राणाद्वारा सेवित र पोषित तर विदेश भगाइएका ‘एलिट’का सन्तानले नै नेपालमा काङ्ग्रेस स्थापना गरे
प्रदीप गिरी
यो वर्ष नेपाली कांग्रेस स्थापनाको सत्तरी वर्ष पूरा हुँदैछ। गान्धीवादी आदर्शबाट प्रेरित भई ००३ सालमा स्थापना भएको उक्त पार्टी नेपाली राजनीतिक सात दशकका सबै उतारचढावहरुको मूल शक्ति र साक्षी हो। तर संगठन, सिद्धान्त र व्यवहारका कसीले कांग्रेसको आन्तरिक जीवनमा कहिले सबलताको उज्यालो छरियो त कहिले त्यत्तिकै दुर्बलताको अन्धकार। खासमा के थियो र अहिले के हो काँग्रेस? नेपालखबरको बहस-शृङ्खलाको पाँचौ भागः
नेपाली काङ्ग्रेसलाई प्रायः स्थुल–अर्थमा प्रारम्भदेखि नै भारतपरस्त पार्टी भनिन्छ। यसो भन्नेमा काठमाडौंमा विद्यमान रहेको आफूलाई सच्चा राष्ट्रवादी देखाउने हिजोका राणाशाही, पछिका राजावादी र अहिले पनि त्यस्ता प्रवृत्ति छन्। एकथरी वामपन्थी कम्युनिस्ट/मार्क्सवादीले पनि काङ्ग्रेसलाई भारतीय विस्तारवाद वा भारतीय एकाधिपत्यसँग सम्बन्ध भएको पार्टी भन्छन्। यो सबै हो कि होइन? म अहिले त्यो भन्न चाहन्न। किनकि यी सबै गौण सवाल हुन्, मुख्य सवाल अन्तै छ।
त्यस समय हिन्दुस्तानका विभिन्न राज्यहरूमा जति पनि जागृतिका आन्दोलन भए, तिनमा दुईवटा हिन्दुस्तान थियो। पहिलो– अंग्रेजबाट प्रत्यक्ष शासित र दोस्रो– अंग्रेजको अधीनमा रहेको तर अंग्रेजले प्रत्यक्ष शासन नगरेको। दोस्रो क्षेत्रमा राजारजौटाहरूको शासन चलिरहेकै थियो। तीमध्ये कश्मिर, जोधपुर आदि थिए। यहाँ एकदमै रमाइलो कुरा के छ भने धेरै मुलुकमा भएका प्रजातान्त्रिक आन्दोलनहरूले आफ्नो सङ्गठनको नाम काङ्ग्रेस राखेको पाइन्छ। भारतीय राष्ट्रिय काङ्ग्रेसले त्यतिबेला के पास गरेको थियो भने जहाँ राजा पनि रहेको प्रान्त छ, त्यहाँ प्रजा परिषद् नामको पार्टीबाट काम गर्ने, जहाँ राजा छैन त्यहाँ काङ्ग्रेसको नामबाट। नेपाल प्रजा परिषद्को सन्दर्भ पनि त्यस्तै हो।
भारतमा जोधपुर प्रजा परिषद् थियो, हैदरावाद प्रजा परिषद् भनिथ्यो, काश्मिरमा पनि प्रजा परिषद नै भनिथ्यो। यो कुरा धेरैलाई थाहा छैन। त्यसैको अनुकरण गरेर नेपालमा टंकप्रसाद आचार्यले पनि पार्टीको नाम प्रजा परिषद् राखे। जहाँ अंग्रेज छ, उसलाई देश छोडाउन काङ्ग्रेस लागेको थियो। तर राजा त देशकै हो, उसलाई देशबाटै लखेट्ने कुरा भएन। त्यसकारण प्रजा परिषद् भनेर प्रजाको हक स्थापित गर्न त्यस्तो नाम राखिएको देखिन्छ। भारतीय स्वाधीनता संग्राममा राजाले हामीलाई सहयोग गर्छन्, त्यसकारण धेरै कडाइ नगर्ने भन्ने थियो। राजाहरूसँगको लडाइँ अर्कै हो। प्रजा राजाकै हुन्, अधिकार प्रजालाई पनि चाहियो भन्ने हो, मुलुकै छोड भन्न त भएन। यो भारतीय काङ्ग्रेस र काङ्ग्रेस नेताहरूको नीति थियो। भनाइको निहितार्थ के हो भने नेपाली काङ्ग्रेस मूलतः र पूर्ण रूपले तत्कालीन भारतीय बौद्धिक परिस्थितिमा उत्पन्न भएको आन्दोलन र पार्टी हो। त्यो कुरा बिपी कोइरालाका सुरुतिरका लेख र भनाइबाट थाहा हुन्छ।
