Tuesday, December 23, 2014

दलित वा किरात सौन्दर्यशास्त्रको कुरा गर्नु विखण्डनतिरको यात्रा हो - अमर गिरी

दलित वा किरात सौन्दर्यशास्त्रको कुरा गर्नु विखण्डनतिरको यात्रा हो - अमर गिरी


दलित वा किरात सौन्दर्यशास्त्रको कुरा गर्नु विखण्डनतिरको यात्रा हो

‘प्रलेस चितवन’ नामक पत्रिकाको प्रवेशांकमा एउटा बहसयोग्य विषयमा प्रगतिशील लेखक संघका अध्यक्ष, कवि एवं समालोचक अमर गिरीसँग कवि–समालोचक संगीतश्रोताले गरेको अन्तर्वार्ता छापिएको छ । बहसका लागि भनेर त्यस अन्तर्वार्ताका दुइटा अंशमध्ये पहिलो अंश आज शनिबार साभार गरिएको छ, जुन माक्र्सवादी सौन्दर्यशास्त्र र समुदायकेन्द्री सौन्दर्यशास्त्रसँग सम्बन्धित छ । दोस्रो अंशमा गिरीले भनेका छन्, ‘पहिचानको धारा माक्र्सवादको विखण्डन हो ।’
–सम्पादक
माक्र्सवादी सौन्दर्यशास्त्रभित्रै किरात सौन्दर्यशास्त्र र दलित सौन्दर्यशास्त्रको विषय पनि उठिरहेको छ । माक्र्सवादी सौन्दर्यशास्त्र र समुदायकेन्द्री सौन्दर्यशास्त्रबीचको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?
नेपालमा दलित सौन्दर्यशास्त्र र किरात सौन्दर्यशास्त्रका कुरा उठेका छन् । यो चिन्तन मूलतः भारतमा दलित साहित्यकार, लेखक र समीक्षकहरूद्वारा अगाडि सारिएको दलित साहित्यको सौन्दर्यशास्त्र र पश्चिममा विकसित कालाहरूको सौन्दर्यशास्त्रबाट अभिप्रेरित रहेको देखिन्छ । कालाहरूको सौन्दर्यशास्त्रसम्बन्धी चिन्तनमा मूलतः उत्तरसंरचनावादी सिद्धान्तको प्रभाव रहेको छ । यससम्बन्धी चिन्तनको आरम्भ अमेरिकामा भएको थियो । अमेरिकामा अफ्रिकी अमेरिकनहरूको लामो इतिहास छ, रङ र जातिका आधारमा उनीहरूमाथि विभेद र उत्पीडन हुँदै आएको छ । भिन्नता र विशिष्टतालाई महत्व प्रदान गर्दै बीसौं शताब्दीको उत्तरार्द्धमा कालाहरूको साहित्यको सौन्दर्यशास्त्र निर्माण गर्न आरम्भ गरिएको थियो । कालाहरूको सौन्दर्यशास्त्रको आलोचना माक्र्सवादीहरूले आरम्भदेखि नै गर्दै आएका छन् ।
भारतमा दलित साहित्यका सम्बन्धमा लामो समयदेखि विचार–विमर्श हुँदै आएको छ । यही विचार–विमर्शकै क्रममा दलित सौन्दर्यशास्त्रको अवधारणा अगाडि आएको देखिन्छ । ओमप्रकाश वाल्मीकि र शरणकुमार लिंबालेले ‘दलित साहित्य का सौन्दर्यशास्त्र’ शीर्षकमा छुट्टाछुट्टै पुस्तक पनि लेखेका छन् । दलितहरूको विशिष्ट स्थिति र त्यस साहित्यको आफ्नो विशिष्टताका कारण दलित साहित्यको छुट्टै सौन्दर्यशास्त्र चाहिन्छ भन्ने दृष्टिकोण दलित साहित्यको सौन्दर्यशास्त्रको पक्षमा उभिनेहरूको रहेको पाइन्छ । उनीहरूले दलितहरूलाई हिन्दू वर्णाश्रम व्यवस्थाद्वारा उत्पीडित एक विशिष्ट जातीय समुदायका रूपमा लिँदै हिन्दू वर्णवादी चिन्तनबाट निर्मित सौन्दर्यशास्त्रद्वारा दलित साहित्य न त डोरिन सक्छ, न त त्यसको मूल्यांकनै हुनसक्छ भन्ने अवधारणा प्रस्तुत गरेका छन् । भारतीय दलित साहित्य चिन्तनमा दलित साहित्य दलितले मात्रै लेख्नसक्छ र त्यो मात्रै प्रामाणिक दलित साहित्य हुनसक्छ भन्ने दृष्टिकोण बलियो रहेको छ । दलित साहित्यको सौन्दर्यशास्त्र यस दृष्टिकोणसँग पनि जोडिएको छ । दलित साहित्यको सौन्दर्यशास्त्र किन आवश्यक छ भन्ने सन्दर्भमा ओमप्रकाश वाल्मीकिले दलितहरूको जीवन मूल्यलाई मुख्य आधार मानेका छन् । वाल्मीकि भन्छन्ः
