दैन ।
अहिलेको जनजाति आन्दोलनको सम्भावना कस्तो देख्नुहन्छ ?
बिकाउ जनजातिहरू पार्टीमा घुसेका छन् । नेताले जे दिन्छ, थापेर खान्छन् । केही योग्यहरू पार्टीका पछाडि छन् । हासिल होस् नहोस् आन्दोलन चाहिँ गर्नैपर्छ । अधिकार नभएकाहरूले अधिकार खोज्नैपर्छ । हाम्रो आन्दोलनले के होला भनेर निरुत्साहित हुनुहुँदैन । जो हराएको छ, उसले आफूलाई खोज्नैपर्छ, जो हेपिएको छ, उसले आन्दोलन गर्नैपर्छ । जबसम्म आन्दोलन हुँदैन, देशका सामन्त र शोषकहरूले राज गरिरहन्छन् । जनजातिहरूको पहिचानको आन्दोलन सामाजिक न्यायका लागि पनि अत्यावश्यक छ ।
अब सुँगुरले जस्तो अघाएको बेला ठसठस सुत्ने र भोक लागेको बेला भित्ता उधिन्ने हुनुहुँदैन आदिवासी जनजातिहरू । शोषण र दमनको कुण्ठा पालेर मात्र हुँदैन, आफू दमित हुन नसक्ने दक्षता भएको व्यक्ति पनि बन्न सक्नुपर्दछ ।
प्रस्तुतिः खोप्तोङ राजालिम ̸बुङ्वाखा
http://esamata.com/np/2015

संविधानसभा विघटन भन्ने शक्तिसँग संयुक्त आन्दोलन हुनसक्दैनः नारायणकाजी श्रेष्ठ

संविधानसभा विघटन भन्ने शक्तिसँग संयुक्त आन्दोलन हुनसक्दैनः नारायणकाजी श्रेष्ठ

संविधानसभा विघटन भन्ने शक्तिसँग संयुक्त आन्दोलन हुनसक्दैनः नारायणकाजी श्रेष्ठ

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

उपाध्यक्ष, एनेकपा माओवादी


(पहिचानसहितको संघीयता पक्षधरहरुको संघर्ष सुरु भएको छ । तर, एमाओवादीकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ आन्दोलनविरुद्ध रहेको जस्तो विवादास्पद भनाइ कतिपय मिडियामार्फत सार्वजनिक भइरहेका छन् । यसले एमाओवादी पार्टीभित्र तरंग ल्याएको छ भने सडक संघर्षमा होमिएका आन्दोलनकारीबीच पनि उनको छवि धुमिल बनिरहेको छ । के उनी साँच्चै पार्टीको निर्देशनविपरीत आन्दोलनविरुद्ध लागेकै हुन् ? उनीसँग इसमताका लागि राजेश चाम्लिङले गरेको कुराकानीको सम्पादित अंश– सं.)
बाध्यात्मक आन्दोलन
संविधान निर्माणका लागि हामी अत्यन्तै लचिलो भएर प्रस्तुत भएका थियौं । हामीले कांग्रेस–एमालेसँग लगातार छलफल गरेपछि सहमतिबाट संविधान बन्ने स्थिति बनेको थियो । तर संविधानसभामा प्राप्त मतको अंकगणितले उहाँहरुलाई अन्धो बनायो । पछिल्लो चरणमा संविधानसभाबाट संविधान निर्माण गन सहमतिको प्रक्रियाले एक स्तरको गुणात्मक फड्को मारेपछि उहाँहरुले अचानक भड्काउने काम गर्नुभयो । संविधानसभाको अंकगणितको अहंकारमा उहाँहरुले सहमति बन्न नदिने मनस्थितिका साथ बहुमतीय प्रक्रियाबाट बलात् संविधान बनाउने प्रयास थाल्नुभयो । यस्तो अवस्थामा हाम्रो अगाडि सहमतिको संविधान र प्राप्त उपलब्धिलाई संस्थागत गर्नेगरी संविधान बनाउन आन्दोलन गर्नुबाहेक अर्को कुनै विकल्प छैन । हामी त्यही कारण उत्पीडित जाति, वर्ग, क्षेत्रमा जानेगरी अगाडि बढिरहेका छौं । यो हाम्रो बाध्यता हो । हामीसँग दृढतापूर्वक संघर्षमा उत्रनुको विकल्प छैन ।
केका लागि संविधानसभा ?
