Saturday, November 28, 2015

‘एकतासँग क्रान्तिको प्रश्न जोडिएको छ’ – मोहन वैद्य ‘किरण’ (भिडियो सहित)

मोहन वैद्य अर्थात् कमरेड किरण अर्थात् चैतन्य । यो नाम नेपालको कम्युनिष्ट आन्दोलनमा सधैं चर्चामा रहँदै आएको नाम हो । तीस र चालिसको दशकमा चौथो महाधिवेशन जस्तो संगठित कम्युनिष्ट पार्टीको स्थापना र चालीसको दशकमा फूटपछि नेकपा मशाल बनेको सन्दर्भमा होस् या २०५२ सालदेखि सञ्चालित १० वर्षे जनयुद्धको क्रममा होस्, मोहन वैद्य सधैं राजनीतिक बहसको केन्द्रमा नै रहे ।
एमाओवादी अध्यक्ष प्रचण्डका गुरुका रुपमा समेत चिनिने मोहन वैद्य कुशल संगठक पनि हुन । खासगरी प्यूठान, रोल्पा, रुकुमलगायतको पश्चिमी क्षेत्रमा उनले कम्युनिष्ट समर्थक जनताका आधार इलाका नै बनाए कुनै बेला । पञ्चायतकालमा मोहनबिक्रम सिंह, मोहन वैद्य त्यसक्षेत्रको कम्युनिष्ट जनमत निर्माण गर्ने अग्रणी व्यक्तिहरु थिए । यद्यपी २०४२ सालपछि यिनीहरु कहिल्यै सँगै बस्न सकेनन् ।
यिनै मोहन वैद्य आफ्नो सादा जीवनका रुपमा समेत चर्चामा आउँछन् बेलाबखत । पद, प्रतिष्ठा, सेवा, सुविधा, व्यक्तिगत लाभ हानीमा जनयुद्धका कैयन् साहसिक योद्धाहरुसमेत रुमल्लिन थालेको बेला यिनले संविधानसभामा समेत बस्न मानेनन कुनै बेला । नयाँ संविधान बनेपछि राष्ट्रपतिका लागि समेत उनको नाममा समर्थकहरुले चर्चा गरे । तर उनको एउटा मात्रै धोको नयाँ जनवादी क्रान्ति छ । त्यही जनवादी क्रान्ति जुन पुरा गर्न १० वर्ष जनयुद्ध लडियो । वैद्यका लागि जनवादी क्रान्ति त पुरा भएकै छैन । यसले आफ्ना मुख्य कार्यभार पुरा गर्नै सकिएको छैन । यही कुरामा उनी एमाओवादीसँग सहमत छैनन । वैद्यकै भनाईमा एकतासँग क्रान्तिको प्रश्न जोडिएको छ । उनी भन्छन्– क्रान्तिलाई स्वीकार्न नसक्नेहरुसँग एकता सम्भव छैन् ।
एमाओवादी र वैद्यबीच एकताको चर्चा चुलिरहँदा एभरेष्ट दैनिकडटकमका लागि गोकर्ण भट्टले वैद्यसँग एकताकै प्रसंग वरिपरि रहेर कुराकानी गरेका छन् ।
कुराकानीको सम्पादित अंश :

तपाईको पार्टी र एमाओावादीबीच मंसिरभित्रै एकता हुने हल्ला जोडतोडले उठेको छ, कहिले हुन्छ एकता ?
त्यस्तो हल्ला गरे अनुसारको केही होइन । खासमा हामीले आन्तरिक रुपमा अनौपचारिक ढंगले कुराकानी गरिरहेका छौं । कतिपय सैद्धान्तिक र राजनीतिक विषयहरुमा सहमति नहुँदा र सच्याउनुपर्ने कुरा हामीले गरेका छौं । वहाँहरुले त्यसमा के गर्नुहुन्छ ? त्यो हेर्न बाँकी छ । वैचारिक राजनीतिक कुराहरु मिल्यो भने एकता होला, मिलेन भने अहिले केही भन्न सकिन्न ?
एमाओवादीसँग असहमतिका त्यस्ता विषयहरु के हुन ?
