एमाओवादीबाट बाबुराम भट्टराईको बाहिर्गमनपछि नेकपा (क्रान्तिकारी माओवादी) सँगको एकताको बाटो खुला भयो भन्ने हल्ला छ । ठीक यही समयमा प्रचण्डले आफ्नो केन्द्रीय समितिको बैठकमा २७ पृष्ठ लामो राजनीतिक एवं संगठनात्मक प्रस्ताव पेस गर्दै भनेका छन्, ‘क्यान्सर झैँ पैmलिएको गुटबन्दी, अराजकता, व्यक्तिवाद जस्ता गैरसर्वहारा आचरण र कार्यशैली हटाउन आज पार्टीमा ठूलो शल्यक्रियाको खाँचो छ (पृष्ठ– १, प्यारा– ३) ।’
एमाओवादीमा क्यान्सर लागेको उद्घाटनसँगै नेकपा (क्रान्तिकारी माओवादी) मा क्यान्सर छ कि छैन भन्ने जिज्ञासा मात्र जन्मिएको छैन, आकाशबेली झैँ क्यान्सर फैलिएको एमाओवादीसँग एकता गरेर एकीकृत क्यान्सरविरुद्ध लड्ने वा एक्लै किमो लगाएर स्वस्थ बन्ने भन्ने चुनौती उपस्थित भएको छ । यद्यपि २७ पृष्ठ लामो प्रचण्ड प्रस्तावमा पार्टी एकताको मूर्त प्रस्ताव समावेश नहुनुको अर्थ माओवादीहरूसँगको एकतालाई खास महत्व दिन जरुरी छैन भन्ने संकेत र सन्देश दिन खोजेको बुझ्न सकिन्छ ।
यता नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष किरणले सिद्धान्तको बलि चढाएर एकता हुन सक्दैन भन्दै एकताको सर्त वा आधार वैचारिक, राजनीतिक एकरूपतामा खोज्ने धारणा सार्वजनिक गर्दै गर्दा तत्काल एकता प्रचारमा मात्र सीमित हुने सम्भावना पनि उत्तिकै देखिन्छ । यसको निष्कर्ष के हुन्छ भने माओवादीहरू थप कमजोर हुन बाँकी छ । अन्तिम ढंगले कमजोर अवस्थामा नपुगुन्जेल नवसंशोधनवादी र जड्सूत्रवादीको दोहोरी चलिरहनेछ ।
देश थप पराधीन भयो, स्वाधीनताको लागि एकता । जनताको दैनिकी अरू कष्टकर बन्यो, जनजीविका हल गर्नका लागि पार्टी एकता । हाम्रो वर्ग दलाल नोकरशाही सत्तामाथि विजयी बन्न सकेन, वर्गीय हितलाई केन्द्रमा राखेर एकता जस्ता विषय गौण बनेकै छन् । दुःख पाइयो, हैरान भइयो, कसैले टेर्दैनन्, अख्तियार र हेगले तर्साउँछ जस्ता आधारमा गर्न खोजिएको पार्टी एकताको प्रचार दाउपेचमा मात्र सीमित हुन्छ नै । देश, जनता र कार्यकर्ताका लागि माओवादी आन्दोलनको एकता र सुदृढीकरण जरुरीको विषय हो, तर यी पक्ष निर्णायक बनाएर केन्द्र भागमा राखिँदैन ।
जब पार्टी एकता वा विभाजन सीमित नेताहरूको केन्द्रीय स्वार्थको विषय बनाइन्छ तब एकताको वैचारिक, राजनीतिक आधार कमजोर हुँदै जान्छ । त्यसो त भित्र र बाहिरको लाभको पदलाई केन्द्रमा राखेर एकताको नाममा लम्पसार पर्ने एउटा पंक्ति वैद्य माओवादीभित्र छट्पटाइरहेको देखिन्छ भने प्रचण्ड माओवादीभित्र लाभको पद र गुटमा चुर्लुम्म डुबेकाहरूको एउटा तप्का एकता हुन नदिन हात धोएर लागेको पनि सतहमै देखिन्छ । दुवै समूहको यो तप्का अपारदर्शी र पदको लोभीको रूपमा बद्नाम छ । कम्युनिस्ट पार्टीको एकता वा फुटमा तलबाट उठ्ने विषय वा दबाब निर्णायक नबन्ने विगतको कटु अनुभवलाई बीचमा टुसाएका यस्ता विषय र प्रसंगले कस्तो प्रभाव पर्ने हो ? हेर्न बाँकी छ ।