नेपाली जनताले ६ दशकभन्दा लामो लडाइँपछि संविधानसभाबाट संविधान निर्माण गर्ने अधिकार पाएका हुन् । पछिल्लोपटक त दशौं हजार महान सहिदहरुले यसका लागि बलिदान दिए । संविधानसभा अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि हो जसले उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गको हकअधिकार सुनिश्चित गरोस् । त्यसका लागि संविधानसभाबाटै संविधान बनाउनुपर्ने हो । हामी हरहालतमा यो संविधानसभाबाट संविधान बनाउन चाहन्छौं । तर त्यो संविधान आन्दोलनकारी शक्तिका बीचमा, ऐतिहासिक सम्झौताका पक्ष शक्तिहरुका बीचमा र शान्ति प्रक्रियाका पक्ष शक्तिहरुका बीचमा सहमतिको आधारमै गर्नुपर्ने हुन्छ । हामी त्यसका निम्ति क्रियाशील छौं । तर कांग्रेस र एमाले ऐतिहासिक सम्झौताका निर्देशन बिर्सिएर बहुमतीय प्रक्रियाबाट संविधान बनाउन र जसरी पनि एकथान संविधान घोषणा गर्नेतिर अघि बढेका छन् ।
संविधानसभा बहिष्कार होइन
हामी के कुरामा स्पष्ट छौं भने आन्दोलन संविधानसभाबाट संविधान बनाउनका लागि गरिएको हो । संविधानसभाबाट बाहिर जान वा संविधानसभा विघटनका लागि होइन । हाम्रो आन्दोलन संविधान बनाउन दबाब दिनका लागि हो, पहिचान र सामथ्र्यमा आधारित संघीयताका लागि हो ।
एक मधेस एक प्रदेश हुँदैन
आन्दोलन गर्दा यसको लक्ष्य पनि स्पष्ट हुन जरुरी छ । अहिले यसमा केही अन्यौल देखिएको छ । हामीले पहिचान र सामथ्र्यको आधारमा संघीयताको कुरा गरिरहेका छौं, समावेशी र समानुपातिक अधिकारको कुरा गरिरहेका छौं । कम्तीमा मिश्रित निर्वाचन प्रणाली हुनुपर्छ भनिरहेका छौं । मिश्रित चुनावमा कम्तीमा पनि मजदुर र किसानको पनि समावेशीकरण हुनुपर्छ भन्ने हाम्रो दृढ अडान छ ।
अर्को कुरा, हामीले संघीयताको कुरा गर्दा उत्पीडित, जाति, भाषा, क्षेत्र, समुदायको अधिकारलाई केन्द्रविन्दु बनाएर प्रदेश बनाउनुपर्छ, भनिरहेका छौं । तर आममानिसमा भ्रम पारिएजस्तो त्यो एकल जातीय प्रदेश होइन, त्यस्ता प्रदेश बहुजातीय र बहुभाषिकै हुनेछन् । यो मान्यतालाई आधार मानेपछि अर्को कुनै प्रदेशचाहिँ भूगोललाई आधार मानेर बनाउनुपर्छ भन्ने कुरा स्वीकार्य हुँदैन । उदाहरणका लागि ‘एक मधेस एक प्रदेश’ स्वीकार्न सकिन्नँ । एउटा सिद्धान्तका आधारमा संघीयता निर्माण गर्ने भनिएपछि त्यसैलाई मान्नुपर्छ ।
उद्देश्य मिल्नेबीच मात्र गठबन्धन
आन्दोलनका सहयात्रीबीच उद्देश्यबारे पहिले नै स्पष्ट हुनुपर्छ । त्यसपछि मात्र सहयात्रा सम्भव हुन्छ । आन्दोलनको उद्देश्यमा पहिले नै सहमति भएन भने आन्दोलनकारी शक्तिबीच फाटो हुन्छ । पछि धोका दिएको ठहर्छ । यसले आन्दोलनकारी जनताहरुको बीचमै पनि भिडन्त हुने सम्भावना हुन्छ । आन्दोलनकारी जनताबीच पनि अन्यौल सिर्जना गर्छ । त्यसैले यसबारे पहिल्यै निक्र्यौल हुनुपर्छ । आन्दोलनको बेला ठूलो वा अमूर्त कुरा दिने आन्दोलनले प्राप्त गर्ने ठोस लक्ष्यचाहिँ सानो स्तरको भयो भने आन्दोलनकारी नेतृत्व र जनसमुदायबीच अन्तरविरोध सिर्जना हुन्छ ।
