कुनै एक जमाना थियो, जुन वेला प्रचण्ड भारतीय सत्ताधारीहरु विरुद्ध सुरुङ युद्ध गर्नेक्रान्तिकारी योजना पार्टी केन्द्रिय समितिमा पेश गर्दै थिए । जनयुद्ध कै वीचमा ०५७ साल माघ २६ देखि फागुन १ गते सम्म सम्पन्न भएको ऐतिहासिक दोश्रो राष्ट्रिय सम्मेलनमा प्रचण्डले पेश गरेको र सम्मेलनले सर्वसम्मतीले पारित गरेको प्रस्तावमा भनिएको थियो “भारतीय एकाधिकार पूँजीवादी शासक वर्ग नै यस क्षेत्रका आम जनसमुदायको राष्ट्रिय मुक्तिको आकांक्षा र जनवाद स्थापनाका लागि प्रमुख वाधक बनेको छ । भारतीय शासक वर्गले छिमेकी देशहरु प्रति दवाव, हस्तक्षेप, तोडफोडको विस्तारवादी नीति अबलम्वन गर्दै आएको छ ।”
नेपालमा अधुरो जनआन्दोलन र अधुरो जनयुद्धले राजतन्त्रलाई हटाउने महान कार्यमा सफलता प्राप्त गरेपनि यसले नामधारी गणतन्त्रलाई मात्र स्थापना गर्न सकेको छ । यहाँ न त प्रचण्डले प्रस्तुत गरेको उपरोक्त प्रस्तावमा भनिएझैं राष्ट्रिय मुक्तिको आकांक्षा पूरा भएको छ, न त जनवाद नै स्थापना भएको छ । प्रचण्ड बाबुरामले ऐतिहासिक गद्दारी गरेर जनसेना र जनसत्ताको हत्या गरी आत्मसमर्पण गरेर जनयुद्धलाई विचमै तुहाएपछि नेपालको राजनीतिले अकल्पनीय रुपमा कोल्टे फेरेको छ र त्यसकै परिणाम स्वरुप ०६३ देखि शुरु भएको संक्रमणकाल अझै समाप्त हुने लक्षण देखिएको छैन ।
दोस्रो राष्ट्रिय सम्मेलनमा प्रचण्डले आफ्नो प्रस्तावमा लेखेका थिए “यस क्षेत्रको(दक्षिण एशियाको) कुनै एक देशमा मात्र नयाँ जनवादी क्रान्ति पूर्ण रुपमा सफल हुन भारतीय शासकवर्गको फौजी हस्तक्षेप विरुद्ध पनि भीषण राष्ट्रिय मुक्ति युद्ध लड्नु पर्ने देखिन्छ ।” यसैकारण प्रचण्डले नेपाललाई दक्षिण एशियाली स्तरको जनयुद्धको एक आधार इलाकाको रुपमा विकास गर्ने प्रस्ताव सो सम्मेलनमा राख्दै दक्षिण एशियाली स्तरमै क्रान्ति सम्पन्न भएपछि यसलाई २१ औं शताव्दीको नयाँ शोभियत फेडेरेनका रुपमा विकास गर्नु पर्ने प्रस्ताव समेत राखेका थिए र सम्मेलनले यसलाई पनि सर्वसम्मतिका साथ पारित गरेको थियो ।(दस्तावेज संग्रह पृष्ठ ४७३)
तर प्रचण्ड बाबुरामहरुले जनयुद्धको हत्या गर्दै आत्मसमर्पण गरेपछि भने उनीहरुको भारतीय शासकवर्ग संगको सम्वन्धले १८० डिग्री फन्को मारेको छ । जनयुद्ध कालमै भारतीय शासकवर्ग संग रहस्यमय सम्वन्ध राखेर उनीहरुको भूमिगत एजेन्ट बन्ने कामको शुरुवात बाबुरामले गरे । अहिले आएर नेपाली जनताले नै भारतीय साम्राज्यवादको नांगो एजेन्ट बाबुराम भट्टराई रहेछन् भन्न थालिसकेका छन् र बाबुरामको भारतीय दलालपथ उदांगो भएको छ । जनयुद्ध कालमा बाबुरामको पार्टीमा पकड नभएको कारणले गर्दा र वहुसंख्यक कार्यकर्ताहरु माझ उतिवेलै उनी भारतीय एजेन्ट हुन थालेको प्रष्ट भएको हुनाले उनले त्यति वेला शुरुमा पार्टीमा गम्भीर क्षति पुर्याउन भने सकेका थिएनन् । तर क्रमश: बाबुरामले भारतमा रहेका पार्टीका कयौं