बाबुरामका हलि–गोठाला त हैनौं नि ?
एमाओवादी अध्यक्ष प्रचण्डको दस्तावेजमाथि भिन्न मत जाहेर गर्ने हेमराज भण्डारी एमाओवादीका जल्दाबल्दा युवा नेता हुन् । यसअघि बाबुराम प्यानलमा रहेका उनी बाबुरामले पार्टी परित्याग गरेपछि एमाओवादीमै रहे । उनै भण्डारीसँग साझापोस्टका लागि सुदीप विश्वकर्माले कुराकानीको सम्पादित अंश :
पार्टी अध्यक्षले प्रस्तुत गर्नुभएको दस्तावेजमाथि फरकमत राख्नुपर्ने अवस्था कसरी आयो ?
अहिलेको असाध्यै संकटपूर्ण अवस्थामा रहेको माओवादी आन्दोलनलाई पुनर्गठन गर्ने वा रुपान्तरण गर्ने कुरा सामान्य विषय होइन । जुन गम्भीर अवस्थाबाट माओवादी आन्दोलन गुज्रिरहेको छ, यो अवस्थामा अध्यक्ष प्रचण्डको दस्तावेजले मात्र त्यो विघटनको क्रमलाई रोक्न सक्दैन । वैचारिक राजनीतिकरुपमा माओवादी आन्दोलनभित्र र अझ कम्युनिष्ट आन्दोलनभित्रै जुन संकट देखा परेको छ, ती समस्याहरुको जवाफ अध्यक्षको दस्तावेजले मात्रै दिएको छैन । त्यसैले मैले त्यहाँ केही विषयहरुसहित बहसको उठान गरेको हुँ । खास गरेर प्रधानअन्तरविरोधको कुरा पहिलो विषय हो । दोस्रो विषय हेटौंडा महाधिवेशनले भनेको समाजवादको मोडलको बारेमा कुरा उठाएको छु । कस्तो समाजवाद हो हामीले भनेको ? रुसको जस्तो कि, भियतनामको जस्तो, चीनको जस्तो कि, भेनेजुयलाको जस्तो कि कोरियाको जस्तो ? वा नेपालको समाजवादको अलग्गै मोडेल के हुन्छ ? भन्ने विषयमा स्पष्टता आवश्यक छ । समाजवादको कोरा नाराले मात्र समाजवादमा पुग्न सकिँदैन । त्यसैले नेपाली समाजवादको मोडेल र चरित्र कस्तो हुन्छ ? स्पष्ट गर्नुपर्छ र देखिनेगरी समाजवादमा पुग्ने हाम्रा स्टेपहरुको श्रृंखलावद्ध कार्यनीतिको पनि विकास गरेर जानुपर्दछ ।
तेस्रो विषय नेपाली समाजको स्पष्ट वर्ग विश्लेषण गर्नुपर्दछ । ००६ सालमा नेपाल कम्युनिष्ट पार्टीले गरेको विश्लेषण वा ०४८ सालमा हामीले गरेको वर्ग विश्लेषणले मात्रै पुग्ने ठाउँमा छैन नेपाली समाज । यो गणतन्त्रको स्थापना पछि र विज्ञान प्रविधिको अभूतपूर्व विकास भइरहेको अहिलेको अवस्थामा नेपाली समाजको वर्ग अन्तरविरोधमा के परिवर्तन आयो ? यसले पुरानो वर्ग सम्बन्ध र अन्तरविरोधहरुमा के परिवर्तन ल्यायो ? यसलाई ठीक ढंगले बहस गर्दै पार्टीहरुको चरित्र विश्लेषण गर्नुपर्दछ । यसमा अध्यक्षको दस्तावेज स्पष्ट हुन सकेको छैन ।
चौथो कुरा, पार्टी रुपान्तरण । दस्तावेजमा प्रचण्डले माओवादीलाई क्यान्सर लागेको छ भन्नुभयो तर क्यान्सरको औषधी सिटामोल ल्याएर दिनुभयो । मेरो विचार के हो भने क्यान्सरको औषधी सिटामोल होइन । मलाई लाग्छ पहिला क्यान्सरको विरामीलाई किमो हान्नुपर्यो । किमो हानेपछि क्यान्सर फैलिँदैन । रोकिन्छ । त्यो भनेको हिजो क्यान्टोनमेन्टमा भएको अनियमिततामाथि पोष्टबहादुर बोगटी आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्नुपर्यो । अमिक शेरचनको नेतृत्वमा बनेको सम्पत्ति छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने हिम्मत गर्नुपर्यो । र साँच्चै पार्टी रुपान्तरण हुन्छ भन्ने विश्वासको सम्प्रेषण गर्न सुरु गर्नुपर्यो ।
ती प्रतिवेदनहरु त सबै लुकाइयो होइन ?
हो, ती प्रतिवेदनहरु सार्वजनिक गरिएको छैन । त्यसलाई सार्वजनिक गर्नुपर्दछ भन्ने माग पनि हो । त्यसपछि पार्टी पुनर्गठन र रुपान्तरको सवालसँग जोडिँदा माओवादीका सबै धाराहरुलाई एकताबद्ध गर्ने वैचारिक आधार तयार पार्नुपर्यो । त्यसमा पनि अध्यक्षको दस्तावेज क्लियर हुन सकेको छैन । यसैगरी अध्यक्षले अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण पनि गर्नुभएको छैन । नेपालको राष्ट्रिय परिस्थितिको पनि विश्लेषण गर्नुभएको छैन ।
प्रचण्डले त्यतिठूलो जनयुद्धको नेतृत्व गर्नुभयो, प्रधानमन्त्रीसमेत बन्नुभयो । तैपनि यस्तो कमजोर दस्तावेज ल्याउनुको पछाडि के कारण रहेछ ?