उदाहरणका लागि, अहिले संविधानसभा विघटन हुनुपर्छ भन्ने शक्ति पनि हुनुहुन्छ । उहाँहरु पनि परिवर्तनकामी शक्ति नै हुनुहुन्छ । तर अहिलेको आन्दोलन उहाँहरुसँग संयुक्त आन्दोलन हुनसक्दैन । किनभने हामी संविधानसभाबाट संविधान बनाउन लागिरहेका छौं, उहाँहरु संविधानसभा विघटन गर्नुपर्छ भनिरहनुभएको छ । त्यसले दुवै पक्षलाई फाइदा गर्दैन । हामीलाई संविधानसभाबाट संविधान बनाउन चाहिरहेका छैनन् भन्ने आरोप लाग्छ । अर्कोतिर संविधानसभा विघटन गर्नुपर्छ भन्ने शक्तिलाई भोलि त्यो पूरा नहुँदा धोका दिएको ठहर्छ ।
आफ्नै बलबुतामा भर परौं
आन्दोलनका कार्यक्रम आम जनताले स्वीकार्ने वा समर्थन गर्ने खालको हुनुपर्छ । आन्दोलन भन्नासाथ बन्द, हड्तालमा मात्र जानुपर्छ भनेर सोच्नु हुँदैन । आम जनतालाई परिचालन गर्ने हिसाबले आन्दोलनमा जानुपर्छ । आन्दोलनबाट गलत प्रवृत्तिले फाइदा नउठाओस् भन्नेमा हामी सचेत हुनुपर्छ । आन्दोलनका लागि हामीलाई अन्तर्राष्ट्रिय समर्थन जरुरी हुन्छ । तर जरुरी छ भन्दैमा विदेशी शक्तिहरुको आडभरोसामा आन्दोलन गर्छु भन्ने सोच्नु हुँदैन । नेपाली जनताको बलमा नै आन्दोलन गर्छु भन्ने सोच्नुपर्छ । अझ विदेशी शक्तिहरुले यो आन्दोलनलाई आफ्नो अस्त्र बनाउने कुरामा पनि हामी सचेत हुनुपर्छ । त्यसैगरी पृथकतावादी शक्ति, हिन्दू पुनरुत्थानवादी शक्तिहरु पनि छन् । यी प्रवृत्तिबाट पनि आन्दोलनलाई बचाउनुपर्छ । यी प्रवृत्तिले आन्दोलनबाट फाइदा नउठाऊन् भनेर जोगिँदै आन्दोलनमा जानुपर्छ ।
दृढतापूर्वक आन्दोलनमा जानुको विकल्प छैन । आफ्नै बलबुतामा आन्दोलन उठाउँछौं भन्नेमा सबैले दृढतापूर्वक संघर्ष गर्न जरुरी छ ।
http://esamata.com/np/2015

भ्रष्ट, राष्ट्रघाती, दलाललाई राजनीति सुम्पेर विश्राम लिन्न - नारायणकाजी श्रेष्ठ

भ्रष्ट, राष्ट्रघाती, दलाललाई राजनीति सुम्पेर विश्राम लिन्नःनारायणकाजी

narayankaji shreshtha
काठमाडौं । नयाँ शिराबाट आन्दोलन उठाउनुपर्ने एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताएका छन् । छ दशकदेखि लामो संघर्ष र हजारौंको वलिदानबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत वा उत्पीडितहरुको हक अधिकारलाई स्थापित हुने गरी संविधान निर्माण हुनुपर्नेमा प्रकाशको जोड छ ।
आन्दोलन उठानको लागि लक्ष्य, उद्देश्य, एजेण्डा, सहयात्री आदिको बारेमा प्रष्ट हुनुपर्नेमा जोड दिदैं प्रकाशले आन्दोलनको लागि आन्दोलनमात्र भनेर नहुने बताए ।
उनले राजनीतिमा भइरहेको भ्रष्टीकरणका विरुद्ध संघर्ष गर्नुपर्नेमा पनि उत्तिक्कै जोड दिएका छन् । आफू सार्वजनिक यातायातमा हिंड्नुको कारणलाई नारायणकाजीले त्यसै अभियानमा जोडेर हेर्न भनेका छन ।
‘आर्थिक स्रोत खुलाइदैंन, पार्टीबाट लगिएको छैन । गाडी चढिएको हुन्छ । पुख्र्यौली सम्पत्तिबाट पनि त्यो खर्च भएको होइन, एउटा नेताको महिनामा तीन लाखसम्म खर्च हुन्छ भने त्यसको स्रोत के हो जनतालाई थाहा दिनु पर्दैन ?’ नारायणकाजी श्रेष्ठले आक्रोस पोखे–‘वैठकमा जाँदा गाडीको जुलुश हुन्छ, गोडा राख्ने ठाउँ कार्यालय परिसरमा हुँदैन । त्यो पैसा गलत ढंगले लिएको भन्ने कसले बुझ्दैन ? यसलाई नसच्याएसम्म कसरी पार्टी, आन्दोलन बन्छ ?’
विद्यमान राजनीतिक विषय र पार्टीको आन्तरिक जीवनमा केन्द्रित रहेर नारायणकाजी श्रेष्ठसँग झिल्कोले गरेको कुराकानीको महत्वपूर्ण अंशः
तपाईंहरुले आन्दोलनको घोषणा गर्नुभएको छ । आन्दोलनको विकल्प थिएन ?