जेठ २५ को सोह्रबुँदेअघि दुई माओवादीबीचको एकता निश्चित भनेर ढोल पिटिएको थियो तर प्रचण्डको दोहोरो चरित्र (एकता र सोह्रबुँदेविपरीत विषय एकै समयमा अघि बढाएर पार्टी एकताभन्दा सोह्रबुँदेलाई प्राथमिकतामा राखेका थिए) र किरणहरूले सोह्रबँुदेको सुइँकोसम्म नपाउने भोलापनकै कारण एकता भाँडिएको थियो । आज एमाओवादीबाट बाबुराम बाहिरिनेबित्तिकै एकताको हल्ला बढ्नुमा कुन ग्रन्थि र रसायनले काम गरेको छ ? सबै माओवादीले खोज्नुपर्ने चुरो विषय यही हो ।
जे–जे कारणले भए पनि माओवादी आन्दोलन दिशाविहीन बनेको र दिनानुदिन प्रतिकूलतातिर धकेलिएको यथार्थ सबै माओवादी समूह मुख्यतः एमाओवादी र क्रान्तिकारी माओवादीले भित्रैदेखि महसुस गर्ने हो भने दुई पार्टीबीच एकताको आधार बन्न सक्ने देखिन्छ । सिद्धान्तमा मालेमावाद र बल प्रयोग स्विकार्नु, संगठनात्मक विधिमा अभिव्यक्तिमा स्वतन्त्रता र कामकारबाहीमा एकरूपतासहितको जनवादी केन्द्रीयता एकताका समान आधार हुन् ।
प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा क्रान्तिकारी शक्ति भनेर आपूmसहित सबै माओवादी समूहलाई सम्बोधन गर्नु (पृष्ठ– १७) र प्रधान अन्तरविरोध ‘भारतीय एकाधिकार पुँजीवादद्वारा पालित, पोषित र संरक्षित दलाल, नोकरशाही पुँजीपति र सामन्त वर्गविरुद्ध आम नेपाली जनताको अन्तरविरोध नै प्रमुख अन्तरविरोध (उही)’ का रूपमा उल्लेख गर्नु एकताका थप समान आधार मान्न सकिन्छ । तर प्रचण्डले प्रस्तावमा एकता र सहकार्य भावी विभिन्न तहका निर्वाचन (पेज– १८) लाई केन्द्रमा राखेको संकेत गरेका छन् । यो संकेतले पार्टी एकताका दुइटा प्रतिकूलतालाई एकैपटक सतहमा उतारिदिएको छ ।
राज्यसत्ताको चरित्र अलिकति पनि नफेरिएको एवं सुधारिएको संसदीय गणतन्त्रात्मक व्यवस्था (सन् १९११ को चीनको जस्तै मात्र) अन्तर्गत हुने निर्वाचनलाई कार्यनीतिक अर्थमा उपयोग गर्ने वा रणनीतिक रूपमा अँगाल्ने भन्ने पहिलो र दोस्रो, एउटाले प्रतिगामी संविधान भनेर च्यात्दै हिँड्ने र अर्कोले संविधानलाई युगान्तकारी परिवर्तन भनेर महिमा गीत गाउनेबीचको एकताको आधार कसरी बन्न सक्छ ? प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको आधा हिस्सा (औपचारिक रूपमा पृष्ठ ५ देखि १४ सम्म र अन्यत्र पनि कैयौँ प्रसंगमा) संविधानको महिमामा खर्चिएको सन्दर्भले एकता यता होइन अन्यत्रै भन्ने संकेत गरेको पनि बुझ्न सकिन्छ ।
यो बुझाइ र प्रस्तुतिले एमाओवादीलाई ४७ सालको कांग्रेस र एमालेको ठाउँमा पुर्याउने खतरा बढेको छ । ४७ सालको संविधान संसारकै उत्कृट भनियो, तर त्यो संविधानले हाम्रो देशको समस्या हल गरेन । आज ७२ सालको संविधानलाई एमाओवादीले दक्षिण एसियाकै र कतिपय सन्दर्भमा विश्वकै अग्रगामी (पृष्ठ ६ को बुँदा ४ र ५) भनेको छ, तर बिडम्बना संविधान घोषणासँगै देश भयंकर द्वन्द्वतिर धकेलिएको छ ।