बिपी सुरुमा राणासहितको प्रजातन्त्र चाहन्थे
सात साल सेरोफेरोको राजनीतिक युगबोध थाहा पाउन त्यतिबेलाको ‘युगवाणी’लगायत पत्रिका हेर्न सकिन्छ। युगवाणीमा बिपीको एउटा लेख छ– ‘हाम्रो ध्येय’। त्यसमा उहाँले प्रस्ट के लेख्नु भएको छ भने ‘हामीले राणा पनि हट्नुपर्छ कहाँ भन्या छ? राजा हट्ने त कुरै भएन। राजालाई राख्छौं नै। राणा पनि थान्कोमा बसेर दिनानुदिनको प्रशासन जनताले छानिएर हामीलाई दिने हो भने पद्मशमशेरको विधानबाटै मोटामोटी पुगिहाल्छ।’ यस्तै भावको लेखमा थियो बिपीको। त्यसमा उनले राजा पाँच/सात वटा रहुन्, राणा पनि रहुन्, उनीहरूको पद, सुविधा, ओहोदा सबै रहोस् तर हामीलाई अधिकार चाहियो भन्ने कुरा प्रष्ट रूपमा लेखका छन्।
नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरी
बिपीले सरकारलाई पनि सीमित अर्थमा लिएको देखिन्छ। उनले दैनिक प्रशासन चलाउन हामीलाई दिनुपर्यो भनेका छन्। विदेश नीति कस्तो हुने, सेनाको कसको हुने भन्ने कुरा पनि उनको लेखमा व्याख्या छ। तर आन्दोलनको आफ्नै गति हुँदो रहेछ। बढ्दैबढ्दै जाँदा जनताको चाहना र चेतना अघिअघि र नेता पछि पर्ने हुन्छ, विदेशी पनि पछाडि सर्छन्। जसरी २०६२/०६३ को आन्दोलनमा वैशाख ८ गतेको सम्झौता अर्कै थियो, दुई दिनमा अर्कै भयो। करणसिंह आएको पनि काम लागेन, श्यामशरण फर्केको पनि काम लागेन। त्यस्तै एउटा सार्वभौम सत्ता सम्पन्न संविधान नै बनाउने कुरा सात सालको अन्त्यतिर आएर भयो, जुन बिपीले पनि पहिले कल्पना गरेका थिएनन्।
विचारधाराका रूपमा काङ्ग्रेस गान्धी र नेहरूबाट अनुप्राणित थियो। जुन प्रकारको संसदीय व्यवस्था भारतमा ल्याइएको थियो, नेपालको त्यतिबेलाको राजनीतिक माग पनि त्यही थियो। कुनै पनि राजनीतिक माग लिएर अगाडि बढ्दा बुझ्न जरुरी छ– त्यो माग कुन वर्गका मान्छेले उठाएका थिए? कुन जातका मान्छे थिए? त्यहाँ के कुरा उठेको थियो? त्यो वर्ग र जातको सांस्कृतिक चेतना र युगबोध के थियो? यो एकदमै बुझ्न आवश्यक छ। नेपाली काङ्ग्रेसको इतिहास लेख्ने मान्छेले यसरी गहिरिएर इतिहास नै लेखेका छैनन्। दुर्भाग्यवस्, जुन इतिहास लेखिएको छ, त्यहाँत्यहाँ कसैले पनि यसलाई उल्लेख गर्न सकेको छैन।
