Wednesday, March 8, 2017

नेहरूले बिपीलाई गिरफ्तार गर्छु भनेका थिए- राजेश गौतम


इतिहासकार राजेश गौतम

यो वर्ष नेपाली कांग्रेस स्थापनाको सत्तरी वर्ष पूरा हुँदैछ। गान्धीवादी आदर्शबाट प्रेरित भई ००३ सालमा स्थापना भएको उक्त पार्टी नेपाली राजनीतिक सात दशकका सबै उतारचढावहरुको मूल शक्ति र साक्षी हो । तर संगठन, सिद्धान्त र व्यवहारका कसीले कांग्रेसको आन्तरिक जीवनमा कहिले सबलताको उज्यालो छरियो त कहिले त्यत्तिकै दुर्बलताको अन्धकार। खासमा के थियो र अहिले के हो कांग्रेस? नेपालखबरको बहस-शृङ्खलाको चौंथो भागः 

आज नेपाली काङ्ग्रेस इतिहास बेचेर खाइरहेछ– बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेता र २००७ सालको क्रान्ति अनि २०४६ को आन्दोलनलाई ऊ ‘क्यास’ गर्छ। तर काङ्ग्रेसमा पछिल्लो समय सिद्धान्तभन्दा सत्ताको खेल केन्द्रमा छ। हिजोको सिद्धान्त आज छैन। गणतन्त्रमा प्रवेश गरेर काङ्ग्रेसले बाटो पनि बिराएको छ। बिराएको बाटोबाट काङ्ग्रेस फेरि सही बाटोमा फर्कन्छ–फर्कन्न, त्यो त हेर्नु नै छ। तर काङ्ग्रेसको इतिहास आफैमा विवेचनायोग्य भने छ।

नेपालमा सुरुमा धर्मका आधारमा राणाशासनको विरोध गरियो। सामाजिक चलन र कुरीति परिवर्तन गर्ने आवाज उठे। १०४ वर्षको अवधिमा पनि राणाहरू सबैलाई स्वीकार्य थिएनन्, विरोधका स्वर धार्मिक र सामाजिक रूपमा उठेका थिए। राजनीतिक विरोध भने पछि मात्रै निस्क्यो। भारतमा अध्ययन गर्न जाने विद्यार्थीले अङ्ग्रेजविरुद्धका आवाज र सङ्घर्षबाट अनुभव लिएर नेपालमा पनि सत्ताको राजनीतिक विरोध गर्न थालेका हुन्। भीमशमशेरको समयमा स्थापना भएको प्रचण्ड गोरखा त्यस्तो संगठन थियो, जसका संस्थापक खण्डमान सिंह, खड्गबहादुर, मैनाबहादुर र उमेशविक्रम शाहले पहिलोपटक नेपालमा राजनीतिक मागसहित राणा हटाउनुपर्छ भन्ने उद्देश्य राखेका थिए।

राजीनितिक चेतना फैलाउने क्रम प्रचण्ड गोरखाबाट सुरु भयो र १९९२ सालमा स्थापित नेपाल प्रजा परिषदले पर्चाहरू छरेर आन्दोलन गर्‍यो। तर यी दुवै संगठनमा संलग्न सबै व्यक्ति गिरफ्तार भए। मारिने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री प्रजा परिषद्कै सदस्य हुन्। १९९७ सालको सहिद काण्ड र त्यसबेला बाँचेका टंकप्रसाद आचार्य र गणेशमान सिंहबाट प्रभावितहरू नै नेपाली काङ्ग्रेसका संस्थापक सदस्य हुन्। काङ्ग्रेसमा प्रजापरिषदबाट प्रभावितहरू, भारतमा बसेर अध्ययन गरिरहेका नेपाली, जयतु संस्कृतम् आन्दोलनबाट निकालिएकाहरू संगठित भएको देखिन्छ। त्यही बेला राणा शासनको अन्त गर्नुपर्छ भनेर बिपीले एउटा आह्वान गरे र अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस स्थापना भयो। पछि त्यसैको नाम नेपाली राष्ट्रिय काङ्ग्रेस राखिएको हो। आन्दोलनकै कारण पद्मशमशेर २००४ सालमा अन्तरिम संविधान, वैधानिक कानुन दिन बाध्य भए।

बिपी कोइरालाहरूले अहिंसात्मक आन्दोलनलाई महत्व दिएको बेलामा सशस्त्र आन्दोलन बिना राणा शासन हटाउन सकिँदैन भनेर सुवर्ण शमशेरहरूले नेपाल प्रजातन्त्र काङ्ग्रेस गठन गरी हतियार संकलन गरिसकेका थिए। बिपी समूहभन्दा प्रजातन्त्र काङ्ग्रेस हतियार र सेना निर्माणमा निकै अघि बढेको थियो। यसपछि भारतीय नेताहरूको भूमिकामा दुई काङ्ग्रेस मिलेर नेपाली काङ्ग्रेस स्थापना भयो। अनि काङ्ग्रेसको आन्दोलनमा धेरै सहभागी भए र सात साल फागनु ७ मा हामीले प्रजातन्त्र प्राप्त गर्‍यौं।

वास्तवमा सात सालको क्रान्तिमा भारतको सहयोग थियो। प्रत्यक्ष रूपमा भारतीय जनता र अप्रत्यक्ष रूपमा भारतीय सरकार आन्दोलनको पक्षमा थियो। प्रधानमन्त्रीका रूपमा जवाहरलाल नेहरूले आन्दोलनको आलोचना गरेका थिए। उनले ‘म हतियारको चलखेल गर्न दिन्नँ, बिपीलाई पनि गिरफ्तार गर्छु’ समेत भनेका थिए। व्यक्तिगत रूपमा भने उनले नेपालको आन्दोलनलाई सघाइरहेका थिए। यसबाट के प्रष्ट हुन्छ भने हिजो ब्रिटिसहरूले भारतमा शासन गर्दा नेपालको राजनीतिलाई जसरी आफ्नो प्रभावमा राख्न खोजेका थिए, त्यसरी नै स्वतन्त्र भारतका नेताहरूले पनि नेपाललाई आफ्नै प्रभावमा राख्ने योजना बनाएका थिए र यसका मुख्य हर्ताकर्ता नेहरू नै थिए।

नेहरूले २००७ सालको परिवर्तनपछि नेपालको मोड अर्कोतिर नलागोस् र आफ्नो पकडमा रहिरहोस् भन्ने दृष्टिकोण बनाएका हुन सक्छन्। राजा त्रिभुवनले शरण लिइसकेका थिए। राजा र बिपीबीच भेटघाट नै हुँदैनथ्यो, भेट गर्नै दिँदैनथे। त्यतिखेरका मिलिटरी कमान्डर मातृकाप्रसाद कोइराला र नेहरूबीच चाहिँ भेट भइरहन्थ्यो। त्रिभुवन र नेहरूबीच कुराकानी हुन्थ्यो। उनीहरूको कुराकानी नेहरूले मातृका र विपीलाई भन्दैनथे। यसरी काङ्ग्रेसको नाममा वार्ताहरूमा मातृका अगाडि थिए। भारतबाट प्रधानमन्त्री नेहरू भइहाले, यता राणाबाट चाहिँ विजय शमशेर थिए, राजा त राजा भइहाले। भनिन्छ– बिपीले विजय शमशेरलाई त्यसबेला सम्झौता दिल्लीमा नगरौं भनेका थिए। हामीले नेपालमै गरौं भन्दा यी बुढाहरू मान्दै मान्दैनन् भनेर विजय शमशेरले बिपीलाई भनेका थिए भन्ने कुरा धेरै किताबमा पढ्न पाइन्छ। यो सम्झौतापछि बिपी एक्लिए। सम्झौता मातृका, त्रिभुवन र राणाबीच भयो, अझ भन्दा राजा र राणाबीच भएको सम्झौतामा सबै हस्ताक्षर गर्न बाध्य भए। यसको प्रमुख भूमिका नेहरूले नै वहन गरे। त्यसैले के भनिन्छ भने २००७ सालको क्रान्ति नेपालमा भयो तर यसको टुङ्गो चाहिँ भारतमा लगाइयो।

यो परिवर्तनपछि नेपाली जनताले अधिकार पाए। राजाले पनि आफ्नो अधिकार फिर्ता लगे। यो परिवर्तनको पछाडि प्रचण्ड गोरखा र प्रजा परिषद्को भूमिका नभएको होइन तर निर्णायक चाहिँ नेपाली काङ्ग्रेस नै बन्यो। तथापि २००७ को परिवर्तनको श्रेय काङ्ग्रेसलाई मात्र नदिएर त्योभन्दा अगाडिका अन्य राजनैतिक दल, सामाजिक, धार्मिक समूह र संस्थाले खेलेको भूमिकालाई पनि महत्व दिनुपर्छ। यो परिवर्तनपछि प्रशासनिक क्षेत्रमा एउटा कुरा खट्क्यो। राणहरू प्रशासनमा खप्पिस थिए। तर परिवर्तनपछि आएका जनताका प्रतिनिधिहरू त्यसबाट टाढा थिए। उनीहरूमा जोश थियो, विकास गर्नुपर्छ भन्ने भावना थियो तर प्रशासन कसरी चलाउनु पर्छ भन्ने अनुभव थिएन। त्यसैले राणा र उनीहरूबीच द्वन्द्व सुरु भयो। यसको परिणाम सरकारै परिवर्तन हुन थाल्यो। काङ्ग्रेसभित्रको विवाद पनि बढ्यो। हुन त पार्टी स्थापनाकालदेखि नै दुईटा गुट थियो। मातृका र बिपी दुवैले आफ्ना नजिकका मान्छे तान्थे। सात सालअघि बाहिर देखा नपरेको गुटबन्दी यसपछिको समयमा प्रष्ट रूपमा देखा पर्न थाल्यो।

बिपीका पछाडि भारत थिएन, मातृकाका पछाडि भारत र नेपालभित्रै राजा पनि थिए। त्यसैले बिपी त्यसबेला कमजोर थिए। नेहरूको समर्थन पाएका मातृका बलिया थिए, जसले गर्दा पार्टी फुट्यो र मातृकाले सरकार गठन गरे। त्यतिबेला त्रिभुवनकै पैसामा मातृकाले पार्टी गठन गरेको पनि भनिन्छ। सुरुमा बिपी गृहमन्त्री मात्रै भए। त्यसपछि बिपी सत्तामा एकैपटक १५ सालमा मात्र पुगे। सात सालताका राजाले काङ्ग्रेस ज्यादै शक्तिशाली भएकाले त्यससँग लड्न सकिँदैन भन्ने दृष्टिकोण राख्थे। तर सात सालपछिको काङ्ग्रेस फुटिसकेपछिको स्थितिमा क्रमिक रूपमा राजा उनीहरूबीच खेल्न थाले। अनि एकपछि अर्को सरकार परिवर्तन हुँदै गयो।

मातृकाजीको सरकार आयो, त्यसलाई ढाले। परिषद् आयो, त्यो पनि भएन। टंकप्रसाजीको सरकार आयो। त्यसपछि फेरि डा. केआइ सिंहको सरकार आयो। यसरी विभिन्न किसिमले राजाले सरकार परिवर्तन गर्दै आफ्नो उद्देश्य पूरा गर्ने क्रम जारी राखे। पार्टीहरू सबै कमजोर भए। हिजो ऐतिहासिक भूमिका खेलेको प्रजापरिषद् पनि शक्तिशाली हुन सकेन। प्रचण्ड गोरखाको त अस्तित्व नै रहेन किनभने त्यो प्रजापरिषद्मा मिलिसकेको थियो। काङ्ग्रेसमा विभाजन आएको स्थितिमा राजाले जनतामा गइसकेको अधिकार फिर्ता लिए। राजालाई कसैको डर थियो भने काङ्ग्रेसकै थियो। त्यो फुटिसकेपछि राजाले ठूलो गेम खेले। परिणामस्वरूप काङ्ग्रेस ठूलो सङ्घर्षमा जानुपर्यो। ०१४ सालमा उसले सत्याग्रह पनि गर्‍यो, काङ्ग्रेस कमजोर हुँदै गयो। सात सालमा सरकार बनेपछि २०१५ सालसम्म काङ्ग्रेसको सरकारै आउन सकेन। २००८ सालमा मातृका काङ्ग्रेसकै नाममा केही समय सरकारमा बसेदेखि बाहेक राजाले काङ्ग्रेसलाई निषेध गर्दै अन्य पार्टीलाई महत्व दिँदै गए। काङ्ग्रेस र बिपीलाई राजकाजमा महत्व दिनै छाडियो। २०१४ सालको सत्याग्रह, संविधानसभाको माग सबै तुहाइयो। अन्ततः संसदकै चुनावका लागि सहमत हुन सबैलाई बाध्य पारियो, बिपी पनि बाध्य भए।

राजा महेन्द्रले काङ्ग्रेसले जित्दैन भन्ने ठानेर निर्वाचन गराएका थिए। कीर्तिनीधि विष्ट, यदुनाथ खनाल र अरु दुईचार अञ्चलाधीश, बडाहाकिमसहितको समितिबाट उनले रिपोर्ट लिएका थिए, जसमा काङ्ग्रेसको बहुमत आउँदैन भन्ने थियो। काङ्ग्रेसले नै बहुमत ल्याउँछ भन्ने भएको भए महेन्द्रले त्यति छिटो निर्वाचन गराउने थिएनन्। तर नतिजा उल्टो निस्किएपछि राजा धेरै असन्तुष्ट भए। काङ्ग्रेस नेतृत्वमा सरकार गठन गर्न उनले ढिलाइ पनि गरे। २००७ सालको परिवर्तन काङ्ग्रेसले नै ल्याएको हो र अबका जनताका आवश्यकता पनि काङ्ग्रेसले नै पूरा गर्छ भनेर जनताले मतदान गरेका थिए। तर जनमतलाई न्याय गर्न काङ्ग्रेसले सकेन किनभने राजाले त्यसरी अगाडि बढ्ने वातावरण बनाएनन्। बिपी प्रधानमन्त्री भइसकेपछि देशमा परिवर्तन गर्ने थुप्रै योजना ल्याए, तर काङ्ग्रेसको लोकप्रियता राजा महेन्द्रले सहन सकेनन्। राजा महेन्द्र २००७ सालदेखि नै काङ्ग्रेसको विरोधी थिए। उनको बिपीसँग व्यक्तिगत रूपमा भने सौहार्द कुराकानी र विचार आदानप्रदान हुन्थ्यो। एकापसमा उनीहरूबीच खुला रूपमा कुरा हुन्थ्यो। तर भित्री रूपमा न राजालाई बिपीले विश्वास गर्थे, न त बिपीलाई राजाले। त्यसैको परिणामस्वरूप २०१७ सालको घटना घटेको हो।

