Tuesday, May 5, 2015

वागमती सभ्यतामाथिको हमला र सफाई - आहुति


दुई वर्षदेखि वागमती नदी सफाइ अभियान चलेको छ । यस वर्ष मानव साङ्लो बनाएपछि यस्तो लाग्छ कि अब वागमती पक्कै सफा हुने भयो । यस्तै, विष्णुमती सफाइ अभियान पनि केही समयअघि सुरु भएको छ । यो स्वाभाविक रूपमा सुन्दर र सराहनीय कुरा हो । त्यसमा पनि राज्यका विभिन्न निकायका मुख्य–मुख्य मानिस र राजनीतिक दलका शीर्षस्थ नेता अभियानमा कहिलेकाहीँ झुल्कनु झनै सुन्दर कुरा हो । तर, वागमती सफाइ अभियानसँग गाँसिएका केही गम्भीर प्रश्न अनुत्तरित छन् । ती प्रश्नतिर घोत्लिँदा यस्तो लाग्छ कि वागमती र वागमती उपत्यकामा बग्ने नदीहरू कहिल्यै पनि सफा हुने छैनन् ।
वागमती किन र कसरी फोहोर भयो ? अहिलेसम्म वागमती फोहोर हुनुको पहिलो कारण जनसंख्या वृद्धिलाई मानिएको छ । अर्को कारण सरकारले नै ढल नदीमा हाल्नु र जनताले पनि निजी ढल वागमतीमा हाल्नुलाई लिइएको छ । यी कारण त हुँदै हुन् । यी त निमित्त कारण हुन्, आधारभूत कारणबाट जन्मिएका निमित्त कारण । वागमती फोहोर हुनुको आधारभूत कारणबारे पनि छलफल हुनु आवश्यक छ । किनकि वागमती नदी हजारौँ वर्षदेखि यहाँका मानिसको सभ्यता र संस्कारसँग जोडिएको छ ।
aahuti (2)
यो उपत्यकामा किरातकाल, लिच्छवीकाल, मल्लकाल हुँदै निर्माण हुन पुगेको भाषिक र सांस्कृतिक एउटा जाति छ, नेवार । नेवार जातिभित्र पनि विभिन्न समूह छन् । समग्रमा नेवार जातिलाई तीन समूहमा राखेर बुझ्न सकिन्छ । जसमध्ये एउटा छ, किसानहरूको समूह ज्यापु । अर्को, राजकाज वा प्रशासनिक क्षेत्रमा लागेको जमात श्रेष्ठ । र, तेस्रो जमातमा छन्, प्रविधि, शिल्पकारिता र सेवामुलक काममा संलग्न समूहहरू ।
ऐतिहासिक रूपमा हेर्दा, समग्र नेवार जातिभित्र निजी चर्पी बनाउने अवधारणा थिएन । ज्यापुहरू मुख्यतः कृषि पेसामा आधारित भएकाले मल बनाउनका लागि उनीहरू खरानीमा पिसाब मिसाउँथे । यो कार्य घरको छिँडीमा हुन्थ्यो । र, दिसा घरबाहिर कतै गर्थे । श्रेष्ठहरू ठ्याक्कै कृषि पेसासँग आबद्ध नभई सामन्त वा प्रशासक हुन्थे । उनीहरू दिसापिसाब घरबाहिरै गर्थे । नेवारभित्रका अन्य समूह पनि घरबाहिर नै दिसापिसाब गर्थे । नेवार जातिभित्रका विभिन्न समुदायको सार्वजनिक स्थलमा सामूहिक प्रकारका खुला चर्पीहरू हुन्थे । ती चर्पी एकातिर महिला र अर्कोतिर पुरुषहरूले प्रयोग गर्ने गरी बनाइएको