खासगरी ९० सालको भुइँचालोको विषयमा र अलिकति त्यसभन्दा अघि गएका केही भुइँचालाको विषयमा ब्रह्मशमशेर जङ्गबहादुर राणा (वि.सं. १९६६–२०४४)ले लेखेको नेपालको महाभूकम्प भन्ने एउटा पुस्तक वि.सं. १९९१ मा छापिएको थियो । ९० सालभन्दा अगाडि गएका केही भुइँचालोको विषयमा उनले लेख्दा गल्ती हुन गएको विषयमा नयराज पन्त (वि.सं. १९७०–२०५९) बराबर कुरा गर्थे र नेपालको महाभूकम्प भन्ने त्यस पुस्तकको आफ्नो निजी प्रतिमा उनले केही संशोधन पनि गरिराखेका थिए । पछि मैले पनि त्यहाँ केही अशुद्धि भेट्टाउँदै गएँ । नेपालको खानी तथा भूगर्भविभागका भूगर्भशास्त्रविद् र भूकम्पविद्याविद् २ जनाले मिली लेखेको, हिस्टर्इक्ल् अर्थ्क्वेक्स् अफ् नेपाल् अर्थात् इतिहासमा चढेका, नेपालमा गएका भैँचाला भन्ने लेख २० वर्ष जतिअगाडि छापिएको थियो । टाकटुक पारी तयार पारिएको, २ पृष्ठको त्यस लेखमा पुरानै कुरा दोहर्याइएकोले नेपालको भैँचालोको इतिहासमा त्यसको खास मूल्य थिएन ।
इत्यादि कारणले म भैँचालोको इतिहासतिर तानिँदै गएँ । यसैले वि.सं. १८६५ जेठ २४ गते गएको भैँचालोको विषयमा एउटा लेख सप्रमाण लेखी वि.सं. २०५५ मा पूर्णिमा ९५ पूर्णाङ्क (५१–५३ पृ.) मा छपाएँ ।
फ्रान्सको सँत्र नासिओनल् दे ला रशेर्शे साँतिफिक् अर्थात् शास्त्रीय अर्थात् वैज्ञानिक अन्वेषणको राष्ट्रिय केन्द्रबाट वि.सं. २०५६ को हिउँदमा ३ महीनाको लागि त्यहाँ अन्वेषण गर्न मलाई निमन्त्रणा मिल्यो । त्यस अवधिभित्र सिद्धिने खालको विषय समात्नुपर्ने भएकोले मैले भूकम्पको इतिहासको सम्बन्धमा अज्ञात, अल्पज्ञात र कुज्ञात विषयमा प्यारिसमा काम गरेँ । त्यसबाट पुस्तिका नै बनाई छाप्न मिल्ने लेख तयार भयो । वि.सं. २०५७ वैशाख ८ गते काठमाडौँमा भएको, हिमालयक्षेत्रमा मानिस वातावरण र भूदृश्यसम्बन्धी विद्वद्गोष्ठीमा त्यस लेखको सारांश पढियो । पूर्णिमा पत्रिकाको पूरकको रूपमा अङ्ग्रेजीमा निस्कने आदर्श २ संख्या (२९–६० पृ.)मा पछि त्यही साल अ स्टेप् टुवर्ड्ज् अ हिस्टर्इक्ल् साइज्मिसिटि अफ् नेपाल् अर्थात् नेपालमा गएका भैँचालाको इतिहासतिर चालिएको एक पाइला भन्ने शीर्षकमा पूरै लेख छापियो । त्यस लेखको फ्रेन्च भाषामा सारांश सँत्र नासिओनल् दे ला रशेर्शे साँतिफिक्द्वारा प्रकाशित इस्त्वार् ए दभनिर् दे पेइजाज् अँ इमालाया — रप्रेजँतास्योँ दे मिल्यु ए जेस्स्योँ दे रसुर्स् ओ नेपाल् ए ओ लादाख् अर्थात् हिमालयमा दृष्टिगोचरीभूत भूप्रदेशको इतिहास र भविष्य– नेपाल र लदाखको विभवको परिसर र निर्वहणको आलेखन भन्ने पुस्तक (१२२–१२४, ६१५ पृ.)मा कोँत्रिब्युस्योँ आलेत्युद् इस्तोरिक् दे सेइम्स् ओ नेपाल् अर्थात् नेपालमा गएका भैँचालाको इतिहासको परिशीलनसम्बन्धी लेख भन्ने नाउँमा वि.सं. २०५९ मा प्यारिसबाट छापियो । ९० सालको भैँचालोको सन्दर्भमा नेपालका अखवारमा छापिएका लेखमा ९० सालभन्दा अगाडिका भैँचालाको विषयमा परेका गल्ती सच्याई लेखिएको मेरो एउटा लेख नेपालमा कहिले कहिले भैँचालो गयो भन्ने विषयमा पत्रपत्रिकाले गरेका अशुद्धि देख्दा भन्ने नाउँले वि.सं. २०६० मा पूर्णिमा १११ पूर्णाङ्क (१–७ पृ.) मा छापियो ।
दिनेशराज पन्तको नेपालमा भूकम्प भन्ने लेख विसं. २०६७ मा मिर्मिरे २९८ पूर्णाङ्क (१–८ पृ.) मा छापियो । त्यसमा मेरा लेखमा परेका भैँचालाको विषयमा र उनले आफ्नो तर्फबाट खोजेका थप भैँचालाको विषयमा पनि लेखिएको छ ।