राजाले २०१७ सालमा यस्तो कदम चाल्दैछन् भन्ने कुराको जानकारी धेरै नेतालाई पहिल्यै थियो। गणेशमान सिंहदेखि पार्टीका थुप्रै नेता र मन्त्रीहरूलाई यसबारे पूर्वजानकारी थियो। उनीहरूले राजाले यस्तो कदम चाल्दैछन् भनेर बिपीलाई भनेको भन्यै पनि गरे। तर बिपीले कहिल्यै पनि त्यो कुरामा विश्वास गरेनन्। उनी के भन्थे भने राजाको मप्रति विरोध हुन सक्छ, सरकारप्रति विरोध हुनसक्छ तर यो व्यवस्थाप्रति विरोध हुन सक्दैन। राजालाई मन नपरे मलाई हटाइदिए भइगो नि, त्यसैले राजाले व्यवस्था नै ‘कु’ गर्दैनन् भन्ने विश्वास बिपीको थियो। त्यसले गर्दा थाहा पाउँदा–पाउँदै २०१७ पुस १ को घटना घटेको हो।

२०१७ सालको घटनापछाडि अन्तर्राष्ट्रिय कारण पनि छन्। त्यो हो– बिपी कोइराला र जवाहरलाल नेहरूबीचको द्वन्द्व। नेहरू र बिपी दुवै समाजवादी नेता थिए। नेहरू चाहन्थे– नेपाल सानो राष्ट्र भएकाले बिपीले मेरोभन्दा ठूलो र अन्तर्राष्ट्रिय मान्यता पाउनु हुँदैन। तर अन्तर्राष्ट्रिय स्तरमा बिपीको प्रभाव नेहरूको भन्दा माथि पुगिसकेको थियो। नेहरू बिपी पनि आफ्नो सल्लाहमा बसेर शासन सञ्चालन गरुन् भन्ने चाहन्थे। तर बिपी राष्ट्रवादी नेता भएकाले आफ्नै विवेकमा अगाडि बढेका थिए। नेपाल स्वतन्त्र छ भन्ने दृष्टिकोणबाट बिपीले काम गरिरहे। इजरायल, अल्जेरिया, पाकिस्तानलाई मान्यता दिने कुरामा नेपाल भारतभन्दा धेरै अगाडि बढिसकेको थियो। यिनै अनेक कारणहरूले नेहरू बिपीसँग असन्तुष्ट थिए। त्यसैले उनी बिपीलाई परिवर्तन गराउन चाहन्थे तर नेहरू नेपालमा ‘सिस्टम’ नै ‘कु’ गराउन चाहँदैनथे, सरकार चाहिँ परिवर्तन गराउन चाहन्थे। यसरी २०१७ सालको घटनामा नेहरूको पनि त्यत्तिकै भूमिका रहेको छ।





इतिहासकार प्राध्यापक राजेश गौतम



०१७ सालको ‘कु’ हुनेबित्तिकैको नेहरूको वक्तव्य त्यति कडा देखिँदैन। उनले नेपालमा यस्तो घटना घटेकामा दुःख लागेको छ मात्रै भनेका छन्। उनले पनि महेन्द्रले सरकार मात्रै परिवर्तन गराउन कदम चालेको ठानेका थिए। पुस १ गते सरकार परिवर्तन भयो र १९ गते महेन्द्रले व्यवस्थामै ‘कु’ गरे। त्यसपछि मात्रै नेहरूको सातो गयो। उनको वक्तव्य पनि ज्यादै कडा आयो। नेपालमा निर्वाचित सबै मन्त्रीसँगै बिपी, गणेशमानलगायतको गिरफ्तारी भइसकेको थियो। सुवर्णशमशेर भने दुई दिनअघि भारत गएकाले बचेका थिए। सुवर्णशमशेर पनि नेपालमा सशस्त्र क्रान्ति गर्ने पक्षमा थिएनन्। नेहरूको ‘गाइडलाइन’ नपाउन्जेल उनी आन्दोलन गर्ने पक्षमा थिएनन्। नेहरूको ‘गाइडलाइन’ पाएपछि मात्र उनी आन्दोलनको पक्षमा उत्रिए।

यसरी ००७ देखि ०१७ बीचमा काङ्ग्रेस, राजा, बिपी सबैको कमजोरी थियो। यो सबैको परिणाम थियो ०१७ सालको घटना। ०१७ को घटनामा राजा एक्लैलाई मात्र दोष दिएर हुँदैन। राजतन्त्र पक्षधरहरू बिपीलाई दोष दिन्छन्, प्रजातन्त्र पक्षधर राजालाई दोष दिन्छन्। यस घटनामा राजतन्त्रसँगै आफूलाई प्रजातन्त्रवादी भनाउनेहरू राजनीतिक दलहरूको पनि उत्तिकै दोष छ। ०१७ देखि ०२५ सालसम्म बिपी जेलमै रहे। ०१८ सालमा भएको सशस्त्र आन्दोलनले एउटा सशक्त रूप लिएको थियो। देशका मुख्यमुख्य भागमा ठूला आन्दोलनहरू भए। सबैभन्दा ठूलो आन्दोलन चितवनमा भयो। त्यतिखेर राजालाई बम हान्ने, जनकपुर घटनालगायत फाटफुट घटना थुप्रै भए। आन्दोलनका सुरुमा भारत सरकार र भारतीय कतिपय नेताको साथ रह्यो। तर पछि भारत–चीन युद्धका कारण नेपालमा सशस्त्र सङ्घर्ष रोक्नुपर्ने स्थिति बन्यो। नेहरूको अनुरोधमा सुवर्णशमशेरले त्यसलाई रोके। त्यसपछि सशस्त्र आन्दोलनबाट होइन, अब संवैधानिक परिवर्तनका लागि संवादबाट र राजासँग कुराकानी गरेर अघि बढ्नुपर्ने दृष्टिकोण राख्न थालियो। सुवर्णशमशेरले त्यसैअनुसार वक्तव्य पनि निकाले र परिणामस्वरूप बिपी र गणेशमान जेलबाट छुटे। नेताहरू छु्ट्नेबाहेक त्यो वक्तव्यको अरु उपलब्धि थिएन। वक्तव्यसँगै बिपी छुटेपछि जनतामा काङ्ग्रेससँग एक प्रकारको आशा थियो, तर त्यो आशाअनुरूप काम राजाबाट नभएपछि बिपी फेरि निर्वासनमा निस्केका हुन्।

http://nepalkhabar.com बाट साभार 

Tuesday, March 7, 2017

नेपाली काङ्ग्रेसको वर्गमुहान -प्रदीप गिरी

राणाद्वारा सेवित र पोषित तर विदेश भगाइएका ‘एलिट’का सन्तानले नै नेपालमा काङ्ग्रेस स्थापना गरे



प्रदीप गिरी

यो वर्ष नेपाली कांग्रेस स्थापनाको सत्तरी वर्ष पूरा हुँदैछ। गान्धीवादी आदर्शबाट प्रेरित भई ००३ सालमा स्थापना भएको उक्त पार्टी नेपाली राजनीतिक सात दशकका सबै उतारचढावहरुको मूल शक्ति र साक्षी हो। तर संगठन, सिद्धान्त र व्यवहारका कसीले कांग्रेसको आन्तरिक जीवनमा कहिले सबलताको उज्यालो छरियो त कहिले त्यत्तिकै दुर्बलताको अन्धकार। खासमा के थियो र अहिले के हो काँग्रेस? नेपालखबरको बहस-शृङ्खलाको पाँचौ भागः

नेपाली काङ्ग्रेसलाई प्रायः स्थुल–अर्थमा प्रारम्भदेखि नै भारतपरस्त पार्टी भनिन्छ। यसो भन्नेमा काठमाडौंमा विद्यमान रहेको आफूलाई सच्चा राष्ट्रवादी देखाउने हिजोका राणाशाही, पछिका राजावादी र अहिले पनि त्यस्ता प्रवृत्ति छन्। एकथरी वामपन्थी कम्युनिस्ट/मार्क्सवादीले पनि काङ्ग्रेसलाई भारतीय विस्तारवाद वा भारतीय एकाधिपत्यसँग सम्बन्ध भएको पार्टी भन्छन्। यो सबै हो कि होइन? म अहिले त्यो भन्न चाहन्न। किनकि यी सबै गौण सवाल हुन्, मुख्य सवाल अन्तै छ।

त्यस समय हिन्दुस्तानका विभिन्न राज्यहरूमा जति पनि जागृतिका आन्दोलन भए, तिनमा दुईवटा हिन्दुस्तान थियो। पहिलो– अंग्रेजबाट प्रत्यक्ष शासित र दोस्रो– अंग्रेजको अधीनमा रहेको तर अंग्रेजले प्रत्यक्ष शासन नगरेको। दोस्रो क्षेत्रमा राजारजौटाहरूको शासन चलिरहेकै थियो। तीमध्ये कश्मिर, जोधपुर आदि थिए। यहाँ एकदमै रमाइलो कुरा के छ भने धेरै मुलुकमा भएका प्रजातान्त्रिक आन्दोलनहरूले आफ्नो सङ्गठनको नाम काङ्ग्रेस राखेको पाइन्छ। भारतीय राष्ट्रिय काङ्ग्रेसले त्यतिबेला के पास गरेको थियो भने जहाँ राजा पनि रहेको प्रान्त छ, त्यहाँ प्रजा परिषद् नामको पार्टीबाट काम गर्ने, जहाँ राजा छैन त्यहाँ काङ्ग्रेसको नामबाट। नेपाल प्रजा परिषद्को सन्दर्भ पनि त्यस्तै हो। 

भारतमा जोधपुर प्रजा परिषद् थियो, हैदरावाद प्रजा परिषद् भनिथ्यो, काश्मिरमा पनि प्रजा परिषद नै भनिथ्यो। यो कुरा धेरैलाई थाहा छैन। त्यसैको अनुकरण गरेर नेपालमा टंकप्रसाद आचार्यले पनि पार्टीको नाम प्रजा परिषद् राखे। जहाँ अंग्रेज छ, उसलाई देश छोडाउन काङ्ग्रेस लागेको थियो। तर राजा त देशकै हो, उसलाई देशबाटै लखेट्ने कुरा भएन। त्यसकारण प्रजा परिषद् भनेर प्रजाको हक स्थापित गर्न त्यस्तो नाम राखिएको देखिन्छ। भारतीय स्वाधीनता संग्राममा राजाले हामीलाई सहयोग गर्छन्, त्यसकारण धेरै कडाइ नगर्ने भन्ने थियो। राजाहरूसँगको लडाइँ अर्कै हो। प्रजा राजाकै हुन्, अधिकार प्रजालाई पनि चाहियो भन्ने हो, मुलुकै छोड भन्न त भएन। यो भारतीय काङ्ग्रेस र काङ्ग्रेस नेताहरूको नीति थियो। भनाइको निहितार्थ के हो भने नेपाली काङ्ग्रेस मूलतः र पूर्ण रूपले तत्कालीन भारतीय बौद्धिक परिस्थितिमा उत्पन्न भएको आन्दोलन र पार्टी हो। त्यो कुरा बिपी कोइरालाका सुरुतिरका लेख र भनाइबाट थाहा हुन्छ।

बिपी सुरुमा राणासहितको प्रजातन्त्र चाहन्थे
सात साल सेरोफेरोको राजनीतिक युगबोध थाहा पाउन त्यतिबेलाको ‘युगवाणी’लगायत पत्रिका हेर्न सकिन्छ। युगवाणीमा बिपीको एउटा लेख छ– ‘हाम्रो ध्येय’। त्यसमा उहाँले प्रस्ट के लेख्नु भएको छ भने ‘हामीले राणा पनि हट्नुपर्छ कहाँ भन्या छ? राजा हट्ने त कुरै भएन। राजालाई राख्छौं नै। राणा पनि थान्कोमा बसेर दिनानुदिनको प्रशासन जनताले छानिएर हामीलाई दिने हो भने पद्मशमशेरको विधानबाटै मोटामोटी पुगिहाल्छ।’ यस्तै भावको लेखमा थियो बिपीको। त्यसमा उनले राजा पाँच/सात वटा रहुन्, राणा पनि रहुन्, उनीहरूको पद, सुविधा, ओहोदा सबै रहोस् तर हामीलाई अधिकार चाहियो भन्ने कुरा प्रष्ट रूपमा लेखका छन्।





नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरी



बिपीले सरकारलाई पनि सीमित अर्थमा लिएको देखिन्छ। उनले दैनिक प्रशासन चलाउन हामीलाई दिनुपर्यो भनेका छन्। विदेश नीति कस्तो हुने, सेनाको कसको हुने भन्ने कुरा पनि उनको लेखमा व्याख्या छ। तर आन्दोलनको आफ्नै गति हुँदो रहेछ। बढ्दैबढ्दै जाँदा जनताको चाहना र चेतना अघिअघि र नेता पछि पर्ने हुन्छ, विदेशी पनि पछाडि सर्छन्। जसरी २०६२/०६३ को आन्दोलनमा वैशाख ८ गतेको सम्झौता अर्कै थियो, दुई दिनमा अर्कै भयो। करणसिंह आएको पनि काम लागेन, श्यामशरण फर्केको पनि काम लागेन। त्यस्तै एउटा सार्वभौम सत्ता सम्पन्न संविधान नै बनाउने कुरा सात सालको अन्त्यतिर आएर भयो, जुन बिपीले पनि पहिले कल्पना गरेका थिएनन्।

विचारधाराका रूपमा काङ्ग्रेस गान्धी र नेहरूबाट अनुप्राणित थियो। जुन प्रकारको संसदीय व्यवस्था भारतमा ल्याइएको थियो, नेपालको त्यतिबेलाको राजनीतिक माग पनि त्यही थियो। कुनै पनि राजनीतिक माग लिएर अगाडि बढ्दा बुझ्न जरुरी छ– त्यो माग कुन वर्गका मान्छेले उठाएका थिए? कुन जातका मान्छे थिए? त्यहाँ के कुरा उठेको थियो? त्यो वर्ग र जातको सांस्कृतिक चेतना र युगबोध के थियो? यो एकदमै बुझ्न आवश्यक छ। नेपाली काङ्ग्रेसको इतिहास लेख्ने मान्छेले यसरी गहिरिएर इतिहास नै लेखेका छैनन्। दुर्भाग्यवस्, जुन इतिहास लेखिएको छ, त्यहाँत्यहाँ कसैले पनि यसलाई उल्लेख गर्न सकेको छैन।