हुन्थ्यो । नर्कट, कनिकाफुल, नीलकाँढा, ढुंग्रेफूल, असुरो झाङहरू र बैँसका रुखहरूले ती चर्पी ढाकिएका हुन्थे । समग्रमा भन्दा परम्परागत रुपमा निजी चर्पी बन्नुपहिले नेवार जातिले नदीमा फोहोर गर्दैनथे । र, गर्नै सक्दैनथे किनभने नदीहरू नेवार जातिको पवित्र कर्महरू, जात्रा, मेला समग्रमा उनीहरूको सांस्कृतिक जीवन व्यतित गर्ने अनिवार्य थलोहरू थिए ।
उपत्यकाको माटो र यहाँका नदीवरपरको सभ्यतामा हुर्केका मानिसलाई यो थाहा थियो— आफ्ना सन्तति र आफ्नो जीवनको यात्रा यहाँका नदीसँग जोडिएको छ र यहाँका नदीमै आफ्नो जीवन टिक्न सक्छ । उनीहरू बिर्सेर पनि यहाँका नदीमा फोहोर हाल्न सक्दैनथे । जसरी एउटी आमाले बिर्सेर पनि नवजात शिशुलाई कुल्चिन सक्दिनन्, आफू निदाएका बेला पनि मिच्न सक्दिनन्, त्यसरी नै नशा–नशामा वागमती सभ्यता भएका मानिसले चाहेर, बाध्य भएर पनि वागमतीमा फोहोर फाल्नै सक्दैनथे ।
उपत्यकाको बानेश्वर, सिनामंगल, कोटेश्वर र काँठमा रहेका सबैजसो आर्यखस, दलितदेखि ब्राह्मणसम्ममा निजी चर्पी बनाउने अवधारणा थिएन । उनीहरू पनि बुट्यान, पाखा, बारी, बस्तीदेखि परका खाली ठाउँ नै प्रयोग गर्थे ।
यहाँनेर सन्दर्भ जोड्न खोजेको, जुन बेला उपत्यकाका मूलवासीको रुपमा रहेको नेवारको निजी चर्पी बनाउने संस्कृति थिएन । पछि पृथ्वीनारायाण शाहले काठमाडौं जितेर शासन गर्न थालेपछि ओइरिएका आर्यखसहरू जब सहरको बीचमा र काँठमा बसे, उनीहरूमा पनि निजी चर्पी बनाउने अवधारणा आइसकेको थिएन । तर, त्यति बेला वागमती मात्रै होइन, उपत्यकाका सबै नदी सफा थिए ।
त्यसकारण जनसंख्या वृद्धिका कारण मात्रै वागमती फोहोर भएको भन्ने हो भने त त्यति बेला पनि नेपालका सबै सहरभन्दा बढी जनसंख्या हुने सहर त वागमती उपत्यका नै थियो । यति बेला धेरै फोहोर वागमतीमा हालियो भने, त्यति बेला कम फोहोर हालिनुपर्ने हो । तर, हालिएन । त्यति बेला वागमतीमा फोहोर किन हालिएन ? यसको कारण छ । उपत्यकाको माटो र यहाँका नदीवरपरको सभ्यतामा हुर्केका मानिसलाई यो थाहा थियो— आफ्ना सन्तति र आफ्नो जीवनको यात्रा यहाँका नदीसँग जोडिएको छ र यहाँका नदीमै आफ्नो जीवन टिक्न सक्छ । उनीहरू बिर्सेर पनि यहाँका नदीमा फोहोर हाल्न सक्दैनथे । जसरी एउटी आमाले बिर्सेर पनि नवजात शिशुलाई कुल्चिन सक्दिनन्, आफू निदाएका बेला पनि मिच्न सक्दिनन्, त्यसरी नै नशा–नशामा वागमती सभ्यता