Sunday, May 10, 2015

१९९० सालको महाभूकम्पपछि कहाँ चुकेको थियो राज्य ?

विदेशी सहायताबाट स्वदेशको विकास गर्ने र काठमाडौं उपत्यकालाई

नयाँ सहर बनाउने सुनौलो मौका किन गुम्यो ?

भूकम्पपछि नेपाली समाजमा के कस्ता सामाजिक आर्थिक परिवर्तन आए ?

१९९० साल माघ २ गते आइतबार दिनको दुई बजेर दुई मिनेट जाँदा विहार प्रान्तको मुंगेर जिल्लामा चलेको भूकम्पले नेपाल अधिराज्य नै कम्पायो । त्यस दिन साँझ चार बजे सात ग्रह एकै ठाउँमा बस्ने र आठौंको त्यहाँ दृष्टि पर्ने हुँदा, माघ २ गते नेपालमा केही न केही बिध्नबाधा अवश्य हुन्छ भन्ने धेरैको अनुमान थियो ।
एक सय वर्षअघि ठीक त्यही दिन त्यस्तै ग्रह नक्षत्र पर्दा नेपालमा महा–भूकम्प गएकाले यस पटक पनि भुइँचालो जान ठूलो सम्भव छ भन्ने धेरै मानिसले लख काटेका थिए । दक्षिणतर्फका कमाण्डिङ जर्नेल मोहन शम्शेर र उनीजस्तै ग्रहदशामा बढी विश्वास गर्नेहरु त त्यस दिन पाल टाँगेर दरबारबाहिरै छुट्टै पर बसे । आखिर त्यस दिन नभन्दै भुइँचालै गई छाड्यो ।
अधिराज्यभर एक लाख एक हजार पाँच सय उनन्चास घर, पाटी, पौवा र देवल भत्के; टुँडिखेल धाँजा धाँजा भई ह्वालह्वालती पानी आयो; उनन्तीस हजार चार सय चौवन्न मानिस मरे र छ हजार चार सय बीस मानिस घाइते भए (ले.ज. ब्रह्म शम्शेर लिखित ‘नेपालको महाभूकम्प’) । काठमाडौंका तीनै सहर नराम्रोसँग भत्के । बालकृष्ण समले त्यसबेला लेखेका चित्र र रचेका कविताले त्यसबेलाको काठमाडौंको अनुहार राम्रोसँग चित्र्याउँदछन् (परिशिष्ट–२) ।
bhaktapur-1990-post
काठमाडौं भूकम्पले ध्वस्त हुँदा कन्चनपुरको वनबासामा शिकार खेलिरहेका प्रधानमन्त्री श्री ३ जुद्ध शम्शेरले भुइँचालामा परी मर्ने नेपालीलाई वैतरणी नदी तार्न महाकालीमा एक हजार गाई दान गरी नेपाल फर्के ।
त्यस महा–भूकम्पमा मरेका र दुःख पाएका जनताको उद्धार गर्न पचास जनाको ‘भूकम्प पीडित सेवा दल’ काठमाडौंमा तुरुन्त गठन भयो । जंगीलाठ पद्म शम्शेरदेखि लिएर प्रोफेसर, माष्टर, डाक्टर, विद्यार्थी, साहूमहाजन, गैह्र त्यसमा परोपकारको भावनाले स्वयंसेवक बने । खास गरेर मारवाडी महाजनले त्यस दलमा सराहनीय भूमिका खेले । समितिमा जंगीलाठका सहायक बनी मे.ज. ब्रह्म शम्शेर, हेडमाष्टर रुद्रराज पाँडे र गोरखापत्रका सम्पादक प्रेमराज शर्मा काम गर्दथे ।
त्यतिन्जेलसम्म पनि नेपालमा रेडक्रस कुन चिडियाको नाम हो, कसैलाई थाहा थिएन । नत जन्मिएको थियो परोपकार समिति नै । बुढा, अधबैंसे र युवाबाट विपद्ममा परेका जनताको त्यसरी उद्धार भएको भोग्ने र देख्ने सब मानिसहरु त्यस दलको सेवाबाट प्रभावित थिए । त्यसबखत थोर–बहुत परोपकारले पनि जनता प्रभावित हुन्थे– मामुली औषधोपचारले पनि बिरामी निको भएझैं ।