नेपालमा हामीले सामान्यतया पाश्चात्य समाजशास्त्रको प्रभावमा परेर किताब लेख्छौं। त्यस्तो पाश्चात्य समाजशास्त्रमा कार्ल माक्र्सको असाध्यै ठूलो प्रभाव छ। त्यस्तै म्याक्स वेबरको पनि छ। केही गैरमाक्र्सवादी समाजशास्त्रीहरू पनि अरु पनि पाँच/छ जना छन्। हामी दुनियाँमा एक साथ लागू हुने प्रवर्गहरू बनाउँछौ र धारणाहरू निर्माण गर्छौं। मानौं यो यान्त्रिक कुरो हो। तर समाजशास्त्र कुनै क्यामेराजस्तो हुँदैन। अहिले क्यामेराको सिद्धान्तमा त परिवर्तन आइसक्यो। हिजो रिल भएको क्यामेरा डिजिटलमा पुगिसक्यो। सामाजिक जीवनमा त यस्तो धेरै अन्तर हुन्छ। त्यसकारण कुनै पाश्चात्य समाजशास्त्रको नियमले मात्रै नेपालको सामाजिक र राजनीतिक आन्दोलनको विश्लेषण गर्न सकिन्न।

सामाजिक–राजनीतिक जीवनमा प्रत्येक व्यक्ति विशिष्ट भएजस्तै यो मुलुकको पनि संस्कृति र भूगोलमा यही विशिष्टता छ। हाम्रो भूगोल असाध्यै महत्वपूर्ण छ। भूगोलभन्दा बाहिर भारत र चीनसँगको सम्बन्ध आउँछ तर भित्र मुख्यगरी हामीसँग भएको मधेसको जग्गा निकै महत्वपूर्ण छ। त्यो उब्जनीको साधन थियो। प्रथम महायुद्धपछि मधेसका जग्गा एकदम मूल्यवान भएर गए। त्यसअघि पहाडका मान्छे मधेसमा ओर्लिंदा पनि ओर्लिंदैनथे, औलो लाग्छ भनेर। जब प्रथम महायुद्धताका सबै बोर्डरमा रोड र रेलवे स्टेसन आए। अनि रेलवेसँगै धमाधम ठूलठूला सहर बस्न थाले। त्यसमा खासगरी कलकत्ता महत्वपूर्ण छ। सहरका लागि काठको भयङ्कर अभाव हुन थाल्यो। अनि मधेसको जङ्गल काटिँदै कोशीमा काठ हाल्दै–बगाउँदै गंगा पुर्‍याइन थाल्यो। मधेसका जङ्गल काटिएपछि त्यहाँ खेती हुनुपथ्र्यो। त्यसका लागि त्यहाँ जनसंख्या थिएन। पहाडका मान्छे त्यहाँ जान नचाहने भएपछि जनसंख्याकै लागि धेरै हदसम्म मधेसका मान्छे बोलाउन थालियो र खेती गर्नुस् भन्न थालियो।

भीम शमशेरका सन्तान र सेवक नै काङ्ग्रेस संस्थापक
मध्य मधेस खासगरी नवलपरासीदेखि कपिलवस्तुतिर जनसंख्या बिलकुलै थिएन। पछि मात्रै त्यहाँ बसोबास बढेको हो। मानिसहरू मधेस झर्न थाल्नु, उता रेल आउनु, रुख कटान गरी धान खेती सुरु हुनु आदि एकाएक भएको देखिन्छ। यही बेला गिरी, कोइराला आदिका वंशहरू मधेस क्षेत्रमा अत्यन्त सक्रिय भएको देखिन्छ। यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने मधेसका जमिन्दारको प्रतिनिधित्व त्यतिबेलाको राष्ट्रिय काङ्ग्रेसले गरेको छ। त्यसमा पनि भीम शमशेरको खलक छ। गणेशमानजी होस्, वा बिपी कोइराला, यिनीहरू को हुन्? यी सबै भीम शमशेरका दरबारिया हुन्। उनीहरू नै पछि काङ्ग्रेस बनाउन गएका छन्। ध्यानपूर्वक हेर्ने हो भने भीम शमशेरका साख्खै सन्तान र भीम शमशेरका दरबारियाहरूले नै काङ्ग्रेस बनाएका छन्। सुन्दा यो काङ्ग्रेसविरोधी कुरा जस्तो लाग्न सक्छ। इतिहासलाई सही ढङ्गले नबुझ्ने मान्छेले मेरो कुरामा नकारात्मक प्रतिक्रिया पनि व्यक्त गर्लान्। तर मैले एकदमै गहिरिएर हेरेको छु। यो यथार्थ हो। जनबोलीमा भन्ने हो भने भीमे र चन्द्रेको लडाइँको बीचबाट काङ्ग्रेस जन्मेको हो। चन्द्र शमशेरले कोइराला परिवारलाई दण्डित गरे, भीम शमशेरले बोलाए। बिपीका बाबु कृष्णप्रसाद कोइरालाको परिवार लामो समयसम्म भीम शमशेरको चाकरीमा लागेको देखिन्छ। कृष्णप्रसाद आफै भीम शमशेरका छोरा हिरण्य शमशेरका सुब्बा थिए।





प्रदीप गिरी



पछि २००७ सालमा बिपी मन्त्री भएपछि हिरण्य शमशेरले कृष्णप्रसादलाई भनेका थिए– ‘ए, तेरो छोरो पनि मन्त्री भयो, हामी बसौं भने लाज हुन्छ।’ मैले खासमा भन्न खोजेको के भने काङ्ग्रेसको स्थापनामा काठमाडौंको दरबारभित्रको ‘एलिट’ (धपाइएको एलिट) र मधेसको जमिन्दारको नेतृत्व र भूमिका छ। के भएछ भने सात सालको क्रान्ति आउँदा–नआउँदा मधेसका जमिन्दार पीडामा पर्न थाले। राणाले त्यो जग्गा खोस्न थाले। विभिन्न बाहना गरेर, अंशियार लगाइदिएर, मालपोत तिरेको छैन भन्यो, सानो निहुँ बनाए, फल्ना तिर्या छैन, फल्ना मुद्दा लाग्यो भनेर अनेक आधारमा जग्गा सिध्याइदिने गर्‍यो। परम्परागत जमिन्दारको जग्गा अपहरण भएको यही विषयलाई आधार बनाएर भवानी भिक्षुले पछि ‘आगत’ उपन्यास लेखेका छन्। त्यो वास्तविक कहानीमा आधारित उपन्यास हो। जोन बेलामा ती जग्गा खोसिने जमिन्दारले भन्छन्– ‘हाम्रो जग्गा यिनीहरूले हरण गरेर हिँडे, यिनको राज पनि कति रहन्छ, हेरुँला।’ भवानी भिक्षुले सात सालतिरको त्यही कथामा आधारित भएर लेखेका हुन्।

निष्कर्षमा के भन्न सकिन्छ भने नेपाली काङ्ग्रेसको नेतृत्वको निर्माण वैचारिक दृष्टिले भारतीय राष्ट्रिय काङ्ग्रेसको प्रभावमा गान्धी र नेहरूको विचारधाराअन्तर्गत नै भयो। गान्धीजस्तै यो पार्टी पनि मूलतः क्रमशः सम्झौतावादी ढंगले अगाडि बढ्छ। तर देशभित्रको कुरा गर्दा यसको नेतृत्व पंक्तिमा कुन वर्गका मानिस थिए भन्ने कुरा महत्वपूर्ण छ। उनीहरू थिए– राणाकै वरिपरि हुर्किएका, राणाद्वारा नै सेवित र पोषित तर राणाको राजदरबारमा भूमिका खोसिएर विदेशिनु परेका खलकका सन्तान। तिनीहरूका छोरा–नातीहरूमध्ये गान्धी र नेहरू विचारधाराबाट प्रभावितहरू अगाडि आए। तर ती अधिकांश ‘एलिट’ नै थिए। उदाहरणका लागि डिल्लीरमण रेग्मी, गणेशमान सिंह, बिपी कोइराला, मात्रिका कोइराला, शुवर्ण शमशेर आदि। काङ्ग्रेसका त्यतिबेलाका सबै नेता वा संस्थापकहरूको ‘बायोडाटा’ हेरियो भने उनीहरूको वर्गस्रोत र वंशस्रोत थाहा हुन्छ।

अनि, काङ्ग्रेस स्थापनाको यो पृष्ठभूमिबाट नै त्यतिबेलाका नेताहरूको तागत पनि बुझिन्छ, कमजोरी पनि थाहा पाइन्छ।

http://nepalkhabar.com बाट साभार 

Monday, February 20, 2017

पूर्व जनसेना “आस्था केसी”को मार्मिक चिट्ठी दाईलाई

आदरणीय कुमार दाइ,
क्रान्तिकारी अभिवादन
तपार्इंले लेख्नुभएको पत्र पाएँ । एउटा उद्वेलनले भावुक बन्दै पत्र पढिसिध्याउँदासम्म आँखाबाट आँसु बगिरह्यो । पत्र पढि सकेको केही बेरसम्म म चुपचाप रोइरहें । अनि केही बेरपछि उठें र तपाईंको पत्रको प्रतिउत्तर कसरी दिनेहोला भनेर सोच्न थालें । मेरो प्रिय दाजु, रुनु भनेको कुनै नराम्रो काम पक्कै होइन । म बरू नहाँसेर बाँच्न सकुँला । तर नरोएर बाँच्न सक्दिनँ ।
हामी बाँचिरहेको सामन्ती चिन्तनले ग्रस्त समाजले रुनुलाई नराम्रो अर्थमा चित्रित गरेको छ । तर दाइ, रुनु भनेको कमजोर हुनु होइन । मेरो हकमा त झन हुँदै होइन । जब रुन्छु, म भित्रको पीडा आँसु बनेर बाहिर निस्किन्छ । आफ्नो मन लागुन्जेल रुन्छु र आँसु पुछेर म आफूलाई एकदमै ताजा र हलुका महसूस गर्छु । तर रुन सकिन भने त म जिन्दगीको नियमित लयमा फर्किनै सक्दिनँ भने पनि हुन्छ । त्यसैले हाँस्ने कुरा जस्तै मेरा लागि रुने कुरा पनि सामान्य भइसकेको छ । र यो हुनुपनि पर्छ भन्ने मेरो मान्यता हो ।
अहिले म काठमाडौंमा बसेर आफ्नो करीयर निर्माण गर्दैछु । हिजो जतिबेला भविष्यका लागि करीयरको लागि पढ्नुपर्ने थियो, त्यतिबेला तपार्इं दाइहरूको पदचापलाई ब्रह्मवाक्य जस्तो मानेर, जनताको मुक्ति र परिवर्तनका लागि लाग्नु महत्त्वपूर्ण थियो । लागिएकै पनि हो । आफ्नो पढाइलाई बीचैमा थाती राखेर, भविष्यका सपनाहरूलाई कतै कुनामा मिल्काएर, जनयुद्धको झण्डा बोकेर “मानिसको अन्तर्राष्ट्रिय जाति हुनेछ” भन्दै हिँड्दा आज यस्तो दिन पनि आउला भन्ने त कुनै कल्पना पनि गरिएको थिएन । आज आफ्ना आदर्शहरू आँखाअगाडि नाङ्गेझार हुँदै गएको देख्नुपर्दा मन यसै यसै विरक्तिएर आउँछ ।
आज जनयुद्धको २१औं वर्षगाँठ मनाइरहँदा तपाईंलाई सोध्न मन छ । जनयुद्धले देखाएका सपनाहरू अलपत्र पारेर अन्त कतै बरालिने अधिकार नेताहरूलाई छ ? के जनयुद्ध केही अमुक नेताहरुलाई मन्त्री वा प्रधानमन्त्री बनाउनका लागि मात्र गरिएको थियो ? विश्व सर्वहारावर्गको मुक्तिको लागि प्रयत्न नगरेर अनि जनयुद्धले देखाएका सपनाहरू अलपत्र पारेर अन्त कतै बरालिने अधिकार नेताहरूलाई छ ?
सर्वहारावर्गको मुक्तिको लागि आफूलाई हाँसी हाँसी बलिवेदीमा चढाउने वीर शहीदहरुको बलिदानको अर्थ के ? आज शहीद र बेपत्ताका परिवार कसरी बाँचिरहेका छन् भनेर कसैले सोधेको छ ? घाइते, अपांगहरूको अवस्था दयनीय र टीठलाग्दो भएको छ ।
हिजो नेता र कमान्डरहरूको एक वचनमा स्कूलमा झोला फालेर हिँडेका कार्यकर्ताहरूको हविगत कस्तो छ कसैलाई मतलब छैन । सुकुम्बासी, हलिया, कमैयाहरू झन् झन् गरीब र सर्वहारा हुँदै गइरहेका छन् । हाम्रो पार्टीका सर्वोच्च कमान्डर प्रधानमन्त्री भइरहेको समयमा पनि गरीबलाई झन् गरीब र धनीलाई झन् धनी बनाउने व्यवस्था किन दिनानुदिन मौलाउँदै गइरहेको छ ?
हाम्रो आन्दोलन कतै निम्नबुर्जुवाहरूको दलदलमा जाकिइरहेको त छैन भनेर सोच्ने कहिले ? र कसले सोच्ने यस्तो कुरा ? तपार्इंले भनेजस्तै हाम्रा केही नेताहरूलाई त अहिल्यै साम्यवाद आइसकेको जस्तो अनुभूति भएकै छ । त्यस्ताहरूलाई पार्टीबाट गलहत्याउने कहिले ? कम्तीमा तपार्इं हाम्रो स्तरबाट पार्टीभित्र यस्तो विषयमा बहस चलाउन ढिलो भएन र ? जुन लोकतन्त्र ल्याउनको लागि हाम्रा सहयोद्धाहरू शहीद भए, हामीले हाम्रो जीवनका सबैभन्दा रहरलाग्दा दिनहरू क्रान्तिमा लगानी ग–यौं त्यही लोकतान्त्रिक संस्कारको विकास हाम्रो महान् तथा गौरवशाली पार्टीमा कहिलेदेखि शुरुवात गर्ने, अब ढिलो भएन र ? मलाई त लाग्छ, परिस्थिति हाम्रो हातबाट बाहिर गइसकेको छ ।
हो, प्रतिक्रियावादीहरू मन नपरेरै भएपनि हाम्रा नारा सुन्न बाध्य छन् । तर हामीले उनीहरूमाथि हाम्रा एजेन्डा हावी गराउन सकेका छैनौं । बहुसंख्यक नेपाली जनता हाम्रा एजेन्डाहरूको बारेमा स्पष्ट हुन सकिरहेका छैनन् । तिनीहरूलाई स्पष्ट बनाउनका लागि कार्यकर्तालाई उत्साहित बनाउँदै, उनीहरूका भैपरी आउने अल्पकालीन र दीर्घकालीन समस्याहरूको समाधान गर्दै मार्गनिर्देशन गर्नुपर्नेमा हाम्रा कतिपय नेताहरू या त कानमा तेल हालेर सुतिरहेका छन्, या त कतै रिसोर्टहरूमा टाइमपास गरिरहेका छन् ।
प्रिय दाजु, मलाई गर्व छ कि म जनयुद्ध लडेर आएकी एक पात्र हुँ । हाम्रो जनयुद्ध कुनै भ्रमको खेती थिएन । शहीदहरूको बलिदान कुनै नाटकको रिहर्सल थिएन, तर जनयुद्धका नायकहरू नै खलनायकमा परिणत भएपछि जनयुद्धको महिमा र गरिमा चटकेहरूको भजनमण्डलीमा सीमित हुन पुगेको छ । आज सबैतिर कि त अवसरवादी हावी भएका छन्, कि त नेताका भाइ, छोरा र नाता कुटुम्बले स्थान पाएका छन् । कतै अरूले पनि पाएका छन् भने त्यो अपवाद मात्रै हो । मुख्यतया भएको यस्तै छ ।
प्रिय कुमार दाइ, आजकल म एउटा संस्मरण लेखिरहेकी छु । हिजोका हाम्रा सहकार्यहरू सम्झिरहेकी छु । भार्सेको जंगलमा निष्पट्ट कालो रातमा बाटो बिराएर अलपत्र परेको वेला स्याउला ओछ्याएर एक झप्को निदाएको, संकटकालका शुरुवाती दिनमा दिब्रुङको जंगलमा बन्दुकलाई सिरानी बनाएर सुतेको, हँसरा र जुहाङका सेल्टरहरूमा दाइसँग घन्टौं छलफल गरेको, इन्द्रेगौंडाको नाका क्रस गर्नेबेला पारिबाट सेना आएको देखेर भागेको, पहिलोपटक जिल्ला जनसरकार घोषणा गर्दाका पलहरू आज पनि मसँग जीवन्त छन् । एकपटक तपाईंले भन्नुभएको थियो ‘लडार्इं सबैतिर छ, भागेर कहाँ जाने’ भनेर ।
म भागिरहेकी छैन । चुनौतीहरूको सामना गर्ने त्यो उँचो साहस छातीभरि बोकेर आज पनि म सही विचारको लागि संघर्ष गरिरहेकी छु । यो उँचो साहस मलाई जनयुद्धले दिएको हो । जनयुद्धले देखाएको बाटोलाई आत्मसात गर्दै तमाम गलत प्रवृत्तिका विरुद्ध सदैव डटेर लाग्नेछु । आजलाई यत्ति नै । बाँकी अर्को पत्रमा लेखौंला ।