संविधानसभाबाट संविधान निर्माण हुनुपर्छ भनेर छ दशकदेखि संघर्ष भयो । योसँग दशौं हजारको वलिदान जोडिएको छ । उत्पीडितहरुको अधिकारलाई स्थापित गर्ने, उपलब्धिहरुलाई संस्थागत गर्ने चुनौती हाम्रो अगाडि छ । जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रियापछिका आन्दोलनका सहयात्रीहरुसँगको सहकार्यबाट हामीले त्यसलाई समाधान गर्नुपर्छ ।
नेपाली कांग्रेस, एमालेको यथास्थितिवादी, खस संकीर्णता र शासकीय अहंकारका कारण समस्या परिरहेको छ । सहमतीय प्रक्रियाबाट संविधान बनाउने कार्यलाई लत्याएर बलपूर्वक वहुमतीय प्रक्रियाबाट अगाडि बढिएको छ ।
जनताको उपलब्धिको रक्षा, संस्थागत गर्न वहुमतीय प्रक्रियालाई उल्ट्याएर सहमतिमा लैजान आन्दोलन अनिवार्य भएको छ । सक्रियता र दृढतापूर्वक आन्दोलनमा जानुको विकल्प छैन् ।
यसमा अलि प्रष्ट हुन नसकेको विषय भनेको आन्दोलनकारीहरुको विविध मागहरु छन । यसले सबैका लक्ष्यहरुलाई कसरी सम्बोधन गर्न सक्ला ?
हो, मैले बढी जोड दिएको यहीनेर हो । आन्दोलनमा जान केही महत्वपूर्ण विषयमा प्रष्ट हुनैपर्छ । पहिलो, आन्दोलनको उद्देश्यबारेमा प्रष्ट हुनैपर्छ ।
संविधानसभाबाट सहमतिका आधारमा जनताको उपलब्धिलाई संस्थागत गर्न दवाव दिने हाम्रो आन्दोलनको मुख्य उद्देश्य हो कि के हो भन्ने त प्रष्ट हुनैपर्छ ।
योसँगै जोडिएको दोस्रो भनेको आन्दोलनको लक्ष्य वा एजेण्डाका बारेमा प्रष्ट हुनुपर्छ । पहिचान र सामथ्र्यका आधारमा संघीयता मुख्य कुरा हो कि के हो प्रष्ट हुनुपर्छ । पहाडमा उत्पीडित जातिको पहिचानको कुरा आएको छ भने तराई/मधेसमा त्यो छैन । त्यहाँ भूगोलमा जोड दिइएको छ । यो दोहोरो मापदण्ड किन ?
तराईमा पनि उत्पीडित भाषिक, साँस्कृतिक समुदायले पनि स्वशासनसहितको प्रदेश प्राप्त गर्ने भन्ने सही हो । हामी त्यसको पक्षमा छौं । झापा, मोरङ, सुनसरी, चितवन, कैलाली, कञ्चनपुर नभएसम्म संविधान बन्नै दिदैंनौ भनेर लड्ने हो भने हामी कहाँ पुग्छौ ? यस्ता कुरामा प्रष्टता र एकरुप समझदारीको आवश्यकता छ । यो बारेमा मैले सोमवारको सर्वदलीय वैठकमा समेत राखें ।
हामीले उत्पीडित वर्ग किसान र मजदुरलाई प्राथमिकतामा ल्याउनका लागि किन नलड्ने रु हाम्रो जोड त्यहाँ हुनुपर्ने होइन ?
तेस्रो, सहयात्रीको बारेमा प्रष्ट हुन आवश्यक छ । नेपालका कम्युनिस्ट र आमूल परिवर्तनका बीचमा एकता, सहकार्यको पक्षमा जोड दिनुपर्छ । संविधानसभा विघटन हुनुपर्छ भन्ने र संविधानसभाबाट नै संविधान बनाउनुपर्छ भन्नेबीचमा त्यही मुद्धामा कसरी संयुक्त आन्दोलन हुनसक्छ ? त्यसले त एक अर्कालाई प्रयोग गरिरहेको जस्तो भएन ? पछि एउटा विन्दुमा पुगेपछि एकले अर्कोलाई धोका दिएको भन्ने ठहरिदैंन ? जनतामा पनि कुन मुद्धामा आन्दोलन भइरहेको छ भन्नेमा आशंका र भ्रम पैदा हुन्छ ।
चौथो, आन्दोलनको कुरा गर्दा संघर्षको स्वरुपका बारेमा प्रष्ट हुन आवश्यक छ । व्यापक जनताले स्वीकार्ने प्रकृतिको आनदोलन उठाउनु पर्छ । बन्द, हडताल हर समयमा जानु हुँदैन ।
पाँचौ, अन्तर्राष्ट्रिय समर्थन लिनु आन्दोलनका लागि राम्रै हुन्छ तर विदेशी शक्तिको आड, भरोसा वा निर्देशनमा आन्दोलन अगाडि बढाउनु हुँदैन । हाम्रो आन्दोलन नेपाली जनतालाई सशक्त बनाउने प्रकृतिको हुनुपर्छ न कि विदेशी शक्तिलाई ऊर्जा दिनेखालको ।
हिन्दु पुनरुत्थानवादी र पृथकतावादीहरुले लाभ लिने ढंगको आन्दोलन बनाउनु हुँदैन ।
तपाईंको जोड चाहिं के हो त ?
