आदिवासी जनजातिहरू सुँगुरजस्तो अघाएको बेला ठसठस सुत्ने, भोक लागेको बेला भित्ता उधिन्ने हुनु हुँदैन
प्रा. डा. नोवलकिशोर राई
प्रा. डा. नोवलकिशोर राई
पूर्वराजदूत तथा भाषाशास्त्री
माघ ८ मा संविधान नआउनुका थुप्रै कारण देखिएका छन्; तपाईं एकजना अवकाशप्राप्त प्राध्यापक हुनुहुन्छ, अहिले के सोच्दै हुनुहुन्छ ?
सरकारले देश चलाउनुपर्नेमा पार्टीहरूले देश चलाइरहेका छन् । संविधान बनाउने भन्दा पनि अहिले आगामी सरकारमा को जाने र कसले कुन मन्त्रालय पाउने भन्ने कुरा गहु्रँगो भएको छ देशमा । देश र सरकारभन्दा पार्टी र पार्टीभित्रका व्यक्तिहरू लोभमा अल्झिएका छन् । देशको होइन, दलको कुरा बढी छ । नेताहरू चाह्यौं भने दुई दिनमा संविधान बन्छ भन्दै हिँडेका छन् । उनीहरूको स्वार्थ नफुकेको कारण संविधान नबन्ने स्थिति आएको हो । आफ्नो दल र व्यक्तिगत लोभमा फसेका लोभीपापीहरूले देशलाई ओरालो ठेलिरहेको देख्दा मनमा चिन्ता छाएको छ ।
नेताहरू किन देशको हितभन्दा आफ्नो स्वार्थ हेर्छन् ?
बाघले मान्छेबाहेकको अन्य जन्तुको सिकार गर्छ । मान्छे खान पल्क्यो भने आहारामा मान्छे नै खोज्छ । त्यस्तै, ब्यापारी वा शासक नेता कालो धन्दामा लागेपछि त्यो धन्दाको रसले छाड्दैन । तीन दलका दश नेता र त्यसमध्ये पाँच नेताले जे भन्यो त्यही हुने सिन्डिकेट छ देशमा । देशलाई बन्धक बनाएर चुस्ने चुसाहा नेताहरू भएको कारण त्यसको प्रभाव तिनका पार्टीमा लछप्पै छिरेको छ ।
तपाईं अहिले पहिचानको आन्दोलनमा हुनुहुन्छ, होइन ?
आन्दोलनमा होइन, म सत्य कुरामा लागेको छु । हामी जनजाति किन पछाडि पर्यौंं ? निश्चय पनि हाम्रा कमजोरी छन् । त्यही कमजोरीलाई टेकेर आफै मात्र गरिखाऊँ भन्ने अभिजात वर्गकाहरूले हामीलाई प्रहार गरी क्षतविक्षत बनाइरहेका छन् । त्यसमा हामी जनजाति, मधेसी, महिला र कर्णालीबासी उत्पीडित छौं । म सडकमा मुठी उठ्याएर आन्दोलन गरिहिँडेको छैन, त्यो मेरो उमेर पनि होइन, तर म देशमा पछाडि परेका, पारिएकाहरूको सम्मानजनक सहभागिता र पहिचान होस् भन्नेमा दृढ छु । यसका लागि म बोल्छु, म लेख्छु ।
जनजातिका कमजोरी के–के हुन् ?
संस्कृतको एक सुक्तिले उठ, जाग, ज्ञान प्राप्ति गर र सक्रिय होऊ भन्छ । जनजातिहरूमा यी कुराको कमी छ । हामी एक हौं, सक्रिय होऊँ भन्छन् कोही अगाडि बढ्दैनन् । जनजाति भनेको एकजत्था नहुने जाति बनेको छ । जंगलमा भैँसीहरू एक हुल हुन्छन्, सिंहले जो कमजोर छ, उसलाई आक्रमण गर्छ । हुलबाट छुट्टिने र आफूलाई कमजोर पार्ने काम नेपालका जनजाति नेताहरू स्वयम्ले गरिरहेका छन् । कहिले पनि एउटा नेतृत्वमा अगाडि नबढ्ने, सक्रिय नहुने, समुदायका लागि नबढ्ने महारोग छ उनीहरूमा । यही कारणले जनजातिहरू युगौंयुग पछाडि परेका छन् । अझै युगौंयुग पछाडि पर्छन् ।
के मनोदशाले जनजातिमा यस्तो भएको ?
