Monday, March 27, 2017

मैले आफ्नो जिन्दगीसँग खेलवाड गरेँ- मनीषा कोइराला



एउटा चर्चित भनाइ छ– जिन्दगी भनेको आकस्मिक घटनाहरूको संगालो हो। 

जतिबेला हामी कुनै रंगीन योजना बुन्नमा मग्न हुन्छौं, त्यही बेला ‘स्पिड–ब्रेकर’ झैं हाम्रो जिन्दगीको रफ्तार रोक्न आइपुग्छन्, ती घटना। हामीलाई पूर्वतयारीको मौकासम्म नदिई आउने यस्ता घटनाले नै हाम्रो जिन्दगीलाई नाजुक बनाउँछ। र, सुन्दर पनि।

साथीहरू, करिब २०–२५ वर्षअघि मैले यस्तो जिन्दगी बाँचेँ, जुन धेरैले कल्पना मात्र गर्न सक्छन्।

म ख्यातिप्राप्त कलाकार बन्न चाहन्थेँ। आफ्नो क्षेत्रको सर्वाधिक उचाइमा पुग्न चाहन्थेँ। एउटी नेपाली केटी भएर पनि म भारतको फिल्म उद्योगमा लोकप्रिय र सफल अभिनेत्रीका रूपमा स्थापित भएँ। पाँचवटा भाषाका लगभग ८० वटा फिल्ममा काम गरेँ। थुप्रै अवार्ड जितेँ। इमानदारीका साथ भन्नुपर्दा, गुणात्मक हिसाबले थोरै, तर संख्यात्मक रूपले धेरै काम गरेँ। र, जिन्दगीमा ती सबै चिज हासिल गरेँ, जुन हासिल गर्छु भनी सोचेकी थिएँ। वा, यसो भनौं, सोचेकोभन्दा बढी नै पाएँ।

ती आकर्षक र सुन्दर पलहरू बाँचिरहँदा मलाई थाहा थिएन, जिन्दगीले मेरो निम्ति अर्कै केही सोचेको छ। मलाई यस्तो मोडमा ल्याएर खडा गर्दैछ, जहाँ विगतका ती आकर्षक र सुन्दर पलहरू म विस्तारै–विस्तारै गुमाउन थाल्नेछु। 

यसको सुरुआत पनि अत्यन्तै आकस्मिक र थाहै नपाउने गरी भयो। मैले केही नराम्रा फिल्महरूमा काम गरेँ। ती फिल्म फ्लप भए। मेरो कामको आलोचना भयो। त्यसपछि फेरि अर्को गल्ती भयो। फेरि अर्को। फेरि अर्को। एकपछि अर्को गल्ती थपिँदै गए। तर, मैले वास्ता गरिनँ। किनकि, त्यो खराब समयमा पनि केही राम्रा निर्देशकहरू थिए, जो मसँग काम गर्न चाहन्थे। त्यसैले म सोच्थेँ, म कुनै पनि बेला सफलतालाई फेरि पछ्याउन सक्छु। 

तर, त्यो कहिल्यै भएन।

ती दिनहरूमा मेरो जीवनशैली अस्वस्थ हुँदै गयो। अस्वस्थ जीवनशैलीले मलाई खराब संगततर्फ तान्दै लग्यो। म एउटा खराब सम्बन्धबाट अर्को सम्बन्धतर्फ हुत्तिँदै गएँ। मेरो जिन्दगी झन् झन् अव्यवस्थित हुन थाल्यो। म सम्बन्धहरूबाट अस्वीकृत हुँदै गएँ। त्यही बेला जब मेरो वैवाहिक सम्बन्ध पनि असफल भयो, मलाई आफू सिधै जमिनमा उधोमुन्टो पछारिएको अनुभूति भयो। 

जिन्दगीको परीक्षा यतिमै टुंगिएन।

वैवाहिक सम्बन्ध टुटेको केही समयमै मलाई क्यान्सर भयो। त्यो क्यान्सर आफैंमा भयानक खालको थियो। क्यान्सर उपचार र किमोथेरापीका क्रममा म झन् दर्दनाक समयबाट गुज्रिएँ। मेरो कपाल खुइलिँदै गयो। मेरा आँखीभौंहरू झरे। हातगोडा कमजोर भए। बलिउडको त्यो ग्ल्यामरस ‘डिभा’ बाट म अचानक सिकिस्त, दुर्बल र कमजोर क्यान्सर बिरामीमा परिणत भएँ। 

मेरो निम्ति सुन्दरता गुम्नु मात्र ठूलो कुरा थिएन। त्योभन्दा दर्दनाक त मैले यस्तो मञ्जुरीनामामा हस्ताक्षर गरेकी थिएँ, जसले मेरो आत्मा काम्यो। मैले मेरो मुटु सधैंका लागि खराब हुन सक्छ भनेर स्वीकारेकी थिएँ। मेरो सुन्ने शक्ति सधैंका लागि गुम्न सक्छ र मेरा हातका औंलाहरू जिन्दगीभरि थरथर काम्न सक्छन् भन्ने जान्दाजान्दै त्यसमा मञ्जुरीको मोहर लगाएकी थिएँ। 

हो, त्यो बेला मेरो अन्तरआत्मा भित्रैदेखि कामेको थियो। म साँच्चिकै निकै डराएकी थिएँ। कतै यी पलहरू मेरो जिन्दगीकै आखिरी पल त होइनन् भन्ने चिन्ताले म भित्रैबाट गलेकी थिएँ। म सोच्दै थिएँ, कतै म त्यो अविश्वसनीय र अकल्पनीय मृत्युको नजिक त पुगिरहेकी छैन!

त्यसपछि मैले सोच्न थालेँ, यो मेरो जिन्दगीको अन्त्य हो भने मैले अहिलेसम्म कस्तो जिन्दगी बिताएँ? के मैले जिन्दगीको भरपुर आनन्द उठाएँ? के मैले आफ्नो जिन्दगीमा गौरव अनभूति हुने कुनै काम गरेँ?

अहँ, गरिनँ।

मैले त आफ्नै जिन्दगीसँग खेलवाड गरेँ। स्वास्थ्यसँग खेलवाड गरेँ। आफ्नो करिअरसँग खेलवाड गरेँ। ती सबै मान्छेको भावनासँग खेलवाड गरेँ, जो मलाई साँच्चिकै माया गर्थे, जो मेरो ख्याल राख्थे।

साथीहरू, साढे चार वर्ष भयो, म आज क्यान्सरमुक्त छु। ईश्वरले ममाथि ठूलो उदारता देखाएको छ। जिन्दगीले ममाथि ठूलो उदारता देखाएको छ। यसबीच त्यस्तो कुनै समय छैन, जब मैले आफैंसँग गरेको बाचा बिर्सेको होस्। त्यो बाचा, जुन मैले मृत्युसँग जुधिरहेका बेला गरेकी थिएँ।

मैले अब जिन्दगीका तीन प्राथमिकता तय गरेकी छु, जसलाई म उपहार भन्न चाहन्छु। 

यो प्राथमिकतामा सबभन्दा पहिला आउँछ, मेरो स्वास्थ्य। जब म क्यान्सरसँग जुधिरहेकी थिएँ, त्यतिबेला मैले आफ्नो स्वास्थ्यको महत्व बुझेँ। म अहिले स्वास्थ्यको सम्भार गर्दैछु। आफ्नो ख्याल राख्दैछु। म पढ्छु, खोजिनीति गर्छु, ती सबै काम गर्छु, जुन मेरो स्वस्थ जीवनका लागि अपरिहार्य छ।

दोस्रोमा आउँछ, मेरो परिवारसँगको सम्बन्ध। अहिले यो सम्बन्ध विश्वास, प्रेम र सम्मानले भरिपूर्ण छ। आखिर खराब समयमा सुरुदेखि अन्त्यसम्म मसँगै रहने, मलाई साथ दिने मेरो परिवार नै त थियो। मेरा साथीहरू पनि यो सूचीमा आउँछन्। कुनै समय यस्तो थियो, जब मेरा अनगिन्ती साथीहरू थिए। आज एकदमै थोरै छन्। तर, जति छन्, ती सबैसँग मेरो गहिरो र अर्थपूर्ण सम्बन्ध छ। म उनीहरूसँग आफ्नो सम्पूर्ण भावना साट्न सक्छु। उनीहरूसँग गहिरो सम्बन्धको अनभूति गर्न सक्छु। 

र, तेस्रोमा आउँछ मेरो काम। म अन्तरआत्मादेखि नै एउटा कलाकार हुँ। कलाकारका रूपमा म आफ्नो क्षमता अझ निखार्ने चुनौती मोल्न चाहन्छु। म आफ्नो कामबाट सन्तुष्ट हुन चाहन्छु। त्यसैले, अचेल होसियारीपूर्वक फिल्म छनौट गर्दैछु। पहिलेजस्तो जथाभाबी जे मन लाग्यो त्यो काम गर्दिनँ। 

मैले यो अवधिमा जिन्दगीको चौथो उपहार पनि पाएकी छु– सेवाको अनुभूति। 

म यहाँ तपाईंहरूलाई एउटा कथा सुनाउन चाहन्छु।

जब म न्यूयोर्कको अस्पतालमा थला परेर बस्दा खासै धेरै मान्छे मलाई भेट्न आइरहेका थिएनन्, त्यो बेला एउटी महिला थिइन्, जो हरेक आइतबार मलाई भेट्न आउँथिन्। उनी न्यूयोर्कको कर्निल अस्पतालकी डाक्टर थिइन्। उनको नाम थियो, नवनीत नरुला। उनी अस्पतालको त्यो साँघुरो कुर्सीमा बसेर पूरा दिन मसँग बिताउँथिन्। उनी एक व्यस्त महिला थिइन्, तर व्यस्तताको बाबजुद उनले आफ्नो जिन्दगीको एक दिन मेरो नाममा समर्पण गरेकी थिइन्। म उनको यो समर्पण देखेर छक्क परेकी थिएँ। 

मैले उनलाई सोधेँ, ‘तिमी यो किन गर्दैछौ? तिमी मेरो साथी होइनौ, र मलाई थाहा छ, तिमी मेरो फ्यान (प्रशंसक) पनि होइनौ?’

उनले जवाफ दिइन्, ‘मनीषाजी, म यहाँ यसकारण तपाईंलाई भेट्न आउँछु, ताकि कुनै दिन तपाईं यही काम अरूको निम्ति गर्नु हुनेछ।’

उनले कति सहज रूपमा कति गम्भीर जवाफ दिइन्!