यो आन्दोलन हाम्रो रहर होइन, वाध्यता हो । कांग्रेस, एमालेको यथास्थितिवादी, प्रतिगामी कदम नसच्चिकन, अग्रगमन संविधानका लागि सहमतिमा जाने प्रतिबद्धता नजनाएसम्म उनीहरुसँग सम्वाद÷वार्ता हुँदैन भन्नेमा हामी प्रष्ट छौं । उनीहरु सच्चिएर आएमा सहमतिमा संविधान बनाउनु पर्छ भन्नेमा हामी प्रष्ट हुनुपर्छ ।
कांग्रेस, एमालेको पेलेर नै जाने र विपक्षीहरुले त्यसको प्रतिवाद सडकबाट गर्ने अवस्थामा संविधानसभाको औचित्यता के हो ? 
प्रतिगामी/यथास्थितिवादी एजेण्डालाई कार्यान्वयन गर्न खोजिएको छ, त्यसको हामीले प्रतिवाद गर्नैपर्छ । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक अधिकारको रुपमा राख्ने गरी हामी जानुपर्छ । जस्तो मौलिक अधिकारका लागि पहिलो संविधानसभामा धेरै मेहनतपूर्वक सीपी गजुरेलहरुले तयार गरेको विषयलाई पारित गर्न लडौं न ।
तपाईं केही नयाँ विषय ल्याउनु हुन्छ । तर, तपाईंलाई त्यसलाई कार्यान्वयन गर्न अप्ठ्यारो पर्छ । यस्तै समस्या परेपछि तपाईंले पार्टी र राजनीति छाड्ने भन्नुभएको हो ?
हाम्रो पार्टी यथास्थितिमा रहनु हुँदैन भन्ने कुरा मैले राख्दै आएको छु । भ्रष्टीकरण, प्रदुषण, स्खलनको प्रक्रिा तीब्र ढंगले बढेको छ । शहीदको सपना पूरा गर्नका लागि पार्टीलाई फेर्नुपर्छ भनेर मैले भन्दै आएको छु ।
सांगठानिक कार्यभार भनेर मुख्य कुरा रुपान्तरण, पुनर्गठन र नयाँ ढंगको पार्टी निर्माण भनेर भनिएको छ । यो निश्कर्ष सही छ । तर, त्यसको कार्यान्वयन खोई त रु पार्टी रुपान्तरण गर्नुपर्छ भनेर मैले भनेको हो फुटाउने या छाड्ने होइन । क्रान्तिकारी कम्युनिस्ट केन्द्र बनाउनु पर्छ भनेर क्रियाशील छु र भइरहने छु ।
क्रान्तिकारी आन्दोलनको स्खलनले क्रान्तिकारीहरुमा ठूलो निराशा पैदा भएको छ । परिवर्तनपछि जनताले परिवर्तन जीवनमा प्रयोग गर्न नपाएको अवस्था छ ।
राजनीतिक नेतृत्वको गलत पद्धतिको कारणले आमजनताले राजनीति भनेको फोहरी कुर्चीको खेल नै रहेछ भन्न थालेका छन् । राजनीतिलाई सफा गर्नुपर्छ भन्ने पक्षमा छु ।
राजनीतिमा भ्रष्ट, राष्ट्रघाती, दलाल र आफ्नो पदीय स्वार्थको मात्र चलखेल र भूमिका बढिरहेको छ । त्यसैले राजनीतिमा पनि शुद्धीकरण अभियान चलाइरहेको छु । यसरी मात्र देश बदल्न सकिन्छ ।
भ्रष्ट, राष्ट्रघाती दलालहरुलाई सुम्पेर म राजनीतिबाट विश्राम लिन सक्तिन । बरु राजनीति सफा गर्न र देश फेर्न अझ सक्रिय भएर लड्छु ।
- See more at: http://www.jhilko.com/%E0%A4%AD%E0%A5%8D%E0%A4%B0%E0%A4%B7%E0%A5%8D%E0%A4%9F-%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%98%E0%A4%BE%E0%A4%A4%E0%A5%80-%E0%A4%A6%E0%A4%B2%E0%A4%BE%E0%A4%B2/#sthash.QNpcDye4.dpuf

Monday, January 26, 2015

महिमा र भर्त्सनाबीच पृथ्वीनारायण - बसन्त बस्नेत

महिमा र भर्त्सनाबीच पृथ्वीनारायण


    बसन्त बस्नेत 


    PN
    काठमाडौं, पुस २७ - 'पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तारभन्दा अरू केही थिएन । त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भनेर ऐतिहासिक महत्त्व दिन खोज्नु गलत हुनेछ । त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना वा कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको एउटा ऐतिहासिक तत्त्व हो ।'