भएका मानिसले चाहेर, बाध्य भएर पनि वागमतीमा फोहोर फाल्नै सक्दैनथे । यो कल्पनाभन्दा बाहिरको कुरा थियो । किनभने, यहाँका नेवार जातिको धेरैजसो पर्व नदीको किनारमा सुरु हुन्छ, श्राद्ध गर्दा पनि सेलाउन त्यही नदीमा जानुपर्छ, मान्छे म¥यो भने पनि जलाउन त्यही नदीमा लानुपर्छ, नदी किनारमा जलाएर नुहाएर फर्कनुपर्छ, जात्राहरू त्यस्तै हुन्छन् । मानिसको सभ्यता नै नदीसँग सम्बन्धित हुन्छ । त्यसकारण, यहाँको मूल जाति र यहाँ सयौँ वर्षदेखि बस्दै आएका मानिसले यहाँका नदीमा फोहोर फाल्नै सक्दैनथे । वागमती सभ्यताबाट जन्मिएका, हुर्किएका, यो सभ्यताबाट जीवनलाई नियालेका, पूर्वजदेखि नै यो सभ्यतासँग दिल र दिमाग जोडेर आएकाहरूले यसमा फोहोर हाल्नेबारे सोच्नै सक्दैनथे । त्यसकारण यहाँका नदी त्यतिबेला सफा थिए । जब नेपालमा केन्द्रीकृत शासन प्रणालीअन्तर्गत पृथ्वीनारायण शाहको शासन आयो । राणाकाल हुँदै प्रजातन्त्र आयो । योबीचमा वागमती सभ्यतालाई आफ्नो सभ्यताको रुपमा नबुझेका, यहाँका नदीनालासँग आफ्नो जीवनको साइनो नभएका मानिसको ओइरो लाग्यो । यद्यपि, उनीहरू वागमतीलाई सिध्याइदिउँ भनेर आएका होइनन् । उनीहरू त आफ्नो जीवनको प्रगति गर्न आएका हुन् । किनभने, यहाँ राजा बस्थ्यो । मन्त्रिमण्डल यहीँ बस्थ्यो । सेनापति यहीँ बस्थ्यो । अदालत पनि यहीँ बस्थ्यो । क्रमशः यहीँ विश्वविद्यालय खुल्यो । बाहिरबाट मानिसहरू यहाँ प्रगति गर्न आए । विश्वविद्यालय दाङ, बझाङमा खोलिएन, सप्तरीमा खोलिएन । त्यसैले देशभरिबाट मानिस यहाँ आफ्नो प्रगतिका लागि आए । राज्यले उनीहरूलाई यहाँ आउन बाध्य पा¥यो । उनीहरू यहाँ आइसकेपछि उनीहरूको ध्यान छिटो प्रगति गर्नमा गयो । कम भाडाको कोठा कहाँ पाउने ? छिटो–छिटो सरकारी जागिर कसरी खाने ? छिटो–छिटो सचिव कसरी हुने ? छिटो–छिटो जर्नेल कसरी हुने ? प्रधानसेनापति कसरी हुने ? न्यायाधीश कसरी हुने ? घुस खाएर हुन्छ कि जसरी हुन्छ, माथि कसरी पुग्ने ? जग्गा कसरी किन्ने ? छिटो घर कसरी बनाउने ? आदिमै उनीहरूको ध्यान गयो । अनि, आफ्नो घर कसरी सफा राख्ने ? आफ्ना सन्तानलाई कसरी राम्रो शिक्षा दिने ? उनीहरूको ध्यान यसमै गयो । तर, उनीहरू वागमतीसँग जोडिएनन् । किनभने, उनीहरूलाई वागमतीको महत्व र सभ्यता थाहै थिएन ।
aahuti (4)