तर श्री ३ जुद्ध शम्शेर शिकारबाट काठमाडौं फर्केपछि भूकम्प–पीडित सेवा दल एकाएक खारेज भयो । त्यसबखतका जंगीलाठ पद्म्म शम्शेर पनि त्यस दलमा सरिक भई काम गरेको कारणले तत्कालीन कमाण्डर–इन–चीफ रुद्र शम्शेर र प्रधानमन्त्री श्री ३ जुद्ध शम्शेरले भूकम्प सेवाले गर्दा जंगीलाठ पद्म शम्शेर बढी जनप्रिय होलान् भन्ने डर र शंकाको मारे, सो दल विघटन भएको हो भन्ने सहरमा चर्चा थियो । वास्तवमा जंगीलाठ निकै जनप्रिय भएका पनि थिए– भुइँचालोले घरमा पुरिएका मानिसलाई आफ्नै हातले झिकेका र निक्कै कस्सिएर जनउद्धार सेवा गरेकाले ।
काम राम्रो, नराम्रो जस्तोसुकै होस्, त्यसमा प्रधानमन्त्रीको खायस छैन भन्ने सुइँको मात्र पाउनासाथ चटक्क तर्कने त्यसबखतको नेपालको चलनअनुरुप, जुद्ध शम्शेर शिकारबाट फर्केपछि सेवा दलबा६ धेरैले हात झिके– श्री ३ जुद्ध शम्शेरको आशय बुझी । उपयोगी भूकम्प सेवा दल खारेज भएकोमा जनताले कुरा काटे भनी, जनमतको कदर गरेझैं गरी, श्री ३ जुद्ध शम्शेर महाराजले तुरुन्तै सरकारी स्तरमा ‘भूकम्प पीडितोद्धार संस्था’ गठन गरे ।
सो संस्थाका अध्यक्षमा गुरुज्यू हेमराज पाँडे नियुक्त भए र संस्थामा अनेक डोर गठन भए । तिनै डोरहरुले भत्केका घर, पाटी, पौवा जाँची मर्मत खर्च तोके । त्यसबखत नेपालमा अधिकांश पक्की ठूला घरहरुको मोल पर्दथ्यो सरदर रु. चार–पाँच हजार जति ।
सो अफिस महाकालमा खुल्यो । त्यसैमा ‘भूकम्प पीडितोद्धार फण्ड’ खडा गरियो– १८९० सालमा गएको भूकम्पमा जस्तै ठूलो मात्रामा जनतालाई सहयोग गर्न, नेपाली साहू–महाजन र धनाढ्यहरु यसपालि पनि अघि सर्लान् कि भन्ने भ्रमात्मक विचारले (१०० वर्षअघि एकाध धनवान् नेपालीले सबैलाई पुग्ने अन्न, वस्त्र, दाउरा इत्यादि बाँडेका थिए) । १०० वर्षअघि आफ्ना पुर्खाले गरेजस्तो देश उद्धार काम त्यस बखतका काठमाडौंका जनताले नगर्लान् कि भनेर चिताउनु पनि नाजायज थिएन– तर आर्थिक सहायता गर्न अघि कोही सरेन ।
सो संस्थाद्वारा भुइँचालोले हल्लाएका र भत्काएका घरको लगत तयार गरी मर्मत गर्न र बनाउनलाई रु. २९,८२,३१६।– निर्ब्याजी सापटी सरकारतर्फबाट निकासा भयो । अन्दाजी रु. तीन करोड राजस्व उठ्ने त्यस जमानामा श्री ३ जुद्धले एकमुष्ठ त्यति ठूलो रकम जिर्णाेद्धारलाई निकासा गरेकोमा मानिसहरु उनीसँग प्रभावित भएका थिए ।
1990-bhukampa-post
पक्षबाथले थला परी कलकत्तामा उपचार गराउन गएका द.क.ज. तेज शम्शेरले भूकम्प पीडितको निमित्त सरकारबाट बाँडिएको निर्ब्याजी सापटी रकम सबै आफैले तिरीदिन्छु भन्ने इच्छा श्री ३ जुद्ध शम्शेर महाराजलाई व्यक्त गरी चिठी पठाएका र त्यस उदारताको फाइदा पछि तेज शम्शेर र अरु ‘सी’ क्लास रोलवाला राणाले उठाउलान् भन्ने शंकाले मुलुकीखानाबाट गएको त्यो निब्र्याजी सापटी रकम सबै श्री ३ जुद्ध शम्शेरले पनि पछि माफ गरेका हुन् भन्ने गाइँगुइँ कुरा पनि सुनिन्थ्यो । तर कुरा साँचो झुठो के हो, यकिन भएन । धेरैजसो भारदार, दरबारिया र राणाजीका घर चर्के, मर्केका र भत्केका हुँदा र थोरबहुत सो कोषबाट सापटी सबैले लिएकाले सबको भनसुनबाट त्यो रकम माफी भएको पनि हुन सक्तछ ।