    यो पंक्ति कांग्रेस नेता प्रदीप गिरिद्वारा सम्पादित पुस्तक 'विश्वेश्वरप्रसाद कोइराला, राजनीतिक अभिलेख' को पृष्ठ १७६ मा उल्लेख छ । शाहलाई राष्ट्रिय एकताका प्रतीक र श्री ५ बडामहाराजाधिराजका रूपमा पुज्नेहरू एकातिर छन् । बाबा गोरखनाथले दही पिलाउन खोज्दा शाहले खुट्टामा पोखाएको कथामा कहाँबाट किंवदन्ती सकिन्छ र इतिहास सुरु हुन्छ, खुट्टयाउन गाह्रो छ ।
    'गोरखा साम्राज्यका क्रूर राजा' लाई आधुनिक नेपालमा निषेध गर्नुपर्छ भन्नेहरू अर्कातिर छन् । सामन्ती राज्य विस्तार गर्ने, अरू राज्यको पहिचान निल्ने साम्राज्यवादीका रूपमा उनीहरू शाहलाई बुझ्छन् । बदलिँदो युगसँगै राष्ट्रिय एकताका नयाँ प्रतीकहरू खोजिनुपर्ने उनीहरूको मत छ । अबको नेपालमा एउटा निश्चित शासकमात्रै नायक हुन नसक्ने, बहुनायक खोजिनुपर्ने उनीहरूको माग छ ।
    लम्बिँदो संक्रमणकाल र बढदो अन्योलबीच विवादहरू सतहमा छन् । शाहमाथि यतिका सूचना, जानकारी उपलब्ध छन् । एउटा प्रश्न भने थाती नै छ, आखिर को हुन् पृथ्वीनारायण शाह ? यति महत्त्वसाथ आजका मितिसम्म सम्भिmनुपर्ने त्यस्तो के छ उनीभित्र ? बितेर गएको २ सय ४० वर्षपछि पनि समर्थन र विरोधमा सर्वसाधारण बाँडिनुपर्ने त्यस्तो के छ उनीभित्र ?
    शाहलाई हेर्नेबारे पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता बाबुराम भट्टराईका धारणा बीपीसँग धेरै हदसम्म मिल्दाजुल्दा भेटिए । बीपी लेख्छन्, '१८१६ सालपछि नेपाल देश त बन्यो । नेपाल राष्ट्र बनाउने प्रयत्न भएन । शरीरको ढाँचा त खडा भयो, तर त्यसमा आत्मा आउन सकेन । फ्रम बनाइयो, तर तस्बिर राखिएन । नेपालको सन्दर्भमा एकतन्त्रीय हुकुमी राज्य राष्ट्रियताको घातक हो ।' (पृष्ठ १७९, उही)
    कान्तिपुरसँगको कुराकानीमा भट्टराई भन्छन्, 'इतिहासको त्यो कालखण्डले शाहजस्तो विशिष्ट पात्र माग गथ्र्यो नै । दक्षिण एसियामा अंग्रेज उपनिवेश विस्तार हुँदै गर्दा यहाँका साना राज्य मिलाएर बलियो राज्य बनाउने उनको प्रयास त्यो बेला जस्तो भए पनि नतिजा सही निस्कियो ।'
    शाहले गोरखाजस्तो विकट ठाउँको सामान्य आर्थिक हैसियतका राजा हुँदाहुँदै राज्य विस्तार गर्ने महत्त्वाकांक्षा राखेका थिए । काठमाडौंका मल्ल राजाहरू शक्ति र सम्पत्ति दुवैले बलियो अवस्थामा थिए । परस्पर नमिल्ने मल्ल राजाहरूले राज्य विस्तारको पहल गर्ने कुनै छाँट थिएन । अंग्रेजहरू दक्षिण एसियाभरि उपनिवेश फैलाउँदै अघि बढिरहेका बेला शाह साना राज्यहरूको अन्तरविरोध पहिल्याउँदै सीमित सैन्यबल र सामग्रीका भरमा कब्जा गर्दै थिए ।
    भट्टराईको भनाइमा छापामार युद्धकलाका माध्यमबाट शाहले त्यत्रो शक्ति आर्जन गर्न सकेका थिए । उनको आक्रमण शैली सैन्यमात्रै थिएन, घेराबन्दी, नाकाबन्दीमा आधारित थियो । 'शाहको चिन्तन यो भूखण्डमा राज्य विस्तार गर्ने नै थियो, तर यतिमात्रै बुझियो भने अपूरो हुन्छ,' उनी थप्छन्, 'यहाँका ससाना राज्यले अंग्रेजसँग अलग-अलग लड्न सम्भवै थिएन । शाहले ठीक यहाँनेर सकारात्मक भूमिका खेले ।'
    शाहलाई सामन्त राजा भनी अथ्र्याउँदा त्यस बेलाको समाज कस्तो थियो भनी हेर्नु आवश्यक हुने भट्टराईको धारणा छ । कविला युगको राज्यलाई सामन्ती चरित्र दिन शाहको योगदान रहेको उनी सम्झन्छन् । 'शाहले सामन्ती केन्द्रीकरणको नेतृत्व गरे । विजयका क्रममा कीर्तिपुरका नेवार, तामाङलगायतको राज्य दख्खल गर्दा अत्याचार भएका छन्,' भट्टराई भन्छन्, 'जुनसुकै युद्धमा यस्तो हुन सक्छ । यसलाई सकारात्मक र नकारात्मक परिणामको योगफलबाट मूल्यांकन गर्न सक्नुपर्छ ।'