मेरो र दिनेशराज पन्त दुवैका लेखमा नपरेका, अरू ६ वटा भैँचालाको चर्चा यहाँनिर गर्नुपरेको छ । भूकम्पले भत्किएको, चाँगुनारायणको मन्दिरको जीर्णोद्धार भक्तपुरका राजा राय मल्लकी नातिनी देवकीदेवी ठकुरिनीले गराएको कुरा ने.सं. ६२७ (वि.सं. १५६४) आषाढ शुक्ल तृतीयाको दिन त्यहीँ राखिएको सुवर्णपत्रमा कुँदिएको छ
(मोहनप्रसाद खनाल, चाँगुनारायणका ऐतिहासिक सामग्री २०१ पृ.) । वि.सं. १८४७ श्रावण शुक्ल अष्टमीमा र वि.सं. १८५५ मा वैशाख कृष्णद्वादशी, ज्येष्ठ शुक्लचतुर्थी, ज्येष्ठ शुक्लपञ्चमी र माघ कृष्णषष्ठीमा गएका भैँचाला तात्कालिक पात्रामा टिपिएकाले थाहा भएका छन् (रामजी तेवारी, वि.सं. १८४३ देखि १८५९ सरम्मा पात्राका टिपोट, पूर्णिमा ५६ पूर्णाङ्क ११–१९ पृ.) ।
नेचर् जिओसाअइन्स् भन्ने विख्यात मासिक शोधपत्रिकाको ई.सं. २०१२ डिसेम्बर १६ तारीख अर्थात् वि.सं. २०६९ पौष १ गतेको अन्लाइन संस्करणमा नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाको नाउँ सबभन्दा अगाडि र त्यही केन्द्रका नापी अधिकृत डिल्लीराम तिवारीको नाउँ सबभन्दा पछाडि राखी अरू ४ जना विदेशीसमेतको नाउँमा प्राइमरि सर्फेस् रप्चर् अफ् द ग्रेट् हिमालयन् अर्थक्वेक्स् इन् १९३४ यान्ड् १२५५ अर्थात् वि.सं. १९९० र १३१२ मा हिमालय क्षेत्रमा ठूला भैँचाला जाँदा सतहमा परेका चिरा भन्ने लेख पोस्ट गरियो ।
यही पौष ४ गतेको जनदिशा (३ पृ.)मा आठ सय वर्ष अघिको महाभूकम्प नेपाल फर्किने विज्ञहरूको अध्ययन भन्ने खबर छापिएको छ । ई.सं. १२५५ जून ७ तारीखमा गएको भैँचालोबाट तीन खण्डको एक खण्ड मानिस मर्नुको साथै राजा अभय मल्लको पनि ज्यान गएको थियो, हजारौँ घर र मन्दिर ध्वस्त भए भनी त्यस खबरमा लेखिएको छ । फ्रान्स, सिंगापुर र नेपालका भुगर्भविद्हरूले गरेको अध्ययनको आधारमा त्यस भूकम्पको विषयमा विख्यात समाचार संस्था एएफपीले त्यो खबर प्रकाश गरेको कुरा जनदिशाबाट थाहा पाइन्छ ।
यही पौष ९ गतेको नेपाल समाचारपत्र (घ पृ.)मा आठ सय वर्ष अघिको भूकम्पको त्रास भत्रे लेख छापिएको छ । त्यस लेखमा ई.सं. १२५५ जून ७ तारीखमा गएको भैँचालोको चर्चा खास गरी छ । त्यस भैँचालोमा परी राजा अभय मल्लको समेत ज्यान गएको कुरा पनि त्यहाँ परेको छ । अरूले खोज गरी त्यस भैँचालोको विषयमा तयार पारेको लेखको चर्चा नगरी सोमनाथ सापकोटालाई सन् १२५५ को सो भूकम्पको अध्ययनकर्ता भनी त्यस लेखमा उनलाई पगरी गुताइदिइएको छ ।
आफ्ना गुरुहरू अर्थात् फ्रान्सका भूकम्पशास्त्रविद्हरूको निर्देशमा सोमनाथ सापकोटाले त्यस भैँचालोको विषयमा भूकम्पशास्त्रको हिसाबले केही काम गरे होलान्, तर इतिहासको दृष्टिले त्यस भैँचालोको परिशीलन र त्यहाँको मितिको परिवर्तन भने उनले गरेका होइनन् । इतिहासको दृष्टिले त्यस भैँचालोको जसले परिशीलन गर्यो र त्यस मितिलाई ई.सं.मा जसले बदल्यो, त्यसको चर्चा नेचर् जिओसाइअन्स्, जनदिशा र नेपाल समाचारपत्र कुनैमा पनि छैन ।
ई.सं. १२५५ जून ७ तारीखमा गएको भैँचालोको कुरा पक्कै पनि पुरानो इतिवृत्तको आधारमा लेखिएको हो । त्यस इतिवृत्तमा ई.सं.मा मिति त अवश्य हालिएको थिएन । त्यसलाई कसैले ई.सं. मा बदलेको थियो । नेपाली भाषाका जनदिशा र नेपाल समाचारपत्रमा त्यस भैँचालोको मिति ई.सं.मा दिनुको तुक कति पनि देखिँदैन ।