“दलित साहित्यले आत्मानुभूतिलाई व्यक्त गर्दछ, त्यसैले शब्दजीवी हुनु यसको श्रेष्ठता होइन । यो शाब्दिक चमत्कारमा सीमित छैन । अर्थ गाम्भीर्य दलितहरूको स्वीकृत जीवन मूल्य हो, जसमाथि दलित साहित्यको सौन्दर्यशास्त्र टिकेको छ । आखिर यो जीवन मूल्य के हो ? दलित साहित्यको आन्तरिक ऊर्जा दलित चेतना हो, जो अम्बेडकरको जीवन दर्शन र बुद्धको तत्वज्ञानद्वारा सञ्चालित छ । दलित विद्वान्द्वारा यी जीवन मूल्यहरूलाई दलित साहित्यमा सूक्ष्मताका साथ प्रस्तुत गरिएको छ । यी जीवनमूल्यहरू हुन्ः
१. समता, स्वतन्त्रता, बन्धुता, न्यायको जीवन, आनुभव, अनुभवजन्य आशय तथा त्यस आशयको अर्थपूर्ण अभिव्यक्ति ।
२. संस्कृति र धर्मका क्रममा वास्तविकतालाई लुकाएर गरिएको ढोंगलाई अस्वीकार गर्नु ।
३. कल्पनाजन्य प्रतिमानलाई निषेध गर्नु, जस्तो ‘अमृत’ मधुर प्रेमको कल्पना तर यसको स्वाद कसैलाई पनि थाहा छैन ।
४. नित्य परिवर्तनीयताका आधारमा जीवन–मूल्यहरूको मूल्यांकन ।
५. बन्धनमुक्त अभिव्यक्ति, अभिव्यक्तिको सत्यता, जस्तो देखियो भोगियो त्यसको त्यस्तै चित्रण । शब्द माध्यम मात्र । शाब्दिक आडम्बरबाट मुक्त ।”
‘दलित साहित्य का सौन्दर्यशास्त्र’ का अर्का लेखक शरणकुमार लिंबालेको विचार पनि वाल्मीकिको जस्तै रहेको छ । दलित चेतना आनन्दमाथि निर्भर नरहेर समानता, स्वतन्त्रता, न्याय र बन्धुभावमाथि आधारित छ र यसैकारण दलित समीक्षकहरू सौन्दर्यको कल्पनालाई बदल्न आवश्यक ठान्छन् भन्ने धारणा लिंबालेले राखेको पाइन्छ । लिंबालेले पनि दलित साहित्यको सौन्दर्यशास्त्रको निर्माणमा अम्बेडकरको विचारलाई केन्द्रमा राखेका छन् । दलितहरू एक विशिष्ट सामाजिक समुदाय भएका र उनीहरूमाथिको उत्पीडन, त्यसविरुद्धको संघर्ष, उनीहरूका स्वप्न र संघर्ष तथा जीवनमूल्य पनि विशिष्ट भएका कारण साहित्यमा पनि त्यो त्यसैगरी व्यक्त हुन्छ र त्यसको मूल्यांकनका निम्ति एक पृथक् सौन्दर्यशास्त्र चाहिन्छ भन्ने दृष्टिकोण लिंबालेको रहेको छ ।
दलित साहित्यको सौन्दर्यशास्त्रको कुरा गर्नेहरूले पूर्वीय र पश्चिमी सौन्दर्यशास्त्र एवं कलाशास्त्र दलित साहित्यको मूल्यांकन गर्न अपर्याप्त रहेको उल्लेख गरेका छन् । यस्तै टिप्पणी माक्र्सवादी सौन्दर्यशास्त्र र कलाशास्त्रबारे पनि रहेको छ । यसको मुख्य कारण संस्कृत साहित्यको मूल आधार सामन्तवादी एवं ब्राह्मणवादी रहनु र पाश्चात्य साहित्यको सौन्दर्यदृष्टि पुँजीवादी एवं सामन्तवादी रहनुलाई मानिएको छ । माक्र्सवादी सौन्दर्यशास्त्रमाथि यसको टिप्पणी यसले वर्गलाई अत्यधिक महत्व दिएर वर्णलाई उपेक्षा गरेकोमा रहेको छ । भारतमा दलित साहित्यको सौन्दर्यशास्त्रका वैचारिक आधारहरू अम्बेडकरका विचारहरू रहेका छन् । यो प्रारम्भिक अवस्थामै रहेको छ । यसले एक पूर्ण सौन्दर्यशास्त्रको स्वरूप ग्रहण गर्ने सम्भावना म त्यति देख्दिनँ ।
दलित चिन्तक, साहित्यकार एवं समीक्षकहरूले अति उत्साहित भएर दलित साहित्यको एक छुट्टै सौन्दर्यशास्त्रको निर्माण गर्न खोजेको अनुभव मलाई हुन्छ । र, म यसमा जातिवादको विरोधमा अर्को जातिवादी चेतनाले काम गरेको हो कि भन्ने अनुभव गर्छु । दलित साहित्यका निम्ति एक छुट्टै सौन्दर्यशास्त्रको पुर्पक्ष म आवश्यक ठान्दिनँ । अलग सौन्दर्यशास्त्र निर्माणका ठोस र मजबुत आधारहरू नै नभएर सौन्दर्यशास्त्र निर्माण गर्न खोज्नु गलत हुन्छ । दलित साहित्य साहित्य नै हो र यसको मूल्यांकनका निम्ति समीक्षाशास्त्रका मापदण्डहरूलाई प्रयोग गर्न सकिन्छ । माक्र्सवादी कलासिद्धान्त एवं सौन्दर्यशास्त्रका मापदण्डका आधारमा दलित साहित्यको समग्र मूल्यांकन गर्न सकिन्छ ।