हामीले ६ वटा मुख्य विषयहरु एकताका लागि अघि सारेका हौं । तर त्यसभि असहमतिका मुख्य दुई वटा बुँदा रहेका छन्
एउटा मुख्य विषय जनवादी क्रान्तिका सन्दर्भममा छ भने अर्को संसदवादका बारेमा रहेको छ । अहिले यी दुईवटा विषय नै हामीबीच मिल्न सकेका छैनन् ।
वहाँहरुले जनवादी क्रान्ति पुरा भइसक्यो, अब समाजवादी क्रान्ति गर्ने कुरा गर्नुभएको छ ।संसदवाद भन्न्नाले अहिलेको जुन राज्यसत्ता छ, यो राज्इसत्ता त दलाल, पूँजिपति र सामन्तहरुको राज्यसत्ता हो । क्रान्ति भएको भए यो जनताको राज्यसत्ता हुनुपर्ने हो नि, जुन भएको छैन । यसै अन्तर्गत जुन संविधान बन्यो, त्यो प्रतिगामी बन्यो भन्ने हाम्रो भनाई हो । बहुलबादमा आधारित संविधान छ । वहाँहरुले खुरुक्क मान्नु भएको छ । यो गलत हो । संसदबादकै तेश्रो कुरा संसदीय व्यवस्थालाई स्वीकार गर्नु हुँदैन भन्ने कुरा हो ।
एमाओवादीले त प्राप्त उपलब्धिलाई उपयोग गर्दै त्यसको जगमा टेकेर थप क्रान्तिको कुरा गरेकोे छ त ?
उपलब्धि भन्दाखेरि पनि मूल प्रश्न जनवादी क्रान्ति भएको छ कि छैन भन्ने हो । जनवादी क्रान्तिका मुख्यतः दुईवटा कार्यभार हुन्छन् । एउटा कार्यभार भनेको सामन्तवादको अन्त्य गर्ने । दोश्रो भनेको वैदेशिक हस्तक्षेपबाट मुक्त गर्ने हो । देशमा राजतन्त्रसँगै सामन्तवाद ढल्यो र कमजोर भएको कुरा साँचो हो । तर केही त बाँकी छ । वैदेशिक प्रतिक्रियावादविरुद्ध त झन सिंगै कार्यभार बाँकी छ ।
सामन्तवादविरुद्धको संघर्षको एउटा कार्यभार पनि राम्रो सँग पनि पुरा भएको छैन । संविधान बन्ने बित्तिकै राष्ट्रियताको मुद्धा कति विकराल भएर आएको छ भन्ने कुरा त देखियो नि । क्रान्ति भइसकेको तर्कमा चर्चा गर्दा राज्यसत्ता कसको हातमा छ भन्ने कुरा हेर्नुपर्छ । क्रान्ति भयो रे, तर राज्यसत्ता जनताको हातमा छ त ?
त्यसो भए संविधानबाट केही पनि उपलब्धि नभएकै निष्कर्श हो तपाईहरुको ?
केही पनि भएन भन्ने होइन । संविधानबाट गणतन्त्र आएको छ, धर्मनिरपेक्षता भएको छ । संघीयता छ । समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता कुरा सकारात्मक हुन ।
प्राप्त यी उपलब्धिमाथि टेकेर क्रान्तिको चरित्र या संघर्षको स्वरुपबारे पो छलफल अगाडि बढाउनुपर्ने होइन र ?
संघर्षको स्वरुपको बारेमा हामीले बहस नै गरेका छैनौं । क्रान्तिमा बलप्रयोगको भूमिका आवश्यक हुन्छ भन्ने कुरामा हामी सहमत छौं । तर यो संघर्ष जनयुद्धको स्वरुपमा हुने या सशस्त्र संघर्षबाट हुने आदि इत्यादी भन्ने बारेमा बदलिएको अवस्थामा कसरी जाने भन्ने कुरामा छलफल भएको छैन । हामीले अबको बाटो सशस्त्र विद्रोहको भनेका छौं । एमाआवादीको के हो त्यो थाहा छैन । तैपनि बलप्रयोगको भूमिका मान्नुपर्छ भन्ने हाम्रो छ । तर यसमा छलफल भएको छैन ।
संसदीय व्यवस्थालाई उपयोग नै नगर्ने नीति हो तपाईहरुको ?
त्यहाँ छलफल नै भएको छैन । संसदीय व्यवस्थाको उपयोग गर्ने भन्ने कुरा कार्यनीतिको प्रश्न हो । आवश्यकता अनुसार भाग लिने र बहिस्कार गर्ने भन्ने कुरा कार्यनीतिक प्रश्न भएकोले त्यसमा विवाद नहोला जस्तो मलाई लाग्छ । अब कुन बेला भाग लिने र कुन बेला नलिने भन्ने कुरा अलग कुरा हो ।
एमाओवादीले त समाजको चरित्रमा, उत्पादन सम्बन्धको चरित्रमा र राजनीतिक तहमा पनि कतिपय उपलब्धि हासिल भए, अब हामी फेरी पुरानै अवस्थामा जान सकिँदैन भनिरहेका छन् नि ?