एउटा कुरा अध्यक्ष प्रचण्ड व्यस्त पनि हुनुहुन्छ । तर व्यस्त भनेर यति ठूलो पार्टीलाई यत्तिकै विघटन हुने गरी यस्तो दर्दनाक अवस्थामा छाड्नुहुँदैन । नेताहरुले त राजनीतिक संश्लेषण गर्नुपर्दछ । जस्तो कि अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दा अहिले विश्व साम्राज्यवाद अत्यन्तै धराप अवस्थामा छ । यति धेरै चुनौतीको सामना गरिरहेको छ कि साम्राज्यवाद आफैं छिया छिया भइरहेको छ । विश्वव्यापीरुपमा कम्युनिष्टहरु, क्रान्तिकारीहरु, वामपन्थीहरुले यसको लागि एकताबद्ध भएर पहल गर्ने हो भने विश्वमा समाजवादको लहर आउन सक्छ । तर कम्युनिष्टहरुले लड्नुपर्ने साम्राज्यवादसँग अहिले आइएसले लडिरहनुपरेको छ । विश्वलाई विकल्प दिनुपर्ने कम्युनिष्टहरु चाहिँ आफैंमा रुमल्लिने, फुट्ने, विघटित हुने, वैचारिक संकटमा फस्ने ! अनि संकटग्रस्त साम्राज्यवादको दबदवा चलिरहने अवस्था कसरी सिर्जना भयो ? यसको गम्भीर विश्लेषण गर्नुपर्छ । हामीले युद्धको बेला साम्राज्यवाद विरोधी विश्वव्यापी मोर्चा बनाउने कुरा गरेका थियौं । समाजवादीहरु, कम्युनिष्टहरु र राष्ट्रिय मुक्ति आन्दोलन चलाउने विविध शक्तिहरुसहित साम्राज्यवाद विरोधीको मोर्चा गरौं भन्ने थियो । तर त्यो कुरा अहिले हरायो । हामीले त्यतिबेलै दक्षिण एसियामा कम्पोसा बनाउने कुरा गर्यौं । त्यो पनि हरायो । हिजो क्रान्तिकारी आन्दोलनमा हुँदा रिम थियो, रिमसँगको सम्बन्ध आज कहाँ गयो ? त्यसो भए अब अन्तर्राष्ट्रिय राजनीतिमा हाम्रो ठाउँ सकिएकै हो त ? किन यो विषय विश्लेषण नगरी आयो दस्तावेज ? यसको विश्लेषण गर्नुपर्छ र यसको गम्भीररुपमा समिक्षा गर्नुपर्छ । यो वैचारिक समिक्षासँग जोडिन्छ ।
अनियमितता भएको भनेर आएको प्रतिवेदन छ । अहिले पोष्टबहादुर हुनुहुन्न । पोस्टबहादुरले ल्याएको निष्कर्ष र क्यान्टोनमेन्टको निष्कर्ष कार्यान्वयन गर्नुमात्रै पोस्टबहादुरप्रतिको सच्चा सम्मान हो । अमिक शेरचनले ल्याएको सम्पत्ति छानबीन आयोगले ल्याएको प्रतिवेनलाई कार्यन्वयन गर्नु पार्टी रुपान्तरणको सुरुवात हो ।
त्यसो त मार्क्सवादमा विकास पनि जरुरी छ । हामी रक्षा, प्रयोग र विकासको कुरा गर्दछौं । खासगरी मार्क्सवादमा विकासको कुरा गर्दा प्रकृति, जैविक र भौतिक विज्ञानमा न्यूटनदेखि आइन्स्टाइन र स्टेफन हकिंग्स्सम्म आइपुग्दा के भइसक्यो ? हामीले मार्क्सवादलाई र मालेमावादलाई समाज विज्ञान भन्यौं । तर माओको निधनभन्दा यता विगत ४० वर्षमा जुनजुन प्रयोग भए किन असफल भए ? चिली, टर्की, पेरु, फिलिपिन्स, बर्मा, मलाया इत्यादि देशमा किन असफल भए त? हामी पनि त्यही असफलतामा फर्किएजस्तो । त्यसको समीक्षा गर्दा कि त विज्ञानमा खोट छ र त्यसलाई हटाउने हिम्मत हामीले गर्नुपर्छ । या त त्यो विज्ञानलाई लागू गर्ने वैज्ञानिकहरु इमान्दार छैनन् । कहीँ न कहीँ त समस्या छ ।
भनेपछि वैचारिकरुपमा पनि मार्क्सवादको विकास गर्ने कुरालाई हामीले नजरअन्दाज गर्नु हुँदैन । यसले हामीलाई महाधिवेशनको माग गर्दछ । एकवर्ष अघि यही बैठकमै पेश गरिएको २५ बुँदे प्रस्तावमा महाधिवेशनतिर जान्छौं, महान बहस चलाउँछौं र त्यहाँबाट विचारको संश्लेषण गर्दछौं भन्ने थियो । तर अहिले अध्यक्ष प्रचण्डको दस्तावेजमा यो पक्ष छैन, भएपनि असाध्यै गौण बनेको छ । यसरी मैले प्राविधिक रुपमा भन्दा पनि वैचारिक रुपमै केही फरक कुरा उठाउने प्रयत्न गरेको हुँ ।
हामी नयाँ पुस्ताले पनि त्यतातिर नसोच्ने र विघटनकै शिकार भइराख्ने । नेताहरुले जे ल्याउनुहुन्छ, होमा हो मात्रै मिलाइरहने हो भने हाम्रो पनि उपस्थितिको औचित्य छैन । हामी भन्दा पछिल्लो पुस्ताको त धेरै ठूलो ग्याप भइसक्यो कम्युनिष्ट आन्दोलनमा । मेरो भाइ छोराहरु त कम्युनिष्ट आन्दोलनमा नआउनेजस्तो स्थिति भइसक्यो । किन आउँछ त उ ? हामीले केही नयाँपन दिनैपर्छ । पहिलो कुरा वैचारिक राजनीतिक समस्या हल गर्नुपर्यो । दोस्रो कुरा तत्कालीन राजनीतिसँग जनतालाई जोड्नुपर्यो । लोकतन्त्र गणतन्त्र आयो भनिएको छ तर जनताले महसुस गर्न सक्ने गरी के नतिजा निस्कियो त ?
