Thursday, May 14, 2015

महाभूकम्प - अनुभूति

भूकम्प भोग्नेहरू
पालभित्र कुक्रुक परेर सुतेकी सावित्री लामिछानेलाई सबैले गौरी भनेर चिन्छन्। यो नाम उनलाई उनका बाले राखिदिएका। दुलही भएर आएपछि पनि उनलाई सबैले गौरी नै भन्थे। रहदैं बस्दै जाँदा तल्ला घरे जेठानीको नाम पनि गौरी नै भएको थाहा पाइन् उनले।
‘दिदीलाई बोलाउँदा म पुग्थेँ। धेरैपटक एउटालाई बोलाउँदा अर्को पुगेपछि उनलाई गौरी नाम मन परेन।’ त्यसैले दुलाहालाई अर्कै नाम राखिदिन उनले आग्रह गरिन्। गौरीबाट सावित्री भएकी उनी ९० सालको भूकम्पमा ४ वर्षकी थिइन्। सानै भएपनि भूकम्पले घर, गोठ भत्किएको सम्झना उनीसँग ताजै छ। ‘घर भएको ठाउँमा त धूलो र ढुंगा माटो बाहेक केही थिएन’ घर खोज्दै उनी त्यत्तिबेला खुबै रोएकी थिइन्।
८६ वर्षको उमेरमा गएको यो भूकम्पले घर भत्काइदिदाँ पनि उनको मन कम्ति रोएको छैन्। मात्रै उनले आँशु बगाएकी छैनन्। एकातिर बासको चिन्ता अर्कोतिर स्वास्थ्यको। उमेरले कमजोर बन्दै गएकी सावित्रीलाई  पालभित्रको दैनिकीले झन कमजोरी बनाएको छ। आराम गर्नुपर्ने बेलामा न सुत्ने ठाउँको टुंगो छ न त खाने ठाउँकै। तर उनले हरेश खाएकी छैनन्। दुई छाकको त जसतसो अहिलेसम्म जोहो भएको छ।
घरको भगनावषेशबाट खाने पकाउने भाडा, लुगा कपडा र दाल चामल निकालेको छ उनको परिवारले। उत्तिखेर त यस्तो अवस्था पनि थिएन। अन्नदेखि लुगा कपडा, थाल, कचौरा, कसौडी सबै पुरिएका थिए। सावित्रीका बाले सुत्केरी श्रीमतीलाई दिउँसोको खाजा  बनाउन दुई पाथी चामलको पिठो बनाउने तयारी गरे। त्यत्तिबेला झोलाको चलन थिएन।
पिध्न लान चामललाई कपडामा हालेर पोको पारे। गाई भोकाएकाले त्यो पोको आँगनको डिलमा राखेर गोठाला गए। धन्न त्यो पोको पुरिएन। गाई चराएर फर्कन नपाउँदै गएको भूकम्पमा जोगिएको त्यो पोकाले केही दिनको भोक टार्यो। खिचडी जस्तो त पाक्यो तर खाने के मा? ‘घ्याम्पो फुटेको चोइटो थियो, त्यसमै खायौ, पाक्न चाहिं के मा पाक्यो’ सम्झन खोजे झैं गरिन् सावित्रीले तर सकिनन्।
बारीको पाटोमा रात बिताउनु पर्दा नातिनी र बुहारीको चिन्ताले कम्ति सताउँदैन उनलाई। ‘म त बुढी मान्छे कसले के गर्ला र ,साँझ परेपछि नानी र दुलहीको पीर लाग्छ’, दुःखी हुँदै उनले भनिन्।
९० सालको भूकम्पमा उनी ललितपुरको भैसीपाटीमा थिइन्। घरको भगनावशेष देखेपछि सावित्रीका बाले बारीको पाटोमा ढोड गाडे। ढोडकै छानो हाले। महिनौ ढोडको छाप्रोमा बस्दा पनि छोरी चेलीले अहिले जस्तो डर  मान्नु पर्दैन थियो त्यत्तिखेर। ‘मान्छेमा पाप धर्मको हेक्का थियो, डर थियो’ मान्छेमा डर हराउँदै गएकोमा सावित्री चिन्तित छिन्। ९० सालकी ती बालिका अहिले वृद्धा भएकी छिन्।
ललितपुरकी छोरी काठमाडौंको ढुंगाअडामा बुहारी भएर पुगिन्। आमा भइन्। हजुरआमा बनिन्। सुख भोगिन्। दुःख झेलिन्। धेरै उतारचढाव बेहोरिन्। जीवनको उत्तरार्ध परिवारको रेखदेख र भगवान्‌को नाम जप्दै रमाइलोसँग बितिराखेको थियो। अचानक घर नै भत्काउने गरी आएको यो भूकम्पसँग उनी ९० सालको भूकम्प तुलना गर्छिन्।
 ‘अहिलेको भूइँचालो ऊ बेलाको जस्तो होइन, जमिनभित्र गड गड धेरै बेर गर्‍यो, उ बेला अलि मरक्क भएको थियो’ उत्तिबेलाको भूकम्प प्रकृति आफैले छुट्याउन नसके  पनि आमाको भनाइ उद्धृत गर्दै उनले भनिन्। यो भूकम्पमा उनी घरको माथिल्लो तल्लामा पूजा भाडा माझ्ने तयारी गर्दै थिइन्। एक हातमा घण्ट र अर्को हातमा भाडा माझ्ने जाली लिएकी सावित्रीलाई एकछिन घाममा बस्न मन लाग्यो। जाली र  घण्टलाई जहाँको त्यही छोडिन्। बाक्लो पटुका बाधिन्। बाहुले चोलो लगाइन्। हातमा पछ्यौरा लिइन्। त्यसपछि खरखरी भर्‍याङ ओर्लिइन्। मझेरीमा के आइपुगेकी थिइन् हल्लाउन थालिहाल्यो।