नेपालमा माक्र्सवादी सौन्दर्यशास्त्रभित्रै दलित सौन्दर्यशास्त्र र किरात सौन्दर्यशास्त्रका कुराहरू उठेका छन् तर यस सम्बन्धमा त्यति लेखिएको छैन । माक्र्सवादी सौन्दर्यशास्त्रभित्र विभिन्न सौन्दर्यशास्त्र खोज्ने वा गड्ने कुरासँग म सहमत छैन । यसले माक्र्सवादलाई समृद्ध होइन, विखण्डन गर्दछ भन्ने मेरो धारणा रहेको छ । स्वीकार गरे पनि नगरे पनि म यसभित्र कुनै न कुनै रूपमा उत्तरसंरचनावादी विचारहरूको प्रभाव देख्दछु । यसले हामीलाई अन्ततः विभिन्न सौन्दर्यशास्त्रको निर्माणतिर लिएर जानेछ । ब्राह्मण, खस, मगर, थारु, गुरुङ, राई गरी दर्जनौं सौन्दर्यशास्त्र अगाडि आउनेछन् । अन्ततः जातैपिच्छे सौन्दर्यशास्त्रको निर्माण आरम्भ हुनेछ ।
मेरै कुरा गरुँ, म गिरी हुँ । दशनामीभित्र पर्दछु । यसभित्र भारती, पुरी आदि पनि पर्दछन् । हामी सबै एक अर्कादेखि पृथक् पनि छौं, हाम्रा आ–आफ्ना इतिहास, परम्परा र दृष्टि पनि छन् । मैले गिरी सौन्दर्यशास्त्रको कुरा गर्न सक्नेछु वा मजस्तै अर्कोले गर्नेछ । यो विखण्डनतिरको यात्रा हुनेछ । माक्र्सवादी सौन्दर्यशास्त्रभित्रै रहेर विभिन्न सामाजिक समुदायको विशिष्टता र तिनका सौन्दर्य–दृष्टिहरूको अध्ययन गर्न सकिन्छ र त्यो गरिँदै पनि आइएको छ । कम्युनिस्ट आन्दोलनको इतिहासमा नेपालका कतिपय कम्युनिस्टले जस्तो माक्र्सवादी सौन्दर्यशास्त्रभित्र अन्य सौन्दर्यशास्त्र गड्ने प्रयत्न गरेको मैले अन्यत्र पढेको छैन ।
सौन्दर्यशास्त्रमा प्रकृति, जीवन र कलामा पाइने सौन्दर्यका सामान्य नियमहरूको अध्ययन गरिन्छ । माक्र्सवादी सौन्दर्यशास्त्रले पनि यही गर्दै आएको छ । आफ्ना सौन्दर्यशास्त्रका प्रतिमानहरूका आधारमा माक्र्सवादी सौन्दर्यशास्त्र समग्र साहित्य एवं सामाजिक समुदायका विशिष्ट सौन्दर्य–दृष्टि र चेतनाको मूल्यांकन गर्न सक्षम छ भन्ने मेरो निष्कर्ष रहेको छ । बरु यस सम्बन्धमा समस्या वा अपर्याप्तता छन् भने यसलाई हटाउनतर्फ माक्र्सवादी समीक्षकहरू गम्भीर बन्नुपर्दछ । यस सम्बन्धमा ठोस अवधारणासहित सामग्री आएपछि विस्तृत रूपमा चर्चा गरौंला । म अहिलेलाई यत्ति भन्छु, माक्र्सवादी सौन्दर्यशास्त्रभित्र छुट्टाछुट्टै सौन्दर्यशास्त्र निर्माण गर्ने कुराबाट माक्र्सवादीहरू जोगिन आवश्यक छ ।
(सौजन्यः प्रलेस चितवन) 
यो बहसयोग्य विषयमा भएकाले यसमा क्रमशः छलफल चलाइने छ । यस छलफलमा कविद्वय आहुति र भूपाल राई सहभागी हुने छन् ।

=======================================================

किताबी मार्क्सवादीहरुका कुतर्क - आहुति


किताबी मार्क्सवादीहरुका कुतर्क
केही समयअघि इसमता डटकम (www.esamata.com) ले अमर गिरीकाे विचार बहसका लागि प्रकाशन गरेको थियाे । त्यसमाथि म पनि सहभागी हुन चाहन्छु ।
नेपालमा दलित सौन्दर्यशास्त्र र किरात सौन्दर्यशास्त्रलगायतका विषय छलफलमा आएका छन् । यसलाई एकथरीले मार्क्सवादको विखण्डन पनि भनेर तर्क गरिरहेका छन् । मेरो विचारमा यसलाई सोझै नकार गर्नुभन्दा पनि ठीक ढंगले बुझ्नु जरुरी छ ।
भारत र नेपालको भिन्नता