त्यो तर्क त्यति मिल्दैन । केही परिवर्तन भएका छन् । तर परिवर्तन भएको के हो भने हिजो शोषक उत्पीडक वर्गको रुपमा मुख्यत सामन्तवादी शोषकहरु थिए । अहिले उनीहरु छेउमा छन् । अलि तल परेका छन् । दलाल पूँजिपति वर्ग मुख्य उत्पीडक भएर आएको छ । दलाल पूँजिवादको विकास भएको छ । यो पनि फरक हो ।
तर आधारभूतरुपमा जनवादी क्रान्ति भयो कि भएन भन्ने प्रश्नमा उहाँहरुले भइसक्यो भन्नुहुन्छ । हामीले पुरा भएको छैन भनेका छौं । यो कहाँ कहाँ परिवर्तन भयो, कुन कुन कुरा फेरिए भन्नेमा पनि हामी बहस र छलफल गर्न तयार छौं ।
यति धेरै परिवर्तन भइसक्दा पनि सिंगै जनवादी क्रान्ति बाँकी नै हो भन्ने आधार के ?
यो सोझो र स्पष्ट छ । जनवादी क्रान्ति पुरा भएको भन्दा राज्यसत्ताको कुरा मुख्य हो । शासनसत्तामा केही परिवर्तन भएका छन् । राणाकाल, बहुदल, पञ्चायत, संवैधानिक राजतन्त्रदेखि गणतन्त्र आयो । यी सबै शासनसत्तामा भएका परिवर्तन हुन । शासनसत्तामा धेरै परिवर्तन भयो, तर राज्यसत्तामा परिवर्तन हुन सकेन । मुलभूतरुपमा उनै उत्पीडक वर्गको हातमा राज्यसत्ता छ । त्यसैले राज्यसत्ताको स्वरुपमा परिवर्तन नभइकन जनवादी क्रान्ति सम्पन्न भएको कसरी मान्ने ?
अर्को कुरा जनवादी क्रान्तिका लागि किसानको समस्या हल गर्नुपर्ने ? खोइ हल गरेको ? यत्रो कृषि प्रधान देश, धान चामल आयात गर्नुपर्ने अवस्था छ । विश्वको दोश्रो ठूलो जलश्रोतको धनी देश भनिन्छ, यहाँ बिजुली बनाएर भारत पठाउने, यो देशले पानी आयात गर्यो भन्ने कुरा आयो । के यही हो पँुजिवादी जनवादी क्रान्ति पुरा भएको ?
हो विकास भएको छ, त्यसको अध्ययन गरौं, कहाँ के के भएको छ, त्यो छलफल गरौं । हामी चुप लागेर पनि बसेका छैनौं । पहल गरिरहेका छौं । निरन्तर पहल गर्छौं पनि । तर वैचारिक कुरा हामी छोड्दैनौं ।
भिडियो :
एकताका लागि एमाओवादीले दुईवटा बुँदामा सच्चिनुपर्ने कुरा गर्नुभयो ? वहाँहरुले मात्रै सच्चिनुपर्ने हो वा तपाईहरुसँग पनि एमाओवादीको असहमति छ कुनै कुरामा ?
पहिलो कुरा त वहाँहरु सैद्धान्तिक र राजनीतिक कुरामा त्यति छलफल गर्न चाहनुहुन्न । तर्किने पन्छिने कुरा गर्नुहुन्छ । भावनात्मक कुरा मात्रै हुन्छ । पार्टी एकता गर्नुपर्यो, पार्टी एकता गर्नुपर्यो । हामीलाई दुईटा पार्टी जस्तै लाग्दैन भनेर मिठामिठा भावनात्मक कुरा गर्नुहुन्छ । तर मीठो कुरा गरेर के गनुहुन्छ । वैचारिक, राजनीतिक कुरामा वहाँहरुले छलफल गर्न खोज्नुहुन्न । ठीक छ, पार्टी एकता गरिन्छ, हामी तयार छौं तर वैचारिक र राजनीतिक विषय त कम से कम मिल्नुपर्छ भन्नेमा जोड दिइरहेका छौं ।
तपाईको पार्टी र एमाओवादीभित्र पनि एउटा तप्काले एकता नै चाहन्न, त्यसैले निहुँ खोज्छ भन्ने हल्ला सुनिन्छ ?
त्यो हुँदै होइन, सिद्धान्त र राजनीति मिलेन भने कसरी पार्टी एकता हुन्छ, पक्का कुरा हो ।
तर एमाओवादीभित्र पनि जनवादी क्रान्तिमा स्प्ष्टता भएको तप्का पनि त छ ?
त्यहाँ त राम्रा साथीहरु छन् । म कसैलाई दोष लगाउने पक्षमा छैन । वहाँहरुले आफ्नो ढंगबाट पहल गरिरहनु भएको छ । हामीकहाँ पनि साथीहरुले पार्टी एकता गरिनुपर्छ भनेर सकारात्मक ढंगल पहल गरिरहनु भएको छ । हामीले गरेको ठीकै छ । तर मूल कुरो के छ भने सबै ठीक छ, त्यही एउटा कुरा छैन । सिद्धान्त र राजनीति मिल्दैन अनि गर्ने के ?