‘नानी बाँच्नु रहेछ, आङकै लुगाको भर पर्नुरहेछ, त्यसैले बाक्ला लुगा लगा भनेको रहेछ दैबले’ जन्म र मृत्यु आफ्नै नियन्त्रणमा नहुने बताउँछिन् यी भुक्तभोगी। मजेरीमै बुहारी भेटेकी सावित्रीले केही बेर उनलाई अंगालोमा बेरिन्। नातिनी र छोरा भत्किएको घरमै परे भन्ने थियो। धन्य उनीहरू आँगनतिरै रहेछन्। ‘टिभी हेरी रहेकी नातिनी पनि बाउसँग बाहिरै रहिछे’ मजेरीबाट बाहिर मात्रैके निस्केका थिए सावित्रीका सासु बुहारी घर गर्लम्मै ढलिहाल्यो। आतश पर्‍यो। धुलोमा मान्छे मुछिए झैं भए।
वातावरण धुलाम्य बन्यो। कुनै जमानामा टोलकै राम्रो घर भनेर चिनिएको घरले सावित्रीको परिवारलाई बारीको पाटामा पुर्‍यो। यस्तो विपत्तिमा पनि उनले धैर्य गुमाएकी छैनन्। ‘दिन लागेको रहेनछ मान्छेलाई केही भएन घर त बन्ना नि, मैले हार खाएकी छैन’, जस्तो सुकै संकटको पनि सामना गर्न सक्ने साहसिली सावित्रीलाई सलाम।
सावित्रीलाई सलाम
सावित्री लामिछानेकी मितिनी हुन् सावित्री रिजाल। माइती एकै ठाउँमा भएकाले बालखका गट्टा खेल्ने साथी थिए उनीहरु। खेल्दा खेल्दै मित लगाएका थिए दुई सावित्रीले। ९० सालको भूकम्पमा उनी ६ वर्षकी थिइन्। दिदीसँग आँगनमा बसेकी सावित्री खेल्ने क्रममै गुइठा पार्न घर पछाडि पुगिन्। आमाले रिंगटा लाग्यो भन्दा उनी रिंगटा लाग्दा के हुन्छ कसो हुन्छ भन्दै थुप्रै जिज्ञासा राख्थिन्। आमाबाट रिंगटा लाग्दा घुमाउँछ भन्ने थाहा पाएकी सावित्रीलाई भूकम्प भन्ने थाहा थिएन, त्यसैले आफूलाई पनि रिंगटा लाग्यो भन्ठानिन्। घर ,गोठ सबै भत्कियो। त्यति मात्रै होइन, घरले घाँटीसम्म पुर्‍यो पनि। पुरिदाँ धेरै रोइन,कराइन्। आमा भनिन्, बा भनिन्। बा बोलेको सुनिन्। छोरी खोइ भन्दै आमा रोएको थाहा पाइन्। भत्किएको भगनावषेशबाट साँझ पख आफूलाई निकालेको उनी सम्झिन्छिन्। ‘घर मुन्तिरको ढुंगेधारामा लगेर आमाले मुख धोइदिनु भा थियो’ फिक्का हुँदै गएको विगतलाई सम्झिने प्रयास गर्छिन्। धुलो बुङ बुङ उडेको थियो। वरपर कुनै घर थिएनन्।
जावलाखेलका आफन्तको घर सद्दे भएकाले केही दिनपछि उनीहरु बासका लागि त्यहाँ गएका थिए। अहिले जस्तो राहतको व्यवस्था थिएन उत्तिबेला। ढुंगामाटो सरिबरी भएको मकै घरको भगनावशेषबाट निकालेका थिए हजुरआमा र नातिनी मिलेर। ‘त्यही मकै भुटेका खाएका थियौं धेरै दिनसम्म’ वैशाखको भूकम्पमा घर जोगिएपनि मन भत्किएको उनको। ८८ वर्षकी यी वृद्धा यो भुकम्पमा बच्चाका आमा र बालबालिकाको दुःख देखेर निकै भक्कानिएकी छिन्।
त्यसो त ९० सालको भूकम्पमा पनि आमा ,हजुरआमा घरभित्रको अन्न, भाडाकुडा, सिरक डस्ना, लुगा कपडा झिक्न माटोमै मिलेको उनी सम्झिन्छिन्। यो भूकम्पमा पनि बुहारी र नातिनी बुहारीले घरभित्रका महत्वपूर्ण सामान जतन गरेको उनी बताउँछिन्। एकान्तकुनाकी सावित्रीलाई  घर अघिल्तिरको पालमा रात बिताउँदा सुरक्षाकै चिन्ता हुन्थ्यो। एकातिर घरको अर्कोतिर परिवारको। बिहानको खाना खाएर भागवत् किताब पढ्दै थिइन् यो भूकम्पमा। माला जप्ने काम पनि गर्नु थियो। धेरै रोगले थला परेर बिस्तारै तङग्रिएका उनी माथिल्लो तल्लाको भान्सा नजिकैको कोठामा थिइन्। बुहारी भात भान्साको काम सक्दै थिइन्।
शनिवारको दिन भएकाले कोही टिभी हेर्दै थिए त कोही आराम गर्दै। भूकम्प आएपछि सासू बुहारी तल ओर्लन खोज्छन्, पटक्कै सक्दैनन्। गोडा नै टेकिएन। नाति र नातिनी बुहारीले कसरी आँगनमा पुर्‍याए उनलाई हेक्का छैन। ‘आम्मै कस्तरी हल्लाएको, गट टटट भयो’, अन्य भूकम्प भन्दा यो फरक भएको अनुभव छ उनको। चार दिन, तीन रात घर अगाडिको खुल्ला ठाउँमा पाल टाँगेर बसे उनीहरू। केही दिन तल्लो तलामा भान्सा सारे। सधैं यस्तो गरेर पनि त साध्य छैन।
सावधानी अपनाएर आफ्नै कोठामा सुतेकी छन् उनी अहिले। सबैलाई यही सल्लाह दिन्छिन्। भूकम्पबाट जोगिन कसको घर ठूलो भन्ने होडबाजी गर्नु हुँदैन। यसको सट्टा कसको बलियो भने ज्यान जोगिन्छ। बलियो घर बनाउन सुझाव दिने यी हजुरआमालाई सलाम।  