मुलुकीखानाको रकम पनि एक प्रकारले प्रधानमन्त्रीको खड्ग निशानाबाट मात्र झिकिने र मुलुकीखानाको रकम उनले निजी खर्चमा जहिले पनि लगाउन सक्ने त्यसबेलाको व्यवस्थाअनुरुप, सो २९ लाख ८२ हजार रुपैयाँ जुद्ध शम्शेरले भुइँचालो पीडित जनतालाई आफ्नै खल्तीबाट बाँडेथे भन्नु अत्युक्ति नहोला ।
भुइँचालो गएको दुई–तीन वर्षभित्रमा भुइँचालोले भत्केका घर, देवलहरु पूरैजसो चाँडै मर्मत भए भन्न पर्दछ– २०३० सालमा आगो लागेको सिंहदरबारको एक खण्ड २०३७ सालसम्म पनि बनी तयार हुन नसकेको सन्दर्भमा विचार गर्ने हो भने । त्यसबेलाको सरकारले राष्ट्रिय धनबाट नयाँ देश विकासका कामहरु सकभर थोरै गर्न खोज्नु जस्तो कन्जुसी अर्कै कुरा हो, तर आँटेको काम भने
राणा सरकार तुरुन्तै सम्पन्न गर्दथ्यो । थप, भूकम्प पीडित नेपाली जनताको उद्धारका लागि नेपाल सरकारले अनेक सुविधाहरु प्रदान गर्‍यो (सुविधाहरुको देहाय, परिशिष्ट– ३) ।
विवाहिता ‘ए’ क्लास र अविवाहिता ‘सी’ क्लास रोलवाला राणाको भित्रभित्र श्री ३ भीमको पालामा चलेको दाउपेच दिनदिनै झन्झन् बढ्दै गएकोले तेज शम्शेरको त्यस उदारतामा जुद्ध शम्शेरले सशंकित भई माथि भनेझैं त्यो ठूलो रकमको आफैले मिन्हा गरेको पनि हुन सक्तछ । जुनसुकै कारणले होस्, केही जनताले भुइँचालोमा भत्केका घर बनाउन र मर्मत गर्न लिएको निब्र्याजी सापटी ऋण पछि माफी भयो ।
त्यसबखतसम्म पनि सरकारी रकम सकभर बाह्र हातको टाँगोले पनि नछुनू भन्ने पुरानो खालको विचार भएका मानिसले आफ्नो घरै भत्केकै भए पनि सरकारसँगबाट ऋण सापटी लिएनन्– सरकारी ऋण लिएपछि अनेक झन्झटमा फसिन्छ भनी । त्यतिन्जेलसम्म पनि ठूलै गर्ज नपरीकन अरुसँग सर–सापटी समेत माग्ने प्रवृत्ति नेपालीहरुमा बसिसकेको थिएन । सो सहायता रकम पछि माफी हुन्छ भन्ने कुरा अगावै बुझेका भए, शायद सहायता माग्नेको संख्या अलि बढ्दो हो । तर अनेक जालझेल गरी झुठा बयान पेस गरी आर्थिक सहायता लिनेहरु थोरै हुन्थे । राजस्व जे जसरी भए पनि उछिट्याउनु पर्दछ भन्ने मनोवृत्ति त्यस बेलासम्म जनतामा उति बढिसकेको थिएन । राजस्वलाई देवस्व सरह ठान्दथे । त्यतिञ्जेल नेपालमा कुनै विदेशी सहायता नपाएको हुँदा, मामाको धनले फुपूको श्राद्ध गर्ने जस्ता प्रवृत्ति नेपालका जनता र कर्मचारी कसैमा बसिसकेको पनि थिएन । आफ्नो धनभन्दा पनि सरकारी धन हिनामिना होला कि भन्ने डर जनतामा बढी थियो । सरकारी रकमलाई डर र सद्भावनाको दृष्टिले हेर्दथे ।
