Monday, July 6, 2015

बाबुरामजीले छुट्टै भेला गर्न जरुरी छैन, फुटेर हामी कहीँ पुग्दैनौं :महरा

 

Mahara
स्रोह बुँदे सहमतिसँगै अहिले चार राजनीतिक दल नयाँ संविधान निर्माणमा जुटेका छन् । चारै पार्टीले १६ बुँदेको पृष्ठभूमि, परिवर्तित राजनीतिक घट्नाक्रमले सबै पार्टीमा नयाँ बहस सिर्जना भएको छ । एक साताअघि एकीकृत माओवादीको संस्थापन पक्षले काठमाडौंमा राजनीतिक प्रशिक्षण कार्यक्रम गर्योे । प्रशिक्षणका प्रमुख एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महरा थिए । शनिबार पार्टी वरिष्ठ नेता बाबुराम भट्टराई पक्षले पनि अर्को राजनीतिक प्रशिक्षण राख्यो, जहाँ स्वयं भट्टराई नै प्रमुख प्रशिक्षक बने । समानान्तर पार्टीका रुपमा दुईवटा प्रशिक्षण पछि पार्टीको आन्तरिक एजेन्डाबारे महासचिव महरासँग एभरेष्टदैनिक डटकमले गरेको कुराकानी:
एक साताअघि तपाईंले संस्थापन पक्षको बेग्लै राजनीतिक प्रशिक्षण राखेका कारण शनिबार वरिष्ठ नेता बाबुराम भट्टराई पक्षधरले अर्को प्रशिक्षण राखिएको भनिन्छ नि ? 
– यो छुट्टै भेला, प्रशिक्षण भन्ने विषय होइन । १६ बुँदे सहमतिबारे जानकारी दिन देशभर प्रशिक्षण चलेका छन् । काठमाडौंको हकमा एक साताअघि मेरो उपस्थितिमा राजनीतिक प्रशिक्षण भएको सत्य हो । त्यहाँ अधिकांश साथीहरु थिए । केही साथीहरु उपस्थित थिएनन् । उनीहरूले हामीलाई पनि प्रशिक्षण चाहियो भने । गर्नुस् भनेको हुँ । तर, जुन किसिमले पहिले कारणवस छुटेकाहरुका लागि प्रशिक्षण भनिएको हो त्यो भन्दा अलिक फरक ढंगले भयो ।
किन यस्तो भयो त ? 
कुरा के हो भने मुख्य डकुमेन्टमा अध्यक्षले मंसिर २८ गतेको केन्द्रीय समिति बैठकमा पेश गरिसक्नुभएको छ । डकुमेन्टको सार के छ भने पार्टी यही अवस्थाबाट अघि बढ्दैन । पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्छ भन्ने हो । नयाँ पार्टी भनेको राजनीतिक, वैचारिक, सांगठनिक, नेतृत्व प्रणाली सबै विषयमा बहस गर्ने भनेर प्रतिवेदनमा प्रष्टै लेखिएको छ । यी विषयमाथि ‘ग्रेट डिवेट’मा जानुपर्छ भन्ने प्रतिवेदनमा उल्लेख छ । त्यसपछि पार्टी नयाँ ढंगबाट अघि बढाउनु पर्छ भन्ने छ । छलफल नहुँदासम्म पार्टीभित्रै छलफल गरौं भन्ने हो । छलफल पार्टीभित्रै रहेकाले बाहिर गुट, उप–गुट बनाएर अर्को पार्टी बनाउनु पर्छ भन्ने होइन । केन्द्रीय समितिको बैठकमा अध्यक्षले पेश गर्नुभएकै छ । त्यसलाई अहिले बाहिर लगेर गुट अनुसार छलफल गर्नु आवश्यक छैन । नयाँ पार्टी आवश्यक छ त्यसको अर्थ समानान्तर पार्टी चलाउने होइन । अहिले त्यस्तो देखिएको छ ।
हिजोकै प्रशिक्षणको कुरा गर्नुहुन्छ भने पहिलेको प्रशिक्षणमा छुटेका साथीहरूलाई दिने भनिएको हो । तर, समानान्तर पार्टीका रुपमा होइन । नयाँ पार्टी बनाउने, गुट बनाएर जाने उद्देश्यले कसैले पनि भेला, प्रशिक्षण गर्नु भएन । बाबुराम जी हो वा जोसुकैले समानान्तर पार्टीका रुपमा भेला प्रशिक्षण गर्न जरुरी छैन ।
संविधान निर्माण लगत्तै एकीकृत माओवादीमा पुनः अर्को धु्रवीकरण हुन्छ भन्ने बाहिरी अनुमान जस्तै हिजोको प्रशिक्षणले त्यस्तै संकेत गर्यो नि, होईन ? 
