Saturday, December 20, 2014

मलेसियामा सेक्युरिटी गार्ड रहेका बाबुरामका सल्लाहकारका बाबु भन्छन्– सम्झिँदा पनि भक्कानो छुट्छ कमरेड !


मलेसियामा सेक्युरिटी गार्ड रहेका बाबुरामका सल्लाहकारका बाबु भन्छन्– सम्झिँदा पनि भक्कानो छुट्छ कमरेड !




मेरो नाम सप्तनाथ न्यौपाने । घर नुवाकोटको फिकुरी गाविस ४ सल्ले । बिहान बेलुकाको छाक टार्न संघर्ष गर्नुपर्ने गाउँको सामान्य किसान हुँ । २००६ सालमा जन्मिएको हुँ । १२ वर्षको उमेरदेखि थालेको शारीरिक श्रम अझै पनि मेरो पेशा हो । मेरो कुरा सुन्ने फुर्सद तपाइँहरुलाई छैन होला । सुने पनि हामी दुःखी किसानलाई पत्याउनुहोला भन्ने विश्वास लागेको छैन । तै पनि आज म आफूले जीवनमा भोगेका केही दुःखका र अनुभवका कुरा गर्दैछु ।कमरेड प्रचण्ड र कमरेड बाबुरामजी !
मेरा पाँच भाई छोरा छन् । जेठो अर्जुनले डिग्री पास गरेको थियो । त्रिशूलीबाट हिंडेर मेरो घर नुवाकोटको फिकुरी आउन रित्तो मानिसलाई ४ घण्टा लाग्छ । तर मैले कयौं वर्ष त्रिशूलीबाट पसलको भारी बोकें, छोरा पढाउन ।
sapta nath
त्रिशुलीबाट ५० किलाको भारी बोकेर सातदोबाटो ल्याउँदा दिनमा तीस रुपैयाँ पाउँथें । चामल, बिस्कुट, चाउचाउ, चिनी, चुरोटको भारी बोक्थें । यताबाट दाउराको भारी बोकेर जान्थें । खानका लागी जेनतेन पुग्ने जग्गा थियो । अर्जुनलाई क्याम्पस पढाउन भारी बोकेको हुँ । बाबुले आफ्ना छोराछोरीको कर्तव्य पूरा गरेको कुरालाई धेरै ठूलो घमण्डको विषय बनाउनुपर्ने थिएन । तर मेरो र मजस्ता बाबुहरुका हकमा कुरा अलि फरक छ । मैले पाएको दुःखको त कुरै नगरौं । सबै कुरा भन्न तीन दिन लाग्छ । सम्झँदा पनि मुटु फुट्ला जसरी भक्कानिएर आउँछ ।
०३२ सालमा जन्मिएको हो । गाउँकै स्कुलबाट ८ कक्षा पास गर्यो । त्यतिबेला गाउँमा मावि थिएन । चण्डेश्वरी मावि तुप्चेबाट एसएलसी पास गरेपछि सरस्वती क्याम्पस पढाएँ । अर्जुनले काठमाण्डुमा क्याम्पस पढ्दा राम्रो अंक ल्यायो । सानैदेखि पढ्न राम्रो थियो । क्याम्पसमा राम्रो विद्यार्थीको रुपमा छुट पनि पाएको थियो । तुप्चेमा उत्तरगया भन्ने स्कुल छ । साथीभाइहरुसँग रोइकराई गरेर जागिर लगाएँ । गाउँको स्कुलमा दरबन्दी आयो । कम्ति गाह्रो भएन जागिर खुवाउन । राम्रो मान्छेमा सानैदेखि राम्रो गुण आउँदो रहेछ । उ सानैदेखि असल थियो । कसैको दुःख देख्न सक्दनथ्यो । कोही उसलाई कुट्नै आए पनि जाइलाग्ने बानी छैन । बरु उससँग आँखा जुधाएपछि आक्रोशित भएर कुट्न आएको मान्छे नतमस्तक भएर फर्कन्छ ।
स्कुलमा जागिर खाँदै गर्दा २०५८ मंसिरमा देशमा संकटकाल लाग्यो । उ एक्कासि जागिर राजीनामा गरेर भूमिगत भयो । जनमोर्चाको बेलादेखि माओवादी विद्यार्थी संगठनमा काम गरेको रहेछ । यो कुरा मलाई पछि मात्र थाहा भयो । उसको लुटेर र ठगेर खाने विचार कहिल्यै आएन । कहिल्यै कोहीसँग एक रुपैयाँ चन्दा लिएर खाएको रेकर्ड छैन । बरु तपाईंको क्रान्तिमा लागेबापत अहिले बेहाल भएर हिंड्नुपरेको छ ।