नेपालको महा–भूकम्पबाट पीडित जनताको उद्धारलाई भारतका मदनमोहन मालवीयको अतिरिक्त अरु देशदेशावरबाट आर्थिक सहायता प्रदान हुने आश्वासनलाई श्री ३ महाराज जुद्ध शम्शेरले सधन्यवाद पन्छाए– प्रत्यक्ष वा अप्रत्यक्ष, कुनै रुपबाट पनि विदेशी सहायता नलिने र उनीहरुसँग सम्पर्क नराख्ने श्री ५ पृथ्वीनारायण शाहको पालादेखि चल्दै आएको नेपलको पुरानो नीतिअनुसार ।
१८९० सालको भूकम्पले बिगारेको नेपालीहरुले नै मिली बनाएको कुरा सुनेका श्री ३ जुद्ध शम्शेरले यस पटक पनि नेपाली जन–धनबाट उपत्यकाको उद्धार होला भन्ने आस गरेको पनि हुन सक्तछ । के के सहायता, कुन कुन कामको लागि, कति कति, कहाँ कहाँबाट नेपाललाई प्रदान हुने आश्वासन प्राप्त भएको थियो, त्यो त आनभिज्ञ नै रह्यो । तर नेपालले त्यसबखत स्वदेशी, विदेशी सहायताबाट भत्के, बिग्रेको काठमाडौं सहरको पुनर्निर्माण गर्ने ठूलो सुनौलो मौका भने आएको थियो । त्यो गुमायो– स्वदेशी विकासलाई विदेशी सहायता नलिने त्यसबखतको मनोवृत्तिले गर्दा ।
यस्ता सुनौला मौका नेपालमा कति आए कति गए, त्यसको लेखाजोखा गरेर साध्य छैन । त्यसबखत प्रदान हुन खोजेको विदेशी सहायताले नेपाल सरकारले चाहेको भए जुग–जुगान्तरदेखि काठमाडौं, भक्तपुर र पाटनका सहरभित्र बाजिएका चोकका गन्हाउने नाल खुलाउन, कहिल्यै घाम नछिर्ने गुह्ये गल्ली चौड्याउन र भूकम्प पीडित सहरियालाई सहरबाहिर सारेर नयाँ सहर काठमाडौं उपत्यकामा बसाउन सक्तथ्यो । भरखरै गएको भूकम्पले तर्सेका सहरबासीहरु पनि त्यसबेला गुह्ये गल्ली र चोक छाडी खुला ठाउँमा जान तयार थिए ।
विदेशी सहायता, व्यापार अथवा ऋणका साथसाथै, दवाब, हस्तक्षेप र प्रभाव पनि देशभित्र आउँदछन् भन्ने पुरानो श्री ५ पृथ्वीनारायण शाहको पालादेखिको शंकाले पीडित राणा शासकहरुले विदेशीले प्रदान गर्न खोजेको भूकम्प सहायता लिन हच्केको भन्दा पनि विदेशीहरु सहायता दिने निउँले काठमाडौंमा छिरी, राणाजीको एकतन्त्री शासनको चर पाउँछन् र आफ्नो कमजोरीको भण्डाफोर हुन्छ भन्ने डरले त्यो सहायता अस्वीकार भएको हो भन्ने धेरैको धारणा थियो । यो स्वार्थी भावना बन्यो नेपालको पछौटेपनको मुख्य कारण । त्यसैले धेरै कालतक नेपालले एकाकी जीवन बिताउन पर्‍यो ।
Juddha-shamsher-post
फगत त्यसबखत एक जुद्ध सडक बन्यो– पूरै नेपाली आर्थिक स्रोतबाट । त्यो सडक निर्माणमा स्वर्गीय ज. सिंह शम्शेरको ठूलो देन छ । ज. ब्रह्म शम्शेरले ‘नेपालको महा– भूकम्प’ भन्ने पुस्तक लेखे । नेपालमा म केही गर्दछु भन्ने श्री ३ जुद्ध शम्शेरको सुरुको विचारमा भूकम्पले ब्रेक लगाइदियो । त्यसैले उनी शिकारबाट नेपाल भिडकिनासाथ “मैले पल्टनतर्फ ब्यारेक खडा गरी सिपाहीहरुलाई सुविस्ता दिलाउन, मुलुकमा बन्दव्यापारहरु बढाई कलकारखानाहरुबाट पूरा तवरले देशको उन्नति गरी, तिमी दुनियाँहरुलाई पनि सुख–सुविस्ता गराउँला भन्ने ठूलो उम्मेद लिएको थिएँ, तर के गर्नु हरे” भन्ने उनको उद्गार ‘गोरखापत्र’मा छापिएको थियो ।
