आजभोलि प्रधानमन्त्री नाकाबन्दी र कालोबजारीपीडितका पक्षमा एक वाक्य खर्चिदैनन्
लगभग एकै साल कम्युनिस्ट सदस्यता प्राप्त गरेका र आजीवन कम्युनिस्ट बनेका दुई भेट्रान कम्युनिस्ट नेता शक्ति लम्साल (१९९३–२०७२) र खगुलाल गुरुङ (१९७५) सँग सम्बन्धित छुट्टाछुट्टै कार्यक्रम गत साता राजधानीमा सम्पन्न भए । यस्ता कार्यक्रम आयोजना हुनु पुराना कम्युनिस्ट नेताहरूको जीवनी र योगदान नयाँ पुस्तामा सम्पे्रषण गर्ने जमर्कोको अर्थमा बुझ्न सकिन्छ ।
२००९ सालमा हातको बुढी औँला काटेर रगतले सहीछाप गरेर रमेश विकलसामु कम्युनिस्ट पार्टीको सदस्यताको फारम भरेका, २०१० सालमा पार्टीका तत्कालीन महासचिव पुष्पलाल श्रेष्ठबाट सदस्यता प्राप्त गरेका र परीक्षण काल भनेर दोलालघाट कोसीमा पटकपटक चोबलिएका शक्ति लम्साल ।
कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशन (२०१०) का प्रतिनिधि, चर्चित दरभंगा प्लेनम (२०१८) मा सहभागी, तेस्रो (२०१९) र पाँचौँ महाधिवेशन (२०४१) का प्रतिनिधि शक्ति लम्साल जीवनको अन्तिम कालसम्म माओवादीको केन्द्रीय सल्लाहकार रहे । उनको लामो कम्युनिस्ट जीवन पढेर नयाँ पुस्तामा कम्युनिस्ट आन्दोलन पुर्याउने ऊर्जा बन्न सक्छ कि सक्दैन होला ? शक्तिको जीवनबाट सिक्ने चुरो यही हो ।
निर्माण दैनिक, योजना र जनादेश साप्ताहिक पत्रिकाका सम्पादक शक्ति, प्रलेस, जनपक्षीय पत्रकार संघ, पत्रकार महासंघ र जनसाँस्कृतिक संघ जस्ता पेसागत संस्थाका गतिशील नेता । २०१८ साल (१८ महिना) मा पहिलोपटक र त्यसपछि पटकपटक मुख्यतः जनयुद्धकालमा हिरासत र जेल बसेका शक्ति लम्साल अटुट निष्ठा, निरन्तर संघर्षशील र व्यवहारमा सादगी जीवनका उत्कृष्ट उदाहरण हो, जो बाँचेका कम्युनिस्टहरूका लागि प्रेरणा हुन् तर पछिल्लो समय शारीरिक रूपमा निकै थलिए उनी । त्यतिबेला हामीमध्ये कतिले उनको स्वास्थ्य, सिर्जना र इतिहासप्रति कति चासो र खोजीको काम ग-र्यौँ ? यो विषय उनीप्रति न्याय गर्ने सन्दर्भसँग मात्र जोडिँदैन कि उनको योगदान र शिक्षा पछिल्लो पुस्तामा स्थानान्तरण गर्ने कामसँग पनि जोडिन्छ ।
पुराना कम्युनिस्ट नेता, चर्चित पत्रकार एवं स्थापित प्रगतिशील लेखक शक्ति लम्साल अघिल्लो महिना बिते । उनकै सम्झनामा प्रगतिशील लेखक संघ (प्रलेस) ले अघिल्लो शनिबार सार्वजनिक कार्यक्रम गरेर उनको व्यक्तित्व र कृतित्वबारे छलफल गर्यो तर प्रलेसजस्तो सम्पूर्ण वामपन्थीहरूको साझा संस्थाले शक्तिजस्तो बहुआयामिक व्यक्तिको सम्झनामा आयोजित कार्यक्रममा मुस्किलले तीन दर्जन मात्र सहभागी हुनु राम्रो संकेत होइन ।
