शक्तिको मुहान तल, माओवादीका आँखा माथि
खगेन्द्र संग्रौला
कांग्रेस र एमाले संविधानसभामा कल, छल र बलबाट प्राप्त संख्याको अहंकारबाट मैमत्त छन् । र ती संख्याको तुजुक देखाउँदै नाममात्रको संघीयता थोपर्न उद्यत छन् । महेन्द्रीय प्रेतले बास गरेको तिनको सात प्रदेशको श्रेस्ता यस तथ्यको ज्वलन्त प्रमाण हो । संविधानसभाको यो विद्रूप प्रहसनमा एमाओवादी कहाँ छ ? ऊ जीवित र क्रियाशील छ कि जीवित र क्रियाशील भएको मिथ्या अभिनयमात्र गरिरहेको छ ?
जब क्रान्तिकारी प्रतिक्रियावादी सत्तामा आसिन हुन्छ, त्यसपछि नभइनछाड्ने कुरा दुईमध्ये एक हुन्छ । कित क्रान्तिकारीले सत्ताको प्रतिक्रियावादी चरित्रलाई आपmनो आदर्शमा ढाल्छ, कित क्रान्तिकारी स्वयं प्रतिक्रियावादी सत्ताको चरित्रअनुरुप अङ्गभिूत हुन्छ । माओवादी सिङ्गो सत्ता जितेर सरकारमा उक्लिएको थिएन । ऊ त इतिहासको बाध्यात्मक क्षणमा परम्परागत सत्ताधिकारीहरूसँग सम्झौता गरेर सरकारको बागडोर सम्हाल्न पुगेको थियो । माओवादी सरकार वास्तवमा भीमकाय एवं असहिष्णु सत्ता संरचनामा फुट्ट एउटा टापुजस्तो थियो । सरकार माओवादीको थियो, तर सत्ता उसको अधीनमा थिएन । सरकारधारी माओवादीले सत्ताको चरित्र फेर्न एकाध झिनामसिना प्रयास गर्न नखोजेको होइन । तर सामथ्र्य र ढङ्ग तथा सुझबुझ र चातुर्य नपुगेर ती प्रयास हास्यास्पद रूपले विफल भए । र माओवादी आक्रामक र धूर्त सत्ताको घेराउ, आखेट, पेलान र प्रलोभनसामु निरीह भएर लत्रिँदै सत्ताको चरित्रअनुरुप अङ्गभिूत हुँदैगयो ।
अहिले छनलाई चिरा परेर खुम्चिएको एमाओवादी दृश्यपटलमा छँदैछ । तर यो मुलुकमा जनयुद्ध भएको थियो भन्ने कुराको जीवन्त झल्को दिने कुनै पनि लक्षण दृश्यपटलमा छैन । जनयुद्ध त दूर इतिहासको स्वप्निल स्मृतिजस्तो पो भइसक्यो । एमाओवादी विचार, आदर्श, अग्रसरता, संगठन, जनसम्पर्क, जीवनशैली र आकर्षणका दृष्टिले माओवादीत्वरहित प्रतीत हुन्छ । मानौँ ऊ आपmनो अतीतको छायाको निस्तेज स्वरूपमा मात्र अस्तित्वमा छ । संविधानसभाबाट संख्याको बलमा दलित र उत्पीडित जनगणमाथि यथास्थितिवादी संविधान थोपरिन लाग्दा यो छायातुल्य एमाओवादी कहाँ छ ?
संविधान निर्माणको रकमी प्रक्रियामा एमाओवादीको अवस्थिति, उपस्थिति र प्रभाव दयनीय छ । एमाओवादी न ओल्लो घाटमा छ, न पल्लो तीरमा । न माथि छ, न तल । माथि संविधानसभामा एमाओवादीको संख्याबल निम्छरो छ । तल सर्वसाधारण जनमाझ यो निम्छरो संख्याबललाई आड दिने जनबलको आधार निम्छरो छ । वास्तवमा एमाओवादीको शक्तिको स्रोत सत्ता होइन, जनता हो । कठोर र कष्टकर संग्रामी अभियानमा जनता बीचबाट उसको उदय भएको हो । विडम्बनावश, सत्ताप्रति एमाओवादीको चर्को लिप्सा छ, र जनताप्रति घोर उपेक्षाभाव छ ।
अध्यक्ष प्रचण्डलाई दुई-तीन वर्षमा एकचोटी रोल्पाली जनताको याद आउँछ । र उनी रोल्पा जान्छन् । उनी सादा नागरिकको भेष, मुद्रा र शैलीमा रोल्पा जाँदैनन् । उनको त ठाँटबाँटका साथ रोल्पा सवारी पो हुन्छ । उनका नजिकका कमरेडहरू तडकभडक र तामझामका साथ सवारी हुने पात्रको स्वागतको तयारी गर्छन् । तुल-तोरण र स्वागत द्वार, अबिर र फूलमाला, बाजागाजा र नाचगान, सवारीको स्वागत भड्किलो र विलासी दृश्य देख्दा यस्तो लाग्छ, मानौँ रोल्पामा छापामारहरूको पूर्व 'कमाण्डर-इन-चिफ' को होइन, कुनै बडेकाजीको सवारी भएको हो । कथित सुरक्षा र औपचारिकताले सवारी हुने पात्र र रैथाने जनसाधारणबीच दूरीको निर्माण गर्छ । त्यस्तोमा नेता र कार्यकर्ता तथा नेता र जनसाधारणबीच अनौपचारिक र अन्तरङ्ग वार्ता हुँदैन । त्यहाँ त केवल दर्शन दिने र दर्शन पाउने काम हुन्छ । त्यसैले प्रचण्ड दैहिक दृष्टिले रोल्पामा हुन्छन्, भावनात्मक दृष्टिले हुँदैनन् । यस्तोमा रोल्पाली जनहरूलाई लाग्दो हो- यो प्रचण्ड हाम्रा छाप्रा-टहरामा सेल्टर लिई बस्ने, हामीले दिएको खाने, हाम्रो सुख-दुःखमा साथ दिने, हाम्रा सपना र आकांक्षाका जरामा मलजल हाल्ने हाम्रो प्रचण्ड होइन । यो अरुकै प्रचण्ड हो । अरुको भएको र हामीदेखि टाढा हुँदै गएको प्रचण्ड ।