यसरी हेर्दा अहिले नेपाली जनताले रिजल्ट खोजेको छ, उसको जीवनमा परिवर्तनको अनुभूति चाहेको छ । त्यो दिनसक्ने कार्यक्रम पनि हामीले दिनुपर्छ । किनकी हामी अहिले सरकारमा पनि छौं । सरकारमा केही नेताहरुलाई झण्डा हल्लाउन, मन्त्री बनाउन मात्रै पठाउने हो कि मिसनमा पठाउने हो ? मिसनमा पठाउने हो भने उसले यति महिना बस्यो भने यति काम गर्ने भन्ने हुनुपर्यो नि !
महत्वपूर्ण मन्त्रालय छन्, गृह, उर्जा, कृषिलगायतका । भनेपछि तत्कालीन राहतका विषयहरुमा हामी प्रभावकारी ढंगबाट जान सक्नुपर्दछ । यिनै विषयहरुको सेरोफेरोमा रहेर मैले विषय उठान गर्ने प्रयत्न गरेको छु ।
मूल राजनीतिक समस्या चाहिँ के हो त माओवादी आन्दोलनभित्रको ? तपाईसँग के छ विकल्प ?
पहिलो समस्या त वैचारिक समस्या हो । यो भनेको हामी कुन मोडेलबाट अगाडि जान्छौं ? जस्तो वैद्यदेखि विप्लव हुँदै अहिले बाबुरामजीसम्म आउँदा समाजवाद कस्तो हुन्छ ? हामी समाजवाद भनिरहेका छौं तर विप्लव र वैद्यजी समाजवाद भनिरहनुभएको छैन । यद्यपि नेपालमा परिवर्तनको आन्दोलनलाई कसरी संस्थागत गर्ने भन्ने सन्दर्भमा बुझाईमा विविधता छ । हामी लामो समयदेखि सामन्तवादी उत्पादन सम्बन्ध, संस्कार संस्कृतिबाट दिक्षित हुँदै आयौं । हामी कम्युनिष्ट भन्नेहरुको पनि रगतमा, जिनमा सामन्तवाद छ । तर टाउकोमा जबरजस्ती समाजवाद र साम्यवाद हालेका छौं । सिद्धान्तको कुरा गर्दासम्म त हाम्रोमा समाजवाद र साम्यवाद आउँछ । जब व्यवहारमा जान्छ सामन्तवादले खाइहाल्छ । हाम्रो आजको खास समस्या रुपान्तरणको हो । त्यो रुपान्तरणको समस्या भनेको जीवनव्यवहारमा आउँदा सामन्तवाद हावी हुनु हो । कम्युनिष्ट आन्दोलन नयाँ कम्युनिष्ट सामन्तहरु जन्माउने ठाउँ त होइन । यसरी कम्युनिष्ट परिवर्तनको आन्दोलनको अगुवा हो भने एउटा ठूलो सांस्कृतिक रुपान्तरणको खाँचो यहाँ छ ।
यहाँले रुपान्तरणको कुरा गर्नुभयो, कम्युनिष्टहरु आन्दोलनको बेला ठूला ठूला रुपान्तरणको कुरा गर्छन् तर काम गर्नेबेला जस्तो गृहमन्त्री प्रकरण देख्नुभयो, यसरी छिन्नभिन्न हुन्छन् । जसले बढी त्याग गर्यो त्यही बढी स्खलित हुने, यो प्रवृत्तिगत समस्या नै होइन र ?