१९९० सालको भूकम्पले काठमाडौं ध्वस्त गर्नाका साथै, निकै अवाञ्छनीय सामाजिक र आर्थिक परिवर्तन पनि नेपालमा ल्यायो– पहिला महायुद्धले पहाडमा अवाञ्छनीय चलन ल्याएझैं । भत्केका देवालयबाट कति सुनको जलप लगाएका धातुका गजुर, काठ र धातुका कलापूर्ण झ्यालढोका, अद्वितीय मूर्तिहरु गायब भए– केही नीच खालका मानिसमा मूर्ति चोरी विदेशी निकासी गर्ने हरामी बानी बसाल्दै । त्यसको लेखाजोखा रहेन । भूकम्पपछि खल्वाट, हिस्सी नपरेका, छाना नभएका र मुरकट्टाजस्ता घर सहरमा पहिलो पटक देखा परे । रातो झिंगटी र टायलको सट्टा सस्तो सेता करोटेड सिटले नेपाली घर र देवल छाइए (टिनले घर छाउने चलन त साम्राज्यवादी राष्ट्रले आफ्नो शोषित उपनिवेशमा चलाएका हुन् । युरोप, अमेरिका र जापानजस्ता विकसित राष्ट्रमा खालि फैक्ट्री र गोदाम छाउन मात्र टिनको प्रयोग गरिन्छ । यो नीच चलन नेपालमा अझ बढ्दो छ ।)
अघि अघि नेपाल सहरमा सबैजसो घर झिंगटीले, अलि पछि टायलले पनि कताकति छाइन थालेका थिए । १९९० सालपछि मात्र सस्तो मोल (एक बण्डलको चालीस रुपैयाँ) को टिनले नेपालीले घर छाउन सुरु गरे । फलतः झिंगटी बनाउने उद्योगको नेपालमा ह्रास भयो । भूकम्पपछि मजबूत जग भएको, सकभर होचो र नेपाली शैली परेको घर बनाउने सम्बन्धमा जाहेरी भएको सरकारी निर्देशनले हावा खायो (भूकम्पपछि नेपालमा बन्ने घरको ढाँचा सरकारबाट तोकिएको थियो) । घरको डिजाइनसम्म तोकियो, तर काठमाडौं नगर विकास योजना बनेन । सरकारबाट तोकिएको डिजाइनको पनि कतैबाट वास्ता भएन । छाँट न काँटका घर जथाभावी बन्न सुरु गरे । प्रजातन्त्र बाद त अवाञ्छनीय प्रक्रिया झन् बढ्यो ।
यस्तो अपूरणीय क्षतिका साथै नजानिँदो किसिमले कामदारको ज्यालाको दर काठमाडौंमा १९९० सालदेखि सर्वप्रथम बढ्न सुरु गर्‍यो । इँटको भाउ, ज्यामी, डकर्मी, सिकर्मी, बज्रकर्मीको ज्याला बढ्यो (पातला इँट हजार ढुवानी समेत रु. ८–१०; सिकर्मी, डकर्मीको ज्याला जनही ७५ पैसा र ज्यामीको ज्याला ४०–५० पैसा पुग्यो) । भारतबाट ज्यामी, सिकर्मी, डकर्मी, बज्रकर्मी पनि काम गर्न उपत्यकाभित्र सर्वप्रथम छिर्ने मौका पाए । भूकम्पमा घर बनाउने कालिगडको अभाव महसुस भएकोले धेरै अघिदेखि भारतीयहरुलाई नेपाल पस्न नपाउनेगरी लागेको प्रतिबन्ध हट्यो । काम गर्ने निहुँले त्यसबेला केही कालका लागि काठमाडौंभित्र घुसेका भारतीयहरुमध्ये धेरै नेपालमा बसेका बस्यै गरे (१८६६ समलको महा–भूखमरी, १९७७\७८ सालतिर नेपाल तराईका बजारमा स्वदेशी विदेशीलाई रस्तीबस्ती बसाउने, गुल्जार गर्ने श्री ३ चन्द्र शम्शेरको नीति र १९९० सालको भूकम्पले निकै भारतीयहरुलाई तराई र नेपाल पस्ने मौका प्रदान गरे) । तैपनि भारतीय नागरिक नेपाल खाल्डोभित्र त्यतिन्जेल नगण्य नै थिए ।