दलित सौन्दर्यशास्त्रको कुरा भारतमा उठेको हो । भारतमा अम्बेडकरको विचारलाई अगाडि सारेर दलित सौन्दर्यशास्त्रको कुरा गरिएको छ । तर, नेपालमा त्यस्तो होइन । नेपालमा दलित सौन्दर्यशास्त्रलाई मार्क्सवादी सौन्दर्यशास्त्रकै एउटा प्रवर्गको रुपमा स्वीकार गरे चर्चा सुरु भएको छ । त्यसैगरी किरात सौन्दर्यशास्त्रबारे पनि थोरै बहस सुरु भएको छ, त्यसलाई पनि मैले मार्क्सवादी सौन्दर्यशास्त्रको प्रतिपक्षमा वा माक्र्सवादी सौन्दर्यशास्त्रको विपक्षमा वा मार्क्सवादी सौन्दर्यशास्त्रलाई विखण्डन गर्नका लागि अगाडि सारिएको भनेर बुझेको छैनँ । मैले बुझेको कुरा चाहिँ किरात सभ्यता र उसका सौन्दर्यमूल्य तथा सौन्दर्यदृष्टि जो उत्पीडनमा पर्न गयो, त्यसविरुद्ध आफ्नो आधिकारिकताको खोजी हो । त्यसमा आफ्नो सौन्दर्यमूल्यप्रति न्यायको खोजी छ । यो भनेको नेपालमा चलिरहेको वर्गसंघर्ष र उत्पीडित समुदायहरुको संघर्षसँग अभिन्न रुपमा गाँसिएको सौन्दर्यमूल्यको खोजी हो । त्यसकारण यो मार्क्सवादी सौन्दर्यशास्त्रबाट पृथक् चिज होइन । मार्क्सवादी सौन्दर्यशास्त्रको विकास अथवा त्यसको प्रयोगको सन्दर्भमा नेपाली समाजका उत्पीडित सौन्दर्यमूल्यहरुलाई मार्क्सवादभित्र समायोजन गर्ने कुरा हो । यसले मार्क्सवादी सौन्दर्यशास्त्रलाई कमजोर बनाउने होइन नेपालको सन्दर्भमा मार्क्सवादलाई अझ समृद्ध बनाउने हो । 
या त नेपालका उत्तरआधुनिकतावादीहरु उत्तरआधुनिकतावादी होइनन्, या त आफूलाई मार्क्सवादी भन्नेहरु मार्क्सवादी होइनन् । बरु योचाहिँ बहसको विषय हो ।
मौलिक रुपमा सोच्न सिक
तर नेपालमा एउटा समस्या के छ भने किताब पढ्ने बेलासम्म चाहिँ मार्क्सवादी बन्छन् तर जब आफ्नो समाजमा लागु गर्ने बेला आउँछ, विशिष्ट नयाँ सन्दर्भमा लागु पर्ने भएकोले त्यतिबेला चाहिँ उनीहरु स्वयम् मार्क्सवादविरोधी बन्न पुग्छन् । किताब पढ्दा मार्क्सवादी हुनु र खास सन्दर्भमा मार्क्सवाद लागु गर्नु एउटै कुरा होइनन् । उदाहरणका लागि, युरोपमा मार्क्सवाद जुन बेला जन्मियो, लेनिनवाद जुन बेला जन्मियो त्यसबेलासम्म नयाँ जनवाद भन्ने कुरै त थिएन । तर, माओ त्सेतुङले समाजवादभित्रकै एउटा अल्पकालीन चरणको रुपमा परिभाषित गरेर चीनमा लागु गरेपछि नयाँ जनवाद पनि हुँदो रहेछ मानियो । मार्क्स र लेनिनले भनेको कुरा मात्र गरेको भए नयाँ जनवाद भन्ने कुरा त हुने थिएन । तर चीनको मौलिकतामा मार्क्स र लेनिनले भनेको भन्दा मौलिक रुपमा सोच्नु आवश्यक भयो ।
तपाईं जब अमेरिका जानुहुन्छ अनि वर्गको मात्र कुरा गर्नुहुन्छ, रंगभेदको कुरा गर्नुहुन्न भने तपाईं कसरी मार्क्सवादी हुनुभयो ? दक्षिण एसियामा आएपछि जातव्यवस्थालाई देख्नुहुन्न भने तपाईं कसरी मार्क्सवादी हुनुभयो ? जर्मनीमा जेजे कुरा विकसित भएको थियो, रुसमा जेजे कुरा विकसित भएको थियो, ती कुरामात्र हुनुपर्छ भन्ने सोचाइ मार्क्सवादै होइन । नेपालमा जस्तोखालको जनजातीय समस्या छ, लेनिनको समयमा त रुसमा त्यस्तो थिएन । अनि लेनिनले खोइ कहाँ बोलेका छन् भन्नेजस्तो तर्क गरेर मार्क्सवादी हुन सकिँदैन । नेपालको विशिष्ट समस्याबारे त हामी आफैले बोल्ने हो ।