तपार्इंकी स्नेही बहिनी
आस्था केसी
हाल: शंखमूल, काठमाडौं
(आस्था केसी हाल सञ्चारकर्मी हुनुहुन्छ)

http://www.suchanakhabar.com बाट साभार 

Sunday, February 5, 2017

अब स्वतन्त्र मधेशको आन्दोलन उठ्नु पर्छ : गोपाल किराती

image
मधेश आन्दोलन पहाडिया अहङ्कारवादी बाहुनवादी शासकहरुको रवैयाको परिणाम हो
मधेशमा सैनिक दमन हुन्छ भने मधेशमा सशस्त्र प्रतिरोध सुरु हुन्छ
थारु र मधेशीको माग सम्बोधन भएन भने नेपाल पाँच टुक्रामा विभाजित हुन्छ
थारुवान र मधेश जलिरहेको बेला राष्ट्रिय स्वाधिनताको कुरा पहाडिया स्वाधिनता मात्र हो
झापा, मोरङ र सुनसरीलाई मधेशको दुईनम्बर प्रदेशमा हाल्दा मलाई कुनै आपत्ति हुँदैन
विराटनगर सहरलाई कोइरालाहरुले गोर्खा ठान्छन् । शाहवंशको गोर्खाजस्तै
पहाडिया अहङ्कारवादी राज्यसत्तालाई ध्वस्त पार्ने थारु र मधेशी जनताका माग ठिक हुन्
ताप्लेजुङ, सँखुवासभा र भोजपुरबाट आएर विराटनगरको जनसँख्या बढाउने पहाडिया नै हुन्
यथास्थिति छिचोल्न सक्नुभयो भने प्रचण्ड लेनिन बन्नुहुन्छ, सक्नुभएन भने बाहुन बन्नुहुन्छ
मधेशलाई स्वतन्त्र मधेश, सार्वभौम स्वाधिन मधेशको आन्दोलनमा जानुपर्छ
स्वतन्त्र मधेशको आन्दोलनले जनजाति र आदिबासीहरुका लागि ढोका खुल्छ
जनजातिहरुभित्र आगो छ, उनीहरुले चित्त बुझाएका छैनन् ।… अनि बिष्फोट हुन्छ

एकीकृत नेकपा माओवादीलाई लागेको क्यान्सरलाई हटाउन उच्चप्रकारको शल्यक्रिया गर्नुपर्ने पार्टी अध्यक्ष प्रचण्डका पक्षधर स्थायी कमिटी सदस्य गोपाल किराती एमाओवादीमा प्रखर, आँटिलो र प्रभावशाली नेता मानिनुहुन्छ । आफ्नो दृष्टिकोण र अडानप्रति अविचल रहँदै उत्पीडित जनताका पक्षमा खरो वकालत गर्दैआउनुभएका किरातीसँग मूलतः मधेश आन्दोलनर यसको निकासको सेरोफेरोमा केन्द्रित रहँदै सञ्चारकले कुराकानी गरेको छ । करिब ५४ मिनेट कुराकानीका मुख्य अंशलाई माथि राखिएको छ । अन्तर्वार्ताको सामान्य समपादित तर पूर्ण अंश प्रस्तुत गरिएको छ ।

मधेश आन्दोलनबारे तपाईको बुझाई के छ ?
मधेश आन्दोलन वस्तुतः पहाडिया अहङ्कारवादी शासकद्वारा शताब्दियौंदेखि गरिएको उत्पीडनको परिणाम हो । हरेक वस्तुलाई एकको दुईमा विभाजन गरेर हेर्ने हामी कम्यूनिष्टको भौतिकवादी दृष्टिकोणले देशभकत उत्पीडित जनसमुदायको एउटा मधेश छ भने दललहरुको मधेश अर्को । दलाली पहाडमा पनि छ । यस्तो दलाली जुनसुकै जाति र समुदायमा विद्यमान रहन्छ । अब दलालहरुले मौका छोपेको पनि हुनसक्छ । छिमेकी भारतले संविधानसभाबाट संविधान बनाउँदा नाकाबन्दीको जुन सजाय गरेको छ, त्यो पनि मिसिएको छ । तर मुख्यतया मधेश आन्दोलनको कारण चैँ थारु, मधेशी, आदिबासी, दलित र मुस्लिमविरोधी अढाइसय वर्ष लामो पहाडिया अहङ्कारवादी बाहुनवादी शासकहरुको रवैयाको परिणाम हो ।
तर मधेश आन्दोलनलाई राष्ट्रिय स्वाधिनताविरुद्धको लडाइँका रुपमा पनि परिभाषित गर्नेहरु छन् नि ?
यस्तो बुझाइ त केपी ओलीहरुको हो । केपी ओली भनेको पहाडिया अहङ्कारवादीहरुको नेता बन्न खोजेका छन् । यत्तिबेला एकीककृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक चलिरहेको छ । बैठकमा नेताहरुले अहिले राष्ट्रिय स्वाधिनताको जागरण आएको भन्नुभयो । प्रत्युत्तरमा मैले थारुवान र मधेशमा के स्वाधिनताको जागरण आएको छ ? कठमाडौंलाई हेरेर मात्र हुन्छ ? मैले खरो ढङ्गले प्रश्न गरेको छु । राष्ट्रिय स्वाधिनताको जागरण भनेको यो देशका सबै क्षेत्र र समुदायमा आउनु प¥यो नि त । थारुवान र मधेश जलिरहेको छ । रगत बगिरहेको छ । भविष्य कहाँ हो कता हो भनेर अन्धकार पैदा भएको छ । यस्तो बेलामा राष्ट्रिय स्वाधिनता कसैले भन्छ भने त्यो पहाडिया स्वाधिनता मात्रै हो । त्यसलाई हामीले मूर्दावाद भन्नुपर्छ ।
स्वाधिन जातिहरुको मात्र स्वाधिन नेपाल हुन्छ । पराधिन जातिहरुको त पराधिन नेपाल भइहाल्छ । सङ्घीय गणतन्त्र नेपालमा मधेशी जनतालाई स्वाधिन बनाइनु पर्छ । थारु, मुस्लिमलगायत सबै जनता अझ खसलाई पनि स्वाधिन बनाइनुपर्छ । अनि मात्र स्वाधिन जातिहरुको स्वाधिन नेपाल हुन्छ । त्यसपछि कसले हेप्छ हामीलाई ? तर नेपालभित्र पहाडिया अहङ्कारवादी ब्राह्मणवादी सत्ताले चाहिँ आफूबाहेक सबैलाई पराधिन तुल्याएको छ । ‘परतन्त्र मधेश और उसकी सँस्कृति’ लेखेकै कारणले सम्भवतः पञ्चायचकालमा हत्या गरिएका सहिद रघुनाथ ठाकुरको त्यो पुस्तक मैले सन् १९९१ म पढें । मधेशलाई कसरी पराधिन बनाइएको छ भन्ने बुझें । पहाडियाहरुले भन्ने बेलामा चैँ मधेशलाई नेपालको केन्द्र भन्ने, जनयुद्धको बेलामा माओवादी प्रचण्डहरुले जनयुद्धको केन्द्र मधेश भन्ने तर मधेशी ठूलो सँख्यामा रहेका जनताका भावनालाई कुल्चने अनि स्वाधिनताको नारा लगाउने कुरा पहाडिया स्वाधिनता मात्रै हो । राणातन्त्र, राजतन्त्र र गणतन्त्र सबै सायमा मधेशी भावनालाई कुल्चने काम भएको छ ।

आन्दोलनरत्त मधेशी दलका माग वेफ्वाँक छन पनि भनिन्छ । यस्तो भन्नेहरुको तर्क छ कि संविधानमा सबै मागहरुलाई सम्बोधन गरिएको छ । तपाई सहमत हुनुहुन्छ ?
नेपाली काँग्रेस र नेकपा एमालेले अलिकति अगाडि बढेर दुईनम्बर प्रदेश नामाकरण गरिएको आठ जिल्लाका प्रदेशलाई मधेश भनेर संविधानमा लेखिदिएको भए एउटा सम्बोधन हुन्थ्यो । लेख्न मानेनन् । ठूलो जनसँख्या भएको मधेश संवेदनशील इकालामा छ । छिमेकीसँगको सीमाना छ । यसलाई सम्बोधन गरिरिएको भए काँग्रेस र एमालेकै जिन्दावाद हुन्थ्यो । अहिलेको स्थिति हुँदैन्थ्यो । पश्चिममा थारुहरुको पनि कमसेकम कैलालीको चारओटा निर्वाचन क्षेत्र खुटिया नदीदेखि पूर्व पाँच नम्बरमा हालिदिएको भए वा वर्दियासँग जोडिदिएको भए टीकापुर काण्ड हुँदैन्थ्यो । शेरबहादुर देउवा, भीम रावल अझ हाम्रै पार्टीका लेखराज भट्टको भूमिका पहाडिया अहङ्कारवादको शिकञ्जा कस्नमै रह्यो । प्रधानमन्त्री भइसकेका र फेरि पनि प्रधानमन्त्री बन्न चाहेका शेरबहादुरले कैलालीको एक इन्च जमीन पनि दिन्न भने ।
झापा, मोरङ र सुनसरीलाई मधेशको दुईनम्बर प्रदेशमा हाल्दा मलाई कुनै आपत्ति हुँदैन । तत्कालिन राज्य पुनर्संरचना समितिले काँग्रेस र एमालेको अस्वीकारोक्तिका बाबजूद पनि बहुमतले पारित गरेको प्रतिवेदनमा पर्सादेखि सुनसरी, मोरङ र झापासम्म मधेश छ । कतिपय पहाडीहरुमा आशङ्का छ कि मधेशीको बाहुल्य भएको प्रदेश मात्र बनाइयो भने भारतमा मिलाइ दिन्छन । यो चैँ पहाडिया अहङ्ककारवादी दृष्टिकोणको अभिव्यक्ति हो । मैले उनीहरुलाई भनेको छु, झापादेखि पर्सासम्मका जिल्ला मधेशमा हुँदा तिमीले शङ्का गरेको मधेशीको मात्र बाहुल्य हुँदैन । त्यहाँ पहाडी पनि हुन्छ । मुस्लिम पनि हुन्छ । थारु प्नि हुन्छ । कम्पोजिसन मिल्छ र कतै पनि जाँदैन । उनीहरु कहाँ हुन्छ त्यस्तो भन्दै उफ्रि हाल्छन् । (हाँसो) । यसो भए अझ बढी वस्तुसंगत र न्यायसम्मत हुन्छ ।
मानव भूगोलका आधारमा प्रदेश बनाउने हो भने मोरङ जिल्लाका चारओटा निर्वाचन क्षेत्रहरु चार, पाँच, छ र सात तथा सुनसरी जिल्लाका तीनओटा निर्वाचन क्षेत्रहरु तीन, चार र पाँचलाई सप्तरीसँग मिलाएर दुई नम्बर प्रदेशतिर हाल्नुपर्छ । जुन इलाकामा मधेशी, मुस्लिम र थारुहरुको अत्याधिक बसोबास छ, त्यसलाई दुई नम्बरसँग जोड्नु असाध्यै वस्तुसंगत र न्यायसंगत हुन्छ । तर यहाँ विडम्बना वा अवरोध भनौं, विराटनगर सहरलाई कोइरालाहरुले गोर्खा ठान्छन् । शाहवंशको गोर्खाजस्तै(हाँसो) । कृष्णप्रसाद, मातृका, बीपी, गिरिजा र कोइरालाहरुका थुप्रा सन्तानका गोर्खा । अर्को चैँ विराटनगर उपमहानगरपालिका वरपरका बस्तीमा मधेशीहरुको शतप्रतिशत बसोबास छ तर सहरभित्र पहाडियाहरुको । म भर्खरै विराटनगर पुगे । केही पहाडिया साथीहरु खासगरी ब्राह्मणहरुले जनसँख्याका आधारमा निर्वाचन क्षेत्र बनाउनुपर्ने प्रस्तावप्रति आपत्ति जनाए र रोक्नै पर्ने भने । मैले भने, त्यसो भए तपाईं पहाड गइहाल्नुस । ताप्लेजुङ, सँखुवासभा र भोजपुरबाट यहाँ जनसँख्या बढाउने त तपाई हो नि । (हाँसो) । ठिक छ इन्डियाबाट पनि थुप्रा मान्छे आइरहेका होलान त्यसको छुट्टै मूल्यांकन गरौंला । तपाई चैँ पहाडको बसाइँ छोडेर यहाँ आएर घर बनाउने अनि मतदाता बन्ने । मधेश वा तराई क्षेत्रमा जनसँख्या धेरै बनाउनमा तपाईको भूमिका छ कि छैन । गोपाल किरातीले छैन । काठमाडौंमा न विरानगरमा उनको घर छ । म जहाँ जन्मिएँ, उतैको मतदाता नामावलीमा मेरो नाउँ छ । त्यसो हुनाले पहाडको जनसँख्या घटाउने र मधेशको जनसँख्या बढाउने पहाडियाको भूमिका छ । तपाई सच्चयाउनुस भनेपछि साथीहरु चुप लाग्नुभयो । यद्यपी हाम्रै छिमेकी भारतमा एउटा निर्वाचन क्षेत्रमा २७ लाख मतदाता छन् भने लक्षदीपजस्तो निर्वाचन क्षेत्रमा ६२ हजार मात्र । त्यहाँ पनि ज्यादति भइरहेका होलान । तर समग्रमा राज्यसत्ता पहाडिया अहङ्कारवादीहरुको हातमा लामो समयसम्म रहेकोले उनीहरुका दृष्टिकोण एकदम उत्पीडनकारी र हस्तक्षेपकारी छ । माक्र्सवादी र लेनिनवादी कार्यकर्ताभएकोले मैले पहाडिया अहङ्कारवादी राज्यसत्तालाई ध्वस्त पार्नका लागि थारु र मधेशी जनताबाट जे माग हुन्छ, त्यसलाई ठिक हो मैले भन्नुपर्छ ।