भूगोलमा बाबुरामको जीवनवृत्त झनै साँगुरो छ । बाबुरामको नेपाल भनेको काठमाडौँ-गोरखा र गोरखा-काठमाडौँको संकुचित सेरोफेरो हो । उनका दृष्टि यो वृत्तभन्दा पर जाँदैनन् । उनी त यो वृत्तभन्दा पर पाउकष्ट गर्ने लेठो नै गर्दैनन् । प्रचण्ड र बाबुरामको दिनचर्या प्रतिक्रियावादी सत्ताको परिक्रमा गर्दैमा बितिरहेछ । सायद सत्ताको गद्दामा मद हुन्छ, नशा हुन्छ । एकचोटी त्यो गद्दामा बसेपछि मानौँ त्यसको मुहुनी लाग्छ । र सायद गद्दा नहुँदा केके छुटेको, आफूसँग केही नभएको, जीवन त्यसै-त्यसै खल्लो-खल्लो अनुभूत हुन्छ । र नै प्रचण्ड र बाबुराम सत्ताका अर्थ न बर्थका गद्दा प्राप्त गर्न हर्दम आतुर हुन्छन् । बाबुरामको संवाद सहमतिको गद्दा र प्रचण्डको उच्चस्तरीय राजनीतिक समितिको गद्दा यही आतुरताका दसी हुन् । यी दुबै ताल न तुकका, सार न सुरका गद्दा हुन् । संवाद समितिमा संवाद हुँदैन, विवादमात्र हुन्छ । त्यहाँ दाउपेच चल्छ, जालझेल हुन्छ । त्यो कथित संवादमा विवेक, युक्ति र औचित्यको कुनै भूमिका हुँदैन । भूमिका केवल संख्याको
हुन्छ, संख्याको दम्भको हुन्छ । प्रचण्डको
उच्चस्तरीय राजनीतिक समितिको गद्दा झनै प्रयोजनहीन र निस्सार छ । त्यो गद्दामा न अधिकार छ, न प्रतिष्ठा । कांग्रेस र एमालेका उपरवालेहरूले कृपापूर्वक उस्थिति दिए प्रचण्डको बैठक चल्छ, नदिए चल्दैन ।
आपmनो राजनीतिक धरातल र दायित्वको थोरैमात्र चेत हुँदो हो त प्रचण्ड र बाबुराम यी अर्थहीन समितिमा बसेर आपmनो अमूल्य समयको अपव्यय नगर्दा हुन् । यी समितिमा दोस्रो तहका नेतालाई विराजमान गराएर आफू गाउँ-देहात जाँदा हुन् । नेतृत्वको उपेक्षा र विलासिताका कारण हताश र निराश तथा कुण्ठित र मोहभङ्गको मनोदशामा रहेका कार्यकर्ता र जनतामा उत्साह र उमङ्ग एवं आशा र क्रियाशीलता जगाउँदा हुन् । र पार्टीको दशा यतिसाह्रो जडवत् र कारुणिक निश्चय नै नहुँदो हो । तर प्रचण्ड र बाबुरामका कर्मको प्रकृति कामकुरा एकातिर कुम्लो बोकेर ठम्ठम् अन्तरे ठिमीतिर भनेजस्तो छ ।
दुई समितिका पद ओगटेर प्रचण्ड र बाबुराम जस होइन, अपजस आर्जन गरिरहेका छन् । संवादवाले कमरेड विवादित मुद्दामा सहमति जुटाउन असमर्थ छन् । उच्चस्तरीयवाले कमरेडको आपmनो समितिमा नत कुनै भूमिका छ, न प्रभावकारिता । तैपनि बाबुराम किमार्थ सहमति नहुने संवादहीन संवादका नाउँमा संविधानसभालाई बित्थामा अडाइरहेका छन् । र प्रचण्ड राजनीतिक समितिको गद्दीमा व्यर्थै टाँसिइरहेका छन् । समितिमा बसेर बाबुराम बालुवा पेलेर तेल निकाल्ने र प्रचण्ड गोरु दुहेर ढुङ्ग्रो भर्ने सपना देखिरहेझैँ लाग्छ । यथार्थ कठोर छ । राजनीति हाकाहाकी प्रतिक्रान्तिको बाटोमा छ । र प्रतिक्रान्ति तीव्र गतिमा सङ्गठित भइरहेछ । प्रतिक्रान्तिको चक्र पुरा नभई यसको रथलाई अब लौकिक वा अलौकिक कुनै पनि शक्तिले रोक्न सक्दैन । संख्याका स्वामीहरूबाट बन्ने संविधान निःसन्देह प्रतिक्रान्तिको संविधान हुनेछ । त्यस्तो संविधानमा ल्याप्चे ठोकेर त्यसलाई काँध थाप्न प्रचण्ड र बाबुरामहरू किन लागिपरेका हुन्, अचम्म लाग्छ ।
एमाओवादीको शक्तिको मुहान तल जनतामा छ, प्रचण्ड र बाबुरामका आँखा माथि सत्तामा एकाग्र भएका छन् । इतिहासको यो कत्रो विडम्बना !
http://www.ekantipur.com/np/2071/9/4/full-story/400547.html
No comments:
Post a Comment