उपलब्धि भएका पनि छन्, र क्रान्ति पनि पुरा भएको छैन । यो कुरा मान्ने हो भने,अहिलेको परिस्थितिमा कतै न कतै त मिलन बिन्दु खोज्न सकिएला नि ?
हो, त्यही भएर समस्या भएको छ । वहाँहरुले युगान्तकारी परिवर्तन भन्नुहुन्छ ? तर युगान्तकारी कसरी भयो के ? राज्यसत्तामा उही पुरानो वर्ग छ । महान ऐतिहासिक उपलब्धि कसरी हुनसक्छ ? लोकतान्त्रिक गणतन्त्र त इण्डियामा उहिल्यै थियो, धर्म निरपेक्षता थियो । चारु मजूमदारले त्यसको किन बिरोध गर्नुपथ्र्याे ? संघीयता पनि उहिल्यै थियो । भारत हेरे हुन्छ । किन नक्स्लाईटहरुले लड्नुपर्यो । त्यसकारण ऐतिहासिक उपलब्धि भयो भन्नु वाहियात हो । केही भएको छ । संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धि भएका छन् मूलभूतरुपमा राज्यसत्ताको प्रश्न आउँदा यो ऐतिहासिक उपलब्धि होइन ।
तर यी प्राप्त भएका उपलब्धि स्वीकारेर त्यसको जगमा क्रान्तिको बाटो, संघर्षको स्वरुपका लागि छलफल गरेर सहमति गर्ने मिलन बिन्दुमा त जान सकिएला नि ?
तर यसका लागि एमाओवादीले क्रान्ति पुरा भएको छैन भनेर स्वीकार्नु पर्यो । क्रान्ति पुरा भएको छ भन्ने वहाँहरुले निष्कर्श निकाल्नुहुन्छ भने कसरी मिलनबिन्दु सम्भव छ । वहाँहरुले पुरानो पूँजीवादी क्रान्तिका हिसाबले सोच्नु भएको छ, नयाँ जनवादी क्रान्तिका हिसाबले सोच्नु भएको छैन । यी कराहरुमा वहाँहरुले ध्यान दिनुपर्छ भन्ने हो ।
तपाईले नयाँ जनवादी क्रान्तिमा जोड दिइरहँदा नेपाली समाजको चरित्रमा देखिएको विकासले नयाँ जनवादी क्रान्ति नै सम्भव छैन भन्ने बहस पनि त छ नि ?
हो, त्यो चलेको छ । थुप्रै शक्तिहरु, एमाले, रोहितजीहरुको त्यही छ । अहिले एमाओवादीका साथीहरुले पनि त्यही निर्णय गरेका छन् । तर बस्तुगतरुपमा के छ भन्ने कुरा बुझ्नुपर्छ ।
यसका पछाडि बस्तुगत कारण नै उनीहरुले दिएका छन् । जस्तो कि नेपाली समाजको चरित्र पहिलाको जस्तो रहेन । पूँजिवादी उत्पादसम्बन्ध बलियो भएको छ, सामन्तवादी चरित्रको
स्थान पूँजिवादी चरित्रले लिएको छ र त्यही भएर अबको बाटो समाजवादी क्रान्ति आवश्यक भन्ने लगायतका उनीहरुको विश्लेषण छ नि ?
अब समाजवादी क्रान्ति हामीले पनि गर्ने हो । तर जनवादी क्रान्तिका दुईवटा कार्यभार सामन्तवादलाई पल्टाउने हो, दोश्रो वैदेशिक हस्तक्षेप, उत्पीडनको अन्त्य गर्नु हो । सामन्तवाद कुहिसकेको छैन । तर हिजो पुष्पलालजीको बेला जस्तो अर्धसामन्ती पनि होइन । तर यो पूर्णरुपमा सिद्दिएको छैन । जस्तो कृषिकै अवस्था हेर्दा नेपाली जनताको ३५ प्रतिशत आय कृषिमा निर्भर छ, ७०, ७५ प्रतिशत बढी आय कृषिबाट छ ।
तर कृषि क्षेत्रमा श्रम र उत्पादनको चरित्र त पूँजिवादी छ भन्छन् त ?
कस्तो कुरा गर्नुहुन्छ ? कृषिमा पूँजिवादी उत्पादन चरित्र हुन त यसको व्यवसायिकरण हुनुपर्यो नि ? अहिले ८ प्रतिशत कृषि पनि व्यवसायिक छैन । पूँजिवादका लागि पनि औद्यौीगकरण हुनुपर्यो । पूँजिवाद आएको छ, तर यो दलाल पूँजिवाद हो । झन अहिले त वित्तिय पूँजिको विकास, नवउदारवादले गर्दा पुरै साम्राज्यवाद र बिस्तारवाद त बेरोकटोक आइरहेको छ । अनि कसरी जनवादी क्रान्ति भएको भन्ने ? जनवादी क्रान्ति पुरा भयो भनेर संविधान बनाइयो, भारतीय हस्तक्षेप हेर्नुस्त ?