त्यो भैँचालो ने.सं. ३७५ आषाढ शुक्ल द्वितीयाको दिन गएको कुरा अहिले गोपालराजवंशावली नाउँले प्रख्यात इतिवृत्तमा छ । त्यसैको आधारमा मैले त्यस भैँचालोको विषयमा आदर्शमा लेखेको हुँ । त्यो लेख अङ्ग्रेजीमा लेखिएकोले त्यहाँको मिति ई.सं.मा बदली ई.सं. १२५५ जून ७ तारीख भनी निर्णय गरिएको हो । नेपालीमा छापिएको अखवारमा पनि ई.सं.मा मिति नदिई गतेमा बदली दिएको भए धेरै राम्रो हुन्थ्यो । तर त्यो कष्ट कसले गर्ने ? भैँचालोको विषयमा खोजी गर्ने भनी भित्रबाहिर सबैतिरबाट धन सोहर्नेहरूले यति विषयमा पनि ध्यान नदिने र अरूको कीर्ति हर्ने काम मात्र गरेको देख्दा कविशिरोमणि लेखनाथ पौड्याल (वि.सं. १९४१–२०२२)को सबैको अर्काकै गरम पसिनामाथि रहर भन्ने सूक्तिको याद अनायास हुन्छ ।
वि.सं. १९९० भन्दा अगाडि गएका, तात्कालिक आकर अर्थात् स्रोतमा चढेका भैँचालाको सूची अब तल दिइन्छ—
(लक्ष्मीपति–नयराजसंग्रहमा जुन जुन सालका पात्रा छन्, तिनको आधारमा गते पनि यहाँ हालिएको छ ।)
१) विसं. १२८० पौषशुक्लप्रतिपदा
२) विसं. १३१२ आषाढशुक्लद्वितीया
३) विसं. १४०१ आश्विनशुक्लसप्तमी
४) विसं. १५६४ आषाढशुक्लतृतीयाभन्दा अगाडि
५) विसं. १७७१ अधिकआषाढकृष्णद्वितीया
६) विसं. १८२४ आषाढशुक्लप्रतिपदा आषाढ १७ गते
७) विसं. १८४७ श्रावणशुक्लअष्टमी भाद्र ५ गते
८) विसं. १८५५ वैशाखकृष्णद्वादशी वैशाख ३ गते
९) विसं. १८५५ ज्येष्ठशुक्लचतुर्थी ज्येष्ठ ९ गते
१०) विसं. १८५५ ज्येष्ठशुक्लपञ्चमी ज्येष्ठ १० गते
११) विसं. १८५५ माघकृष्णषष्ठी माघ १७ गते
१२) विसं. १८६५ ज्येष्ठशुक्लदशमी ज्येष्ठ २४ गते
१३) विसं. १८८२ कार्तिककृष्णत्रयोदशी कार्तिक २५ गते
१४) विसं. १८९० अधिकभाद्रशुक्लद्वादशी
१५) विसं. १८९१ आषाढशुक्लपञ्चमी आषाढ २९ गते
१६) विसं. १८९१ भाद्रशुक्लएकादशी भाद्र ३० गते
१७) विसं. १८९१ आश्विनकृष्णअष्टमी आश्विन १२ गते
१८) विसं. १८९१ आश्विनकृष्णद्वादशी आश्विन १५ गते
१९) विसं. १९१४ ज्येष्ठपूर्णिमा ज्येष्ठ २७ गते
२०) विसं. १९२३ अधिकज्येष्ठशुक्लनवमी ज्येष्ठ ११ गते
२१) विसं. १९३८ ज्येष्ठकृष्णचतुर्दशी
२२) विसं. १९३८ ज्येष्ठशुक्लपञ्चमी
नेपालको कमसेकम पन्ध्र सय वर्षको इतिहासमा विसं. १९९० भन्दा अगाडि २२ वटा मात्रै भैँचाला गएको अवश्य पनि होइन । प्राचीन आकर अर्थात् स्रोत केलाउँदै गए यीभन्दा धेरै नै बढी भैँचालाका अभिलेख पाउन सकिन्छ । तर यो काम कसले गर्ने ? यति थाहा भएको पनि खास गरी हामी संशोधन–मण्डलकाले खोजी गरेकोले नै न हो ।
राजधानी दैनिक (२०६९ माघ १, सोमबार) बाट ।
www.esamata.com बाट साभार
==============================================
नेपालमा भूकम्पको इतिहास
http://kathmandutoday.com बाट साभार
==============================================
नेपालमा भूकम्पको इतिहास
नेपाली विकिपीडियाबाट
नेपालको इतिहासमा अभिलिखित वि.सं. १८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्पलाई नेपालमा भएका भूकम्पमध्ये ठूलो र विनाशकारी मानिन्छन् । नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ ।
१२१८ को भूकम्प
वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौं उपत्यकाका एकतिहाई जनसंख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो ।
१३१६ को भूकम्प
यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढंगले क्षति पुर्याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।
१४६५ को भूकम्प
करीब १४९ वर्षपछि वि.सं. १४६५मा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढले । जमीनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए ।
१७३७ देखिका भूकम्प
नेपालमा अन्य थुप्रैपटक भूकम्प गएको भनाइ रहेको भए तापनि प्रामाणिक तिथिमिति नभेटिएकामध्ये वि.सं. १७३७ सालको राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत निम्त्याएको थियो भने वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पुर्यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ । वि.सं. १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौं र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । भक्तपुरमा चाहिं यस भूकम्पले निकै मानिसको ज्यान लिएको थियो । यस्तै वि.सं. १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिंदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पुर्यायो । उल्लेखित भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए तापनि त्यसपछिका नेपालमा गएको भूकम्पहरूको तथ्यांक स्पष्ट पाइन्छ ।
१८९० देखि गएका भूकम्प
वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको झड्का महसूस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पार्यो । काठमाडौंमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्यो । भूकम्पले घाउ सेलाउन नपाउँदै एक वर्षपछि वि.सं. १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो ।
१९९० को भूकम्प
नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पार्यो । उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा आठ हजार ५१९ जनको मृत्यु भएको थियो भने काठमाडौं उपत्यकामा मात्र करीब चार हजार ५०० जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।
मिति विवरण न खुलेको
यस्तै सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा करीब २५ सय घर ध्वस्त भए । ४६ जना मानिसले ज्यान गुमाए भने सयौं चौपायाको ज्यान गएको थियो ।
२०४५ को भूकम्प
हामीले भुल्न नसक्ने स्मरणीय भूकम्प वि.सं. २०४५ भदौ ५ गते बिहान पौने पाँच बजे गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्ला स्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पुर्यायो भने राजधानी उपत्यकामा समेत यसको प्रभाव परेको थियो ।[१]
२०६९ को भूकम्प
यस्तै २०६९ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रबिन्दुमा गएको भूकम्पमा १११ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए ।[२]
२०७२ को भूकम्प
२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी हालसम्ममा ७ हजार ९ सय ४१ जनाको ज्यान गई सकेको र खोजि तथा उद्दारकार्य अझै जारी रहेको हुनाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। हालसम्म धेरै मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा दुई हजार ९३९ पुगेको छ भने काठमाण्डुमा मृतकको सङ्ख्या एक हजार २०९ पुगेको छ । भूकम्पका कारण १० हजार ८०३ सरकारी घर हरु तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिक रुपमा १५ हजार ०३४ घर तथा भवन हरु क्षति भएका छन् । सर्वसाधारणका २ लाख ९७ हजार २६६ घरहरु पूर्ण क्षति भएका छन् भने २ लाख ७७ हजार ५० घरहरु आंशिक क्षति भएका छन् । पूर्ण विवरण नआएको र संकलनकार्य जारी रहेकोले यो संख्या बाढ्नसक्ने सम्भाबना छ। अझै हजारौं घर उच्च जोखिममा रहेका छन।