होइन, दुई तीनवटा कुराले घर गर्यो । एउटा त हामी युद्धबाट आयौं । यसबाट आउँदाखेरी हामीसँग फौजी संरचना, केन्द्रीकृत मनोविज्ञान थियो । हामीले शान्तिकालमा आउँदा पनि युद्धकालीन मानसिकतालाई कायम राख्यौं पार्टी । त्यही कमाण्ड, त्यही चेनअफ कमाण्ड र पद्धतिलाई कायम राख्यौं । यसरी नेतृत्व गर्नेहरुमा कस्तो मानसिकता विकास भयो भने हामी नै शासक हौं, हामीले जे गर्दिए पनि हुने हो कि ? हामी नै निर्धारणकर्ता हौं कि भन्ने जस्तो मनोविज्ञानले काम गर्यो । त्यसले माथितिर नोकरशाही र तलतिर अराजकता, माथितिर व्यक्तिवाद र तलतिर अराजकता । यी दुईटा कुराले गम्भीर रुपले घर गर्यो । अराजकता माथि र तल दुवैतिर देखा पर्यो । अहिले पनि समस्या त्यही हामीले जिनमा बोकेर आएको सामन्तवाद, सामन्तवादी संरचना, सोच, संस्कार पद्धतिको उपज हो । यसको विरुद्ध हामी गम्भीर ढंगले लड्नुपर्छ । समाजवादमा जाने भनेका छौं, समाजवाद आफैंमा एउटा सामूहिक व्यवस्था हो । सामूहिकतामा आधारित व्यवस्था हो । त्यसो हो भने हामीले सामूहिक नेतृत्व प्रणाली कसरी स्थापित गर्न सक्छौं ? यो व्यक्तिवादी सम्बन्धलाई सामूहिक सम्बन्धमा कसरी फेर्न सक्छौं ? व्यक्तिगत प्रणालीबाट सामूहिक प्रणालीमा कसरी लैजान सक्छौं । तल पनि कार्यकर्ता र जनतामा आधारित जनता कसरी सुनिश्चित गर्न सक्छौं ? खासगरी समाजवादी लोकतन्त्र वा जनवादको अभ्यास हामीले कसरी गर्न सक्छौं ? यो विषयमा बहस गरौं ।
दोस्रो कुरा, एंगेल्सले भन्नुभाछ, एक टन सिद्धान्त भन्दा एक अंश व्यवहार धेरै महत्वपूर्ण हुन्छ । जनताले त पाइला पाइला हाम्रो व्यवहार हेरिरहेका छन् । हाम्रो उठबस, लवाईखवाई, संस्कार, संस्कृति हेरिराछ । यसकारण माओवादी आन्दोलनप्रति ठूलो वितृष्णा पैदा भइरहेको छ ।
खासमा माओवादी नेताहरुलाई कस्तो स्वार्थ, कस्तो मोहले यस्तो बनाइरहेको छ ?
खासमा सामन्तवाद भनेकै व्यक्तिवाद हो । मेरो घर, मेरो छोराछोरी, मेरो श्रीमती, मेरो गोठ, मेरो गाई, मेरो एकआना जग्गा, मेरो कोठेबारी । एउटा बोट मकैमा झगडा छिमेकीबीच झगडा पर्ने हाम्रो अभ्यास छ । यो संस्कारबाट हामी हुर्किएर आएका हौं । त्यसकारण कम्युनिष्टहरुमा पनि सबभन्दा पहिला ‘म’ आउने भयो । यसरी मेरो र म भन्नेले यति नराम्रोसँग घर गर्यो । ठूला भन्ने नेताहरुलाई पनि यसले छाडेन । जस्तो कि पारिवारिक स्वार्थ, लोभ, मोह आदि ।
सामन्तवादको यस्तो सिमेन्टेड प्रभावलाई भत्काउन कति सजिलो छ ?
भत्काउन सकिन्छ । वहाँहरुलाई हामीले के बोध गराउनुपर्छ भने कि समाप्त हुनुपर्यो कि यात रुपान्तरण हुनुपर्यो । मृत्यू या समाप्ति त कसैले पनि रोज्दैन ।
भत्काउने चरणको सुरुवात कसरी गर्नुपर्छ ? यो त अध्यक्षबाटै सुरु गर्नुपर्ला ?
हो, मैले अहिले त्यही भनिरहेको छु । यो माथिबाटै सुरुवात गर्नुपर्दछ । अहिलेको यो बहस हाम्रो पार्टीको अध्यक्ष, यति ठूलो युगान्तकारी जनयुद्धको नेतृत्व गरेका नेता, हाम्रो कमाण्डर, वहाँ र वहाँको वरिपरि देखिएको समस्याबाट वहाँ मुक्त हुनु सक्नुहुन्छ कि हुँदैन ?
अध्यक्षले के गर्नुपर्छ रुपान्तरण गर्न ? केही बोल्ड पोइन्ट भनिदिनुस् न ?
पहिलो कुरा अध्यक्ष प्रचण्डमा म रुपान्तरण हुन तयार छु, शान्ति प्रक्रियामा आएपछि जेजस्ता कमजोरी भएका छन्, यसलाई म गम्भीर ढंगले आत्मसमिक्षा गर्दछु र मेरो जीवन म आम जनताको अगाडि पारदर्शीरुपले बिताउँछु ।
मैले फिडेल क्यास्ट्रोको जीवनी हेरेँ । उनी ३० वर्षसम्म राष्ट्रपति भए तर अहिलेसम्म पनि उनी लोकप्रिय भए । यो किनभने उनको जीवन असाध्यै पारदर्शी छ । उनले बिहानदेखि बेलुकासम्म के गर्दछन् ? कोसँग भेट्छन् ? उनको उठबस सम्बन्ध के हुन्छ ? भन्ने कुरा आम जनतालाई थाहा हुन्छ । हाम्रो अध्यक्ष प्रचण्डले यस्तो जीवन बिताउन सक्नुहुन्छ कि हुँदैन ? मैले बैठकमा पनि भनेको छु, अध्यक्ष कमरेड, तपाईंको जीवनबारे हुम्लामा बस्ने एउटा किसानले पनि थाहा पाओस् । यसपछि उसले प्रचण्ड मेरो नेता बन्नलायक छन् कि छैन, उनले महसुस गर्न पाउनुपर्यो । उहाँसँग ठूलो सामाजिक प्राधिकार छ । जनयुद्धले पैदा गरेको ठूलो नैतिक बल छ । यसकारण यति ठूलो प्राधिकारप्राप्त नेतृत्वले आफूलाई बदल्न सके भने आन्दोलनको लागि त्यो ठूलो उपलब्धि हुनसक्छ । अर्को यस्तै नेताहरुको समूह जन्माउन समय लाग्छ । नेता कसैको आकांक्षाले जन्मिने कुरा पनि होइन । नेता जन्मिने भनेको संघर्षले हो, इतिहासको आवश्यकताले हो । लामो संघर्षको प्रक्रियाबाट मात्र नेता जन्मन्छ । २५ वर्षभन्दा लामो संघर्ष र कम्युनिष्ट आन्दोलने जन्माएको नेता त प्रचण्ड नै हुन् । सहायक नेताहरु पनि छरपस्ट हुँदै जाने र मुख्य नेतामा पनि रुपान्तरण नहुने हो भने त केही हुन्न । सानो घेराबन्दीमै हराउने अवस्था दुःखद छ । यसरी त नेतृत्वको पनि अवसान हुन्छ पार्टीको पनि । यसलाई बचाउन धेरै मेहनत गर्नुपर्छ भनेर हामीले बहस सुरु गरेका हौं ।
यति ठूलो जनयुद्धको नेताको यति सजिलै दुःखद रुपमा अवसान हुनु हुँदैन । हाम्रो प्रयत्न उहाँले बचाउने प्रयत्न हो । उहाँलाई बचाउने र रुपान्तरण गर्ने प्रयत्नस्वरुप हाम्रो संघर्ष हो ।
तपाईंले भनेजस्तै अध्यक्ष प्रचण्डले त्यस्तो सामान्य जीवन जिउने हिम्मत गर्न सक्लान् अब ?