नेताहरुलाई भारतीय सरकार मार्फत गिरफ्तार गर्न लगाउन थाले । उसमाथि दोष नआओस् भनेर बाबुरामले आफ्ना एक दुई हनुमानहरुलाई पनि गिरफ्तार गर्न लगाए । भारतमा भएका गिरफ्तारीहरु र प्रचण्ड स्वयम्लाई समेत पनि भारतमागिरफ्तार गर्न लगाउने बाबुरामको कोशिस र प्रचण्डका विरुद्ध नै नांगो गुटवन्दी तथा वाहिरै प्रचार अभियान थाले पछि भने प्रचण्डले बाबुरामलाई कारवाही गरेर रोल्पाको जनहिरासत(जेल)मा आलोकलाई जस्तै राखे । सो जेल तोडेर नभागोस भनेर स्वयम् वर्तमान उपराष्ट्रपति तथा तात्कालिन जनसेनाका कमाण्डर नन्द वहादुर पुन पासाङको कमाण्डमा टोली खटेको थियो । त्यतिवेला प्रचण्डले बाबुराम भारतीय एजेन्ट वन्न पुगेको कुरा एक कार्यकर्ता प्रशिक्षणमा भनेको कुराको रेकर्ड नै वाहिर सार्वजनिक भएको थियो र बाबुरामले प्रचण्डलाई राजावादी भनेर आरोप लगाएको कुरा पनि सार्वजनिक भएको थियो ।
बाबुरामलाई जेलमा राखेको केही समय पछि भने प्रचण्ड स्वयम् पनि भारतीय दलाल बन्ने वाटोमा लागे, जसलाई रोक्न हामी केही युवाहरुले गरेको प्रयत्न असफल बन्न पुग्यो, हामी अल्पमतमा पर्न गयौं । प्रचण्ड स्वयम् दिल्ली पुगेर भारतीय खुफिया एजेन्सी प्रमुख संग भेट गरेको कुरा सो भेटको व्यवस्थापन गर्ने कार्यकर्ताहरुवाट थाहा भयो । सोही च्यानल मार्फत प्रचण्डले भारतीय शासक वर्ग समक्ष भित्रि रुपमा आत्मसमर्पण गरिसकेपछि मात्र १२ बुँदे सम्झौता भएको हो । त्यो वेलाको विशिष्ठ परिस्थितिमा प्रचण्डको भारतीय साम्राज्यवादी शासकवर्ग समक्ष भएको आत्मसमर्पण राजनैतिक आवरणले गर्दा जनतावाट छिप्न सम्भव भयो । तर ०६२ देखि अहिले सम्मको अवधीमा प्रचण्डको भारतीय दलालीकरण स्पष्ट हुन थालेको छ ।
संविधानसभाको पहिलो निर्वाचन अगाडि चुनावी खर्चको लागि भनेर भारतीय एजेन्टले करोडौं रुपैया दिएको रहस्य प्रचण्ड र बाबुराम विच विवाद भएपछि बाबुरामले पार्टी केन्द्रिय समितिमा खोलेपछि भने प्रचण्डको भारतीय शासकवर्ग समक्षको आत्मसमर्पण र रहस्यमय सम्वन्ध पार्टी पंक्तिमा अरु थप खुल्न गयो । तर आफुलाई देशभक्त दावी गर्ने मोहन वैद्य र वादलहरुले भने यो कुख्यात आइसी पैसा काण्ड वारे जनतालाई सुसुचित गर्ने दायीेत्व अहिले सम्म पनि वहन गरेका छैनन् ।
०६२ देखि अहिले सम्मको अवधी भनेको प्रचण्ड र बाबुराम विच भारतीय शासक वर्गको एक नम्वरको विश्वासपात्र एजेन्ट वन्ने होडवाजीमा वितेको छ । भारतीय शासकवर्गले यी दुबैलाई खेलाई रहेको छ र आफ्नो दुनो सोभm्याइ रहेको छ । यी दुईले भने भारतीय शासकवर्गले आफुलाई पत्याएर सत्तामा पुर्याओस भनेर भारत विरुद्ध वेला वेलामा घुर्कि पनि देखाउने गरेका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा हटाउन र आफ्नो दललाई दोश्रो संविधानसभाको चुनावमा हराउन सघाएको आरोप लगाउँदै प्रचण्डले केही समय भारतको विरुद्ध घुर्कि देखाए । संविधान घोषणा नगर्न भारतीय