 

===========================================

“गडडड धर्ती काँप्यो, आँखै अगाडि घर झरप्प बन्यो” 

दुई भुइँचालो खेपेका दुई आमाको कथा

[नारायण ढुङ्गाना]
२०७२ जेठ १३ , चितवन ।
त्यति राम्रो घन्टाघर बन्ने हो कि होइन
त्यति राम्रो धरहरा अब देखिँदैन…
धरहरा.. तीन टुक्रा भै गयो
राजारानी रुँदैमा दिन गयो…
नब्बे सालको भूकम्पपछि बनेको सवाई काभ्रेकी ९८ वर्षीया वृद्धा झम्ककुमारी खनाललाई खररै आउँछ । विसं २०७२ वैशाख १२ को भुइँचालोमा पनि उहाँले उक्त सवाई सम्झिनुभयो । त्यस बेला तीनटुक्रा भई ढलेको धरहरा बिउँतियो । भत्केको घन्टाघर बज्न थाल्यो । तर ८२ वर्षपछि वैशाख १२ गते फेरि विनाशकारी भूकम्प आयो ।
उठेको धरहरा उस्तै गरी टुक्राटुक्रा भएर भुइँमै बिलायो । मानिसको ज्यानसमेत गयो । झम्ककुमारीका सवाईका सत्य फेरि उस्तै बने । उतिबेला जनताका प्यारा राजारानी रोए । अहिले पूरै देशका जनता रोए । आँखा अझै ओभाएका छैनन् ।aamaharu
राजधानी काठमाडौँबाट ५० किलोमिटर माथि, काभ्रे सदरमुकामबाट २० किलोमिटर माथि अरनिको राजमार्गको बीचमा पाँचखाल उपत्यका छ । पाँचखालदेखि थोरै उकालो कच्ची सडक हिँडेपछि पुगिन्छ काभ्रेको टाँके गाउँ । त्यही गाउँमा बस्नुहुन्छ झम्ककुमारी । उहाँ फेरि ९० सालको भूकम्पको सवाई सम्झँदै गुनगुनाउँनु हुन्छ …..
घटिए सपना एकदुईले पाए
जल्दा–जल्दी रिसल्ला खबर दिन आए
माघका २ गते सोमबारे औँसीका दिन
आइगयो भुइँचालो सबैको सातो लिन
नब्बे सालको भूकम्पमा कलकलाउँदो युवती २०७२ को भुइँचालोमा आइपुग्दा एउटा आँखाले देख्न सक्दैन, अर्काे आँखा धमिला भइसके । कपाल सेतै फुलेका छन् । कान राम्ररी सुन्नुहुन्छ । लठ्ठी उहाँको सहारा र साथी बनेका छन् । भएको घर भत्किएपछि बुढेसकालमा टिन र पालको छानोको ओत लगाउनुपरेको छ । “मर्ने बेलामा फेरि भूकम्प बल्झिँदा दुईपटककै कालले लगेन,” उहाँले भन्नुभयो, “लेखेको भएको पो मर्नु !”
टाँकेको ठाडो गाउँका ६९ घरमा ६० घर ढलेका छन् । बचेका घर पनि चर्किएका छन् । नब्बे सालको भुइँचालो जाँदा काठमाडौँसहित आसपासका जिल्ला अहिले जसरी नै त्राहि त्राहि थिए । पहाडका धर्ती फाटेकै थियो । ढुङ्गा र माटो पहरा छाडेर धर्ती खोज्दै भौतारिएकै थियो । धर्तीको त्यो कम्पनले कतिको ज्यान अकालमै चुँडेर लग्यो पनि । कतिलाई टुहुरा बनाए । कतिको काख रित्तो बनायो ।
एक महिनाअघि वैशाख १२ गतेको विनाशकारी भूकम्पले पनि न साना बालबालिका भनेर छाड्यो, न त बूढाबूढी नै भनेर छाड्यो । मरेका त मरिगए । बाँचेकामा पनि अब फेरि धर्तीको कम्पन छुट्ने हो कि वा कता के हुने हो भन्ने पिरलो मै छन् ।
नब्बे सालताका पनि यस्तै कोकोहोलोले घरघरलाई पिरोलेको थियो । उतिबेला १६ वर्षकी थिइन् झम्ककुमारी खनाल । कलकलाउँदो उमेर । के खाउँ के लाउँको जवानी । काभ्रेको अनेकोट– ५ नम्बर गाउँको घरमा परिवारसँगै हुनुहुन्थ्यो । गाउँकै तरुनी तन्नेरीसँग कहिले लेक त कहिले बेँसी गर्दै दिन बित्थ्यो उहाँको । विसं १९९० माघ २ गते । दिउँसोको २ बजेको समय । खनालका सबै परिवार खाना खाई सुस्ताउँदै थिए । चिसो दिन आँगनको आँपको बोटमुनि झम्ककुमारी घामको न्यानो लिँदै हुनुहुन्थ्यो ।
“गडडड धर्ती काँप्यो, आँखै अगाडि घर झरप्प बन्यो,” उहाँले सम्झनुभयो – “बसेको जमिन चिराचिरा भए । उ बेलाका साना घर । खरको छानो । काठको पालि । राता माटाका भित्ता । धर्तीको माटोमै मिल्यो ।” केही सेकेन्डले आफू बाँचेको सम्झना छ उहाँलाई ।