जनवादी क्रान्तिमा राष्ट्रियता र जनतन्त्र एकसाथ जोडिएका हुन्छन् । माओले पनि यो कुरा गरेका छन् । तर बाबुरामजीले यसका विरुद्ध एउटा फर्मुला ल्याउनुभयो, प्रचण्डजी त्यसकै पछाडि दौडिनुभयो । बाबुरामले दुईवटा चरण हुन्छ भन्नुभयो । एउटा जनवादी क्रान्तिको चरण र अर्को राष्ट्रियताको चरण । यो त फन्सेली राज्यक्रान्तिको चरणको कुरा थियो । त्यही बिग्रियो । अहिले त के हो भने जनतन्त्र र राष्ट्रियता सँगै जानुपर्ने हो ।
विकास भएपनि औद्यौगिक वर्गको विकास भएन, राष्ट्रिय पूँजिको विकास भएको छैन । दलाल पूँजिवादको विकास भएको छ । नयाँ जनवादको पनि नयाँ परिभाषा र विकास आवश्यक छ, त्यो अर्को पक्ष हो ।
एमाओवादीले त जनतन्त्र र राष्ट्रियताको मुद्धा छोडेको छैन भन्दै आएको छ त ?
देशमा जुन नव उपनिवेशर्फत उत्पीडिन छ, त्यसकाविरुद्ध संघर्ष गर्ने प्रश्नलाई ध्यान दिइएको छैन । तर वहाँहरुले साम्राज्यवादलाई चटक्कै छोड्नुभयो । विस्तारवादका विरुद्ध लड्ने कुरालाई चटक्कै छोड्नुभयो । त्यो छोडेर हुँदैन । राष्ट्रिय स्वाधिनताको प्रश्न गम्भीर भइसक्यो ।
तपाईहरुबीच संगठनात्मक कार्यशैलीको प्रश्नमा पनि विवाद छ हैन ?
संगठनात्मक कार्यशैलीलाई हामीले त्यति ठूलो बनाएका छैनौं । राजनीतिकरुपमा मूल कुराहरु मिले भने त्यो त्यति ठूलो कुरा हो । ती कुराहरु पनि आउँछन् तर अरु कुरा मिले भने त्यो गौण नै हो । किनभने यसअघि पनि मूलतः नेतृत्व र कार्यशैलीकै वरिपरिको विवादले पार्टी फुट्ने देखिँदै आएको छ नि ?
जनवादी केन्द्रीयताको बहसमा पार्टी फुटेको होइन । फूटका पछाडि मूलभूतरुपमा राजनीतिक कुराहरुमा नै विवाद हो । सेना समायोजनका कुरा उठे, जनताको गणतन्त्रको प्रश्न, पार्टीको क्रान्तिको रणनीति के रहने जस्ता विषयहरु नै विभाजनका कारण बनेका हुन । हाम्रो लागि सांगठिनक पक्ष गौण हो ।
अन्य वाम घटकहरुसँग एकताका लागि पनि पहल गर्नुभएको छ ?
अनौपचारिक कुरा हुने गर्दछ । मणिजी, विप्लवजी सँग । तर त्यस्तो कुनै ठोस कुरा भएको छैन । हाम्रो जोड भनेको सच्चा क्रान्तिकारी कम्युनिष्टहरु जस अन्तर्गत नयाँ जनवाद मान्ने, माओवाद अथवा विचार मान्ने (वैज्ञानिक त माओवादै हो)हरुबीच एकता मान्ने पक्षसँग एकताबद्ध बनाउनुपर्छ भन्ने हो । त्यो अभियानमा हामी लाग्छौं । एकता नभएर ध्रवीकरण होला, एकता र धु्रवीकरण अत्यन्तै आवश्यक र अपरिहार्य बनेको छ । त्यो अभियानमा हामी लाग्छौं ।
सिद्धान्त र राजनीतिको कुरा गर्नुभयो, तर फूटको औचित्य नै पुष्टि गर्न सक्नुभएन भन्ने आरोप पनि लगाइन्छ नि तपाईहरुमाथि ?
फूटको औचित्यको पुष्टि एकैछिनमा त गर्न सकिन्न नि । त्यसका लामो समय लाग्छ । जनयुद्धको यत्रो ठूलोघर भताभुंग भयो । संगठन बन्नुपर्यो, जनतासम्म जानु पर्यो । जनतामा यो के हो भन्ने अलमल छ । कमसेकम सैद्धान्तिकरुपमा हामी सही ठाउँमा छौं भन्ने हामीलाई लागेको छ । समय लाग्छ ।
पार्टी फुटेपछि पनि तपाईहरुको निष्क्रियता देखियो । कार्यक्रमको हकमा जड भएर बस्नुभयो भन्ने आम बुझाई छ त ?