http://ne.wikipedia.org/s/10tl बाट साभार
===============================================================
नेपालमा कहिले–कहिले गएका थिए विनासकारी भूकम्प
काठमाण्डु, २० वैशाख– नेपालमा विक्रम सम्वत १२१८ असार शुक्ल तृतीया सोमबाररका दिन पहिलो विनाशकारी भूकम्प गएको थियो । त्यतिबेला भूकम्प मापन यन्त्र (रेक्टर स्केल) को आवीस्कार नभएका कारण कति रेक्टरको भूकम्प गयो भन्ने वैज्ञानिक आधार छैन । तर क्षतिको मूल्यांकनका आधारमा विज्ञहरुले त्यतिबेला करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको बताउँदै आएका छन् । सोही भूकम्पमा राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाण्डु उपत्यकाको एकतिहाई जनसंख्या प्रभावित भएको थियो । काठमाण्डुका सर्वसाधारणले १५ देखि एक महिनासम्म सहर छाडेका थिए । एक महिनासम्म पटकपटक भूकम्का धक्काहरु महसुस गरिएको थियो । धैरै घर, मन्दिर र पुरतात्विक सम्पदा ध्वस्त भएका थिए ।
दोस्रो ठूलो भूकम्प विक्रम सम्वत १३१६ को हो । त्यो भूकम्पले पनि ठूलै क्षति पु¥याएको अनुमान गरिन्छ । धेरै मानिसको मृत्यु भएको अनुमान गरिए पनि यकिन तथ्यांक छैन । जसका कारण मुलुकमा महामारी फैलनुका साथै अनिकाल परेको थियो ।
दोस्रो ठूलो भूकम्प विक्रम सम्वत १३१६ को हो । त्यो भूकम्पले पनि ठूलै क्षति पु¥याएको अनुमान गरिन्छ । धेरै मानिसको मृत्यु भएको अनुमान गरिए पनि यकिन तथ्यांक छैन । जसका कारण मुलुकमा महामारी फैलनुका साथै अनिकाल परेको थियो ।
दोश्रो भूकम्पको १४९ वर्षपछि काठमाण्डुलाई केन्द्रबिन्दु बनाएर विक्रम सम्वत १४६५ मा तेश्रो भूकम्प आएको थियो । जुन भूकम्मले रातो मच्छिन्द्रनाथको मन्दिर जगैदेखि भत्कियो । त्यतिबेला काठमाण्डु उपत्यकाका धेरै मठमिन्दर र घरहरु भत्केका थिए ।
ठाउँठाउँमा जमिनमा ठूलठूला धाँजा फाटेका थिए । पानीको पुराना मुहान सुकेर नयाँ स्थानमा मुल पलाए पलाए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किएका थिए । विक्रम सम्वत १७३७ सालमा भूकम्प गएको इतिहासविद बताउँछन् । जसले ठूलो विपत् निम्त्याएको थियो । दर्जनौं मानिस मरेका थिए । काठमाण्डुलाई नै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पमा परी राजा श्रीनिवास मल्ल घाइते भएका थिए । तुलनात्मक रुपमा त्यतिबेला धनजनको कम क्षति भएको थियो ।
१८२४ असार १ गते एकैदिन २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पु¥यायोे । त्यसको कुनै आधिकारिक अभिलेख भेटिएको छैन । तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै धनजनको क्षति भएको ठानिएको छ ।
विक्रम सम्वत १८६७ जेठ १० गते अर्को भूकम्प गयो । भूकम्पबाट काठमाण्डु ललितपुर र भक्तपुरमा घरहरु भत्केका थिए । काठमाण्डु र ललितपुरमा ठूलो मानवीय क्षति भएन ।
यद्यपि मठमन्दिर धेरै भत्किए । भक्तपुरमा निकै मानिसको ज्यान गएको थियो ।
यद्यपि मठमन्दिर धेरै भत्किए । भक्तपुरमा निकै मानिसको ज्यान गएको थियो ।