नेपालमा हामीले सामान्यतया पाश्चात्य समाजशास्त्रको प्रभावमा परेर किताब लेख्छौं। त्यस्तो पाश्चात्य समाजशास्त्रमा कार्ल माक्र्सको असाध्यै ठूलो प्रभाव छ। त्यस्तै म्याक्स वेबरको पनि छ। केही गैरमाक्र्सवादी समाजशास्त्रीहरू पनि अरु पनि पाँच/छ जना छन्। हामी दुनियाँमा एक साथ लागू हुने प्रवर्गहरू बनाउँछौ र धारणाहरू निर्माण गर्छौं। मानौं यो यान्त्रिक कुरो हो। तर समाजशास्त्र कुनै क्यामेराजस्तो हुँदैन। अहिले क्यामेराको सिद्धान्तमा त परिवर्तन आइसक्यो। हिजो रिल भएको क्यामेरा डिजिटलमा पुगिसक्यो। सामाजिक जीवनमा त यस्तो धेरै अन्तर हुन्छ। त्यसकारण कुनै पाश्चात्य समाजशास्त्रको नियमले मात्रै नेपालको सामाजिक र राजनीतिक आन्दोलनको विश्लेषण गर्न सकिन्न।
सामाजिक–राजनीतिक जीवनमा प्रत्येक व्यक्ति विशिष्ट भएजस्तै यो मुलुकको पनि संस्कृति र भूगोलमा यही विशिष्टता छ। हाम्रो भूगोल असाध्यै महत्वपूर्ण छ। भूगोलभन्दा बाहिर भारत र चीनसँगको सम्बन्ध आउँछ तर भित्र मुख्यगरी हामीसँग भएको मधेसको जग्गा निकै महत्वपूर्ण छ। त्यो उब्जनीको साधन थियो। प्रथम महायुद्धपछि मधेसका जग्गा एकदम मूल्यवान भएर गए। त्यसअघि पहाडका मान्छे मधेसमा ओर्लिंदा पनि ओर्लिंदैनथे, औलो लाग्छ भनेर। जब प्रथम महायुद्धताका सबै बोर्डरमा रोड र रेलवे स्टेसन आए। अनि रेलवेसँगै धमाधम ठूलठूला सहर बस्न थाले। त्यसमा खासगरी कलकत्ता महत्वपूर्ण छ। सहरका लागि काठको भयङ्कर अभाव हुन थाल्यो। अनि मधेसको जङ्गल काटिँदै कोशीमा काठ हाल्दै–बगाउँदै गंगा पुर्याइन थाल्यो। मधेसका जङ्गल काटिएपछि त्यहाँ खेती हुनुपथ्र्यो। त्यसका लागि त्यहाँ जनसंख्या थिएन। पहाडका मान्छे त्यहाँ जान नचाहने भएपछि जनसंख्याकै लागि धेरै हदसम्म मधेसका मान्छे बोलाउन थालियो र खेती गर्नुस् भन्न थालियो।
भीम शमशेरका सन्तान र सेवक नै काङ्ग्रेस संस्थापक
मध्य मधेस खासगरी नवलपरासीदेखि कपिलवस्तुतिर जनसंख्या बिलकुलै थिएन। पछि मात्रै त्यहाँ बसोबास बढेको हो। मानिसहरू मधेस झर्न थाल्नु, उता रेल आउनु, रुख कटान गरी धान खेती सुरु हुनु आदि एकाएक भएको देखिन्छ। यही बेला गिरी, कोइराला आदिका वंशहरू मधेस क्षेत्रमा अत्यन्त सक्रिय भएको देखिन्छ। यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने मधेसका जमिन्दारको प्रतिनिधित्व त्यतिबेलाको राष्ट्रिय काङ्ग्रेसले गरेको छ। त्यसमा पनि भीम शमशेरको खलक छ। गणेशमानजी होस्, वा बिपी कोइराला, यिनीहरू को हुन्? यी सबै भीम शमशेरका दरबारिया हुन्। उनीहरू नै पछि काङ्ग्रेस बनाउन गएका छन्। ध्यानपूर्वक हेर्ने हो भने भीम शमशेरका साख्खै सन्तान र भीम शमशेरका दरबारियाहरूले नै काङ्ग्रेस बनाएका छन्। सुन्दा यो काङ्ग्रेसविरोधी कुरा जस्तो लाग्न सक्छ। इतिहासलाई सही ढङ्गले नबुझ्ने मान्छेले मेरो कुरामा नकारात्मक प्रतिक्रिया