काठमाडौं, २०७२ मंसिर ८ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले यथास्थितिमा एमाओवादीसँग एकता हुन नसक्ने बताएका छन् ।
एमाओवादीसँग एकता मंसिरमा नै हुने कुरा समाचारमाध्यमहरुमा सार्वजनिक भइरहेको बेला सैद्धान्तिक मतेभदमा सहमति जुटाउने काम भइरहेको वैद्यले स्पष्ट पारेका हुन ।
“आजको भोली एकता हुन्छ भन्ने कुरा साँचो होइन ।” एभरेष्टदैनिकडटकमसँग कुरा गर्दै वैद्यले भने, “अनौपचारिक भेटघाट चलिरहेको छ । कुराकानी हुन्छ । तर एकताकै बिन्दुमा पुगिसकेका छैनौं ।’
एमाओवादीको रणनीतिक कार्यदिशा र उनीहरुको दृष्टिकोणसँग पार्टीको असहमति रहेकोले मतभेदका विषयहरुमा सहमति कायम नगरी एकता हुन नसक्ने वैद्यको जिकिर थियो । “वहाँहरुले संविधानलाई ऐतिहासिक उपलब्धिका रुपमा लिनुभएको छ, हामीले त्यसले नेपाली जनताका आधारभूत समस्या हल गर्न नसक्ने बताएका छौं ।’ वैद्यले भने ।
क्रान्ति र संघर्षलाई परिभाषित गर्ने सवालमा समेत एमाओवादीसँग असहमति रहेको बताउँदै वैद्यले कार्यनीतिक मुद्धाहरुमा मात्रै एकताको सम्भावना नरहेको समेत स्पष्ट गरे । वैद्यले भने, “वहाँहरुले लोकतान्त्रिक पूँजिवादी क्रान्ति पुरा भएको विश्लेषण गरेका छन् । समाजवादी क्रान्तिको कुरा गरेका छन् । तर जनवादी क्रान्ति पुरा नभएको, सामन्तवादको समूल अन्त्य नभएको हाम्रो ठहर छ । बुर्जुवा क्रान्ति पुरा हुनुको अर्थ त साम्राज्यवादी विस्तारवादी उत्पीडिनबाट समेत मुक्त हुने अवस्था हो । देशको अवस्था हेर्दा हामीले केही राजनीतिक उपलब्धि हासिल गरेपनि जनवादी क्रान्ति पुरा भएको कदापी होइन ।”
संविधान निर्माणसँगै चुनवाङ कार्यदिशाको समापन भएको अवस्थामा एमाओवादीका लागि समेत क्रान्ति र परिवर्तनको रणनीति निर्माण गर्नुपर्ने बेला आएकोले सहमतिको सम्भावना बलियो हुने भने वैद्यको ठहर छ । “उनीहरु राम्रो तरिकाले, विगतका सैद्धान्तिक कमी कमजोरी सच्याएर आउनु भयो भने हामी एकताका लागि तयार छौं ।’ वैद्यले भने “कोशिस गरिरहेका छौं, कोशीस जारी छ । दुबैपक्ष जनताका पक्षमा इमान्दार हुने हो भने एकता हुने विश्वास हाम्रो छ ।” वैद्यले भने ।
बाबुराम भट्टराईको नयाँ शक्तिका बारेमा प्रतिक्रिया लिँदा वैद्यले त्यसलाई माक्र्सवादबाट पतन भएको बताए । बाबुरामको नयाँ शक्ति कुनै सैद्धान्तिक फूट या संगठन बनेको नभई खिचडी पार्टी गठनको अभियान भएको उनको जिकिर थियो । “माक्र्सवाद र पूँजिवादलाई मिसाएर लैजाने बाबुरामजीको कुरा उत्तरआधुनिकतावादी चिन्तन हो । उनले माक्र्सवाद छोडेको स्पष्ट छ । खिचडी पार्टीबाट नेपाली जनताले के आशा गर्ने ? ” एभरेष्टदैनिकडटकमसँग कुरा गर्दै वैद्यले भने । आफ्नो संगठनबाट नयाँ शक्तिमा कोही पनि नगएको समेत वैद्यले बताए ।
परि थापाले नेतृत्व गरेको नेकपा एकीकृत र मोहन वैद्य नेतृत्वको नेकपा माओवादीबीच हालै मात्र एकता भएको थियो । नयाँ जनवादी क्रान्तिको रणनीति लिने गरी जन्मेको क्रान्तिकारी माओवादी र एमाओवादीबीच एकताका लागि कार्यकर्ताका तहमा भने व्यापक दबाब सिर्जना भएको छ । एमाओवादी र क्रान्तिकारी माओवादीलगायत मणी थापा, नेत्र बिक्रम चन्द र मातृका यादव नेतृत्वको माओवादी घटकभित्र समेत कार्यकर्ता तहमा पार्टी एकताका लागि ठूलो दबाब सिर्जना भएको हो । नेतृत्व तहमा भने रणनीतिमा सहमति हुनुपर्ने अडान बैद्यले राख्दै आएका छन् ।
http://www.everestdainik.com बाट साभार
No comments:
Post a Comment