विक्रम सम्वत १८८० यमपञ्चकका दिन भूकम्प गयो । एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिँदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पु¥यायो । भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए पनि त्यसपछि नेपालमा गएका भूकम्पको तथ्यांक स्पष्ट पाइन्छ ।
विक्रम सम्वत् १८९० भदौ १२ गते सोमबार साँझ करिब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको दोश्रो झड्का महसुस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु र बनेपा नराम्ररी प्रभावित भएका थिए । । काठमाण्डुमा रहेका दुईवटा धरहरामध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो ।
१८९० कै असोजमा अर्को ठूलो भूकम्प गयो । एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पा¥यो । अघिल्लो वर्षको भूकम्पले लगाएको घाउ सेलाउन नपाउँदै एक वर्षपछि विक्रम सम्वत १८९१ असार र असोजमा फेरि दुई ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो ।
नेपालको भूकम्प इतिहासमा सबैभन्दा विनाशकारी भूकम्प १९९० माघ २ गतेकोलाई मानिन्छ । त्यतिबेला काठमाण्डुमा राजा त्रिभुवन विक्रम शाह राजा थिए । संखुवासभाको चैनपुर केन्द्रबिन्दु बनाएर गएको ८ं.४ रेक्टर स्केलको भूकम्पले देशलाई नराम्रो असर पा¥यो ।
उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो । काठमाण्डु उपत्यकामा मात्र करिब चार हजार ५ सय जनाले ज्यान गुमाए । ९५ हजार मानिस घाइते भए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।
काठमाण्डु उपत्यका झण्डै तहसनहस भएको थियो । धरहराको आधा भाग त्यतिबेलै भत्किएको हो । घण्टाघर पनि क्षतिग्रस्त भएको थियो । भूकम्पले मुलुकका ९५ प्रतिशत स्थानमा खानेपानी आपूर्ति बन्द भएको थियो । झण्डै ५० प्रतिशत पुल भत्किए । सात लाख बढी मानिस घरबारविहीन भए ।
२०३७ सालमा सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले बझाङसहित सुदूरपश्चिमका बैतडी, बाजुरा र दार्चुला जिल्ला बढी प्रभावित भएका थिए । त्यसबेला करिब २५ सय घर ध्वस्त भए । १ सय २५ जना मानिसले ज्यान गुमाए । २ सय ४८ जना घाइते भए । ११ हजार ६ सय ४ ध्वस्त भएका थिए ।
२०४५ साल भदौ ५ गते बिहान पौने पाँच बजे ठूलो भूकम्प गएको थियो । उदयपुरको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६. ७ रेक्टर स्केलको भूकम्पमा ७५० जनाले ज्यान गुमाए । ६ हजार ५ सय भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पु¥यायो भने काठमाण्डु उपत्यकामासमे प्रभाव परेको थियो ।
२०६८ साल असोज १ गते भारतको सिक्किम केन्द्रबिन्दु भएर गएको ६. ९ रेक्टर स्केलको भूकम्प गएको थियो । जसमा ५ जनाको मृत्यु भएको थियो । २७ जनाबन्दा बढी घाइते भएका थिए ।
२०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको उत्तरी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको महाभूकम्प गयो । हालसम्म करिब ७ हजार मानिसको मृत्यु भइसकेको छ । त्यो संख्या १० हजार नाघ्ने अनुमान छ । सयौं घाइते छन् । भूकम्पका कारण हजारौं घरबारबिहीन भएका छन् । भूकम्पले एतिहासिक धरहरा ढलेको छ । पुरातात्विक तथा एतिहासिक महत्वको वसन्तपुर दरबार स्क्वाएर क्षतिग्रस्त भएको छ ।
(विकिपिडया र जियो टेक्निकल इन्जिनियर डा. दीपकराज भाटको सहयोगमा)