– त्यो अहिले नै भन्न सकिन्न । त्यसो भन्ने बेला भएको छैन । अहिले मलाई लाग्ने के हो भने पार्टी अहिले पार्टी जस्तो छैन । पार्टीभित्र संकट छ । संविधान निर्माणपछि पार्टीलाई नयाँ निर्माण गर्नुपर्ने नै छ । त्यसका लागि पार्टीभित्र बहस, छलफल गरेर नयाँ ढंगले एकताबद्ध हुने हो । छलफल पछि कुन रूपले जाने भन्ने हुन्छ । कुरा नमिले पार्टी फरक–फरक ढंगले पनि जान सक्छ । तर, हामी सबै नेतृत्वले पार्टीलाई नयाँ बनाउने भन्ने हो समानान्तर पार्टी बनाउने र अलग्गै बनाउने भन्ने धारणा राख्नुहुन्न ।
तपाईंहरुले पनि ‘नयाँ पार्टी’ भनिरहनु भएको छ । वरिष्ठ नेता बाबुराम भट्टराईले झन धेरै ‘नयाँ शक्ति, नयाँ पार्टी’ भनिरहनुहुन्छ । दुवै पक्षले ‘नयाँ’ भन्ने तर कुरा नमिल्ने । नमिलेको कहाँ हो । ?
– नयाँ भनेको अहिले अर्को पार्टी बनाउने भनेको होइन । अहिले राजनीतिक अवस्था नयाँ ठाउँमा रहेकाले नयाँ ढंगले पार्टी अघि बढ्नुपर्छ भन्ने हो । हाम्रो पार्टीको जग भनेको जनयुद्ध हो । त्यसपछि हामी शान्ति प्रक्रियामा आएका हौं । अहिले शान्ति प्रक्रियामा छौं । संविधान निर्माण पुरा भएपछि नयाँ राजनीतिको बहस शुरु हुन्छ । पार्टी नयाँ ढंगले अघि बढ्छ । हेटौंडा महाधिवेशनबाट समाजवादी अवधारणालाई कसरी पुरा गर्ने भन्ने कार्यदिशा लियौं । संविधान बनेपछि अब हामीले समाजवाद केन्द्रित कार्यक्रम तय गर्नुपर्छ । नयाँ कार्यदिशा लिएपछि पार्टीलाई नयाँ ढंगले अगाडी बढ्छ । बाबुराम जीले भने जस्तो नयाँ शक्तिको बहस पनि आउला त्यहाँ । अरु नेताहरुले भन्ने पनि नयाँ हो । तर, नयाँ भनेको कस्तो हो त ? भन्ने विषय महत्वपूर्ण हो । मैले भनि सके नि बहस, छलफल खुलै छन् । बहस, छलफल आउन दिनुपर्छ । आएपछि कस्तो बन्छ भन्ने अहिले भन्न सकिन्न ।
बहस, छलफल त जीवन्त पार्टीमा हुने नै भयो । तर, पार्टीभित्र छुट्टा–छुट्टै, गुट, उप–गुटमा बहस छलफल केन्द्रित हुन लागेको देखिन्छ नि ? 
– त्यस्तो नहोस् भन्ने हो । पहिले त वैचारिक, राजनीतिक, सांगठनिक रुपमा स्पष्ट हुनु प¥यो । पहिलो वैचारिक, राजनीतिक विषय क्लिर हुनुप¥यो । संगठन कस्तो बनाउने भन्ने तेस्रो कुरा हो । कुन राजनीतिक विचारले पार्टीलाई गाइड गर्ने हो भन्ने कुरा टुंगो लागिसकेपछि मात्रै संगठन आउँछ । पहिले संगठन बन्ने, को मान्छेलाई कहाँ राख्ने भन्ने छलफलले व्यक्ति केन्द्रित बनाउँछ । मान्छे आपूmतिर केन्द्रित भएर बहस गर्छ । पहिले सोँच्ने भनेको अबको दिशा के हो ? कुन राजनीतिले हामीलाई गाइड गर्छ र हामी कता जाँदै छौं भन्ने छलफल पहिले हुनुपर्छ । त्यसो नभइकन गुट उपगुटमा जाँदा त्यसले राम्रो काम गर्दैन । वैचारिक कार्यदिशा प्रष्ट भएपछि सांगठानिक, नेतृत्व कहाँ रहने भन्ने सबै टुंगिन्छ ।
बाबुरामजीहरुले भेला गर्ने वित्तिकै संस्थापनले दोस्रो ‘धोवीघाट’ हुन लागेको भनेर चर्चा गर्न लागेको सुनिएको छ, के यसलाई त्यसरी नै लिनुभएको छ ?
अहिले त्यो हुन्छ भन्ने स्थिति छैन । तर, संविधान निर्माण लगत्तै एउटा नयाँ बहस त शुरु हुन्छ । चुनबाङ्ग बैठकपछि संविधानसभाबाट संविधान निर्माण गर्ने एउटा राजनीतिक कोर्ष पुरा हुन्छ । पार्टी विविध कारणले फुट्यो । फुट्ने साथीहरुले यो कुरा बुझेनन कि यो कार्यनीति, कार्यदिशा यहाँसम्म आउनु नै पर्ने थियो । संविधानसभाबाट संविधान बनाऔं भन्ने एकीकृत माओवादीकै नीति हो । अब एकीकृत माओवादीले कुन कार्यदिशा लिने भन्नका लागि बहस शुरु हुन्छ । पार्टीभित्र पनि नयाँ बहस शुरु हुन्छ । त्यसपछि बाहिर रहेका साथीहरु पनि जोडिन्छन । फुट र विभाजनले हामी कहीँ पनि पुग्दैनौं ।


http://www.everestdainik.com बाट साभार 

No comments:

Post a Comment