    एमालेको सक्रिय राजनीतिबाट २०६५ मा बिदा लिएका इतिहास र संस्कृति अध्येता मोदनाथ प्रश्रित यतिबेला शाहलाई राष्ट्रिय एकताको प्रतीकका रूपमा स्वीकार गरिनुपर्ने, पुस २७ गते पृथ्वी जयन्तीका रूपमा मनाउन फेरि थाल्नुपर्ने मागका कारण चर्चामा छन् । आफू एमालेमा रहँदा पनि पार्टीभित्र शाहलाई उदार भएर हेर्न सक्नुपर्ने मान्यता राख्ने गरेको उनी सम्झन्छन् । जनताको मन विभाजित हुँदै गएका बेला शाह र राष्ट्रिय एकताको सन्दर्भ उल्लेख्य रहेको उनको भनाइ छ ।  
    'नेपाल पृथ्वीनारायणको पालामा मात्रै एकीकृत भएको होइन । जनक राजाले मिथिलामा बसेर हिमालयदेखि गंगासम्म एकीकरण गरे, यलम्बरले किराँत राज्य, मानदेवले लिच्छवि राज्य जोडे, यक्ष मल्लले मल्ल राज्य,' प्रश्रित भन्छन्, 'नेपाल टुक्रिने, जोडिने चलिरहन्थ्यो । काठमाडौंका राजारजौटा लडिरहने, देशविकास भने नहुने भइरह्यो । ललितपुरमा त एक वर्षभित्र छ राजा फेरिएको इतिहास भेटिन्छ । पृथ्वीनारायणको उदय यस्तो सन्दर्भमा भएको छ ।'
    पछिल्ला दिनमा केही दल र नेताले शाहको विम्ब आफ्नो राजनीतिक उद्देश्यसँग जोड्न खोजेको प्रश्रितलाई निको लागेको छैन । तर संघीयताजस्ता मुद्दाले राष्ट्रिय एकतालाई राम्रो नगर्नेमा उत्तिकै जोड दिन्छन् । 'हिजो राजासँग बसेका साथीहरूलाई पृथ्वीनारायणको सहारा लिएर फेरि सत्तामा जान पाइएला भन्ने लाग्दो हो, अब राजतन्त्र फर्काउन सम्भव छैन,' प्रश्रित थप्छन्, 'यति हो, हरेक युगको इतिहासमा निश्चित नायकको भूमिका हुन्छ । उसको भूमिका बिस्र्यौं भने उचित हुँदैन ।'
    एमाओवादी नेता भट्टराईका अनुसार नेपालको इतिहासमा गौतम बुद्धपछि शाहमात्रै त्यस्तो ऐतिहासिक व्यक्ति हुन पुगे, जसको नाम लिएर नेपालीले गर्व गर्न सक्छन् । नेपालबाहिर चिनाउन सक्छन् । सिन्धुली, बुटवल, नालापानी, मकवानपुरका युद्धमा अंग्रेजको डटेर सामना गर्ने र धपाउनसमेत सक्षम युद्धको नेतृत्व गर्ने शाहको क्षमता असामान्य रहेको उनी स्वीकार्छन् । तर चिहानबाट खोतलेर शाहको देवत्वकरण गर्ने मान्यताको भट्टराई विपक्षमा छन् । उत्पीडित, जनजाति, मधेसी, दलितको विरुद्धमा शाहलाई एकताका प्रतीक भन्दै उभ्याउन खोजिएकामा उनी आपत्तिसमेत प्रकट गर्छन् । 'शाहलाई राष्ट्रिय एकताको प्रतीक बनाउने नाममा अरूलाई अराष्ट्रिय देखाउने प्रयास भइरहेको छ । शासकका नाममा दिवस मनाउने सामन्ती परम्परा आवश्यक छैन,' उनी थप्छन्, 'म शाहको अपमान गर्ने पक्षमा पटक्कै छैन । तर सम्मान गर्ने अरू तरिका अपनाउनुपर्छ ।'
    परराष्ट्रनीति र कूटनीतिमाथि शाहले जस्तो विशद् व्याख्या आजसम्म कसैले गर्न नसकेको जिकिर गर्नेहरू पनि छन् । पूर्वसचिव मोहन बञ्जाडे विदेशीले लेखिदिएको इतिहास पत्याएर राष्ट्रिय धरोहरप्रति अपमान गर्ने साहस केही नेपालीमा पलाएको ठान्छन् । 'दिव्योपदेश' मात्रै पढ्न सक्यो भने शाहको योगदान के रहेछ भन्ने थाहा पाउन सकिन्छ,' उनी भन्छन्, '२ सय वर्ष बितिसक्दा पनि शाहलाई त्यसै सम्झनुपर्ने अवस्था आएको होइन ।'