त्यही बेला मैले बाचा गरेँ, जिन्दगीमा दोस्रो मौका पाएँ भने म जुनसुकै रूपमा, चाहे त्यो सानो होस् या ठूलो, आफ्नो सामर्थ्यले भ्याएसम्म अर्काको सेवा गर्नेछु।

यही कारणले हो, जब नेपालमा भुइँचालो गयो, म भुइँचालो प्रभावित क्षेत्रहरूमा गएँ। राष्ट्रसंघीय कार्यक्रम ‘युएनएफपिए’ को सहयोगमा हामीले भूकम्पपीडित महिलाहरूको आत्मसम्मान जागृत गराउने अभियान सञ्चालन गर्यौं। म अझै पनि नेपालका दुर्गम भेगहरूमा पुग्न चाहन्छु। त्यहाँ गएर केटीहरूको शिक्षाबारे जागरण ल्याउन चाहन्छु। बाल विवाहविरुद्ध वकालत गर्न चाहन्छु। र, म त्यो अवश्य गर्नेछु।

एक क्यान्सर विजेताका रूपमा म के सन्देश दिन चाहन्छु भने, क्यान्सर भनेको मृत्युदण्ड होइन। क्यान्सरपछि पनि जीवन छ। कोही मेरा परिचित वा साथीभाइ क्यान्सरसँग जुध्दै छन् भने म उसको निम्ति प्रेरणाको स्रोत बन्न चाहन्छु। उसलाई जिन्दगीसँग लड्ने हौसला दिन चाहन्छु।

मेरो कथाको ठूलो अंश, मेरो जिन्दगीको उतारचढाव, मैले कमाएको नाम, प्रतिष्ठा, ग्ल्यामर, मैले भोगेको क्यान्सरको दुरावस्था, त्यो दर्दनाथ किमोथेरापी र मृत्युको सामना– यी सबै कुनै अप्रत्यासित घटना मात्र होइनन्। जिन्दगीका त्यस्ता पल हुन्, जसले मलाई जिन्दगीको अर्थसँग साक्षात्कार गरायो। मैले यसबाट जिन्दगीका केही सामान्य पक्षहरू बुझेँ। ती सामान्य थिए, त्यही भएर हामीले सधैं बेवास्ता गर्यौं। मानौं, हाम्रो जिन्दगीमा त्यसको कुनै मतलबै छैन।

सामान्य लाग्ने तर जिन्दगीमा गहन अर्थ राख्ने ती पक्षहरूमा सबभन्दा पहिला त, यो हाम्रो जिन्दगी एउटा उपहार हो। 

मलाई थाहा छ, यो धेरै भनिँदै र सुनिँदै आएको कुरा हो। तर, सत्य यही हो। हाम्रो जिन्दगी एउटा उपहार हो। जिन्दगीसँग जोडिएर आउने हरेक चिज उपहार हुन्। हाम्रो यो शरीर नै उपहार हो। यसलाई हामीले सम्भार गर्नुपर्छ। ख्याल राख्नुपर्छ। यो शरीर पाएकोमा आभारी हुनुपर्छ। यसलाई मायाले अंकमाल गर्नुपर्छ। यो जिन्दगीको यात्रामा हामीसँग ठोक्किन आइपुग्ने ती सबै मान्छे पनि उपहार हुन्।

दोस्रो, आफ्नो अन्तरआत्मालाई चियाएर हेर्नुको महत्व। हामीले आफ्नो अन्तरआत्मामा पौडिएर आफ्नो अस्तित्वको महत्व बुझ्नुपर्छ। आफ्नो सत्यलाई महसुस गर्नुपर्छ। आफ्नो सत्यमा बाँच्नुपर्छ। 

हामीसँग समय थोरै छ, त्यसैले हामीले आफ्नो जिन्दगी जतिसक्दो धेरै बाँच्नुपर्छ, अर्थपूर्ण रूपमा। हामी कोही पनि अर्काको जिन्दगी बाँच्दैनौं। अर्कालाई ठिक वा सही लागेको जिन्दगी हामी किन बाँच्ने? हामीले आफ्नो जिन्दगी बाँच्नुपर्छ। आफ्नो इच्छाअनुसार, आफ्नो सर्तमुताबिक। यसका लागि हामीले आफ्नो अन्तरआत्मालाई चियाएर हेर्नुपर्छ। त्यस्तो चिजको खोजी गर्नुपर्छ, जसले हामीमा उत्प्रेरणा जगाउँछ। हामीलाई एउटा असल जिन्दगी बाँच्न घच्घच्याउँछ। ताकि, हरेक दिन आफ्नो अन्तरआत्माले मागेअनुसार हामी स्पष्ट र प्रेमपूर्वक बाँच्न सकौं। 

तेस्रो, हामीले जति नै तयारी गरे पनि जिन्दगीका विभिन्न मोडमा आश्चर्यहरू ठोक्किन आइपुग्छन्। जिन्दगीले हामीलाई पत्तै नदिई नयाँ–नयाँ चुनौती दिइरहन्छ। हामीले त्यसको तयारी गर्ने मौकै पाउँदैनौं। तर, हामी छनौट गर्न सक्छौं। हामी कि त जिन्दगीले दिने ती आश्चर्यहरूबाट आहत भएर, त्यसैको दुःखमा पिल्सिएर बाँच्न सक्छौं वा त्यसलाई आफ्नो क्षमता निखार्ने चुनौतीका रूपमा प्रयोग गर्न सक्छौं। कस्तो जिन्दगी बाँच्ने, त्यो छनौट गर्ने अधिकार हामीसँगै छ।

जिन्दगीले दिने ती अप्रत्यासित चुनौती र समस्याका पछाडि एउटा सन्देश भने सधैं रहन्छ– हामीले जस्तोसुकै कठिन अवस्थालाई पनि आफ्नो विजयको कथा बनाउन सक्छौं, आफ्नो बुद्धिमता र साहसको उदाहरणका रूपमा प्रस्तुत गर्न सक्छौं। र, यो सामर्थ्य हामीभित्रै छ।

(अभिनेत्री मनीषा कोइरालाद्वारा भारतको जयपुरमा हालै आयोजित ‘टेड जयपुर’ मा अभिव्यक्त भनाइको अनुवाद)

http://setopati.com बाट साभार 

रामजन्म भूमि , राम की नहीं बौध विहार है जिसे ब्राह्मणों ने तोडा था : वीरू कौशिक






अयोध्या का प्राचीन नाम साकेत है। मौर्य शासनकाल तक इसका नाम साकेत ही था। यहाँ पर कोशल नरेश प्रसेनजित ने बावरी नाम के बौद्ध भिक्षु की मृत्य के पश्चात उसकी याद में "बावरी बौद्ध विहार" बनवाया था। राजा प्रसेनजित गौतम बुद्ध के समय में थे। इस बौद्ध विहार को ब्राह्मण राजा पुष्यमित्र शुंग(राम)ने ध्वस्त कर दिया था। यह स्थान बावरी नाम से विख्यात हो गया था। 

बाद में राजा पुष्यमित्र शुंग (राम) ने अपनी राजधानी पाटलिपुत्र से बदलकर साकेत किया और साकेत का नाम भी अयोध्या कर दिया । अयोध्या=बिना युद्ध के बनाई गयी राजधानी.. 

बाल्मीकि कवि ने अपने राजा पुष्यमित्र शुंग (राम) को खुश करने के लिए एक काव्य की रचना की जिसमे राम के रूप में पुष्यमित्र शुंग और रावण के रूप में मौर्य सम्राटो का वर्णन करके उसकी राजधानी अयोध्या का गुणगान किया। 
बाद में राजा के निर्देश पर इस काव्य में कई दन्त कथाएं(बौद्ध धर्म की जातक कथाये) और काल्पनिक कथाएं,वंशावली आदि सम्मलित करके इसकी कथा में बदलाव किया और इसे धर्म ग्रन्थ बना लिया गया... 

अयोध्या का बावरी नामक स्थान पर किसी मुस्लिम शासक ने मस्जिद का निर्माण कराया । यह मस्जिद बावरी नामक स्थान पर बनी होने के कारण बावरी मस्जिद कहलाती थी। कुछ दिनों में इसका नाम बिगड़कर बाबरी मस्जिद हो गया। यह मस्जिद बाबर ने नही बनवाई। अगर यह मस्जिद बाबर बनवाता तो मुगल काल में पैदा हुआ तुलसीदास भी अपनी रामचरित मानस में ज़रूर लिखते.... 

फिर unpaid police(अन्य पिछड़ा वर्ग) को आगे करके बाबरी मस्जिद को गिरा दिया। इसके बाद केस हाई कोर्ट में गया। पुरातत्व विभाग द्वारा इस स्थान की खुदाई की गयी लेकिन राम मंदिर का कोई प्रमाण नही मिला क्योकि वहाँ राम मंदिर नही था। खुदाई में बौद्ध विहार के अवशेष प्राप्त हुए तो उस स्थान की खुदाई रुकवा दी। हाई कोर्ट के वकील ने फैसला सुनकर इस जमीन के तीन हिस्से कर दिए। 

हाई कोर्ट के वकील mr. Agrawal ने अपनी रिपोर्ट में लिखा की यह स्थान मूलतः बौद्ध स्थल था।अब केस सुप्रीम कोर्ट में है। 
इस बात की खबर बौद्ध धर्म के अनुयायियों को चली तो उन्होंने भी अपना दावा ठोक दिया। अब तीन लोग इस भूमि के दावेदार है। 

मूलतः यह ज़मीन बौद्धों की है और अयोध्या में उस स्थान पर राम मंदिर नही बनेगा.... 
ये आरएसएस के लोग जानते है लेकिन हमारे लोग नही जानते है।









अयोध्या का बावरी नामक स्थान पर किसी मुस्लिम शासक ने मस्जिद का निर्माण कराया । यह मस्जिद बावरी नामक स्थान पर बनी होने के कारण बावरी मस्जिद कहलाती थी। कुछ दिनों में इसका नाम बिगड़कर बाबरी मस्जिद हो गया। यह मस्जिद बाबर ने नही बनवाई। अगर यह मस्जिद बाबर बनवाता तो मुगल काल में पैदा हुआ तुलसीदास भी अपनी रामचरित मानस में ज़रूर लिखते.... 