काइँलो छोरा जयराम एसएलसी पास गरेर पार्टीमा लागेको हो । माओवादी सेनाको कमाण्डर थियो । अरु सबैले राहत पाए । उसले अनमिनमा तीनपटक नाम लेखाएर पनि एक रुपैयाँ पाएन ।
बाबुरामजी तपाइँकी छोरी पीएचडी गर्न विदेश गएकी छन् भन्ने सुनेको छु । मेरो त्यसमा कुनै गुनासो छैन । तपाईंसँग पैसा र पहुँच थियो, पढाउनुभयो । मसँग थिएन, उसले पढ्न पाएन । मेरो छोराले अवसर पाएको भए र मेरो क्षमता भएको भए उसको पनि पीएचडी गर्ने हैसियत थियो ।
मैले समाचारमा सुनेको तपाइँले बुबालाई मानसरोबर तीर्थ लैजानुभएछ । भर्खरै बुबाको ८४ पूजा गराउनुभयो रे । राम्रो गर्नुभयो । एउटा छोराले बाबुआमाका लागि गर्नुपर्ने काम नै त्यही हो । तर, के मैले पनि मेरो छोरासँग तीर्थ घुम्न पाउनुपर्ने होइन र ? खै त मलाई त्यो अधिकार ? नेपालमा माओवादी नामको आन्दोलन नभएको भए मेरो छोरा अहिले घरमै हुन्थ्यो, उसँग केही पैसा हुन्थो र मलाई पनि तीर्थ घुमाउँथ्यो होला । प्रचण्डजी, तपाईं जसरी सपरिवार लाजिम्पाट बस्नुभएको छ, त्यसैगरी म पनि आज आफ्ना छोराहरुका साथ बस्न पाउनुपर्ने थियो कि थिएन ?
म ०५४ सालकोे स्थानीय निर्वाचनमा एमालेको तर्फबाट फिकुरी ४ को वडा सदस्य निर्वाचित भएको व्यक्ति हुँ । छोरा माओवादी भएको आरोपमा संकटकालको समयमा राज्यले दिएको दुःख बयान गरिसाध्य छैन ।
sapta 2.
राति घरमा सुतेको बेला बन्दुकधारीहरु आउँथे । पुसको ठण्डीमा कपडा लगाउने मौका समेत नदिएर मध्यरातमा घिसार्दै कतिपटक ब्यारेकमा लगेका छन् । ०६१ सालमा १९ दिनसम्म मैथली ब्यारेकमा पाएको सास्ती सम्झँदा अहिले पनि शरीरमा काँडा उम्रन्छ । म माओवादी थिइनँ । तर माओवादीका नाममा धेरै दुःख पाएँ । तारेख कति धाइयो । बिहान १० बजे तारेख धाउन पुग्नुपथ्र्यो । हामी किसानले १० नँग्रा नखियाई खान पाइँदैन । हातमा ठेला देखेर भन्थे यी रातभरि बन्दुक खेलाउँदा उठेका ठेला हुन् । कुनै दिन आँखा अलिकति राता भए भने रातभरि लुट्न गएको रहेछ, निन्द्रा मारेकाले आँखा राता भएको रहेछ भन्ने । बोल्यो किन बोलिनस् भन्छ, चुप लागेर बस्यो । किन चुप लागिस् भन्छ । तारेकमा गयो । ढोका थुनेर हिंड्छ । जा नभनी बाहिर आउन मिल्दैन । गाडी चल्दैन । सदरमुकामबाट हिंडेर घर पुग्न ५ ७ घण्टा लाग्छ । तीन तारेखमा खेपेपछि फेरि तारेखमै गएका बेला समातेर राख्यो । २९ दिनसम्म घरका जहानलाई पत्तो दिएन । खबर पठाउन पाइएन । तेश्रोपटक १३ दिन थुनिएँ । तीन महिनाजति मैथली ब्यारेकमा तारेख धाएपछि ६ महिना अक्करेको ब्यारेक तारेख धाएँ । ब्यारेकमा लगेर थुन्छ । भात खाएको पैसा आफैंले तिर्नुपर्ने । छुट्ने बेलामा भात खाएको पैसा नतिरे बाहिर आउन नपाउँने । पैसा कति खर्च भयो । ज्यानले त्यस्तै दुःख पायो । अहिलेसम्म सीधा उभिन मिल्दैन । औषधि त कति खाइयो खाइयो ।