पछौटे मनोदशा । जो कमजोरी र पछौटे मनोदशाबाट ग्रसित हुन्छ, ऊ मानसिक रूपले हतास हुन्छ । व्यक्ति शारीरिकमात्र होइन मानसिक रूपले झन् बढी सक्रिय हुनुपर्दछ । जनजातिहरूमा यही कुराको अभाव छ, नेतृत्व छैन । म नेता वा राजनीतिशास्त्र पढेको व्यक्ति होइन, तर म के भन्छु भने जब मान्छे मानसिक रूपले हरेस खान्छ, त्यसपछि शारीरिक रूपले थकित हुन्छ । पार्टीमा लागेका जनजातिहरू नेताले के पद देला र खाउँला वा मलाई कहाँ पुर्याउला भनेर पिछलग्गु र आदेशपालकमात्र छन् । जब आफ्नो नेताले कुरा सुन्दैन, अनि जनजातिको नारा लाउन थाल्छन् । हामी मानसिक रूपमा दरिद्र छौं । यो त सुरुमा हेक्का हुनुपर्छ । सुरुमा उठ्ने, जागो हुने र सक्रिय हुने हो, त्यसपछि एकजुट हुने हो । हामी जनजातिले यसमा आफूलाई पुर्याउन सकेका छैनौं ।
जनजातिहरूले त पहिचानसहितको संघीयता खोजिरहेछन्, अरु हुँदैन भनिरहेछन् !
दुई वर्षअघिसम्म सबै पार्टी र नेताले सामथ्र्य र पहिचानका आधारमा संघीयता हुन्छ भनेकै हुन्, अहिले पहिचानलाई शून्य बनाएर सामथ्र्यको मात्र कुरा गर्ने ? यस्तो एकलकाँटे कुराले हुन्छ ? पहिचान र सामथ्र्यका कुरा लिनुपर्छ, तर कुन–कुन कुरा लिने भनेर एकठाउँ भएर निष्कर्ष निकाल्नुपर्छ । संविधानसभामा लाने कुरा रिसोर्टमा लैजाने अनि त्यसको ऋण हाम्रो टाउकोमा थोपर्ने नेताहरूले ? संविधानसभामा गर्नुपर्ने छलफल नेताको घरमा गर्ने ? हरेक बहानामा यहाँका अभिजात वर्गका शासकहरूले उत्पीडित जातिहरूको चेतनालाई पेलेर आफ्नो एकल प्रभुत्व लाद्न खोजिरहेका छन् । पहिचान भनेको यहाँका उत्पीडित जाति र वर्गलाई चाहिएको हो । शासन र रासनमा एकाधिकार जमाइरहने दुर्नियतले श्रीपेच नलाएका नवसामन्ती ‘राजा’हरूले पहिचानलाई निषेध गर्न खोजिरहेका छन् ।
पहिचान त जातिवाद हो रे नि त ?
पहिचान जातीयता पनि हो, तर पूर्ण जातीयता होइन, अंशमात्रै हो । जुन भेगमा जातीयताको हिसाबले दलित छ या शोषण छ, त्यहाँ जातिको कुरै गर्न नहुने कारण के छ ?सदीयौंदेखि एउटै जातिले देशको साधनस्रोत भजाएर खान मिल्ने ! आफ्नो जातको नाममा हसुर्ने अनि अर्कोले चाहिँ आफ्नो जातिको पहिचानको कुरै गर्न नमिल्ने ?
जातिवादी आरोप लगाउनेहरूलाई म भन्छु– कमसेकम आफ्नो जातिको पहिचानको कुरा गर्न दिनुस्, सुन्ने धैर्य राख्नुस् । जातिको नाममा सबै गर्नुपर्छ भनेको होइन मैले । म आफै पनि मेरो जातका कारण धेरै ठाउँ विभेदमा पारिएको छु । दक्षिण एसिया जातीयताकै कारण पछि परेको हो; एउटै जातिले मात्र शासन गर्ने र सुखसुविधा पाउने अन्यायपूर्ण नीतिले पछि परेको हो । तपाईंहरूले आफ्नो जातिको नाममा घिऊ खाँदै व्यक्तिगत लिप्सामा देश नडुबाउनुहोस् । अरुलाई पनि सम्मानित परिचय दिएर देशलाई अगाडि लैजानुहोस् ।
पहिचानसहितको संघीयता भयो भने साँच्चै देश उँभो लाग्छ त ?