तर तपाईको दृष्टिकोण र तपाईको पार्टीको व्यवहारमा भिन्नता देखिन्छ नि ?
एमाओवादी दृष्टिकोण पनि म जस्तै हुनुपर्ने हो । तत्कालिन नेकपा माओवादीको प्रथम राष्ट्रिय सम्मेलन, दोस्रो राष्ट्रिय सम्मेलन हुँदै हेटौंडा महाधिवेशनले पनि राष्ट्रिय आत्मनिर्णयको अधिकारको सिद्धान्तलाई स्वीकार गरेको छ । राष्ट्रिय आत्मनिर्णयको अधिकार भनेकै मधेशीको सन्दर्भमा बहुसँख्यक जनताले भनेको कुरो स्थापित हुनु हो । नेपालभित्र मलाई स्वायत्त मधेश प्रदेश चाहिन्छ अथवा होइन, नेपालमा अन्याय र उत्पीडन मात्र हुन्छ त्यसैले म स्वतन्त्र बन्छु, इनडिपेन्डेन्ट मधेश चाहन्छु भन्नु पनि आत्मनिर्णय नै हुन्छ । मैले पार्टीमा यसबारे छलफल गर्दा स्वाधिन जातिहरुको मात्र स्वाधिन नेपाल हुन्छ । पराधिन जातिहरुको पराधिन नेपाल हुन्छ । त्सकारण बाहुनले बोल्नुप¥यो कि स्वाधिन नेपाल बनाउने कि पराधिन नेपाल बनाउने । अब बाहुनहरुको हात, दिमाग र निर्णयमा भर पर्छ यो कुरा ।

स्वायत्तता पाइँदै पाइँदैन भने आजको नेपालका उत्पीडित जातिले पराधिनता स्वीकार्न तयार छैनन् । स्वायत्तता हुँदैन । स्वायत्तता दिन पहाडियाहरु तयार हुँदैनन् । मुख्यतया काँग्रेस र एमालेका । अझ एमाओवादीका पहाडियाहरुले पनि कचिङ्गल गर्छन् । सिद्धान्तमा माओवादीमा समस्या छैन । एमाओवादीले पारित गरेको छ, सङ्घीयता, पहिचानसहितको स्वायत्तता पारित गरेको छ । तर त्यही नीतिको वकालत गर्दा पार्टीकै साथीहरु भन्छन् गोपाल किराती जातिवादी छन् । एमाओवादीका कयौं ब्राह्मणक्षत्री मूलका कमरेडहरु हुनुहुन्छ त्यो एउटा धङधङ्गी जो दिमागमा बसिराखेको छ । त्यसको विरुद्ध मैले पार्टीमा लडिरहेको छु ।

तपाईहरुका पार्टीका अध्यक्ष प्रचण्डको दृष्टिकोण के छ ?
प्रचण्डलाई म अहिलेसम्म एक्काइसौं शताब्दीको लेनिन भनेर बुझ्छु । तर उहाँलाई लेनिन बन्न निकै कठिन भइरहेको छ । त्यो पनि म बुझ्छु । उत्पीडित वर्ग, समुदाय र महिलाका हकका लागि पहल गर्ने आन्दोलन र विचारको नेतृत्व गर्ने कामले उहाँलाई लेनिन बनाउने हो यथास्थितिले लेनिन बन्न नदिने हो । यथास्थिति छिचोल्न उहाँलाई हामीले मद्दत गरिरहेका छौं । त्यो छिचोल्न सक्नुभयो भने लेनिन बन्नुहुन्छ, सक्नुभएन भने बाहुन बन्नुहुन्छ । प्रचण्ड जन्मले बाहुन हो । को कहाँ जन्मिने कुरा हाम्रो नियन्त्रण र इच्छाको विषय भएन । जन्मले होइन, कर्मले मानिसले आफ्नो भूमिका निर्धारण गर्नुपर्छ भन्ने मेरो बुझाइ हो । जन्मले बाहुन भए पनि प्रचण्ड क्रान्तिकारी कम्यूनिष्ट हुन् भन्ने मलाई अहिलेसम्म लाग्छ ।

तर उहाँका अभिव्यक्ति र व्यवहारबाट क्रान्तिकारिता देखिएको छैन नि ?
उहाँले नसकेको हो । उहाँ सीमाप्रधान भइरहनुभएको छ । त्यसैले हामीले मद्दत गर्नका निम्ति स्वाधिन मधेशको पक्षमा वकालत गरिरहेका छौं ।

मधेश आन्दोलनलाई राज्यले राजनीतिक तवरले सम्बोधन नगरी दमनबाट निस्तेज गर्न खोज्दैछ नि ?
सैनिक दमन गरेर हुँदैन । एकचोटि सेना परिचालन भयो तर समाधान त भएन नि । सेनाकै अधिकारीहरुले यस समस्याको सैन्य समाधान राजनीतिक समाधान खोज्नुपर्ने सुझाएका छन् भनेर मिडियाहरुमा आइरहेका छन् । म भन्छु, सैनिक दमन हुन्छ भने मधेशमा सशस्त्र प्रतिरोध सुरु हुन्छ । कसरी सोध्दा भन्छु मलाई थाहा छैन । मलाई लाग्छ, जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध सुरु हुन्छ । एउटा फौजी सिद्धान्त र रणनीति छ, जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध र जहाँ प्रतिरोध त्यहाँ विष्फोट हुन्छ । दमन हुनेले कि समाप्त हुनु¥यो कि त प्रतिरोध गर्नुप¥यो । मलाई लाग्छ, मधेशले प्रतिरोध गर्छ । हातहतियार कहाँबाट ल्याउँछन् भनी सोधे साथीहरुले , मलाई त्यो पनि थाहा छैन । मलाई के थाहा छ भने जनयद्धको बेला हामीले पहाडका थुप्रा पुलिस र सेनाका ब्यारेक र पोष्टहरु खोस्यौं । खोसेर हतियार जुटायौं । त्यो मात्र पर्याप्त थिएन । अनि हामी खरिद गथ्र्यौं । हतियार खरीद गर्ने बजार त्यहीँ हो (हाँसो) । त्यो चैँ पर्याप्त उपलब्धता छ ।

त्यसो भए मधेशलाई अर्थोक विकल्पमा केन्द्रित हुनपर्छ ?
म्धेशवादी आन्दोलन गरिरहनुभएका जति पनि नेताहरु हुनुहुन्छ, उहाँहरुमा पनि एउटा गम्भीर सीमा छ । उहाँहरु काँग्रेस र एमालेकै स्कूलिङ्गबाट आएका नेताहरु हुनुहुन्छ । मधेशको मौलिक दृष्टिकोण चैँ पहिला काँग्रेस भए पनि मधेश आन्दोलनको निरन्तरताका कारण गजेन्द्रनारायण सिँहसँग थियो । उहाँका स्कूलिङ्गबाट आएकाहरुले आँट गर्नुपर्छ कि स्वाधिन मधेशको आन्दोलन गर्ने । आन्दोलन लामो भयो, पीडादायी भयो । शासकहरुले सुन्दैनन भनिसकेपछि स्वतन्त्र मधेश, सार्वभौम स्वाधिन मधेशको आन्दोलनमा जानुपर्छ । र, त्यसलाई एकीकृत नेकपा माओवादीको तर्फबाट संरक्षण गराउने जिम्मा गोपाल किरातीको भयो । किनभने एकीकृत नेकपा माओवादी सिद्धान्तमा आत्मनिर्णय भनेको छ । भारतको प्रदेशको रुपमा जाने हो भने हामी विरोध गर्छौ । मान्दैनौं । तर सार्वभौमसत्तासम्पन्न स्वाधिन मधेशको आन्दोलन चलाउने हो भने मेरो दृढ समर्थन हुन्छ । किनकी म किरात राज्यको आन्दोलनबाट आएको व्यक्ति हुँ । मलाई थाहा छ, किरात राज्य ल्याउने केन्द्र मधेश हो । मधेशको आन्दोलनले निर्णायक गति हासिल गरेपछि किरात, लिम्बुवान, ताम्सालिङ, मगरातहरुको पनि ढोका खुल्छ । यसरुपमा सार्वभौमसत्तासम्पन्न स्वतन्त्र स्वाधिन मधेशको आन्दोलन अघि उढाउनुपर्छ । उठाइसकेपछि हेरौंला । हिन्दीमा देखा जाएगा……..

संविधान जारी गर्दा त शासकहरुले जनजातिलाई पनि व्यवस्थापन गरेको देखियो ?
आन्दोलनमा हरेक समुदायको उत्पादन सम्बन्धले स्थिति निर्धारण गर्छ । सहरमा बस्ने जनजातिहरु खासगरी काठमाडौंमा छन् , त्यसमध्ये दुई प्रतिशतको पनि घर छैन । घर हुने ठालु भइहाल्यो । राणासाहेब, शाहसाहेब र ठकुरीसाहेब भइहाल्छन् । ९८ प्रतिशत काठमाडौंमा बस्ने आदिबासी जनजातिहरु(नेवारबाहेक) अर्काको घरमा बस्छन् । विभिन्न पेशामा संलग्न छन् । विद्यार्थी पनि छन् । त्यसकारण उनीहरु मधेशमा जस्तै जुट्न सक्दैनन् । खोटाङ र भोजपुरजस्ता पहाडी क्षेत्रमा किरात राज्य हुनुपर्छ नभए हर्दा भन्यौं भने मुस्किलले गाडी पुग्या ठाउँमा गाडी रोके जनता के भन्छन् । जनजातिहरुको पहाडी बसाइँले पहाडको कृषि उत्पादन सम्बन्ध हुनाले उनीहरु शान्तिपूर्ण मतदानमा भाग लिन सक्छन् कि अर्को सशस्त्र आन्दोलनमा उनीहरुको भूमिका निर्णायक हुनसक्छ । अहिले त हामी शान्ति सम्झौता गरेर हामी शान्तिपूर्ण आन्दोलनमा छौं । मधेशी जनताको घरमा स्वामित्व छ । केही घरवारविहीन भए पनि । घनीभूत जनसँख्याको सहरबजार छन् । त्यसैले दुईघण्टामा दशहजार जुलुस हुन्छन् । जनजातिहरु, दलितहरु, मुस्लिमहरुमा मधेशजस्तो ठूलो आन्दोलन हड्ताल गर्न नसके पनि उनीहरुभित्र आगो छ । चित्त बुझाएका छैनन् । यसलाई बिस्तारै संकलन गर्दै केन्द्रीकरण हुन्छ । अनि बिष्फोट हुन्छ ।

राष्ट्रियताबारे खसआर्य र पहाडी जनजातिको बुझाइ समान छ नि ?
हो । अब पहाडको जनजाति म । किराती समुदायबाट आएँ । मेरो समुदायले चैँ बाहुनबाट राम्रो कुरा केही सिकेन । नराम्रो कुरा मात्र सिक्यो । दलितलाई बाहिर राख्नुपर्ने, अछुत मान्नुपर्ने, दलितले छोएको खानु हुँदैन भनेर दलितलाई दमन, उत्पीडन र अपमान गर्नका निम्ति मेरो किरातीले बाहुनसँग सिक्यो(हाँसो) । अधिकार कसरी खोस्ने र राजकाज कसरी लिने भन्ने सिकेनौं हामी । आफ्नो भाषा र सँस्कृतिको उन्नति कसरी गर्ने चाहिँ बाहुनसँग सिकेनौं । सामाजिक अन्तविर्रोध कस्तो छ भने आदिबासी, जनजाति र ब्राहम्णक्षत्रीहरुको एउटा संयुक्त मोर्चा छ । त्यो के भने दलितलाई अछुत नै मान्नुपर्छ । फेरि जनजातिको भाषा र सँस्कृति मान्नु हुँदैन भन्ने कुरामा दलितको ब्राहम्णक्षत्रीसँग संयुक्त मोर्चा छ । बडो दूर्भाग्य छ, उत्पीडितहरुबीच हुनुपर्ने स्वाभाविक मोर्चा छैन ।

हो, आधारभूतरुपले राष्ट्रियताबारे खस र जनजातिको बुझाइ एउटै छ । तर सचेत क्रान्तिकारी कार्यकर्ताको दृष्टिकोण फरक छ । थारुमधेशी जनता रोइरहेको बेला मैले हाँस्न मिल्दैन । म हाँसे भन्ने म पनि पहाडिया अहङ्कारवादी हुन्छ । मेरो औचित्य हुँदैन । त्यसैले मधेशीहरु रोएको बेला आँसु आउन सकेन भने पनि हमदर्दी राख्नुपर्छ । मधेशी जनतालाई उत्पीडन र अपमान गर्ने विषयमा पहाडियाहरु इतिहासका अपराधी हुन् । म पनि पहाडिया भएँ । त्योभित्रको जाति, उत्पीडित जाति त भएँ । तर फेरि पनि मधेशीहरुलाई अपमान र दमन गर्नका निम्ति बाहुनक्षत्री अहङ्कारवादलाई मेरो जातिले पनि मद्दत पु¥याएको छ । त्यसो हुनाले त्यो अपराधमा म पनि सहभागी छु । इतिहासको त्यो अपराधको पापबाट छुटकारा पाउन म मधेश मुक्तिको समर्थन गर्दछु । त्यसकारणले अरु पहाडिया र गोपाल किरातीमा अन्तर छ । मधेशको उत्पीडनको कारणमा सचेत जिम्मेवार व्यक्तिहरुको धारणा फरक हुन्छ । किरातीजस्ता केही मान्छेहरु मधेशका हितैषी हुन् । मित्र छन् । तर आमजनताले के हेर्छन् भने यो….पहाडिया हो । मैले त्यो अनुभव गरेको छु ।