पनि व्यक्त गर्लान्। तर मैले एकदमै गहिरिएर हेरेको छु। यो यथार्थ हो। जनबोलीमा भन्ने हो भने भीमे र चन्द्रेको लडाइँको बीचबाट काङ्ग्रेस जन्मेको हो। चन्द्र शमशेरले कोइराला परिवारलाई दण्डित गरे, भीम शमशेरले बोलाए। बिपीका बाबु कृष्णप्रसाद कोइरालाको परिवार लामो समयसम्म भीम शमशेरको चाकरीमा लागेको देखिन्छ। कृष्णप्रसाद आफै भीम शमशेरका छोरा हिरण्य शमशेरका सुब्बा थिए।
प्रदीप गिरी
पछि २००७ सालमा बिपी मन्त्री भएपछि हिरण्य शमशेरले कृष्णप्रसादलाई भनेका थिए– ‘ए, तेरो छोरो पनि मन्त्री भयो, हामी बसौं भने लाज हुन्छ।’ मैले खासमा भन्न खोजेको के भने काङ्ग्रेसको स्थापनामा काठमाडौंको दरबारभित्रको ‘एलिट’ (धपाइएको एलिट) र मधेसको जमिन्दारको नेतृत्व र भूमिका छ। के भएछ भने सात सालको क्रान्ति आउँदा–नआउँदा मधेसका जमिन्दार पीडामा पर्न थाले। राणाले त्यो जग्गा खोस्न थाले। विभिन्न बाहना गरेर, अंशियार लगाइदिएर, मालपोत तिरेको छैन भन्यो, सानो निहुँ बनाए, फल्ना तिर्या छैन, फल्ना मुद्दा लाग्यो भनेर अनेक आधारमा जग्गा सिध्याइदिने गर्यो। परम्परागत जमिन्दारको जग्गा अपहरण भएको यही विषयलाई आधार बनाएर भवानी भिक्षुले पछि ‘आगत’ उपन्यास लेखेका छन्। त्यो वास्तविक कहानीमा आधारित उपन्यास हो। जोन बेलामा ती जग्गा खोसिने जमिन्दारले भन्छन्– ‘हाम्रो जग्गा यिनीहरूले हरण गरेर हिँडे, यिनको राज पनि कति रहन्छ, हेरुँला।’ भवानी भिक्षुले सात सालतिरको त्यही कथामा आधारित भएर लेखेका हुन्।
निष्कर्षमा के भन्न सकिन्छ भने नेपाली काङ्ग्रेसको नेतृत्वको निर्माण वैचारिक दृष्टिले भारतीय राष्ट्रिय काङ्ग्रेसको प्रभावमा गान्धी र नेहरूको विचारधाराअन्तर्गत नै भयो। गान्धीजस्तै यो पार्टी पनि मूलतः क्रमशः सम्झौतावादी ढंगले अगाडि बढ्छ। तर देशभित्रको कुरा गर्दा यसको नेतृत्व पंक्तिमा कुन वर्गका मानिस थिए भन्ने कुरा महत्वपूर्ण छ। उनीहरू थिए– राणाकै वरिपरि हुर्किएका, राणाद्वारा नै सेवित र पोषित तर राणाको राजदरबारमा भूमिका खोसिएर विदेशिनु परेका खलकका सन्तान। तिनीहरूका छोरा–नातीहरूमध्ये गान्धी र नेहरू विचारधाराबाट प्रभावितहरू अगाडि आए। तर ती अधिकांश ‘एलिट’ नै थिए। उदाहरणका लागि डिल्लीरमण रेग्मी, गणेशमान सिंह, बिपी कोइराला, मात्रिका कोइराला, शुवर्ण शमशेर आदि। काङ्ग्रेसका त्यतिबेलाका सबै नेता वा संस्थापकहरूको ‘बायोडाटा’ हेरियो भने उनीहरूको वर्गस्रोत र वंशस्रोत थाहा हुन्छ।
अनि, काङ्ग्रेस स्थापनाको यो पृष्ठभूमिबाट नै त्यतिबेलाका नेताहरूको तागत पनि बुझिन्छ, कमजोरी पनि थाहा पाइन्छ।
http://nepalkhabar.com बाट साभार
No comments:
Post a Comment