सिक्किमलाई हेरौं । पवन चाम्लिङले एकजना कामी, दुईजना भोटे, एकजना बाहुन, एकजना राईलाई मन्त्री बनाएका छन् । दश पन्ध्र जना मन्त्रीमा त्यहाँका सबै जातिलाई समेटेका छन् । के सिक्किम डुबेको छ ? दिल्लीले पैसा थुपारेर सिक्किम बनेको होइन । पैसाले मात्र देश बन्ने पनि होइन । जबसम्म राज्य समावेशी हुँदैन, सबै जातजातिलाई देशमा अपनत्व महसुस हुँदैन, तबसम्म देश बन्दैन, त्यसैले देशमा पहिचानविहीन बनाइएकाहरूलाई चाहिएको हो पहिचान ।
धेरै देश घुम्नुभयो, देश वा समुदाय उँभो लाग्न के चाहिँदो रहेछ ?
पहिलो, इमानदारिता । जबसम्म कुनै नेता, बाबु, आमा छोराछोरी इमानदार हुँदैनन्, न त्यो परिवार, न त देशै अगाडि जान्छ । दोस्रो, श्रम । नेपालमा जागीर खानेले आठ घण्टामा इमान्दारले दुई घण्टा काम गर्छ, बेइमानले गर्दै गर्दैन । इमानदार किसानले दिनभरमा ८ घण्टा काम गर्छ, बेइमानले अरुलाई जोताएर खान्छ । नेपालीको प्रतिव्यक्ति आय ७ सय डलर छ । मैले सबैभन्दा पछिल्लो भ्रमण गरेको देश माल्दिभ्सको प्रतिव्यक्ति आय ६ हजार डलर छ । एउटा रुख नभएको देश यति समृद्ध छ । जुन देशमा कुनै जाति वा समुदायले आफू दमित भएको महसुस गर्नुपरेको हुँदैन, त्यो देश समुन्नतितिर जान्छ । नेपालको उन्नतिका लागि पनि पहिचानसहितको संघीयता आवश्यक छ ।
देशलाई एउटै धर्मको बनाउने आन्दोलन पनि चल्दैछ त देशमा !
धर्म, खाना, वस्त्र र राजनीतिक आस्था नितान्त व्यक्तिगत हुन् । म कुनै राजनीतिक पार्टीमा छैन, तर मेरो राजनीतिक आस्था छ । राज्यले यो धर्म हुनुपर्छ, यो खाना खानुपर्छ, यो लुगा लगाउनुपर्छ र यही आस्था मान्नुपर्छ भनेर जबर्जस्ती गर्न मिल्दैन । नेपाल धर्मनिरपेक्षताबाट पछाडि फर्कन सक्दैन ।
अहिलेको जनजाति आन्दोलनको सम्भावना कस्तो देख्नुहन्छ ?
बिकाउ जनजातिहरू पार्टीमा घुसेका छन् । नेताले जे दिन्छ, थापेर खान्छन् । केही योग्यहरू पार्टीका पछाडि छन् । हासिल होस् नहोस् आन्दोलन चाहिँ गर्नैपर्छ । अधिकार नभएकाहरूले अधिकार खोज्नैपर्छ । हाम्रो आन्दोलनले के होला भनेर निरुत्साहित हुनुहुँदैन । जो हराएको छ, उसले आफूलाई खोज्नैपर्छ, जो हेपिएको छ, उसले आन्दोलन गर्नैपर्छ । जबसम्म आन्दोलन हुँदैन, देशका सामन्त र शोषकहरूले राज गरिरहन्छन् । जनजातिहरूको पहिचानको आन्दोलन सामाजिक न्यायका लागि पनि अत्यावश्यक छ ।
अब सुँगुरले जस्तो अघाएको बेला ठसठस सुत्ने र भोक लागेको बेला भित्ता उधिन्ने हुनुहुँदैन आदिवासी जनजातिहरू । शोषण र दमनको कुण्ठा पालेर मात्र हुँदैन, आफू दमित हुन नसक्ने दक्षता भएको व्यक्ति पनि बन्न सक्नुपर्दछ ।
प्रस्तुतिः खोप्तोङ राजालिम ̸बुङ्वाखा
http://esamata.com/np/2015
No comments:
Post a Comment