यस्तो दुराग्रह किन त ?
म १९९० मा सोलुमा गिरफतार भएर आठ महिना राजविराज कारागारमा बसें । त्यहाँ मेरो बाहिरका समाजसँग सम्पर्क भएन । मलाई त्यहाँको समाजलाई नेपाली भाषा आउँछ कि आउँदैन भन्ने थाहा भएन । म जनआन्दोलनलगत्तै शान्ति सम्झौता भएपछि राजविराजको एउटा सभामा पुगें । लाखौंको भिड थियो । पार्टीका अरु साथीहरुले मैथिलीमा बोल्नुभयो भारतीय अतिथिहरु हिन्दीमा । म हिन्दीमा बोल्न सक्थे तर भाषणको अर्थ नलाग्ला भनेर नेपालीमै बोले । नेपाली भाषामा बोल्न सुरु गर्नेबित्तिकै ६० प्रतिशत मान्छे उठेर हिँड्न थाले । अहिलेको सिँचाइमन्त्री उमेश यादवजी कार्यक्रम सञ्चालक हुनुहुन्थ्यो । उहाँले किरातीजी मधेशको मित्र र मधेशका लागि लड्ने व्यक्ति हुनुहुन्छ भनेर निकै बेर आग्रह गरेपछि बल्ल उनीहरु रोकिए । मन्तव्यको अन्त्यमा मैले परीक्षण गर्नका लागि भने कि नेपालकै एउटा सहर राजविराजका छोरीचेलीले उघार्नै पर्ने अंग पनि छोप्छन्, तर नेपालकै अर्को सहर धरानका चेलीहरुले छोप्नै पर्ने तिघ्रालाई छोटो कट्टु लगाएर उघार्छन् । यसलाई बराबरी कसरी बनाउने भनेपछि सबैजना हाँसे । मैले थाहा पाएँ उनीहरु नेपाली भाषा नबुझेर जान थालेका होइनन्, यो चैँ विद्रोह ग¥या हुन् । खसभाषा नेपालीविरुद्ध विद्रोह ग¥या हुन् । यही भाषाले जहिले पनि उत्पीडन गर्छ भन्ने किन सुन्ने यो भाषा भन्ने जनताको बोध थियो ।

नेपालका उत्पीडित समुदायका युवा पुस्तामा प्राज्ञिक चेतना छ । रघुनाथ ठाकुरको पराधिन मधेशको पीडालाई बुझ्ने मधेशमा पढेलेखेका युवा छन् । स्वतन्त्र मधेशको अभियानमा लाग्नुभएका डा. सीके राउतले आफ्नो विचार प्रकट गर्न पाउनुहुन्छ । तर उहाँजस्तो विद्वानले पहाडियाविरुद्ध जसरी गालीगलौजको भाषा बोल्नुहुन्छ, त्यो चैँ मिलेन । यसकारणले पहाडियाहरु उहाँप्रति बढी नै आक्रोशित छन् । उहाँ इटहरीमा पक्राउ पर्दा मैले फेसबुकमा पक्षपोषण गरे भनेर धेरैले मलाई राउतजीको छाउरा नै भए जस्तो टिपपणी गरे । सीके राउतले पहाडिया उत्पीडनविरुद्ध स्वतन्त्रताको खोजी गर्नु जायज छ । उहाँले अलिकति तरिका सच्चयाउनुपर्छ । अरु नेताहरुले साँच्चै मधेशको हित गर्ने हो भने महन्थ ठाकुर, उपेन्द्र यादव र विजय गच्छदारहरुले मधेश मुक्तिका लागि सार्वभौमसत्ता सम्पन्न स्वाधिन मधेशको अभियान चलाउनुपर्छ । स्वतन्त्र मधेश भएपछि स्वतन्त्र थारुवान हुन्छ । स्वतन्त्र ताम्सालिङ हुन्छ । स्वतन्त्र मगरात, तमुवान र लिम्बुवान हुन्छ । अनि भोलि हामी फेरि पनि जुटौंला ।

तर मधेशी नेताहरुले त मधेश र थरुहट प्रदेशको कुरा गर्दैछन् नि ?
मधेश प्रदेशको अब अर्थ छैन् अहिलेको बार्गेनिङको दुनियाँमा । कम्यूनिष्टहरुलाई साम्यवादभन्दै यत्तिको गणतन्त्र ल्याउनुपर्छ । स्वतन्त्रता र स्वाधिनता मागेपछि मात्र उनीहरुको मनको बाह्र बज्छ अनि स्वायत्तता ल्याउनुपर्छ ।

स्वाधिनताको कुरा गरेपछि राज्य दमन त अझ तीब्र हुन्छ नि ?
राज्यसत्ता लिन लड्नुप¥यो नि । तामीलहरुले कत्रो बगाबग गरे केही पनि पाएनन् । तर नेपालमा हामी उत्पीडित जनसँख्या ठूलो छ । यसलाई व्यस्थित, न्यायोचित र समन्वयकारी ढङ्गले बढाउनुपर्ने आवयकता छ । तामीलको १८ प्रतिशत जनसँख्या र सिँहालीको ८२ प्रतिशत जनसँख्या थियो । तर नेपालमा पहाडिया खसक्षेत्री १६ प्रतिशत र १२ प्रतिशत ब्राहम्ण भनिसकेपछि ७० प्रतिशतभन्दा बढी हामी उत्पीडित समुदायका छौं । जातिगत, भाषागत र क्षेत्रगतरुपमा उत्पीडितहरु र त्यसमाथि प्रगतिशील खसआर्यहरु छन् । जो चैँ उत्पीडितको पक्षमा उभिन्छन् । राज्यले नागरिकहरुलाई नागरिकता प्रमाणपत्रको थोत्रोकपी दिएर हुँदैन । सम्मान गर्नुपर्छ, न्याय दिनुपर्छ । न्याय, सम्मान र अधिकार नदिने देश र राज्य हजारौं टुकडा भए भन्ने पनि कम्यूनिष्टहरुलाई मतलब नहुने लेनिनले भन्नुभएको छ । त्यसैले पहाडिया अहङ्कारवादलाई ध्वस्त नपारिकन त मधेशीको हित हुँदैन । मधेशीको हित नभएर आदिबासी जनजातिको हित हुँदैन । कसैको उपनिवेश वा देश बन्ने कुराको म घोर विरोध गर्दछु । किनभने तावाबाट उफ्रेको माछा भुङ्ग्रोमा भन्ने पहाडमा एउटा उखान छ , त्यो झन खराब छ ।

मधेशप्रतिको राज्यसत्ताको आशङ्कालाई कसरी लिनुहुन्छ ?
पहाडियाहरु शंका गर्छन् कि कतै मधेश इन्डियासँग मिल्छन् । इन्डियासँग मिल्न मधेश नाउँ होइन । इन्डियासँग मिल्न त मिथिलाञ्चल वा भाषाका आधारमा भोजपुरा र अवधि नै अनुकूल हुन्थ्यो । किनकी मिथिलाञ्चलको ठूलो हिस्सा बिहारमा छ र भारतमा भोजपुरी र अवधि बोल्नेहरु नेपालभन्दा धेरै सँख्यामा बढी छन् । हामी भारतमा होइनौं भनेर मधेश भनेका हुन् । मधेश त अहिलेसम्म नेपालमा मात्र छ । दार्जिलिङ र सिक्कीमका नेपालीभाषी र नेपालीमूलका मानिसहरु छन् जसलाई नेपालका पहाडी अहङ्कारवादी मानसिक्ता भएकाहरुले नेपाली भनिदिन्छन् । नेपालका मधेशीलाई विदेशी ठानिन्छ । यो चाहीँ पहाडिया राज्यसत्ताको चरम उत्पीडनको पराकाष्ठा हो ।

अब के हुन्छ त ?
थारु र मधेशीको मागलाई सम्बोधन गर्न काँगे्रस र एमालेले तदारुकताका साथ जिम्मेवारीपूर्वक तयार हुनुपर्छ । एकीकृत नेकपा माओवादीले पनि जोडदार पहल गर्नुपर्छ । यसो भएन भने नेपाल पाँच टुक्रामा विभाजित हुन्छ । पहाडिया अहङ्ककारवादीलाई देश टुक्रने भने भो तर यो हाम्रो लागि राष्ट्रिय मुक्ति(हाँसो) । कि त भित्र सन्तुलन व्यवस्थापन गर्नुपर्यो ।

तपाईंको पार्टीमा अहिले मन्त्रीहरुका विषयलाई लिएर निकै असन्तुष्टि चुलिएको छ नि ?
सरकारमा जानेबेलामा निकै छिनाझपटी भयो । स्थायी समितिभन्दा माथिका साथीहरुले असाध्यै लुँछाचुँडी गर्नुभयो । यस्तोमा त उहाँहरुलाई योग्यतापूर्ण ढंगले चलाइदिनु पर्ने हो नि । तर उहाँहरुमा जिम्मेवारीबोध भएन ।

गृहमन्त्री शक्तिबहादुर बस्नेतले अध्यक्ष प्रचण्डसँग बिनासल्लाह, बिनाअनुमति र बिनास्वीकृति प्रचण्डका चारजना नातिनीहरलाई चीन पठाइ दिनुभयो भूकम्पग्रस्त क्षेत्रको अवलोकनका लागि । प्रचण्ड लेनिन हुनुहुन्छ, अझ हामीले बनाउन चाहन्छौं । तर उहाँका परिवारका अरु केही बाँदर छन् । चारजना नातिनीहरु बाँदर नै छन् । मलाई दुःख लागेको छ कि बाँदरको चरित्र व्यक्त गरेर बाँदर बनाउने काम शक्तिबहादुरले गर्नुभयो । यो राष्ट्रिय बेइज्जती हो । यसले पार्टी रुपान्तरण र पुनर्निर्माण हुनै नसक्ने अवस्थामा धकेलियो । त्यसैले शक्तिजीले नैतिकताका आधारमा राजिनामा दिनुपर्छ कि त पार्टीले फिर्ता बोलाउनुपर्छ ।

उहाँले आत्मालोचना गर्नुभयो नि ?
उहाँले पार्टीलाई महासंकटमा धकेल्नुभयो । यो क्षम्य हुँदैन । उहाँ प्रहरीको मन्त्री हुनुहुन्छ । कोही मान्छेले गल्ती ग¥यो । उसलाई प्रहरीले पक्रेर ल्यायो । मुद्दा हाल्यो । अनुसन्धान गर्यो । गल्ती भएछ भन्दैमा अभियुक्तलाई छोड्न मिल्दैन । गल्ती गर्नेलाई सजाय दिनैपर्छ । गणतन्त्रमा नियम मन्त्रीलाई पनि लाग्छ । त्यसैले प्रहरीको मन्त्रीलाई राजिनामा दिनु वा फिर्ता बोलाउनुको विकल्प छैन । यसले देशबासीलाई सुख र मधेश आन्दोलनमा पछिल्ला दिनमा हत्या गरिएका पाँचजनाको परिवारलाई राहत हुनेछ ।

(हाम्रो समाज वाट…….तराई NEWS)
https://tarainews.wordpress.com बाट साभार 

पृथ्वीनारायणले नेपाल बनाएका होइनन्, नेपाल खोसेर बर्बाद बनाएका हुन् । - ज्वजलपा सकसित





संघियता आवश्यक छ वा छैन भन्ने बहसको विविध पक्षहरुमध्य देशको बिखण्डिकरणको सवाल एक प्रमूख पक्ष हो । विशेषत: संघीयता बिरोधीहरु पृथ्वीनारायणले नेपाल नबनाएको भए आज हामीले नेपाली भन्न समेत नपाइने उडन्ते कल्पना तेर्साउँछन । त्यस्तो हाइपोथेटिकल तर्कको कुनै वजन हुँदैन, तैपनि त्यो तर्क दिनेहरुको मनस्थीतिमा पृथ्वी नारायणले नै नेपाल बनाएको भन्ने पञ्चायति शिक्षा र बाहुनबादी मान्यताले जबरजस्त घर गरेर बसेको छ भन्ने प्रष्ट बुझिन्छ । तर नेपाल पृथ्वी नारायणले बनाएको नै होइन । बनीबनाउ नेपालको उत्कर्षकालमा पृथ्वी नारायण नेपालमा एक शिसु विद्यार्थीको रुपमा पसे, एक हमलाकारी राजाको रुपमा छिरे, एक आतंकबादी नेताको रुपमा कज्याए, एक भष्मासुर सन्कीको रुपमा सारा नेपालीलाइ बरबाद बनाएर छोडे । तपाइलाइ लाग्दो हो, यो आधारहीन आरोप हो, म यहाँ तल यी बिचारहरु कुन कुन तथ्यमा टेकेर गरीएको विश्लेषण हो, खुलस्त पार्ने छु ।

पृथ्वी नारायणले शिशु अवस्थामा नै नेपाल-खाल्डोमा अध्ययन गरे । यदि उनको शिक्षादिक्षा नेपालमा भन्दा गोर्खामा राम्रो हुँदो हो त उनलाइ नेपालमा पठाइने नै थिएन । यसरी विद्यार्थीको रुपमा प्रवेश गरेका पृथ्वी नारायण नै कालान्तरमा नाकाबन्दी लगाउने र हमलाकारी बन्ने आततायी काम गर्न अघि सरे । लडाइमा पराजय स्वीकार गरेका जनताको नाककान काटेर उनले अमानवीय आतंकबादीको परिचय पनि दिए । उनको शासन बिरुद्ध आवाज उठाउनेला गोर्खेलौरी कस्ने देखि लिएर सार्वजनिक रुपमा फाँसि दिने सम्म कार्य गरेर आतंकको बलमा दरवार र जनता कज्याएर बसे । यस्तो जघन्य अपराध गरेको मान्छेको कर्तूतलाइ ढाकछोप गरी उनलाइ नेपाल एकिकरण गरेको ब्यक्तिको रुपमा अझै पनि हेर्ने वा दावि गर्ने मुठ्टीभरका मानिसहरु छन, जो सुस्त मनस्थीतिका बिमार झै बेला बेला पृथ्वी नारायणले नेपाल निर्माण गरेका हुन भन्न अघि सर्छन् ।