बुहारीले एक वर्षजति तारेख धाइन् । काठमाण्डुमा भाँडा माझेर बसेको अर्को छोरो समातेर बेपत्ता पारियो । माया मारिसकेका थियौं । तर बाँचेर आयो । के के भयो के के सबै कुरा भनेर सक्न तीन महिना लाग्छ ।
मेरो छोराजस्तो इमान्दार र क्षमता भएको मान्छे पार्टीले भेट्न गाह्रै पर्ला । हामीजस्ता जनताका छोराछोरीलाई लडाएर सत्तामा पुगेपछि आफ्नै मस्ती । जब तपाइँहरुका लागि ज्यान दिन तयार भएकै मान्छे आज तपाइँसँग छैन भने के राजनीति गर्नुुहुन्छ ? तपाइँका पार्टीका जिल्ला नेताहरु चुनावमा र अघिपछि जहिले पनि खर्च गर हामी छौं भन्दारहेछन् । खर्च गर्यो, तर नदिने । यस्तो भएपछि उसले ऋण तिर्ने अरु उपाय देखेन र विदेशको बाटो लियो ।
बाबुरामजी तपाइंकी छोरीले पिएचडी गर्न पाएजस्तै मेरी नातिले पनि पढ्न पाउनुपर्ने हो । तर आज मेरो नातिलाई कापी किनिदिने हैसियत छैन । नाति पढाउन नसकेर पीडा भएको छ । जेठो नातिलाई जागिर खुवाउन कोसिस गरियो । होटलमा जागिर लगाइदेउ शालीकराम जमकट्टेललाई भेट्न तीनपटक पेरिसडाँडा पुग्यो । तर बोलाएर फोन अफ गरेर हिंडेछन् ।
छोराले पारिवारिक अवस्थाका बारेमा पटकपटक जिल्लाका नेताहरु हितबहादुर तामाङ, हिरानाथ खतिवडा लगायतलाई धेरैपटक अवगत गराएको थियो । तर समस्या समाधान गरेर उसलाई राजनीतिमा लागिरहने वातावरण उनीहरुले बनाइदिएनन् ।
परिवारै युद्धका कारण पीडित भएका कार्यकर्ताको घरमा एकजनालाई सामान्य जागिर वा पढाइदिने व्यवस्था गर्न नसक्ने तपाईंको पार्टीले के क्रान्तिको कुरा गर्ने ? आफ्नै कार्यकर्ताको जिम्मा लिने क्षमता नभएकाले के देशकै जिम्मा लिने कुरा गर्नुहुन्छ ? मेरा नातिलाई कुनै क्याम्पसमा भनेर पढाइदिन तपाईंको पार्टीले किन सकेन ? तँ त हाम्रो युद्दका कारणले बिग्रिइस् तर बच्चा नबिगार भन्न सक्नुभयो ? तपाईंहरुलाई जंगलबाट उद्दार गरेर सत्तामा पुर्याउन हाम्रा छोराहरुजस्ता युवा चाहियो । तर सत्तामा पुगेपछि तपाईंहरुलाई उनीहरु चाहिएनन् । जनताका छोराछोरीलाई सत्ताका लागि उपयोग गरेर घर न घाटको बनाइदिनुभयो ।
संसार भन्छ अर्जुन सरजस्तो मान्छे किन मलेसिया गएको ? काठमाण्डु गयो त्यही भन्छन् । मसँग जवाफ छैन । मानिसहरुलाई सपना देखाउनुभयो । तर अहिले आएर बालुवामा पानी खन्याएजस्तो भयो उनीहरुको सपना । महिनाको उतिबेलै ७ हजार ५ सय तलब थियो । भएको जागिर तपाइँहरुकै कारणले छाड्नुपर्यो । हरेक बाबुआमालाई छोराछोरी हुर्काएर पढाएपछि बुढेसकालमा नातिनातिना खेलाएर छोराको कमाई खाएर आराम गर्न मन हुँदैन ? तर आज रोएर बस्नुपरेको छ । मजस्ता कतिका परिवारविहीन भए । घरको दैलो लागेका ठाउँठाउँमा कति छन् । के तपाईंहरुलाई त्यसको हेक्का छ । बरु पद र सत्ताका लागि झगडा गरेर बस्नुभएको छ । आज न सम्पत्ति छ । न घरमा छोरा छन् । न घरमा भएकाले सुख पाएका छन् ।
म पहिला माओवादी विरोधी थिएँ । एमाले पतन भएपछि माओवादीले केही गर्छ कि भनेर सहयोग गरेको हुँ । तर चार वर्षदेखि तपाइँको पार्टीमा छैन । अब हुनुपरेको पनि छैन ।