सौन्दर्यशास्त्रको कुरा गर्ने हो भने नेपालमा किरातहरुका दार्शनिक र सांस्कृतिक मूल्यहरु मौलिक रुपमा विकास भएको छ । उनीहरुका आफ्नै सौन्दर्यमूल्यहरुको विकास भएको छ । त्यसलाई मार्क्सवादभित्र कसरी ल्याउने ? किरात सभ्यता र सौन्दर्यमूल्यभित्रका गलत कुरा के हुन् जसले उनीहरुलाई घाटा गर्छ, ती कुरा कसरी झिक्ने ? उत्पीडित जाति, वर्गको मुक्तिका लागि काम लाग्ने कुरा केके छन् ? त्यो चिनेर मार्क्सवादीकरण गर्ने हो । हामीले सोच्ने त यसरी हो । यसो गर्नु भनेको मार्क्सवाद लागु गर्नु हो, विखण्डन गर्नु होइन ।
त्यसैगरी दक्षिण एसियामा वर्णव्यवस्थामा आधारित विशिष्ट सामाजिक संरचना निर्माण भएको छ जसले युरोपमा देखापरेको सर्वहारा अथवा भूदास किसानभन्दा पनि धेरै तल्लो दर्जाको समुदाय अर्थात् दलित समुदाय निर्माण गरेको छ । सर्वहारा वर्गको भन्दा पनि निकै गएगुज्रेको अवस्थामा छ दलित समुदाय । त्यो समुदायका सौन्दर्यमूल्य, सांस्कृतिक विरासत र विद्रोही चेतनालाई अभिव्यक्त गर्न दलित सौन्दर्यशास्त्रको कुरा उठेको हो । त्यो भनेको मार्क्सवादी सौन्दर्यशास्त्रलाई दक्षिण एसियाको सन्दर्भमा अझ समृद्ध बनाउने कुरा हो, मार्क्सवादलाई कमजोर बनाउने र विखण्डन गर्ने कुरा होइन ।
म एउटा उदाहरण अघि सार्छु । भारतका तत्कालिन कम्युनिस्टहरुले जातव्यवस्थालाई वर्गसंघर्षसँग गाँस्न नचाहँदाखेरि भारतमा अम्बेडकरपन्थ जन्मियो । अहिले भारतीय कम्युनिस्टहरु बल्ल आत्मालोचित भएर जातव्यवस्थालाई कम्युनिस्ट आन्दोलनले सम्बोधन गर्नुपर्ने रहेछ भनेर भर्खर लेखरचना लेख्दैछन्, बहस गर्दैछन् । निश्चय नै वर्ग भएको समाजमा वर्गीय हिसाबले नै समस्या समाधान गर्ने हो, तर वर्गहरु विविध रुपमा प्रकट भइरहेका हुन्छन्, वर्गीय उत्पीडनहरु विविध ढंगले भइरहेका हुन्छन् भन्ने कुरा समात्न सक्नुपर्छ ।
कस्तो हुन्छ दलित साहित्य ?
भारतमा जस्तो दलितले लेखेको साहित्यमात्र दलित साहित्य हुन्छ भन्ने अथवा अम्बेडकरको विचार दलित साहित्यको बुनियाद हो भन्ने कुरा नेपालमा गरिएको छैन । दलितले लेखोस् अथवा गैरदलितले लेखोस्, दलितमाथि लेखिएको साहित्य दलित साहित्य हुन्छ ।
दलितहरु लगातार तीनचार हजार वर्षदेखि श्रमिक भएका छन्, लगातार तीनचार हजार वर्षदेखि धार्मिक कट्टरताको शिकार भएका छन्, लगातार तीनचार हजार वर्षदेखि शासनमा गएका छैनन् र आम मानवीय सम्मानबाट धेरै टाढा छन् । यस्तो अवस्थामा उनीहरुको पहिलो यात्रा सम्मानपूर्ण मान्छे बन्नेतिर हो । दलितहरुको सरोकार सबैभन्दा पहिला अरु मान्छेसरह मान्छे बन्ने हो, त्यसपछि मात्र उसका लागि समृद्धिको कुरा आउँछ । दक्षिण एसियाको यो विशेषता युरोप, अमेरिकाको भन्दा बिल्कुल फरक छ । भनेपछि यो फरकपनलाई, दलितभित्र रहेको विद्रोही चेतलाई, उसको समताको कामनालाई, उसको श्रमिकपनाको भव्यतालाई अभिव्यक्त गर्ने साहित्य दलितबाट लेखिनसक्छ, गैरदलितबाट लेखिनसक्छ । त्यो साहित्य दलित साहित्य हो । यो कुरा मार्क्सवादी सौन्दर्यशास्त्रभित्र विकसित दक्षिण एसियाको मौलिक विशेषता हो । यसले दक्षिण एसियाको सन्दर्भमा मार्क्सवादलाई समृद्ध बनाउन योगदान गर्छ ।