“खानेकुरा कसैले ल्याइदिएनन् गाउँलेलाई । धान जम्मै माटामा पुरिए, गहुँ उस्तै गरी माटामै मिले,” खनालले भूकम्पपछिको भोकमरीको स्मरण गर्नुभयो – “धान खोस्रेर रातभरि निफनियो । बिहानभरि ढिकीमा कुट्यो र खायो ।”
कैयौँ दिन अनेक गरेर गाउँलेले छाक टारे ।
भत्केका घर पनि आफँै उचाले । दुःखको आँसु पनि आफैँ पुछे । घाइते भएकाले पनि मलमपट्टि आफैँ गरे ।
अहिले झम्ककुमारी ९८ वर्षको हुनुभएको छ । बेँसी झरेर काभ्रे पाँचखाल– १४ को टाँके गाउँमा बस्दै हुनुहुन्छ । उतिबेला जस्तो जीउमा तागत छैन । ठूलै आकांक्षा पनि केही छैन । “कान राम्रो सुन्दिन, आँखा देख्दिन,” उहाँले ठट्यौलीमै भन्नुभयो – “आफू बुढो भइयो तर यो भुइँचालो अझै जवान नै रैछ ।”
“आफ्नो जीवन यही छोराछोरी र परिवारलाई सुम्पिएँ,” उहाँ लर्बराउँदै बुढ्यौली भाकामा बोल्नुहुन्छ, “अब यिनको राम्रो देख्न पाए पुग्यो ।” उतिबेला जवानीमा आएको भुइँचालो फेरि बुढ्यौलीमा फर्कदा उहाँ वैशाख १२ गते चोटामै सुतिरहनुभएको थियो । ‘उ बेलामा पनि मरियो भनेको बाँचिएछ, अहिले पनि चोटामा सुतेको मेरो वरिपरिका भित्ताहरु सबै लडेछ । वैशाख १२ को विनाशकारी भूकम्प स्मरण गर्दै उहाँले भन्नुभयो – “दिउँसो सुतेको चोटो मात्रै बाँकी थियो, । भगवान्ले बचाए झैँ लाग्छ ।” नब्बे साल र अहिलेको भुइँचालोको झट्का उहाँलार्ई उस्तै उस्तै लाग्छ । दुईपटक मरेर पनि बाँच्न पाएकामा आफू भाग्यमानी रहेछु भन्ने उहाँलाई लाग्छ । उहाँले भन्नुभयो, “उतिबेला भाग्न सक्ने थिएँ यो बेला सक्दिनँ ।” अहिलेको भूकम्प लामो भएको उहाँको अनुभव छ ।
त्यो बेलाका घर साना थिए, तर अहिले ठूलाठूला घर भएको उहाँको भनाइ छ । अहिले घरहरु गाउँमै पनि पहिलाभन्दा ठूला भएकाले पनि धेरै भत्केको दाबी उहाँको छ । तल्लो तलाका परिवारका सदस्य निस्केर भागे तर आमा चोटामा हुनुहुन्थ्यो । “घर चोइटा चोइटा भए पनि हजुरआमा त जीउँदै भेटिनुभयो,” नाति प्रमोद खनालले खुसी थप्नुभयो ।
माया मारेको छोरा गोविन्दले ‘लौ आमा त ज्यूदै रहिछन्,’ भनेको सुनेको झम्ककुमारीले बताउनुभयो । उहाँ भन्नु हुन्छ – “सम्पत्ति त जीउ रहे कमाउला नि ! ज्यान नजोगाए त कसरी कमाउनु ?” अहिले उनको परिवार तरकारीखेतीका लागि बनाएको टनेल र सहयोगीले दिएको त्रिपालमा बस्छन् । सहयोगीले दिएकै अन्न बाँडीचुडी खान्छन् । तर गाउँ छिमेकीका घरमा शोक परेको देख्दा मन भने कुँडिएकै छ उहाँहरुको ।
उही गाउँमै नब्बे सालको भुइँचालो जाँदा सात वर्षकी रहेकी छलीकुमारी रम्तेल अहिले ८९ वर्षकी हुनुभयो । उत्तिखेर बालकै हुनुहुन्थ्यो । बाबुले आफूलाई पिठ्यूँमा हालेर भागेको याद छ उहाँलाई ।
“बहिनी सान्नानी खेलाउँदै थिएँ, भुइँचालो आयो भनेर आमा बुबाले बोक्न थाले, हामीलाई उठाएको केही सिकेन (सेकेन्ड) मा घर ढल्लो र बाँचेँ,” छलीले भन्नुभयो – “अहिले चाहिँ आफैँ भाग्दाभाग्दै पनि भेटिहाल्यो, तै पनि मर्न भने लेखेको रैनछ ।”
त्यतिखेर केही नभए पनि यसपालाको भुइँचालोले उहाँको हात ठनक्कै भाँचिदियो । टाउकोमा चोट छ । “घरमा लसुन केलाउँदै थिएँ, गड्गड गर्दै भुइँ हल्लियो, भाग्न खोज्दाखोज्दै घर लडेर लाग्यो र भाँचियो,” हातमा बाँधेको घरेलु जडीबुटीको काम्रो देखाउँदै छलीले भन्नुुभयो ।
“यस्तो विपत्तिमा कहाँ डाक्टर कहाँ अस्पताल !,” उहाँ विरक्तिदै भन्नुहुन्छ – “हात नजोडिएर के भो र ! अब मर्ने बेला पनि भइहाल्यो ।” उतिबेलाको भुइँचालोले पनि उहाँको घर भत्काएको थियो । यसपटक पापी भुइँचालोले हात पनि भाँचिदियो । “यो पालिको त अजम्मरी भुइँचालो रहेछ, आजसम्म पनि आएकै छ,” आश्चर्य प्रकट गर्दै भन्नुहुन्छ उहाँ ।
http://onlinepatrika.com बाट साभार 