क्रमशः तिनै मानिस मन्त्री भए, सचिव भए, न्यायाधीश भए, प्रशासक भए, विश्वविद्यालयको प्राध्यापक पनि तिनै मानिस भए । जो बाहिरबाट आएका थिए, जसको वागमती सभ्यतासँग कुनै नाता थिएन । अनि, उपत्यकाको बारेमा उसैले पढाउन थाल्यो, जसको नशामा वागमती सभ्यता मिसिएको रगत बग्दैन ।
वागमतीको इतिहास पढाउने एउटा प्रोफेसरले आफ्नै ढल वागमतीमा जाँदा चुपचाप हेरेर बस्यो । बाहिरबाट आएका सबैका लागि वागमतीमा फोहोर, ढल हाल्नु सामान्य कुरा थियो । किनकि, उसलाई वागमती सभ्यताबारे थाहै थिएन, यसलाई किन जोगाउनुपर्छ भन्ने उसको चासो र सरोकारको विषय थिएन । यसरी वागमती सभ्यताको महत्व नबुझेका मानिस यहाँ मूल हर्ताकर्ता भएर आए, अनि उनीहरूले आफ्नो निजी घरको सफाइबारे मात्रै ध्यान दिए । अन्त फोहोर भएर कहाँ असर गर्छ भन्ने उनीहरूलाई मतलब भएन । उनीहरू नै सरकारमा थिए, वागमती–विष्णुमतीतिर ढल सोझ्याइदिए । किनभने, जो सरकारका मन्त्री थिए, उनीहरूलाई वागमती–विष्णुमतीमा गएर नुहाउनु थिएन । त्यहाँ नुहाएर सभ्यता सुरु गरेका मानिस पनि छन् भन्ने उसलाई ज्ञानै थिएन, यो गम्भीर कुरा थियो ।
त्यसपछि बाहिरबाट आएका मानिस पनि यहाँका रैथानेजस्तै हुन पुगे । मर्दापर्दा घाट खोज्नुपर्ने भयो, अनि आर्यघाट रोजे । किनभने, आर्यघाटसम्मको पानी सफा थियो । आर्यघाटमाथिको बस्ती बाहिरबाट आएका मानिसको थिएन, सयौँ वर्षदेखि बस्दै आएकाको थियो । जसले वागमतीमा फोहोर गर्दैनथे । त्यसकारण पछिसम्म पनि आर्यघाटसम्मको पानी सफा रह्यो । त्यसैले बाहिरबाट आएका मानिसका लागि आर्यघाट नै प्रयोगमा आयो । जब कि, उपत्यकाका मूलवासीको घाट आर्यघाट मात्र थिएन । तलतिर थियो । टेकु दोभानमा ठूलो घाट छ, जहाँ विष्णुमती र वागमती मिसिन्छ । नेवार जातिको प्रत्येक चिहान वागमती किनारमा हुन्छ भन्ने थिएन, नजिकको नदीखोला नै प्रयोग गर्थे र गर्छन् ।
तर, सरकारमा बसेको मन्त्रीको सभ्यता र संस्कार वागमती र विष्णुमतीसँग गाँसिएको थिएन । त्यसैले त्यहाँ फोहोर, ढल हाल्नुअघि उनीहरूले सोच्न आवश्यक ठानेनन् । गठाःमुग भन्ने एउटा नेवारको पर्व छ । जसमा राँको बालेर नजिकको नदी खासगरी विष्णुमतीमा लगेर घण्टाकर्ण ‘भूत’ सेलाउने चलन छ । तर, सरकारमा बसेको मन्त्रीलाई यो पर्वको महत्व थाह हुने कुरा भएन । उपत्यका बाहिरबाट आएका जंगबहादुर, विराटनगरबाट आएका बिपी कोइराला र धनकुटाबाट आएका सूर्यबहादुर थापालाई वागमती नदी र यहाँका मानिसबीचको सम्बन्धबारे थाहा होस् पनि कसरी !