भूकम्प पीडितहरुलाई काठ, दाउरा प्रदान गर्नको लागि वन कटानी फुकेको कारण बालाजू, टोखा, हात्तीवन, थानकोट, साँखु, गोदावरीका वन त्यसबेला सखाप भएका अझ सखापै छन् । बर्माबाट सर्वप्रथम मोहरको पाथी उसिना चामल नेपालमा पैठारी र विक्री वितरण भयो । तर भूकम्पपछि पनि बजार र सरकारी दरभाउ, आजकलको तुलनामा धेरै सस्तो भयो भन्ने कुरालाई यसमा संलग्न दरभाउको सूचीले प्रस्ट गर्दछ ।
भरखर भरखर सुरु भएको त्यो महँगीले टट्टाएर टकटकिने जनता जनार्दनको संख्या नेपालमा त्यसबखत पनि कम थिएन । पुरानो सहकाल सम्झी, महँगीले मार्‍यो बाबा भन्ने जनगुनासो जताततै त्यसबखत सुनिन्थ्यो । भूकम्पको लगत्तै नेपाली जनतामा सहयोगको नयाँ भावना र देशको पुनरोत्थान गर्ने जोश जोगेको थियो; जनताको त्यो जाग्दो जोश सुहाउँदो राणा सरकारबाट देश विकासको काम भई दिएको भए, जसरी १९८० सालको महा–भूकम्पछि जापान झन् जम्यो, नेपाल पनि १९९० सालको भूकम्पपछि त्यस्तै हुन्थ्यो होला । इँट र झिंगटीको उत्पादन औ स्तर बढ्न सक्तथ्यो र नयाँ ढाँचाका सस्ता, बलिया र राम्रा नेपालीपनका घर बन्न सक्तथे । त्यो केही भएन ।
भुइँचालोपछि तीनै सहर फेरि गुह्ये गल्लीका र अँधेरा चोक पल्टे । आएको महँगी पनि गएन; नत फर्के भुइँचालोपछि नेपाल पसेका धेरैजसो भारतीयहरु । नेपाली शैलीले घर बनाउने चलनमा पनि परिवर्तन आयो । यस्ता महासंकटको बाद धेरै राष्ट्रहरु पत्याई नसक्ने किसिमले विकासिएका विश्वमा अनेक दृष्टान्त छन् । तर नेपालमा त्यसबखत जहानियाँ राणाशासन विद्यमान हुँदा र उसका मूल नीति नेपालमा शिक्षा र जनताको आर्थिक विकास सकभर नगर्ने हुँदा, देशको काँचुली फेरिएन । जतिसुकै खुम्च्याए पनि खुम्चने र जेजस्तो परे पनि मन बाँधेर र बुझाएर बस्न सक्ने अधिकांश नेपालीहरुको जन्मजात बानी हुँदा, राणाकालभरि जस्तो नेपाली जनता अज्ञानी र गरिब रहे । देशमा यस्तो भएन र उस्तो भएन भनेर १९९७ सालसम्म कसैले कुनै ठूलो आवाज उठाएनन् । एकाध उठाउनेहरुलाई राणा सरकारले यात लामपुच्छर लगायो अथवा फ्याउरा भनेर खेदेका कुरा यो पुस्तकका एकाध ठाउँमा छन् ।
भूकम्प गएको वर्षदिनपछि, त्यस भवितव्यमा परी मर्नेहरुलाई तार्न आचार्य कुलचन्द्र गौतमको अध्यक्षतामा सात दिनसम्म होम गरी त्यसको खरानी र जल तीनै सहर नेपालमा छर्कियो । तन्त्रमन्त्र, नाटीकुटी, पूजा–पाठ, दानधर्ममा निकै विश्वास गर्ने त्यसबखतको नेपाली जनताले यो यज्ञको सराहना गरे– अकाल मृत्युमा परेका आफ्ना दाजु, भाइ, दिदी, बहिनी, छोराछोरीहरु अब बैतर्नी नदी तरी, वैकुण्ठ पुग्ने भए भनेर ।

परिशिष्ट–२
नेपाल तँलाई भूकम्प ज्वरले सताई सारै दुःखी बनायो, 
