‘म इन्डियनलाई घृणा गर्छु, तिनीहरु पशुजस्ता छन्, तिनीहरुको धर्म पनि त्यस्तै छ । खरायोले झै सन्तान जन्माउने तिनीहरुकै बुद्धिले अनिकाल निम्तिएको हो’–विन्सटन चर्चिल
एजेन्सी– बेलायतीहरुले जब भारतमा शासन गर्न थाले तिनीहरुले भारतबाट जसरी भए पनि आय गर्ने सोच बनाएका थिए । त्यो शासन क्रुर र भारतीयहरुप्रति अलिकति पनि सहानुभूति जगाउने खालको थिएन । ब्रिटिस राज हुञ्जेल भारतमा अनगिन्ती अनिकाल परे । वर्षात नहुँदा सुख्खाको कारण सिर्जना हुने अनिकालले सबैभन्दा बढी प्रभाव चाहिँ बंगालमा पार्यो । सन १७७० मा पहिलो अनिकाल देखियो । त्यसपछि १७८३ , १८६६, १८७३, १८९२, १८९७ र १९४३–४४ मा घातक अनिकालको सामना भारतीयहरुले गरे । ब्रिटिस राज अघि जब अनिकाल देखा पथ्र्यो, त्यसबेलाका राजाहरुले तुरुन्तै त्यस्ता समस्याको समाधान गर्न पहल गर्थे । ब्रिटिस राज सुरु भएपछि प्राकृतिक स्रोत साधनहरुलाई बेलायतीहरुले आफ्नो फाइदाको लागि प्रयोग गरे । जसका कारण समयमा वर्षा हुन छाड्यो, त्यहि कारण अनिकाल उत्पन्न हुन्थ्यो । सुख्खासँग जुध्न ब्रिटिसहरुले केही त गर्थे, तर उनीहरु भारतबाट हुने आयमा आएको अवरोधका कारण धेरै क्रुद्ध हुन्थे ।
१७७० को पहिलो अनिकालले निर्ममतापूर्वक धेरैको ज्यान लियो । मानिसहरु खान नपाएकै कारण मरे । १७६९ मा सुरु भएको अनिकालले १७७३ सम्म धेरैको ज्यान लिएको बताइन्छ । यो अनिकालले करिब १ करोड मानिसलाई मृत्युको मुखमा पुर्यायो । बंगालमा उत्पन्न यो अनिकालले एक तीहाई जनसंख्या कम गरिदियो । जोन फिस्केको ‘द अनसिन वल्र्ड’मा यसबारे उल्लेख छ । १७७० को बंगलाको अनिकाल १४ औ शताब्दीको यूरोपको प्लेग भन्दा पनि घातक रहेको सो पुस्तकमा उल्लेख छ । मुगल राज हुञ्जेल किसानले आफ्नो उब्जनीको १०–१५ प्रतिशत कर सरकारलाई बुझाउनु पथ्र्यो । त्यो कर बुझाउनको मतलव भविष्यमा आइपर्ने समस्याको समाधान राज्यले गर्ने भन्ने बुझिन्थ्यो ।
१७६५ मा अलहवादले इस्ट इन्डिया कम्पनीसँग एक सम्झौतामा हस्ताक्षर गर्यो । मुगल सम्राट शाह अलाम द्धितियसँग भएको सो सम्झौतापछि इस्ट इन्डियाले नै कर संकलन गर्ने अधिकार प्राप्त गर्यो । त्यसपछि इस्ट इन्डियाले ५० प्रतिशतसम्म कर वृद्धि गर्यो । तर पनि किसानहरुले आफूहरुले बुझाएको कर आफ्नै शासकलाई जान्छ ठानेर उब्जनी बुझाइरहे । ५० प्रतिशत उब्जनी सरकारलाई बुझाउनु परेपछि किसानहरुको जीवन प्रभावित भयो । हजारौं मानिसहरु बाँच्नका लागि अन्यत्र लागे । धेरै मानिसहरु खान नपाएर मरे । जसले बंगाल छाडेनन् ती धेरैजसो मरे । खेतिका लागि छुट्टयाइएको जमिन छाडेर धेरै हिँडे । तिरहुत, चम्पारन र बेठिया पनि नराम्रोसँग प्रभावित भए ।
त्यसपछि इस्ट इन्डिया कम्पनीले अनिकालमा मरेका मानिसका परिवारलाई क्षतिपूर्ति दिन भनेर फेरि भूमिकरमा ६० प्रतिशत वृद्धि गर्यो । जीवित किसानहरुले ब्रिटिस राजको लागि दोब्बर कर तिर्नु पर्ने भयो । यसो गर्नुको कारण चाहिँ बेलायतीहरुले आफ्नो आय नघटाउने उपाय थियो । त्यो बेला भारतीयहरुले मकै, गहुँ तरकारी उब्जाउ गर्थे । ब्रिटिस शासकहरुले नगदे बाली लगाउन उर्दी जारी गरे । ती बालीको मूल्य राम्रो आउने भन्दै बाली परिवर्तन गर्न लगाए । त्यसो गर्न लगाएर बेलायतीहरुले सन १७६८ मा भन्दा बढी आय अनिकाल लागेकै वर्ष १७७१ मा प्राप्त गरे । बेलायती शासकले आफ्नो नाफाका लागि बालि परिवर्तन गर्न लगाएको तथ्य बंगालीहरुले बुझ्न सकेनन् । सन १७७१ को अनिकाल पछि सन १९४३ को अनिकालले ३० लाख मानिसहरु मरे । त्यसबेला बाँच्नकालागि मानिसहरु घाँस र मान्छेकै मासु पनि खाएको बताइन्छ ।
त्यसबेलाका बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले भारत जान लागेको औषधि र खाद्यसामग्री सुविधा सम्पन्न यूरोपका सैनिकहरुलाई पठाए । जब भारत सरकारले अनिकालले छटपटाएका मानिसहरुको फोटो चर्चिललाई पठायो, त्यसपछि उनले भने,‘उसो भए गान्धी अहिलेसम्म किन मरेको छैन ? ’
http://kathmandutoday.com बाट साभार
No comments:
Post a Comment