नेपाली समाजको वर्ग–विश्लेषण र कार्यदिशाको बहस पनि विशेष महत्वको छ । प्रतिगामी, प्रतिक्रियावादी र घोर सुधारवादीहरूको स्वार्थ र संख्यामा ल्याइएको संविधान र यसले बोकेको संसदीय गणतन्त्रलाई नै पुँजीवादी क्रान्ति ठान्ने र अबको दिशा समाजवाद भन्ने एउटाको विश्लेषण छ भने अर्कोको साम्राज्यवाद/विस्तारवाद अरू शक्तिका साथ आएको र सामन्तवादको उपरी संरचना बदलिए पनि आधार उस्तै रहेको अवस्थामा पुँजीवादी क्रान्तिको कार्यदिशा पूरा नभएको विश्लेषण एकतासँग बाँझिने देखिन्छ ।
यद्यपि राज्य र समाजमा राजनीतिक हिसाबले केही न केही परिवर्तन आएको स्विकार्ने किरण र जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादतिर जाने प्रचण्ड बीचमा इमानदार एकताको प्रयत्न भएमा अध्ययन, बहस र निष्कर्ष एकता अनुकूल निकाल्न सकिने आधार बन्न सक्छ ।
‘सामान्य अवस्थामा नवसंशोधनवादसँग एकता हुँदैन तर आजको अवस्था विशिष्ट हो । आधारभूत विषय मिल्दा अरू विषयमा बहससहित एकता विशिष्ट अवस्थाको बाध्यता बन्न सक्छ’ भन्ने नेकपा (क्रान्तिकारी माओवादी) को विश्लेषण माओवादी आन्दोलनको पुनर्गठनको जिम्मेवारी बोधको रूपमा बुझ्नुपर्दछ न कि हतारोको रूपमा ।
यसको मर्म भनेको पार्टी एकता आगामी दिशा र कार्यक्रमलाई प्रमुख एवं विगतका कमीकमजोरीको समीक्षालाई सहायक बनाएर जाने विश्लेषण नै एकताको पहिलो र बलियो आधार हो । तर एमाओवादीको जारी केन्द्रीय समितिको बैठकमा प्रस्तुत प्रचण्डको प्रस्तावले पार्टी एकतालगायत अन्य विषयमा आवश्यकतालाई सम्बोधन गर्ने ढंगले आएको देखिँदैन ।
अनगिन्ती उकुसमुकुस, अस्तव्यस्तता र विशृंखलता (लय नभएको) पार्टी र स्वयं प्रचण्ड देखिन्छन्, जुन प्रस्तावको संरचना, विषय र प्रस्तुतिले पुष्टि गर्दछ । गन्ती गर्नै कठिन शीर्षक र उपशीर्षक एवं बुँदा र उपबुँदामा प्रस्तुत गरिएको प्रस्तावमा सबै जबसहरूले आफ्नो फेसबुक पेजमार्पmत अपलोड गराउने (पृष्ठ– २६, बुँदा– ९) भन्ने विषयबाहेक खास नयाँ विषय केही छैन ।
भिन्न सन्दर्भ र शीर्षकमा विगत एकदसकदेखि स्वयं प्रचण्डले यिनै विषय लिखित वा मौखिक प्रस्तुतिको रूपमा राख्दै आएका हुन् तर आजसम्म पनि पार्टी माओवादी पार्टीजस्तो भएन ? किन गुटैगुट र सर्वहारा अन्तर्वस्तुबाट पार्टी, नेता र कार्यकर्ता च्युत भए ? सायद यसैलाई क्यान्सर भनिएको होला, जुन एकदसक लामो भइसक्यो । यसलाई किमोले पनि मार्न सक्दैन । निष्कर्ष के निस्कन्छ भने एमाओवादीभित्रको क्यान्सर अन्तिम चरणको हो । यसको विकल्प मृत्युबाहेक अर्को हुँदैन । आखिर अवस्था यस्तै हो त ?
अलिकति स्विकारेको तर आपूm चोखैजस्तो, पार्टी यो हालतमा पुग्नुमा बाबुराम र अन्य गुट दोषी तर आपूm बचाउने प्रयत्नमा निरन्तर लागेजस्तो भावको प्रस्तावले फेरि पनि पन्ध्रबुँदे आचारसंहिता (पृष्ठ– २०), बाईसबुँदे शुद्धीकरण (पृष्ठ– २१) र अनगिन्ती बुँदाको प्राविधिक पक्ष र आगामी योजना विगतजस्तै कागतमा सीमित हुने पक्का छ । यसको अर्थ एमाओवादी (अरू समूहमा पनि) कथनी र करणी, सिद्धान्त र व्यवहार एवं लिखित प्रस्ताव र दैनिकीका बीचको बेमेल नै समस्याको चुरो हो भन्ने स्वीकार्य प्रचण्ड र उनले प्रस्तुत गरेको प्रस्तावमा किन भेटिँदैन ?