यद्यपि सहभागी थोरै वा धेरै हुनु विषय टिप्पणी योग्य नहुन सक्छ, तर प्रलेसले आयोजना गरेको कार्यक्रम मात्रा र गुण दुवै कोणबाट अपेक्षित हुन्छ तर उपस्थिति र विषय प्रस्तुति दुवै कोणबाट कार्यक्रम त्यति फराकिलो र आकर्षक बन्न सकेन ।
पुराना पुस्ताका नेताहरू जो पद, पैसा र प्रतिष्ठा भन्दा मूल्य, मान्यता र नैतिकतालाई निरन्तर जीवनमा प्रयोग गरे उनीहरूबारे अर्को पुस्तालाई पढाउने र सिकाउने सन्दर्भ मुख्य पक्ष हो । यस्ता र अरू पनि कार्यक्रम व्यापकतामा लैजान र फैलिन नसक्नुका कारण अब पनि खोजी गरिएन भने बोर्ड र माइनोटमा सीमित हुने खतरा वामपन्थी लेखकहरूको अगाडि उभिएको चुनौती ठान्नुपर्छ ।
१९७५ सालमा प्युठानमा जन्मिएका खगुलाल गुरुङ जीवनका ९८ वसन्तमा यात्रारत छन् । यो उमेरसम्म बाँच्नु बिरलै सन्दर्भ मात्र होइन कि स्वयं व्यक्तिका लागि अनुपम अवसरसमेत हो । यस अर्थमा गुरुङ ज्येष्ठ नेपाली नागरिकका साथसाथै सबैभन्दा जेठा कम्युनिस्ट सदस्य हुन् । यो गौरवपूर्ण अवसर धेरैलाई उपलब्ध हुँदैन, जुन उनलाई भयो ।
तर पनि उनलाई धेरै कम्युनिस्ट पार्टी र सदस्यहरूले चिन्दैनन् । इतिहासमा खासै योगदान नगरेकाले नचिन्ने सन्दर्भ सामान्य हुन सक्थ्यो तर उनको इतिहास सामान्य खालको छैन । विडम्बना स्वयं कम्युनिस्टहरूले चिन्दैनन् किन ? धेरै मध्येको एउटा कारण कम्युनिस्ट पार्टीहरू टुक्राटुक्रामा विभाजित हुनु र एउटा समूहले अर्कोलाई स्वीकार नगर्नु वा सम्मानको नजरले नहेर्नु अथवा बुझ्ने कोसिस नगर्नु भन्न सकिन्छ ।
नसुन्ने र शारीरिक रूपमा हिँड्डुल गर्न नसक्ने भए पनि उनको बोली प्रस्ट मात्र छैन कि कमान्ड आज पनि उत्तिकै शक्तिशाली छ । ९८ वर्षको उमेरको बोली त पहरा धर्काउने खालको छ भने युवा अवस्थामा कस्तो थियो होला उनको कासन ? उनको अभिनन्दन कार्यक्रममा जनसरोकार र चासोका विषयमा उनले जेजसरी बोले, त्यसबाट प्रस्ट हुन्छ कि उनी जनतासँग जोडिएका जनप्रिय नेता हुन् ।
सायद जनताको मायासँगै बस्ने र बाँच्ने तरिकाले होला यति लामो समयसम्म जीवन पाएको । जसलाई भावनात्मक रूपमा जनताको वरदान भन्न सकिन्छ । उनको जीवनका उकाली, ओराली र घुम्तीहरू पनि त्यतिकै लामो तर जनतासँग अभिन्न रूपले जोडिएको देख्न सकिन्छ ।
२००७ साल उनको जीवनको निकै महत्वको वर्ष थियो । राणाविरोधी कांग्रेसको नेतृत्वको सशस्त्र संघर्षमा खगुलाल मुक्ति सेनाका कमान्डर थिए । उनकै नेतृत्वमा मुक्ति सेनाले सल्यान र दैलेख कब्जा गरेको र बाँके कब्जामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । आपूmले बनाएको मुक्ति सेनाका कमान्डर खगुलाललाई कांग्रेसले कसरी सम्झन्छ कुन्नि ?