जातव्यवस्था नभएको युरोपको साहित्य र जातव्यवस्था भएको दक्षिण एसियाको साहित्य एउटै हुनसक्छ ? हुँदैन । जातव्यवस्थाले समाजको सबैभन्दा पिँधमा पारेको समुदायको सौन्दर्यमूल्य हुन्छ कि हुँदैन ? हुन्छ । जबसम्म दलित र गैरदलितबीचको भेदभाव कायम रहन्छ तबसम्म दलित साहित्य भन्ने कुरा पनि हुन्छ, दलित सौन्दर्यशास्त्र पनि हुन्छ । जबसम्म दलित र गैरदलितबीचको उत्पीडन बाँकी रहन्छ, जबसम्म राज्यबाट दलितहरुलाई पिँधमा पार्ने सामाजिक, राजनीतिक र आर्थिक प्रणाली रहिरहन्छ त्यो बेलासम्म दलित एउटा प्रतिरोधको रुपमा रहिरहन्छ, दलित एउटा प्रवर्ग रहिरहन्छ र मार्क्सवादी सौन्दर्यशास्त्रभित्र दलित सौन्दर्यशास्त्र एउटा प्रवर्गको रुपमा रहिरहन्छ । दलित समस्या जब अन्त्य हुन्छ दलित सौन्दर्यशास्त्र पनि स्वतः माक्र्सवादी सौन्दर्यशास्त्रभित्र अटाउँछ । समाहित हुन पुग्छ ।
साँचाे हो कि, दलित अथवा किरात सौन्दर्यशास्त्रबारे बहस पुगेको छैन, अझ गहिरो बहस आवश्यक छ । यसरी बहस सुरु हुँदा समुदाय—समुदायलाई टुक्र्याएर आन्दोलनलाई नै सिध्याउने तर्कहरु पनि अघि आउलान् । तर नेपालको सन्दर्भमा त्यो कोणबाट बहस उठेको छैन । बरु नेपालमा त उत्तरआधुनिकतावादीहरुलाई दलित साहित्यबारे छेउटुप्पा पनि थाहा छैन । उनीहरुलाई किरात सौन्दर्यशास्त्रबारे केही पनि थाहा छैन । अचम्मको कुरा त के छ भने उत्तरआधुनिकतावादीहरु पनि दलित सौन्दर्यशास्त्र अथवा किरात सौन्दर्यशास्त्रजस्ता कुरा चाहिँदैन भनिरहेका छन्, आफूलाई मार्क्सवादी बताउनेहरु पनि मार्क्सवादलाई विखण्डन गर्नु हो भनिरहेका छन् । उनीहरुको कुरा कसरी ठ्याक्कै मिलेको ? यो पो विचित्रको कुरा छ । उनीहरुबीच ठ्याक्कै कुरा मिल्छ भनेपछि या त नेपालका उत्तरआधुनिकतावादीहरु उत्तरआधुनिकतावादी होइनन्, या त आफूलाई मार्क्सवादी भन्नेहरु मार्क्सवादी होइनन् । बरु योचाहिँ बहसको विषय हो ।

===========================================================

के मार्क्सवाद गीता हो ?


के मार्क्सवाद गीता हो ?
अमर गिरीको किरात र दलित सौन्दर्यशास्त्रमाथिको विचार प्रक्षेपण पढ्न पाइयो । खरो मार्क्सवादी र सौन्दर्यचिन्तक रुपमा प्रस्तुत उनको विचारले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा मलाई पनि संलग्न गरायो । यद्यपि जुनसुकै कोणबाट होस्, विषयलाई बहसको रुपमा उतार्ने संयोग जो मिलेको छ त्यसबाट फाइदै पुगेको छ ।
के मार्क्सवाद गीता हो ?
गिरीजीको विचारअनुसार मार्क्सवाद भनेको हिन्दू मतावलम्बीहरुको त्यो गीताजस्तो हो जो अकाट्य छ, अपरिवर्तनीय छ र अपरिवर्तनीय रुपमा पूजा गरिरहनुपर्छ । तर १९औं शताब्दीतिर प्रतिपादित मार्क्सवाद निरन्तर प्रयोग र विकासको वैज्ञानिक शास्त्र हो भन्ने कुरा उनलाई किन हेक्का रहेन ? मार्क्सकालीन मार्क्सवादलाई लेनिनकालमा आएर छुट्टै ढंगले प्रयोग गरियो । माओकालमा आएर अझ अर्कै ढंगले प्रयोग गरियो । त्यही रचनात्मक प्रयोगले नै मार्क्सवादको निरन्तर विकास भइरह्यो ।
नेपाली विशिष्टता र नेपाली सामाजिक संरचनाअनुसार मार्क्सवादको प्रयोग भएन भने त्यो स्वयंमा मार्क्सवाद रहँदैन । सही मार्क्सवादीले समय, सन्दर्भ र समाज बनोटको आधारमा भएको मार्क्सवादको प्रयोगलाई स्वीकार गर्ने मात्र होइन त्यसलाई जोड दिनुपर्छ । जर्मन समाज र नेपाली सामाजिक संरचनालाई एउटै दृष्टिले हेर्नु भनेको मार्क्सवादको नाममा गीताको अकाट्य सूत्र र संहिता घोक्नु हो । यो मार्क्सवादी चिन्तन होइन, भएमा गीतावादी मार्क्सवादी मनोरोग हो ।
अमर गिरी पनि मान्छन्, मार्क्सवाद परिवर्तनको दर्शन हो । त्यसो हो भने एउटा समुदाय जो सदीयौंदेखि उत्पीडित छ, दण्डित छ, उसको उन्मुक्तिको स्वाभाविक प्रयासलाई कसरी मार्क्सवादविरोधी ठान्ने ?