    भट्टराई पनि शाहको दिव्योपदेश पढदा उनको दूरदर्शिता र नेतृत्व कौशल प्रमाणित हुने बताउँछन् । 'आज पनि उत्तिकै महत्त्वपूर्ण छ,' उनी थप्छन्, 'विदेशी प्रभावबाट देशलाई मुक्त गर्न र परिपक्व कूटनीति चलाउन शाहको मागनिर्देशन आधारभूत रूपमा आज पनि सही छ ।'
    त्यसो त एमाओवादीमाथि शाहको शालिकहरू युद्धकालमा फोडेको, ऐतिहासिक महत्त्वका थुप्रै सामग्री नष्ट गरेको सिकायत छँदै छ । भट्टराई भने पार्टीको त्यस्तो कुनै नीति नरहेको प्रस्टयाउँछन् । कार्यकर्ताले पुरानो सत्ताप्रतिको आवेगमा आएर आक्रमण गरेको हुन सक्ने उनी अथ्र्याउँछन् ।
    शाहलाई कुनै निश्चित समूहले बढाईचढाई गर्ने, अर्को पक्षले निषेध गर्ने अवस्था देखिनु विडम्बनापूर्ण रहेको प्रश्रति ठान्छन् । राजावादी कमल थापा र आफूहरू एउटै समूहमा नभएको तर शाहलाई सम्झने कुरामा दलविशेषको भेदभाव राख्न नहुने उनको जोड छ । शुक्रबारदेखि नै शाहमाथि भृकुटीमण्डलमा कार्यक्रम थालेका प्रश्रति र अगुवाहरूले आइतबार जुलुससहित सिंहदरबारअगाडि शालिकमा माल्यार्पण गरेर पृथ्वीनारायणलाई सम्झनेछन् । त्यसो त प्रश्रित आफैं संघीयता, धर्मनिरपेक्षताजस्ता पछिल्ला एजेन्डाप्रति असहमति राख्छन् ।
    'हिजो देश बनाउन योगदान दिएकाहरूलाई गाली गर्ने होइन, सम्मान गर्न सिक्यौं भने हामीलाई पनि सन्तानहरूले सम्मान गर्न सिक्छन्,' प्रश्रित भन्छन्, 'अहिले पार्टी होइन गुट-गुटमा विभाजित भएको इतिहास पढ्यो भने आउने पुस्ताले हामीलाई गाली गर्न सक्छ । हामीले पुर्खाको सम्मान गर्न सिक्यौं भने उनीहरूले पनि हाम्रो सम्मान गर्न सिक्छन् ।'
    राष्ट्रियताका नयाँ विम्बहरू खोजिनु उचित भएको तर त्यसका लागि शाहलाई गाली गरिरहनु नपर्ने प्रश्रितको ठहर छ । 'बाबुआमालाई वर्षमा एकपल्ट श्राद्ध गरेर सम्झने संस्कार भएको नेपालीले अंग्रेज र बाइसौं, चौबीसौं राज्यको झमेलाबाट मुक्ति दिने शाहलाई सम्झनुमा के समस्या छ ?' प्रश्रित प्रश्न गर्छन् । त्यस बेलाको इतिहास पढ्ने हो भने को अग्रगामी, को पश्चगामी सहजै छुट्टनिे उनको भनाइ छ । जनताले मतदान गरेर राज्य बनाउने चलन शाहको पालामा कहीं नभएकाले आजको लोकतन्त्रसँग शाहको तुलना गरेर नहुने उनको भनाइ छ । इतिहासको विकास प्रक्रियालाई बुझ्न सक्नुपर्ने प्रश्रित बताउँछन् ।
    परम्परा र प्रगतिको लडाइँमा शाह प्रशंसा र विरोधका पात्र भइरहेका छन् । उनी जन्मेको मितिलाई आधार मान्दै मनाउँदै आएको पृथ्वी जयन्ती गणतान्त्रिक सरकारले बन्द गरिदिएको छ भने शाहलाई राष्ट्रिय एकताको प्रतीक मान्दै राष्ट्रिय एकता दिवस मान्ने परम्परा पनि स्थगित छ । एकथरी राजनीतिक दल, नेता उक्त दिवस फेरि ब्युँताउनुपर्ने माग गर्छन् । गणतन्त्र आइसकेको स्थितिमा शाहको भूमिकाको चर्चा गरेर मुलुकलाई पछाडि फर्काउन लागेको ठान्नेहरू पनि छँदै छन् ।
    फेरि पनि बीपीकै कुरा । उनी २०३२ सालमा तरुण पत्रिकाका लागि लेख्छन्, 'राष्ट्रियताको चर्चा पनि राजाको युगको अर्थमा होइन, वर्तमान युगको सन्दर्भमा हुनुपर्छ, जनयुगको अर्थमा हुनुपर्छ । एउटा ऐतिहासिक तथ्य के हो भने हामी जुन कुरालाई राष्ट्रियता भन्छौं, त्यो पनि वर्तमान युगको देन हो । (राजनीतिक अभिलेख, पृष्ठ १८८-१८९) ।
    http://www.ekantipur.com/np/2071/9/27/full-story/401843.html
    प्रकाशित मिति: २०७१ पुस २७ ०६:००