===================================

मैले देखेका दुई ठूला भूकम्प


वेददेव पाण्डे


जीवनमा दुइटा ठूला भूकम्प देखेँ। १९९० सालको महाभूकम्पले बुबाको श्रम-पसिना खर्चिएको नुवाकोटको तीनतले झिँगटीले छाएको घर भत्किएको थियो भने यसपटकको भूकम्पले आफ्नै खुनपसिना लागेको नौ सय थान काठवाला नुवाकोटकै अर्को घर धूलिसात भयो।


१२ वैशाखमा म लैनचौरस्थित कान्छो छोराको घरमा तेस्रो तलाको पश्चिमपट्टकिो कोठामा एक्लै थिएँ। हेरविचार गर्ने सहयोगी पनि काममा निस्किएकी थिइन्। मध्याह्न साढे ११ बजे खाना खाएपछि यसो ढल्किँदै थिएँ, एक्कासि घर नै बाँसजस्तो हल्लिन थाल्यो। दलिनको ठीकमुनि बसेको रहेछु। अलिक पर सरेर बसेँ तर  हल्लाउन छाडेन। घर पूरै घुमेजस्तो लाग्यो।



बाहिरपट्ट ि'भूकम्प, भूकम्प' भन्दै चिच्चाएको सुनेँ। यसो आफैँलाई छामेँ, चिमोटेँ, सपना होइन रहेछ। बल्ल डर लाग्यो। यो उमेरमा पनि बाँच्ने जिजीविषा घट्दो रहेनछ। अझै बाँच्न पाए हुन्थ्यो भन्ने लालसा जाग्दो रहेछ। खुब चिच्चाएँ, 'बचाओ, बचाओ'। मेरो चिच्याहट कसले सुन्ने? सबैलाई आफ्नै ज्यानको माया छ। म  बूढोलाई त जीवनको माया छ भने जवानलाई किन नहोस्?



काल आइसकेको रहेनछ। बाँचेँ। झन्डै पाँच मिनेटपछि घसि्रँदै भर्‍याङमा पुगेको थिएँ, नातिनीबुहारीसहित आएर बोकेर तल पुर्‍याए र नजिकैको समाज कल्याण मन्त्रालयको खुला चौरमा लगेर राखे। दुई दिन त्यहीँ बस्यौँ। पर्सिपल्ट ठूलो भूकम्प जाँदा सीतापाइलास्थित हारती शिक्षा मन्दिरको टहरामा शरण लिन पुगेका  थियौँ। तेस्रो दिन भूकम्प जाँदा बाटोमा हिँडिरहेका नौ जना एकै चिहान भएको देख्नुपर्‍यो। आफ्नै आँखाअगाडि मृत्युका त्यस्ता घटना देख्दा मन ज्यादै भावुक हुँदो रहेछ। दुई दिन खुला आकाश र सात दिन त्रिपालमुनिको बासपछि २० वैशाखमा बल्ल घर फर्किएँ।