इतिहासमा कतै नाम र भूमिका उल्लेख भएको पाइँदैन । ३०/३२ वर्षको लोर्के युवाले के सोचेर बन्दुकको मोहरीसँग जीवनलाई हिँडायो होला ? राणाशासन फाल्ने, गणतन्त्र ल्याउने र देशलाई मुक्त गर्ने उदात्त सोच सामान्य होइन, तर परिणाम सामन्तवाद पुनस्र्थापित गर्ने सम्झौतामा टुंगियो र आजसम्म पनि हामी त्यही सम्झौताको वरिपरि परनिर्भर भएर फन्का मार्दै छौँ ।
२०१० सालमा प्युठानमा कम्युनिस्ट पार्टी स्थापना गर्दा उनी संस्थापक सदस्य, त्यसलगत्तै चलेको राजनीतिक र फौजी शिविरमा उनी फौजी तालिम दिने कमान्डर बने र आजसम्म कम्युनिस्ट पार्टीमै गौरवका साथ आफ्नो सापेक्षतामा गतिशील छन् ।
असली कम्युनिस्टले सशस्त्र संघर्षद्वारा पुरानो सत्ता फाल्ने र नयाँ जनवाद ल्याउने सपनका खातिर हजारौँ कम्युनिस्टहरूको सहादत र सशस्त्र संघर्षपछि पनि सपना साकार हुन सकेको छैन । तैपनि उनले संसदीय नै भए पनि गणतन्त्र देख्न पाए । गणतन्त्र देखेको सन्दर्भमा उनी आँखा रसिलो बनाउँदै गौरवको अनुभूति पोख्छन् ।
२०१५ सालको संसदीय निर्वाचनमा खगुलाल त्यतिबेलाको निर्वाचन क्षेत्र नं ८४ (प्युठान मध्य–पूर्व) बाट कम्युनिस्ट पार्टीको उम्मेदवार बने र १६७३ मतसहित तेस्रो स्थान हासिल गरे । संसदीय निर्वाचनमा कम्युनिस्टले बुर्जुवाहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने एउटा प्रतिकूलता भने कम्युनिस्ट पार्टीको प्रभाव जनस्तरसम्म कमजोर हुनु अर्को प्रतिकूलता ।
सायद यसबाट शिक्षा लिएर उनी प्युठान र रोल्पा (थवाङ) सम्म कम्युनिस्ट संगठन मुख्यतः किसानहरूलाई संगठित गर्ने अभियानमा लामो समय लागे । त्यसैको परिणाम, जनताको विश्वास र दबाब नारीकोट गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित भए तर पञ्च भएर होइन । सायद यसैको जग होला आज पनि प्युठान र रोल्पा वामपन्थीको गढ बनेर उभिएको छ ।
चुनावी रूप पक्षबाट मात्र हेर्दा पनि पहिलो, दोस्रो र तेस्रो स्थान वामपन्थी दलको नै देखिन्छ भने नेता–कार्यकर्ता उत्पादनको कोणबाट कारखाना नै साबित भएको छ । कम्युनिस्ट आन्दोलनका भेट्रानहरू मोहनविक्रम, मोहन वैद्य र वामदेवलगायत सयौँ नेताहरू वामपन्थी आन्दोलनले प्युठानबाट प्राप्त गरेको छ ।
प्रायः सबै कम्युनिस्ट समूह उपस्थित भएको खगुलालको अभिनन्दन कार्यक्रमका मुख्य मान्छे प्रधानमन्त्री केपी ओली थिए । अहिलेको संकटपूर्ण अवस्थामा देशको कार्यकारी कम्युनिस्ट प्रधानमन्त्रीले के बोल्छ होला ? भने जिज्ञासासहित पंक्तिकार पछाडि कोचिँदै उभिएको थियो । तर आशा पूरै चिसो पानी खन्याएजस्तै निराशा भयो । उनको अभिव्यक्तिमा न कुनै गम्भीरता न कुनै सन्देश, न कुनै निर्णय न त कुनै योजना, मात्र शून्यता । उडन्ते ठट्टा र घोचपेच (गाली) मा सीमित ओलीको भाषण ठ्याक्कै टेली सिरियलको धुर्मुसको जस्तै ।
आशा थियो, ओलीले कम्युनिस्ट विचार, कार्यक्रम र कार्यान्वयन, सिद्धान्त, विकास र प्रयोग एवं कम्युनिस्ट नैतिकता, आचरण र दैनिकीबारे गम्भीर ढंगले विषय राख्नेछन् तर उनी त्यतातिर प्रवेशै गरेनन् । विश्वास थियो, देश परनिर्भरताको संकटमा फसेको सन्दर्भमा ओलीले नाकाबन्दी, कालाबजारी, निकै कष्टकर बनेको जनजीवन र तराई आन्दोलनबारे दीर्घकालीन र तत्कालीन योजना र प्रक्रिया बोल्नेछन् तर उनले त्यतातिर एक वाक्य पनि खर्चेनन् ।