प्रस्तावको धेरै ठाउँमा प्रत्यक्ष वा परोक्ष प्रचण्डले आपूmलाई हिरोको रूपमा प्रस्तुत गरेका छन् । ‘संविधानसभाबाट संविधान घोषणा गरियो । यस सन्दर्भमा पार्टी नेतृत्वदेखि सिंगो पंक्तिले गम्भीर मेहनतका साथ खेलेको नेतृत्वदायी भूमिकाका कारण जनतामा राजनीतिक रूपले पार्टीप्रतिको आकर्षण र विश्वास बढाएको छ (पृष्ठ– ५)’ र ‘भूकम्पले निम्त्याएको संकटको घडीमा जनतासँग एकाकार हुने, उद्धार र राहत कार्यमा सक्रिय सहभागी बन्ने तथा मुख्यतः राष्ट्रिय एकता र संकल्पका साथ अगाडि बढ्न संसद्भित्र र बाहिर पार्टी नेतृत्वका तर्फबाट खेलिएको भूमिकाले पार्टीप्रति जनतामा अत्यन्तै सकारात्मक सन्देश प्रवाहित गर्यो (पृष्ठ– १५)’ जस्ता आत्मप्रशंसा धेरै ठाउँमा उल्लेख छ ।
प्रचण्डभित्रको यो प्रवृत्ति नयाँ होइन, जुन प्रस्तावको शीर्षक ‘माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका चुनौतीहरूको सामना गर्न एकजुट होऔँ ! रूपान्तरणसहित पार्टी पुनर्निर्माणको अभियानमा दृढतापूर्वक अगाडि बढौँ’ भन्ने शीर्षकसँग बाँझिएको त छँदै छ, सँगै बाबुरामसँग जोडेर गरिएको ‘इतिहासको निर्माता र प्रेरक शक्ति जनता र सामूहिकतालाई होइन, व्यक्ति वा कुनै महापुरुषलाई ठान्नु पुँजीवादको चरित्र हो (पृष्ठ– ४) ।’ विश्लेषणसँग मेलसमेत खाएको देखिन्छ । यो पार्टी बनाउने तरिका हुँदै होइन ।
प्रस्तावमा उल्लिखित वर्ग विश्लेषण त यति लहडी र सतही छ कि ‘सहरमा घरघडेरीको व्यवसाय गर्ने तथा दुई वा सोभन्दा बढी घर बनाई बहालमा दिनेहरू राष्ट्रिय पुँजीपति वर्ग (पृष्ठ– १६), वैदेशिक रोजगारवाला महत्वपूर्ण मित्रशक्ति (उही)’ भन्ने विश्लेषणका आधारमा वर्ग दृष्टिकोण, कार्यदिशा र कार्यक्रम जस्ता पक्षलाई भौतिक शक्तिको रूपमा बदल्ने पार्टी संगठन क्यान्सरसँग लड्ने गरी नयाँ बन्ने सम्भावना कति होला ? यद्यपि आचारसहिंता र शुद्धीकरण शीर्षकमा उल्लेख गरिएका विषय कार्यान्वयनको सुरुआत स्वयं प्रचण्डले गर्ने हो भने माओवादी खासमा सर्वहारा चरित्रको पार्टी बन्ने निश्चित छ ।
जसले अन्य माओवादी समूहलाई स्वतः एकतामा आउन बाध्य पार्नेछ । तर उत्पादन ब्रिगेडको पोखरा घोषणा, घरलगायत सुविधा त्याग्ने पटकपटकको उद्घोष र कार्यकर्ताको मूल्यांकन एवं चरम पीडा, अभाव र कष्ट हल गर्ने प्रतिबद्धता कहिल्यै कार्यान्वयन भएनन् ।
एमाओवादीको चालू केन्द्रीय समितिको बैठकले प्रचण्ड महान्, उहाँको टाउकोमा नयाँ चीज आइसक्यो, हामीले केही गर्नै पर्दैन भन्ने पुरानै विष ओकल्छ वा आलोचनात्मक र सिर्जनात्मक भएर साँच्चै माओवादीलाई देश र जनतातिर फर्केको आन्दोलन बनाउने पहल लिन्छ ? २७ पृष्ठ लामो प्रस्तावलाई लाज ढाक्ने टालो नबनाउन एवं दोस्रो विकल्पमा जाने आशासहित शुभकामना !
http://annapurnapost.com बाट साभार
No comments:
Post a Comment