समाज कल्याण मन्त्रालयको खुला चौरमा बस्दा विसं १९९० को महाभूकम्पको झझल्को आउन थाल्यो। त्यतिबेला म नुवाकोटको घरमा थिएँ। त्यस्तै १९ वर्षको लक्काजवान थिएँ। झिँगटीले छाएको ३५ हाते ठूलो तीनतले घर थियो। बाबुछोरा थियौँघरमा। माथिबाट ठूलठूला फल्याक खस्न थाले। बुबा 'लौ भुइँचालो गयो'  भनेर चिच्याउनुभयो। हामी त्यही घरको एउटा कुनामा गएर बस्यौँ। पछि भर्‍याङ हालेर हाम्रो उद्धार गरयिो।



त्यतिबेला हामीले काठमाडौँ, वटु टोलको घर र त्यसमाथि मोरु २१ हजार १ रुपियाँ दिएर बोहराबाट राक्सेको बिर्तावाल खेत लिएका थियौँ। पाँच सय मुरी अन्न उब्जनी हुने खेतसँगै ३५ हातको तीनतले घर पनि थियो। झिँगटीले छाएको घर बनाउँदाको बेग्लै कथा छ। पार िथलीबाट बाटाभर िमान्छे उभ्याएर तिनले  हातहातै एकले अर्कोलाई इँट दिएर ओसारेका रे! कत्रो लाइन थियो होला बाटोमा ! त्यही घर '९० सालको महाभूकम्पले ध्वस्त पारििदयो।



महिनौँसम्म महाभूकम्पको झट्का आइरह्यो। बुबाले बनाएको झिँगटीको घर भत्केपछि ००२ सालतिर नुवाकोटको सिक्रेमा मैले केही जग्गा किनेँ। ००४ सालमा घर बनाएँ। घर बनाउँदा पाटनका चार जना कर्मी लगेको थिएँ। त्यतिखेर मैले नाइकेसहित सबै कर्मीलाई प्रतिदिन एक रुपियाँका दरले ज्याला दिएँ। पुस- माघमा गएका उनीहरू असार-साउनमा सबै काम सकेर फर्किए।



त्यसबेला कलात्मक ढंगको त्यस्तो घर अरू कसैको थिएन। झन्डै नौ सय काठको प्रयोग गरेर त्यो घर बनाएको थिएँ। अहिलेसम्म कुनै प्रकारको मर्मत गर्नुपरेको थिएन। त्यतिबेला वन आफ्नै भएकाले काठको समस्या थिएन। १ हजार १ सय ५३ रोपनी क्षेत्रफल वन आफ्नै थियो।



तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरले हाम्रा नाममा दुईछापे सनद जारी गरििदएका थिए। सनदमा भनिएको थियो, 'वन कसैलाई काट्न नदिनू। गाउँलेलाई चाहियो भने बिर्तावाललाई बक्साई काट्नू। बिर्तावाललाई नै चाहियो भने हाम्रा हजुरमा जाहेर गर्नू।'



पाटी, पौवा, पुल, साँघु, देवालय आदि बनाउन काठ चाहियो भने बिर्तावाललाई बक्साई काट्नू भन्ने सनद थियो। त्यसैले गाउँलेले जे कामका लागि काठ चाहिए पनि हामीलाई अनुरोध गर्थे। ०१३ सालसम्म यो चलन रह्यो। त्यसपछि वन नै राष्ट्रियकरण भयो। अहिले वन क्षेत्रको जग्गा हाम्रो भए पनि रूख सरकारको  भएको छ।



नुवाकोटको त्यो घर बनाउँदा सात सय रूख आवश्यक पर्‍यो भनेर वन गोस्वारा र दरबारमा जाहेर गर्‍यौँ। सात सय रूख एकै दिन काटिए। औँसीको दिन पारेर काटेमा कीरा लाग्दैन भन्ने विश्वास थियो। त्यसैले हामीले गाई तिहारको औँसीको दिन पारेर ती रूख काटेका थियौँ। एक दिनभर िकाठ काट्ने कर्मीको ज्याला  चार आना -१६ पैसा) थियो। चार जनाले एकै दिन सात सय रूख काटेका थिए।



त्यति दु:ख गरेर बनाएको नुवाकोटको घर यसपटकको भूकम्पले चिराचिरा पारििदयो। धुरी त ठाडै छ तर बस्नलायक रहेन। पछि थपिएको बार्दली त सखाप नै भयो। झन्डै तीन सय मुरी धान त्यहाँ पुरएिको छ। भित्र जान सक्ने अवस्था छैन। फुत्रुफुत्रु ढुंगा र माटो झररिहेको छ। परविारका सदस्यहरू त्यहाँ पुगेर फर्किए।  घरभित्रको कुनै सामान झिक्न सकेनन्।



यसपटकको भूकम्पपछि कविलास गाविस-८, सिक्रेमा कुनै घर सग्ला छैनन्। गाउँले सबैको त्रिपालको बास भएको छ। मानिसहरू पाल टाँगेर बसेका छन्। ८ नम्बर वडा जम्मै शिविरमा परण्िात भएको छ। पाटोबारीमा त्रिपाल टाँगेर गुजारा गरेका छन्।