त्यो गलत हो । किनभने जनताको बीचमा जानुपर्ने हो । तर यहाँ कस्तो देखा पर्यो भने मान्छेले मान्छेले तुरुन्तै क्रान्ति खोज्ने, तुरुन्तै परिणाम खोज्ने ? ए बाबा, त्यो परिणाम आउन त लामो समय लाग्छ । तपाई तुरुन्तै भनेर कसरी हुन्छ ? त्यो त हुन्न । क्रान्तिमा उकाली ओराली आउँछन् । सबैले क्रान्तिको उभारलाई मात्रै बुझ्छ, प्रतिक्रियाकाललाई ओरालो लागेको काललाई बुझ्दैन । अहिले हामी उतारको कालमा छौं । यस्तो बेला लामो तयारी नगरी कहाँबाट हुन्छ । अपेक्षाले मात्रै हुन्छ ? अपेक्षा त हाम्रो साम्यवाद नै हो नि । यो कुरामा क्रान्तिकारी धैर्य र विवेकको आवश्यकता पर्छ ।
बाबुरामजीको फूटले पनि एकताका लागि दबाब दिइरहेको होला नि ?
फूट भएपनि फूटको घटना त्यो निश्चितरुपमा हो । तर बाबुरामजी अलग भएपछि एमाओवादीको राजनीीतमा फरक के हो भन्ने कुरा देखिनु पर्यो नि । बाबुरामजीले माक्र्सवाद, लेनिनवाद र माओवादमाथि नै आशंका व्यक्त गर्नुभयो । नयाँ शक्ति भन्नुहुन्छ, तर त्यो पुरानो शक्ति नै हो । नाम नयाँ दिएर कहाँ हुन्छ ? कुरा गर्ने नयाँ नयाँ मान्छे पुराना बटुलेर कसरी नयाँ हुन्छ ? त्यो धेरै पर गइरहेका छन् ।
तर यो कुरालाई प्रचण्डजीले कसरी सोच्नुहुन्छ ? हामीले ठ्याक्कै भन्न सक्दैनौं । अहिले उनीहरुको केन्द्रीय समितिको बैठक बसिरहेको छ, त्यसमा सैद्धान्तिक राजनीतिक विषयमा सकारात्मक निर्णय गर्ला भन्ने हाम्रो आसा छ ।
माओवादी जनयुद्ध त्यति ठूलो उत्कर्षमा पुग्यो । तपाईहरुले त्यतिविधि संघर्ष गर्नुभयो । तर अहिले आएर हेर्दा जनयुद्धमा लागेकाहरुले आन्दोलन, पार्टी, क्रान्ति सिद्दियो भनेर चिन्ता गर्नुपर्ने, पलायन हुनुपर्ने अवस्थाको सिर्जना किन भयो होला जस्तो लाग्छ यहाँलाई ?
यसमा पहिलो कुरा के हो भने क्रान्तिको प्रक्रियामा जीत हार त निश्चितरुपमा हुन्छ । तर कुरा के हो भने हाम्रो जुन यो हार भयो, यो थाहै नपाई हार भयो । लडाइ गरेर हार्या त छैन नि ? तपाई नै भन्नुस् हामी लडेर हारेको त होइन । राम्रो भएर गइराख्या थियो । खासमा हामीलाई नेतृत्वले झुक्याएको हो । सिंगो जनतालाई ‘ल क्रान्ति गर्ने हो, विद्रोह गर्ने हो’ भनेर ल्याइहाले । सम्झौता भएको रहेछ अर्कै । १२ बुँदे हुँदै गर्दा त त्यहाँ अर्कै अर्कै भाे । सिंगो पार्टी पंक्ति झुक्कियो । नेतृत्वले झुक्याएकै हो । हारेको त पछि आएर पो थाहा पो । हामीले त राज्यसत्तामा क्रान्ति हुन्छ, विद्रोह हुन्छ भन्ने सोचिराखेका थियौं । तर सम्झौताका नाममा जम्मै स्वाहा पारिसकेको रहेछ । त्यो नेतृत्वको गम्भीरप्रकारको कमजोरी हो ।
नेतृत्वलाई मात्रै दोष दिएर उम्किन सकिएला र ? कार्यकर्ताको पंक्तिबाट पनि नेतृत्वलाई सचेत पार्ने, आलोचना गर्ने काम पनि भएन ?