वास्तवमा नेपालको निर्माण पृथ्वी नारायणले गरेको हैन । महाभारतको पुराण साक्षी छ, वृन्दावनमा कृष्ण, हस्तिनापुरमा कौरव पाण्डवहरुको माथपच्ची चलेको द्वापर यूग मा नै नेपाल महायुद्धमा सामेल हुन सक्ने हैसियतका साथ निर्माण भइसकेको देश थियो । तत्पश्चातको कुरा गर्ने हो भने भारतीय उपमाहद्वीपमा अलेक्जेण्डरको हमलाकारी सेना प्रवेश हुँदै गरेको अवस्थामा नेपाल सामरीक र आर्थिक रुपमा एक शक्तिशाली देशको अस्तित्त्व कायम राखी तात्कालीन अन्तरदेशीय सरोकारहरुमा सहभागिता जनाउने हैसियतमा रहेको थियो । देशको सिमाना समयक्रममा फैलिने र खुम्चिने हुन्छ नै । सम्राट अशोकको पालामा पूर्वमा ईण्डोनेशिया देखि पश्चिममा इरान सम्म फैलिएको भारत देश बेलायतिहरुको कव्जामा परेको बखत साना-साना टुक्रामा छिन्नभिन्न थिए । ती टुक्रालाइ एक एक गर्दै उपनिवेश बनाएको बेलायतले पछि छोडेर जाँदा पाकिस्तान र हिन्दुस्तान गरी २ देश मात्रै छोडे । त्यसो भए के पाकिस्तान र हिन्दुस्तानको निर्माता बेलायत हुन सक्छ? कि बेलायतको माहारानीलाइ भारतको निर्माता, पाकिस्तानको निर्माता भनेर उपमा दिन मिल्छ? कदापि मिल्दैन, किन कि तिनले आएर भारत बनाइदिएको हैन, तिनले आएर भारत हडपेको हो र पछि छोडेर गएको हो । ठीक त्यसै गरी पृथ्वीनारायण र तिनका सेनामेनाले आएर नेपाल हडपेको हो, बनाएको होइन ।

पृथ्वीनारायणले सानो सानो देश जोडेर ठूलो दह्रो देश नबनाएको भए नेपालको अस्तित्त्व बाँकि रहने थिएन होला, सानो सानो टुक्रामा विभाजित बाइसे,चौविसे, मल्ल, सेन राजाहरु कमजोर हुनाले बेलायतको अधिन परिसकेको हुनेथियो होला भन्ने तर्क गर्नेहरु पनि धेरै छन् । यी तर्कहरु पनि हाइपोथेटिकल हुन् । वास्तवमा बाइसे, चौविसे, मल्ल तथा सेन राज्यहरु संघिय राज्यहरु थिए । स्थानिय क्षेत्रमा स्थानीय शासनको अभ्यास गरीरहेका थिए । तिनीहरुमाझ एउटा दह्रिलो केन्द्रीय समन्वय एकाइ नहुँदा ती संघीय एकाइहरु छुट्टाछुट्टै राज्य जस्ता देखिएका हुन । मल्ल राजाहरुकै उदाहरण लिउँ । पाटनमा राजा बनाउन लायक मल्ल यूवराज नहुँदा तिनले भक्तपुर वा काठमाँडौबाट मल्ल यूवराजलाइ बोलाएर राजा बनाउथे । छुट्टै देश भएको भए यस्तो संभव हुन्थ्यो होला? भारतमा राष्ट्रपतिको चुनाव अनिर्णित भयो भने पाकिस्तानबाट मान्छे बोलाएर राष्ट्रपति बनाउने कुरा सोच्न सकिन्छ? कदापि सकिन्न, किन कि यी दुइ छुट्टा छुट्टै देश हुन् । तर भारत भित्र नै उत्तरप्रदेशको मानिस राष्ट्रपति हुन अयोग्य भए बिहार वा मध्यप्रदेशको मानिसलाइ राष्ट्रपति बनाउन नसकिने कुरै छैन । यो दृष्टिकोणबाट हेर्दा काठमाडौ, पाटन, भक्तपुर छुट्टाछुट्टै राज्य भएतापनि छुट्टाछुट्टै देश थिएनन्, एकै देशका संघीय एकाइहरु थिए भनी बुझ्नु पर्ने हुन्छ । यस्तै गरी बाइसे वा चौविसे क्षेत्र पनि संघीय राज्यहरु नै थिए, सानो सानो देशहरु थिएनन् ।

पृथ्वीनारायणले नेपाल बनाइदिएर हामी नेपाली भन्दै गर्व गर्न पाएको भन्ने तर्क गर्नेहरु पनि छन् । तर यो पनि बेठीक तर्क हो । पृथ्वीनारायणले नेपाल हडपेपछि नेपालीहरु गर्व गर्न नसक्ने हुत्तिहारामा परिणत भएको उदाहरन छ । मल्लकालमा नेपालमा राजनीतिक सिमाना नेपालमण्डलकै वरीपरी सिमित भएता पनि नेपाल दह्रिलो अर्थतन्त्र थियो, शक्तिशाली थियो । वरपरका छिमेक देशले आदर र इज्जत गर्ने देश थियो । तर पृथ्वीनारायणको कब्जामा परेपछि नेपाल कमजोर बन्यो, पिछौडा बन्यो, गरीब बन्यो, भाडाको सिपाहि पठाउने देश बन्यो, मागिखाने मगन्ते बन्यो । अहिले संसारभरी भरीया कामदार निर्यात गरेर गुजारा गर्ने हुत्तिहारा बन्यो । थुक्क, यत्तिको गिर्दा पनि आँखा खोल्दैन ?

अहिले अमेरीका संसारमा नं १ शक्तिशाली भइ बसेको छ, किन संसारले अमेरीकालाइ नं १ मा राखेको हो? त्यसको मानक के हो? हातहतियार वा आणविक क्षमताका कारण शक्तिशाली भनेको भए रुसको आणविक भण्डार अमेरिका भन्दा बढी छ । जनसंख्या चीन र भारतमा बढी छ । क्षेत्रफल रुस र क्यानडामा बढी छ । कुन मानकले अमेरिका शक्तिशाली नं १ बनेको हो त? त्यो मानक भनेको मुद्रा हो । अमेरीकि डलर आज संसारको साझा मुद्रा जस्तै छ, सबैतिर त्यसको मान्यता छ । संपूर्ण यूरोप मिलेर साझा मुद्रा यूरो बनाउँदा पनि अमेरिकी डलर नै स्थायी विश्वास जितेर संसारको अर्थप्रणालीको मेरुदण्ड बनेर बसेको छ । अमेरीकि डलरको स्थान जुन दिन खस्किन्छ अमेरिकाको शक्ति त्यहि दिनबाट ओरालो लाग्न थाल्नेछ । डलरले राज चलाउने बेलासम्म अमेरीका ऋणमा चुर्लुम्मै डुबे पनि अमेरीकाको ५० टुक्रामा बिभाजित भए पनि वा अमेरीकाको सिमाना नेपाल भन्दा सानो क्षेत्रमा खुम्चेपनि अमेरीका प्रभावशाली राष्ट्र नै दरीने छ । प्रभावशाली राष्ट्र नभएको अवस्थामा तिनको मुद्रालाइ कुनै बिदेशीले भाउ दिदैन, माया गरेर बचाएर राख्दैन, इज्जत दिदैन, सम्मान दिदैन । जस्तै, सोभियत संघ पतनको बेला रुबलको पतन कसरी भयो? अर्जेन्टिनाको पेसो ध्वस्त हुँदा अर्जेन्टिनाको के हालत भयो? जापान शक्तिशाली हुँदै आएपछि येनको स्थीति कुन हालतमा छ? चीनको शक्ति बढ्दै जाँदा युआनमाथि कस्तो दबाव रहेको छ? कद्दाफिको पतन अघि र पछि लिबियाको मुद्राको के हालत भयो?

मुद्राको शक्ति कति ब्यापक छ भन्ने कुरा नेपालीलाइ थाहा नै छैन, किन कि नेपाली जनतालाइ यो बारेमा केहि पनि पढाइएको नै छैन । इतिहास साक्षि छ तिब्बत र मुगल शासित भारतमा नेपालको मुद्रा चल्थ्यो । तिब्बत हालको नेपाल भन्दा ५ गुणा ठुलो, र मल्लहरुले राज्य गरेको नेपालमण्डल भन्दा झण्डै ५० गुणा ठुलो देश हो भने मुगल शासित भारतीय राज्य पनि तात्कालिन नेपाल भन्दा ३०-४० गुणा ठुलो राज्य हो । अब भन्नुस यति सानो नेपाल राज्यको मुद्रा त्यत्रो ठूलो ठूलो देशहरुमा चल्ने, तर ती देशहरुको मु्द्रा अन्त नचल्ने, यस्तो कसरी संभव भएको थियो होला? तिब्बतको मुद्रा समेत नेपालमा बन्ने गर्थ्यो त्यो बेलामा । त्यस्तो कसरी संभव भयो होला? स्मरण रहोस, केहि वर्ष अगाडि नेपालको मुद्रा भारतमा छाप्न खोज्दा नेपालमा ठूलो विवाद र बहस भएको थियो, र अन्त्यमा मु्द्रा छाप्न तेस्रो देश (अष्ट्रेलिया) लगियो । अर्थमामिलामा छिमेक देशलाइ हतपत विश्वास गरिदैन । भारत र पाकिस्तान बीच मुद्रा छपाइ र नक्कलि नोटको विषयमा सँधै किचलो छ । तर नेपालले छिमेकि तिब्बतको मुद्रा छाप्थ्यो भने मुगल राज्यमा नेपाली मुद्रामा कारोवार गर्न कुनै रोकटोक थिएन । नेपालमा मुगल मुद्रा प्रयोग भएको देखिन्न । के तिनले नेपालको सिको गरी आफ्नै मुद्रा बनाएर वरपर छिमेकी इलाकामा प्रयोग गर्ने चाहना राखेनन् होला?

के ती मुगल वा तिब्बति बादशाहहरुले दया गरेर नेपालको मुद्रा स्वीकारेको होला? होइन । तिनको दयाले होइन । त्यो बेलाको नेपाली सुझबुझ र विकासका कारण नेपालीले यस्तो अवसर पाएका हुन् ।

कसरी एउटा सानो क्षेत्रमा प्रशासनिक रजाइ चलाइरहेको नेपालले यस्तो ठूलो जिम्मेवारी लिने सौभाग्य पायो होला? एउटा सानो देशको निमित्त यस्तो शक्तिशाली बन्न सम्भव तब मात्रै हुन्छ जब त्यो देश समृद्ध शक्तिशाली, विश्वसनीय, भरोसायोग्य दह्रो अर्थतन्त्र भएको, तथा असिमित श्रृजनात्मक शक्तिका साथ प्रविधि विकासमा नेतृत्त्वदायि स्थीतिमा रहन सक्छ । मल्लकालीन नेपाल देस त्यस्तो वैभवमा बसेर हिन्दकुश हिमाल क्षेत्रमा आर्थिक राज गरेर बसेको देश थियो । यसकारण नेपालको मु्द्रा सर्वस्वीकार्य रह्यो । मुद्राको गुणस्तर कायम राख्नु साह्रै ठूलो जिम्मेवारी हो । जुन नेपालले पुरा गर्न सकेको हुनाले नै यसको प्रयोग उत्तर दक्षिण पूर्व पश्चिम सबैतिर हुन गयो । मुद्राको प्रयोग हुन जानु भनेको नेपालको गौरव थियो, नेपालीले गर्व गर्न सक्ने विषय थियो । नेपालको शक्तिको विम्व थियो । नेपालको समृद्दिको चिनो थियो ।

तर जब मल्लकालको अवसान भयो, नेपालको मुद्राको अवसान भयो । मुद्रा छपाइ प्रविधि सित सम्बन्धित मानिसहरु सबै बेरोजगार बने । नेपाल भित्र बाहिरको अर्थतन्त्र ठप्प भयो । नेपाल गरीविको चक्करमा पिसिन थाल्यो । नेपालले उत्तर दक्षिण पूर्व पश्चिमबाट पाइरहेको मान र शान गुम्यो । समाज र सभ्यता बिकासको गति ठप्प बन्यो । सम्पूर्ण देश बरबादीको यात्रामा लम्क्यो । प्रविधि, ब्यापार, ब्यवस्थापन र बचनका भरपर्दा हस्तिको रुपमा नाम र दाम कमाएका नेपालीको परिचय लुटेरा, हिंस्रक, आततायी, हमलाकारी, बलत्कारी, क्रूर आदि को रुपमा परिणत भयो । के पृथ्वी नारायणले हामी नेपाली लाइ दिएको यहि होइन त? के देशको इतिहासमा भएको यस्तो अवनतिमा गौरव गर्न सक्ने कुनै कुरा बाँकि छ? नेपाल र नेपालीले हासिल गरीसकेको प्राविधिक, ब्यवस्थापकिय तथा कुटनीतिक ज्ञानको भण्डार नष्ट गरेर नेपाली समाजलाइ ढुँगे यूगमा फर्काउने कामको जग हालेका पृथ्वी नारायणको बुद्धि भष्मासुरको बुद्धि भन्दा कुन अर्थमा फरक छ? त्यसैले मैले माथि लेखेको हो कि पृथ्वी नारायणले एक भष्मासुर सन्कीको रुपमा सारा नेपालीलाइ बरबाद बनाएर छोडे । जसको प्रतिफल आज नेपाल संसारकै हरिकंगाल देशको परिचय बोकेर बस्न बाध्य छ । संसारभरी भरीया कामदार पठाउने देशको रुपमा चिनिएको छ । ल यो कुरा हैन भन्ने कसैको हिम्मत छ?

http://esamata.com बाट साभार 

‘बल्ल बल्ल घर फर्कंदा घरै रित्तो भएछ’ - सात वर्ष साउदी जेल बसेर फर्केका दुई युवाको बकपत्र



राजु स्याङ्तान
























































भीमप्रसाद चिमोरिया र श्रीकुमार राई


समीर लिम्बु


मलाई ब्लक नम्बर १२ मा राखिएको थियो। त्यो मान्छे काट्ने ब्लक रहेछ। त्यहाँबाट प्रत्येक दिन कैदीहरूलाई लगेर काटिँदो रहेछ। हाम्रो ब्लकबाट ७५-८० जना कैदीलाई लगेर काट्यो। १२ नम्बर ब्लकबाट बाँचेर जाने मान्छे कमै हुँदा रहेछन्।






कुनै बेला मुग्लान अर्थात् भारतमा श्रम गर्न जाने नेपालीहरू आज खाडी मुलुकमा गइरहेका छन्। हरियो राहदानी बोकेको लस्कर देखिनु अनौठो हुन छाडेको छ। गरिबीबाट छुटकारा पाउने सपना सजाएर विदेशिएकामध्ये कयौं सफल भएका छन् भने कयौं असफल।