पछिल्लो समय म आशावादी पनि छु । किनभने बाबुरामजीसम्मको बहिर्गमनसम्मको अवस्था हेर्दा पछिल्लो समय प्रचण्ड अलि धेरै संवेदनशील बन्नुभएको छ । उहाँमा चिन्ता पनि मैले देखेको छु । किनभने ०४८ सालमा उहाँहरु ३०/३५ वर्षको युवा हुनुहुन्थ्यो, त्यतिबेला उहाँहरुले आँट गर्नुभयो, नेपालमा जनवादी क्रान्ति सम्पन्न गरौं भन्ने पहल लिनुभयो । सशस्त्र संघर्ष गरेर राजतन्त्रको अन्त्य गरौं भनेर हिम्मत त गर्नुभएको हो नि ? त्यतिबेलाको मुख्य पात्रहरु आज वहाँसँग हुनुहुन्न । बादलदेखि बाबुराम हुँदै वैद्यदेखि बोगटीसम्म हुनुहुन्न । झण्डै झण्डै त्यतिबेलाको टिममा एक्लोजस्तो हुनुहुन्छ । अब फेरि पनि उहाँको काँधमा जिम्मा छ । यति ठूलो जनयुद्धको नेताको यति सजिलै दुःखद रुपमा अवसान हुनु हुँदैन । हाम्रो प्रयत्न उहाँले बचाउने प्रयत्न हो । उहाँलाई बचाउने र रुपान्तरण गर्ने प्रयत्नस्वरुप हाम्रो संघर्ष हो ।
तपाईहरुको यो इमान्दारितपूर्ण प्रयत्नलाई प्रचण्डले कसरी लिनुभएको होला ?
यो त संश्लेषणसम्म आइपुग्दा थाहा हुन्छ । तर वहाँ सकरात्मक ढंगले नै जानुहुनेछ भन्नेमा म किन आशावादी छु भने अहिले पछिल्लो समय केन्द्रीय समितिमा यो भिन्न मतलाई बाँडिदिनुस् भन्नुभयो । मैले त अध्यक्षलाई मात्रै दिएको छु । भिन्न मत त मैले मात्रै दिएको हो केन्द्रीय समितिमा । अन्य साथीहरुको सुझाव पनि तलसम्मै बाँडिदिनुहोस् भन्नुभएको छ । एउटा महान बहसबाटै जाउँ । माओवादी आन्दोलन सामान्य अवस्थामा छैन । यात पुनर्गठन वा रुपान्तरण या विघटनभन्दा अर्को विकल्प छैन । विघटन रोज्ने सुविधा हामीलाई छैन, बरु बैठक लम्बियोस्, महान बहसबाटै जाउँ भन्ने कुरा उहाँले राख्नुभयो । यसबाट म आशावादी नै छु । किनभने प्रचण्डको चरित्र डाइनामिक नै हो । उहाँको गतिशीलतालाई म मान्छु । हिजोको अध्यक्षकै रुपमा हेर्दा उहाँको गतिशील चरित्रले उहाँलाई यथास्थितिमै बस्न नदेला भन्ने नै हो ।
तपाईंले गतिशील नेता भन्नुभयो, यस्तो संकटपूर्ण अवस्था छ भन्नुभयो, तर दस्तावेज ल्याउनेक्रममा त उहाँको समस्या देखियो नि ?
अध्यक्षको नजिक भनिनेहरुबाट पनि उहाँलाई पर्याप्त सहयोग भएन भन्ने मलाई लाग्छ यही दस्तावेज निर्माण गर्ने क्रममा पनि । स्थायी समितिको तहसम्मका नेताहरुले प्रचण्डलाई सुझाव दिनुभएको छ दस्तावेजन लेख्ने बेला ।
अहिले तुरुन्तका लाभहरु के के छन् त्यो वहाँहरुले लिनुहोस् । तर हामीलाई भविष्य चाहियो । जनतालाई भविष्य चाहियो । जनतालाई हिजो गरेको प्रतिबद्धताहरु पुरा गर्दै कमजोरीहरु भए सच्याउँछ भन्ने चाहिएको छ । फेरि पनि जनताको पक्षमा लड्छ भन्ने विश्वास दिलाउन सक्यो भने माओवादी आन्दालन पुनर्गठन र पुनर्निजिवित हुनेछ ।
प्रचण्डको दस्तावेज, क्यान्सरको बिरामीलाई
सिटामोल- युवा नेता भण्डारी
भनेपछि एक तहको नेतामै समस्या रहेछ नि ?