बिगारी मन्दिर घर हजारौं त्यो उच्च धरहरा पनि हल्लायो । 
सुपुत्र पुत्री मरे हजारौं, खसाई आँसु सबै बगाइस्, 
चिरेर छाती कति कराइस् त्यो शब्द आकाशमा बिलायो ।
आमा तँलाई सिंगारी छाड्छौं, केही हजारले पुगेन होला, 
तयार लाखौं छ, ज्यान बलिदान, नेपालको निमित्त तुच्छ हो
यो नब्बे साल माघ दुई गते कडा परीक्षा छ हामी माथि 
उत्तीर्ण नभै नछोड्ने संकल्प मनभित्र देखि आयो 
नेपाल आमा तँ धैर्यले बस, हिमालमा हेर सूर्य उदायो ।
बालकृष्ण सम
परिशिष्ट–३ (क)
भूकम्प पीडित उद्धार कोष
१. असहायहरुलाई निःशुल्क खाना र कपडा वितरण ।
२. डाँडा भाटा निःशुल्क वितरण ।
३. सरकारी वनबाट काठ काट्ने निकासा ।
४. काठ गोदामबाट सहुलियत दरमा काठ विक्री ।
५. इँट र चून भट्टालाई सहुलियत दरमा दाउरा निकासा ।
६. विदेशी सिकर्मी, डकर्मी, बज्रकर्मीलाई नेपाल आउने निकासा ।
७. साढे दुई खाल टन करोगेटेड सीट पैठारीमा भन्सार र रोप भाडा माफी ।
८. भुइँचालोले बनाएको इँट र माटाको धूलो फ्याक्न एक लाख पच्चास हजार रुपैयाँ निकासा ।
९. सबै कर्मचारीलाई चार महिनाको तलब पेश्की ।
परिशिष्ट – ३ (ख)
भूकम्प पीडितोद्धार फण्ड संकलन भएको चन्दाको फिरिस्त
१९९० साल माघ २ गते नेपालमा गएको महा–भूकम्पबाट पीडित जनताको उद्धारलाई गठन भएको
‘भूकम्पोपीडितद्धारक फण्ड’ मा स्वदेशी, विदेशी महानुभावबाट जम्मा हुन आएको कुल चन्दा
मो. रु. १०,७१,७०१।६४, कं. रु. १४६७।३१ र नोट रु. १८,१३०।– पुगेको भनी
१९९०\१÷१५–२६; २, १९; ३, १५; र ४, १९ को गोरखापत्रमा प्रकाश भएको सूचनाअनुसारः
१. श्री ३ महाराज जुद्ध शम्शेरबाट प्रदान चन्दा रु. ३,००,०००।–
२. मौसूफका श्री ३ बडामहारानीबाट प्रदान चन्दा रु. १,००,०००।–
३. प.क.ज. मोहन शम्शेर परिवारबाट प्रदान चन्दा रु. १,००,०००।–
४. पू.क.ज. बबर शम्शेर परिवारबाट प्रदान चन्दा रु. १,००,०००।–
५. द.क.ज. केशर शम्शेर परिवारबाट प्रदान चन्दा रु. १,००,०००।–
६. ज. सिंह शम्शेर परिवारबाट प्रदान चन्दा रु. १,००,०००।–
७. ले.ज. कृष्ण शम्शेर परिवारबाट प्रदान चन्दा रु. १,००,०००।–
८. ले.ज. शङ्कर शम्शेर परिवारबाट प्रदान चन्दा रु. १,००,०००।–
९. कमाण्डर इनचीफ पद्म शम्शेरबाट प्रदान चन्दा रु. २५,०००।–
१०. श्री ३ बडामहारानी सीताबाट प्रदान चन्दा रु. १५,०००।
१०,४०,०००।–
रु. ५०००।– देखि रु. ५।– सम्म चन्दा दिने अरु महानुभावको संख्या पुगेको थियो जम्मा ११९ ।
तीमध्ये अधिकांश रैथाने माडवारी साहू र गोर्खा पल्टनमा जुटेका ब्रिटिस अफिसरहरु थिए ।

सरदार भीमबहादुर पाँडेद्वारा लिखित पुस्तक ‘त्यस बखतको नेपाल’ भाग २ (१९८६–१९९७ साल) भाग ३ (१९९७–२००२ साल)
मा प्रकाशित ‘महा–भूकम्प’लेखको शीर्षक फेरिएको हो । 


www.esamata.com बाट साभार 

No comments:

Post a Comment