त्यो पनि एउटा पक्ष हो । कस्तो भयो भने नेतृत्वमा दुईजना सर्वेसर्वा हुनुभयो । त्यहाँ कसैले पनि बिरोध गर्ने अवस्था आउँदैनथ्यो । मैले त जेलबाट फर्केर आइसकेपछि यो लालजोडी चल्दैन, हलजोडी चल्दैन यो तरिकाले हुँदैन भनेर मैले भनेको हो । यहाँसम्म कि विस्तृत शान्ति सम्झौता समेत केन्द्रीय समितिमा निर्णय भएको छैन । साथीहरुलाई सोध्दा यो त वहाँहरु दुईजनाले गरेको भन्नुभयो ।
बाहिरबाट हेर्दा पनि सेनासमायोजनसम्म आइपुग्दा पनि त्यति ठूल्ठूला राजनीतिक प्रश्नमा पार्टीभित्र जुन खालको बहस चल्नुपथ्र्यो त्यो देखिएन ?
हो, त्यस्तै भयो । अर्को कुरा के पनि भयो भने हामीले प्रचण्डपथ भन्यौं । त्यहाँ गल्ती गरिएछ जस्तो लाग्छ । आधिकारिता प्रदान गरियो तर त्यसको दुरुपयोग भयो । क्रान्तिमा नेतृत्वको, केन्द्रीयताको हात मजबूत पार्नै पर्ने हुन्छ । तर त्यो जनवादको जगमा उठेको हुनुपर्यो । तर जनवाद छोडियो र केन्द्रीयतामा मात्रै पार्टी गयो । पार्टीपंक्तिले विश्वास गर्यो । हामीले विश्वास गरियो । तर वहाँहरुबाट विश्वासघात भयो । कुरा त्यही हो ।
यसका लागि तपाइहरुले पनि त केही पहल, वातावरण बनाउने छलफल चलाउने गर्नुभएको होला नी ?
त्यो भइरहेको छ, हामी चुप लागेर त बसेका छैनौं । कुरा मिलाउने  त गरिरहेकै छौं, निरन्तर कुराकानी भएको छ । सच्चा क्रान्तिकारी कम्युनिष्ठहरुलाई, सच्चा माओवादीहरुलाई, माओविचार मान्ने समेतलाई पनि एकैठाउँमा ल्याउनको निम्ति निरन्तर पहल गर्छाै, तर बैचारिक कुरामा हामी छोड्दैनौं ।
भारतले गरेको नाकाबन्दीलाई कसरी लिनुभएको छ  ?
आफ्नो स्थितिअनुसार गइरहेका छौ भनौं । या दुइवटा कुरा छन् नाकाबन्दी मात्रै भनेर पनि हुदैन । यी सब विगार्ने तीन दल हुन् । एउटा संविधान बनाउने प्रक्रियामा । संविधान त बनाइयो । तर कमसेकम बाटो हेरेर दुइचार दिन बाटो हेरेर केही समय आम छलफल बहस गरेर बनाउनु पथ्र्याे । कसैलाई सत्तामा जान आतुरी भयो भनेर संविधान बनाउन हतार गर्ने ? खास कारण त्यही हो । सब छोडेर संविधान हुने वित्तिकै विश्वकै उत्कृष्ठ संविधान पनि भने । देश भरी आगो त बलेकै हो नी फेरि ।
तर तीन दलले बैदेशिक हस्तक्षेप रोक्नको लागि, षडयन्त्र रोक्नको लागि संविधान चाँडो बनाएको बताएका छन नी ?
त्यो सरासर झुट हो । त्यो त हामीलाई थाहा छ । वैदेशिककै कुरा गर्नुहुन्छ भने एउटा शक्तिले बनायो भनेको छ । अर्काे शक्ति भित्रभित्रै लाग्या छ । एउटै केन्द्रबाट यस्ता गतिविधि भइरहेका छन् । त्यसकारण यो वाहियात राष्ट्रवाद हो ।
मैले उहाँहरुसँग पनि भनेको छु, सच्चा राष्ट्रवाद हो नेपालसँग भएको असमान सन्धी सम्झौता किन खारेज नगरेको ? तुरुन्तै खारेज गर्नुस, पिटिए र पिडिएमा हस्ताक्षर ठोक्ने तपाइहरु । जलस्रोत बेच्ने तपाइहरु बडा राष्ट्रवादको कुरा गर्नुहुन्छ अहिले ? राष्ट्रवादी हुन भने असमान सन्धि सम्झौता खारेज होस हामी राष्ट्रवादीहरुको पक्षमा छौं ।
दोस्रो कुरा आन्दोलनरत जनताको माग त सम्बोधन गर्नुपर्यो नी । मधेसी, थारुको सवालमा चुप लाग्न मिल्छ ? अनि यत्रो आन्दोलनबाट आएको वर्गीय मुद्दा हल गर्ने बारेमा कोही बोल्दै बाल्दैन । असन्तुष्ट पक्षको जायज माग पूरा गर्नुपर्यो ।
अनि नाकाबन्दीको अन्त्य गर्नतिर सरकार लाग्नुपर्यो । यी दुइवटा विषयमा सरकारमा रहेका पार्टी, प्रतिपक्षीहरुले गम्भीरतापूर्वक सोच्न जरुरी छ ।
 मधेसको आन्दोलन त भारतले उठाएको भन्छन् नी ?