आफैँले बनाएको र लामो समय बसेकाले होला, नुवाकोटको त्यो घरसँग मेरो भावनात्मक सम्बन्ध गाँसिएको छ। जहाँ गए पनि बेलुका त्यहीँ फर्कूं फर्कूं लाग्छ। आफ्नो पौरखले आर्जेको घर अब इतिहास बन्यो।



काठमाडौँको जैसीदेवलमा २२ मंसिर १९७१ मा जन्मे पनि मेरो बाल्यकाल काठमाडौँको जैसीदेवल र नुवाकोटको कविलासमा बित्यो। जन्मकुण्डली -चिना) अनुसार ज्योतिषीले छोराको लामो आयु हुने र धनधान्यले सम्पन्न हुने बताउँदा गाउँलेलाई भोज खुवाएको आमा सुनाउनुहुन्थ्यो। नारायणहिटी राजदरबारका ज्यो तिषीलाई लगाएर लेखाएको चिना अहिले पनि मसँगै छ। मलाई डोकोमा बोकेर हिउँदमा जाडो हुन्छ भनेर पहाड लगिँदो रहेछ भने वषर्ा सुरु भएपछि काठमाडौँ झारँिदो रहेछ।



सानोमा वसन्तपुरको कुमारी घरमा खेलेर हुर्किएँ। त्यहाँका ठूलठूला पांग्रामा हामी लुकामारी खेल्थ्यौँ। वसन्तपुरमा ८ कक्षा पढेपछि गाउँ फर्किएँ। त्रिचन्द्र कलेजका प्रोफेसर साम्बदेव पाण्डेले मलाई एक घन्टा घरमै पढाउँथे। त्यतिबेला रहरले पढ्ने चलन थिएन। करले पढेको खोइ के पढेको भन्ने !



'९० सालपहिले सांस्कृतिक सम्पदाले भरपिूर्ण काठमाडौँ उपत्यका महाभूकम्पपछि भने खण्डहरमा परण्िात भएको थियो। महाभूकम्पपछि नुवाकोटबाट काठमाडौँ फर्किंदा यहाँको दृश्य पत्याउनै नसकिने खालको थियो। त्यतिखेर सिकार खेल्ने क्रममा कैलाली-कञ्चनपुर पुगेका श्री ३ महाराज जुद्धशमशेर भर्खर काठमाडौँ  फर्किएका थिए।



जुद्धशमशेरले त्यस बेला जनताका नाममा सन्देश दिँदै विपत्का बेला फाइदा उठाउन खोज्ने र कालोबजारी गर्नेलाई राम्रै नसिहतको घोषणा गरेका थिए। उनले भनेका थिए, 'कालोबजारी गरे मसम्म आइरहनुपर्दैन, पाँच जना साक्षी राखेर त्यहीँ काटिदिए हुन्छ।' उनले राष्ट्रिय संकट घोषणा गर्दै घरबारविहीनलाई दिएको  निब्र्याजी ऋण पनि पछि मिनाहा भयो। अहिले त भूकम्पपछि जताततै मनपरी छ। सरकारले कारबाही गरेको कतै सुनिएको छैन।



भूकम्प मापनका दृष्टिले '९० सालको महाभूकम्पभन्दा यसपटकको अलिकति सानो हो। तर, धनजनको क्षतिका दृष्टिले त्यसको तुलनामा ज्यादै महँगो साबित भयो ।





वेददेव पाण्डे



उमेर : १ सय २ वर्ष 



कविलास-८, सिक्रे, नुवाकोट 




- प्रस्तुति : ईश्वरी ज्ञवाली

http://www.ekantipur.com/nepal/2072/1/27/full-story/8371.html   बाट साभार 

=================================================
=================================================

पूर्वका अत्यन्तै लोकप्रिय  माध्यमिककालीन कवि लोकनाथ पोखरेल (बि.स. १९३३-१९९४ ) ले लेख्नु भएको "लोकमंजरी " नेपालको पूर्वी पहाडमा अझै पनि चर्चित छ।  त्यही कृतिबाट  १९९० को भूकम्पका बारेमा उहाँले लेख्नु भएको कविता-------------------------

















==================================================

'९० सालले नेपाललाई उसिना चामल, जस्तापाता र सिमेन्ट दियो'