नेपालको सामाजिक संरचना यति पेचिलो छ जहाँ वर्गले वर्गीय तह निर्माण गरेको छैन, वर्णले समेत वर्ग निर्माण गरेको छ । जातीय व्यवस्थाले वर्ग निर्धारण गर्ने अर्थात् शासक वर्ग र शासित वर्ग छुट्याउने हाम्रोजस्तो मुलुकमा वर्गीय अस्त्रले सबै कुराको निदान गर्छ भन्ने मार्क्सवादको युरोपेली प्रयोग त्यसै कारण असफल भइरहेको छ । किनभने, नेपालमा वर्गीय समस्यामात्र होइन, त्योभन्दा चर्को समस्या जातीय विभेदीकरणको छ । यसर्थ यी दुवै मुद्दालाई समानान्तर ढंगले सम्बोधन गर्ने मार्क्सवाद नै नेपाली विशिष्टताअनुसारको मार्क्सवादी प्रयोग ठहरिनेछ । यतिखेर नेपालमा सञ्चालित विभिन्न जातीय मुक्ति आन्दोलनलाई अलगथलग गरेर हेर्नुभन्दा तिनका चरित्रलाई मार्क्सवादीकरण गर्दै लानु वैज्ञानिक ठहर्छ ।
किराती सौन्दर्यशास्त्र र दलित सौन्दर्यशास्त्र जो यतिखेर बहसमा छन्, तिनले उठाएका मुद्दालाई यसै सेरोफेरोमा हेर्नुपर्छ । मार्क्सवाद यदि सर्वहारा वर्ग र सबैखाले उत्पीडित वर्गको वैज्ञानिक दर्शन हो भने यिनीहरुले उठाएको वैज्ञानिक बहसलाई त्यो कित्ताबाट बुझ्न जरुरी छ । भलै यिनीहरुले कुनै कम्युनिस्ट पार्टीको झन्डा उठाएका नहोलान् तर यिनीहरुका बहसले मुक्ति खोजिरहेका छन् । समानताको मूल्य मागिरहेका छन् । यति हुँदाहुँदै पनि केही नेपाली मार्क्सवादी पण्डितहरुले यिनलाई विच्छेद (विखण्डन) को दृष्टि राख्छन् भनेर आरोपित गर्छन् भने तिनीहरुले फेरि त्यही गल्ती दोहोर्याइरहेका छन् जसले मार्क्सवादलाई अकाट्य गीता ठहर्याइरहेका छन् । र, बिहान–बेलुका धुपवत्तीले पूजा गरिरहेका छन् ।
के सौन्दर्य निरपेक्ष हुन्छ ?
काला जातिको सौन्दर्यशास्त्रको सवाललाई अमर गिरीले भनेझैं भलै जुनसुकै कोणबाट परिभाषित गरियोस् तर यस बहसले गोरा जातिको उत्पीडनलाई अवश्य उजागर गरेको छ । कुनै पनि प्रकारको उत्पीडनबाट छोपिएको सौन्दर्यमूल्यले आफ्नो निकासको बाटो आफै खोज्छ । कालाहरुको ब्लुज र ज्याज पद्धतिको संगीत रचनाले आज उनीहरुको समुदायलाई मात्र होइन, पूरै विश्वलाई धनी बनाएको छ । भलै यस कार्यमा उनीहरुले विशुद्ध मार्क्सवादी औजार प्रयोग गरेका छैनन् होला । तथापि तिनले हिजोसम्म एक मात्र सत्य मानिने गोराहरुले लादेको एकपक्षीय सौन्दर्यमूल्यको पनि विकल्प रहेछ भन्ने कुरा त गज्जबले पुष्टि गरेका छन् । यसबाट प्रस्ट हुन्छ, शक्ति र सत्ताले निर्माण गरिएको सौन्दर्यमात्र एक्लो सौन्दर्य होइन, सौन्दर्य निरपेक्ष छैन । यो सापेक्षिक छ ।
टाढाबाट हेरेर ग्रहण गरिएको हिमालको सौन्दर्य नजिकबाट कुरुप र विकट लाग्नसक्छ । एकै किसिमको आगोको राग हिउँदको जाडो र बर्खाको गर्मीमा फरक लाग्नसक्छ । भनाइको अर्थ एक खास सामाजिक, सांस्कृतिक कारखानामा ढालिएको व्यक्तिले अनुभूत गरेको सौन्दर्यबोध नै अन्तिम सौन्दर्यको मानक नहुनसक्छ । अर्को फरक सौन्दर्यमूल्यको अस्तित्वलाई पनि हामीले सहज ढंगले स्वीकार गर्नुपर्छ । महिलाहरुले अनुभूत गर्ने सौन्दर्य पुरुषहरुको सापेक्षमा फरक छ । यही कुरा किरात र दलित सौन्दर्यशास्त्रले उठाइरहेका छन् ।
अमर गिरीले स्वीकार नगरेको र थाहा नपाएको अर्को सौन्दर्यमूल्य पनि यही समाजमा विद्यमान छ भन्दा त्यो कसरी गैरमार्क्सवाद हुनसक्छ ?