फिर unpaid police(अन्य पिछड़ा वर्ग) को आगे करके बाबरी मस्जिद को गिरा दिया। इसके बाद केस हाई कोर्ट में गया। पुरातत्व विभाग द्वारा इस स्थान की खुदाई की गयी लेकिन राम मंदिर का कोई प्रमाण नही मिला क्योकि वहाँ राम मंदिर नही था। खुदाई में बौद्ध विहार के अवशेष प्राप्त हुए तो उस स्थान की खुदाई रुकवा दी। हाई कोर्ट के वकील ने फैसला सुनकर इस जमीन के तीन हिस्से कर दिए। 



http://www.januday.com बाट साभार 

Sunday, March 19, 2017

स्थिती यस्तै रहे नेपाल सकिने खतरा, पुनः नाकाबन्दी हुने खुलासा, भारतीय टिभीमा नेपाल बारे बहस (भिडियो सहित)


काठमाडौं, ४ चैत । पहाडले मधेसलाई अधिकार दिन चाहदैन र यहि स्थिति रहे पहिले भन्दा खतरा नेपालै सकिने नाकाबन्दी लाग्ने भन्दै नेपाल बारे भारतिय टेलिभिजनमा भएको ठुलो बहस भिडियो सहित हेर्नुहोस र सबैले सेयर गरौँ !
!
काठमाडौं, ४ चैत । पहाडले मधेसलाई अधिकार दिन चाहदैन र यहि स्थिति रहे पहिले भन्दा खतरा नेपालै सकिने नाकाबन्दी लाग्ने भन्दै नेपाल बारे भारतिय टेलिभिजनमा भएको ठुलो बहस भिडियो सहित हेर्नुहोस र सबैले सेयर गरौँ !
 http://www.todaykhabar.com बाट साभार 

Wednesday, March 15, 2017

एसडी मूनिकाे अघि डा. बाबुराम भट्टराइको दिल्लीमा माओवादी युद्धबारे यस्तो ब्रिफिङ (पूर्णपाठ सहित)