भ्रष्टाचारमा डुबेको हाम्रो राज्य र अख्तियारको पत्र, भेडीगोठजस्तै उपप्रधान र मन्त्रीको संख्या र सरकारको कामको गतिशून्यताबारे केही समीक्षा र केही आत्मालोचनाको सन्देश बोल्लान् भन्ने थियो, तर उनले यसबारे एक वाक्यसमेत उच्चारण गर्न सकेनन् । ओलीको तरिका र बोली विचित्रको ।
ओली बोल्दै थिए– झापाको उग्रता गल्ती थियो । सीपी, मोदनाथ र विष्णु पौडेलहरूले उग्रपन्थी गल्ती गरेर जेलबाट भागे र थप गल्ती गरे भन्दै इतिहास र सहयोद्धाप्रति पटाक्ष मात्र गरेनन् कि आफूले उग्रपन्थी गल्ती नगरेकाले जेलबाट नभागेको दलिलसमेत पेस गरे । उग्रताबाट बच्नुपर्छ भन्दै गर्दा अर्काथरी साथीहरूले उग्रता ग्वाम्मै चाख्न खोजेर अर्को गल्ती गरेको भन्दै माओवादी मुख्यतः आडैमा बसेका प्रचण्डलाई घोचे । कम्युनिस्टहरू जसरी पनि सरकारमा जाने हो तर अर्काथरी कम्युनिस्ट साथीहरू सरकारमा जानु हुन्न भनेर अलगै बसेका छन् भन्दै मोहन वैद्यलाई चिमोटे । हामी कस्ता कम्युनिस्ट भने यत्रो कार्यक्रमको अध्यक्षता गर्ने मान्छे नै बेला न कुबेला पछाडि लुक्नुपर्ने ।
आपूmले ऊ त्यो कुनामा छ भनेर देखाउन नमिल्ने भन्दै मोहन विक्रमलाई खुइल्याएर भाषण सके र हिँडे । ओली एमालेको अध्यक्षका रूपमा मात्र बोलेको भए ओलीको बेहोरा भनेर चित्त बुझाउने स्थिति बन्थ्यो तर उनी त कम्युनिस्ट प्रधानमन्त्रीको रूपमा बोल्दै थिए । कम्युनिस्टहरूको ताल ओलीको जस्तै हुने हो भने भविष्य के होला ? एकाध चुनाव त जितिएला वा अर्को कम्युनिस्ट नेता प्रधानमन्त्री र कयौँ मन्त्री पनि भइएला, तर मुलुक स्वाधीन र समृद्ध बन्ने एवं जनतासुखी हुने सम्भावना कति रहला ? मुलुकको यो गौरव हाम्रो पुस्ताले देख्न पाउने सम्भावना हाम्रै कारणले निकै कम छ ।
लोभ, सुख र व्यक्तिगत सम्मानलाई त्यागेर निरन्तर जनपक्षीय विचार, संगठन र संघर्षमा समर्पित शक्ति र खगुलाल । एकातिर मूल्यको इतिहास र नैतिकवान् त्यो पुस्ताका यी पात्र अर्कोतिर गतिहीन वर्तमान र उपभोक्तावादी आजको पुस्ता निकै बेमेल देखिन्छ । आशंका बाक्लिएको छ, हाम्रा छोरा पुस्ता कम्युनिस्ट आन्दोलनमा लाग्छन् कि लाग्दैनन् होला ? लाग्दा किन लाग्ने ? भविष्यको प्रश्न गम्भीर छ ।
कम्युनिस्टहरूको जीवन, व्यवहार र परिणाम हेरेर वा सामाजिक रूपमा कम्युनिस्ट आदर्श, नैतिकता र मूल्य देखेर वा आफ्ना कम्युनिस्ट आमाबुबाले छोराछोरीका लागि गर्न नसकेको योगदान बेहोरेर हाम्रा छोरा पुस्ता कम्युनिस्ट आन्दोलनमा कति आकर्षित होलान् ? हाम्रो जीवन, अभिव्यक्ति र कार्य वर्तमान एवं भावी पुस्ताका कम्युनिस्टहरूका लागि ज्ञान, प्रेरणा र हौसला मात्र होइन, अनुशरणयोग्यसमेत बनाउन सक्ने कि नसक्ने ? यो नै सबै वामपन्थी शक्तिहरूको आजको खास चुनौती हो कि ?
http://www.annapurnapost.com बाट साभार
No comments:
Post a Comment