शासकवर्गले दिएको नांगो दवावका विरुद्ध अडान लिएर संविधान घोषणा गर्न कांग्रेस एमालेलाई पनि सघाए तथा भारतीय नाकावन्दी विरुद्ध ओली सरकारलाइ सहयोग पनि गरे । तर जब भारतीय शासकवर्गले ओली सरकारलाई जसरी भएपनि ढाल्ने निर्णय गर्दै प्रचण्डलाई प्रधानमन्त्रीको लोभ र साथै यस कार्यमा साथ नदिए अख्तियार लगाइदिने वा अन्तराष्ट्रिय अदालतमा उभ्याइदिने डर देखाउन थाल्यो, तव भने प्रचण्डको नाडि गल्यो र पुन: भारतीय शासकवर्गको नांगो एजेन्ट वन्ने प्रतिवद्धता जनाउँदै ओली सरकार ढालेर अहिले प्रधानमन्त्री वनेका छन् । क्रमश: घटनाक्रमले प्रचण्ड पतनको बाटोमा लाग्दै गरेको पुष्टि हुन थालेको छ ।
एमाले कै समर्थनमा प्रचण्ड प्रधानमन्त्री वन्न सक्दथे र ओली प्रधानमन्त्री भए पछि चुनावहरु गराएर संविधान कार्यान्वयन गरिसक्नु पर्ने अन्तिम मिति अर्थात ०७४ माघ सम्मको अवधीलाई एमाले र माओवादीले आधा आधा वाँडेर ओलीलाई आधा समय प्रधानमन्त्री वन्न दिई त्यसपछि को आधा समय प्रचण्ड प्रधानमन्त्री वन्न पाउँथे । सो आधा समय भनेको अहिले कांग्रेस संग सम्झौता गरिएको भन्दा लामो र वजेट वनाउन तथा चुनाव गराउन पाउने समय हुने थियो । तर प्रचण्डले भारतीय शासकवर्गको धम्कि र आश्वासनका सामु आत्मसमर्पण गरि भूतले खाजा खाने नौ महिने अवधी अर्थात न त वजेट वनाउन पाउने, न त चुनाव नै गर्न सम्भव हुने समयमा प्रधानमन्त्री हुने निर्णय लिए ।
अब केही समय पछि प्रचण्ड भारत भ्रमणमा जाँदैछन् । उनले विशेष दूत मार्फत भारतीय प्रधानमन्त्रीलाई पठाएको पत्र र मौखिक सन्देशमा नेपालको संविधान भारत संग समझदारीमा संशोधन गर्ने प्रतिवद्धता जनाएको खवर सार्वजनिक भैरहेका छन् । उनले सो पत्रलाई सार्वजनिक गर्ने हिम्मत नगर्नुले उनेको दलालपथ थप प्रष्ट भएको छ । प्रचण्डले भारत भ्रमणको तयारी शुरु गरेका छन् । उनको यो भ्रमणमा नेपालको संघिय सीमांकन र मधेशी समस्या समाधानको विषय नै मुख्य विषयवस्तु हुने निश्चित छ । प्रचण्डले भारतलाई खुशी वनाउन अन्य नदि नाला र प्राकृतिक श्रोतहरु भारतलाई दिने विषय पनि समावेश हुन सक्नेछ र चीनसंगको नेपालको विकसित हुँदै गरेको सम्वन्ध पनि प्रचण्ड र मोदीको वार्ताका विषय हुनेछन् । प्रचण्डले भारतीय शासक वर्ग संगको आत्मसमर्पणलाई राजनैतिक जालीझेली शब्दले ढाकछोप गर्न कोशिस गर्नेछन् । तर उनले सोच्नुपर्ने मूख्य विषय भनेको नेपालमा आगामी केही समय पछि हुन सक्ने तेश्रो जनआन्दोलन र दोश्रो जनयुद्धले प्रचण्ड बाबुरामहरुले गरेका भारतीयको दलाली र जनयुद्ध तथा जनआन्दोलनको हत्यालाई कसरी लिनेछ भन्ने हो । यसपटकको भारत भ्रमणमा प्रचण्डलाई देशभक्तिको अडान लिएर भारतीय एजेन्टको विगतवाट पश्चाताप सहित सच्याउन पाउने अवसर पनि छ । प्रचण्डले के गर्छन् त्यो केही हप्ता पछि प्रष्ट हुनेछ ।
http://www.drishtinews.com बाट साभार
No comments:
Post a Comment