काठमाडौं, २ चैत्र २०७३ । नयाँ शक्ति नेपाल, पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नयाँ दिल्लीमा नेपालको माओवादी आन्दोलनबारे लामो भाषण दिएका छन् ।
भारतको नयाँ दिल्लीमा आयोजित ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा ‘बुलेट टु ब्यालेट’ शिर्षकको ब्यानरमा १० वर्षे माओवादी युद्धबारे लामो भाषण गरेका हुन् ।
आफूले माओवादी युद्धलाई शान्तिपूर्ण बाटोमा अवतरण गराएको उनको तर्क थियो । भट्टराईले संबोधन गरेको भाषणको पूर्ण पाठ यस्तो छ ।
आदरणीय सभापति महोदय, 
यस प्यानलका सदस्यहरु, 
महामहिम भद्र महिला, सज्जनवृन्द तथा मित्रहरु,
नमस्कार तथा अभिवादन
१. यहाँ उपस्थित यो गरिमामय सभा एवं प्रवुद्ध महानुभावहरुका सामु उपस्थित हुन पाउँदा गौरवान्वित महशुस गरेको छु । नेपालका जनता र त्यहाँको राजनीति मात्रै नभै समग्र दक्षिण एशिया क्षेत्रसँग सान्दर्भिक यो विषयको प्रस्तुतिको अवसर दिनुभएकोमा आयोजकलाई धन्यवाद दिन चाहन्छु । यो सन्दर्भमा म विगत दुई दशकमा नेपालको माओवादी आन्दोलनको संक्रमणकालीन प्रकृति मुख्यत: बुलेटदेखि व्यालेटसम्म, के कारण यो सम्भव भयो ? सोका परिणामहरु के के भए ? नेपाली अनुभवले हाम्रो समाजलाई लोकतान्त्रीकरण गर्न सघाउन के कस्ता खालका सिद्धान्तहरु प्रतिपादन गर्न मदत पुर्‍याउँछ भन्ने बारेमा केन्द्रित रहनेछु ।
२. विषयको प्रारम्भमा नै यो दर्शाउन चाहन्छु कि नेपालको राजनीतिमा संक्रमणकाल जारी छ । केही दीर्घकालीन समस्याहरु जो नयाँ रुपमा देखा परेका छन् तिनले नेपालको राष्ट्रिय राजनीतिको संक्रमणलाई अझै लम्व्याउने देखिन्छ । जसका कारण सन् २०१५ मा जारी भएको संविधानको कार्यान्वयन र सोको स्थायीत्वमा गम्भीर प्रश्न चिन्ह खडा भएको छ । म आफैं जो माओवादी जनयुद्धको अग्रपंक्तिमा एक दशक होमिएँ, त्यसपछि संविधान निर्माणको अग्रणी भूमिका निर्वाह गरें अहिले माओवादी पार्टीदेखि अलग भएको छु । संविधान निर्माणपछिको तत्कालीन परिदृश्यमा बदलिएको परिस्थितिका नयाँ समस्याहरुको सटिक र अर्थपूर्ण ढंगले समाधान गर्न सक्षम नयाँ राजनीतिक मार्गको रेखा कोर्ने गरी वैकल्पिक राजनीतिक शक्तिको निर्माणको पहल गरेको छु । तसर्थ वुलेटदेखि व्यालेटसम्म आउँदैमा हाम्रो समाजको लोकतान्त्रीकरणको कार्य समाप्त भैनसकेको सन्दर्भमा श्रीलंका र भारतको विभिन्न स्थानवाट  आउनुभएका साथीहरुले के कस्तो विचार प्रस्तुत गर्नुहुनेछ सो सुन्न म व्यग्र प्रतिक्षामा छु ।
३. वुलेटदेखि व्यालेटसम्म भन्ने अभिव्यक्ति सामान्य एवं शाब्दिक अर्थमा भन्नु पर्दा राजनैतिक साधनको वदलाव भन्ने वुझिन्छ । बुलेटले राजनीतिक उद्देश्य प्राप्तिकालागि अपनाइने हिंसात्मक तरिका जनाउँछ भने ब्यालेटले राजनैतिक उद्देश्य प्राप्त गर्ने शान्तिपूर्ण तरिका जनाउँछ । सैद्धान्तिक एवं दार्शनिक हिसावले भन्नु पर्दा हिंसा र अहिंसा सम्बन्धी निर्णायक समझदारीमा पुग्नु निकै नै चुनौतिपूर्ण काम हो । जब हामी यो विषयमा प्रवेश गर्छौं, तव इच्छाइएको वा नइच्छाएर हिंसात्मक वा अहिंसात्मक तरिकाको प्रयोग वा कुनै परिवेशमा हिंसात्मक वैधता वा अवैधताका रुपमा प्रयोगमा मात्रै वहस सीमित रहँदैन । हिंसा र अहिंसामा आधारित वहसहरुले नैतिक परिदृश्य धारण गर्दछन्, सैद्धान्तिक पण्डितहरुबीच युद्धको मानवीय मूल्य र आर्थिक एवं परिस्थितिको मूल्यका वारेमा तर्क वितर्क सिर्जना गरिदिन्छन् । यी निकै नै विरोधाभाष विषयहरु हुन र सो वारेमा निरपेक्ष नैतिक धारणा वनाउनु असम्भव प्राय: सावित हुनेछ । तसर्थ यी विषयहरुलाई निरपेक्ष तरिकाले हेर्नुभन्दा राजनीतिलाई केन्द्रमा राखेर सापेक्ष रुपमा हेर्नु उचित हुनेछ । किनकि दैनिक राजनीति निरपेक्ष भन्दा पनि विषय र परिस्थिति अनुसार सापेक्ष उत्तरहरुले भरिपूर्ण हुन्छ । सोको सापेक्षताले नै हामीलाई नयाँ तरिकाले सोच्ने, त्यस बमोजिम कार्य गर्ने र हाम्रो लोकतान्त्रिक परिधीबाहिर रहेकाहरुलाई समाहित गरेर अघि वढ्ने नयाँ अध्यायहरुको मार्ग प्रशस्त गरिदिन्छ ।
४. अब म नेपाल र नेपालको माओवादी आन्दोलनको विशेष सन्दर्भबारे छलफल गर्न गइरहेको छु । माओवादी आन्दोलनको सशस्त्र संघर्षदेखि शान्तिपूर्ण संवैधानिक रुपान्तरण केही कारणहरुले सम्भव भएको देखिन्छ ।
सबैभन्दा पहिले के बुझ्नु जरुरी छ भने नेपालको माओवादी आन्दोलन वैचारिक एवम् आर्थिक– सामाजिक मुद्दाहरुबाट निर्देशित राजनीतीक आन्दोलन थियो जसले जनस्तरमा ठूलै समर्थन प्राप्त गरेको थियो । अर्को कुरा के भने, यो आन्दोलनले नेपालमा बिगतमा प्रजातन्त्र प्राप्तिकालागि एकतन्त्रीय शासनविरुद्ध भएका संघर्ष र क्रान्तिहरुको मर्म बोकेको थियो । प्राध्यापक मुनी, जो यहाँ नै उपस्थित हुनुहुन्छ, उहाँकै शब्दमा भन्नुपर्दा नेपालको माओवादी आन्दोलन नेपालको तत्कालीन आर्थिक–सामाजिक एवम् राजनैतिक परिवेशको उपज थियो । राजनैतिक रुपमा भन्नुपर्दा आधुनिक नेपालको इतिहासमा राजतन्त्र र लोकतन्त्रबीचको संघर्ष नै नेपालको प्रधान अन्तर्विरोध थियो । नेपालका राजनैतिक दलहरुले आफ्नो गठनकालदेखि नै एकतन्त्रीय शासनविरुद्ध एक वा अर्को रुपमा विभिन्न लोकप्रिय संघर्षहरुको नेतृत्व गरेको देखिन्छ । सन् १९५० मा एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्यपछि नेपालमा पहिलो पटक संसदीय प्रजातन्त्रको मार्ग खुलेको थियो । 
मैले यहाँ नेपाल र भारतको परिस्थितिका बीचको एक प्रमुख भिन्नता दर्शाउन चाहें । भारतमा स्वतन्त्रता प्राप्तिपछि लोकतान्त्रिक निकायहरुको गठन एवम् सञ्चालन निर्वाध रुपमा हुन पायो भने नेपालमा करिव एक दशकमै प्राप्त उपलब्धी गुम्न पुग्यो । जसको एकमात्र सटिक कारण चाहीँ अस्तित्वमा रहेको राजतन्त्र नै थियो । विशेषत: जब राजा महेन्द्रले सन् १९६० मा निर्दलीय एकतन्त्रीय पञ्चायती ब्यवस्था अंगिकार गरे । यही पृष्ठभूमिमा नेपाली काँग्रेस र नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्नो राजनीति सञ्चालन गरे । सन् १९९० को जनआन्दोलन राजतन्त्र र लोकतन्त्रमा विश्वास राख्ने पार्टीहरुबीचको संघर्षको उपज थियो, जसले जनता र राजनैतिक दलका मागहरुको रूपरेखा कोरेको थियो । यद्यपि यो संघर्ष राजनैतिक दल र शाह राजतन्त्रका बीचमा भएको सम्झौताका कारण टुंगियो । यो सम्झौताको त्रुटी तब देखियो जब संसदीय व्यवस्थाको बीचबाट नै निरंकुश राजतन्त्रको पुन: उदय भयो । सन् २००५ मा तत्कालीन राजा ज्ञानेन्ऽले सत्ता आफ्नो हातमा लिए । सन् १९९६ मा सशस्त्र संघर्ष सुरु गरेको माओवादीले संसदीय दलहरु र राजतन्त्रबीचको त्यो एकता नै नेपालको राजनीतिको प्रमुख कमजोरीका रूपमा पहिचान गर्‍यो, जसले नेपालको राजनीतिमा प्रमुख दुस्प्रभाव पारिरहेको थियो । राजा, पुरातन संसदीय दलहरु र क्रान्तिकारीहरुबीचको यो त्रिकोणात्मक संघर्षलाई दक्षताका साथ सतहमा ल्याउन नेपाली माओवादीले खेलेको भूमिका राजनीतिकर्मी एवम् प्राज्ञिक व्यक्तित्वहरुले सहर्ष स्वीकार्छन् । सन् २००५ को शाही ‘कू’ पछि निरंकुश राजतन्त्रका विरुद्ध लोकतान्त्रिक शक्तिहरुकाबीच समन्वित एवम् प्रभावकारी ढंगले संघर्षका कार्यक्रमहरु प्रस्तुत गर्नेे माओवादी नै पहिलो थियो । यो एउटा यस्तो पहलकदमी थियो जसले निरंकुश राजतन्त्रका विरुद्ध माओवादी पार्टी र संसदीय दलहरुबीच पूर्ण लोकतन्त्र प्राप्ति र राजतन्त्रको उन्मूलनकालागि साझा समझदारीको जग खडा गरिदियो । क्लाज्वीचले भनेजस्तै बुलेट र ब्यालेट दुबै राजनीतिको निरन्तरताका लागि चाहिने दुई फरक साधन हुन् । विगतका आन्दोलन देखिको जनताबाट निर्वाचित प्रतिनिधिहरुबाट संविधानको निर्माणको नेपाली जनताको माग एवम् चाहनालाई माओवादीले नयाँ उचाइमा पुर्‍यायो । तसर्थ नेपालको माओवादी आन्दोलनको विशिष्टता के छ भने यसले राजतन्त्रका विरुद्धको लोकतान्त्रिक शक्तिहरुको बुलेटदेखि ब्यालेटसम्मको अन्तिम लडाईंमा निर्णायक भूमिका निर्वाह गरेको देखिन्छ । तत्कालको राजनीतिक शक्ति अथवा माओवादीको शक्ति सशस्त्र आन्दोलनका बेला निर्माण भएकोले उनीहरु सो शक्तिका कारण अन्य पुरातनवादी संसदीय दलहरुलाई संविधानसभाको आवश्यकता महसुश गराउन सफल भएको देखिन्छ । तसर्थ, धेरैले अनुमान गरेभन्दा फरक, माओवादीले नै नयाँ संविधानको निर्माणका लागि निर्वाचनको आह्वान गरेको प्रस्ट हुन्छ ।
५. यहाँ यो बुझ्नु जरुरी छ कि यी घटनाक्रमहरु परिस्थितिजन्य थिएनन, न त शाही ‘कू’ का कारण नै माओवादी यी लोकतान्त्रिक पहलकदमीहरुको माग गर्न पुगेको थियो । सिद्धान्तत: पनि माओवादीहरुभित्रै कम्युनिष्टहरुले लोकतन्त्रलाई गम्भीर रुपमा लिने कुरा कार्यनीतिक रूपमा मात्र नभई दीगो रूपमा हुनुपर्ने प्रशस्त बहसहरु हुने गर्थे । तसर्थ, संवैधानिक  राजतन्त्र र संसदीय व्यवस्थाका त्रुटीहरु पहिल्याउनुका अलवा आफ्नै लोकतान्त्रीकरणमा पनि माओवादीले जोड दिइरहेको थियो । यो एउटा महत्वपूर्ण विन्दू हो । निश्चय नै सबै माओवादी नेताहरु यो बिषयमा सहमत थिएनन् । पार्टीको लोकतान्त्रीकरण र संसदीय पार्टीहरुसँग संयुक्त मोर्चा बनाउने बिषयमा पार्टी नेतृत्वमा गम्भीर मतभिन्नता थियो । वास्तवमा भन्नुपर्दा पार्टीको लोकतान्त्रीकरण र संसदीय पार्टीहरुसँग संयुक्त मोर्चा बनाउने बिषयमा जोड दिनेमा म नै पहिलो र केही मध्येमा पर्थें ।
अन्तत: यी मान्यताहरु औपचारिक रुपमा ‘२१औं शताब्दीमा लोकतन्त्रको विकासबारे’ शीर्षकको दस्तावेज मार्फत आत्मसात गरियो ।
यहीँनेर माओवादीले आत्मसमीक्षा गरे र आफैंलाई प्रश्न गरे कि विगतका समाजवादी र कम्युनिष्ट सत्ताहरुले गरेका गल्तीहरुबाट कसरी बच्न सकिन्छ ? यसैको मान्यताका आधारमा उल्लेखनीय प्रस्तावमा पुग्दै पार्टीका विभिन्न अंगहरु, नेता र कार्यकर्ताहरुको सम्बन्धलाई कसरी लोकतान्त्रीकरण गर्ने भन्ने मान्यताको विकास भयो ।
तर राज्यसत्ता र राजनैतिक स्वतन्त्रताका बारेमा पार्टीको दृष्टिकोण र मान्यता सबैभन्दा ध्यान दिन लायक छ । नेपाली माओवादीहरुले यो निर्णय गरे कि जब सत्ता प्राप्त हुनेछ तब प्रतिस्पर्धी पार्टीहरुले क्रान्तिकारी पार्टीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्, त्यसैले माओवादी पार्टीले पनि निर्वाचनको माध्यमबाट जनताको अनुमोदन प्राप्त गर्नेछन्, यसको अभावमा क्रान्तिकारी पार्टी पनि विस्तारै अधिनायकवादी नोकरशाही संस्थामा पतन हुनेछ ।
६. माओवादीको सैद्धान्तिक र वैचारिक मान्यताको विशिष्ठताका आधारभूत जानाकारी विनाको माओवादीले अवलम्वन गरेको बुलेट टु व्यालेटको संक्रमणसम्बन्धी वुझाई अधुरो र अपुरो हुन्छ ।
७. उचित समयमै माओवादी जनयुद्धको बुलेटबाट व्यालेटमा रुपान्तरणको अर्को महत्वपूर्ण पक्ष नेपालको भारत र चीन जस्ता दुई भीमकाय छिमेकीको बीचमा रहेको संवेदनशील भू–राजनीतिक अवस्थिति थियो । समयमै त्यो हिंसात्मक आन्दोलनको सम्बोधन नभएको भए त्यसले चर्कंदै जाँदा छरछिमेकलाई समेत तानेर ठूलो क्षेत्रीय संघर्षको रुप लिने खतरा थियो ।
८. सम्पूर्ण रुपमा हार वा जीतको प्रकृतिको द्वन्दको सन्दर्भमा नयाँ संविधानलाई पुरानो सत्ताको अन्त्य र नयाँ राजनीतिको आरम्भको प्रतिकका रुपमा लिने गरिन्छ । यसलाई राजनीतिशास्त्रीहरुले प्रतिस्थापन मोडेल पनि भन्ने गरेका छन् ।
तथापि राजनैतिक द्वन्दहरु कहिलेकाहीँ कुनै पनि पक्षको पूरै जीत वा हारको अवस्थामा पुग्न नसकी बीचैमा टुंगिएको पनि हुन्छ । यस्तो अवस्थामा संविधान निर्माण एक युद्धविरामको अवस्था वा शान्ति सम्झौताको अवस्थामा परिणत हुन्छ । यस्तो अवस्थामा वन्ने संविधान द्वन्दरत पक्षहरुको सम्झौताको दस्तावेजका रुपमा ग्रहण गरिन्छ ।
नेपालको संविधान निर्माण प्रक्रिया यी दुबै प्रक्रियाको बीचको अवस्थावाट गुज्रेको थियो भन्न सकिन्छ । राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा नेपालको नयाँ संविधानको एक उल्लेखनीय पक्ष हो जसले एक हिसावले पुरानो राजनैतिक सत्तावाट फड्को मारेको हो भन्न सकिन्छ । तर अर्कोतर्फ माओवादी र गैरमाओवादी पार्टीहरुका बीचमा संसदीय लोकतन्त्रमा संस्थागत सम्झौता भएको हो भन्न सकिन्छ ।
यो प्रक्रियामा संसदवादी दलहरुले उनीहरुको पुरानो राजनैतिक विश्वास परित्याग गरेर परम्परागत उदारवादी मान्यताको अलावा आर्थिक–सामाजिक रुपान्तरणको क्रान्तिकारी मान्यताको आत्मसात गरेको अवस्था हो । उदाहरणकालागि संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व सहितको सहभागितामूलक लोकतन्त्र, भूमिसुधार जस्ता उपलव्धीहरु प्राप्त भएका छन् । अर्कोतर्फ माओवादीले पनि आफ्ना केही वैचारिक मान्यताहरुलाई थाति राखेर परम्परागत रुपमा उदारवादी लोकतन्त्रसँग सम्वद्ध निजी सम्पत्तिको संरक्षण, कानुनी राज, शक्ति पृथकीकरण जस्ता मान्यतालाई आत्मसात गरेको छ । 
माओवादी र गैरमाओवादीहरुबीच भएका उपरोक्त प्रतिवद्धता र समझदारीहरु वा सम्झौताहरुले दीर्घकालीन शान्ति प्रक्रिया र संविधान निर्माणको आधार निर्माण गरेका हुन् । अर्को शब्दमा भन्ने हो भने यी मान्यताहरु नेपाली राजनीतिलाई बुलेटबाट व्यालेटमा संक्रमण गर्नकालागि आधारभूत मान्यताहरु हुन् ।
९. यदि हामीले मुख्य लक्ष्यका बारेमा पुन:स्मरण गर्ने हो भने नेपालको संविधान निर्माण र लोकतान्त्रिक संक्रमणका बारेमा वुझ्न धेरै गाह्रो पर्ने छैन । संविधान जारी भइसकेपछि पनि तराई/मधेशका जनता र आदिवासी जनजातिहरुको असन्तुष्टिले यसको अन्तर्यमा रहेको समस्यालाई वोध गर्न सहज बनाउँछ ।
१०. यदि द्वन्दको मूल कारणलाई सम्बोधन गरिएन भने, आर्थिक–समाजिक रुपान्तरणको जनताको राजनैतिक मागलाई पूरा गरिएन भने समाजको दीगो विकास र स्थायीत्वतर्फको शान्तिपूर्ण संक्रमण जोखिममा पर्न सक्छ । यो नेपालको हालैको अनुभवबाट सिक्न सकिने मध्येको एक महत्वपूर्ण पाठ हो । तथापि हामीले विषयवस्तुलाई धेरै सामान्यीकरण पनि गर्नुहुन्न । किनभने, बुलेटबाट व्यालेटमा संक्रमणका अनुभवहरु समय र परिवेश विशेषका अनुभवहरु हुन् । नेपालको सन्दर्भ एक यस्तो उत्तम सन्दर्भ हो जहाँ सिक्नु पर्ने र सिक्नु नपर्ने कैयौं विषयहरु छन् ।
११. अन्तमा, लोकतान्त्रिक संक्रमण एक निरन्तर जारी रहने नियमित प्रक्रिया हो । त्यसैले नयाँ संस्थाहरुको सिर्जना गर्नु र संवैधानिक उपचार प्राप्त गर्नु निश्चय नै कठीन कार्य हो तथापि राष्ट्रले विना कुनै थकान निरन्तर जनतासँगको सम्बन्धलाई लोकतान्त्रीकरण गर्न लागिरहनुपर्छ । यही मान्यताका आधारमा निर्देशित हुँदै मैले नयाँ लक्ष्य, उद्देश्य सहितको यात्रा आरम्भ गरेको छु । नयाँ शक्तिको विचार केवल नयाँ पार्टी वा नयाँ राजनीतिमात्रै नभएर सिंगै समाजलाई लोकतान्त्रीकरण गर्ने स्वाभाविक प्रक्रियाका साथै बुलेटबाट व्यालेटमा रुपान्तरण गर्ने एक महान अभियान पनि हो ।
क्रिष्टोफर कोलम्वसले एकपटक भनेका थिए – ‘तपाईं महासागर पार गर्न सक्नुहुन्न जबसम्म तपाईंले देखेको किनारालाई पछाडि छोड्ने साहस राख्नुहुन्न ।’ मैले त्यही बुलेटमा देखिएको किनारालाई पछाडि छोड्ने साहस वटुल्दै विश्व समाजलाई व्यालेटको माध्यमवाट प्रगतिशील विश्वमा परिणत गर्ने महासागर तर्ने प्रयत्न गरिराखेको छु ।