त्यस्तै असफल हुनेमध्ये हुन्– भोजपुरका श्रीकुमार राई र बिराटनगरका भिमप्रसाद चिमोरिया। सात वर्षसम्म अनाहकमा साउदी जेलमा सजाय भोगेका १० जनालाई नेपाल सरकारले अघिल्लो साता फिर्ता ल्याएको थियो। साउदी जेलबाट छुटेपछि उनीहरूले प्रधानमन्त्रीसँग भेटेर जीवनरक्षाको राहत मागेका थिए। तिनै १० मध्येका दुई राई र चिमोरियासँग नेपालखबरले गरेको कुराकानीको सम्पादित अंशः






सपना सपनामै सीमित भयो: श्रीकुमार राई













श्रीकुमार राई






मेरो नाम श्री कुमार राई। मेरो घर भोजपुर जिल्ला पर्छ। बिहे गरेको १ वर्षपछि नै म ऋण गरेर २००९ मा साउदी गएँ। साउदीको सनिया भन्ने ठाउँमा केचव (टमाटर सस्) बनाउने काम पाएँ। त्यही काम गर्न थालेँ। त्यसबेला मनमा आशा थियो। पैसा कमाएर परिवारको दुःख टार्छु भन्ने ठूलो सपना थियो।


दिनहरू राम्रै बित्दै थियो। तर, त्यसदिन नसोचेको घटना भयो। म त टिभी हेरिरहेको थिएँ। राति १०/११ बजेको हुँदो हो। एक्कासी हामी बस्ने कोठामा सेतो कपडा लगाएका मान्छेहरू आए। उनीहरू पुलिस रहेछन्।


हामी एकै ठाउँ १५/२० जना थियौं। त्यसमध्ये मधेसतिरका साथीहरू पनि थिए। हामीलाई च्यापच्युप समाएर प्रहरी कस्टडीमा ल्याए।


त्यसपछि धेरै नै यातना थियो। पाइपले पिट्यो। करेन्ट लगाएर यातना दियो। पानी, कोल्ड ड्रिङ्क्सहरू खुवाउँदै पिट्यो। कुट्दा कुट्दै बेहोस हुन्थेँ। ७/८ घन्टापछि जब ब्युँझिन्थे फेरि कुट्न थाल्थ्यो। पानी छ्याप्दै कुट्थ्यो। त्यो बेला कुटेको सम्झिँदा अहिले पनि डर लाग्छ। अहिले जिउ राम्रो चल्दैन। शरिर पुरै बिग्रिएको छ। ज्यान धेरै कमजोर भइसकेको छ। दुई किलोमिटर पनि अहिले हिँड्न सकिदैन। लगातार ३ महिना २० दिन कुट्यो। २१ औं दिनको दिन सेन्टर जेलमा लग्यो।






‘आँखैअगाडि मान्छे काट्थ्यो’





सेन्टर जेलमा लगेपछि कुटाइ कम भयो। अरु पनि नेपाली साथीहरूसँग भेट भयो। नेपाली साथी भेटिएपछि अलिकति शान्त त भयो मन। तर, मानसिक यातना भने झनै बढेर गयो। मलाई ब्लक नम्बर १२ मा राखेको थियो। त्यो मान्छे काट्ने ब्लक रहेछ। त्यहाँबाट प्रत्येक दिन जसो कैदीहरूलाई लगेर काट्दो रहेछ। दशैंलाई बोका पर्साएर राखे जसरी मान्छेहरूलाई राखिँदो रहेछ। हाम्रै ब्लकबाट ७५/८० जना कैदीलाई लगेर काट्यो। अरु ब्लकबाट दिनहुँ मान्छेहरू लगेर काट्थ्यो। १२ नम्बर ब्लकबाट बाँचेर जाने मान्छे कमै हुँदा रहेछन्।






सँगै सुतेको साथी भोली पल्ट ब्युँझदा हुँदैन थियो। सँगै गफ गरिरहेको साथी कुन चाहिँलाई कतिखेर लान्छ भन्ने भन्न सकिन्न थियो। प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म हाम्रो मन ढुकढुक हुन्थ्यो। हामी चुपचाप ढोकाको चेपमा बसेर हेरिरहन्थ्यौं। उसलाई लान्छ कि यसलाई लान्छ कि जस्तो भएर बस्थ्यौं। एक जना कैदीलाई लानु पर्यो भने करिब २ सयको संख्यामा पुलिसहरू आउँथे। कति जनालाई लगेर मेरै आँखा अगाडि काट्यो। ८ बजेपछि थोरै ढुक्क हुन्थेँ। आजको दिन त बाँचे भन्ने जस्तो हुन्थ्यो।






सात वर्षसम्म घाम त के आकाशसम्म हेर्न पाएनौं। चार दिवारभित्र थुनिएको थिएँ। जेलमा बसेर घर धेरै सम्झिएँ। तर केही पनि उपाय थिएन। हामीलाई भेट्न कोही आइदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो तर कोही पनि भेट्न आउँदैनथ्यो।






एकजना भारतीय नागरिकको हत्या गरेको अभियोगमा मलाई जेलमा राखिएको थियो। तर मर्ने मान्छेलाई मैले चिनेकोसम्म छैन। उनको नाम पनि जेलमा आएर थाहा पाएँ। अनाहकमा थुनिएको थिएँ म। नेपाली दूतावासका कर्मचारी हाम्रो बारेमा थाहा पाए पनि केही नगरी फर्कन्थे। भोली तिमीहरूको सुनुवाइ हुँदैछ भनेर हामीलाई राति ८ बजेतिर खबर गरिन्थ्यो। त्यसपछि दूतावासमा खबर गर्दा दूतावासका कर्मचारीले उल्टै गाली गर्थे।






घरमा आइपुग्दा घरै रित्तो


सात वर्षपछि अन्ततः दूताबासकै सहयोगमा म जेलबाट मुक्त भएँ। त्यसपछि सरासर घर आएँ। तर, घर घर जस्तो थिएन। घर त रित्तो थियो। सून्य थियो। घरमा कोही पनि थिएन। आगनमा झार उम्रेको थियो। आमा (डम्बरकुमारी) राई म जेल परेको पहिलो वर्षमै बितिसक्नु भएछ। आमा बितेको ६/७ महिनापछि बुवा (अम्बरबहादुर राई) बित्नु भएछ। बुवा ५५ वर्षको हुनुहुन्थ्यो। रोग त केही पनि थिएन। पिरैपिरमा बित्नु भएछ। के पो दबाइ खाएर मर्नु भएको रे भनेर गाउँलेहरूले मलाई सुनाए।






त्यसपछि थाहा पाएँ, श्रीमतीले पनि मलाई छाडेर गइछिन्। लभ गरेर बिहे गरेको थिएँ मैले। बिहे गरेको १ वर्षमै विदेश गएको थिएँ। उसले पनि छाडेर गइछे। मन त रोयो नै। रोएर के गर्नु अब।






भाइहरू बुवा आमा बितेपछि छुट्टिएर बसेछन्। मेरो त आशै मारिसकेछन्। अहिले मेरो कोही पनि छैन। ७ वर्ष अघिको ऋण जस्ताको तस्तै छ। अब बुवाको अंश बेचेर तिर्नु पर्ला। बाँच्नै पर्यो। खेती गर्न त सकिँदैन होला। सरकारले केही गरिदिन्छ कि भन्ने आश छ।


बेहोस हुने गरी कुटाइ खाएँ: भीमप्रसाद चिमोरिया
















भीमप्रसाद चिमोरिया








मेरो नाम भीम प्रसाद चिमोरिया हो घर बिराटनगर ५ मा पर्छ। घरमा बुवा आमा भाइ बहिनी हुनुहुन्छ। मैले बिहे गरेको छैन। पारिवारिक समस्याले गाँजेपछि २००७ मा साउदी गएको हुँ। यता राम्रै काम थियो। अलि बढि कमाउन सकिन्छ कि भनेर गएको थिएँ। दुई अढाइ वर्षसम्म त राम्रै भयो। काम सकेर नेपाल फर्कने तरखरमा थिएँ। म केही दिनमै नेपाल उड्दै थिएँ। इन्डियनलाई मारेको अभियोगमा भटाभट नेपालीहरूलाई पक्राउ गर्न थाल्यो। त्यसबेला ३५० जना भन्दा बढि नेपालीलाई साउदीको प्रहरीले समायो। त्यसै क्रममा म पनि परेँ। मलाई रुमबाटै समायो।






पक्राउ गरेर तीन महिना काल कोठरीमा राखेर धेरै नै यातना दियो। पाइपले हान्थ्यो। बिजुलीको मोटो मोटो तारले पिट्थ्यो। करेन्ट लगाइदिन्थ्यो। पटक पटक बेहोस हुन्थेँ। बेहोस भएर होसमा आएपछि ‘हो भन्, अपराध कबुल गर्’ भन्थ्यो। पिटाइले कानबाट रगत चुहिन्थ्यो मेरो। अहिले पनि जुत्ता लगाउन हुँदैन। खुट्टा अझै पनि सुनिएको छ। अलिकति पनि हिँड्न सकिदैन। पूरै जिउ नै केटाकेटीको जस्तो भएको छ। सात वर्षसम्म घाम देख्न पाइएन। अँध्यारो कोठामा मधुरो बत्ति बलेको ठाउँमा राख्यो। बाराम्बार कुटेर घटनालाई स्वीकार भन्थ्यो। त्यो यातनाले अहिले पनि कतै मोटो तार देख्यो भने साउदीको याद आउँछ। झस्काइरहन्छ।






तीन महिनापछि सेन्टर जेल चलान गरिदियो। जेलमा थोरै मुक्ति त मिल्यो तर त्रास भने सयौं गुणा बढायो। त्रास नै त्रासमा दिनहरू बित्न थाल्यो। म पनि १२ नम्बर ब्लकमै थिएँ। त्यहाँबाट मान्छे लगेर काट्दो रहेछ।






जेलको अवस्था राम्रो थिएन। बिहान बेलुकी एक एक वटा रोटी र दिउँसो थोरै भात दिन्थ्यो। घाम देख्ने कुरै भएन। सानो प्यासेज थियो बाहिर निस्कने ठाउँ। अँध्यारो कालकोठरीभित्रै बिताएँ सात वर्ष।





एउटा टुहुरोको लास बेपत्ता भयो


एकजना साथी मसँगै बस्थ्यो। उनको नाम उमेश श्रेष्ठ हो। उनको घर सुनसरी हो। हामी २ वर्षसँगै बस्यौं। उसको नेपालमा कोही पनि छैन। उ टुहुरो मान्छे थियो। धेरै नै यातना दिएपछि उसको मानसिक अवस्था बिग्रिएको थियो। उ कैदीलाई पिट्न जाइ लाग्थ्यो। नबोली चुपचाप कुनामा एक्लै बस्थ्यो। दुई तीन दिनसम्म खानै खाँदैन थियो। उसको अवस्था नाजुक हुँदै गएपछि हामीले जेल प्रशासनलाई उसको उपचारको लागि धेरै पटक भन्यौं। बल्लबल्ल जेल प्रशासनले उसलाई अस्पताल त भर्ना गर्यो तर ऊ कहिल्यै फर्केर आएन।


आज आउला, भोलि आउला भन्दाभन्दै धेरै महिना बित्यो। हामीले सोध खोज गर्यौँ। हाम्रो मान्छे कहाँ छ? भन्दै उनीहरूलाई सोधिरह्यौं। तर कसैले पनि भन्दैन थिए। करिब २ वर्ष बितेपछि बल्ल जेलरले हामीलाई उ मरिसकेको जानकारी दियो।


यो मान्छे मरेको हो भन्ने खबर हामीलाई पहिल्यै किन भएन? दूतावासलाई किन खबर भएन भनेर हामीले सोध्यौं। जेलरले भोलिपल्ट उसको नाइकेलाई बोलाएर ल्यायो। उसले पनि त्यो मान्छे मरिसकेको बतायो। त्यो साथीको लास कहाँ छ कसैलाई थाहा छैन। अहिलेसम्म नेपाल पनि आएको छैन। त्यो कुरा हामीले प्रधानमन्त्रीलाई पनि भन्यौँ।


दूतावासको सहयोगमा हामी १० जना जेल मुक्त भयौं। तर अब के गर्ने कुनै योजना छैन। भारी काम गर्न पनि सकिँदैन। सरकारले केही गरिदिन्छ कि भन्ने आशा छ।
















साउदी जेलबाट छुटेका ११ जना नेपाली युवा प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा




दूतावासबाटै दूर्व्यवहार भोग्यौँ


दूतावासले राम्रोसँग हेरेको भए हामी अनाहकमा सात वर्ष जेल बस्नु पर्ने थिएन। दूतावासले हेर्दै हेरेन। त्यहाँका कर्मचारीहरूले दुव्र्यवहार गरे। जेलबाट हामीले फोन गर्दा हामीलाई उल्टै गाली दिन्थे। ‘राति राति फोन गर्छस्’ भनेर थर्काउँथे। हामीलाई त हामी जस्तै आपतमा परेको नेपालीलाई सहयोग गर्न दूतावास त्यहाँ गएको हो भन्ने लाग्थ्यो। तर हामीलाई लाग्यो दूतावासका कर्मचारीहरू त्यहाँ मोज गर्न गएका हुन्।






हामीले यो कुरा पहिला बुझेनौं। अब लाग्दैछ– कोही नेपालीहरू वैदेशिक रोजगारीमा जान नपरोस्। विदेश नजानु नै सबैभन्दा राम्रो। आफ्नै देशमा केही गरौं। कुनै पनि काम गर्न नलजाऊँ। विदेशमा पैसाको बोट छैन। त्यहाँपनि श्रम नै गर्ने हो। त्यसकारण नेपालमै राम्रो गर्न सकिन्छ। यदि जाने नै हो भने कम्पनी, तलब राम्रोसँग बुझेर जाऊँ। राम्रो सिप सिकेर जाऊँ।






यी हुन् साउदी जेलबाट छुटेका दश जना


१. श्रीकुमार राई, भोजपुर


२. भीमप्रसाद चिमोरिया, मोरङ


३. कृष्णबहादुर दमाई, नवलपरासी


४. भक्तबहादुर दर्जी, रूपन्देही


५. सोमबहादुर तामाङ, रसुवा


६. वीरबहादुर बुढाथोकी, ओखलढुङ्गा


७. दीपेन्द्र शर्मा, झापा


८. रामबहादुर तामाङ, नुवाकोट


९. केशरबहादुर नेपाली, तनहुँ


१०. चन्द्रबहादुर गुरुङ, सुनसरी






प्रकाशित २३ माघ २०७३, आइतबार |
http://nepalkhabar.com बाट साभार 

Wednesday, February 1, 2017

साँस्कृतिकमा काण्डैकाण्डका सलह

जनआस्था साप्ताहिक , वर्ष-२२, अंक -४५, २०७३ साल माघ १९ गते बुधबार