उहाँहरु शक्तिकेन्द्रित, सत्ता केन्द्रित हुनुभयो बढी । मन्त्रीमण्डल बन्ने कुरामा तीन जनाबाहेक अरु पाँच जना त स्थायी समितिकै सदस्य हुनुहुन्छ । आफैं स्थायी समितिले निर्णय गर्नुभयो, आफैं मन्त्री हुनुभयो । एकजना मधेसी, एकजना जनजाति, एकजना महिलाबाहेक सबै आफैंले भाग मिलाएको जस्तो भयो । भनेपछि यो आलोचनाको पात्र हुनुभयो । अहिले त पार्टी बनाउने हो, रुपान्तरण गर्ने हो, जनताका सपना छन् । दसौं वर्ष बलिदान गरेका जनता, घाइते, सहिद र बेपत्ता परिवारको सपना र हामीसँग जोडिएको आकांक्षा छ । यसलाई पूरा गर्नुपर्छ भन्दा पनि आफ्नो स्वार्थतिर जानुभयो । अहिले तुरुन्तका लाभहरु के के छन् त्यो वहाँहरुले लिनुहोस् । तर हामीलाई भविष्य चाहियो । जनतालाई भविष्य चाहियो । जनतालाई हिजो गरेको प्रतिबद्धताहरु पुरा गर्दै कमजोरीहरु भए सच्याउँछ भन्ने चाहिएको छ ।
फेरि पनि जनताको पक्षमा लड्छ भन्ने विश्वास दिलाउन सक्यो भने माओवादी आन्दालन पुनर्गठन र पुनर्निजिवित हुनेछ । यो बहस पनि यही आशावादीता सहित चलाइएको हो । युवा हुनुको नाताले सत्यलाई ठीक तरिकाले राख्नुपर्छ । हामीलाई समस्याको केही डर छैन । कोहीसँग केही लेनादेना छैन । उहाँहरुसँगको सबै समस्या हाम्रो बैचारिक हो । वैचारिक समस्या नै पर्यो भने यो आन्दोलन अर्को ठाउँमा जान्छ । यो हामी आफैले ठूलो लगानी गरेर बनाएको पार्टी हो । यसलाई रुपान्तरण गर्नको लागि हामीले भित्रैबाट संघर्ष गर्नु पर्छ । यो नै अहिले सबैभन्दा वस्तुवादी हुन्छ भन्ने निष्कर्श हो ।
तपाईंको एउटा निष्कर्श रह्यो । तर लामो समयसम्म माओवादी आन्दोलनको नेतृत्व तहमा रहनुभएको उपाध्यक्ष तथा वरिष्ठ नेताको समेत जिम्मेवारी सम्हाल्नुभएका डा. बाबुराम भट्टराईले पार्टीलाई रातो स्टिकर लागेको आरोप लगाउँदै पार्टी परित्याग गर्नुभयो नी ?
बाबुरामजीले जसरी निस्कनुभयो, त्यो तरिका बेठिक भयो । उहाँले कोहीसँग पनि सल्लाह नगरीकन जो निर्णय गर्नुभयो त्यो बेठीक हो । उहाँ व्यक्ति होइन, संस्था हुनुहुन्थ्यो । माओवादीको नेता हुनुहुन्थ्यो । उहाँले संस्थागत निर्णय गर्नुभएन । कसैसँग छलफल गर्नुभएन र निर्णय मात्रै सुनाउनुभयो ।
यहाँहरुसँग छलफल भएको भए सामूहिक निर्णय हुन्थ्यो ? या तपाईं पनि जानुहुन्थ्यो ?