त्यसैले शान्ति, समृद्धि, न्याय र समानताको बस्तुगत अवस्था सिर्जना गर्न र कसैले पनि फेरि हतियार उठाउनु नपर्ने अवस्थाको सिर्जना गर्न हातमा हात काँधमा काँध मिलाऔं । 
धन्यवाद

http://diyopost.com बाट साभार  

Wednesday, March 8, 2017

नेहरूले बिपीलाई गिरफ्तार गर्छु भनेका थिए- राजेश गौतम


इतिहासकार राजेश गौतम

यो वर्ष नेपाली कांग्रेस स्थापनाको सत्तरी वर्ष पूरा हुँदैछ। गान्धीवादी आदर्शबाट प्रेरित भई ००३ सालमा स्थापना भएको उक्त पार्टी नेपाली राजनीतिक सात दशकका सबै उतारचढावहरुको मूल शक्ति र साक्षी हो । तर संगठन, सिद्धान्त र व्यवहारका कसीले कांग्रेसको आन्तरिक जीवनमा कहिले सबलताको उज्यालो छरियो त कहिले त्यत्तिकै दुर्बलताको अन्धकार। खासमा के थियो र अहिले के हो कांग्रेस? नेपालखबरको बहस-शृङ्खलाको चौंथो भागः 

आज नेपाली काङ्ग्रेस इतिहास बेचेर खाइरहेछ– बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेता र २००७ सालको क्रान्ति अनि २०४६ को आन्दोलनलाई ऊ ‘क्यास’ गर्छ। तर काङ्ग्रेसमा पछिल्लो समय सिद्धान्तभन्दा सत्ताको खेल केन्द्रमा छ। हिजोको सिद्धान्त आज छैन। गणतन्त्रमा प्रवेश गरेर काङ्ग्रेसले बाटो पनि बिराएको छ। बिराएको बाटोबाट काङ्ग्रेस फेरि सही बाटोमा फर्कन्छ–फर्कन्न, त्यो त हेर्नु नै छ। तर काङ्ग्रेसको इतिहास आफैमा विवेचनायोग्य भने छ।

नेपालमा सुरुमा धर्मका आधारमा राणाशासनको विरोध गरियो। सामाजिक चलन र कुरीति परिवर्तन गर्ने आवाज उठे। १०४ वर्षको अवधिमा पनि राणाहरू सबैलाई स्वीकार्य थिएनन्, विरोधका स्वर धार्मिक र सामाजिक रूपमा उठेका थिए। राजनीतिक विरोध भने पछि मात्रै निस्क्यो। भारतमा अध्ययन गर्न जाने विद्यार्थीले अङ्ग्रेजविरुद्धका आवाज र सङ्घर्षबाट अनुभव लिएर नेपालमा पनि सत्ताको राजनीतिक विरोध गर्न थालेका हुन्। भीमशमशेरको समयमा स्थापना भएको प्रचण्ड गोरखा त्यस्तो संगठन थियो, जसका संस्थापक खण्डमान सिंह, खड्गबहादुर, मैनाबहादुर र उमेशविक्रम शाहले पहिलोपटक नेपालमा राजनीतिक मागसहित राणा हटाउनुपर्छ भन्ने उद्देश्य राखेका थिए।

राजीनितिक चेतना फैलाउने क्रम प्रचण्ड गोरखाबाट सुरु भयो र १९९२ सालमा स्थापित नेपाल प्रजा परिषदले पर्चाहरू छरेर आन्दोलन गर्‍यो। तर यी दुवै संगठनमा संलग्न सबै व्यक्ति गिरफ्तार भए। मारिने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री प्रजा परिषद्कै सदस्य हुन्। १९९७ सालको सहिद काण्ड र त्यसबेला बाँचेका टंकप्रसाद आचार्य र गणेशमान सिंहबाट प्रभावितहरू नै नेपाली काङ्ग्रेसका संस्थापक सदस्य हुन्। काङ्ग्रेसमा प्रजापरिषदबाट प्रभावितहरू, भारतमा बसेर अध्ययन गरिरहेका नेपाली, जयतु संस्कृतम् आन्दोलनबाट निकालिएकाहरू संगठित भएको देखिन्छ। त्यही बेला राणा शासनको अन्त गर्नुपर्छ भनेर बिपीले एउटा आह्वान गरे र अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस स्थापना भयो। पछि त्यसैको नाम नेपाली राष्ट्रिय काङ्ग्रेस राखिएको हो। आन्दोलनकै कारण पद्मशमशेर २००४ सालमा अन्तरिम संविधान, वैधानिक कानुन दिन बाध्य भए।

बिपी कोइरालाहरूले अहिंसात्मक आन्दोलनलाई महत्व दिएको बेलामा सशस्त्र आन्दोलन बिना राणा शासन हटाउन सकिँदैन भनेर सुवर्ण शमशेरहरूले नेपाल प्रजातन्त्र काङ्ग्रेस गठन गरी हतियार संकलन गरिसकेका थिए। बिपी समूहभन्दा प्रजातन्त्र काङ्ग्रेस हतियार र सेना निर्माणमा निकै अघि बढेको थियो। यसपछि भारतीय नेताहरूको भूमिकामा दुई काङ्ग्रेस मिलेर नेपाली काङ्ग्रेस स्थापना भयो। अनि काङ्ग्रेसको आन्दोलनमा धेरै सहभागी भए र सात साल फागनु ७ मा हामीले प्रजातन्त्र प्राप्त गर्‍यौं।

वास्तवमा सात सालको क्रान्तिमा भारतको सहयोग थियो। प्रत्यक्ष रूपमा भारतीय जनता र अप्रत्यक्ष रूपमा भारतीय सरकार आन्दोलनको पक्षमा थियो। प्रधानमन्त्रीका रूपमा जवाहरलाल नेहरूले आन्दोलनको आलोचना गरेका थिए। उनले ‘म हतियारको चलखेल गर्न दिन्नँ, बिपीलाई पनि गिरफ्तार गर्छु’ समेत भनेका थिए। व्यक्तिगत रूपमा भने उनले नेपालको आन्दोलनलाई सघाइरहेका थिए। यसबाट के प्रष्ट हुन्छ भने हिजो ब्रिटिसहरूले भारतमा शासन गर्दा नेपालको राजनीतिलाई जसरी आफ्नो प्रभावमा राख्न खोजेका थिए, त्यसरी नै स्वतन्त्र भारतका नेताहरूले पनि नेपाललाई आफ्नै प्रभावमा राख्ने योजना बनाएका थिए र यसका मुख्य हर्ताकर्ता नेहरू नै थिए।