प्रकृति स्वयं एक्लो सौन्दर्य होइन । हजारौं सौन्दर्यको एकमुष्ठ पुञ्ज हो प्रकृति । मुक्ति र समानताको एजेन्डा लिएर उठेका सौन्दर्यपरक बहसलाई मार्क्सवादले स्वामित्व ग्रहण गर्दा सायद राम्रै हुन्छ ।
के हो किराती सौन्दर्यशास्त्र ?
दलित सौन्दर्यशास्त्रको मूल स्वर उत्पीडनमाथिको विद्रोह हो । यसको मूल एजेन्डा मुक्ति हो र हो समानताको माग । किराती सौन्दर्यशास्त्रको एजेन्डा पनि क्रमशः यिनै हुन् । तर फरक के छ भने यी मात्रै किराती सौन्दर्यशास्त्रका एजेन्डा होइनन् । दलित सौन्दर्यशास्त्रको बहसभन्दा यो कुन मानेमा फरक छ भने यसले नेपालमा स्थापित (सत्तासीन) हिन्दू सौन्दर्यशास्त्रभन्दा आफ्नो फरक मूल्य, फरक अस्तित्वको जिकिर गरेको छ । किराती सौन्दर्यशास्त्र यसकारण प्रचलित मूल्य र मान्यताभन्दा आफ्नो पृथक् अस्तित्व र पहिचानको लडाइँमा छ ।
नेपालका अधिकांश भूभागमा हिन्दू सौन्दर्य र मूल्य स्थापित हुनुभन्दा अगाडि यहाँ एउटा प्राचीन सभ्यता स्थापित थियो, त्यो किराती सभ्यता थियो । यसकारण किराती सौन्दर्यशास्त्रको बहस आफ्नो प्राचीन सभ्यता र मूल्यको खोज पनि हो । यो सभ्यता र भूभागबाट उठान भएको सौन्दर्यबोध आधारभूत रुपले नै हिन्दू सौन्दर्यशास्त्रभन्दा पृथक् छ । सौन्दर्यशास्त्रको सामान्य अर्थ प्रकृतिसँगको सम्बन्ध र जीवनजगत्लाई परख गर्ने अनुभूतिबाट निर्माण भएको दृष्टिकोण हो । अन्य धेरै कुराका अलावा यी आधारभूत कुरामै हिन्दू सौन्दर्यशास्त्र र किराती सौन्दर्यशास्त्रमा भेद छ ।
प्रकृतिसँग हिन्दूहरुको सम्बन्ध उपभोक्तावादी सम्बन्ध हो । उनीहरु दोहन गर्छन् प्रकृतिलाई र पुज्छन् काल्पनिक ईश्वरको मूर्तिलाई । तर प्रकृतिसँग किरातीहरुको सम्बन्ध तादात्म्यताको सम्बन्ध हो । यो सम्बन्ध एक आमा र बच्चाबीचको सम्बन्धजस्तो हो । किरातीहरु आमाको दूध दोहन गरेर आमाकै छातीमा टाँसिएझैं प्रकृतिसँग तादात्म्यताको सम्बन्ध राख्छन् । हिन्दूहरु जीवनलाई काल्पनिक ईश्वरको हातमा छाड्छन् तर किरातीहरु प्रकृतिको हातमा जीवन सुम्पिन्छन् । यस अर्थमा किरातीहरु भौतिकवादी छन् ।
किरातीहरु प्रकृतिपूजक हुन् । हिन्दूहरु मुत्युपूृर्वको मूल्यलाई कल्पनातीत स्वर्गमा खोज्छन् तर किरातीहरु आफ्ना पितृहरुलाई आफ्नै चुलाचौकामा भेट्छन् । यसर्थ पनि किरातीहरु भौतिकवादी छन् । यसर्थ पनि यी दुई आधारभूत रुपमै फरक छन् । त्यस्ता थुप्रै आधार छन्, जसले किराती मूल्य र सौन्दर्यलाई प्रचलित मूल्य र मान्यताबाट छुट्याउँछन् ।
माथिका केही सामान्य कुरामात्र हुन् जसलाई उदाहरणको रुपमा पेस गरियो । र यतिखेर किराती सौन्दर्यशास्त्र आफै निर्माणको क्रममा हुनाले यस्ता बहस र अरु विशिष्टताको खोज फलदायी नै हुन्छ भन्ने पनि सोचियो ।
अन्त्यमा, अमर गिरीजस्ता मार्क्सवादी व्याख्याताहरुलाई आफूले स्वीकार नगरेका र मन नपरेका सौन्दर्यमूल्यप्रति वक्रदृष्टि लगाउनुभन्दा तिनलाई कसरी मार्क्सवादीकरण गर्न सकिन्छ भन्नेतिर चिन्तन गर्दा सही मार्क्सवादी हुन सकिएला भन्ने सानो सझाव दिन्छु ।

http://esamata.com

No comments:

Post a Comment