उहाँसँगै जाने नजाने कुरा अर्कै हो । तर छलफल हुन्थ्यो, उहाँलाई रोकिन्थ्यो । यही पार्टी भित्र लडौं भनेर उहाँलाई जान दिने थिएनौं । एउटा विधि हुन्थ्यो ।
‘म गएपछि यिनीहरु आइहाल्छन् नि पछिपछि लागेर’ भन्ने उहाँमा जुन भ्रम रहयो त्यो गलत कुरा हो । हिजो हामीले उहाँलाई विचारको आधारमा सहयोग गरेको हो । पालुङ्टारमा जुन विचार ल्याउनुभयो त्यो विचारको हामीले समर्थन गरेका हौं । बाबुरामको पछि लाग्ने हलि–गोठाला, खेताला त हैनौ नि हामी । अहिले पछिल्लो समय पनि विचार ल्याउनु पर्थ्यो, छोड्नेबेलामा विचार र प्रतिवेदनसहित माओवादी भित्रको समस्या उठान गरेर गएको भए कस्तो राम्रो हुन्थ्यो ।
स्टिकर नै टाँसिएको भएपनि पार्टीमा बहस चलेको भए उहाँको पक्षमा ठूलो जनमत बन्थ्यो । त्यो प्रक्रिया मिलाउने कुरामा बाबुरामजीले गल्ती गर्नुभयो । देवेन्द्रजीहरुले छोड्ने बेलामा पनि मेरो छलफल भयो । मैले उहाँहरुलाई यो पार्टीलाई रुपान्तरण गर्न प्रयत्न गरौं भनेको थिएँ । यो हामीले बनाएको पार्टी हो नि । हामी पनि यो पार्टी बिग्रेकोमा दोषी छौं । यो पार्टी बिग्रेर यस्तो लथालिङ्ग हुँदासम्म हामीले के हेरेर बस्यौं ? की हामीले हेरेर मात्रै बस्यौं सचेत मान्छे होइनौं भन्नुपर्यो । किन हामीले बेलैमा लडेनौं । जनताको ठूलो बलिदान छ, धेरै साथीहरु मारिएका छन्, यसलाई बदल्नु पर्छ ।
जनताले अहिले पनि माओवादीबाट धेरै आशा गरेका छन् । जनताको आकांक्षालाई त्यत्तिकै धमिलो पारेर जानु हुन्न भन्ने मेरो तर्क हो । त्यसैले म यो पार्टीमा रुपान्तरणको लागि लड्छु भनेर उहाँहरुलाई भनेका थिएँ । चाहे म एक्लै हुँ । लड्छु, पार्टी बनाउँछु र परिवर्तन गर्छु संभव छ । हिजो बाबुरामजीलाई समर्थन गर्ने मान्छे मात्रै राम्रा, अर्को पक्षलाई समर्थन गर्ने मान्छे सबै नराम्रा भन्ने बुझाइ गलत हो । बाबुरामजीलाई समर्थन गर्नेमा पनि नराम्रा मान्छे छन्, अध्यक्षलाई समर्थन गर्नेमा पनि नराम्रा मान्छे छन् । तर त्यहाँ दुवैमा राम्रा मान्छे पछि छन् । यो आन्दोलनलाई इमान्दारसँग हेरिरहेका साथीहरुले पक्कै पनि घोत्लिएर सोच्न बाध्य हुन्छन् । यो केन्द्रीय समितिमा मैले सुरुवात मात्रै गरेको हुँ । जे विषय उठाएको छु त्यो पनि पूर्ण छैन । अध्यक्षको दस्तावेज पढेको दुई दिनमा बनाएको हो । मैले केहि डाटाहरु राखेर, नेपाली समाजको वर्ग विश्लेषण राखेर ल्याउन खोजेको थिएँ । समय भएन ।
तपाईंले ल्याउनुभएको फरक मतलाई समेटिने संभावना कत्तिको छ ?
अध्यक्षले बसेर छलफल गरौं भन्नुभएको छ । ५ दिनको लागि केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यो बीचमा आएका सुझावलाई मर्ज गर्छु । सुझावका आधारमा दस्तावेजलाई परिमार्जन गर्छु । भिन्न मत र महत्वपूर्ण विषय उहाँले उठाउनुभएको छ, त्यसको विषयमा पनि छलफल गर्छु भनेर प्रचण्डले भन्नुभएको छ । अध्यक्षले कसरी छलफल गर्नुहुन्छ त्यो मलाई थाहा छैन । भिन्न मतलाई पनि समेटेर जान सक्ने स्थिति भयो भने राम्रो हुन्छ । त्यो भएन भने, ठूला नेताले यसरी फरक मत राख्दा समानान्तर गुट बन्छ, हामीले राख्दा गुट बन्दैन । त्यसकारण अध्यक्ष डराउन पर्दैन । बहस मात्रै हुने हो । मेरो उद्देश्य गुट बनाउने होइन । गुट मलाई चाहिँदैन । किन भने कुनै पावर अभ्यासमा लाग्नु छैन । कुनै पदको महत्वकांक्षा पनि छैन ।
रुपान्तरणको सन्दर्भमा अध्यक्षले पहिलो लाजिम्पाट छाड्नुपर्छ । केन्द्रीय समितिले पास गरेको निर्णय हो । त्यो ठाउँ धेरै आलोचनाको केन्द्र पनि भयो । जब प्रचण्डले लाजिम्पाट जानुभयो, अधोगतिको दिन सुरु भयो । लाजिम्पाटको मोह किन चाहियो ? छाडिदिए हुन्छ । सार्वजनिक स्थानमा टहरा बनाएर बस्दा हुन्छ ।
प्रचण्ड या माओवादीले अब कस्तो निर्णय गर्नुपर्छ ?
गडबढी गर्नेलाई छाड्दैन र न्यायसहित आशा दिन्छ भन्ने हुनुपर्छ । व्यक्ति बचाउने नाममा संस्थालाई सिध्याउन हुन्न भन्ने मेरो तर्क हो । माथिबाट सुरुवात भयो भने तलतिर पनि ठूलो तरंग ल्याउँछ । तत्कालीन जनजीविकाको मुद्दाहरु हल गर्नुपर्यो । काम गर्न सक्दैन भने फिर्ता गर्नुपर्यो ।
अध्यक्षले तत्कालको लागि ६ महिनाको योजना ल्याउनु भएको छ । त्यसपछिको स्टेप भनेको महाधिबेशन नै हो । सामान्य आचार संहिताले माओवादीको समस्या हल हुँदैन । यो वैचारिक समस्या हो ।
तपाईंले त भन्नुभयो, तर भूकम्प पीडितको नाममा अध्यक्षका नातिनिहरु नै विदेश भ्रमणमा गए, प्रचण्डले चाहेको भए समयमै रोक्न पनि सक्थे तर त्यस्तो देखिएन । माथिदेखि नै एउटा खालको समस्या छ नी माओवादी भित्र ?