नेहरूले २००७ सालको परिवर्तनपछि नेपालको मोड अर्कोतिर नलागोस् र आफ्नो पकडमा रहिरहोस् भन्ने दृष्टिकोण बनाएका हुन सक्छन्। राजा त्रिभुवनले शरण लिइसकेका थिए। राजा र बिपीबीच भेटघाट नै हुँदैनथ्यो, भेट गर्नै दिँदैनथे। त्यतिखेरका मिलिटरी कमान्डर मातृकाप्रसाद कोइराला र नेहरूबीच चाहिँ भेट भइरहन्थ्यो। त्रिभुवन र नेहरूबीच कुराकानी हुन्थ्यो। उनीहरूको कुराकानी नेहरूले मातृका र विपीलाई भन्दैनथे। यसरी काङ्ग्रेसको नाममा वार्ताहरूमा मातृका अगाडि थिए। भारतबाट प्रधानमन्त्री नेहरू भइहाले, यता राणाबाट चाहिँ विजय शमशेर थिए, राजा त राजा भइहाले। भनिन्छ– बिपीले विजय शमशेरलाई त्यसबेला सम्झौता दिल्लीमा नगरौं भनेका थिए। हामीले नेपालमै गरौं भन्दा यी बुढाहरू मान्दै मान्दैनन् भनेर विजय शमशेरले बिपीलाई भनेका थिए भन्ने कुरा धेरै किताबमा पढ्न पाइन्छ। यो सम्झौतापछि बिपी एक्लिए। सम्झौता मातृका, त्रिभुवन र राणाबीच भयो, अझ भन्दा राजा र राणाबीच भएको सम्झौतामा सबै हस्ताक्षर गर्न बाध्य भए। यसको प्रमुख भूमिका नेहरूले नै वहन गरे। त्यसैले के भनिन्छ भने २००७ सालको क्रान्ति नेपालमा भयो तर यसको टुङ्गो चाहिँ भारतमा लगाइयो।

यो परिवर्तनपछि नेपाली जनताले अधिकार पाए। राजाले पनि आफ्नो अधिकार फिर्ता लगे। यो परिवर्तनको पछाडि प्रचण्ड गोरखा र प्रजा परिषद्को भूमिका नभएको होइन तर निर्णायक चाहिँ नेपाली काङ्ग्रेस नै बन्यो। तथापि २००७ को परिवर्तनको श्रेय काङ्ग्रेसलाई मात्र नदिएर त्योभन्दा अगाडिका अन्य राजनैतिक दल, सामाजिक, धार्मिक समूह र संस्थाले खेलेको भूमिकालाई पनि महत्व दिनुपर्छ। यो परिवर्तनपछि प्रशासनिक क्षेत्रमा एउटा कुरा खट्क्यो। राणहरू प्रशासनमा खप्पिस थिए। तर परिवर्तनपछि आएका जनताका प्रतिनिधिहरू त्यसबाट टाढा थिए। उनीहरूमा जोश थियो, विकास गर्नुपर्छ भन्ने भावना थियो तर प्रशासन कसरी चलाउनु पर्छ भन्ने अनुभव थिएन। त्यसैले राणा र उनीहरूबीच द्वन्द्व सुरु भयो। यसको परिणाम सरकारै परिवर्तन हुन थाल्यो। काङ्ग्रेसभित्रको विवाद पनि बढ्यो। हुन त पार्टी स्थापनाकालदेखि नै दुईटा गुट थियो। मातृका र बिपी दुवैले आफ्ना नजिकका मान्छे तान्थे। सात सालअघि बाहिर देखा नपरेको गुटबन्दी यसपछिको समयमा प्रष्ट रूपमा देखा पर्न थाल्यो।

बिपीका पछाडि भारत थिएन, मातृकाका पछाडि भारत र नेपालभित्रै राजा पनि थिए। त्यसैले बिपी त्यसबेला कमजोर थिए। नेहरूको समर्थन पाएका मातृका बलिया थिए, जसले गर्दा पार्टी फुट्यो र मातृकाले सरकार गठन गरे। त्यतिबेला त्रिभुवनकै पैसामा मातृकाले पार्टी गठन गरेको पनि भनिन्छ। सुरुमा बिपी गृहमन्त्री मात्रै भए। त्यसपछि बिपी सत्तामा एकैपटक १५ सालमा मात्र पुगे। सात सालताका राजाले काङ्ग्रेस ज्यादै शक्तिशाली भएकाले त्यससँग लड्न सकिँदैन भन्ने दृष्टिकोण राख्थे। तर सात सालपछिको काङ्ग्रेस फुटिसकेपछिको स्थितिमा क्रमिक रूपमा राजा उनीहरूबीच खेल्न थाले। अनि एकपछि अर्को सरकार परिवर्तन हुँदै गयो।

मातृकाजीको सरकार आयो, त्यसलाई ढाले। परिषद् आयो, त्यो पनि भएन। टंकप्रसाजीको सरकार आयो। त्यसपछि फेरि डा. केआइ सिंहको सरकार आयो। यसरी विभिन्न किसिमले राजाले सरकार परिवर्तन गर्दै आफ्नो उद्देश्य पूरा गर्ने क्रम जारी राखे। पार्टीहरू सबै कमजोर भए। हिजो ऐतिहासिक भूमिका खेलेको प्रजापरिषद् पनि शक्तिशाली हुन सकेन। प्रचण्ड गोरखाको त अस्तित्व नै रहेन किनभने त्यो प्रजापरिषद्मा मिलिसकेको थियो। काङ्ग्रेसमा विभाजन आएको स्थितिमा राजाले जनतामा गइसकेको अधिकार फिर्ता लिए। राजालाई कसैको डर थियो भने काङ्ग्रेसकै थियो। त्यो फुटिसकेपछि राजाले ठूलो गेम खेले। परिणामस्वरूप काङ्ग्रेस ठूलो सङ्घर्षमा जानुपर्यो। ०१४ सालमा उसले सत्याग्रह पनि गर्‍यो, काङ्ग्रेस कमजोर हुँदै गयो। सात सालमा सरकार बनेपछि २०१५ सालसम्म काङ्ग्रेसको सरकारै आउन सकेन। २००८ सालमा मातृका काङ्ग्रेसकै नाममा केही समय सरकारमा बसेदेखि बाहेक राजाले काङ्ग्रेसलाई निषेध गर्दै अन्य पार्टीलाई महत्व दिँदै गए। काङ्ग्रेस र बिपीलाई राजकाजमा महत्व दिनै छाडियो। २०१४ सालको सत्याग्रह, संविधानसभाको माग सबै तुहाइयो। अन्ततः संसदकै चुनावका लागि सहमत हुन सबैलाई बाध्य पारियो, बिपी पनि बाध्य भए।

राजा महेन्द्रले काङ्ग्रेसले जित्दैन भन्ने ठानेर निर्वाचन गराएका थिए। कीर्तिनीधि विष्ट, यदुनाथ खनाल र अरु दुईचार अञ्चलाधीश, बडाहाकिमसहितको समितिबाट उनले रिपोर्ट लिएका थिए, जसमा काङ्ग्रेसको बहुमत आउँदैन भन्ने थियो। काङ्ग्रेसले नै बहुमत ल्याउँछ भन्ने भएको भए महेन्द्रले त्यति छिटो निर्वाचन गराउने थिएनन्। तर नतिजा उल्टो निस्किएपछि राजा धेरै असन्तुष्ट भए। काङ्ग्रेस नेतृत्वमा सरकार गठन गर्न उनले ढिलाइ पनि गरे। २००७ सालको परिवर्तन काङ्ग्रेसले नै ल्याएको हो र अबका जनताका आवश्यकता पनि काङ्ग्रेसले नै पूरा गर्छ भनेर जनताले मतदान गरेका थिए। तर जनमतलाई न्याय गर्न काङ्ग्रेसले सकेन किनभने राजाले त्यसरी अगाडि बढ्ने वातावरण बनाएनन्। बिपी प्रधानमन्त्री भइसकेपछि देशमा परिवर्तन गर्ने थुप्रै योजना ल्याए, तर काङ्ग्रेसको लोकप्रियता राजा महेन्द्रले सहन सकेनन्। राजा महेन्द्र २००७ सालदेखि नै काङ्ग्रेसको विरोधी थिए। उनको बिपीसँग व्यक्तिगत रूपमा भने सौहार्द कुराकानी र विचार आदानप्रदान हुन्थ्यो। एकापसमा उनीहरूबीच खुला रूपमा कुरा हुन्थ्यो। तर भित्री रूपमा न राजालाई बिपीले विश्वास गर्थे, न त बिपीलाई राजाले। त्यसैको परिणामस्वरूप २०१७ सालको घटना घटेको हो।

राजाले २०१७ सालमा यस्तो कदम चाल्दैछन् भन्ने कुराको जानकारी धेरै नेतालाई पहिल्यै थियो। गणेशमान सिंहदेखि पार्टीका थुप्रै नेता र मन्त्रीहरूलाई यसबारे पूर्वजानकारी थियो। उनीहरूले राजाले यस्तो कदम चाल्दैछन् भनेर बिपीलाई भनेको भन्यै पनि गरे। तर बिपीले कहिल्यै पनि त्यो कुरामा विश्वास गरेनन्। उनी के भन्थे भने राजाको मप्रति विरोध हुन सक्छ, सरकारप्रति विरोध हुनसक्छ तर यो व्यवस्थाप्रति विरोध हुन सक्दैन। राजालाई मन नपरे मलाई हटाइदिए भइगो नि, त्यसैले राजाले व्यवस्था नै ‘कु’ गर्दैनन् भन्ने विश्वास बिपीको थियो। त्यसले गर्दा थाहा पाउँदा–पाउँदै २०१७ पुस १ को घटना घटेको हो।

२०१७ सालको घटनापछाडि अन्तर्राष्ट्रिय कारण पनि छन्। त्यो हो– बिपी कोइराला र जवाहरलाल नेहरूबीचको द्वन्द्व। नेहरू र बिपी दुवै समाजवादी नेता थिए। नेहरू चाहन्थे– नेपाल सानो राष्ट्र भएकाले बिपीले मेरोभन्दा ठूलो र अन्तर्राष्ट्रिय मान्यता पाउनु हुँदैन। तर अन्तर्राष्ट्रिय स्तरमा बिपीको प्रभाव नेहरूको भन्दा माथि पुगिसकेको थियो। नेहरू बिपी पनि आफ्नो सल्लाहमा बसेर शासन सञ्चालन गरुन् भन्ने चाहन्थे। तर बिपी राष्ट्रवादी नेता भएकाले आफ्नै विवेकमा अगाडि बढेका थिए। नेपाल स्वतन्त्र छ भन्ने दृष्टिकोणबाट बिपीले काम गरिरहे। इजरायल, अल्जेरिया, पाकिस्तानलाई मान्यता दिने कुरामा नेपाल भारतभन्दा धेरै अगाडि बढिसकेको थियो। यिनै अनेक कारणहरूले नेहरू बिपीसँग असन्तुष्ट थिए। त्यसैले उनी बिपीलाई परिवर्तन गराउन चाहन्थे तर नेहरू नेपालमा ‘सिस्टम’ नै ‘कु’ गराउन चाहँदैनथे, सरकार चाहिँ परिवर्तन गराउन चाहन्थे। यसरी २०१७ सालको घटनामा नेहरूको पनि त्यत्तिकै भूमिका रहेको छ।