- सत्यमोहन जोशी

डम्बरकृष्ण श्रेष्ठ
९० सालको भूकम्पपछि नेपाल भित्रिएको जस्तापाता देखाउँदै सत्यमोहन जोशी।
नेपालमा १८९० पछि एकैचोटि १९९० सालमा भूकम्प आएको थियो। ९० सालका मान्छेका लागि भूकम्प नयाँ कुरा थियो। पृथ्वी माता डगमगाइन् भने कम्पन आउँछ भन्थे, अनुभव कसैलाई थिएन। २ माघ १९९० मा नवग्रहमध्ये सात वटा एउटै कोठामा परेकाले केही अनिष्ट होला भन्ने भविष्यवाणी गरिएको थियो। नभन्दै, भूकम्प आयो।
त्यो बेला भूकम्प पीडितलाई नेवारहरूको गुठीले राहत वितरण र उद्धारमा अगुवाइ गरेका थिए। महांकाल मन्दिरको माथिल्लो तलामा शेषराज दली र सिद्धिचरण श्रेष्ठको समूहले खोलेको 'भूकम्प पीडित उद्धार संघ अड्डा' ले पनि निकै सहयोग पुर्‍यायो। त्यो बेलाको टुँडिखेल एशियाकै ठूलो परेड ग्राउन्ड भनेर चिनिन्थ्यो। काठमाडौंका सारा मान्छेलाई यसैले शरण दिएको थियो। त्यहाँ मान्छे कोरा कपडा टाँगेर बसेका थिए, पाल त छँदै थिएन। वरिपरि झाडी भएकाले दिसा–पिसाब गर्न सजिलो थियो। खाना र पानीको पनि सुबिस्तै थियो।
श्री ३ जुद्धशमशेर शिकारको लागि नयाँ मुलुक (पश्चिम तराई) गएको बेला भूकम्प आएको थियो। यहाँबाट गएका सूचकले सात दिनमा खबर पुर्‍याएपछि उनी दिवंगत आत्माको चिरशान्तिका लागि एक हजार कैली गाई दान गरेर भारतको बाटोहुँदै फर्किए। त्यो बेला सरकारले तत्कालै अड्डा खडा गरेर पीडितहरूलाई खाँडी कपडा र चामल बाँडेको थियो। कसको घर कति चर्किएको, भत्किएको छ, मर्मतका लागि मोटामोटी कति रकम लाग्छ भनेर अड्डाका कारिन्दाहरूले टिपेर लगेका थिए। त्यसकै आधारमा सरकारले निर्ब्याजी ऋण उपलब्ध गरायो, जुन जुद्धशमशेरले राजकाज छोड्ने बेला मिनाहा गरिदिए। उनले सबभन्दा बढी रु.३ लाख चन्दा पनि दिएका थिए। अरू भाइहरूको समेत जोड्दा राणा परिवारबाट रु.५० लाखजति चन्दा संकलन भएको थियो।
उसिना चामल, जस्तापाता र सिमेन्ट ९० सालको भूकम्पपछि नेपाल भित्रिएको हो। उसिना चामल बर्मा, जस्तापाता बेल्जियम र सिमेन्ट बेलायतबाट झ्िकाइएको थियो। त्यसअघि हामीले यी चिजबिज देखेका थिएनौं। त्यसपछि काठमाडौंमा टाउन प्लानिङ आयो। टुँडिखेलको मूल ढोकादेखि जुद्धशमशेरको सालिकसम्मको बाटो फराकिलो पारेर 'नयाँसडक' भनियो। त्यसको दायाँ–बायाँ दुई–तीन तले घरहरू बने। त्यसअघि काठमाडौंमा त्यति अग्ला घरहरू थिएनन्।
९० सालमा भत्किएको पाटनको तलेजु भवानी यसपालि जोगियो। त्यो बेला बचेका कृष्ण मन्दिर आसपासका चार नारायण, भीमसेन, हरिशंकर मन्दिर भने यसपालि भत्किए। घर, मठ–मन्दिरलाई बेला–बेलामा मर्मत–सम्भार नगर्दा यस्तो भयो। ९० सालपछि बनाएको मेरो घरमा बाहिरबाट पक्की ईंटा र भित्र कच्ची माटो प्रयोग गरिएको छ। अहिले चर्किएर बस्न डरमर्दो भएको छ। धरहरामा कच्ची माटोको सट्टा बज्र प्रयोग गरिएको थियो। ८० वर्षसम्म ठिङ्ग उभिएको त्यो संरचना बाहिरबाट सद्दे देखिए पनि भित्र निकै कमजोर भएकाले ढल्यो।
पहिले सरकारप्रति गुनासो गर्ने साहस जनतामा थिएन। 'नल बोक्नेले दरबारको चिन्ता गरेर हुन्छ?' भन्ने भनाइ प्रचलित थियो। अहिले सरकार र सरोकारवाला निकायसँग मजाले आफ्ना कुरा राख्ने वातावरण छ। हामीले भूकम्पबाट क्षति पुगेका विश्व सम्पदा पुनःनिर्माण वा जीर्णोद्धारका लागि युनेस्कोलाई झ्कझ्क्याउनुपर्छ। यसमा ऊ आफैं पनि गम्भीर होला। त्यसो भइदिए झ्न् सजिलो हुन्छ।
जापानमा भूकम्प आइरहन्छ, तैपनि जापानीहरूले आफ्नो देश बनाएकै छन्। यो विपत्मा हाम्रो सरकारले पनि सक्दो गरिरहेकै छ भन्नुपर्छ। सरकारलाई काम गर्ने वातावरण बनाइदिनुपर्छ। भूकम्पले भत्काएको हाम्रो देशलाई सबै मिलेर टाल्ने हो। नेताहरूले अब चार अक्षरको 'सहमति' गरिदिनुपर्छ, किनभने देश बनाउनैपर्ने बेला आइसक्यो।
(९६ वर्षीय संस्कृतिविद् जोशीसँगको कुराकानीबाट)
http://nepalihimal.com बाट साभार 

No comments:

Post a Comment