यो विषयमा केन्द्रीय समितिमा छलफल पनि भइसकेको छ । गृहमन्त्रीले आत्मआलोचना पनि गर्नुभयो । तर रुपान्तरण सजिलो छैन भन्ने यसले देखाउँछ । तर उहाँहरुलाई गडबढी गर्न पनि सजिलो छैन भन्ने पनि केन्द्रिय समितिले सचेत गरायो । अध्यक्षले आफैले भन्नुभएको थयो , ‘गृहमन्त्रीको तीनवटा विकल्प छन्, फिर्ता बोलाउने, राजीनामा दिने या एक चोटी हो गम्भीर चेतावनी दिएर आत्माआलोचना गर्ने र जनतासँग क्षमा माग्ने, अर्को पटकबाट यस्तो कुनै पनि मन्त्रीले यस्तो गल्ती गर्यो भने तुरुन्तै फिर्ता बोलाउने ।’
यो हामीले सुरुवात गरेका छौं । एउटै गल्तीमा ल्याएर मान्छेलाई सिद्याउनु पर्छ भन्ने होइन । तर गल्तीबोध गराउन जरुरी छ । रुपान्तरण दुई किसिमका हुन्छन्, स्वएेच्छिक र बाध्यात्मक । स्वएेच्छिक पनि ठूलै पंक्ति छन्, कतिपयलाई बाध्यात्मक तरिकाले रुपान्तरण गराउनुपर्ने जरुरी छ ।
माओवादीसँग सत्ता नहुँदा ठूलो क्रान्तिकारी कुरा गर्ने तर सत्ता हुँदा केही माखो नमार्ने यो किन ? अहिले कालोबजारी पनि बढेको छ । कतै माओवादी मन्त्रीहरुको नियतमै समस्या त छैन ?
नियतमाथि त शंका नगरौं । हाम्रो अर्थतन्त्र क्रोनिक पुँजीवादमा पुग्यो । अर्थतन्त्र तस्कर, ब्रोकरहरुको नियन्त्रणमा जाँदैछ । यो सरकारले तत्कालै नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । डरलाग्दो ठाउँमा हाम्रो अर्थतन्त्र पुगिसकेको छ । यसलाई रोक्नुपर्छ । मसँग विस्तृत डाटा पनि छ । यदि महाधिबेशनसम्म जाने अवस्था आयो र मेरो दस्तावेज लागियो भने म त्यो पेस गर्नेछु ।
महाधिवेशन हुने संभावना छ र ?
गाउँ र जिल्ला हुँदै सबै स्थानमा बहस गर्नको लागि संस्थागत पार्टी त चाहिन्छ । बहस हावामा गरेर भएन । मिडियामा मात्रै बहस गरेर पनि भएन । बहस छलफल गर्नको लागि पनि हामीसँग पार्टी चाहिएको हो । अध्यक्षले तत्कालको लागि ६ महिनाको योजना ल्याउनु भएको छ । त्यसपछिको स्टेप भनेको महाधिबेशन नै हो । सामान्य आचार संहिताले माओवादीको समस्या हल हुँदैन । यो वैचारिक समस्या हो । वैचारिक रुपमा समाधान भएन भने आन्दोलन धेरै अगाडी जाँदैन । अहिले हामीले भएको संगठनलाई व्यवस्थित गर्ने मात्रै हो । नयाँ उभार ल्याउने अवस्था छैन । त्यो संगठनलाई वैचारिक र राजनीतिक रुपमा प्रशिक्षित गर्नुपर्छ । हामी बिग्रेको किन हो हामीले समीक्षा गर्नुपर्छ । विशेषगरी नयाँ पुस्ताका साथीहरुले गर्नुपर्छ । यो व्यवस्था ल्याउन हामीले लडेका हौं त ? जरुर होइन । हामीले त सुन्दर नेपालको परिकल्पना गरेका हौं । तर हामी परिणाममुखी राजनीतिमा छौं ।
मैले अर्को विषय पनि उठाएको छु । अध्यक्षले कार्यकर्ताको विषयमा पूर्णकालीन भन्नु भएको छ । त्यो होलटाइमर भन्नु नै गलत छ । होलटाइमर कति चाहिन्छ केन्द्रले किटान गर्नुपर्छ । जस्तै केन्द्रीय सदस्य पूर्णकालीन र जिल्ला अध्यक्षहरु पूर्णकालीन बनाउने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा केन्द्रले तय गर्नुपर्यो । त्यो भन्दा बाँकी सबै साथीहरुलाई उत्पादन सहित पार्टटाइमर कार्यकर्ता बनाउने । पारदर्शी उत्पादन सम्बन्धबाट आत्म निरभर बन्नुपर्छ भनेर भन्नुपर्छ । हिजो शान्ति प्रक्रियामा आएर धेरै साथीहरुलाई आत्मनिर्भर हुन नभनेका कारण धेरै साथीहरु अहिले खाडीमा छन् । हजारौं मान्छेलाई होलटाइमर बनाउने, तिनको व्यवस्थापन पनि नगर्ने काम पनि नदिने ? त्यो त निराश भएर जान्छ नी ?
एउटा पंक्ति ठेकेदार र दलालको पछि लागेर कमाउने तर त्यो पनि नसक्ने इमान्दारहरु निराश हुँदै नेताहरुलाई धारे हात लगाउँदै, आन्दोलनलाई सराप्दै बाहिर जानुको विकल्प छैन । तर पनि माओवादीको राम्रो पक्ष भनेको माओवादी नै छोडेर अभियानात्मक रुपमा अन्त गएको छैन । यहीँ सरापेका छन्, धारेहात लगाएका छन् तर अझैपनि माओवादीप्रति अन्तिम आशाको नजरले हेरिरहेका छन् । त्यो अन्तिम आशालाई बचाउनुपर्छ भन्ने हाम्रो जोड हो ।