तसर्थ, यहाँका मूलवासीको सभ्यता नबुझेका मानिस शासक, प्रशासक, न्यायाधीशसम्म बने । हैकम जमाउने ठाउँमा बसे । उनीहरूले आफ्नो घर सफा पार्नेबाहेक अरु सोचेनन् । त्यस्तै नगरपालिकामा नगर प्रमुख यहीँको चुनिए पनि मुख्य प्रशासक त अन्तैको हुन्थ्यो ।
हुँदाहुँदा पञ्चायत कालसम्म आइपुग्दा यहाँका मूलवासी नेवार, यहाँ सयौँ वर्षदेखि आएका खसआर्य र जनजाति जसको संस्कृति र जीवन यहाँको सभ्यतासँग गाँसिइसकेको थियो, यिनीहरूलाई समेत सरकारले यहाँका नदीमा ढल हाल्न सिकायो । जसका जिजुबाजेबज्यैले वागमती सभ्यता बुझेर आफ्नो सांस्कृतिक पहिचान बनाएका थिए, उसका पनातिलाई समेत वागमतीमा फोहोर हाल्न प्रशिक्षित गरियो । वागमतीको महत्व र सभ्यता नबुझेकाले गलत काम सिकाउँदै गए ।
aahuti (1)
अहिले सरकारले वागमती यसकारण फोहोर भएको हो भनेर स्विकार्नुपर्छ । वागमती सभ्यतामाथि राज्य स्तरबाट हमला भएको स्विकारेर राज्यले पश्चाताप गर्नुपर्छ । क्षमा माग्नुपर्छ ।
अहिलेका सचिवहरू, उच्च पदस्थहरू, नेताहरू, जो विशेषतः वागमती सभ्यताबाट पैदा भएका होइनन्, लाई अहिले वागमतीको चिन्ता छ । किनभने, आफ्ना छोरानातिले दुःख पाउनेवाला छन् भन्ने उनीहरूको दिमागमा परेको छ । दुई–तीन पुस्तासम्म फोहोर वागमतीमा हालिसकेपछि यो बुद्धि फिरेको छ । प्रकृति प्रदुषित हुनु त आउने पुस्ताका लागि असजिलो हो । त्यसकारण अहिले वागमती सफा गर्न थालियो, जुन सराहनीय नै छ ।
वागमती फोहोर हुनुको कारण वागमती सभ्यतामाथिको हमला हो । वागमती सभ्यता नबुझेका मानिसहरूले मूलभूत रुपमा यहाँको सत्ता र समाजको सबै बागडोर हाँक्न थालेपछि यो समस्या आएको हो । वागमती सभ्यतासँग कुनै साइनो नभएकाहरू निजी घर मात्रै सफा पार्नतिर लागे । आसपासका नदीमा फोहोर हाल्न लागे । र, यहाँका मूलवासीको संस्कृतिको मर्ममाथि प्रहार गरे । यहाँका पछिल्लो पुस्तालाई सोच्नै दिएनन् ।
त्यसकारण, फोहोर वागमती वा वागमती सभ्यतामाथिको हमलामा मुख्य दोषी राज्य हो । वागमती, विष्णुमतीलाई फोहोर गरेकोमा, त्यसो गर्नमा जनतालाई प्रशिक्षित गरेकोमा सबैभन्दा पहिले राज्यले पश्चाताप गर्नुप¥यो, आत्मालोचना गर्नुप¥यो । त्यसो भयो भने मात्रै कुनै पनि सभ्यताविरुद्ध कुनै गतिविधि गर्न मान्छेले ५० पटक सोच्न बाध्य हुन्छ । पहिले सिंगो नदी सभ्यता, संस्कृतिलाई सिध्याइदिने अनि पछि सफा गर्ने, यसरी मात्रै माफ हुन सक्दैन ।
उपत्यकाका सबै नदीको रक्षाको नीति राज्यले लिनुप¥यो । नत्रभने मूल कारण जनतालाई थाहै नदिने, त्यत्तिकै भयो भन्याजस्तो गरी । यत्रो नदी सभ्यतामाथिको हमला त्यतिकै हुनै सक्दैन । आज दोस्रो विश्वयुद्धमा अर्काको देशमाथि गरेको अत्याचार, अपराधको क्षमायाचना भइरहेको छ । किनभने, अहिले विश्वले लोकतन्त्र मान्छ । त्यसकारण अहिले वागमती सभ्यतामाथि हमला भएकोमा राज्यले क्षमायाचना गर्नुपर्छ । यो व्यक्तिगत नियतको कुरा होइन, राज्यको कुरा हो । अहिले नेपालबाट अमेरिका चिट्ठा परेर गएको मानिसलाई त्यहाँको नदीको चिन्ता हुँदैन । उसलाई त व्यक्तिगत स्वार्थ र सफलताकै चिन्ता हुन्छ । तर, त्यहाँको सरकारले नदी सफा राख्ने नीति लिएको छ भने व्यक्तिको केही लाग्दैन ।