इतिहासकार प्राध्यापक राजेश गौतम



०१७ सालको ‘कु’ हुनेबित्तिकैको नेहरूको वक्तव्य त्यति कडा देखिँदैन। उनले नेपालमा यस्तो घटना घटेकामा दुःख लागेको छ मात्रै भनेका छन्। उनले पनि महेन्द्रले सरकार मात्रै परिवर्तन गराउन कदम चालेको ठानेका थिए। पुस १ गते सरकार परिवर्तन भयो र १९ गते महेन्द्रले व्यवस्थामै ‘कु’ गरे। त्यसपछि मात्रै नेहरूको सातो गयो। उनको वक्तव्य पनि ज्यादै कडा आयो। नेपालमा निर्वाचित सबै मन्त्रीसँगै बिपी, गणेशमानलगायतको गिरफ्तारी भइसकेको थियो। सुवर्णशमशेर भने दुई दिनअघि भारत गएकाले बचेका थिए। सुवर्णशमशेर पनि नेपालमा सशस्त्र क्रान्ति गर्ने पक्षमा थिएनन्। नेहरूको ‘गाइडलाइन’ नपाउन्जेल उनी आन्दोलन गर्ने पक्षमा थिएनन्। नेहरूको ‘गाइडलाइन’ पाएपछि मात्र उनी आन्दोलनको पक्षमा उत्रिए।

यसरी ००७ देखि ०१७ बीचमा काङ्ग्रेस, राजा, बिपी सबैको कमजोरी थियो। यो सबैको परिणाम थियो ०१७ सालको घटना। ०१७ को घटनामा राजा एक्लैलाई मात्र दोष दिएर हुँदैन। राजतन्त्र पक्षधरहरू बिपीलाई दोष दिन्छन्, प्रजातन्त्र पक्षधर राजालाई दोष दिन्छन्। यस घटनामा राजतन्त्रसँगै आफूलाई प्रजातन्त्रवादी भनाउनेहरू राजनीतिक दलहरूको पनि उत्तिकै दोष छ। ०१७ देखि ०२५ सालसम्म बिपी जेलमै रहे। ०१८ सालमा भएको सशस्त्र आन्दोलनले एउटा सशक्त रूप लिएको थियो। देशका मुख्यमुख्य भागमा ठूला आन्दोलनहरू भए। सबैभन्दा ठूलो आन्दोलन चितवनमा भयो। त्यतिखेर राजालाई बम हान्ने, जनकपुर घटनालगायत फाटफुट घटना थुप्रै भए। आन्दोलनका सुरुमा भारत सरकार र भारतीय कतिपय नेताको साथ रह्यो। तर पछि भारत–चीन युद्धका कारण नेपालमा सशस्त्र सङ्घर्ष रोक्नुपर्ने स्थिति बन्यो। नेहरूको अनुरोधमा सुवर्णशमशेरले त्यसलाई रोके। त्यसपछि सशस्त्र आन्दोलनबाट होइन, अब संवैधानिक परिवर्तनका लागि संवादबाट र राजासँग कुराकानी गरेर अघि बढ्नुपर्ने दृष्टिकोण राख्न थालियो। सुवर्णशमशेरले त्यसैअनुसार वक्तव्य पनि निकाले र परिणामस्वरूप बिपी र गणेशमान जेलबाट छुटे। नेताहरू छु्ट्नेबाहेक त्यो वक्तव्यको अरु उपलब्धि थिएन। वक्तव्यसँगै बिपी छुटेपछि जनतामा काङ्ग्रेससँग एक प्रकारको आशा थियो, तर त्यो आशाअनुरूप काम राजाबाट नभएपछि बिपी फेरि निर्वासनमा निस्केका हुन्।

http://nepalkhabar.com बाट साभार 

Tuesday, March 7, 2017

नेपाली काङ्ग्रेसको वर्गमुहान -प्रदीप गिरी

राणाद्वारा सेवित र पोषित तर विदेश भगाइएका ‘एलिट’का सन्तानले नै नेपालमा काङ्ग्रेस स्थापना गरे



प्रदीप गिरी

यो वर्ष नेपाली कांग्रेस स्थापनाको सत्तरी वर्ष पूरा हुँदैछ। गान्धीवादी आदर्शबाट प्रेरित भई ००३ सालमा स्थापना भएको उक्त पार्टी नेपाली राजनीतिक सात दशकका सबै उतारचढावहरुको मूल शक्ति र साक्षी हो। तर संगठन, सिद्धान्त र व्यवहारका कसीले कांग्रेसको आन्तरिक जीवनमा कहिले सबलताको उज्यालो छरियो त कहिले त्यत्तिकै दुर्बलताको अन्धकार। खासमा के थियो र अहिले के हो काँग्रेस? नेपालखबरको बहस-शृङ्खलाको पाँचौ भागः

नेपाली काङ्ग्रेसलाई प्रायः स्थुल–अर्थमा प्रारम्भदेखि नै भारतपरस्त पार्टी भनिन्छ। यसो भन्नेमा काठमाडौंमा विद्यमान रहेको आफूलाई सच्चा राष्ट्रवादी देखाउने हिजोका राणाशाही, पछिका राजावादी र अहिले पनि त्यस्ता प्रवृत्ति छन्। एकथरी वामपन्थी कम्युनिस्ट/मार्क्सवादीले पनि काङ्ग्रेसलाई भारतीय विस्तारवाद वा भारतीय एकाधिपत्यसँग सम्बन्ध भएको पार्टी भन्छन्। यो सबै हो कि होइन? म अहिले त्यो भन्न चाहन्न। किनकि यी सबै गौण सवाल हुन्, मुख्य सवाल अन्तै छ।

त्यस समय हिन्दुस्तानका विभिन्न राज्यहरूमा जति पनि जागृतिका आन्दोलन भए, तिनमा दुईवटा हिन्दुस्तान थियो। पहिलो– अंग्रेजबाट प्रत्यक्ष शासित र दोस्रो– अंग्रेजको अधीनमा रहेको तर अंग्रेजले प्रत्यक्ष शासन नगरेको। दोस्रो क्षेत्रमा राजारजौटाहरूको शासन चलिरहेकै थियो। तीमध्ये कश्मिर, जोधपुर आदि थिए। यहाँ एकदमै रमाइलो कुरा के छ भने धेरै मुलुकमा भएका प्रजातान्त्रिक आन्दोलनहरूले आफ्नो सङ्गठनको नाम काङ्ग्रेस राखेको पाइन्छ। भारतीय राष्ट्रिय काङ्ग्रेसले त्यतिबेला के पास गरेको थियो भने जहाँ राजा पनि रहेको प्रान्त छ, त्यहाँ प्रजा परिषद् नामको पार्टीबाट काम गर्ने, जहाँ राजा छैन त्यहाँ काङ्ग्रेसको नामबाट। नेपाल प्रजा परिषद्को सन्दर्भ पनि त्यस्तै हो। 

भारतमा जोधपुर प्रजा परिषद् थियो, हैदरावाद प्रजा परिषद् भनिथ्यो, काश्मिरमा पनि प्रजा परिषद नै भनिथ्यो। यो कुरा धेरैलाई थाहा छैन। त्यसैको अनुकरण गरेर नेपालमा टंकप्रसाद आचार्यले पनि पार्टीको नाम प्रजा परिषद् राखे। जहाँ अंग्रेज छ, उसलाई देश छोडाउन काङ्ग्रेस लागेको थियो। तर राजा त देशकै हो, उसलाई देशबाटै लखेट्ने कुरा भएन। त्यसकारण प्रजा परिषद् भनेर प्रजाको हक स्थापित गर्न त्यस्तो नाम राखिएको देखिन्छ। भारतीय स्वाधीनता संग्राममा राजाले हामीलाई सहयोग गर्छन्, त्यसकारण धेरै कडाइ नगर्ने भन्ने थियो। राजाहरूसँगको लडाइँ अर्कै हो। प्रजा राजाकै हुन्, अधिकार प्रजालाई पनि चाहियो भन्ने हो, मुलुकै छोड भन्न त भएन। यो भारतीय काङ्ग्रेस र काङ्ग्रेस नेताहरूको नीति थियो। भनाइको निहितार्थ के हो भने नेपाली काङ्ग्रेस मूलतः र पूर्ण रूपले तत्कालीन भारतीय बौद्धिक परिस्थितिमा उत्पन्न भएको आन्दोलन र पार्टी हो। त्यो कुरा बिपी कोइरालाका सुरुतिरका लेख र भनाइबाट थाहा हुन्छ।

बिपी सुरुमा राणासहितको प्रजातन्त्र चाहन्थे
सात साल सेरोफेरोको राजनीतिक युगबोध थाहा पाउन त्यतिबेलाको ‘युगवाणी’लगायत पत्रिका हेर्न सकिन्छ। युगवाणीमा बिपीको एउटा लेख छ– ‘हाम्रो ध्येय’। त्यसमा उहाँले प्रस्ट के लेख्नु भएको छ भने ‘हामीले राणा पनि हट्नुपर्छ कहाँ भन्या छ? राजा हट्ने त कुरै भएन। राजालाई राख्छौं नै। राणा पनि थान्कोमा बसेर दिनानुदिनको प्रशासन जनताले छानिएर हामीलाई दिने हो भने पद्मशमशेरको विधानबाटै मोटामोटी पुगिहाल्छ।’ यस्तै भावको लेखमा थियो बिपीको। त्यसमा उनले राजा पाँच/सात वटा रहुन्, राणा पनि रहुन्, उनीहरूको पद, सुविधा, ओहोदा सबै रहोस् तर हामीलाई अधिकार चाहियो भन्ने कुरा प्रष्ट रूपमा लेखका छन्।





नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरी



बिपीले सरकारलाई पनि सीमित अर्थमा लिएको देखिन्छ। उनले दैनिक प्रशासन चलाउन हामीलाई दिनुपर्यो भनेका छन्। विदेश नीति कस्तो हुने, सेनाको कसको हुने भन्ने कुरा पनि उनको लेखमा व्याख्या छ। तर आन्दोलनको आफ्नै गति हुँदो रहेछ। बढ्दैबढ्दै जाँदा जनताको चाहना र चेतना अघिअघि र नेता पछि पर्ने हुन्छ, विदेशी पनि पछाडि सर्छन्। जसरी २०६२/०६३ को आन्दोलनमा वैशाख ८ गतेको सम्झौता अर्कै थियो, दुई दिनमा अर्कै भयो। करणसिंह आएको पनि काम लागेन, श्यामशरण फर्केको पनि काम लागेन। त्यस्तै एउटा सार्वभौम सत्ता सम्पन्न संविधान नै बनाउने कुरा सात सालको अन्त्यतिर आएर भयो, जुन बिपीले पनि पहिले कल्पना गरेका थिएनन्।

विचारधाराका रूपमा काङ्ग्रेस गान्धी र नेहरूबाट अनुप्राणित थियो। जुन प्रकारको संसदीय व्यवस्था भारतमा ल्याइएको थियो, नेपालको त्यतिबेलाको राजनीतिक माग पनि त्यही थियो। कुनै पनि राजनीतिक माग लिएर अगाडि बढ्दा बुझ्न जरुरी छ– त्यो माग कुन वर्गका मान्छेले उठाएका थिए? कुन जातका मान्छे थिए? त्यहाँ के कुरा उठेको थियो? त्यो वर्ग र जातको सांस्कृतिक चेतना र युगबोध के थियो? यो एकदमै बुझ्न आवश्यक छ। नेपाली काङ्ग्रेसको इतिहास लेख्ने मान्छेले यसरी गहिरिएर इतिहास नै लेखेका छैनन्। दुर्भाग्यवस्, जुन इतिहास लेखिएको छ, त्यहाँत्यहाँ कसैले पनि यसलाई उल्लेख गर्न सकेको छैन।

नेपालमा हामीले सामान्यतया पाश्चात्य समाजशास्त्रको प्रभावमा परेर किताब लेख्छौं। त्यस्तो पाश्चात्य समाजशास्त्रमा कार्ल माक्र्सको असाध्यै ठूलो प्रभाव छ। त्यस्तै म्याक्स वेबरको पनि छ। केही गैरमाक्र्सवादी समाजशास्त्रीहरू पनि अरु पनि पाँच/छ जना छन्। हामी दुनियाँमा एक साथ लागू हुने प्रवर्गहरू बनाउँछौ र धारणाहरू निर्माण गर्छौं। मानौं यो यान्त्रिक कुरो हो। तर समाजशास्त्र कुनै क्यामेराजस्तो हुँदैन। अहिले क्यामेराको सिद्धान्तमा त परिवर्तन आइसक्यो। हिजो रिल भएको क्यामेरा डिजिटलमा पुगिसक्यो। सामाजिक जीवनमा त यस्तो धेरै अन्तर हुन्छ। त्यसकारण कुनै पाश्चात्य समाजशास्त्रको नियमले मात्रै नेपालको सामाजिक र राजनीतिक आन्दोलनको विश्लेषण गर्न सकिन्न।

सामाजिक–राजनीतिक जीवनमा प्रत्येक व्यक्ति विशिष्ट भएजस्तै यो मुलुकको पनि संस्कृति र भूगोलमा यही विशिष्टता छ। हाम्रो भूगोल असाध्यै महत्वपूर्ण छ। भूगोलभन्दा बाहिर भारत र चीनसँगको सम्बन्ध आउँछ तर भित्र मुख्यगरी हामीसँग भएको मधेसको जग्गा निकै महत्वपूर्ण छ। त्यो उब्जनीको साधन थियो। प्रथम महायुद्धपछि मधेसका जग्गा एकदम मूल्यवान भएर गए। त्यसअघि पहाडका मान्छे मधेसमा ओर्लिंदा पनि ओर्लिंदैनथे, औलो लाग्छ भनेर। जब प्रथम महायुद्धताका सबै बोर्डरमा रोड र रेलवे स्टेसन आए। अनि रेलवेसँगै धमाधम ठूलठूला सहर बस्न थाले। त्यसमा खासगरी कलकत्ता महत्वपूर्ण छ। सहरका लागि काठको भयङ्कर अभाव हुन थाल्यो। अनि मधेसको जङ्गल काटिँदै कोशीमा काठ हाल्दै–बगाउँदै गंगा पुर्‍याइन थाल्यो। मधेसका जङ्गल काटिएपछि त्यहाँ खेती हुनुपथ्र्यो। त्यसका लागि त्यहाँ जनसंख्या थिएन। पहाडका मान्छे त्यहाँ जान नचाहने भएपछि जनसंख्याकै लागि धेरै हदसम्म मधेसका मान्छे बोलाउन थालियो र खेती गर्नुस् भन्न थालियो।

भीम शमशेरका सन्तान र सेवक नै काङ्ग्रेस संस्थापक
मध्य मधेस खासगरी नवलपरासीदेखि कपिलवस्तुतिर जनसंख्या बिलकुलै थिएन। पछि मात्रै त्यहाँ बसोबास बढेको हो। मानिसहरू मधेस झर्न थाल्नु, उता रेल आउनु, रुख कटान गरी धान खेती सुरु हुनु आदि एकाएक भएको देखिन्छ। यही बेला गिरी, कोइराला आदिका वंशहरू मधेस क्षेत्रमा अत्यन्त सक्रिय भएको देखिन्छ। यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने मधेसका जमिन्दारको प्रतिनिधित्व त्यतिबेलाको राष्ट्रिय काङ्ग्रेसले गरेको छ। त्यसमा पनि भीम शमशेरको खलक छ। गणेशमानजी होस्, वा बिपी कोइराला, यिनीहरू को हुन्? यी सबै भीम शमशेरका दरबारिया हुन्। उनीहरू नै पछि काङ्ग्रेस बनाउन गएका छन्। ध्यानपूर्वक हेर्ने हो भने भीम शमशेरका साख्खै सन्तान र भीम शमशेरका दरबारियाहरूले नै काङ्ग्रेस बनाएका छन्। सुन्दा यो काङ्ग्रेसविरोधी कुरा जस्तो लाग्न सक्छ। इतिहासलाई सही ढङ्गले नबुझ्ने मान्छेले मेरो कुरामा नकारात्मक प्रतिक्रिया पनि व्यक्त गर्लान्। तर मैले एकदमै गहिरिएर हेरेको छु। यो यथार्थ हो। जनबोलीमा भन्ने हो भने भीमे र चन्द्रेको लडाइँको बीचबाट काङ्ग्रेस जन्मेको हो। चन्द्र शमशेरले कोइराला परिवारलाई दण्डित गरे, भीम शमशेरले बोलाए। बिपीका बाबु कृष्णप्रसाद कोइरालाको परिवार लामो समयसम्म भीम शमशेरको चाकरीमा लागेको देखिन्छ। कृष्णप्रसाद आफै भीम शमशेरका छोरा हिरण्य शमशेरका सुब्बा थिए।





प्रदीप गिरी



पछि २००७ सालमा बिपी मन्त्री भएपछि हिरण्य शमशेरले कृष्णप्रसादलाई भनेका थिए– ‘ए, तेरो छोरो पनि मन्त्री भयो, हामी बसौं भने लाज हुन्छ।’ मैले खासमा भन्न खोजेको के भने काङ्ग्रेसको स्थापनामा काठमाडौंको दरबारभित्रको ‘एलिट’ (धपाइएको एलिट) र मधेसको जमिन्दारको नेतृत्व र भूमिका छ। के भएछ भने सात सालको क्रान्ति आउँदा–नआउँदा मधेसका जमिन्दार पीडामा पर्न थाले। राणाले त्यो जग्गा खोस्न थाले। विभिन्न बाहना गरेर, अंशियार लगाइदिएर, मालपोत तिरेको छैन भन्यो, सानो निहुँ बनाए, फल्ना तिर्या छैन, फल्ना मुद्दा लाग्यो भनेर अनेक आधारमा जग्गा सिध्याइदिने गर्‍यो। परम्परागत जमिन्दारको जग्गा अपहरण भएको यही विषयलाई आधार बनाएर भवानी भिक्षुले पछि ‘आगत’ उपन्यास लेखेका छन्। त्यो वास्तविक कहानीमा आधारित उपन्यास हो। जोन बेलामा ती जग्गा खोसिने जमिन्दारले भन्छन्– ‘हाम्रो जग्गा यिनीहरूले हरण गरेर हिँडे, यिनको राज पनि कति रहन्छ, हेरुँला।’ भवानी भिक्षुले सात सालतिरको त्यही कथामा आधारित भएर लेखेका हुन्।

निष्कर्षमा के भन्न सकिन्छ भने नेपाली काङ्ग्रेसको नेतृत्वको निर्माण वैचारिक दृष्टिले भारतीय राष्ट्रिय काङ्ग्रेसको प्रभावमा गान्धी र नेहरूको विचारधाराअन्तर्गत नै भयो। गान्धीजस्तै यो पार्टी पनि मूलतः क्रमशः सम्झौतावादी ढंगले अगाडि बढ्छ। तर देशभित्रको कुरा गर्दा यसको नेतृत्व पंक्तिमा कुन वर्गका मानिस थिए भन्ने कुरा महत्वपूर्ण छ। उनीहरू थिए– राणाकै वरिपरि हुर्किएका, राणाद्वारा नै सेवित र पोषित तर राणाको राजदरबारमा भूमिका खोसिएर विदेशिनु परेका खलकका सन्तान। तिनीहरूका छोरा–नातीहरूमध्ये गान्धी र नेहरू विचारधाराबाट प्रभावितहरू अगाडि आए। तर ती अधिकांश ‘एलिट’ नै थिए। उदाहरणका लागि डिल्लीरमण रेग्मी, गणेशमान सिंह, बिपी कोइराला, मात्रिका कोइराला, शुवर्ण शमशेर आदि। काङ्ग्रेसका त्यतिबेलाका सबै नेता वा संस्थापकहरूको ‘बायोडाटा’ हेरियो भने उनीहरूको वर्गस्रोत र वंशस्रोत थाहा हुन्छ।

अनि, काङ्ग्रेस स्थापनाको यो पृष्ठभूमिबाट नै त्यतिबेलाका नेताहरूको तागत पनि बुझिन्छ, कमजोरी पनि थाहा पाइन्छ।

http://nepalkhabar.com बाट साभार