त्यसमा दुइवटा पाटा छन् । एक, मधेसी, थारु जनताका हक अधिकारका कुरा छन् । दोस्रो लिडरसीप जो छ, उ भारत परस्त भएको कुरा प्रष्टै छ । तर माग फेरी नेपाली जनताको उठाइरहेको छ । यस्तो मौकामा भारतले चलखेल गरेको साँचो हो । धमिलो पानीमा माछा मार्ने खेलमा लागिपरेको छ भारत ।
त्यसो भए, अब राष्ट्रियताको सवालमा कसरी अघि बढ्ने सोचिरहनुभएको छ ?
कसरी अघि वढ्ने स्थिति धेरै गम्भीर भएको छ । देश गम्भीर संकटतिर जाँदै छ । राष्ट्रियता, जनतन्त्र, लोकतन्त्रको सवालमा पनि संकट र जनजिविकाको सवालमा त आहातै भइसकेको छ । जनजिविका यसैपनि संकटमा थियो बैशाखमा भूकम्प आयो क्षतविच्छेद बनायो झन अहिलेको नाकाबन्दीले भूइचाँलो भन्दा कयौ गुणा क्षति बनाइसक्यो । देश आर्थिक स्थितिले धानिन नसक्ने अबस्थामा पुगेको छ । अब त ठूलै आर्थिक मन्दी आउने अबस्थामा पुगेको छ । विद्यार्थीले पढ्न नपाएर वेहाल भयो, उद्योग कलकारखाना चल्न नपाएर वेहाल भइसक्यो यातायातको हालत झन दयनीय छ । इन्धन आपुर्तीको समस्या विकराल छ । आन्दोलनको निहँमा भारतले गरेको नाकाबन्दी हाम्रो स्वतन्त्र पारवहनको विरुद्धमा छ । यो अबस्थामा समाधानका दुइवटा उपाय एउटा अल्पकालीन, तत्काल गरिहाल्नुपर्ने जुन सरकारमा बसेकाहरुले र प्रतिपक्षीहरुले परिणाममुखी वार्ता गरेर उनीहरुले उठाएका जायज माग पूरा गर्न ढिला गर्नु हुदैन । अर्काे भारतको नाकाबन्दीको विरुद्ध ( भूपरिवेष्ठित मूलुकले स्वतन्त्र पारवहन अधिकार विरुद्ध छ) अन्तराष्ट्रियकरण गर्न सरकारले विशेष जोड दिनुपर्दछ । त्यसका लागि हामीले आत्म निर्भर कसरी बन्ने भन्ने कुरालाई गम्भीर भएर ध्यान दिनुपर्छ । देशभित्रै इन्धन, कोइला, ग्यास लगायत वैकल्पिक व्यबस्था गर्नु पर्यो र अन्तराष्ट्रबाट ल्याउन ध्यान दिनुपर्छ । तर दक्षिणतिरबाट नेपाललाई संकटमा पारेर आफ्नो उद्देश्य पूरा गर्ने गुरु योजना, षड्यन्त्र गरिएको हो । कहाँ कति मिलन सकिने हो,, मिलेर भारतीय विरुद्ध सयुक्त आन्दोलनको आबश्यकता छ ।
त्यो भन्या राष्ट्रियताका लागि हो ?
राष्ट्रियता, जनजीविका, आर्थिक उन्नति सबैका लागि हो । संविधान बन्यो जनवादी क्रान्ति भयो भन्ने, एउटा संविधानको खास्टो आउदैमा सबै प्राप्त भयो भनेर मख्ख पर्ने अनि देश झन् संकटमा फस्दै गएपछि के गर्ने ? । त्यसकारण यी सबका निम्ति एउटा नयाँ संघर्षको, सयुक्त संघर्षको आबश्यकता छ । यस विषयमा सबै पार्टीले गम्भीरता पूर्वक लिनुपर्छ । तर यो संघर्ष दोस्रो विकल्प हो है पहिलो विकल्प त सरकारले नै ध्यान दिनुपर्छ । तर यहाँ सबै कुर्सी जोगाउने खेलमा छन् । त्यसरी हुँदैन । सरकारले आन्दोलनरत सँग तत्काल वार्ता गर्ने, अन्तराष्ट्रियकरण गर्ने र मुलुकलाई आत्मनिर्भर बनाउन लाग्नु पर्छ । त्यसका लागि सरकारलाई झकझकाउनु पर्छ हामीले गर्दै पनि आइरहेका छौं ।
तस्विर तथा भिडियो : प्रकाश रायमाझी

http://www.everestdainik.com बाट साभार 

No comments:

Post a Comment