माओवादीहरु कतिले घर बनाएका छन् । गाडी र जग्गा जोडेका छन् । कतिले पेट्रोल पम्प र डोजर किनेका छन् । तर मेरो छोराले कसैसँग एक रुपैयाँ लिएर खाएको पुष्टि कसैले गरिदियो भने म सेरिन तयार छु । एकजनालाई माओवादीका नाममा थप्पड हानेको रहेछ भने एक थप्पड बराबर सय थप्पड खान सक्छु ।
बरु उसले राजनीतिमा सक्रिय रहेको बेलामा आफ्नो समाजका लागि सक्दो योगदान गरेको छ । फिकुरीको आफू पढेको र पढाएको स्कुलका लागि जग्गा किनेको छ । नयाँ भवन बनाएको छ । कम्प्युटर शिक्षाको व्यवस्था गरेको छ । यो उ विद्यालय व्यवस्थापन समितिमा भएको बेलामा गरेको काम हो ।
मेरो छोरा क्रान्तिका नाममा तपाईंहरुका पछाडि नलागेको भए अहिले अवश्य गाउँको स्कुलमा हेडमास्टर हुन्थ्यो । समाजमा दुई चार रुपैयाँ अरुलाई दिने हैसियत हुन्थ्यो । गाउँमा एउटा घर बनाइसक्थ्यो । छोराहरु काठमाण्डुमा राम्रा क्याम्पसमा पढाउन सक्थ्यो । उजस्तो मान्छेले नेपालमा भविष्य नदेखेर विदेश जानु के राम्रो हो तपाईंहरुका लागि ? के मलेसियामा गार्डको काम गर्न डिग्री पढ्नुपर्छ ? के त्यहाँ पुग्न तपाईंको क्रान्तिमा लागेकै हुुनुपथ्र्यो र ?
केही गर्छु देशको लागि भनेर लागको मान्छे आज आफैं खत्तम । कुरा गर्दा मुटु फुटेर आउँछ । सधैं रोयो देख्नेले के भयो तलाई भनेर सोध्लान् । मनमा दुःख लुकाएर बाहिर हाँसेर हिंड्नुपरेको छ । मलाई थाहा छ, पार्टीलाई खाँचो परेका दिन फेरि उसलाई तपाइँहरुले बोलाउनु हुन्छ होला ।
जिल्ला अध्यक्ष हिरानथ खतिवडा लगायतका पार्टीका मानिसहरु गाउँ कमिटी बनाउन भनेर आएछन् । उजस्तो मान्छेलाई आज यो अवस्थामा पुर्याउने पार्टीमा हामी किन लाग्ने भन्ने जवाफ दिइरहेका छन् । उ गएपछि एकपटक गाउँ कमिटीको बैठक बस्न सकेको छैन
तपाइँहरुको पार्टीबाट मेरो र मजस्ता धेरैको मन भाँडिएको छ । बसेर खाने बेलामा पिरैपिर र दुःखले छोप्यो । मलाई थाहा छ, मेरोजस्तो दुःख धेरैलाई छ । तर मानिसले आफूलाई परेको मात्र देख्छ । अरुको ठाउँबाट सोच्दा उनीहरु मभन्दा बढी पीडित होलान् । तपाईंको आन्दोलनबाट प्रभावित नभएको देशको कुनै गाउँ, टोल र घर छैन । अनुमान गर्नुस् तपाईंहरुलाई सत्तामा पुर्याउन हामीजस्ता पीडा खेपिरहेका परिवार र मानि कति होलान ? मलाई पार्टीबाट घाउ लाग्यो । त्यो घाउ निको भएन । अब पनि निको हुने छाँटकाँट छैन । बरु अर्कै पार्टीमा लागेको भए यस्तो हुने थिएन कि । मेरो परिवार भाँडिने थिइन कि । मेरा नातिहरुले जगिर पाउँथे कि भन्ने लाग्न थालेको छ । पार्टी राज्यमा गएर जनताले के पाए ? सीमित नेताहरुले सत्ता र भत्ताको स्वाद लिनुभयो । गाउँमा जनतालाई आपसमा भिडाउनुभयो । बदलामा फेरि उही असमानता । सक्नेले खाइरहने र नसक्ने निर्धा निमुखा हेरिरहने । यसैका लागि गर्नुभएको थियो क्रान्ति ? यसैका लागि मारिएका थिए १५ हजार मान्छे ?
- See more at: http://kathmandutoday.com/2014/12/66228.html#sthash.c2AH7q3l.dpuf

No comments:

Post a Comment