वागमती फोहोर हुनुको ऐतिहासिक तथ्यलाई राज्यले स्विकानुपर्छ, विद्वानहरूले यसबारे बोल्नुपर्छ, अनि मात्रै योलगायत अन्य धेरै सफा गर्नुपर्ने विषयमा राज्यले सफलता हासिल गर्न सक्छ । मुख्य कुरा यो हो ।
अहिले वागमती सफाइको नाममा दुई वर्षदेखि वास्तवमा वागमतीको ढल हप्तैपिच्छे बगाउने काम भइरहेछ जुन प्राकृतिक रुपमा बर्खामा मात्रै एकपल्ट बग्दथ्यो । वागमती सफाइ अभियान यथार्थमा गुहश्वरीदेखि पशुपतिको घाटसम्म मात्रै चलेको छ । किनभने, ढल सफा गरेर नदीमा मिसाउने प्रविधिको प्लान्ट गुहेश्वरीमा मात्र चालू छ । धेरै ठाउँमा सुरु गरिएको त्यस्ता प्लान्ट अन्त सबैतिर बन्द छन् । यो पनि सत्ता कति निर्दयी र कति स्वार्थी हुन्छ भन्ने कुराको नमुना हो । किनभने, पशुपति राजा–महाराजादेखि आजसम्मका कथित ठूला मानिस मर्दा जलाउने ठाउँ हो । र, ब्रह्मनालमा सुताउने संस्कारअन्तर्गत वागमतीमा लासका खुट्टाहरू चोपल्नैपर्छ हिन्दूकर्ममा । तसर्थ, सत्ताधारीहरूलाई पशुपति क्षेत्रको वागमती सफा नै चाहियो । र, उनीहरूले अन्त बन्द भए पनि ढल सफा गर्ने प्लान्ट गुहेश्वरीमा भने चालू राखेका छन् । जबसम्म वागमती, विष्णुमतीलगायत वागमती उपत्यकाका सबै नदीनालामा ढल मिसाउन बन्द गर्न सुरु गरिँदैन त्यतिबेलासम्म वागमती सफाइ अभियान सुरु नै हुँदैन । त्यतिबेलासम्म त वास्तवमा वागमतीलगायत नदीमा जमेको ढल र अन्य फोहोर बगाउने अभियान मात्र भइरहन्छ । अहिलेको वागमती सफाइ अभियानभित्र ढल सफा गरेर नदीमा पानी मिसाउने प्लान्ट निर्माण गर्ने गुरुयोजना सामेल छैन । सन् २०१८ पछि मात्रै १८ स्थानमा त्यस्तो प्लान्ट निर्माण गर्ने परिकल्पना राज्यले गरेको देखिन्छ । यसको मतलब सन् २०१८ पछि राज्यले गरेछ नै भने पनि कम्तीमा त्यो प्लान्ट बनाउने अवधि पाँच वर्ष लाग्नेछ । अर्थात्, अझै मोटामोटी दश वर्ष वागमतीमा सफा पानी बग्नेछैन । वागमतीको गति यस्तो छ भने वागमती उपत्यकाका सबै नदीनाला सफा हुन कति समय लाग्ला वा कहिल्यै हुनेछैनन् कि ! नेपाल राज्यले वागमती उपत्यकाका नदीहरू सफा गर्न वार्षिक बजेट कति छुट्याउँछ, किन छुट्याउँदैन ? के एडिबीले पैसा दिएन भने हामी फोहोरमै डुबेर मर्न तयार भएका हौँ ? वास्तवमा नेपालको सत्ताको बनावट र त्यसको चिन्तन प्रक्रिया नै फोहोर छ । जसको सहउत्पादनको रुपमा नदीहरू फोहोर भइरहन्छन् ।
(ध्रुवसत्य परियारसँगको कुराकानीमा आधारित । तस्बिर गोकर्ण लामिछाने

www.ratopati.com  बाट साभार 

No comments:

Post a Comment